सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अनिवार्य शर्त : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अनिवार्य शर्त भएको बताएका छन् । भ्रष्टाचारविरूद्धको अन्तर्राष्ट्रिय दिवस २०८० को उपलक्ष्यमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफु नेतृत्वको वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढिरहेको बताउँदै सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने -‘मेरो नेतृत्वको वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढिरहेको तथ्य यहाँहरूमा जगजाहेर नै छ । भ्रष्टाचारका कारणहरूको पहिचान गरी त्यसको निवारणका निम्ति सरकारले राज्यका सबै संयन्त्रहरूलाई प्रचलित कानुनबमोजिम परिचालन गरिरहेको छ । त्यसको सकारात्मक परिणामसमेत हासिल भएका कारण आम नागरिकमा क्रमशः आशाको सञ्चार हुँदै गएको छ । यद्यपि, यो प्रयत्न र परिणाम पूर्ण छैन । आगामी दिनमा भ्रष्टाचार नियन्त्रणका लागि थप प्रभावकारी कदम चाल्नुपर्ने जिम्मेवारी सरकारसामु छ । यसका निम्ति सरकार दृढतापूर्वक अगाडि बढिरहेको तथ्यसमेत म स्पष्ट गर्दछु ।’

सुशासन कायम गरी सेवाग्राहीहरूलाई सर्वसुलभ ढंगबाट सेवा प्रवाह गर्नु राज्यको प्रमुख दायित्व रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारको प्रकृतिमा प्रविधिको विकाससँगै जटिलता उत्पन्न हुँदै गएका कारण भ्रष्टाचारको नियन्त्रणमा पनि राज्य त्यत्तिकै चनाखो हुनुपर्ने समेत बताए ।

भ्रष्टाचारविरूद्धको अन्तर्राष्ट्रिय दिवस २०८० मा प्रधानमन्त्री प्रचण्डको सम्बोधन(पूर्णपाठ)

भ्रष्टाचारविरूद्धको अन्तर्राष्ट्रिय दिवस, २०८० को अवसरमा नेपाल सरकारको तर्फबाट सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा भ्रष्टाचार नियन्त्रण गरी सुशासनको प्रत्याभूति गर्ने कुरामा आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्दछु ।

अक्टोबर २००३ मा संयुक्त राष्ट्रसंघ महासभाले ९ डिसेम्वरलाई भ्रष्टाचारविरूद्धको अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउने निर्णय गरेबमोजिम नेपालले पनि हरेक वर्ष यो दिवस मनाउँदै आएको छ । ‘‘भ्रष्टाचारविरूद्ध विश्वव्यापी ऐक्यवद्धता’’ भन्ने नाराका साथ यस वर्ष महासन्धिका पक्ष राष्ट्रहरूले महासन्धिको २० औं वर्ष पुगेको अवसरमा यो दिवस विशेष रूपले मनाइरहेका छन् ।

नेपालले भ्रष्टाचारविरूद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिमा १० डिसेम्बर २००३ मा हस्ताक्षर गरेकोमा ३१ मार्च २०११ मा महासन्धिको अनुमोदन गरेदेखि नै महासन्धि कार्यान्वयनका लागि रणनीति तथा कार्ययोजना बनाई महासन्धिको कार्यान्वयन गर्दै आएको छ ।

भ्रष्टाचार गरी वा अन्य गैरकानुनी कार्यबाट आर्जन गरेको सम्पत्ति विदेशमा लुकाउने, विदेशमा गैरकानुनी रूपमा लगानी गर्ने, अन्तरदेशीय वा संगठित अपराधमा प्रयोग गर्ने जस्ता कार्यले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा खलल पुग्न सक्ने कुरालाई दृष्टिगत गरी संयुक्त राष्ट्रसंघको महासभाले यो महासन्धि पारित गरेकोले महासन्धिको प्रभावकारी कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय सहकार्य प्रबर्धन गर्नका लागि यस दिवसको विशेष महत्व छ ।

अर्कोतर्फ, महासन्धिका प्रावधानहरूको आन्तरिकीकरण गर्ने क्रममा बिभिन्न कानुन निर्माण गरी निरोधात्मक, उपचारात्मक तथा प्रबद्र्धनात्मक उपायहरूमार्फत भ्रष्टाचार निवारणका कार्यहरू गर्न, भ्रष्टाचारविरूद्ध लड्न र भ्रष्टाचार रोक्नुका साथै सदाचारमा लाग्ने एवं भ्रष्टाचारविरूद्ध जनचेतना अभिवृद्धि गर्ने लगायतका कार्यका सन्दर्भमा पनि आजको दिवसको विशेष महत्व छ ।

भ्रष्टाचारविरूद्धको अन्तर्राष्ट्रिय दिवस २०८० को उपलक्ष्यमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सहितका सहभागी
भ्रष्टाचारविरूद्धको अन्तर्राष्ट्रिय दिवस २०८० को उपलक्ष्यमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सहितका सहभागी

सुशासन कायम गरी सेवाग्राहीहरूलाई सर्वसुलभ ढंगबाट सेवा प्रवाह गर्नु राज्यको प्रमुख दायित्व हो । सुशासनका लागि भ्रष्टाचार नियन्त्रण अनिवार्य शर्त हो । भ्रष्टाचारको प्रकृतिमा प्रविधिको विकाससँगै जटिलता उत्पन्न हुँदै गएका कारण भ्रष्टाचारको नियन्त्रणमा पनि राज्य त्यत्तिकै चनाखो हुनुपर्दछ । त्यसैले भ्रष्ट्राचार नियन्त्रण गरी सभ्य समाज निर्माण गर्ने कार्यमा राज्यका सबै जिम्मेवार संयन्त्र, निकाय र पदाधिकारीले गम्भीरतापूर्वक आफ्ना कानुनी दायित्वलाई अझ बढी जिम्मेवारीका साथ निर्वाह गर्ने प्रतिवद्धता जरूरी छ ।

नेपालमा महासन्धिको कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सम्पर्क निकायका रूपमा काम गरिरहेको छ । यस क्रममा भ्रष्टाचारका सबै स्वरूप र आयामहरूलाई अपराधको रूपमा परिभाषित गरी दण्डनीय बनाउने, भ्रष्टाचार सम्बन्धी कसुरको सम्बन्धमा सुपुर्दगी, पारस्परिक कानुनी सहायता र भ्रष्टाचारजन्य कसुरबाट आर्जित सम्पत्ति फिर्ता गर्ने सम्बन्धी कानुनी तथा संस्थागत व्यवस्था गरिएको छ ।

त्यसैगरी, भ्रष्टाचार लगायत अन्य गैरकानुनी ढंगबाट आर्जित सम्पत्ति विदेशबाट पुनः प्राप्तिका लागि कानुनी र संरचनागत प्रबन्ध तयार गरी कार्यान्वयन गर्ने तयारी हुँदैछ । निजी क्षेत्रमा हुने भ्रष्टाचारलाई कसुरको रूपमा परिभाषित गरी दण्डनीय बनाउन कानुनी व्यवस्था गरिँदैछ । बहुआयामिक विषयको रूपमा रहेको भ्रष्टाचारलाई सरकारी, सार्वजनिक, निजी क्षेत्र र नागरिक समाजसँगको सहकार्य र सहयोगमा निवारण गर्ने कार्यमा नेपाल सरकार प्रयत्नशील छ ।

मेरो नेतृत्वको वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढिरहेको तथ्य यहाँहरूमा जगजाहेर नै छ । भ्रष्टाचारका कारणहरूको पहिचान गरी त्यसको निवारणका निम्ति सरकारले राज्यका सबै संयन्त्रहरूलाई प्रचलित कानुनबमोजिम परिचालन गरिरहेको छ । त्यसको सकारात्मक परिणामसमेत हासिल भएका कारण आम नागरिकमा क्रमशः आशाको सञ्चार हुँदै गएको छ । यद्यपि, यो प्रयत्न र परिणाम पूर्ण छैन । आगामी दिनमा भ्रष्टाचार नियन्त्रणका लागि थप प्रभावकारी कदम चाल्नुपर्ने जिम्मेवारी सरकारसामु छ । यसका निम्ति सरकार दृढतापूर्वक अगाडि बढिरहेको तथ्यसमेत म स्पष्ट गर्दछु ।

अन्त्यमा, यस दिवसले भ्रष्टाचारविरूद्ध एकजुट भई अघि बढ्न हामी सबैलाई प्रेरणा मिल्ने विश्वासका साथ विदा हुन्छु । धन्यवाद ।

वाग्मतीसहित यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू–भागमा आज पनि भारी वर्षाको सम्भावना रहेको छ । मनसुनी वायु थप सक्रिय हुँदा केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको हो ।  जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ ।  विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोसी प्रदेशका तराई तथा मधेस प्रदेशका थोरै स्थानमा हावाहुरी आउन सक्ने विभागले जनाएको छ । मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसापस रहेको छ । देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको विभागले बताएको छ । जसका कारण मनसुन थप सक्रिय भएको हो । 

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै, महामन्त्रीद्वयको प्रस्ताव पारित गर्ने तयारी

काठमाडौं ।नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । आजको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेका प्रतिवेदन परिमार्जनसहित पारित गर्ने तयारी गरिएको छ । यसअघि गत साउन २३ गते सुरु भएको बैठक सहमति नजुट्दा स्थगित हुँदै आएको छ । साउन २८ गतेसम्म चलेर भदौ ७ गतेसम्मका लागि सारिएको बैठक भदौ १२ हुँदै आजसम्म आइपुगेको हो । सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वयसँग दुईपटक छलफल गरे पनि सहमति हुन नसकेपछि शनिबार पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक राखेका थिए । बैठकमा महामन्त्रीद्वयका प्रस्तावमा सहमति भएको दाबी गरिएको छ ।पार्टीको महासमिति बैठकमा महामन्त्री थापाले आगामी निर्वाचनदेखि कसैसँग पनि गठबन्धन गर्न नहुने र अर्का महामन्त्री शर्माले नेताहरू एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव अगाडि सारेको विषय कांग्रेसमा विवादित छ ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि सहमति जुटाउने प्रयास

काठमाडौं। सङ्क्रमणकालीन न्यायसम्बन्धी गठित संयन्त्रको बैठक सकिएको छ । शुक्रबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धि विधेयकमाथि सहमति जुटाउने विषयमा छलफल भएको हो ।  संयन्त्रमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्यसचेतक महेशकुमार बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मा सहभागी थिए। बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा संयन्त्रका सदस्य तथा माओवादी केन्द्रका उपमहासचिव शर्माले विधेयकमाथि सैद्धान्तिक सहमति जुटेको बताए।  पीडितमैत्री, सर्वोच्चको फैसला र अन्तर्राष्ट्रिय कानुनलाई आधार बनाएर विधेयकमा सहमति जुटाउने सहमति जुटेको बताइएको छ ।

कम्युनिस्टबीच पुनः एकता हुनुपर्छ : वामदेव गौतम

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले कम्युनिस्टबीच पुनः एकता हुनपर्ने बताएका छन्। शनिबार काठमाडौंमा पुष्पलाल जन्मशताब्दी समारोहमा उनले यस्तो बताएका हुन्। कम्युनिस्ट पार्टीले एकता गर्छौँ भनेर आफ्नो प्रस्ताव राख्नुपर्नेमा उनले जोड दिए। उनले कम्युनिस्ट पार्टीको घोषणापत्रमा भनिएअनुसारको समाजवाद निर्माण गर्न सबैभन्दा पहिला जमिनलाई राष्ट्रियकरण गर्नुपर्ने बताए।  कम्युनिस्टबीच एकताका निम्ति आफू पुनः सक्रिय भएर लाग्ने उनले प्रतिबद्धता जनाए।

परराष्ट्रमन्त्री श्रेष्ठ आज इरान जाँदै

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज इरान जाँदै छन्। एसिया सहयोग संवाद (एसिया कोअपरेसन डायलग)को परराष्ट्र मन्त्रीस्तरीय १९औँ  बैठकमा भाग लिन श्रेष्ठ इरान जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्री श्रेष्ठले असार १० गते इरानको राजधानी तेहरानमा हुने बैठकमा भाग लिने छन्। यस्तै, परराष्ट्रमन्त्री श्रेष्ठले विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको जनाइएको छ । मन्त्रीस्तरीय बैठक अघि आइतबार तेहरानमा हुने एसिया सहयोग संवादको वरिष्ठ अधिकारीहरूको बैठकमा मन्त्रालयको क्षेत्रीय संगठन महाशाखाका सहसचिव ज्ञानबहादुर मगर सहभागी हुनेछन्। उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठ असार १२ गते काठमाडौं फर्कने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ।

राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपतिलाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको पदीय जिम्मेवारी उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई प्रदान गरिएको छ । राष्ट्रपति पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ अधिवेशनमा सहभागी हुन स्वीट्जरल्याण्डको जेनेभा गएका छन्‌ । नेपालको संविधानको धारा ६७ को उपधारा ९२० बमोजिम राष्ट्रपतिले उक्त जिम्मेवारी उपराष्ट्रपतिले सम्पादन गर्नेगरी तोकेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभाको आज र भोलिको बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आज र भोलिको बैठक सूचना टाँसेर स्थगित गर्ने निर्णय भएको छ।सभामुख निवास बालुवाटारमा आज बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको हो। विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययनका लागि दलहरूले समय मागेका कारण बैठक रोक्नुपरेको सभामुखको सचिवालयले जनाएको छ । प्रतिनिधि सभामा आजदेखि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो । अब २९ गतेदेखि नियमित छलफल हुनेछ । सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही उपस्थित थिए । बैठकमा मुख्य सचिव डा.बैकुण्ठ अर्याल र संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय पनि सहभागी थिए ।

नौ महिनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा रु ११ अर्ब छ करोड बराबरको नाफा कमाएको छ ।  प्राधिकरणको चालु आवको चैत महिनाको वित्तीय विवरण (अपरिष्कृत)अनुसार, यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कूल रु ९३ अर्ब ९४ करोड आम्दानी गरेको छ । प्राधिकरणले सूचनाको हकसम्बन्धी ऐनमा भएको व्यवस्थाबमोजिम सार्वजनिक गरेको विवरणअनुसार विद्युत् खरिद, प्रशासनिक, आयोजनामा लगानीलगायतमा जम्मा  ८२ अर्ब ८८  करोड खर्च भएको छ । प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः विद्युत् बिक्री र खरिद तथा आयोजनामा हुने गरेको छ । प्राधिकरणले यसअवधिमा रु ११ अर्ब छ करोड नाफा ९करकट्टी गर्नुअघि अपरिष्कृत० आर्जन गरेको हो । गत आर्थिक वर्ष २०७९(८० को सोही अवधिमा प्राधिकरणको नाफा रु आठ अर्ब ८८ करोड थियो । गत आवको मुनाफा १३ अर्ब ३७ करोड थियो । प्राधिकरणको सञ्जित मुनाफा रु ३३ अर्ब ६४ करोड पुगेको छ । आव २०७२(७३ मा रु आठ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुबाट निरन्तर नाफामा छ । विद्युत् चुहावट नियन्त्रण, आन्तरिकरूपमा तथा भारतर्फको विद्युत् निर्यात बढ्दा आम्दानीमा भएको वृद्धि, खर्च नियन्त्रणलगायतले गर्दा चालु आवको नौ महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको बताए। प्राधिकरणले चालु आवको नौ महिनामा विद्युत् बिक्रीबाट रु ६८ अर्ब ८९ करोड खुद संकलन गरेको छ । यस अवधिमा देशभित्रका निजी क्षेत्रका ऊर्जा उत्पादकबाट र आफ्ना सहायक तथा सम्बद्ध कम्पनीबाट विद्युत् खरिदका रु ३८ अर्ब २० करोड भुक्तानी गरिएको छ । यसअवधिमा हिउँदयामको माग धान्न ११ अर्ब ५५ करोडको विद्युत् भारतबाट आयात गरिएको छ । आन्तरिक रुपमा खपत गरी बढी भएको रु १३ अर्ब ४२ करोड बराबरको विद्युत् भारततर्फ निर्यात गरिएको प्राधिकरणले जनाएको छ । आफ्नो स्रोतबाट झण्डै १८ अर्ब खर्च प्राधिकरणले आफूले कमाएको नाफाबाट चालु आवको चैत महिनासम्ममा  १७ अर्ब ८२ करोड विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाको लगानी गरेको छ । यसअवधिमा सरकारले विभिन्न आयोजना र ग्रामीण विद्युतीकरणका लागि प्राधिकरणलाई रु एक अर्ब ६३ करोड ऋण दिएको छ । सरकारले दिएको ऋण र आफ्नो स्रोतबाट यस अवधिमा १९ अर्ब ४५ करोड विकास बजेट खर्च भएको छ । यसअवधिमा वैदेशिक सहायतातर्फबाट रु १४ अर्ब ४३ करोड खर्च भएको छ । सरकारको बजेट सीमितताका कारण सरकारबाट लगानीका लागि पर्याप्त रकम पाउन सकिरहेका छैनौँ, यस्तो जटिल अवस्थामा संस्थाले कमाएको नाफाबाट विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरण, विद्युतीकरणतर्फका आयोजनामा प्राधिकरणले हरेक वर्ष अर्बौं रुपैयाँ लगानी गरिरहेको छ ।

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले आज बिहानलाई संसदीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ ।  कांग्रेसले शुक्रबार बिहान ८ः ३० बजे संसदीय दल कार्यसमितिको र बिहान ९ बजे संसदीय दलको बैठक बोलाएको हो । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने जानकारी दिएको छ । बैठकमा संसद्‍मा भएको तनाव र नयाँ रणनीतिक विषयमा छलफल हुने बताइएको छ । कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगिको छानबिनको माग गर्दै संसदीय छानबिन समिति बनाउन सरकार तयार नभएपछि संसद्को अवरोध जारी राखेको छ ।

कांग्रेसले भन्यो– 'सरकार रबिलाई जोगाउन लाग्यो, सदन चल्दैन'

काठमाडौं । सरकारले सदनको अवरोध खुलाउन प्रयास नगरेको  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आरोप लगाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को अवरोध खुलाउने प्रयास स्वरुप छलफल गरिरहेका बेला आज संसद्को अवरोध खोल्ने चर्चाकाबीच कांग्रेसले उक्त धारणा सार्वजनिक गरेको हो । सहकारीको रकम अपचलनमा गृहमन्त्रीको संंलग्नताबारे छानबिनका लागि सरकार तयार नभएको भन्दै कांग्रेसले संसद्को अवरोध जारी रहने बताएको हो।  नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले जो व्यक्तिमाथि छानबिन मागेको हो उसलाई जोगाउने गरी हुने छानबिनको अर्थ नहुने र कांग्रेसलाई स्वीकार्य पनि नहुने बताए। उनले सत्तापक्ष निर्लज्ज भएर प्रस्तुत भइरहेको छ भन्दै एउटा अमुक व्यक्तिलाई जोगाउने कुरा खुलेयाम जोगाउन लागेको समेत आरोप लगाए। आज संसद् खुलाउनका लागि डाकिएको बैठकमा सहकारीको रकम अपचलनमा गृहमन्त्रीको संलग्नतासहित छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने कांग्रेसले अडान राखेको थियो। सत्ता पक्षले भने कांग्रेसले भनेजस्तो व्यक्ति केन्द्रित भएर भने संसदीय समिति नबनाउने बताएको छ । आज भएको सहमति प्रयासमा यहि विषयमा कुरा नमिलेपछि संसद् सुचारु अनिश्चित भएको छ ।

ड्राइभिङ लाइसेन्स, पासपोर्ट लगायतको छपाइ नेपालमै गरिने

  काठमाडौं । सरकारले ड्राइभिङ लाइसेन्स, पासपोर्ट लगायतको छपाइ नेपालमै गर्ने नीति ल्याएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा आज सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपालमै अत्याधुनिक गुणस्तरीय सुरक्षण मुद्रणको व्यवस्था गरिने बताएका हुन्। 'अत्याधुनिक गुणस्तरीय सुरक्षण मुद्रणको व्यवस्था गरी अन्तःशुल्क स्टिकर, हुलाक टिकट, सवारी चालक अनुमतिपत्र, राहदानी जस्ता सुरक्षण मुद्रण स्वदेशमै हुने प्रबन्ध मिलाइनेछ,' नीति तथा कार्यक्रममा भनिएको छ । त्यस्तै हुलाक सेवालाई पुनर्संरचना गरी सूचना प्रविधिमैत्री बनाउँदै विद्युतीय व्यापारसँग आबद्धता गर्ने नीति पनि ल्याइएको छ ।

जसपाका तीन मन्त्रीको शपथ साँझ ६ बजे

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)बाट सरकारमा सहभागी हुने १ मन्त्री र दुई राज्यमन्त्रीले आजै शपथ लिने भएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ ६ बजे मन्त्रीको शपथको कार्यक्रम तय भएको हो। जसपाबाट प्रदीप यादव मन्त्री, रञ्जु झा र हसिना खानले राज्य मन्त्रीको शपथ लिन बुझिएको छ। आज विहान जसपा नेपाल सरकारबाट बाहिरिएपछि अशोक राई नेतृत्वको नवगठित जसपा सरकारमा सहभागी हुन लागेको हो।जसपा नेपालबाट वैशाख २२ मा विभाजित राई नेतृत्वको जसपाबाट १ जना मन्त्री पहिले नै सरकारमै छन्।

उपप्रधानमन्त्री यादवले दिए राजीनामा, सरकारबाट बाहिरियो जसपा नेपाल

काठमाडौँ ।उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन्। यादवले राजीनामा दिएपछि जसपा नेपाल सरकारबाट बाहिरिएको छ। उनले वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकार मै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएकोले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन्।

मानव तस्करीमा संलग्न व्यक्ति पक्राउ

काठमाडौं । मानव तस्करीमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कैलाली गौरीगंगा नगरपालिका २ घर भई ललितपुर, ललितपुर महानगरपालिका ७ झम्सिखेल बस्ने ४१ वर्षीय तेज राम चौधरीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर झम्सिखेलबाट पक्राउ गरेको हो ।  चौधरीले अमेरिका पठाइदिन्छु केही समय ब्राजिलमा गएर काम गर्नुपर्ने र फिलिपिन्स हुँदै जानु पर्छ भनि भन्दै ४ जना पीडितहरूबाट पटक पटक गरी जम्मा १ करोड १८ लाख ५९ हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ । साथै पीडितहरूलाई ब्राजिलको वर्किङ भिसामा लगाई श्रम स्वीकृति समेत निकाली फिलिपिन्स पुर्या एकोमा त्यहाँको अध्यागमनले नक्कली कागजात भनि फिर्ता पठाएको, पीडितहरू नेपाल फर्केपछि पुनः दिल्ली पुर्यााई होटलमा बन्धक बनाएको र पीडितहरूले ३९ लाख रूपैयाँ बुझाएपछि होटलबाट मुक्त भएको समेत खुल्न आएको प्रहरीको भनाई छ । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ । 

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं । बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ। बागमती प्रदेश मन्त्रिपरिषद बैठकले नेवाः (नेवारी) र तामाङ भाषालाई व्यवहारिकरुपमा सरकारी कामकाजको प्रयोगमा ल्याइएको अवसरमा आज प्रदेशमा सार्वजनिक बिदा दिने घोषणा गरिएको हो। वैशाख १२ गतेको निर्णयअनुसार आज बिदा दिने सन्दर्भमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेको थियो। काठमाडौँको वसन्तपुरमा आज एक समारोहको  आयोजना गरी प्रदेशभित्र सरकारी कामकाजको भाषाको रुपमा नेवारी र तामाङ भाषालाई  शुभारम्भ गर्ने प्रदेशका संस्कृति पर्यटन र सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले जानकारी दिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुवै भाषा सरकारी कार्यालयमा प्रयोगमा ल्याइने लिपिको कार्यान्वयन घोषणा कार्यक्रमको बिहान १० बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ।