फागुन २१ गते शहिद प्रतिष्ठान नेपालले अन्तरक्रिया गर्दै
काठमाडौं । लामो समयदेखि जनयुद्धका शहिद, बेपत्ता तथा घाइतेहरुको क्षेत्रमा काम गर्दै आएको संस्था शहिद प्रतिष्ठान नेपालले 'शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति' भन्ने शिर्षकमा अन्तरक्रिया गर्ने भएको छ ।
यहीँ फागुन २१ गते दिउँसो ठिक ११ बजे हुने उक्त कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रहनेछ ।
राष्ट्रिय सभागृहमा हुने उक्त खुल्ला अन्तरक्रिया कार्यक्रममा नेकपा एमालेका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवम् पुर्वप्रधानमन्त्री शेर बहादुर देउवा, नेकपा एकीकृत समाजबादीका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल समाजबादी पार्टीका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री बाबुराम भट्टराई, क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण, नेकपाका महासचिव एवम् समाजबादी मोर्चाका संयोजक विप्लव सि, जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत सहभागी रहनेछ ।
वि.स. २०६५ मा पोष्ट बहादुर बोगटीको अध्यक्षतामा स्थापित शहिद प्रतिष्ठान नेपालको संरक्षकको रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रहेको छ । यस संस्थाले देशभरी ५ स्थानमा शहिद स्मृति आवासीय माध्यमिक विद्यालयहरु संचालन गर्दै आइरहेका छन् । डोटी, दाङ, पोखरा, दोलखा र सुनसरीमा रहेको उक्त विद्यालयहरुमा करिब २५ सय विद्यार्थीहरु अध्ययनरत छन् । यस विद्यालयले शहिद परिवार, बेपत्ता, घाइते, अल्पसंख्यक, दलित, बेसहारा सहित स्थानीय विद्यार्थीहरुलाई समेत निशुल्क शिक्षा दिदै आएको छ ।
पछिल्लो समय उत्पन्न राजनीतिक विवादले शान्ति प्रक्रिया नटुंगिने हो कि भन्ने शंका पैदा भइरहेको बेला शहिद प्रतिष्ठान नेपालले सबै प्रमुख राजनीतिक दलका प्रमुख नेताहरूलाई एउटै मंचमा खडा गरेर शान्ति प्रक्रियाको विषयमा बोल्नको लागि अन्तरक्रिया राखेको शहिद प्रतिष्ठान नेपालका महासचिव युवराज चौलागाईले बताए ।
पोलियो खोप रोक्ने १८ कर्मचारी निलम्बनमा
काठमाडौं , फागुन २३ । पोलियो खोप कार्यक्रममा अवरोध गर्ने १८ कर्मचारी निलम्बनमा परेका छन् । कर्मचारीले स्वास्थ्य संस्था र खोप भण्डारण कक्षमा समेत तालाबन्दी गरेकाले पोलियो थोपा खुवाउने कार्यक्रम प्रभावित भएको छ । नियमित तालिकाअनुसार ललितपुर, भक्तपुरसहित तराईका १५ जिल्लामा पाँच वर्षमुनिका १६ लाख १२ हजार ३ सय १५ बालबालिकालाई पोलियो थोपा खुवाउने कार्यक्रम थियो । ७ र ८ फागुनमै पोलियो थोपा खुवाउने भनिएको थियो । तर, कर्मचारीले स्वास्थ्य संस्थामा तालाबन्दी तथा औषधि ढुवानीमा अवरोध गरेपछि दुईपटक मिति सारिएको थियो । स्वास्थ्य मन्त्रालयले ७ र ८, १३ र १४ र २१ र २२ फागुनमा पोलियो थोपा खुवाउने तयारी गरेको थियो । स्वास्थ्यमन्त्री गगन थापाले पोलियो खोप अभियानमा अवरोध पु¥याउने कर्मचारीलाई कारबाही गर्ने चेतावनीसमेत दिएका थिए । तैपनि अवरोध गरेर बालबालिकाको स्वास्थ्य र जीवनमाथि खेलबाड गरेको भन्दै स्वास्थ्य मन्त्रालयले अवरोध गर्ने कर्मचारीलाई निलम्बन गरेको हो । स्वास्थ्य मन्त्रालयले मनपरी भएको भन्दै बर्खास्तसमेत गर्ने गरी कर्मचारीहरूको सूची बनाउन थालेको स्वास्थ्यमन्त्री गगन थापाले बताए । मन्त्रालयले आचारसंहिताविपरीत गतिविधि गर्ने कर्मचारीलाई कारबाही गर्र्न निर्वाचन आयोगसँग परामर्शसमेत लिएको छ । निलम्बनमा परेका कर्मचारीलाई विभागीय सजाय गर्नु नपर्ने कारण भए तीन दिनभित्र स्पष्टीकरण पेस गर्न मन्त्रालयले आइतबार सूचनासमेत जारी गरेको छ । स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७८(३) र निजामती सेवा ऐन २०४९ को दफा ६४ (३) अनुसार १८ कर्मचारी निलम्बनमा परेका हुन् । अवरोध गर्ने कर्मचारीलाई बर्खास्तको तयारी : कर्मचारी बर्खास्त गर्ने विषयमा लोकसेवा आयोगसँग पनि परामर्श लिइने मन्त्रालयले जनाएको छ । सरकारी अभियानमा अवरोध गर्ने र राज्यमाथि नै चुनौती दिने हिसाबले विभिन्न गतिविधि गरिरहेको प्रमाणका आधारमा उनीहरूलाई सेवाबाट बर्खास्त गर्न लोकसेवासँग परामर्श लिन लागिएको स्रोतले बतायो । स्वास्थ्य सेवा ऐनको दफा ७४ मा सेवाबाट हटाउने वा बर्खास्त गर्ने विषय उल्लेख छ । कर्मचारीले लापरबाही वा बदनियतले काम गरेमा, आफ्नो पदको जिम्मेवारी पूरा गर्न नसकेको अवस्थामा, बारम्बार अनुशासनहीन काम गरेमा बर्खास्त गर्न सकिने प्रावधान छ । कार्यालय समयमा बारम्बार मादक पदार्थ सेवन गरेमा, राजनीतिमा भाग लिएमा पनि सरकारले चाहेमा बर्खास्त गर्न सक्ने व्यवस्था ऐनमा छ । सप्तरीका जनस्वास्थ्य प्रमुख सम्पर्कविहीन : सप्तरी जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख डा. नागेन्द्र चौधरी दुई दिनदेखि सम्पर्कविहीन रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पोलियो थोपा खुवाउने अभियान सञ्चालन गर्न १५ जिल्लाका जनस्वास्थ्य प्रमुखलाई मन्त्रालयले परिपत्र जारी गरेपछि चौधरी कुनै निकायलाई जानकारी नदिई सम्पर्कविहीन बनेका हुन् । सप्तरीमा खोप सञ्चालन अवस्थाबारे चौधरीलाई सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा नआएपछि अपहरणको आशंकामा मन्त्रालयले प्रहरीलाई खोजी गर्न आग्रह गरेको थियो । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार उनी कार्यक्रम छाडेर काठमाडौं आएका छन् । यो खबर आजको नयाँ पत्रिकामा छ ।
आज देशभरको मौसम सफा रहने
काठमाडौं । हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसमसफा रहने छ । आगामी २४ घण्टामा कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने भएकाले ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
ट्वान्टी–२० शृंखला : अमेरिकाविरुद्ध नेपालको ‘क्लिन स्विप’
काठमाडौं । अमेरिकाविरुद्धको ट्वान्टी–२० शृंखलामा नेपालले ‘क्लिन स्विप’ गरेको छ । तीन खेलको शृंखलाअन्तर्गत सोमबार भएको अन्तिम खेलमा घरेलु टिमलाई आठ विकेटले हराउँदै नेपालले शृंखलामा ३–० को जीत हासिल गरेको हो। आज भएको खेलमा अमेरिकाले प्रस्तुत गरेको १५७ रनको लक्ष्य नेपालले १८.४ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा ओपनर आसिफ सेखले ५० रन बनाए । उनले ३९ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । कुशल मल्लले ३० बलमा चार चौका र एक छक्कासहित ४४ रन थपे । कुशल भुर्तेलले ४० रन जोड्दा अर्का ओपनर अनिल साहले १३ रन बनाए । अमेरिकाका जुनोय ड्राइसडेल र जसदीप सिंहले समान एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङमा आएको अमेरिकाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५६ रनको योगफल खडा गरेको थियो । अमेरिकाका ओपनर साइतेजा मुक्कमल्लले ६८ रन बनाएका थिए । मिलिन्ड कुमारले ४३ रन थप्दा आरोन जोनसले १३ र हर्मीत सिंहले १० रन बनाए । नेपालका सोमपाल कामीले तीन विकेट लिए । चार ओभर बलिङ गरेका सोमपालले २७ रन खर्चिए । यस्तै, रिजन ढकाल र ललित राजवंशीले समान एक विकेट लिए । यसअघि शृंखलाको पहिलो खेलमा नेपालले घरेलु टिमलाई १७ रन र दोस्रो खेलमा सुपरओभरमा हराएको थियो ।
स्याङजाको सुन्तला र पर्यटन प्रवर्धनसम्बन्धी सम्भाव्य कार्यक्रम बने सहकार्य गर्ने अध्यक्ष ढकालको प्रतिबद्धता
स्याङजा । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्याङजाको सुन्तला, कफी र पर्यटन प्रवर्धनसम्बन्धी सम्भाव्य योजना तथा कार्यक्रम बने सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ स्याङजा जिल्ला उद्योग बाणिज्य संघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले १० अर्व रूपैयाँको लगानी कम्पनी स्थापना भएको र त्यसले काम सुरु गरिसकेको जानकारी गराउदै स्वदेशी लगानीबाट पनि सकारात्मक सन्देश प्रबाह गर्न सकिने बताउनु भयो । उहाँले भन्नुभयो, "जिल्ला जिल्लाका व्यावसायी साथीहरु लगानीका लागि अबसर खोजिरहनु भएको छ त्यसलाई एकिकृत गर्ने हो भने पुजीको कुनै समस्या हुदैन ।" अध्यक्ष ढकालले भन्नुभयो, "यतिबेला बैकमा निक्षेप पर्याप्त छ, व्याजदर निकै घटेको छ ।यस्तो बेला नेपालमा नै लगानीको अबसर छ भन्ने सन्देश प्रबाह गर्नुपर्छ ।" उहाँले यो डेढ बर्षको अबधिमा लगानी प्रबद्र्धनका लागि देश भित्र र बाहिर आफुहरुले निरन्तर अभियान संञ्चालन गरेको जानकारी गराउदै आफुहरुकै पहलममा सरकारले लगानी मैत्री बातावरण बनाउन ८ वटा कानून शंशोधन गरेको जानकारी गराउनुभयो । नीजि क्षेत्रले उठाउदै आएको मर्यादाक्रमको बिषय, कर सम्बन्धी समस्या लगायतका बिषयमा आफुहरु निरन्तर लागिरहेको जानकारी गराउनुभयो ।
बुटवल–नारायणगढको दाउन्नेमा सडक अवरोध
नवलपरासी । पूर्वी नवलपरासीको दाउन्ने पहाड क्षेत्रमा सडक भाँसिदा बुटवल–नारायणगढको यात्रा कठिन बनेको छ ।सोमबार साँझदेखि भाँसिएको सडक मंगलबार दिनभरजसो मर्मत गरिएपनि पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । बुधबार बिहानैदेखि फेरि मर्मत कार्य सुरु गरिने जनाइएपनि सिमसिमे पानी परिरहेको र लेदो खसिरहेकाले काम गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी डिएसपी बेदबहादुर पौडेलले जानकारी दिए। मंगलबार दिउँसोदेखि पहाड काटेर भाँसिएको सडक मर्मत गरेर एकतर्फी सवारी साधन सञ्चालन गरिएको थियो । तर, रातिदेखि परेको पानीका कारण सडकमा रहेको माटोलाई लेदो बनाएपछि अहिले यातायात अबरुद्ध रहेको छ । दाउन्नेको प्रमुख बजारको पूर्वतर्फ करिब ५० मिटरको सडक भाँसिएको छ । ५/७ मिटरको दरले पहाड काट्दैं सडकलाई मर्मत गराउँदै आइएको थियो । पानी परिरहेकाले पहाड काटेर मर्मत गर्न सम्भव नभएकाले सडकको लेदो हटाउँदै २/२ घण्टाको अन्तरालमा केही गाडीहरु पास गराउँदै आउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । पानी नरोकिए बुधबार दिनभर पनि सडक पूर्णरुपमा सञ्चालन हुन कठिन देखिएको प्रहरीले जनाएको छ । सडक अवरोध भएपछि पूर्व पश्चिम भएर चल्ने सवारी साधनहरु पश्चिम नवलपरासीको बर्दघाट र पूर्वी नवलपरासीको दुम्किवासमा रोकिएका छन् ।
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सोमबार
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक भोलि (सोमबार) बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सोमबार दिउँसो १ बजे बस्ने बैठकले केन्द्रीय सदस्य टुंगो लगाउने केन्द्रीय सदस्य आलोक रायमाझीले जानकारी दिए । पार्टी विधानअनुसार २९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएकोमा अब ३२९ सदस्यीय कार्यसमिति विस्तार हुनेछ । सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्यांकन गरी भुगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनयन गर्ने, कमिटीलाई पूर्णता दिएपछि पदाधिकारी चयन गर्नेलगायत विषयमा छलफल हुने नेता रायमाझीले बताए । रासस
यस्तो रहनेछ आजको मौसम
काठमाडौँ।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ। महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बागमती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ। आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ।
सभापतिमा उम्मेदवारी दिने शशांक कोइरालाको घोषणा
विराटनगर । इटहरी नेपाली कांग्रेसका नेता विपी पुत्र शशांक कोइरालाले आगामी १५औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका छन्। १३औं महाधिवेशनमा महामन्त्री निर्वाचित भएका कोइराला १४औं महाधिवेशनमा केन्द्रीय सदस्य बनेर सर्वाधिक मत ल्याएका थिए। १३औं महाधिवेशनमा तत्कालिन संस्थापन अर्थात् रामचन्द्र पौडेल समूहबाट विजयी भएता पनि सभापति शेरबहादुर देउवाको सहयोगी बनेको आलोचना खेपे ।कोइरालाले बुधबार नेपाल प्रेस यूनियन सुनसरी शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भने, ‘१५औं महाधिवेसनमा सभापतिमा उम्मेदवारी दिने योजना छ।’ उनले सभापतिकै तयारीका लागि अहिले देश दौडाहामा लागेको खुलाए । ‘सभापतिमा उठ्दा साथीहरुसँग राय सुझाव लिन हिडिरहेको छु,’ उनले पत्रकार भेटघाटमा भने। नेता कोइरालाले आफू सभापतिमा निर्वाचित भएपछि पार्टीमा अहिले देखिएको समस्या समाधान गर्ने दाबी गरे। ‘म सभापति भएपछि प्रदेश र स्थानीय तहलाई बलियो बनाएर लैजानेछु,’ उनले भने, ‘अहिलेका सभापति शेरबहादुर देउवालाई सल्लाह दिँदा पनि कार्यान्वयन भएन्। उम्मेदवार छान्दा केन्द्रबाट चुन्ने र बजेट दिँदा पनि संघीय सरकारले निर्धारण गर्ने गरेको छ। यो गलत छ।’ कांग्रेसको विधानअनुसार वर्तमान सभापति देउवाको कार्यकाल ०८२ साल मंसिरमा सकिँदैछ। दुई कार्यकाल सभापति बनेका देउवा अब फेरि सभापतिको उम्मेदवार हुन पाउँदैनन्।देउवा पक्षबाट कृष्णप्रसाद सिटौलालाई सभापतिको उम्मेदवार बनाउने तयारी रहेको स्रोतले बतायो।
गृहमन्त्रीविरुद्ध रिटको पेसी आज
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेसी आजका लागि तोकिएको छ ।गृहमन्त्री लामिछानेविरुद्ध अधिवक्ता अनुपम भट्टराईले दर्ता गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो। अधिवक्ता भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भनी निलम्बनको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । लामिछानेविरुद्ध सहकारी ठगीको कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेज गर्न समेत रिटमा माग गरिएको छ। रिटमा महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री लामिछानेलाई विपक्षी बनाइएको छ। रिटमा उपप्रधानमन्त्री तथा गृहमन्त्रीले धारण गरेको जिम्मेवारीले अनुसन्धान प्रक्रियामा अनु्चित प्रभाव र प्रतिकूल असर पार्ने तथा प्राकृतिक न्यायको सिद्धान्त विपरित समेत रहने भएकाले अनुसन्धान प्रक्रिया चलिरहेको अवस्थामा गृहमन्त्रीको पदबाट निजलाई निलम्बन गर्नु भनि नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको नाउँमा अन्तरिम प्रकृतिको उपयुक्त आदेश माग गरिएको छ । महान्यायाधिवक्ताको कार्यालयले गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा कुनै पनि उजुरी नपरेको पत्र पठाएपछि अधिवक्ता भट्टराईले गृहमन्त्री र महान्याधिवक्ताविरुद्ध सर्वोच्चमा रिट निवेदन दिएका थिए। तर, अदालत प्रशासनले उक्त रिट दरपीठ गरेपछि भट्टराईले अर्को रिट दायर गरेका थिए । उक्त रिटमा न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्धको रिट दर्ता गर्न अदालत प्रशासनलाई आदेश दिएको थियो। महान्यायाधिवक्ताको कार्यालयले रुपन्देहीको सुप्रिप बचत तथा ऋण सहकारी संस्था, चितवनको साहारा सहकारी संस्था तथा कास्कीको सूर्यदर्शन सहकारी संस्थाको रकम हिनामिनासम्बन्धी लामिछानेविरुद्ध कुनै उजुरी, जाहेरी, अनुसन्धान तथा अभियोजन समेत नदेखिएको जनाएको थियो ।
कार्यादेशमा सहमति जुटाउने प्रयासमा प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहकारी ठगी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय समितिको कार्यादेशमा सहमति जुटाउन प्रयासरत छन् । पूर्वनिर्धारित मन्त्रिपरिषद्को बैठक स्थगित गरी प्रधानमन्त्री प्रचण्डले भोलि(जेठ १५ गते) सार्वजनिक हुने आगामी आर्थिक वर्षको बजेट भाषण अगाडि नै दलदहरुबीच सहमति बनाउने प्रयासमा जुटेका हुन् । सोमबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठक निष्कर्षविहीन भएपछि सत्तारूढ दलबाट प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री एंव रास्वपा सभापति रबि लामिछानेबीच बालुवाटारमा छलफल गरेका थिए । भने कांग्रेसले पनि हालका पदाधिकारी र पूर्व पदाधिकारीहरूबीच बूढानीलकण्ठमा छलफल गरेको थियो । त्यस लगत्तै प्रधानमन्त्री प्रचण्ड संसदीय समितिको कार्यादेश (टीओआर) तय गर्न बनेको समतिसँग गृहमन्त्री सहित छलफलमा छन् । स्रोतका अनुसार आजै सहमति गर्ने गरी छलफल अगाडि बढेको छ ।
मुलुक संघीयता कार्यान्वयनको बहस र छलफलको चरणमा : सभामुख घिमिरे
काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मुलुक अहिले संघीयता कार्यान्वयनको बहस र छलफलमा रहेको बताएका छन् ।शनिबार महालक्ष्मी नगरपालिका वडा नम्बर १० को नवनिर्मित भवन उद्घाटन गर्दै सभामुख घिमिरेले सो कुरा बताएका हुन् । सभामुख घिमिरेले संघीयता मुलुकका लागि उचित छैन भन्नेहरुलाई जवाफ दिनेगरी पछाडि परेको समूदायलाई प्राथमिकता दिने खालको कामहरु मुलुकमा भईरहेको बताए। उनले ललितपुरको महालक्ष्मी नगरपालिका अन्तरगतको वडा नम्बर १० पछि परेको क्षेत्र भएपनि संघीयताका कारण सो क्षेत्रमा पनि प्राथमिकताका साथ विकास, निर्माणको कामले गति लिन सम्भव भएको स्पष्ट पारे। सभामुख घिमिरेले सघीयताले गरिवी, भौतिक पूर्वाधारको कमी र जनचेतनाको पनि कमी भएको ठाउँमा प्राथमिकताका साथ काम गर्नुपर्छ भन्ने कुरालाई अघि ल्याएको पनि स्मरण गराए त्यस अवसरमा सभामुख घिमिरेले संघीयताले दिएको अधिकार कार्यान्वयनमा महालक्ष्मी नगरपालिकाले खेल्दै आएको भुमिकाको प्रशंशा समेत गरे।
समितिलाई सभामुखको निर्देशन -'संसद्को अधिवेशनअघि नै विधेयक पारित गर्नू '
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को आगामी अधिवेशनअगावै महत्वपूर्ण विधेयकहरूमाथि छलफल गरी पारित गर्न संसदीय समितिहरुलाई निर्देशन दिएका छन् । मंगलबार संसद सचिवालय सिंहदरबारमा विभिन्न विषयगत समितिका सभापतिका साथै राष्ट्रिय दलका मुख्य सचेतक, सचेतकसँग सामूहिक रूपमा छलफल गर्दै सभामुख घिमिरेले आगामी अधिवेशनअगावै विधेयकहरू पारित गर्नेगरी तयारी गर्न ध्यानाकर्षण गराएका हुन् । आगामी अधिवेशनमा आउन सक्ने विधेयक, समितिमा विधेयकको अवस्था, आगामी अधिवेशनको तयारी लगाायतका विषयमा छलफल भएको सभामुख घिमिरेले जानकारी दिए । अझै पनि धेरै विधेयकहरू समितिमा टंग्गो लाग्न बाँकी रहेको र छिटो टुंग्याउने काममा गति दिन आफूले आग्रह गरेको उनले बताए । सभामुख घिमिरेले आगामी अधिवेशनको तयारी गर्नुपर्ने र अधिवेशनमा आउन सक्ने अप्ठेराहरु हल गर्न सबैले भूमिका खेल्न आग्रह गरे। बैठकपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले संविधान कार्यान्वयनका निम्ति धेरै विधेयकहरु समितिमा रहेकाले यसलाई छिटोभन्दा छिटो अघि बढाउनुपर्ने जोड दिइएको बताए। आगामी अधिवेशनमा समितिबाट धेरै विधेयकहरु पेस हुने उनको भनाइ छ। उनले सहकारीको समस्या पूर्णरूपमा समाधानका लागि आगामी अधिवेशनबाटै आवश्यक कानुन निर्माण हुने जानकारी दिए।
काङ्ग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा
काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । निलम्बन फुकुवा गर्न माग गरी रिट दायर गरेका गुरुङको पक्षमा सर्वोच्च अदालतले फैसला गरेपछि उनको निलम्बन फुकुवा भएको हो । संघीय संसदमा महासचिव पद्म प्रसाद पाण्डेयले बुधबार सूचना जारी गर्दै सर्वोच्चको आदेशअनुसार निलम्बन फुकुवा गरेको सूचना जारी गरेका छन् । मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका सांसद गुरुङ २०७९ पुस १२ गते निलम्बनमा परेका थिए । निलम्बन गरेपछि गुरुङले फागुन २१ गते सर्वोच्चमा रिट दायर गरेका थिए । संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयले बुधबार जारी गरेको सूचनापत्र
एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक सुरु
काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक गोदावरीमा सुरु भएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेकाे एक नेताले जानकारी दिएका छन् । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताको आशा र भरोसालाई आफ्नो पार्टीले सम्बोधन गर्ने दृढता व्यक्त गरेका छन् । आजको बैठकमा राजनीतिकसँगै, सांगठनिक र आयोगका प्रतिवेदन प्रस्तुत हुनेछ । प्रतिवेदन प्रस्तुत गरेपछि ६ वटा समूहमा विभाजन गरेर र छलफल गरिने महासचिव शंकर पोखरेलले जानकारी दिए । बैठकमा केन्द्रीय सदस्यसहित २ हजार ४५४ जना प्रतिनिधि सहभागी भएको एमालेले जनाएको छ ।
नाउपा सुदूरपश्चिम संसदीय दलका नेता चौधरी ३ महिनाका लागि पार्टीबाट निलम्बित
धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरी ३ महिनाका लागि निलम्बनमा परेका छन् । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले यसअघि पठाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उनलाई ३ महिनाका लागि निलम्बन गरेकी हुन् । अध्यक्ष श्रेष्ठले शुक्रबार सभामुख भीम भण्डारीलाई चौधरीलाई निलम्बन गरिएको जानकारीसहितको पत्र पठाएको नाउपाका नेता तथा टीकापुर नगरपालिकाका मेयर रामलाल डंगौराले जानकारी दिए। यसअघि अध्यक्ष श्रेष्ठले चौधरीलाई दलको नेताबाट हटाएर कैलाश चौधरीलाई जिम्मेवारी तोकेकी थिइन् । त्यस्तै,नाउपा अध्यक्ष श्रेष्ठले आफ्नै पति रेशमलाल चौधरी पक्ष मानिने प्रदेश सरकारका काम चलाउ मन्त्रीहरुलाई पनि कारबाही गर्न लागिएको बताइएको छ । यसअघि उनले समानुपातिक सांसद समेत रहेकी राज्यमन्त्री इन्दिरा गिरीलाई पदमुक्त गरिसकेकी छन् ।