मलेसियमा पनि कोरियामा मोडेलमा कामदार पठाउने तयारी

काठमाडौं, साउन १५ । नेपाली कामदारलाई अहिले मलेसिया जान रोक लगाइएको छ । यो नेपाल सरकारले रोकेको छ। वैदेशिक रोजगारीका क्रममा मलेसिया जादाँ नेपालीहरूले धेरै शुल्क तिर्नुपरेका भन्दै सरकारले अर्को व्यवस्था नभएसम्मका लागि भन्दै मलेसिया कामदार पठाउन रोक लगाएको हो ।

शुरुमा विरोध गरिएपनि यस विषयमा अहिले व्यापक छलफल गरिएको छ । र छलफलले नयाँ उचाइ लिएको छ । नेपालले वैदेशिक रोजगार सुझाव कार्यदल बनाएको थियो । जसले विदेशिने कामदारलाई ठगिनबाट जोगाउन र आर्थिक भारलाई ‘शून्य’ मा झार्न सरकारलाई नयाँ सुझाव दिएको छ ।

आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई बुझाइएको प्रतिवेदनमा कामदारलाई आर्थिक भार पनि नथोपरिने र नठगिने वातावरण तयार गर्न केही महत्त्वपूर्ण सुझाव समेटिएका बताइएको छ ।

यसको दबाब मलेसिया सरकारसम्म पनि पुगेको छ। नेपाली कामदार जान रोकिएसँगै त्यहाँ सुरक्षा गार्डको अभाव भइरहेको भन्ने समाचार आइरहेका छन्। जसको कारण मलेसिया सरकार पनि यो विषयलाई जतिसक्दो चाँडो टुङ्गो लगाउन चासो व्यक्त गरेको छ ।

साथै उसले नेपाली कामदारका समस्याका बारेमा आफू जानकार रहेको बताउँदै त्यहाँ मानव संसाधन मन्त्रीले नेपालका यसअघिको कामदार नपठाउने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ । र समस्या समाधानका लागि सरकारी तबरबाट काम गर्न सकिने बताएको छ ।

ब समाधान के हुन्छ त ?
कसरी मिलाउन सकिएला यो विषय। दुईवटा विकल्प छन्। एउटा फ्री भिसा फ्री टिकट प्रक्रियालाई हटाएर ‘इम्प्लोयर्स पे मोडल’ को प्रयोगलार्इ प्रभावकारी गर्ने अर्को कोरियामा नेपाली कामदार पठाए जस्तै जिटुजी व्यवस्थामार्फत सरकारी तबरबाटै कामदार पठाउने। दुवैको उद्देश्य एउटै हो, नेपाली कामदारको सुरक्षा र काम अनुसारको प्रभावकारी तलब सुविधा।

इम्प्लोयर्स पे मोडल किन ?

अहिले कार्यान्वयनमा रहेको ‘फ्री भिसा र टिकट’ को मोडलका कारण बढिरहेको कामदार ठगिने क्रम रोक्न यो व्यवस्थामा नेपाली कामदार लैजाने मुलुकका रोजगारदाताले लाग्ने सबै खर्च आफैँले पठाउनुपर्छ । त्यसैले ‘कामदारले पैसा तिर्नु पर्दैन ।

बिचमा कुनै दोस्रो निकायले खेल्न र ठग्न सक्दैन।

श्रीलंकामा यो मोडल सफल छ।

जी टु जी भएमा के फाइदा ?

कोरियामा नेपाली गएको जस्तै सरकारी तबरबाट कामदार पठाउने व्यवस्था भएकाले यो अरू व्यवस्थाभन्दा धेरै सुरक्षित छ।

विदेशमा पाउने तलब र सुविधा त्यहाँको सरकारले तोकेको बमोजिम नै हुन्छ।

नेपालीहरूले अहिले पाइरहेको तलब भन्दा धेरै तलब हुन सक्छ।

पहिले पार्टी एकताको मार्गचित्र, अनि सरकार गठन : वर्षमान पुन

काठमाडौं। पुस ४ । सभामुख ओनसरी घर्तीले बालुवाटारस्थित सभामुख निवास छाडेर ‘रामकृष्ण आश्रम’ लेखिएको नयाँ घरमा डेरा लिएकी छिन् । सभामुखका पति एवं माओवादीका प्रभावशाली नेता वर्षमान पुनलाई भेट्न हामी सोही नयाँ डेरामा पुग्दा नवनिर्वाचित सांसद पुनलाई बधाइ दिन एकाबिहानै गृहसचिव मोहनकृष्ण सापकोटा त्यहाँ पुगेको पाइयो । वामपन्थीहरुले सरकार बनाउन लागेको संकेत पाउनासाथै अहिले एमाले र माओवादी नेताका निवासमा कर्मचारीहरुको दौडधूप बाक्लै देखिन थालिसकेको छ । तर, हामीले माओवादी नेता पुनसँग यस विषयमा कुरा गरेनौं । बरु, एमाले(माओवादीवीचमा देखा पर्न थालेको नेतृत्वसम्बन्धी विवाद, अनि मधेस र कांग्रेसलाई हेर्ने माओवादीको दृष्टिकोणका बारेमा छोटो कुराकानी गर्‍यौं । कुराकानीका क्रममा पुनले मधेसी जनताले मधेसको मुद्दालाई अनुमोदन गरेको बताए । साथै कांग्रेसलाई पनि निर्वाचनले बलियो पार्टीका रुपमा स्थापित गरेको भन्दै उनले कांग्रेससँग सम्मानजनक व्यवहार गर्नुपर्ने बताए । पुनले स्पष्ट शब्दमा त भनेनन्, तर राष्ट्रपतिले अडकाएर राखेको एकलसंक्रमणीय मत प्रणालीसहितको राष्ट्रियसभा सम्बन्धी अध्यादेश पारित गर्दा कुनै फरक नपर्ने संकेत गरे । पुनले भने, ‘लोकतान्त्रिक अभ्यासमा विपक्षी महत्वपूर्ण हुन्छ, ऊसँग पनि जनमत छ ।’ पार्टी एकताका सन्दर्भमा कुरा गर्दै पुनले पहिले एकताको मार्गचित्र बनाएपछि सरकार गठन गरिनुपर्ने माओवादीको लाइन प्रस्ट्याए । एमालेभित्र के–कति गुटहरु छन् भन्ने आफूहरुलाई थाहा नभएको भन्दै उनले एकीकृत पार्टीलाई गुटहरुको महासंघ बन्न नदिइने बताए । माओवादी नेता पुनसँग गरिएको कुराकानीः तपाईहरु देशमा राजनीतिक स्थिरता चाहियो, स्थिरता चाहियो भन्दैहुनुहुन्थ्यो, जनताले वामपन्थीलाई बहुमत दिएका छन् । अब पाँच वर्षसम्म स्थिर सरकार बन्ला त ? यसपालिको चुनावमा जनताले स्थिरता र समृद्धिका लागि मत दिएका हुन् । वामपन्थी एकताको एजेण्डालाई अनुमोदन गरेका हुन् । वामपन्थी मतदाता र कार्यकर्ताहरुले पार्टी एकता गर्न र शक्तिशाली कम्युनिष्ट पार्टी निर्माणका लागि जनताले मत दिएका हुन् । त्यसैले हामी टुटफुटमा गएको कम्युनिष्ट आन्दोलनलाई सामान्य पार्टी एकता मात्रै नभएर यो लामो श्रृंखलाबाट आएको धारको एकता गर्न लागिरहेका छौं । र, यो जनताकै तर्फबाट अनुमोदन भएको छ । अर्कोतर्फ, नेपालको राजनीतिक इतिहासमा कुनै पनि सरकार पाँच वर्ष टिकेको छैन । यो अवस्थालाई अन्त्य गर्दै राजनीतिक स्थायित्व, विकास र समृद्धितिर देशलाई लानका लागि जनताले हामीलाई म्यान्डेट दिएका छन् । हामी जनताको यही म्यान्डेटलाई आत्मसाथ गरेर जिम्मेवारीवोधका साथ अघि बढ्छौं । तर, चुनाव नसकिँदै एमाले र माओवादीभित्र एकल नेतृत्व कि बहुल नेतृत्व भन्ने विवाद सुरु भइसकेको छ । एमाले महासचिव ईश्वर पोखरेलले एकल नेतृत्व भन्नुभो, माधव नेपालले बहुल नेतृत्व भन्दै हुनुहुन्छ । माओवादीको भनाइ प्रधानमन्त्री र पार्टी अध्यक्षमा भागवण्डा हुनुपर्ने भन्ने छ । यही पाराले तपाईहरुले पाँच वर्षसम्म स्थिर सरकार चलाउनुहोला ? विभिन्न नेताका विभिन्न भनाइ आएका छन् । यसमा हामीले प्रतिक्रिया दिने भन्दा पनि पार्टी एकता संयोजन समिति बनेको छ, त्यसमा छलफल हुन्छ । र, अहिले को नेता के हुने भन्ने प्राथमिकता भन्दा पनि पार्टी एकता गर्नुपर्छ भन्ने जनताको मूल म्यान्डेट पूरा गर्नेतिर केन्द्रित हुनुपर्छ । स्वाभाविकरुपमा पार्टी एकतामात्रै नभएर यो दुईवटा धारहरुको एकता पनि हो । दुईधारवीच एकता र समायोजनको कुरा गर्दा राजनीतिक, वैचारिक कुरा उठ्छन् । संगठनात्मक कार्यशैली, पद्दति र नेतृत्वका कुराहरु उठ्छन् । यसलाई छलफलको माध्यमबाट टुंगो लगाउनुपर्छ । मुख्य कुरो विचार, राजनीति, संगठन, आन्दोलन एवं जनताको भावना हो । जनताले मिल, अलग धारा होइन, अब एउटै धाराप्रवाह बनाएर देशको समृद्धि र समाजवादमा जाने आधार बनाऊ भनेका छन् । यहाँका गरिब, उत्पीडित क्षेत्र, जाति, लिंग, समुदाय र वर्गका लागि काम गर भन्ने मूल म्यान्डेट जनताले लिएका छन् । त्यही मूल म्यान्डेट अनुसार नै जिम्मेवारीपूर्वक हामीले काम गर्नुपर्छ । पेरिसडाँडामा बसेको माओवादी बैठकले पार्टी एकता र सरकार गठन सँगसँगै हुनुपर्ने निश्कर्ष निकाल्यो भन्ने खबरहरु आएका छन् । बैठकको खास निश्कर्ष के हो ? दुईवटा विशाल कम्युनिष्ट पार्टीहरु र धाराहरुको एकता र गठबन्धन नेपालको वामपन्थी राजनीतिको नयाँ प्रयोग हो । विगतमा तालमलेहरु हुन्थे, सरकारमा गठबन्धनहरु हुन्थे, तर यो तहको एकताको उद्देश्य राखेर निर्वाचनपूर्वको गठबन्धन प्रयोगमा थिएन । त्यसैले यो के हुन्छ भन्ने नै थियो, तर चुनावमा जनताकै तहबाट अनुमोदन भयो । अब कसैले पनि एकताबाट दायाँवायाँ गर्नुहुँदैन । किनकि जनताले मिल भनेका छन् । मिलेर शक्ति निर्माण गर र देशको स्थायित्व, समृद्धि र स्वाधीनताका लागि, देशको गौरवका लागि काम गर भनेका छन् । यसलाई हामीले प्राथमिकता दिनुपर्छ । यसैले गर्दा सरकार गठन, को प्रधानमन्त्री हुने र को मन्त्री हुने र कति मन्त्रालय बाँड्ने भनेर प्राविधिक कुरोतिर होइन कि विचार, राजनीति र संगठनमा बहस गर्दै दुईवटा धाराहरुलाई एकीकृत गरेर शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण गर्ने मोटामोटी खाका बनाउनुपर्छ । कस्तो खाका ? नेतृत्वको श्रृंखला यसरी हुन्छ, एकताको प्रक्रिया यसरी लगिन्छ, विचार राजनीतिको मूल खाका यो हुन्छ भन्ने कुराको टुंगो गरेर सँगसगै सरकार बनाऔं भन्न खोजिएको हो । हामीले जनताको मेहनत र म्यान्डेटलाई मन्त्रीको भागवण्डा र सरकारतिरमात्रै हेरियो भने सामान्य सरकार र मन्त्रीको तानातानतिर जान्छ । त्यसैले पार्टी एकतालाई एकदम गौण र प्राविधिक कुरोतिर लानुहुँदैन । यसको मतलव, पार्टी एकताको मार्गचित्र स्पष्ट पारिसकेपछि मात्रै सरकार गठन गरिनुपर्छ भन्ने माओवादी बैठकको स्पिरिट हो ? पार्टी एकताको मार्गचित्र तयार गर्ने र सरकार सञ्चालन, स्थायित्व र देशको समृद्धिको मार्गचित्र पनि तयार गरेर जाने भन्ने हो । यसो गर्दा पार्टी एकताको प्रक्रिया पनि अघि बढ्दैगर्छ र सँगसँगै सरकार पनि बन्दैगर्छ भन्ने ठानिएको हो कि ? निश्चय नै । यसरी पार्टी एकता गर्न कति समय लाग्ला ? एकता प्रक्रियाले केही समय लिन्छ । तर, एउटा मार्गचित्र बनाइसकेपछि त्यो चित्रमा अगाडि बढ्छ । सरकार अब छिटै बन्छ र सरकारले काम सुरु गर्छ । तपाईहरु एमालेमा मिसिन लाग्नुभएको छ । तर, एमालेभित्रै दुई गुटहरु छन्, एउटा केपी ओली गुट र अर्को माधव नेपाल गुट । तपाईहरुचाहिँ कुन गुटसँग बढी नजिक हुनुहुन्छ रु माधव नेपाल पक्षका नेताहरु सधैं ओली पक्षबाट अन्यायमा पर्‍यौं भनिरहनुभएको छ । तपाईहरु गएपछि त्यहाँ के होला ? मान्छेहरुले त्यसो पनि भन्छन् । त्यहीँ (एमालेभित्रै) नै त्यत्रो मारामार छ, तपाईहरु गएर फेरि अर्को मार खाने रु यसो भन्नेहरु पनि छन् । तर, हामीले त्यसरी हेरेका छैनौं । जनताले नेपालको कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर, ध्रुवीकृत गर र शक्ति निर्माण गर भनेका छन् । कम्युनिष्ट र वामपन्थी शक्तिहरुले देशको नेतृत्व लिनुपर्छ भन्ने जनताको म्यान्डेट छ । यसलाई आत्मसाथ गरेर हामीले पार्टी एकीकरण गर्ने हो । हामीलाई थाहा छैन, एमालेमा गुट छ कि छैन । त्यहीँ गएर थाहा होला । त्यहाँ विभिन्न विचार समूहहरु भए पनि त्यसमा हामीले खेल्ने होइन कि सबैमा बहस गरेर अहिलेको राष्ट्रिय आवश्यकता अनुसार विचार, राजनीति र संगठनमा केन्द्रित भएर शक्ति निर्माण गर्ने हाम्रो भूमिका रहन्छ । अब बन्ने एकीकृत पार्टीलाई गुटहरुको महासंघ बनाउन दिनुहुन्न ? अँ । गुटहरुको महासंघ, स्वार्थ समूहहरुको महासंघ, बन्न दिने हाम्रो कुनै ईच्छा छैन । त्यसले इतिहासको आवश्यकता पनि पूरा गर्दैन । नेताहरुले व्यक्तिगत लाभ खोज्ने हो भने त जति सानो ग्रुप बनायो, मन्त्री पाइहालिन्छ । पालो(पालो प्रधानमन्त्री पनि पाइहालिन्छ । पार्टी एकता गर्नु भनेको त आफ्नो व्यक्तिगत महत्वाकांक्षाहरु त्याग गर्नु हो । आफ्ना जिम्मेवारीहरु त्याथ गर्नु हो । त्यसैले अहिले कसले कुन पद पाउने कि नपाउने भन्दा पनि कसले कुन पद त्याग गर्ने भन्ने हो । नत्र त दुबैका लागि अध्यक्ष पद छँदैछ नि । प्रधानमन्त्री भएकै नेताहरु हुन् । हामी पनि आ(आफ्नो पार्टीमा बरिष्ठ नेता भएर बसेकै छौं । भोलि एकता गर्दाखेरि त जिम्मेवारी थोरै हुन्छन्, यी जिम्मेवारीहरु त छुट्छन् । यस्ता महत्वाकांक्षाहरु त्याग गर्न तयार भएपछि मात्रै अहिलेको इतिहासको आवश्यकता र जनताको भावनाको सम्वोधन हुन्छ । र, त्याग गर्नकै लागि हामीले पार्टी एकता गरेका हौं । केही पाउनका लागि होइन । आआफ्नो पोजिसन त्यागेपछि मात्रै एउटा सुदृढ शक्ति निर्माण हुन्छ र नेपाली जनता र देशले पनि केही पाउँछ । उसोभए पार्टी एकता नहोला कि भनेर शंका नगरे हुन्छ ? एकताबाट तर्किने कसैको पनि खैरियत छैन । जनताको म्यान्डेट पार्टी एकता हो । मधेसको चुनावी परिणामले पनि प्रश्न सतहमा ल्याएको छ कि हिजो माओवादीले भन्दै आएको मधेससम्बन्धी मुद्दाको अवस्था के हुन्छ रु मधेसको मामिलामा हिजोको केपी ओलीको ‘स्कुल अफ थट’ लागू हुन्छ कि माओवादीले भन्दै आएको ‘स्कुल अफ थट’ लागू हुन्छ ? यसोभन्दा पनि जनताले के म्यान्डेट दिएका छन् भन्ने नै हामीले हेर्ने हो । देशव्यापीरुपमा वामपन्थी लहर आएकै हो । ठूलो लहर आयो । एमाले र माओवादीको जुन रिजल्ट आएको छ, यो साझा रिजल्ट हो । हामीले ३६ सिट पाउँदैनथ्यौं, मिलेरै पाएको हो । एमालेले पनि ८० सिट एक्लै पाएको होइन, हामीसँग मिलेरै पाएको हो । मतले के देखाएको छ भने एमालेको पनि ३१ लाख, कांग्रेसको पनि ३१ लाख । हाम्रो १३ लाख यस्तो निर्णायक बन्यो कि, एमालेतिर मिल्दा एमालेको ८० पुग्यो । एक्लै लडेका भए ५०र६० कांग्रेस एमाले हुन्थे, हामी २०र२५ तिर हुन्थ्यौं । त्यसैले अहिले जुन लहर आयो, यो जनताको म्यान्डेट हो । तर, मधेसमा नि ? मधेसलाई हेर्ने हो भने मधेसी एजेण्डामा लहर आएकै हो । त्यसमा अरु कारणहरु होलान्, तर मुख्य कारण भनेको मधेसी जनताले मधेसी मोर्चालाई अनुमोदन गरेकै हो । तिनीहरुको एजेण्डालाई अनुमोदन गरेकै हो । कांग्रेसलाई पनि विश्वासमा लिएर जानैपर्छ । कांग्रेस अहिले गणितीयरुपमा तल परेको छ तर, जनमतमा फेरि पनि शक्तिशाली नै छ । त्यसैले हामीले देशभरि स्वीप गर्‍यौं भनेर कुनै अहंकार गर्नुहुँदैन । मधेसका जनताको भावना अलि फरक रहेछ है भन्ने कुरालाई आत्मसाथ गरेर त्यसलाई गम्भीररुपले सम्वोधन गर्नुपर्छ । र, मधेसलाई पनि विश्वासमा लिएर जानुपर्छ । कांग्रेस र एमालेवीच अहिले बढिरहेको दूरी कम गराउन माओवादीले कस्तो भूमिका खेल्छ रु के यसमा माओवादीले पहलकदमी लिन्छ ? प्रधानमन्त्री शेरबहादुर देउवालाई म विशेष धन्यवाद दिन चाहन्छु । कांग्रेसको रेकर्ड कस्तो थियो भने आफ्नो बहुमतलाई मध्यावधिमा लैजाने । र, शेरबहादुर देउवाको रेकर्ड के थियो भने प्रजातन्त्रलाई दरबारमा बुझाउने । यसपालि पनि त्यस्ता प्रश्न नउठेका होइनन् । धेरै दबाव थियो उहाँलाई । तर, ती सबै दबावलाई थेगेर उहाँले निर्वाचन गराउनुभयो । चुनाव नगराउन सक्ने धेरै प्रवल थियो । तर, कमसेकम उहाँले विगतको इतिहासको आफ्नो कालो धब्बालाई हटाउनुभयो । हार्न तयार हुनुभो तर चुनाव गराउनुभयो । त्यसैले देउवाजी धन्यवादको पात्र हुनुहुन्छ । तर, अहिले भइरहेको कांग्रेस र एमालेवीचको विवाद नि ? अब शेरबहादुरजीले आफ्नो व्यक्तित्व छवि बचाउन छिटो भन्दा छिटो सरकार हस्तान्तरण गर्नुपर्छ । र, कांग्रेस पनि एउटा शक्ति हो । पुरानो शक्ति हो । हामीसँग शान्ति प्रक्रियाका केही कामहरु बाँकी छन्, त्यसमा कांग्रेसलाई पनि विश्वासमा लिएर जानैपर्छ । कांग्रेस अहिले गणितीयरुपमा तल परेको छ । तर, जनमतमा फेरि पनि शक्तिशाली नै छ । यो त जनताको भावना हो, यसलाई सम्मान गरेर जानुपर्छ । कांग्रेसलाई बलियो अपोजिसनका रुपमा उसलाई हामी सम्मानजनक भूमिका दिन्छौं नै । र, हामीले जित्यौं भनेर अहंकार गर्दैनौं । जो विजयी भयो, जसलाई जनताले म्यान्डेट दिए, उसले त विनम्र हुनुपर्छ, अहंकार गर्नुहुँदैन । त्यसैले हामी एजेण्डा अनुमोदनमा हामी अगाडि जान्छौं, यसमा अपोजिसनले मान्नुपर्छ र सहयोग गर्नुपर्छ । तर, उसलाई मिच्ने, हेप्ने र थिच्ने भनेका हैनन् जनताले । ऊ पनि सम्मानजनक भोट लिएर बसेको छ । त्यसैले हामीले कांग्रेसलाई सम्मानजनक ढंगले नै लान्छौं । यसमा कांग्रेस र एमालेवीच कतै दूरी बढ्न खोज्यो भने पनि त्यसलाई हामी समन्वय गर्छौं । तर, कांग्रेसका नेताहरुको ठूलो गुनासो के देखिन्छ भने ०६४ को चुनावमा माओवादीमा एकखालको अहंकार देखिएको थियो । अहिले वाम गठबन्धनले बहुमत ल्याएपछि नेताहरुमा संविधान हामीले भनेअनुसार हुनुपर्छ भन्ने अहंकार देखियो । कांग्रेसमा देखिएको यस्तो चित्तदुखाई सम्वोधन हुन्छ ? कांग्रेसले पनि जितेकालाई हामीले जित्यौं भन्न त दिनुपर्‍यो नि त । जित्नेमान्छेले अलिकति यसो विजयोत्सव मनाउँछ । यसलाई अन्यथा लिनुहुँदैन । त्यसैगरी जितेकाहरुले कांग्रेसलाई हेप्ने, दबाउने र उसलाई कहीँ ठाउँ नदिने भनेको पनि होइन । लोकतान्त्रिक अभ्यासमा विपक्षी महत्वपूर्ण हुन्छ । ऊसँग पनि जनमत छ, यी सबै कुरालाई सम्मान गर्दै विनाअहंकार हामी सबै कुरालाई अगाडि बढाउँछौं । यसमा ठीक छ, हामीले कहीँ अहंकार देखायौं भने कांग्रेसले आलोचना गरे भइहाल्छ । तर, हामीले जित्यौं भन्न त पाउनुपर्‍यो नि त । जितेकै हो नि त । उहाँहरुले जितेका कुरा स्वीकार गर्छौं, प्रतिपक्षमा बस्छौं, राम्रा कुरालाई समर्थन गर्छौं, नराम्रा कुराहरुको आलोचना गर्छौं र पाँच वर्षपछि कमब्याक गर्छौं भनेर त बस्नुपर्‍यो नि त । (खनलाइनखबरबाट साभार)

परराष्ट्र सचिव बैरागी — संरासं अधिकारी भेट

काठमाडौँ,  कात्तिक १४ । न्यूयोर्कको भ्रमणमा रहनुभएका परराष्ट्र सचिव शंकरदास बैरागीले न्यूयोर्कमा संयुक्त राष्ट्र संघका अधिकारीहरुसँग भेट गरेका छन् । न्यूयोर्कस्थित नेपाली स्थायी नियोगद्वारा आज जारी प्रेस विज्ञप्तिअनुसार राष्ट्र संघको राजनीतिक मामिलासम्बन्धी उपमहासचिव जेफ्री फेल्टम्यानसँगको भेटमा बैरागीले नेपाल र राष्ट्र संघबीचको सम्बन्धका विविध पक्षमा विचार आदानप्रदान गरे । उनले आर्थिक तथा सामाजिक मामिलासम्बन्धी उपमहासचिव लिउ झेनमिनसँग पनि भेट गरी आपसी सम्बन्धबारे कुराकानी गरे । सचिव बैरागीले संरासंको महासभाको ७२औँ अधिवेशनको चौथो कमिटीमा नेपालको तर्फबाट शान्ति स्थापनार्थ समग्र पक्षको बृहत् समीक्षासम्बन्धी वक्तव्य दिए ।  बक्तव्यमा सचिव बैरागीले विश्व शान्ति र सुरक्षामा नेपालको योगदानबारे प्रकाश पार्दैै शान्तिरक्षकलाई अधिकारको स्पष्टता, पर्याप्त स्रोत र सुरक्षाको आवश्यकतामा जोड दिए ।

सुर्खेत–काठमाडौं आधुनिक एयर बस सेवा अाजदेखि सुरु

सुर्खेत, १६ भदौ । सुर्खेतमा पहिलोपटक शुक्रवारदेखि आरामदायी बस सेवा एयर बस सञ्चालनमा आएको छ । १० वर्षअघि सुर्खेतबाट यातायात सेवा सुरु गरेको काँक्रेविहार यातायात बस व्यवसायी समितिले आधुनिक एयर बस सञ्चालन गर्न थालेको हो । यात्रुहरुको बदलिएको चाहना र मागलाई ध्यानमा राखी आरामदायी यात्राका लागि एयर बस संचालन गर्न लागेको समितिले जनाएको छ । यी नयाँ बसहरुमा यात्रा गर्न अरु गाडीभन्दा आरामदायी हुने दाबी समितिको छ ।४० सिटे एयर बस को सुर्खेत–काठमाडौं भाडा १ हजार ६ सय रुपैयाँ तोकिएको समितिका सचिव रमेश सापकोटाले बताए । आफूहरुले सञ्चालनमा ल्याउन लागेको गाडी सुर्खेतकै नयाँ भएको सापकोटाको दाबी छ । समय अनुसार यात्रुहरुको चाहनालाई ध्यान दिएर एयर बस सञ्चालन गरिएको र आउँदा दिनमा सेवालाई थप्दै जाने सचिव सापकोटाको जानकारी दिए । समितिले हाल सुर्खेत–काठमाडौं दिवा तथा रात्रि सेवा सञ्चालन गरिरहेको जनाएको छ । त्यसैगरी, सुर्खेतदेखि नेपालगञ्ज, दैलेख, जुम्ला, जाजरकोटलगायतका ठाउँमा पनि यातायात सेवा दिइरहेको सापकोटाले बताए । अहिले काक्रेविहार यातायात बस व्यवसायी समितिसँग रहेका १ सय ६७ वटा विभिन्न थरीका गाडीहरुले यात्रुहरुलाई सेवा दिँदै आएको सचिव सापकोटाले जानकारी दिए । अनलाइनखबरबाट

दूतावासको आश्रयस्थलमा रहेका १३ पीडित महिलामध्ये ८ जना अाज नेपाल फर्कंदै

काठमाडौं, भदौ ८ । वैदेशिक रोजगारका क्रममा विभिन्न समस्यामा परी नेपाली राजदूतावास युएईको आश्रयस्थलमा बस्दै आएका आठजना नेपाली महिला बिहीबार स्वदेश फर्कंने भएका छन् । आश्रयस्थलमा रहेका अन्य पाँचजनालाई पनि बाँकी कानुनी प्रक्रिया पूरा गरी केही दिनपछि नेपाल पठाइने दूतावासले जनाएको छ । दूतावासको तर्फबाट गरिने सम्पूर्ण प्रक्रिया पूरा भएकाले आठजना भने बिहीबार ‘आउट’ जेल जाने र जेलमार्फत नेपाल फर्कंने दूतावासकी श्रम सहचारी हीरा यादवले जानकारी दिइन् । उनीहरूसँग भिसा, पासपोर्ट नभएकाले आउट जेलमार्फत नेपाल फर्कनुपर्ने बाध्यता रहेको हो । नेपाल फर्कनेहरूमा गंगा सुनुवार, सविना तामाङ, सम्झना माया थिङ, आइतिमाया नेपाली, संगीता पाण्डे, मीना तामाङ, गीता राई र संगीता थापा छन् । उनीहरू आगामी सोमबार ओमन एयरवेजमार्फत नेपाल फर्कने व्यवस्था गरिएको पनि यादवले बताइन् । उनीहरू घरेलु कामदारको रूपमा कार्यरत रहँदा विभिन्न समस्यामा परेपछि दूतावासको शरणमा पुगेका थिए । घर मालिकबाट मानसिक तथा शारीरिक यातनामा परेका, तोकिएको पारिश्रमिक नपाएका तथा कतिपय मालिकबाट चोरीको आरोपमा मुद्दा लागेका कारण दूतावासको आश्रयस्थलमा बस्दै आएका थिए । उनीहरूलाई नेपाल फर्काउन आफन्त, एजेन्ट र केही व्यक्तिले आर्थिक सहयोग गरेका हुन् । अवैधानिक बाटो भएर आउनेहरूको उद्धार गर्न दूतावाससँग बजेट नहुने भएकाले अन्यत्रबाट आर्थिक संकलन गरिएको हो । बाँकी पाँचजना भने आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि नेपाल फर्कने छन् ।

सचिवहरुको विदेश सयर अाैधी ! खर्च बढी, उपलब्धि शून्य

काठमाडौं, असार २९ । पछिल्लो दुई महिनामा उच्च तहका सरकारी कर्मचारी सहभागी भएका विदेशका कार्यक्रममा राज्यको धेरै रकम खर्च भए पनि उपलब्धि भने ज्यादै न्यून रहेको पाइएको छ । अध्ययन भ्रमण, अवलोकन भ्रमण, अनुभव आदानप्रदान जस्ता विषयमा राज्य ढुकुटीबाट मोटो रकम खर्च गरेर सरकारका सचिवहरु संसारका िवभिन्न देशमा पुग्ने गरेका छन् । तर, उनीहरुको भ्रमण उपलब्धिमूलक हुन सकेको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट स्वीकृत यसतो भ्रमण अझै केही साता हुनेछ । सरकारका एक सचिव मैत्रीपूर्ण भलिबल प्रतियोगितामा सहभागी हुन अमेरिका पुगेका छन् । युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहाल डेनमार्क र अमेरिका पुगेको, नागरिक दैनिकमा खबर छ । पछिल्लो दुई महिनामा एक हजार चार सय ४२ कर्मचारी करोडौं रुपैयाँ खर्चेर विदेश भ्रमणमा गएका छन् । मुलुक स्थानीय तहको चुनावमा होमिएको र आर्थिक वर्ष सकिनै लागेका बेला निजामति कर्मचारीको ठूलो समूह विदेश भ्रमणमा गएको हो ।

‘बाहुबली–२’ को ट्रेलर सार्वजनिक, यस्तो छ चलचित्रको ट्रेलर (भिडियो)

चैत ३ । सन् २०१६ मा निकै सफल मानिएको चलचित्र ‘बाहुबली’को सिक्वेल ‘बाहुबली–२’ को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार यस फिलिमको ट्रेलर युट्युवमा सार्वजनिक गरिएको छ भने दक्षिण भारतका तीन सय सिनेमाघरमा पनि यसको ट्रेलर प्रदर्शन गरिएको छ । युट्युवमा यो चलचित्रको ट्रेलरले निकै लोकप्रियता पाएको छ । ट्वीटरमा पनि ‘बाहुबली–२’ को ट्रेलरले राम्रो ‘ट्रेन्ड’ गरिरहेको छ । ट्रेलर सार्वजनिक भएको केही घण्टामै यसका दर्शकको संख्या झण्डै चार लाख पुगेको छ । समग्रमा दर्शकहरुले ट्रेलरको निकै प्रशंसा गरेका छन् । ट्रेलरमा बाहुबलीको एउटा संवाद निकै घतलाग्दो र रोचक मानिएको छ । बाहुबलीले कटप्पालाई भनेका छन्, ‘जबसम्म तपाई मेरो साथ हुनुहुन्छ, मलाई मार्ने मान्छे जन्मिने छैन मामा १’ चलचित्रको पहिलो शृंखलाको अन्त्यमा कटप्पाकै हातबाट बाहुबली मारिएको देखाइएको थियो । तर तिनै कटप्पामाथि बाहुबलीले यति विश्वास गरेको दृष्यलाई ट्रेलरमा देखाएपछि दर्शकमा कौतुहलता अझ बढेको छ– ‘आखिर कटप्पाले बाहुबलीलाई किन मारे ?’ रहस्य जान्नका लागि पनि बाहुबली–२ प्रदर्शनको पर्खाइमा आम दर्शक रहेका छन् । आगामी २८ अप्रिलमा चलचित्रले प्रदर्शन आरम्भ गर्नेछ ।

नेपालको पहिलो विकेट गुम्यो, धमला क्याच आउट

काठमाडौं, फागुन २८ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र केन्याबीचको खेलमा नेपालको पहिलो विकेट पतन भएको छ । त्रिवि मैदान किर्तिपुरमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले पाँच ओभरको खेल सकिँदा एक विकेट गुमाई २१ रन जोडेको छ । ओपनिङ व्याट्स्म्यान सुनिल धमला व्यक्तिगत तीन रन बनाइ क्याच आउट भए । ओपनिङ व्याटिङमा रहेका कप्तान ज्ञानेन्द्र मल्ल १७ रन बनाइ खेलिरहेका छन् ।

नेपालको शान्ति र संविधान विश्वकै लागि मौलिक र शिक्षाप्रद–प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,माघ ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको शान्ति र संविधान निर्माण प्रक्रिया विश्व समुदायकै लागि मौलिक र शिक्षाप्रद रहेको बताएका छन् । बुधबार दिउँसो न्यूयोर्क यूनिभर्सिटीको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका छन् । ‘विश्वमा युद्ध र शान्तिका थुप्रै उदाहरणहरु छन् । थोरै देशमा मात्रै शान्ति प्रक्रिया सफलतामा पुगेका छन् । तर, नेपालको शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रिया आफैमा मौलिक छ, विश्व समुदायका लागि शिक्षाप्रद छ ।’ उनले भने–‘हाम्रो शान्ति प्रक्रियाले युद्धरत देशहरुले राजनीतिक सम्वाद र सहकार्यका माध्यमबाट कुनै पनि समस्याको समाधान खोज्न सकिन्छ भन्ने सन्देश दिएको छ ।’ नेपालको जस्तो शान्ति प्रक्रिया विकसित मुलूकमा भएको भए त्यसले थप महत्व पाउने उल्लेख गर्दै प्रधानमन्त्रीले शान्ति प्रक्रिया नेपालजस्तो विकासशील मुलूकमा सफल भएको बताए । उनले नेपालको जस्तो शान्ति र संविधान निर्माणको प्रक्रिया मौलिक ढंगले युरोप वा अमेरिकी देशमा सम्पन्न भएको भए त्यसले विश्व स्तरमै छुट्टै महत्व पाउने दावी गरे । प्रधानमन्त्रीले माओवादीको नेतृत्वमा सञ्चालित जनयुद्ध राजनीतिक उद्धेश्यद्वारा प्रेरित भएको स्पष्ट पारे । प्रधानमन्त्रीले भने—‘माओवादीको नेतृत्व चलेको जनयुद्ध कुनै आतङ्ककारी गतिविधि थिएन । यो निश्चित राजनीतिक र दार्शनिक मान्यता बोकेर अघि सारिएको राजनीतिक सङ्घर्ष थियो ।’ उनले राज्यसत्ताको मूल प्रवाहबाट बिमूख रहेका वर्ग, जाति, लिङ्ग, समुदायको अधिकार, राष्ट्रको स्वाभिमान र प्रगतिका लागि गरिएको राजनीतिक लडाई भएको बताए । उनले भने–‘राजनीतिक उद्धेश्यद्वारा प्रेरित हुदैनथ्यो भने हामी आफैले पहल लिएर शान्ति प्रक्रियाको आरम्भ हुने थिएन । लोकतान्त्रिक सङ्क्रमण र राजनीतिक अग्रगमनको परिस्थिति निर्माण हुने थिएन ।’

संसदमा मतदान भए के होला ? यसरी पारित हुन्छ संशोधन प्रस्ताव

काठमाडौं, माघ ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ नेतृत्वको सरकारले मधेसी मोर्चा लगायतका असन्तुष्ट दलको माग सम्बोधन गर्नका लागि संसदमा दर्ता गराएको संशोधन प्रस्तावको भविश्य के होला भन्ने बारेमा टिका टिप्पणी हुन थालेको छ । नेपालको संविधानमा संशोधन गर्न व्यवस्थापिका संसदमा दुई तिहाई मत आवश्यक पर्ने व्यवस्था छ । हाल व्यवस्थापिका संसदमा बिभिन्न राजनीतिक दलहरुको संख्यात्मक उपस्थिति हेर्दा मुख्य दलहरु आपसमा नमिलेसम्म आवश्यक पर्ने बहुमत जुटाएर पास हुन सक्ने सम्भावना छ कि छैन भन्नेतर्फ राजनीतिक बहस केन्द्रीत भएको हो । एमालेको अडानले निम्त्याएको संकट व्यवस्थापिका संसदमा प्रधानमन्त्री प्रचण्डले मंसिर १४ गते संविधान संशोधनका लागि प्रस्ताव दर्ता गरेपछि प्रतिपक्षी एमालेले सदन अवरुद्ध गर्यो । यो प्रस्ताव संसदको छलफलको कार्यसूचिमा टेबल समेत हुन सकेन । निरन्तरको संवाद र सहमतिको प्रयास समेत सार्थक बन्न नसकेपछि झण्डै डेढ महिनापछि सरकारले एमालेको असहमतिका वावजूद पुस २४ गते संसदमा प्रस्ताव टेबल गराएपछि सहमतिको सम्भावना सकिएको कतिपयले टिप्पणी गरेका हुन । सहमतिको सम्भावना सकिएको र बहुमतका आधारमा संशोधन प्रस्तावको भविष्य निर्धारण गर्नुपर्ने देखिएपछि संसदका संख्यात्मक समीकरण तर्फ ध्यान गएको हो । के छ संसदको समीकरण ? व्यवस्थापिका संसदमा कूल ६ सय एक मध्ये हाल सभामुखलाई समेत जोडेर ५९५ जना सांसद रहेका छन् । यद्यपी सभामुख भने मतदान प्रक्रियामा सहभागी हुन मिल्दैन । यदि मत बराबर भएको अवस्थामा मात्रै सभामुखले निर्णायक मत दिने व्यवस्था रहेको छ । यसरी हेर्दा संविधान संशोधन विधेयक पारित गर्न हाल कायम रहेको संख्याको दुई तिहाइ अर्थात ३९८ सदस्यले पक्षमा मतदान गर्नुपर्ने हुन्छ । व्यवस्थापिका संसदमा सत्तारुढ गठबन्धनको अवस्था हेर्दा प्रमुख प्रतिप्रक्षी एमालेको विपक्षमा भूमिका रहेपनि सरकारले संशोधन विधेयको पक्षमा मत प्राप्त गर्न सक्ने अंक गणित देखिन्छ । सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका २०७ सदस्य रहेका छन् । यसैगरी माओवादी केन्द्रका ८२ जना छन् । सरकारको पक्षमा अहिले १६ वटा दल रहेका छन् । यसरी हेर्दा संविधान संशोधनको पक्षमा मतदान गर्नेहरुमा काँग्रेसका २०७, माओवादी केन्द्रका ८२, सङ्घीय समाजवादीका १५, फोरम (लोकतान्त्रिक)का १४, राप्रपाका ३७ (राप्रपा नेपालसँग एकीकरण भएपछि) तमलोपाका ११, सद्भावना पार्टी ५, नेकपा (संयुक्त) ३, थरुहट तराई पार्टी २, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटका १, समाजवादी जनता पार्टी १, नेपाली जनता दल १, खुम्बुवान राष्ट्रिय मोर्चा १, अखण्ड नेपाल पार्टी १, दलित जनजाति पार्टी १, जनजागरण पार्टी १ र १ स्वतन्त्र सांसद सहित अन्य एक सिट भएका सांसदसहित गरेर कूल ३९५ जना संशोधनको विधेयकको पक्षमा मतदान गर्ने देखिन्छ । यद्यपी अझै सरकारलाई संविधान संशोधन दुई तिहाइले पारित गराउन तीन थप मत आवश्यक पर्दछ । जुन कुरालाई प्रधानमन्त्री प्रचण्डले राम्रैसँग बुझेका छन्, उनी युएइको भ्रमणपछि निर्णायक बहुमत पुर्याउन सक्रिय हुने स्रोतले जनाएको छ । त्यसो त विपक्षमा रहेका दलहरुभित्रैका केही सांसदहरुले समेत पक्षमा मतदान गर्ने अवस्था समेत रहेको छ । अन्तर्घातको संघारमा कमजोर विपक्षाी संशोधन प्रस्तावको विपक्षमा दोश्रो ठूलो दल नेकपा एमालेका १८२, मालेका ५, नेपाल मजदूर किसान पार्टीका ४ र राष्ट्रिय जनमोर्चाका ३ सांसद छन् । त्यस्तै परिवार दलका २, जनमुक्तिका २, नेपा राष्ट्रिय पार्टीका एक र मधेस समता पार्टीका एक सांसद सहित एमालेका २०० सांसद संशोधनको विपक्षमा रहेको एमालेले दाबी गरेको छ । तर प्रचण्ड नेतृत्वमा सरकार गठन गर्दा विपक्षमा रहेका केही साना दलले संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने अवस्थामा सहजै बहुमत पुग्ने देखिन्छ । यी दलहरुको ८ मत संसदमा रहेको छ । एमालेभित्र अन्तर्घातको सम्भावना समेत बलियो रहेको छ । खासगरी मधेसकेन्द्रीत सांसदहरुले संशोधनको भाषा परिमार्जन गरिएमा समर्थन गर्ने सम्भावना बलियो छ । एमालेले ह्विप लगाएको अवस्थामा के हुन्छ भन्न नसकिएपनि अहिलेसम्मको अवस्था हेर्दा एमालेभित्रका केही ५ नं. प्रदेशका र अधिकांश तराईका सांसदहरु संविधान संशोधनको पक्षमा रहेका छन् ।सभामुख ओनसरी घर्तीले बराबर मत भएमा मात्रै मतदान गर्ने व्यवस्था छ । । संसदमा ३१ दलबाट ५९५ जना सांसद छन् । साना दलहरुको भूमिका महत्वपूर्ण संशोधन प्रस्ताव दुई तिहाईले पास गराउन साना दको भूमिका महत्वपूर्ण देखिएको छ । हाल संसदमा साना दलबाट मात्रै १९ जना सांसद छन् । उनीहरु मध्ये धेरै दलले संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने भएपनि तीनवटा दलले भने के गर्ने भन्ने सार्वजनिक गरेका छैनन् । केपी ओली सरकारको पालामा सरकारमा रहेका राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक (२), नेपाल परिवार दल (२) र मधेस समता पार्टी नेपाल (१) ले संशोधन प्रस्ताव पारित गराउन निर्णायक भूमिका खेल्ने भएका छन् । अन्य साना दलले प्रचण्ड नेतृत्वको सरकार बन्दै समर्थन गरेकाले संशोधन प्रस्तावको पक्षमा रहेका छन् । सत्तापक्षभित्र पनि अन्तर्घातको सम्भावना संशोधन प्रस्तावको सत्तारुढ दलभित्रैबाट अन्तर्घात हुने सम्भावना पनि देखिएको छ । सत्तारुढ दलहरुभित्रैका केही सांसदहरु संशोधन प्रस्तावको बिरोधमा रहेका छन् । नेपाली कांग्रेसका सांसद चन्द् भण्डारी, अमरसिंह पुन र माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले संशोधनको पक्ष या विपक्षमा मतदान गर्नेबारेमा अनिर्णित रहेका छन् । उनीहरुले संशोधन प्रस्तावमा प्रदेश पाँच टुक्राएको भन्दै विपक्षमा मतदान गर्ने बताइसकेका छन् । यद्यपी पार्टीको ह्वीप लागेमा के गर्छन यसै भन्न सकिन्न । यस्तो छ संशोधन प्रस्तावमा आन्दोलनरत मधेसी मोर्चाको माग सम्बोधन गर्न सरकारले नागरिकता, प्रादेशिक सीमांकन, समानुपातिक प्रतिनिधित्वलगायत पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला हटाउँदै तराई केन्द्रित मात्र प्रदेश बनाउने गरी चारवटा विषयमा संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराएको थियो । राष्ट्रिय सभामा प्रदेश प्रदेशबाट ८–८ जनाको प्रतिनिधित्व हुने प्रावधान संशोधन गरी ‘हरेक प्रदेशबाट एकजना महिला, एकजना दलित र एकजना अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक सहित तीनजनाका दरले एक्काइस र बाँकी ३५ जना प्रत्येक प्रदेशको जनसंख्याको अनुपातमा निर्वा्चित हुने गरी जम्मा ५६ जनाको प्रतिनिधित्व हुने’ व्यवस्था गरिएको छ। त्यस्तै सरकारले भाषा आयोगको सिफारिसमा सबै मातृभाषालाई संविधानको अनुसूचीमा समावेश गर्ने गरी धारा ६ मा संशोधनको प्रस्ताव गरिएको छ भने धारा ७ को उपधारा २ (क) थप गर्दै भनिएको छ, ‘भाषा आयोगको सिफारिसमा नेपाल सरकारले सरकारी कामकाजको भाषा भनि निर्णय गरिएका भाषाहरुलाई संविधानको अनुसूचीमा समावेश गर्नेछ।’

पन्ध्र किलो सुनसहित एक पक्राउ

काठमाडौँ, माघ १। प्रहरीले १५ किलो सुनसहित गएराति एकजनालाई पक्राउ गरेको छ । महानगरिय प्रहरी वृत्त बालाजुको टोलीले चीनको केरुङ नाका हुँदै काठमाडौँ भित्रिएको ना १ ज ४९६४ टाटा सुमोबाट उक्त परिमाणको सुन बरामद गरेको हो । उक्त गाडीका चालक भक्तपुर सूर्यविनायकका ३० वर्षीय रवीन्द्र भुजेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गाडीको इन्जिन रहेको भागमा ब्याट्रीको फलामको ‘फल्स बटम’ जस्तो बनाइलुकाइ छिपाइ राखेको अवस्थामा सुन बरामद भएको हो । घटनाको थप अनुसन्धान भइरहेको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष तामाङले जानकारी दिए ।

डा. केसीले अनसन तोड्ने, सरकारी टोलीसँग वार्ता मिल्यो

काठमाडौं, मंसिर १८ । २१ दिनदेखि आन्दोलनरत प्राध्यापक डा. गाविन्द केसीले् अनसन तोड्ने भएका छन् । सरकारी वार्ता टोली र केसी समर्थक टोलीबीच शनिबार भएको वार्ता सहमतिमा टुङ्गिएपछि उनले अहिले केहीवेरमा जुस पिएर अनसन तोड्न लागेका हुन् । चिकित्सा क्षेत्रमा रहेका विकृति र विसङ्गति अन्त्यको माग गर्दै उनी दशौ चरणको अनसन बसेका थिए । त्रिभुवन विश्वविद्यालयले चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)को डिनमा केशब प्रसाद सिंहलाई नियुक्त गरेपछि उनले वरिष्ठताका आधारमा डिन नियुक्त हुनुपर्ने  लगायत दश बुँदे माग राखेर कात्तिक २८ गतेदेखि अामरण अनसन बसेका थिए । शनिबार त्रिभुवन विश्वविद्यालयले  आइओएमको डिनमा प्राध्यापक डा. जगदीश प्रसाद अग्रवाललाई नियुक्त गरेकाे थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल निवास बालुवाटारमा बसेको त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदको बैठकले अग्रवाललाई डिन नियुक्त गर्ने निर्णय गरेको थियो ।  डा. गोविन्द केसीको माग बमोजिम त्रिविले शनिबारदेखि लागू हुने गरी अग्रवालाई डिन नियुक्त गरेको थियो। वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवन संवेदनशील बन्दै गएपछि त्रिविले  उनको माग सम्बोधनका लागि डिन नियुक्त गरेको हो । शुक्रबार डा. केसीको अनसन तोडाउन सरकारी वार्ता पक्षले राखेको प्रस्तावमा भनेका थिए –‘सबभन्दा पहिला रिक्त डिनमा तुरुन्तै पदपूर्ति हुनुपर्यो, वरिष्ठ मध्येबाट डिन नियुक्त गर्नुपर्छ, आइओएम डिनजस्तो पद एक दिन पनि रिक्त राख्दा त्यसैबाट चलखेल हुनसक्छ ‘एक दिन पनि यो पद रिक्त राखेर म अनसन तोड्दिनँ,’ । शुक्रबार अाइअोएमको डिन केपी सिंहले पदबाट राजीनामा दिएका थिए । उनले राजीनामा दिएपनि त्रिविका उपकुलपति तीर्थ खनियाँले पनि राजीनामा दिनुपर्ने माग नछोडेपछि डा.केसीले अनसन जारी राखेका थिए ।  

तुलसीपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

तुलसीपुर ।  तुलसीपुरमा शनिबार बिहान जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ३ जना गम्भीर घाइते छन् । मृत्यु हुनेमा दङ्गीशरण गाउँपालिका–४ बैबाङका २२ वर्षीय हीरामणि बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका–६ का १९ वर्षीय सुरेश खड्का रहेका  छन् ।  रोल्पाबाट सल्यान हुँदै तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ८२२ नम्बरको जिप तुलसीपुर उपमहानगरपालिका–३ साततले नजिकै सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश थापाले बताए । दुर्घटनामा परी कपुरकोट–६ की ३१ वर्षीया देवा वली, उनका १३ वर्षीय छोरा महेश वली र १० वर्षीय छोरा जीवन वली गम्भीर घाइते छन्। उनीहरुलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएको छ ।

उपनिर्वाचनमा करिब १७ सय कर्मचारी खटिने

काठमाडौं । वैशाख १५ मा इलाम र बझाङमा हुन लागेको उपनिर्वाचनमा करिब एक हजार सात सय कर्मचारी खटिने भएका छन् ।  निर्वाचन आयोगले उपनिर्वाचनलाई स्वच्छ, निश्पक्ष र भयरहित ढंगले सम्पन्न गर्न भन्दै उपनिर्वाचनमा खटिने कर्मचारीको नियुक्ति प्रक्रिया अघि बढाउन निर्वाचन अधिकृतको कार्यालयहरूलाई निर्देशन दिइसकेको छ ।  आयोगले प्रत्येक मतदान केन्द्रमा सात जना कर्मचारी रहने गरी कर्मचारीको प्रबन्ध मिलाइएको जनाएको छ । उपनिर्वाचनमा इलाम–२ मा १४९ मतदान केन्द्र तोकिएका छन् । यस्तै, बझाङमा ९३ वटा मतदान केन्द्र तोकिएका छन् । मतदान केन्द्र अनुसार इलाममा एक हजार ४३ र बझाङमा ६५१ गरी कुल एक हजार ६९४ जनशक्ति परिचालन गरिने भएको छ । प्रत्येक केन्द्रमा एक–एक जना मतदान अधिकृत र सहायक मतदान अधिकृत तथा पाँच जना सहयोगी कर्मचारी रहने व्यवस्था गरिएको छ ।  उपनिर्वाचनमा परिचालन हुने जनशक्तिको नियुक्ति निर्वाचन अधिकृतको कार्यालयले गर्ने कानुनी व्यवस्था छ । 

एमालेले विशेष पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेकपा एमालेले आज विशेष पत्रकार सम्मेलनको आयोजना गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो ३ बजे बिशेष पत्रकार सम्मेलनको आयोजना गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।  पत्रकार सम्मेलनमा शनिबारबाट सुरु हुने पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकको तयारी, सहभागी हुने पाहुना, कार्यक्रमको फरम्याट लगायतका विषयमा जानकारी दिने बताइएको छ ।  यस्तै, प्रदेश सरकार गठनका विषयमा पनि एमालेले पत्रकार सम्मेलनमा आफ्नो धारण राख्ने भएको छ ।

नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव, यस्तो रहनेछ आजको मौसम

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र बाँकी पहाडी भू–भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको कारण बिहान गण्डकी र कर्णाली प्रदेशसहित पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहको छ । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा र बाँकी पहाडी भू–भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा बाँकी तराई भू–भागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ । विभागका अनुसार राति देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ ।  गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।