प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद बैठक बोलाएका छन्।

प्रधानमन्त्री प्रचण्डले शुक्रबार अपराह्न ५ बजे बस्ने गरी मन्त्रिपरिषद बैठक बोलाएको श्रम मन्त्री डोलप्रसाद अर्याल (डिपी) ले जानकारी दिए।

सुन तस्करी प्रकरणको अनुसन्धानमा जाँचबुझ आयोगले केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) को त्रुटि देखाएको थियो। यही प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख एआइजी किरण बज्राचार्यलाई विभागीय कारबाहीको तयारी भएको छ।

सुन तस्करी प्रकरणको अनुसन्धानमा जाँचबुझ आयोगले दिएका प्रतिवेदन कार्यान्वयनबारे छलफल गर्न मन्त्रिपरिषद बैठक बस्न लागेको हो।

सुन तस्करीसम्बन्धी अनुसन्धानमा गम्भीर त्रुटि देखिएको भन्दै आयोगले बज्राचार्यलाई कारबाहीको सिफारिस गरेको छ।

कर्मचारी समायोजनका लागि आवेदन खुला, अनलाईनबाटै भर्न सकिने

काठमाडौं, विवादमा रहेको कर्मचारी समायोजन प्रक्रियाका लागि सरकारले सूचना जारी गरेको छ । । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबारदेखि कर्मचारी समायोजनका लागि वेवसाइटमा सूचना प्रकाशित गर्दै प्रक्रिया अघि बढाएको हो । मन्त्रालयले चारवटा बेग्लाबेग्लै सूचना वेभसाइटमा प्रकाशन गरेको छ । यस अन्तर्गत निम्न प्रकृतिका कर्मचारी रहेका छन् । (क) प्रदेश र स्थानीय तहमा सेवा हस्तान्तरण भएका समिति, आयोग प्रतिष्ठान वा यस्तै प्रकृतिका संगठित संस्थाका स्थायी कर्मचारीका लागि, (ख) साविकमा जिल्ला विकास समितिहरुको सेवामा स्थायी नियुक्ति पाई हाल जिल्ला समन्वय समिति वा कुनै स्थानीय तहमा कार्यरत कर्मचारीका लागि (ग) अध्यादेश प्रारम्भ हुनुअघि सरकारी सेवामा नियुक्ति भएका तर नयाँ संरचना तथा दरबन्दीमा नपरेका स्थायी कर्मचारीका लागि समायोजनका लागि कर्मचारीले अनलाईनमार्फत नै आवेदन दिन सक्नेछन । जेष्ठतालाई आधार बनाइएकोले जेष्ठले रोजेपछि मात्रै कनिष्ठ कर्मचारीले उक्त स्थान रोज्न पाउने छन् । सरकारले संघ, प्रदेश र स्थानीय तहको संगठन संरचना र दरबन्दी पनि स्वीकृत गरेको छ । जस अनुसार संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ जना कर्मचारीको दरबन्दी कायम भएको छ । मन्त्रालयका सहसचिव केदारप्रसाद पनेरुले यही संरचना र दरबन्दीका आधारमा कर्मचारी समायोजन प्रक्रिया अघि बढाउने बताए ।

प्रति नेपालीको टाउकोमा २५ सय ऋण थपियो

काठमाडौं : सरकारले लिएको कर्जाको भार बढ्दै जाँदा गत आर्थिक वर्षमा एक नेपालीको जिम्मामा दुई हजार पाँच सय रुपैयाँ ऋण थपिएको छ । आन्तरिक र वैदेशिक कर्जा बढेका कारण हरेक व्यक्तिको भागमा ऋणको भार थपिएको हो । आर्थिक वर्ष २०७३/७४ सम्ममा सरकारले लिएको आन्तरिक र वैदेशिक ऋण ६ खर्ब ९७ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार २०७४ को असार मसान्तसम्म प्रत्येक नेपालीलाई २४ हजार दुई सय १४ रुपैयाँ ऋण पुगेको छ । २०७३ सालको असार मसान्तसम्म एक नेपालीको भागमा २१ हजार ६ सय ८६ रुपैयाँ ऋण थियो । सरकारले तिर्नुपर्ने ऋण अघिल्लो वर्षको तुलनामा १३.२२ प्रतिशत बढेको छ । तथ्यांक विभागको प्रक्षेपणअनुसार गएको वर्ष नेपालको जनसंख्या दुई करोड ८८ लाख थियो । अघिल्लो वर्ष अर्थात् सन् २०१६ मा भने जनसंख्या दुई करोड ८४ लाख रहेको अनुमान गरिएको छ । सरकारले आव २०७२/७३ मा तिर्न बाँकी ऋण ६ खर्ब १५ अर्ब ९० करोड हुँदा २१ हजार ६ सय ८६ रुपैयाँ ऋण पर्न आएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा ८१ अर्ब ४७ करोड राष्ट्र ऋण बढेको छ । गएको वर्षको अन्त्यसम्म वैदेशिक र आन्तरिक गरी ६ खर्ब ९७ अर्ब ३७ करोड सरकारी ऋण थियो । अघिल्लो वर्षसम्म यस्तो ऋण ६ खर्ब १५ अर्ब ९० करोड मात्र थियो । एक वर्षमा ३१ अर्ब ९२ करोड रुपैयाँ वैदेशिक ऋण बढेको छ । सरकारले गएको वर्ष चार खर्ब १३ अर्ब ६६ करोड वैदेशिक ऋण लिएको थियो । अघिल्लो वर्ष यस्तो रकम तीन खर्ब ८१ अर्ब ७४ करोडमात्र थियो । अघिल्लो वर्षको तुलनामा गएको वर्ष ४९ अर्ब ५४ करोड आन्तरिक ऋण बढेको छ । २०७३ मा दुई खर्ब ३४ अर्ब १६ करोड आन्तरिक ऋण रहेकामा गएको वर्ष दुई खर्ब ८३ अर्ब ७० करोड पुगेको छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) का आधारमा हेर्दा भने यो दर घटेको छ । अघिल्लो आवमा कुल गार्हस्थ्य उत्पादनको लगभग २७.७ प्रतिशतबराबर यस्तो ऋण थियो । गत आवमा यो दर २६.८ प्रतिशतमा सीमित भएको छ । जीडीपीको तुलनामा वैदेशिक ऋण घटे पनि आन्तरिक ऋण भने केही बढेको छ । सरकारले हरेक वर्ष आन्तरिक तथा वैदेशिक ऋण लिने र सोहीअनुपातमा दुवै ऋण तालिका बमोजिम तिर्दै जाने गर्छ । अघिल्लो वर्षको तुलनामा गत वर्षसम्म कुल ऋणको हिस्सा निकै बढेको देखिन्छ । खासगरी नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलर मजबुत भएपछि वैदेशिक ऋणको हिस्सा बढ्दै गएको छ । अन्नपूर्ण पोष्ट बाट

चोभार आदिनाथमा एकमहिने मेला सुरु

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन लाग्ने चोभार डाँडास्थित आदिनाथको मेला आज बिहानैदेखि सुरु भएको छ । कार्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन हुने उक्त मेला भर्न काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रबाट भक्तजन आउने गरेको स्थानीय हरिलाल श्रेष्ठले बताए । मेला अवधिमा आदिनाथको भक्‍तिपूर्वक पूजाअर्चना गरेमा निरोगी हुने जनविश्वास छ । साथै छालासम्बन्धी रोग पनि नलाग्ने जनश्रुति छ । आदिनाथ मन्दिरमा शिवपार्वतीको एकाकार मूर्ति छ जसलाई शिव र शक्तिका रूपमा बौद्ध धर्मावलम्बीहरूले पनि अर्चना गर्दै आएका छन् । हिन्दू तथा बौद्ध अनुयायीका निम्ति यो साझा सांस्कृतिक धरोहर भएको श्रेष्ठले बताए । मन्दिरमा विभिन्न भाँडावर्तन, गरगहना चढाउने प्रचलन छ । भक्तजनले बिहानैदेखि बाजागाजासहित मन्दिरमा भजनकीर्तन गरिरहेका छन् । काठमाडौँबाट करिब नौ किलोमिटर दक्षिणमा अवस्थित उक्त स्थलबाट काठमाडौं उपत्यकाको मनोरम दृश्य पनि देखिन्छ । 

दशैंका लागि टिकट बुकिङ आगामी शनिवारदेखि

काठमाडौं । दशैंका लागि सार्वजनिक यातायातको टिकट बुकिङ शनिबारबाट खुला हुने भएको छ । यातायात व्यवस्था विभागमा सरोकारवाला निकायहरूको उपस्थितिमा भएको छलफलले टिकट बुकिङ खुलाउने निर्णय गरेको हो । यात्रुवाहक सवारीसाधनका लागि घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिएको छ ।  यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार अग्रिम टिकट अनलाइनबाट समेत बुक गर्न मिल्ने व्यवस्था व्यवसायीले मिलाउनेछन् । सकेसम्म टिकट बुकिङ अनलाइनबाटै गर्ने व्यवस्था मिलाउने र काउन्टरमा जाने यात्रुले पोसाक र परिचयपत्र लगाएका आधिकारिक कर्मचारीसँग मात्र टिकट लिने व्यवस्था मिलाउन भनिएको उहाँले जानकारी दिनुभयो । यातायात व्यवसायीका अनुसार दसैंका बेला उपत्यकाबाट करिब २० लाख यात्रु बाहिरिने गर्छन् । उपत्यकाबाट बाहिरिने सवारीको चाप बढ्ने हुनाले खाद्यान्नलगायत अत्यावश्यक वस्तु ढुवानी गर्नेबाहेकका ट्रेलर र ठूला सवारीसाधनलाई नारायणगढ हुँदै काठमाडौंसम्म आउन घटस्थापनादेखि कात्तिक १ सम्म रोक लगाउने निर्णय भएको छ ।  

कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दै

काठमाडौं । आज कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दैछ । बैठक आज अपरान्ह साढे ४ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समिति सभापतिको निर्वाचन हुनेछ। समिति सभापतिका लागि नेपाली काँग्रेसबाट सांसद कुसुम थापा मगरले उम्मेदवारी दर्ता गरेका छन्। यसअघिकी सभापति डा.आरजु राणा देउवा परराष्ट्रमन्त्री बनेसँगै कृषि समितिको सभापति रिक्त रहेको थियो। सोमवार उम्मेदवारी दर्ता गराउनुभएकी थापा मगरको प्रश्तावक काँग्रेस सांसद वीरबहँदुर बलायर र नेकपा एमालेका सूर्यप्रसाद ढकाल समर्थक हुन्।

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने जनाइएको छ । बैठकमा सभामुखले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको छ । त्यसैगरि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रियसभामा उत्पत्ति भएको शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रमा अब विशेषज्ञ सेवा

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १४ को शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा सुरु भएको छ । सेवाको एक कार्यक्रमका बीच महानगर प्रमुख रेनु दाहालले दुई जना सेवाग्राहीलाई टिकट प्रदान गरी उद्घाटन गरिन् ।  सेवाको औपचारिक उद्घाटन स्थानीय ७२ वर्षीय नन्दकला कुवँर र ७० वर्षीय मुक्तिबहादुर घिमिरेलाई बिशेषज्ञ सेवाको टिकट प्रदान गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख रेनु दाहालले सेवाग्राहीको चापलाई मध्यनजर गर्दै विशेषज्ञ सेवा नियमित संञ्चालन गरिने बताइन्। जनताको स्वास्थ्य भन्दा ठूलो कुरा केही नहुने भन्दै उहाँले महानगरपालिकाले नगरबासीको स्वास्थ्यका लागि धेरै कार्यक्रकमहरु गर्दै आएको बताइन्। यस केन्द्रलाई नगर स्तरीय अस्पतालको रुपमा घोषणा गरेर सोही अनुसार काम अघि बढ्ने उल्लेख गरिन्। महानगर उपप्रमुख चित्रसेन अधिकारीले विशेषज्ञ सेवा गाउँमै पाएसँगै यस क्षेत्रका जनताको स्वास्थ्यका पहुँच बढ्दै जाने बताइन्। महानगरको गाउँगाउमा पुगेर सेवा दिने योजनाअनुसार विशेषज्ञ सेवा सुरु भएको उनको भनाई थियो । केन्द्रबाट हरेक हप्ताको सोमबार, बुधबार र बिहिबार विशेषज्ञ सेवा प्रदान गरिने छ । पुरानो मेडिकल कलेज र भरतपुर आँखा अस्पतालको समन्वयमा केन्द्रबाट हप्ताको ३ तीन दिन विशेषज्ञ सेवा दिन लागिएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सोमबार जनरल फिजिसियन, बुधबार प्रसुति तथा स्त्री रोग तथा रेडीयोलोजी सेवा र बिहिबार बाल रोग तथा नेत्र रोगको सेवा दिइने छ ।  २०२७ सालमा स्थापना भएको स्वास्थ्य केन्द्रमा हाल मेडिकल अधिकृत ३ जना, पारामेडीक्स ९ जना, नर्सिङ् ८ जना, प्रयोगशालाकर्मी ४ जना, फार्मेसिस्ट २ जना, रेडियोग्राफर १ जना, सहित ३२ जना कर्मचारी कार्यरत रहेका छन् । यस केन्द्रले गत आर्थिक वर्षमा ४९ हजार ३७५ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको केन्द्रको तथ्याङमा उल्लेख छ । केन्द्रले दैनिक १६५ जना विरामी सेवा दिने गरेको छ ।

मध्यरात कांग्रेस–एमालेबिच भएको सम्झौता पश्चगामी : देव गुरुङ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले नेपाली कांग्रेस र नेकपा एमालेबिच भएको गठबन्धन पश्चगामी भएको बताएका छन्।   बुधबार संवाद डबलीले गरेको कार्यक्रममा बोल्दै गुरुङले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई उल्टाउन संविधान संशोधन गर्ने कुरा आएको बताए। गुरुङले भने, ‘संविधानको जग वृहत् शान्ति सम्झौता हो, वृहत् शान्ति सम्झौताको जग जनयुद्ध र जनआन्दोलन हो। मध्यरात षड्यन्त्रमूलक ढङ्गबाट संविधान संशोधनको सहमति गरेर उपलब्धिलाई नै उल्टाउँदै २०४७ सालको संविधान फर्काउन लागेको हो त होइन भन्ने गम्भीर प्रश्न उठेको छ ।’ उनले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन हुन सक्ने तर पछि फर्किने गरी दुई दलबिच भएको सहमतिले देशमा द्वन्द्व निम्त्याउने बताए। महासचिव गुरुङले प्रधानमन्त्री प्रचण्डले राजीनामा नलिने बताए।  उनले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीले विश्वासको मत माग्ने र विश्वासको मत नपाएपछि सोही धाराको (३)अनुसार सरकार गठनको प्रक्रिया सुरु हुने दाबी समेत गरे। गुरुङले कोशी सरकार गठनमा सर्वोच्चले गरेको व्याख्या यहाँ मेल नखाने समेत दाबी गरे।  महासचिव गुरुङले एमालेले अहिले नै समीकरण छोड्नुपर्ने कुनै कारण नभएको बताए। उनले आन्तरिक रूपमा झिना मसिना कुरा भए पनि काँग्रेससँग गठबन्धन गर्नुपर्ने कारण आफ्नो पार्टीले नदेखेको बताए। 

जलवीरेमा पहिरो, नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन ।  नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ जलवीरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । आज बिहानदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेपछि अवरुद्ध सडक खोल्ने प्रयास जारी छ । हाल पानी परिरहेकाले द्रुत गतिमा पहिरो पन्छाउन समस्या भएको उहाँले राससलाई बताए। 

जीबी राईलाई नेपाल ल्याउनेबारे मलेसियासँग छलफल भइरहेको छ : गृहमन्त्री लामिछाने

चितवन । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणका मुख्य आरोपी  जितेन्द्र बाबु (जीबी) राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको बताएका छन् ।   चितवनको भरतपुर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले आफू मलेसियाका गृहमन्त्रीसँग लगातार सम्पर्कमा रहेको बताए । मलेसियामा राई रहेको ठाउँ पत्ता लागिसकेको उनको भनाइ थियो ।  फरक प्रसंगमा गृहमन्त्री लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा पत्र बोकेर हिँडेको भन्ने अभिव्यक्तिका कारण सरकार वा गठबन्धनमा समस्या आएको भन्ने कुरामा कुनै सत्यता नभएको बताए । उनले भने, “हामीले सुरुआतदेखि नै राम्रो काम गर्न सकिएन भने सत्तामा टाँसिएर बस्न हुँदैन भन्दै आएका छौँ ।”  गृहमन्त्री लामिछानेले आफ्ना पार्टीका मन्त्रीहरूलाई केही गर्न पाए हुन्थ्यो भन्ने हुटहुटी रहेको र राजीनामा पत्र त्यो हुटहुटीको प्रतिबिम्ब भएको उल्लेख गरे । प्रहरी महानिरीक्षक फेर्ने कुरामा सत्यता नभएको उनको भनाइ थियो ।

मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्षको निधन

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएको छ ।‌चार महिनाअधि मस्तिष्क पक्षघात भएर थलिएका उनको सोमबार दिउँसो निधन भएको हो । नेपाली कांग्रेस मोरङका उपसभापति भक्तिनाथ माझीले मंगलबार उनको अन्तिम संस्कार गरिने जानकारी दिए । राष्ट्रियसभा निर्वाचनमा मत दिन विराटनगर आउँदा उनी बेहोस भएका थिए । उनलाई अर्धचेत अवस्थामा एक महिनायता ग्रामथानस्थित घरमै राखिएको थियो । उनी गम्भीर बिरामी परेपछि चार महिनादेखि उपाध्यक्ष गुणवर्तीदेवी थारूले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।

सहकारी आन्दोलनलाई समाजवादी बाटोमा डोर्‍याउनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारी आन्दोलनलाई समाजवादी बाटोमा डोर्‍याउनुपर्ने र त्यसका लागि सकारात्मक पहलकदमी लिनुपर्ने बताएका छन् । सहकारी केन्द्र नेपालको प्रथम राष्ट्रिय सम्मेलनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले सबै तहका पार्टी कमिटीहरूमा सहकारी संस्थाहरूको अध्ययन गरेर सही बाटोमा अगाडि बढाउनुपर्नेमा जोड दिए । “सहकारी आन्दोलनको महत्त्व ठीक ढङ्गले बुझ्ने, जनताको दैनिक जीवन र सरोकारका प्रश्नहरूको अध्ययन गर्ने, त्यसको नेतृत्व गर्दै क्रान्तिकारी जनमत निर्माण गर्न सकिन्छ,” प्रधानमन्त्रीले भने, “तसर्थ, पार्टीका सबै तहका कमिटीहरूमा सहकारी संस्थाहरूको अध्ययन, अनुगमन, मूल्याङ्कन, सहभागिता र नेतृत्वजस्ता विषयमा छलफल गर्ने, सहकारी संस्थाहरूमा आवद्ध भएर यस आन्दोलनलाई समाजवादी बाटोमा डोर्‍याउन पहलकदमी लिनुपर्दछ ।”  सहकारीको आधारभूत सिद्धान्तबाट च्यूत हुँदा कोभिड महामारीलगायत विश्वव्यापी रूपमा देखिएका आर्थिक सङ्कटको प्रत्यक्ष प्रभावका कारण नेपालका सहकारीहरूले सङ्कटको सामना गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सहकारी क्षेत्रका समस्याहरू सम्बोधन गर्न सरकारले नीतिगत र व्यवहारिक समाधानका विभिन्न उपायहरू अवलम्बन गर्दै आइरहेको बताए।  सहकारी क्षेत्रको व्यवस्थापनका लागि सरकारले यस वर्षको बजेटमा कानुनमा आवश्यक संशोधन गरी सहकारिताको सिद्धान्त र नीतिबमोजिम सहकारी सञ्‍चालन हुने व्यवस्था गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले बचत तथा ऋण सहकारी संस्थाको नियमन गर्न नियामक निकाय स्थापना गरिने बताए।  बचत तथा ऋण सहकारीलाई एक आपसमा गाभिन सहजीकरण गर्ने र बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधानका लागि समस्याग्रस्त सहकारीका सञ्‍चालक र एकाघरको परिवारको सदस्यको नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणमा रू ५ लाखसम्मका बचतकर्ताको रकम फिर्ता गर्ने व्यवस्था मिलाउने लगायतका व्यवस्था बजेटमा गरिएको प्रधानमन्त्रीले जानकारी दिए। सङ्कटग्रस्त एवं समस्याग्रस्त सहकारीहरूको अवस्था, बचतकर्ताको निक्षेप अपचलन भए नभएको अध्ययन, दोषीहरूमाथि कार्वाहीको सिफारिस र समस्या समाधानका लागि सुझावहरू प्रस्तुत गर्न अधिकारसम्पन्न संसदीय समिति गठन गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले सङ्कटग्रस्त सहकारीहरूको अवस्थाको अध्ययन गर्नुका साथै सहकारी क्षेत्रका समस्याहरूको दीर्घकालीन समाधानका लागि आवश्यक सुझावहरू समितिले प्रस्तुत गर्ने विश्वास व्यक्त गरे। कृषिको व्यावसायीकरण र आधुनिकीकरण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गरिनेगरी बजेट विनियोजन भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारी, निजी, सहकारी तथा विकास साझेदारबाट कृषि क्षेत्रमा लगानी अभिवृद्धि गर्न २०८१ देखि २०९१ सम्मको अवधिलाई कृषिमा लगानी दशक घोषणा गरिएको जानकारी दिए। उनले यस कार्यक्रमअनुरूप भूगोल, बजार सम्भाव्यता एवं पारिस्थितिकीय विशिष्टता अनुकूल सङ्घ, प्रदेश र स्थानीय तहबाट कृषि उपजको विशेष क्षेत्र पहिचान गरी उत्पादन प्रवर्द्धन गर्ने नीति र कार्यक्रम अगाडि सारिने बताए। बजेटमा अगाडि सारिएका कार्यक्रम कार्यान्वयनका लागि सहकारी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताउँदै प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रको प्रवर्द्धन, कृषि, ऊर्जा, सूचना प्रविधि, पर्यटन, औद्योगिक विकास तथा पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रको विकासलाई विशेष प्राथमिकतामा राखिने बताए । उनले समावेशिता र सामाजिक सुरक्षा र सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहमा सुधारको प्राथमिकता निर्धारण गरिएको स्पष्ट पारे।  पछिल्लो समय नेपालको सहकारी आन्दोलनले गम्भीर चुनौतीको सामना गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले समस्या देखाएर आन्दोलनलाई निस्तेज पार्ने काम रोक्नुपर्ने बताए। “सहकारी आन्दोलनमा पुँजीवादी शक्तिहरू हावी हुँदा यसले आफ्नो प्राकृतिक चरित्र मात्र गुमाएको छैन, अपितु सहकारी आन्दोलनलाई समाजवादी आन्दोलनसँग जोड्ने कम्युनिस्ट क्रान्तिकारीहरूको ध्येयमा नयाँ चुनौती खडा गरिदिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “मुख्यतः सहकारी क्षेत्रका समस्याहरूलाई देखाएर सहकारी आन्दोलनको औचित्यमाथि नै प्रश्न उठाउने प्रवृत्ति देखिएको छ, यसलाई चिर्नुपर्छ ।”

कार्यादेशबारे आन्तरिक छलफल गर्न कांग्रेसले बोलायो पदाधिकारी बैठक

काठमाडौँ । नेपाली कांग्रेसले सहकारी ठगीमा संसदीय छानबिन समितिको कार्यादेशबारे आन्तरिक छलफल गर्न वर्तमान र पूर्वपदाधिकारीको बैठक बोलाएको छ ।  बैठकले पछिल्लो राजनीतक परिस्थितिबारे साझा धारणा बनाउने बताइएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज दिउँसो ३ बजेका लागि बैठक बोलाइएको कांग्रेस सहमहामन्त्री जीवन परियारले बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्ता गठबन्धनका नेताहरूसँग बालुवाटारमा भएको छलफलपछि कांग्रेसले आन्तरिक गर्न लागेको हो। 

सहकारी छानबिनसम्बन्धी समितिको कार्यादेशमा सहमति जुट्छ : पदम गिरी

पर्वत । कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारीको रकम हिनामिनासम्बन्धी छानबिन गर्ने संसदीय समितिको कार्यादेश र क्षेत्राधिकारमा आइतबारसम्ममा सहमति जुट्ने बताएका छन्।   गृहजिल्ला पर्वत आएका मन्त्री गिरीले नेपाल पत्रकार महासंघ पर्वत शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यादेशसहित समिति बन्नुपर्ने प्रमुख प्रतिपक्षी दलको अडानका कारण समिति गठनमा विलम्ब भएको बताए। उनले सत्तापक्ष र प्रतिपक्ष लचिलो भएर टुंगोमा पुग्नुपर्नेमा जोड दिए ।  उनले आइतबारको संसद् बैठक अघि नै सहमति हुने र संसद्का कामकारबाही सञ्चालन हुने बताए। बचतकर्ताको हिनामिना भएको रकम फिर्ता गर्ने प्रावधानसहित सहमति गर्नुपर्नेमा सत्तापक्ष सकारात्मक रहेको उनले बताए।   उपप्रधान तथा गृहमन्त्रीको नाम उल्लेख गर्नुपर्ने प्रतिपक्षी दल आफ्नो अडानबाट पछि हटिसकेको भन्दै मन्त्री गिरीले अपचलन गर्ने कम्पनी वा सहकारीको नाम भने लेख्न सकिने बताए । उपप्रधान तथा गृहमन्त्री दोषी हो वा होइन भन्ने कुरा छानबिनपछि मात्र पुष्टि हुने भएकाले कुनै व्यक्तिको नाम तोकेर जाँदा गलत नजिर स्थापित हुने उनको भनाइ छ।   मन्त्री गिरीका अनुसार आइतबार संसद्बाट नीति तथा कार्यक्रममाथिको छलफल टुङ्ग्याएर पारित गरिने र १५ गते बजेट ल्याउने तयारीमा सरकार जुटेको बताए।  उनले सरकार संसद्लाई छलेर अध्यादेशबाट बजेट ल्याउने पक्षमा नरहेको स्पष्ट पारे।  “जेठ १५ गते जसरी पनि आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक बाध्यता छ, यसमा प्रतिपक्षी दलले पनि सहयोग गर्नुपर्छ”, उनले भने। रासस

संसदको कार्यसूचि तय गर्न कार्यव्यवस्थाको बैठक बस्दै

काठमाडौं । संसदको कार्यसूचि तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ ।  सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । संसद सचिवालयका प्रवक्ता एकराम गिरीले प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक दिउँसो साढे १२ बजे बस्ने तय भएको जानकारी दिए । बैठकले आज दुई बजे बस्ने प्रतिनिधि सभाको कार्यसूची तय गर्नेछ । संघीय संसदको बजेट अधिवेशन आज सुरु हुँदैछ ।  शुक्रबारको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी व्यहोराको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने कार्यसूची निश्चित छ । बैठकमा सभामुख घिमिरिेले बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयनको जानकारी पनि गराउने छन् । अधिवेशनको पहिलो दिन दलीय आधारमा शीर्ष नेताहरुले शुभकामना दिने गरिएको छ । शीर्ष नेताहरु बोलेपछि दुई वटा विधेयक अगाडि बढाउने सम्भावित कार्यसूची रहेको छ ।