मिटरब्याज पीडितहरूको आन्दोलनलाई सम्बोधन गर्न पुगे पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आइतवार मिटरब्याज पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन मार्चपास गरेका छन्।

उनले मिटरब्याज पीडितको मार्चपासमा सहभागी जनाउनुकासाथै सो मार्चपासलाई सम्बोधन समेत गरेका छन् । 

रास्वपाको काठमाडौंकेन्द्रित आन्दोलन सुरु

काठमाडौं । काठमाडौंस्थित माइतीघर मण्डलमा राष्ट्रिय स्वतन्त्र पार्टीको आन्दोलनको सुरु भएको छ । पार्टी सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउविरुद्ध रास्वपाको काठमाडौंकेन्द्रित प्रदर्शन माइतीघरमा सुरु भएको हो । रविलाई पक्राउ गरेदेखि पोखरामा आन्दोलित रास्वपा नेता-कार्यकर्ता अब काठमाडौंकेन्द्रित आन्दोलनमा जुटेका हुन् । आन्दोलनमा समर्थकहरूको बाक्लो उपस्थिति रहने रास्वपा कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले बताएका छन् । उनका अनुसार पार्टी कार्यालयबाट नेताहरू समेत आन्दोलनस्थल आइरहेका छन् । काठमाडौंको आन्दोलनमा रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सांसदहरू सुमना क्षेष्ठ, शिशिर खनाल लगायत खटिएका छन् ।

यी भूभागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले लुम्बिनी र मधेश प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन रचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ। त्यसैगरी, आज राती देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज सूर्योदय बिहान ६ बजेर ७ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर २९ मिनेटमा हुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

भ्रष्टाचारविरुद्ध र समृद्धिका पक्षमा जीवनको अन्त्यसम्म लडिराख्ने कसम खाएको छु :  प्रचण्ड

विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारको विरुद्ध सुशासनका पक्षमा नेपाली जनताको आर्थिक विकास र समृद्धिका पक्षमा जीवनको अन्त्यसम्म लडिराख्ने कसम खाएको बताउनुभएको छ । शनिबार मोरङमा आयोजित पार्टी कार्यक्रममा उहाँले जीवनको उत्तरार्धमा पनि सोही भ्रष्टाचारको विरुद्ध सुशासनका पक्षमा नेपाली जनताको आर्थिक विकास र समृद्धिका पक्षमा जीवनको अन्त्यसम्म लडिराख्ने कसमका कारण हिजो भन्दा आज सक्रिय भएको बताउनुभयो । उहाँले भन्नुभयो -'हुनत म जीवनको उत्तरार्ध तिर छ, तर किन हो मलाई अल्ली बढि जोस आएको छ ।किनकी मैले भ्रष्टाचारको विरुद्ध सुशासनका पक्षमा नेपाली जनताको आर्थिक विकास र समृद्धिका पक्षमा जीवनको अन्त्यसम्म लडिराख्ने कसममैले खाएको छु । त्यसैले मलाई त्यसकाविरुद्ध लड्न जोस आएकै छ ।' भुटानी शरणार्थी प्रकरणमा केही फरार अभियुक्त गिरफ्तार भएपछि शरणार्थी प्रकरणको सुई बालकोट र बूढानीलकण्ठतिर सोझिएपछि सरकार ढलेको बताउनुभयो । ‘भुटानी शरणार्थीसँग सम्बन्धित केही फरार अभियुक्तलाई गिरफ्तार गरियो, सुशासनको सुई बालकोटतिर पनि सोझियो,बूढानीलकण्ठतिर पनि सोेझियो । जब भ्रष्टाचार विरोधी अभियानको सुई उता सोझियो, एउटा आतंक नेताहरुमा पैदा भयो एउटा डर, एउटा भय’ प्रचण्डले भन्नुभयो, ‘त्यसैकारण राम्रो काम गर्न खोज्दा खोज्दै कुनै पनि अभियोग नलाग्दा नलाग्दै पनि तथाकथित संख्याको बलमा बडो अप्राकृतिक रुपमा अस्वाभाविक रुपमा आफ्नै नेता कार्यकर्तालाई जानकारी नदिई पहिलो र दोस्रो पार्टीका बीचमा गठबन्धन भयो र सरकार बदलिने परिस्थिति बन्यो ।’ पूर्वप्रधानमन्त्री प्रचण्डले आफूले सत्तारुढ दललाई दुई तिहाइको अहंकार नदेखाउन आग्रह गर्ने क्रममा बंगलादेश र श्रीलंकाको उदाहरण दिएको बताउनुभयो। ‘मैले उनीहरुलाई सम्झाएको मात्र छु, दुई तिहाइको यदि तपाईंहरुलाई अहंकार आयो भने धेरै टाढा जानुपर्दैन बंगलादेश हेरे पुग्छ, त्यहाँ पनि दुई तिहाइ एउटै पार्टीको थियो’, अध्यक्ष प्रचण्डले भन्नुभयो । आफूले खबरदारी गरेको विषयलाई कांग्रेस र एमाले नेताहरुले ‘बंगलादेश बनाइदिन्छु भन्यो’ भनेर प्रचार गरेको भन्दै प्रचण्डले भन्नुभयो, ‘मैले त खबरदारी गरेको मात्र हो, तपाईहरु त्यता हेर्नुस्, दुई तिहाइको अहंकार गर्न छाडेर जनताको सेवा गर्नुस् भनेर सुझाव पो दिएको हो।’

देशको भविष्य उज्वल छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अहिलेको अवस्था बदल्नुपर्ने बताएका छन्। बिहीवार ६२ औँ इन्जिनियर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। उनले देशको अवस्था अहिले राम्रो नभएको पनि बताए।  देश प्रशंसा गर्न लायक भएपनि देशको अवस्था भने प्रशंसा गर्न लायक नभएको बताए। देशको इतिहास गौरवपूर्ण र प्रशंसा गर्न लायक भएको उनको भनाई छ। प्रधानमन्त्री ओलीले देशको भविष्य उज्वल रहेको भएपनि अहिलेको अवस्था भने सन्तोष मान्न र खुशी हुन सकिने नरहेको बताए। ‘देश समस्यामा छ। शरीरमा सन्चो छैन बिरामी छु भनेपछि यो हात चाहिँ ठिकै छ भन्ने कुरा हुन्छ र? ज्वरो चाहिँ आएको छ तर हात चाहिँ ठिकै छ भन्ने कुरा हुन्छ र? ज्वरो आएपछि त सबैतिर ज्वरो आउँछ नि’ उनले भने, ‘त्यसकारण देशको अवस्था राम्रो छैन। प्रशंसा गर्न लायक छैन देशको अवस्था। देश प्रशंसा गर्न लायक छ। देशको इतिहास प्रशंसा गर्न लायक छ।  गौरवपूर्ण इतिहास छ। प्रशंसा गर्न लायक छ। भविष्य उज्वल छ। त्यसमा कुनै सन्देह छैन। तर आज सन्तोष मान्न, खुशी हुन सकिने अवस्था छैन। हामीले यस अवस्थालाई बदल्नै पर्ने छ।’ उनले इन्जिनियरहरुले उच्च आत्मबल, उच्च मनोबलका र उच्च नैतिक बलका साथ देशको सेवा गरिरहेका बताए। इन्जिनियरहरुको समस्यालाई समाधान गर्न सरकार सकारात्मक रहेको उनको भनाई छ।

सत्ता समीकरण फेरबदलको चर्चा हल्ला मात्रै : गृहमन्त्री लामिछाने

 काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सत्ता समीकरण फेरबदल हुनेकुरा हल्ला मात्रै भएको बताएका छन्।सोमवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री लामिछानेले सत्ता समीकरण फेरबदल हुन लागेको बारे आफूलाई कुनै जानकारी नभएको बताएका हुन्। उनले बाहिर सञ्चारमाध्यममा आएका कुराहरु हल्ला मात्रै भएको बताए। आफुले दुई जना नेताहरुसँग कुराकानी गरेको भन्दै आफूले त्यस्तो छनक नपाएको उनले बताए। उनले भने, ‘हल्ला मात्रै हो। त्यस्तो थाहा छैन। म पनि सरकारमै छु। सरकार गठबन्धनको एउटा पार्टनर नै हुँ। त्यस्तो केही पनि छैन। मेरो भर्खरै दुईजना नेतासँग कुरा पनि भयो। कहिलेकाहीँ विभिन्न प्रक्रियाहरुमा केही असमझदारी हुँदाखेरी भेटघाट गर्ने कुरा भइरहन्छ। सामान्य भेटघाट नै हो। यसलाई कुनै त्यस्तो गम्भीरतापूर्वक लिनुपर्ने केही पनि छैन।’ गृहमन्त्री लामिछानेले शीर्ष नेताहरु बीचको भेटघाट समान्य भेटघाटको रुपमा रहेको भन्दै त्यसलाई गम्भीरतापूर्वक लिनु नपर्ने समेत बताए ।

देशको आर्थिक समृद्धिमा सबै दल एकठाउमा आउनुपर्छ : रवि लामिछाने

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि लामिछानेले नेपालमा आम जनता र नेताहरूको प्राथमिकता एउटै विषयमा नभएको बताएका छन् । नेकपा एकीकृत समाजवादीको महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै लामिछानेले आम जनता र राजनीतिक दलका नेताहरूको प्राथमिकता एकै नभएको बताएका हुन् ।उनले देशमा राजनीतिक परिवर्तन भएर, संविधान बनेर, सबै किसिमका अधिकार प्राप्त भएपछि पनि आम जनताको चाहना अनुसार काम हुन नसकेको बताए। उनले शीर्ष नेताहरुबीच जनताको चाहना अनुसारको काम गर्न नसकेको बताए ।उनले राजनीतिक समस्या समाधान गर्न सबै दल एक ठाउँमा आए जस्तै देशको आर्थिक विकास गर्न सबै एक ठाउँमा आउनुपर्ने बताए ।उनले देशको विकास गर्न सबै नेताहरू एक ठाउँमा आउन आव्हान समेत गरेका छन् ।

दातृ निकायको सहयोग लिनुनपर्ने गरी स्वास्थ्य मन्त्रालय चलाउँछु : मन्त्री यादव

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले कुनैपनि दातृ निकायको सहयोग लिनुनपर्ने गरी स्वास्थ्य मन्त्रालयलाई आत्मनिर्भर बनाउने बताएका छन् ।बुधबार लागुऔषध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले विदेशी दिन्छन् र काम गर्छु भन्ने आशमा स्वास्थ्य मन्त्रालय नबस्ने भन्दै मन्त्रालयलाई आफूले आजैबाट आत्मनिर्भर बन्ने कार्यविधि बनाउन निर्देशन दिने बताए। उनले नेपालमा बसेर नेपालकै विरोध गर्ने र लगानी गरेन भन्नेजस्ता आरोप नलगाउन विभिन्न संघसंस्थाहरुलाई आग्रह गरे। मन्त्री यादवले एन्जिओ, आइएन्जिओको सहयोग नेपालमा रहेको र सरकारले स्वागत पनि गरिरहेको भन्दै नेपाल सरकारले केही गरेन भन्ने जस्ता अभिव्यक्ति नदिन चेतावनी दिए।उनले कसैको सहयोगको आस गर्न नपर्ने गरी मन्त्रालयको कार्यविधि बनाइ लागू गर्न मन्त्रालयका कर्मचारीहरूलाई निर्देशन समेत दिए। मन्त्री यादवले लागुऔषध दुर्व्यसनीबाट आफ्ना नागरिकलाई बचाउन सरकार एकबद्ध भएर लाग्ने बताए।

प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकमाथिको छलफल जारी, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे संसद् भवन बानेश्वरमा बस्दै छ । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै, आज पनि विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ। बैठकमा सांसद रामहरि खतिवडाले विनियोजन विधेयक २०८१ अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको शीर्षकको खचए रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ । त्यस्तै, सांसदहरू अमरेशकुमार सिंह, प्रेम सुवाल, मुक्ताकुमारी यादव, राजेन्द्रप्रसाद लिङदेन, रोशन कार्की, श्यामकुमार घिमिरेले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यसैगरी आज संघीय मामिला तथा सामान्य प्रशाासन मन्त्रालय, उर्जा जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयको बजेटमाथि छलफल हुने छ।

जसपा नेपालको नयाँ नेतृत्व चयन गर्न मतदान हुँदै

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल (जसपा)को राष्ट्रिय एकताको महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न बिहीबार दिउँसोदेखि मतदान हुने भएको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार दिउँसो १२ः३० बजेसम्म उमेदवारी फिर्ताको समय तोकिएको छ । त्यसपछि मतदान प्रारम्भ हुने जनाइएको छ ।  पदाधिकारी र केन्द्रीय सदस्यमा परेको अन्तिम उमेदवारको सूची सार्वजनिक भइसकेको छ । उमेदवारीमा दाबी विरोध र दाबी विरोधउपर निर्णय भइसकेको छ। २०१ केन्द्रीय सदस्य र अध्यक्ष, सहअध्यक्ष, महासचिव, सहमहासचिव, कोषाध्यक्ष, सचिव र सहसचिव गरी २० पदाधिकारीका लागि बुधबार मनोनयन दर्ता भएको थियो। अध्यक्षबाहेक अब एक सहअध्यक्ष, उपाध्यक्षमा पाँच, महासचिवमा दुई, उपमहासचिवमा तीन, सचिवमा सात, कोषाध्यक्षमा एक गरी १९ पदाधिकारी तथा केन्द्रीय सदस्य गरी २०१ पदका लागि निर्वाचनमा प्रतिस्पर्धा हुँदै छ ।

डेलिभरीमा सुधार गरेर प्रदेशलाई बलियो बनाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतालाई राम्रो डेलिभरि दिएर मात्र सङ्घीयता बलियो हुने बताउँदै त्यसका लागि सबैले सकारात्मक पहल लिनुपर्ने बताएका छन् । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अन्तरप्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्रीले भने, अन्तरप्रदेश व्यवस्थापिका मञ्च बनाएर संसदको भूमिका प्रभावकारी बनाउन जुन भूमिका खेल्नुभएको छ, यो महत्त्वपूर्ण छ। आवधिक रूपमा यस्ता छलफलहरू जरूरी छ। सरकारले मञ्चका निष्कर्षहरूलाई गम्भीरतापूर्वक लिनेछ। अधिकतम सम्बोधनको प्रयास गर्नेछ। छलफलका क्रममा प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर र विरोधीबीच बहस भइरहेको बताउँदै जनतालाई राम्रो डेलिभरि दिनुपर्ने बताए। उनले भने हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्र बलियो बनाउने, संविधानको प्रभावकारी कार्यान्वयन गर्ने पक्षका हौँ। यहाँ सङ्घीयताका विरोधीहरू प्रदेशमाथि आक्रमण गरेर व्यवस्थामाथि अनास्था फैलाउने कोशिसमा छन्। त्यस्तो प्रवृत्तिलाई हामीले निरूत्साहित गर्नुपर्छ। जनतालाई राम्रो डेलिभरि दिएर प्रदेश र स्थानीय सरकारलाई बलियो बनाउनुपर्छ। प्रधानमन्त्रीले सङ्घीय निजामती ऐन र प्रहरी समायोजनको काम छिटो निष्कर्षमा पुर्‍याउन आफूले पहल गरिरहेको बताए। उनले भने, 'सङ्घीय निजामती सेवा ऐन संसदबाट छिटो पारित गराउन र प्रहरी समायोजनको काम टुंगाउन मैले पहल गरिरहेको छु। यो निष्कर्षमा पुगेपछि प्रदेश र स्थानीय तह बलियो हुन्छ। सङ्घीयतामाथि प्रश्न उठाउनेहरू कमजोर हुन्छन्।' छलफलमा प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, सञ्चार तथा सूचना प्रविधि मन्त्री, कानुनमन्त्री, प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष, सातै प्रदेशका सभामुख र उपसभामुख, नेपाल सरकारका मुख्यसचिव लगायत उपस्थित थिए ।

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । संघीय संसद् अन्तर्गत् राष्ट्रिय सभाको बैठक आइतबार बस्दैछ। दिउँसो सवा एक बजे बस्ने बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यसपछि आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने संसद् सचिवालयले जनाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दामोदार भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मिडिया काउन्सिल विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची रहेको छ।

नेपाल र जापानका परराष्ट्रमन्त्रीबिच भेटवार्ता

काठमाडौँ। उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहनुभएका जापानका विदेशमन्त्री खामिखावा योकोबिच भेटवार्ता सम्पन्न भएको छ । परराष्ट्रमन्त्रीस्तरीय प्रतिनिधिमण्डलबिच आइतबार मन्त्रालयमा भएको वार्तामा द्विपक्षीयसम्बन्ध र सहयोगलाई थप सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिए। भेटवार्तापछि सञ्चारकर्मी कुरा गर्दै उनले नेपाल र जापानबिचको द्विपक्षीयसम्बन्धलाई थप मजबुत बनाउने र आर्थिक सहयोगात्मक सम्बन्धलाई फराकिलो बनाउनेसम्बन्धमा छलफल भएको बताए। “दुवै प्रतिनिधिमण्डलबिच विभिन्न अन्तर्राष्ट्रिय मामिलाका विषयमा पनि छलफल भयो”, उपप्रधानमन्त्री श्रेष्ठले भने। जापानी विदेशमन्त्री खामिखावाको औपचारिक सद्भाव भ्रमणभएकाले वार्तामा कुनै पनि विषयमा सम्झौता वा समझदारी नभएको उनले स्पष्ट पारे।  विदेशमन्त्री खामिखावा उपप्रधानमन्त्री श्रेष्ठको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि आज दिउँसो काठमाडौं आइपुगेकी हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेकी थिइन् । जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो । भ्रमणका क्रममा उहाँले यसअघि काठमाडौँ दरबार क्षेत्रको अवलोकन गरेका थिए । उनले आजै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठले उनको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन्। विदेशमन्त्री खामिखावा भ्रमण सम्पन्न गरी आजै राती नेपाल वायु सेवाको विमानमार्फत जापानका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ। रासस

श्रमसम्बन्धी विवाद स्थानीय तहबाटै समाधान हुनु महत्त्वपूर्ण राजनीतिक उपलब्धि : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रमसम्बन्धी विवादहरू स्थानीय तहमा नै समाधान हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन् । बुधबार काठमाडौंमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले केन्द्र तथा प्रदेशहरूमा श्रम सल्लाहकार परिषद् गठन हुनु, स्थानीय श्रम सम्बन्धी विवादहरू स्थानीय तहमा नै दुई पक्षीय र आवश्यक परेको अवस्थामा त्रिपक्षीय संवादका माध्यमबाट समाधान खोज्ने व्यवहारमा विकास हुनुले पनि श्रम विवादका घटनाहरूमा निकै कम भएको बताए ।  उनले नेपालमा पनि सामाजिक संवादमार्फत श्रमसम्बन्धी समस्याको समाधान गर्ने विषयले थप महत्त्व पाउँदै गएको बताए ।'नेपालको श्रमसम्बन्धी जुन रूपमा विकास भइरहेको छ, त्यसलाई अन्य मुलुकले पनि निकै अभिरुचीका साथ हेर्ने गरेको विभिन्न अन्तर्राष्ट्रिय गोष्ठीमा देख्न सकिन्छ । यो हाम्रा लागि सुखद् अवसर पनि हो । सामाजिक संवाद र आपसी सहमति कायम गरी श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन ल्याएको विषयलाई अन्तर्राष्ट्रिय निकायले असल अभ्यासका रूपमा लिने गरेका छन् । हामीले सुरु गरेका असल अभ्यास र सहकार्यको निरन्तरता र साझा हितका लागि काम गर्ने संस्कृतिको विकास गर्न हामी सबैको प्रतिबद्धताको लागि म आग्रह गर्दछु,' उनले भने । अध्यक्ष ढकालले आगामी दिनमा आउने समस्या समाधानका लागि रोजगारदाता र श्रमिक मिलेर जानुको विकल्प नरहेको जिकिर गरे ।

संयुक्त वाणिज्य परिषद् स्थापनाका लागि महासंघ र कतार चेम्बरबीच सम्झौता

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल–कतार संयुक्त वाणिज्य परिषद् स्थापना हुने भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले नेतृत्व गर्ने परिषद् स्थापनाका लागि बुधबार दुवै पक्षबीच सम्झौता भएको हो।  कतारका अमीर शेख तमीम विन हमाद अल थानी र नेपालका प्रधानमन्त्री पुष्प कमल दाहालको उपस्थितिमा महासंघ अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष शेख खलिफा बिन जसिम अल थानी ले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार परिषद्ले व्यापार विस्तार, लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण, पर्यटन प्रवर्द्धनका क्षेत्रमा काम गर्नेछ।  सम्झौतासँगै तीव्र आर्थिक वृद्धि भइरहेको खाडी मुलुक कतारसँग सम्वादका लागि परिषद् स्थायी संयन्त्र बनेको छ। संयुक्त वाणिज्य परिषद्को उद्देश्य कतार र नेपालका निजी क्षेत्रबीच सहकार्य र समझदारी बढाउनु रहेको हो। नेपालीहरुको कामको गन्तव्यका रुपमा चिनिदै आएको कतारको लगानी आकर्षित गर्न र व्यापार विस्तार गर्न परिषदले प्रभावकारी भूमिका खेल्ने बताइएको छ। खाडी मुलुकमा कृषिजन्य उत्पादन, पानी, जडिवुटि, मसला र मसलाजन्य वस्तु लगायतको अत्यधिक माग छ । तिव्र आर्थिक विस्तारका कारण कतार लगानी गन्तव्यका रुपमा रहेको हुँदा नेपालमा लगानी आकर्षित गर्न परिषदले प्रभावकारी भूमिका निर्वाह गर्नेछ ।  यसैगरि पर्यटन प्रवर्द्धनका क्षेत्रमा पनि परिषदले काम गर्नेछ।  परिषद स्थापनापछि दुइ चेम्बरबीचको सहकार्य थप प्रगाढ भएको र यसले लगानी र व्यापार विस्तारमा सहयोग पुग्ने दुवै अध्यक्षले धारणा राखेका छन् ।  ‘यस सम्झौताले अगामी दिनमा सहकार्यलाई थप बढाउनेछ,’ कतार चेम्बरका अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले भने।  महासंघ अध्यक्ष ढकालले परिषदका मार्पmत थप सहकार्यका लागि थप काम गरिने बताए । ‘कतारको तिव्र आर्थिक बिकासबाट फाइदा लिन परिषदले निरन्तर काम गर्नेछ,’ उनले भने। यसैगरी महासंघ अध्यक्ष ढकालले परिषदको स्थापना पछि नेपालको जल विद्युत,  पर्यटन पूर्वाधार, सूचना प्रविधि र कृषि प्रशोधनका क्षेत्रमा लगानी बढाउन सजिलो हुने बताए। यस्तै, महासंघ र कतार चेम्बरबीचको समझदारी पनि नवीकरण भएको छ। नयाँ समझदारीपत्रमा महासंघ अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले हस्ताक्षर गरे।  यो सम्झौता पनि कतारका अमीर शेख तमीम विन हमाद अल थानी र नेपालका प्रधानमन्त्री पुष्प कमल दाहालको उपस्थितिमा नै भएको हो। महासंघ र कतार चेम्बरबीच सन २००५ मा पहिलोपटक समझदारी भएको थियो । त्यसयता दुइ चेम्बरले लगानी र व्यापार प्रवर्द्धनमा विविध सहकार्य गर्दै आएका छन्।