६० जना प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ६० जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक नियन्त्रण तालिम १५१ औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित तालिम समापन कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।
उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक पोखरेलले सेवा प्रवाहको क्रममा आफ्नो बोली, बचन र व्यवहारलाई अझ उत्कृष्ट बनाउनुपर्ने बताए ।
आर्थिक प्रलोभनमा नपरी अनुशासित एवम् मर्यादित भई तालिमबाट प्राप्त व्यावसायिक सीप एवम् क्षमतालाई संगठनको उद्देश्य अनुरूप प्रयोग गर्न प्रशिक्षार्थीहरुलाई उनले निर्देशन दिए ।
कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर थापाले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत फागुन १० गतेदेखि संचालित तालिममा प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार १० जना र प्रहरी जवान ४८ जना गरी कुल ६० जना प्रशिक्षार्थीहरुले तालिम हासिल गरेको जानकारी दिए ।
वीरगन्जमा राजस्व चुहावट नियन्त्रण सम्बन्धी गोष्ठी सम्पन्न
काठमाडौँ । गृह र अर्थ मन्त्रालयको आयोजनामा पर्साको वीरगन्जमा राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रचलित कानुनको अधीनमा रहेर आम नागरिकले व्यापार व्यवसाय गर्न सक्ने वातावरण निर्माणमा सबै लाग्नुपर्ने बताए । उनले भने,‘राजस्व चुहावट नियन्त्रण, प्रतिबन्धित सामान नियन्त्रणमा सबै सरोकारवाला निकायहरूले आ–आफ्नो जिम्मेवारीमा विशेष सक्रिय भएर कार्यसम्पादन गर्नुपर्छ ।’ गोष्ठीमा गृह सचिव एकनारायण अर्याल र अर्थ सचिव डा. कृष्ण हरि पुष्करले राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण कुनै एक मात्र निकायको एकल प्रयासबाट मात्र सम्भव नहुने हुँदा बताए । कार्यक्रममा भन्सार विभाग, आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान कार्यालय, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक, मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख र मधेस प्रदेश सशस्त्र प्रहरी बल नेपालका प्रमुख तथा प्रतिनिधिहरूले आ–आफ्नो कार्यालयको तर्फबाट प्रस्तुतीकरण गरेका थिए ।
यस्तो हुनेछ आजको मौसम
काठमाडौं । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेका कारण आज बिहान पहाडी भू–भागमा आंशिक बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाँकी भागमा मौसम मुख्यतया सफा छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थान साथै बाँकी पहाडी भू–भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । विभागले राति कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
सहकारीमा मेरो पनि लगानी डुबेको छ, उठाइदिनेलाई एक–दुई लाख दिन्छु : श्रममन्त्री आर्याल
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले सहकारीमा आफ्नो पनि पैसा डुबेको बताएका छन् । उनले सो पैसा उठाइउदनेलाई आफुले केही रकम दिने समेत बताएका छन् । उपसभापति अर्यालले सहकारीमा आफ्नै २३ लाख लगानी डुबेको बताउँदै रकम उठाइदिनेलाई एक–दुई लाख रुपैयाँसम्म दिने पनि बताए । हाम्रो नयाँ कृषि सहकारीमा आफूले २३ लाख लगानी गरेको र अहिलेसम्म फिर्ता नलिएको बताए । उनले सहकारीमा रहँदा आफूले उपाध्यक्ष हुनका लागि एउटा सही छाप गर्नुबाहेक अरु कुनै कारोबारमा सही नगरेको दाबी समेत गरे ।रास्वपा आएपछि देशको नेतृत्व गर्न आफ्नो पालो नआउने डरले कांग्रेसका युवा नेताहरुले यसै विरोध गरिरहेको उनले आरोप लगाएका छन् । उनले भने, “रास्वपाको उपसभापति डीपी आर्याल पनि सहकारी ठगीमा तपाईंहरुलाई लाग्ला । मैले २३ लाख रुपैयाँ लगानी गरेको छु, त्यो सहकारीमा । म ठगिएको छु, मलाई त्यो २३ लाख उठाइदिए हुन्थ्यो, बोल्ने सांसदहरुले, लेख्ने मिडियाका साथीहरुले २३ लाख मेरो उठाइदिउन्, बरु उहाँहरुलाई म अलिअलि दिन्थेँ । मेरो २३ लाख आएपछि उहाँहरुको सचिवालय चलाउन, अध्ययन गर्न दिन्थेँ । मै ठगिएको छु । संस्थामा म सदस्य भएको हो, मैले भनेको छु । म उपाध्यक्ष भएको हो, त्यो अत्यन्त राम्रो उद्देश्यका साथ बनेको सहकारी रहेछ, हाम्रो नयाँ कृषि सहकारी भन्ने । त्यो कोभिडको पछि कृषिमा यति धेरै आयात हुँदो रहेछ, कोभिडमा अध्ययन गरियो ।” उनले अध्ययन गरिसकेपछि त्यो संस्थालाई सञ्चालन गरेर कतै यो देशमा कृषिमा केही परिवर्तन ल्याउन सकिन्छ कि भनेर काम गरेको बताए । “गएर काम गर्नुपर्ला भनेर पैसा लगानी गरियो, एक करोड लगानी गर्ने तयारीमा थिएँ, त्यसको लागि एक किस्ता २३ लाख लगानी गरेँ,” उनले भने, “काम गर्दै जाँदा एक महिनामा त्यहाँका साथीहरु, त्यसको इतिहास हेर्दा, त्यहाँ एक महिनामा अध्ययन गरेँ । संस्था कसरी चलाउने भनेर ७० पेजको प्रपोजल लिएर गएपछि उनीहरुले मलाई नेतृत्व दिन मानेनन् । त्यसपछि पुसको ११ गते राजीनामा गरेर म २३ लाख सकेको दिन फिर्ता गर्नुस् भनेर हिँडेको हुँ, म गएदेखि निस्किएसम्म कुनै कारोबार भएको छैन । अध्ययन गरेर लेख्नुस्, बोल्नुस् । मेरो तर्फबाट त्यो सहकारीमा साधारण सभामा उपाध्यक्ष हुनको लागि एउटा सही छाप भएको छ, त्यो भन्दा बाहेक मलाई केही थाहै छैन ।”
लगानी सम्मेलनको तयारीलाई तीव्रता दिन निर्देशन
काठमाडौं । तेस्रो लगानी सम्मेलन निर्देशक समितिको चौथो बैठक अर्थमन्त्री तथा लगानी सम्मेलन निर्देशक समितिका संयोजक वर्षमान पुनको अध्यक्षतामा अर्थ मन्त्रालयमा सम्पन्न भएको छ । बैठकले निर्देशक समितिको अघिल्लो बैठकका निर्देशन कार्यान्वयनको अवस्थाबारे जानकारी लिनुका साथै लगानी सम्मेलनका लागि आवश्यक गृहकार्यलाई तीव्रता दिन लगानी सम्मेलनको सचिवालयलाई निर्देशन दिएको अर्थमन्त्री पुनको सचिवालयले जानकारी दिएको छ। बैठकमा अर्थमन्त्री पुनले मुलुकभित्र उत्पादन र रोजगारीका अवसर सिर्जना गर्न पूर्वाधार विकास, औद्योगिक एवं पर्यटकीय पूर्वाधार, स्वच्छ ऊर्जा, सूचना तथा प्रविधि, कृषि प्रशोधन एवं स्वास्थ्य तथा शिक्षालगायतका क्षेत्रमा निजी लगानी आकर्षण गर्ने सन्दर्भमा लगानी सम्मेलनलाई फलदायी बनाउन सबै सरोकारवालाको उत्तिकै महत्त्वपूर्ण भूमिका रहने बताए । स्वदेशी एवं विदेशी निजी क्षेत्र, गैरआवासीय नेपाली लगायतबाट लगानी आकर्षण गर्ने अभिप्रायले आयोजना हुन लागेको यस लगानी सम्मेलनमा अधिकतम् बी–बी (व्यावसायिक साझेदारी) का परियोजनामा लगानी जुटाउन बैठकमा उपस्थित निजी क्षेत्रका प्रतिनिधिलाई उनले आह्वान गरे। निजी क्षेत्रका तीनवटा छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्स लगानी सम्मेलनको सहआयोजक रहेका छन् । बैठकमा लगानी सम्मेलन सचिवालयका संयोजक एवं लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले लगानी सम्मेलन आयोजना गर्न गठित निर्देशक समिति तथा कार्यान्वयन समितिको निर्देशनबमोजिम सचिवालय तथा परियोजना छनोटसम्बन्धी प्राविधिक समिति र कानुन सुधार समितिका तर्फबाट भएका कार्यको सम्बन्धमा विस्तृत प्रस्तुतीकरण गरेका थिए। बैठकमा विभिन्न विषयगत मन्त्रालयका मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गभर्नर, निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका अध्यक्ष, उच्चपदस्थ कर्मचारीको उपस्थिति थियो । नेपालले आगामी वैशाख १६ र १७ गते काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना गर्दै छ।
सुदूरपश्चिममा अल्पमतका मुख्यमन्त्रीले थपे ३ मन्त्री, रातारात शपथ
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफु अल्पमतमा रहँदा रहँदै सरकार विस्तार गरेका छन् । पुरानो गठबन्धनबाट मुख्यमन्त्री बनेका कांग्रेसका शाह माओवादी र नेकपा एसले समर्थन फिर्ता लिएसँगै अल्पमतमा रहेका छन् । नयाँ सत्ता समिकरण बने लगत्तै अल्पमतको मुख्यमन्त्री बनेका उनले आज नागरिक उन्मुक्ति पार्टीका तीनजनालाई मन्त्री नियुक्त गरे । संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री, इन्दिरा गिरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र खुसीराम चौधरीलाई विनाविभागीय मन्त्री नियुक्त गरेका हुन् । वैकल्पिक गठबन्धन बनाउने ध्याउन्नमा लागेका उनले आफु अल्पमतमा रहेको समेत विर्सेर नाउपाबाट मन्त्री थपेर रातारात शपथ खुवाए । उनीहरूलाई प्रदेश प्रमुख देवराज जोशीबाट राति नै पद तथा गोपनीयताको शपथ गराएका हुन् । यसअघि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी थिए । उनलाई यथावत् राखिएको छ भने राज्यमन्त्री रहेका कैलाश चौधरीलाई फिर्ता बोलाएर उक्त स्थानमा नाउपाकै इन्दिरालाई नियुक्त गरिएको छ । माओवादी र नेकपा एसको समर्थनपश्चात मुख्यमन्त्री शाहको साथमा नागरिक उन्मुक्तिको पार्टीमात्रैको समर्थन हुँदा पनि बहुमत पुग्दैन । यहाँ स्वतन्त्र र राप्रपाका एक एक जना सांसद छन् । उनीहरु दुवैजना शाह नेतृत्वको सरकारमा सहभागी हुँदा मात्रै बहुमत पुग्ने अवस्था देखिन्छ ।५२ जना सांसद रहेको सुदूरपश्चिममा सरकारको बहुमतका लागि २७ जना चाहिन्छ ।
राष्ट्रपति पौडेलले गरे पशुपतिनाथको दर्शन
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथको दर्शन एवं पूजाआराधना गरेका छन् । शुक्रबार महाशिवरात्रिको अवसरमा राष्ट्रपति पौडेलले पशुपतिनाथमा पुगरे दर्शन गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेल धर्मपत्नी तथा प्रथम महिला सविता पौडेलले परिवारसहित अपरान्ह पशुपतिनाथ मन्दिर पुगेका थिए । पशुपतिमा उनको परिवारले पशुपतिनाथको पूजाआराधना गर्नका साथै उनले प्रसाद ग्रहणसमेत गरेका थिए ।
शेयर लगानीकर्ताको हित रक्षा गर्ने अर्थमन्त्री पुनको प्रतिबद्धता
काठमाडौं । नव नियुक्त अर्थमन्त्री वर्षमान पुनले शेयर लगानीकर्ताहरुको हित रक्षा गर्ने प्रतिबद्धता जनाएका छन् ।आज शपथ ग्रहण पश्चात सिंदरबारमा पदभार ग्रहण गर्दै उनले सो कुरा बताएका हुन् । शेयर बजारमा ६० लाख भन्दा बढि जनताको लगानी रहेको उल्लेख गर्दै यस क्षेत्रको अन्योलता चिरेर काम गर्ने बताए । मन्त्री पुनले शेयर बजारमा ६० लाख जनताको लगानी रहेको शेयर बजारमा चलखेल हुन नदिने बताउँदै शेयर बजारमा तलमाथि गर्ने जस्तो प्रवृत्तिहरु निरुत्साहित गरिने उनले बताए । मन्त्री पुनले लगानीकर्ताको मनोबल उच्च बनाएर काम गर्ने वातावरण बनाउने समेत बताए ।
सचिव बैठकका ६ निर्णय : नीति तथा कार्यक्रमको प्रस्ताव माग्नेदेखि लगानी सम्मेलनको तयारीसम्म (निर्णयसहित)
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फागुन ८ गते मुख्यसचिव डा. बैकुण्ठ अर्यालको नेतृत्वमा बसेको बैठकले विविध ६ वटा निर्णय गरेको छ । बैठकले मन्त्रालयहरुलाई १५ फागुनभित्र क्षेत्रगत नीति तथा कार्यक्रमको मस्यौदा प्रस्ताव तयार पारेर पठाउन मन्त्रालयहरुलाई निर्देशन दिएको छ ।प्रधानमन्त्री कार्यालयले प्रस्तावित १६औं योजनाको प्राथमिकता र रणनीति एवम् स्रोत साधनको उपलब्धता समेतका आधारमा प्रदेश तहसँग समेत समन्वय कायम हुने गरी नीति तथ कार्यक्रम मस्यौदा गर्न मन्त्रालयलाई निर्देशन दिएको हो । सचिव बैठकले नयाँ निर्माण गर्नुपर्ने र संशोधन गर्नुपर्ने विधेयक संघीय संसदको चालु अधिवेशनमा प्रस्तुत गर्ने गरी फागुन मसान्तसम्म मन्त्रिपरिषदमा पेश गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ । यस्ता विधेयकलाई उच्च प्राथमिकतामा राख्न मुख्यसचिव अर्यालले निर्देशन दिएका छिन् । बजेट विनियोजन नभएको वा अपर्याप्त भएका काम वा माइलस्टोन तथा चालु आर्थिक वर्षमा पूरा हुन सक्ने र नसक्ने क्रियाकलाप र माइलस्टोनको विवरण पनि प्रधानमन्त्री कार्यालयले मन्त्रालयहरुसँग माग गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको एकीकृत अनुगमन प्रणालीमा प्रविष्ट कार्ययोजनामा समावेश भएका यस्ता आयोजनाबारे पर्याप्त पुष्ट्याइँसहित १० फागुनसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपलब्ध गराउन निर्देशित गरिएको छ । प्रधामनन्त्री कार्यालयले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धि सहितको वार्षिक प्रतिवेदनमा फागुन १० भित्र आफ्नो प्रतिक्रिया र सुझाव दिन पनि मन्त्रालयलहरुलाई निर्देशन दिएको छ । यस्तो प्रतिवेदन नेपाल सरकारले राष्ट्रपति समक्ष पेश गर्ने र राष्ट्रपतिले त्यस्तो प्रतिवेदन प्रधानमन्त्री मार्फत संघीय संसद समक्ष पेश गर्ने व्यवस्था गर्ने व्यवस्था छ । बेरुजु फस्र्योटका लागि भएका कामको वस्तुगत र यथार्थपरक प्रगति विवरण ३० फागुनभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपलब्ध गराउन पनि निर्देशन दिइएको छ । १६ र १७ वैशाख २०८१ मा काठमाण्डौमा हुने लगानी सम्मेलनको लागि आ–आफ्नो मन्त्रालय र निकायले गर्नुपर्ने तयारीलाई उच्च प्राथमिकतामा राखी आवश्यक कार्य गर्ने गराउने निर्णय पनि सचिव बैठकले गरेको छ । यस्तो छ सचिव बैठकको निर्णय
कर्णाली उत्सवमा देश जान्याका कुरा !
सुर्खेत । वैदेशिक रोजगारको तथ्यांक हेर्ने हो भने दैनिक तीन हजार जना विभिन्न कारणले विदेश पलायन भइरहेका छन् । केही समय अघिसम्म रोजगारीका लागि खाडी मुलुक ताक्ने नेपालीको अहिले पहिलो रोजाइ युरोपियन मुलुक देखिन्छ । कर्णालीका ७० प्रतिशतभन्दा वढी नागरिक कालापहाड (भारत) जाने गरेका छन् । पछिल्लो समय रुकुम पश्चिम लगायतका ठाउँबाट गाउँनै रित्तो हुनेगरी चोरीबाटो भएर अमेरिका जानेहरूको तथ्यांक राज्यसँग छैन । खुला सीमाको उपयोग गर्दै रोजगारीका लागि कालापहाड जाने कर्णालीबासीको हालखबर राज्यलाई थाहा छैन । वीरेन्द्रनगरमा जारी कर्णाली उत्सवमा यही विषय वरिपरि रहेर ‘देश जान्या’ भन्ने विषयमाथि छलफल भएको थियो । उक्त सत्रमा वैदेशिक रोजगार बोर्डका निर्देशक टीकाराम ढकाल, नेपाल श्रमिक आपूर्तिकर्ता संघका अध्यक्ष रामेश्वर शाह, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी र पत्रकार चेतन अधिकारीलाई वक्ताका रूपमा बोलाइएका थिए । रोजगारीको अवसरको खोजीमा नेपालीहरू भौतारिँदै विदेशिने समस्या अहिलेको नभई २०० वर्ष पुरानो भएको पत्रकार अधिकारीले बताए । तर, अहिले त्यसको स्वरुप भने बदलिएको उनको बुझाइ छ । “वैदेशिक रोजगारीमा सन् १८०० देखि नै जाने गरेको पाइन्छ । गोर्खा आर्मी हुँदै नेपाली युवा पलायन सुरु भएको हो,” सत्रमा बोल्दै अधिकारीले भने “यसका सकारात्मक र नकारात्मक लक्षहरू छन् । दुवै पक्षलाई केलायर सुधारका काम गर्न आवश्यक छ ।” अहिले पनि ५० लाख नेपाली देशबाहिर भए पनि राज्यको तथ्यांकमा भने २२ लाख मात्रै रहेको उनले बताए । अवसर देखिरहेका नेपालीले विकसित देशहरूको लचकतासँगै अवसरको ढोका प्रयोग गरेको अधिकारी बताउँछन् । “हाम्रो युवा जनशक्तिलाई कस्ले प्रयोग गरिरहेका छन् ? भारतमा युवा छन्, गल्फ कन्ट्रिमा युवा छन्” उनले भने, “देशमा युवा हुनुको अवसर राज्यले गुमाई रहेको छ । कन्ट्रि अफ युथ नेपालले उपभोग गर्न पाएको छैन ।” उनले वैदेशिक रोजगारले बसाइँसराइमा समेत ठूलो समस्या निम्त्याएको र त्यसलाई राज्यले गम्भीरताका साथ हेर्नुपर्ने बताए । “बसाइँसराइका कारण गाउँका विद्यालयहरू रित्तिदै छन् । स्वास्थ्य सेवा बन्द हुन थालेका छन् । अन्य सार्वजनिक सेवा प्रवाह गर्ने ठाउँहरू खाली भएका छन्,” उनले भने, “माइग्रेसन फ्लो दोहोरो हुनुपर्छ । मस्तिक पलायन नेपालमा सबैभन्दा ठूलो समस्या भाएको छ । त्यतातिर हाम्रो ध्यान अझै पुग्न सकेको छैन ।” अवसरको खोजीमा विदेश गइरहेका नेपालीलाई फर्काउने रणनीति सरकारसँग नहुँदा समस्या भएको नेपाल श्रमिक आपूर्तिकर्ता संघका अध्यक्ष रामेश्वर शाह बताउँछन् । “अहिले पनि ठूलो संख्यामा युवाहरू बाध्यता र चरम आवश्यकताले नेपाल छोडेर जाँदै छन् । उनीहरू खाडी मुलुकमा गइरहेका छन्,” उनले भने, “विदेश गएकै संख्यामा नेपाल पनि फर्किएका छन् । तर, उनीहरूलाई कसरी नेपालमा राख्ने प्रश्न हो ।” वैदेशिक रोजगारबाट फर्केकाहरूको तथ्यांक समेत राज्यले राख्न नसकेको उनले बताए । “वैदेशिक रोजगारबाट फर्किएकाहरू कहाँ छन् ? उनीहरूले केही पैसा र सीप पनि ल्याएर फर्किएका छन् । तर उनीहरूको सीप हामीले उपयोग गर्न किन सकिरहेका छैनौँ ?” उनी राज्यलाई प्रश्न गर्छन् । वैदेशिक रोजगारमा जानेहरू एजेन्टबाटै ठगीएको उनले बताए । “राज्यले एजेन्टलाई चिन्दैन । तर, एजेन्टविना कुनै पनि युवा विदेश जाँदैनन्” उनले भने, “हुम्लाको एउटा युवा साउदी पुग्दासम्म लाखौँ रुपैयाँ खर्च गर्छ । राज्यले उनीहरूको व्यवस्थापन नै गर्न सकेको छैन ।” वैदेशिक रोजगारीमा जाने व्यक्तिहरू ठगीमा पर्नुको मुख्य कारण बाहिरी गिरोह भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी बताउँछन् । “आज गाउँनै रित्तो हुनेगरी रुकुमका मान्छेहरू अमेरिका गइरहेका छन् । उनीहरू म्यानपावर कम्पनीमार्फत गएका छैनन् । उनीहरू दलाली गिरोहबाट विदेश जाँदा समस्या भएको छ” उनले भने । राज्यले प्रष्ट कानुन नबनाउँदा एजेन्टहरू मौलाएको अध्यक्ष भण्डारीले बताए । “सरकारले फ्रि भिजा, फ्रि टिकट भनेपनि निश्चित मापदण्ड नबनाउँदा समस्या भएको छ । उनीहरूको टिकट, स्वास्थ्य परीक्षण, आवश्यक तालिम र राहदानी लगायतका विषयमा शुल्क लाग्ने गरेको छ,” उनले भने, “मिटरव्याजी ऋण गरेर विदेशिएका उनीहरू त्यस्कै पासोमा पर्ने गरेका छन् ।’ युवा वैदेशिक रोजगारमा जाँदैमा खत्तमै भयो भन्ने भास्य निर्माण गरिएको वैदेशिक रोजगार बोर्डका निर्देशक टीकाराम ढकाल बताउँछन् । ”वैदेशिक रोजगारका लागि जानु नराम्रो हैन । तर जाने तरिका भने अनेक थरिका छन् । विदेशिनु नराम्रो हैन । तर विदेशिने बाटो नराम्रो भयो,“ उनले भने । सरकारले नचिन्ने बाटो अपनाउँदा युवाहरूले दुःख पाउने गरेको ढकाल बताउँछन् । “देशको एक चौथाई जीडीपी ओगटेको वैदेशिक रोजगारलाई राज्यले पर्याप्त लगानी गर्न नसकेको सत्य नै हो । त्यसमा सुधार आवश्यक छ,” उनले भने, “श्रम स्वीकृति अनिवार्य लिनुपर्ने व्यवस्था छ । तर वैदेशिक रोजगारीमा जानेहरूले श्रम स्वीकृति नलिँदा समस्या भएको छ ।”
सुप्रिम सहकारी बुटवलका अध्यक्ष र व्यवस्थापक पक्राउ
काठमाडौं । सुप्रिम सहकारीका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको छ । सो सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखाका व्यवस्थापक दुर्गा चापागाइलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । दुवै जनालाई अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । यो सहकारीका अध्यक्ष गितेन्द्रबहादुर (जीबी) राई हुन् । उनी नै यो सहकारीको संस्थापक अध्यक्ष थिए । उक्त सहकारीबाट एक अर्ब ७ करोड ८२ लाख हिनामिना भएको भन्दै बचतकर्ताहरुले उजुरी दिएका थिए । सोही सहकारीबाट गोर्खा मिडिया नेटवर्कले साढे १० करोड बढी रुपैयाँ ऋण लिएको छ । लुम्बिनी प्रदेशका डीआईजी कुवेरसिंह कडायतका अनुसार उनीहरु दुवै जनालाई बुटवलबाट पक्राउ गरिएको हो । पक्राउ परेका दुवैको म्याद थप गरेर अनुसन्धान हुँदैछ ।
नेपाल प्रहरीले माग्यो ठूलो संख्यामा दरखास्त (सूचनासहित)
काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा रिक्त पदपूर्तिका लागि आवेदन मागेको छ । नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त माग गरेको हो । खुला तथा समावेसीसहित एक हजार ८५६ पदका लागि आवेदन माग गरिएको छ । खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्नुपर्ने भएकाले योग्य उमेदवारले दरखास्त दिन सक्नेछन् । चैत ९ गतेसम्म आवेदन दिन सकिने बताइएको छ ।
रास्वपा प्रदर्शनमाथि प्रहरी हस्तक्षेप, पानीका फोहरा र अश्रुग्याँस प्रहार
पोखरा। स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि प्रहरीले पोखराको सहिद चोकमा प्रदर्शन गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का नेता कार्यकर्तालाई हटाउन खोज्दा तनाव सिर्जना भएको छ । पार्टीका सभापति रवि लामिछानेलाई 'राजनीतिक प्रतिशोध' मा समातिएको भन्दै रास्वपाका नेता कार्यकर्ताले सहिद चोकमा प्रदर्शन गरेका छन् । निषेधित क्षेत्रबाट प्रदर्शनकारीलाई हटाउन प्रहरीले पानीको फोहरा हानेको छ । केहीबेर प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेलसमेत भएको थियो । जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार बिहान पौने १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला हुन रोक लगाइएको छ । त्यस्तै अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्नसमेत निषेध गरिएको छ । सहिद चोकआसपास र गैह्रापाटनआसपास क्षेत्रमा निषेधाज्ञा जारी भएको हो ।
रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला जारी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय परिषद्को राष्ट्रिय भेला सुरु भएको छ । आज र भोलि काठमाडौँको प्रज्ञाभवन कमलादीमा हुने भेलामा देशभरबाट एक हजार ५०० प्रतिनिधि सहभागी हुने रास्वपाले जनाएको छ । राष्ट्रिय भेलाको शुभारम्भ पार्टी सभापति रवि लामिछानेले गर्नुभएको छ। आज विभिन्न प्रतिवेदन र प्रस्तावमा छलफल हुनेछ । आज पहिलो दिन सबै प्रदेशले रिपोर्टिङ गरेपछि आर्थिक, अनुशासन र संसदीय मामिलासँग सम्बन्धित प्रतिवेदन पेस गरिनेछ । आजै विधान संशोधन, नीति–विचार, मूल्य–मान्यता, क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबारेका प्रस्ताव राख्ने कार्यसूची छ । भोलि प्रस्तुत सबै प्रतिवेदन र प्रस्तावउपर समूहगत छलफल हुनेछ । भोलि नै प्रश्नोत्तरका लागि तीन घण्टा समय छुट्याइएको छ भने अपराह्न सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । सबै प्रतिवेदन र प्रस्ताव पारित गरेपछि पहिलो महाधिवेशनको मिति र स्थान घोषणा गर्दै भेला भोलि नै सकिने छ ।
के सोच्दैछ नयाँ पुस्ता ?
आजको विद्यार्थी अर्थात नयाँ पुस्ता प्रविधि र नवप्रवर्तनप्रति निकै आकर्षित देखिन्छ। डिजिटल क्रान्तिको प्रभावले उनीहरूलाई नयाँ प्रविधिहरू सिक्न, प्रयोग गर्न र आफ्नै आइडिया प्रस्तुत गर्न प्रेरित गरेको छ। कोडिङ, आर्टिफिसियल इन्टेलिजेन्स, ब्लकचेन जस्ता क्षेत्रहरूमा उनीहरूको रुचि बढिरहेको छ, जसले उनीहरूलाई भविष्यको करियर निर्माणका लागि तयारी गराइरहेको छ। जेड जेनेरेसन अर्थात जेनजी भनिने आजको नयाँ पुस्ता परम्परागत रोजगारभन्दा उद्यमशीलता र स्टार्टअप कल्चरप्रति बढी आकर्षित देखिन्छ। आफ्नै व्यवसाय थाल्ने, स्वतन्त्र पेशा अपनाउने वा क्रिएटिभ फिल्डमा करियर बनाउने सोंच नयाँ पुस्ताको प्राथमिकतामा पर्न थालेको छ। यसले उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर र सृजनात्मक बनाउने विश्वास बढ्दै गएको छ । सामाजिक न्याय र वातावरणीय समस्याप्रति विद्यार्थीहरूको चासो उल्लेखनीय रूपमा बढेको पाइन्छ । उनीहरू जलवायु परिवर्तन, लैंगिक समानता, र सामाजिक न्यायका मुद्दाहरूमा सक्रिय रूपमा संलग्न हुँदै आएका छन्। सामाजिक मिडिया र अनलाइन प्लेटफर्महरूको प्रयोग गर्दै उनीहरू आवाज उठाउन, जनचेतना फैलाउन र सकारात्मक परिवर्तन ल्याउन लागिपरेका छन्। नयाँ पुस्ताले जीवनशैली र मानसिक स्वास्थ्यलाई पनि उच्च प्राथमिकता दिन थालेको छ । कार्य र व्यक्तिगत जीवनको सन्तुलन, आत्म( संवेदनशीलता र मानसिक स्वास्थ्यको महत्त्वबारे सचेत रहँदै उनीहरू स्वास्थ्यप्रद जीवनशैली अपनाउने र अन्तर्राष्ट्रिय शिक्षा तथा विभिन्न संस्कृतिहरूको अनुभव गर्न चाहन्छन्। यसले उनीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न, फरक सांस्कृतिक दृष्टिकोणहरू बुझ्न र बहुआयामिक ज्ञान आर्जन गर्न सहयोग गरेको छ। नयाँ पुस्ता असाधारण गतिमा बदलिरहेको प्रविधि र सञ्चारको क्षेत्रमा आकर्षित हुँदैछ। सूचना प्रविधिको तीव्र विकास, इन्टरनेटको व्यापकता र डिजिटल उपकरणहरूको सर्वसुलभताले उसको जीवनशैली, अध्ययनको तरिका र भविष्यको दृष्टिकोणलाई नयाँ आकार दिएको छ। नयाँ पुस्ताको दैनिक जीवनमा प्रविधिको भूमिका दिनप्रतिदिन गहिरो बन्दै गएको छ। अनलाइन शिक्षा प्लेटफर्महरू, एप्स र वेब उपकरणहरूले अध्ययन प्रक्रियालाई सजिलो र पहुँचयोग्य बनाइरहेको छ। यो पुस्ता इन्टरनेटमा उपलब्ध श्रोतहरू प्रयोग गर्दै नयाँ सीपहरू सिक्न र तिनलाई जीवनमा प्रयोग गर्न सक्षम बन्दै गएको छ । प्रविधिले उनीहरूलाई आफ्नो गति अनुसार सिक्न र बृहत् स्रोतहरूको पहुँचबाट लाभ उठाउन सक्षम बनाएको छ। नयाँ पुस्ता अब आर्टिफिसियल इन्टेलिजेन्स, ब्लकचेन, र अन्य नवीन प्रविधिहरूमा अघि बढ्दैछ । यो पुस्ता प्रविधिहरूको माध्यमबाट भविष्यका चुनौतीहरूको सामना गर्ने सीपहरू विकास गर्न चाहन्छ। यसरी प्रविधिले नयाँ पुस्तालाई सिर्जनशीलता, समस्या समाधान क्षमताको विकास, र नवप्रवर्तनको मार्गमा अग्रसर गराइरहेको छ। सञ्चारको क्षेत्रमा भएको क्रान्तिले नयाँ पुस्ताको जीवनशैलीलाई व्यापक परिवर्तन गरेको छ। सामाजिक सञ्जालको प्रभावकारी प्रयोगले यो पुस्ताको ज्ञानको दायरा बढाएको छ, साथै नयाँ विचारहरू र तिनको आदानप्रदानको अवसर प्रदान गरेको छ। फेसबुक, ट्विटर, इन्स्टाग्राम जस्ता प्लेटफर्महरूमा सक्रिय नयाँ पुस्ता विश्वव्यापी सञ्जालमा आवद्ध हुँदै फरक सांस्कृतिक र सामाजिक सन्दर्भहरू बुझ्ने प्रयास गर्दैछ। सञ्चार प्रविधिले यो पुस्तालार्य विभिन्न देशहरूका साथीहरुसँग जोडिन, अन्तर्राष्ट्रिय शैक्षिक अवसरहरूको खोजी गर्न र विभिन्न अभियानमा संलग्न हुन प्रेरित गरेको छ। यो प्रविधिको प्रयोगले नयाँ पुस्तालाई आफ्ना विचारहरू प्रस्तुत गर्न, जनचेतना फैलाउन र सकारात्मक परिवर्तनका लागि सक्रिय भूमिका खेल्न पनि सक्षम बनाएको छ। समग्रमा नयाँ पुस्ता जिज्ञासु, नवप्रवर्तनशील र स्वतन्त्र विचारमा आकर्षित छ। यो पुस्ता आफ्नो मूल्य, रुचि र लक्ष्यहरूलाई स्पष्टसँग परिभाषित गर्दै अघि बढिरहेको, जसले व्यक्तिगत र व्यावसायिक भविष्यलाई उज्ज्वल बनाउन मद्दत पुगिरहेको छ । नयाँ पुस्ता प्रविधि र सञ्चारको आकर्षणमा परेको देखिन्छ, जसले उनीहरूको सोच, अध्ययन शैली, र भविष्यको योजना बनाउने तरिकामा सकारात्मक प्रभाव पारेको छ। प्रविधि र सञ्चारले यो पुस्तालाई सिर्जनशील, उर्जावान र सामाजिक रूपले सचेत बनाइरहेको छ, जसले गर्दा यो पूता आफूलाई मात्र होइन, समाजलाई पनि अगाडि बढाउन सक्षम बन्दै गएको छ । यसले नयाँ पस्तालार्य भविष्यको चुनौतीहरूसँग सामना गर्न र अवसरहरूको सदुपयोग गर्न बलियो आधार प्रदान गरिरहेको छ। अब गरिने राजनीतिक र सामाजिक आन्दोलनहरु यो पुस्ताको मनोविज्ञानसँग साक्षात्कार गर्दै अघि बढेन र तदअनुकूल नीति कार्यक्रम र कार्ययोजना बनाउन सकेन भने अबको नयाँ पुस्ता परम्परागत राजनीति र सामाजिक गतिबिधिमा सामेल हुने संभावना न्यून बन्दै जानेछ । (लेखक अखिल क्रान्तिकारी दाङका प्रवक्ता हुनुहुन्छ)
तीन संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ९ बजे कानून,न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठकमा नेपालका बाल सुधार गृहमा रहेका बालबालिकाहरू र नेपालका कारागारहरूमा रहेका कैदी तथा थुनुवाहरूको मानव अधिकारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमन गर्न गठित उपसमितिहरूको प्रतिवेदन पेश र छलफल हुनेछ । त्यस्तै बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० मा छलफल हुनेछ । त्यस्तै बिहान साढे ११ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा निर्वाचन आयोगको आयुक्तमा सिफारिस कृष्णमान प्रधानलाई अनुमोदन गर्ने/नगर्नेबारेमा निर्णय हुनेछ ।