राष्ट्रपति पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता

स्वीजरल्याण्ड। राष्ट्रपति रामचन्द्र पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डबीच स्वीट्जरल्याण्डको बर्नमा बुधवार भेटवार्ता भएको छ। 

स्वीटजरल्याण्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रमा मूख्य वक्ताकारुपमा सहभागी हुन आएका राष्ट्रपति पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता भएको हो। 

राष्ट्रपति पौडेलले नेपालको सामाजिक र आर्थिक रूपान्तरणका लागि कृषि, पर्यटन र जलश्रोतको क्षेत्र मा लगानीका लागि आग्रह गरेका थिए।
सो अवसरमा राष्ट्रपति पौडेलले लोकतान्त्रिक प्रणाली र राजनीतिक अधिकार सुनिश्चित भएपछि नेपालको आवश्यकता र प्राथमिकता आर्थिक समृद्धि हासिल गर्नु रहेको र लोकतन्त्रलाई दिगो बनाउन आर्थिक विकास अपरिहार्य रहेको बताए। 

“सन् २०२६ मा नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन प्रयत्नशील छ, यस स्तरोन्नतिलाई सतत्, दिगो तथा अपरिवर्तनीय बनाउन आवश्यक छ, यस ऐतिहासिक विकास लक्ष्य हासिल गर्न हामीलाई ठूलो स्रोत, साधन, प्रविधि, लगानी तथा आार्थिक सहकार्यको आवश्यकता रहेको छ”, राष्ट्रपतिको भनाइ उद्धृत गर्दै भ्रमणदलमा सहभागी राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।  

राष्ट्रपति पौडेलले नेपालको आर्थिक सामाजिक विकासमा सन् १९५० को दशकदेखि स्वीस सरकारले गरेको सहयोगले नेपालीको मन जितेको बताउँदै नेपाल  सरकारले स्वीस लगानीकर्ताहरूलाई  नेपालमा स्वागत गर्न चाहेको र यसका लागि आवश्यक सहजीकरण गर्न प्रतिवद्ध रहेको विश्वास दिलाउन चाहेको बताएको पनि पोखरेलले जानकारी दिए। 

पौडेलले स्वीट्जरल्याण्ड शान्ति, लोकतन्त्र, कानुनी राज्य तथा समृद्धिका लागि विश्वमा नै मानक मुलुक रहेको बताउँदै उनले यसले अवलम्वन गरेको तटस्थताको नीति नेपालजस्तो असंलग्नताको नीति अंगिकार गरेको मुलुकका लागि अनुकरणीय रहेको पनि बताए।  

पौडेलले नेपाल र स्वीट्जरल्याण्डबीच संघीयता, संसदीय लोकतन्त्र, मानव अधिकार, विधिको शासन, तटस्थता आदि साझा मूल्य मान्यता तथा सिद्धान्तहरू रहेको र सहभागीतामूलक लोकतन्त्र, मानवअधिकार, मौलिक अधिकार, लैंगिक समानता, जलवायु परिवर्तनजस्ता धेरै सामाजिक आर्थिक तथा पर्यावरणीय मुद्धाहरूमा  दुई देशबीच समान धारणा रहेको  पनि उल्लेख गरे। उनले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताप्रति नेपालको पूर्ण प्रतिवद्धता रहेको उल्लेख गर्दै नेपालले अत्यन्त न्यून कार्वन उत्सर्जन गरे पनि जलवायु परिवर्तनको नकारात्मक असर व्योहोरिरहेको बताए।

सो अवसरमा स्वीट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डले नेपाललाई आफूहरूले कुन क्षेत्रमा सहयोगको आवश्यकता रहेको हो त्यसमा सहयोग गर्न आफूहरू तयार रहेको बताए। राष्ट्रपति पौडेलले नेपालको सामाजिक र आर्थिक रूपान्तरणका लागि कृषि, पर्यटन र जलश्रोतको क्षेत्र मा लगानीका लागि आग्रह गर्नुभएको थियो। पौडेलले नेपाल भ्रमणका लागि आमन्त्रण गरेका थिए भने स्वीस राष्ट्रपति एमहर्डले समय मिलाएर उपयुक्त समयमा नेपालको भ्रमण गर्ने विश्वास दिलाउनु भएको जनाइएको छ। 

उनले नेपालको शान्ति प्रक्रिया र सत्यनिरूपणको विषय आफूहरूको प्राथमिकतामा रहेको पनि जानकारी दिएका थिए। त्यस्तै उनले तेन्जिगं नोर्गे शेर्पाका नातीले आफ्नो गृह नगरमा चीज उत्पादन गर्न सिकिरहेको उल्लेख गर्दै नेपालसँग आफ्नो देशको भूगोलमा मात्र नभएर संस्कृति र परिकारमा पनि समानता रहेको उल्लेख गरे । उनले नेपालको संविधानमा संघीयता र समावेशीकरणको व्यवस्था गरेकोमा उच्च प्रशंसा गरे । 

उनले नेपालका  विभिन्न आयोजनामा स्वीस सरकारको लगानीले विशेष स्थान लिएको उल्लेख गर्दै दुई देशबीचको ठूलो स्तरको विकास साझेदारीले ६० वर्ष पुरा गरिसकेको र यो अझै अभिवृद्धि हुने विश्वास दिलाए ।

नीति तथा कार्यक्रम तयारी सम्बन्धमा सभामुखको कार्यकक्षमा छलफल

काठमाडौं। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रमको तयारीको विषयमा सिंहदरबारमा छलफल गरेका छन्।  सभामुख कार्यकक्षमा भएको छलफलमा उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पद्म गिरीसहित प्रमुख दलका मुख्य सचेतक र सचेतक सहभागी छन्।  दिउँसो २ बजेका लागि बोलाइएको छलफल जारी रहेको सभामुख घिमिरेको निजी सचिवालयले जनाएको छ। बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौला, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए। 

स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट दुईजना पक्राउ

काठमाडौं । प्रहरीले स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट दुई जनालाई पक्राउ गरेको छ।  विशेष सुराकीका आधारमा महानगरीय अपराध महाशाखाले उनीहरूलाई गएराति पक्राउ गरेको हो। बुटवल घर भएका उनीहरू दुवै ११ किलो सुन तस्करीमा संलग्न व्यक्ति भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।  यसबारे बिहान साढे ११ बजे पत्रकार सम्मेलन गरी जानकारी गराउने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए। 

लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार सूचनाको हक हो :  राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार सूचनाको हक भएको बताएका छन् ।  “लोकतन्त्रमा शासन प्रणालीलाई  पारदर्शी तथा जबाफदेही बनाउने, बेथिति अन्त्य गर्ने, सुशासन कायम गर्ने, लगानीको सदुपयोग गरेर जनतामा सेवा प्रवाह अभिवृद्धि गर्ने र यही व्यवस्थामा मात्र मेरो भविष्य सुरक्षित हुन्छ भनेर लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार सूचनाको हक हो”, राष्ट्रपति पौडेलले राष्ट्रिय सूचना आयोगको १७ औँ स्थापना दिवसका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् ।  “विकास निर्माणमा नेपाली जनताको अर्थपूर्ण सहभागिता लोकतन्त्र सुदृढीकरणका लागि अत्यन्त आवश्यक छ, यसका लागि पारदर्शिता नै मुख्य विषय हो, जुन सूचनाको हकले नै प्रत्याभूत गर्नेछ”, उनले भने। लोकतन्त्रको संस्थागत विकास, सुशासन प्रवर्धन तथा विकास निर्माणमा जनताको अर्थपूर्ण सहभागिताका लागि महत्त्वपूर्ण माध्यमको रूपमा रहेको सूचनाको हकको कार्यान्वयन थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए ।  उनले सूचनाको हकले नागरिकको सशक्तीकरण मात्र होइन सरकारलगायत सबै सार्वजनिक निकायलाई जिम्मेवार पनि बनाउने  बताए । साथै  सरकारले गरेका काम, कारबाहीबारे जनतालाई सुसूचित पनि गराउने उनले बताए।  जनताले आफूले तिरेको कर कहाँ, कसरी खर्च भइरहेको छ भनेर जान्न पाउने उनीहरूको स्वाभाविक हक पनि भएको राष्ट्रपति पौडेलको भनाइ थियो ।  संविधानको व्यवस्थाअनुसार सूचनाको हकसम्बन्धी ऐन २०६४ जारी भई अहिले कार्यान्वयनमा आएको छ । लोकतन्त्र सार्वभौम नागरिक र नागरिकको स्वतन्त्रताको सर्वोच्चता स्थापित गर्ने दर्शनबाट अभिप्रेरित व्यवस्था हो भन्दै राष्ट्रपति पौडेलले सुसूचित नागरिक मात्रै सर्वशक्तिमान् हुन्छ र उसको स्वतन्त्रताको सर्वोच्चता स्थापित हुन्छ भन्ने मूल मान्यता र दर्शनका आधारमा लोकतान्त्रिक व्यवस्थामा जनतालाई शासन प्रणालीबारे सबै सूचना जान्न पाउने मौलिक हकको व्यवस्था गरिएको बताए।  संविधानको धारा २७ ले प्रत्येक नेपाली नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने मौलिक हकको व्यवस्था गरेको छ ।  उनले कानुन कार्यान्वयन भएको यो अवधिमा आयोग तथा सूचनाको हकका अभियन्ताहरूको अथक मेहनत र सार्वजनिक निकायका पदाधिकारी तथा कर्मचारीहरूको आफूलाई रूपान्तरण गर्दै लैजाने सोचबाट यसको कार्यान्वयनमा सन्तोषजनक अवस्था देखिए पनि संविधान र कानुनले राखेको पवित्र उद्देश्य पूरा हुने अवस्था अझै नबनिसकेको उनले बताए ।  “ अझै पनि कैयौँ नेपाली जनता आफ्नो यो मौलिक हकबारे अनभिज्ञ छन्, यसका लागि सूचनाको हकको प्रभावकारी कार्यान्वयन जरुरी छ र यसमा आपूर्ति पक्ष जति संवेदनशील हुन आवश्यक छ, त्यो भन्दा बढी जनता आफैँ आफ्नो अधिकार प्राप्त गर्न तयार देखिउन् भनेर उनीहरूमा जागरण ल्याउन अत्यन्त आवश्यक छ भन्ने मलाई लाग्दछ”, राष्ट्रपति पौडेलले भने ।   संविधानको मर्म र कानुनको व्यवस्थाअनुसार स्थापित आयोगले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको अवस्थामा आज मात्र ४ वटा राष्ट्र भाषा मैथिली, अवधि, थारु र भोजपुरीमा प्रकाशित सूचना मागकर्ताका लागि सहयोगी पुस्तिकाका कारण बहुसङ्ख्यक नेपालीमाझ सूचनाको हक पुर्याउन सहयोग पुग्ने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गरे । उनले यसै गरी थप राष्ट्रभाषाहरूमा पनि यस्तो प्रकाशन गर्नु आवश्यक रहेको धारणा व्यक्त गरे । “सूचनाको हकको नियामक निकायका रूपमा स्थापित सीमित साधन, स्रोत भएको आयोगबाट नागरिकमा आफ्नो अधिकारको प्रयोगको जागरण ल्याउने तथा कानुनको प्रभावकारी कार्यान्वयनको सबै जिम्मेवारी हो भन्ने ठान्नु उपयुक्त हुँदैन, यसका लागि सरकारको गम्भीर ध्यान जान जरुरी छ”, उनले भने । स्वाभाविक रूपमा सबै सूचना सार्वजनिक हुँदैनन् र कानुनमा व्यवस्था भएका अति संवेदनशील पाँच प्रकारका सूचना संरक्षण गरेर राखिने विषयहरू पनि जनताकै हितका लागि हुन् भन्ने हामीले बिर्सन नहुने उनले उल्लेख गरे । 

मलाई मत दिएबापत तपाईँहरूले कहिल्यै पछुताउनुपर्ने छैन : सुहाङ

काठमाडौँ । इलाम २ मा भएको उपनिर्वाचनमा विजय भएपछि एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदातालाई आभार प्रकट गरेका छन् । साथै उनले आफूलाई मत दिएबापत कहिल्यै पछुताउनुपर्ने अवस्था आउन नदिने प्रतिबद्धता पनि जनाएका छन् ।  साथै उनले चुनाव प्रचारप्रसारमा अट्ने नेता कार्यकर्ताप्रति पनि ऋणी भएको बताएका छन्।उनले भनेका छन्–‘मकै गोड्ने, चिया टिप्ने, तरकारी रोप्न, अलैँची स्याहार्ने’ अनेकन कामलाई थाँती राखेर निर्वाचन अभियानमा अहोरात्र खट्नुभएका आमाबुवा, दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक आभार प्रकट गर्दछु।' हेर्नुहोस् सुहाङको आभार तथा धन्यवाद हार्दिक आभार तथा धन्यवाद  अति आदरणीय इलामेली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरु  इलाम क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य पदमा आफ्नो अमूल्य मत दिएर अत्यधिक मतले विजय गराउनुभएकोमा इलाम–२ का अति आदरणीय मतदाताहरुप्रति हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु । हजुरहरुको मनमा रहेको हामीप्रतिको अगाध माया, गहिरो विश्वास र भरोसालाई मतमा परिणत गरेर आफ्नो प्रतिनिधिको रूपमा मलाई छनोट गर्नुभएको छ ।   हाम्रा अग्रजहरूले गर्नुभएको कष्टसाध्य सङ्घर्ष, बलिदान र असाधारण त्यागको जगमा आज हामी उभिएका छौँ । इलामको माटोमा जन्मिएर पञ्चायती व्यवस्थाविरुद्ध देशभरी क्रान्तिको उज्यालो फैलाउने आदरणीय शहीदहरु रत्नकुमार वान्तवा, बमप्रसाद वान्तवाप्रति हार्दिक श्रद्धा–सुमन व्यक्त गर्दछु । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माणको नेतृत्वकर्ता इलामेली जनताका प्रिय नेता मेरो बुवा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धा–सुमन व्यक्त गर्दछु ।  सर्वप्रथम उहाँले देखाउनुभएको निष्ठाको बाटो र दिएर जानुभएको इमानको उज्यालोलाई शिरमा राखेर ‘समृद्ध इलाम ः  सुखी इलामेली’ हाम्रो साझा सपना र सङ्कल्प पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । इलामको माटोको कसम खाएर म यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु, ‘मलाई मत दिएबापत तपाईँहरूले कहिल्यै पनि पछुताउनुपर्ने छैन ।’ तपाईँ हामीलाई थाहा छ, परिवर्तनको आन्दोलनमा इलामेली अग्रजहरूले गौरवमय इतिहास निर्माण गर्नुभएको छ । उहाँहरूको नाम लिदा सबैको शिर श्रद्धाले झुक्छ । हाम्रो छाती गर्वले चौडा हुन्छ । यही गरिमा र गौरवलाई पछ्याएर हामीले समृद्धिको महाअभियानमा उज्यालो इतिहास निर्माण गर्नु छ । मैले अभियानको दौरानमा हजुरहरुसँग भनेको थिएँ, ‘वैशाख १५ गते इलामको समृद्धिको नयाँ अध्याय आरम्भ गर्ने दिन हो । मलाई एकपटक विश्वास जित्ने मौका दिनुहोस् ।’ हो, त्यो मौका दिनुभएको छ । अब समृद्धिको नयाँ अध्याय सुरु भएको छ ।  ‘मकै गोड्ने, चिया टिप्ने, तरकारी रोप्न, अलैँची स्याहार्ने’ अनकन कामलाई थाँती राखेर निर्वाचन अभियानमा अहोरात्र खट्नुभएका आमाबुवा, दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक आभार प्रकट गर्दछु । घर–दैलोको क्रममा वृद्ध आमाबुवाहरूले दिनुभएको आशीर्वादलाई शिरमा सजाएको छु । कलिला नानी बोकेर घर–दैलो गर्नुहुने आमा दिदीबहिनीहरु, भविष्यप्रतिको उज्यालो आशासहित अहोरात्र निर्वाचनमा खट्नुभएका इलामेली नौजवान साथीहरुको समर्पण र साथ अवर्णनीय छ । ‘अल द बेस्ट सुहाङ दादा’ भन्दै मसँग झुम्मिने कलिला नानीहरूका आँखामा प्रतिविम्बित निश्छल माया मनभरी सजाएको छु । समयको सीमाले कति ठाउँमा पुग्न सकिनँ । अभियानको क्रममा भेट्न नसके पनि आँखा रसाउनेगरी पठाउनु भएको भिडियो शुभकामना र सन्देशहरुले भावुक र अवाक बनाएको छ । सबैलाई एकमुष्ट धन्यवाद भन्छु । ती सबै भिडियो सन्देश, शुभकामनाहरू मसँग सुरक्षित छन् । तपाईँहरूसँग सकेसम्म छिट्टै भेट्ने बाचा पनि गर्दछु ।  मेरो हात समाएर ‘बाबु, अब युवाहरु तयार हुनुपर्छ । अब तिमी इलामेली जनताको सेवाको लागि तयार हुनुपर्छ’ भनेर इलामेली जनताको न्यानो काखमा पठाउनुहुने हाम्रो पार्टी नेकपा ९एमाले०का श्रद्धेय अध्यक्ष कमरेडप्रति आभारी छु ।  नेकपा ९एमाले० इलाम जिल्ला कमिटीका आदरणीय नेतृत्वगण, इलामका सबै आदरणीय नेता कमरेडहरूप्रति आभारी छु। इलामबाट राष्ट्रिय सन्देश प्रवाह गर्ने गहिरो सङ्कल्पका साथ अहोरात्र खट्नुहुने नेकपा (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी, नेपाल परिवार दलका आदरणीय नेता तथा कार्यकर्ताहरूप्रति आभार व्यक्त गर्दछु ।  म उम्मेदवार बन्दै गर्दा आफ्नो जिन्दगीको उर्वर समय पार्टीको विकास, विस्तार र आन्दोलनका लागि खर्चिनुभएका इलामका आदरणीय नेताहरूको भावनालाई शिरमा राखेको छु । उहाँहरूको कष्टसाध्य सङ्घर्ष, अभूतपूर्व त्याग र असाधारण योगदानप्रति सधैँ नतमस्तक छु । उहाँहरूप्रति असाध्यै ऋणी छु ।  हाम्रो सपना र सङ्कल्पलाई जनताका बिचमा प्रवाह गरिदिनुहुने सबै सञ्चारकर्मीहरू, निर्वाचन सम्पन्न गराउने कार्यका लागि मुख्य निर्वाचन अधिकृत, प्रशासन, सुरक्षाकर्मीहरू र कर्मचारी मित्रहरूलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु । गएको एक महिनायता सफलताको सङ्कल्प बोकेर निर्वाचनमा खटिने पार्टी कमरेडहरू, मत दिनकै लागि प्रवास, काठमाडौँदेखि समेत आइपुग्नुभएका प्रियजनहरूप्रति कृतज्ञ छु ।  स–शरीर इलाम उपस्थित हुन नसके पनि प्रवास र देशभरिबाट विभिन्न माध्यमबाट मलाई शुभकामना व्यक्त गर्नुहुने एवं प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबैप्रति धन्यवाद व्यक्त गर्दछु ।  अन्तमा, फेरि पनि भन्छु, ‘हाम्रा अग्रजहरूले परिवर्तनको आन्दोलनमा गौरवमय इतिहास निर्माण गर्नुभएको छ । त्यही गरिमा र गौरवलाई बचाइराख्दै अब समृद्धिको अभियान सुरु गर्नेछौँ ।’  हाम्रो समाज इन्द्रेणी जस्तै धेरै रङ मिलेर बनेको छ । सात रङ मात्रै मिलेको इन्द्रेणी त त्यति राम्रो छ, अझ हाम्रो देश त सयौँ जातजाति, भासाभासी, धर्म, संस्कृति र भूगोलका जनता मिलेर बनेको छ । हाम्रो राष्ट्र गानले भने जस्तै यो सयौँ थुङ्गा फूलहरू मिलेर बनेको माला जस्तै छ । यो विविधता हाम्रो सम्पदा हो, हाम्रो शक्ति हो । विविधतायुक्त पहिचान हाम्रो साझा सम्पत्ति, अजस्र शक्ति र सामर्थ्य हो । इलामको निर्वाचनमा यही भावना प्रतिबिम्बित भएको मैले पाएको छु । हाम्रो सप्तरङ्गी समाजको शक्तिलाई थप बलियो र दरिलो बनाएर समृद्धिको बाटोमा मुलुकलाई लैजाने ऐतिहासिक जिम्मेवारी हाम्रो हो ।  इमान र निष्ठाको साथ मन, वचन र कर्मले लाग्ने वाचाको साथ फेरि पनि सबैप्रति आभार र धन्यवाद १  १८ वैशाख २०८१ इलाम  उही तपाईँहरूको स्नेही सुहाङ नेम्वाङ

देशका यी क्षेत्रमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटफुटदेखि हल्का वर्षा भइरहेको छ ।आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटफुटदेखि हल्का वर्षाको सम्भवाना रहेको छ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा छिटफुट वर्षादेखि हल्का हिमपातको सम्भावना छ ।लुम्बिनी प्रदेशका केही स्थानका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ । आज राति भने कोशी, गण्डकी र कर्णाली प्रदेका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भागमा मौसम सफा रहने छ ।आज सूर्योदय बिहान ५ बजेर २९ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ३४ मिनेटमा हुनेछ ।

देशमा राजतन्त्र फर्काउने कुरा सम्भव छैन् : सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशमा राजतन्त्र फर्काउने कुरा सम्भव नरहेको बताएका छन् । आइतबार काठमाडौंमा स्व.सूर्यबहादुर थापाको नवौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। सभापति देउवाले अहिलेकै व्यवस्थालाई सुदृढीकरण गरेर जानुपर्ने बताउँदै विगतमा बन्दुक उठाएकाहरुले पनि अहिले बहुदलीय व्यवस्था मानेर आएको उल्लेख गर्दै बहुदलीय व्यवस्थाको सुदृढीकरण आवश्यक रहेको बताए। सभापति देउवाले भने, ‘बहुदलीय व्यवस्था मात्रै होइन, हुँदाहुँदा राजा नै गए । अब ती राजा पनि मरे । उनका छोराछोरीहरु सबै मरे । अर्को राजा आएपछि त झन उ चाहीँ आफैँ गए । उनी पनि अहिले टिक्न नसकेर हट्नुप¥यो । त्यसैले यस्तो यो अहिलेको यो नेपालमा गणतन्त्र आएको छ, यद्यपि राजा फर्काउनुप¥यो भनेर मान्छेहरु हिँड्दैछन् । राजा फर्किन्छ भन्ने होइन । यही व्यवस्थालाई अझ समयको स्वीकार्य बनाएर लैजाऔँ । धेरै कुराहरु सुधार गर्न पनि सहमति हुनुपर्छ, दुई तिहाई चाहिन्छ । केही समस्या र कमी कमजोरी रहन्छन् भनेपनि सुधार गरेर जाऔँ । तर अब राजा फर्काउने कुरा असम्भव कुरा देख्छु मैले । यो व्यवस्थालाई सुदृढीकरण गर्दै जानुपर्छ । हिजो बन्दुक उठाएकाहरु पनि अहिले बहुदलीय व्यवस्थालाई मानेर आएको छ । युद्धलाई सबैले छोडेको छ । त्यसकारण को सरकारमा छ, को छैन भन्दा पनि महत्वपूर्ण कुरा बहुदलीय व्यवस्थाको सुदृढीकरण आवश्यकता छ । बलियो बनाउन आवश्यकता छ ।’ कार्यक्रममा सभापति देउवाले बहुदलीय व्यवस्था ल्याउनका लागि स्व।थापाको महत्वपूर्ण भुमिका रहेको बताए।

यस्तो हुनेछ आज दिनभरको मौसम

काठमाडौं । पश्चिमी र स्थानीय वायुको प्रभाव रहँदा आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र मधेस प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।  पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । विभागका अनुसार राति कोसी र मधेस प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।  कोसी र गण्डकी देशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भूभागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहने छ ।कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थान र बाँकी पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी  प्रदेशका तराईका भूभाग लगायत लुम्बिनी  प्रदेशको पूर्वी तराईका भूभागका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ । राती भने देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भूभागमा मौसम सफा रहने छ ।कोशी, गण्डकी  र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेश लगायत कोशी प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ। आज बिहान सूर्योदय ५ बजेर ४७ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर २५ मिनेटमा हुनेछ ।

२७ निर्माण व्यवसायीसँग सातदिने स्पष्टीकरण माग

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यसम्पादन सन्तोषजनक नभएका २७ निर्माण व्यवसायीहरुसँग सातदिने स्पष्टीकरण माग गरेको छ। सुरुमा ३० दिनभित्र स्पष्टीकरण दिन भन्दा पनि अटेर गरेपछि आज सार्वजनिक सूचना जारी गरी सात दिनभित्र लिखित स्पष्टीकरण माग गरिएको हो। स्पष्टीकरण माग गरिएका २७ निर्माण कम्पनीको सूचीमा भारतका दुई र चीनको एक कम्पनीसमेत छन् । बाँकी सबै नेपाली कम्पनीहरु छन् । यो स्पष्टीकरण चित्तबुझ्दो नभए सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्छ । कालोसूचीमा परेमा कालोसूचीमा राखेको अवधिभर सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन पाइँदैन । कार्यालयले सात दिने स्पष्टीकरण मागेका कम्पनीहरुमा चीना श्रेष्ठको रोशिस कन्सट्रक्सन रौतहट, दीपेन्द्र विकको उमंग ट्रेडर्स रौतहट, रुपेश पण्डितको पौराई बाबा कन्स्ट्रक्सन रौतहट राजेन्द्र चाईको साहनी विल्डर्स रुपन्देही, दिपेश कर्माचार्यको न्यू जगतदेवी निर्माण सेवा नवलपरासी, रमेश राईको विवश इन्टरनेसनल कन्स्ट्रक्सन एण्ड सप्लायर्स काठमाडौं, मदन खड्काको एमडी ब्रो कन्स्ट्रक्सन इलाम, पुष्पनाथ यादवको शोभा विल्डर्स एण्ड सप्लायर्स भक्तपुर, विजयकुमार मोक्तानको नेपाल भूमि कन्स्ट्रक्सन काठमाडौं लगायत छन् । यसैगरी सन्तोष प्रसाद भट्टको युसब कन्स्ट्रक्सन डडेलधुरा, ललितबहादुर बोहराको न्यु कालिका निर्माण सेवा बझाङ, दिलबहादुर भण्डारीको तुल्सी कन्स्ट्रक्सन एण्ड सप्लायर्स डोटी, सतिश आचार्यको सुप्रभात निर्माण सेवा बाँके, कृष्णप्रसाद ओलीको वेष्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सन बाजुरा, घनश्याम बस्नेतको भुमा निर्माण सेवा दाङ, साविर मियाको मान्यता निर्माण सेवा सुर्खेत, गुनेश्वर साहको जी।एस।एण्ड एम।एस। कन्स्ट्रक्सन, अजित शाक्यको मुस्कान कन्स्ट्रक्सन पर्सासँग पनि लिखित स्पष्टीकरण माग गरिएको छ । स्पष्टीकरण माग गरिएका अन्य कम्पनीहरुमा पदमबहादुर तामाङको मस्टा जे.बी.डी. कन्स्ट्रक्सन काठमाडौं, प्रदीप पन्त र आशिष गौतमको समृद्धि यशहश्वी कन्स्ट्रक्सन काठमाडौं, सुन्दर श्रेष्ठको जलेश्वर महादेव यासवि कन्स्ट्रक्सन काठमाडौं, कृष्ण पौडेलको कृशव निर्माण सेवा रुपन्देही, रामु खनालको खनाल कान्छा सप्लायर्स रुपन्देही, दीपेन्द्रबहादुर शाहीको सिद्धिसाई प्रकाश कन्स्ट्रक्सन, राजिव गर्गको भारत कन्स्ट्रक्सन, अभिषेक गुप्ताको गुप्ता पावर इन्फ्रास्ट्रक्चर भारत र सु फुगुईको शुफा एन्हे ग्रुप सिचुवान (चीन) छन् । हेर्नुहोस् सूचना

उजुरी गर्नेबित्तिकै मन्त्री बन्न नपाए सबै खाली हुन्छः ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कसैविरूद्ध उजुरी पर्ने बित्तिकै त्यो मान्छे मन्त्री बन्न नपाउने हो भने नेपालमा कोही मन्त्री बन्न नसक्ने बताएका छन्। मंगलबार धनगढीमा गरिएको पत्रकार भेटघाटमा उनले उजुरी जो कसैलाई पर्न सक्ने भन्दै त्यही आधारमा मन्त्री बन्न नपाउने तर्क गर्न नमिल्ने बताए । ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरूद्ध पोखराको सूर्यदर्शन सहकारीको पैसा अपचलनमा उजुरी परेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उठाएको प्रश्नका सन्दर्भमा यस्तो जवाफ दिएका हुन्। उनले भने, ‘उजुरी दर्ता त एकछिन तपाईंको नाममा अर्काले दर्ता गरे के हुन्छ ? उजुरी दर्ता गर्नेबित्तिकै मन्त्री हुन नपाउने हो भने नेपालमा मन्त्री नै खाली हुन्छ। संसद खाली हुन्छ। सबै खाली हुन्छ। सबैलाई लगेर उजुरी हालिदिए भइहाल्यो नि !’  ओलीले गम्भिर अपचलनको विषयमा प्रभावित पार्न नहुने बताए । उनले भने ‘काङ्ग्रेसका झन्डा हालेर अख्तियारमा बयान दिइरहनुभएको छ। मुद्दा एकपछि अर्को छ, यस्तो अवस्थामा तपाईंहरू मन्त्रीको पद लिइरहेर छानबिन, अनुसन्धान र न्यायमा प्रभावित गर्न नखोजेर किनारामा बस्नुस् ।’ ओलीले सानो अबगाल आउँदा, बोली चिप्लिएका भरमा पनि राजीनामा दिएको प्रसंग सम्झिए ।  उनले भने ‘बोली चिप्लिएका भरमा हामीले शेरबहादुर तामाङलाई राजीनामा गराएका थियौं। एउटा भनाइ चिप्लिएको भरमा गोकुल बाँस्कोटालाई राजीनामा गराएका थियौं। भनाइ चिप्लिएको हो, त्यसमा केही पनि थिएन ।’

१५ लाख धरौटीमा छुटे सुन प्रकरणमा पक्राउ परेका गुरूङ

काठमाडौं । १४ किलो सुन प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका परराष्ट्र विज्ञ सल्लाहकार जीवनकुमार गुरूङलाई धरौटीमा छाडिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले गुरूङलाई १५ लाख धरौटी माग गरेको थियो।  उक्त धरौटी बुझाएर गुरूङ छुटेका हुन् । उनी विरूद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गरेको थियो ।  अनुसन्धानका लागि पक्राउ गरिदिन भन्दै भन्सार कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई पत्राचार गरेको थियो। त्यसपछि सिआइबीले उनलाई फागुन १४ गते पक्राउ गरेको थियो ।  उनलाई पक्राउ गरी अनुसन्धानका लागि भन्सार कार्यालयमै बुझाइएको थियो । अदालतमा पेश हुँदा उनी १५ लाख धरौटीमा छुटेका हुन् ।  उनी प्लाटिनम कलेजका सञ्चालकसमेत रहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन तस्करी गरी ल्याएको घटनामा प्रहरीले उनलाई पक्राउ गरेको थियो । विमानस्थल भन्सार कार्यालयले गत मंसिर २१ गते फ्लाइ दुबईबाट काठमाडौं आएका चन्द्र घलेबाट १४ किलो सुन बरामद गरेको थियो । त्यतिबेला भन्सार कार्यालयले विमानस्थलका कर्मचारीहरूलाई पनि पक्राउ गरेको थियो।  भन्सार कार्यालयले मीनबहादुर घले, चन्द्र घले, कृष्णकुमार श्रेष्ठ, डनबहादुर गुरूङ र उनकी श्रीमती बिना गुरूङलाई मुख्य प्रतिवादी बनाएको थियो । यस्तै विमानस्थलका कर्मचारी प्लम्बर शेरबहादुर बस्नेत, कार्यालय सहयोगी रमेश देउला, लेकबहादुर तामाङ, एयर कन्डिसनर चलाउने तथा मर्मत गर्ने राधाकृष्ण श्रेष्ठ र अनिल श्रेष्ठविरूद्ध पनि मुद्दा दायर भएको थियो । 

मिटरब्याज पीडितहरूको आन्दोलनलाई सम्बोधन गर्न पुगे पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आइतवार मिटरब्याज पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन मार्चपास गरेका छन्। उनले मिटरब्याज पीडितको मार्चपासमा सहभागी जनाउनुकासाथै सो मार्चपासलाई सम्बोधन समेत गरेका छन् । 

प्रधानमन्त्री कप : आज दुई खेल हुँदै

काठमाडौँ । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् । जस अन्तर्गत एपीएफ क्लब र कर्णाली प्रदेश तथा नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र कर्णालीबीचको खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ ।जारी प्रतियोगितामा एपीएफ क्लब ८ खेलबाट १० अंकसहित पाँचौं स्थानमा रहेको छ भने कर्णाली प्रदेश ८ खेलबाट ६ अंकसहित सातौँ स्थानमा रहेको छ । यस्तै आजै नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशबीचको खेल मूलपानी क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ ।अहिलेसम्मका खेलमा नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ । नेपाल पुलिस क्लबले आफ्ना ७ खेलमा सबै खेल जितेर १४ अंकसहित शीर्षस्थानमा रहेको छ । पुलिसले फाइनलमा आफ्नो स्थान सुनिश्चित गरिसकेको छ । यस्तै, लुम्बिनी प्रदेश आफ्ना ८ खेलमा एक जित र ७ हार बेहोरेर २ अंकका साथ नवौँ स्थानमा छ ।

दिल्लीका नयाँ कप्तानको उत्कृष्ठ ब्याटिङ, सन्दिपले अवशर पाउन सक्ने

काठमाडौं, वैशाख १५ । कप्तान परिवर्तनगरेपछिको पहिलो खेलमा दिल्ली डेयरडेभिल्स विजयी भएको छ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्लीले कोलकातालाई ५५ रनले हराएको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले २ सय २० रनको विजय लक्ष प्रश्तुत गरेको थियो । सुरुदेखिनै खराव प्रदर्शन गरेको कोलकाता पुरै ओभरमा ९ विकेट गुमाउँदै १ सय ६४ रनमा अलआउट भयो । कोलकनताले ३३ रन जोड्दा ३ विकेट गुमायो । आन्द्रे रसेलले सर्वाधिक ४४ रन जोडे । शुभम गिलले ३७, सुनिल नारिनले २६, दीनेश कार्तिकले १८ र मिचेल जोन्सनले अविजित १२ रन जोडे । कोलकातालाई सस्तैमा समेट्नेक्रममा दिल्लीका ट्रेन्ट बोल्ट, म्याक्स वेल, अभेष खान र अमित मिश्राले समान २ विकेट लिए । निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय १९ रन बनाएको दिल्लीका श्रेयस ऐयर र ओपनर पृथ्वी सोले अर्धशतक पुरा गरे । शुक्रबार आक्रमक ब्याटिङ गर्ने क्रममा श्रेयसले अविजित ९३ रन बनाए । कप्तानी सम्हाले पछिको पहिलो खेलमा ४० बल खेलेका श्रेयसले १० छक्का र ४ चौका प्रहार गरे । पृथ्वीले ४४ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरे । कोलिन मुर्नोले ३३ र ग्लेन म्याक्सवेलले २७ रन जोडे । कोलकाताका लागि पियुष चावला, शिवम मावी र आन्द्रे रसेलले समान १ विकेट लिए । ७ खेलमा दोस्रो जित हासिल गरेको दिल्लीले नेपाली बलर सन्दिप लामिछानेलाई भने अझै मौका दिएको छैन । यसअघिका ६ खेल मध्ये ५ मा पराजय भोगेपछि दिल्ली डेयरडेभिल्सका कप्तान गौतमले राजिनामाको घोषणा गरेका थिए । त्यसपछि दिल्लीको कप्तानी युवा ब्याट्सम्यान श्रेयस ऐयरले सम्हालेका छन् । आइपिएलमा शनिबार चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।

रोटी चिसो भएर हैरान हुनुहुन्छ, यसरी राख्नुहाेस् तातै

काठमाडौं, चैत्र ७ । गहुँको सुक्खा रोटीको सौखिन धेरै हुन्छन् । अधिकांश नेपालीको भान्सामा यस्तो रोटी तयार हुन्छ । उसो त डाइबिटिजजस्ता रोगका लागि पनि रोटी निकै उपयुक्त हुन्छ । तर, यस्तो रोटी चाँडै सेलाउने र दह्रो हुने भएकाले धेरैलाई चिन्तित बनाएको हुन्छ । यस्तो चिन्ताबाट मुक्त हुन सानो आइडिया पनि पर्याप्त बन्न सक्छ ? लामो समयसम्म रोटी नरम बनाइराख्न पिठो मुछ्ने र बनाउने तरिकाले निर्भर गर्छ । पिठोमा आवश्यकताअनुसार तातो पानी, एक–एक चम्चा नुन र तेल राख्नुहोस् र आधा घन्टा छाडिदिनुहोस् । अब, राम्रोसँग २० मिनेटजति मोल्नुहोस् । वेला–वेलामा पानी थप्नुहोस् । पिठो मुलायम भएपछि बेलेर रोटी बनाउनुहोस् । तयारी रोटीलाई नरम र तातो बनाइराख्न घरमा कुलिङ ¥याकको व्यवस्था गर्दा उपयुक्त हुन्छ । कुलिङ ¥याक छैन भने घरकै भाँडो पनि प्रयोग सक्नुहुन्छ । पकाएको रोटी यस्तै भाँडोमा राख्नुस् । त्यसपछि क्यासरोलमा कटन बिछ्याउनुहोस् र त्यहीमाथि रोटी मिलाएर राख्नुहोस् । रोटी राखिसकेपछि कटन कपडाले छोपिदिनुहोस् र क्यासरोलको ढक्कन लगाइदिनुहोस् । यसरी राख्दा रोटी कम्तीमा दुई घन्टासम्म तातै रहन्छ । रोटी चाँडै चिसो र कडा हुनुको कारण रोटीबाट बाफ उड्नु हो । रोटीबाट निस्किएको बाफ भित्रै रह“दा त्यही बाफले केही बेर रोटी तातै रहन मद्दत पुग्छ । क्यासरोलमा रहेको पातलो कटनले बाफ सोस्छ र रोटीलाई तातो पनि राखिराख्छ । नयाँ पत्रिकाबाट