कांग्रेसको विरोधपछि संसद बैठक स्थगित

काठमाडौं । कांग्रेसको अवरोधपछि संसद बैठक स्थगित भएको छ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा शुक्रबार पनि अवरोध गरेको हो।

सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेस लगातार सदन अवरुद्ध गर्दै आएको छ।

शुक्रबारको पनि कांग्रेस सांसदहरुले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले संसदको अर्को बैठक जेठ १३ गतेसम्मका लागि स्थगित गरेका हुन्।

प्रतिनिधि सभाको अर्को बैठक जेठ १३ गते ११ बजे बस्ने छ।

सहकारी छानबिन आयोग भरपर्दो छैनः डा. आरजु देउवा

काठमाडौं । काङ्ग्रेस नेतृ तथा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणाले सहकारी अनुगमनका लागि सरकारद्वारा गठित छानबिन आयोग भरपर्दो नरहेको आरोप लगाएकी छन् ।  शनिबार काठमाडौंमा आयोजित ‘सहकारी समस्या र भावी रणनीति’ विषयक छलफलमा उनले सहकारीका पीडितलाई न्याय दिलाउन गठित सरकारी छानबिन समिति भरपर्दो नरहेको दावी गरेकी हुन् ।  सभापति राणाले सहकारी संस्थाहरू आफैँसँग पनि गठीमा परेको रकम असुली गर्ने जनशक्ति नभएको र नेपाल प्रहरीले पनि त्यसमाथिको उजुरी सुनुवाइमा समेत चासो नदिएको टिप्पणी गरिन् ।  सहकारी संस्थाहरूले थुप्रै नागरिकको घरबारविहीन बनाएको घटनाको पनि उजुरी समितिमा आएको र त्यस्ता खालको गतिविधि हुन नदिने आफूहरूले सम्बन्धित सहकारीलाई निर्देशन दिएको उनले बताइन् । सभापति राणाले २०७४ सालमा सहकारी जथाभावी खोल्न दिने ऐन बनेपछि सहकारी क्षेत्रमा समस्या भित्रिएको भन्दै त्यसको समाधान गर्नुको विकल्प नरहेको बताइन् ।  सभापति राणाले २० वटाभन्दा बढी सहकारी समस्याग्रस्त हुँदा पनि सो समस्या समाधान गर्न सरकार गम्भीर नभएको आरोप पनि लगाईन ।

रोजगारमा विभिन्न देश पठाईदिन्छु भनी ठगी गर्ने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका ७ घर भई काठमाडौं महानगरपालिका ९ सम्भूमार्ग बस्ने २७ वर्षीय पवन केसी, मुगु खत्याड गाउँपालिका ८ घर भई काठमाडौं कोटेश्वर बस्ने २३ वर्षीय नमराज रावत र भोजपुर टम्केमैयङ गाउँपालिका ३ घर भई ललितपुर ताल्छीखेल बस्ने २६ वर्षीय सङघर्ष राई रहेका छन् ।  पक्राउमध्ये पवनले दुबई पठाईदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ९० हजार रूपैयाँ ठगी गरेको, नमराजले रसिया पठाईदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ ठगी गरेको र सङघर्षले युरोपका देशहरू पठाईदिन्छु भन्दै १३ जना पीडितहरूबाट ७४ लाख ९५ हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पवनलाई काठमाडौं सम्भूमार्गबाट, नमराजलाई काठमाडौं नयाँ बानेश्वरबाट र सङघर्षलाई काठमाडौं बालाजुबाट पक्राउ गरेको हो ।  उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

भक्तपुरमा मनाइयो सिन्दुरजात्रा

काठमाडौं। बिस्का जात्राको क्रममा भक्तपुरको मध्यपुर थिमिमा सिन्दुरेजात्रा मनाइएको छ । हरेक वर्षको सुरुवातमा भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुरे जात्रा बिस्केट जात्रा अन्तर्गत हुने एक महत्त्वपूर्ण जात्रा हो । बिस्केट (बिस्काः) जात्राको अवसर पारेर मनाइने ३२ टोलबाट देव देवताका खट बालकुमारी मन्दिरमा ल्याइन्छ । त्यहाँ सबै खट आइपुगेपछि सिन्दुरेजात्रा मनाइन्छ । देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली यो जात्रा मनाइने परम्परा रहिआएको छ ।  जात्रा प्रत्येक चोक, चौबाटो र नगरपरिक्रमा गर्दा घरको झ्याल, कौसी र छतबाट अबिर, फूल छर्केर स्वागत गर्ने प्रचलन छ । जात्रामा कायाबाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई हर्षोल्लासका साथ एकआपसमा सिन्दूर (अबिर) दलेर नगर परिक्रमा गर्ने परम्परा छ । जात्रामा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर टोलटोलमा अबिर खेल्दै बाजागाजासहित अबिर जात्रा मनाइने चलन छ । 

नयाँ वर्षसँगै समृद्धिको मार्गमा अग्रसर हुनु पर्छ : सभापति देउवा

काठमाडौं । नयाँ वर्षसँगै दृढ सङ्कल्प र अठोटका साथ नवीन अवसरहरूको उपयोग गरेर मुलुकमा सुशासन कायम गर्दै आर्थिक विकास र समृद्धिको मार्गमा अग्रसर हुनु पर्ने बेला आएको बताएका छन् । नयाँ वर्ष २०८१ को शुभकामना सन्देश दिनुहुँदै काँग्रेस सभापति शेरबहादुर देउवाले यस्तो बताएका हुन् । नेपाली जनताको लामो त्याग, सङ्घर्ष, आन्दोलन र बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धिहरूको रक्षा गर्दै भविष्यमा आउने राष्ट्रिय चुनौतीहरूको एकजुट हुनु पर्ने उहाँले सन्देशमा उल्लेख गरे । सम्पूर्ण राजनीतिक दल तथा जिम्मेवार निकायहरू मुलुक, मुलुकवासी र लोकतन्त्रको पक्षमा आ–आफ्ना दलगत स्वार्थ र सीमाभन्दा माथि उठेर एकताबद्ध भई अगाडि बढ्न आवश्यक भएको उहाँले सन्देश मार्फत बताए ।  उनले नयाँ वर्ष २०८१ सालको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरे ।

कालोसूचीमा परे २३ वटा कम्पनी (सूचीसहित)

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले केही कम्पनीलाई कालोसूचीमा राखेको छ। तोकिएको समयमा र कानुनअनुसार काम नगर्ने २३ वटा कम्पनीलाई कालोसूचीमा राखिएको हो।  तीन वर्षदेखि एक वर्षसम्म कालोसूचीमा राखिएको सार्वजनिक सूचनामा उल्लेख छ।  कालोसूचीमा राखिएका व्यवसायी आपूर्तिकर्ताहरूले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्। 

प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन गर्न श्रम मन्त्रालयले बनायो अध्ययन समिति

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको १६ बुँदे निर्देशन कार्यान्वयन गर्न अध्ययन समिति निर्माण गरेको छ । मन्त्रालयका प्रवक्ता एवम् सहसचिव गोविन्दप्रसाद रिजालको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको हो । प्रधानमन्त्री प्रचण्डले गत पुस २५ गते मन्त्रालयको काम कारबाहीका विषयमा छलफल गरी १६ बुँदे निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनलाई प्रक्रियागत रूपमा कार्यान्वयन गर्न मन्त्रालयले अध्ययन समिति निर्माण गरेको हो । समितिले २१ दिनभित्र प्रतिवेदन बुझाउने छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ताको नाममा जारी विज्ञप्तिमा पूर्व प्रस्थान अभिमुखीकरण तालिमको शुल्क, वैदेशिक रोजगारीमा जाने दक्ष श्रमिकका लागि अंग्रेजी भाषा आवश्यक हुने सम्बन्धी विषय, दक्षिण कोरियामा इपिएस प्रणालीबाट कामदार पटाइरहेको अवस्थाका बिच इ–सेभन (e7)  भिसामा समेत कामदार पठाउने लगायतका विषयका साथै प्रधानमन्त्रीबाट आएको निर्देशन, विभिन्न सञ्चारका माध्यममा आएका समाचार, श्रमिक/कामदार स्वयंबाट आएका गुनासा एवम् सरोकारवालाहरुको चासो र सुझाब समेतलाई मध्यनजर अध्ययन गर्न समिति गठन गरेको हो । उक्त समितिमा २१ दिनको समय दिइएको उल्लेख छ ।

दूरगामी महत्त्वका निर्णय नगर्न गण्डकी सरकारलाई माओवादीको आग्रह

काठमाडौँ । नेकपा मा‌ओवादी केन्द्रले सुरेन्द्रराज पाण्डे नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दूरगामी निर्णय नगर्न आग्रह गरेको छ । माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको छ । सोमबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले गण्डकी प्रदेश सरकार काम चलाउ सरकारमा परिणत भएको भन्दै दीर्घकालीन असर पर्ने निर्णय नगर्न आग्रह गरेको माओवादी संसदीय दलका प्रमुख सचेतक कुसुम बुढा पुनले जानकारी दिइन् । बैठकले तीन बुँदे निर्णय गर्दै कामचलाउ सरकार भइसकेको अवस्थामा दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न र त्यस्ता कुनै पनि काम कारबाही नगर्न सरकारलाई सचेत गराउने निर्णय गरेको छ । केन्द्रीय गठबन्धनमा फागुन २१ गतेबाट आएको फेरबदलको प्रभाव गण्डकी प्रदेश सरकारको गठबन्धनमा समेत परेको छ ।

नेपाली सेनाको २६१औं स्थापना दिवस, सैनिक मञ्च टुँडीखेलमा मनाइदै

काठमाडौं। सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आफ्नो स्थापनाको २६१औँ वार्षिकोत्सवका शुक्रबार मुलुकभर विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिकासाथ मनाउँदै छ । राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक टुँडीखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। नागरिकको आस्था र भरोसाको केन्द्रविन्दुका रूपमा रहेको नेपाली सेनाको उनी परमाधिपति समेत हुन् । सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको र त्यस अवसरमा सैनिक मञ्चमा परेड शस्त्राभ्यासे तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् । सेना दिवस समारोहमा यसपटक मौलिक नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यका साथ तीन सय महिला र तीन सय पुरुष सैनिकले एकसाथ लोपोन्मुख थाली नृत्य प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । त्यस अवसरमा नेपाली सेनाका साथै भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सेनाको साङ्गीतिक प्रस्तुती हुनेछ । जङ्गीअड्डा मातहत पृतना, बाहिनी, गण र गुल्ममा पनि विभिन्न कार्यक्रम आयोजना गरिनेछ । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना कानुनको परिधिभित्र रही स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि जस्तोसुकै परिस्थितिको सामना गर्दै जीवनको आहुती दिन तत्पर अनुशासित सिपाहीको सङ्गठन रहेको भन्दै शुभकाना व्यक्त गरेका छन् । सङ्गठन स्थापना दिवसका अवसरमा सकल दर्जालाई सम्बोधन गर्दै उनले सदैव व्यक्तिभन्दा संस्थामाथि रहने पक्ष स्मरण गराँउदै पदभन्दा प्रतिष्ठा ठूलो हो भन्ने कहिल्यै नविर्सन सुझाव समेत दिएका छन् ।  

खेल क्षेत्रको विकास गर्न सरकार प्रयत्नशिल छ : उपमहासचिव पुन

काठमाडौं।  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पछिल्लो समय शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खेलकुद सबै क्षेत्रमा विकास भएको बताएका छन् । सहिद सप्ताको अवसरमा शहिद स्मृती प्रतिष्ठान नेपाल र वाईसीएल नेपाल वाग्मती प्रदेश समितिद्वारा आयोजित प्रथम सहिद स्मृति वाग्मती प्रदेश रनिङशिल्ड भलिबल प्रतियोगिता-२०८० एवं शहिद,बेपत्ता परिवार सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पुनले पञ्चायत र राजतन्त्रपछिको गणतन्त्रमा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खेलकुद सबै क्षेत्रमा विकास भएको बताए ।  तर जनताको आकांक्षा अनुसार भने अझै पनि विकास हुन नसकेको उनले बताए । उनले प्रधानमन्त्रीले सुशासन, समृद्धि र सामाजिक क्षेत्रमा तीव्र रूपले देशको विकास गर्ने संकल्प गरेको अवस्थामा युवाहरूले साथ दिनुपर्ने धारणा राखे । उनले सबै प्रकारको खराब तत्वहरुबिरुद्ध सवै मिलेर लड्नुपर्ने आवश्यकता रहेको समेत बताए । उनले खेल क्षेत्रलाई विकास गर्न सरकारले प्रयत्न गरिरहेको बताए । 

दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकममा पनि वृद्धि

काठमाडौं । नेप्से आज दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से २५.६६ अंकले बढेर एक हजार ९ सय २७ दशमलब ६५ विन्दुमा पुगेर बन्द भएको छ । सोमबार नेप्से १७ दशमलव ३८ अङ्कले घटेर एक हजार नौ सय ०१ दशमलव ९९ अङ्कमा बन्द भएको थियो । शेयरबजार बढेसँगै कारोबार रकम पनि वृद्धि भएको छ । आज एक अर्ब ९८ करोड १० लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । सोमबार नेप्सेमा एक अर्ब ९७ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका १८५ कम्पनीको शेयरमूल्य बढेको छ भने ३१ कम्पनीकोे शेयरमूल्य घटेको छ । चार कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । न्यादी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.८५ प्रतिशतले बढेर प्रतिकित्ता ३०१ रुपैयाँ पुगेको छ त्यस्तै, सनराइज फोकस्ड इक्विटी फण्डको शेयरमूल्य ९.२४ प्रतिशतले बढेर प्रतिकित्ता ८.६३ रुपैयाँ पुगेको छ । आज सेन्चुरी डिबेन्चरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ३ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढीे सोल्टी होटल्सको भएको छ । यस कम्पनीको आज ९ करोड ६९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

हिमपातले कतै बिजोग, कतै यस्तो छ रमाइलो– चन्द्रागिरिमा हिउँ खेल्दै (फोटो फिचर)

काठमाडौं । बिहीबार रातीदेखि नै परेको हिमपात र पानीले देशभरको जनजीवन प्रभावित बन्न पुगेको छ। पहाडी र हिमाली क्षेत्रका डाँडाकाँडाहरु सेतै फुलेका छन् भने तराई खोंचतिर पानी पर्नुका साथै चिसो ह्वात्तै बढेको छ। हिमपातले अधिकांश ठाउँमा हवाई सेवासमेत अवरुद्ध बनेको छ भने सडक नै हिउँले पुरिएर उच्च पहाडी जिल्ला र हिमाली जिल्लाको सवारी आवागमनसमेत अवरुद्ध बनेको छ। हिउँले कतै हैरानी खेप्नु परेको छ भने कतै भने आन्तरिक पर्यटनलाई प्रवद्र्धन नै गरिदिएको छ। सधैं हिउँ नदेख्ने सर्वसाधारण हिउँ कता परेको छ भन्दै बिहानदेखि नै नजिकका डाँडाकाँडातिर रमाउन दौडिएका छन्। यही सिलसिलामा काठमाडौंको चन्द्रागिरि डाँडामा हिउँ खेल्न जानेहरुको भीड नै लागेको छ। हेर्नुस् चन्द्रागिरिमा परेको हिउँ र हिउँ खेल्न निस्किएका सर्वसाधारणको मस्ती, राससका फोटो पत्रकार प्रदीपराज वन्तले खिचेका केही तस्बिरहरु-     

नबिना लामाजी, आउनुस् ५ मिनेट समय दिएर प्रचण्डको हैसियत जान्नुस्

नबिना लामाजी, नमस्कार तपाईँले एक निजी टेलिभिजनमा अन्तर्वार्ताको क्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हैसियत के हो ? भनेर सोध्नुभएको रहेछ । प्रचण्डलाई आफ्नो हैसियत सुनाउने फुर्सद नभएका कारण मैले उहाँका केही हैसियतहरु तपाईँसमक्ष राख्ने अनुमति चाहान्छु । नम्बर १.  नबिना लामाजी, प्रचण्ड तपाईँ सांसद रहेको पार्टी नेकपाको अध्यक्ष हुनुहुन्छ। दुई–दुई पटकसम्म यो देशको प्रधानमन्त्री बन्नुभएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका लागि १२ वर्षसम्म भूमिगत भएर जनयुद्ध सञ्चालन गर्नुभएको छ । विएस्सीसम्मको अध्ययन गर्नुभएको छ । चुनाव जितेको हालको सांसद पनि हुनुहुन्छ । हरेक बिहान दुई घण्टा कसरत गर्नुहुन्छ । यस्तो छ नबिना लामाजी प्रचण्डको हैसियत । नम्बर २. बरु तपाईँको हैसियतचाँही के हो नबिना लामाजी ? कहाँबाट चुनाव लड्नुभएको हो ? कति मत लिएर जित्नुभएको हो ? संसदमा कसरी छिर्नुभएको हो ? म यस्तो प्रश्न तपाईलाई गर्दिन । म यहाँ प्रश्न गर्न उपस्थित भएको हैन । जम्माजम्मी तपाईँ सांसद जस्तो मान्छेलाई पनि प्रचण्डको हैसियत थाहा नभएका कारण बुझाउन आएको हो । बुझे बुझ्नुहोस्, नबुझे थाहा नपाए जस्तो गर्नुहोस् । नम्बर ३. अचम्म के भने गणतन्त्र विरोधी, संविधानसभा बिरोधी, संघीयता विरोधी, समावेशी-समानुपातिक नेपाल विरोधी, धर्मनिरपेक्षका विरोधी, राजतन्त्र अन्त्यका विरोधीले प्रचण्डको हैसियतका बारेमा चासो राख्नु त स्वभाविक थियो, तर सयौं वर्षदेखि उत्पीडनमा परेको एउटा निम्छरो समुदायको समानुपातिक सांसदले प्रचण्डको हैसियतमाथि प्रश्न उठाएको देख्दा नरमाइलो लाग्यो । यो त ‘सौतेनी आमालाई खुसी पार्न आफ्नै आमालाई पिटे’ जस्तो भयो । नबिनाजी, प्रचण्ड तपाईँलाई सांसद बनाउने समावेशी/समानुपातिक एजेण्डाको जननी हो, आमा हो । के कुरा बुझ्नुभयो ? नम्बर ४.  नबिना लामाजी, तपाईँ सांसद भएर पनि कस्तो थाहा नपाएको गाँठे ! प्रचण्डको हैसियत संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल हो । प्रचण्डको हैसियत संविधानसभा हो। प्रचण्डको हैसियत संघीयता हो । प्रचण्डको हैसियत समावेशी नेपाल हो । प्रचण्डको हैसियत समानुपातिक राज्य हो । प्रचण्डको हैसियत धर्मनिरपेक्ष नेपाल हो । बयलगाढा चढेर अमेरिका पुगिँदैन भन्ने को हो नबिनाजी ? गुलेली चलाएर संघीयता आउँदैन भन्ने पनि जान्नुभएकै होला । नम्बर ५. नबिनाजीलाई प्रचण्डको हैसियत थाहा छैन भनौ भने पनि समानुपातिक, समावेशी कोटाबाट सांसदको टिका लगाउनुभएको छ । उहाँले सोच्नुभएको होला, केपी ओलीबाले मलाई यो सांसदको पद छोरी समान मानेर दाइजो जस्तो उपहार दिनुभएको हो, त्यसैले बाको खातिरदारी गर्नुपर्छ। तर गलत नबिना जी, गलत । यो समावेशी, समानुपातिक कोटा माग्दा हजारौले बलिदानी दिनुपरेको छ । समावेशी राज्य बनाउँदा हजुरका बाहरुले त देश टुक्रिन्छ पो भन्थे । तर, प्रचण्डले गोरु जस्तो जोतिएरै भए पनि उत्पीडनमा परेका समुदायको लागि समावेशी ब्यवस्था ल्याएरै छाडे । प्रचण्डको हैसियत तपाईँको पदसँग गाँसिएको छ। बुझ्नुभयो ? नम्बर ६. प्रचण्डको हैसियत भनेको २/२ ठाउँबाट चुनाव हारेका तत्कालीन एमाले नेता माधव कुमार नेपाललाई संसदमा ल्याएर प्रधानमन्त्री बनाउनु हो नबिना जी । किनकी उनीहरु फरक पार्टीका नेता त थिए तर समान उदेश्यका लागि हिँडिरहेका थिए । संसारमा यस्ता हैसियत भएका नेता बिरलै पाइन्छन्, जसले आफू आलोचना सहेरै भएपनि राजनीतिक सहयात्रीको गुण इमान्दारिताका साथ तिर्छ । त्यतिखेर सायद तपाई काभ्रेतिर मकै खन्दै हुनुहुन्थ्यो होला । नम्बर ७. प्रचण्ड प्रधानमन्त्रीको कारखाना त हैनन् तर पहिलो पटक पनि दोश्रो पटक पनि केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन प्रचण्डको ठूलो भूमिका छ। त्यतिबेला चुनाव गठबन्धन बनेकाे थियो, एक्लै एमाले लडेको थिएन । यसकारण केपी ओलीको मुख हेरेर जनताले दुई तिहाई मत झण्डै दिए भन्नु दिवा सपना हो। अब पार्टी एकता कुन दु:खको साथ भएको थियो, पार्टी एकताको मूख्य बिरोधी को थियो त्यो वामदेव गौतमलाई थाहा होला, अनि अकास्मात अध्यादेश किन ल्याईयो त्यो तपाईँलाई नै थाहा होला। यस्ता नाथे पुराना कुरा गर्यो निशानीले भन्नुहोला नबिनाजी, तर मैले तपाईँलाई प्रचण्डकै हैसियत बुझाउन यस्सो छिर्के मात्र हानेको हो। नम्बर ८. नबिना लामाजी, जतिखेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रको संखघोष गरेर जनतालाई युद्ध र आन्दोलनका लागि सार्वजनिक आह्वान गरेका थिए, ठीक त्यतिखेर हालका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बयलगाढा चढेर अमेरिका पुगिँदैन’ भन्दै गणतन्त्रको बिरोधमा दैनिकजसो भाषणबाजी गर्थे । गणतन्त्र बिरोधीहरुसँग चोचोमोचो मिलाउँदै आफूहरुलाई कम्युनिस्ट भन्ने तर व्यवहारमा बिग्रेका पञ्चायती मण्डलेभन्दा नि गुज्रिएको अभिव्यक्ति दिने गर्थे । तर पनि प्रचण्डले अनेक दुःखकष्ट सहेर, युद्ध आन्दोलनको फ्यूजन निर्माण गरेर गणतन्त्रको घोषणा गराइछाडे । हो यो हो प्रचण्डको हैसियत नबिना जी । गणतन्त्रको जग, गणतन्त्रको आधार, गणतन्त्रको मूलमर्म नै प्रचण्डको हैसियत हो । नम्बर ९. देशमा तानाशाहीहरुको थिचमिचो थियो । विभिन्न जात, धर्म, पेशा, वर्ण र समुदायका मानिसहरुमाथि विभेद थियो । देशमा अन्याय अत्याचार थियो । त्यो सबै सहन नसकेर प्रचण्डले संविधानसभाको कुरा गरे, राजतन्त्र अन्त्यको कुरा गरे, समानुपातिक, समावेशी, धर्म निरपेक्षता एजेण्डा उठाए । जसका निम्ति हजारौ शहीदहरुको बलिदानी हुनपर्यो । त्यतिखेर तपाईको ‘बा’ केपी ओलीले गुलेली खेलाएर नयाँ संबिधान बन्दैन भन्नुभएको हो । तर जे खेलाएर भएपनि नयाँ संविधान बनेरै छाड्यो । अब तपाईँलाई यस्तो समावेशी नयाँ संविधानको अन्तिमसम्म बिरोधी को थियो, त्यो भनिरहनु परेन । अब तपाईँ आफै थाहा पाउनुहोस् प्रचण्डको हैसियत । नम्बर १०. नबिनाजी, जंगबहादुर राणाको समयदेखि यो भूमिमा चलिआएको ‘भोटे मासिने जाति-समुदाय’ तपाईँ तामाङको छोरी आज समावेशी कोटाबाट सिंहदरबार छिर्नुभएको छ । सांसद हुनुभएको छ । तपाईँलाई लागेको होला, आफू एकदम क्षमतावान भएर सांसद भएँ । अथवा यस्तो पनि लागेको होला मेलै राम्रो काम गरेकाले मलाई पार्टीले मूल्यांकन गर्यों । तर त्यस्तो केही हैन, त्यो भ्रम मात्र हो । विश्वास नलागे पूर्वमन्त्री शेरबहादुर तामाङलाई सोध्नुहोला । तपाईँ त प्रचण्ड विचारले लडेर ल्याएको राज्यमा समान प्रतिनिधित्व समावेशी तथा समानुपातिक कोटामा सांसद बन्नुभएको हो । यसका लागि तपाईँले प्रचण्ड र प्रचण्डको विचारलाई धन्यबाद दिनुपर्छ । ल धन्यबाद दिन सक्नुभएन, तर हैसियतमाथि प्रश्न नउठाउनुहोस् । किनकि, त्यो त लाजमर्दो हुन्छ । उत्पीडनमा परेकाहरुलाई समावेशी अधिकार दिँदा देश टुक्रिन्छ भन्ने मान्छे तपाईँको लागि राजनेता तर देश निर्माणको लागि समावेशी राज्य हुनुपर्छ भन्ने प्रचण्डको हैसियतमाथि प्रश्न ? नम्बर ११. नबिनाजी तपाईलाई थाहा नै होला कि नेपालमा गणतन्त्र आउनु अगावै राष्ट्रप्रमुख हुनका लागि राजपरिवारमै जन्मिएका ब्यक्ति अर्थात् राजाका छोराछोरी, राजपाठमा हुर्किएका शाही सदस्य मात्र हुन पाउने व्यवस्था थियो । विद्यादेवी भण्डारी राष्ट्रपति हुनुभएको छ । भोलि त्यो स्थानमा तपाई तपाईँ पनि पुग्नसक्नुपर्छ । तर आज हेर्नुहोस् गणतान्त्रिक नेपालमा हरेक नागरिकले आफ्नो स्वतन्त्रता, राष्ट्रप्रेम अनि स्वछन्दताका आधारमा भविष्यको राष्ट्रपति हुने सम्भावना बोकेर जन्मिएका छन् । प्रचण्ड नेतृत्वमा १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलको बलमा स्थापित जहानियाँ राजतन्त्र अन्त्य भएर मुलुक गणतन्त्रमय बनेको थियो । हुनसक्छ तपाईले पनि दुईचार वटा ढुंगा प्रहरीलाई हान्नुभएको होला । केही दिन सडकमा उफ्रिनुभएको पनि होला । त्यो गरे भन्दैमा प्रचण्डको हैसियत नै सोध्न भ्याएको ? यो त अति नै लज्जास्पद पो भयो । यो त बयलगाढा चढेर अमेरिका पुगे जस्तो पो भयो । नम्बर १२. नबिनाजी, इतिहास साँची नै छ। राजालाई पैसा चढाउन को–को गए र जान तयारी थिए भनेर । तर जतिसुकै चलखेल भएपनि जनयुद्धको जगमा अगाडि बढेको दोस्रो जनआन्दोलनपश्चात पुनः स्थापना भएको व्यवस्थापिका संसद्ले २०६३ जेठ ४ गते ‘संसद्को घोषणा’ जारी गरेको थियो । जसले निरंकुश राजतन्त्रका सबै प्रचलन र परम्परा हटाउँदै राजाका विशेषाधिकारसमेत निलम्बन गरेको थियो । श्री ५ को सरकारको सट्टा ‘नेपाल सरकार’ लेख्ने, शाही नेपाली सेनालाई ‘नेपाली सेना’ बनाउने, राष्ट्रिय गान फेर्ने निर्णय गरेको थियो । तपाईँलाई थाहा छ नबिनाजी, यस्ता निर्णयहरुको ‘डिजाइन’ प्रचण्डले गरेका थिए । तपाईँ प्रचण्डको हैसियत सोध्नुहुन्छ ? नम्बर १३, तपाईँ प्रचण्डको अर्को हैसियत पनि जान्नुहोस् नबिनाजी, कि तपाईका बा’हरुले अन्तिमसम्म बिरोध गरेको, सकभर घोषणा नगर्न षड्यन्त्र गरिरहेको संविधानसभाले गणतन्त्र घोषणा गर्दा १५ दिनभित्र तत्कालीन राजालाई नारायणहिटी दरबार छाड्न निर्देशन दिएको थियो । जेठ २९ गते राजाले नारायणहिटी छाडेपछि नारायणहिटी दरबार सर्वसाधारणका लागि खुला भयो । मूलभूत रुपमा जनयुद्ध र जनआन्दोलन अनि प्रचण्डको विचारका कारण २७० वर्षदेखि राज गर्दै आएको राजतन्त्रको अन्त्येष्टि भयो । नबिनाजी, आज तपाईँ भन्नुहुन्छ, प्रधानमन्त्री ओलीलाई केही माईकालालले राजीनामा गराउन सक्दैन । यति मात्रै भनेको भए त हुन्थ्यो नि, प्रचण्डको हैसियत पनि सोध्नुहुन्छ । प्रचण्डको हैसियत के हो, जानुहोस् पूर्वराजा ज्ञानेन्द्रलाई सोध्नुहोस् । नम्बर १४, नबिनाजी, मैले सुरुमा पनि भनेकि, यो राज्यलाई समावेशी, समानुपातिक बनाउनुमा प्रचण्डको ठूलो हात छ । प्रचण्ड विचारको योगदान छ । हाम्रो देश नेपाल हिजोसम्म सयौँ फूलहरु मिलेर बनेको थियो तर राज्यमा ती फूलहरु फुल्न पाएका थिएनन् । यो वा त्यो बहानामा विभिन्न जातजाति, धर्महरु उत्पीडनमा परेका थिए । तर प्रचण्डले गणतन्त्र नेपालका परिकल्पना गरे । आज नेपालको संविधान २०७२ को भाग १ को ३ र ४ मा भनेको नेपाल राष्ट्र बहुजातीय, बहुभाषिक , बहुधार्मिक, बहुसांस्कृतिक, विशेषतायुक्त, भौगोलिक विविधतामा रहेको देशका रुपमा स्वीकार गरिएको छ । र, यिनै स्वीकारहरुमा प्रचण्डको हैसियत घाम जस्तै छर्लंग देखिएको छ । बरु तपाईँले प्रचण्डको जस्तै हैसियत कहिले बनाउने हो नबिनाजी ? कि केपी ओलीबाकै चाकडी गरेर जीवन बिताउने हो ? नागरिक खबरबाट  

दसैंमा कसरी बनाउने मासुका परिकार? जान्नुहोस् तरिका

काठमाडौंः  स्वादिलो खाना खान मन मात्र भएर पनि हुँदैन। खानालाई स्वादिलो बनाएर पकाउने कला पनि आवश्यक हुन्छ। अझ चाडपर्वको समयमा घरमा विभिन्न खानेकुरा पाक्ने गर्छन्। मासु त भान्सामा छुट्दै छुट्दैन। दसैंको मुख्य परिकारनै मासु हो भन्दा फरक पर्दैन। अन्य दिनमा जति नै मासु खाए पनि दसैंको समयमा मासु खानुको मज्जा नै बेग्लै हुन्छ। यसले दसैंको रमाइलो वातावरणमा झनै उत्साह थपिदिन्छ। अन्य समय भन्दा दशैंको बेला मासुको परिकार धेरै बनाउन सकिन्छ। जस्तै पकवा, मासुको रस, ग्रेभी मासु, भुटन, चिकेन पोलेको, छोयला, साधेको कुखुराको मासु। हामीले केही परिकार बनाउने तरिकाबारे यहाँ चर्चा गर्दैछौं। १ पकवा कवाव हड्डी नभएको खसीको मासुमा थोरै जिरा र धनियाको धुलो, प्याज, लसुन, अदुवा, खुसार्नी, बेसारको धुलो, थोरै खाने तेल तथा शुद्ध घ्यू, स्वाद अनुसारको नुन र दही, तेजपत्ता मिसाएर मोल्ने। त्यसपछि कुकरमा सानो आगोमा पकाउने। यसरी पकाउँदा मिसाएका मसलाहरु मासु सँगै पाकिरहन्छ र यसमा घ्यू राखेका कारण यसलाई २र४ दिनसम्म पनि राखेर खान सकिन्छ। २ मासुको रस हड्डी भएको मासुलाई छुट्टाउने। थोरै तेलमा प्याजलाई भुट्ने, त्यसपछि मासु, बेसार हालेर सानो आगोमा पकाउने। अलि पाके जस्तो भएपछि जिरा, धनिया, ल्वाङ सुक्मेल र खुर्सानीको धुलो राखेर चलाउने, स्वाद अनुसारको गोलभेडा सानो काटेर राख्ने र चाहिने जती पानी हालेर सिठ्ठी लगाउने। ४ देखि ५ सिट्टी लगाउने। र मासु पाकिसकेपछि लसुन, अदुवाको पेष्टलाई मासुमा हाल्ने। हरियो धनियालाई काटेर मासुमा मिसाउने र ५ मिनेटसम्म छोपिदिने। अब मासुको मिठो रस खान सकिन्छ। ३ ग्रेभी मासु हड्डी र मासु भएको मासु छान्ने। थोरै तेलमा प्याज, बेसार भुट्ने, मासु हाल्ने र पकाउने। गोलभेडा र दहि राखेर चलाउने स्वाद अनुसारको नुन र खुर्सानीको धुलो, अदुवा, लसुनको पेष्ट हाल्ने र चाहिए जती पानी राखेर बढिमा २ सिठ्ठी लगाउने। यसरी मासुको मिठो ग्रेभी पकाएर खान सकिन्छ। ४ भुटनररक्ती शुरुमा खसीको आन्द्रा भुडीलाई तातो पानीमा उमाल्ने त्यसमा थोरै टिमुर, अदुवाको २,३ टुक्रा काटेर राख्ने। आन्द्रा भुडीको फोहोर र गन्ध गएपछि सफा पानीले पखाल्ने। त्यसपछि आन्द्रा भुडीलाई सानो सानो पिस बनाएर काट्ने। अनि थोरै खाने तेल राखेर राम्रोसँग भुट्ने। भुटिसकेपछि त्यसमा टिमुर, नुन, खुर्सानीको धुलो राखेर सानो आगोमा पकाउने। अनि यो तयार हुन्छ। भुटनको मसला भनेको नै टिमुर हो । टिमुर हालेपछि अरु मरमसला स्वाद अनुसार हाल्न सकिन्छ। त्यस्तै, रक्ती पकाउँदा शुरुमा तेल तताउने र ज्वानो, बेसार र रक्ती हालेर भुट्ने। स्वाद अनुसारको नुन राख्ने। रक्तीको मसला ज्वानो हो। ज्वानो हाले पछि अन्य मरमसला हालिरहन पर्दैन। ५ चिकेन पोलेको कुखुराको हाड नभएको मासुमा अदुवा, लसुनको पेस्ट, खुर्सानीको धुलो, हरियो खुर्सानी पिसेको, नेपाली मसला, बेसार, तोरीको तेल, नुन स्वाद अनुसार राखेर मोल्ने। भाँडोमा तेल तताएर मेथी अनि मोलेको चिकेनमा झानिदिने। झानिसकेपछि ५ देखि ७ डिग्री तापक्रम भएको फ्रिजमा आधा घण्टा राख्ने। फ्रिज छैन भने यत्तिकै राख्न पनि सकिन्छ। यसपछि झिर वा तारमा, जालीमा, हट प्लेटमा, ननस्टिक प्यानमा पोल्न सकिन्छ। यसरी पोलेको कुखुरा गोलभेँडाको अचारसँग खाँदा निकै स्वादिलो हुन्छ। ६ छोयला दसैंमा पकाइने मासुको परिकार अन्तर्गत छोयला पनि एक हो। चिकेन, हाँस, बफ, मटन लगायतका सबैजसो मासुको छोयला बनाउन सकिन्छ। जुनसुकै मासु भए पनि छोयला बनाउने विधि भने एउटै रहेको हुन्छ। मासुलाई सफा गरेर चेप्टो र लामो आकारमा पिस बनाउने। नुन, बेसार राखेर राम्रोसँग मोल्ने। यसरी मोलेको मासुलाई आधा घन्टासम्म त्यसै छोपेर राख्ने। अब गोल, कोइला या ग्यासमा जाली राखेर मोलेको मासुलाई राम्रोसँग पाक्ने गरी पोल्ने। पोलेर तयार भएको मासुमा मरमसला, जिरा, रातो खुर्सानी, लसुन, अदुवा, धनिया, मरिच, टिमुर हालेर मज्जाले मोल्ने। तेल तताएर तयारी मासुलाई झान्ने। अन्त्यमा हरियो खुर्सानीको मसिनो टुक्रा र हरियो धनियाँ काटेर छर्कने। आफ्नो स्वाद अनुसार कागतीको रस पनि मिसाउन सकिन्छ। घरमा फ्रिज छ भने करिब आधा घन्टा चिसोमा राख्ने। यसले गर्दा मासुमा मसला पूरै भिज्न पाउँछ छोयलाको मीठो स्वाद बन्छ। ७ साधेको कुखुराको मासु कुखुराको मासुका पिस पानीमा उमाल्ने। करिब १० मिनेटजति उमालेपछि मासु पाक्छ। पाकेको मासु निकालेर एउटा भाँडोमा राख्ने। उमालेको पानी निकाल्नुपर्छ। मासुमा बेसार, नुन, काटेको लसुन, अदुवा र हरियो धनियाँ राख्ने र मज्जासँग मोल्ने। केही बेर यत्तिकै राख्ने। अर्को कुनै भाँडो चुलोमा बसालेर तोरीको तेल तताउने। तेल तातेपछि हरियो खुर्सानी, मेथी पड्काउने। तेलमा खुर्सानी र मेथी फुरेपछि मासु राखिएको भाँडोमा खन्याउने। फेरि मासुमा सबै मसला नभिजुन्जेल राम्रो गरी मोल्ने। केही बेर मोलेपछि मासु खानका लागि तयार हुन्छ। ८ खसीको खुट्टाको सुप खसीको खुट्टको सुप बनाउदा शुरुमा तेलमा प्याज भुट्ने। त्यसपछि खसीको खुट्टामा हरियो मुङको दाल, अदुवा, लसुन र मसला राख्ने र मज्जाले भुट्ने। भुटीसकेपछि पानी राखेर खुट्टाको हड्डी नगलुन्जेलसम्म सिठ्ठी लगाइ रहने। हड्डी नरम भएपछि सुप खान सकिन्छ। मासुका यी परिकारहरु तयार पार्ने विधि शारदा ज्ञवालीको सहयोगमा तयार पारिएको हो। उनी डेभलेप्मेनट कन्सल्टेन्ट हुन् तर उनको रुची विभिन्न परिकार बनाउनु पनि हो। ज्ञवाली ट्रेडिसनल फुडको प्रमोटर पनि हुन्। उनले हालै ‘नेपाली होम कुकिङ अफ हेल्दी लिभिङ’ नामक किताब पनि लेखेकी छन्। जसमा विभिन्न नेपाली खानाका परिकारहरु बारे उल्लेख गरिएको छ। नागरिक दैनिकबाट

श्रीमानद्वारा आत्महत्या, शव दाबी गर्दै ७ श्रीमतीबीच झगडा !

यो एउटा यस्तो स्थिती थियो जसबारे भारतको धर्मनगरी हरिद्वारको पुलिसले कहिले पनि कल्पना गरेका थिएनन् । कुनै व्यक्तिको मृत्यु हुन्छ र उसको शवलाई यदि एकैपटक सात ‘श्रीमती’ ले दाबी गर्छन् भने अचम्मित हुनु स्वभाविक हो । आत्महत्यापछि शवमाथि अधिकारको ‘युद्ध: आइतबार हरिद्वारमा एक ४० वर्षका व्यक्तिले आत्महत्या गरेका थिए । हत्यापछि शवमाथि अधिकार जतानका लागि सुरुमा त पाँच महिला अगाडि भए । समस्या त्यतिबेला निम्तियो जब यी सबैले मृतककी श्रीमती भएको दाबी गरे र आफ्ना ‘श्रीमान्’ को जीवनमा अन्य कुनै महिला भएको बारे आफूलाई कुनै जानकारी नभएको बताए । घण्टौंसम्म चलेको नाटक र झगडापछि मृतकको दाहसंस्कार गरियो । पुलिसले पाँच महिलाको दाबीमाथि अनुसन्धान गरिरहेकै बेला अन्य दुई महिलाले मृतक आफ्नो श्रीमान् भएको दाबी गर्दै पुलिस स्टेशन आइपुगे । समस्या सुल्झाउनका लागि पुलिसले प्रतिक्षा गर्नेः पुलिसलाई अन्य महिलाले पनि शवमाथि अधिकार माग्ने हो कि भनेर शंका छ त्यसकारण पुलिसले यो समस्या सुल्झाउनका लागि हरिद्वार पुलिसले अझै केही दिन प्रतिक्षा गर्ने निर्णय गरेको छ । मृतक पवन कुमार ड्राइभर थिए । आर्थिक संकटसँग जुधिरहेका थिए पवनः पुलिसका अनुसार आइतबार राती पवनले विष सेवन गरे । पवनकी कथित श्रीमतीले उनलाई बेहोसीको स्थितीमा एक नजिकैको अस्पतालमा भर्ना गराएकी थिइन् । उपचारको क्रममा पवनको मृत्यु भयो । सुरुवाती अनुसन्धानमा पत्ता लागे अनुसार पवन गम्भीर आर्थिक संकटसँग जुधिरहेका थिए । साथै, मृतकले निकै साधारण जीवनशैली अपनाइरहेका थिए र उनका धेरै साथी पनि नभएको अनुसन्धानमा पत्ता लागेको छ । मृतकको अकाउन्टमा जिरो ब्यालेन्सः सिटी पुलिस थानाका एसएचओ प्रविण सिंह कोश्यारीले टाइम्स अफ इन्डियालाई भने, ‘उनले यस्तो कदम किन उठाए भनेर हामी अनुसन्धान गरिररहेका छौं । जो महिलाले पवनलाई अस्पताल पुर्‍याएकी थिइन् उनले आफूलाई पवनकी श्रीमती बताइरहेकी थिइन् तर उनले आत्महत्याको कुनै पनि कारण बताइनन् । शवको पोस्टमर्टमका लागि अस्पताल पठाएका छौं ।’ पुलिस अधिकारीका अनुसार मृतक पवनको बैंक खातामा जिरो ब्यालेन्स थियो र उनी एक भाडाको घरमा बस्थे । एजेन्सी

ज्ञानु र प्रकाश दाहालको स्मृतिमा ‘बृहत निशुल्क स्वास्थ्य शिविर’

काठमाडौं, असार २ । दिवंगत ज्ञानु र प्रकाश दाहालको स्मृतिमा ज्ञानु दाहाल मेमोरियल ट्रष्ट नेपालले आगामी असार ५ गते चितवनमा ‘बृहत निशुल्क स्वास्थ्य शिविर’ गर्ने भएको छ । चितवनको भरतपुर महानगरपालिका बडा नं १४ शिवनगरमा असार ५ गते हुने बृहत निशुल्क स्वास्थ्य शिविरमा पाठेघरको मुख तथा स्तन क्यान्सर स्क्रिनिङ चेक जाँच गरिने छ । शिविरमा विरामीलाई औषधि निशुल्क वितरण गरिने शिविर संयोजक सरस्वती दाहाल अधिकारी (सरु) ले जानकारी दिइन । ज्ञानु दाहाल क्यान्सर मेमोरियल ट्रष्ट नेपालकाे आयोजना र विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको प्राविधिक सहयोगमा गर्न लागिएको शिविरको संयोजन भने भरतपुर महानगर वडा नं १४ ले गरेको हाे । बृहत निशुल्क स्वास्थ्य शिविरको उद्घाटन प्रमुख अथिति भरतपुर महानगर प्रमुख रेणु दाहालले गर्ने कार्यक्रम छ । असार ५ गते (मंगलबार) विहान ८ बजेदेखि अपरान्ह ५ बजेसम्म संचालन हुने बृहत निुशल्क स्वास्थ्य शिविरमा उपस्थिति भई स्वास्थ्य चेकजाँच गरि यथोचित लाभ लिन आयोजकले सम्पूर्ण महिलाहरुलाई अनुरोध गरेकाे छ । ज्ञानु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डकी जेठी छोरी हुन । उनको क्यान्सरबाट केही समय अघि असामयिक निधन भएको थियो । भने प्रकाश प्रचण्डका एक मात्र छोरा हुन । उनको गएको मंसिरमा हृदयघातबाट निधन भएको हो । प्रकाश ततकालिन नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य हुन ।