आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय संकटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर मनाइँदै छ । 

स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाइने गरेको छ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन ९युनेस्को०को आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारहरुको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेको हो । 

जनताको सधैँ सबै प्रकारका सूचनामा पहुँच हुनुपर्छ र पत्रकारहरूलाई आफ्नो काम गर्न सुरक्षित वातावरण सिर्जनामा सरकारले सहयोग गर्नुपर्छ भन्ने बुझाउन पनि यो दिवस मनाउन थालिएको हो ।  

यो दिवसले सत्य सम्प्रेषण गर्ने र प्रेस स्वतन्त्रताको सदैव सम्मानको सुनिश्चिततालाई केन्द्रमा राखेको छ । यसै अवसरमा युनेस्कोको आयोजनामा चिलीको राजधानी सान्टियागोमा सम्मेलन भइरहेको छ । रासस

जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका ६ रामहिटी बस्ने पुरू चालिसेको घरमा जुवातास खेलिरहेको अवस्थामा मुगु कारमुरुङ गाउँपालिका १ घर भएका १९ वर्षीय पासाङ छिरिङ समेत ४ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्घबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २६ हजार ४ सय ५० रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।   

बैंकको ऋण तिर्दिन भन्ने आपराधिक मनोवृत्ति सह्य हुँदैन : अर्थमन्त्री

काठमाडौं ।अर्थमन्त्री वर्षमान पुन अनन्तले आफ्नो सीमित स्वार्थ सिद्धिका लागि बैंक तथा वित्तीय संस्थाविरुद्ध अफवाह र अनास्था फैलाउने प्रवृत्ति सरकारका लागि सह्य नहुने चेतावनी दिएका छन् ।   राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले शनिबार राजधानीमा आयोजना गरेको व्यवस्थापन सम्मेलन (म्यानेजमेन्ट समिट)–२०२४ लाई सम्बोधन गर्दै मन्त्री पुनले बैंक तथा वित्तीय संस्थाको ऋण नतिरेर कालो सूचीमा परेकाहरूले फैलाएको अफवाहबाट नआत्तिन बैंकर्स सोसाइटी र निजी क्षेत्रलाई आग्रह गरे। मन्त्री पुनले बैंकहरुलाई नयाँ सुदखोर भनेर आरोपित गर्ने प्रवृत्तिसँग सहमत हुन नसकिने बताए। ‘बैंकहरुबाट ऋण लिने, कालो सूचीमा पर्ने अनि ऋण तिर्दिन भनेर हिँड्ने प्रवृत्ति छ’, मन्त्री पुनले भने, ‘आफ्ना सीमित स्वार्थ सिद्ध गर्न बैङ्किङ प्रणालीप्रति अनास्था फैलाउने प्रवृत्ति सरकारलाई कदापी स्वीकार्य हुन सक्दैन।’ मन्त्री पुनले नेपालको बैङ्किङ प्रणाली उत्कृष्ट रहेको भन्दै बैंकहरु जत्तिको व्यवस्थित रूपमा सञ्चालित कुनै पनि संस्था नेपालमा नरहेको चर्चा गरे। ‘नेपालमा यदि कुनै संस्था व्यवस्थित रूपमा सञ्चालनमा छ भने त्यो बैङ्किङ क्षेत्र हो । यो हामीले भनेको होइन।अन्तर्राष्ट्रिय संस्थाहरूले अध्ययन गरेर निकालेको निष्कर्ष हो’, मन्त्री पुनले भने, ‘आपराधिक मनोवृत्तिका मानिसले भ्रम फैलाउँदैमा कोही पनि डराउनुपर्ने अवस्था छैन ।’ कुनै बैंकर्सले गल्ती गरेको भए गल्ती गर्नेमाथि कारबाही हुने स्पष्ट गर्दै उनले आरोपित व्यक्तिका परिवार र बैङ्किङ क्षेत्रमा कार्यरत सबै खराब भन्ने प्रवृत्ति देखिएकामा चिन्ता जनाए। ‘कोही पनि व्यक्ति तथा परिवार कानून र संविधानभन्दा माथि छैन। एउटा बैंकर्सले गल्ती गर्दा सबै बैंकर्सलाई आरोपित गर्न मिल्दैन। एउटा व्यक्तिले गल्ती गर्दा सिंगै परिवार र संस्थालाई दोषी करार गर्ने प्रवृत्ति समाजमा घातक रूपमा अघि आएको छ’, उनले भने, ‘बैंक, निजी क्षेत्र वा नियामक निकायमा काम गर्ने व्यक्तिका कमजोरी हुन सक्छन्। तर, सम्बन्धित सेक्टरमा काम गर्ने सबैलाई आरोपित गर्न मिल्दैन ।’  बैङ्किङ क्षेत्र र व्यवस्थाविरुद्ध एउटै प्रवृत्तिले अनास्था फैलाएको टिप्पणी उनको थियो। सानातिना कमजोरी औँल्याएर राजनीतिक प्रणाली र नेतृत्वप्रति अनास्था फैलाउने तथा मिलेर बसेको समाजलाई विखण्डन गर्न खोज्ने प्रवृत्तिसँग सरकारको सहमति नरहेको मन्त्री पुनको स्पष्टोक्ति थियो। मन्त्री पुनले देशभित्रै बसेर केही सकारात्मक काम गर्छु भन्ने प्रवृत्तिलाई भने सरकारले सम्मान गर्ने बताए।   ‘आफ्ना महत्त्वाकाङ्क्षा र स्वार्थ सिद्धिका लागि सानातिना कमजोरी खोजेर व्यवस्था, प्रणाली र नेतृत्वप्रति अनास्था फैलाउने प्रवृत्ति, मिलेर बसेको समाजलाई विखण्डन गर्न चाहने धार्मिक र सामाजिक अतिवादी प्रवृत्ति र दुनियाँभरका उदाहरण दिएर आफ्नो नेतृत्वलाई सराप्ने घातक प्रवृत्तिसँग हाम्रो सहमति छैन’, मन्त्री पुनले भने, ‘जसले आफ्नै माटोमा पसिना बगाउँछु भन्ने सोच र प्रवृत्ति राख्छ त्यससँग हाम्रो सहमति छ ।’ मन्त्री पुनले व्यवस्था कार्यान्वयनका क्रममा प्रणालीभित्र भएका कमजोरीबारे समीक्षा गर्न भने तयार रहेको उल्लेख गरे।  नेपाली समाजमा सबै राजनीतिज्ञ, बैंकर्स, निजी क्षेत्र, निर्माण व्यवसायी, उद्योगी व्यवसायी, न्यायालय सबै खराब भन्ने डरलाग्दो भाष्य स्थापित गर्न खोजिएकामा समयमै सबै सचेत हुनुपर्ने औँल्याए। राजनीतिक दल र नेताहरूले नेपालमा धेरै सकारात्मक काम गरेको भए पनि त्यसको कहिल्यै चर्चा नहुने गरेको उनको टिप्पणी थियो। ‘राजनीतिज्ञ सबै बेठीक हुँदैनन्। राजनीतिक प्रणालीमा राजनीतिक दल र नेताहरूले धेरै राम्रा काम पनि गरेका छन् तर त्यसको कतै चर्चा हुँदैन।नकारात्मक मात्र चर्चा हुन्छ ।’  नेपाली समाजमा एकले अर्कालाई निन्दा गर्ने प्रवृत्ति झाँगिएको भन्दै मन्त्री पुनले त्यसको निष्कर्ष कोही पनि ठिक छैन भन्ने आउने आउने बताउदै राम्रोलाई राम्रो भन्न सक्नुपर्ने बताए।

सरकारको गियर बढाउन गठबन्धन परिवर्तन गरे :  प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले गर्ने कामको गियर बढाउन गठबन्धन परिवर्तन गरेंको बताएका छन् । संसद बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले आफूले देश विकासको लागि सरकारको टिम परिवर्तन गर्न आवश्यक रहेकोबारे धेरैपटक गठबन्धनमा  छलफल भएको तर त्यसप्रति चासो नदिइएको बताए ।  प्रधानमन्त्री प्रचण्डले भने, ‘प्रधानमन्त्रीका रुपमा म जस्तो संकल्पका साथ सक्रिय थिएँ । टिम त्यही गतिको नभएको मेरो अनुभव रह्यो ।  र सरकारको गियर परिवर्तन गर्ने हो भने सरकार र गठबन्धन पुनः गठन गर्नैपर्ने अवस्था मैले महसुस गरेँ ।’

राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाललाई उमेदवार बनाउने माओवादीको निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा अध्यक्षको उमेदवार चयन गरेको छ । बालुवाटारमा आइतबार बसेको पदाधिकारी बैठकले मनोनीत राष्ट्रियसभा सदस्य नारायण दाहाललाई उमेदवार बनाउने निर्णय गरेको महासचिव देव गुरुङले जानकारी दिए । दाहाल पार्टीका स्थायी कमिटी सदस्य हुन् । दाहाल ०७८ फागुन २५ गते राष्ट्रियसभामा मनोनीत भएका हुन्। उनको कार्यकाल अब चार वर्ष बाँकी छ । सत्ता गठबन्धनको सहमति अनुसार अध्यक्षमा माओवादी र उपाध्यक्षमा एमालेले पाउने उल्लेख छ । सोही अनुसार माओवादीले अध्यक्ष उमेदवार टुंग्याएको हो । राष्ट्रियसभा अध्यक्षको मनोनय सोमबार दर्ता हुँदै छ । मंगलबार निर्वाचन हुँदै छ ।  

देउवाले बोलाए राष्ट्रियसभा अध्यक्षको उम्मेदवार तय गर्न कार्यसम्पादन बैठक

देउवाले बोलाए राष्ट्रियसभा अध्यक्षको उम्मेदवार तय गर्न कार्यसम्पादन बैठककाठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । देउवाले आफ्नो निवास बुढानीलकण्ठमा आज अपराह्न ४ बजे दलको कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।  शनिवार बिहान पनि देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षमा उम्मेदवार निर्णय गरेको थियो ।  आगामी २९ गते हुने राष्ट्रियसभा अध्यक्षमा कांग्रेसबाट आनन्द ढुङ्गाना र कमला पन्तको नाम चर्चामा छ ।

टी-२० विश्वकप तयारी गर्न क्रिकेट संघलाई प्रधानमन्त्रीले प्रदान गरे पाँच करोड

काठमाडौं । सरकारले नेपाल क्रिकेट संघलाई पाँच करोड रुपैयाँ  प्रदान गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रत्यक्ष निर्देशनमा टी-२० विश्वकप तयारी गर्न सो रकम क्रिकेट संघलाई प्रदान गरिएको हो। आगामी १ देखि २९ जुन २०२४ मा संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीको तयारीका लागि सो रकम प्रदान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न अर्थमन्त्री डा. महतको आग्रह

नवलपरासी । अर्थमन्त्री डा.प्रकाशशरण महतले व्यवसायीहरुलाई उच्च मनोबलका साथ लगानी गर्न अनुरोध गरेका छन्। नवलपरासी औद्योगिक ब्यापार मेला तथा कृषि, पर्यटन  ब्यापार एवम् सूचना प्रवधिको बृहत् प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री डा.महतले भने, ‘आत्मविश्वास बढाऔं, अब अर्थतन्त्र अगाडि बढ्छ, अहिलेको जस्तो अवस्थामा रहँदैन । विस्तारै निर्माण क्षेत्रमा माग बढेको छ, सिमेन्ट, रडको माग बढेको छ, नीतिगत सुधारका धेरै काम भएकाले व्यवसायीहरु ढुक्क भएर लगानी गर्नुहोस् ।’ उद्घाटन कार्यक्रममा मन्त्री डा. महतले ब्याजदर घटेकाले विचार पुर्याएर ऋण लिने र लगानी गर्ने वातावरण बनेको बताउँदै उनले एउटाले फाइदा गरेको व्यवसायतिर सबै नलागी, नयाँ सम्भावनाको खोजी गर्न व्यवसायीहरुलाई आग्रह गरे । ‘अब अर्थतन्त्र ठीक बाटोमा जान्छ, राजश्व करिब १० प्रतिशतले वृद्धि भएको छ । पर्यटकले देश भरिभराउ छ, आउने दिनमा पर्यटकको आगमन अझ बढ्ने छ’ मन्त्री डा.महतले भने, ‘आत्मविश्वास जगाऔं, विचार पु¥याएर लगानी गरियो भने उत्पादन र रोजगारी बढ्छ । उत्पादन र रोजगारी बढेपछि राजश्व बढ्छ । राजश्व बढेपछि राज्यले बजेट दिने क्षमता बढ्छ । बजेटको क्षमता बढ्यो भने विकास निर्माणमा खर्च गर्न क्षमता बढ्छ ।’  उहाँले मूल्यवृद्धि पनि नियन्त्रणमा रहेको स्पष्ट पार्नुभयो । मन्त्री डा. महतले भने, ‘म अर्थमन्त्री भएका बेला मूल्यवृद्धि सालाखाला ८ प्रतिशतभन्दा माथि थियो, अहिले साढे ६ प्रतिशतभन्दा तल झरेको छ । यसले उपभोक्तालाई राहत दिन्छ ।’  उनले भने, ‘भारतको आर्थिक वृद्धि दर अहिले संसारमै अगाडि छ । सबैको पालो आउँछ, अब आर्थिक वृद्धि गर्ने पालो हाम्रो आएको छ । यसका लागि देशप्रति गौरव गर्नुपर्छ र हामी गर्छौ, हामी गर्न सक्छौं भन्ने आत्मविश्वास जगाउनुपर्छ । नेपालमै हुन्छ, यही केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढाऔं ।’  उनले भने, ‘तमाम कारणले गर्दा अर्थतन्त्रमा समस्या थियो, हामी सुधारको बाटोमा छौं । ब्याजदर छिट्टै एकलविन्दुमा झर्छ । अन्तर्राष्ट्रिय समस्या चर्केका बेला घरजग्गा र सेयर बजारमा अत्याधिक लगानी भयो । समस्या आएपछि नेपाल राष्ट्र बैंकले ऋण प्रवाह घटायो, ब्याज बढायो ।’ ‘एकथरिले सहकारी र लघु वित्त पीडितलाई उपयोग गरेर राजनीतिकको रोटी सेकाउन थालेका छन् । मेरो पछि लाग्यो भने ऋण तिर्नुपर्दैन, माफी पाइन्छ भनेर एकथरिले लघु वित्त पीडितलाई बोकेर हिडेका छन् । साँच्चै तिर्नुपर्दैन भनेर पीडित पनि पछि लागेर हिडेका छन्’ मन्त्री डा.महतले भने, ‘स्थानीयले पेट काटेर जम्मा गरेको पूँजी मासेर ऋण माफी दिन सकिँदैन । ऋण तिर्नुपर्दैन भन्ने समूहमा कोही लाग्नु हुँदैन । ऋण लिनेको मात्र होइन दिनेको पनि गल्ती छ । त्यसकारण ब्याजदर घटाइएको हो, पछिल्लो समय ब्याजदर घट्नेक्रममा छ ।’ ‘जसले ऋण लिएको छ, उहाँहरुलाई ब्याजदरमा राहत दिन सकिन्छ । ऋण तिर्नेलाई समय दिन सकिन्छ, त्यो राहत हो । ऋण लिएर तिर्दैतिर्दिन भन्न पाइँदैन । ऋण तिर्नलाई राहत दिन सकिन्छ, ऋण माफी गर्न सकिँदैन’ मन्त्री डा.महतले भने, ‘पहिलो धेरै ऋण लिनेहरु समस्यामा परेको हुनाले ब्याजदर घटेको छ । हिजो ऋण लिएकाहरुले अहिले ऋण लिन सक्ने स्थिति भएनन, नयाँ ऋण लिन चाहनेहरुलाई पहिलाको समस्या देखेर तर्सिरहेका छन् । यही कारण बैंकमा तरलता भए पनि ऋण प्रवाह हुन सकेको छैन । तर विस्तारै यसमा सुधार आउँछ ।’

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । शुक्रबार राष्ट्रियसभा बैठक बस्दैछ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ । आजको बैठकमा दिलकुमारी थापा पार्वतीले ‘मौलिक हक कार्यान्वयनको लागि बन्न बाँकी कानुन २०८१ असोज ३ गतेसम्म निर्माण गरिसक्नु पर्ने सबन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

प्रधानमन्त्री कप : आज नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुने फाइनल खेलमा दुवै टोली उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छन् । जारी प्रतियोगितामा नेपाल पुलिस क्लब अपराजित रहँदै शीर्ष स्थानमा रहेर फाइनलमा खेल्न लागेको हो भने ९ खेलबाट ७ खेलमा जित निकाल्दै आर्मी दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको हो । प्रतियोगिता विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

बाँस्कोटाको उट्पट्याङविरुद्ध उम्मेदबारी दिने निर्देशक पण्डितको घोषणा

काठमाडौं । विवाद र चर्चामा रहिरहने एमाले नेता गोकुल बाँस्कोटाको उट्पट्याङविरुद्ध चुनावमा उम्मेबार बन्ने इच्छा निर्देशक मनोज पण्डितले देखाएका छन् । निर्देशन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका पण्डितले आगामी प्रतिनिधिसभाको निर्वाचनमा बाँस्कोटाविरुद्ध उम्मेदवारी दिने घोषणा गरेका हुन् । सामाजिक संजालमा लामो स्टाटस लेख्दै पण्डितले राजनीतिलाई घृणित र उट्पट्याङ गरी मजाक बनाएको भन्दै बास्कोटाविरुद्ध काभ्रे २ मा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् । ‘राजनीतिलाई घृणित धन्दा र उट्पट्याङ मजाक बनाउने यो राजनीतिज्ञ मेरो क्षेत्र काभ्रे–२ बाट संसदीय निर्वाचनमा चुनिएर संचारमन्त्रीसम्म भएको हुँदा यीनको खुलेआम धम्कीले मेरो नागरिकतालाई गिज्याएको अनुभूति भयो र निर्णय गरें कि अबको संसदीय निर्वाचनमा म यो असंवेदनशील राजनीतिज्ञको विरुद्ध स्वतन्त्र उम्मेदवारको रुपमा उठ्ने छु ।’ उनले लेखेका छन् । दासढुंगा, ग्रेटर नेपाल, बधशाला जस्ता चर्चित फिल्मको निर्देशन गरेका पण्डित सफल र बौद्धिक निर्देशकको रुपमा चिनिन्छन् । उनको जन्मथलो काभ्रको धुलिखेल–४ हो । चलचित्र बनाएर मात्र राजनीतिक अवस्थामा ठूलो योगदान पुर्याउन नसकिने भन्दै उनले चर्चाको लागि नभई लुट र झुटविरुद्ध उम्मेदवारी दिन लागेको बताए । बास्कोटालाई काभ्रे २ बाट हराउन सक्ने अवस्था नहरे पनि आफ्नो उम्मेदवारी अराजकताविरुद्ध भएको उनको भनाई छ । ‘मलाई थाहा छ काभ्रे–२ बाट आजको स्थितिमा उनलाई कसैले हराउन सक्दैन । उनीसँग वर्षौंको अनुभव छ भोट प्रभाव पार्न र किन्न सकिने प्रशस्त पैसा छ, मिडिया , रणनीति , सङ्गठन छ तर म संग त्यस्तो कुनै पनि सामर्थ्य र शिल्प छैन । अझ भोटको दृष्टिबाट भन्ने हो भने मसँग केवल ३ भोट छ आफ्नो ,आमाको र दिदीको। मेरो बुबा पनि उनकै समर्थक हुन् सायद मलाई मेरो बुवाको भोट आउने छैन’ उनले भनेका छन्, ‘मसँग केवल पीडा छ, छटपटी छ, आक्रोश छ, सम्वेदना छ, स्वतन्त्र चेत छ अनि परिवर्तनको चाहना छ । म यस्तै सामर्थ्यता को साहारामा उनी विरुद्ध उठदैछु त्यसैले उनलाई म बाट के को डर हुन्छ र ?’ बास्कोटालाई अध्यक्ष केपी ओलीबाहेक कसैको पनि डर नभएको पण्डितले बताएका छन् । बास्कोट सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ कमिसनको मोलमोलाइ गरेपछि विवादित बनेका थिए । यही विवादका कारण सञ्चार मन्त्रीबाट उनले राजीनामा दिएका थिए । बेला बेलामा ७० करोडको प्रसंग ल्याउँदै बाँस्कोटा स्वयंले मजाक गर्ने गरेका  थिए । यस्तो लेखेका छन् ,पण्डितले सामाजिक संजालमा

एक हजार घुस लिएको आरोप लागेका कर्मचारीद्वारा आत्महत्या

काठमाडौंः एक हजार घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी धरौटीमा रिहा भएका एक कर्मचारीले आत्महत्या गरेका छन्। अख्तियारले पक्राउ गरेपछि ४२ दिन थुनामा बसेर गत भदौ ३१ गते धरौटीमा रिहा भएका रामहरि सुवेदीले आत्महत्या गरेका छन् । रिहा भएको एक सातामै सुनसरी इनरुवा नगरपालिका–५ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जेमा बस्दै आएका ४७ वर्षीय रामहरि सुवेदीले कटुञ्जेस्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका हुन् । कलङ्की मालपोत कार्यालयमा खरिदारका रूपमा रहँदा गत असार महीनामा रु एक हजार रकम लिँदै गरेको सीसी क्यामराको दृश्य अवलोकन गरी अख्तियारले सुवेदीलाई हाजिर हुन कार्यालयमा बोलाई कार्यालयबाटै गत २२ साउनमा पक्राउ गरी थुनामा राखेको थियो । विगत २१ वर्षदेखि सरकारी सेवामा कार्यरत सुवेदीले सेवाग्राहीले खाजा खान दिएको एक हजार रुपैयाँ दिँदा ज्यानै गुमाउनुपरेको अस्पताल आएका आफन्तले बताएका छन् । अख्तियारले तीन पटक बयान लिँदा मानसिक तनाव दिएको सुवेदीले परिवारलाई बताएको आफन्तले आरोप लगाएका छन् ।

विश्वको सबैभन्दा ठूलो हतियार बजार भारत

काठमाडौं । विश्वमा सबैभन्दा बढी हतियार किन्ने देश कुन होला ? यो खुल्दुली सबैमा हुन्छ । इन्टरनेसनल आम्र्स ट्रान्सफोर्स नामक संस्थाले जारी गरेको पछिल्लो तथ्यांकअनुसार हाम्रो छिमेकी मुलुक भारत हतियार आयात गर्ने मुलुकहरूको सूचीमा पहिलो स्थानमा छ । भारतले सन् २००८ देखि सन् २०१३ सम्म जति हतियार आयात गरेको थियो त्योभन्दा २४ प्रतिशत बढी हतियार सन् २०१३ देखि २०१७ को अवधिमा आयात गरेको छ । हतियार आयात गर्ने मुलुकहरूको यो सूचीमा भारतपछि क्रमशः साउदी अरेबिया, इजिप्ट, युनाइटेड अरब इमिरेट्स, चीन, अस्ट्रेलिया, अल्जेरिया, इराक, पाकिस्तान र इन्डोनेसिया छन् । सन् २०१३ देखि २०१७ को अवधिमा भारतले रुससँग ६२ प्रतिशत, अमेरिकासँग १५ प्रतिशत र इजरायलसँग ११ प्रतिशत हतियार किनेको थियो । यो तथ्यांकअनुसार भारत रूस र इजरायलको सबैभन्दा ठूलो हतियार बजार हो । उक्त प्रतिवेदनअनुसार पछिल्लो १ दशकमा चीन हतियार आयातक मुलुकबाट निर्यातक मुलुकमा स्तरोन्नतिसमेत भएको छ । चीन हतियार निर्यातमा अहिले अमेरिका, रूस, फ्रान्स र जर्मनीपछि पाँचौं स्थानमा छ । चीनका हतियारको ठूला ग्राहक पाकिस्तान र बंगलादेश हुन् ।

सिद्धिचरण लोकमार्गमा यात्रुको ज्यान जोखिममा

उदयपुर, असोज २० । उदयपुरको कटारी, घुर्मी हुँदै हर्कपुर भएर ओखलढुंगा तथा जयरामघाट हसेली, खोटाङसम्म सञ्चालन हुने सिद्धिचरण लोकमार्ग क्षेत्रमा दशैँको समयको मौका छोपेर यातायात व्यवसायीले सवारीसाधनको माथि छतमा समेत क्षमताभन्दा बढी यात्रु राख्ने गर्नाले यात्रुको ज्यान जोखिममा पार्न थालेको छ । यस क्षेत्रमा सञ्चालन हुने साना तथा ठूला सवारीका साधनले समेत जबर्जस्ती यात्रुलाई गाडीभित्र कोच्ने र छतमाथि समेत राखेर यातायातका साधन सञ्चालन गर्न थालेपछि केही यात्रु बसको छतबाट खसेर गम्भीर घाइते भएका छन् भने कतिपयको जीवन नै जोखिममा पर्न थालेको हर्कपुरका इन्द्रनारायण श्रेष्ठले बताएको छ । भिरालो, वनवे कच्ची सडक भएको र त्यसमा पनि गाडीभित्र र माथि छतमा समेत दोब्बर यात्रु राखेर सवारीसाधन सञ्चालन हुने गर्नाले कुनै पनि बेला सवारी दुर्घटना भइहाले धेरै यात्रुको ज्यान जाने अवस्था रहेको खोटाङ तुवाचुङ नगरपालिका–४ का युवराज राई बताए । रु पाँचसयदेखि एक हजार सवारी भाडा निर्धारण गरेको ठाउँमा अहिले रु दुई हजारभन्दा बढी सवारी भाडा तिर्नु पर्ने नत्र गाडीबाट सवारी चालकले जबर्जस्ती झारी दिने गरेकोसमेत हर्कपुरकै अर्का यात्री इन्दिरा राईको गुनासो छ । करिब एक महिनादेखि यस लोकमार्ग क्षेत्रमा यातायात व्यवसायीले मनपरि सवारी भाडा लिने र बढी यात्रु राखेर सवारीसाधन सञ्चालन गर्ने गरेको भएता पनि अहिलेसम्म सम्बन्धित निकायबाट यसको कुनै कारबाही नभएको कुरा हलेसी च्यास्मीटार उच्चमाविका एक शिक्षक बुद्धराज ढकाल बताए । कच्ची सडक र सडकको अवस्था जीर्ण रहेका बेला सवारीका साधनले तलभित्र र माथि छतमा भरी यात्रु राख्नाले कुनै पनि बेला सवारी दुर्घटना भए ठूलै मानवीय क्षतिको अवस्था आउने यात्रु र स्थानीयवासी जनतासमेत बताउँछन् । सडकको अवस्थाअनुसार सवारीसाधनले सोही क्षमताअनुसार यात्रु बोक्नु पर्ने भए पनि भित्र र माथि भरी यात्रु बनाएर मात्र सवारी चालकले गाडी चलाउने र महँगो सवारी भाडा लिने यस लोकमार्गको परम्परानै हुन थालेको घुर्मीका स्थानीय लोकबहादुर पुलामी मगर बताए । यता सम्बन्धित यातायात व्यवसायी संघले भने मनपरि सवारी भाडा लिने जो कोही सवारी सञ्चालकलाई थाहा पाए तत्काल कारबाही गर्ने बताउने गरेको छ । घुर्मीमा अहिले केही समयको लागि अस्थायी ट्राफिक प्रहरी पोष्ट र प्रहरी चौकी रहेको भएता पनि यातायात व्यवसायीले प्रहरीको वास्तै नगरी क्षमताभन्दा बढी यात्रु बोक्ने र सवारी भाडा मनपरि लिने कार्य झनै बढ्दै गएको यस क्षेत्रमा सवार आम यात्रुको गुनासो बढ्दै जान थालेको छ ।

राजपालाई छाता, दुवै राप्रपालाई हलो चुनाव चिन्ह, सबैको कुन चिन्ह हेर्नुस् सूचीमा

काठमाडौं, भदौ २३ । आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ९१ दललाई चुनाव चिन्ह वितरण गरेको छ। आयोगको बिहीबारको निर्णयअनुसार दललाई चुनाव चिन्ह वितरण गरेको हो। आयोगको निर्णयअनुसार पशुपति शमशेर राणा नेतृत्वको नवगठित राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक०ले गोलाकारभित्रको हलो चुनाव चिन्ह पाएको छ। यस्तै, डा.प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा (राष्ट्रवादी) ले आयतकारभित्रको हलो चिन्ह पाएको छ। ६ वटा मधेस केन्द्रित दल मिलेर एकीकृत भएको राष्ट्रिय जनता पार्टीले छाता चुनाव चिन्ह पाएको छ। नौँ वटा राजनीतिक दलले संयुक्त चिन्ह पाएका छन् । नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकार भित्रको हँसिया हथौडालाई तीनवटा पार्टी चुनाव चिन्ह बनाएका छन् । माओवादी केन्द्र सहित उक्त चिन्हमा प्रेमबहादुर सिंहको समाजवादी जनता दल र लोकमणि ढकाल नेतृत्वको जनजागरण पार्टीले चुनाव लड्ने भएका छन् । नेकपा मालेको चुनाव चिन्हमा जनसमाजवादी पार्टी पनि संयुक्त रुपमा चुनावमा जाने गरी आयोगले चिन्ह वितरण गरेको छ।    

आजको मौसम

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी प्रदेशलगायत बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै आज राती देशभर साधारणतया बदली रहने छ । लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।