‘दिगो उत्पादकत्व वृद्धि स्तरोन्नतिको पूर्वशर्त’

काठमाडौँ । नेपाललाई अल्पविकसित मुलुकबाट मध्यम आययुक्त विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्न कृषि उत्पादकत्व वृद्धि दोब्बरभन्दा बढीले बढाउनुपर्ने सुझाव आर्थिक क्षेत्रका जानकारहरुले दिएका छन् ।

यहाँस्थित बंगलादेशी राजदूतावास र रणनीतिक तथा सामाजिक–आर्थिक अनुसन्धान प्रतिष्ठान (आइएसएसआर)ले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको ‘अल्पविकसित राष्ट्र बंगलादेशको स्तरोन्नति प्रक्रिया : नेपाललाई शिक्षा’ विषयक कार्यशालामा उनीहरूले दिगो आर्थिक विकासका आधार तयार नभएसम्म नेपालको स्तरोन्नति अति कठिन हुने बताए ।

कृषि क्षेत्रको आधुनिकीकरण एवं व्यावसायिकीकरण, विमानस्थल, द्रुतमार्गजस्ता भौतिक पूर्वाधार निर्माण तथा सञ्चालन, पर्यटकीय महत्वका देशभरका क्षेत्रमा सुविधासम्पन्न होटल निर्माण तथा सञ्चालन, विशेष आर्थिक क्षेत्र सञ्चालन, सूचना तथा सञ्चार प्रविधिको अत्यधिक उपयोग, उत्पादन र सेवा क्षेत्रको विस्तार तथा तिनको दिगोपनाको सुनिश्चितता पनि स्तरोन्नतिका निम्ति अपरिहार्य भएको उनीहरुको कथन थियो ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सुशासन, प्रवद्र्धन, दिगो आर्थिक विकासबाट नै विकासशील राष्ट्रमा स्तरोन्नति हुने आधार भएका बताउँदै पर्यटन ऊर्जा उत्पादनका क्षेत्रबाट नै राष्ट्र अधिक लाभान्वित हुने बताउनुभयो । उहाँले बंगलादेशले गरेको प्रगति नेपालका निम्ति प्रेरणाको विषय भएको बताउँदै सार्कको सदस्य राष्ट्रका नाताले दुवै देशले अनुभव आदान प्रदान गरी विकास स्तरोन्नतिको लक्ष्य हासिल गर्न सक्ने बताउनुभयो ।

नेपालका लागि बंगलादेशका राजदूत मास्फी बिन्ते शाम्सले बंगलादेशको स्वतन्त्रता आन्दोलनमा नेपालबाट प्राप्त नैतिक एवं भौतिक सहयोगप्रति आभार व्यक्त गर्दै दुई देशबीचको सम्बन्ध शताब्दिऔँदेखि प्रगाढ रहेको बताउनुभयो ।

आफ्नो देशले अल्प विकसित मुलुकबाट स्तरोन्नतिमा हासिल गरेको उपलब्धिलाई ऐतिहासिक भन्दै उहाँले उच्च राजनीतिक नेतृत्वको प्रतिबद्धताका कारण त्यो सम्भव भएको बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा शंकर शर्माले व्यापार विस्तार, आम्दानीका स्रोतहरुमा दिगोपनाको सुनिश्चितता, भूकम्प, बाढीपहिरोजस्ता दैवी विपत्तिले पनि स्तरोन्नतिको लक्ष्य हासिलमा बाधा पु¥याउन सक्ने भएकाले हरेक पक्षलाई दृष्टिगत गरी कार्ययोजना बनाएर अघि बढ्न सकिने बताउनुभयो ।

संयुक्त राष्ट्रसंघका पूर्व उपमहासचिव ज्ञानचन्द्र आचार्यले अन्तर्राष्ट्रिय समुदायले अल्प विकसित मुलुकलाई उपलब्ध गराउने विकास सहायता समयमै प्रदान हुनुपर्ने तथा दिगो विकासका अन्य क्षेत्रमा नेपालले गम्भीर भएर काम गर्नुपर्ने सुझाव दिनुभयो ।

आइएसएसआरका कायममुकायम अध्यक्ष प्रा गोविन्द नेपालको सभापतित्वमा भएको उक्त कार्यशालामा सार्क मुलुकका कूटनीतिक नियोगका पदाधिकारी तथा पूर्व राजदूतहरुको उपस्थिति थियो ।

गत मार्चमा संयुक्त राष्ट्रसंघले बंगलादेशलाई अल्प विकसित राष्ट्रबाट स्तरोन्नति भएको सूचना प्रदान गरेको थियो । रासस

शिक्षासहित पाँचवटा समितिका बैठक बस्दै, यस्ता छन् छलफलका विषय

काठमाडौँ । संघीय संसद अन्तर्गत आज पाँचवटा समितिका बैठक बस्दैछन्। आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, विकास, आर्थिक मामिला तथा सुशासन, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्न लागेका हुन्। शिक्षा, स्वस्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ। आजको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची छ। यस्तै, उद्योग तथ वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक साढे ११ बजे सिंहदरबारमा बस्ने छ। बैठकमा सूर्ति, खैनी तथा गुट्खा उद्योगको पुँजी तथा क्षमता वृद्धिको सम्बन्धमा छलफल हुनेछ । यस्तै, झापा, सुनसरी र मोरङको स्थलगत अनुगमनको प्रतिवेदनमाथि छलफल, चिनी उद्योग तथा उखु किसानहरुका समस्या समाधान सुझाव उपसमितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ। यसैगरी, स्पन्ज आइरन, विलेट्सको भन्सार महशुल, अन्तःशुल्क तथा उद्योगहरुको अध्ययन अनुगमन उपसमितिको प्रारम्भिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ। यस्तै, बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा समितिको आर्थिक वर्ष २०८०–०८१ को वार्षिक कार्ययोजनाको प्रगति समीक्षा तथा समितिको वार्षिक प्रतिवेदन तयारी सम्बन्धमा छलफल हुनेछ। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक साढे ११ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा समितिको आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदनका सम्बन्धमा छलफल हुनेछ। महिला तथा सामाजिक मामिला समितिको बैठक मध्याह्‍न १२ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ। बैठकमा राज्यको मूल प्रवाहमा आदिवासी जनजाति समुदायको समावेशिताको अवस्था र यस सम्बन्धमा आदिवासी जनजाति र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको भूमिका बारे छलफल हुनेछ।

जलवायु परिवर्तनबाट नेपालले भोग्नुपरेका समस्यालाई विश्वब्यापी एजेण्डा बनाउनुपर्छ : मन्त्री शर्मा

काठमाडौं।सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जलवायु परिवर्तनको असरबाट नेपालले भोग्नुपरेका समस्यालाई विश्वब्यापी एजेण्डा बनाउन सञ्चारमाध्यमले भूमिका निर्वाह गर्नुपर्ने बताएकी छन् ।  विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर सञ्चारिका समूहले नेपाली सञ्चारमाध्यममा वातावरण संरक्षणका विषय कसरी उठाउन सकिन्छ र यसको महिलासँग कस्तो अन्तरसम्बन्ध रहन्छ भन्ने विषयमा आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेकी हुन् । ‘जलवायु परिवर्तन ठूलो चुनौतीको रुपमा देखा परेको छ। यसले हिमाली क्षेत्रलाई सबैभन्दा बढी असर पार्दै गएको छ। नेपाल जलवायु परिवर्तनको हिसाबले उच्च जोखिमयुक्त देश हो। हिमनदीहरू वर्षेनि खुम्चिँदै गएको र हिमताल फुटेर बाढी आउने सम्भावना बढ्दै गएको देखिन्छ’– मन्त्री शर्माले भने– ‘जलवायु परिवर्तनका कारण अतिवृष्टि र अनावृष्टि हुँदा प्राकृतिक विपदका घटना वर्षेनी बढ्दै गएका छन्, जसबाट जनधनको क्षति पनि बढिरहेको छ । यो अवस्थामाप्रति सबै पक्ष गम्भीर र संवेदनशील हुने बेला आएको छ।’ नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनले ल्याएको संकटका कारण नेपालले मात्र होइन, यहाँबाट उत्पत्ति हुने पानीको स्रोतमा आधारित तल्लो तटीय क्षेत्रका करोडौं मानिसका लागि चुनौती थपिएको उल्लेख गर्दै उनले नेपालमा जलवायु परिवर्तनले ल्याउने संकटको पहिलो मार नेपालले खेप्नु परे पनि यो सिङ्गो तटीय क्षेत्रको साझा समस्या हो भन्ने तथ्यलाई स्थापित गरेर यसविरुद्धको लडाइँलाई विश्वब्यापी एजेण्डाकै रुपमा स्थापित गर्न नेपालसहित विश्वभरिका सञ्चारमाध्यमहरुले भूमिका निर्वाह गर्नुपर्ने उनले बताइन्। यसका लागि नेपाल सरकारले विश्व समुदायसँग निरन्तर आह्वान गर्दै आएको र गत मंसिरमा यूएईको दुबईमा भएको संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्बन्धी २८ औं सम्मेलनमा भाग लिएर प्रधानमन्त्रीले नेपालको चासो र चिन्ता विश्व समुदायसमक्ष हकदाबीकै रुपमा प्रस्तुत पनि उनले स्मरण् गराइन्। ‘जलवायु परिवर्तनका लागि कार्बन उत्पादनमा नेपालको योगदान छैन तर अन्य मुलुकहरूले गरेको कार्बन उत्सर्जनका कारणले गर्दा जलवायु परिवर्तनको समस्याबाट सबैभन्दा बढी पीडित नेपाल बन्नुपरिरहेको छ’– मन्त्री शर्माले भनिन्– ‘अन्य औद्योगिक मुलुकका कारण सिर्जित समस्याबाट हामीले पीडा भोग्ने र त्यसको कुनै क्षतिपूर्ति नपाउने अवस्थाको अन्त्य हुनुपर्छ भनेर नेपाले विश्व मञ्चमा दृढतापूर्वक आवाज उठाएको छ।’ जलवायु परिवर्तनका प्रतिकूल असरहरूबाट बच्न तथा त्यसको सामना गर्न स्थापना गरिएका विभिन्न कोषबाट नेपाललगायत कम विकसित मुलुकहरूले लाभ पाउनुपर्ने उललेख गर्दै उनले भनिन्– ‘यो हाम्रो याचना होइन, न्यायसंगत हक दाबी हो भनेर सरकारले प्रष्टताका साथ अघि सारेको छ। अब हामीले आर्थिक कूटनीतिमा जलवायु कूटनीतिलाई महत्वपूर्ण अङ्गको रुपमा स्थापित गरेर लैजानुपर्ने छ, त्यसका लागि आवश्यक वातावरण बनाउन पनि सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहनेछ।’ जलवायु परिवर्तनले सिर्जना गरेका संकटबाट बच्न खासगरी विपद्को सामना गर्न सञ्चारमाध्यहरुले सूचना र शिक्षा दुबै क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने उल्लेख गदै उनले विपद् पूर्वका सूचना प्रवाह गर्नेदेखि जोखिम विश्लेषण लगायतका कार्यमा सञ्चारमाध्यमहरुले भूमिका बढाउनुपर्ने बेला आएको छ। जोखिमको ज्ञान र जोखिमको अनुगमन तथा तथ्यांक विश्लेषण, जोखिमको सूचना प्रवाह, क्षमता अभिवृद्धि र प्रतिकार्यमा केन्द्रित भएर आम नागरिकलाई सचेत बनाउने कार्यमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने बताइन्।  यसका लागि सञ्चारमाध्यमहरुलाई प्रोत्साहन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री शर्माले सरकारले जलवायु परिवर्नतसम्बन्धी राष्ट्रिय नीति तर्जुमा गरेको र यसकै आधारमा रहेर हामीले समग्र प्रचारप्रचारको नीति र आवश्यक संयन्त्र बनाउनुपर्ने आवश्यकता रहेको बताइन्। जलवायु परिवर्तनले सिर्जना गर्ने सामाजिक विभेदलाई न्यून गर्न पनि आम सञ्चार क्षेत्रको ध्यान जाने विश्वास व्यक्त गरिन्।

निर्मल लामा असल राजनीतिज्ञ हुनुहुन्थ्योः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट नेता निर्मल लामा एक असल राजनीतिज्ञ भएको बताएका छन् । बिहीबार बिहान माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित २४ औँ स्मृति दिवस कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । कार्यक्रममा प्रधानमन्त्रीले भने ‘‘निर्मल लामा नेपाली कम्युनिस्ट आन्दोलनको एक प्रेरणादायी व्यक्तित्व हो। मुख्यतः २०३३०३४ सालतिर नेपालमा जनवादी क्रान्तिको बहसका सन्दर्भमा उहाँले प्रस्तुत गर्नुभएको विचार महत्वपूर्ण छन्। कम्युनिस्ट आन्दोलनको विकास र रणनीति एवं कार्यदिशामा उहाँ आदर्श नेता हुनुहुन्थ्यो।’’ प्रधानमन्त्रीले निर्मल लामाको जीवनबाट नेपालका कम्युनिस्ट नेताहरूले प्रेरणा लिएको समेत बताए । उनले भने, ‘‘उहाँ पारदर्शी नेता हुनुहुन्थ्यो, खुला हुनुहुन्थ्यो, आफ्नो निष्ठामा दृढ र गरिखाने वर्गप्रति प्रतिवद्ध हुनुहुन्थ्यो। राम्रो विचार र स्पष्टवक्ता नेता हुनुहुन्थ्यो। समग्रमा उहाँ एक असल राजनीतिज्ञ हुनुहुन्थ्यो।’’ कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ लगायतका नेताहरूले समेत सम्बोधन गरेका थिए ।

विद्युत् नियमन आयोगको अध्यक्ष र तीन सदस्यमा आवेदन आह्वान

काठमाडौँ। विद्युत् नियमन आयोगमा रिक्त रहेको अध्यक्ष र तीन सदस्यमा आवेदन आह्वान गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आज एक सूचना जारी गर्दै  विद्युत् नियमन आयोग ऐन, २०७४ को दफा ५ बमोजिम रिक्त अध्यक्ष एक र तीन सदस्य (एक जना महिलासहित) पदमा नियुक्तिको लागि आवेदन मागिएको हो।  आवश्यक न्यूनतम योग्यता र अनुभव पूरा भएका इच्छुक उम्मेदवारहरूले उक्त ऐनको दफा ७ को उपदफा (१) बमोजिम यो सूचना प्रकाशन भएको मितिले १५  दिनभित्र अर्थात् आगामी जेठ ९ गते कार्यालय समयभित्र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रशासन महाशाखामा आवेदन पेस गर्न आग्रह गरिएको छ।  आवेदकले रणनीति तथा कार्ययोजना समेत पेस गर्नुपर्ने सूचनामा उल्लेख छ। रणनीति तथा कार्ययोजनाको ढाँचा र यस सम्बन्धी थप जानकारी सिफारिस समितिको सचिवालयबाट प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ।     

प्रहरी महानिरीक्षक कुँवर फ्रान्स प्रस्थान

काठमाडौँ । नेसनल सेन्ट्रल ब्युरो (एनसीबी)काठमाडौं नेपालका प्रमुख प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर फ्रान्स प्रस्थान गरेका छन् । उनी इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा संचालन हुने १९औं ‘हेड अफ एनसिबी कन्फरेन्स’मा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् । महानिरीक्षक कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकाल लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका छन् । हेड अफ एनसिबी कन्फरेन्समा इन्टरपोलका सम्पूर्ण १९६ सदस्य राष्ट्रहरूका एनसीबी प्रमुखहरू, इन्टरपोल महासचिव तथा पदाधिकारी बिच समन्वय एवम् सहकार्यको विषयहरूमा छलफल हुनेछ। साथै सहभागिताको क्रममा समसामयिक घटना, अपराध अनुसन्धानको विषय तथा सम्बद्ध प्रहरी कर्मचारीको क्षमता अभिवृद्धिका विषयहरूमा छलफलको लागि मित्रराष्ट्रहरू भारत, चीन, जापान र मलेसियाका प्रतिनिधिहरूसँग द्विपक्षीय बैठक गर्ने कार्यक्रम समेत रहेको छ।  हरेक वर्ष हुने हेड अफ एनसिबी कन्फरेन्स यस वर्ष वैशाख ११ देखि १३ गते सम्म फ्रान्सको लियोनमा सम्पन्न हुनेछ। कन्फरेन्समा प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंह समेत सहभागी हुनेछन्। प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन्।

परासीको पाल्हीनन्दनमा आगलागी हुँदा जले १० घर

परासी । पश्चिमनवलपरासीको पडरी गाउँमा आगलागी भएको छ । पाल्हीनन्दन गाउँपालिका–६ स्थित पडरी गाउँमा आगलागी हुँदा १० घर जलेर नष्ट भएका हुन् । आगलागीमा ८ वटा बाख्रा पनि मरेको परासीका डिएसपी रेशम बोहोराले जानकारी दिएका छन्।आगलागीबाट मानवीय क्षति भने नभएको र अन्य क्षतिको एकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । दिउँसो ४ बजेतिर लागेको आगो प्रहरी, नेपाली सेना, स्थानीय, रामग्राम र बर्दघाट नगरपालिकाको दमकलको सहयोगमा साँझ पौने ६ बजेतिर नियन्त्रणमा आएको थियो । गर्मी लागेसँगै पछिल्लो समय आगलागीका घटना बढेको छ ।

पेमेन्ट गेटवे प्रकरण : सचिव मधु मरासिनीलाई सफाइ

काठमाडौं। पेमेन्ट गेटवे प्रकरणमा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीले विशेष अदालतबाट सफाइ पाएका छन् ।  शुक्रबार अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले सचिव मरासिनीसहित ८ जनालाई सफाइ दिएको हो। अदालतले उक्त प्रकरणमा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेललाई दोषी ठहर गरेको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोजमा सचिव मरासिनीसहित ९ जनामाथि भ्रष्टाचार मुद्दा चलाएको थियो । अख्तियारले मरासिनीसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशकहरू सञ्जय शर्मा, प्रणिता उपाध्याय र सुनिल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक तथा हालका उपनिर्देशक सफल श्रेष्ठलाई समेत मुद्दा चलाएको थियो । त्यस्तै रमेश पोखरेल, रामबहादुर बुढा, रामशरण गायक, नीमबहादुर ओलीविरुद्ध मुद्दा दायर गरेको थियो । अख्तियारले २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरेको थियो ।

एसीसी प्रिमियर कप : नेपालको लगातार दोस्रो जित

काठमाडौं । नेपालले एसीसी प्रिमियर कपमा लगातार दोस्रो जित हात पारेको छ । शनिबार सम्पन्न खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो । नेपालले दिएको २११ रनको लक्ष्य पछाएको कतारले २० ओभरमा ९ विकेट गुमाउँदै १७८ रन बनायो। यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै अविजित ६४ रन बनाए। दिपेन्द्रले १९ बलमा अर्धशतक पुरा गरे । दिपेन्द्रले अन्तिम ओभरमा ६ बलमा ६ छक्का प्रहार गरे।  त्यस्तै असिफ सेखले ५२ रन बनाए भने कुशल मल्लले ३५, कप्तान रोहित पौडेलले १८, कुशल भुर्तेलले १२ सन्दीप जोराले ७ र गुलशन झाले ५ रन बनाए। त्यसैगरी कतारका बलर हिमांशु राथोड र मुसावर शाहले ३/३ विकेट लिए। यो जितपछि समुह ए मा रहेको नेपालको २ खेलमा ४ अंक जोडेको छ ।अब अर्को खेल नेपालले आगामी सोमबार हङकङसँग खेल्ने छ ।

नेपाली सेनाले ‘शान्ति सैनिकहरूको देश’का रूपमा नेपाललाई विश्वसामु परिचित गराएको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई ‘शान्ति सैनिकहरूको देश’ का रूपमा विश्वसामु परिचित गराउन नेपाली सेनाले महत्त्वपूर्ण योगदान गरेको बताएका छन्। स्नातक अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विशिष्ट साङ्गठनिक क्षमताका आधारमा नेपाली शान्ति सैनिकहरूले विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकहरूमा शान्तिदूतका रूपमा खटिएर विश्वशान्ति स्थापनार्थ महत्त्वपूर्ण योगदान गरेको बताए।  “देशभित्र विपद् व्यवस्थापन, पर्यावरण संरक्षण, विकास निर्माणका कार्यहरू एवं सङ्कटको समयमा राष्ट्रिय स्वार्थ र राष्ट्रिय हितहरूको संरक्षण गर्ने कार्यमा नेपाली सेनाले पुर्‍याउँदै आएको योगदान महत्त्वपूर्ण छ,” प्रधानमन्त्री प्रचण्डले भने, “सैनिकहरूले विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकहरूमा शान्तिदूतका रूपमा खटिएर विश्वशान्ति स्थापनार्थ पुर्‍याएको योगदानले नेपाललाई ‘शान्ति सैनिकहरूको देश’ को रूपमा विश्वसामु परिचित गराएको छ ।” सन् २०२२ नोभेम्बर ३० बाट शान्ति सैनिक खटाउने राष्ट्रहरूको सूचीमा नेपालले पहिलो स्थान हासिल गर्न सफल हुनुलाई आफूले शान्ति स्थापना कार्यमा थप महत्त्वपूर्ण कोशेढुङ्गाको रूपमा लिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले उक्त कार्य ऐतिहासिक सफलता भएको उल्लेख गरे। आफ्नो जिम्मेवारीलाई उत्कृष्ट र व्यावसायिक ढङ्गबाट पूरा गर्न सफल बहुआयामिक, सबल तथा सक्षम सङ्गठनको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत स्थापित नेपाली सेनाको योगदानलाई सदैव स्मरण गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले सङ्गठनको अधिकृतको रूपमा आयुक्त भई राष्ट्र र राष्ट्रवासीको सेवामा तल्लीन रहन नवआयुक्त अधिकृतहरूलाई सदासर्वदा ऊर्जा र हौसला प्राप्त भइरहोस् भन्ने कामना व्यक्त गरे। बहुध्रुवमा विभक्त अन्तर्राष्ट्रिय परिवेशको प्रत्यक्ष वा परोक्ष असर राष्ट्रिय सुरक्षामा समेत परिरहेको परिस्थितिमा उल्लेख गर्दै उनले नेपाली सेनाले राष्ट्रिय हित तथा स्वार्थहरूको संरक्षण र संवर्द्धन गर्न समयसापेक्ष सुरक्षा नीतिका आधारमा अर्थपूर्ण परिणाम हासिल गर्न सक्ने विश्वास व्यक्त गरे।  “सुरक्षा र विकास एकअर्काका परिपूरक हुन्,” प्रधानमन्त्री प्रचण्डले भने, “समुन्नतिको राष्ट्रिय अभिलाषा पूरा गर्न प्रभावकारी सुरक्षा व्यवस्था कायम गर्न अपरिहार्य हुन्छ, जुन कार्यभार नेपाली सेनाले पूरा गर्दै आएको छ ।” नेपालका सामु बहुआयामिक द्वन्द्वहरू, जलवायु परिवर्तनका असरहरू तथा विभिन्न महामारीहरूजस्ता जटिल सुरक्षा चुनौती र विपद्का जोखिमहरू रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्र र नागरिकको सुरक्षामा सम्भावित चुनौतीको पूर्वानुमान गर्न सक्ने तथा राष्ट्रिय चुनौतीको सही आंकलन गरी सम्भावित खतराबाट देशलाई सुरक्षित राख्ने नेतृत्व अपरिहार्य रहेको बताए। उनले वर्तमानमा शिक्षार्थीको सङ्ख्या बढ्दै गए पनि तालिम इलाका सीमित रहेकाले पनौतीमा यसको उपकेन्द्र निर्माण गर्ने सङ्गठनको प्रस्तावप्रति समर्थन गर्दै सरकारको तर्फबाट आवश्यक सहयोग हुने जानकारी गराए।

जीप दुर्घटना हुँदा पाँचजना घाइते

काठमाडौं । दैलेखको गैरागाउँमा जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।  महाबु गाउँपालिका–२, ऐराडीदेखि दैलेख सदरमुकाम जाँदै गरेको कर्णाली प्रदेश ००१ च ०३२१ नम्बरको जीप आज (आइतबार) बिहान दुर्घटनामा परेको थियो ।  दुर्घटनामा चालकसहित पाँचजना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । 

सीआईबीले सभामुखलाई पठायो विनोद चौधरीमाथि अनुसन्धान भइरहेको पत्र

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सभामुखलाई पत्र लेखी नेपाली कांग्रेसका सांसद विनोद चौधरीमाथि आफूहरुले अनुसन्धान गरिरहेको जानकारी गराएको छ । सीआईबीले सभाामुख देवराज घिमिरेलाई पठाएको पत्रमा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा सांसद चौधरीमाथि अनुसन्धान भइरहेको उल्लेख गरिएको छ । ‘‘बाँसबारी छाला जुत्ता कारखाना लि।को नाममा दर्ता कायम रहेको का.जि.का.म.पा.३ स्थित १०–०–०–० (दस रोपनी)जग्गा गैरकानुनी तवरबाट च्याम्पियन फुटवेयर लि. को नाममा स्वामित्व हस्तान्तरण गरेको सरकारी जग्गा किर्ते गरी ठगी गरेको मुद्दामा च्याम्पियन फुटवेयर लि। का संस्थापक शेयर धनी तथा तत्कालिन संचालक समितिका सदस्य संघीय संसदका माननीय सदस्य श्री विनोद कुमार चौधरीका सम्बन्धमा यस ब्यूरोबाट अनुसन्धान भइरहेको व्यहोरा जानकारीको लागि सादर अनुरोध गरिएको छ’, सीआईबीको पत्रमा उल्लेख छ । यसअघि १८ माघमा सीआईबीले बाँसबारी छालाजुत्ता प्रकरणको अनुसन्धानका लागि सीजी चाँदबाग रेसिडेन्सीका अध्यक्ष सञ्जय ठाकुर, सञ्चालक अरुण चौधरी र बाँसबारी छालाजुत्ता कारखानाका तत्कालिन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पक्राउ गरेको थियो । उनीहरु अदालतको आदेशमा २४ माघमा रिहा भएका थिए । बाँसबारी छालाजुत्ता कारखाना घाटामा गएको भन्दै त्यसको केही जग्गा तत्कालीन च्याम्पियन फुटवेयर कम्पनीलाई बिक्री गरिएको थियो । पछि उक्त कम्पनी बन्द भएपछि जग्गा सीजी चाँदबाग रेसिडेन्सीको नाममा आएको थियो । च्याम्पियन फुटवेयरमा सांसद विनोद चौधरीको पनि सेयर र

सरकार फेरिने बित्तिकै मिटरब्याज पीडितको सुनुवाइ भयोः ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकार परिवर्तन हुने बित्तिकै मिटरब्याज पीडितहरूको माग सुनुवाइ भएको बताएका छन्। संसदीय दलको मंगलबार बसेको बैठकमा उनले मिटरब्याज पीडितको समस्या समाधान भएको बताए ।  ‘आरती साहको परिवारको पीडा सुन्दैन सरकार। बरू उनलाई दुव्यर्वहार गर्छ, यस्तो स्थितिमा देश पुगेको थियो। देशलाई सरकार परिवर्तन हुनेबित्तिकै कति हप्ताको यात्रा पूरा गरेर मेची र महाकालीबाट काठमाडौं आएका मिटरब्याज पीडितहरूको द्वन्द्व सरकारले सुनिरहेको थिएन’ उनले भने, ‘सरकार परिवर्तन हुनेबित्तिकै त्यो समस्या समाधान भयो। चार बुँदे सहमति भयो। उहाँहरू घर फर्किनुभयो,’  उनले सरकारले गाडीको बन्दोबस्त गरेर घर पठायो होला भन्ने विश्वास व्यक्त गरेका छन् । उनले सरकार गतिहीन ढंगले चलेको, आर्थिक वृद्धिदर हासिल गर्न नसकेकाले परिवर्तन गर्नुपरेको बताए । ‘दुनियाँले देख्ने–बुझ्ने गरेर एमालेले अर्थमन्त्रालयको नेतृत्व लिन्छ भन्दा सेयर बजार दुईपल्ट, तीनपल्ट, एकै दिनमा ब्रेक लगाउनुपर्‍यो । भोलिपल्ट एमालेले नलिने भने भने स्वाट्टै झरेर माइनसमा जाने अवस्था देखियो,’ उनले भने।  अध्यक्ष ओलीले भोलि हुने प्रधानमन्त्रीको विश्वासका लागि संसदमा हुने मतदान प्रक्रियामा दिल खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिन पार्टीका सांसदहरुलाई निर्दशन पनि दिएका छन् । अध्यक्ष ओलीले प्रधानमन्त्रीले अहिले राम्रो काम गरेको बताए । ‘प्रधानमन्त्रीले पहिले एकदम नराम्रो काम गरेको हुनसक्छ, तर अहिले एकदम राम्रो काम गर्नुभयो’, एकडेढ वर्ष आफ्नो पदका लागि कुनै खतरा नभए पनि गठबन्धन बदल्ने निर्णय गरेको भन्दै उनले भने, ‘अनुचित गठबन्धन छोडेर उचित गठबन्धन बनाउन पहलकदमी लिनुभयो ।’ प्रधानमन्त्रीले विश्वासको मत नपाए देश दुर्घटनामा जाने उनले बताए ।उनले भने,  ‘बेष्ट अप्सन हो कि होइन भन्ने छोडिदिऊँ, यतिबेला अर्को कुनै अप्सन छैन । 

मन्त्री चौधरीको अमेरिका भ्रमण रद्व, सचिवको टोली प्रस्थान

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीको अमेरिका भ्रमण रद्व भएको छ । भ्रमणका लागि यही फागुन २४ मा बसेको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले स्वीकृति दिए पनि मन्त्री चौधरीको भ्रमण  स्थगित भएको हो । सोमबार र मंगलबार संयुक्त राष्ट्र संघको आयोजनामा न्युयोर्कमा हुने ‘कमिसन अन दि स्टाटस अफ वुमनको ६८ ओैं सत्रमा भाग लिन मन्त्री चौधरी जाने कार्यक्रम तय भएको थियो । संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी हुने बारे अघिल्लो सरकारको मन्त्रालयबाट नै तय भएको थियो । प्रधानमन्त्रीले छिट्टै विश्वासको मत लिने तयारी गरेकोले पनि उनको भ्रमण रोकिएको बताइएको छ । मन्त्रि चौधरीले मन्त्रालयको कामका बारेमा अध्ययन गर्नका लागि पनि भ्रमणमा नजान खोजेको स्रोतले बताएको छ । मन्त्री नजाने भएपछि उक्त कार्यक्रमका लागि मन्त्रालयका सचिव सुमनराज अर्यालको नेतृत्वको टोली न्युयोर्क प्रस्थान गरेको छ ।

भक्ती सागर गीतिएल्बम सार्वजनिक

काठमाडौं । विजया दशमी २०८० तथा दशैंको अवसर पारेर ओएसनेपालको आयोजनामा ओएसनेपालको प्रस्तुतिमा रहेको भजनको गीतिएल्वम भक्ति सागर राजधानीमा एक भव्य समारोहको आयोजना गरि सार्वजनिक गरिएको छ । विश्व कृतिमानी वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन अमर को रचनामा रहेको उनको यो तेत्तीस औं कृति हो भने यस भक्ति सागर (गीतिएल्वम) भजनमा चार वटा भजनहरू जय गणेश, दुर्गे भवानी, हे राम राधे श्याम, हरे राम भजनहरू समावेश रहेको छन् । स्वयम् रचनाकार सुरेन्द्र महर्जनकै स्वर यस गीतिएल्बमभित्र रहेको छ ।एल्बमभित्र रहेको सम्पूर्ण भजनहरूमा वरिष्ठ संगीतकार राम कार्कीको एकल संगीत र एरेन्ज रहेको छ । एल्बम सार्वजनिक समारोहमा सयौं जनाको जनाको सहभागिता रहेको थियो । ओएसनेपालको तर्फबाट विवेक कार्कीले कार्यक्रमको सभापतित्व ग्रहण गरिएको थियो । उक्त कार्यक्रममा दिनेश डि.सि, चर्चित एवं विश्व कृतिमानी संगीतकार सन्तोष श्रेष्ठ, गायक शिव परियार, गायक रामकृष्ण ढकाल, एच बि ताम्राकार, अरुण देव जोशी, बब्लु गुप्ता नेपाल, राजेन्द्र ताम्राकार, पदम सुनार, हरि ढकाल, प्रभा शर्मा लगायत अथिति रहेका थिए । दशैंको शुभ अवसर पारेर भजन सार्वजनिक गर्न पाउँदा खुशी लागेको ओएसनेपालको तर्फबाट सुमन सापकोटाले जानकारी दिए ।

अर्थतन्त्रकाे आधा कथा मात्रै वर्णन भयाे, नेपाली अर्थतन्त्र ३.७ प्रतिशत बढ्छ : विश्व बैंक

  काठमाडौं । नेपालको विदेशी मुद्रा सञ्चितिको आधारमा मात्र संकटको अनुमान गर्न सही नहुने विश्व बैंकले बताएको छ। विश्व बैंककी नेपाल मामिला अर्थविद एलिस ब्रोक्सले विदेशी मुद्रा सञ्चितिलाई लिएर पछिल्लो समय नेपालमा बनेको अर्थतन्त्रसम्बन्धी धारणाले कथाको आधा भागको मात्रै वर्णन गर्ने बताएकी छन् । उनले त्यही कारण विदेशी पैसाको सञ्चितिलाई मात्र हेरेर धारणा बनाउन नहुने बताएकी छन् । ब्रोक्सले सार्वजनिक ऋण निकै कम रहेकाले नेपाललाई यसको लाभ रहेको दोहोर्‍याइन्। नेपालको यस्तो ऋण चालु आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को ४३.१ प्रतिशतसम्म पुग्ने विश्व बैंकको प्रक्षेपण छ। आगामी आर्थिक वर्षमा भने यो ४४.५ प्रतिशतसम्म रहने अनुमान गरिएको हो। अन्य मुलुकहरूमा जस्तो नेपालको सार्वजनिक ऋणमा बढी ब्याज तिर्नुपर्ने दीर्घकालीन व्यावसायिक ऋण नभएकाले पनि डराउने अवस्था नरहेको ब्रोक्सले बताइन्। उनले पछिल्लो समय औद्योगिक आयातमा वृद्धि भइरहेको र यो अर्थतन्त्रका लागि राम्रो हुने समेत बताइन्। विश्व बैंकले राष्ट्र बैंकले हाल आयात घटाउन यससँग सम्बन्धित कर्जामा गरिएको कडाइ अल्पकालीन उपाय भए पनि यो व्यवस्था कायम रहने निश्चित समय तय भने गरिनुपर्ने बताएको छ। त्यसैले दीर्घकालमा भने प्रत्यक्ष वैदेशिक लगानी बढाउनेमा नेपालले ध्यान दिनुपर्ने पनि उसले भनेको छ। विश्व बैंकले बैंकिङ क्षेत्रमा निक्षेप स्रोतमा सुधार नहुँदासम्म कर्जा प्रवाहको गति केही सुस्त बनाउन भने आग्रह गरेको छ। घट्यो यसअघिको प्रक्षेपण आर्थिक वृद्धि प्रक्षेपण विश्व बैंकले नेपाली अर्थतन्त्र ३.७ प्रतिशत बढ्ने संशोधित प्रक्षेपण गरेको छ। पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको संख्यामा भइरहेको वृद्धि र पर्यटक आउने क्रममा भइरहेको सुधारले यो दरमा आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको हो। यसअघि विश्व बैंकले ३.९ प्रतिशतसम्म आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो। सरकारले मध्यावधि समीक्षाबाट बजेटको आकार घटाए पनि ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य संशोधन गरेको छैन। विश्व बैंकले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा आगामी आर्थिक वर्षमा अर्थतन्त्र ४.१ प्रतिशत र त्यसपछिको वर्षमा ५.८ प्रतिशतसम्म वृद्धि हुने प्रक्षेपण समेत गरेको छ। मूल्यवृद्धिले गति समात्दै यस आर्थिक वर्षको मध्यसम्ममा भने महँगी औसत ५ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षमा सरकारी लक्ष्यभन्दा आधाले कम भएको मूल्यवृद्धि दर यसपटक भने बढ्दो क्रममा छ। गत वर्ष औसत ७ प्रतिशतको लक्ष्य लिएकोमा ३.६० कायम भएको थियो। यसपटक भने ६.५ को सरकारी लक्ष्य छ। गैर खाद्यवस्तुमा भइरहेको मूल्य वृद्धिले समग्रमा महँगी बढाइरहेको विश्व बैंकको भनाइ छ। यद्यपि सरकारी नीतिले महँगी कम गर्न सहयोग पुगिरहेको विश्व बैंकले उल्लेख गरेको छ। सरकारले १५० देखि २ सय ५० किलोवाटसम्म विद्युत प्रयोग गर्ने घरपरिवारलाई मासिक शुल्क घटाएको र २० किलोवाटसम्म विद्युत् प्रयोग गर्नेलाई महशुल छुट दिइएको छ। त्यस्तै आयल निगमबाट बिक्री हुने ग्यासको मूल्य लागतभन्दा कममा बिक्री भइरहेकाले पनि महँगी दर कम गर्न सहयोग पुगिरहेको हो। चालु आर्थिक वर्षको मध्यसम्ममा वस्तु आयातमा भएको वृद्धि र रेमिट्यान्स भित्रने दरमा भएको कमीले मुलुकको चालु खाता (सेवा तथा वस्तु बिक्री लगायत थप केही माध्यमबाट हुने आम्दानी र यसको खरिदबाट हुने खर्चको खाता) घाटा बढ्दै गएको छ। यस्तो घाटा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को करिब ८ प्रतिशतसम्म पुगेको छ। जबकि गत वर्ष यस्तो घाटा अनुपात १.२ प्रतिशत थियो। चार सय ५६ मेगावाटको अप्पर तामाकोशी हाइड्रोसहित कुल ५ सय ९८ मेगावाट विद्युत् प्रसारण लाइनमा जोडिएकाले औद्योगिक उत्पादनमा समेत वृद्धि हुने अनुमान छ। चालु आर्थिक वर्षमा मुलुकभित्रैकै व्यवसायीहरूबाट प्रवर्द्धित नयाँ व्यवसाय दर्ता संख्या १ सय ५४ ले बढेको छ। यो हालसम्मकै उच्च भएको विश्व बैंकले उल्लेख गरेको छ। तर विदेशी लगानीमा खुल्ने व्यवसाय भने इतिहासकै कम रहेको प्रतिवेदनमा उल्लेख छ। गत आर्थिक वर्षमा कृषि क्षेत्रमा २.७ प्रतिशत, सेवा क्षेत्र १.६ प्रतिशत र विद्युत उपलब्धताले औद्योगिक क्षेत्र ०.९ प्रतिशतले बढेको विश्व बैंकको प्रक्षेपण छ।