लेक लागेर १ विदेशी नागरिकको ज्यान गयो

सोलुखुम्बु, चैत २५ । खुम्बु क्षेत्रमा एक स्पेनिस नागरिकको ज्यान गएको छ । खुम्बु पासङल्हामु गाउँपालिका–५ लुङदेमा गएको आइतबार बिहान ९ बजे लेक लागेर एकजना पुरुष स्पेनिस नागरिक अलबेटोको ज्यान गएको हो । लुक्लाबाट ७ जनाको टोली आधारशिविरतर्फ जाँदै गर्दा बाटैमा बिरामी परेका उनलार्ई थ्रिपास गेस्ट हाउसमा लगिएको थियो । उनको त्यही गेस्ट हाउसमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।

एसियन एड्भेन्चर एक्सपेडिसन ट्रेक्स प्रालिमार्फत नेपाल भ्रमणमा आएका ७ जना विदेशी नागरिक मध्ये अलबेटोको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पुष्टि गरेको छ । bघटनास्थलतर्फ इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी निरीक्षक सहितको टोली प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय नाम्चेबाट करिब १२ घण्टाको पैदल दूरीमा पर्दछ ।

आइपीएलः १२ वर्षपछि पन्जाबसँग ‘घरेलु मैदान’ मा राजस्थानको हार

काठमाडौं, चैत १२ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा किंग्स इलेभेन पञ्जावले विजयी शुरुवात गरेको छ । सोमबार राति भएको खेलमा राजस्थान रोयल्सलाई १४ रनले हराउँदै आइपीएलमा पन्जाबले विजयी शुरुवात गरेको हो । जयपुरस्थित राजस्थानको ‘होम ग्राउण्ड’ मा भएको खेलमा क्रिश गेलले उत्कृष्ट ब्याटिङ गरेपछि पञ्जावले जित निकाल्न सफल भयो ।  राजस्थानविरुद्ध पन्जाबले उसकै घरेलु मैदानमा १२ वर्षपद्धि जित निकाल्न सफल भएको हो । टस हारेर ब्याटिङको मौका पाएको पञ्जाबले २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । उसका लागि क्रिश गेलले विस्फोटक ब्याटिङ गरे । उनले ४७ बलमा ८ चौका र ४ छक्काको मद्दतमा ७९ रन बनाए । यस्तै सर्फराज खानले अविजित ४६ रन बनाए । उनले २९ बलमा ६ चौका र एक छक्का प्रहार गरेका थिए । मायांक अग्रवालले २२, निकोलस पुरनले १२, केएल राहुलले ४ र मन्दीप सिंहले नटआउट ५ रन बनाए । बलिङतर्फ राजस्थानका बेन स्टोक्सले २,  कृष्णप्पा गौतम र धवन कुलकर्णीले एकएक विकेट लिए । १८५ रनको लक्ष्य पछ्याएको राजस्थान २० ओभरमा ९ विकेट गुमाउँदै १७० रन मात्र बनाउन सक्यो । उसका लागि जोस बट्लरले १० चौका र दुई छक्का प्रहार गर्दै ४३ बलमा ६९, अजिन्क्या रहाणेले २७ सन्जु स्यामसनले ३०, स्टेभेन स्मिथले २० रन जोडे । अन्य खेलाडीको प्रदर्शन राम्रो रहन सकेन । राजस्थानलाई हराउनका लागि स्याम कुरान, मुजिब उर रहमान, अंकति राजपूतले दुईदुई र विचन्द्र आश्विनले एक विकेट लिए । आइपीएलमा आज सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्स भिड्दै छन् । खेल नेपाली समयअनुसार साँझ ८ः१५ बजे दिल्लीमा हुँदैछ । यी दुई टिमले पहिलो खेलमा जित दर्ता गरिसकेका छन् ।

तीन दिनसम्म वर्षा हुने, उच्च पहाडी भागमा हिमपातको सम्भावना

काठमाडौं, चैत ११ । आजदेखि बुधबारसम्म पानी पर्ने र हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विमागका अनुसार मेडिटेरानियन सीबाट नेपाल आएको जलवाष्पयुत्त हावाका कारण सोमबार पश्चिमी क्षेत्रमा, मंगलबार देशभरी र बुधबार पूर्वी क्षेत्रमा वर्षा हुनेछ । आज देशको पश्चिमी भूभागमा र अन्य पहाडी भूभागहरुमा सामान्य देखि पूर्ण बदली रहि बाँकी भूभागहरुमा आंशिक बदली रहने र पश्चिमी भेगका केही स्थान, अन्य पहाडी भेगका केही स्थानहरुमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना रहेको मौसमविद गंगा नगरकोटीले जानकारी दिइन् । यस्तै पश्चिमी उच्च पहाडी र हिमाली भेगका केहि स्थानहरुमा र मध्य र पूर्वी उच्च पहाडी र हिमाली भेगका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । निरन्तर झरी पर्ने नभई वर्षा हुने र रोकिने क्रम हुने, हावाहुरी सहित पानी पर्ने संभावना रहेको मौसमविद्को अनुमान छ । आज राती पनि देशको पहाडी भूभागहरुमा सामान्य देखि पूर्ण बदली रहने र पश्चिमी भेगका केहि स्थान तथा अन्य पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना रहेको विभागले जनाएको छ । भोलि पनि देशका अधिकांश स्थानहरूमा सामान्य देखि पूर्ण बदली रहि पहाडी भूभागहरूमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना छ । उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हिमपातको सम्भावना छ । वर्षा हिमपात

भारतीय अनलाइनले सन्दीपलाई रोहित बनाएपछि….

काठमाडौं, चैत १० । भारतीय चर्चित अनलाइन ‘नवभारत टाइम्स’ ले नेपाली स्टार क्रिकेटर सन्दीप लामिछानेको फोटो नै बिर्सिएको छ । इन्डियन प्रिमियर लिग (आइपीएल) मा दिल्ली क्यापिटल्समा आवद्ध सन्दीपको फोटोमा रोहित कुमार पौडेलको तस्विर राखिएको छ । नवभारतको साइटमा राखिएको दिल्लीको टिममा सन्दीपको फोटो हुनुपर्नेमा रोहितको फोटो राखिएको हाे । विश्वका चर्चित क्रिकेट लिग खेलिसकेका सन्दीपको फोटो नै नचिन्ने कस्तो अनलाइन हो भन्दै ‘नवभारत टाइम्स’को सामाजिक सञ्जालमा आलोचनासमेत भइरहेको छ । टिमका अन्य खेलाडीको नाम र फोटो भने सहि छ-

पार्टीभित्र गुट हुनु स्वाभाविक होः नेता कोइराला

चितवन, चैत १० । नेपाली का‌ग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र गुट हुनु स्वाभाविक भए पनि गिरोह हुनु दुर्भाग्यपूर्ण हुने बताएका छन् । नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, ‘गिरोहले पार्टी सञ्चालन गरे त्यो खतरनाक हुन्छ ।’ नेता कोइरालाले पार्टीको प्रतिपक्षको भूमिकामा गुट हुने र यसले पार्टी बलियो बनाउन सहयोग पुग्ने बताउँदै गुटले नेतृत्वलाई पार्टी बनाउन सघाउँछ भने । गणतन्त्र र सङ्घीयता काङ्ग्रेसको एजेण्डा रहेको उल्लेख गर्दै उहाँले कम्युनिष्टहरु जनवादी केन्द्रीयतामा विश्वास गर्ने बताए । नेता कोइरालाले सरकारले चौतर्फी रुपमा हस्तक्षेपकारी भूमिका निर्वाह गरेको भन्दै शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा गरेको हस्तक्षेप मान्य नहुने बताउनुभयो । काङ्ग्रेसकी नेत्रीद्वय सीता गुरुङ र डा. डिला सङ्ग्रौलाले काङ्ग्रेस हारे पनि सिद्धान्त र आदर्शको विजय भएको बताए । काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेता देवराज चालिसे, जिल्ला उपसभापति कैलाश कोइराला लगायतले पार्टीको संस्थागत विकासमा जोड दिनुपर्ने बताए ।

आइपीएलमा सुरेश रैनाको ५ हजार रन पूरा

काठमाडौं, चैत ९ । भारतीय क्रिकेटर सुरेश रैनाले इन्डियन प्रिमियर लिग (आइपीएल) मा ५ हजार रन पूरा गरेका छन् । आइपीएलमा ५ हजार पूरा गर्ने उनी एक्ला ब्याट्सम्यान हुन् । रैनाले आज रोयल च्यालेन्जर्स ब्यंग्लोर विरुद्ध १५ रन प्रहार गर्दै आइपीएलमा ५ हजार पूरा गरे । ३२ वर्षीय रैनाले ५ हजार रन पूरा गर्न १७७ म्याच खेल्नु पर्यो । उनी इन्डियन प्रिमियर लिगमा चेन्नई सुपर किंग्सबाट खेल्छन् । अहिलेसम्म यो क्रिकेट लिगमा रैनाले एक शतक र ३५ अर्धशतक प्रहार गरेका छन् ।

आइपीएलः धोनीको अगाडि विराटका सेना फेल, ७० रनमै ब्यंग्लोर अलआउट!

काठमाडौं, चैत ९ । इन्डियन प्रिमियर लिग (आइपीएल) को उद्घाटन खेलमै तीन पटक फाइनलमा पुग्न सफल रोयल च्यालेन्जर्स ब्यंग्लोरले ३ पटक उपाधि जितेको चेन्नई सुपर किंग्सलाई ७१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको ब्यंग्लोरले १७.१ ओभरमा सबै विकेट गुमाउँदै ७० रन मात्र बनाउन सक्यो । उसका लागि पार्थिव पटेलले सर्बाधिक २९ रन बनाए । यस्तै, कप्तान विराट कोहली ६, एबी डी विलियर्स, मोइन अलि ९–९, कोलिन डी ग्रेण्डहोम, युजवेन्द्र चहल ४–४, शिवम दूवे, नवदिप सैनी २–२, उमेश यादव १, शिमरन हिटमायर शून्य रनमै आउट भए । बलिङमा चेन्नईका हरभजन सिंह, इमरान ताहिरले ३–३, रविन्द्र जडेजा र डीजे ब्रोबाले एक–एक विकेट लिए ।

साफ फुटबल च्याम्पियनसिपः उपाधिका लागि नेपाल र भारत भिड्दै [LIVE]

काठमाडौं, चैत ८ । पाँचौ साफ महिला फुटबल च्याम्पियनसिपको फाइनल खेलमा अहिले नेपार र भारत भिड्दै छन् । खेल विराटनगरको शहीद रंगशालामा भइरहेको हो । नेपालले सेमिफाइनलमा श्रीलंका र भारतले बंगलादेशलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गर्न सफल भएका हुन् । आज नेपालको टिममा फरवार्ड लाईनमा सावित्रा भण्डारी र कप्तान दिपा राईले सम्हाल्दा मिडफिल्डमा मञ्जलीकुमारी योञ्जन, रेनुका नगरकोटी, दिपा राई र अनिता बस्नेत हुनेछन् । यस्तै डिफेन्समा हिरा कुमारी भुजेल, गीता राना, मनमायाँ लिम्बु र पुनम जर्घामगर छन् । यस्तै नेपालको गोलकिपिङ एन्जिला तुम्बाप्पोले सम्हालेने छिन् । नेपाल पाँच संस्करण मध्य चौथो पटक फाइनलमा पुगेको छ भने भारतले लगातार पाँचौं फाइनल खेलेको छ । साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपालले पुरानै प्रतिद्वन्द्वी पाएको छ । यो नौलो कुरा होइन, दक्षिण एसियाली महिला फुटबलमा भारत र नेपाल शीर्ष दुई टिम हुन् । तर, साफ च्याम्पियनसिपमा नेपालमाथि भारतको दबदबा कायम छ । प्रतियोगिताको चार संस्करण सकिँदा भारत नै नेपालको सफलताको बाटोमा तगारो बन्दै आएको छ । तर, समय फेरिएको छ । अहिलेको प्रतियोगिता नेपाली मैदानमा हुँदैछ । नेपाली दर्शकका बीचमा । प्रशिक्षक हरि खड्का भन्छन्, ‘यो हाम्रो गृहमैदान हो । हाम्रो मतृभूमि हो ।’ ‘हामी भारतको दबदबा तोड्नका लागि तयार छौं । अवश्य पनि हामी उपाधि उचाल्नेछौं । भोलिको दिन हाम्रो हुनेछ’, प्रशिक्षक खड्काले थपे ।

ग्लोबल आईएमई बैंक र नेपाल लाइफ इन्स्योरेन्सबीच सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं, चैत ८ । ग्लोबल आइएमई बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंन्कासुरेन्स सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंकका १३४ वटै शाखामार्फत नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बिमा योजनाहरु खरिद गर्नुका साथै जीवन बिमासम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिने छ । उक्त सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका तर्फबाट सहायक महाप्रबन्धक सुरेन्द्रराज रेग्मी र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले हस्ताक्षर गरेका छन् । ग्लोबल आईएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउन्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइवर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा १५ लाख रुपैयाँसम्मको बिनाधितो प्रोफेसनल कर्जा पनि प्रदान गर्दै आइरहेको छ । कारोबारदैनिकबाट

शिक्षा मन्त्री पोखरेल अस्पताल भर्ना

काठमाडौं, चैत ७ । स्वास्थ्यमा समस्या देखिएपछि शिक्षा मन्त्री गिरिराजमणि पोखरेल अस्पताल भर्ना भएका छन् । उनी बिहीबार अपराह्न पाटन अस्पताल भर्ना भएका हुन् । गण्डकी मेडिकल कलेजको विवाद सम्बन्धी छलफल सकेलगत्तै उनी स्वास्थ्य जाँचका लागि भरोसा अस्पताल गएका थिए । त्यहाँ केहीबेर परीक्षण गरेपछि भर्ना हुन चिकित्सकले सल्लाह दिएका थिए । ‘भर्ना हुनैपर्छ भनेपछि पाटन अस्पतालमा भर्ना हुनु भएको छ,’ मन्त्री पोखरेलका प्रमुख सल्लाहकार जीवन गौतमले भने, ‘स्वास्थ्य अवस्था सामान्य छ ।’ मन्त्री पोखरेलले सुगरको औषधि सेवन गर्दै आएका थिए । तर पछिल्लो तीन(चार दिनदेखि फुड प्वाइजनको समस्या देखिएको थियो । पाटन अस्पतालमा बिहीबार भर्ना भएका मन्त्री पोखरेललाई शुक्रबार बिहान डिस्चार्ज गर्ने तयारी थियो । तर, बिहीबार रातिदेखि थप समस्या देखिएपछि तत्काल डिस्चार्ज नगर्ने निष्कर्षमा चिकित्सकहरु पुगेका छन् ।

बुद्धभूमि नेपालमा अब अशान्ति र हिंसा होइन शान्तिको खाँचो छः सञ्चारमन्त्री

काठमाडौं, चैत ७ । सरकारले हतियार बिसाएर वार्ताको टेबलमा आउन विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आह्वान गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकका निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले संवादका निम्ति सरकार सधैँ तयार रहेको बताए । विप्लब समूह भनेर चिनिने नेकपालाई दबाउने सरकारको नीति हो भन्ने सञ्चारकर्मीको जिज्ञासाको जवाफमा उनले बमबारुदसँगै सम्पूर्ण हिंसात्मक गतिविधि त्यागेर शान्तिपूर्ण ढङ्गले राजनीतिक असन्तुष्टि समाधानका निम्ति वार्तामा आउन आग्रह गरे । ‘हतियार कुनै समस्याको समाधान होइन, बुद्धभूमि नेपालमा अब अशान्ति र हिंसा होइन शान्तिको खाँचो छ’ दशवर्षे द्वन्द्वको पीडा भोगेका शान्तिप्रेमी नेपालीले देशलाई प्रगतिपथमा अग्रसर गराउन चाहेको यथार्थ सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले भने । कुनै पनि नेपालीले देशलाई पुनः द्वन्द्वतर्फ फर्केको हेर्न नचाहेको, राजनीतिक अभीष्ट पूरा गर्न बलको प्रयोगलाई अस्वीकार गरेको र निर्दोष व्यक्तिको हत्या तथा गैरकानुनी चन्दा असूली सधैँसधैँका निम्ति अन्त्य हुनुपर्ने जनअभिमतप्रति उनको लक्ष्य थियो । राष्ट्रिय सुरक्षा नीति, २०७५ बारेको प्रश्नको प्रत्युत्तरमा मन्त्री बाँस्कोटाले देशको राष्ट्रिय आवश्यकता, परिस्थितिको विश्लेषण, देशको राष्ट्रियता सुदृढ तुल्याउनेलगायत विषय नै उक्त नीतिमा समेटिएको बताए । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन र विदेशी पर्यटकलाई नेपालमा धेरैभन्दा धेरै समय बिताउने तथा अधिक खर्च गराउने लक्ष्य एवम् उद्देश्य हासिल गर्न सम्बद्ध सबै पक्षबाट सक्रिय सहभागिता हुने विश्वास उनले व्यक्त गरे ।

अक्षयकुमार हिरोइनसँग हारेपछि मुख फोरेरै फर्काए यस्तो जवाफ

मुम्बइ, चैत ५ । अभिनेत्री पूजा हेगडेले बलिउडका सुपरस्टार खेलाडी अक्षयकुमारलाई एक खेलमा दुई पटकसम्म हराइदिएको बताएकी छिन् । अक्षयलाई खेलमा नराम्ररी हराएपछि खुशी व्यक्त गर्दै पूजाले उक्त जानकारी आफ्नो सामाजिक सञ्जालमा शेयर गर्दै रितेश देशमुखलाई ट्याग गरेकी छिन् । अभिनेत्री पूजाले यसरी खुलेआम अक्षयको हारबारे उल्लेख गर्दा अक्षय रिसाएको बताइन्छ  ।  उनले आफ्नो तरिकाले पूजालाई कडा जवाफ दिएका छन् । अक्षयकुमार चलचित्र सुटिङको क्रममा को-स्टार्ससँग रमाउने गर्दछन् । उनी रमाइलोको लागि विभिन्न खेल खेल्ने र ‘प्र्यांक’ समेत गर्ने गर्दछन् । यसो गर्दा उनी सम्मिलित सुटिङस्थलको वातावरण निकै रमाइलो हुने गर्दछ । यसै क्रममा हालैमात्र सम्पन्न भएको ‘हाउसफुल ४’को सुटिङको क्रममा उनलाई भिनेत्री पुजा हेगडेले एक पटकमात्र होइन, दुई–दुई पटक लुडो खेलमा हराइदिएकी थिइन् । पूजाले अक्षयको हारबारे जानकारी सामाजिक संजालमा सार्वजनिक गरेपछि उनका प्रशंसकहरूले निकै रमाइलो मानेका थिए । रितेश देशमुखले पूजासँग के भने? पूजा हेगडेले आफ्नो ट्विटमा लेखिन्, ‘त्यो दिन धेरै नै सुन्दर थियो, जहाँ मैले अक्षय कुमार सरलाई एक पटक होइन, दुई-दुई पटक लुडोमा हराइदिएकी थिएँ  यो मेरो सबैभन्दा महान् उपलब्धिमध्ये एक !’ यो लेखेर पूजा हेगडेले आफ्नो पोष्टमा अक्षय कुमार र रितेश देशमुखलाई ट्याग गरेकी थिइन् । यसको जवाफ दिँदै रितेश देशमुखले लेखे– ‘डियर मिस उनले एक सामान्य खेल गुमाइदिएका छन् । हाउसफुल ४ प्रमोशनको क्रममा बेटमनी हुनेछ, यसलाई जित्ने कोशिश गरौं ।’ अक्षयकुमारले पूजालाई दिए यस्तो जवाफ पूजाको यो ट्वीटपछि अक्षय कुमारले पनि आफ्नो सामाजिक सञ्जालमा ट्वीट गरे । अक्षयले लेखे– ‘यस रेकर्डलाई कायम राख्दै, हाउसफुल ४ को प्रमोशन चाँडै नै सुरु हुन गइरहेको छ ।’ यसै तरिकाले अक्षय कुमारले पूजा हेगडेलाई च्यालेन्ज गरे । हाउसफुल ४ हाउसफुल फ्रेचाइजी को चौथो चलचित्र हो । यस चलचित्रमा रितेश देशमुख, बबी देओल, कृति सैनन, कृति खरबंदा, राणा दग्गुबाती र पूजा हेगडे जस्ता कलाकारहरुले मुख्य भूमिकामा देखिँदै छन् । चलचित्रलाई फरहाद सामजीले निर्देशन गरेका हुन् र यसको निर्माण साजिद नाडियाडवालाले गरेका छन् । एजेन्सीबाट

टेस्ट क्रिकेटः रशिदले ५ विकेट लिएपछि अफगानिस्तानले रच्यो यस्तो इतिहास

काठमाडौं, चैत ४ । आयरल्याण्ड विरुद्धको एक टेस्ट खेल अफागनिस्तानले जितेको छ । गत वर्ष टेस्ट राष्ट्रको मान्यता पाएको अफगानिस्तान क्रिकेट टिमले आयरल्याण्डलाई ७ विकेटले हराउँदै टेस्ट खेल जितेको हो । यो जीतसँगै अफगानिस्तान आफ्नो दोस्रो टेस्टमा जीत हासिल गर्ने विश्वको तेस्रो टिम बनेकाे छ । यसअघि, इग्ल्याण्ड र पाकिस्तान रहेका छन् । पहिलो इनिङमा आयरल्याण्डलाई १७२ रनमा रोकेको अफगानिस्तानले आफ्नो पहिलो इनिङमा रेहमद शाहको ९८ रनको मद्दतले ३१४ रन बनाएको थियो। दोस्रो पारीमा लेग स्पिनर रसिद खानले पाँच विकेट लिएपछि आयरल्याण्ड २८८ रनमा अलआउट भएर अफगानिस्तानलाई १४७ रनको लक्ष्य दिएको थियो। अफगानिस्तानले उक्त लक्ष्य तीन विकेट गुमाएर भेट्टायो। यो जितसँगै अफगानिस्तानले आफूलाई दोस्रो खेलमै टेस्ट जित्ने टोलीमा उभ्याएको छ। सन् १८७७ मार्चमा इंग्ल्याण्ड र अष्ट्रेलियाबीच भएको पहिलो टेस्ट म्याचमा अष्ट्रेलियाले जित निकालेको छ। पहिलो टेस्ट खेलमै विजयको रेकर्ड अझै पनि अष्ट्रेलियाकै नाममै कायमै छ । भारतलाई पहिलो टेस्ट जित्न २५ खेल लागेको थियो। बंगलादेशले ३५ र न्यूजिल्याण्डले सबैभन्दा धेरै ४५ खेलमा जित निकालेका थिए।

उद्योगी केडियाको अपहरणका मुख्य योजनाकार पक्राउ

पर्सा, फागुन २५ । नेपाली उद्योगपति सुरेश केडिया अपहरणको मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरी शनिबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी केडिया अपहरणका मुख्य योजनाकार भारत विहारको रक्सौल निवासी बब्लु पाशवान र गाडी चालक भारतको मोतिहारी निवासी विजयकुमार महतोलाई पक्राउ गरी सार्वजनिक गरेको हो । विसं २०७३ ज्येष्ठ १३ गते बारा जिल्लाको महागढीमाई नगरपालिका–१ स्थित पसहापुलबाट उद्योगपति केडिया अपहरणमा परेका थिए । केडिया अपहरणको मुख्य योजनाकार पाशवान र चालक महतोलाई पर्साको छिपहरमाई गाउँपालिकाबाट शुक्रबार बिहान नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए । उनले सिमापारीबाट आएका संदिग्ध व्यक्तिले आपराधिक घटना घटाउन योजना बनाएको गोप्य सूचनाको आधारमा गाउँपालिका–५ भिष्वामा कारवाही गर्दा पाशवन र महतो फेला परेको बताए । पक्राउ परेका पाशवान र महतोविरुद्ध बारा जिल्ला अदालतमा अपहरण, शरीर बन्धक, सङ्गठित अपराध, हातहतियार तथा खरखजाना मुद्दा रहेकाले आवश्यक कारवाहीका लागि दुबै अभियुक्तलाई बारा प्रहरीको जिम्मा लगाइने उपरीक्षक ढकालले सञ्चारकर्मीलाई जानकारी दिए । प्रहरी नियन्त्रणमा रहेका पाशवानले केडिया अपहरणको योजना बनाएको स्वीकार गर्दै प्रतिबन्धित लागुऔषध खरीद गर्न नेपाल आउने क्रममा पक्राउ परिएको बताए । अपहरणमा परेका केडियालाई भारतीय सुरक्षाकर्मीको सहयोगमा भारतको मोतिहारीबाट उद्धार गरिएको थियो । रासस

घरको झगडाले बुवा बिते आमा जेल, बच्चाको बिचल्ली

प्युठान, फागुन २५ । प्युठान झिमरुक गाउँपालिका १ सौतामारे तल्लोगाउँका विष्णु थापा र उनकी पत्नी सीताबीच बेला बेला झगडा हुने गथ्र्यो । ‘जोईपोईको झगडा, परालको आगो’ उखान यो जोडीको जीवनमा पनि चरितार्थ थियो । उनीहरु छिनमै रिसाउने, छिनमै मिल्ने उनीहरुलाई बानी भइसकेको थियो । तर विडम्वना समय सधै एकनास रहन्न र रहेन पनि । गत वर्ष चैत २० गते सामान्य कुरामा सधै जस्तै झगडा भयो । भनाभन चलिरह्यो । सीताले पतिलाई सम्झाउँदै थिइन् । तर, विष्णुले मानेनन् । स्थानीयका अनुसार उनले मदिरा सेवन गरेका थिए । सीताले छेउमै रहेको हँसियाको बिँडले हान्न खोज्दा संयोगवश धारिलो भागले लाग्यो । विष्णुको हातमा गहिरो चोट लाग्यो । अत्याधिक रगत बगेर उपचार गर्न नपाउँदै घरमै मृत्यु भयो । पतिको हत्या गरेको अभियोगमा अदालतले दोषी ठहर गरेपछि ४२ वर्षीया सीता यतिबेला जिल्ला कारागारमा छिन् । एउटै गल्तीले श्रीमान गुमाएकी उनलाई २० वर्ष जन्मकैद सुनाएको छ । विष्णुको मृत्यु भएको एक वर्ष पनि पुगेको छैन । बुवाआमाको झगडाले नावालक छोराछोरीले पीडामा जीवन बिताउनु परेको छ । १५ वर्षीय सुनील थापा र उनकी ८ वर्षीया बहिनी बसन्तालाई आमाबुवाबारे सोध्नै हुँदैन । उनीहरु मन थाम्नै सक्दैनन् । बुवा आमाको झगडा हुँदा सुनील घरमै थिए, त्यसैले पनि बुवाआमाबारे केही बोल्न सक्दैनन् ।

किन निर्माता करण जौहरको सपना पूरा हुन सकेन ? कारण यस्तो छ

मुम्बई, फागुन २४ । बलिउड क्षेत्रका चलचित्र निर्माता करण जोहरद्वारा निर्मित मल्टिस्टार बलिउड चलचित्र ‘कलंक’ का मूख्य कलाकारहरुको लुक्स सार्वजनिक हुने भएको छ । बिहीवार बलिउड चलचित्रका मेल एक्टर्सको फर्स्ट लुक रिलिज गरिएको छ । बलिउड चलचित्र ‘कलंक’, करणको दिलसँग निकै नजिक छ । आलिया भट्ट, वरुण धवन, सञ्जय दत्त, आदित्य रोय कपूर, माधुरी दीक्षित र सोनाक्षी सिन्हा यस चलचित्रमा मूख्य भूमिकामना देखिने भएका छन् । तर, यसअघि करण आफ्नो ड्रिम प्रोजेक्टका लागि अर्कै स्टारकास्ट लिने सोचमा थिए । उनले फिल्ममा शाहरुख खान, रानी मुखर्जी, काजोल र अजय देवगनलाई कास्ट गर्न चाहेका थिए । तर, केही कारणले उनले आफ्नो ड्रिम कास्ट वास्तविकतामा बदल्न सकेनन् । उनले यसमा शाहरुख र रणबीर कपूरलाई पनि लिन चाहेका थिए । यसमा पनि उनी सफल भएनन् । यतिमात्र होइन, स्वर्गीय अभिनेत्री श्रीदेवी पनि ‘कलंक’ को हिस्सा थिइन् । तर, गएको वर्ष आकस्मिक मृत्युका कारण उनको ठाउँमा माधुरी दीक्षित नेनेलाई करणले अनुबन्ध गरेका हुन् । कयौं वर्षपछि सञ्जय दत्त र माधुरीलाई दर्शकले एकसाथ पर्दामा देख्न पाउँदैछन् । तर, फिल्ममा उनीहरुको साथमा कुनै सिन छ वा छैन त्यो भने खुलेको छैन । पिरियड ड्रामा फिल्म कलंकमा वरुण धवन जफरको रोलमा देखिनेछन् । यो फिल्म १९ अप्रिलमा रिलिज हुँदैछ । यसको बजेट ८० करोड बताइएको छ । ‘कलंक’ लार्ई अभिषेक वर्मनले निर्देशन गरेका हुन् । यसलाई करण जोहर, साजिद नाडियडवाला, हिरू यश जोहर र अपूर्व मेहताले संयूक्त रुपमा निर्माण गरेका हुन् । एजेन्सी