रूस जाँदा ‘नो अब्जेक्सन लेटर’ अनिवार्य गरिएको छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूसी सेनामा नेपालीको भर्ती अवैध भएको जानकारी रूसी सरकारलाई गराइसकिएको र रूस जाँदा ‘नो अब्जेक्सन लेटर’ अनिवार्य गरिएको बताएका छन्।
संसदमा उठेका महत्त्वपूर्ण विषयमा आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले रूसी सेनामा नेपाली नागरिकलाई भर्ना नगर्न र भर्ना भएकालाई नेपाल फिर्ता गर्न कुटनीतिक दबाब बढाइएको स्पष्ट पारे ।
प्रधानमन्त्री प्रचण्डले रूसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकको शव स्वदेश फिर्ता ल्याउने, मृतकका परिवार तथा घाइतेलाई क्षतिपू्र्ति उपलब्ध गराउने र युक्रेनी सेनाले बन्धक बनाएका नागरिकलाई स्वदेश फिर्ता गर्ने सम्बन्धमा सम्बन्धित देशका अधिकारीसँग संवाद भइरहेको जानकारी गराए।
“पछिल्लो समयमा क्षतिपूर्ति र विमा रकम नेपाली राजदुतावासको खातामा जम्मा गरी कन्सुलर सेवा विभागमार्फत् पीडित परिवारलाई उपलब्ध गराउन रूस सरकार सहमत भएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “अध्ययन छात्रवृति तथा पेशा व्यवसायमा संलग्नबाहेकका नागरिकले रूस यात्रा गर्नु परे ‘नो अब्जेक्सन लेटर’ अनिवार्य गरिएको छ ।”
फिफा महिला विश्वकप फुटबलमा आज पनि तीन खेल हुँदै
काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा आज पनि तीन खेल हुँदैछन् । आज समूह सीमा रहेको जापान र कोस्टारिका, स्पेन र जाम्बिया तथा समूह बीमा रहेका क्यानडा र आयरल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । जापान र कोस्टारिकाबीचको खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे हुनेछ । जापान लगातार दोस्रो जितका लागि राउन्ड अफ सिक्सटिन नजिक पुग्ने लक्ष्यमा रहँदा कोस्टारिका भने पहिलो जितको खोजिमा हुनेछ । कोस्टारिका आफ्नो पहिलो खेलमा स्पेनसँग पराजित भएको थियो । जापानले भने जाम्बियामाथि फराकिलो जित निकालेको थियो । यो समूहमा जापान शीर्ष र स्पेन दोस्रो स्थानमा छन् । यस्तै आज दिउँसो सवा १ बजे स्पेन र जाम्बिया आमने सामने हुनेछन् । आजको खेलमा स्पेन विजयी भए राउन्डअफ सिक्सटीनको यात्रा पक्का गर्ने छ । जाम्बिाय भने पहिलो जितको खोजिमा हुनेछ । यसैगरी आज साँझ पौने ६ बजे हुने खेलमा क्यानडा र आयरल्याण्ड भिड्ने छन् । यी दुई टिम समूह बीमा रहेका छन् । आयरल्याण्ड र क्यानडा दुवै टिम पहिलो जितेको खोजिमा हुने छन् । आयरल्याण्ड अस्ट्रेलियासँग पराजित हुँदा क्यानडाले नाइजेरियासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो ।
कस्तो थियो, कस्तो बन्यो माओवादीले जितेको कोन्ज्योसोम गाउँपालिका !
देवीदत्त पौडेल ललितपुर । दुरीको हिसाबले धेरै टाढा हैन । सातदोबाटोदेखि जम्माजम्मी डेढ घण्टामा पुगिन्छ दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिका । तर भौतिक रुपमा राजधानीसँग नजिक रहेको कोन्ज्योसोमले निकै पीडा खेप्यो । तामाङ समुदायको बाहुल्यता रहेको यो ठाउँका मानिसको पाँच वर्षअघिको जीवनशैली कर्णालीवासीको झै थियो । झन्डै १९ वर्षको अन्तरालमा आएको स्थानीय सरकारले भने यो ठाउँको मुहार नै फेरिदियो । जनप्रतिनिधि स्थानीयका आशा र परिवर्तनका ढुकढुकी बने । जनप्रतिनिधिले नै गाउँपालिकाको विकटतालाई पाँच वर्षझै पार लगाउन सफल भए । गाउँपालिका अहिले निकै नै विकसित भइसकेको छ । यो ठाउँलाई पाँच वर्ष पछाडी फर्केर हेर्दा भने धेरैलाई अचम्म लाग्न सक्छ, कस्तोबाट कस्तोमा परिणत भयो पालिका । जिम्मेवार जनप्रतिनिधिका कारण पालिकाले छोटो समयमै पछौैटेपनलाई हटाउन सफल भयो । करिव ७ हजार केही बढी मतदाता यो गाउँपालिकामा छन् भने कोन्ज्योसोम पाँचवटा वडामा विभाजित छ । यहाँका जनताको आधारभूत आवश्यकता, जनजिविकालाई प्राथमिकतामा राखेकोले पालिका पाँच वर्षमै मुहार फेर्न सफल भएको हो । पछिल्लो पाँच वर्षमा यहाँका कृषि, स्वास्थ्य र शिक्षामा गाउँपालिकाले खेलेको भूमिका निकै महत्वपूर्ण मानिएको छ । किनभने पछिल्लो पाँच वर्षमा कोन्ज्योसोमले सहरी क्षेत्रका पालिकाले भन्दा गुणस्तरीय र प्रभावकारी काम गर्न सफल भएको छ । दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिका भौगोलिक रुपमा सुन्दर मानिन्छ । यहाँ साँस्कृतिक ठाउँहरु प्रसस्त छन् । यो ठाउँ आर्थिक रुपमा सामान्य र राजनीतिक रुपमा मध्यम किसिमको छ । र सम्भावनाको हिसाबले भने यो एक सुन्दर स्मार्ट भिलेज बन्न लायक छ । यो गाउँपालिकामा २०७४ को बैसाखमा भएको स्थानीय तहको निर्वाचनपछि नेकपा माओवादी केन्द्रको प्रतिनिधि गोपिलाल सिंतान जनप्रतिनिधि अध्यक्षको रुपमा चुनिए । उनी आएपछि पालिकाको मुहारै फेरिएको छ । यहाँको जनताको सम्पुर्ण पक्षको विकाससहित समग्रमा पालिकाको गरिमा नै उच्च भएको छ । अध्यक्ष सिंतानले पाच वर्षमा थुप्रै काम गर्न सफल भएका छन्, जसमध्येका केहि काम फेहरिस्त यसरी दिन सकिन्छ । – मध्यमार्गी सडक द्रुतगतिमा निर्माण सम्पन्न, – चौघरे सिंगाने भञ्ज्याङ्देखि दलचोकि गोठ भञ्ज्याङ्सम्मको मोटरबाटो चौडा र स्तरोन्नति सम्पन्न, – कोन्ज्योसोम–५ भारदेउमा कोन्ज्योसोम प्रतिमा निर्माण, – कोन्ज्योसोम गाउँपालिकाको प्रशासनिक भवन निर्मान तथा उद्घाटन कोन्ज्योसोम चौघरेमामा सम्पन्न, – कोन्ज्योसोम–१ चौघरे सिंगाने भञ्ज्याङ्देखि चौघरे स्वास्थ्य चौकी हुँदै कोन्ज्योसोम–३ दलचोकी गोठ भञ्ज्याङ् जाने सडक करिब ४ किमि कालोपत्रे तथा ढलान, – कोन्ज्योसोम–३ दलचोकीमा निर्माणाधीन भ्यु टावर निर्माण, – कोन्ज्योसोम–२ शंखुमा पालिकास्तरिय अस्पताल निर्माण गर्न आवश्यक सम्पूर्ण प्रक्रिया सकि निर्मार्णाधीन अवस्थामा, – कोन्ज्योसोम–२ शंखुमा निर्माणाधीन छ्योर्देन गुम्बा बनाउन आवश्यक पहल सहित सहजीकरण र प्रदेश सरकारसँग समन्वय, – कोन्ज्योसोमा–२ शंखुमा रहेको कृष्ण प्रणामी मन्दिर स्तरोन्नति गर्न सहयोग गरेको र हाल फेरी प्रदेश सरकारबाट कृष्णप्रणामी मन्दिरको लागि बजेट व्यवस्था, – कोन्ज्योसोम–२ शंखुको लिफ्टिङ खानेपानी आयोजना सञ्चालनको लागि बजेटको व्यवस्था, – कोन्ज्योसोमको चौघरेमा लिफ्टिङ खानेपानी आयोजना लगभग अन्तिम चरणमा रहेको, – कोन्ज्योसोम, चौघरेमा पालिकास्तरिय खेलमैदान निर्माण गरेको, – मध्यमार्गी सडक अन्तर्गत कोन्ज्योसोम–४ नल्लुबाट सडक स्तरोन्नति, चौडा र कालोपत्रे गर्ने कार्य सुरु गरेको, – कोन्ज्योसोम–४ नल्लु पाथिभरा मन्दिर जाने सिंढी निर्माण, – ललितपुरको कोन्ज्योसोम हुँदै काभ्रे जोड्ने सडक निर्माण, – गुप्तेश्वर, नल्लु पाथिभरालगायत साँस्कृतिक महत्व बोकेका मठमन्दिर तथा गुफाको संरक्षण र पदमार्ग निर्माण, – महाङ्काल गाउँपालिका–२ मानिखेल (कतुवन) देखि कोन्ज्योसोम–२ शंखु हुँदै बागमति गाउँपालिका–३ भट्टेडाँडा जोड्ने कृषि सडक निर्माण र स्तरोन्नति, – पालिकाभित्रको सम्पूर्ण वडाको टोल–टोलसम्म सहायक सडक निर्माण सम्पन्न, – सडकको समस्याग्रस्त स्थानमा आवश्यक आर.सि.सि. ढलान गरेको, – मध्यमार्गी सडक अन्तर्गत चौघरे ठोस्नेखोलामा बेलिब्रिज (मोटरेवल पुल ) निर्माण शुभारम्भ, – कोन्ज्योसोम २ र ३ जोड्ने सिमलबोट र छापाकमा झोलुङ्गे पुल निर्माण, – कोन्ज्योसोम गाउँपालिका र अन्य वडाहरुमा सुचना केन्द्रको स्थापना, – पालिकामा नागरिक बडापत्रको व्यवस्था, – कृषि पेशा र अन्य पेशा व्यवसाय गर्नेका लागि अनुदानको व्यवस्था, – विपद र दैवीप्रकोपबाट पिडितको लागि राहत र सहयोगको व्यवस्था, – स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार र व्यवस्थापन, – शिक्षा क्षेत्रमा उल्लेख्य सुधार गराउन प्रयास प्राविधिक शिक्षा र छात्रावासको व्यवस्था, – सम्बन्धित पेशा व्यवसायलाई वैधानिकताको हिसाबले सञ्चालन, – सुरक्षाको प्रत्याभूति गराउन चौघरेमा प्रहरी चौकी निर्माण, – कोन्ज्योसोम वडा ३ दलचोकि सिलिङ्गेबेशिदेखि क्वाक्लिङ, भैंसे हुँदै बागमती वडा ३ भट्टेडाँडा तीनपाने जोड्ने सडक निर्माणाधीन, ठोस्नेखोला करिडोर निर्माण, – पालिकाभित्र सम्पूर्ण वडामा वैकल्पिक उर्जा अन्तर्गत करिव ३५० वटा सोलारबत्ति १ सेट बरावर करिब २०००० बराबरको सहयोग, – गरिब तथा विपन्न वर्गका, एक्कल महिलालाई जिविकोपार्जनका लागि बाख्रा, तथा कुखुरा वितरण, – भैंसी प्रवर्द्धन (पकेट ) कार्यक्रम, – मासु प्रवर्द्धनअन्तर्गत पाडा पाडि कार्यक्रम, – गाई ब्लक कार्यक्रम, – किवि तथा चिया उत्पादन र प्रवर्द्धन कार्यक्रम, – वित्तीय संस्थालाई संस्थागत गर्दै स्थापना तथा शाखा कार्यालय सञ्चालन गरी जनतालाई सेवा सुविधा दिन सहकारी तथा बैकसँग समन्वयकारी भुमिका, – लेले चन्दनपुर मोटरबाटो, मध्यमार्गी मोटरबाटो र विर्खेधारा दलचोकि, शंखु ईकुडोल हुँदै आश्रङ जोडिएको सडक स्तरोन्नति, चौडा र कालोपत्रे गर्न प्रदेशको मन्त्री तथा प्रदेश सांसदलाई चौघरेमा ल्याई छलफल गरेको र केन्द्र सरकार तथा पूर्व प्रधानमन्त्री प्रचण्डलाई समेत ध्यानाकर्षण गराउदै मागपत्र बुझाएको, – वर्षायाममा बाढी तथा पहिरोको कारण बन्द भएका मोटरबाटो तत्काल स्वयं आफ्नै उपस्थितिमा मर्मत तथा सुचारु गराएको, – कोरोनाको भयावह दोस्रो चरणमा चौघरेमा अस्थायी कोरोना केयर अस्पताल सञ्चालन गरेको, – कोरोना समय र सुत्केरी विरामीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको, – भुकम्प पछिको पुनर्निर्माण द्रुत गतिमा गराएको अब अन्तिम चरणमा पुगेको र निर्माण सम्पन्न प्रमाणपत्र उपलब्ध गराउन तयारिमा, – अर्थिक बेरुजु अत्यन्तै कम र आर्थिक पारदर्शिता ।
स्यामसुङले ल्यायो नयाँ अफर, शून्य ब्याजदर किस्तामा जेड फोल्ड ३ किन्न पाइने
विश्व स्मार्टफोन बजारमा अग्रपंक्तिमा रहेको सामसङ नेपालमा पनि रूचाइएको ब्रान्ड हो। सामसङ नेपालले बारफोनदेखि फ्ल्यागसिप फोनका साथै एयरबड्स, स्मार्टवाच पनि ल्याएको छ। कम्पनीले वर्षमा दुई पटक फ्ल्यागसिप फोन सार्वजनिक गर्दै आएको छ–एस र फोल्ड सिरिज। सामसङले फोल्डएबल प्रविधिको स्मार्टफोन ल्याएको तीन वर्ष भइसक्यो। फोल्ड, जेड फोल्ड–२ र अहिले भर्खरै जेड फोल्ड–३ ल्याएको छ। यो सँगै फ्लिप–३ फाइफ–जी पनि सार्वजनिक गरेको छ। यो फ्ल्यागसिप फोन फोल्ड र फ्लिप भर्जनमा उपलब्ध छ। फोनको विशेषता, फोनबाट गरिएको अपेक्षा, सामसङको नेपाली बजार हिस्सा, चुनौती, आगामी योजना लगायत सन्दर्भमा सामसङ नेपालका प्रमुख प्रणयरत्न स्थापितसँग सेतोपाटीका सुनिता सिटौलाले गरेको कुराकानीको सम्पादित अंशः goodknightsanima box ad 2 सामसङले पछिल्लो पटक (जेड फोल्ड–३ र फ्लिप–३ फाइभ–जी) दुई स्मार्टफोन एकैपटक सार्वजनिक गरेको छ। एकैसाथ सार्वजनिक गर्नुको कारण के हो? दुवै फोल्डएबल प्रविधिका स्मार्टफोन भए पनि यसका लक्षित ग्राहक फरक छन्। एउटै फोन सबैलाई सुहाउँदो नहुन सक्छ। त्यसैले अलग-अलग ग्राहकलाई फरक फिचरका फोन दिन एउटै प्रविधिको फोन एकैपटक ल्याएका हौं। यो कस्ता ग्राहक लक्षित छ? यो फ्ल्यागसिप फोन नयाँ प्रविधिका सामान चलाउन चाहनेका लागि उपयुक्त हुन्छ। यो सबै वर्गका ग्राहकलाई सुहाउँदो छ। यी सिरिजका छुट्टै पारखीहरू छन्। विशेषगरी उनीहरूलाई नै लक्षित गरिएको छ। फोनका विशेषता के के हुन्? फोल्डएबल फिचर आफैंमा नयाँ फिचर हो। यसमा डिस्प्ले नै फोल्ड गर्न मिल्छ। यो ट्याब्लेट आकारमा छ। यसमा नोट फंसन (पेनबाट लेख्न मिल्ने) पनि समावेश छ। यसमा गोरिल्ला ग्लास प्रयोग गरिएकाले टुटफुट हुने सम्भावना पनि कम हुन्छ। ठूलो डिस्प्ले भएकाले कार्यालयका काम गर्न पनि सकिन्छ। यसमा मल्टिटास्किङ सुविधा छ। जसले गर्दा प्रयोगकर्ताले एकपटक तीनवटासम्म एप चलाउन सक्छन्। फोल्ड फोन दुइटा संस्करणमा किन्न सकिन्छ भने फ्लिप एउटा संस्करणमा उपलब्ध छ। आइपिएक्स रेटिङमा ८ पाएकाले यी दुवै फोन पानी प्रतिरोधी छन्। जेड फोल्ड–३ – बाहिरी र भित्री दुइटा स्क्रिन। – कभर स्क्रिनः ६.२ इन्च एचडी प्लस डाइनामिक एमोलेड २–एक्स इन्फिनिटी–ओ डिस्प्ले। – भित्रपट्टि ७.६ इन्चको क्युएक्सजिए प्लस डाइनामिक एमोलेड २–एक्स इन्फिनिटी फ्लेक्स डिस्प्ले। – दुवै डिस्प्लेमा १२० हर्जको रिफ्रेस रेट छ। यसले गर्दा फोनमा स्मुथ स्क्रोलिङ अुनभव पाउन सकिन्छ। – कर्निङ गोरिल्ला ग्लास। – क्यामराः १० मेगापिक्सलको सेल्फी, ४ मेगापिक्सलको अन्डर–डिस्प्ले र १२ मेगापिक्सलको अल्ट्रा–वाइड क्यामरा, १२ मेगापिक्सलको वाइड–एंगल र १२ मेगापिक्सलको टेलिफोटो रियर क्यामरा गरेर पाँच क्यामराको सुविधा। – रियर (पछाडिको) क्यामराबाट पनि सेल्फी खिच्न सकिने। – ४४०० एमएएचको डुअल ब्याट्री। – २५ वाटको फास्ट चार्जिङ, १० वाटको फास्ट वायरलेस चार्जिङ र ४.५ वाटको रिभर्स वायरलेस चार्जिङ सुविधा। – अक्टा–कोर क्वालकम स्न्यापड्रैगन ८८८ प्रोसेसर। – रङः फ्यान्टम ब्ल्याक (कालो), हरियो र सिल्भर। – १२ जिबी र्याम र २५६ जिबी रोम भएको फोनको मूल्य २ लाख १९ हजार ९ सय ९९ रूपैयाँ। – १२ जिबी र्याम र ५१२ जिबी रोम भएको फोनको मूल्य २ लाख २९ हजार ९ सय ९९ रूपैयाँ। फ्लिप–३ फाइभजी – मेन स्क्रिन र कभर स्क्रिन गरी दुइटा स्क्रिन। – मेन स्क्रिनमा ६.७ इन्च डाइनामिक एमोलेड इन्फिनिटी फ्लेक्स डिस्प्ले र कभर स्क्रिनमा १.९ इन्च सुपरएमोलेड डिस्प्ले। – दुवै स्क्रिनमा १२० हर्जको रिफ्रेस रेट। – क्यामराः १२ मेगापिक्सलको अल्ट्रा–वाइड र १२ मेगापिक्सलको वाइड गरी दुइटा रियर क्यामरा। १० मेगापिक्सलको सेल्फी क्यामरा। – फ्लेक्स–मोडबाट प्रयोगकर्ताले हातबिनै सेल्फी खिच्न सक्ने। – ५ एनएम ६४ बिट अक्टाकोर प्रोसेसर। – ३३०० एमएएच ब्याट्री पावर। – १५ वाटको फास्ट चार्जिङ, ४.५ वाटको रिभर्स वायरलेस चार्जिङ सुविधा। – ८ जिबी र्याम र २५६ जिबी स्टोरेजमा उपलब्ध। – रङः हरियो, ल्याभेन्डर र कालो। – मूल्य १ लाख २४ हजार ९ सय ९९ रूपैयाँ। यसको विशेष प्रयोग के हो? मोबाइलको प्रयोग धेरै काममा हुन्छ। फोटोग्राफी, गेम खेल्न, फिल्म हेर्नदेखि लिएर पछिल्लो समय कार्यालयका काम गर्न समेत फोन प्रयोग हुने गरेका छन्। फोल्डएबल फोन विशेषगरी जसलाई आफ्नो कामको उत्पादकत्व बढाउनु छ, उनीहरूका लागि हो। पावरप्वाइन्टमा काम गर्न, एसपेनबाट लेख्न, एक्सेल खोल्न मिल्छ। यो फोनमा इमेल लेख्न पनि सजिलो छ। फ्लिप युवा वर्गका लागि बढी प्रयोग हुन्छ। सामाजिक सञ्जाल बढी चलाउन, जूम मिटिङ गर्न सहज हुन्छ। फोन फ्लेक्स मोडमा राखेपछि ट्राइपड चाहिँदैन। भिडिओ कन्फ्रेन्स गर्न सजिलो हुन्छ। सुरूआती ग्राहकका लागि केही सुविधा छ? हामीले जहिले पनि पहिला किन्ने ग्राहकलाई सुविधा दिएका हुन्छौं। यो फोनमा पनि सेप्टेम्बर ५ देखि २० सम्म प्रि-बुकिङ गर्ने ग्राहकले उपहार पाउँछन्। फोल्ड किन्ने ग्राहकले साढे २५ हजार मूल्य पर्ने एयर बड्स–प्रो पाउन सक्छन्। कसैलाई एयरबड्स चाहिँदैन भने हामीले भर्खरै सार्वजनिक गरेको स्मार्टवाचको किन्दा आधा छुट पाउन सक्छन्। स्मार्टवाचको मूल्य ५० हजारभन्दा बढी छ, एयरबड्स लिन्न भन्ने ग्राहकले २५ हजारमा पाउँछन्। त्यस्तै फ्लिप किन्ने ग्राहकलाई एयर बड्स–२ उपहार दिएका छौं। उनीहरूले पनि स्मार्टवाच लिन चाहन्छन् भने ३० हजारमा पाउँछन्। ग्राहक प्रि-अर्डर गर्न नजिकैको सामसुङ शोरूममा जाँदा हुन्छ। नभए हामीले एउटा लिंक राखेका छौं। त्यहाँ क्लिक गरेपछि अफरबारे जानकारी पाइन्छ। त्यहीँबाट पाँच हजार अनलाइन पेमेन्ट गरेपछि आफैं बुक गर्न सक्छन्। त्यस्तै हामीले सबै ग्राहकका लागि एक्सचेन्ज सुविधा दिएका छौं। ग्राहकले आफ्नो पुरानो फोन दिएर यी नयाँ फोन लिन सक्छन्। हामीले केही मोडल छुट्याएका छौं, ती मोडलमा मूल्यांकन गरिएको भाउमा ६ हजार थप गरिदिने व्यवस्था गरेका छौं। यो फोन अरूभन्दा के विशेष र फरक छ? हामी आफ्नै इनोभेसनमा फोन निर्माण गर्छौं। त्यसैले अन्य फोनको तुनलनामा निकै फरक छ। हामी अरू फोनलाई हेरेर डिजाइन गर्दैनौं। यसको क्यामरा, स्क्रिन र प्रोसेसर अरूभन्दा राम्रो छ। यो सफल उत्पादन हो। नेपाली ग्राहकलाई यसको उपयोगिता कत्तिको हुन्छ? फोन सबै व्यक्तिका लागि अभिन्न अंग भइसकेको छ। इमेल हेर्न, मनोरञ्जनका लागि गेम खेल्न, फिल्म हेर्न, कार्यालयका काम गर्न सकिन्छ। सबै वर्गका लागि यो फोनमा सबै प्याकेज छ। यो फोन किस्ताबन्दीमा कसरी किन्न पाइन्छ? कति महँगो छ? महँगो फोन सबैले एकैपटक नगदमा किन्न सक्दैनन्। त्यसैलाई मध्यनजर गरेर हामीले बैंकसँग सम्झौता गरेका छौं। पहिले हामीसँग ५/६ वटा बैंक मात्र थिए, अहिले ११ वटासँग सम्झौता गरेका छौं। ती बैंकको आ–आफ्नै स्किम छ। ग्राहकले किस्ताबन्दी सुविधा डेढ वर्षसम्म पाउँछन्, त्यसको कुनै ब्याज तिर्नुपर्दैन। किस्तामा फोन किन्न ग्राहक आकर्षक देखिँदैनन् नि किन होला? हाम्रोमा फोन किस्तामा लिने चलन बसिसकेको छैन। किस्तामा आकर्षित गर्न अहिले हामीले शून्य ब्याजदर दिएका छौं। कोही ग्राहक यो फोन किन्न चाहन्छन् तर इएमआइका कारणले लिन सकिरहेका छैनन् भने अब ब्याज तिर्नुपर्दैन। ग्राहकले बजारमा जुन मूल्यमा फोन पाउँछन्, त्यही मूल्यमा किस्तामा पाइन्छ। बैंकिङ प्रक्रिया लामो हुने भएर ग्राहकले किस्तामा नलिएका हुन् कि भनेर योपटक हामीले दुइटा फाइनान्ससँग पनि सम्झौता गरेका छौं। छिटो छरितो रूपमा त्यहाँबाट पनि फोन लिन सकिन्छ। त्यसमा पनि कुनै ब्याज तिर्नुपर्दैन। यी फोनबाट कम्पनीको बजार अपेक्षा के छ? पक्कै पनि कम्पनीले आफ्नो उत्पादनबाट राम्रो अपेक्षा राखेको हुन्छ। यसबाट त हामीले सोचेभन्दा पनि राम्रो पाएका छौं। प्रि-बुकिङ गर्ने ग्राहक नै अत्यधिक छन्। हामीले यति धेरै सोचेका थिएनौं। हामीले प्रि-अर्डर जति योजना बनाएका थियौं, त्यो सकिएर हामीले बीचमा सिस्टम नै बन्द गर्नुपर्यो। पछि हामीले पुनः खोल्यौं। यी फोनमा धेरै ग्राहकको चासो पाएको देखेका छौं। सामसङका ग्राहकले कम्पनीबाट पाउने सुविधा के हुन्? हामीले एक वर्षभित्र टुटफुट भए बीमा व्यवस्था गरेका छौं। त्योबाहेक हामीले सामानमा एक वर्षको वारेन्टी दिएका छौं। बिक्रीपछिको सेवा हेर्ने हो भने वारेन्टीबाहेक सुलभ मूल्यमा सर्भिसिङ दिइरहेका छौं। हाम्रो काठमाडौं उपत्यकाभित्र र बाहिर गरेर १९ वटा सर्भिस सेन्टर छन्। ग्राहक आफूलाई पायक पर्ने ठाउँमा जान सक्छन्। सामसङको बजार हिस्सा कति छ? नेपालमा कुन फोन बिक्री भयो भनेर अध्ययन गर्ने कुनै निकाय छैन। तर हाम्रो आफ्नै अध्ययनले अन्यको तुलनामा हामी निकै अगाडि छौं भन्ने देखाएको छ। यो हिस्सा बढाउने आगामी लक्ष्य के हुन्? सबभन्दा ठूलो कुरा इनोभेसन नै हो। अनुसन्धानमा खर्च गर्ने कम्पनीमध्ये सामसङ पनि एक हो। हामी नयाँ नयाँ प्रविधियुक्त सामान ल्याइरहेका छौं। सामसङले जति पनि उपकरण सार्वजनिक गर्ने योजना बनाएको छ, ती सबै नेपाली बजारमा पनि ल्याउने योजना छ। हामी बाहिर पाइने मूल्य र यहाँ पाइने मूल्यमा धेरै अन्तर नहोस् भन्नेमा केन्द्रित छौं। त्यसैले ग्राहकले विदेशबाट फोन मगाइरहनु पर्ने आवश्यक छैन। सामसङका फोन बाहिर पाइने मूल्यमा यहीँ पाइन्छ। बिक्री पछिको सेवामा पनि हामी केन्द्रित छौं। पहिला अवैध रूपमा फोन भित्रिने गरेकाले हाम्रा ग्राहक छरिएका थिए। अब दूरसञ्चार प्राधिकरणले यसरी भित्रिएका फोन नचल्ने भनेको छ। त्यसले पनि ग्राहक बढ्छन् भन्ने अपेक्षा छ।
३८ वर्षकी महिला २०औं पटक गर्भवती भएपछि चिन्तामा प्रशासन
मुम्बई । उमेरले जम्मा ३८ वर्ष पुगेकी एक महिला २०औं पटक गर्भवति भएपछि स्थानीय प्रशासनले चिन्ता व्यक्त गरेको छ । अचम्म के छ भने ती महिलाका अहिलेसम्मका सबै प्रसुति घरमा नै भएका छन् । यो प्रसुति भने अस्पतालमा गराउन स्थानीय प्रशासनले चासो लिएको छ । महिलाको तौल जम्मा ४५ किलो भएकोले स्वास्थ्यमा समस्या आउन सक्ने अधिकारिहरुले जनाएका छन् । नवभारत टाईम्सका अनुसार, महाराष्ट्रको मीड मजलागाउँ निवासी लंकाबाईले १९ पटकमा जन्माएका बच्चामध्ये ११ जना जीवित छन् । उनका १६ प्रसप सफल भएका थिए भने ३ पटक गर्भपतन गर्नुपरेको थियो । कुडा करकट छान्ने काम गर्ने उनका श्रीमानलाई सम्झाशएर अस्पतालमा डेलिभरि गराउन सामाजिक कार्यकर्ता समेत लागेका छन् । मजलगांवका को ब्लक मेडिकल अफिसर अनिल परदेसीले यसपटक प्रसव राम्रो हुन नसके ज्यानको खतरा रहेको बताए । डेलिभरिपछि पनि रक्तअल्पताका कारण समस्या हुने भएकोले विशेष सतर्कता अपनाउन उनीहरुले लंकाबाईको नियमित चेकअप गरिरहेको समाचारमा छ । लंकाबाईका कुनैपनि बच्चाले पढेका छैनन् । दैनिक दुई तीनसय कमाई हुने उनको परिवारमा आर्थिक संकट झन बढेको छ । उनको जेठो छोरा २१ वर्षको छ । उसका पनि ३ बच्चा छन् । स्थानीय प्रशासनले अहिले मासिक ५ हजार र राशन कार्डको व्यवस्था गरेको छ ।
महान जनयुद्ध: एक टिप्पणी
अर्धसामन्ती शोषण र अर्धऔपनिवेशिक उत्पीडनबाट पिल्सिएका नेपाली जनताको वर्गीय,जातीय, क्षेत्रीय र लैङ्गिक असमानता र विभेदका विरुद्धको सचेत र संगठित पहलकदमी थियो- जनयुद्ध। स्वतन्त्रता र मुक्तिको वकालत गर्ने नेपाली जनतामाथि थोपरिएको सामन्ती, दलाल र नोकरशाही वर्गीय अत्याचार, आतंक र निरंकुश दमनका विरुद्धको जनविद्रोह थियो- जनयुद्ध। रोल्पा, रुकुम लगायतका देशका दर्जनौं जिल्लामा वैचारिक आस्थाकै कारण वामपन्थी र कम्युनिस्ट क्रान्तिकारीहरुलाई समाप्त गर्ने उद्देश्यले शुरु गरिएको रोमियो अप्रेसन, कम्बिङ्ग अप्रेसन जस्ता जनदमन, झुट्ठा मुद्दा, जेलनेल, राज्यआतंक र निहत्था जनताको नरसंहारका विरुद्धको सशस्त्र जनप्रतिरोध थियो- जनयुद्ध। यो हिंसा थिएन- राज्यआतंक र नरसंहारका विरुद्धको जनप्रतिरोध थियो- जनप्रतिरोध !! जनयुद्ध नेपाली इतिहासमा नेपाली जनताको एक अद्दितिय त्याग, अकल्पनीय समर्पण र वलिदानको गौरवगाथा थियो- जसले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रको सुन्दर बिहानीमा पुर्याउने मातृत्व प्रदान गर्यो। जनयुद्धले आफुलाई राजनीतिक परिवर्तनको आधार बनाउदै राजतन्त्रका विरुद्ध लोकतान्त्रिक शक्तिलाई एक ठाउँमा ल्याउन सकारात्मक योगदान गर्यो। फलस्वरूप नेपाली जनक्रान्तिले मौलिक रूपमा आफुलाई संयुक्त जनआन्दोलनमा विकास गर्दै संविधानसभाको बाटोमा अघि बढ्यो। आज जनयुद्धले नेपालको क्रान्ति र शान्ति प्रक्रियाको विशिष्ट र मौलिक बाटो पार गर्दै संविधानसभाको निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण र यसको कार्यान्वयनको चरणमा विकास गरेको छ। परिवर्तनको यो प्रक्रियामा जनयुद्धको भुमिकालाई सहि ढंगले बुझ्ने, बुझाउने र यसका आदर्शलाई राजनीतिमा आत्मासाथ गर्ने कुराले राजनीतिलाई स्वार्थसिद्धीको हतियार र नाफाको व्यापार बनाउनबाट बचाउछ। उद्देश्यमुलक यात्रा र निष्ठापुर्ण समर्पणको लागि तयार बनाउछ। त्यसले म भन्छु, आउ सबैले एकसाथ भनौं:- * महान् जनयुद्ध- जिन्दावाद ✊ * महान् सहिद तथा वेपत्ता योद्धाहरू- लाल सलाम ✊ * जनक्रान्तिका घाइते तथा अपांग योद्धाहरू र सम्पुर्ण क्रान्ति योद्धामा- लाल सलाम ✊ * सहिद तथा वेपत्ता योद्धाका परिवारजनमा- हार्दिक नमन 🙏 * गणतन्त्र नायक अध्यक्ष क. प्रचण्ड लाल सलाम
रोजगारी सिर्जना गर्न उद्योगी, व्यवसायीलाई श्रममन्त्रीको आग्रह
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले देशमा रोजगारीको ठूलो समस्या रहेको बताएका छन्। रोजगारी सिर्जना गर्न उद्योगी, व्यवसायीसँग उनले आग्रह गरेका छन् । शनिबार जनकपुरमा श्रमाधान मेलाको उद्घाट गर्दै उनले यस्तो बताएका हुन्। देशभरको तुलनामा मधेस प्रदेशमा रोजगारीको समस्या विकराल रहेको उनले उल्लेख गरे। उनले रोजगारीको खोजीमा युवापुस्ता भौँतारिरहेको बताए । यस्तो अवस्थालाई हेरेर स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए। उनले मेलाले श्रमिक र रोजगारदाताका समस्या, आवश्यकताबारे बुझ्ने र दीर्घकालीन रूपमा श्रम क्षेत्रका समस्या सामधानका निम्ति महत्न्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। मन्त्री अर्यालले देशको युवापुस्ता बाध्य भएर वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था रहेको बताए। देशको श्रमबजारको आवश्यकताअनुसार सीप सिकेर अवसरको सदुपयोग गर्न उनले आग्रह गरे।
कार्यदलसहित शीर्ष नेताबीचको सहमति कांग्रेसले गर्यो अनुमोदन
काठमाडौं । नेपाली कांग्रेसले सोमबार बालुवाटारमा कार्यदलसहित शीर्ष नेताहरूबीचको बैठकमा भएको ‘सहमति’ अनुमोदन गरेको छ। आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकबाट सहकारी बचत अपचलन प्रकरणबारे बालुवाटारमा भएको सहमति अनुमोदन गरिएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।कार्यादेश तय गर्न गठित कार्यदलले त्यसलाई अन्तिम रूप दिने लेखकले जानकारी दिए। पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा उपस्थित हुन नसकेकाले राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बैठक बसेको उनले बताए।
गिरीबन्धु टिस्टेटको जग्गा बेच्ने ओली हुन् : देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरीबन्धु टि—स्टेटको जग्गा बिक्री नेपाली कांग्रेसको पालामा नभएको बताएका छन्। बिहीवार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अदालतले फैसला गरेपछि गिरीबन्धु टि(स्टेटको निर्णय कांग्रेसको पालामा भएको कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भनेका कुरा बाहिर आएको भन्दै उनले आफ्नो पालामा भएको निर्णयलाई हो भन्न किन आपत्ति ? भन्दै प्रश्न गरे। उनले गलत कुरा केपी ओली सरहको नेताले भन्न नसुहाउने बताए। उनले केपी ओली सरहको नेताले नभएको आरोप लगाउन नहुने बताए। बुधबार एमाले अध्यक्ष ओलीले कांग्रेसले गिरीबन्धु टि—स्टेटको जमिन कमिसनमा बेच्न दिएको आरोप लगाएका थिए। पार्टी संसदीय दलको बैठकमा अध्यक्ष ओलीले कांग्रेस नेतृत्वको तत्कालीन सरकारले १९ विगाहा र ५१ विगाहा टि स्टेटको जमिन कमिसन खाएर बेच्न लगाएको आरोप लगाउँदै छानविन गर्नुपर्ने मागसमेत गरेका थिए। उनले कांग्रेसले गरेका बद्मासीबारे एमाले चुप लागेर बस्ने पक्षमा नरहेको पनि बताएका थिए। ओलीले तत्काल संसद बैठक सुचारु गराउन पनि कांग्रेसलाई दबाब दिए। कांग्रेसले गरिमामय संसद र देशको बहुमूल्य समय खेर फाल्ने गरी संसद अवरुद्ध गर्न नहुने ओलीको जिकिर थियो। उनले भनेका थिए, ‘म भन्न चाहन्छु–५१ बिघा र १९ बिघा गरेर ७० बिघा जमिन त्यही गिरीबन्धु टि स्टेटको कमिसन खाएको बेच्न दिएको कुरा। यसमा छानविन हुनुपर्छ। अब हामी नेपाली कांग्रेसले बकवास बोलिरहने र हामी चुप लागेर सुनिरहने होइन। नेपाली कांग्रेसका गरेका बद्मासीहरुको बारेमा हामी कुरा उठाउँछौं। हामीले सुनिरहनुपर्ने, कांग्रेस कराइरहनुपर्ने हुन्छरु पार्लियोमेण्ट भनेको त्यही हो ? हामी सुनिरहने, कांग्रेस कराईरहने रु यो चल्दैन । अब कांग्रेसका बकवास सुनिरहन हामी तयार छैनौँ।' अध्यक्ष ओलीले एमालेमाथि लाञ्छना लगाउने प्रयास नगर्न पनि कांग्रेसलाई चेतावनी दिएका थिए।
नेपाल र जापानका परराष्ट्रमन्त्रीबिच भेटवार्ता
काठमाडौँ। उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहनुभएका जापानका विदेशमन्त्री खामिखावा योकोबिच भेटवार्ता सम्पन्न भएको छ । परराष्ट्रमन्त्रीस्तरीय प्रतिनिधिमण्डलबिच आइतबार मन्त्रालयमा भएको वार्तामा द्विपक्षीयसम्बन्ध र सहयोगलाई थप सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिए। भेटवार्तापछि सञ्चारकर्मी कुरा गर्दै उनले नेपाल र जापानबिचको द्विपक्षीयसम्बन्धलाई थप मजबुत बनाउने र आर्थिक सहयोगात्मक सम्बन्धलाई फराकिलो बनाउनेसम्बन्धमा छलफल भएको बताए। “दुवै प्रतिनिधिमण्डलबिच विभिन्न अन्तर्राष्ट्रिय मामिलाका विषयमा पनि छलफल भयो”, उपप्रधानमन्त्री श्रेष्ठले भने। जापानी विदेशमन्त्री खामिखावाको औपचारिक सद्भाव भ्रमणभएकाले वार्तामा कुनै पनि विषयमा सम्झौता वा समझदारी नभएको उनले स्पष्ट पारे। विदेशमन्त्री खामिखावा उपप्रधानमन्त्री श्रेष्ठको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि आज दिउँसो काठमाडौं आइपुगेकी हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेकी थिइन् । जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो । भ्रमणका क्रममा उहाँले यसअघि काठमाडौँ दरबार क्षेत्रको अवलोकन गरेका थिए । उनले आजै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठले उनको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन्। विदेशमन्त्री खामिखावा भ्रमण सम्पन्न गरी आजै राती नेपाल वायु सेवाको विमानमार्फत जापानका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ। रासस
लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार सूचनाको हक हो : राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार सूचनाको हक भएको बताएका छन् । “लोकतन्त्रमा शासन प्रणालीलाई पारदर्शी तथा जबाफदेही बनाउने, बेथिति अन्त्य गर्ने, सुशासन कायम गर्ने, लगानीको सदुपयोग गरेर जनतामा सेवा प्रवाह अभिवृद्धि गर्ने र यही व्यवस्थामा मात्र मेरो भविष्य सुरक्षित हुन्छ भनेर लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार सूचनाको हक हो”, राष्ट्रपति पौडेलले राष्ट्रिय सूचना आयोगको १७ औँ स्थापना दिवसका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् । “विकास निर्माणमा नेपाली जनताको अर्थपूर्ण सहभागिता लोकतन्त्र सुदृढीकरणका लागि अत्यन्त आवश्यक छ, यसका लागि पारदर्शिता नै मुख्य विषय हो, जुन सूचनाको हकले नै प्रत्याभूत गर्नेछ”, उनले भने। लोकतन्त्रको संस्थागत विकास, सुशासन प्रवर्धन तथा विकास निर्माणमा जनताको अर्थपूर्ण सहभागिताका लागि महत्त्वपूर्ण माध्यमको रूपमा रहेको सूचनाको हकको कार्यान्वयन थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए । उनले सूचनाको हकले नागरिकको सशक्तीकरण मात्र होइन सरकारलगायत सबै सार्वजनिक निकायलाई जिम्मेवार पनि बनाउने बताए । साथै सरकारले गरेका काम, कारबाहीबारे जनतालाई सुसूचित पनि गराउने उनले बताए। जनताले आफूले तिरेको कर कहाँ, कसरी खर्च भइरहेको छ भनेर जान्न पाउने उनीहरूको स्वाभाविक हक पनि भएको राष्ट्रपति पौडेलको भनाइ थियो । संविधानको व्यवस्थाअनुसार सूचनाको हकसम्बन्धी ऐन २०६४ जारी भई अहिले कार्यान्वयनमा आएको छ । लोकतन्त्र सार्वभौम नागरिक र नागरिकको स्वतन्त्रताको सर्वोच्चता स्थापित गर्ने दर्शनबाट अभिप्रेरित व्यवस्था हो भन्दै राष्ट्रपति पौडेलले सुसूचित नागरिक मात्रै सर्वशक्तिमान् हुन्छ र उसको स्वतन्त्रताको सर्वोच्चता स्थापित हुन्छ भन्ने मूल मान्यता र दर्शनका आधारमा लोकतान्त्रिक व्यवस्थामा जनतालाई शासन प्रणालीबारे सबै सूचना जान्न पाउने मौलिक हकको व्यवस्था गरिएको बताए। संविधानको धारा २७ ले प्रत्येक नेपाली नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने मौलिक हकको व्यवस्था गरेको छ । उनले कानुन कार्यान्वयन भएको यो अवधिमा आयोग तथा सूचनाको हकका अभियन्ताहरूको अथक मेहनत र सार्वजनिक निकायका पदाधिकारी तथा कर्मचारीहरूको आफूलाई रूपान्तरण गर्दै लैजाने सोचबाट यसको कार्यान्वयनमा सन्तोषजनक अवस्था देखिए पनि संविधान र कानुनले राखेको पवित्र उद्देश्य पूरा हुने अवस्था अझै नबनिसकेको उनले बताए । “ अझै पनि कैयौँ नेपाली जनता आफ्नो यो मौलिक हकबारे अनभिज्ञ छन्, यसका लागि सूचनाको हकको प्रभावकारी कार्यान्वयन जरुरी छ र यसमा आपूर्ति पक्ष जति संवेदनशील हुन आवश्यक छ, त्यो भन्दा बढी जनता आफैँ आफ्नो अधिकार प्राप्त गर्न तयार देखिउन् भनेर उनीहरूमा जागरण ल्याउन अत्यन्त आवश्यक छ भन्ने मलाई लाग्दछ”, राष्ट्रपति पौडेलले भने । संविधानको मर्म र कानुनको व्यवस्थाअनुसार स्थापित आयोगले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको अवस्थामा आज मात्र ४ वटा राष्ट्र भाषा मैथिली, अवधि, थारु र भोजपुरीमा प्रकाशित सूचना मागकर्ताका लागि सहयोगी पुस्तिकाका कारण बहुसङ्ख्यक नेपालीमाझ सूचनाको हक पुर्याउन सहयोग पुग्ने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गरे । उनले यसै गरी थप राष्ट्रभाषाहरूमा पनि यस्तो प्रकाशन गर्नु आवश्यक रहेको धारणा व्यक्त गरे । “सूचनाको हकको नियामक निकायका रूपमा स्थापित सीमित साधन, स्रोत भएको आयोगबाट नागरिकमा आफ्नो अधिकारको प्रयोगको जागरण ल्याउने तथा कानुनको प्रभावकारी कार्यान्वयनको सबै जिम्मेवारी हो भन्ने ठान्नु उपयुक्त हुँदैन, यसका लागि सरकारको गम्भीर ध्यान जान जरुरी छ”, उनले भने । स्वाभाविक रूपमा सबै सूचना सार्वजनिक हुँदैनन् र कानुनमा व्यवस्था भएका अति संवेदनशील पाँच प्रकारका सूचना संरक्षण गरेर राखिने विषयहरू पनि जनताकै हितका लागि हुन् भन्ने हामीले बिर्सन नहुने उनले उल्लेख गरे ।
जुम्लाका स्याउ बगैँचा सेताम्मे
जुम्ला । जुम्लाका स्याउ बगैँचा सेताम्मे भएका छन् । स्याउका बोटमा फूल लाग्न थालेपछि बगैँचो सेताम्मे भएका हुन् । कर्णाली राजमार्गमा रहेका स्याउका बगैँचा फूलले सेताम्मे भएपछि आन्तरिक पर्यटनका लागि फोटो तथा भिडियो खिच्ने र थकाइ मार्ने थलो बनेका छन् । तिला गाउँपालिका–१ का स्याउ किसान महेन्द्र बुढाले स्याउ बगैँचा फुलेर सेताम्मे भएपछि आकर्षक देखिएको बताए । स्याउका बोटमा राम्रोसँग फूल लागेपछि उत्पादन पनि राम्रो हुने अपेक्षा गरिएको उनको भनाइ छ । जिल्लैभरका स्याउका बगैँचा सेताम्मे भएपछि यहाँको वातावरण रोमाञ्चक देखिएको छ । चैत–वैशाख स्याउका बोटमा फुल लाग्ने याम हो । यो स्याउ भदौसम्म पाकिसक्छ । तिला–१ स्थित रारामा रहेको पातिहल्ला स्याउ बगैँचा समूहका सचिव गोरीकला बुढाले बगैँचालाई आवश्यक मलको उचित प्रयोगदेखि सिँचाइ व्यवस्थापनमा किसान लागेको बताइन् । सामूहिकरूपमा स्याउ बगैँचा गर्दा सम्बन्धित निकायबाट अनुदान लिन सहज भएको उनको भनाइ छ । पातिहल्ला स्याउ बगैँचामा करिब चार हजार स्याउका बिरुवा छन् । अहिलेसम्म दुई हजार बिरुवाले फल दिन थालिसकेका छन् भने एक वर्षभित्र सबै बिरुवाले फल दिने समूहका सचिव रावतको भनाइ छ । जुम्लाका विभिन्न पालिकाका ६० वटै वडामा स्याउ फल्ने गरेको छ । माघदेखि स्याउ बिरुवाको रेखदेख, मलखाद व्यवस्थापनलगायतका काममा किसानलाई चटारो छ । स्याउका बिरुवा फुलेपछि बगैँचामा अधिकांश किसान सिँचाइ व्यवस्थापनमा लागेका छन् । स्याउ फुलेकाले यसवर्ष लटरम्म फल्ने आशा जुम्ली किसानको छ । जिल्लाका १८ हजार घरधुरीमध्ये करिब १६ हजार घरधुरी स्याउखेतीमा संलग्न छन् । कृषि विकास कार्यालयका अनुसार अहिले चार हजार दुई सय ५० हेक्टर जमिनमा स्याउखेती भइरहेको छ । कार्यालयका सूचना अधिकारी शेरबहादुर भण्डारीले जानकारी जुम्लामा गोल्डेन, रेड, रोयल, जोनाथान र ओरेन्ज टिपिन, म्याकन्जलगायत जातका स्याउ उत्पादन हुने गरेको बताए ।
विकल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दर्ता
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । विकलविरुद्ध यसअघि नै सुरक्षण मुद्रण केन्द्रमा अनियमितता गरेको आरोपमा दायर भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन छ । उनले आफ्नो ओहोदा ढाँटेर सार्वजनिक पद लिएको आरोपमा उनीविरुद्ध अर्को मुद्दा दायर भएको हो । अमेरिकाको पीआर लिइसकेपछि नेपालको सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक बनेको उनीमाथि आरोप छ । गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा पक्राउ परेका पौडेललाई विशेष अदालतको अनुमतिमा म्याद थप गरेर अख्तियारले अनुसन्धान गरिरहेको छ ।
कोशीका मुख्यमन्त्री कार्कीले भने -'मेरै नेतृत्वमा सर्वदलीय सरकार बनाऔं'
विराटनगर ।कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफू पार्टीको लेटरप्याड र झण्डामा मुख्यमन्त्री नबनेको बताएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा संकल्प प्रस्तावमाथि उठेका प्रश्न र जिज्ञासाको जवाफ दिँदै उनले आफूले ‘रिस्क’ लिएकै कारण कोसी प्रदेशमा संवैधानिक संकट टरेको दाबी समेत गरेका छन्। संविधानको धाराअनुसार सरकार चल्ने र आफू त्यसभन्दा पर नजाने कार्कीले बताए। “म मुख्यमन्त्री बन्दा मेरो पार्टीको बहुमत फरक थियो । एक तिहाइले मात्र सही गरेको हो । एकबाट ८ र ८ बाट ४७ अनि त्यो बढेर ८६ भएको हो । मलाई मुख्यमन्त्री बनाउँदा र समर्थन दिँदा बहुमत खोजिएन । सिंगो १६८ को उपधारा ५ को व्याख्या गरियो । राजीनिक स्थिरताको लागि प्रदेशको संरचना बढाउन सर्वसम्मतिको सर्वदलीय सरकार बनाऔं”, मुख्यमन्त्री कार्कीले भने । आफूलाई मध्यावधि रोक्नकै निम्ति मुख्यमन्त्री प्रस्ताव गरिएको र त्यही विषयमा अहिले सदनमा छलफल गर्नु उपयुक्त नभएको जिकिर कार्कीले गरेका छन्।
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे छलफल हुने
काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति जयन्तीदेवी राईले स्थानीय तहको कानुन निर्माण प्रक्रिया एवं अभ्यास सम्बन्धमा स्थलगत अध्ययन, अनुगमन एवं अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८० सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ । यसैगरी, आगामी आर्थिक वर्ष २०८१–८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल हुने सम्भावित कार्यसूची रहेको छ ।
लेखराजबाहेक अरू पूर्वमाओवादी नेतासँग रुष्ट ओली क्याम्प, फर्केर जान चेतावनी
काठमाडौं : आफ्नो पक्षमा देखिएका पूर्वमाओवादीहरुका कारण केपी शर्मा ओली तथा उनको समूह तनावमा परेको छ । पूर्वमाओवादीबाट गएकाहरूले सम्मानजनक स्थान खोज्न थालेपछि केपी ओली पक्ष रुष्ट बनेको हो । विश्वस्त श्रोतका अनुसार, पूर्वमाओवादी गएका नेताहरूले प्रचण्डलाई छोड्नुको अर्थ विलय र आत्मसमर्पण नखोजेको बरू संगठनमा सम्मानजनक उपस्थिति खोजेको भन्दै ‘बार्गेनिङ’ गर्न थालेपछि ओली पक्षलाई अप्ठ्यारो परेको हो । “एक त बादललाई केपी कमरेडपछिको नेता मान्नुपर्ने, अर्कोतर्फ त्यही बादलका मान्छेहरू बार्गेनिङ गर्ने ?” केपी ओलीनिकट एक स्थायी समितिले एभरेष्ट दैनिकसँग भने, ‘जिल्लादेखि केन्द्रसम्म यसरी भाग खोज्न थालेपछि उनीहरू हामीलाई किन चाहियो ? बस्ने भए हामी मातहत बस्नुपर्यो, भागै खोज्नेभए प्रचण्डकहाँ फर्के हुन्छ ।” प्रधानमन्त्री केपी ओलीले समेत पूर्वमाओवादीका नेताहरूले बढी किचकिच गर्न खोजे फिर्ता पठाइदिने धम्की दिन थालेका छन् । मंगलबार केपी ओलीसँग भेट्न गएको एक प्रतिनिधिमण्डलसँग केपी ओलीले पूर्वमाओवादीका नेताहरूका कारण आफ्नै समर्थकहरू बिच्किन थालेको गुनासो गरेका थिए । “लेखराज र उनीसँग आएका मान्छेहरूले खासै किचकिच गरेका छैनन् ।” ओलीको भनाई उद्दृत गर्दै केपीसँग भेट गरेका ती नेताले भने, ‘तर अरू नेताहरूले भने त्यतिखेर प्रचण्डको रिसले निशर्त समर्थन गर्ने अहिले आएर अनावश्यक बार्गेनिङ गरे । मलाई कोही नभए पनि हुन्छ, म एक्लै पार्टी हाँक्न सक्छु ।” केपी पक्षले शुरुमा विभिन्न पद र प्रलोभन दिएर पूर्वमाओवादी र माधव नेपाल पक्षका कतिपय नेता तथा कार्यकर्तालाई केन्द्रीय सदस्य बनाएपनि पछिल्लो समयमा प्रतिनिधि सभा पुनर्स्थापना हुने सम्भावना बढ्दै गएपछि र भूमि आयोगलगायतमा नियुक्ति गर्ने सन्दर्भममा केपी निकटको सिफारिसका आधारमा पूर्वसहमति विपरित नियुक्ति भएपछि आन्तरिक किचलो झनै चुलिएको छ । केपीलाई समर्थन गर्न पुगेको पूर्वमाओवादी निकट र केपीले केन्द्रीय सदस्य बनाएका एक नेता भन्छन, ‘केपीलाई समर्थन गरेको दुई हप्ता नबित्दै त यसरी पेलिरहेका छन् भने भोलि चुनावसम्म पुग्दा त के होला भन्ने चिन्ता छ । कतिपय साथीहरू अहिले यता भएपनि सबै असुरक्षित भएका छन् ।” तर, प्रचण्ड-माधव पक्षका कतिपय असहष्णिु नेताका कारण यसरी असन्तुष्ट भएकाहरूमध्ये कतिपय भने तत्कालै फर्किन धकसमेत मान्न थालेका छन् । ‘केपीवालाहरूको पारा देखेर यता बस्न त फिटिक्क मन छैन तर उताकाले पनि हामीलाई झन होच्याउन थालेपछि संकटमा परेका छौं ।” एक पूर्वमाओवादी जिल्ला अध्यक्षले भने, ‘तर यता बस्ने पनि अवस्था छैन, हेरौं, केही समयपछि के हुन्छ ?” यतिखेर सुदूरपश्चिममा लेखराज भट्टका समर्थकहरूमध्ये कतिपयले केपीलाई पूर्णरूपमा समर्थन गरे पनि बादल, टोपबहादुरलगायतका नेताहरूका समर्थक भने अहिले केपी छोड्नुपर्ने लबिङमा लागेका छन् । त्यसो त नेता लेखराज भट्ट निकटमध्ये कतिपयले केपी पक्ष छोडिसकेको अवस्था छ । कतिपयलाई तत्कालको लाभ र विगतका कतिपय मुद्दा बल्झिने डरले केपीको साथ दिनुपर्ने बाध्यता भए पनि ढिलोचाँडो मूलधारमा नै फर्किने प्रचण्ड-माधव समूहका नेता बताउँछन् ।