महामन्त्रीको प्रतिवेदनमाथि छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री डा.मुकुल ढकालले तयार गरेको पार्टीको वर्तमान अवस्था बारेको प्रतिवेदनबारे छलफल गर्न असर १९ गते बुधबार केन्द्रीय समितिको बैठक बोलाएको बोलाएको छ।

इलाममा सम्पन्न उपनिर्वाचनमा पार्टीको नराम्रो हारसँगै रास्वपाले देश भरका नेता तथा कार्यकर्ताको धारणा बुझेर प्रतिवेदन बनाउन महामन्त्री ढकाललाई कार्यादेश दिए अनुसार प्रतिवेदन बनाएर सभापति रवि लामिछानेलाई बुझाइसकेका छन्।

बैठक असार १९ गते बिहान ८ बजेदेखि बस्ने महामन्त्री ढकालले जानकारी दिएका छन्।महामन्त्री ढकालले तयार गरेको प्रतिवेदनमा रास्वपाको जनमत कमजोर बनेको र अहिलेको जस्तै गरि अगाडि बढिरहेमा रास्वपा विवेकशील साझा पार्टीको बाटोमा जाने निष्कर्ष निकालेका छन्।

उनले प्रतिवेदनमा पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको साथमा सत्ताका लागि सम्झौता गर्नुभन्दा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग सहकार्य गर्नु हितकर हुने समेत सुझाव दिएका छन्। 

महामन्त्री ढकालले आम कार्यकर्ताबाट व्यक्त भएका भावनालाई प्रतिवेदनमा समेटेको र यसलाई कार्यान्वयन गर्न आफूले नेतृत्वलाई आग्रह गर्ने बताएका छन्। 

आफूले जन्माएको पार्टी भएका कारण आफूले प्रतिवेदनमा यथार्थ उल्लेख गरेको बताउँदै उनले यसका लागि आफ्नो महामन्त्री पद समेत जान सक्ने उल्लेख गरेका छन् ।

मुलुकलाई औद्योगिक विकासतर्फ लैजान उद्यमशीलतालाई बढावा दिनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई औद्योगिक विकासतर्फ अग्रसर गराउन साना तथा घरेलु उद्यमशीलतालाई बढावा दिनु जरुरी रहेको बताएका छन्।  बुधबार नेपाल घरेलु तथा साना उद्योग महासङ्घले आयोजना गरेको नेपाल १७ औं अन्तर्राष्ट्रिय औद्यौगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताए।  राष्ट्रपति पौडेलले गरिबी न्यूनीकरण, रोजगारी अभिवृद्धि गरी आत्मनिर्भर बनाउन योगदान दिने मुलुकको अर्थतन्त्रको जगका रुपमा रहेको लघु, घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिनुपर्ने बताए।  उनले साना तथा घरेलु उद्योग क्षेत्रको विद्यमान पुँजी, कच्चा पदार्थ, प्रतिस्पर्धात्मक क्षमता, बजारीकरण र दक्ष जनशक्ति लगायतका समस्या समाधानमा सरकार र व्यवसायीले हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिए।  राष्ट्रपति पौडेलले प्राकृतिक स्रोतको उपयोग समावेशी र समानुपातिक सहभागितामा मात्रै नभएर परम्परागत कृषिलाई औद्योगिक कृषिमा बदल्नेसमेत सघाउ पुर्‍याउने बताए। उनले देशमा महिलाले सञ्चालन गरेका लघु, घरेलु तथा साना उद्योगले ठूलो सङ्ख्यामा स्वरोजगार सिर्जना गरेकाले यसको प्रवर्धनमा विशेष कार्यक्रम आवश्यक रहेको उल्लेख गरे।  राष्ट्रपति पौडेलले महिला युवा र उद्यमीका लागि सहुलियतपूर्ण कर्जालाई प्रभावकारी बनाउनुपर्ने खाँचो रहेको धारणा राखे। उनले स्वदेशी वस्तु बिक्रीकक्ष स्थापना, स्वदेशी वस्तुबिक्री बजार, सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोगलाई महत्त्व दिनुपर्ने आजको आवश्यकता भएको बताए। उनले पुँजी पहुँचमा अहिले पनि घरेलु तथा साना उद्योगी मारमा परेको भन्दै सरकारले सुहलियतपूर्ण कर्जाको व्यवस्था तथा साना उद्योगमैत्री नीति तथा कार्यक्रम ल्याएर यस क्षेत्रको विकासमा सहयोग पुर्‍यानुपर्नेमा जोड दिए।  उनले देशमा उत्पादित वस्तुको प्रवर्धन गरी उद्योगको विकास गर्न केन्द्र तथा प्रदेशमा निर्यात गृह खोल्ने व्यवस्थाको लागि आवश्यक संरचना बनाउन सरकारको ध्यान दिनुपर्ने बताए।  

प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ। शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुवा आमासहित परिवारले भेट गरेको छ। भेटमा जोशीको परिवारले विपिनको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरिदिन प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको थियो। सो क्रममा प्रधानमन्त्रीले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र रिहाइका लागि निरन्तर पहल गरिरहेको बताउँदै छिट्टै सकारात्मक परिणाम आउनेमा आशावादी रहेको बताए।

साविक विजेता नेपाल मलेसियासँग खेल्दै

काठमाडौं । साविक विजेता नेपाली क्रिकेट टिमले आज मलेसियाविरुद्ध खेल्दै एसीसी प्रिमियर कप खेल्दै छ । यसअघि घरेलु मैदानमा भएको प्रतियोगिताको उपाधि जित्दै नेपालले गत संस्करणको एसिया कप खेलेको थियो । आज मलेसियाविरुद्ध मैदान उत्रिँदा नेपाली टिम सोही लयलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ ।  ओमानको अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार ४ः१५ बजेदेखि सुरु हुनेछ । यसअघि एकदिवसीय संरचनामा सञ्चालन भएको प्रतियोगिताको यस संस्करण भने ट्वान्टी–२० संरचनामा हुनेछ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, साउदी अरेबिया र कतार छन् । प्रतियोगितामा कुल १० टिमको सहभागिता छ । गत संस्करणझै यस संस्करणमा पनि विजेताले आगामी वर्ष ट्वान्टी–२० संरचनामा आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ ।

अध्यागमन कर्मचारीलाई गृहमन्त्रीको निर्देशन-  'विदेश जाने श्रमिकलाई अभद्र व्यवहार नहोस्'

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले अध्यागमन विभागका कर्मचारीहरूलाई मंगलबार निर्देशन दिँदै विगतका गल्ती नदोहोर्‍याउन आग्रह गरेका छन्। कालिकास्थानस्थित अध्यागमन विभागमा पुगेर गृहमन्त्री लामिछानेले रेमिट्यान्स पठाएर देशको अर्थतन्त्र धानिदिने श्रमिकहरूलाई अभद्र व्यवहार नगर्न भनेका हुन्।  ‘रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थलमा जाँदा–आउँदा गरिने अमर्यादित र अभद्र व्यवहार नगर्न तथा अनावश्यक दुःख, कष्ट र हैरानी दिने प्रवृत्ति तत्काल सुधार्नुस्’, उनले भने, ‘सहानुभूतिसहित सकारात्मक व्यवहार गरी आजैबाट सेवाग्राहीलाई परिवर्तनको अनुभूति गराउनुस्।’ लामिछानेले विदेशीका लागि अध्यायमन देशको मुहार रहेको बताउँदै त्यसमा ख्याल राख्न भनेका छन्। ‘मुहार नराम्रो हुँदा देशप्रति नै सकारात्मक धारणा बन्दैन’, उनले भने, ‘अध्यागमन सुधारका योजना ल्याउनुस्। तपाईंका योजनामा मन्त्रालयले सक्दो सहयोग गर्छ। म निर्देशन होइन सहकार्यमा विश्वास गर्छु।’ कर्मचारीवृत्तमा केही खराब मान्छेका कारण इमान्दारले दोष पाउने गरेको उनले बताए। ‘केही खराब मान्छेका कारण धेरै इमान्दारले दोष पाउने गरेका छन्। खराबलाई बेलैमा चिनेर इमान्दारलाई प्रोत्साहित गर्नुपर्छ’, उनले अगाडि भने।  गृहमन्त्रीले अध्यागमनलाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउनु आवश्यक रहेको बताए। ‘अध्यागमनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रविधिमैत्री बनाउनु पर्छ’, उनले भने, ‘जनशक्तिलाई पर्याप्त तालिम र कार्यस्थललाई स्रोत–साधान सम्पन्न बनाउन केही चुनौती छन्। तर, प्रयास जारी राख्नुपर्छ।’  उनले विगतमा भएका घटनामा आफूले कसैलाई दोष नदिने बताउँदै अब त्यस्ता गल्ती दोहोरिन नहुने उल्लेख गरे।‘हिजोका घटनामा कसैलाई दोषारोपण गर्न चाहान्न। भविष्यमा त्यस्ता घटना र प्रवृत्ति दोहोरिनु हुन्न,’ उनले भने, ‘दलीय आवद्धताका कारण कसैले संरक्षण गर्छ भन्ने नसोच्नु होला।’  कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले सकारात्मक सोचाई र व्यवहारका साथ सेवा दिन, प्रविधिमैत्री बन्न, मनसायपूर्ण गल्ती नगर्न निर्देशन दिए। विभागका महानिर्देशक कोशहरि निरौलाले विभागको काम–कारबाही, समस्या र चुनौतीबारे गृहमन्त्री र सचिवलाई ब्रिफिङ गरेका थिए। 

एमाले पार्टी कार्यालयमा ह्याप्पी होली !

काठमाडौं । नेकपा(एमाले)का नेताहरुले होली पर्व मनाएका छन् ।  सचिवालय बैठकअघि आइतबार मध्याह्न च्यासलमा रङ लगाएर होली पर्वको शुभकामना आदानप्रदान गरेका हुन् । अध्यक्ष केपी शर्मा ओलीले नेताहरुलाई रङ लगाइदिएका थिए ।   नेकपा(एमाले)को सचिवालय बैठकअघि आइतबार मध्याह्न च्यासलमा रङ लगाएर होली पर्वको शुभकामना आदानप्रदान गर्दै नेताहरू ।  तस्बिरहरू: केपी शर्मा ओलीको सचिवालय ।

दयाशंकर पत्रकारिता पुरस्कार श्रेष्ठलाई, त्रिभुवनलाई मरणोपरान्त सम्मान

पोखरा ।दयाशंकर पालिखेको परिवारले स्थापना र नेपाल पत्रकार महासंघले संचालन गर्दै आएको दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मानबाट दीपेन्द्र श्रेष्ठ सम्मानित भएका छन् ।  २०७९ सालको पत्रकारिता सम्मान कास्की महासंघका पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठलाई प्रदान गरिएको हो।यस्तै, मरणोपरान्त सम्मान स्व.त्रिभुवन पौडेललाई अर्पण गरिएको छ। २०८० को सम्मान त्रिभुवनकी धर्मपत्नी प्रतिभा अधिकारीलाई अर्पण गरिएको हो।  दुवै पुरस्कारको राशि १ लाख १ हजार १ सय ११ छ । दुबैजनालाई आज पोखरामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान अर्पण गरेका हुन् ।

राष्ट्रियसभाको राष्ट्रिय सरोकार र सुशासन समितिको सभापति चयन गरिँदै

काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक आज बस्दै छ । जसमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति तथा आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो । सिंहदरबारमा दिउँसो १ बजे बस्ने राष्ट्रिय सरोकार समितिको बैठकमा राष्ट्रियसभा नियमावली २०७५ को नियम १५० को उपनियम (१) बमोजिम समितिको सभापति रिक्त पदको निर्वाचन तथा समितिमा मनोनीत भइ आएका नयाँ सदस्यको स्वागत गर्नेलगायतका कार्यक्रम रहेको छ । यसैगरी, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ। आजको बैठकमा समितिका सभापतिको निर्वाचनलगायत कार्यक्रमको कार्यसूची रहेको छ । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा एमालेका सोनाम गेल्जेन शेर्पा र विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा कांग्रेसका कमला पन्तको उम्मेदवारी परेको छ । शेर्पालाई माओवादीका गोपीबहादुर सार्की अछामी, एमालेकी इन्दिरादेवी गौतम र कांग्रेसकी दुर्गाकुमारी गुरुङको समर्थन छ भने पन्तलाई कांग्रेसका नारायणदत्त भट्ट र एमालेकी शारदादेवी भट्टको समर्थन छ। एक–एक जनाको मात्रै उम्मेदवारी परेकाले दुवै समितिका सभापति निर्विरोध चयन भएको घोषणा हुनेछ। यी दुई सभापतिमा सत्तारुढ दल एमाले र नेपाली कांग्रेसले भागबण्डा गरेका हुन् ।

राष्ट्र बैंकले छिट्टै डिजिटल करेन्सी ल्याउँछ, सहकारी क्षेत्रमा प्रविधिको विकल्प छैन : डा. खतिवडा

काठमाडौं ।  पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले नोटको प्रयोग घट्दै गएकोले अब सहकारीले पनि सूचना प्रविधिमा जोडिएर विद्युतिय भुक्तानी गर्न तयार हुनुपर्ने बताएका छन् । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको पहिलो डिजिटल कन्क्लेभमा प्रमुख वक्ताको रुपमा की नोट दिँदै उनले बढ्दो सूचना प्रविधिको विकासले बैंकको शाखा र नोटको कारोबारको पनि कम हुँदै गएकाले सहकारीहरु पनि अब तयारीमा लाग्नुपर्ने उनले जोड दिए ।  जसले नोट बोक्छ, उसले सँगै जोखिम पनि बोक्ने भन्दै प्रविधिमा जोडिन आवश्यक भइसकेको उनले बताए । ‘अब एटीएम मेसिनको अस्तित्व सकियो । अब नोटको प्रयोग नै हुँदैन । नोट बोकेका छौं भने जोखिम बोकेका छौं । अहिले बैंक ब्रान्चलेस भइसके । सहकारीमा पनि अब सेवा केन्द्र आवश्यक छ की छैन बुझ्नुपर्छ’, उनले भने । सहकारीको कारोबार डिजिटल हुन सक्यो भने पारदर्शिता कायम भई क्रमश  समस्या समाधान हुने खतिवडाले बताए । सहकारी वित्तीय कारोबार मात्रै नभई सामाजिक पुँजी निर्माण र सहकार्य भएको बताउँदै कारोबार भौतिकरूपमा नभए पनि सदस्य भने भौतिक रुपमा उपस्थित हुनु पर्ने धारणा उनको छ । ‘केन्द्रिय बैंकबाट डिजिटल करेन्सी निकाल्ने कुरा आइरहेको छ । राष्ट्र बैंकले छिटो डिजिटल करेन्सी ल्याउनुपर्छ । भुक्तानी गर्न पर्यो भने राष्ट्र बैंकको वेवसाइटमा गएर कारोबार गर्नुपर्छ । डिजिटल करेन्सीको कारोबारको लागि आफू सक्षम हुनुपर्छ । नभए हराएर जानुको विकल्प रहन्छ । त्यसकारण सहकारी  सूचना प्रविधिमा अगाडि बढ्नुुपर्छ’, उनले भने । यस्तै, उनले सहकारी क्षेत्रले सदस्यलाई सूचना प्रविधिमा पनि अगाडि बढाउनु पर्ने बताए । ‘अब स्मार्ट सहकारीतर्फ अगाडि बढ्नु पर्छ । कारोबार स्मार्ट हुनुपर्छ । सबैको आफ्नै मोबाइल एप हुनुपर्छ । यो काम गर्न सकेनन् भने सहकारीको अस्तित्व नै नामेट हुन्छ,’ उनले भने । यस्तै, उनले बहुउद्देश्यीय सहकारीको काम नभएको तर्क दिएका छन् । एउटा मात्रै काम गरेर बहुउद्देश्यीय सहकारी भन्न नमिल्ने उनको भनाई छ । सामाजिक सञ्जालको उपयोग गरेर सदस्यलाई सहकारीको गतिविधिको जानकारी दिने वातावरण बनाउन आवश्यक रहेको उनले बताए । साधारण सभाको सूचनामा कार्यालयको ढोकामा टास्ने र घरमा पत्र पठाउने प्रचलनको अन्य हुने पने भन्दै उनले थपे, ‘कतिपय सहकारीको साधारण सभा सकिए पछि सदस्य कहाँ सदस्यले सूचना पाउने गरेका छन् ।’ समाजमा इन्टरकनेक्ट हुनका लागि पनि प्रविधिमा जान आवश्यक रहेको उनको तर्क छ । सन् २०३० सम्मको सहकारी कस्तो हुने, कस्ता प्रविधिको प्रयोग गर्ने र सदस्यलाई सेवा दिने भनेर सोच्ने बेला आइसकेको उनले जनाए । उत्पादन, वितरण र उपभोक्ताको क्षेत्रमा काम गर्ने सहकारी बाहेकका सहकारीलाई क्षेत्रगत र उदेश्य केन्द्रीत बनाउन जरुरी भएको उनले सुनाए । सदस्यको हितमा काम नगर्ने सहकारीको भविष्य नरहेको भन्दै उनले नाफामूखी, सदस्य र समुदाय केन्द्रीत नरहेका सहकारी काम नभएको उनले प्रष्ट पारे । सामाजिक पुँजी निमार्ण गरी सदस्य केन्द्रीत संस्था समाजमा आवश्यक रहेको उनको भनाई छ ।  

जन्मदर्ता गर्दा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य

काठमाडौं । गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बच्चाको जन्मदर्ता गर्दा राष्ट्रिय परिचय नम्बरसहितको जन्म दर्ताको प्रमाणपत्र जारी गर्न सूचित गरेको छ। बिहीबार सबै स्थानीय तह तथा अनलाइन घटना दर्ता प्रणाली सञ्चालन भएका निकाय एवम् नेपाली कूटनीतिक नियोग, घटना दर्ता गर्न तोकिएका सबै निकायहरूलाई सर्कुलर गर्दै विभागले यस्तो निर्देशन जारी गरेको हो। विभागको यही फागुन २७ को निर्णयानुसार नेपाली नागरिकका १६ वर्ष भन्दा कम उमेरको सन्तानको जन्म दर्ता गर्दाको बखत राष्ट्रिय परिचय नम्बर सहितको जन्म दर्ताको प्रमाणपत्र जारी गर्न विभागले भनेको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ को दफा ६ को उपदफा ९३० मा नेपाली नागरिकका सन्तानको जन्म दर्ता गर्दाको बखत स्थानीय पञ्जीकाधिकारीले विभागबाट तोकिए बमोजिम परिचय नम्बर प्राप्त गरी सम्बन्धित व्यक्तिलाई त्यस्तो परिचय नम्बर प्रदान गर्नु पर्ने व्यवस्था भए बमोजिम सो विभागले सर्कुलर गरेको हो। विभागले दिएको तीन बुँदे निर्देशनः  १. नेपाली नागरिकका १६ वर्ष भन्दा कम उमेरका सन्तानको जन्म दर्ता गर्दाको बखत राष्ट्रिय परिचय नम्बर ९एनआईएन० सहितको जन्म दर्ताको प्रमाणपत्र जारी गर्ने व्यवस्था गर्नु गराउनु हुन, २. नेपाली नागरिकका १६ वर्ष भन्दा कम उमेरका सन्तानको जन्म दर्ताको प्रमाणपत्र संशोधन तथा प्रतिलिपी जारी गर्दा समेत राष्ट्रिय परिचय नम्बर सहितको संशोधित तथा प्रतिलिपी प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था गर्नु गराउनु हुन, ३. कुनै प्राविधिक कारणले जन्म दर्ता गर्दा राष्ट्रिय परिचय नम्बर प्राप्त हुन नसकेमा विभागमा सम्पर्क गरि राष्ट्रिय परिचय नम्बर  प्राप्त भए पश्चात मात्र प्रमाणपत्र जारी गर्ने व्यवस्था गर्नु गराउनु हुन सूचित गरिएको छ।

कांग्रेसले प्रधानमन्त्री, उपप्रधानमन्त्रीको अफर गर्दै हिडिरहेको छ : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले कांग्रेसले प्रधानमन्त्री, उपप्रधानमन्त्रीको अफर गर्दै हिडेको बताएका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताए। उपाध्यक्ष वाग्लेले कांग्रेसले रास्वपा सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको बताए । उनले कांग्रेसलक्षित गर्दै उनले च्याप्प समातेर प्रधानमन्त्री, उपप्रधानमन्त्री बनाइदिन्छन् कि भन्ने डरले हिँडिरहनुपरेको बताए। उपाध्यक्ष वाग्लेले राजकाजको अवसर आउँदा अभ्यास गर्नैपर्ने भएकाले आफूहरु सरकारमा सहभागी बनेको जानकारी दिए। उनले फ्रेसनेस र अनुभवको सन्तुलनबारे बाहिरी व्यक्तिले चासो राख्नु स्वाभाविक भए पनि आन्तरिक पार्टी मेकानिजममा नबोल्न चेतावनी दिए। उनले प्रधानमन्त्रीको समर्थनमा रास्वापको चाल चेसमा उँट, घोडा, हात्ती, रानी पिउसो चलाउन थालेपछि मन्त्री नै लगाएर चेकमेट गर्ने अवस्थासम्म पुग्ने मात्रै रहेको बताए । उनले नेपाली कांग्रेसप्रति लक्षित गर्दै गृहमन्त्री हुँदा खोजिने नैतिकता प्रधानमन्त्री अफर गर्दा किन नखोजेको भन्दै प्रश्न समेत गरे ।  

पहिलो बलमै करणले लिए विकेट

काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले हङकङसँग पहिल फिल्डिङ गरिरहेको छ । मोङ कोकमा जारी खेलमा घरेलु टोली हङकङको विरुद्ध नेपालले पहिलो सफलता प्राप्त गरेको छ ।  टस जितेर फिल्डिङ रोजेको नेपालका लागि पहिलो बलमा नै करण केसीले विकेट लिन सफल भएका हुन् ।  उनले मार्टिन कोर्टजको विकेट गुल्सन झा मार्फत क्याच गराएका हुन् । नेपाल दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख र सोमपाल कामी लगायतका पहिलो रोजाईका खेलाडी विना नै हङकङ पुगेको छ । फ्रेन्डसिप कपको एकमात्रै खेलमा शनिबार नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो । नेपाल, पपुवा न्युगिनी र हङकङबीच त्रिकोणात्मक टी–२० आई सिरिज भने आज आइतबार सुरु भएको हो ।

नामिबिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदै, दर्शकलाई क्यानको फ्रि व्यवस्था

काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाअन्तर्गत आज नामिबिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । आज बिहान साढे ११ बजेबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । आजको खेलका लागि क्यानले फ्रि टिकटको व्यवस्था गरेको छ । दर्शकहरुले नामिबिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा मैदानमा बिना टिकट फ्रि मै हेर्न पाउँनेछन् । नेदरल्यान्ड्स तीन खेलमा एकमा हार र दुईमा जितसहित चार अंकका साथ पहिलो स्थानमा छ भने नामिबिया समान तीन खेलमा एकमा जित र दुईमा हारसहित दुई अंकका साथ समूहमा तेस्रो तथा अन्तिम स्थानमा छ । नेपाल चार खेलमा दुई जित र दुईमा हारसहित चार अंकका साथ दोस्रो स्थानमा छ ।

टस हारेर नेपालले नेदरल्यान्ड्स विरुद्व बलिङ गर्दै

काठमाडौं, १९ फागुन । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालले टस हारेर नेदरल्यान्ड्ससँग बलिङ गर्ने भएको छ । टीयु क्रिकेट मैदानमा सुरु हुन लागेको खेलमा नेदरल्याण्ड्सले टस जितेर व्याटिङ रोजेपछि नेपालले फिल्डीङ गर्ने भएको हो । शीर्ष दुईमा रहँदै फाइनल खेल्न नेपालले आजको खेल जित्नुपर्ने हुन्छ । नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । तेस्रो खेलमा नामिबियालाई ३ रनले हराउँदै फाइनल सम्भावना कायमै राखेको छ । नेपाल आजको खेलमा विजयी हुँदा ४ अंक हुनेछ । आइतबार नेदरल्यान्ड्सले नामिबियालाई हराएको खण्डमा सहजै फाइनलमा पुग्नेछ । नामिबिया विजयी हुँदा भने नेटरनरेट हेर्नु पर्ने हुन्छ । नेपाल आज पराजित भए पनि फाइनल सम्भावना रहन्छ । त्यसको लागि नामिबिया अन्तिम खेलमा फराकिलो अन्तरले पराजित हुनुपर्छ । नेदरल्यान्ड्सले दिएको १८५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन बनाएको थियो । दीपेन्द्रले ६३ रनको इनिङ खेलेपनि जिताउन सकेका थिएनन् । अन्तिम ओभरमा १५ रन चाहिँदा सुरुवाती दुई बलमा चौका र छक्का हानेपनि त्यसपछि असफल भएका थिए । दीपेन्द्र नेपालका प्रमुख खेलाडी हुन् । बलिङमा पावर प्ले र डेथ ओभरमा उत्कृष्ट बलिङ गर्दै आएका छन् ।

ठगी प्रकरणमा बैंकर पक्राउ गरेकोमा निजी क्षेत्रको विरोध

काठमाडौं, १८ फागुन । देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाईंलाई धितो मूल्यांकनको दोब्बर ऋण दिने बैंकरहरु पक्राउ परेको घटनामा निजी क्षेत्रका तीन प्रतिनिधिमूलक संस्थाहरुले विरोध जनाएका छन् । जनता र बैंकको करिब ७ अर्ब अपचलन गर्ने चौलागाईंलाई मिलेमतो गरी कमसल धितोमा ऋण प्रवाह गरेको आरोपमा प्रभु बैंकका सिनियर डेपुटी सीईओ मनोज न्यौपाने, सेञ्चुरी बैंकका पूर्व सीईओ तुलसीराम गौतमलगायत १० जनालाई प्रहरीले पक्राउ गरेको विरोधमा निजी क्षेत्र उत्रिएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै घटनामा प्रत्यक्ष संलग्न नभएका व्यक्तिहरुलाई पदीय ओहोदा वा कागजातमा हस्ताक्षर गरेकै आधारमा पक्राउ गरेको दाबी गरेका छन् । विद्यमान कानुनी व्यवस्था, नियमनकारी निकायका नीति तथा निर्देशनमा रही काम गरिरहेका बैंकरलाई निजहरुले असल नियतबाट गरेको कामलाई बेवास्ता गर्दै पहिले थुन्ने अनि सुन्ने भन्ने मनसायबाट अभिप्रेरित भई दुःख दिन खोजिएको जारी विज्ञप्तिमा उल्लेख छ । घटनामा प्रत्यक्ष संलग्न नभएकालाई पक्राउ गर्दा बैंकरहरुको कार्यदक्षतामा आँच आउने, निर्णय गर्न नसक्ने एवम् मनोबल खस्कन गई कर्जा विस्तारमा समेत प्रभाव पर्न सक्ने उनीहरुले बताएका छन् । अनुसन्धान गर्दा दोषी देखिए कारबाही गर्नुपर्ने विज्ञप्तिमा भनिएको छ । ‘बैंकिङ क्षेत्रजस्तो संवेदनशील क्षेत्रमा भइरहेको पछिल्ला गतिविधिले सकारात्मक परिणाम दिने भन्दा नकारात्मक असर बढी पार्नसक्नेतर्फ सचेत हुन सम्बन्धित सबै पक्षलाई अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ । बैक तथा वित्तीय संस्थाहरुले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन एवम् नेपाल राष्ट्र बैंकले समय समयमा जारी गरी आएका नियामकीय निर्देशनभित्र रहेर बैंकिङ कारोबार गर्दै आइरहेको जारी विज्ञप्तिमा उल्लेख छ । बैंक तथा वित्तीय संस्थाहरुमा कुनै पनि लगानी सम्बन्धी निर्णय गर्दा सबै कर्मचारी तथा सञ्चालक समितिले तोकिएको सिद्धान्त, विधि एवम् नियमकै पालना गरी असल नियतबाट कार्य गर्ने गरेको बुझाइ रहेको विज्ञप्तिमा उल्लेख छ । ‘व्यवसाय बिग्रिएको अवस्थामा कर्जाको जोखिम बढ्ने सामान्य कुरा हुने र त्यस्तो अवस्थालाई दृष्टिगत गरी बैंक वित्तीय संस्थाहरुले नियामकीय निर्देशानुसार नै जोखिम व्यवस्थापन वापत रकम छुट्याउँदै आएका छन् । सो संसारभरिकै सर्वमान्य बैंकिङ सिद्धान्त तथा कार्यविधि रही आएको छ,’ विज्ञप्तिमा उल्लेख छ । नेपाल राष्ट्र बैंकको नियमनमा रहेको र बैंक वित्तीय संस्थाले प्रवाह गरेका कर्जाको मूल्यांकन सोही अनुसार नै हुनुपर्ने ती संस्थाहरूको माग छ । ‘राष्ट्र बैंकले समय समयमा बैंक तथा वित्तीय संस्थाहरुको स्थगगत तथा गैरस्थलगत निरीक्षण गर्ने लगायत वित्तीय विवरण प्रकाशित गर्न छुट्टै स्वीकृति दिने कार्यविधिसमेत बनाई कम्पनीहरुको वित्तीय अवस्थालाई नियमन गर्दै आएको छ । नियामक संस्थाले आफ्नो जिम्मेवारी उचित तरिकाले निर्वाह गरी बैंक तथा वित्तीय संस्थाहरुलाई उचित मार्गदर्शनसमेत दिइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ । यद्यपि, मानवीय त्रुटि वा कसैले गलत मनसाय वा नियतले काम गरेको अवस्थामा सो कार्यमा संलग्न पदाधिकारीलाई प्रचलित कानुन बमोजिम कारवाही हुनुपर्छ भन्नेमा निजी क्षेत्र स्पष्ट रहेको विज्ञप्तिमा उल्लेख छ । देउराली सहकारीका अध्यक्ष चौलागाईं र उनका कम्पनीलाई ऋण दिँदा बैंकिङ कसुर गरेको आरोपमा १५ फागुनमा नेपाल प्रहरीको कन्द्रीय अनुसन्धान ब्युरोले १० जना बैंकरलाई पक्राउ गरेको थियो । त्यसअघि १८ असोजमा देउरालीका अध्यक्ष चौलागाईंलाई पक्राउ गरिएको थियो । सहकारी ठगीको अनुसन्धान गर्दै जाँदा बैंकहरुले समेत मिलेमतोमा चौलागाईंलाई धितो मूल्यांकनभन्दा अत्यधिक धेरै कर्जा प्रवाह गरेको देखिएकाले बैंकरहरु पक्राउ गरेको प्रहरीको दाबी छ । सहकारीको घोटाला छानबिन गर्दै जाँदा वाणिज्य बैंकका सीईओहरु नै पक्राउ परेको घटना नेपालमा पहिलो हो । हाल प्रभु बैंकमा गाभिएको तत्कालीन सेञ्चुरी बैंकले रविन्द्र चौलागाईं, उनका आफन्त र कम्पनीलाई १ अर्ब १४ करोड मूल्यको धितोमा २ अर्ब ११ करोड कर्जा प्रवाह गरेको सीआईबीले जनाएको छ । यो धितो मूल्यांकनभन्दा ९७ करोड बढी हो । राष्ट्र बैंकको नियमअनुसार कर्जा प्रवाह गरेको भए करिब ४५ करोडमात्रै कर्जा प्रवाह हुनसक्ने अवस्था देखिन्छ । यसरी सेञ्चुरी बैंकले धितोअनुसार कर्जा दिनसक्ने सीमाभन्दा करिब ५ गुण बढी ऋण दिएको देखिएको र यसरी अनियमित रुपमा कमसल धितोमा कर्जा प्रवाह बैंकका सीईओ तथा कर्मचारीहरुको मिलेमतो स्पष्ट रुपमा देखिएकाले उनीहरुलाई पक्राउ गरेको सीआईबीको दाबी छ ।

यस्तो छ आजको विनिमय दर

काठमाडौं । आज २०८० साल फागुन ४ गते शुक्रबार तदनुसार सन् २०२४ फेब्रुअरी १६ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५८ पैसा र बिक्री दर १३३ रुपैयाँ १८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ३५ पैसा र बिक्री दर १४३ रुपैयाँ शून्य पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ३५ पैसा र बिक्री दर १६७ रुपैयाँ १० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर