प्रधानमन्त्री ओलीद्वारा भुटानका प्रधानमन्त्रीलाई शुभकामना

काठमाडौं, कार्तिक २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले डा. लोते छिरिङलाई उनले भुटानको प्रधानमन्त्रीको उच्च पद सम्हालेकोमा शुभकामना व्यक्त गरेका छन् ।

परराष्ट्र मन्त्रालयद्वारा बुधबार प्रकाशित विज्ञप्तीअनुसार प्रधानमन्त्री ओलीले पठाएको सन्देशमा प्रधानमन्त्री छिरिङको सफल कार्यकालको कामना पनि गरेका छन् ।

प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्ध अझ बढी मजबुत बनाउन निकटमा रहेर कार्य गर्ने तथा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मन्चहरुमा साझा सवाललाई अघि बढाउने चाहना पनि व्यक्त गरेका छन् ।

दशैँको टीका थाप्ने क्रम जारी, सरकारी कार्यालय आजबाट खुल्दै, राजधानी फर्किंदै सर्वसाधारण

काठमाडौं, कार्तिक ४ । विजयादशमीको बिदा सकिएपछि सरकारी कार्यालयहरू आजबाट खुल्ने भएका छन् । सरकारले द्वादशीको बिदा कटौती गरेपछि फूलपातीदेखि बन्द कार्यालयहरू आजबाट खुल्ने भएका हुन् । यसका साथै आज टीकाको तेस्रो दिन पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिने क्रम जारी छ । विजयादशमीको टीका लगाउन नपाएका वा नभ्याएकाहरुले कोजाग्रत पूर्णिमाको दिनसम्म पनि मान्यजनको हातबाट टीका, जमरा र आशिर्वाद लिने गर्दछन् । कतिपयकोमा भने विजयादशमीको दिन घरमा र त्यसपछि कोजाग्रत पूर्णिमाको दिनसम्म आफन्तकोमा गएर टिका लगाउने चलन रहेको छ । घटस्थापनाका दिन दशैंघरमा विधिपूर्वक स्थापना गरी नौ दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरिएको टीका, जमरा र प्रसाद कोजाग्रत पूर्णिमाका दिनसम्म आफूभन्दा अग्रजको हातबाट थापेर आर्शिवाद लिइने परम्परा छ । यसका साथै टीका थाप्न उपत्यका बाहिर जानेहरू समेत राजधानी भित्रिन थालेकाले राजधानी आउने सवारी साधनहरूमा यात्रीहरू घुइंचो छ साथै यहाँका सडक बजारहरूमा क्रमशः चहलपहल बढ्दै गइरहेको छ । दशैँको समय लगभग २४ लाख मानिस उपत्यकाबाट बाहिरिएको अनुमान रहेको छ ।  

रेल दुर्घटनाः रावणको भूमिका निभाएका सिंहकोसमेत मृत्यु

बीबीसी । भारत पञ्जावको अमृतसरमा रेलले किच्दा रामलिलामा रावणको भूमिका निभाएका स्थानीय दलविर सिंहकोसमेत मृत्यु भएको छ।   विगतमा सँधै रामको भूमिमा खेल्दै आएका सिंहले यो वर्ष पहिलो पटक रावण बनेर अभिनय गरेका थिए। साथीहरुको आग्रहमा यस वर्ष उनी रावण बनेका थिए तर त्यसलगत्तै उनले जीवन गुमाउन पुगेको बीबीसीले जनाएको छ।   रामलिलाको आफ्नो भूमिका सकिएपछि सिंह पनि रावणको पुत्ला दहन हेर्न भिडमा सामेल थिए। साथीहरुको आग्रहमा उनी मैदान झरेका थिए मञ्चबाट। तर उनको यस वर्षको रावणको भूमिका उनको जीवनकै अन्तिम अभिनय बन्न पुगेको छ।   रामलिलाको मञ्च रेल पट्रिबाट २५ मिटर मात्रै टाढा बनाइएको थियो। शुक्रबार दसहराको अवसरमा ‘अमृतसर रेल वे स्टेशन’ बाट दुई किलोमिटर दुरीमा रहेको धोवीघाट मैदानमा रेलको पट्रिमै उभिएर रावणको पुत्ला दहन हेरिरहेका दर्शकहरुलाई रेलले किचेको थियो ।   धोपिघाटमा पुत्ला दहन हेर्न करिव दुई सय जना भेला भएका थिए। जरुवा फाटक क्रसिगको ढाको बन्द भएपनि रावण दहन राम्रोसँग हेर्न र मोबाइलमा भिडियो तथा तस्बिर खिच्न दर्शकहरु रेलको पट्रिमै उभिएका थिए। लगत्तै आएको जालन्धर-अमृतसर डिएमयु रेलले हान्दा ७० जना मृत्यु भएको थियो।

मलेसियाले दियो नेपाललाई १०१ रनको विजयी लक्ष्य, सन्दिपले लिए पाँच विकेट !

काठमाडौं, असोज २० । मलेसियामा जारी आइसिसी विश्व टी-ट्वान्टी क्रिकेट अन्तर्गत एसिया छनोट समूह ‘बी’ मा आफ्नो दोस्रो खेलमा नेपालले १०१ रनको विजयी लक्ष्य पाएको छ ।     टस जितेर ब्याटिङ गरेको मलेसियाले १९.३ ओभरमा सबै विकेट गुमाउदैं १०० रन मात्र बनाउन सक्यो । आज मलेसियाका लागि मोहम्मद सरफिले ४९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो रहेन ।     बलिङमा नेपालका लागि सन्दिप लामिछानेले पाँच विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै २० रन खर्चदैं पाँच विकेट लिन सफल भएका हुन् । यस्तै, सोमपाल कामीले ३, कप्तान पारस खड्काले १ रन लिन सफल भए ।   कप्तान खड्काले एक ओभर मेडन दिन सफल पनि भए । यस्तै, एक मलेसियाली खेलाडी पारसको बलमा रन आउट भए । खेल मलेसियामै भइरहेको छ । पहिलो खेलमा म्यानमारलाई ८ विकेटले हराएको नेपालले आफ्नो दोस्रो खेलमा शनिबार मलेसियासँग खेलिरहेको हो ।     नेपालले सन् २०१३ पछि पहिलोपटक नेपालले मलेसियासँग टी-ट्वान्टी फर्म्याटमा प्रतिस्पर्धा गर्न लागेको हो। टी-ट्वान्टीको पछिल्लो तीन भेटमा नेपालले मलेसियालाई दुई पटक हराएको छ भने एक खेल मलेसियाले जितेको छ।

आर्थिक अभावका कारण मृत्युसँग लड्दैछिन बझाङकी यी महिला

लोकेश धामी, काठमाडौं। बझाङकी एक महिला आर्थिक अभावले गर्दा मृत्युसँग लडिरहेकी छन् । जिल्लाको केदारस्युँ गाउँपालिका–६, खड्का भन्ने ठाउँ घर भएर हाल रोजगारीका लागि भारतको ब्यङ्लोरमा रहेका रामबहादुर धामीकी श्रीमती धुतादेवी आर्थिक अभावले गर्दा मृत्युसँग लडिरहेकी हुन् ।   उनलाई ‘ब्रेन ट्युमर’ सम्बन्धी रोग लागेको छ र अहिले उनी भारतको सिद्धी साई अस्पतालमा भर्ना भएकी छन् । तर, आर्थिक अभावले गर्दा धुताको उपचारमा कठिनाई भएको उनका श्रीमान् राम धामीले जानकारी दिए । श्रीमतीको उपचारका लागि न्यूनतम् पाँच लाख खर्च लाग्ने चिकित्सकले बताएका उनले जनाए ।   रामले भने, ‘डाक्टरहरुले पाँच लाख रुपैयाँ लाग्ने भनेका छन् । हामीसँग त्यति पैसा छैन, निकै संकट भइरहेको छ । अहिले सबैसँग हारगुहार गरिहरहेका छौं ।’ रामकी श्रीमती एक महिना अघि मात्रै ब्यङ्लोर गएकी थिइन् । एकदिन अचानक विरामी परेपछि अस्पताल भर्ना गराएको र जाँच गर्दा ‘ब्रेन ट्युमर’ भएको अस्पतालले बनेको रामले बताए ।   उनले गहभरी आँसु देखाउँदै भने, ‘गरिबीका कारण धन कमाउन भारत आएको थिए । एक महिनाअघि श्रीमतीलाई पनि बोलाए, उनी एक्कासी विरामी परिन्, अस्पताल भर्ना गर्दा त डाक्टरले ‘ब्रेन ट्युमर’ छ भन्यो ।’ अहिले रामकी श्रीमती अस्पतालको आइसियूमा छिन् ।   राम ब्यङ्लोरको संजयनगर भन्ने ठाउँमा लामो समयदेखि काम गर्दै आएका थिए । उनले आफ्नो श्रीमतीको उपचारका लागि सहयोग गरिदिन आग्रह गरेका छन् । रामले भने, ‘सबै नेपाली दाजुभाई, दिदी-वहिनीलाई आग्रह गर्छु । मेरी श्रीमतीको उपचारका लागि आर्थिक सहयोग गरेर बचाइदिनुस् । म संघ-संस्थालगायत सम्पूर्ण नेपालीलाई आर्थिक सहयोगका लागि विशेष याचना गर्छु ।’   यदि तपाइँले उपचार अभावले आइसियूमा रहेकी धामीलाई आर्थिक सहयोग गर्न चाहनुहुन्छ भने उनका श्रीमान्को नम्बरमा फोन गरेर बुझ्न सक्नु हुनेछ । उनको मोबाइल नम्बर ७३४९५७८२३० हो । भने, बैंक खाता नम्बर ४१०२०२०१००१८१८३ रहेको छ ।

डा. केसीको जीवनरक्षा माग गर्दै आकस्मिक बाहेक सबै सेवा ठप्प

काठमाडौं, असार २९ । जुम्लामा अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल काठमाडौका आवासीय डाक्टरले हड्ताल थालेका छन् । आवासीय डाक्टरको संस्था रेजिडेण्ट डक्टर्स एसोसिएसनको आह्वानमा शुक्रबारदेखि आकस्मिक बाहेकका सेवा नदिने निर्णय गर्दै हड्ताल थालिएको हो । स्वास्थ्य सेवा सुधारको माग गर्दै डाक्टर केसी अनशनमा बसेको १४ औँ दिन भइसक्दा पनि उहाँको माग सम्बोधन गर्न सरकारले कुनै चासो नदिएकाले बाध्य भएर हड्ताल गर्नुपरेको एसोसिएसनका अध्यक्ष सुमित पाण्डेले बताए । आवासीय बाहेकका डाक्टरले भने नियमित रुपमा नै सेवा दिइरहेका छन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आमरण अनशनमा बसेका डाक्टर केशीको स्वास्थ्य अवस्था कमजोर हुँदै गए पनि सरकार गम्भीर नबनेकाले दबाब दिन सेवा बहिष्कार गरिएको उनले बताए । डाक्टर केसीको श्वासप्रश्वास र मुटुमा समस्या देखिन थालेको उपचारमा संलग्न डाक्टरले बताएका छन् । काठमाडौंको माइतीघर मण्डलामा अस्पतालको बहिरंग विभाग अर्थात ओपीडी राखेर सांकेतिक रुपमा उपचार दिइने उनले बताए । डाक्टर केसीसँग भएको सहमति कार्यान्वयनमा सरकारले चासो नदिँदा आन्दोलन गर्न बाध्य भएको डाक्टरले बताएका छन् । केसी चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशनमा बस्नु भएको यो १५ औं पटक हो ।

विश्वकप फाइनल अर्जेन्टिनाका रेफ्रीले खेलाउने, कसले जित्ला विश्वकप ?

मस्को । रसियामा जारी फिफा विश्वकप फुटबलको फाइनल खेल पर्सि (आइतबार) हुँदैछ । फाइनलमा पूर्वविजेता फ्रान्स र पहिलो पटक फाइनलमा पुगेको क्रोएसियाबीच भिडन्त हुने छ । फ्रान्स बेल्जियमलाई हराएर तथा क्रोएसिया इंग्ल्याण्डलाई हराएर फाइनलमा स्थान सुरक्षित गरेका छन्। दुवै टिम अहिले फाइनलको अन्तिम तयारीमा छन् । मस्कोमा हुने फाइनल खेल कसले खेलाउने भन्ने पनि तय भएको छ । अर्थात फ्रान्स र क्रोएसियाबिचको फाइनलमा रेफ्री को रहने भन्ने टुंगो लागेको छ । अर्जेन्टिनाका रेफ्री नेस्तोर पितानाले फाइनल खेलाउने भएका छन् । पिताना आफ्ना सहयोगीको टिमसहित फाइनल खेलाउने रेफ्रीका रुपमा चयन भएका हुन् । हेर्नान माइदाना र आन पाब्लो बेलात्तीले फाइनलमा पितानालाई सहयोग गर्नेछन् । ४३ वर्षका फिलिकल एजुकेशन टिचर पितानाले रुस विश्वकपमा अहिलेसम्म चार खेलमा रेफ्रीको भूमिका खेलीसकेका छन् । उनले रुस र साउदी अरेबियाबिचको उद्घाटन खेल तथा समूह चरणमा मेक्सिको र स्वीडेनबिचको खेल खेलाए । यसैगरी अन्तिम १६ मा क्रोएसिया र डेनमार्क तथा क्वाटरफाइनलमा उरुग्वे र फ्रान्सबिचको खेल पनि उनैले खेलाएका हुन् । पिताना सन् २०१० देखि अन्तर्राष्ट्रिय रेफ्री रहँदै आएका छन् । -एजेन्सी

गणेश थापाद्वारा कांग्रेस नेता खतिवडालाई ‘ठिक पार्ने’ धम्की

काठमाडौं, असार २९ । विश्वकप फुटबलले सबैको ध्यानाकर्षण गराईरहेको बेला अखिल नेपाल फुटबल सघ (एन्फा) का तत्कालीन अध्यक्ष गणेश थापाले एउटा तारे होटलमा आयोजित मजिक समारोहमा पूर्वसांसद रामहरि खतिवडालाई ठिक पार्ने धम्की दिएका छन् । मगलबार सोल्टी होटलमा आयोजित एउटा विवाह भोजमा एन्फा नेतृत्वमा २० बर्षसम्म रहेर हाल निलम्बनमा रहेका थापाले कांग्रेस नेता रामहरि खतिवडालई तथानाम गली गरेर ठिक पार्ने धम्की दिएका हुन् । अघिल्लो संसद्को सार्वजनिक लेखा समितिले थापालाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष सिफारिस गरेको थियो। अख्तियारको निर्देशनमा थापा सांसद पदबाट ६ महिना निलम्बनमा परेका थिए। आफूलाई कारबाही गरिएको विषयमा उनले खतिवडालाई धम्की दिएका हुन्। कांग्रेस नेता खतिवडाका अनुसार थापाले ‘मुलुकमा तपाईं मात्रै नेता हुनुहुन्छ मलाई कारबाही गर्न अरूलाई चासो नलाग्ने तपार्इंलाई मात्रै लाग्ने किन ? कांग्रेस-कम्युनिस्ट सबै सांसद मेरो पक्षमा भएका बेला तपाईंका कारण म कारबाहीमा परें, अब तपाईंलाई ठिक पार्छु’ भन्दै आक्रोश पोखेका थिए। ‘थापासँग मैले हात मिलाउन खोजें, उहाँ ममाथि गालीगलौजमा उत्रिनुभयो’, खतिवडाले भने। नागरिक दैनिकमा खबर छ ।

सुशासनको नयाँ इतिहास रच्छु : प्रधानमन्त्री

काठमाडाैं, असार २७ : प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासका माध्यमबाट समृद्ध नेपाल, सुखी नेपालीको ध्येय पूरा हुने बताउनु भएको छ । “सामाजिक एकता, सहिष्णुतालाई अझ कसिलो र दरिलो बनाउँदै राष्ट्रिय एकता बलियो बनाउने छु,” उहाँले भन्नुभयो, “म दाग र धब्बारहितरुपमा काम गर्छु, भ्रष्टाचार अनियमितता शब्द सुन्न पनि सक्दिन, सुशानको नयाँ इतिहास रचना गर्छु, राष्ट्र निर्माणको महाअभियानमा सरकार जुटेको छ ।” संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा स्थापित विभिन्न पुरस्कार विभिन्न स्रष्टालाई आज यहाँ अर्पण गर्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले जनताले दिएको बहुमतका आधारमा सरकार थिति र विधिमा चल्ने बताउँदै कसैको लहड, जिद्दी र अराजकतन्त्रले लोकतन्त्रलाई कहिल्यै भलो गर्दैन् भन्नुभयो । सरकार सबै राजनीतिक दललाई साथ सहयोग लिइ विश्वासमा चल्ने बताउँदै उहाँले सामाजिक न्याय र समानतासहितको समाजवादी लोकतन्त्रले मात्र विपन्न जनताको जीवनस्तरमाथि उक्लिने धारणा व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले लोकतन्त्रमा जनता भोकै र नाङ्गै पर्नु हुँदैन, यसमा सरकार सचेत छ भन्नुभयो । “जीवनभर लोकातन्त्र ल्याउन लड्ने व्यक्ति र पार्टी जनताको दिएको आदेशअनुसार प्रधानमन्त्री हुँदा कसरी लोकतन्त्र खतरामा पर्छ ?” उहाँले प्रश्न गर्नुभयो । प्रधानमन्त्री ओलीले आफूले प्रधानमन्त्री पद सम्हालेको दिनदेखि नै आलोचना समालोचना हुन शुरु गरेको उल्लेख गर्दै स्वच्छ आलोचनादेखि आफू नडराउने र नतर्सिने स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले नेपाल र भारत, नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिएको चर्चा गर्दै छिमेकीसित नयाँ सम्बन्ध स्थापित भएको बताउनुभयो । युवालाई प्रोत्साहन र पाकालाई सम्मान सरकारले गर्ने चर्चा गर्दै उहाँले विसं २०५१ मा आफू मन्त्री हुँदा शुरु भएको स्रष्टा सम्मान कार्यलाई विस्तारसमेत गरिएको जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले कला, साहित्य, भाषाले देशको समृद्धिलाई सहयोग गर्ने चर्चा गर्दै भाषा, संस्कृति, कला देशका ऐना हुन् भन्नुभयो । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले भाषा, साहित्य, कला तथा संस्कृतिको उन्नयन गर्दै समृद्ध नेपाल, सुखी नेपाली लक्ष्य पूरा गर्ने ध्येय मन्त्रालयको छ भन्नुभयो । “प्रतिपक्षलाई पेलेर होइन, साथ र सहयोग लिएर सरकारले काम गर्छ,” उहाँले भन्नुभयो । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगा उप्रेतीले पुरस्कारका लागि स्रष्टा चयन गर्दा मापदण्ड बनेको जानकारी दिनुभयो । भगत सर्वजित प्रतिष्ठानका अध्यक्ष छविलाल विश्वकर्माले ओझेलमा परेका स्रष्टालाई बाहिर ल्याई सम्मान गर्ने परम्पराले स्रष्टाका आत्मविश्वास बढेको बताउनुभयो । सम्मानित व्यक्तित्व विनय कसजुले स्रष्टा सम्मानले कला र साहित्यको श्रीवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । विभिन्न पुरस्कार विभिन्न स्रष्टालाई अर्पण सो अवसरमा प्रधानमन्त्री ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा स्थापित विभिन्न पुरस्कार विभिन्न स्रष्टालाई अर्पण गर्नुभयो । कार्यक्रममा विसं २०७४ को राष्ट्रिय प्रतिभा पुरस्कार पाँच विधाका पाँच स्रष्टालाई अर्पण गरियो । यसरी पुरस्कृत हुनुहुनेमा संस्कृति विधामा प्रा डा रञ्जना बज्राचार्य (काठमाडौँ), संगीत तथा नाट्य विधामा प्रचण्ड मल्ल (काठमाडाैं), ललितकला विधामा ठाकुरप्रसाद मैनाली (काठमाडाैं) र भाषा तथा साहित्य विधामा प्रा डा केशवप्रसाद उपाध्याय हुनुहुन्छ । सो पुरस्कारको राशि रु एक लाखसहित सम्मानपत्र रहेको छ । यसैगरी सोही वर्षको महाकवि लक्ष्मीप्रसाद देवकोटा राष्ट्रिय पुरस्कारबाट पाँच विधाका पाँच जना स्रष्टालाई प्रदान गरियो । यसरी पुरस्कृत हुनुहुनेमा कविता विधामा कञ्चन पुडासैनी(काठमाडौँ), निबन्ध विधामा तेजराज खतिवडा (झापा), बाल साहित्य विनय कसजु (पाल्पा), भाषा साहित्यमा महेश्वरराय जलेश्वर र आख्यान विधामा अभि सुवेदी (तेह्रथुम) हुनुहुन्छ । सो पुरस्कारको राशि रु एक लाखसहित सम्मानपत्र रहेको छ । यसैगरी मन्त्रालयले यस वर्षदेखि शुरु गरेको गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार नाटक विधामा नरेश शाक्य (सुनसरी) र प्रा डा मोहनहिमांशु थापा (काठमाडौँ)लाई अर्पण गरिएको छ । सो पुरस्कारको राशि रु एक लाखसहित सम्मानपत्र रहेको छ । यसैगरी कार्यक्रममा भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार दलित मुक्ति आन्दोलन क्षेत्रबाट पदमलाल विश्वकर्मा (इलाम), समाज सुधार अभियान क्षेत्रबाट दलवीर विश्वकर्मा(काठमाडौँ) र लेखन तथा अध्ययन अनुसन्धान क्षेत्रबाट राजेन्द्रकुमार महर्जन(काठमाडौँ) लाई अर्पण गरिएको थियो । सो पुरस्कारको राशि रु एक लाखसहित सम्मानपत्र रहेको छ । कार्यक्रममा विभिन्न चार विधाका प्रादेशिक प्रतिभा पुरस्कारबाट विभिन्न स्रष्टालाई सम्मानित गरिएको छ । यो पुरस्कार पाउनुहुनेमा सस्कृति विधातर्फ प्रदेश १ बाट प्राडा गोविन्दमान सिंह कार्की (भोजपुर), प्रदेश नं २ बाट डा पशुपतिनाथ झा (महोत्तरी), प्रदेश नं ३ बाट उद्धवप्रसाद भट्टराई (काभ्रेपलाञ्चोक), प्रदेश ४ बाट डा दीनबहादुर थापा (बाग्लुङ), प्रदेश ५ बाट प्रतिभा पुन ( रुपन्देही), प्रदेश ६ बाट रमानन्द आचार्य (जुम्ला) र प्रदेश ७ बाट मणिराज जोशी (कैलाली) हुनुहुन्छ । यसैगरी संगीत तथा नाट्य विधातर्फ प्रदेश १ बाट नारायण ओली (झापा), प्रदेश २ बाट प्रियका झा (धनुषा), प्रदेश ३ बाट सुनिता दुलाल (भक्तपुर), प्रदेश ४ बाट इतु जोजिजु (कास्की), प्रदेश ५ बाट सरस्वती चौधरी, प्रदेश ६ खर्कबहादुर बुढा र प्रदेश ७ बाट सुधादेवी चाड हुुनुहुन्छ । त्यस्तै, ललितकलातर्फ प्रदेश १ बाट गोपालप्रसाद कलाप्रेमी (मोरङ), प्रदेश २ बाट सीतादेवी कर्ण (धनुषा), प्रदेश ३ बाट सौरगंगादर्शनधारी (काठमाडौँ), प्रदेश ४ बाट सुनील सिग्देल (कास्की), प्रदेश ५ बाट नरेन्द्रप्रसाद भण्डारी (गुल्मी) प्रदेश ६ बाट झिग्मे तामाङ (मुगु) र प्रदेश ७ बाट दीपक आउजी (कैलाली) हुनुहुन्छ । यसैगरी भाषा तथा साहित्य विधातर्फ प्रदेश १ बाट प्रा डा भोलानाथ पोखरेल (सुनसरी), प्रदेश २ बाट विनिता ठाकुर (धनुषा), प्रदेश ३ बाट नरेन्द्रराज पौडेल (सिन्धुपाल्चोक), प्रदेश ४ बाट महेश्वर शर्मा (स्याङ्जा), प्रदेश ५ डा दुवीन्द ढकाल (गुल्मी), प्रदेश ६ बाट बलभद्र भारती (सुर्खेत) र प्रदेश ७ बाट चन्द्रदेव जोशी (दार्चुला) हुुनुहुन्छ । उक्त पुरस्कारको राशि रु ५० हजारसहित सम्मानपत्र रहेको छ ।

चलचित्र ‘रेस ३’ को ट्रेलर सार्वजनिक

मुम्बई । बलिउड सुपरस्टार सलमान खानको नयाँ बलिउड चलचित्र ‘रेस ३’ को ट्रेलर सार्वजनिक गरिएको छ । मुम्बईको जुहूमा आयोजित एक कार्यक्रममा चलचित्र सेलिब्रेटी सलमान खान, बबी देओल, ज्याकलिन फर्नान्डिस, डेजी साह, अनिल कपुर र फ्रेडी दारुवाला उपस्थित रहेका थिए । ट्रेलर सार्वजनिक कार्यक्रममा संसारभरिका सबै फ्यानहरु सुपरस्टार सलमान खानलाई हेर्नका लागि ३६० डिग्री फर्म्याटमा हेरेका थिए । कार्यक्रममा सलमान खानले बबी देओललाई भने– ‘बबी देओल अब बडी देओल बनिसकेका छन् ।’ बबीले जवाफ दिँदै सलमानलाई ‘मामू’ बोलाउँदै भने, “मामू मेरा भगवान हुन् । उनले मलाई विश्वास गरे ।” कार्यक्रममा जज्याकलिन फर्नान्डिसले सलमानको प्रशंसा गर्दै भनिन्– “मलाई सलमान खानले निकै ठूलो गुण लगाएका छन् । चलचित्र ‘किक’ मेरो करियरमा एक टर्निङ प्वाइन्ट प्रमाणित भएको थियो ।” चलचित्रको बारेमा बताउँदै सलमानले भने,” समयको कमीका कारण मैले चलचित्र ‘रेस’ र ‘रेस २’ हेर्न पाएका थिएन । तर यो एकदम राम्रो रहेका छ । अहिले  ‘रेस ३’ मा आफ्नो इनपुट हाल्न पाएँ, खुसी लागेको छ ।” चलचित्र ‘रेस ३’ को यही वर्ष इदमा रिलिज हुने भनिएको छ ।     हेर्नुहोस् ट्रेलर भिडियो-

सिन्धुको खुद नाफा २८.९९ प्रतिशतले घट्यो

काठमाडौं । सिन्धु विकास बैंकले चालु आथिक वर्षको तेस्रो त्रैमासमा १ करोड ८१ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । खुद नाफा गत वर्षको यही अवधिमा भन्दा २८.९९ प्रतिशतले थोरै हो । बैंकको खुद ब्याज आम्दानी ०.१४ प्रतिशतले बढेर ७ करोड ४० लाख ३५ हजार रुपैयाँ पुगेको छ । तर सञ्चालन नाफा २८.९९ प्रतिशतले घटेपछि खुद नाफामा पनि गिरावट आएको हो । तेस्रो त्रैमाससम्म यसको सञ्चालन नाफा २ करोड ८५ लाख ८ हजार रुपैयाँ मात्र छ । सिन्धुले १ अर्ब ९७ करोड २६ लाख ७३ हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ५१ करोड ५ लाख ७२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । खराब कर्जा १।०५५ बाट बढेर १।३६५ पुगेको छ । कस्ट अफ फन्ड पनि ६.४० प्रतिशत पुगेको छ । गतवर्ष यो ४.७५ मात्र थियो । सिन्धुले चुक्ता पुँजी २६ करोड २१ लाख ९२ हजार रुपैयाँबाट बढाएर ४१ करोड ८१ लाख १६ हजार रुपैयाँ पुर्याएको छ । रिजर्भ कोषमा पनि ६१.९८५ सुधार गरी ९ करोड ४४ लाख २८ हजार रुपैयाँ जम्मा गरेको छ । सिन्धुको प्रतिसेयर आम्दानी ९वार्षिक० ५ रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ५८ पैसा छ । नेपालीपैसाबाट साभार

‘नागरिक वचतपत्र २०८०’ को बिक्री खुला, कति पाइन्छ ब्याज ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई अर्ब रुपैयाँ बराबरको ‘नागरिक वचतपत्र २०८०’ को विक्री खुला गरेको छ । नेपाल राष्ट्र बैंकले पाँच वर्षे अवधिका लागि वार्षिक ९ प्रतिशत ब्याजदरमा (ब्याजकर लाग्ने गरी) नागरिक वचतपत्र विक्रीका लागि बोलपत्र आह्वान गरेको हो। वचतपत्रमा जेठ २ गतेदेखि जेठ २२ गतेसम्म बोलपत्र पेश गर्न सकनेछ । जसको निष्काशन जेठ २८ गते गरिने राष्ट्र बैंकले जनाएको छ । बचतपत्रको सावाँ फिर्ता २०८० जेठ २८ गते हुने छ। प्रत्येक छ महिनामा व्याज दिइने उक्त बचतपत्र खरीद गर्न घटीमा १० हजार र बढीमा कुल निष्काशित रकमको सीमा नबढाई १० हजारले निःशेष भाग जाने अंक बराबरको रकमको लागि आवेदन दिन पाइनेछ । राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरु तथा राष्ट्र बैंकका उपत्यका बाहिरका कार्यालयहरुबाट बचतपत्रमा आवेदन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । खरिद आवेदन नेपाल राष्ट्र बैंकको वेवसाइट  www.nrb.org.np बाट पनि डाउनलोड गरी आवेदन दिन सकिने व्यवस्था छ । आफुलाई पायक पर्ने वाणिज्य बैंकहरू, बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरू र काठमाडौं उपत्यकाबाहिरका नेपाल राष्ट्र बैंकका कार्यालयहरूबाट बचतपत्रको व्याज लिन सकिनेछ । उक्त वचतपत्र नेपाली नागरिकले मात्र खरीद गर्न पाउनेछन् । सो वचतपत्र धितो राखी राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन र दिन सकिने बताइएको छ । मेरोलगानीबाट साभार

वन उपभोक्तालाई आयआर्जन गर्ने सीप सिकाइँदै

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका १२ जोगबुडाका वन उपभोक्तालाई पहिलो पटक आयर्आजन सम्बन्धी सीप सिकाउन थालिएको छ । समुदायक वनमा त्यसै खेर गइरहेको अम्रिसोलाई आयआर्जनसँग जोड्न त्यसको कुच्चो बनाउने सीप सिकाइन थालिएको हो । जिल्ला वन कार्यालयको आर्थिक सहयोग र इलाका वन कार्यालयको समन्वयमा वनमा उत्पादन भएका घाँस, स्याउला, पातलाई बजारको माग अनुसारका सामग्री निर्माण गरी बिक्री गर्ने तालीम दिइएको छ । उक्त नगरपालिका–१ स्थित जानकी सामुदायिक वन उपभोक्ता समूहमा पाँच दिने अम्रिसो कुचो बनाउने तालीम आयोजना गरिएको उत्थानशील सामाजिक विकास केन्द्रका कोषाध्यक्ष रामबहादुर ऐरले बताउनुभयो । पाँच दिनसम्म जानकी सामुदायिक वनमा सञ्चालन हुने तालीमको सहजीकरण संस्थाका सदस्य लक्ष्मणबहादुर थापाले गर्नुहुने भएको छ । उक्त सीपमूलक तालीममा समुदायका लक्षित वर्ग, दलित, असहाय व्यक्तिको सहभागिता छ जिल्ला वन र संस्थाले आफ्नो सामुदायिक वनका उपभोक्तालाई दिएको तालीमले समदायका उपभोक्ताको आयआर्जन बढ्नुका साथै वनमा उत्पादित अम्रिसो पनि काम लाग्ने जानकी सामुदायिक वनले जनाएको छ । रासस

नारायणगढ–मुग्लिन सडकको साँघुरो ठाउँमा रड एङ्करिङ

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको साँघुरो १२३ मिटर क्षेत्रमा रड एङ्करिङ गरेर सडक फराकिलो बनाउन थालिएकोे छ । मुग्लिन नजिकको सो क्षेत्रमा यसअघि भित्तो काट्ने वा क्यान्टिलिभर राख्ने भन्ने विषयमा लामो समय बहस भएको थियो । काम सम्पन्न गर्नुपर्ने समय नजिँिकदै गर्दा ठेकेदार कम्पनी रड एङ्करिङ गर्ने कुरामा सहमत भएपछि काम शुरु भएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार मुग्लिनबाट १.५ किलोमिटर नारायणगढतर्फ २ नम्बर र ३ नम्बर पुलको बीचमा नौ ठाउँमा गरी १२३ मिटर सडक साँघुरो रहेको छ । ती ठाउँमा सातदेखि आठ मिटरमात्रै सडक चौडा छ । साँघुरो सडक भएको ठाउँमा सेफ्टी बेल्ट बाँधेर सडकमुनि भिरको चट्टानमा ड्रिल गरेर रड घुसाउन थालिएकोे छ । २५ एमएम र ३२ एमएम मोटाइका रड ड्रिल गरेर एकदेखि दुई मिटर भित्र छिराएपछि सोही रडमा थप रड बाँधेर वाल उठाइँदैछ । यसरी उठाउँदा एकदेखि १.५ मिटरसम्म सडक फराकिलो बनाउन सकिने उहाँले बताउनुभयो । फराकिलोको आधारमा पाँचदेखि आठ मिटर तलबाट वाल उठाइँदैछ । तीन सय मिटर लामो सडकका ठाउँठाउँमा गरी १२३ मिटर सडक साँघुरोे छ । बीस मिटर सडकमा ड्रिल गर्ने काम सम्पन्न भइसकेको छ भने अन्य ठाउँमा ड्रिल हुँदैछ । सो सडकको नारायणगढबाट १६ किलोमिटरसम्म ११ मिटर चौडा र त्यसपछि मुग्लिनसम्म नौ मिटर चौडा सडक बनाइँदैछ । ३३.२ किलोमिटर लामो उक्त सडकखण्डको हालसम्म ३० किलोमिटर सडक कालोपत्रे भएको र अन्य क्षेत्रको भित्तो काट्ने काम पनि सम्पन्न भएको छ । हालसम्म समग्रमा सडकको ९० प्रतिशत काम सम्पन्न भएको इञ्जिनियर खनालले बताउनुभयो । उहाँका अनुसार ड्रिल गरेर फराकिलो बनाइँदै गरेको क्षेत्रबाहेक अन्यत्र वैशाख १५ सम्ममा कालोपत्रे गरी सक्ने लक्ष्य राखिएको छ । सो सडकको नारायणगढबाट मुग्लिनतर्फको पहिलो खण्ड १० मे २०१८, दोस्रो खण्ड २० मे २०१८ र तेस्रो खण्ड ३० मे २०१८ सम्म काम सक्नु पर्ने छ । हालसम्म पहिलो खण्डको ८८ प्रतिशत, दोस्रो खण्डको ९६ प्रतिशत र तेस्रो खण्डको ८१ प्रतिशत सम्पन्न भइसकेको छ । सन् २०१५ को अप्रिलमा २४ महिनामा सक्ने गरी सो सडक ठेक्का दिइएको थियो । लगत्तै गएको भूकम्प, नाकाबन्दी र दुई वर्षसम्म वर्षात् बढी भएका कारण समय थप गरिँदै आएको थियो । रासस

टस हारेर दिल्ली डेयडेविल्स व्याटिङ गर्दै, सन्दीप प्लेइङ ११ परे ? को-को परे ?

काठमाडौं, चैत्र २५ । आइपीएलको ११ औं संस्करणको दोस्रो खेलमा आज दिल्ली डेयडेविल्स र किंग्स इलेवन पंजाब भिड्दै छन् । मोहालीको आइएस बिन्द्रा स्टेडियममा हुने खेलमा किंग्स इलेवन पंजाबले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ । आइपीएल क्रिकेटमा दिल्ली डेयर डेभिल्समा आवद्ध नेपाली क्रिकेटर सन्दिप लामिछानले पहिलो खेलमा मैदान उत्रिन नपाउने भएका छन् । आजको खेलमा रविचंद्रन अश्विनले पहिलो पटक पंजाब टीमको कप्तान गर्दै छन् । त्यस्तै दिल्लीका लागि पनि गौतम गंभीरले पहिलो पटक कप्तानी सम्भाल्दै छन् । गम्भीर यसअघि सन २०११ देखि २०१७ सम्म लगाता कोलकाता नाइटराइडर्सको कप्तान थिए । गम्भीरको कप्तानीमा कोलकाता नाइटराइडर्स दुई पटक च्याम्पीयन बनिसकेको छ । पञ्जावविरुद्ध मैदान उत्रिने दिल्लीको टिमः गौतम गम्भीर (कप्तान) कोलिन मुन्रो, जैसन रोय, ऋषभ पन्त, श्रेयर अय्यर, क्रिश मोरिश, विजय शंकर, अमित मिश्र, मोहमद शामी, ट्रेन्ठ बोल्ट र शहबाज नदिम

डेढ अर्बको बैंक घोटालामा राष्ट्र बैंकको मिलेमतो

काठमाडौं, चैत ८ । रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, रारा विकास बैंक र अपी फाइनान्स मिलेर ३० असार ०७० मा एकीकृत कारोबार सुरु गरेको एपेक्स डेभलपमेन्ट बैंकको डेढ अर्बको बैंक घोटालामा राष्ट्र बैंककै मिलेमतो रहेको नयाँ पत्रिका दैनिकले दाबी गरेको छ । राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले मर्जरमा हतारो गरे पनि कारवाहीमा भने अवरोध गरेको समाचारमा उल्लेख छ । नयाँ पत्रिका दैनिक लेख्छ– राजनीतिक दबाव र राष्ट्र बैंकको उच्च नेतृत्वको प्रभावमा आफ्नै दुईवटा समितिले कारबाहीको सिफारिस गर्दा पनि राष्ट्र बैंकले एपेक्स र त्यसका सञ्चालकलाई कारबाही गर्न ढिला गरेको खुलेको छ । एनसीसी बैंक लिमिटेडसँग मर्ज भएको तत्कालीन एपेक्सले संगठित र योजनाबद्ध रुपमा बैंकिङ घोटाला गरेको अनुसन्धानहरुले देखाएको समाचारमा उल्लेख छ । यस घोटालासँग जोडिएर राष्ट्र बैंकले र्दुइवटा अनुसन्धान गरेको छ, जसले एपेक्सका तत्कालीन अध्यक्ष विष्णु धितालकै नेतृत्वमा बैंकिङ घोटाला भएको प्रष्ट देखाएको छ ।