आज जनै पूर्णिमा : जनै फेर्ने, रक्षाबन्धन,क्वाँटी खाने र राखी बाँध्ने प्रचलन

काठमाडौं । आज रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व जनै फेर्ने (नव यज्ञोपवीत), रक्षाबन्धन धारण गरेर मनाइँदै छ।यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाउँदै आइएको छ ।

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु तथा पुरोहितबाट रक्षासूत्र बाँध्ने परम्परा रहिआएको छ ।​ तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।​

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए। त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ’ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ।​

यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक कृष्ण प्रसाद अधिकारीले जानकारी दिए।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ।

आजकै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ। यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीतो गरी बसिन्छ।

यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन, र सप्तमृत्तिका लगाएर स्नान गर्दछन्। यसलाई श्रावणी स्नान पनि भनिन्छ।

स्नानपछि जौ तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै ९यज्ञोपवीत० फेरिन्छ। अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो।

वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागो समेत भनिन्छ। रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायकलगायत बागमती नदीको किनार र काठमाडौं उपत्यकालगायत देशभरका मठ मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ।

जनै पूर्णिमाका दिन एघार थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ। यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ।

विभिन्न थरी गेडागुडी मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सक डा शेषराज आचार्य बताउँछन्। यसबाट चिसो गाडिएर लाग्ने रुघाखोकीजस्ता रोग पनि निको हुने उनको भनाइ छ।

नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ। यसबाट दिदी बहिनी र दाजुभाईका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ। काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुकल पूर्णिमा दिन बिहानैदेखि मेला लाग्ने गर्दछ।

नक्कली भुटानी शरणार्थी प्रकरण : थुनछेक बहस सुरु हुँदै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपीमाथिको थुनछेक बहस आज सुरु हुँदैछ। हालसम्म पक्राउ परेका सबै १८ जनाको बयान सम्पन्न भए पछि आजदेखि थुनछेक बहस सुरु हुन लागेको हो। थुनछेक बहसपछि आरोपीहरूलाई पुर्पक्षमा पठाउने–नपठाउने भन्ने बारेमा अदालतले निर्णय लिनेछ । यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, केशव दुलाल र सानु भण्डारीलगायत १८ जनासँग काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेलगायतले बयान लिएका थिए। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले पक्राउ परेका १८ सहितलाई फरार रहेका ३० जनालाई संगठित अपराध, किर्ते, ठगी तथा राज्यविरुद्धको आरोप गरी चारवटा मुद्दा लगाउँदै २७ करोड ५० लाख बिगो माग दाबीसहित काठमाडौं जिल्ला अदालतमा जेठ १० गते मुद्दा दायर गरेको थियो।

उत्पादन र रोजगार समृद्धिको आधार

अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले उत्पादन र रोजगारः समृद्धिको आधार को नारालाई आत्मसात गरी औद्योगिकीकरणको गतिलाई तीव्रता दिने बताए । आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै डा.महतले औद्योगिक प्रवर्द्धन, पूर्वाधार एवं मानव संसाधन विकास र असल औद्योगिक सम्बन्ध कायम गरी उत्पादन र उत्पादकत्व वृद्धि गरिनेछ भने उद्योग क्षेत्रमा स्वदेशी तथा विदेशी पुँजी र प्रविधि आकर्षण गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने बताए ।

मन्त्री आचार्यले पहिलाे महिनाको तलवबाट दिए सहिद परिवारलाई गाई उपहार

मोरङ । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले आफ्नो पहिलो महिनाको तलवबाट सहिद ईश्वर ढुंगानाको परिवारलाई गाई प्रदान गरेका छन् । सहिद ईश्वर ढुंगानाका दाजु मोहन ढुंगानाले उपहार स्वरुप गाई ग्रहण गर्दै मन्त्री आचार्यको मनोभावनाप्रति आभार व्यक्त गरे। कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्री बनिसकेपछि आचार्यले पर्यटनको विकास र वातावरणीय तथा पर्यावरणीय विकासमा ध्यान दिनुका साथै मुख्यतः सुधारका कामलाई प्राथमिकतामा राखेका छन्। केहि दिन अघि मात्रै योजना सम्झौता समयसिमा र पर्यटनसँग सम्बन्धित योजना पनि वन डिभिजन कार्यालयमै सम्झौता गर्न मिल्ने खालको लोकप्रिय निर्णय गरेका थिए। उनले मन्त्रालयमा कुनैपनि गलत खालका गतिविधि भए तुरुन्त कारवाही हुने बताउँछन्। मंत्रालयका एक कर्मचारी भन्छन् “ प्राय जिल्लामा डिएफओ परिवर्तन भए तर पहिलो पटक पैसाको गन्ध आएन।” मन्त्री आचार्य अहिले नयॉ योजना बनाउन ब्यस्त छन्। केहि नयॉ गर्ने सुरसारमा उनको मन्त्रालय देखिन्छ। सहिद परिवारलाई पहिलो महिनाको तलवले गाई किनिदिएको प्रसंगमा उनले यसलाई सामान्य कुरा रहेको बताउँदै शहीद परिवारलाई हामी छौं भन्ने महसुस गराउनु आफ्नो कर्तव्य भएको  विचार व्यक्त गरे।

माओवादी बैठक जारी : चुनावी समीक्षा र नयाँ सरकारबारे छलफल हुँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक केन्द्रीय कार्यालय पेरिस डाँडामा बसिरहेको छ।आइतवार दिउँसो अढाई बजेपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा मंसिर ४ को चुनावी समीक्षा, नयाँ सरकार निर्माण र समसामयिक विषयमा छलफल हुने भएको छ। माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार बैठकमा चुनावी समीक्षा र समसामयिक राजनीतिबारे छलफल हुँदैछ। शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले सरकार गठनबारे सबै विकल्प खुला गरेको थियो। माओवादीले सरकार बनाउन एमालेसँग पनि मिल्नुपर्ने नेताहरुले धारण राखेका थिए । निर्वाचनका क्रममा ४७ स्थानमा उम्मेदवारी दिएको माओवादी १७ सिटमा खुम्चिएको छ । कांग्रेससँको गठबन्धनले क्षति पुगेको माओवादीका कतिपय नेताहरुले बताउने गरेका छन् । माओवादी बृत्तमा कांग्रेससँग भन्दा कम्युष्टिहरु मिलेर अघि बढ्नुपर्ने धारणा पनि उत्तिकै रहेको छ । त्यही अनुरुप माओवादीले शनिबारको बैठकबाट एमालेसँग पनि मिलेर सरकारमा जानुपर्ने विकल्पमा नेताहरुले धारणा राखे । बैठकले निर्वाचनको समग्र विषयमा समीक्षा गरेर अघि बढ्ने निर्णय लिने पार्टीका महासचिव देवप्रसाद गुरुङले बताएका छन्। शनिबारको बैठकमा नेताहरुले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार नआएको टिप्पणी गरेका थिए।

समानुपातिका डेढ लाख गन्न बाँकी, एकीकृत समाजवादी राष्ट्रिय दल बन्ने सम्भावना न्युन

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मत गणना अब सकिने चरणमा पुगेको छ। प्रतिनिधिसभा १६५ क्षेत्रमध्ये अहिलेसम्म १६२ क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ भने स्याङ्जा–२, दोलखा र बाजुरामा मत गणना जारी छ। प्रतिनिधिसभा समानुपातिकतर्फ पनि तिनै तीन जिल्लाको मत गणना सक्न बाँकी छ। निर्वाचन आयोगका सूचना अधिकारी एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले दिउँसो १२ बजेतिर अब सवा लाखदेखि डेढ लाखसम्म समानुपातिक मत गन्न बाँकी रहेको जानकारी दिए। ‘बाजुराको गनेकै छैन, दोलखाको अलिअलि गनिएको छ, स्याङ्जा–२ को आधाजति गनिसकिएको छ । यो खबर तयार पार्दासम्म १ करोड ८ लाखभन्दा बढी समानुपातिक मत गनिसकिएको छ। जसमध्ये १ करोड ४ लाख ४ हजार ७ सय ६६ मत सदर भएको निर्वाचन आयोगको तथ्यांकले देखाएको छ। आयोगका अनुसार ४ प्रतिशतजति मत बदर भएको अनुमान छ। प्रतिनिधिसभा प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेर समानुपातिकतर्फ कूल सदर मतको ३ प्रतिशत (थ्रेसहोल्ड) मत कटाउने दलले राष्ट्रिय दलको मान्यता पाउँछन्। अहिलेसम्म सात दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले यो मापदण्ड पूरा गरिसकेका छन्। मत गणना अन्तिम चरणमा पुग्दा ३ लाख १७–१८ हजारसम्म मत ल्याउँदा थ्रेसहोल्ड कट्ने आकलन गरिएको छ। अझै एक–दुई दल थ्रेसहोल्ड पार गर्ने प्रयासमा रहेको भएपनि अहिलेकै अनुपातमा मत आइरहे गणना गर्न बाँकी मतबाट थप पार्टीले राष्ट्रिय दलको मान्यता पाउने सम्भावना कम देखिएको हो। यसैबीच अलि नजिकको सम्भावना नेकपा एकीकृत समाजवादीको देखिएको छ। यो खबर लेख्दासम्म उसले २ लाख ९४ हजार एक सय समानुपातिक मत प्राप्त गरेको छ। थ्रेसहोल्ड (३ लाख १८ हजार मत) कटाउन उसले अझै २४–२५ हजार मत ल्याउनुपर्ने हुन्छ ।

बुधबार प्रदेश १ जाँदै प्रचण्ड , आधा दर्जन कार्यक्रमलाई सम्बोधन गर्ने

काठमाडौं । प्रदेश १ मा आफ्ना पार्टीको तर्फबाट उम्मेदवार रहेका विभिन्न क्षेत्रमा आयोजित सभालाई सम्बोधन गर्न माओवादी अध्यक्ष प्रचण्ड बुधबार आउने भएका छन् । माओवादी केन्द्र प्रदेश १ ले दिएको जानकारी अनुसार अध्यक्ष प्रचण्ड सुनसरी, मोरङ, भोजपुर, खोटाङ र ताप्लेजुङका चुनावी सभामा सहभागी हुनेछन् । प्रचण्ड र नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशरण महतसहितका नेताहरु बिहान ११ बजे मोरङको गछियामा हुने चुनाबीसभामा सहभागी हुनेछन् । ११ बजे हुने सभास्थान मोरङ क्षेत्र नं. ६ हो । सो क्षेत्रमा नेपाली काँग्रेसका नेता डा.शेखर कोइराला प्रतिनिधिसभामा र माओवादी नेता जीवन आचार्य प्रदेशसभामा उम्मेदवार छन् । गछियाको सभापछि प्रचण्डको टोली १२ः३० बजे धरानको भानुचौकमा हुने गठबन्धनको सभामा सहभागी हुनेछ । सुनसरीको क्षेत्र नम्बर १ मा गठबन्धनबाट माओवादी केन्द्रका मुक्साहाङ मेन्याङ्बो उम्मेदवार छन् । प्रचण्डसहितका नेताहरु २ बजे ताप्लेजुङमा आयोजित सभामा सहभागी हुनेछन् । ताप्लेजुङमा गठबन्धनबाट माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री उम्मेदवार छन् । ताप्लेजुङपछि ३ बजे भोजपुरको पौवादुम्मा गाउँपालिकाको तिवारी भञ्ज्याङमा आयोजित सभामा प्रचण्ड सहभागी हुने कार्यक्रम छ । भोजपुरमा माओवादी केन्द्रका नेता सुदन किराती गठबन्धनबाट प्रतिनिधिसभाको उम्मेदवार छन् । भोजपुरपछि प्रचण्डको टोली ४ बजे खोटाङको दिक्तेल पुग्नेछ । खोटाङमा प्रतिनिधिसभामा माओवादी केन्द्रका रामकुमार राई उम्मेदवार छन् । चुनावी अभियानको क्रममा प्रचण्ड पहिलो पटक प्रदेश १ जान लागेका हुन् ।

देश गम्भीर मोडमा छ, गठबन्धनलाई जिताउनुहोस् : प्रधानमन्त्री देउवा

धनगढी । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश गम्भीर मोडमा रहेको बताएका छन् । आज (आइतबार) धनगढीमा आयोजित संयुक्त चुनावी भेलामा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । सत्तारुढ ५ दलीय गठबन्धनको सुदूरपश्चिम स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै देउवाले चुनावपछि देशको भविष्य निर्धारण हुने बताए । उनले संविधान, गणतन्त्रको रक्षाका लागि वर्तमान सत्ता गठबन्धनलाई जिताउनु जरुरी रहेको समेत बताए । आगमी मंसिर ४ को संघीय चुनावपछि देश कता जाने भन्ने कुरा गम्भीर रहेको उनको भनाइ थियो । आफूहरु संविधान र गणतन्त्र जोगाउन लागिपरेको भन्दै गठबन्धनमा आबद्ध दलका उम्मेदवारहरूलाई मतदान गरी जिताउन आग्रह गरे ।

संशाेधन गर्दा अर्काे नाम फेर्न पाइदैन, विवरण मात्र सच्च्याउन सकिन्छ- निर्वाचन आयाेग

दलहरूले बुझाएको समानुपातिकतर्फको सूची पूरै फेरबदल गर्न सम्भव नभएकोप्रवक्ता गुरुप्रसाद वाग्लेले बताएका छन् । ‘बन्दसूचीमा देखिएको कमजोरी सुधार गर्न समय दिन्छौं, दलहरूले आयोगले दिएको सुझावअनुसार एक साताभित्र संशोधन गरेर पेस गर्नुपर्ने हुन्छ,’ कान्तिपुर।दैनिककाे एक समाचारमा वाग्लेले भनेका छन्,‘संशोधन भनेको सबै नयाँ नाम ल्याउने होइन । आयोगले जुन सच्याउनु भनेको छ, त्यो मात्रै सच्याउने हो ।’ संशोधन गर्दा प्राथमिकता निर्धारण भने तलमाथि गर्न सक्ने उनले बताए । ‘अहिले डमी नाम पेस गरेर पछि संशोधन गर्दा अर्को नाम थप्न मिल्दैन,’ वाग्लेले भने, ‘आइतबार र सोमबार पेस भएको बन्दसूची नै वास्तविक हो । कानुनले तोकेको क्लस्टरमा नमिलेको नाम मात्रै सच्याउन सकिन्छ । अरू केही गर्न मिल्दैन ।’ निर्वाचन अधिकृतले उम्मेदवारको बन्दसूची सच्याउन सूचित गरेपछि सम्बन्धित दलले त्यस्तो बन्दसूची संशोधन गरी दलको केन्द्रीय समितिको निर्णयबाट स्वीकृत गराएर तोकिएको समयावधिभित्र निर्वाचन अधिकृतसमक्ष पेस गर्नुपर्ने हुन्छ । उम्मेदवारको बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले निर्वाचन कार्यक्रममा तोकिएको समयावधिभित्र आफ्नो नाम फिर्ता लिन चाहेमा निर्वाचन अधिकृतसमक्ष निवेदन दिनुपर्नेछ । नाम फिर्ता लिन निवेदन परेमा निर्वाचन अधिकृतले त्यस्तो उम्मेदवारको नाम उम्मेदवारको बन्दसूचीबाट हटाएर दललाई जानकारी दिने कानुनी प्रावधान छ । उम्मेदवारले नाम फिर्ता लिएको जानकारी प्राप्त भएपछि निर्वाचन कार्यक्रममा तोकिएको समयावधिभित्र त्यस्तो दलले केन्द्रीय समितिको निर्णयबाट स्वीकृत गराई अर्को उम्मेदवार मनोनयन गरी पठाउनुपर्ने हुन्छ । दलले अर्को उम्मेदवार पठाउँदा जुन समावेशी समूहको उम्मेदवारी फिर्ता लिएको हो, सोही समूहमा मनोनयन गरी पठाउनुपर्छ । त्यस्तो उम्मेदवारको प्राथमिकता फिर्ता लिएको उम्मेदवारकै क्रम वा बन्दसूचीको अन्तिम क्रममा समावेश गर्नुपर्ने हुन्छ । उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गर्दा दलले पेस गरेको उम्मेदवारको बन्दसूचीमा रहेको क्रमसमेत खुलाई सम्बन्धित समावेशी समूहका उम्मेदवारको नाम क्रमबद्ध रूपमा प्रकाशन गर्नुपर्ने हुन्छ ।

चितवनमा बन्दकर्ताद्वारा ६ गाडी तोडफोड, केही पक्राउ

चितवन, नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा कार्यकर्ताहरुले चितवनका बिभिन्न स्थानमा सवारी साधनमा तोडफोड गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै तीन वटा बस, दुई वटा ट्रक र एउटा कार तोडफोड गरेका हुन्। प्रहरीले दिएको जानकारी अनुसार, प्रदेश ३–०–०१क०३१२ नं को कार, ना८ख४२५९ नं को बस, ना५ख२२६३ नं को ट्रक, ना५ख१४३१ नं को बस, ना४ख८३२५ नं को ट्रक, प्रदेश२–०–३–००१ख००९८ नं को बसमा ढुङ्गाले हानेर सिसा फोडेका छन्। प्रहरीका अनुसार सामान्य क्षति भएको छ। सवारी साधन तोडफोड गर्ने पाँच जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ। तोडफोडमा संलग्न रहेको आशंकामा ५ जना बन्दकर्ता र ४ थान मोटरसाइकल नियन्त्रणमा लिएको चितवन प्रहरी प्रवक्ता डिएसपी नरहरी अपिधकारीले बताए। भरतपुर महानगरपालिका वडा नम्बर २३ का अमित घिसिङ , ९ का राजनबाबु सिंह , ७ का सुरज शर्मा र सुदिप पौडेल र भरतपुर २ का गणेश श्रेष्ठ पक्राउ परेको प्रहरीले जनाएको छ। भरतपुरमा बन्दको प्रभाव खासै परेको छैन। सवारी साधन निर्वाध रुपमा चलेका छन्। चितवनका मुख्य बजार खुलेका छन्।

टिकापुर घटनाको ७ वर्ष, विद्रोह दिवस मनाउँदै उन्मुक्ति पार्टी

कैलाली । टिकापुर घटनाको जगमा स्थापना भएको नागरिक उन्मुक्ति पार्टीले आज विद्रोह दिवसको घोषणा गरेको छ । २०७२ साल भदौ ७ गते टीकापुरमा घटेको घटनाको सम्झनामा उक्त पार्टीले विद्रोह दिवस मनाउने भएको हो । टिकापुर घटनापछि व्यापक धरपकड तथा घटनाको आलोचना भएपछि टीकापुरसहित मधेस आन्दोलनका क्रममा भएका ज्यादती र त्यसको सत्यतथ्य पत्ता लगाउन पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा उच्चस्तरीय छानबीन आयोग गठन गरिएको थियो । आयोगले १४ महिना लगाएर ७ सय ९ पृष्ठ लामो प्रतिवेदन तयार पारी २०७४ मंसिर २९ मा प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको थियो । यद्यपी उक्त प्रतिवेदन अझै सार्वजनिक भएको छैन । नागरिक उन्मुक्ति पार्टीका नेता तथा टीकापुर नगरपालिकाका मेयर रामलाल डंगौराले थाकसको सभापतित्व र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको प्रमुख अतिथ्यमा कार्यक्रम गर्ने र जेलबन्दी परिवारका सदस्यलाई अतिथि बनाइ सम्मान गर्ने कार्यक्रम रहेको छ। ७ वर्षअघि २०७२ साल भदौ ७ गते आजकै दिन भएको आन्दोलनमा प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी लक्ष्मण न्यौपाने सहितका ७ जना प्रहरी र एक नाबालकको ज्यान गएको थियो। उक्त घटनामा मुख्य दोषी ठहर भएका रेशम चौधरीले आजीवन कैदको सजाय भोगिरहेका छन्। करिब साढे ३ वर्षपछि टीकापुर घटना सम्बन्धी मुद्दामा कैलाली जिल्ला अदालतले प्रतिनिधिसभा क्षेत्र नम्वर १ बाट विजयी सांसद चौधरी सहितका ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियो। रेशम चौधरी सहित हरीनारायण चौधरी, राजकुमार कठरीया, सुन्दरलाल कठरिया, बृजमोहन डगौरा, राजेश चौधरी, विरबहादुर चौधरी, प्रदीप चौधरी, विद्रोह भनिने सीताराम चौधरी, श्रवण चौधरी, गंगाराम चौधरीलाई जन्म कैद हुने फैसला गरेको थियो । श्रवण चौधरी नाबालक भएकाले आधा अर्थात १० बर्ष सजाय तोकिएको थियो। यस्तै लक्ष्मण थारु, लाहुराम चौधरीलगायतका १२ जनालाई ३ वर्ष कैद तोकिएकोमा उनीहरु कैद भुक्तान गरेर छुटेका थिए। तर जिल्ला अदालतको फैसला बदर गर्न माग गर्दै उच्च अदालत दिपयालमा पुनरावेदन गरेपछि रिहा भइसकेका लक्ष्मण थारुलाई पनि जन्म कैद हुुने फैसला सुनाइएको थियो। अहिले उनी फरार छन्। ६ महिना कैद सजाय तोकिएका करन चौधरी पनि रिहा भएका छन् भने नुरुल अलि जागा भनिने तहाँवर अलिजागा, बिसराम चौधरी र रामनरेश चौधरीले सफाइ पाएका थिए । हालसम्म पनि फरार रहेका ३१ जनाको मुद्दा अदालतले मुलतवीमा राखेको छ। अदालतले थारु समुदायमाथि अन्याय गरेको भन्दै रेशम चौधरीसहितका कैदीबन्दी रिहाइ गर्नुपर्ने माग थरुहट थारुवान मोर्चाले राख्दै आएको छ। File Photo  

चितवनको भरतपुर महानगरपालिकामा भूमिहिन सुकुम्बासीहरुलाई जग्गाधनी प्रमाणपूर्जा वितण

भरतपुर । चितवनको भरतपुर उपमहानगरपनलिकामा आज भूमिहिन सुमुम्वासीहरुलाई आज जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग, चितवनजिल्ला समिति मार्फत चितवन जिल्लाको भरतपुर उपमानगरपालिका वडा नं. २ मा १२३ भूमिहिन सुकुम्वासी घरपरिवारलाई भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले जग्गाधनी प्रमाणपूर्जा वितरण गरेकी हुन् । भूमिहिन सुकुम्वासीहरुलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले दुई वर्षभित्र भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गरिसक्ने भनेर सरकारले गरेको प्रतिवद्धता अनुरुप भूमिहिन दलित, भूमिहिन सुकुम्वासीहरुलाई लालपूर्जा वितरणको काम गरिरहेको बताइन् । मन्त्री श्रेष्ठले यहिवर्ष भित्र ३०० पालिकाकाका पाँच लाख भूमिहिनलाई लालपूर्जा वितरण गरिसक्ने र दुई वार्ष भित्र भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गर्न मन्त्रालय सवै खालका प्राविधिक समस्या, कानुनी र कार्यविधिगत जटिलता हटादै नतिजा दिनेगरी काम गरिरहेको पनि बताइन् । मन्त्री श्रेष्ठले आफूले मन्त्रालय संहालेपछि हालसम्म २०२१ सालयता नापि भएर पनि लालपूर्जा प्रप्त नगरेका ४९ हजार भन्दा बढी घरपरिवारलाई लालपूर्जा वितरण गरिसकेको भन्दै यही वर्षभित्र सबै गाउँब्लकको पुनः नापी र विशेष नापीको काम सकेर लालपूर्जा वितरण गर्ने काम सम्पन्न गरिसक्ने बताइन् । उनले यसअघिका आयोगहरुले भूमिहिनलाई लालपूर्जा वितरण गर्न धेरै काम गरिसकेको भनेपनि काम केही पनि काम नभएको र धेरै पटक स्थानीय तहसँग तथ्याङ्क माग्दा प्राप्त गर्न नसकेको भन्दै अहिलेको सरकारले सम्पूर्ण काम प्रक्रियगत र नीतिगत रुपमा पुरागरी भूमिहिनको समस्या दिगो रुपमा नै समाधान हुने गरी लालपूर्जा वितरण गरिएकाले यसअघिका आयोगले दिएका लालपूर्जा जस्तो यो लालपूर्जा फिर्ता नहुनेमा ढुक्क हुन समेत सबैलाई आग्रह गरिन् । मुक्त हलिया, कमैया कमलरी र हरवाचरवाको हक शुनिश्चित गर्न मन्त्रालयले काम शुरु गरिसकेको र अव कुनै पनि वाहानामा हरवाचरवा राखेको र ऋण मुक्त गरेको छैन भने त्यसलाई मुक्त गर्न निर्देशन जारी गरिसकेको पनि मन्त्री श्रेष्ठले जानकारी दिइन् । उनले २०४९ सालभन्दा अगाडी विभिन्न साझा संस्थाहरुमा किसानले मल लिनका लागि धितो राखेको जग्गा लिलामी हुने अवस्थामा रहेको भन्दै उनीहरुको ऋण मोचन गर्ने अफू लागि परेको, भूउपयोग नियमावली ल्याई जग्गा वर्गिकरण गर्न लागिएको र स्थानीय तहहरु मार्फ काम भइरहेको भन्दै भूमिको संरक्षण गर्दै उत्पादन र उत्पादकत्व बढाएर आत्मनिर्भर अर्थतन्त्र विकासका लागि सरकार प्रतिबद्ध भएर लागेको पनि बताइन् ।

गिरिको योगदान स्मरणीय रहने छ : सभामुख सापकोटा

काठमाडौं । सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा सदस्य एवं प्रखर समाजवादी चिन्तक प्रदिप गिरिको योगदान सदा स्मरणीय रहने बताएका छन् । आज दिउँसो सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा पुगेर दिवंगत गिरिप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका सभामुख सापकोटाले ट्वीट गर्दै सादा जीवन उच्च विचारको आदर्शलाई व्यवहारमा चरितार्थ गर्न सफल गिरिको योगदान सदा स्मरणीय रहने बताएका हुन् । सभामुख सापकोटाको ट्वीटमा भनिएको छ ‘सादा जीवन उच्च विचारको आदर्शलाई व्यवहारमा चरितार्थ गर्न सफल माननीय सदस्य एवं प्रखर समाजवादी चिन्तक प्रदीप गिरीको निधनले स्तब्ध बनाएको छ। दिवंगत गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली । शोकसन्तप्त परिवार एवं आफन्तमा गहिरो समवेदना । नेपाली समाजमा उहाँको योगदान सदा स्मरणीय रहने छ । ’

सुकुम्बासी समस्या समाधान गर्ने बुटवलका मेयरको पहिलो निर्णय

काठमाडौं । बुटवल उपमहानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै जनप्रतिनिधिले बुटवलको भूमिहीन सुकुम्बासी समस्यालाई समाधान गर्ने निर्णय गरेका हुन् ।   बुटवलका मेयर खेलराज पाण्डेयले बुटवलमा लामो समयदेखि समस्याको रुपमा रहेको सुकुम्बासी समस्यालाई समाधान गर्नको लागि लगत संकलन, प्रमाणित निस्सा उपलब्ध गराउने तथा नापजाँच प्रकृया बाँकी रहेकाहरुको लागि काम अगाडि बढाउन राष्ट्रिय भूमि आयोगमा अनुरोध गर्ने निर्णय भएको बताए । यस्तै उपभोक्ता हितको लागि बजार अनुगमनलाई प्राथमिकता दिने निर्णय गरिएको छ । सेवा प्रदायक तथा विक्रेताको नियमित अनुगमन गरी आम उपभोक्ताको हित प्रवद्धन गर्ने कार्यलाई प्राथमिकता दिई बजार अनुगमन तथा नियमन कार्यलाई प्राथमिकता दिने निर्णय गरिएको हो ।

बालेनले कटाए ४४ हजार मत

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन्। पछिल्लो मतपरिणाम अनुसार साहले ४४ हजार १ सय ८३ मत प्राप्त गरेका छन्। गठबन्धनका तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंह २५ हजार ८ सय ३५ मतसहित दोस्रो स्थानमा छिन्। एमालेबाट प्रमुखका उम्मेदवार केशव स्थापितले २५ हजार २२ मत प्राप्त गरेका छन्। उपप्रमुखमा भने एमालेकी सुनिता डंगोल लगभग तेब्बर मतान्तरसहित अगाडि छिन्। उनले ४५ हजार ८ सय ७५ मत प्राप्त गर्दा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १५ हजार २ सय ८२ मत प्राप्त गरेका छन्।

धरानमा स्वतन्त्र उम्मेदवारकाे अग्रता बढ्याे

धरान – धरान उपमहानगरपालिकाको पछिल्लो मत गणनाको परिणाम अनुसार मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले २ हजार ८ सय ४४ मतकाे अग्रता बनाउनु भएकाे छ । उहाँले गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईसँगकाे मतान्तर बढाउँदै लैजानु भएकाे छ। निर्वाचन अधिकृतको कार्यालय धरानका सहायक निर्वाचन अधिकृत गणेशप्रसाद खतिवडाले दिएको जानकारी अनुसार अहिलेसम्म ५० हजार १ सय ९ मत गणना भएकोमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले १६ हजार २६ मत प्राप्त गरी पहिलो स्थानमा हुुनुहुन्छ । किशोर राईले १३ हजार १ सय ८२ र नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदीले १० हजार ६ सय २२ मत प्राप्त गर्नुभएकाे छ । यसैगरी उपमेयरमा गठबन्धनबाट माओवादी केन्द्रका आइन्द्र विक्रम बेघाले १६ हजार ७९ र नेकपा एमालेका पदम इस्बो लिम्बुले १४ हजार ४ सय ३१ मत प्राप्त गर्नुभएकाे छ । धरानमा अहिलेसम्म १, २,३,४,५,६,७,८,९,१०,११,१२,१३,१४,१८, १९ र २० नं वडासहित वडा नं १५ को ४ हजार ८ सय वडा नं १६ को १ हजार मत वडा नं २० को १ हजार ३ सय १० मतसहितको गणनामा यस्तो मत परिणाम आएको सहायक निर्वाचन अधिकृत खतिवडाले बताउनु भयाे ।