“सरकारको पैसा कुर्दाकुर्दै मर्ने भइयो”

मलेखु (धादिङ), १ फागुन । महादेवस्थान गाविस–२ सिमथलीका चन्द्रबहादुर चेपाङको घर भत्कियो । उनले भूकम्पले भत्केको घर प्राविधिकलाई देखाए । प्राविधिकले उनको घर भत्केको भनेर लेखेनछ ।

गाउँमा अरुले राहत पाउँदा उनले पाएनन् । घर बनाउन नसक्ने भएकाले उनको परिवार अहिले परालले छाएको सामान्य टहरामा रात बिताइरहेको छ । उनले गाविसमा गएर गुनासो टिपाए तर अझै पनि सहयोग पाउन नसकेकाले दुई वर्षदेखि सो छाप्रो उनीहरुको बास बस्ने ठाउँ भएको छ ।

एक संस्था भूकम्पपछि शौचालय बनाइदिन आए तर कोही घर बनाइदिन नआएपछि चेपाङ परिवारको बिचल्ली भएको शिक्षक तिलक चेपाङको भनाइ छ । “मेरा दुई छोरी अपाङ्गता भएका छन्, यस्तो अवस्था हुँदा पनि सरकारले किन देखेन ?” चेपाङले गुनासो गर्नुभयो, “सरकारको पैसा कुर्दाकुदै बारीको पाटैमा मर्ने भइयो ।”

गाउँम भूकम्पले घर भत्किएपछि उनी जस्तै अरु चेपाङ प्राविमा बस्दै आए । पछि विद्यालय खुल्यो । उनीहरु स्याउलाले छानो बनाएर बारीको पाटामा बस्छन् । सरकारले खटाएका प्राविधिक गाउँमा पुग्यो । उनीहरुले भत्केको घर देखाए तर उनीहरुको घर अनुदान दिने सूचीमा आएन । तिनले गाविसमा गएर गुनासो फाराम भरे तर अझै राहत पाइन्छ भन्ने निश्चय नभएकाले उनीहरु बारीको पाटामा बस्दै आएको छ ।

लामो समयदेखि बारीको पाटामा बस्दा सिमथलीका बालबालिका पटक पटक बिरामी परेका छन् । तिनलाई स्वास्थ्य चौकी लैजाँदासमेत “औषधि छैन” भन्ने जवाफ पाएको सिमथलीका चेपाङको गुनासो छ ।

महादेवस्थान–२ मा २५ चेपाङका घर भूकम्पपीडितको सूचीमा आएन । वडा नं ३ मा यस्ता १८ घर छन् । गाउँमा आएका प्राविधिकको लापर्बाहीले उनीहरुको नाम छुट्यो । जोगीमारा गाविसको जवाङमा रहेका ५२ घर चेपाङले अहिले घर बनाउन सरकारको अनुदान नपाउने भए । नाम नआएपछि उनीहरु समस्यामा परेका छन् । घर भत्किएर खरको छाप्रो बनाएर बसिरहेकालाई समेत सरकारले नहेरेको उनीहरुको गुनासो छ ।

यस्तै धुषा गाविस– ३ र ४ मा एक सय घर छुटेको नेपाल चेपाङ सङ्घले जनाएको छ । जिल्लाभर १५ हजार गुनासो परेकामा सम्बोधन हुन सकेको छैन । रासस

फ़ाइल फ़ोटो

दलित समुदायको अधिकार प्रवर्द्धनका लागि दलित विकास प्राधिकरण : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायको संवैधानिक र कानुनी अधिकार संरक्षण र सम्वर्द्धनका लागि आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा दलित विकास प्राधिकरणको संस्थागत विकासको व्यवस्था गरिएको बताएका छन् । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको सन्दर्भमा आज यहाँ आयोजित ‘छुवाछूतमुक्त राष्ट्र घोषणाः अवसर, कार्यान्वयन र चुनौती’ विषयक अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्डले दलित समुदायको अधिकार सुनिश्चित गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताए ।   “दलित विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययनका लागि गरीब तथा जेहेन्दार छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने र दलित समुदायका परम्परागत सीप ज्ञान र पेशालाई आधुनिकीकरण एवं व्यवसायीकरण गर्न सात वटै प्रदेशमा शिल्पी उद्यमशीलता विशेष कार्यक्रम सञ्चालनका लागि कार्यक्रम र बजेटको व्यवस्था गरिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने । छुवाछूतको समूल नष्ट गर्न राज्यका तीनै तहमा छुवाछूत निगरानी तथा अनुगमन संयन्त्र आवश्यक रहेको रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले अमानवीय उत्पीडन र ज्यादतीमा पर्दै आएका दलित समुदायको संवैधानिक हक अधिकारको प्रभावकारी कार्यान्वयनका निम्ति राज्य र यसका निकायहरू जिम्मेवारपूर्ण ढङ्गले प्रस्तुत हुनुपर्नेमा जोड दिए। उनले छुवाछूत तथा जातीय विभेदजन्य कार्य गम्भीर सामाजिक अपराधका रूपमा कानुन बमोजिम दण्डनीय हुने व्यवस्था भइसकेकाले राज्यका सबै जिम्मेवार तह र निकायले यसलाई प्रभावकारी कार्यान्वयन गर्न विशेष अपिल गरे । प्रधानमन्त्री प्रचण्डले छुवाछूतमुक्त राष्ट्र घोषणाको प्रभावकारी कार्यान्वयनका लागि तीनै तहका सरकारले जिम्मेवार हुनुपर्ने बताए।उनले भने, “तीनै तहका सरकारले आफ्नो नीति, कार्यक्रम र बजेटमा कार्यक्रम निर्माण गर्न, दलित सशक्तिकरण कार्यक्रम बनाउन, छुवाछूत विरूद्धको ऐन प्रभावकारी कार्यान्वयन गर्न सबैमा विशेष अपील गर्दछु ।” दलित समुदायलाई छुवाछूत र विभेदबाट मुक्त गर्दै बृहत्तर विकास र उन्नतिका लागि राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार र समानताका निम्ति राज्यले क्षतिपूर्तिसहितको विशेषाधिकार प्रदान गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले सकारात्मक विभेदको प्रक्रियाबाट मात्रै विगतको राज्य संयन्त्रले गरेको अन्यायको परिपूरण र समानताको आधारशिला खडा गर्न सकिने विश्वास व्यक्त गरे। प्रधानमन्त्रीले कम्युनिस्ट आन्दोलनका योद्धा दलित आन्दोलनका अगुवा प्रदेश प्रमुख तिलक परियारको जीवन वृतान्तमा आधारित ‘मेरो जीवन र सङ्घर्ष’ कृति लोकार्पण गरे।  राज्यसत्ताले विभेदकारी नीति र नियम बनाएरै यो समुदायलाई राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत जीवनका समग्र क्षेत्रबाट बञ्चितीकरण गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले दलित समुदाय सामाजिक जीवनका सबै क्षेत्रबाट अरू समुदायभन्दा पछाडि रहँदै आएको बताए। उनले दलित समुदायलाई राज्यसत्ताका सबै अङ्ग, क्षेत्र र निकाय लगायतका सामाजिक जीवनका समग्र क्षेत्रमा विशेषाधिकारको नीति अवलम्बन गर्न आफूले निरन्तर जोड दिएको बताए। दलित समुदायको आत्मसम्मानमा ठेस पुर्‍याइएकाले अरू विकसित समुदायसरह विकास गराउन समानुपातिक प्रतिनिधित्वमा विगतको क्षतिपूर्ति वापत अधिकार थप गरी विशेषाधिकार दिइनुपर्छ भनेर आफूले निरन्तर पार्टीमा सङ्घर्ष गरेको स्मरण गर्दै उनले पछिल्लो समय यो मुद्दा आमरूपमा स्थापित भएको बताए।

रोजगारी सिर्जना गर्न उद्योगी, व्यवसायीलाई श्रममन्त्रीको आग्रह

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले देशमा रोजगारीको ठूलो समस्या रहेको बताएका छन्। रोजगारी सिर्जना गर्न उद्योगी, व्यवसायीसँग उनले आग्रह गरेका छन् । शनिबार जनकपुरमा श्रमाधान मेलाको उद्घाट गर्दै उनले यस्तो बताएका हुन्। देशभरको तुलनामा मधेस प्रदेशमा रोजगारीको समस्या विकराल रहेको उनले उल्लेख गरे। उनले रोजगारीको खोजीमा युवापुस्ता भौँतारिरहेको बताए । यस्तो अवस्थालाई हेरेर स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए। उनले मेलाले श्रमिक र रोजगारदाताका समस्या, आवश्यकताबारे बुझ्ने र दीर्घकालीन रूपमा श्रम क्षेत्रका समस्या सामधानका निम्ति महत्न्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। मन्त्री अर्यालले देशको युवापुस्ता बाध्य भएर वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था रहेको बताए। देशको श्रमबजारको आवश्यकताअनुसार सीप सिकेर अवसरको सदुपयोग गर्न उनले आग्रह गरे। 

गृहमन्त्री लामिछानेलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता अनुपम भट्टराईले सोमबार महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री रवि लामिछानेलाई विपक्षी बनाएर रिट दायर गरेका अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए ।  महान्यायाधिवक्ताको कार्यालयले गृहमन्त्रीमाथि कुनै पनि मुद्दामा कुनै पनि अदालतमा अभियोजन नभएको भन्दै पत्र लेखेका थिए । रिटमा सो पत्र खारेजी गर्न माग गरिएको घिमिरेले बताए। साथै अनुसन्धान प्रक्रियामा गृहमन्त्रीले अनुचित प्रभाव पार्न सक्ने भन्दै अनुसन्धान प्रक्रिया चलिरहेका बेला उनलाई निलम्बन गर्न माग गरिएको छ । यो रिटमा जेठ १६ गतेका लागि पेशी तोकिएको छ ।

उपनिर्वाचन : भोलिबाट मौन अवधि

काठमाडौं । बुधबार (भोलि) राति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने (मौन) अवधि सुरु हुने भएको छ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बुधबार राति १२ बजेबाट प्रचार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि चुनावको प्रचारप्रसार गर्न पाइँदैन ।वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशतर्फ बझाङ १ को १ मा उपनिर्वाचन हुँदै छ । इलाममा १९ र बझाङमा ११ उमेदवार चुनावी मैदानमा छन् ।

०८४ को चुनाव, मिसन समाजवादः विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द्र विप्लवले ०८४ को निर्वाचनलाई मिसन समाजवादका रूपमा लिनुपर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा भएको केन्द्रीय प्रतिनिधि समिति बैठकमा उनले चुनाव पनि संघर्षको एउटा मोर्चा भएको बताए ।  ‘चुनाव राजनीतिक संघर्षको एउटा मोर्चा हो । यसलाई नयाँ मोर्चाको रूपमा लिएर अघि बढ्नुपर्छ । ०८४ को चुनावलाई मिसन समाजवादका रूपमा बुझेर यसलाई समाजवादको लडाइँको मोर्चाका रूपमा अगाडि बढाउनुपर्छ’ उनले भने । विप्लबले संविधान संशोधन गरेर नेपाली विशेषताको समाजवाद स्थापना गर्ने बहस चलाउनुपर्नेमा जोड दिए । चुनावलाई पनि समाजवादका लागि प्रयोग गर्नुपर्ने भन्दै उनले सबै ढोका खोलेर लड्ने पार्टीको रणनीति भएको बताए । उनले माओवादी धारलाई रूपान्तरण गर्दै एकतामा ल्याउन नेकपाले निर्णायक भूमिका खेल्नुपर्ने बताए । हालै भएको नेकपाको केन्द्रीय समितिको बैठकपछि बसेको केन्द्रीय प्रतिनिधि समितिको बैठकमा महासचिव विप्लवको राजनीतिक प्रस्ताव र ६ महिने पार्टीको आगामी योजनाबारे छलफल भएको बताइएको छ ।

सुख्खायाममा जलविद्युतको विकल्प सौर्य ऊर्जा  : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सुख्खायाममा हुने बिजुली अभाव पूर्ति गर्न सौर्य ऊर्जा प्रयोग गर्नुपर्ने बताएका छन्। नेपालमा वर्षायाममा भन्दा सुख्खायाममा चारगुणा कम ऊर्जा उत्पादन हुने र खपत चाहिँ बराबर हुने भन्दै उनले यसको उपयुक्त विकल्प सौर्य ऊर्जा नै भएको बताएका हुन् । आइतबार प्रतिनिधि सभा बैठकमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौता माथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्दै मन्त्री बस्नेतले ऊर्जामा देखिएको अभाव पूर्ति गर्ने उपाय सौर्य ऊर्जा नै भएको धारणा राखे। ‘बाह्रै महिना हाम्रो ऊर्जा खपतको प्रकृति र प्रवृत्ति समान खालको छ । ‘सुख्खायाममा आयात गर्नुपर्ने अवस्था भइराखेको छ । गत आर्थिक वर्षको हेर्ने हो भने सुख्खायाममा आयात बढी गरिराखेका छौँ । यो ग्यापलाई फिल गर्ने चुनौती ऊर्जा क्षेत्रमा छ । तत्काल समस्या समाधानका लागि सोलारमा जानुको विकल्प छैन’, उनले भने । उनले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनमा हालसम्म ११८ वटा राष्ट्रले करार सम्झौतामा हस्ताक्षर गरेका र ९७ राष्ट्रहरुले अनुमोदन समेत गरिसकेको बताएका हुन् ।

होलीले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको प्रतिनिधित्व गर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुपूर्णिमा (होलीपर्व)ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।  होलीपर्वका अवसरमा आज सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले यस पर्वले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना एवं अन्तरघूलनलाई प्रतिनिधित्व गर्नेसमेत बताए।  “पहिलो दिन हिमाली र पहाडी क्षेत्र तथा दोस्रो दिन तराई–मधेसमा हर्षोल्लासका साथ मनाइने फागुपूर्णिमा (होलीपर्व)को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु”, शुभकामना सन्देशमा प्रधानमन्त्री ‘प्रचण्ड’ले भनेका छन्, “होलीपर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न सम्पूर्ण नेपालीहरूमा प्रेरणा प्रदान गर्ने विश्वासका साथ शुभकामना व्यक्त गर्दछु ।”  असत्यमाथि सत्य र खराबमाथि असल पक्षको विजयका रूपमा लिइने र उल्लासपूर्वक मनाइने फागु अर्थात् होलीपर्वले मानव जीवनलाई रङ्गीन र उल्लासमय बनाउन प्रेरित गर्ने उनको भनाइ छ । होलीपर्वका अवसरमा आज सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले यस पर्वले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना एवं अन्तरघूलनलाई प्रतिनिधित्व गर्नेसमेत बताएका छन्।  “पहिलो दिन हिमाली र पहाडी क्षेत्र तथा दोस्रो दिन तराई–मधेसमा हर्षोल्लासका साथ मनाइने फागुपूर्णिमा (होलीपर्व)को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु”, शुभकामना सन्देशमा  प्रधानमन्त्री ‘प्रचण्ड’ले भनेका छन्, “होलीपर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न सम्पूर्ण नेपालीहरूमा प्रेरणा प्रदान गर्ने विश्वासका साथ शुभकामना व्यक्त गर्दछु ।”  असत्यमाथि सत्य र खराबमाथि असल पक्षको विजयका रूपमा लिइने र उल्लासपूर्वक मनाइने फागु अर्थात् होलीपर्वले मानव जीवनलाई रङ्गीन र उल्लासमय बनाउन प्रेरित गर्ने उनको भनाइ छ । “नेपाली समाजमा विद्यमान बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताहरूले हाम्रो राष्ट्रिय स्वाभिमान र गौरवलाई मात्रै स्थापित गरेका छैनन्, एकले अर्काको पहिचान, स्वाभिमान र संस्कृतिलाई सम्मान र आत्मसात् गर्ने राष्ट्रिय संस्कृतिको विकाससमेत गरेका छन् । रङहरूको पर्वका रूपमा स्थापित होलीपर्व पनि त्यस्तो पर्व हो, जसले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना एवं अन्तर्घुलनलाई प्रतिनिधित्व गर्दछ”, शुभकामना सन्देशमा प्रधानमन्त्री ‘प्रचण्ड’ले भनेका छन्।  प्रधानमन्त्री ‘प्रचण्ड’ले भौगोलिक दृष्टिले सानो भएर पनि दर्शन, सभ्यता, संस्कृति, पर्वहरू एवं विशिष्ट पहिचानका कारण नेपाल विश्व मानचित्रमा वैभवशाली देशका रूपमा स्थापित भएको बताएका छन् । उनले अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान नेपलीको साझा पहिचान भएको बताउँदै प्रत्येक जातजाति र धर्मावलम्बीका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक परम्परा र पर्वहरू रहेको समेत उल्लेख गरेका छन् । “हाम्रा चाडपर्वहरूले समुदायबीच सद्भाव बढाउँछन् । समुदायलाई एकताबद्ध गर्न सघाउँछन् । विभिन्न धर्म, भाषा र संस्कृति मान्ने समुदायहरूलाई आ–आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र संवर्द्धन एवं फरक जाति र समुदायको संस्कृति र आत्मस्वाभिमानको सम्मान गर्न अभिप्रेरित गर्दछन्”, शुभकामना सन्देशमा प्रधानमन्त्री ‘प्रचण्ड’ले भने ।

उदयपुरमा बोलेरो दुर्घटनाः ६ जनाको मृत्यु, ८ घाइते

काठमाडौं । उदयपुरमा बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा ८ जना घाइते पनि भएका छन्। धरानबाट भोजपुरको घोरेटारतर्फ जाँदै गरेको बोलेरो बिहीबार बिहान उदयपुरको मैनामैनीमा दुर्घटना भएको प्रहरीले जनाएको छ। बोलेरोमा १४ जना सवार रहेका थिए। ति मध्ये ६ जनाको मृत्यु भएको खबर आएको र उद्वारको काम भैरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक सुदिपराज पाठकले बताए । मृत्यु हुनेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा एम्बुलेन्ससहित प्रहरी पुगेको छ। दुर्घटनाको विस्तृत विवरण आउँन भने बाँकी छ। 

गठबन्धन हामीले बनायौं, मान्छेहरू चीनले गर्‍यो भन्दैछन्  : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्माले ओलीले गठबन्धन भत्काएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आशा बढाएको बताएका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै देशलाई बरबाद पार्ने गठबन्धन आफूहरूले मेहनत गरेर फुटाएको तर केही मान्छेहरु चीनले फुटाएको भन्दै हिडेको बताए । बैठकलाई सम्बोधन गर्दै उनले भने -'यो समीकरण हामीलाई सरकारमा जान हतारोले होइन । देशको बर्बादी टुलुटुलु हेरेर बस्न गाह्रो भयो। मैले तपाईंहरुलाई भनेको थियो यो गठबन्धन खरानीको डल्लो हो जे गरे पनि फुट्छ भनेर। गठबन्धनमा हुनेवालाहरूको उन्माद थियो। देशको लागि खरानीको डल्लो फुट्नुपर्थ्यो फुट्यो। यो परिवर्तन हामीले गरेका हौँ। त्यसको जस त दिनुस्। यति सानो कुरालाई कहाँ चीन पुर्‍याइरहेको छ। यस्तो खालको कुरा नगर्नुस्। हामीले यति धेरै मेहनत गरेपछि यसको जस हामीलाई दिनुस्।' उनले पार्टीको भूमिका फेरिएपछि भन्दै नयाँ परिस्थितिपछि जिम्मेवारी बोध भएर अघि बढ्ने बताए ।

कानुन निर्माणको कामलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : मन्त्री गुरुङ

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सङ्घीयता तथा संविधान कार्यान्वयनका लागि कानुन निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।  राष्ट्रियसभाको आजको बैठकमा ‘मौलिक हक कार्यान्वयनका लागि बन्न बाँकी कानुन २०८१ असोज ३ गतेसम्म निर्माण गरिसक्नुपर्नेसम्बन्धी’ सङ्कल्प प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले सो कुरा बताए । मन्त्री गुरुङले उक्त प्रस्तावका सम्बन्धमा यसअघि पनि छलफल भएको र सो सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै सरकारकोतर्फबाट धारणा व्यक्त गरिसकेको जानकारी गराए । मन्त्री गुरुङले सरकारले संविधान कार्यान्वयनको कार्ययोजना बनाएर कानुन निर्माणलाई प्राथमिकता साथ अघि बढाएको बताउँदै यो सबैको साझा कार्यभार भएको उल्लेख गरे। उनले हालसम्म नयाँ १३१ कानुन, ४६ संशोधन र १३ केही नेपाल ऐन संशोधन गरी १९० ऐन बनिसकेको जानकारी दिए । बैठकमा सांसद दिलकुमारी रावल थापा पार्वतीले ‘मौलिक हक कार्यान्वयनका लागि बन्न बाँकी कानुन २०८१ असोज ३ गतेसम्म निर्माण गरिसक्नुपर्नेसम्बन्धी’ सङ्कल्प प्रस्ताव प्रस्तुत गरे। सो प्रस्तावका समर्थक सांसदहरु देवेन्द्र दाहाल, अनिता देवकोटा, गोपीबहादुर सार्की अछामी, महोम्मद खालिद, शेखरकुमार सिंह, डा.विमला राई पौड्याल र खिमलाल देवकोटाले आ(आफ्ना धारणा व्यक्त गरे । सङ्कल्प प्रस्तावमाथिको छलफलमा बैठकमा सांसदहरुले बोले । बैठकले सङ्कल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । रासस 

एमालेले पारित गर्‍यो २२ बुँदे प्रस्ताव (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले)ले विभिन्न २२ वटा प्रस्ताव पारित गरेको छ । बिहीबार पार्टी कार्यालयमा सम्पन्न केन्द्रीय कमिटीको बैठकले आगामी वर्षलाई पार्टीको शुद्धीकरण र सुदृढीकरणको वर्षको रूपमा अघि बढाउने निर्णयसहित २२ वटा प्रस्ताव पारित गरेको हो । उपमहासचिव प्रदीप ज्ञवालीले बैठकले गठबन्धन सरकार र गतल प्रवृत्तिका पात्रको राष्ट्रिय हितमा आघात पुर्‍याएको समेत निष्कर्ष निकालेको छ  । बैठकले गठबन्धनका कारण राज्य संकट पर्दै गएको निष्कर्ष निकाल्दै संकटबाट मुक्त गर्न एमालेले निर्णायक भूमिका निर्वाह गर्ने संकल्प गरेको उनको भनाइ छ । सरकारको भ्रष्टाचार नियन्त्रणको नारा स्टन्टबाजीमा परिणत भएको एमालेको ठहर छ । विभिन्न काण्डहरूको छानबिनमा व्यवसायीहरूपिच्छे दोहोरो मापदण्ड अपनाइएको र आफ्ना मान्छेहरूलाई अपराधबाट उन्मुक्ति दिन न्यायालयलाई प्रभावित र महान्यायाधिवक्ता कार्यालयको दुरुपयोग गरिएको पार्टीको निष्कर्ष रहेको ज्ञवालीले बताए । बैठकले तस्करी र भ्रष्टाचारलाई संरक्षण गर्ने सरकार र शासन सञ्चालनमा उसको द्वैध चरित्रको विरोध गरेको छ । टेरामक्स काण्डमा मुछिएका, बालकुमारी घटनामा दोषी देखिएका र विभिन्न विवादमा मुछिएका मन्त्रीहरूलाई तत्काल बर्खास्त गर्नुपर्ने एमालेको माग छ । ज्ञवालीका अनुसार जनसरोकारको मुद्दामा जनदबाब र जनपरिचालको एजेन्डा छिट्टै सार्वजनिक गरिने छ ।‍ हेर्नुहोस् २२ बुँदे प्रतिवेदनमा के छ ?  

सरकारले जनतामा आशा जगाउने गरी काम गरेको छ : उपमहासचिव पुन

 कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय उपमहासचिव वर्षमान पुनले वर्तमान सरकारले जनतामा आशा जगाउने गरी काम गरेको बताएका छन् । पोखरामा आज प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा उनले सरकार गठनपछि सुशासनको प्रयत्न भएको र राज्यका सबै अङ्ग सुशासन स्थापनामा केन्द्रित भएकाले यसबाट जनतामा आशा र उत्साह बढाएको उल्लेख गरे । “नेतृत्वले पहल गर्दा जनतामा आशा जगाउन सकिन्छ, जनतालाई प्रोत्साहित गर्न सकिन्छ भन्ने सन्देश पैदा भएको छ”, नेता पुनले भने । सरकारले हुण्डी, क्रिप्टोकरेन्सीलगायतको कारोबारमा कडाइ गरेपछि औपचारिक च्यानलबाट विदेशबाट पैसा आउँदा विदेशी मुद्रा सञ्चिति बढेको उनले उल्लेख गरे। पूर्वअर्थमन्त्रीसमेत रहनुभएका नेता पुनले भने, “अहिले देशमा एक वर्षलाई धान्ने विदेशी मुद्रा सञ्चित भएको छ । विगतमा विदेशी मुद्रा छैन भनेर हाहाकार मच्चाइयो । ठूला पुँजी र आयोजनामा आयातका लागि जम्मा भएको पैसा लगानी गर्नुपर्दछ । अर्थतन्त्र चलायमान गराउनुपर्छ ।” नेता पुनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणअघि लागि समाजका सबै तह र तप्कामा व्यापक छलफल गरी प्राथमिकता निर्धारण गरिने बताए । “यस पटक खुला छलफल गरी बजेटको प्राथमिकता निर्धारण गर्ने काम भइरहेको छ । जनताको सहभागिता र सरोकारमा बजेट बनाइने छ”, नेता पुनले भने । नेता पुनले वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताए । निर्वाचन प्रणालीले गठबन्धन अनिर्वाय गरेकाले राजनीतिक स्थायित्वका लागि गठबन्धन कायमै रहने उनले उल्लेख गरे । “देश, स्थिरता र समृद्धिका लागि गठबन्धन गर्न सकिन्छ । निश्चित ‘म्यान्डेट’सहित अहिले काम गरेकाले अहिले गठबन्धन तलमाथि हुँदैन”, उनले भने । पार्टीको हालै सम्पन्न विधान अधिवेशनले वडा तहसम्म छलफल गरेर सुझावसहित विधानमा परिमार्जन गरिएको बताए । अब विधानअनुसार पार्टी सञ्चालनको वातावरण बनाएको नेता पुनले बताए । रासस  

विद्यार्थी नेता केसीको स्मृतिमा माओवादी केन्द्रले बनायो एक लाखको अक्षयकोष

प्युठान । प्यूठान ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारी जिल्ला समिति प्युठानका सदस्य तथा झिम्रुक गाउँपालिकाका अध्यक्ष सन्दिप केसीको सम्झनामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति प्युठानले रु.एक लाखको अक्षयकोष स्थापना गर्ने भएको छ। दिवंगत केसीको सम्झनामा उहाँले  अध्ययन गर्नुभएको  झिमरुक गाउँपालिका-७ स्थित श्री सत्य मावी तुषारामा पार्टी,अखिल (क्रान्तिकारी) प्युठान र घरपरिवार संरक्षक रहनेगरी अक्षयकोष स्थापना गरिने पार्टीले घोषणा गरेको नेकपा (माओवादी केन्द्र) प्युठानका अध्यक्ष प्रभात केसीले जानकारी दिनुभयो।साथै यहि शैक्षिक शत्रभित्रमा अक्षयकोष स्थापना गरिसक्नुपर्ने अध्यक्ष केसीले बताउनुभयो। केसीको मृत्यु भएको नवौं दिनमा उहाँको निवासमा नेकपा (माओवादी केन्द्र) प्युठान, अखिल (क्रान्तिकारी)प्युठान, वाईसीएल प्युठान,दलित मुक्ति मोर्चा लगायतको संयुक्त आयोजनामा गरिएको शोक सभामा नेकपा (माओवादी केन्द्र)प्युठानका अध्यक्ष प्रभात केसीले शोक मन्तव्य राख्दै दिवंगत सन्दिप केसीको विद्यार्थीहरुमाझ लोकप्रियता र विद्यार्थी राजनीतिमा महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो। अध्यक्ष केसीले दिवंगत केसीको घरपरिवारको सुखदुःखमा सिंगो जिल्ला पार्टी समिति एकताबद्ध भएको बताउनुभयो। अखिल (क्रान्तिकारी) प्युठानको कार्यवाहक अध्यक्ष सुशिला घर्ती मगरको अध्यक्षतामा भएको उक्त शोक सभामा नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा प्युठान ईन्चार्ज नारायण प्रसाद अधिकारी,नेकपा (माओवादी केन्द्र) प्युठानका अध्यक्ष प्रभात केसी,प्रदेश सदस्य उमा शर्मा,प्युठान नगरपालिकाका नगरप्रमुख विष्णु योगी, अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश समितिका अध्यक्ष पुष्कर शर्मा,पार्टी झिमरुक गाउँ समितिका अध्यक्ष झक बहादुर जिसी,वाईसिएल प्युठानका अध्यक्ष मोहन परियार,दलित मुक्ति मोर्चा प्युठानका अध्यक्ष केशव बिक,अखिल क्रान्तिकारीका नेता बालाजी जिसी र प्रेमबहादुर विश्वकर्मा लगायत ३४ जना बढी पार्टी नेता एवम् विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो। दिवंगत सन्दिप केसी लामो समयदेखी हृदय रोगले ग्रसित हुनुहुन्थ्यो। विगत ३ महिना अघि स्वास्थ्यमा जटिल समस्या देखिएपछी अस्पतालपछि आफ्नै निवासमा बेड रेस्टमा हुनुहुन्थ्यो।केसीको गत भाद्र २९ गतेका दिन २४ वर्षको अल्पायुमै आफ्नै निवासमा देहावसान भएको थियो। सन्दिप केसी विं.सं २०५७ चैत २३ मा आमा बेला केसी र बुबा फत्य बहादुर केसीको कोखबाट  प्युठानको झिमरुक गाउँपालिका -७ तुषारामा जन्मिनुभएको थियो।सानै उमेरमा हृदय रोग देखिएपछी उहाँ परिवारको मायाले भरिपूर्ण हुनुभएको थियो।समय बित्दै जाँदा विभिन्न विद्यालयमा अध्ययन गर्ने क्रममा विभिन्न साथि संगिहरुसँग राम्रो सम्बन्ध स्थापना गर्न माहिर हुनुहुन्थ्यो। दिवंगत सन्दिप केसीले अखिल क्रान्तिकारी स्वर्गद्वारी बहुमुखी क्याम्पस,झिम्रुक गाउँपालिकाका अध्यक्ष हुँदै  जिल्ला कमिटि सदस्यको जिम्मेवारी समेत कुशलता पुर्वक निर्वाह गर्नु भएको थियो। स्वर्गद्वारी बहुमुखी क्याम्पसको जेहेन्दार विधार्थीको रुपमा मानविकी संकाय अन्तर्गत स्नातक तेस्रो वर्षमा अध्ययनरत उहाँ उक्त क्याम्पसको रेडक्रस सर्कलको उपसभापति समेत हुनुन्थ्यो भने विभिन्न सामाजिक कार्यहरुमा पनि सक्रिय हुनुन्थ्यो। 

नेवारी सभ्यता समाजवादसँग मिल्दोजुल्दोः प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेवारी सभ्यताभित्र रहेको साझापन र आत्मनिर्भर अर्थतन्त्रको अभ्यास समाजवादी व्यवस्थासँग मिल्दोजुल्दो भएकाले यसलाई अझै प्रवर्धन गर्नुपर्ने बताउनुभएको छ । ललितपुर महानगरपालिका वडा नम्बर २१ खोकनामा लागेको बाह्र वर्षे मेलाको समापन गर्दै उहाँले नेवाः सभ्यताको मौलिकतालाई कायम राख्दै नेवारी संस्कृतिलाई पर्यटन र आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताउनुभयो । गणराज्यकै झल्को दिने गरी नेवार समुदायमा रहेको आर्थिक आत्मनिर्भरता, सामाजिक सद्भाव र सौहार्दता अनि सांस्कृतिक मौलिकपनलाई समाजवादी व्यवस्थाको भ्रुणको रुपमा औल्याउँदै उहाँले यसले नेवा सभ्यताको संरक्षणमा मात्र नभई समग्र मुलुककै संस्कृति संरक्षण र समाज व्यवस्थाका लागि महत्वपूर्ण योगदान दिइरहेको स्पष्ट गर्नुभयो । मुलुकको आर्थिक विकास, सामाजिक सौहार्दता र संस्कृति संरक्षणको क्षेत्रमा मात्र नभई नेवाः समुदायले मुलुकको राजनीतिक परिवर्तनका लागि पनि ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, खासगरी दश वर्षे महान् जनयुद्ध र ऐतिहासिक जनआन्दोलनमा नेवाः समुदायले गरेको योगदान अवस्मरणीय र अद्धितीय छ । यही योगदानकै फलस्वरुप हामीले नेपालको संविधानमार्फत सबै जाति, क्षेत्र, लिंग, भाषा, समुदायका अधिकार सुनिश्चित गरेका छौं र अहिले अहिले कार्यान्वयनको चरणमा छौं । अब पनि सुशासन, सामाजिक न्याय र समृद्धिहुँदै नेपाली जनताले देखेको समाजवाद निर्माणको सपना पूरा गर्न यो समुदायले ऐतिहासिक र निर्णायक भूमिका निर्वाह गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । नेवारी सभ्यता विविधतापूर्ण भएको र त्यसमा पनि अझ नेपालमण्डलकै एक मौलिक प्राचीन वस्ती खोकना पृथक सांस्कृतिक पहिचानसहित स्थापित रहेको औल्याउँदै अध्यक्ष प्रचण्डले देशभरमै फरक पहिचानका साथ लाग्ने १२ वर्षे मेला मुलुककै महत्वपूर्ण संस्कृतिको रुपमा रहेको बताउनुभयो । भुटेको तोरीको तेलका लागि प्रशिद्ध खोकनाले नेपालमै पहिलोपटक बिजुली बत्ती बलेको ठाउँको रुपमा पनि पनि आफ्नो पहिचान स्थापित गरेको उल्लेख गर्दै उहाँले आफ्नै उत्पादन, आफ्नै ब्यापार, आफ्नै भेषभुषासहित खोकनाबासीले सबै क्षेत्रमा मौलिकता स्थापित गर्न सफल हुनु मुलुकमै नमुनायोग्य भएको बताउनुभयो ।  सामाजिक एकता, भाषा संस्कृतिको संरक्षण, मूर्त र अमूर्त संस्कृतिको प्रवर्धन गर्न नेवाः समुदायले निर्वाह गरेको भूमिकालाई राज्यले यथेष्ट सम्मान गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । खोकनालाई नेपालमा मात्रै होइन, अन्तर्राष्टियस्तरमै स्थापित गर्न आवश्यक छ रहेको औल्याउँदै पुरातत्वविद्, इतिहासकार र अन्वेषकहरुको सहयोगमा विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने उद्देश्यसहित स्थानीय सरकारले पहल लिनुपर्ने अध्यक्ष प्रचण्डले बताउनुभयो ।  आफूहरुले नेवाः सभ्यतालाई स्थापित गर्न आफूले महत्वपूर्ण काम थालेका स्मरण गराउँदै उहाँले आफू पहिलोपटक प्रधानमन्त्री भएको बेला २०६५ सालमा नेपाल संवतलाई राष्टिय संवतको मान्यता प्रदान गर्ने घोषणा गरेको र पछिल्लोपटक सरकारको नेतृत्व गरेको बेला २०८० कार्तिक २७ गतेको मन्त्रिपपरिषद् बैठकबाट नेपाल संवतलाई हरेक सरकारी कागजातमा उल्लेख गर्ने व्यवस्था मिलाएको जानकारी दिनुभयो । अहिले बागमती प्रदेशमा नेपाल भाषा र तामाङ भाषा सरकारी कामकाजको भाषा हुनु थप ऐतिहासिक काम भएको अध्यक्ष प्रचण्डको भनाइ थियो ।

मापदण्ड पुगेका कलेजलाई तत्काल सम्बन्धन दिन सीटीईभीटीलाई समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले मापदण्ड पुगेका प्राविधिक कलेजलाई तत्काल सम्बन्धन दिन प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)लाई निर्देशन दिएको छ ।  चिकित्सा शिक्षा ऐन, २०७५ बमोजिम मापदण्ड पुगेर चिकित्सा शिक्षा अध्यापन गराउन चाहने शैक्षिक संस्थाको हकमा समितिले सम्बन्धन दिन भनेको हो । बिहीबार बसेको बैठकले यही शैक्षिक सत्रदेखि भर्ना लिने गरी प्रक्रिया अघि बढाउन निर्देशन दिएको समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए। साथै, सीटीईभीटीको र चिकित्सा शिक्षा ऐनमा बाझिएका व्यवस्थामा एकरूपता ल्याउने प्रक्रिया तत्काल अघि बढाउन पनि समितिले शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।