प्रधानमन्त्री कार्यालयको प्रतिबद्धतापछि रूसी सेनाका परिवारद्धारा अनसन स्थगन

काठमाडौं ।  रुसी सेनामा आवद्ध नेपालीहरू परिवाजन र अभियान्ताहरुले १७ दिन देखि जारी राखेको अनसन स्थगन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सक्रियता र पहलमा लामो समयदेखि जारी अनसन स्थगित भएको हो । 

विगत १७ दिन देखि ३ जनाको आमरणअनसन र अन्य रिले अनसनमा बसेका थिए । रुसी सेनामा आवद्ध नेपालीको जीवन रक्षार्थ भन्दै बसेको अभियान्ता तथा परिवारको अनसन/मागबारे सहमति जुटाउन  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका जनसंपर्क विज्ञ बुद्धि जिसी सक्रिय थिए।

त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेश पाण्डेले एक विज्ञप्ति जारी गर्दै रुसी सेनामा आवद्ध नेपालीहरूको उद्धार, लगायतका विषयमा अभियान्ता तथा आफन्तजनहरूले उठाएका मागहरूबारे नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका थिए ।

साथै, आफन्त तथा अभियान्तका मागहरूप्रति सरकारले कुटनीतिक पहल गरिरहेको र उक्त पहललाई सार्थक निष्कर्षमा पुऱ्याउन थप पहल गर्ने प्रतिबद्धता जनाउँदै उक्त विज्ञप्तिमार्फत अनसन स्थगित गर्न आग्रह समेत गरिएको थियो । 

प्रधानमन्त्री कार्यालयले  उद्धार, लगायतका विषयमा भैरहेको पहललाई सार्थक निष्कर्षमा पुऱ्याउन थप पहल गर्ने प्रतिबद्धता गरेपछि अनसन हाललाई स्थगित भएको प्रधानमन्त्रीका जनसंपर्क विज्ञ जिसीले जानकारी दिए ।लामो समयदेखि अनसनरत अभियान्तालाई प्रधानमन्त्री कार्यालयका सचिव पाण्डेले जुस खुवाएर अनसन तोडाएका हुन् ।

आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न प्रदान गरिदै

काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको छ । आज बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको आयोगले त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ। आयोगले आज दिउँसो ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तयारी गरेको हो। आगामी वैशाख १५ गते रिक्त रहेको इलाम २ र बझाङ १ (१)मा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि इलाम-२ मा २० जना र बझाङ १ (१)मा १२ जनाले उम्मेदवारी दर्ता गराएका थिए।

उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशित, कति थपिए नयाँ मतदाता?

काठमाडौँ । निर्वाचन आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनलाई लक्षित गरी अन्तिम मतदाता नामावली प्रकाशित गरेको छ । आयोगले चैत २२ गतेको बैठकबाट उपनिर्वाचनलाई लक्षित गरी आयोगबाट फागुन २९ देखि चैत ५ सम्म देशभर सञ्चालन गरिएको ‘मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८०’ अनुसार अन्तिम मतदाता नामावली स्वीकृति गरी आयोगको वेबसाइटमा प्रकाशन गरेको हो । सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार पछिल्लो निर्वाचनमा इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा १ लाख १५ हजार ४६७ र बझाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं १ मा ६१ हजार ११० मतदाता रहेका थिए । आसन्न उपनिर्वाचनका लागि इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा ४२२ जना मतदाता थप भई १ लाख १५ हजार ८८९ मतदाता कायम भएका छन् भने बझाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा ६३८ जना थप भई ६१ हजार ७४८ मतदाता कायम भएका छन्। स्वीकृत मतदाता नामावली बमोजिम देशभरको विवरण अनुसार मिति २०८१–०१–१४ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिहरू मध्ये महिला मतदाता ८८ लाख ८६ हजार २२६, पुरुष मतदाता ९२ लाख २ हजार ५६९ र अन्य मतदाता १८८ गरी कूल १ करोड ८० लाख ८८ हजार ९८३ मतदाताको नाम अन्तिम मतदाता नामावलीमा समावेश भएको छ।  यस विवरणअनुसार सबैभन्दा बढी मतदाता मोरङ जिल्लामा महिला मतदाता ३ लाख ६२ हजार ९७३, पुरुष मतदाता ३ लाख ७६ हजार ४११ र अन्य मतदाता ६ गरी जम्मा ७ लाख ३९ हजार ३९० र सबैभन्दा कम मतदाता मनाङ जिल्लामा महिला मतदाता ३ हजार ५३० र पुरुष मतदाता ३ हजार ३१९ गरी जम्मा ६ हजार ८४९ मतदाता रहेका छन्।

प्रस्तावित महालेखापरीक्षकको सुनुवाइ प्रक्रिया सुरु

काठमाडौं। प्रस्तावित महालेखापरीक्षक तोयम रायाको संसदीय सुनुवाइ प्रक्रिया अघि बढेको छ । संसदीय सुनुवाइ समितिको सोमबारको बैठकले रायासँग सम्बन्धित कुनै गुनासा वा उजुरी भएमा १० दिनभित्र समितिमा बुझाउन सर्वसाधारणलाई सूचना जारी गर्ने निर्णय गरेको सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए। संवैधानिक परिषद्को आइतबारको बैठकले राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी रायालाई उक्त पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । 

सिक्री नपाएर विवाह रद्द गरेको आरोपमा पक्राउ परेकाहरू धरौटीमा रिहा

बारा । दाइजोमा सुनको सिक्री नपाएको भन्दै बिहे रद्द गरेको आरोपमा बारामा पक्राउ परेका बेहुलासहित पाँच जना धरौटीमा रिहा भएका छन्। पक्राउ परेका बारा कलैया उपमहानगरपालिका ४ बस्ने बेहुला उमेश साह गोढ, उनका बुवा बच्चालाल साह गोढ, बेहुलाका दाइहरू राकेश कुमार साह, मुकेश कुमार साह र बेहुलाको भिनाजु बारा परवानीपुर गाउँपालिका ५ बस्ने राम एकवाल साह धरौटीमा रिहा भएका हुन् । फागुन २८ गते राति जन्ती लिएर वीरगञ्ज महानगरपालिका २४ मा पुगेका बेहुला उमेशसहित पाँचै जनाले सुनको सिक्री नपाएको भन्दै विवाद निकालेपछि बेहुली पक्षकाहरूसँग विवाद भएको थियो । सोही सूचनाको आधारमा पर्सा प्रहरीले पाँचै जनालाई पक्राउ गरेको थियो । उनीहरू विरुद्ध बितेको चैत ९ गते जिल्ला अदालत पर्सामा विवाह सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो । सोही मुद्दाको सुनुवाइ गर्दै अदालतका न्यायाधीश दीपक खनालको इजलासले पाँचै जनासित धरौटी माग गर्ने आदेश दिएको हो ।

नेप्से ७० अंकले घट्यो

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक ७०.३१ अंकले घटेको छ। नेप्से ३.३८ प्रतिशतले घटेर २००७.६९ को विन्दुमा झरेको छ।  यस दिन ३१६ धितोपत्रका एक करोड १४ लाख ७६ हजार ५९९ कित्ता सेयर चार अर्ब ११ करोड ३६ लाख ७६ हजार ७५८ रुपैयाँमा किनबेच भयो। १३ उपसमूहमध्ये म्युचुअल फन्डको समूहगत सूचक ०.६६ प्रतिशतले बढ्यो। १२ वटाको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ८.७३ प्रतिशतले बढेको छ। बोटलर्स नेपाल बालाजुको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ।

किन बढ्दैछ सुनको मूल्य? यी हुन् मूल्य वृद्धिका ६ कारण

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड बनाएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ७१ हजार रुपैयाँ कारोबार भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । मूल्य बढ्नुका कारण यस्ता छन्ः -चीन–अमेरिका व्यापार युद्ध -अमेरिकी केन्द्रीय बैंकले घटाएको ब्याज -कमजोर सेयर बजार -जर्मनीको अर्थतन्त्रमा आएको सुस्तता -अमेरिकाको इरान र उत्तर कोरियासँग कटु सम्बन्ध -जम्मु–कश्मीर विवाद । यो समाचार कान्तिपुर दैनिकमा राजु चौधरीले लेखेका छन् ।

आगोले पोल्यो? अपनाउनुहोस् तुरन्तै यस्ता उपाय

काठमाडौ‌ं, चैत ३ । आगोले पोलिरहेको छ भने तुरुन्तै कम्बलले छापेर घटनास्थलबाट बाहिर निस्कनेरनिकाल्ने र बाक्लो कपडाले छाप्ने। पोलेको अंग चिसो पानीमा डुबाएर राख्ने। पानी नभएको अबस्थामा नरम कपडाले छोप्न पनि सकिन्छ। पोल्नेवित्तिकै मानिसको शरीमा भएका औँठी, चुरा, माला, जुत्ता वा अन्य कसिला सामग्रीलाई शरीरबाट उतार्ने। नत्र पोलेको भाग सुन्निएर पछि निकाल्न अप्ठ्यारो हुन्छ। बिरामी खानसक्ने अबस्थामा भए प्रशस्त पानी वा अन्य झोलिलो पदार्थ सेवन गराउने। जलेको भागमा कुनै पनि प्रकारको लोसन, तेल वा अन्य पदार्थ नलगाई छिटोभन्दा छिटो स्वास्थ्य संस्थामा पुर्याउने। जलेपछि उठेको फोकालाई कहित्यै पनि फुटाउने प्रयास गर्नु हुँदैन। सासायनिक जलन छ भने रसायनले भिजेको कपडालाई तुरुन्तै शरीरबाट बाहिर निकाल्नुपर्छ। र, प्रभावित भागलाई करिब २० मिनेटसम्म चिसो पानीले सफा गर्नुपर्छ। यो जानकारी नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

संघ र प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी विधेयक पारित

काठमाडौं, भदौ १९। बहुप्रतिक्षित प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी अलगअलग विधेयकलाई व्यवस्थापिका–संसद्ले पारित गरेको छ । ती विधेयक पारित भएसँगै निर्वाचन आयोगलाई प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न बाटो खुला भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन अगामी मंसिर १० र २१ गते हुँदैछ । निर्वाचन आयोगले छिटोभन्दा छिटो ती कानूनको माग सरकारसित गर्दै आएको थियो । व्यवस्थापिका–संसद्को आजको तेस्रो बैठकले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा निर्वाचनसम्बन्धी छुट्टाछुट्टै विधेयक पारित गरेको थियो । गृहमन्त्री जनार्दन शर्माले ती विधेयक पारित गरियोस् भन्ने प्रस्तावलाई सदनसमक्ष प्रस्तुत गरेका थिए । विधेयकमा के छ त ? प्रतिनिधिसभा निर्वाचनसम्बन्धी विधेयकमा समानुपातिकतर्फ तीन प्रतिशत मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने व्यवस्था गरेको छ । यस प्रावधानले तीन प्रतिशत मत प्राप्त नभएमा समानुपातिक सदस्य हुन नपाइने भएको छ । भ्रष्टाचार, नैतिक पतनलगायतका अभियोग लागेकाहरु प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था विधेयकले गरेको छ । यसैगरी नो भोटको व्यवस्थालाई विधेयकमा राखिएको छैन । समानुपातिक उम्मेदवारको बन्दसूचीका लागि समावेशी आधार विधेयकमा रहेको छ । दलित १३.८, आदिवास जनजाति २८.७, खस आर्य ३१.२, मधेशी १५.३, थारु ६.६, र मुस्लिम ४.४ प्रतिशत राखिएको छ । बन्दसूची पेश गर्दा जनसंख्या र सो दलले प्राप्त गरेको सिट संख्याका आधारमा दलित, आदिवासी, जनजाति, खस आर्य, मधेशी, थारु तथा मुस्लिमको प्रतिनिधित्व हुने गरी सूची पेश गर्नुपर्ने प्रावधान विधेयकमा रहेको छ । यसैगरी विधेयकमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारको नामका वर्णानुक्रमका आधारमा उम्मेदवारको निर्वाचन चिह्न प्रदान गर्ने, प्रतिनिधिसभामा प्रतिनिधित्व नगर्ने दलको हकमा निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएको क्रमको आधारमा दलको उम्मेदवारको निर्वाचन चिह्न तथा निर्वाचन हुनुभन्दा तत्काल अघि कायम रहेको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलको त्यस्तो प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मतको संख्याका आधारमा निर्वाचन चिह्न प्राप्त हुने विधेयकमा रहेको छ । यसअघि विधेयकमाथिको छलफलमा श्यामकुमार श्रेष्ठ, जनकराज जोशी, प्रेम सुवाल, चित्रबहादुर केसी, वैजनाथ चौधरी थारु, परशुराम तामाङ, चूडामणि जंगली विक, शक्तिबहादुर बस्नेतले भाग लिएका थिए । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सफल बनाउन आह्वान : गृहमन्त्री शर्मा गृहमन्त्री शर्माले छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न गर्न विधेयक आएको हो भभने। निर्वाचनपछि राजनीतिक स्थायित्व आउने र संविधान कार्यान्वयनसमेत हुने उनले बताए । गृहमन्त्री शर्माले भने, “प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति घोषणा भएको छ, निर्वाचनलाई सफल बनाउन म राजनीतिक दललाई आह्वान गर्छु ।” राज्य व्यवस्था समितिको आजको बैठकले ती विधेयकलाई सर्वसम्मतिले पारित गरेको थियो । यसैगरी आजको बैठकले आनुवंशिक स्रोतहरुमा पहुँच र तिनको उपयोगबाट प्राप्त हुने लाभको पारदर्शिता र समन्यायिक बाँडफाँडसम्बन्धी नागोया अभिसन्धिलाई सर्वसम्मतिले अनुमोदन गरेको थियो । सभामुख ओनसरी घर्तीले सो अभिसन्धिलाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव सदनसमक्ष प्रस्तुत गरेकी थिइन । व्यवस्थापिका–संसद्को अर्को बैठक भदौ २३ गते शुक्रबार दिनको १ बजे बस्नेछ । रासस

बाल खेलाडीहरु पुरिएको घटना छानविनका लागि पहल गर्ने अध्यक्ष प्रचण्डको प्रतिबद्धता

काडमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मकवानपुरको सिस्नेरीमा छ जना बाल खेलाडीहरु पुरिएको घटनाको निष्पक्ष छानविनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  असोज १२ गते पहिरोमा पुरिएर ज्यान गुमाएका मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३, सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयका बाल फुटबल खेलाडीका अभिभावकसँगको भेटमा उहाँले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । ‘देशका लागि योगदान गर्ने सपनासहित खेल प्रशिक्षणमा रहेका छ जना बाल खेलाडीको निधनले राष्ट्रलाई अपुरणीय क्षति भएको छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘पीडित परिवारहरुको माग र घटनाक्रम हेर्दा यसमा एन्फा र सम्बन्धित विद्यालयको चरम लापर्वाही देखिन्छ, खोलानजिक रहेको असुरक्षित ठाउँमा यति महत्वपूर्ण प्रशिक्षण केन्द्र किन राखियो भन्नेदेखि सिस्नेरी बजारमा कुनै मानवीय क्षति नहुँदा पनि यी बाल खेलाडीहरुको कसरी क्षति हुन गयो भन्ने विषयमा उच्चस्तरीय छानविन गर्न आवश्यक छ, म यसका लागि प्रतिपक्षी दलहरुको तर्फबाट पहल गर्ने छु ।’ राजधानीमा छतमा बसेर गुहार माग्दासमेत उद्धार गर्न नसक्ने अवस्थाले पछिल्लो बाढीपहिरोको घटनामा सरकार निकै कमजोर देखिएको उल्लेख गर्दै उहाँले यिनै विषयहरु समेटेर प्रतिपक्षी दलहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको, राष्ट्रपतिको ध्यानाकर्षण गराइएको, आफ्नो पार्टीले खबरदारी सभा आयोजना गरेको र आवश्यक परे संसदको विशेष अधिवेशन बोलाएर भए पनि सडक र सदनबाट जनताका आवाजलाई प्रभावकारीरुपमा सरकारसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । यो घटनाको निष्पक्षमा छानविन गरी दोषका आधार कारवाही, मृतक खेलाडीहरुलाई अमर बनाउने गरी एउटा कोष स्थापना गरेर एकेडेमी वा कुनै स्मरणयोग्य संरचना र उनीहरुकै नामबाट नियमति प्रशिक्षण खेलकूद आयोजना, एन्फा परिसरमा मृतक खेलाडीहरुको प्रतिमा स्थापना र परिवारलाई उचित राहतका लागि आवश्यक पहल गर्ने उहाँले बताउनुभयो । अध्यक्ष प्रचण्डले यो संवेदनशील विषय भएकाले सबै दल र सरोकारवालाहरु गम्भीर हुनुपर्ने उल्लेख गर्दै पीडित पक्षलाई पनि सबै सँग भेट गरेर घटनाको यथार्थ जानकारी गराउन आग्रह गर्नुभयो ।    पीडित परिवारका तर्फबाट ललितबहादुर घलान, भक्तबहादुर बलम्पाकी, कमला रेग्मी, टीकाराम आचार्य, हेमबहादुर योञ्जन र दिपा बानियाँले अध्यक्ष प्रचण्डलाई संयुक्तरुपमा ध्यानाकर्षणपत्र बुझाउनुभएको थियो । सो क्रममा पीडित परिवारले विद्यालय व्यवस्थापन र एन्फाको चरम लापर्वाहीका कारण घटना भएको भन्दै उच्चस्तरीय छानविन गरेर दोषीमाथि कारवाही गर्न माग गरेका थिए ।  दुई दिनदेखि इन्द्रसरोवरको ड्याम खोल्ने सूचना आइरहेको बेला बाल खेलाडीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण नगरिएको, अभिभावकले लैजान खोज्दा पनि लैजान नदिएको, पूर्व सतर्कता अपनाएर सिङ्गो सिस्नेरी बजारका बासिन्दा सुरक्षित हुने बेलामा आफ्ना छोराहरुलाई सुरक्षित गर्नतिर नलागेको, विपतको बेलामा पनि परीक्षाका नाममा बालकहरुलाई नछाडिएको, घटनाको ३० घण्टासम्म परिवारलाई सूचना नदिएको, गलत व्यहोराको जाहेरी तयार गरिएको, शव हस्तान्तरणमा पनि सास्ती दिएर छ दिनपछि मात्रै अन्त्येष्टि गर्न बाध्य बनाएको जस्ता कारणले यो घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने र दोषीमाथि कारवाही हुनुपर्ने पीडित परिवारले माग गरेका छन् । आफूहरुलाई राहतभन्दा पनि न्याय चाहिएको र त्यसका लागि घटनाको निष्पक्ष छानविन गरेर आगामी दिनमा यस्ता घटना हुन नदिने वातावरण बनाउन राज्य गम्भीर हुनुपर्ने भन्दै पीडितहरुले आफ्ना सन्तानलाई अमर बनाउने गरी उनीहरुको स्मृतिमा खेल क्षेत्रमा देखिने संरचना र संस्था निर्माण गरिनुपर्ने बताएका छन् ।     

किन चुलिदैछ कांग्रेसभित्र सरकारप्रतिको असन्तुष्टि

काठमाडौं । कांग्रेस नेता शेखर कोइराला आफ्नै पार्टीसमेत संलग्न सरकारले सय दिन पनि पूरा नगर्दै चर्को असन्तुष्टि व्यक्त गर्न थालेका छन् । सामान्यतः सरकार बनेको सय दिनलाई ‘हनिमुन’ अवधिका रूपमा लिएर अरूले पनि शंकाको सुविधा दिने राजनीतिक प्रचलन छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको साढे दुई महिना मात्र हुँदै गर्दा सत्तारूढ दलकै नेता कोइरालाबाट आलोचना हुन थालेको हो । अनेक शंका–उपशंकाका बीच कोइराला भने अन्य कारण नभएर प्रधानमन्त्री ओलीका केही कार्यशैलीगत विषयप्रति मात्र आफ्नो असन्तुष्टि रहेको बताउँछन् । खासगरी ओली सरकारले गरेका केही निर्णय र पहलकदमीप्रति कोइरालाको मुख्य चासो देखिएको छ । उद्योगीहरूबाट ‘डेडिकेटेड र ट्रंकलाइन’ को महसुल भुक्तानी गर्ने विषयलाई लिएर प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको योजनाप्रति आफ्नो समर्थन नरहेको उनले बताए । ‘कुलमानका कमीकमजोरी थिए भने त्यसलाई हेर्न राज्यका संयन्त्रहरू थिए तर डेटिकेटेड र ट्रंकलाइनको महसुल भुक्तानीको विषयमा जसरी उनलाई हटाउन खोजियो, त्यसमा मेरो असन्तुष्टि हो,’ उनले भने । बालुवाटारमा सर्वदलीय बैठक राखेर उपसभामुख इन्दिरा रानालाई हटाउन गरिएको निर्णयप्रति पनि कोइरालाको आपत्ति नै थियो । संसद्मा रानाविरुद्धको प्रस्ताव दर्ता गर्न कांग्रेस र एमालेका मुख्य सचेतकहरूले हस्ताक्षर संकलन गरिरहेको दिन कोइराला पार्टी सभापति शेरबहादुर देउवा र इतरसमूहका नेताहरूसँग असन्तुष्टि जनाउ दिएर आँखा उपचारका लागि सिंगापुर हिँडेका थिए तर पूर्वको सिंगापुर जान उनले पश्चिम दिल्लीको बाटो लिएका थिए । ‘एकपटक हामी तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोगमा गएर फसेका छौं, अहिले फेरि उपसभामुखलाई हटाउने भनेर फस्न हुन्न भन्ने मेरो कुरा थियो । न दुई तिहाइ पुग्ने अवस्था थियो, न उनीविरुद्धको आरोप पुष्टि हुने अवस्था नै थियो, त्यसैले शेरबहादुरजीलाई नै असन्तुष्टि जनाएर म हिँडेको थिएँ,’ उनले भने । सत्ता गठबन्धनमा कांग्रेस–एमालेका अलावा अशोक राई नेतृत्वको जसपा, महन्थ ठाकुर नेतृत्वको लोसपा र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी पनि छन् । सत्तामा रहेका सबै दलको सांसद संख्या जोड्दा पनि दुई तिहाइ पुग्दैन । ‘तर अपुग २/३ सांसद पुर्‍याउन सरकारलाई समस्या थिएन । मधेसमा सत्ता सहकार्य गरेको जनमत वा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमध्ये एउटा दलले समर्थन गर्दा सहजै दुई तिहाइ पुग्थ्यो । कोइरालाकै असन्तुष्टिले प्रधानमन्त्री ओली र हाम्रा सभापति देउवा हच्किनुभयो,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘सरकारप्रति भारतले अनुदार व्यवहार देखाइरहेका बेला पार्टीभित्रै असन्तुष्टि बढाउँदा समीकरण तलमाथि हुन सक्ने चिन्ता देखिएपछि रोकिएको हो ।’ कोइरालाको असन्तुष्टिकै कारण उनीनिकट सदस्यहरूले उपसभामुखलाई हटाउने प्रस्तावमा हस्ताक्षर गरेका थिएनन् । कोइरालाको साथ नपाएपछि प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवा रानालाई उपसभामुखबाट हटाउने निर्णयबाट पछि हटे । माओवादीसँग सहकार्य गरेकै बेलादेखि सरकारको स्थिरिता र विकासका लागि कांग्रेसले एमालेसँग समीकरण गर्नुपर्ने पक्षमा कोइराला थिए । डेढ वर्षअघि एमालेले सरकार छाडेपछि कांग्रेस–माओवादी सत्ता सहकार्यमा रहेका बेला कोइरालाकै योजनामा कोशी प्रदेश सरकार गठनमा ‘विद्रोह’ गरिएको थियो । संघ र अरु सबै प्रदेशमा माओवादीसँगको गठबन्धनमा सरकार बन्दा कोशी प्रदेशमा एमालेको समर्थनमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री बनेका थिए । कार्की कोइरालाका विश्वासपात्र हुन् । त्यतिबेलादेखि नै कोइरालाले प्रतिनिधिसभाको संसदीय दलमा बहुमत जुटाउने कसरत पनि गरेको नेताहरू बताउँछन् । बहुमत सांसद आफ्नो पक्षमा नदेखिएपछि नै देउवालाई विस्थापित गर्ने योजनाबाट कोइराला पछि हटेका हुन् । माओवादीले गत फागुनमा कांग्रेस छाडेर एमालेसँग सत्तासमीकरण बनाएको थियो । त्यस समीकरणले चार महिना पार नगर्दै गत असारमा कांग्रेस–एमालेको सत्ता सहकार्य सुरु भयो । आफैंले चाहेअनुसारको समीकरण बने पनि नयाँ सरकारले सय दिन पार नगर्दै कांग्रेस नेता कोइरालामा छटपटी देखिन थालेको हो । कतिपय नेताको बुझाइमा भने ओली सरकारप्रति भारतले अनुदार व्यवहार देखाइरहेको अवस्थामा कोइराला लाभ लिन प्रयासमा भित्रभित्रै लागिरहेका छन् । नेपालमा नयाँ प्रधानमन्त्री नियुक्त हुनासाथ भारतबाट भ्रमणको निमन्त्रणा हुने प्रचलन छ । तर ओलीले अहिलेसम्म भारत भ्रमणको निम्तो पाएका छैनन् । संयुक्त राष्ट्रसंघको महासभाका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग साइडलाइन भेटवार्ता मिलाउन पनि ठूलै कसरत गर्नुपर्‍यो । कांग्रेस नेता एवं पूर्वपरराष्ट्रमन्त्री एनपी साउदसमेत ओली नेतृत्वको सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा स्थिरताको प्रत्याभूति दिने गरी काम गर्न नसकेको बताउँछन् । साउदको भनाइले समेत सरकारलाई लिएर कांग्रेसभित्र असन्तुष्टि बढ्न थालेको संकेत दिन्छ । कोइरालानिकट केन्द्रीय सदस्य गोविन्द पोखरेल ओली नेतृत्वको सरकारले पनि जनतामा भरोसा जगाउन नसके कांग्रेसभित्रबाट कोइरालाले प्रधानमन्त्रीका लागि प्रयास गर्नुपर्ने बताउँछन् । ‘शेखर दाइमा आफ्नो भविष्यको चिन्ताभन्दा सरकारले बढाएको निराशाले छटपटी छ । सरकारका कारण चरम निराशा अझै बढ्दै गए विस्फोटक स्थितिबाट मुलुकलाई जोगाउन शेखर दाइ अघि बढ्नुपर्ने बाध्यात्मक स्थिति आउन सक्छ,’ उनले भने, ‘पार्टीभित्र कुनै विवादमा नपरेका, केही आशा गर्न सकिने नयाँ अनुहार पार्टीको १४औं महाधिवेशनबाट नेताका रूपमा स्थापित भएकाले नै शेखर दाइ उपयुक्त पात्र हो ।’ आजको कान्तिपुर दैनिकबाट

काठमाडौं र ललितपुरका यी स्थानमा भारी वर्षा, नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशका केही स्थानमा आइतबार भारी वर्षा भएको छ। काठमाडौं र ललितपुरका पनि कतिपय स्थानमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ। ती क्षेत्रमा थप वर्षा हुन सक्ने सम्भावना छ । नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले सचेत गराएको छ। “भाद्र १६, दिउँसो १२ बजे । पछिल्लो तीन घण्टामा काठमाडौंको बूढानीलकण्ठ, कपन, धाप ड्याम, गोदावरी, टीकाथली आसपासको क्षेत्रमा भारी वर्षा भएको, थप वर्षा हुन सक्ने, वाग्मती, धोबीखोला, शालीनदी, विष्णुमतीलगायत अन्य खोलाको बहाव बढ्ने देखिएकाले नदीतटीय क्षेत्रमा सतर्कता अपनाऔँ,” विभागको सूचनामा उल्लेख छ ।

राज्य व्यवस्थासहित पाँचवटा समितिका बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न पाँच समितिका बैठक आज बस्दैछन् । आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, राज्य व्यवस्था तथा सुशासन, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार, विधायन व्यवस्थापन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका बैठक बस्न लागेको हो । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा तारागाउँ विकास समिति र तरागाउँ रिजेन्सी होटल्स लिमिटेडका सम्बन्धमा छलफल हुनेछ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि बिहान ११ बजे नै सिंहदरबारमा बस्नेछ । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । यसैगरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा बाढी, पहिरो लगायतका मनसुनजन्य घटना एवं विपद व्यवस्थापन सम्बन्धमा भएका काम कारबाही तथा भावी कार्ययोजना, सिमलताल बस दुर्घटना अध्ययन प्रतिवेदनको निष्कर्ष र कार्यान्वयन कार्ययोजनालगायतका विषयमा छलफल हुनेछ । विधायन व्यवस्थापन समितिको बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, आज २ बजे नै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्दैछ । सिंहदरबारमा बस्ने बैठकमा सार्वजनिक नीतिका सन्दर्भमा समितिको कार्यक्षेत्र र सीमा सम्बन्धमा राष्ट्रियसभाका सचिवसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।  बैठकमा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।  बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभामा उत्पत्ति भएको ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको संवैधानिक परिषद् सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९’ छलफल र पारितका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।   

प्रधानमन्त्री र नेता खनालबीच

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र  नेकपा एकीकृत समाजवादीका सम्मानित  नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ।  प्रधानमन्त्री प्रचण्ड र नेता खनालबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको हो। प्रधानमन्त्री प्रचण्ड र नेता खनालबीच झन्डै १ घण्टा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।  नेता खनालले देशको पछिल्लो समसामयिक राजनीतिबारे छलफल भएको प्रतिक्रिया बताएका छन्।  सरकार परिवर्तनको चर्चाका बीच नेता खनाल प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन्।   हिजो साँझ मात्र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग बुढानीलकण्ठमा भेटवार्ता गरेका थिए। 

टीओआरबारे जुटेन सहमति, शीर्ष नेताहरू फेरि बस्ने

काठमाडौं । सहकारीको बचत अपचलनबारे छानबिन गर्न बनाइने संसदीय समितिको कार्यादेश (टीओआर) तय गर्न बालुवाटारमा बसेको बैठक बिनानिष्कर्ष सकिएको छ । आजै दिउँसो ३ बजे शीर्ष नेताहरूको बैठक बस्ने र बिहानको छलफल कुनै टुंगोमा नपुगेको एक नेताले जानकारी दिए । सहमति जुटाउन भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता र प्रतिपक्ष दलका नेतासँग एकल र सामूहिक छलफल समेत गरेका थिए । बैठकमा प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेताहरू रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, जीवन परियार सहभागी थिए ।