पहिचानको खोजीमा महाउत समुदाय

नेपालगञ्ज । बाँके । बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ता टोलका केलाराम महाउत रोजगारीको खोजीमा नेपालगञ्जमा भौंतारिन थालेको तीन वर्ष भयो । शहरमा कुनै रोजगार नमिल्दा उहाँको मन खिन्न छ । ‘मागेर खाने भएकाले यो समुदायलाई मगन्ता भनिन्थ्यो, मागेर खाने पुख्र्यौली पेशा छोडेसँगै अहिले नयाँ पेशा र पहिचानका लागि कष्टकर जीवनयापन गर्नुपरेको छ’– केलारामले भन्नुभयो– ‘महाउत समुदाय अहिले गरिबी, अभाव र संकटबाट गुज्रिएको छ, पेशा र पहिचानबिना जीवन चलाउन कठिन भएको छ ।’

समुदायबाटै पहिलोपटक एसएलसी पास गर्नुभएका केलाराम कृषक समूह गठन गरेर खेती किसानीको काम गर्दै आउनुभएको छ । पढेलेखेर पनि बेरोजगार बस्नु पर्दा महाउत समुदायमा पढेर पनि केही नहुने गलत धारणाको विकास भएको उहाँको बुझाइ छ । ‘महाउत बस्तीमा गरिबी र अशिक्षाको चरम रुप छ । बालबालिकालाई विद्यालय पठाउन सम्झाइबुझाइ गर्दा पनि अभिभावकहरू मान्दैनन्’– केलारामले भन्नुभयो– ‘जसोतसो विद्यालयमा भर्ना गराइदिए पनि बीचबाटै विद्यालय छोड्ने समस्या छ ।’ महाउत समुदायका अधिकांश बालबालिका शिक्षाबाट बञ्चित छन्, महिलाको स्वास्थ्य अवस्था नाजुक छ । डरलाग्दो बालविवाहको समस्या मात्र होइन, सिंगो समुदाय प्रत्येक दिन छाक टार्ने समस्याबाट माथि उठ्न सकेको छैन । मागेर खाने पुख्र्यौली पेशा छोडेसँगै मगन्ताबाट महाउत बनेको यो समुदायलाई यतिबेला नयाँ पेशा र पहिचान नपाउँदा जीवन चलाउन कठिन भएको केलारामको बुझाइ छ ।

बाँकेको हिरमिनियालगायत विभिन्न ठाउँमा दुई सय घरपरिवारको करिब एक हजार जनसंख्या छ । महाउत समुदायका युवा पुस्ताले अब मागेर हुँदैन, काम गर्ने र त्यसअनुसारको ज्याला लिनुपर्छ भन्ने बुझेका छन् । मागेर जीवन निर्वाह गर्ने भएकाले समुदायलाई नै मगन्ता जातिको परिचय दिइए पनि अहिले युवाहरूलाई आफ्नो नामको पछाडि झुन्डिने मगन्ता शब्द मन परेको छैन । त्यसैले महाउत लेख्ने गरेको युवा विशाल महाउतले बताउनुभयो । एक पुस्ता अघिसम्म यो समुदायका मानिसको नागरिकतामा नामको पछाडि मगन्ता थर लेख्ने गरे पनि अहिले त्यसलाई परिवर्तन गरेर महाउत लेख्ने गरिएको छ । पुर्खाहरूले नाममा मगन्ता नै लेखाए तर अहिले युवाहरूले नामको पछाडि महाउत लेख्न थालेपछि केही आत्मसम्मान मिलेको विशालको अनुभव छ ।

अल्पसंख्यक र सीमान्तकृत समुदाय भए पनि सूचीकृत भइनसकेकाले यो समुदायले कुनै विशेष सुविधा पाउन सकेको छैन । राज्यले आफूहरूलाई अल्पसंख्यक समुदायमा सूचीकृत गरी पेशा गर्ने व्यवस्थाको माग उनीहरूले गर्दै आएका छन् । खेती गर्नका लागि आफ्नै जग्गा जमिन, रोजगारीका लागि सीप र व्यापार–व्यवसायका लागि पुँजी नभएका कारण महाउत समुदायमा अधिकांश परिवार साँझ के खाउँ, बिहान के खाउँ भन्ने समस्या खेप्न विवश रहेको स्थानीय अमृता महाउतले बताउनुभयो । मगन्ता समुदायको बस्तीमा शुद्ध पिउने पानी छैन, बस्तीमा सडक बनेको छैन । स्थानीय सरकारले मगन्ता समुदायको विकासका लागि छुट्याएको बजेट कहाँ, कसरी, कसले खर्चिन्छ, उनीहरूले थाहा पाउन सकेका छैनन् । अन्य लोपोन्मुख तथा सीमान्तकृत समुदाय राजनीतिक पहुँचका लागि राज्यसँग लडिरहेको समय आफूहरूले भने आफ्नो पहिचान समेत कायम गर्न नसकेको अमृताको भनाइ छ ।

‘महाउत समुदायको पुख्र्यौली पेशा तथा काम भनेको मागेर खाने हो’– महाउत समुदायकी अगुवा एवं डुडुवा गाउँपालिका कार्यपालिका सदस्य जवन्ती महाउतले भन्नुभयो– ‘अहिले खेती किसानी र मजदुरी गरेर जसोतसो जीविकोपार्जन गर्दै आए पनि महाउत समुदाय सबै क्षेत्र र अवसरबाट पिछडिएको छ ।’

महाउत समुदायकै एक्ली जनप्रतिनिधि

बाँकेमा अल्पसंख्यक महाउत समुदायकी एक्ली जनप्रतिनिधि जवन्ती महाउतले विभिन्न चुनौती चिर्दै समुदाय र टोल बस्तीको विकासमा खटिनुभएको छ । महाउत समुदायको उत्थान र वडाको समग्र बस्ती विकासका लागि काम गर्ने आफूमा हुट्हुटी भए पनि राजनीतिक खिचातानीले सोचेजस्तो काम गर्न नपाएको उहाँको अनुभव छ । स्थानीय तह निर्वाचन २०७९ मा जवन्ती बाँकेको डुडुवा गाउँपालिका–६ बाट महिला सदस्यमा निर्वाचित हुनुभएको हो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट वडा सदस्य जित्नुभएकी जवन्तीलाई उक्त पार्टीले कार्यपालिका सदस्य बनाएको थियो । कार्यपालिका सदस्य बनेपछि थुप्रै चुनौतीका बीच जवन्तीले काम गर्दै आउनुभएको छ । ‘हाम्रो समुदायलाई लोपोन्मुख अल्पसंख्यक जातिमा सूचीकृत गर्नुपर्नेछ, मगन्ता वस्तीलगायत वडाका समग्र टोलको विकास गर्नुछ’– जवन्तीले भन्नुभयो– ‘कार्यपालिका बैठकमा पटक–पटक हाम्रो समुदाय र वस्तीको कुरा उठाएकी छु तर अहिलेसम्म सम्बोधन भएको छैन ।”

बालबालिका विद्यालय बाहिरै

अल्पसंख्यक महाउत समुदायका बालबालिका आर्थिक अभावमा विद्यालय जानबाट बञ्चित हुँदै आएका छन् । विद्यालय उमेर समूहका अधिकांश बालबालिका मजदूरी गर्ने ठाउँमा भेटिन्छन् ।

‘गाउँमा धेरै पढेको कोही छैन, मैले तीन कक्षासम्म पढेर छोडिदिएँ’– विद्यालय उमेर समूहका नौकुश महाउतले भन्नुभयो– ‘स्कुल जान कापी किताब, झोला र पोशाक चाहिन्छ, घरमा कसैले दिदैन । त्यसैले अहिले मजदुरी गर्न थालेको छु ।’ काशी महाउतका विद्यालय उमेर समूहका चार छोरा र एक छोरी छन् तर कोही पनि विद्यालय जाँदैनन् । साना बालबालिका बाख्रा, बङ्गुर चराउन जाने र अलि ठूलो भएपछि मजदुरीमा जाने गरेको काशीले बताउनुभयो । ‘पढे लेखेर के हुन्छ, कसैले केही काम पाएका छैनन्, त्यही भएर हाम्रा छोराछोरी स्कूल जाँदैनन्’– काशीले भन्नुभयो– ‘घरमा खान बस्नकै समस्या छ, विद्यालय पठाउन कापी किताब, झोला र पोशाक कहाँबाट ल्याउने ?’

सहकारी प्रकरण : कार्यदलको बैठक फेरि बस्ने सहमति

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन बसेको कार्यदलको बैठक सम्पन्न भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सुरु भएको बैठकमा कांग्रेस र रास्वपाका पछिल्ला प्रस्तावमाथि छलफल भएको हो । छलफल सकारात्मक रहेको नेताहरुले बताएका छन् । कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको बताउँदै उनको नाम उल्लेख गर्दै छानबिनका लागि समिति बनाउनुपर्ने अडान राखेको थियो भने रास्वपाले रविको नाम उल्लेख गर्न चाहेको थिएन।अब बिचको बाटो पहिल्याएर अगाडि बढ्ने गरी छलफल अगाडि बढेको हो।

अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित इटहरी उपमहानगरपालिका-५ बस्ने २५ वर्षीय सञ्जीव रिजाल र सोही बस्ने सञ्जीव प्रधानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०५३ प ७६१७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  लमजुङ, सुन्दरबजार नगरपालिका-७ छबिसे टोल बस्ने ४२ वर्षीय रामशरण सापकोटालाई अवैध लागूऔषध गाँजा ४ किलो ३ सय ५ ग्रामसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय सुन्दरबजार र इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  बारा, जितपुरसिमरा उपमहानगरपालिका-२१ स्थित सडकबाट अवैध लागूऔषध गाँजा ५ किलो ४ सय ग्रामसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ बस्ने ३१ वर्षीय दीपक बैजुलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले बनेपाबाट पर्सा ठोरीतर्फ जाँदै गरेको ना.७ ख ७१३२ नम्बरको बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज सकिदै

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक आज सकिदैछ। ललितपुरको बालकुमारीमा मंगलबार सुरु भएको बैठक आज बिहान ११ बजे बस्नेछ । मंगलबारको बैठकमा पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, पार्टीको समाजवादी कार्यक्रम र विधान संशोधनका विषयमा छलफल सुरु भएको छ। बैठकमा पार्टी अध्यक्ष माधव नेपालले राजनीतिक प्रतिवेदन, सम्मानीत नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, उपाध्यक्ष बेदुराम भुसालले विधान संशोधन तथा महासचिव घनश्याम भुसालले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए।प्रस्तुत प्रतिवेदनहरुमाथि केन्द्रीय सदस्यहरुलाई विभिन्न १२ समूह बनाएर छलफल भइरहेको छ। समूहगत छलफलबाट आएका निष्कर्षलाई टोली नेताले प्रस्तुत गरेपछि त्यसलाई अन्तिम रुप दिएर आजै बैठक सक्ने तयारी गरिएको एकीकृत समाजवादीले जनाएको छ।एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन असार १० देखि १६ गतेसम्म काठमाडौंमा हुँदैछ।

काठमाडौँमा पम्पबाट पानी तान्दा करेन्ट लागेर युवतीको मृत्यु

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका-६ साँखुमा पम्पबाट पानी तान्ने क्रममा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ ।काभ्रे मण्डनदेउपुर नगरपालिका-६ सिपाघाट बस्ने ३० वर्षीया मिनिषा कोइरालाको सख्वाँ डेरीमा करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।  विद्युत् सट भई अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको सलम्बुटारस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

लुम्बिनीमा मन्त्रिमण्डल बिस्तार, आजै साँझ शपथको तयारी

रुपन्देही । नेकपा एमालेसँग भएको सहमति कार्यान्वयन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिमण्डल बिस्तार गरेका छन् ।  सरकारमा सहभागी तीन साना दलको असन्तुष्टिका बीच मुख्यमन्त्री महराले मन्त्रिमण्डल विस्तार गरेका हुन् । माओवादीले एमालेसँग भएको पूर्वसहमति अनुसार एमालेबाट मन्त्रीको नाम तय भएपछि आजै सपथ हुने तयारी छ । बुधवार संसद्का विषयगत समिति सभापतिमा कुरो मिलेसँगै विहीबार मुख्यमन्त्री महराले मन्त्रिमण्डल बिस्तार गरेका हुन् । सहमतिअनुसार एमालेले ५, माओवादीले मुख्यमन्त्रीसहित थप २, नागरिक उन्मुक्ति, जसपा र स्वतन्त्र सांसदले एक÷एक मन्त्रालय पाएका छन् । विस्तारित मन्त्रिमण्डलमा एमालेका चेतनारायण आचार्य आर्थिक मामिला तथा योजना मन्त्रालय, माओवादीका दीपेन्द्र पुन स्वास्थ्य र भण्डारीलाल अहिरले कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन् । संसदीय दलका उपनेता आचार्यले पार्टीको प्रतिनिधित्व गर्दै सरकारमा गएका हुन् । बाँकी ६ जना दिनेश पन्थी, खड्ग बस्नेत, धर्मबहादुर चौधरी, अर्जुन कुमार केसी, भूमिश्वर ढकाल, र रत्नबहादुर खत्रीले विना विभागीय मन्त्रीका रूपमा शपथ लिने तयारी छ । उनीहरूको बिहीबार साँझ ५ बजे शपथको तयारी भएको प्रदेश प्रमुख कार्यालयले जानकारी दिएको छ ।

टिपर दुर्घटनामा चालकको मृत्यु

मन्थली । रामेछापको मन्थली नगरपालिका–७ मन्थलीघाट नजिक आज टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा रामेछापको गोकुलगङ्गा गाउँपालिका–३ रस्नालुका २३ वर्षीय पवित्र बस्नेत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले बताए । दुर्घटनामा दोलखाको तामाकोशी गाउँपालिका–६ का २१ वर्षीय सहचालक मनोज फुयाँल घाइते भएका छन् । मन्थली नगर अस्पतालमा उनको उपचार भइरहेको छ । बालुवा लिएर भटौलीबाट मन्थलीतर्फ जाँदै गरेको बा प्र ०१–००६–३८३९ नं को टिपर सडकबाट करिब ५० मिटर तल तामाकोशी नदीमा खसेको प्रहरीले जानकारी दिएको छ ।

अवैध लागूऔषधसहित ८ जना पक्राउ

काठमाडौं । अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ८ जना पक्राउ परेका छन् । चेकजाँचको क्रममा प्रहरीले विभिन्न स्थानबाट ८ जनालाई पक्राउ गरेको हो ।       सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ भुताहा शिरबाट अवैध लागूऔषध गाँजा करिब ७० किलोसहित सोही ठाउँ बस्ने २४ वर्षीय विच बहादुर वाईवालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी क्यानेश्वरबाट खटिएको प्रहरीले ४ जना व्यक्तिहरुले उक्त गाँजा बोरामा बोकी ल्याउँदै गरेको अवस्थामा उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । फरार भएका अन्य ३ जनाको प्रहरीले खोजी गरिरहेको छ ।  सिन्धुलीकै कमलामाई नगरपालिका ९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४५ ग्रामसहित रामेछाप दोरम्बा गाउँपालिका २ बस्ने २० वर्षीय सुबोध श्रेष्ठ समेत ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले बा प्र ०१–०२८ च ३६१२ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।   यस्तै, रुपन्देहीको ओमसतिया गाउँपालिका ४ रोहिणी पुलबाट अवैध लागूऔषध हेरोइन जस्तो देखिने पदार्थ ४० ग्राम ९ सय मिलिग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रोहिणी गाउँपालिका २ बस्ने २० वर्षीय अजित हरिजन र १९  वर्षीय काजु चमार रहेका छन् । इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  यसैगरी मोरङको सुनवर्षी नगरपालिका ८ हरिसचन्द्रगडीस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्रामसहित सोही नगरपालिका ६ पटियापाडा बस्ने २० वर्षीया सुलेखा राजबंशीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले प्र.नं.१–०२ –००३ ह ७०१५ नम्बरको सिटीमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  यस्तै, सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका ११ नहरबाट अवैध लागूऔषध गाँजा करिब १२ किलोसहित सोही ठाउँ बस्ने ३० वर्षीय राजेन्द्र यादवलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

मध्यविन्दु । नवलपरासीको मध्यविन्दु नगरपालिका–११ स्थित सडकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मध्यविन्दु–११ दमारचोकस्थित भित्री सडकमा दमारबाट तमासपुरतर्फ आउँदै गरेको लु ७६ प १६२१ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा परी मोटरसाइकलमा सवार मध्यविन्दु नगरपालिका–११ का ३० वर्षीय अनिल विकको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । त्यसैगरी, दुर्घटनामा परी गम्भीर घाइते भएका  मध्यविन्दु–११ निवासी २५ वर्षीय अजय ठकुरीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने मोटरसाइकल चालक २८ वर्षीय कृष्णबहादुर विक प्रहरी नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए । मध्यविन्दु नगरपालिका–११ दमारमा नै बुधबार अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको थियो, भने दुईजना घाइते भएका थिए । 

आज देशका पहाडी भूभागमा हल्का वर्षा हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा हल्का वर्षा हुनुका साथै बाँकी भागको मौसम सफा रहेको छ । यस्तै, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षा तथा उक्त प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेश र बागमती प्रदेशका केही स्थानका साथै पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती भने देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेश सहित देशको पहाडी भूभागमा मेघगर्जन र चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

माओवादी पदाधिकारी बैठक, के गर्ला निर्णय ?

काठमाडौं । सत्तारुढ दल नेकपा(माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बसेको छ ।  बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ। साथै पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा सुन प्रकरणमा पक्राउ परेको बारेमा पनि छलफल हुने बताइएको छ । माओवादी केन्द्रले चैत्र १५ देखि १५ दिन तराई मधेस जनजागर अभियान वैसाख १५ देखि १५ दिन हिमाल पहाड जनजागर अभियान सञ्चालन गर्ने तय गरेको थियो । सो अभियान केही समय पछाडि सार्ने पनि निर्णय गर्नेछ ।

लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ

काठमाडौं । अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ परेका छन् । देशका विभिन्न स्थानमा खानतलासीका क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।  झापाको कन्काई नगरपालिका ८ बस्ने २३ वर्षीय मनिष चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्रामसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही ठाउँ बस्ने बिशाल राईसँग खरिद गरेको खुल्न आएपछि बिशालको घर तलासी गर्दा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ४० मिलिग्राम प्रहरीले बरामद गरेको छ । हाल फरार बिशालको प्रहरीले खोजी गरिरहेको छ ।  यसैगरी झापा, दमक नगरपालिका ८ डाँफे मुनालबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्रामसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका ८ वालुवाटार बस्ने १९ वर्षीय शेखर परियार र २१ वर्षीय रोहित साह रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  कपिलवस्तुको वाणगंगा नगरपालिका ११ मर्थीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ५० मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूपन्देही कंचन गाउँपालिका ६ बस्ने ३० वर्षीय बिशाल राना र २१ वर्षीय सुरज बिक रहेका छन् । अस्थायी प्रहरी पोष्ट ओदारीबाट खटिएको प्रहरीले लु ५९ प ७०९७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।      बाँकेको नेपालगंज उपमहानगपरालिका १९ सुर्जगाउँ बस्ने ४६ वर्षीय साबिर अली बेहनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५ ग्राम ३ सय मिलिग्रामसहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरको हो ।  पर्साको बिन्दवासिनी गाउँपालिका ३ झौवा गुठी बस्ने ५६ वर्षीय मिरहसन देवानलाई अवैध लागूऔषध गाँजा ९ सय ग्रामसहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने जसपाको निर्णय

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।  बैठकका निर्णय जानकारी गराउँदै पार्टीका प्रमुख सचेतक प्रदीप यादवले फागुन ३० गते प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डले लिने विश्वासको मतको पक्षमा मतदान गर्ने बताए । बैठकले पार्टीका सांसदहरुलाई प्रधानमन्त्री दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गर्ने निर्णय गरेको हो ।

बालकुमारी घटनाबारे जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

काठमाडौं । सभामुख देवराज घिमिरेले बालकुमारी घटना प्रकरणको बारेमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन रुलिङ गरेका छन् । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरुले सरकारले बालकुमारी घटना प्रकरणमा बेवास्ता गरेको आरोप लगाउँदै प्रतिवेदन सार्वजनिक गर्न माग गरेर संसद अवरोध गरेसँगै सभामुख घिमिरेले सरकारलाई घटनाको बारेमा जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन् । पुस १३ गते दुई जना युवाको ज्यान जाने गरी भएको बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला समेत दोषी रहेको प्रतिवेदन जाँचबुझ आयोगले बुझाएको भन्दै सांसदहरुले मन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग राखेका थिए । संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीले संसद अवरोध गरेका थिए । संसद अवरोधपछि सभामुख घिमिरेले भने, ‘‘यि विषय यसअघिको बैठकमा पनि उठेको छ, पर्याप्त रुलिङ पनि भएको छ । मान्य सदस्यहरु कुरा राखिसकेको छु, मैले ६ गतेको बैठकमा यहाँ उठेका विषयलाई लिएर रुलिङ गरेको छु । आज पनि त्यही विषयमा मान्यज्यूहरुले मुलतः विषय उठाउनुभएको छ । प्रतिनिधि सभाको नियमावली, २०७९ को नियम १५ मा रहेको व्यवस्थातर्फ सरकारको ध्यान आकर्षण गराउँछु । शुन्य, आकस्मिक र विशेष समयमा उठेका सवालहरुमा राज्यले उपयुक्त ढंगबाट जवाफ दिनुपर्छ ।’’

एमाले धादिङमा कुटाकुट : कार्यकर्ताको हात भाँचियो, जिल्ला अधिवेशन स्थगित

काठमाडौँ । नेकपा एमाले धादिङको अधिवेशनमा कुटाकुट भएपछि अधिवेसन अनिश्चितकालका लागि स्थगित भएको छ । नेकपा एमाले बागमती प्रदेश अध्यक्ष कैलाश प्रसाद ढुंगेलले आइतबार विज्ञप्ति जारी गरी धादिङ अधिवेशन स्थगित भएको जानकारी गराएका हुन् । अधिवेशनलाई मर्यादित र विधिसम्मत तरिकाले सम्पन्न गर्न सम्भव नदेखिएकाले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि अधिवेशन स्थगित भएको विज्ञप्तिमा उल्लेख छ । यही माघ १९ गते साँझ करिब ७ बजे बसेको जिल्ला कमिटीको अन्तिम बैठकमा बन्दसत्रमा प्रस्तुत गर्ने दस्ताबेज, नीतिगत निर्णय, बन्दसत्र सन्चालनका लागि आवश्यक अध्यक्ष मण्डल, विभिन्न समितिमा रहने नेताहरुको नाम र जिल्ला कमिटीबाट ५ प्रतिशतले मनोनयन हुने प्रतिनिधिको विषयमा विवाद बढ्दा हात हालाहाल भएको थियो ।यसै क्रममा भिडन्त हुँदा पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको छ । ‘बैठकमा सहभागीहरुको असहमतिका बाबजुद जिल्ला कमिटी अध्यक्षले जबरजस्ती प्रस्ताव पेश गर्दै एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि बैठकमा असहज परिस्थिति सिर्जना भएको,’ एमाले बागमती प्रदेश अध्यक्ष ढुंगेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सिटिइभिटीका कर्मचारीको धर्ना जारी

काठमाडौं, १७ माघ । आङ्गिक प्राविधिक शिक्षालयहरुमा प्रमाणपत्र तह नर्सिङ कार्यक्रम सञ्चालन गर्न दिनुपर्ने, पदपूर्तिको विज्ञापन गर्नुपर्नेलगायतका माग राख्दै प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् सिटिईभिटिका कर्मचारीहरु आन्दोलित भएका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठनको अगुवाईमा उनीहरु माघ १० गतेदेखि धर्नामा बस्दै आएका छन् । विभिन्न पाँच बुँदे माग राख्दै माघ १० गतेदेखि आन्दोलित कर्मचारीहरुले धर्ना जारी राखेका हुन् । आन्दोलनरत कर्मचारीहरुले नर्सिङ् कार्यक्रम सञ्चालन गर्न दिनु पर्ने सहित संगठनले पदपूर्तिको विज्ञापन गर्नुपर्ने, लामो समयसम्म परीक्षा शाखामा कार्यरत कर्मचारीलाई सरुवा गर्नुपर्ने, सेवा करार तथा ज्यालादारी कर्मचारीहरुलाई आर्थिक श्रोतको व्यवस्थापन गरी हालसम्मको महँगी भत्ता वापतको रकम उपलब्ध गराउनु पर्ने, संगठनसँग गएको जेठ १८ गते भएको सहमती कार्यान्वयन गर्नु पर्ने माग अघि सारेको छ । नेपाल राष्ट्रिय कर्मचारी संगठन सिटिइभिटीले यसअघि व्यवस्थापन समितिसँग भएका सहमति र सम्झौता तथा उच्च अदालत पाटनले गएकोे भदौ २७ गते जारी गरेको आदेश अनुसार माघ १० गते भित्र पदपूर्ति नभएपछि आन्दोलन गर्नु परेको स्पष्ट पारेको छ । नेपाल राष्ट्रिय कर्मचारी संगठनका उपाध्यक्ष कमल ढकालले सिटिइभिटीले जिम्मेवारी हेरफेर तथा सेवा करार तथा ज्यालादारी कर्मचारीको महँगी भत्ता उपलब्ध नगराएसम्म आन्दोलन नरोकिने बताए । साथै, कर्मचारीलाई प्रधानमन्त्रीले घोषणा गरेको सामाजिक सुरक्षाको व्यवस्था हुनुपर्ने तथा आगामी शैक्षिक सत्रबाट सञ्चालन गर्नेगरी सिटिइभिटी अन्तर्गतका सम्भाव्य आंगिक शिक्षालयहरूमा प्रमाणपत्र तह नर्सिङ कार्यक्रम संचालन गर्न आवश्यक प्रक्रिया सुरू गर्नुपर्ने संगठनको माग रहेको उपाध्यक्ष ढकालले बताए । त्यस्तै उच्च अदालत पाटनबाट जारी भएको आदेश हालसम्म पनि कार्यान्वयन नभएको हुँदा अदालतको अवहेलना मुद्दामासमेत अघि बढ्ने तयारी भइरहेको ढकालले स्पष्ट पारे । गत पुस ८ गते पोखरा प्राविधिक शिक्षालय, पोखरामा बसेको नेपाल राष्ट्रिय कर्मचारी संगठनको केन्द्रीय समितिको चौथो पूर्ण बैठकका निर्णय अनुसार पाँच बुँदे मागपत्र पेश गर्दा बेवास्ता भएको भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन् । सिटिइभिटीको प्राङ्गणमा पाँच बुँदे मागहरू उल्लेख गरिएको ब्यानरसहित संघर्षको अर्को स्वरूप निर्धारण नभएसम्मको लागि अध्यक्ष, एक जना उपाध्यक्ष र महासचिव गरि तीनजना कार्यालय समयभर धर्नामा बसिरहेको संगठनका अध्यक्ष तेज खत्रीले बताए । अध्यक्ष खत्रीले सिटिईभिटीका अन्य सम्पूर्ण कर्मचारीहरूलाई यी मागहरूमा ऐक्यबद्धताका जनाउनका लागि समेत आह्वान गरेका छन् ।