सभामुखसँग नर्वेजियन राजदूतको भेट

काठमाडौं । सभामुख देवराज घिमिरेसँग सोमबार नेपालका लागि नर्वेजियन राजदूत तोरुन ड्रामडलले शिष्टाचार भेट गरेकी छन्।सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय आदान प्रदान, विकास सहयोग लगायतका विषयमा छलफल भएको छ।

भेटमा सभामुख घिमिरेले सन् १९७३ मा कुटनीतिक सम्बन्ध स्थापना भएपछि दुई मुलुकबीच उच्चस्तरीय राजनीतिक नेतृत्व तथा कूटनीतिक तहमा भ्रमणको आदान प्रदान भएको, विकास सहयोग, जनस्थरको सम्बन्ध, लगानी तथा व्यापार, पर्यटन लगायतका क्षेत्रमा सहकार्य भएको बताए।

‘विकास साझेदारकोरुपमा नेपालले नर्वेसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको छ,’ उनले भने, ‘नर्वे सरकारले नवीकरणीय ऊर्जा, शिक्षा तथा सुशासनका क्षेत्रमा गरेका कामहरू हाम्रा लागि पनि उपयोगी भएका छन् ।’ 

लामो राजनीतिक संक्रमणकालपछि नेपालमा अहिले दिगो आर्थिक विकास तथा शान्ति र स्थायित्वको अभियान सुरु भएको सभामुखको भनाइ थियो । नर्वेजियन राजदूत तोरुन ड्रामडलले सन् १९७३ मा कूटनीतिक सम्बन्ध स्थापना भए पनि सन् १९५० देखि नै दुई मुलुकबीच मैत्रीपूर्ण सम्बन्ध रहेको बताइन्। उनले आफ्नो मुलुकले नेपालका विभिन्न क्षेत्रमा ३ करोड ५० लाख अमेरिकी डलर बराबरको सहयोग गरेको उल्लेख गरिन्।

राजदूत ड्रामडलले दुई मुलुकबीच समय समयमा उच्चस्तरीय भ्रमण भइरहेको स्मरण गर्दै आगामी सेप्टेम्बरमा नर्वेको परराष्ट्र तथा रक्षा सम्बन्धी संसदीय समितिले नेपाल भ्रमण गर्न लागेको जानकारी दिइन्। सभामुख घिमिरेले पनि नेपालको संसदीय संसदमा नेपाल–नर्वे संसदीय मैत्री समूह गठन भएको जानकारी दिँदै आगामी सेप्टेम्बरमा नर्वेको परराष्ट्र तथा रक्षा सम्बन्धी संसदीय समितिको नेपाल भ्रमणले संसदीय आदान प्रदानलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।

महानगरले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८१/ ८२ को नीति तथा कार्यक्रम र बजेटलाई नागरिक केन्द्रित तथा सहभागितामा आधारित बनाउन सुझाव मागेको छ। स्थानीय सरकारले बनाउने नीति तथा कार्यक्रमले सबैलाई समेट्न सकियोस् र पारदर्शी होस् भन्ने हेतुले यो विधि अपनाइएको महानगरले जनाएको छ।  महानगरको हटलाइन ११८० मार्फत वा काठमाडौँ महानगरपालिकामा स्वयम् उपस्थित भएर उपलब्ध गराइदिन इच्छुक सबैमा अनुरोध गरेको छ।

प्रधानमन्त्रीद्धारा सुनकोशी मरिण डाइभर्सनको सुरुङ  ‘ब्रेक थ्रु’ गरिदै

सिन्धुली । सुनकोशी–मरिण डाइभर्सनअन्तर्गतको बुधबार (आज) छिचोलिने भएको छ। औपचारिक ‘ब्रेक थ्रु’ का लागि केही सेन्टिमिटर काम बाँकी राखिएको आयोजनाले जनाएको छ।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीमा एक कार्यक्रमबीच सुरुङको ‘ब्रेक थ्रु’ गर्नेछन् । उक्त कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड हिजै सिन्धुली पुगेका छन् । १३ दशमलव ३ किलोमिटरमध्ये ९९ दशमलव ९९ प्रतिशत काम भएर ‘ब्रेक थ्रु’ हुन लागेको हो। आयोजनाको प्रवेशद्धार कमलामाई नगरपालिका–२ को कुसुमटारबाट सुरुङ खन्ने टीबीएम मेसिन सुनकोशी नदी किनार कानढुंग्रीबाट बाहिर निस्किएपछि ‘ब्रेक थ्रु’ हुने छ। राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनअन्तर्गत कमलामाई नगरपालिका–२ को कुसुमटारदेखि सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीसम्म सुरुङ रहेको छ ।

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिन लागेका छन् । विश्वासको मत लिनका लागि आज दिउँसो ३ बजे गण्डकी प्रदेशसभाको बैठक बस्न लागेको गण्डकी प्रदेश संसद् सचिवालयले जानकारी दिएको छ । उक्त बैठकमा अधिकारीले विश्वासको मत लिने कार्यसूची रहेको छ । गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका अधिकारीले सरकारमा दाबी गर्दा सभामुखको मत गणना गरेको भन्दै सर्वोच्चमा रिट दायर भएकोमा सर्वोच्चले प्रदेश सभाबाट विश्वासको मत लिएर नै सरकारको बहुमत तय हुने भन्दै रिट खारेज गरेपछि मुख्यमन्त्रीलाई विश्वासको मत लिने बाटो खुलेको हो। सर्वोच्च अदालतले सभामुखबाहेक पनि खगराजको पक्षमा ३० जना रहेकाले बहुमत प्राप्त गर्न सक्ने व्याख्या गर्दै सो रिट खारेज गरेको थियो । ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका २ र एक स्वतन्त्र सांसद दीपक मनाङे रहेका छन् । संवैधानिक व्यवस्था अनुसार पक्ष विपक्षमा बराबर मत भएको अवस्थामा मात्र सभामुखले मत दिन पाउने छन् ।

नरबहादुर कर्माचार्य देशकै राजनीतिक अभिभावक : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा निरन्तर क्रियाशील नरबहादुर कर्माचार्य देशकै राजनीतिक अभिभावक भएको बताएका छन्।   नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले क्रान्ति र आन्दोलनका निम्ति सकारात्मक वातावरण बनाउने राजनीतिक अभिभावक भएको बताए। “उहाँको ‘नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान’ स्थापना भएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “कर्माचार्यको सम्मान र सम्झनामा ललितपुरको महालक्ष्मीस्थानमा नरबहादुर कर्माचार्य स्मृति बहुप्राविधिक शिक्षालय स्थापना भएको छ।” दिवंगत कर्माचार्यले विसं २००५ देखि प्रजातन्त्र सङ्घमा आवद्ध भएर राणाविरोधी आन्दोलन र  मजदुर आन्दोलनमा सशक्त भूमिका निर्वाह गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्ने चार जना संस्थापकमध्ये एक भएको स्मरण गरे।  चिनियाँ जनक्रान्ति र भारतको तेलङ्गाना किसान विद्रोहबाट प्रेरित कर्माचार्यले कम्युनिस्ट पार्टीको गठनपश्चात मजदुर सङ्गठन स्थापना गरेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए। उनले मजदुर आन्दोलनको उत्थानका निम्ति निरन्तर सक्रिय कम्युनिस्ट नेता कर्माचार्यले पार्टी र जनप्रतिनिधिको भूमिका सँगसँगै पूरा गर्नुभएको बताए। निष्कलङ्कित, विवादरहित, सादगी र मिलनसार नेता कर्मचार्याले समन्वय र समझदारीका लागि सदा प्रयत्नशील रहनु भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सिद्धान्तनिष्ठ, क्रान्तिप्रतिको विश्वास, क्रान्तिकारी स्पिरिटप्रतिको लगाव भएको नेता भएको बताए।

नागढुङ्गा सुरुङ मार्गमार्फत नेपाल नयाँ युगमा प्रवेश

काठमाडौं। उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल नागढुङ्गा सुरुङ मार्गमार्फत नयाँ युगमा प्रवेश गरेको बताएका छन् । सोमबार नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाको मुख्य सुरुङको ‘ब्रेक–थ्रु’ कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री महासेठले सो कुरा बताएका हुन्।  उनले नागढुङ्गा सुरुङमार्ग नेपालको आधुनिक सुरुङमार्ग भए पनि दक्षिण एसियामा सबै भन्दा पहिला सुरुङमार्ग नेपालमा नै निर्माण भएको बताए।उनले हेटौँडामा अहिले पनि सुरक्षित रहेको सुरुङ मार्ग नेपालकै प्रविधिमा बनेको बताए। उनले सरकारले सडक मार्गको समय छोटो बनाउन र यात्रालाई सुरक्षित बनाउनका लागि सुरुङमार्गलाई प्राथमिकता दिएको उल्लेख गरे । उनले नेपाली सेनाले निर्माण गरी रहेको काठमाडौँ तराई द्रुतमार्गमा पनि १० किलोमिटर सुरुङमार्ग निर्माण भइरहेको बताए। उपप्रधानमन्त्री महासेठले सुरुङमार्ग निर्माणको निर्माण यातायातको लागि मात्रै नभएर अन्य विद्युत तथा सिँचाइको लागि पनि प्रयोग हुन थालेको जानकारी दिए। उनले सुनकोशी मरिण ड्राइभर्सन पनि ब्रेक थ्रु हुनको लागि ७ सय मिटर मात्रै बाँकी रहेको बताए। ‘‘नेपाल नागढुङ्गा सुरुङ मार्गमार्फत नयाँ युगमा प्रवेश गरेको छ । यो नेपालको आधुनिक सुरुङमार्ग भएपनि दक्षिण एसियामा सबै भन्दा पहिला सुरुङमार्ग नेपालमा नै निर्माण भएको थियो । हेटौँडामा जुन अहिले पनि सुरक्षित छ । त्यो नेपालकै टेक्नोलोजीमार्फत भएको थियो । सरकारले सडक मार्गको समय छोटो बनाउन र सुरक्षित यात्रा गर्नका लागि सुरुङमार्गलाई प्राथमिकता दिएको छ । नेपाली सेनालाई निर्माण गरी रहेको काठमाडौँ तराई द्रुतमार्गमा पनि ५ किलोमिटरदेखि १० किलोमिटर सुरुङमार्ग निर्माण भइरहेको छ ।,’’ उपप्रधानमन्त्री महासेठले भने, ‘‘सुरुङमार्ग निर्माणको निर्माण यातायातको लागि मात्रै होइन । अन्य कार्यका लागि पनि सुरु भएको छ । सुनकोशी मरिण ड्राइभर्सन पनि ब्रेक थ्रु हुनका लागि सात सय मिटर मात्रै बाँकी छ । सुरुङ मार्ग निर्माणमा एक महिना स्थानीयवासीहरुको कारण बन्द भएको थियो । तर स्थानीयवासीका मागहरू खानेपानी व्यवस्थापन, सडकको व्यवस्था गर भनेर माग्नुपर्ने चिज होइन । यो सरकारले जनतालाई दिने हो । जनताको अधिकार छ । राम्रो बाटोमा हिँड्न पाउँ, शुद्ध पानी खान पाउने अधिकारको व्यवस्थापन नेपाल सरकारले गर्छ । सुरुङ मार्ग निर्माणका स्थानीयवासीले सहयोग गर्नुस् ।’’ उनले सुरुङ मार्ग निर्माणमा एक महिना स्थानीयवासीहरुको कारण बन्द भएको भन्दै सरकारले स्थानीयवासीको मागलाई सम्बोधन गर्ने बताए। उनले स्थानीयवासीका मागहरू खानेपानी व्यवस्थापन,सडकको व्यवस्थापन नेपाल सरकारले गर्ने बताए।

एसीसी प्रिमियर कप  : आज कतारसँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं  । एसीसी प्रिमियर कपमा विजयी सुरुवात गरेको नेपालले शनिबार दोस्रो खेल खेल्दैछ।  शुक्रबार भएको पहिलो खेलमा मलेसियालाई पाँच विकेटले हराएको नेपालले शनिबार कतारसँग प्रतिस्पर्धा गर्न लागेको हो।  ओमानमा जारी प्रतियोगितामा शनिबार दिउँसो ४:१५ बजे नेपालले कतारको सामना गर्नेछ। शुक्रबार मलेसियाविरुद्धको पहिलो जितसँगै नेपालले समूह ‘ए’ मा २ अंक जाडेको छ।

आज नयाँ वर्ष

काठमाडौँ । आज नयाँ वर्ष २०८१ सालको वैशाख १ गते शनिबार। विक्रम संवतको पात्रोअनुसार शनिबारदेखि नयाँ वर्षको सुरुवात भएको छ । हरेक वैशाख १ गते हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रुपमा मनाइन्छ। वि.सं. पात्रोअनुसार सौर्यमानक हिसाबले वैशाख १ गते नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ। वि.सं.हिन्दू पञ्चाङ्गमा आधारित भएर निर्माण गरिएको पात्रो मानिन्छ। नयाँ वर्षका अवसरमा आपसमा सद्भावका तथा आदानप्रदान गर्ने गरिन्छ। नयाँ वर्षको अघिल्लो साँझ साथीभाइ, इष्टमित्र भेटघाटसहित रमाइलो गरी वर्षान्त पनि मनाइन्छ। नयाँ वर्षमा धार्मिक आस्था राख्नेहरुले संक्रान्ति हेराउने  र राशी अनुसार मठमन्दिरमा गई पूजाआजा गर्ने पनि गर्दछन्। पछिल्लो समय नयाँ वर्षलाई विगतका कामको समीक्षा गर्दै कमजोरी सुधारेर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लाग्न नयाँ प्रण पनि गर्ने समेत गरीन्छ ।

एकीकृत समाजवादी र लोसपालाई गठबन्धनमा सामेल गराउँछौं : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि वर्तमान सत्ता गठबन्धनमा सामेल गराएर अघि बढ्ने बताएका छन् ।  सोमबार साँझ चार दलका शीर्ष नेताहरूबीच भएको सहमति सार्वजनिक गर्दै महासचिव पोखरेलले मन्त्रिपरिषद् गठन र साझा न्यूनतम कार्यक्रमलाई छिटोभन्दा छिटो टुंगो लगाएर अघि बढ्ने बताए । ‘अहिले चार दलबीच एउटा आधार बनेको छ । अब हामी गठबन्धनमा अरु दलहरूलाई पनि सामेल गर्ने विषयमा छलफल गर्दैछौँ,’ उनले भने, ‘अहिले नेकपा एकीकृत समाजवादी र लोसपासँग संवाद अगाडि बढाएका छौँ । सम्माननीय प्रधानमन्त्री पनि सबैसँग संवादमै हुनुहुन्छ ।गठबन्धनमा कुन कुन दल हुने भन्ने निश्चित भएपछि यो गठबन्धन सरकार नागरिकलाई सुशासन र डेलिभेरी दिनेमा केन्द्रीत हुन्छ ।’ उनले नयाँ गठबन्धनले जनतामा आशा जगाउने विश्वास राख्न आग्रह गरे ।

काङ्ग्रेस महासमिति बैठक सोमबार सुरु हुँदै

काठमाडौं, ६ फागुन ।  नेपाली कांग्रेसको महासमिति बैठक भोलि (सोमबार) देखि सुरू हुँदैछ । काङग्रेस सभापति शेरबहादुर देउवाले ललितपुरको गोदावरीमा रहेको सनराइज हलमा सोमबार दिउँसो १ बजे महासमिति बैठक उद्घाटन गर्ने भएका छन्। महासमितिका लागि तयारी अन्तिम चरणमा पुगेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए। उनले महासमिति बैठकबारे जानकारी दिन आइतबार दिउँसो साढे २ बजे गोदावरीमै पत्रकार सम्मेलनको आयोजना गरिएको पनि बताए । महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माको प्रस्ताव पेश हुनेछ। खड्काले नीति, थापाले सांगठनिक र शर्माले समसामयिक राजनीतिक प्रस्ताव महासमिति बैठकमा छलफलका लागि पेश गर्नेछन्। महासमिति बैठकका लागि विधान अनुसार प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट ११ जनाका दरले प्रतिनिधि सहभागी हुनेछन् । यस्तै, पदाधिकारी, केन्द्रीय सदस्यहरू, निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यहरू, भ्रातृ तथा शुभेच्छुक संघसंस्थाका प्रतिनिधि, जनसम्पर्क समितिबाट प्रतिनिधिहरू सहभागी हुन्छन्। कांग्रेसले केन्द्रीय समितिबाट भएको निर्णय अनुसार महासमिति सदस्य नरहेका प्रदेश सभापतिहरू, जिल्ला सभापतिहरू, भ्रातृ तथा शुभेच्छुक संघसंस्थाका प्रमुखहरू पनि आमन्त्रित सदस्यका रूपमा बैठकमा भाग लिन पाउँछन्। महासमिति सदस्यले केन्द्रीय कार्यालय सानेपामा फोटो र तीन हजार रुपैयाँ बुझाएर प्रवेश पत्र लिनुपर्ने व्यवस्था गरिएको छ । महासमिति बैठकमा उपस्थित हुनेहरूलाई कांग्रेसले खाना र खाजाको व्यवस्था गरे पनि आवासको व्यवस्थापन नगरिएको विश्वकर्माले बताए । सोमबार महासमिति बैठक सुरु हुने भएपनि कम्तीमा २५ क्षेत्रमा अझै महासमिति सदस्य छान्न भने बाँकी छ । छानेका काठमाडौं क्षेत्र नम्बर ३, दोलखा र ओखलढुंगामा विवाद कायम छ। कांग्रेसको महासमिति बैठक नीति बनाउन केन्द्रित रहने बताइएको छ। २०७८ मंसिरमा १४ औं महाधिवेशन गरेको कांग्रेसले नीति अधिवेशनको समेत काम गर्ने गरी अहिले महासमिति बैठक गर्न लागेको हो । काङ्ग्रेसको विधान अनुसार महाधिवेशन भएको वर्ष बाहेक वर्षेनी महासमिति बैठक गर्नुपर्ने व्यवस्था छ।

९ सयभन्दा बढीलाई विभिन्न मान पदवी, अलंकार र विभूषणबाट सम्मान गरिने, सन्तनेता भट्टराईदेखि झलनाथ खनाल, पाेष्टबहादुर सम्मानित हुने

काठमाडौं । संविधान दिवसको अवसरमा सरकारले ९ सयभन्दा बढीलाई विभिन्न मान पदवी, अलंकार र विभूषणबाट सम्मान गर्ने भएको छ । सबैभन्दा ठूलो सम्मान सन्तनेता स्वर्गीय कृष्णप्रसाद भट्टराईलाई नेपाल रत्न प्रदान गरिने भएको छ । यस्तै दोस्रो ठूलो राष्ट्रगौरव विभूषण नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय सुवर्णशमशेर राणा र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई दिइने भएको छ । तेस्रो ठूलो महाउज्वल राष्ट्रद्वीप प्रथम श्रेणीको विभूषण दिवंगत नेताहरु तुलसीलाल अमात्य, मंगलादेवी सिंह, दुर्गानन्द झा, स्वर सम्राट नारायण गोपाल र वामपन्थी नेता मोहनचन्द्र अधिकारीलाई दिइने छ । यस्तै सुप्रसिद्ध प्रबल जनसेवाश्री पाउनेमा प्रदीप नेपाल, पोष्टबहादुर बोगटी, मार्शल जुलुम शाक्य र पीएल सिंह रहेका छन् । यस्तै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई महाउज्जवल राष्ट्रद्वीप प्रथम श्रेणी र न्यायाधीश विश्वम्भर श्रेष्ठलाई उज्वल कीर्तिमय राष्ट्रद्वीप पदकबाट विभूषित गरिने भएको छ । यस्तै सर्वोच्चका न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीलाई प्रबल जनसेवाश्री प्रदान गरिने भएको छ । पहिलो पटक प्रतिनिधिसभा विघटनको मुद्धालाई बदर गर्ने सबै न्यायाधीशहरु विभूषित हुने भएका हुन् । महालेखा परीक्षक टंकमणि शर्मा र महान्यायाधिवक्ता खम्मबहादुर खातीले पनि प्रबल जनसेवाश्री पदक पाएका छन् । यसैगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई पनि सर्वोच्चका न्यायाधीशहरु सरहको प्रबल जनसेवाश्री पदक दिइएको छ । यस्तै मुख्यसचिव शंकरदास बैरागी, प्रधानसेनापति प्रभुराम शर्मा, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले पनि सोही पदक पाएका छन् । प्रतिनिधिसभा विघटनको मुद्दामा शेरबहादुर देउवाको तर्फबाट बहस गर्ने कानून व्यवसायीहरु बद्रीबहादुर कार्की, महादेवप्रसाद यादव, हरिहर दाहाल, मुक्ति प्रधान, मिथिलेश सिंह, रमण श्रेष्ठ, दिनेश त्रिपाठी, गोविन्द बन्दी र पदम रोक्काले पनि प्रबल जनसेवाश्री पाएका छन् ।

खडेरीमा देवतासँग पानी माग्ने तीर्थस्थलको विकास गर्ने सम्भावना उच्च

पोखरा । झट्ट सुन्दा अचम्म लाग्न सक्छ, कास्कीको पोखरा लेखनाथ महानगरपालिका–३३ भरत पोखरीको बरस्थित चण्डी देउराली थान खडेरी परेमा पानी माग्ने तीर्थस्थल हो । परापूर्वकालदेखि लामो समय खडेरी परेमा स्थानीयवासी जुटेर पाठीको बली सहित घरघरबाट ल्याएको पानी ‘हरहर महादेव, पानी देऊ देऊ’ भन्दै छ्यापेर सामूहिक पूजा गरेमा एक हप्ताभित्रमा पानी पर्ने जनविश्वासका आधारमा यो तीर्थस्थललाई निकै महत्वका साथ हेर्ने गरिएको छ । विगत आठ वर्षअघि सम्म कुनै मन्दिर नरहेको र सामान्य चौतारोमा रहेका शिलालाई पूजा गर्ने गरेका स्थानीयवासी पछिल्ला वर्षमा भने मन्दिरलाई व्यवस्थित गर्दै त्यहाँ आवश्यक पूर्वाधार विकासमा जुटेका छन् । सिलिङ्गे चेतना महिला समूहको सक्रियतामा सात वर्षअघि स्थानीयवासीको जनश्रमदानबाहेक ५२ हजार ८०० रुपैयाँको लागतमा मन्दिरको संरचना तयार गरिएको समूहकी तत्कालीन अध्यक्ष सीता पौडेलले जानकारी दिनुभयो । “धार्मिक महत्वको महत्वपूर्ण स्थल भएर पनि सामान्य मन्दिरसमेत नभएका अवस्थामा समूहको पहलमा मन्दिर निर्माण गरेका हौँ,” उहाँँले भन्नुभयो, “मन्दिरको संरचना निर्माण भएसँगै पूजाआजा गर्न निकै सहज भएको छ नै, त्यसमा पनि आवश्यक पूर्वाधार विकास गरिएमा यसलाई धार्मिक पर्यटकीय तीर्थस्थलका रुपमा समेत विकास गर्न सकिन्छ ।” कास्कीको छोरेपाटन–लामेआहाल ग्रामीण सडक मार्गमा पर्ने मनियलडाँडा बसपार्कबाट पर्यटकीयस्थल हुडिकोट जाने शाखा मार्गको बीच भागमा चण्डी देउराली मन्दिर पर्दछ । माछापुच्छ«े, अन्नपूर्ण लगायतका हिम शृङ्खलाका साथै यहाँबाट देखिने स्याङ्जा, तनहुँ, लम्जुङ, पाल्पा लगायतका जिल्लाका उच्च पहाडी दृश्यले जो कोही पर्यटकलाई लोभ्याउने गर्दछ । मन्दिर र यसको परिसरलाई भौतिक पूर्वाधार सम्पन्न गराउने सोचका साथ सिलिङे महिला चेतना समूहको वर्तमान कार्यसमितिले पनि निर्माणका गतिविधिलाई सक्रियताका साथ अघि बढाएको छ । समूहकी अध्यक्ष कर्णकुमारी महतका अनुसार समूहको सक्रियतामा पोखरा लेखनाथ महानगरपालिकाबाट मन्दिर परिसरमा पर्खाल लगाउनका लागि हाल रु ५० हजार विनियोजन भई काम अघि बढाइसकिएको छ । “नगरपालिकाबाट छुट्याइएको रु ५० हजार सहयोगका अतिरिक्त परिसरमा पर्खाल लगाउन स्थानीयवासीले पनि अत्यन्त उत्साहका साथ जनश्रमदान गरिरहेका छन्,” उहाँले भन्नुभयो, “बजारको मूल्य वृद्धि लगायतका कारणबाट पर्खाल निर्माणलाई सम्पन्न गर्न भने जनश्रमदानबाहेक नै लागत बढेर लगभग रु ८० हजारसम्म पुग्ने देखिएको छ ।” पूर्वाधार विकास गर्न सकिएमा चण्डी देउराली र आसपासका क्षेत्रमा धार्मिक पर्यटकलाई समेत पु¥याउन सकिने अध्यक्ष महतले बताउनुभयो । परापूर्वकालदेखि नै खडेरी पर्दा होस् वा खेतीबालीको सहकाल आदिको कामनासहित स्थानीयवासीले सामूहिक रुपमा चण्डी देउरालीको पूजाआजा गर्ने गरेको यहाँका स्थानीयवासी बताउँछन् । विगतमा पाठीको बलिसहित पूजाआजा गर्ने प्रचलन रहेकामा पछिल्ला वर्षमा पाठीको बलि दिने वा नदिने सम्बन्धमा दुई मत देखिएको छ । केही स्थानीयवासी पाठीको बलि नदिएर नरिवल फुटाएर पूजा गर्नुपर्ने पक्षमा देखिएका छन् भने केही प्राचीन परम्परालाई निरन्तरता दिनुपर्ने तर्क गर्दछन् । व्यक्तिगत रुपमा पनि पारिवारिक सुख, शान्ति एवम् मनोकामना पूरा होस् भन्दै चण्डी देउरालीमा स्थानीयवासीले पूजाआजा गर्ने गरेकोे स्थानीय समाजसेवी गुरुप्रसाद पौडेलले बताउनुभयो । पौडेलका अनुसार चण्डी देउराली थानका साथै यहाँ नजिकै रहेको मल्लकालीन कोटभैरब मन्दिर, पर्यटकीयस्थल हुडिकोट आदिलाई समेटेर समग्र रुपमा नै यस क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने प्रचुर सम्भावना छ । यस्तो सम्भावनालाई उजागर गर्न पूर्वाधार विकासका साथै प्रचारप्रसारको आवश्यकता रहेको उहाँको भनाइ छ । रासस

भ्रष्टाचारको जगमा बनेको ओली सरकार ढाल्नैपर्छः लामिछाने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको ढोकाबाट प्रधानमन्त्री केपी शर्मा ओली सबैभन्दा धेरै भ्रष्टाचारको जगमा उभिएको मानिस भएको आरोप लगाएका छन् । सहकारी ठगी प्रकरणमा पक्राउ गरी पोखरा पुर्‍याइएका लामिछानेले कास्की जिल्ला अदालतमा उपस्थित हुने क्रममा ओलीले जनतालाई सधैँ दुःखमा राखेर र आफूलाई डेढ वर्ष लगाएर झुटो मुद्दामा फसाएको बताए । उनले सरकार नढलेसम्म ओलीले निर्दोष मान्छे फसाउँदै जाने भएकाले सरकार ढल्नुपर्ने तर्क पनि गरे । पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले भने, ‘मलाई जस्तै डेढ वर्ष लगाएर केपी ओलीलाई छानबिन गर्ने हो भने देशमा सबैभन्दा धेरै भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली हो । म फेरि पनि भन्छु – न्याय अदालतको एकदमै धेरै विश्वास गर्छु ।’ आफू अदालती प्रक्रियामा सघाउन आएको लामिछानेले बताए । उनले थपे, ‘यिनीहरूको यो वर्चस्व र राज्यसत्ता कब्जा गर्ने, आफ्ना मान्छे भर्ने र जनतालाई सधैँ दुःखमा राख्ने अन्तिम लडाइँ हो । राम्रो मान्छे फसाउने यिनीहरूको सत्ता अब अन्त्य हुनुपर्छ । पोखरामा भएका र देश विदेशबाट नेपाली नागरिकहरू एक भएर सरकारको विरोध गर्न अनुरोध गर्छु ।’

अधिवेशन अन्त्य अघि संसद्मा सम्बोधन गर्ने प्रधानमन्त्री ओलीको तयारी

काठमाडौँ । सोमबार आज राति १२ बजेदेखि संसद्को चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने हुनु भएको छ ।  दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । माओवादी केन्द्रले जनयुद्धलाई एमाले सांसदले हिंसा’ भनेर सम्बोधन गरेपछि सो शब्द संसद्को रेकर्डबाट हटाउन माग गरेको थियो । संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरिसकेका प्रधानमन्त्री ओलीले संसदको सम्बोधनमा के भन्छन् खुलाइएको छैन। सिंहदरबारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भदौ ३१ गते सोमबार आज राति १२ बजेदेखि संसद्को चालु अधिवेशन अन्त्य गर्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । यस्तै प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ । आजको बैठकमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

जाजरकोटमा पहिरोमा पुरिएर वडा सदस्यसहित दुई बेपत्ता

जाजरकोट । जाजरकोटमा गए राति  पहिरोमा पुरिएर एकै घरका श्रीमान् श्रीमती बेपत्ता भएका छन् भने एक बालिका  गम्भीर घाइते भएका छन् । बारेकोट गाउँपालिका  ६ धुमा गाउँमा राति २ बजे  पहिरोले घर पुरिँदा दुई जना पुरिएर बेपत्ता भएको जनाइएको छ ।   जिल्ला समन्वय समिति जाजरकोटका उप प्रमुख दल बहादुर सिंहका अनुसार बारेकोट ४ पल्लो धुमा गाउँमा राति २ बजे घर पुरिँदा  मान बहादुर चलाउने  र उहाँकी श्रीमती वडा नं ६ की  महिला वडा सदस्य समेत रहेकी  मायादेवी  चलाउने  पुरिएको जानकारी दिनु भयो ।  घटनास्थल वाट चलाउनेकी  छोरी गम्भीर घाइते अवस्थामा उद्धार गरिएको  तर २ जनाको शव निकाल्न नसकिएको  जानकारी गाउँले मार्फत आएको उपप्रमुख सिंहले बताउनु भयो । जाजरकोटका प्रहरी प्रमुख डिएसपी पुरुषोत्तम पाण्डेका घटनास्थलमा प्रहरी टोली जाँदै गरेको तर सञ्चार सम्पर्क हुन नसक्दा यथार्थ विवरण प्राप्त गर्न नसकिएको जानकारी दिनु भयो ।  राप्ती नदीमा बगेका दुई जना पनि भेटिएनन्  चितवनस्थित राप्ती नदीमा बेपत्ता भएका दुई जनाको अवस्था अझै अज्ञात छ। शुक्रबार दिउँसो २ बजे माछा मार्न निस्किएका भरतपुर महानगरपालिका २५ का ४३ वर्षीय सञ्जीवकुमार चौधरी र वडा नं २७ का ४५ वर्षीय शुकबहादुर परियारलाई राप्ती नदीले बगाएको हो।  शुक्रबारदेखि नदीमा बेपत्ता उनीहरू आजसम्म नभेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण केसीले बताउनुभयो । भरतपुर महानगरपालिका २७ जमुनाघाटस्थित राप्तीखोलामा माछा मार्न गएका उनीहरू बेपत्ता भएका थिए। तस्विरः एआई जेनेरेटेड

संसद्का ६ वटा समितिको बैठक बस्दै, ईयूको ‘सेफ्टी लिस्ट’लगायतका विषयमा छलफल गरिने

काठमाडौं । संघीय संसद्अन्तर्गत आज ६ वटा संसदीय समितिको बैठक बस्दै छ। प्रतिनिधिसभाअन्तर्गतको पाँच र राष्ट्रियसभाअन्तगर्तको एउटा समितिको बैठक बस्न लागेको संसदीय सचिवालयले जनाएको छ ।  अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ईयूको सेफ्टी लिस्ट तथा नागरिक उड्डयन, नेपाल वायु सेवा निगमको कोरिया उडान अनुमतिका विषयमा छलफल हुनेछ ।  पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन तथा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको हालसम्मको कार्यप्रगति सम्बन्धमा पनि बैठकमा छलफल हुनेछ ।  बिहान ११ बजे बस्ने बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भाडामा रहेका पसल कवलहरूको सम्झौताका विषयमा पनि छलफल गर्ने कार्यसूची छ ।  कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा दफावार छलफल हुनेछ । बैठक बिहान साढे ११ बस्नेछ ।  महिला तथा सामाजिक मामिला समितिको बैठकमा नेपालमा बालबालिकाको शैक्षिक विकासमा युनेस्कोले खेल्दै आएको भूमिकाका विषयमा छलफल गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजे बस्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि आजै बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची छ ।  सार्वजनिक लेखा समितिको बैठक दिउँसो ३ बजे बस्नेछ । बैठकको कार्यसूची सार्वजनिक गरिएको छैन। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्नेछ ।  उपभोग्य वस्तु तथा सेवाको मूल्यवृद्धि, बजार अनुगमनको अवस्था, उपभोक्ता हक संरक्षण र प्रवर्द्धन सम्बन्धमा देखिएका समस्या र सुझाव सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।