काङ्ग्रेस महासमिति बैठक सोमबार सुरु हुँदै
काठमाडौं, ६ फागुन । नेपाली कांग्रेसको महासमिति बैठक भोलि (सोमबार) देखि सुरू हुँदैछ ।
काङग्रेस सभापति शेरबहादुर देउवाले ललितपुरको गोदावरीमा रहेको सनराइज हलमा सोमबार दिउँसो १ बजे महासमिति बैठक उद्घाटन गर्ने भएका छन्।
महासमितिका लागि तयारी अन्तिम चरणमा पुगेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।
उनले महासमिति बैठकबारे जानकारी दिन आइतबार दिउँसो साढे २ बजे गोदावरीमै पत्रकार सम्मेलनको आयोजना गरिएको पनि बताए ।
महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माको प्रस्ताव पेश हुनेछ। खड्काले नीति, थापाले सांगठनिक र शर्माले समसामयिक राजनीतिक प्रस्ताव महासमिति बैठकमा छलफलका लागि पेश गर्नेछन्।
महासमिति बैठकका लागि विधान अनुसार प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट ११ जनाका दरले प्रतिनिधि सहभागी हुनेछन् । यस्तै, पदाधिकारी, केन्द्रीय सदस्यहरू, निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यहरू, भ्रातृ तथा शुभेच्छुक संघसंस्थाका प्रतिनिधि, जनसम्पर्क समितिबाट प्रतिनिधिहरू सहभागी हुन्छन्।
कांग्रेसले केन्द्रीय समितिबाट भएको निर्णय अनुसार महासमिति सदस्य नरहेका प्रदेश सभापतिहरू, जिल्ला सभापतिहरू, भ्रातृ तथा शुभेच्छुक संघसंस्थाका प्रमुखहरू पनि आमन्त्रित सदस्यका रूपमा बैठकमा भाग लिन पाउँछन्।
महासमिति सदस्यले केन्द्रीय कार्यालय सानेपामा फोटो र तीन हजार रुपैयाँ बुझाएर प्रवेश पत्र लिनुपर्ने व्यवस्था गरिएको छ । महासमिति बैठकमा उपस्थित हुनेहरूलाई कांग्रेसले खाना र खाजाको व्यवस्था गरे पनि आवासको व्यवस्थापन नगरिएको विश्वकर्माले बताए ।
सोमबार महासमिति बैठक सुरु हुने भएपनि कम्तीमा २५ क्षेत्रमा अझै महासमिति सदस्य छान्न भने बाँकी छ । छानेका काठमाडौं क्षेत्र नम्बर ३, दोलखा र ओखलढुंगामा विवाद कायम छ। कांग्रेसको महासमिति बैठक नीति बनाउन केन्द्रित रहने बताइएको छ।
२०७८ मंसिरमा १४ औं महाधिवेशन गरेको कांग्रेसले नीति अधिवेशनको समेत काम गर्ने गरी अहिले महासमिति बैठक गर्न लागेको हो । काङ्ग्रेसको विधान अनुसार महाधिवेशन भएको वर्ष बाहेक वर्षेनी महासमिति बैठक गर्नुपर्ने व्यवस्था छ।
राज्य व्यवस्थासहित पाँचवटा समितिका बैठक बस्दै
काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न पाँच समितिका बैठक आज बस्दैछन् । आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, राज्य व्यवस्था तथा सुशासन, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार, विधायन व्यवस्थापन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका बैठक बस्न लागेको हो । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा तारागाउँ विकास समिति र तरागाउँ रिजेन्सी होटल्स लिमिटेडका सम्बन्धमा छलफल हुनेछ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि बिहान ११ बजे नै सिंहदरबारमा बस्नेछ । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । यसैगरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा बाढी, पहिरो लगायतका मनसुनजन्य घटना एवं विपद व्यवस्थापन सम्बन्धमा भएका काम कारबाही तथा भावी कार्ययोजना, सिमलताल बस दुर्घटना अध्ययन प्रतिवेदनको निष्कर्ष र कार्यान्वयन कार्ययोजनालगायतका विषयमा छलफल हुनेछ । विधायन व्यवस्थापन समितिको बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, आज २ बजे नै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्दैछ । सिंहदरबारमा बस्ने बैठकमा सार्वजनिक नीतिका सन्दर्भमा समितिको कार्यक्षेत्र र सीमा सम्बन्धमा राष्ट्रियसभाका सचिवसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।
प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने जनाइएको छ । बैठकमा सभामुखले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको छ । त्यसैगरि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रियसभामा उत्पत्ति भएको शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
नेप्से ३२ अंकले बढ्यो, कारोबार रकम घट्यो
काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से ३२ अंकले बढेको छ । नेप्से १.२६ प्रतिशतले बढेर २५६८।११ को विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बिहीबार १४ अर्ब १३ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ । यो कारोबार रकम बुधबारको तुलनामा दुई अर्ब सात करोडले कम हो । बिहीबार १४३ कम्पनीको सेयर मूल्य बढेको छ । ९६ कम्पनीको सेयर मूल्य घट्दा तीन कम्पनीको स्थिर छ । साताको अन्तिम कारोबार दिन तीन करोड ५५ लाख ९४ हजार ८६८ कित्ता सेयर किनबेच भएको छ । चार उपसमूहको समूहगत परिसूचक घटेको छ भने, बाँकी ९ वटाको परिसूचक बढेको छ । सबैभन्दा धेरै कमाउनेमा उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता छन् । यस कम्पनीको सेयर मूल्य दश प्रतिशतले बढेको छ । यस्तै, मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक ७.६५ अंकले घटेको छ ।
कमिसनको प्रभावमा प्रधानमन्त्री ओलीले २२ अर्ब राजश्व छुट दिन लागे : सांसद दाहाल
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले कमिसनको खेलमा लागेर उद्योगहरूलाई २२ अर्ब राजश्व छुट दिन लागेको बताएका छन् । सोमवार संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद दाहालले प्रधानमन्त्री ओलीले कमिसनमा लागेर उद्योगहरूको विद्युत् महसुल मिनाहा गर्न लागेको बताएका हुन् । उनले विद्युत् प्राधिकरणले कानुनसम्मत रुपमा बक्यौता नतिर्ने उद्योगहरूको विद्युत् काटेको भन्दै प्रधानमन्त्रीको ठाडो आदेशमा बक्यौता नतिरीकन विद्युत् जोड्नु नहुने बताए । उनले राज्य राजस्वमा चल्ने भन्दै २२ अर्ब रुपैयाँ राजश्व छुट दिनु नहुने बताए । उनले महसुल नतिर्ने उद्योगहरूलाई मिनाहा गर्ने हो भने महसुल तिरेका उद्योगहरूको पनि महसुल फिर्ता गर्नुपर्ने बताए । उनले भने – ‘विद्युत् प्राधिकरणको तर्फबाट लगातार लिखित पत्र पठाउँदा, ताकेता गर्दा पनि उहाँहरुले विद्युत् महसुल तिर्न अस्वीकार गरिसके पछि लाइन काटिएको हो । यही सन्दर्भमा प्रधानमन्त्रीले ठाडो आदेश लाइन जोड्नु, विद्युत् महसुल मिनाहा गरिदिनु भन्ने भयो । मैले भने, प्रधानमन्त्रीज्यू तपाई त कमिसनमा चल्नुहुन्छ । तर राज्य राजश्वमा चल्छ । त्यसकारणले २२ अर्ब राजश्व मार्ने छुट तपाईँलाई छैन भन्ने सन्दर्भमा मैले प्रश्न उठाएको थिएँ । त्यही सन्दर्भमा प्रधानमन्त्रीले उत्तेजित अलि उत्तेजित भएर जवाफ दिनुभयो । उहाँले तैँले बोल्न पाउँदैनस् भन्ने सेन्समा रोष्टमबाटै उहाँले प्रतिवाद गर्नुभयो । मेरो अहिले पनि मान्यता के छ भने उहाँहरू त कमिसनमा चल्नुहुन्छ । तर अर्बौँ राजश्व मार्न पाइँदैन । ६१ वटा भन्दा बाहेक पनि अरु उद्योग छन् । अरु उद्योगले समयमै विद्युत् महसुल तिर्छन् । यदि ६१ वटा उद्योगका विद्युत् महसुल उहाँहरुले मिनाहा गर्ने हो भने अरु उद्योगको पनि महसुल फिर्ता गर्नुपर्छ भन्ने मान्यता मेरो हो ।' सांसद दाहालले प्रधानमन्त्री ओलीले बिचौलियाको दबाब र प्रभावमा परेर विद्युत् जोड्न आदेश दिएको भन्दै विद्युत् प्राधिकरणले प्रधानमन्त्रीको आदेशको अवज्ञा गर्नुपर्ने बताए । उनले विद्युत् प्राधिकरणले प्रधानमन्त्रीको निर्देशनको उल्लंघन गर्नुपर्ने बताए । उनले भने, ‘प्रधानमन्त्रीको आदेशले ऐन, कानुन मार्न पाइँदैन । ऐन, कानुनले के भन्छ ? मन्त्रिपरिषद्ले के भन्यो रु अदालतले के भन्यो रु सार्वजनिक लेखा समितिले के भनेको छ । यत्रो पर्याप्त प्रमाणहरू चाहीँ उहाँलाई प्रमाण नहुने । बिचौलियाको भाषा बोलेर, बिचौलियाहरूको दबाब र प्रभावमा परेर, कमिसनको प्रभावमा परेर उहाँले ठाँडो आदेश दिन मिल्छ रु उहाँको फर्मान विद्युत् प्राधिकरणले उल्लंघन गर्नै पर्छ । उहाँको फर्मानको अवज्ञा गर्नैपर्ने हुन्छ । कानुनसम्मत २२ अर्ब बक्यौता विद्युत् महसुल राज्यको खातामा नआउन्जेल उद्योगीहरूको लाइन काट्नै पर्छ । यो मिनाहा गर्न सकिँदैन ।’
एमालेसँग तत्काल एकताको सम्भावना छैन : माधवकुमार नेपाल
काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो पार्टीप्रति सकारात्मक हुन आग्रह गरेका छन्। शनिवार पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा नेकपा (एकीकृत समाजवादी) कोशी कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्। उनले विगतको कुरा छोडेर कुनै समीक्षा नगर्दा पनि एमालेसँग तत्काल एकताको सम्भावना नरहेको बताए। अध्यक्ष नेपालले एमालेसँग एकताका लागि एमालेले पनि चाहना देखाउन आवश्यक रहेको बताए। नेपालले आफ्नो पार्टीप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकारात्मक रहेको समेत बताए। उनले समाजवादी मोर्चाको पुनःगठन गरेर अघि बढ्ने सोच आफूहरूको रहेको र सोहीअनुसार अघि बढिरहेको बताए। महिन्द्रराय यादव समूह पनि सकारात्मक देखिनुभएको छ। उपेन्द्रजीलाई पनि सोध्ने प्रयासमा छौँ। हामी छिटै अर्को समाजवादी मोर्चा समाजवादी मोर्चाको पुनःगठन गरेर कति घटक हुन्छन्, सहकार्य गरेर जानेछौँ।’
उत्तरी शान्सीको लोक संस्कृतिको बेइजिङ प्रस्तुतीमा नेपाली राजदूत श्रेष्ठ सहभागी
बेइजिङ । मे ३१ तारिखदेखि तीन दिन बेइजिङमा उत्तरी शान्सीको सुन्दर नगरी युलिनको लोकगीत र अन्तर्राष्ट्रिय अमूर्त सांस्कृतिक सम्पदा आदानप्रदान तथा प्रदर्शनी सम्पन्न भएको छ । कार्यक्रमा नेपाल, लेसोथो, रोमानिया, इक्वेडर, बुर्किना फासो, कोटे डी आइवर, सेन्ट्रल अफ्रिकन रिपब्लिक, साथै बेल्ट एन्ड रोड इनिसिएटिभको एशिया प्रशान्त कोर समूहका कूटनीतिज्ञ, अमूर्त सांस्कृतिक सम्पदाका उत्तराधिकारीहरू र विश्वविद्यालयका प्राध्यापकहरू सहभागी थिए। अन्तर्राष्ट्रिय सांस्कृतिक सम्पदाको सो भेलामा सांस्कृतिक सम्पदाको सहयोग, संरक्षण र सम्पदाको बारेमा छलफल गर्न स्वदेश र विदेशबाट पाहुनाहरूलाई एकसाथ आमन्त्रण गरिएको थियो। कार्यक्रममा, रूस र युलिनका संगीतकर्मीहरुले पस्तुति गरेका थिए । मञ्चको सजावट र कलाकारको बेजोड प्रस्तुतीले पाहुनाहरूलाई तुरुन्तै उत्तरी शान्सीको स्थानीय स्वादले समृद्ध वातावरणमा पुर्याएको आयोजकले जनाएको छ। यस्ता प्रदर्शनीहरूले परम्परागत संस्कृतिको प्रचारप्रसारमा नयाँ जीवन्तता दिने गरेको विश्वास रहेको छ । कार्यक्रममा सहभागी चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठले भने, “मलाई आजको प्रदर्शनीको प्रस्तुति शैली निकै मन पर्यो।मैले पहिले देखेको अन्य प्रदर्शनी भन्दा यो फरक थियो । जुन पर्दशनीले उत्तरी शान्सी लोक गीतहरूको ऐतिहासिक विकासलाई प्रदर्शन गर्न प्रविधिको प्रयोग गरेको महशुस मैले गरे। म भविष्यमा नेपालको सांस्कृतिक सम्पदा र उत्तरी शान्सीबीचको गहिरो आदानप्रदानको हुने अपेक्षा गर्दछु, हाम्रा दुई क्षेत्रहरूबीचको मैत्रीपूर्ण अन्तरक्रियालाई थप प्रवर्द्धन गर्न जरुरी छ । बेल्ट एण्ड रोड एसिया-प्यासिफिक कोर ग्रुप समितिका सल्लाहकार डिग्बी जेम्स वेनले भने, “केही वर्ष पहिले युलिनको भ्रमण गर्न पाउँदा मलाई खुशी लागेको थियो। त्यहाँका जनताहरू सहृदयी छन्, खाना स्वादिष्ट छ, र मलाई सबैभन्दा बढी प्रभावित गरेको स्थानीय याङ्को प्रदर्शन र लोक गीतहरू थिए। आज फेरी यस्तै प्रस्तुति देखेर नाचगानमा सामेल नभै रहन सकिन । उत्तरी शान्सीको संस्कृति साँच्चै मनमोहक छ।" यसप्रकारका सांस्कृतिक र साङ्गितिक सम्पदाहरुको प्रदर्शनीले संस्कृतिको अन्वेषण,अभ्यास र अन्तर्राष्ट्रियरुपमा आदानप्रदानमा योगदान पुर्याउने बताइएको छ ।
सत्ता समीकरण मिसन–८४ सम्म कायम राख्न चाहन्छौँ : शंकर पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अहिलेको सत्ता समीकरण मिसन–८४ सम्म कायम राख्न चाहेको बताएका छन्।एमालेको आयोजनामा भएको राष्ट्रिय महिला भेलाको समापन समारोहलाई आज सम्बोधन गर्दै उनले भने, “जे कारणले हामीलाई घेराबन्दी गर्ने काम भयो। जनताले हामीलाई रोज्दारोज्दै हामीलाई विमुख पार्ने काम भयो । त्यसको अन्त्य हामी मिसन–८४ मा गर्न चाहन्छौँ।” उनले मिसन–८४ का लागि पार्टी बलियो बनाएर एमालेलाई भविष्यको निर्णायक शक्तिको रूपमा स्थापित गर्ने बताए।महासचिव पोखरेलले चुनावी प्रतिस्पर्धामा महिलाको सहभागिता अब निर्णायक शक्तिको रूपमा रहनुपर्नेमा जोड दिए। “पुरुषभन्दा महिला मतदाताको सङ्ख्या धेरै छ । गाउँमा कुनै कार्यक्रम गर्न थाले महिलाको उपस्थिति धेरै देखिन्छ,” उनले भने। उनले पार्टी सदस्यता प्राप्त गर्ने सवालमा महिलाको सहभागिता अझै कम रहेकाले बढाउनुपर्नेमा जोड दिए। “संविधानतः हामीले ४० प्रतिशत प्रतिनिधित्व स्थानीय तहमा सुनिश्चित गरेका छौँ। तर पार्टी सदस्यताको हिसाबले महिला सहभागिता अहिले पनि २० प्रतिशत छ,” उनले भने, “संविधानको सीमाभित्र पनि हामीले पार्टी सदस्यता विस्तार गर्न सकेका छेनौँ।” उनले महिलाको राजनीतिक सशक्तीकरणको आरम्भ पार्टी सदस्यताको विस्तारबाट हुने बताए। महिलाका लागि मात्र नभई सिंगो समाजको नेतृत्वकर्ता महिला बन्नुपर्ने उनको धारणा छ। कार्यक्रममा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले महिला आन्दोलनको सशक्तीकरणको पक्षमा महिलासँगै रहने प्रतिबद्धता व्यक्त गरे। भेलामा आज विभिन्न १२ समूहमा सात वटा विषयमा छलफल गरिएको थियो। हिजोदेखि सुरु भएको भेलामा पार्टीका केन्द्रीय सदस्यहरू, पार्टीका २३ वटै जनसंगठनका महिला नेता, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी, अनेरास्ववियुका तर्फबाट स्ववियुमा निर्वाचित महिला प्रतिनिधि गरी पाँच हजार जना सहभागी थिए। रासस
सहकारी छानबिनसम्बन्धी समितिको कार्यादेशमा सहमति जुट्छ : पदम गिरी
पर्वत । कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारीको रकम हिनामिनासम्बन्धी छानबिन गर्ने संसदीय समितिको कार्यादेश र क्षेत्राधिकारमा आइतबारसम्ममा सहमति जुट्ने बताएका छन्। गृहजिल्ला पर्वत आएका मन्त्री गिरीले नेपाल पत्रकार महासंघ पर्वत शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यादेशसहित समिति बन्नुपर्ने प्रमुख प्रतिपक्षी दलको अडानका कारण समिति गठनमा विलम्ब भएको बताए। उनले सत्तापक्ष र प्रतिपक्ष लचिलो भएर टुंगोमा पुग्नुपर्नेमा जोड दिए । उनले आइतबारको संसद् बैठक अघि नै सहमति हुने र संसद्का कामकारबाही सञ्चालन हुने बताए। बचतकर्ताको हिनामिना भएको रकम फिर्ता गर्ने प्रावधानसहित सहमति गर्नुपर्नेमा सत्तापक्ष सकारात्मक रहेको उनले बताए। उपप्रधान तथा गृहमन्त्रीको नाम उल्लेख गर्नुपर्ने प्रतिपक्षी दल आफ्नो अडानबाट पछि हटिसकेको भन्दै मन्त्री गिरीले अपचलन गर्ने कम्पनी वा सहकारीको नाम भने लेख्न सकिने बताए । उपप्रधान तथा गृहमन्त्री दोषी हो वा होइन भन्ने कुरा छानबिनपछि मात्र पुष्टि हुने भएकाले कुनै व्यक्तिको नाम तोकेर जाँदा गलत नजिर स्थापित हुने उनको भनाइ छ। मन्त्री गिरीका अनुसार आइतबार संसद्बाट नीति तथा कार्यक्रममाथिको छलफल टुङ्ग्याएर पारित गरिने र १५ गते बजेट ल्याउने तयारीमा सरकार जुटेको बताए। उनले सरकार संसद्लाई छलेर अध्यादेशबाट बजेट ल्याउने पक्षमा नरहेको स्पष्ट पारे। “जेठ १५ गते जसरी पनि आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक बाध्यता छ, यसमा प्रतिपक्षी दलले पनि सहयोग गर्नुपर्छ”, उनले भने। रासस
संसदीय समिति गठनको मागबाट पछि नहट्ने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले संसदीय समितिको गठनको मागबाट पछि नहट्ने निर्णय गरेको छ। कांग्रेसको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रशस्त प्रमाण देखिएकाले यस विषयमा छानबिन गर्नुपर्ने कांग्रेसले माग गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका हुन्। साथै, कांग्रेसले सहकारीको रकम ठगी गरेका मानिसहरूलाई बचाउन सरकार लागेको भन्दै त्यस्तो नगर्ने चेतावनी समेत दिएको छ। त्यसैगरी कांग्रेसले बिहिबार संसद्मा भएको घटनाको जिम्मेवारी सभामुखको भएको निष्कर्ष निकालेको छ। सिंगो विपक्षी दल विरोधमा रहेको बेला सभामुखले संसद् अगाडि बढाउन नसक्ने परम्परा विपरित कार्य गरेको कांग्रेसले आरोप लगाएको छ। कांग्रेसले सभामुखलाई दलीय आवद्धता त्यागेर निष्पक्ष भएर बैठक सञ्चालन गर्न आग्रह समेत गरेको छ। नेता लेखकले बिहीबार प्रतिपक्ष संसदमा उभिएको बेला सत्ता पक्ष उठेर विरोध गर्नु संसदीय मर्यादा विपरीतको गतिविधि भएको बताए।
महानगरले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव
काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८१/ ८२ को नीति तथा कार्यक्रम र बजेटलाई नागरिक केन्द्रित तथा सहभागितामा आधारित बनाउन सुझाव मागेको छ। स्थानीय सरकारले बनाउने नीति तथा कार्यक्रमले सबैलाई समेट्न सकियोस् र पारदर्शी होस् भन्ने हेतुले यो विधि अपनाइएको महानगरले जनाएको छ। महानगरको हटलाइन ११८० मार्फत वा काठमाडौँ महानगरपालिकामा स्वयम् उपस्थित भएर उपलब्ध गराइदिन इच्छुक सबैमा अनुरोध गरेको छ।
संसद सञ्चालनको प्रयास : कांग्रेस नेताहरुसँग छलफलमा प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेताहरुसँग छलफल सुरु गरेका छन् । प्रमुख प्रतिपक्ष दल कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै निरन्तर संसद अवरुद्ध गर्दै आएको अवस्थामा प्रधानमन्त्रीले कांग्रेस नेताहरुसँग छलफल सुरु गरेका हुन् । संसदमा जारी अवरोध, कांग्रेसका माग, सरकारको नीति तथा कार्यक्रम पेस गर्नेलगायतका विषयमा कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेताहरुलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले छलफल गरिरहेका छन् । नेपाली कांग्रेसले बजेट अधिवेशन सुरु भएको दिन शुक्रबारको संसद बैठक अवरुद्ध गरेको थियो ।सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बढाउनु पर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको मागमा सत्ता पक्ष सहमत नहुँदा संसद चल्न सकेको छैन । जेठ १ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी भइरहँदा छानबिन समिति गठनमा दुवै पक्ष आ–आफ्नो अडानमा अडिग रहेपछि प्रधानमन्त्रीले समस्याको समाधान खोज्ने प्रयास गरेका हुन् ।
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, यस्तो रहनेछ आजको मौसम
काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रेहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मुख्यतया सफा छ । विभागले दिउँसो कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशलगायत तराईका केही स्थानमा हावाहुरीको सम्भावना छ । विभागका अनुसार आज राति कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशको तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको विभागले जनाएको छ ।
नबिराएर नडराएर काम गर्न कर्मचारीलाई मन्त्री शर्माको आग्रह
काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कानुनको परिधिभित्र रहेर उच्च मनोबलका साथ काम गर्न कर्मचारीहरुलाई आग्रह गरेकी छिन्। नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल टेलिकमको पाँचौं केन्द्रीय अधिवेशन उद्घाटन गर्दै मन्त्री शर्माले पछिल्लो समय कर्मचारीहरुमा त्रासको मनोविज्ञान देखिएकाले यसलाई हटाउनुपर्ने बताइन्। ‘विभिन्न नियमनकारी निकायहरुले निगरानी बढाएको कारण देखाउँदै पछिल्लो समय कर्मचारीले गर्नैपर्ने काममा पनि डराउने गरेको देखिएको छ’– मन्त्री शर्माले भनिन्– ‘तपाइ कर्मचारीले नडराएर नविराएर उच्च मनोबलका साथ काम गर्नुपर्छ, कसैले पनि गल्ती गरिएन र कानुनको परिधिभित्र रहेर काम गरियो भने कुनै समस्या आउँदैन।’ गल्ती गर्ने हो भने राजनीतिक वा प्रशासनिक जुनसुकै क्षेत्रमा रहेका व्यक्ति कुनै पनि बेला सजायको भागिदार बन्नुपर्ने उल्लेख गर्दै उनले गल्ती नगर्नेहरु डराउन नपर्ने बताइन्। ‘बेइमानी नगरौं, बदमासी नगरौं तर कानुनको परिधिभित्र रहेर काम गर्न नडराऔं’– मन्त्री शर्माले दोहोर्याइन्– ‘हामीलाई कतै सोधपुछ हुन्छ कि भन्ने बहानामा कर्मचारीले काम नगर्ने हो भने सुशासन र सेवा प्रवाह झन् कमजोर हुने भएकाले म सबै कर्मचारी साथीहरुलाई कानुनको परिभित्र रहेर उच्च मनोबलका साथ काम गर्न आग्रह गर्न चाहन्छु ।’ अहिले नेपालमा कर्मचारीको सेवा सुविधा न्यून नै रहेको उल्लेख गर्दै उनले मुलुकको आर्थिक उन्नतिसँगै सेवा सुविधा पनि बढ्दै जाने भएकाले हरेक कर्मचारीले देश बनाउँछु र म पनि बन्छु भन्ने भावनाका साथ अघि बढ्नुपर्ने बताइन्। सफा नियतका साथ काम गर्ने हो भने राजनीतिक, प्रशासनिक वा अन्य कुनै पनि क्षेत्रमा समस्या नआउने मन्त्री शर्माले स्पष्ट गरिन् । सरकार डिजिटल नेपाल निर्माणको अभियानमा जुटेको उल्लेख गर्दै उनले डिजिटल नेपाल निर्माणको महत्वपूर्ण डिजिटल पूर्वाधार दूरसञ्चार भएकाले देशका सबै ठाउँमा दूरसञ्चार सेवा पुर्याउन अनिवार्य रहेको बताइन्। ‘हामीले चालु आर्थिक वर्षकै नीति तथा कार्यक्रम र बजेटमा सबै वडा केन्द्रसम्म इन्टरनेट सेवा पुर्याउने भनेका छौं तर अहिले पनि कतिपय पालिकामै सेवा नपुगेको गुनासो आइरहेको छ’– मन्त्री शर्माले भनिन् ‘यो डिजिटल डिभाइडको अवस्था अन्त्य गर्न नेपाल टेलिकमले अघि सारेका परियोजनाहरु जतिसक्यो चाँडो पूरा गर्न आग्रह गर्न चाहन्छु ।’ नेपाल टेलिकमका कर्मचारीहरुले आफ्नो पेशागत हितका साथै कम्पनीको उन्नति र सहज सेवा प्रवाहलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उहाँको सुझाव थियो । आज दूरसञ्चार बजारमा पुराना सेवाहरुको खपत घटेकाले नेपाल टेलिकमले उच्च प्रविधि र गुणस्तरीय सेवासहितको द्रूत गतिको इन्टरनेट सेवालाई आकर्षक बजार व्यवस्थापनका साथ अघि बढाउनुपर्ने उनले स्पष्ट पारिन्। कर्मचारी संगठनका साथै टेलिकमका प्रादेशिक तथा जिल्ला कार्यालयबीच काममा प्रतिष्पर्धा गराउन व्यवस्थापन पक्षलाई आग्रह गर्दै मन्त्री शर्माले सेवा वृद्धि गरेर ब्यापार बढाउने र देशका सबै ठाउँमा दूरसञ्चार सेवा पुर्याएर डिजिटल नेपाल निर्माणको अभियानमा नेतृत्व लिनुपर्ने बताइन्। देशका सबै ठाउँमा सहजरुपमा गुणस्तरीय इन्टरनेट सेवा दिने हो भने लाखौं युवाहरु नेपालभित्रै बसेर सेवा निर्यात गर्न सक्षम हुने र यसबाट ठूलो मात्रामा बैदेशिक मुद्रा भित्रने भएकाले मुलुकको समृद्धिका लागि अब धेरै भन्दा धेरै डिजिटल पूर्वाधारको विकास गरेर जानुपर्ने उनले बताइन्।
दयाशंकर पत्रकारिता पुरस्कार श्रेष्ठलाई, त्रिभुवनलाई मरणोपरान्त सम्मान
पोखरा ।दयाशंकर पालिखेको परिवारले स्थापना र नेपाल पत्रकार महासंघले संचालन गर्दै आएको दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मानबाट दीपेन्द्र श्रेष्ठ सम्मानित भएका छन् । २०७९ सालको पत्रकारिता सम्मान कास्की महासंघका पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठलाई प्रदान गरिएको हो।यस्तै, मरणोपरान्त सम्मान स्व.त्रिभुवन पौडेललाई अर्पण गरिएको छ। २०८० को सम्मान त्रिभुवनकी धर्मपत्नी प्रतिभा अधिकारीलाई अर्पण गरिएको हो। दुवै पुरस्कारको राशि १ लाख १ हजार १ सय ११ छ । दुबैजनालाई आज पोखरामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान अर्पण गरेका हुन् ।
कांग्रेस महासमिति बैठकमा सहभागिताबारे उत्पन्न विवाद समाधान
काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा सहभागिताका विषयमा उत्पन्न विवाद समाधान भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट विवादको समाधान निकालिएको हो । महासमिति सदस्यको निर्वाचन नभएको वा सर्वसम्मत हुन नसकेको संघीय निर्वाचन क्षेत्रका महाधिवेशन प्रतिनिधि सबैलाई आमन्त्रित रूपमा अहिले बैठकमा सहभागी गराउने निर्णय गरिएको छ । “१४औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन भएर महासमिति सदस्यको निर्वाचन नभएको वा सर्वसम्मत हुन नसकेको वा कारणवश टुंगो लाग्न नसकेको संघीय निर्वाचन क्षेत्रका हकमा फागुन ७–१० का लागि आयोजित महासमिति बैठकमा भाग लिने गरी योपटकका लागि ती क्षेत्रका महाधिवेशन प्रतिनिधि सबैलाई आमन्त्रित रूपमा बैठकमा सहभागी गराउने निर्णय गरियो । ती स्थानहरूमा निर्वाचन समितिले यथाशीघ्र महासमिति टुंग्याउनेछ,” बैठकको १ नम्बर निर्णयमा उल्लेख छ । महासमिति बैठकमा आमन्त्रण गरिने निर्वाचन क्षेत्र र जिल्लाहरू– १.बारा क्षेत्र नम्बर–३ २.पर्सा क्षेत्र नम्बर–१ ३.सोलुखुम्बु ४.खोटाङ ५.धादिङ क्षेत्र नम्बर–१ ६.दोलखा ७.ओखलढुंगा ८.काठमाडौं क्षेत्र नम्बर–५ ९.दाङ क्षेत्र नम्बर–३ १०.कञ्चनपुर क्षेत्र नम्बर–१ ११.बागलुङ क्षेत्र नम्बर–२ १२.सिन्धुली क्षेत्र नम्बर–२ यस्तै, नेतृत्व परिवर्तन भएका भ्रातृसंघ र शुभेच्छुक संस्थाका अध्यक्षसहित तीनजनालाई महासमिति सदस्यका रूपमा सहभागी गराउने निर्णय गरिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । भ्रातृसंस्थाहरू– १.नेपाल विद्यार्थी संघ २.नेपाल महिला संघ ३.नेपाल तरुण दल ४.नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ ५.नेपाल लोकतान्त्रिक खेलकुद संघ ६.नेपाल किसान महासंघ ७. नेपाल थारु संघ ८.राष्ट्रिय लोकतान्त्रिक अपांग संघ ९.नेपाल प्रजातन्त्र सेनानी संघ १०.नेपाल दलित संघ ११.नेपाल भूतपूर्व सैनिक संघ १२.नेपाल मुस्लिम संघ शुभेच्छुक संस्थाहरू– १.नेपाल ट्रेड युनियन कांग्रेस २.नेपाल शिक्षक संघ ३.नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन ४.सेन्टर फर डेमोर्क्याटिक इन्जिनियर्स नेपाल ५.प्रजातन्त्रवादी चिकित्सक संघ ६.नेपाल प्रेस युनियन “नेपाली कांग्रेसको १४औँ महाधिवेशनपश्चात् अधिवेशन सम्पन्न गरेका विदेशस्थित नेपाली जनसम्पर्क समितिको हकमा विधानबमोजिम महासमिति सदस्यको रूपमा सहभागी गराउने निर्णय गर्दछ,” बैठकको ३ नम्बर निर्णयमा उल्लेख छ । ललितपुरको गोदावारीमा सोमबार उद्घाटन गरिएको महासमिति बैठकमा आज पाँच प्रतिवेदन प्रस्तुत गरिँदै छ । प्रतिवेदनमाथि आजैदेखि छलफल सुरु गरिनेछ ।