प्रतिनिधि सभा बैठक जारी (प्रत्यक्ष प्रशारण)

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक जारी छ । बैठक बिहान ११ बजे देखि संसदभवन नयाँ वानेश्वरमा जारी छ । वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची छ। 

बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ। 

यता उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले विमस्टेक बडापत्रको प्रावधानमाथि सदनमा छलफल र अनुमोदनका लागि बैठकमा प्रस्ताव गर्नेछन्। 

त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले राष्ट्रियसभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । अहिले जारी बैठकमा शून्य समयमा सांसदहरुले धारणा राख्ने क्रम सकिएर दलिय आधारमा धारणा राखिरहेका छन् ।

कुसल र सन्दीपको अर्धशतकमा नेपालले पिएनजीलाई दियो १९९ रनको चुनौती

काठमाडौं । त्रिकोणात्मक टि-२० सिरिज अन्तर्गत मंगलबार भएको खेलमा नेपालले पिएनजीलाई १९९ रनको चुनौती दिएको छ । हङकङको मोङ कोक मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ६ विकेटको क्षतिमा १९८ रन बनाएको हो । नेपालका लागि ओपनर कुसल भुर्तेल र सन्दीप जोराले अर्धशतक बनाए । भुर्तेलले ३३ बल खेल्दै चार चौका र तीन छक्काको मद्दतमा अर्धशतक बनाएका हुन् । भुर्तेल ३९ बल खेल्दै ५९ रनमा आउट भए । जोराले २१ बल खेल्दै तीन चौका र तीन छक्काको मद्तमा अर्धशतक बनाए । २६ बल खेलेका जोरा चार छक्का र तीन चौका प्रहार गर्दै ५६ रन बनाएर आउट भए । नेपालका लागि अर्का ओपनर विनोद भण्डारीले २२ बल खेल्दै २७ रन जोडे । लोकस बमले ६ बलमा १४ रन बनाए । विवेक यादवले चार बलमा १९ रन हान्दै नटआउट रहे भने गुल्सन झाले नटआउट १२ बल मा १५ रन बनाए । चार बल खेलको कप्तान रोहित पौडेल एक रनमा आउट हुँदा आरिफ सेख ७ बल खेल्दै चार रन बनाएर आउट भए । अब केही बेरमा पिएनजीले जवाफी ब्याटिङ गर्नेछ ।

साइकल यात्रीलाई ठक्कर दिने बसमा स्थानीयले आगो लगाए

सर्लाही । सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिने बसमा स्थानीयले आगो लगाइदिएका छन् ।  जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी दयानिधि दाहालका अनुसार नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको ग२ख १४४० नम्बरको बसमा स्थानीयले आगो लगाएका हुन्। कविलासी नगरपालिका १० सलेमपुरमा सोमबार बिहान साढे १० बजेतिर उक्त बसले स्थानीय ५० वर्षीय जुगल महतोलाई ठक्कर दिएपछि स्थानीयले आगो लगाएको उनले बताए । ‘प्रहरीले समयमै आगो निभाएकाले बस पूर्णरुपमा जल्न पाएको छैन,’ एसपी दाहालले भने, ‘ठक्कर दिने बसलाई ट्याक्टरको सहायताबाट सडकबाट हटाइएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएका महतोको हाल मलंगवामा रहेको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। उनलाई थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौँ लैजाने तयारी भइरहेको एसपी दाहालले बताए । बसका चालक भागेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। सलेमपुरमा रहेको सशस्त्रको वेस क्याम्प नजिकै घटना भएको हो । 

सुखानी सहिदका परिवारसँग भेट, कम्युनिष्ट एकताको पहल थालेका छौं  : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुखानी सहिदका परिवारसँग भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्रीले सहिद सप्ताहका अवसरमा उनीहरुलाई भेट गरेका हुन् । तत्कालीन पञ्चायती शासकले २०२९ फागुन २१ गते रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई सुखानीको जङ्गलमा हत्या गरेको थियो । आजको भेटमा ती सहिद परिवारका सदस्यहरु विसेश्वरा दाहाल, जीवन घिमिरे, रविन दाहाल, बुद्ध घिमिरेलगायत सहभागी थिए । कम्युनिष्ट आन्दोलन र जनयुद्ध जोड्नुपर्छ भनेर फागुन १४ देखि २१ सम्म सहिद सप्ताह मनाउन सुरु गरिएको छ । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले भने, ‘सहिदप्रति उच्च सम्मान छ, आजैको मितिदेखि कम्युनिष्ट एकताका लागि थप पहल गरेका छौँ ।’ फागुन २१ गते अर्थात् आज सुखानी हत्याकाण्ड भएको दिन हो । सुखानीको जङ्गलमा मारिएका पाँच जना ‘कम्युनिष्ट क्रान्तिकारी’हरुको स्मरणमा एक साता सहिद सप्ताह मनाइएको छ ।

खडेरीमा देवतासँग पानी माग्ने तीर्थस्थलको विकास गर्ने सम्भावना उच्च

पोखरा । झट्ट सुन्दा अचम्म लाग्न सक्छ, कास्कीको पोखरा लेखनाथ महानगरपालिका–३३ भरत पोखरीको बरस्थित चण्डी देउराली थान खडेरी परेमा पानी माग्ने तीर्थस्थल हो । परापूर्वकालदेखि लामो समय खडेरी परेमा स्थानीयवासी जुटेर पाठीको बली सहित घरघरबाट ल्याएको पानी ‘हरहर महादेव, पानी देऊ देऊ’ भन्दै छ्यापेर सामूहिक पूजा गरेमा एक हप्ताभित्रमा पानी पर्ने जनविश्वासका आधारमा यो तीर्थस्थललाई निकै महत्वका साथ हेर्ने गरिएको छ । विगत आठ वर्षअघि सम्म कुनै मन्दिर नरहेको र सामान्य चौतारोमा रहेका शिलालाई पूजा गर्ने गरेका स्थानीयवासी पछिल्ला वर्षमा भने मन्दिरलाई व्यवस्थित गर्दै त्यहाँ आवश्यक पूर्वाधार विकासमा जुटेका छन् । सिलिङ्गे चेतना महिला समूहको सक्रियतामा सात वर्षअघि स्थानीयवासीको जनश्रमदानबाहेक ५२ हजार ८०० रुपैयाँको लागतमा मन्दिरको संरचना तयार गरिएको समूहकी तत्कालीन अध्यक्ष सीता पौडेलले जानकारी दिनुभयो । “धार्मिक महत्वको महत्वपूर्ण स्थल भएर पनि सामान्य मन्दिरसमेत नभएका अवस्थामा समूहको पहलमा मन्दिर निर्माण गरेका हौँ,” उहाँँले भन्नुभयो, “मन्दिरको संरचना निर्माण भएसँगै पूजाआजा गर्न निकै सहज भएको छ नै, त्यसमा पनि आवश्यक पूर्वाधार विकास गरिएमा यसलाई धार्मिक पर्यटकीय तीर्थस्थलका रुपमा समेत विकास गर्न सकिन्छ ।” कास्कीको छोरेपाटन–लामेआहाल ग्रामीण सडक मार्गमा पर्ने मनियलडाँडा बसपार्कबाट पर्यटकीयस्थल हुडिकोट जाने शाखा मार्गको बीच भागमा चण्डी देउराली मन्दिर पर्दछ । माछापुच्छ«े, अन्नपूर्ण लगायतका हिम शृङ्खलाका साथै यहाँबाट देखिने स्याङ्जा, तनहुँ, लम्जुङ, पाल्पा लगायतका जिल्लाका उच्च पहाडी दृश्यले जो कोही पर्यटकलाई लोभ्याउने गर्दछ । मन्दिर र यसको परिसरलाई भौतिक पूर्वाधार सम्पन्न गराउने सोचका साथ सिलिङे महिला चेतना समूहको वर्तमान कार्यसमितिले पनि निर्माणका गतिविधिलाई सक्रियताका साथ अघि बढाएको छ । समूहकी अध्यक्ष कर्णकुमारी महतका अनुसार समूहको सक्रियतामा पोखरा लेखनाथ महानगरपालिकाबाट मन्दिर परिसरमा पर्खाल लगाउनका लागि हाल रु ५० हजार विनियोजन भई काम अघि बढाइसकिएको छ । “नगरपालिकाबाट छुट्याइएको रु ५० हजार सहयोगका अतिरिक्त परिसरमा पर्खाल लगाउन स्थानीयवासीले पनि अत्यन्त उत्साहका साथ जनश्रमदान गरिरहेका छन्,” उहाँले भन्नुभयो, “बजारको मूल्य वृद्धि लगायतका कारणबाट पर्खाल निर्माणलाई सम्पन्न गर्न भने जनश्रमदानबाहेक नै लागत बढेर लगभग रु ८० हजारसम्म पुग्ने देखिएको छ ।” पूर्वाधार विकास गर्न सकिएमा चण्डी देउराली र आसपासका क्षेत्रमा धार्मिक पर्यटकलाई समेत पु¥याउन सकिने अध्यक्ष महतले बताउनुभयो । परापूर्वकालदेखि नै खडेरी पर्दा होस् वा खेतीबालीको सहकाल आदिको कामनासहित स्थानीयवासीले सामूहिक रुपमा चण्डी देउरालीको पूजाआजा गर्ने गरेको यहाँका स्थानीयवासी बताउँछन् । विगतमा पाठीको बलिसहित पूजाआजा गर्ने प्रचलन रहेकामा पछिल्ला वर्षमा पाठीको बलि दिने वा नदिने सम्बन्धमा दुई मत देखिएको छ । केही स्थानीयवासी पाठीको बलि नदिएर नरिवल फुटाएर पूजा गर्नुपर्ने पक्षमा देखिएका छन् भने केही प्राचीन परम्परालाई निरन्तरता दिनुपर्ने तर्क गर्दछन् । व्यक्तिगत रुपमा पनि पारिवारिक सुख, शान्ति एवम् मनोकामना पूरा होस् भन्दै चण्डी देउरालीमा स्थानीयवासीले पूजाआजा गर्ने गरेकोे स्थानीय समाजसेवी गुरुप्रसाद पौडेलले बताउनुभयो । पौडेलका अनुसार चण्डी देउराली थानका साथै यहाँ नजिकै रहेको मल्लकालीन कोटभैरब मन्दिर, पर्यटकीयस्थल हुडिकोट आदिलाई समेटेर समग्र रुपमा नै यस क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने प्रचुर सम्भावना छ । यस्तो सम्भावनालाई उजागर गर्न पूर्वाधार विकासका साथै प्रचारप्रसारको आवश्यकता रहेको उहाँको भनाइ छ । रासस

आज इन्द्रजात्रा पर्व, उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । काठमाडौं उपत्यकामा आज प्रसिद्ध इन्द्रजात्रा पर्व मनाइँदै छ । हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी यो पर्व मनाउने प्रचलन रहेको छ । विशेषगरि काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा इन्द्रजात्रा मनाइन्छ । यस जात्राको अवसरमा आज काठमाडौंको बसन्तपुरमा गणेश, भैरव र कुमारीको रथयात्रा गरिंदैछ । रथयात्रा शुरु हुनुअघि राष्ट्रप्रमुखबाट गणेश, भैरव र कुमारीको दर्शन गर्ने कार्यक्रम रहेको छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङो ठड्याएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजा गरी ८ दिनसम्म मनाउने प्रचलन छ । यो जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच देखाउने गरिन्छ । लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौँथीका दिन ‘इन्द्रध्वज पतन’ गरी ‘भरणी नक्षत्र’ को रातमा लिङ्गो ढाल्ने चलन रहेको छ । इन्द्रजात्राको अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

प्रधानमन्त्रीबाट भारत भ्रमणबारे सदनलाई जानकारी

काठमाडौँ। प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणबारे जानकारी गराएका छन्। सभामा सांसदहरूले राखेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले सो जानकारी गराएका हुन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथग्रहण समारोहमा भाग लिन मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री प्रचण्डले गत जेठ २७ र २८ गते भारतको भ्रमण गर्नुभएको हो । उक्त भ्रमण कुनै पूर्वनिर्धारित कार्यसूचीका आधारमा नभई फरक ढङ्गको भएको उनले स्मरण गराए। प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम संसदमा सांसदहरूले आकस्मिक, शून्य र विशेष समयमा सोधेका प्रश्नको जवाफ प्रधानमन्त्री दाहालले दिए। आजकै बैठकमा विनियोजन विधेयक, २०८१ माथि भएका छलफलमा क्रममा उठेका प्रश्नमाथि विभिन्न आठ मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।

असन्तुष्टि होइन, छलफल गरेको भए अझ राम्रो हुन्थ्यो : अध्यक्ष ओली

काठमाडौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटप्रति असन्तुष्टि नरहेको बताएका छन्। आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। सञ्चारकर्मीहरूले बजेटप्रति असन्तुष्टि हो ? भन्ने प्रश्नमा असन्तुष्टि नरहेको तर, छलफल गरेर बजेट ल्याएको भए झनै राम्रो हुने प्रतिक्रिया दिएका हुन्। 'असन्तुष्टि होइन, छलफल गरेको भए अझ राम्रो हुन्थ्यो,' उनले भने । सदनमा आजबाट आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु भएको छ ।

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ‘प्रचण्ड’बीच भेटवार्ता, संसद गतिरोधबारे छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भेट गरेका छन् । शुक्रबार बिहान राष्ट्रपति भवन शीतल निवासमा पुगेका प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलकाबीचमा जारी संसद् गतिरोधबारे छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।  उक्त भेटमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री प्रचण्डसँग जारी संसद्को गतिरोधबारे चासो सँगै चिन्ता व्यक्त गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। भेटमा प्रधानमन्त्री प्रचण्डले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको राष्ट्रपतिलाई जानकारी गराएका छन्। 

गृहमन्त्रीलाई छानबिनको दायरामा ल्याउन छानबिन समिति चाहिएको हो : सांसद महत

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा.प्रकाशशरण महतले गृहमन्त्री रवि लामिछानेमाथि नै छानविन हुनेगरी संसदीय छानविन समिति बनाउनुपर्ने बताएका छन्।शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद महतले गृहमन्त्री रवि लामिछानेमाथि नै छानविन गर्नका लागि संसदीय छानविन समिति आवश्यक भएको बताएका हुन् । उनले सहकारी ठगि प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै उनेलाई छानबिनको परिधिभित्र ल्याउनुपर्ने बताए। सांसद महतले गृहमन्त्री लामिछाने शक्तिमा भएकाले सो उपर भइरहेको छानविनमा अनुचित प्रभाव पर्नसक्ने भन्दै सोही कारण संसदीय छानबिन समितिको माग गरिएको बताए। उनले सत्ता र शक्तिमा हुनेहरु छानबिनमा नआउने तर सत्ता र शक्ति बाहिर हुनेहरु छानबिनमा आउनेगरी समिति बन्नु नहुने उनको भनाई छ । ‘गृहमन्त्री पनि संलग्न हुनुहुन्छ भन्ने कुरा स्पष्ट छ। त्यसो हुनाले छानबिनको दायरामा सबै आउनुप¥यो उहाँ लगायत। उहाँको पनि आउनुप¥यो। जति पनि सहकारी पीडित छन् त्यसको पनि छानबिन गर्नुस्।यद्यपी राज्य संरचनाले कतिपय कुराहरु गरि पनि राखेको छ। अब त्यो विषय पनि संसदीय छानबिन समितिले नै हेरोस्। रविजी शक्तिमा पनि हुनुहुन्छ।जिम्मेवारीमा पनि हुनुहुन्छ। त्यसकारण यो छानबिन प्रक्रियामा अनुचित प्रभाव पर्ने सम्भावना छ। त्यसो हुनाले हामीले संसदीय छानबिन समितिको माग ग¥यौँ। होइन भने त्यस्तो आवश्यकता पर्दैन थियो। त्यसो हुनाले उहाँको विषय पनि त्यहाँ उल्लेख हुनुप¥यो।’ सांसद महतले भने। सांसद महतले गिरिबन्धु टि-स्टेटको सम्पूर्ण निर्णय प्रक्रियामा सत्तारुढ दलहरुनै संलग्न भएको भन्दै काँग्रेसको कुनै संलग्नता नरहेको जिकिर गरे। उनले सो सम्बन्धमा अदालतको निर्णय कार्यान्वयन गर्ने जिम्मेवारी सरकारको पनि बताए।

कांग्रेसको कारण संसदीय समिति गठन हुन सकेन : मनिष झा

काठमाडौं । रष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले कांग्रेसको एकपक्षीय अडानका कारण संसदीय समिति गठन हुन नसकेको बताएका छन् । शुक्रबार नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै झाले संसदीय समिति गठनका लागि टिओआरमा सहमति जुटिसकेको अवस्था कांग्रेसले एकपक्षीय रूपमा विभिन्न सर्तहरु थपेर पठाएको आरोप लगाए ।  उनले आफूहरूले सदनमा जवाफ दिन पाउनुपर्ने र सबै समस्याको एकमुष्ट समाधान खोज्नुपर्ने रास्वपाको अडान रहेको बताए ।  समिति गठनका लागि टिओआरमा आफ्ना नेताहरू समेत सहभागी भएको अवस्थामा रास्वपा संसदीय समितिका लागि तयार छैन भनेर भन्न नमिल्ने उनको भनाइ छ ।   सांसद झाले विगतको ३४ वर्षमा कांग्रेसले के के गर्‍यो भन्ने सबै जानकारी रहेको भन्दै रास्वपामाथि लागेको दाग राजनीतिक विषय नभएको बताए । 

चट्याङ लागेर बालकको मृत्युु, तीनजना घाइते

अछाम ।  अछामको रामारोशन गाउँपालिका–७, मेलकाटिया निवासी कमल भण्डारीका ६ वर्षीय छोरा गौरवको चट्याङ लागेर मृत्यु भएको छ । सोमबार राति हुरीबताससँगै परेको चट्याङले उनको मृत्यु भएको सोही वडाका पूर्वअध्यक्ष खड्कबहादुर भण्डारीले बताए ।  चट्याङले एकै परिवारका तीन घाइते, घर नष्ट डडेल्धुरामा चट्याङले एकै घरका तीनजना घाइते भएका छन् भने घर पूर्ण रूपमा नष्ट भएको छ । सोमबार बेलुका परेको चट्याङले अमरगढी नगरपालिका–३, कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका हुन् । स्थानीय विष्णु पाण्डेयका अनुसार घाइते उनीहरूको अवस्था सामान्य छ । रासस 

बजेट अधिवेशन वैशाख २५ मा बोलाउने सरकारको तयारी

काठमाडौं । सरकारले संघीय संसद्को बजेट अधिवेशन आगामी वैशाख २५ गते बोलाउने तयारी गरेको छ ।  सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संसद्को आगामी बजेट अधिवेशन वैशाख २५ अथवा २६ गते बोलाउने तयारी गरिएको जानकारी दिए । उनले आगामी अधिवेशनमा समितिमा छलफलका क्रममा रहेका विधेयकहरूलाई छिट्टै टुंग्याएर संसद्‌मा लैजाने तयारी भइरहेको बताए । त्यस्तै, संविधान र संघीयतालाई कार्यान्वयन गर्ने सवालमा थुप्रै ऐनहरू संशोधन गर्नु आवश्यक रहेको भन्दै ऐन संशोधन गर्नेगरी अगाडि बढिने पनि उनको भनाइ छ । उनले बजेट अधिवेशन भए पनि धेरैभन्दा धेरै विधेयक पारित हुने विश्वास व्यक्त गरे ।  सहकारी समस्या समाधानका लागि अध्यादेश ल्याउन सकिने पनि जानकारी गराए । यद्यपि, छिटो पारित गर्नेगरी संसद्‌मा विधेयक नै आउनसक्ने पनि उनले बताए ।  उनले भने, 'संसद्को अधिवेशन सम्भवतः २५ वा २६ गते सुरु होला । लगानी सम्मेलनलाई अनुकूल किसिमको प्रभाव पार्ने हिसाबले लगानीका निम्ति सबैलाई उत्साहित हुने वातावरण निर्माण गर्नका निम्ति सरकारले जुन अध्यादेश ल्यायो त्यो आफैँमा निकै राम्रो काम थियो । लगानी सम्मेलनमा सहभागी भएका सबैबाट पनि त्यो कुरा आएको छ । संसद् नचलेको बेलामा अध्यादेशमार्फत पनि लगानी सम्मेलनलाई अनुकूल प्रभाव परोस् । लगानीका निम्ति तयार रहेका सबै मान्छेलाई उत्साह प्रदान गर्न सकोस् भन्ने हिसाबले अध्यादेश ल्यायौँ । जहाँसम्म निकै राम्रो भयो भन्ने लागिराखेको छ ।'  मन्त्री गिरीले नेपाली कांग्रेसले बजेट अधिवेसनका लागि बोलाइएको संसद् बैठक सञ्चालनमा गतिरोध उत्पन्न हुनुपर्ने कुनै कारण नै नभएको बताए ।

विद्युत् किन्नेबाट बेच्ने मुलुक बन्नु गौरवः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विद्युत् आयात गर्ने देशबाट विद्युत् निर्यात गर्ने देशको रुपमा परिणत हुनु महत्त्वपूर्ण रहेको बताएका छन् । हिमालयन हाइड्रो एक्स्पो २०२४ को उद्घाटन समारोहमा उनले यो सबैका लागि गौरव र खुसीको विषय भएको बताए । भृकुटीमण्डपमा आयोजित एक्स्पोको उद्घाटन समारोहमा  राष्ट्रपति पौडेलले नेपालले १० वर्षभित्र १० हजार मेगावाट विद्युत् छिमेकी भारतमा बिक्रीका लागि बजार खुला गरिसकेको बताए ।  यस क्षेत्रमा थप लगानी हुने विश्वास व्यक्त गर्दै राष्ट्रपति पौडेलले सरकारको सहजीकरण र समन्वय तथा निजी क्षेत्रको संलग्नताबाट विद्युत् उत्पादनका लागि राखिएका लक्ष्य हासिल हुन सम्भव रहेको बताए । एक्स्पोले ऊर्जा विकासमा सहभागी सबै पक्षलाई एकै ठाउँमा ल्याएर हातेमालो गर्न सहयोग पुग्ने उनको भनाई छ । राष्ट्रपतिले हरित ऊर्जा विकासमा स्वदेशी र विदेशी सबै लगानीकर्ता एकजुट भएर अघि बढ्न पनि आह्वान गरे । कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले जलविद्युत् विकासको प्रचुर सम्भावना रहेको नेपालको उन्नतिको महत्त्वपूर्ण आधार रहेको बताए । उनले आगामी १२ वर्षभित्र २८ हजार ७ सय मेगावाट विद्युत् उत्पादन गर्ने कार्ययोजना सरकारले ल्याएको र यो महत्त्वाकाङ्‍क्षीजस्तो देखिए पनि यथार्थ र आवश्यकतामा आधारित भएर गरिएको बताए । लगानीका लागि देशभित्रको स्रोतमात्र नभई वैदेशिक लगानी ल्याउनुपर्ने आवश्यकतामा जोड दिदै उनले अहिले संसदमा दर्ता भइ दफाबार छलफलमा रहेको विद्युत् विद्येयक चाँडोभन्दा चाँडो पारित भइ कार्यान्वयनमा आउने बताए । जलविद्युत् परियोजना विकासका लागि नयाँ विद्युत् ऐनले सहजीकरण गर्ने र लगानी अझ बढेर जाने उनको विश्वास छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले १३ खर्ब रुपैयाँ जलविद्युत् आयोजनामा लगानी भइसकेको जानकारी दिए । उनले आर्थिक वृद्धि र रोजगारी सिर्जनामा महत्त्वपूर्ण भूमिका खेलिरहेको र दक्ष, अर्धदक्ष र अदक्ष गरी ५ लाख भन्दा धेरै नागरिकले रोजगारी पाइरहेको पनि बताए । कार्कीले सरकारले राखेको २८ हजार ७ सय मेगावाट विद्युत् उत्पादन गर्नका लागि वन, जग्गालगायतका विषयमा सहजीकरण गर्नुपर्नेमा जोड दिए । नेपालका लागि क्यानाडाका राजदूत क्यामरुन म्याकीले भिडियो सन्देशमार्फत नेपालको समृद्धिका लागि जलविद्युतको विकास महत्त्वपूर्ण रहेको बताए । ‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नाराको साथ सुरु भएको एक्स्पो शुक्रबारसम्म चल्नेछ ।

माल्दिभ्समा भारतविरोधी पार्टीलाई दुई तिहाइ बहुमत

एजेन्सी । माल्दिभ्समा भारत विरोधी र चीन निकट मानिने राष्ट्रपति मोहम्मद मुइज्जुको पार्टीलाई बहुमत प्राप्त भएको छ। आइतबार माल्दिभ्समा भएको निर्वाचनबाट मुइज्जुको पार्टी पिपुल्स नेसनल कंग्रेसले ९३ मध्ये ६० भन्दा बढी सिट जितेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ। त्यहाँ १३० स्वतन्त्र सहित ३६८ जना उम्मेदवार रहेकोमा पूर्वराष्ट्रपति मोहम्मद सोलिहको मालदिभियन डेमोक्र्याटिक पार्टीले १५ सिट मात्रै जित्ने अनुमान गरिएको छ। गत सेप्टेम्बरमा मोहम्मद सोलिहलाई पराजित गर्दै मुइज्जु माल्दिभ्सको राष्ट्रपति बनेका थिए । उनी राष्ट्रपति निर्वाचित भएपनि संसदमा भने मालदिभियन डेमोक्र्याटिक पार्टीको बहुमत थियो । निर्वाचन परिणाम अनुसार अब संसदमा पनि राष्ट्रपति मुइज्जुको पार्टीको बहुमतमा हुनेछ। उनी चीन निकट मानिन्छन्। राष्ट्रपति बन्नासाथ उनले आफ्नो औपचारिक भ्रमणसमेत चीनबाट सुरू गरेका थिए । यसबाट भारत थप रूष्ट बनेको थियो। मुइज्जुले माल्दिभ्सबाट भारतीय सेना फिर्ता गर्नसमेत आग्रह गरेका थिए । माल्दिभ्सबाट भारतीय सेना फिर्ता हुनुपर्ने विषय जोडतोडले उठेको थियो । त्यही पक्षको नेतृत्व गरेर मुइज्जु नयाँ राष्ट्रपति बनेका थिए।   राष्ट्रपति बनेपछि भारतलाई ६ महिनाभित्र आफ्नो सेना फिर्ता गर्न मुइज्जुले आग्रह गरेका थिए। त्यतिबेला भारतमा ‘बोयकट माल्दिभ्स’ अभियान नै सञ्चालन भएको थियो ।

‘हिमालयको रहस्य’ र ‘सिर्जनावृत्ति’ कला प्रदर्शनी सुरु

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको स्थापना दिवसको अवसर पारेर आइतबारबाट ‘हिमालयको रहस्य’ र ‘सिर्जनावृत्ति’ कला प्रदर्शनी सुरु भएको छ । प्रतिष्ठानको आयोजनामा भएको सो प्रदर्शनीको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले एक समारोहका बीच उद्घाटन गरे । कार्यक्रममा कुलपति हार्तम्छालीले प्रतिष्ठानले प्रदर्शनीमार्फत दुई फरक विषयलाई समेट्न खोजेको बताए । उनले ‘हिमालयको रहस्य’ प्रदर्शनीमार्फत नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको गम्भिर असरलाई उजागर गर्न खोजेको जनाए । उनले ‘सिर्जनावृत्ति’ कला प्रदर्शनी ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८०’ का राष्ट्रिय ललितकला पुरस्कार विजेताहरूलाई हौसला प्रदान गर्न गरिएको जानकारी गराए । कुलपति हार्तम्छालीले उनले भने, ‘वातावरण परिवर्तनले हिमालमा परेको प्रभावलाई कलाकारले कलामार्फत कलात्मक रुपले प्रस्तुत गर्नुभएको छ । हिमाल बचाउने अभियानमा कलाकारको पनि विशिष्ट भूमिका रहनुपर्छ भन्ने उद्देश्यका साथ प्रदर्शनीको आयोजना गरिएको हो ।’ उनले कलामार्फत हिमालमाथि भइरहेको दोहनलाई प्रस्तुत गरिएको विचार व्यक्त गरे ।  कुलपति हार्तम्छालीले नेपालको मौलिक पहिचानसँगै पर्यटनमार्फत सांस्कृतिक अर्थ–समृद्धि मात्रै होइन हिमवत्खण्ड साथै विश्व वातावरण र जैविक विविधताको सार सन्तुलनको मुख्य आधार पनि हिमालय रहेको जिकिर गरे । उनले मानवको प्रकृतिसँग सम्बन्ध, विरासतदेखि आधुनिक समय तथा भविष्यसम्मको सन्तुलन, नियमितता र शान्तिपूर्ण जीवनमोक्षका साथै पुस्ता हस्तान्तरणार्थ जगाधारको बिम्बसार पनि हिमाललाई नै मान्न सकिने झलकहरू कलाकारका चित्रकलामा विभिन्न रेखा, आकार र रङको ढङ्गहरूले देखाउने प्रयास गरिएको जनाए । प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले हिमाल जीवन र जगतसँग जोडिएको विषय भएको बताए । उनले हिमाल भए पानी हुने र पानी भए जीवन हुने भन्दै जलवायु परिवर्तनले नेपाललगायतका पर्वतीय देशहरूमा परेको असरलाई गम्भिर रूपमा लिनुपर्ने धारणा व्यक्त गरे । उपकुलपति लामाले भने, ‘हिमाल बचाउन यसका बारेमा सबैले आ–आफ्नो ठाउबाट सचेत ढंगले लाग्नु पर्दछ । कलाकारले चित्रमार्फत यो अभियानलाई उजागर गर्ने कोसिस गरेका छन् ।’  प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले प्रदर्शनीमा जलवायु परिवर्तनले पारेको प्रभाव र कालोपत्थर बन्दै गइरहेका हिमालका विषयलाई कलाकारले कलात्मक रुपमा उधिनेको धारणा राखे । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २८ औँ जलवायु परिवर्तनसम्बन्धी  ‘कोप २८’ सम्मेलनमार्फत उठाएको एजेन्डालगायतका विविध विषय कलामा समेटिएको बताए । सदस्य सचिव थुम्केलीले प्राणीजगतको जीवनसँग हिमाल जोडिएकाले पछिल्लो समय जलवायु परिवर्तनले यसमा पारेको गम्भिर असरबारे सम्बद्ध सबै सचेत हुनेपर्ने विचार व्यक्त गरे । उनले भने, ‘हिमाल बचाउन विश्वको ध्यान आकृष्ट गर्न कला प्रदर्शनी गरिएको हो ।’ ‘हिमालयको रहस्य’ प्रदर्शनीमा अनिता भट्टराई, एन्जिला जोशी, अर्पिता पराजुली, अरुणा हिङमाङ, बिआर श्रेष्ठ, भिमकुमार श्रेष्ठ, भिम सुब्बा तामाङ, बिक्कुकुमार थापा, विनोदकुमार गुप्ता, विपना महर्जन, दामोदर बराल, डिबी भण्डारी, देवेन्द्र थुम्केली, दिनेश थापा मगर, दिनेश्वर महतो, दिपेश नेपाली, गजेन्द्रमान श्रेष्ठ, गणेश लामा, गौरवरत्न बज्राचार्य तुलाधर, गौतमरत्न बज्राचार्य तुलाधर, इन्दु पन्त, जुजुकाजी श्रेष्ठ, ज्योति खड्का श्रेष्ठ, केशव राज खनाल, किशोर नकर्मी, किशोर रानाभाट, कृष्ण लामा, लालकाजी लामा, लिलाधर के.सी., महेश आचार्य, माइला दोङ, मोहन शिवाकोटी, नरबहादुर बि.के., नारदमणि हार्तम्छाली, नेमबहादुर तामाङ, ओमप्रकाश गुरुङ, प्रदिप अधिकारी, प्रकाश मिजार, प्रमिला बज्राचार्य, प्रितम थापा, रविन्द्र मानन्धर, राजप्रकाशमान तुलाधर, राजन महर्जन, राजकुमार राना मगर, रामबहादुर ठाडा, रमेशनाथ खनाल, रिनु श्रेष्ठ, रोशन खत्री, रूवी महर्जन, रुद्रबहादुर पुन, रूपक राई, रुशा बज्राचार्य, सम्झना राजभण्डारी, संगी श्रेष्ठ, संजय वान्तवा, सरुना देवी महर्जन, सौरगंगा दर्शनधारी, श्रेया हाडा श्रेष्ठ, सिकन्दर चौधरी, सुवास ‘क्षितिज’ श्रेष्ठ, सुदन श्रेष्ठ, सुमन श्रेष्ठ, सुरक्षा वाग्ले, सुरेम देशार, सुश्मा श्रेष्ठ, सुस्मिता कुँवर, क्षितेन शेर्पा, छिरिङ फोन्जो गुरुङ, उसिना महर्जन लगायतका कलाकार सहभागी छन् । यस्तै, ‘सिर्जनावृत्ति’ कला प्रदर्शनीमा उद्धव रिमाल (समसामयिक चित्रकला), विनय रिमाल (प्रतिस्थापन कला), रिसिता खत्री (समसामयिक मूर्तिकला), नम्रता सिंह (लोककला) र राजप्रकाश मान तुलाधर (परम्परागत चित्रकला) ले सहभागिता जनाएका छन् । ‘हिमालयको रहस्य’ प्रदर्शनीको संयोजन कलाकार केशव राज खनाल र क्युरेटिङ प्राज्ञसभा सदस्य प्रदीप शाक्यले गरेका छन् ।  ‘कोप २८’ अर्थात २८औँ विश्व जलवायु सम्मेलन २०२३ नोभेम्बर ३० देखि १२ डिसेम्बरसम्म संयुक्त अरब इमिरेट्सको दुबईमा सम्पन्न भएको थियो । संयुक्त राष्ट्र सङ्घको आयोजनामा भएको सो सम्मेलनमा नेपालको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका थिए । सम्मेलनबाट फर्किएपश्चात् प्रधानमन्त्रीले विमानस्थलमा पत्रकारसँग जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप २८’  प्रभावकारी भएको  र नेपालले यस पटक आफ्ना एजेन्डा प्रभावकारी र वस्तुनिष्ठ ढङ्गले प्रस्तुत गरिएको बताएका थिए । यस्तै, उनले जलवायु परिवर्तनको असर भोगेको नेपालले त्यसबापतको क्षतिपूर्ति पाउनुपर्ने र त्यसको प्राथमिकता प्राप्त देशको सूचीमा नेपाललाई समावेश गरिएको जानकारी संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनिया गुटेरसले आफूलाई गराएको बताएका थिए । यस सम्मेलनमा नेपालले आफ्नो अधिकारको बारेमा प्रष्ट रूपमा आफ्नो धारणा राखेको थियो । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरस २०८० कार्तिक १२ गते नेपालको चारदिने भ्रमणका लागि आएका थिए । यसक्रममा उनले सगरमाथा आधार शिविर, अन्नपूर्ण बेसक्याम्पलगायतका क्षेत्रको भ्रमण गर्दै नेपाललगायतका देशको हिमाली क्षेत्रमा जलवायु परिवर्तनले गम्भीर असर गरेको बताएका थिए । उनले भनेका थिए, ‘अहिले म हिमालको काखमा छु, यहाँ व्यापक रूपमा हिमालहरू पग्लिएका छन् ।’ महासचिव गुटेरसको नेपाल भ्रमणले विश्वमञ्चमा नेपाललगायतका देशको हिमाली क्षेत्रमा परेको असर र प्रभावबारे आवाज प्रभावकारी रूपमा उठेको थियो । यसअघि वि.सं २०६६ मंसिर १९ गते सगरमाथा क्षेत्रको आधार शिविरमा औपचारिक रूपमा मन्त्रिपरिषद् बैठक गरेर १० बुँदे घोषणापत्र जारी गर्दै नेपालले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरका बारेमा विश्वको ध्यानाकर्षण गरेको थियो । यस बैठकपश्चात् (मङ्सिर २२ गते–पुस ३ गते सम्म) डेनमार्कको कोपनहेगनमा सम्पन्न ‘कोप १५’ मा नेपाललगायतका पर्वतीय देशका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको विषयलाई औपचारिक रूपमा उठाएको थियो । माथि उल्लेख गरिएका विविध विषयलाई उठान गरेर नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले वैशाख २ गतेबाट ७ गतेसम्म ‘हिमालयको रहस्य’ चित्रकला प्रदर्शनी गरेको जनाएको छ । कलाकारले आफ्ना कलाकृतिमार्फत जलवायु परिवर्तन र यसले नेपालका हिमालमा पारेको असरलाई उठाएका छन् । वैशाख ७ गतेसम्म चल्ने यस प्रदर्शनीमा ६९ कलाकारका कलाकृति समावेश गरिएको छ ।