सप्तकोशीमा जलसतह बढ्यो, ४१ ढोका खोलिए

धरान । सप्तकोशी नदीको जलसतह बढेको छ। आज बिहान ६ गरिएको मापन अनुसार कोशी ब्यारेजमा पानीको बहाव तीन लाख १६ हजार आठ सय क्युसेक पुगेको छ।

सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढे पछि कोशी ब्यारेजका ५६ मध्ये ४१ वटा ढोका खोलिएका छन्।


सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ ।

कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्ने बित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति खतराको संकेत रातो बत्ती बाल्ने गरिन्छ।

पानीको बहाव एक लाख ५० हजार कट्दा पश्चिमतर्फ  र दुई लाख कट्दा पूर्वतर्फ रातो बत्ती बाल्ने गरिन्छ। पानीको बहाव तीन लाख काट्नासाथ मध्य भागमा पनि रातो बत्ती बाल्ने गरिएको छ।

कोशी सरकारविरुद्ध रिटको पूर्ण इजलासमा सुनुवाइ हुँदै

काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्धको रिटमा न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । पूर्वमुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १६८ को उपधारा (५) अनुसार बनेको आफू नेतृत्वको सरकार हुँदाहुँदै अर्को सरकार आह्वान गर्नु संविधानविपरित रहेको भन्दै यसलाई रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए। उनले वर्तमान मुख्यमन्त्री हिक्मत कार्कीलाई पदमुक्त गरी मुख्यमन्त्रीमा आफूलाई निरन्तरता दिन माग गरेका छन् । कार्कीले रिटमा प्रदेश प्रमुखको कार्यालय, कोशी प्रदेश प्रमुख परशुराम खापुङ, कोशी प्रदेशका सभामुख अमरबहादुर विष्टलगायतलाई विपक्षी बनाएका छन्। नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा हिक्मत कार्की संविधानाको धारा १६८ को उपधारा (५) अनुसार नै हिक्मत कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

तीनवटा प्रदेशमा बिहानैदेखि वर्षा, यस्तो रहनेछ आजको मौसम

काठमाडौं । देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको हो । बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुुसार दिउँसो कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।  कोसी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जनरचट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । विभागले राति कोसी र मधेस प्रदेशसहित पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।  कोसी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा साथै बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जनरचट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको विभागले जनाएको छ । 

विपक्षीको संयुक्त बैठक : सभामुखलाई चेतावनी- सदनमा जबर्जस्ती नहोस् !

काठमाडौं । विपक्षमा रहेका राजनीतिक दलका नेताहरुले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् । विपक्षमा रहेका राजनीतिक दलका नेताहरुको बैठकपछि सभामुखलाई भेटेर यस्तो ध्यानाकर्षण गराइएको थियो । कांग्रेस प्रमुख सचेतक रमेश लेखकका अनुसार वेल विपक्षको भएको र प्रतिपक्षले आवाज उठाउँदा र माग राख्दा सदनमा जबर्जस्ती सदन चलाउने काम हुनुहुँदैन भनेर सभामुखलाई भनिएको छ । उनका अनुसार हिजोजस्तै सदन चलाउने सभामुखको मनसाय भएको भए कांग्रेसबाहेकका विपक्षी दल पनि वेलमा ओर्लने चेतावनी दिइएको छ । विपक्षले ध्यानाकर्षण गराएपछि सभामुख अहिले सत्तापक्षका नेताहरुसँगको छलफलमा छन् ।

संसदीय समिति गठनको मागबाट पछि नहट्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले संसदीय समितिको गठनको मागबाट पछि नहट्ने निर्णय गरेको छ। कांग्रेसको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रशस्त प्रमाण देखिएकाले यस विषयमा छानबिन गर्नुपर्ने कांग्रेसले माग गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका हुन्। साथै, कांग्रेसले सहकारीको रकम ठगी गरेका मानिसहरूलाई बचाउन सरकार लागेको भन्दै त्यस्तो नगर्ने चेतावनी समेत दिएको छ। त्यसैगरी कांग्रेसले बिहिबार संसद्‌मा भएको घटनाको जिम्मेवारी सभामुखको भएको निष्कर्ष निकालेको छ। सिंगो विपक्षी दल विरोधमा रहेको बेला सभामुखले संसद् अगाडि बढाउन नसक्ने परम्परा विपरित कार्य गरेको कांग्रेसले आरोप लगाएको छ। कांग्रेसले सभामुखलाई दलीय आवद्धता त्यागेर निष्पक्ष भएर बैठक सञ्चालन गर्न आग्रह समेत गरेको छ। नेता लेखकले बिहीबार प्रतिपक्ष संसदमा उभिएको बेला सत्ता पक्ष उठेर विरोध गर्नु संसदीय मर्यादा विपरीतको गतिविधि भएको बताए।

यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल वैशाख ३१ गते सोमबार सन् २०२४ मे १३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १३३ रुपैयाँ ९१ पैसा पुगेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ५९ पैसा र बिक्री दर १४४ रुपैयाँ २३ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ९४ पैसा र बिक्री दर १६७ रुपैयाँ ७० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर 

वामपन्थी पार्टीहरुबीच एकताको आवश्यकता छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सबै वामपन्थी पार्टीहरुका बीचमा एकताको आवश्यकता औल्याएका छन्। लतिलपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आज आयोजित ‘वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ’को विमोचन गर्दै उनले सबै वामपन्थी र कम्युनिष्टलाई एमालेमा समाहित हुन आह्वान गरे। “आफूलाई वामपन्थी र कम्युनिष्ट भन्ने सबै व्यक्तिलाई एमालेको सही धारमा छ, । यसै धारमा समाहित हुन म आग्रह गर्न चाहान्छु । सबै आउनुहोस्, सबै एकजुट हौँ”, उनले भने। उनले आफ्नो पार्टी एमाले एकता स्वार्थका लागि नभई सफलताका लागि एकता अभियान सञ्चालन गर्ने । उहाँले मुलुकको राष्ट्रिय शक्तिको रुपमा रहेको एमालेलाई निर्णायक तहमा विकास गर्न आफूले चाहेको बताए। अध्यक्ष ओलीले एमालेको वैचारिक रुपमा स्पष्टता, साङ्गठनिक रुपमा एकता, कुनै भावना बेगर नभई सही विश्लेषण र नीतिकै आधारमा पार्टी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। “पार्टीमा गल्ती हुन सक्छन् र ती गल्तीलाई सच्चाइनुपर्दछ । आत्मकेन्द्रित होइन । देश र जनता केन्द्रित भएर हामी चल्न सिक्नुपर्दछ”, उनले भने । अध्यक्ष ओलीले उपनिर्वाचनको परिमाण मिसन–२०८४ को सफलताको सुरुआत रहेको बताए। “हाम्रो पक्षमा उपनिर्वाचनको नतिजा आयो । यो हाम्रो मिसन–८४ तर्फको सफलताको सुरुआत हो । मिसन–८४ लाई हामी सफल पारेर छाड्छौं । यस अभियानमा सही ढङ्गले समाहित हुन साथीहरुलाई आग्रह गर्न चाहन्छु”, उनले भने। उनले सिद्धिलाल ज्ञवाली देश, जनता, पार्टी र आन्दोलनप्रति निष्ठा भएको राजनीतिज्ञ र परिवर्तन साकार पार्नका लागि साच्चै समर्पित भएर रात दिन काम गर्ने व्यक्ति रहेको बताए। “उहाँसँग मेरो धनिष्ट सम्बन्ध रहेको थियो । २०५४ सालतिर अन्तिमतिर पार्टी अलि ठीक ढङ्गले नचल्ने, समस्या पैदा हुने र हेर्दाहेर्दै अनावश्यक ढङ्गले पार्टी विभाजन हुने काम भयो”, उनले भने, “त्यसपछि हाम्रो सम्बन्ध पातलियो र एकअर्कामा स्नेह र सद्भाव कहिल्यै हटेन।” कार्यक्रममा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले एमालेमा प्रवेश गर्न आफू तयार रहेको जानकारी दिए। उनले पार्टीले दिएको जिम्मेवार अहिले पनि आफूले पूरा गर्न सक्ने जनाउँदै भने, “मेरो कमजोरी के रु गल्ती, कमजोरी देखिएका भएका छन् । आत्म आलोचना गरेर पुनः पार्टीमा आएको छु । मान्छेबाट गल्ती, कमजोरी हुन्छन् । आत्म आलोचना गर्न ठूलो कुरा हो ।” उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)पार्टी नफुटाएको स्पष्ट पारे। समारोहमा एमाले उपाध्यक्ष युवराज ज्ञवाली, उपाध्यक्ष विष्णुप्रसाद पौडेल लगायतको सहभागिता रहेको थियो।

यस्तो रहनेछ आजको मौसम, शनिवारबाट नयाँ प्रणाली भित्रने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली भई बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै, कोशी, मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ। महाशाखाका अनुसार शनिबारबाट पश्चिमी न्यूनचापीय प्रणाली नेपाल भित्रिने छ । जसका कारण शनिबारबाट मौसममा बदली हुने सम्भावना रहेको छ ।

६० जना प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ६० जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ ।  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक नियन्त्रण तालिम १५१ औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित तालिम समापन कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक पोखरेलले सेवा प्रवाहको क्रममा आफ्नो बोली, बचन र व्यवहारलाई अझ उत्कृष्ट बनाउनुपर्ने बताए ।  आर्थिक प्रलोभनमा नपरी अनुशासित एवम् मर्यादित भई तालिमबाट प्राप्त व्यावसायिक सीप एवम् क्षमतालाई संगठनको उद्देश्य अनुरूप प्रयोग गर्न प्रशिक्षार्थीहरुलाई उनले निर्देशन दिए ।  कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर थापाले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत फागुन १० गतेदेखि संचालित तालिममा प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार १० जना र प्रहरी जवान ४८ जना गरी कुल ६० जना प्रशिक्षार्थीहरुले तालिम हासिल गरेको जानकारी दिए ।

सुदुरपश्चिममा एकीकृत समाजवादीले अराजनीतिक निर्णय गर्‍यो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीले नांगो रुपमा दक्षिणपन्थी अवसरवादी चरित्र देखाएको आरोप लगाएका छन्।एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेशको घटनाक्रमलाई उदृत गर्दै एकीकृत समाजवादीले दक्षिणपन्थी अवसरवादी चरित्र प्रकट गरेको आरोप लगाएका हुन्। अध्यक्ष ओलीले सुदूरपश्चिममा एकीकृत समाजवादीले अराजनीतिक निर्णय गरेको समेत आरोप लगाएका छन् । ओलीले एकीकृत समाजवादीले आन्तरिक रुपमा बार्गेनिङ गरिरहेको बताउँदै आइतबार बाहिर नै प्रकट गरेको टिप्पणी गरे ।  ओली आफ्नो सम्बोधनमा एकीकृत समाजवादीप्रति आक्रामक रुपमा प्रस्तुत भएका थिए । उनले एकीकृत समाजवादीले कम्युनिष्ट साइन बोर्ड राखेर काम चाँहि समाजवादको पक्षधरलाई कमजोर पार्न लागेको बताए ।

देश निर्माणका गतिविधिमा जुट्न राष्ट्रपति पौडेलको आह्वान

काठमाडौं।  राष्ट्रपति रामचन्द्र पौडेलले उद्यमशीलता प्रवद्र्धन गरी राष्ट्रिय पूँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नमा केन्द्रित हुनुपर्ने सुझाव दिएका छन्।  नयाँ वर्ष २०८१ सालको अवसरमा राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिंदै देशको अर्थतन्त्रमा पर्न सक्ने प्रतिकूल प्रभावलाई कम गर्न आन्तरिक स्रोतलाई सदुपयोग गर्न सकिने बताए ।  “नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको उत्सव पनि हो । हामीले यस अघि थाती राखेका योजनालाई कार्यान्वयनमा ल्याई देश निर्माणका गतिविधिमा जुट्न म सबैलाई अनुरोध गर्दछु”, शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले भनेका छन् “मुलुकको समृद्धि र समुन्नतिका लागि स्वदेशी उत्पादनलाई बढावा दिनाका साथै उद्यमशीलता प्रवद्र्धन गरी राष्ट्रिय पूँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नेतर्फ अबका हाम्रा प्रयास केन्द्रित हुनुपर्छ ।” राष्ट्रपति पौडेलले देश निर्माणमा एकजुट हुन आग्रह समेत गरेका छन्। विदेशिने युवा शक्तिलाई स्वदेशकै विकासमा आबद्ध गर्न रोजगारी र अवसरको सृजना गर्ने नीति कार्यान्वयन गर्नुपर्ने उहाँले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।“जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा‚ स्वास्थ्य, कृषि र वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखेर सोही अनुसारका नीतिहरू अवलम्बन गर्दै दिगो विकासको लक्ष्य हासिल गर्नेतर्फ अग्रसर हुन म सङ्घीय, प्रदेश र स्थानीय सरकारका साथै सम्बद्ध सबैमा आह्वान गर्दछु” उनले भनेका छन् । यस्तै राष्ट्रपति पौडेलले देशमा सम्पन्नता र सभ्यताको निर्माणको शुभकामना दिएका छन्। “द्वन्द मच्चाउने र बाहुबलीयतातिर धकेल्ने होइन, निमुखालाई न्याय र विपन्नलाई आय दिलाउने तथा नेपालीलाई नेपाल नै रमाइलो लाग्ने सम्पन्नता र सभ्यताको निर्माण गर्न सफलता मिलोस् । यसका लागि नव वर्ष २०८१ ले हामी सबैलाई प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु”, राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ ।   राष्ट्रपति पौडेलले विकाससहितको विज्ञान र प्रविधिसँगैको स्वच्छ–सफा पृथ्वी बनाउन आह्वान गरेका छन्। “नयाँ वर्षमा भूकम्प, बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिको सामना गर्न नपरोस् भन्ने पनि म कामना गर्दछु”, शुभकामना सन्देशमा उल्लेख छ ।    

प्रधानमन्त्रीद्वारा पुरातत्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल गोर्खा दरबारमा प्रतिस्थापन

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा दरबारमा पुरातत्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल प्रतिस्थापन गरेका छन् । गोरखा नगरपालिकाले गोरखा दरबार परिसरमा आज आयोजना गरेको कार्यक्रमका बीच प्रधानमन्त्री प्रचण्डले उक्त धातु पृथ्वीनारायण शाहको गद्दी आसन छेउमा प्रतिस्थापन गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक र बहुमूल्य धातु क्वार्जको प्रतिस्थापन भएसँगै जिल्लाको महत्त्व अझ बढ्ने विश्वास व्यक्त गरे। उनले जिल्लाको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उल्लेख गरे। गोरखा जिल्लाको जनप्रतिनिधिका हैसियतले यहाँको विकास निर्माणमा आफू निरन्तर लागिपर्ने विश्वास दिलाउँदै प्रधानमन्त्री प्रचण्डले गोरखकाली उद्योग, बुढीगण्डकी जलविद्युत आयोजना एवम् पार्क  निर्माणमा आफ्नो ध्यान जाने  बताए। गोरखा जिल्लामा फेला पारिएको ५२.३३० केजीको उक्त धातु पुरातत्व विभागले बहुमूल्य भएको प्रमाणित गरेको थियोे ।  

यी क्षेत्रमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा  पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल  सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ ।  आज दिउँसो  सुदूरपश्चिम, कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति  सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहने छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।  गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।  भोलि कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरू साथै कोशी, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

टिआरसी विधेयक अन्तिम चरणमा :  मन्त्री गिरी

पर्वत । कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले  सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी)विधेयक अन्तिम चरणमा पुगेको बताएका छन्। महाशिला गाउँपालिकामा आज आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गिरीले सो विधेयक छिट्टै  टुङ्गो लगाइने बताए। उनले केही बुँदामा मात्र सहमति हुन बाँकी रहेको समेत जानकारी दिए। मन्त्री गिरीले भने, “विधेयकमा विभिन्न राजनीतिक दलका नेताहरुको बीचमा धेरै चरणमा छलफल भएको छ, संसद्का समितिहरुमा पनि चरणवद्ध छलफल भएको छ, अधिकांश बुँदामा सहमति भए पनि केही बुँदामा अझै छलफल गरेर टुङ्गोमा पुग्छौँ।” खासगरी पीडितलाई न्याय दिलाउने गरी विधेयक ल्याउनुपर्ने दलहरु सहमत भएको उनले बताए। अन्तिम चरणमा रहेकाले विधेयक संसद्मा पेश गर्न लामो समय नलाग्ने उनले बताए। विधेयक पास भैसकेपछि कतैबाट विरोधका स्वरहरु ननिस्किुन भन्नेतर्फ सचेत हुँदै पूर्ण तयारी र सहमतिका साथ पारित गरिने समेत मन्त्री गिरीले बताए । त्यस अवसरमा उनले कानुनी साक्षरता गाउँ गाउँमा लैजानुपर्ने धारणा समेत राखे । कानुनको अज्ञानता क्षम्य नहुने भन्दै कानुनी अज्ञानताका कारण धेरैले दुःख पाएको उनको भनाइ छ । कतिपय कानुन संशोधन गर्न समेत जरुरी रहेको उल्लेख गर्दै गिरीले देश सङ्घीयतामा गए पनि अझै नयाँ कानुन बन्न नसक्दा देश विकासको गति नै रोकिएको उल्लेख गरे ।उनले बदलिँदो परिवेश अनुसार कानुन बन्न नसक्दा राज्य सञ्चालनमा समस्या परिरहेको बताए। सदनमा पेस भएका कतिपय विधेयक राजनीतिक अस्थिरताका कारण सदनबाट पास हुन नसकिरहेको भन्दै गिरीले देशमा स्थिर सरकारको आवश्यकता रहेको बताए । मन्त्री गिरीले सङ्घीय निजामति ऐन र शिक्षा ऐन छलफलको चरणमा रहेको भन्दै ऐनहरु छिट्टै जारी हुने विश्वास दिलाए । उनले प्रतिपक्षले कानुन निर्माणमा सरकारलाई असहयोग गर्न नहुने धारणा राखे । मन्त्री गिरी आइतबारदेखि दक्षिण पर्वतको पैँयू, विहादी र महाशिला गाउँपालिकाका विभिन्न ठाउँमा भेटघाट तथा जनसंवादमा सरिक भएका छन् । 

कृष्णबहादुर महरालाई चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । सुन प्रकरणमा पक्राउ परेका कृष्णबहादुर महरालाई अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले चार दिन हिरासतमा राख्न अनुमति दिएको छ । कृष्णबहादुर महरालाई हिरासतमा राख्न अनुमति दिने क्रममा अदालतले नै अस्पताल राख्न भनेको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसपी होविन्द्र बोगटीले पहिलेदेखि नै उनी नर्भिकमा उपचाररत देखिएकाले उनलाई त्यहाँ पठाउने तयारी भएको जानकारी दिए। महरालाई आजै कपिलवस्तुबाट पक्राउ गरिएको हो । उनलाई भेपमा लुकाएर ल्याइएको सुन प्रकरणमा अनुसन्धान गर्नका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रधानमन्त्री पोखरामा

गण्डकी। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यहाँ आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन पोखरा आइपुगेका छन्। प्रधानमन्त्रीले पोखरा महानगरपालिका–१४ स्थित सहिद स्मृति आवासीय माध्यमिक विद्यालयको अवलोकन पनि गरेका छन्। त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डले विद्यालयको अवस्थाबारे जानकारी लिए। आजै उनी पोखरामा जारी बाह्रखरी गल्फ प्रतियोगिताको समापन समारोहमा सरिक हुने कार्यक्रम छ । आइतबार पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने समारोहमा प्रधानमन्त्री सहभागी हुने जनाइएको छ । आइतबार नै नेपाल पत्रकार महासङ्घ कास्कीले आयोजना गर्ने पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री सरिक हुनेछन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आन्तरिक प्रशिक्षण तथा भेटघाटमा पनि प्रधानमन्त्री सहभागी हुने कार्यक्रम रहेको छ ।