प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 

आजको बैठकमा सांसद प्रेम सुवालले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । 

बैठकमा उपप्रधानमन्त्री एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन), विधेयक २०८०’ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

null

विभिन्न क्षेत्रका २० कम्पनीको आईपीओ बजारमा आउँदै

काठमाडौँ — विभिन्न क्षेत्रका २० कम्पनीको प्राथमिक निष्कासन बजारमा आउँदै छ । तीमध्ये १२ वटा जलविद्युत् कम्पनी, ४ वटा लघुवित्त र दुई/दुईवटा बिमा र ‘अन्य’ क्षेत्रका कम्पनी छन् । हाल सेयर निष्कासन अनुमति प्रक्रियामा रहेका कम्पनीमध्ये धेरैजसोले स्थानीय र बाँकीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेका हुन् । यसमा डेढ दर्जन जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न लागेका छन् । ती कम्पनीले सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अनुमति दिइसकेका छन् । यी कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले सेयर निष्कासन गर्न लागेका हुन् । बोर्डबाट अनुमति पाएपछि ती सेयर बजारमा आउनेछन् । बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र सेयर निष्कासन गरिसक्नुपर्छ । हाल बोर्डको सूचीअनुसार विभिन्न क्षेत्रका २० कम्पनीले ५ अर्ब ९० करोड ७७ लाख ५५ हजार रुपैयाँ बराबरको ५ करोड २३ लाख ५७ हजार कित्ता सेयर निष्कासन गर्दै छन् । सेयर बजारमा ४० वटा जलविद्युत् कम्पनी सूचीकृत छन् । यो आर्थिक वर्ष यस्तो संख्या बढेर ६० भन्दा बढी पुग्ने देखिन्छ । सेयर निष्कासन गरिसके पनि सूचीकृत नभएका, निष्कासन तयारीमा रहेका र निष्कासन अनुमतिका लागि आवेदन दिएका कम्पनी संख्या हेर्दा चालु आर्थिक वर्षभित्रै सेयर बजारमा सूचीकृत कम्पनी चार दर्जनभन्दा बढी पुग्ने देखिएको हो । नेपालमा निर्माणको चरणमा धेरै जलविद्युत् कम्पनी रहेकाले पनि पछिल्ला दिनमा सेयर जारी गर्नेमध्ये धेरै जलविद्युत् कम्पनी देखिएका छन् । सेयर बजारमा सूचीकृत कुल कम्पनीमध्ये जलविद्युत् समूहको हिस्सा औसत ८.९ प्रतिशत मात्र छ । सूचीकृत कम्पनी संख्या बढेपछि कुल कारोबारमा जलविद्युत् समूहको हिस्सा थपिनेछ । लगानीकर्ताले पनि लगानी विविधीकरण (पोर्टफोलियो म्यानेजमेन्ट) सुविधा पाउने जानकारहरू बताउँछन् ।

महामारीले रुमलिएको शैक्षिक क्षेत्र

नवराज हुमागाई कोरोना महामारी अर्थात कोभिड–१९ चीनको हुवेइ प्रान्तको बुहान शहरमा बि.स‌‍. २०७६ षौष १ गते तत् अनुसार ई.सः २०१९ डिसेम्वर १७ मा देखिएको अर्थात त्यहिँबाट सुरुवात भएको मानिन्छ । सामान्य लक्षण देखाउँदै कोभिड–१९ ले विश्वलाई नै आतंकित बनाउने गरी फैलिन थाल्यो । श्वासप्रश्वासलाई असहज पार्दै रुघा खोकी हु्ँदै ज्यानै लिने यस भाइरस कोहि कसैको बस्मा छैन भन्ने पनि हामीलाई थाहा भैसकेको छ । आत्मबल र आत्म सुरक्षा नै ठूलो डोजको औषधी हो भन्ने बिज्ञहरुको भनाइ छ । चीन हुँदै विश्वको अनेकौं देशका भू–भागमा फैलिदै गएको उक्त भाइरस नेपालमा भने अग्रीम जनाउ घण्टी दिएर ढिला नै प्रबेश गरेको थियो । विश्वव्यापी रुपमा कोरोनाको कहर रहि रहेको हामी सबैलाई अवगत नै छ । यस समयमा कुनै पनि देश उक्त महामारीबाट अछुतो रहन सकेको छैन र हाम्रो जस्तो विकाशोन्मूख देश नेपाल पनि अछुतो रहने कुरै भएन । विश्वको सम्पूर्ण क्षेत्र नै लपेटीरहेको बेलामा नेपालमा भने समयमा नै खतराको घन्टी बजिसकेको थियो । देशको उच्च ओहदामा बसेका सम्मानित व्यक्तित्वहरुले समयमा नै दरिलो निर्णय लिन नसकेका साथै नेपालको खुल्ला सिमाना भएकै कारणले आज हामी पनि कोरोनाको भुंग्रोमा पसिसकेका छौं । उपत्यकामा पनि कोरानो संक्रमित फैलिरहँदा, झनै परालको आगो सल्किएको अनुभूति आम नेपालीहरुले सहजै बिश्लेषण गरिरहेका छन् । उपत्यकामा कोरोनाको कहर भै रहँदा अहिले हामी निषेधाज्ञाको चरणमा छौं र यो चरणको अन्त्य कहिले हुन्छ र यस समयमा सरकारको रणनीतिक कार्य कस्तो हुन्छ त्यो भने आउने दिनहरुले अवश्य देखाउने नै छ । कारोनाको कहरले औषधोपचार, अस्पताल र खानेपानी तथा अत्यावश्यक क्षेत्र बाहेक सम्पूर्ण क्षेत्र नै प्रभावित भएको छ । आम मानिसको जीवन यापनमा असहज त छँदै छ त्यहि माथि निषेधाज्ञाले झनै असहज बनि रहेको छ भने नेपालमा संक्रमित तथा मृत्यु हुनेको संख्या दिन दुगुणा र रात चौगुणाको हिसावले वढिरहेकोछ । हालसम्मको तथ्याङ्क हेर्दा यस रोगबाट ज्यान गुमाउनेको संख्या २३९ भन्दा बढी छन् भने ४०५२९ भन्दा बढी यसबाट संक्रमित नै छन् । महामारीको बढी प्रभावित क्षेत्र मध्ये शिक्षा पनि यस भूमरिमा लपेटिरहेको छ । शिक्षा क्षेत्रमा अथवा भनौं विश्वबिद्यालयको शैक्षिक पात्रो नै प्रभावित भईरहेको छ । यस बिषम घडिमा विश्वबिद्यालयले अनलाइन कक्षा त ढिलै भएपनि गराएका छन् तर के यो प्रभाबकारी छ त ? के अनलाइन कक्षाको लागि सवैसँग पहुँच पुग्ला र ? नेपालका दुर दराजमा रहेका विकट स्थानमा मोवाइल नेटर्वकको लागि रुख चढनु पर्ने वाध्यता तपाई हामीले नदेखेको भने पक्कै होइन । के यस्तो अवस्थामा विद्यालय तथा विश्व विद्यालयकोे रोकिएका परीक्षा फेरि तत्काल संचालन होला र ? के विना परीक्षा अर्को सेमेष्टरमा जान सकिन्छ ? विश्वबिद्यालयले ल्याएको नीति तथा कार्यक्रम प्रभावकारी बन्न सकेको छ त ? यस्ता थुप्रै प्रश्न विद्यार्थी वर्गहरु, शिक्षकहरु तथा अभिभावकमा उव्जनु स्वभाविक हो र यसको जवाफ खोजिनु पनि अति आवश्यक छ किनभने यो लाखौ लाख विद्यार्थीहरुको भविष्यसँग जोडिएको विषय हो । सम्वधित मन्त्रालय तथा विश्वविद्यालयले बारम्बार सूचना दिइरहँदा पनि स्रोत साधन एवंम दक्ष जनशक्तिको अभाव र अहिलेको परिस्थितीले सबै क्याम्पस, विद्यालय र शिक्षकहरुले अपनाउन नसक्ने वाध्यात्मक स्थिती छ । सम्पूर्ण शिक्षकहरुले आधुनिक उपकरणमा बानी नपरेको र पहिलो पटकयो अवस्था सृजना भएकोले विश्वविद्यालय तथा विद्यालयहरुको शिक्षा क्षेत्र पनि अन्योलमा छ । त्रिभुवन विश्वबिद्यालय, अन्य विश्वबिद्यालय र विभिन्न विद्यालयलाई आफ्नो पात्रो नविगार्न र नविगार्ने दवाब भएसँगै हतारोमा विभिन्न सूचना निकाल्दै आएका छन् । सरकारी तथा निजी क्यामपस र विद्यालयहरुको तुलना गर्दा निजी तहका क्यामपस र विद्यालयहरु बढी अनलाइनलाई प्रभाबकारी बनाउन खोजेको जस्तो देखिन्छ । निजी क्यामपस तथा विद्यालयका शिक्षकहरु बिना तलब आधा बर्षको पढाइ विद्यार्थीको हितलाई मध्यनजर गरी निःशुल्क अनलाइन पढा्इ रहेका छन् भने केहि सरकारी शिक्षक अनलाइन पढाइलाई तालिका मात्र फेरबदल गरेर तलब बुझिरहेका छन् । अर्को तर्फ कोहि शिक्षक तालिमको नाममा अनलाइन कक्षामा सहभागी समेत नभएको देखिन्छ । त्रिभुवन विश्वविद्यालयमा ४ लाख १५ हजार ४ सय ८२ विद्यार्थी अध्ययनरत छन् । त्यसैगरी पूर्वाञ्चल विश्वविद्यालयमा ४६ हजार १ सय ९०, पोखरा विश्वविद्यालयमा ३० हजार ७ सय ४९, काठमाण्डौ विश्वविद्यालयमा १६ हजार ४ सय ३६, सु.प. विश्वविद्यालयमा १ हजार ११, मध्यपश्चिम विश्वविद्यालयमा ५ हजार ७ सय २१, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा ३ हजार ८ सय ७१, नेपाल संस्कृत विश्वविद्यालयमा २ हजार ७ सय २१, लुम्बिनी वौद्ध विश्वविद्यालयमा ७ सय १३, नेपाल खुल्ला विश्वविद्यालयमा ६ सय ८०, राजर्षि जनक विश्वविद्यालयमा १ सय ९१ र स्वास्थ्य विज्ञान प्रतिष्ठान (६ वटा) मा ३ हजार २ सय ४७ विद्यार्थीहरु अध्ययनरत छन् । उच्च शिक्षामा अध्ययनरत ५ लाख २७ हजार १२ मध्ये लगभग ७९ प्रतिशत विद्यार्थी त्रिविमा पढ्छन् । त्रिविले चैतदेखि अनलाइन कक्षा सञ्चालन गरेको थियो । हालसम्म १ लाख ४५ हजार विद्यार्थी, १६ हजार शिक्षक, कर्मचारीलाई इमेल आइडी वितरण गरिएको जनाएको छ । ४ हजार ५ सय शिक्षकलाई भर्चुअल कक्षासम्बन्धी क्षमता विकास तालिम दिदैँ आएको छ । काठमाडौं विश्वविद्यालय र खुला विश्वविद्यालयले अनलाइनबाटै पठनपाठन र परीक्षा सञ्चालन गर्दै आएका छन् । अन्य विश्वविद्यालयले पनि अनलाइनसहित अन्य विधिबाट परीक्षा लिने तयारी गरिरहेको बुझिएको छ । कहिले अनलाइनको माध्यमबाटै पठनपाठन र परीक्षा लगायत शैक्षिक गतिविधि अघि बढाउन विद्यार्थीलाई क्याम्पस र विभागको सम्पर्कमा आउन त्रिविले सर्कुलर गरेको छ, त कहिले जसरी पनि दशैं अघि परिक्षा लिने भनेर विद्यार्थीहरुलाई दवाब र भार थुपारीरहेका छन्, भने अर्को तर्फ शिक्षा माफियाहरु आफ्नो निजी स्वार्थ पुरा गर्न सक्रिय भएर चलखेलमा हारगुहार गर्दैछन् । सरकारले स्थगित भएका परिक्षा भदौ महिना भरी संञ्चालन नगर्न निर्देशन दिएको छ र नयाँ भर्ना लगायतका सम्पूर्ण कार्यहरु असोज १ बाट मात्र गर्न गराउन भनेको छ । मन्त्रीपरिषद्ले गरेको उक्त निर्णयले झनै शैक्षिक पात्रोहरु पर धकेलिएको हो कि भन्न सकिन्छ । अनलाइन भर्ना लगायतका सम्पूर्ण कुराहरु व्यवहारमा नभएको र मात्र कागजी तबरमा मात्र सिमित देखिन्छ । अनलाईनबाट परिक्षा लिन पनि त्यत्ति सजिलो नभएको र स्रोत साधनको अभावको कारण यो पनि प्रभावकारी देखिदैन भन्ने केही शिक्षाविद्हरुको भनाई रहेको छ । विद्यार्थीहरु छरिएको र केही दिनको लकडाउन सम्झेर सम्पूर्ण कुराहरु छोडी स्थायी थलो आफ्नो गाँउ ठाउँमा गएका छन् र उनीहरुसँग पाठ्य सामाग्रीहरु नभएकाले पढाईबाट बन्चित भई रहेको परिस्थितीमा यो पनि असम्भवको कारण देखिन्छ । विद्यार्थीको खोजी गर्ने क्रममा अझै पनि विद्यार्थीहरु इन्टरनेटको पहुँचमा नभएको जानकारी पनि पाइएको छ । यस्तो असहज र कहरको बेला अब विश्वविद्यालयहरुसंग एसइइको प्रणाली बाहेक अरु केहि देखिदैन, यदि शैक्षिक वर्ष खेर जान नदिन हो भने । शिक्षा मन्त्रालयले विभिन्न विधि अवलंवन गर्नेे भनेता पनि उचित कार्यन्वयनको अभाव हुँदा तथा राजनीतिक अस्थिरताले अन्योलमा देखिन्छ । अनलाइनको विभिन्न प्रकारको विधि छ र त्यसलाई पनि अपनाउने कि नअपनाउने भनेर दोधारमा रहिरहेको छ । अरु देशको तुलनामा जाने हो भने हामी त्यो स्थीतिमा अझै पनि पुग्न सक्दैनौ र त्यसको लागि हामीले धेरै आधारभूत संरचनाहरुको विकास गर्र्नु पर्ने देखिन्छ । शिक्षा मन्त्रालयले भने यस शैक्षिक शत्रलाई अनलाइन बनाउने र अझै प्रभावकारी बनाउने रणनीति त ल्याएको सुनिन्छ तर ढिलासुस्ती र अस्थीरताका कारण यो पनि हाम्रो लागि उचित नहुने प्रस्ट छ । नेपाल सरकार, विश्वबिद्यालयका प्रमुख, आंज्ञिक क्यामपस, विद्यार्थी र टेलिकम प्रदायकको उचित समन्वय गरेर भरपर्दो र सहुलियतमा डाटा प्याक दिएर विद्यार्थीलाई पहुँचमा ल्याउन सक्ने ढोका अझ पनि खुल्ला नै छ, यसको लागि द्रुत नीति र कार्यक्रम ल्याउन पहल गर्नु आवश्यक छ र तुरुन्तै अबलम्बन गर्ने बाटो खुलाउन जरुरी छ । विद्यार्थीहरु थोरै भएपनि बिद्युत र इन्टरनेटको पहुँचमा छन् र ती विद्यार्थीहरुलाई खोजी गरेर छुट्टै प्रकारको अनुसन्धानमूलक विषय दिएर र समय सिमा तोकेर अनलाईन मार्फतबाट परिक्षा लिन पनि सकिन्छ । यस्तो गर्नको लागि थोरै समय र लागतमा यो सम्पन्न हुन सक्छ । सेमेष्टरको हकमा विश्वविद्यालयले लेखनबाट ६० प्रतिशत र क्याम्पसको आन्तरिक ४० प्रतिशतको मूल्याङ्कनबाट विद्यार्थीको नतिजा प्रकाशित गरिन्छ । यदि आन्तरिक ४० प्रतिशतलाई उचित मूल्याङ्कन गरी ४० प्रतिशतलाई १०० प्रतिशतमा परिवर्तन गरी अलि लचिलो बन्न पनि सकिन्थ्यो । त्यसैले कोरोनालाई हामी चुनौतीको साथ साथै यसलाई अवसरको रुपमा पनि लिन आवश्यक छ । नेपालको शैक्षिक प्रणालि अरु देशको तुलनामा ओरालो लागेको र विभिन्न व्यक्तिहरु र देशहरुले औलाइरहेको बेला यसलाई पूर्ण रुपमा परिवर्तन गर्न हामीले प्रशस्तै समय पाएका हौं । यो उचित समयलाई हामीले कति पनि सदुपयोग गरेनौं र एक अर्काको मुख मात्र ताकिरयौं । फलानो बिश्वविद्यालयले गरेपछि गर्छु भन्दा भन्दै समय गएको पत्तै पाउन सकेनौं र ढिला भएपछि मात्र हतारोमा हामी सूचना निकाल्दै दबाब मात्र सृचना गर्ने वातावरण बनायौं । कुन क्याम्पस र विद्यालयलाई कस्तो क्वारेनटिन बनाउने भन्दा पनि शिक्षा क्षेत्रलाई कसरी गुणात्मक बनाउनेमा जोड दिए लाखौं लाख विद्यार्थीको भविष्य उज्यालो तिर लम्कन्थ्यो होला । समयलाई उचित सदुपयोग गरेर बन्दाबन्दी गर्दा गर्दै रणनीतिक कार्ययोजना बनाउन सकेको भए हामी यस कहरबाट अछुतो हुन सक्ने थियौं होला । हामीले ४ महिना बन्दाबन्दी त गर्यौं तर त्यस अबधिमा गर्नुपर्ने कुनै रोकथाम हुने कार्यहरु गर्न सकेनौं । भारतको देखासिखि गरेर बन्दाबन्दीको अवधि बढाउने काम बाहेक हामीले उपलब्धी मुलक केहि ठोस निर्णय गर्न सकेनौं र फलस्वरुप हामी यो चँगुलमा फस्न वाध्य भयौं । २०७७ लाई राम्रो शैक्षिक सत्र बनाउन र बिधुतिय उपकरणलाई बढि प्रयोग गर्न सिकेर र सिकाएर नमूना सत्र बनाउने प्रशस्तै समय अझै पनि छ र हामी अन्य देशको विश्वविद्यालयसंग प्रतिशपर्दा गर्न सक्ने क्षमता राख्न सक्नु पर्ने देखिन्छ ।

सिरहा नपाको मेयरमा तीन चिकित्सक प्रतिस्पर्धामा कसले मार्ला बाजी

लहान, भदौ २३ । तेस्रो चरणमा असोज २ गते हुने स्थानीय तह निर्वाचनमा सिरहा नगरपालिकाको प्रमुख पदका लागि तीन जना चिकित्सक चुनावी प्रतिस्पर्धामा उत्रिएका छन । बिरामीको उपचार गर्दै आएका तीनै जना मेडिकल डाक्टर चुनावी एजेण्डासहित चुनावी प्रतिस्पर्धामा उत्रिएपछि यहाँको चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ । नेपाली काँग्रेसबाट डा सुभाषचन्द्र यादव, नेकपा एमालेबाट डा नवीन यादव र नयाँ शक्ति पार्टीबाट डा दिलीप सदा सिरहा नगरपालिकाको प्रमुख पदका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन । चुनावी प्रतिस्पर्धामा उत्रिएका तीनै जना डाक्टरबीच नै कडा प्रतिस्पर्धा हुने स्थानीय बुद्धिजीवीले अनुमान गरेका छन । लामो समयदेखि चिकित्सकसँगै पार्टीको राजनीतिमा सक्रिय डा सुभाषचन्द्र नेपाली काँग्रेसका कोषाध्यक्ष तथा पूर्वमन्त्री सीतादेवी यादवका छोरा हुन । डा सुभासचन्द्र काँग्रेसका महासमिति सदस्यसमेत हुन । उनीे सदरमुकाम सिरहामै स्वास्थ्य क्लिनिक सञ्चालन गरी बिरामीको उपचारसमेत गर्दै आएका छन । यस्तै एमालेबाट प्रमुख पदका उम्मेदवार डा नवीन एमालेका तत्कालीन सांसद हेमनारयाण यादवका छोरा हुन । डा नवीन एमाले छाडेर विसं २०७० को संविधानसभाको निर्वाचनमा नेपाल लोकतान्त्रिक फोरमबाट निर्वाचन लडेका थिए । त्यसपछि नेकपा माओवादी केन्द्रमा प्रवेश गरे उनी फेरि एमालेमै प्रवेश गरी प्रमुखका उम्मेदवार बनेका हुन । उनले पनि सदरमुकाम सिरहामै स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै आएका छन । नयाँ शक्तिबाट प्रमुख पदमा उम्मेदवारी दिएका डा दिलीप सदा दलित समुदायको हुन । उम्मेदवारी दिनुअघिसम्म जिल्ला अस्पताल सिरहामा कार्यरत रहेका डा सदा अस्पतालबाट राजीनामा दिएर पहिल्लो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन । चुनावी प्रतिस्पर्धामा देखिएका तीनै जना डाक्टरले आफ्नो जीत सुरक्षित रहेको बताएका छन । तीनै जनाले आफूहरु चुनाव जिते नगरपालिकाको विकास निर्माणको गतिलाई तीव्रता दिने बताएका छन । उहाँहरुसँगै संघीय समाजवादी फोरमबाट अशेश्वर यादव र माओवादी केन्द्रबाट महेश यादव पनि चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ । फोरमबाट उम्मेदवार बन्नुभएका यादव पूर्वप्रमुखसमेत हुनुहुन्छ । सिरहा नगरपालिकाको प्रमुख पदका लागि काँग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक, राजपा, नयाँ शक्ति, नेकपा मालेका लगायतका दलका तर्फबाट नौ जना र स्वतन्त्र नौ गरी १८ जनाले सिरहा नगरपालिकाको प्रमुख पदका लागि उम्मेदवारी दिएको सिरहा मुख्य निर्वाचन अधिकृत अमृतबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार सिरहा नगरपालिकाको उपप्रमुख पदमा १० जना, वडाध्यक्ष पदमा १२९ जना, खुला सदस्य पदमा २०१ जना, महिला सदस्यमा ९९ जना र दलित महिला सदस्यमा ९३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी मनोनयन दर्ता गराएका विभिन्न दल तथा स्वतन्त्र उम्मेदवार मत माग्दै जनताको घरदैलोमा पुगिरहेका छन् । नगर र गाउँपालिकाको प्रमुखमा र अध्यक्षमा कुन पार्टीको वर्चस्व रहन्छ भन्ने तर्क वितर्कसमेत हुन थालेका छन् । गाउँदेखि शहरसम्म चोकचोकमा विभिन्न पार्टीको झण्डा, उम्मेदवारको तुल लगायतले रंगिएका छन् । बाइस वडा रहेको सिरहा नगरपालिकामा ८२ हजार ५३१ जनसंख्या रहेको छ ।

प्रचण्डको प्रश्न– भूटानी शरणार्थी लगायतका काण्ड कहाँ पुग्यो ?

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भूटानी शरणार्थी लगायतका विभिन्न काण्डका मुद्दाहरु कहाँ पुगे भनेर सरकारलाई प्रश्न गर्नुभएको छ। माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन उहाँले यस्तो प्रश्न गर्नुभएको हो ।  उहाँले नक्कली भूटानी शरणार्थी बाँसबारी, गिरिबन्धु, बालमन्दिर लगायतका काण्ड कहाँ पुगे भनेर प्रश्न गर्दै उहाँले भन्नुभयो– ‘यो प्रश्नको जवाफ दिने ल्याकत यो सरकारसँग छैन किनभने यो सरकार यी काण्ड खोतल्न होइन, मिलाउन बनेको हो ।’ आफ्नो नेतृत्वको सरकारले गरेको सुशासनका अभियानलाई सरकारले अवरुद्ध गरेको उल्लेख गर्दै उहाँले आफूलाई सच्याउन आग्रह गर्नुभयो । ‘नत्र संसद र सडकमा तपाइहरुले त्यो प्रतिरोध देख्नुपर्नेछ, जसको तपाइँहरुले कल्पना गर्नुभएको छैन’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘बाढीपहिरो र विपत्तिमा नदेखिने सरकार दल विभाजन गर्ने अध्यादेश ल्याउन, उपसभामुख हटाउन र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हटाउन देखिन्छ, यो हर्कत सरकारका लागि महंगो पर्ने छ।’ यो देश कांग्रेस एमालेको विर्ता नभएको उल्लेख गर्दै उहाँले संख्याको प्राविधिक बदलमा जस्तोसुकै अपराध गरे पनि हुन्छ भनने कसैलाई लागेको भए तिनले त्यो भन्दा माथि जनता छन् भन्ने बिर्सेको टिप्पणी गर्नुभयो । ‘जे गरे पनि हुन्छ भन्ने लाग्छ, जवाफ दिनुपर्दैन रु’– अध्यक्ष प्रचण्डले सरकारलाई प्रश्न गर्दै भन्नुभयो– ‘संसदको रोष्टममा भद्र तरिकाले मागिन्छ तिमीहरुसँग जवाफ, धेरै अभदै भयौ भने सडकमै घिसारेर भए पनि मागिनेछ छ जवाफ ।’ सरकारले ७० नम्बर ल्याएकोमा प्रचार गरेकोप्रति प्रश्न गर्दै उहाँले भन्नुभयो– ‘अहिले नै सत्तरी आएपछि कस्तो होला त यो सरकारको सय नम्बर रु मैले निरन्तर भन्दै आएको छु– संसदको पहिलो।दल कांग्रेस र दोस्रो दल एमालेलाई विश्वास। आदर्श र राजनीतिक उद्देश्यले जोडेको होइन, सुशासनको डरले जोडेको हो ।’ पहिले एक्लै पार्टीको दुई तिहाई भएको बेलामा संसद भंग गरेर प्रतिगमन गर्ने नेताले अहिले दुई तिहाईको घडण्ड गर्नुको कुनै अर्थ र औचित्य नहुने पनि उहाँको टिप्पणी थियो ।

काठमाडौंमा कुटपिटबाट हत्या, तीन पक्राउ

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६, नयाँ बस्तीमा मंगलबार एक व्यक्तिको कुटपिट गरेर हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर स्थायी घर भएर कपन बस्ने ३८ वर्षीय अमृत मगर, सिन्धुपाल्चोक स्थायी घर भइ कपन बस्ने ३५ वर्षीय भुवन श्रेष्ठ र इलाम घर भइ नयाँ बस्ती बस्ने २७ वर्षीया विमला भट्टराई छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार, मंगलबार अपराह्न ३:२० बजेतिर नयाँ बस्तीस्थित लस लाइट स्कुल नजिकै सार्वजनिक स्थानमा सुर्खेत घर भइ हाल कागेश्वरी मनोहरा नगरपालिका–९ बस्दै आएका ४३ वार्षीय होमबहादुर फौजामगर अचेत अवस्थामा फेला परेका थिए । लगत्तै प्रहरी वृत्त, बौद्धबाट खटिएको टोलीले उनलाई उद्दार गरेर उपचारका लागि नारायणटारस्थित शंखरापुर अस्पताल पुर्‍याएको थियो । तर, चिकित्सकहरुले उपचारका क्रममा उनलाई मृत घोषित गरेका थिए । अनुसन्धानका क्रममा मगरलाई विभिन्न व्यक्तिहरुले कुटपिट गरेको खुलेको थियो ।

लेबनानमा रहेका नेपाली शान्ति सैनिक सुरक्षित

काठमाडौं । लेबननमा युद्ध चर्किरहेका बेला संयुक्त राष्ट्रसङ्घबाट त्यहाँ खटिएका नेपाली शान्ति सैनिकहरू "हालसम्म सुरक्षित रहेको" नेपाली सेनाले जनाएको छ। हिजबुल्लाहविरुद्ध इजरेलले लेबननको भूमिमा गरिरहेको हवाई तथा स्थल आक्रमणका क्रममा केही शान्ति सैनिकहरू घाइते भइसकेका छन्। शान्ति सैनिकहरू घाइते भएको विवरण आएसँगै त्यहाँ रहेको नेपाली फौजबारे पनि सामाजिक सञ्जालमा धेरैले चासो र चिन्ता व्यक्त गरिरहेका छन्। लेबननस्थित संयुक्त राष्ट्रसङ्घीय अन्तरिम सुरक्षा फौज अर्थात् यूनिफिलमा योगदान गर्ने ३४ वटा देशहरूले शान्ति सैनिकहरूमाथि भएको आक्रमणको निन्दा गरेका छन्। लेबननमा खटिएको संयुक्त राष्ट्रसङ्घको अन्तरिम बल (यूनिफिल)ले आफ्ना शान्ति सैनिकहरू घाइते हुनुका साथै शान्ति सैनिकहरू रहेका शिविरहरूमा आईडीएफले हस्तक्षेप गर्ने गरेको विवरण सार्वजनिक गरिरहेको छ। इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले संयुक्त राष्ट्र सङ्घलाई दक्षिणी लेबननमा रहेको शान्ति सेना 'तत्काल' त्यहाँबाट फिर्ता गर्न आग्रह गरेका थिए। तर संयुक्त राष्ट्र सङ्घीय शान्ति सेनाका प्रमुखले त्यसलाई अवज्ञा गर्ने बताएका छन् र शान्ति सेना सैनिकहरूलाई यथास्थानमा बस्न निर्देशन दिएका छन्।

ओली सरकार नाङ्गिसक्योः सुदन किराँती

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले वर्तमान केपी शर्मा ओलीको सरकार नाङ्गिसकेको टिप्पणी गर्नुभएको छ ।  बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले बादशाह नाङ्गिएको कथा सुनाउँदै अहिलेको उहाँले सरकार पनि सोही अवस्थामा पुगिसकेको बताउनुभयो ।  ‘सरकारको कमजोरी औँल्याउँदा हनिमुन मनाउन दिएन भन्छन् । परिस्थिति हेर्दा हनिमुन मनाउने छूट छैन’– उहाँले भन्नुभयो– ‘सरकारको मन पोल्दैन भने राष्ट्रघाती र जनघाती काम गरेर हैन नगरेर हनिमुन मनाउनुपर्‍यो ।’ उहाँले जादुमयी ढङ्गबाट बनेको सरकार जन्मँदै आफ्नै कारणले धेरै प्रश्न जन्मिएको र यसले जनतामा आक्रोश बढाएको बताउनुभयो ।

परराष्ट्रमन्त्री श्रेष्ठ र चीनका उपविदेशमन्त्री वेइतोङबीच भेटवार्ता

काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका उपविदेशमन्त्री सुन वेइतोङबीच शिष्टाचार भेटवार्ता भएको छ । बुधवार सिंहदरबारस्थित मन्त्रालयमा उपप्रधानमन्त्रबी श्रेष्ठ र उपविदेशमन्त्री सुन वेइतोङबीच शिष्टाचार भएको हो। भेटमा दुई पक्षीय हित, सहयोग र सम्बन्धका विविध पक्षमा छलफल भएको छ। भेटका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चीनले नेपालमा लामो समयदेखि विभिन्न क्षेत्रमा सहयोग गरिरहेको बताए। उपप्रधानमन्त्री श्रेष्ठले नेपालको विकासका विभिन्न क्षेत्रमा सहयोग गरिरहेको र आगामी दिनमा पनि विकासमा निरन्तरता दिन आग्रह गरे। साथै, नेपालसँगका विभिन्न सीमा नाकाहरु सुचारु गर्ने सम्बन्धमा पनि छलफल भएको बताइएको छ।

विपदको पूर्वतयारी गर्न सरकारलाई सांसदको सुझाव

काठमाडौं। प्रतिनिधि सभाका सांसदहरुले वर्षातमा हुने बाढी, पहिरो र डुबानबाट जनजीवनलाई प्रभावित हुन नदिने गरी पूर्वतयारी गर्न सरकारसँग माग गरेका छन्। मङ्गलबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसदहरुले बाढी, पहिरो र डुबानलगायतका विपद् व्यवस्थापनका लागि प्रदेश र स्थानीय सरकारलाई पनि उचित ढङ्गले परिचालन गर्ने योजना बनाउन पनि सरकारलाई सचेत गराएका छन् । सांसद रघुजी पन्तले बाढी, पहिरो र डुबानबाट वर्षातमा चार लाख १२ हजार घर परिवारका १८ लाख मानिसहरु प्रभावित हुने एउटा अनुमान गरिएको तथ्याङ्क पेश गर्दै तत्काल त्यसबाट जनजीवनमा क्षति नपुग्ने गरी पूर्वतयारी गर्न सरकारलाई सुझाव दिए। ‘‘यस वर्षको मनसुन जेठ ३१ देखि असोज १८ सम्म हुने अनुमान गरिएको छ । यो मनसुनको अवधिमा अत्याधिक वर्षाका कारण बाढी, पहिरो र डुबानबाट चार लाख १२ हजार घर परिवारका १८ लाख मानिस प्रभावित हुने एउटा अनुमान गरिएको छ । त्यसमध्ये सबैभन्दा धेरै प्रभावित हुने कोशी प्रदेश परेको छ । जो अघिल्लो वर्षहरुमा पनि यसबाट बढी पीडित भएको थियो।,’’ सांसद पन्तले भने, ‘‘र कम प्रभावित हुनेमा कर्णालको नाम छ । यत्रो जनसङ्ख्या प्रभावित हुने भए पनि हामीले योजना त बनाएको छौं भनेर राष्ट्रिय विपद प्राधिकरणले भनिराखेको छ। तर यसबारेमा पूर्वतयारी के छ ? यो आउने वर्षाबाट उत्पन्न हुने बाढी, पहिरो, डुबान आदिबाट मुलुकलाई बचाउनका लागि राम्रो तयारी अहिलेदेखि गर्नु पर्‍यो। र त्यो तयारीको बारेमा प्रदेश सरकार र सम्बन्धित स्थानीय निकायलाई पनि कसरी त्यो योजना र प्रक्रियामा सामेल गर्ने भन्ने कुरामा सरकारले ध्यान दिनुपर्‍यो।’’ सांसद मानवीर राईले सोलुखुम्बुमा हिम पहिरोको सम्भावना समेत रहेको औंल्याउँदै त्यसका पनि उचित व्यवस्थापन हुनेगरी विपद् व्यवस्थापनका काम अघि बढाउन सरकारसँग आग्रह गरे। उनले सोलुखुम्बुमा आगलागिबाट १४ घर जलेर नष्ट भएको स्मरण गराउँदै तत्काल पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए। सांसद राईले भने, ‘‘सोलुखुम्बु जिल्लामा एक महिना अगाडि १४ घर जलेर नष्ट भएको छ । उहाँहरुको घरबासको व्यवस्थाका लागि सरकारसँग माग गर्न चाहन्छु । मनसुन सुरु भएको छ। सोलुखुम्बु जिल्ला कफलो माटो भएकाले बाढी, पहिरो र हिम पहिरोबाट जोखिम जिल्ला भएकाले त्यसको तयारीका लागि सरकारसँग आग्रह गर्न चाहन्छु ।’’ त्यसैगरी, दाङको राजपुर घाईघाटमा डढेलोले २३ घर जलेर नष्ट भएकाले पीडितलाई आवश्यक आवाससहितको क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारलाई दबाब दिएका छन्। सांसद मेनुकाकुमारी पोखरेलले दाङलगायतका देशभरका गुठी पीडितहरुको समस्या समाधान लागि आवश्यक कानुनी व्यवस्था तत्काल गर्न पनि सरकारलाई अनुरोध गरे। उनले भने ‘‘दाङको राजपुर घाईघाटमा वनमा लागेको डढेलो गाउँ बस्तीमा पुगेर २३ घर जलेर पुरै खरानी भएका छन् । ती जनताको आवासको निम्ति सरकारले समयमै ध्यान पुर्‍याउन म ध्यानाकर्षण गराउन चाहन्छु । त्यसैगरी स्वर्गद्वारी गुठी लगायतका गुठी पीडितहरुले पटक पटक आन्दोलन गर्दै आइरहेका छन् । म देशभरका समग्र गुठीहरुको समस्यालाई सम्बोधन गर्नेगरी एकीकृत गुठी ऐन ल्याएर दीर्घकालीन रुपमा समस्या समाधान गर्नका निम्ति सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’’ सांसद रामशंकर यादवले तराईमा खानेपानीको तत्काल व्यवस्था मिलाउन सरकारले ढिलाइ गर्न नहुने बताए। उनले वर्षात बाढी र डुबान हुने समस्या समाधानका लागि आवश्यक तयारी गर्न पनि सरकारलाई सचेत गराए। सांसद यादवले भने, ‘‘तराईमा अहिले खानेपानीको तत्काल नै व्यवस्था मिलाउनुपर्ने अवस्था छ । त्यस्तै नदी, नालाहरुलाई नियन्त्रण गरी गाउँ बस्ती, सडक, जग्गा कटानलाई रोकि सिँचाइको मिलाउन पर्‍यो । र समयमा बीउमलको उपलब्ध गराउनु पर्‍यो ।’’ सांसद यादवले नदीनाला नियन्त्रण गरी जनधनको क्षति हुन नदिन पनि सरकारले उचित कदम चाल्नुपर्ने बताउनुभयो ।

यस्तो हुनेछ आजको मौसम

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । केही क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा बिहान आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा छ ।  कोसी र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । विभागले दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र कर्णाली प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।  कोसी, मधेस, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  लुम्बिनी प्रदेशका एकदुई स्थानमा हावाहुरीको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।   विभागका अनुसार राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।  कोसी, मधेस र गण्डकी प्रदेशको थोरै स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  नेपालमा अहिले स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । भारतको पश्चिम–उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यूनचापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।

संसद् बन्धक हुन दिँदैनौँ  : उपाध्यक्ष पौडेल

भरतपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले संसद्को अवरोध चाँडै हट्ने बताएका छन्। एमाले चितवनको ११औँ अधिवेशनको शनिबार भरतपुरमा उद्घाटन गर्दै उनले नेपाली कांग्रेसले संसद्को बहुमतलाई बन्धक बनाएकाले त्यसलाई पन्छाएर अगाडि बढ्ने उल्लेख गरे। “कांग्रेसको अवरोधलाई हटाएर भए पनि संसद् बन्धक हुन दिँदैनौँ,” उपाध्यक्ष पौडेलले भने। वि.सं.२०८४ को चुनावसम्म यही गठबन्धन रहने उनले बताए। “कांग्रेससँग प्रतिपक्षमा बसेर निर्वाचन लडेको अनुभव धेरै छैन,” उनले भने, “आगामी निर्वाचनमा हामी बहुमत ल्याउँछौँ।” वर्तमान समीकरण तोड्न अनेक प्रयास भइरहेको उनले बताए । एमालेका अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेले संसद् अवरोधले बजेट ल्याउन समस्या हुने बताए । देश आर्थिक संकटमा रहेका बेला मिलेर बजेट ल्याउनुपर्ने उनको भनाइ थियो । “नाराबाजीका बीचबाट बजेट ल्याउनुपर्ने हुनसक्छ । अध्यादेशमार्फत भएर पनि बजेट ल्याउनुपर्ने हुनसक्छ । नत्र संवैधानिक संकट आउँछ,” उनले भने । रासस

सहकारी अपचलन प्रकरण : कार्यदलको बैठक बस्दै

काठमाडौं ।सहकारी अपचलन  प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर)बारे छलफल गर्न कार्यदलको बैठक आज बस्दै छ। बैठक दिउँसो तीन बजे सिंहदरबारस्थित कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने तय भएको कार्यदल सदस्य जीवन परियारले जानकारी दिए।सहकारी प्रकरणमा सत्ता पक्ष र प्रतिपक्ष छानबिन समिति बनाउन सहमत भए पनि कार्यक्षेत्रबारे टुंगो लागेको छैन । विपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा संलग्न रहेकाले नामै तोकेर समिति बनाउनु पर्ने अडान लिएको छ भने सत्ता पक्ष मुद्दा केन्द्रीत समिति बनाउने अडानमा रहँदा  समाधान निस्कन सकेको छैन । सत्ता पक्ष र विपक्षी दल आआफ्नै अडानमा रहँदा कांग्रेसको नाराबाजी र अवरोधकाबीच संसदको काम कारबाहि अगाडि बढेको छ । सहकारी ठगी प्रकरणमा समस्या समाधानका लागि संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन कानूनमन्त्री पदम गिरीको संयोजकत्वमा चार सदस्यीय समिति गठन भएको छ । जसमा कांग्रेसबाट जीवन परियार, एमालेबाट महेश बर्तौला र रास्वपाबाट शिशिर खनाल सदस्य छन् । यस्तै, बैठकमा नेपाली कांग्रेसका तर्फबाट ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी हुँदै आएका छन् ।

कैलाश सिरोहियालाई आजै धनुषा पठाउने प्रहरीको तयारी

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले आजै धनुषा पठाउने तयारी गरेको छ । दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका सिरोहियालाई अहिले उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखिएको छ । यसअघि सिरोहियाका दुईवटा नागरिकता रहेको भन्दै गृह मन्त्रालयले अनुसन्धानका लागि प्रहरीलाई निर्देशन दिएलगत्तै धनुषा प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।  धनुषा प्रहरीको अनुरोधमा उपत्यका अपराध कार्यालयका एसपी रवीन्द्र रेग्मीको कमान्डमा कान्तिपुरको हेडक्वाटर पुगेको प्रहरी टोलीले सिरोहियालाई मंगलबार साँझ पक्राउ गरेको हो ।

जसपा नेपाल आजै सरकारबाट बाहिरिने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालको केन्द्रीय समिति बैठक आज बस्दैछ।  बैठक ललितपुरको ज्यापु प्रज्ञा भवन च्यासलमा बिहान ११ बजेदेखि बस्नेछन् । आजको बैठकमा जसपा नेपाल सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय हुने अध्यक्ष उपेन्द्र यादवका स्वकीय सचिव महेश चौरसियाले जानकारी दिए।  आइतबार बसेको जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारबाट बाहिरिने साथै समर्थन फिर्ता लिने निर्णय गरेको थियो।  आज बस्ने केन्द्रीय समिति बैठकले यसबारे निर्णय गरी औपचारिकरुपमा सार्वजनिक गरिने चौरसियाको भनाइ छ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार नै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई राजीनामा गरेर बाटो खोलिदिन निर्देशन दिएका थिए। प्रधानमन्त्रीको निर्देशनपछि मधेशमा जसपा नेपाल नेतृत्वको सरकारबाट बाहिरिँदै गठबन्धन घटकको एमाले र माओवादीले समर्थन फिर्ता लिएका छन्।  आजको बैठकमा राजनीतिक एवं संगठनात्मक प्रतिवेदन तथा पार्टीको आगामी महाधिवेशनसँगै सरकारबाट बाहिरिने सम्बन्धमा छलफल हुने जसपा नेपालले जनाएको छ।  

वेस्ट इन्डिज ‘ए’ विरुद्व खाता नखोल्दै आशिफ आउट

काठमाडौं । टी २० सिरिजको चौथो खेलमा वेष्ट इन्डिज ए विरुद्व व्याटिङमा उत्रिएको नेपाललाई पहिलो झड्का लागेको छ ।  २१० रनको विशाल चुनौति पछ्याएको नेपालका लागि खाता नै नखोल्दै आशिफ सेख आउट भएका छन् ।  उनी म्याथु फोर्डको दोश्रो बलमा बोल्ड हुन पुगे । नेपालले पहिलो ओभरमा एक रन मात्रै जोडेको छ । यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २०९ रन जोडेपछि नेपालले जितका लागि २१० रनको लक्ष्य पाएको छ ।  आजको खेलमा पनि वेष्ट इन्डिजका व्याटरसामु नेपालका बलर निरिह देखिएका छन् । नेपालका लागि तुलनात्मक रुपमा कम रन खर्चिर कुशल भुर्तेलले २ विकेट लिए । उनले चार ओभरमा २३ रन खर्चिए । प्रतिश जिसीले ४३ रन खर्चिएर एक विकेट लिए ।