बुद्धको अस्तुधातुलाई रामग्राम नगर परिक्रममा
काठमाडौँ । २५६८ औँ बुद्ध जयन्तीको अवसरमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले श्रीलंकाबाट ल्याएको गौतम बुद्धको अस्तुधातु सहितको धातुजात्रा निकालिएको छ ।
कोलिया गणराज्यको राजधानी पण्डितपुरबाट बुद्धको एकमात्र सिंगो अस्तधातु रहेको रामग्राम स्तूपसम्म करिब १५ किलोमिटर लामो धातुजात्रा निकालिएको हो ।
श्रीलंकाबाट ल्याइएको बुद्धको अस्तुधातुलाई हात्तीमा राखेर नगरका विभिन्न स्थान परिक्रमा गराई सर्वसाधारणलाई दशर्नको व्यवस्था मिलाइएको थियो ।
गत वर्ष प्रधानमन्त्रीको उपस्थितिमा रथ सहितको धातुजात्रा गरिएको र यो वर्ष पनि स्थानीय तह आफैले अपनत्व लिएर धातुजात्रा आयोजना गरिएको नगर प्रमुख धनपत यादवले बताए ।
लुम्बिनी विकास कोषले रामग्राम सहितका अन्य बुद्ध स्थलको विकासमा आवश्यक चासो नदिएको भन्दै स्थानीय तह आफैँले पुरातात्त्विक वस्तु र स्थलको संरक्षणमा लागि परेको हो । गत वर्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितीमा रामग्राम स्तूपमा अस्तुधातु सहितको कार्यक्रम भएको थियो ।
बुद्ध जयन्तीको अवसरमा नगरपालिकाले सप्ताहव्यापी खेलकुद कार्यक्रम आयोजना गरेको छ ।
बझाङमा मतगणना सुरु
धनगढी । बझाङ प्रदेश सभा १ को मतगणना सुरु भएको छ । छविसपाथिभेरा गाउँपालिका–१ र २ नम्बर वडाका मतदान केन्द्रबाट गणना सुरु भएको हो । शनिबार बझाङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा उपनिर्वाचन भएको थियो । आइतबार बिहानसम्म मतपेटीका सदरमुकाम चैनपुरमा संकलन गरिएको थियो ।
संसदका सात समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौँ । आज एकै दिन ७ वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान साढे १० बजे बस्दै छ । बैठकमा नेपाल सरकार (मन्त्रीस्तर) बाट पछिल्लो समयमा भएका वैदेशिक भ्रमणहरूको विवरण (उद्देश्य एवं उपलब्धि सहित), इजरायल, रुस र युक्रेनमा रहेका नेपालीहरूको विवरण र वर्तमान अवस्था, विदेशस्थित नेपाली नियोगहरूको विवरण (तिनको वर्तमान अवस्था, भोग्नुपरेका समस्या र सुधारका पक्षहरू) का बारेमा छलफल हुनेछ । आज बिहान ११ बजे हुने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा भानुभक्त प्राणी उद्यानको मुआब्जा, जडीबुटी अध्ययन तथा अनुसन्धानका नीतिगत तथा कानुनी जटिलता एवं डढेलो तथा हात्ती आतङ्क नियन्त्रण सम्बन्धी समस्याका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयका मन्त्री(सचिव एवं सम्बन्धित विभागका विभागीय प्रमुखहरू, अर्थ मन्त्रालयका सचिव र सम्बन्धित सरोकारवालाहरुसंग छलफल गर्ने कार्यसूची रहेको छ । त्यस्तै बिहान ११ बजे नै बस्ने अर्थ समितिको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बजेट कार्यान्वयन सम्बन्धी छलफल हुनेछ । बिहान ११ बजे नै बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चसँग छलफल हुनेछ । त्यस्तै मध्यान्ह साढे १२ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आगामी बजेट २०८१/०८२ का सम्बन्धमा पूर्वबजेट छलफल हुनेछ । दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा समितिगत विषम छलफल हुनेछ भने बिहान साढे ११ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित महालेखा परीक्षकको संसदीय सुनुवाइ हुनेछ ।
उपनिर्वाचनका लागि मतदान स्थल तोकियो
काठमाडौं । निर्वाचन आयोगले इलाम २ को प्रतिनिधिसभा र बझाङ १ को प्रदेश सभामा हुने उपनिर्वाचनका लागि मतदानस्थल तोकेको छ । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले मतदान स्थल र मतदान केन्द्रहरुलाई अन्तिम रुप दिएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार इलाम २ मा ७९ मतदान स्थल र १४९ मतदान केन्द्र रहेका छन् भने बझाङ १ को प्रदेशसभा निर्वाचन क्षेत्रमा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र तोकिएको छ ।
टी २० आई सिरिजः टस जितेर नेपालले पपुवा न्युगिनीविरुद्व फिल्डिङ रोज्यो
काठमाडौं । नेपालले हङकङमा जारी त्रिकोणात्मक टी २० आई सिरिजको फाइनलमा आज पपुवा न्युगिनी विरुद्व बलिङ गर्ने भएको छ । मोगं कोगंमा हुने खेलमा टस जितेर नेपालले फिल्डङ रोजेको हो । नेपाल र हङकङबीचको खेल वर्षाको कारण रद्द भएको थियो । नेपालले पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा पुगेको थियो । एकै दिन दुई खेल खेलेको पपुवा न्युगिनी नेपालसँग ८५ रनले पराजित भएपनि हङकङलाई १० विकेटले हराएर फाइनल पुगेको थियो ।
पहिलो ब्याटिङ पावर प्लेमा नेपालले कटायो ५० रन
काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाको फाइनलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिलो ब्याटिङ पावर प्लेमा ५० रन पूरा गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको नेपालले ६ ओभरको खेल समाप्त हुँदा एक विकेट गुमाएर ५५ रन बनाएको छ । हाल नेपालबाट क्रिजमा रहेका आसिफ सेख ३५ र कप्तान रोहितकुमार पौडेल रनमा खेलिरहेका छन् । त्यसअघि नेपालले कुशल भुर्तेललाई व्यक्तिगत २० रनमा गुमाएको थियो । ट्वान्टी–२० विश्वकपको तयारीस्वरुप आयोजित शृंखलामा नेपाल र नेदरल्यान्ड्ससँगै नामिबियाको सहभागिता थियो ।
सात महिनाको व्यापार घाटा ८ खर्ब ११ अर्ब, गत वर्ष भन्दा १.७७ प्रतिशतले कम
काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा मुलुकको व्यापार घाटा ८ खर्ब ११ अर्ब ११ करोड २९ लाख रुपैयाँ पुगेको छ । भन्सार विभागले चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांक सार्वजनिक गरेको हो । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको व्यापार घाटा १.७७ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको साउनदेखि माघसम्मको व्यापार घाटा ८ खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ थियो । मुलुकको व्यापार २९ वटा देशसँग नाफामा छ भने १२८ मुलुकसँग घाटामा छ । सबैभन्दा बढी व्यापार घाटा भारतसँग छ । विभागको तथ्यांकअनुसार भारतसँग ४ खर्ब ९६ अर्ब रुपैयाँले घाटामा छ ।
विश्वकप लिग-२ : कीर्तिपुर मैदानमा आज नेपाल र नामिबिया भिड्ने
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को आफ्नो तेस्रो खेलमा आज नेपालको प्रतिस्पर्धा नामिबियासँग हुँदैछ। घरेलु मैदान कीर्तिपुरमा भएको पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको नेपाल आज बदला लिने तयारीमा छ। दोस्रो खेलमा विश्वकप खेलेर आएको नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको नेपाल नामिबियाविरुद्ध उच्च मनोबलका साथ मैदानमा हुनेछ। यो खेल आज बिहान ९ बजेर ३० मिनेटमा कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सुरु हुँदैछ। सन् २०२७ मा हुने क्रिकेट विश्वकपमा छनौटको प्रक्रिया अन्तर्गत काठमाडौँमा सिरिज जारी छ।
लेखराजबाहेक अरू पूर्वमाओवादी नेतासँग रुष्ट ओली क्याम्प, फर्केर जान चेतावनी
काठमाडौं : आफ्नो पक्षमा देखिएका पूर्वमाओवादीहरुका कारण केपी शर्मा ओली तथा उनको समूह तनावमा परेको छ । पूर्वमाओवादीबाट गएकाहरूले सम्मानजनक स्थान खोज्न थालेपछि केपी ओली पक्ष रुष्ट बनेको हो । विश्वस्त श्रोतका अनुसार, पूर्वमाओवादी गएका नेताहरूले प्रचण्डलाई छोड्नुको अर्थ विलय र आत्मसमर्पण नखोजेको बरू संगठनमा सम्मानजनक उपस्थिति खोजेको भन्दै ‘बार्गेनिङ’ गर्न थालेपछि ओली पक्षलाई अप्ठ्यारो परेको हो । “एक त बादललाई केपी कमरेडपछिको नेता मान्नुपर्ने, अर्कोतर्फ त्यही बादलका मान्छेहरू बार्गेनिङ गर्ने ?” केपी ओलीनिकट एक स्थायी समितिले एभरेष्ट दैनिकसँग भने, ‘जिल्लादेखि केन्द्रसम्म यसरी भाग खोज्न थालेपछि उनीहरू हामीलाई किन चाहियो ? बस्ने भए हामी मातहत बस्नुपर्यो, भागै खोज्नेभए प्रचण्डकहाँ फर्के हुन्छ ।” प्रधानमन्त्री केपी ओलीले समेत पूर्वमाओवादीका नेताहरूले बढी किचकिच गर्न खोजे फिर्ता पठाइदिने धम्की दिन थालेका छन् । मंगलबार केपी ओलीसँग भेट्न गएको एक प्रतिनिधिमण्डलसँग केपी ओलीले पूर्वमाओवादीका नेताहरूका कारण आफ्नै समर्थकहरू बिच्किन थालेको गुनासो गरेका थिए । “लेखराज र उनीसँग आएका मान्छेहरूले खासै किचकिच गरेका छैनन् ।” ओलीको भनाई उद्दृत गर्दै केपीसँग भेट गरेका ती नेताले भने, ‘तर अरू नेताहरूले भने त्यतिखेर प्रचण्डको रिसले निशर्त समर्थन गर्ने अहिले आएर अनावश्यक बार्गेनिङ गरे । मलाई कोही नभए पनि हुन्छ, म एक्लै पार्टी हाँक्न सक्छु ।” केपी पक्षले शुरुमा विभिन्न पद र प्रलोभन दिएर पूर्वमाओवादी र माधव नेपाल पक्षका कतिपय नेता तथा कार्यकर्तालाई केन्द्रीय सदस्य बनाएपनि पछिल्लो समयमा प्रतिनिधि सभा पुनर्स्थापना हुने सम्भावना बढ्दै गएपछि र भूमि आयोगलगायतमा नियुक्ति गर्ने सन्दर्भममा केपी निकटको सिफारिसका आधारमा पूर्वसहमति विपरित नियुक्ति भएपछि आन्तरिक किचलो झनै चुलिएको छ । केपीलाई समर्थन गर्न पुगेको पूर्वमाओवादी निकट र केपीले केन्द्रीय सदस्य बनाएका एक नेता भन्छन, ‘केपीलाई समर्थन गरेको दुई हप्ता नबित्दै त यसरी पेलिरहेका छन् भने भोलि चुनावसम्म पुग्दा त के होला भन्ने चिन्ता छ । कतिपय साथीहरू अहिले यता भएपनि सबै असुरक्षित भएका छन् ।” तर, प्रचण्ड-माधव पक्षका कतिपय असहष्णिु नेताका कारण यसरी असन्तुष्ट भएकाहरूमध्ये कतिपय भने तत्कालै फर्किन धकसमेत मान्न थालेका छन् । ‘केपीवालाहरूको पारा देखेर यता बस्न त फिटिक्क मन छैन तर उताकाले पनि हामीलाई झन होच्याउन थालेपछि संकटमा परेका छौं ।” एक पूर्वमाओवादी जिल्ला अध्यक्षले भने, ‘तर यता बस्ने पनि अवस्था छैन, हेरौं, केही समयपछि के हुन्छ ?” यतिखेर सुदूरपश्चिममा लेखराज भट्टका समर्थकहरूमध्ये कतिपयले केपीलाई पूर्णरूपमा समर्थन गरे पनि बादल, टोपबहादुरलगायतका नेताहरूका समर्थक भने अहिले केपी छोड्नुपर्ने लबिङमा लागेका छन् । त्यसो त नेता लेखराज भट्ट निकटमध्ये कतिपयले केपी पक्ष छोडिसकेको अवस्था छ । कतिपयलाई तत्कालको लाभ र विगतका कतिपय मुद्दा बल्झिने डरले केपीको साथ दिनुपर्ने बाध्यता भए पनि ढिलोचाँडो मूलधारमा नै फर्किने प्रचण्ड-माधव समूहका नेता बताउँछन् ।
एमसीसी विकास हैन, विनाश बोकेर आउँदैछः विप्लव
नेक्रविक्रम चन्द (विप्लव) महासचिव नेकपा नेपाली राजनीतिमा अमेरिकी योजना एमसीसीबारे तातो बहस छ । सिङ्गै देश एमसीसीको पक्ष र विपक्षमा बाँडिएको छ । सारा स्वाभिमानी, देशभक्त, लोकतन्त्रवादी, वामपन्थी, बुद्धिजीवी, कम्युनिष्टहरू एमसीसीका विरुद्ध उभिएका छन् भने नेपाली कांग्रेस, केपी वली समूह, कमल थापालगायत केही दलाल, कमिसनखोरहरू एमसीसीका पक्षमा देखिएका छन् । एमसीसी के हो, यसको उद्देश्य के हो ? र यसलाई संसदबाट पास गरे के गर्न सकिन्छ ? भन्नेबारेमा छोटो चर्चा गरौँ । १) एमसीसी भनेको के हो ? एमसीसीको नेपाली अर्थ सहस्राब्दी चुनौती निगम हुन्छ । यो संस्थाको नामबाट नै स्पष्ट हुन्छ– अमेरिकाले यो सहस्राब्दीमा विश्व व्यवस्थाबारे सैन्य–राजनीतिक दृष्टिले जसरी सोचिरहेको छ त्यसलाई दक्षिण एसियामा कार्यान्वयन गर्ने नै यस संस्थाको ध्येय हो । ‘एमसीसी भनेको यही आईपीएसको सैन्य राजनीतिक रणनीतिलाई अर्थराजनीतिक मोर्चाबाट लागु गर्ने एकाइ हो । यसले पैसाको पोको बोकेर सेनाको प्रवेश वा हस्तक्षेपलाई ढोका खोलिदिन्छ ।’ सबैलाई थाहा छ अमेरिकाले दोस्रो विश्वयुद्ध पछि एसियामा कम्युनिष्ट प्रभाव अर्थात् वैज्ञानिक समाजवादी क्रान्ति रोक्नका लागि प्रशान्त क्षेत्रीय रणनीति सिक्टु बनाएर काम गर्दै आएको थियो । सिक्टुमा जापान, फिलिपिन्स, इन्डोनेसिया, थाइल्यान्ड, अस्ट्रेलियालगायत देशहरूलाई समाहित गरेको थियो । यसले प्रशान्त क्षेत्रमा अमेरिकी हैकम र अतिक्रमणलाई कायम गरायो । तर अमेरिकाको सोचाइअनुसार दक्षिणएसिया समेटिसकेको थिएन । मुख्यतः अन्तर्रा्ष्ट्रिय गठबन्धनमा भारत सोभियत सङ्घतिर ढल्किनुले अमेरिकालाई कठिनाइ भएको थियो । सोभियत सङ्घको विघटनपछि भारतलाई च्याप्न केही सहज भएको वा भारतसमेत अमेरिकी प्रभावमा ढल्किन थालेपछि अमेरिकाले दक्षिण एसियालाई नै केन्द्रितगरेर ट्रम्प प्रशासनले हालै हिन्द–प्रशान्त रणनीति (आईपीएस) बनाएको छ । यो भनेको दक्षिण एसियामा सैन्य दृष्टिले अरू केन्द्रित भएर काम गर्ने रणनीति हो । एमसीसी भनेको यही आईपीएसको सैन्य राजनीतिक रणनीतिलाई अर्थराजनीतिक मोर्चाबाट लागु गर्ने एकाइ हो । यसले पैसाको पोको बोकेर सेनाको प्रवेश वा हस्तक्षेपलाई ढोका खोलिदिन्छ । २) एमसीसीको उद्देश्य मिलिनियम च्यालेन्ज कर्पोरेसनको मुख्य उद्देश्य दक्षिण एसियामा अमेरिकाले खडा गरेको हिन्द–प्रशान्त रणनीतिलाई अर्थ राजनीतिक मोर्चाबाट कार्यान्वयन गर्ने हो । दक्षिण एसिया स्तरबाट यहाँका देशहरूलाई अमेरिकी सैन्य गठबन्धनमा सहभागी बनाउने र नेपालका सन्दर्भमा नेपाललाई अमेरिकी सैन्य गठबन्धनमा हुल्ने उद्देश्य हो । नेताहरू दलालकै रूपमा भासिए भने स्वाधीनताको रक्षाका लागि जनताका बीचबाट देशभक्तिको सङ्घर्ष अगाडि बढाउनुपर्छ । देशको रक्षा गर्नु हरेक नागरिकको अधिकार र जिम्मेवारी हो । अमेरिकाले हिन्द–प्रशान्त रणनीतिको मुख्य उद्देश्य चीनको प्रभाव र विस्तारलाई दक्षिण एसियामा रोक्ने हो भनेकै छ तर हामीले नेपाल केन्द्रित अमेरिकी चासोलाई हेर्दा चारवटा भित्री योजना देख्न सकिन्छ । पहिलो, चीनको प्रभावलाई रोक्ने, दोस्रो दक्षिण एसियामा देखिएको कम्युनिष्ट क्रान्तिको सम्भावनालाई रोक्ने, तेस्रो नेपालको कम्युनिष्ट क्रान्तिलाई रोक्ने र चौथो नेपालमा अमेरिकी सैन्य अड्डा खडा गर्ने । ३) यसको राष्ट्रघाती चरित्र एमसीसी लिएर अमेरिका आउनुको उद्देश्य हेर्दा प्रस्ट हुन्छ– यो परियोजना नेपालका लागि राष्ट्रघाती छ । यसको राष्ट्रघाती अनुहार अझ छर्लङ्ग एमसीसी सम्झौतापत्रमा देखिन्छ । जब यो सम्झौता संसद्ले पास गर्नेछ त्यसपछि नेपालमा सम्झौतामा उल्लेख भएका हदसम्म नेपाली कानुनको सट्टा अमेरिकी कानुन (सम्झौता अमेरिकी कानुन नै हो लागु हुनेछ । नेपालका तत्तत् क्षेत्र अमेरिकी कानुनद्वारा निर्दे्शित र परिचालित हुनेछन् । नेपालका नागरिक नेपालको कानुनबाट होइन, अमेरिकी कानुनबाट शासित हुनेछन् । एमसीसीले विकास हैन, नेपालमा विनाश बोकेर आउँदैछ । भारतमा ब्रिटिसहरू पहिले घुमन्ते बनेर त्यसपछि व्यापारी बनेर त्यसपछि बन्दुक बोकेर त्यसपछि सत्ता खोस्दै आएको जस्तो एमसीसीको पैसा पछि अमेरिका त्यसरी नै आउने प्रस्ट छ । एमसीसी विरुद्ध ठूलो जनमत देखिएपछि केपी सरकारले के गर्ला ? भन्ने प्रश्न उठेको छ । तर केपी संसदबाट राष्ट्रघात हुने सम्भावना प्रबल बनेको छ । के यो तथ्य स्पष्ट छैन र ! विषय यति गम्भीर हुँदाहुँदै पनि काङ्ग्रेस, केपी वली समूह, कमल थापा र केही कूटनीतिज्ञ भन्नेहरूले एमसीसीलाई आर्थिक सहयोग र विकाससँग जोडेर यत्रो पैसा खेर जान दिनु नहुने, अमेरिकाको विकास होस् भन्ने चाहनालाई हस्तक्षेपमा बुझ्न नहुने, अमेरिकालाई जिस्क्याउन नहुने, शक्तिराष्ट्रसँग खेल्न नहुनेजस्ता अत्यन्त राष्ट्रिय आत्मसमर्पणवादी तर्क गरिरहेका छन् । हामीले बुझ्नुपर्छ एमसीसीको विषय धेरै पैसा र कम पैसा, विकास र अविकास, शक्तिराष्ट्र र कमजोर राष्ट्रसँग जोडिएको वा जोड्नुपर्ने विषय होइन । यस्तो तर्क गर्नु भनेको पद र पैसा पाएपछि देश बेचे पनि हुन्छ भन्ने लेन्डुपे तर्क हुन्छ । एउटा रमाइलो के भयो भने एमसीसीलाई आईपीएससँग सम्बन्धित छैन भनेर काङ्ग्रेस, केपी वलीका मान्छेहरू चिच्याइरहेकै बेला अमेरिकी राजदूतावासबाट आईपीएसकै अङ्ग हो भनेर वक्तव्य आयो । एमसीसीलाई आईपीएससँग सम्बन्धित छैन भनेर अमेरिकी सेवा गर्न चाहने दलालहरूलाई मालिकले यसरी उदाङ्गो बनाइदियो, दलालीको पनि आँट चाहिन्छ, पैसा चाहिएको हो भने खुला अमेरिकाका पक्षमा उभिएर बोल, हैन भने पाउँदैनौ भनिदियो । अब के गर्ने, मुख्यतः केपी गुटलाई चुनौती थपिएको छ । ४) राष्ट्रघातको सम्भावना एमसीसी विरुद्ध ठूलो जनमत देखिएपछि केपी सरकारले के गर्ला ? भन्ने प्रश्न उठेको छ । तर केपी वली, नेपाली काङ्ग्रेस र कमल थापाहरूले एमसीसी जसरी पनि पास गर्नुपर्छ भन्दै गर्दा संसदबाट राष्ट्रघात हुने सम्भावना प्रबल बनेको छ । यसलाई प्रचण्डको केही बुँदा सच्याएर पास गर्नुपर्छ भन्ने चरम अवसरवादी, उपयोगितावादी चरित्रले मलजल गर्ने देखिन्छ । हामीलाई एमाले पार्टी फुटाएर पनि केपी गुटले महाकाली सम्झौतालाई संसदबाटै पास गरेर अकल्पनीय क्षति पुर्याएको घटना ताजै छ । त्यसबेला पनि केपी गुट, काङ्ग्रेस र राप्रपाहरूकै गठजोड थियो । आज एक्काईस वर्षपछि केपी गुटले पुनः त्यही कलङ्कित अपराध दोहोर्याउने सम्भावना छ । सार्वभौमिक भनिएको संसदबाट राष्ट्रघातमा सहीछाप लगाइने सम्भावना बढेको छ । यसको छनक केपी वलीले पूर्वसभामुख कृष्ण महराले गर्दा संसदमा पेस हुन र पास हुन सकेन भनेर दिइसकेका छन् । एक प्रकारले भन्दा समस्या एमसीसीको भन्दा केपी प्रवृत्तिको बढी देखिन्छ । रूपमा शान्ति, विकास, राष्ट्र बोके जस्तो तर सारमा पद र कुर्सीका लागि देशलाई नै घात गर्ने प्रवृत्ति जुन प्रवृत्ति काङ्ग्रेस, प्रचण्डहरू भित्र पनि प्रसस्त देखिन्छ । यही प्रवृत्तिका कारण देशले ठूलो मूल्य चुकाउनुपर्ने समस्या आउन सक्छ । ५) यसको प्रतिरोध साम्राज्यवादी अतिक्रमण हुँदै गर्दा देशको स्वाधीनता र सार्वभौमिकता कुनै पनि पार्टी, नेता, संसद्, सरकारभन्दा माथि हुन्छ । कुनै नेता, पार्टी, संसद् र सरकारले देश र जनताको प्रतिनिधित्व एवम् नेतृत्व गर्न सक्दैनन् भने तिनको निर्णय, आदेश र नेतृत्व मान्ने हुँदैन । देशको स्वाधीनता र सार्वभौमिकताका लागि वास्तविक देशभक्त एवम् क्रान्तिकारी शक्तिले जनताको बीचबाट नेतृत्व गर्नुपर्ने हुन्छ । जसरी रुसमा संसद्को सट्टा सोभियतले र चीनमा च्याङकाई सेकको सट्टा जनवादी सरकारले देशको स्वाधीनताको नेतृत्व गर्नु परेको थियो । आज नेपालमा त्यस्तै परिस्थिति र जिम्मेवारी आएको छ । केपी सरकारले संसदबाट एमसीसी पास गर्ने अवस्था आयो, संसद्ले स्वाधीनताको रक्षा गर्न सकेन, देशभक्त नेपालीको प्रतिनिधित्व गर्न सकेन, नेताहरू दलालकै रूपमा भासिए भने स्वाधीनताको रक्षाका लागि जनताका बीचबाट देशभक्तिको सङ्घर्ष अगाडि बढाउनुपर्छ । देशको रक्षा गर्नु हरेक नागरिकको अधिकार र जिम्मेवारी हो । जनता एक भएर उठे कसैले हराउन नसक्ने तागत पैदा हुन्छ । देशको स्वाधीनताको रक्षा पनि अन्ततः जनताकै तागतले पूरा गर्छ । ज्वाला खबरबाट
नेपालमा यसरी भएको थियो गणतन्त्र घोषणा
सन्तोष खडेरी एकातिर माओवादी हिंसा उत्कर्षमा पुग्दै गर्दा अर्कोतिर राजधानीमा शाही नरसंहार मच्चिएको थियो । नारायणहिटी दरबार हत्याकाण्डपछि राजसंस्थाप्रति नेपालीको पवित्र आस्था ढल्दो थियो । राजा ज्ञानेन्द्रले ८ जेठ ०५९ को संसद् विघटन गरे सोही वर्ष १८ असोजको निर्वाचित प्रधानमन्त्री हटाउने कदम चाले अनि, दुई वर्षपछि १९ माघ ०६१ को तानाशाही कदमले तत्कालीन संविधानको धारा १२७ लाई आफूखुसी व्याख्या गरि शासन सत्ताको बागडोर आफ्नै हातमा लिए। तर उता दिल्लीमा १२ बुंदे सम्झौता भयो तत्कालीन बिद्रोही माओवादी र बिघटित संसदका ७ संसदवादी दलहरुका बिचमा जसले नै पछि चैत्र २४ मा दोश्रो जनआन्दोलन आह्वान भयो त्यो १९ दिन सम्म चलेपछि अन्ततः तत्कालीन राजा ज्ञानेन्द्रके घुँडा टेके र शाही घोषणा मार्फत जनताको नासो जनतालाई सुम्पिए त्यसपछि गिरिजा प्रसाद कोईरालाको नेतृत्वमा सरकार बन्यो विघटित संसद पुनर्स्थापना भयो त्यो संगै ०६३ जेठ ४ गते बसेको बैठकले राजदरबारको अधिकार कटौती गर्यो । त्यसपछि राजा र प्रधानमन्त्री दुबैको जिम्मेवारी प्रधानमन्त्रीका रुपमा गिरिजा प्रसाद कोईरालाले सम्हाले। त्यसपछि तत्कालीन माओवादी संग सरकारले २०६३ मंसिरमा शान्ति सम्झौता गर्दै माओवादी समेत संसद र सरकारमा सम्मीलित भई २०६४ चैत्र २८ मा संविधानसभाको निर्वाचन सम्पन्न भयो। संविधान सभाको पहिलो बैठक २०६५ साल ज्येष्ठ १५ मा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको तर्फबाट गृहमन्त्री कृष्णप्रसाद सिटौलाले प्रस्तुत गरेको गणतन्त्र कार्यान्वयन गर्ने प्रस्तावमाथि मतदान हुँदा पक्षमा ५६० र विपक्षमा ४ मत परेको थियो। ”नेपालको अन्तरिम संविधान २०६३ को धारा १५९ बमोजिम गणतन्त्र कार्यान्वयनको प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्दछु”जेष्ठ सदस्यको रुपमा सभामुखको जिम्मेवारी निर्वाह गरेका कूलबहादुर गुरुङको यस्तो घोषणा पछि राजतन्त्र उन्मूलन गरी नेपालमा गणतन्त्र स्थापना भयो। तत्कालीन राजा ज्ञानेन्द्रले गणतन्त्रको स्थापनालाई सहज ढंगले स्वीकार्नु पनि वितेको वर्षको एउटा महत्वपूर्ण घटना थियो। सरकारले तोकेको १५ दिने म्याद भित्रै उनले गत वर्षको जेठ २९ गते साँझ नारायणहिटी राजदरवार छाडेका थिए। आफ्नो भावपूर्ण सम्बोधनमा उनले भनेका थिए, “जनताको चाहना र इच्छालाई नै सर्वोपरी मान्ने राजपरम्परा अनुसार संविधानसभाको निर्वाचन र गत जेठ १५ गते संविधानसभाको बैठकले गरेको निर्णयलाई मैले सहज बनाउन सहयोगीको भूमिका सम्पन्न गरेको छु।” आज गणतन्त्र घोषणा भएको एक दशक पूरा भई एघारौं बर्षमा प्रवेश गरेको छ पछिल्लो एक दशकमा जनताक जनजिविकाका सवालमा कुनै उल्लेख्य प्रगती नभए पनि मुलुकले राजनीतिक रुपमा भने निकै छलाङ मार्यो ।यो बिचमा पहिलो संविधानसभा त्यसै तुहिए पनि बिरलै हुने दोश्रो संविधानसभाको निर्वाचन सम्पन्न भई संविधानसभा बाट नयाँ संविधान जारी भई तिनै तहको निर्वाचन सम्पन्न भएको छ ।जनता अधिकार सम्पन्न भएका छन् र यतिबेला दुई ठुला कम्युनिस्ट पार्टी एकीकरण भई एउटै भएका छन् देशमा एउटा बलियो सरकार बनेको छ ।जसले आफ्नो १०० दिनको मधुमासको समय पूरा गरेको छ। ‘सुखी नेपाली र समृद्ध’ नेपालको नारा तय गरेको सरकारले १०० दिनमा गति सुस्त भए पनि सही मार्ग समातेको छ। यसैमा अगाडी बढेर अब समृद्धिको यात्रा तय गरोस् र सबैलाई देशमा बस्ने बाताबरण बनाई व्यबहारमा सम्पन्न नेपाल निर्माण गरोस् सबैलाई ११औं गणतन्त्र दिवसको शुभकामना ।
के खाने, कहिले खाने र कसरी खाने ?
डा ललितकुमार मिश्र/ राम्रो स्वास्थ्यको लागि सधैं सकारात्मक सोच राख्नुको साथै मौसमअनुसारको ताजा फलफूल, हरियो सागपात, गेडागुडी, दूध, दही, अन्डा, माछा, मासुको सेवन उचित मात्रामा गर्नु पर्दछ । चिकित्सकहरूले पनि आफ्ना बिरामीलाई रोगअनुसारको खानेकुराको सल्लाह दिन्छन् नै । घरका ठूलाबडाले पनि यस प्रकारको शिक्षा आफ्ना छोराछोरी तथा नातिनातिनीलाई दिने गर्दछन् । कुरो ठीकै हो । अवस्था फरक छ, उहिले फलफूल, हरियो सागसब्जीलगायतका सबै चीजहरू मौसमअनुसार फल्ने फुल्ने गर्दथ्यो । मानिसहरू सिजनअनुसारको फलफूल, सागसब्जी खान्थे र हृष्टपुष्ट, स्वास्थ्य र दीर्घजीवी हुन्थे । तर, अचेल त वर्षैभरि सबै किसिमका फलफूलहरू हरियो तरकारी, गाउँघरमा लाग्ने सानो हाटबजारदेखि लिएर ठूलाठूला सहरका मल (सपिङ सेन्टर)हरूमा आकर्षक प्याकेजिङमा उपलब्ध हुन्छन् । मानिसहरू यिनै किनेर खाइरहेका छन् । यसका बाबजुद पनि मानिसमा धेरैजसो स्वास्थ्यसम्बन्धी समस्या हुनु अचेल सामान्य कुरो भइसकेको छ । यहाँ प्रश्न उठ्छ, के यी फलफूलहरू, हरियो सागसब्जी, दूध, दही, अन्डा, माछा, मासुमा पर्याप्त मात्रामा पोषकतत्व छ त ? के यी चिजहरू वास्तवमा तपाईंको परिवारको स्वास्थ्यको लागि पोषणयुक्त छ ? अचेल बढी उत्पादन एवं धेरै दिनसम्म बजारमा ताजा बनाई राख्नका लागि किसान वा थोक व्यापारीहरूले बढी मात्रामा रासायनिक मल, पेस्टिसाइडस् (कीटनाशक) एवं हार्मोन्सको इन्जेक्सनको प्रयोग गर्दछन् । मानिसमा विभिन्न प्रकारका स्वास्थ्यसम्बन्धी समस्याहरू पनि सोही रफ्तारमा बढिरहेको छ । भारतको चित्तरञ्जन नेसनल क्यान्सर इन्स्टिच्युटले हालसालै गरेको एक अध्ययन रिपोर्टमा भनिएको छ, प्रायः गरी सागसब्जीहरूमा प्रयोग गरिने इन्सेक्टिसाइट र पेस्टिसाइड्सको अंश यी बजारमा बिक्री गर्न ल्याइने हरियो तरकारीहरूमा रहिरहन्छ । यसको सेवनले तमाम दूरगामी खालका रक्तविकार, नसासम्बन्धी रोग, श्वासप्रश्वाससम्बन्धी रोग एवं महिलामा प्रजननसम्बन्धी रोग हुने सम्भावना बढी हुन्छ । जस्तै, थकान महसुस हुनु, पसिना बढी आउनु, टाउको दुख्नु, रिंंगटा लाग्नु, हातखुट्टा झम्झमाउनु, मांसपेशीमा ऐठान हुनु, शरीरको तौल घट्नु, भोक नलाग्नु, निद्रामा कमी आउनु तथा महिलामा गर्भपतन हुनु आदिजस्ता यस रोगका लक्षणहरू हुन् । यसै प्रकार कोलकाता विश्वविद्यालय कृषि विभागले प्रकाशन गरेको एक रिपोर्टअनुसार सागसब्जीहरूमा लिड, निकिल, केडमियमजस्ता तत्वहरू बढी भएकोले अनेक प्रकारको पाचनसम्बन्धी रोग देखा पर्दछन् । जस्तै, पेट दुख्नु, पखाला लाग्नु, आऊँ ९रगतमासी० हुनु आदि । यस प्रकार पेस्टिसाइड्सको दुष्प्रभावले गर्दा क्यान्सर, शारीरिक विकाससम्बन्धी रोग, बिकलांग बच्चा जन्मिनु या गर्भावस्थामा रोग लाग्ने सम्भावना बढिरहन्छ । व्यापारको दृष्टिले फर्म हाउसमा सागसब्जी वा फलफूलहरूको बढी उत्पादनको चाहनामा तथा मलखादको खर्चमा कटौती अथवा बचत गर्नको लागि बोटबिरुवामा आक्सिटोक्सिन (ग्रोथहार्मोन्स, चाँडै बढ्नको लागि दिइने इन्जेक्सन) को प्रयोग बढेको छ । जस्तै, भान्टा, लौका तथा गाईभैंसीलाई दूध बढी दिने सुई, कुखुराको मासुको तौल बढाउन, माछाको भुराको तौल चाँडै बढाउन प्रयोगमा ल्याइने हार्मोन्स प्रयोगबाट यसरी अस्वाभाविक रूपमा उत्पादन भएका सागसब्जी, फलफूल, तरकारीहरूलाई बढी समयसम्म ताजा बनाइराख्नको लागि टिन (जस्ता) या मेटलको पन्नीमा ¥यापगरी राख्ने गर्नाले ९खाद्यपदार्थ० अझ संक्रमिक हुन सक्छ । यस्तो खाद्य पदार्थको सेवन लामो समयसम्म गर्नाले व्यक्तिको मृत्यु पनि हुन सक्छ । यस प्रकार समयभन्दा पूर्व काँचो फलफूलहरू केरा, आँपलाई पकाउनको लागि केल्सियम कार्बाइडमा राखिन्छ । काँचो आँप कार्बाइडनामक रसायनमा राख्नाले २४ घन्टामै आँप पाक्दछ । यदि कार्बाइडको मात्रा कम हुन गयो भने फलको बोक्राको रङ बदलिन्छ । तर, भित्रबाट फल काँचो नै रहन्छ । यदि रसायनको मात्रा बढी हुन गयो भने फल त पाक्दछ तर बेस्वाद र विषाक्त हुन्छ । राम्ररी नपकाइकन खाएको सागसब्जीहरूको सेवनले इससिरयाकोलाई, कलास्ट्रिडम, बेसिलेस सेलभनेला, लिस्टेरियानामक कीटाणुहरूको संक्रमण हुनाले पनि यस्ता रोग लाग्ने सम्भावना रहन्छ । यस्ता खानेकुराबाट छालासम्बन्धी समस्या, क्यान्सर, अजीर्ण (अपच) पेटमा ग्यास भरिनु, पेटमा दर्द, पेट बट्टारिनु, बान्ता हुनु, पखाला लाग्नु, रिंगटा लाग्नु, छालासम्बन्धी रोग र क्यान्सर आदिजस्ता रोगका लक्षणहरू उपभोक्तामा देखिन सक्छन् । यसबाट बच्नको लागि एउटैमात्र उपाय भनेको, सिजनअनुसारको सागसब्जी, फलफूल खाने हो । सकभर अर्गानिक सागसब्जी र फलफूलको सेवन गर्ने बानी बसालौं । हाटबजारबाट किनेर ल्याएको फलफूल या सागसब्जीलाई हल्का तातोपानीमा कम्तीमा ३० मिनेट जति डुबाएर राख्नुपर्छ । त्यसपछि राम्रोसँग धोइपखाली राम्रोसँग पकाएर खानुपर्छ । खाना खानु अगाडि र खाना खाइसकेपछि राम्रोसँग साबुनपानीले हात धुनुपर्छ । खाद्य पदार्थको विषाक्तता (फुडपोइजन) बाट हुने रोगहरूमा रोगीको अवस्था र लक्षणहरूको आधारमा निम्नलिखित केही होमियोप्याथिक औषधिहरू प्रयोग गर्न सकिन्छ । आर्सेनिकएलबम, पोडोफाइलम, चाइना, बेलाडोना, एलोज, एलियमसिपा, कार्बोभेज आदि । यी औषधिहरू आफ्नो नजिकको योग्य तथा अनुभवी होमियोप्याथिक चिकित्सकसँग सल्लाह लिएर प्रयोग गर्नाले लाभदायक हुन्छ । अन्त्यमा खान सबैले जानेको हुन्छ, तर के खाने ? कहिले खाने र कसरी खाने ? भन्ने कुरा धेरैले जानेका हुँदैनन् । खानपिनमा नै हाम्रो स्वास्थ्य निर्भर छ ।
गृहमन्त्री ज्यु ! केही त गर्नुहोस
नरेन्द्र चुदाली उर्जा मन्त्रालयबाट देश र जनताको पक्षमा उर्जा भर्न सफल जनार्दन शर्मा बर्तमान मन्त्रीमन्डलमा गृहमन्त्री छ्न । उनको उत्साहपुर्ण आगमनमा धेरैमा सुसासनको आशा जागेको छ । गृहमन्त्रीको हैसियतमा काठमाडौंको सडक सस्कार लाई सभ्य बनाउन सके जनतालाइ ठूलो राहत मिल्ने छ।काठमाडौं को सडक सभ्यताको बारेमा गृहमन्त्रीलाई छोटो जानकारी जुन परिवर्तनको निम्ति महत्त्वपूर्ण बन्न सकोस ! राजधानीमा साझा गुड्ने भएपछि निकै खुशियाली छायो। साझाले जुन रुटमा अनुमति लिन्छ त्यस क्षेत्रका जनताहरु उत्साहित हुने गरेका छन्। मानिसहरुले साझा प्रति ठुलो विश्वास र सद्धभाव राख्ने गरेका छन्। आखिर एउटा बस सञ्चालन हुदा किन उत्साहित भए त जनता ? यसभित्र राजधानीमा सार्वजनिक यातायातको प्रयोग गर्ने सर्बसाधारणका अनेकौँ कथा–व्याथा लुकेका छन्। सडक एउटा सभ्यता हो। सडक विकाश र समृद्धिको सुचक हो । सडक आफैँमा क्रियाशिल नभएकोले गर्दा सडक मा सरोकार राख्ने पात्रहरुको व्यवहार र गतिविधिले सडक सभ्यताको लेखाजोखा गर्दछ । जसमा सडकमा गुड्ने सवारी साधनका चालक सहचालक यात्रुले सरोकार बढी हुन्छ। तर, हाम्रो राजधानीमा हामी कस्तो किसिमको सार्वजनिक यातायात सेवा प्राप्त गर्दै छौ ? यसमा अधिकाशंको जवाफबाट सन्तुष्ट हुन सक्दैन् । किनकि काठमाडौंमा सार्वजनिक सवारिमा यात्रा गर्ने हरेकले त्यहाको भद्रगोल र सहचालकको असभ्य वयवहार झेलेकै हुन्छन्। देशको राजधानीका सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने यात्रुहरुले सहचालकबाट राम्रो व्यवहार विरलै पाइन्छ । यदी यात्रा गर्दा त्यस्तो सभ्य व्यवहार पाईयो भने त्यो निकै खुशिको कुरा हुन्छ । र त्यो उदाहरण बन्छ । यसबाट प्रष्ट हुन्छ कि देशको राजधानीका सडकहरुमा मानवियता, आतिथ्यता तथा सभ्यता कती विकराल रुपमा स्खलित भएको छ भनेर । राजधानिमा चल्ने अधिकाशं सवारीसाधनमा यात्रा गर्दा राजधानीबासी जनताहरुले दुरव्यवहार सहन बाध्य हुनु परेको छ। सडक सभ्यता कुनै पनि देशको विकासको सुचक मानिन्छ । यसलाई चेतनास्तर र समग्र राष्ट्रको प्रतिविम्वको एउटा दरिलो पाटो मानिन्छ। सडकमा गुड्ने सार्र्वजनिक सवारी सेवामुलक व्यवसायको अनुपम नमुना हुन्छन्। यो नित्तान्तै सेवा व्यवसाय हो। मुनाफा प्राप्त गर्नको लागि यात्रुलाई आतिथ्य र सभ्य व्यवहार प्रदान गर्नु यस क्षेत्रको व्यवसायीक धर्म हो। तर विडम्बना देशको राजधानिमै आम यात्रुहरुले सर्र्वजनिक सवारीका सहचालक बाट असभ्य व्यवहार सहन बाध्य हुनु परेको छ । एक त अव्यवस्थित सवारी व्यवस्था त्यसमाथी पनि चालक तथा सहचालकको असहयोगी र पाखण्डी व्यवहारले काठमाण्डौका सार्वजनिक सवारीमा यात्रा गर्ने यात्रुहरुले आफुलाई अपमानित महसुस नगरेको सायदै छैन होला । घरबाट कार्यक्षेत्रमा निस्कीएपछि आत्मसम्मानमा ठेस पर्ने ठाउँ भनेकै सार्वजनिक यातायात भएका छन्। त्यहाँका चालक तथा सहचालको बोली तथा व्यवहारमा यति रुखो हुन्छ कि यात्रुहरु प्रतिवाद गर्ने आवश्यकता नै ठान्दैनन्। किनकि यस्ता घटना सामान्य मात्रामा हुने भएको भए प्रतिवाद गर्न सम्भव हुन्थ्यो। तर सहचालको रुखो व्यवहार अधिकाशं सवारीमा छ ,राम्रो व्यवहार हुने सवारीसाधन विरलै छन्। त्यसैलेपनि यात्रुहरु प्रतिवाद गर्नुनै बेकार ठान्छन् । अनि काठमाण्डौको सभ्यतानै सायद यहि नै हो कि भनेर निरीह बन्न बाध्य छन् काठमाडौंका सवारी साधनका सहचालकको व्यवहार देख्दा यस्तो लाग्छ कि सहचालक बन्न चाहिने योग्यता भनेकै धेरै भन्दा धेरै रुखो बोल्न सक्ने, असभ्य बन्न सक्ने , यात्रुलाई दुरव्यवहार गर्न सक्ने हो । किनकि त्यसको प्रमाण सडकमा गुडिरहेका सार्वजनिक यातायातका सहचालकहरुले यात्रुहरुलाई देखाउने तल्लो स्तरको व्यवहारबाट प्रष्ट हुन्छ । उनिहरु यात्रुहरुसंग राम्रो व्यवहार गर्नुपर्छ भन्ने आवश्यकता नै ठान्दैनन्। उनिहरुमा हामी नै सडकका राजा हाँै अनि गाडिमा चढ्ने यात्रु सबै रैती हुन भन्ने भ्रममा परेको हुनुपर्छ सायद। नत्र भने व्यापारमा भगवान रुपी ग्राहकहरुप्रती गर्ने उनिहरुको व्यवहार सभ्य हुन्थ्यो होला। देशको राजधानी जहाँ आर्थिक सामाजिक ,साँस्कृतिक तथा मानविय चेतना स्तर र व्यवहार अन्य ठाउँको भन्दा विकसित हुन्छ भन्ने विश्वास गरिन्छ। तर जब हामी काठमाण्डौंका सार्वजनिक साधनमा यात्रा गछौँ । त्यही विश्वासमा धक्का लाग्दछ । भन्दा अप्रीय लाग्न सक्छ तर यो तितो यथार्थता हो कि राजधानी प्रती वितृष्णा पैदा हुने एउटा जर्जर पाटो नै सडक सवारीमा देखिने असभ्यता हो । त्यसैले त राजधानिका सडक सभ्य हुन सकेका छैनन्। त्यसैबाट नै सडकमा सभ्यताको प्रतिविम्व झल्कीने होे तर विडम्बना तिनीहरुका बोली र व्यवहार मन चसक्क गर्ने खालका छन् । साहै्र नमिठो लाग्ने छन्। यायायात क्षेत्र भद्रगोल हुनुमा सरकारी कमजोरी त छँदैछ त्यसतो समयमा राज्य कमजोर छ यसमा सबैले आफ्नो ठाउँबाट ईमान्दारीता देखाएर राज्यलाई उर्जा प्रदान गर्ने हो । तर, यातायात व्यवसायी यति अराजक छन कि यातायात क्षेत्रलाई व्यवस्थित बनाउन सरकारले चाल्ने हरेक कदमलाई असहयोग गर्दैछन्। ट्राफिक जरीवाना बढायो भनेर सडक बन्द गर्ने कि राज्यले बनाएको नियम पालना गर्न प्रतिबद्धता जनाउने ? यहीबाट नै प्रष्ट हुन्छ तिनिहरुको दादागिरी र अराजकता । आज काठमाडौंको न्युनतम भाडा १३ रुपैया छ । तर त्यो कार्यान्वयनमा आएको छैन । सहचालकहरु खुलेयाम १५ उठाउँदैछन्। प्रतिवाद गर्न खोज्यो भने उल्टै कुटाई खान बाध्य छन् यात्रुहरु । विद्यार्थीहरुले पाउने सहुलीयत पुर्णरुपमा पाउन सकेको छैन्। न्युनतम १३ भाडामा ४५ प्रतिसत छुट दिदा ७ रुपैया दिए हुनेमा १० रुपैया तिर्न बाध्य छन् विद्यार्थीहरु। विद्यार्थीहरुको आन्दोलनबाट प्राप्त सहुलीयतको अधिकार लाई भिख दिए जस्तो व्यवहार गर्ने व्यवसायीरुको दिमागमा त्यही सहुलियत दिनको लागि सवारी किन्दा राज्यले छुट दिन्छ भन्ने कुरा छ कि छैन ? यात्रुहरु चाउचाउका प्याकेट कोचे जस्तो गरी कोच्चीएर यात्रा गर्न बाध्य छन् । त्यसमाथि सहचालकको रुख व्यवहारले कति पोल्छ होला यात्रुहरुको मन ? कहिले अनुगमन गरेका छन् यी व्यवसायीहरुले हामीले कस्तो सुविधा दिएका छौ भनेर ? दादागिरी देखाएर हुन्छ ? सिन्डीकेटले गर्दा आज यातायात क्षेत्रमा लगानी गरेर यात्रुलाई राम्रो सुविधा दिन चाहानेहरुले अवसर पाएका छैनन्। पाखुरा देखाएर यो क्षेत्रलाई भद्रगोल पार्दैछन् कथित व्यवसायीहरु । पछिल्लो समय ठुलो मानविय क्षति हुने गरी भएका दुर्घटनाको प्रमुख कारण चालकको लापरबाही नै पाईएको छ। तर पनि यातायात व्यवसायी गम्भिर बन्न सकेका छैनन्। आज जनतालाई सुविधा दिने साधनहरु यात्रु मार्ने हतियार जस्तै बनेका छन्। दुर्घटना भवितव्य कुरा हो, यसमा दुईमत छैन् तर चालक कै लापरवाहीले पटक–पटक दुर्घटना हुनु सामान्य कमजोरी होईन्। यसप्रती व्यवसायीहरु गम्भीर बन्नु जरुरी छ। वर्तमान समय परिवर्तन र विकाशको हो । तर देशको राजधानीमा चल्ने सार्वजनिक सवारीलाई हेर्दा हामी कति पछाडी छौ भन्ने प्रष्ट हुन्छ । आज यदि यो देशमा व्याप्त यातायात सिन्डीकेट हट्यो भने यस क्षेत्रमा अरबौँ को लगानि भित्रिने निश्चित छ, यदि सरकारले सिण्डीकेट तोड्ने अाँट गर्यो भने । सहचालकको असभ्यताका साथै , जेब्रा क्रस, लेन ,टफिक लाईटको सम्मान नगर्दा राजधानीको सडक अस्तव्यस्त भईरहेको छ । एउटा होटलमा १५ रुपैयाँ तिरेर चिया खाँदा त्यहाँ हामीलाई कति राम्रो बोली वचन र व्यवहार हुन्छ? तर एउटा गाडिमा १५ रुपैया तिरेरै यात्रा गर्दा किन रुखो व्यवहार हुन्छ । आखिर यि दुवै व्यवसाय नै हुन । ग्राहकलाई सेवा दिएर नाफा कमाउने ।तर किन यति फरक? एउटा सीप भएको काठ मिस्त्री र त्यस्तै प्राविधिक सिप भएको चालक ज्ञानको हिसाबले समान हुन भलै क्षेत्र फरक होला । तर किन चालक भन्ने वित्तीकै हाम्रो मनमा फरक धारण बन्छ ? के कहील्यै सोचेका छन् चालक ,सहचालकहरुले ? यहाँ कसैप्रती आग्रह पुर्वाग्रह साध्न खोजेको होईन्। यातायात क्षेत्रमा आमुल परिवर्तनको खाँचो छ। हामी राम्रा चालक–सहचालको सम्मान गर्छौँ । तर यस क्षेत्रमा देखाईने पाखण्डीपनाको विरोध गर्नै पर्छ। यसमा यातायात व्यवसायी गम्भीर बन्नु अहिलेको आवश्यकता हो। तर यसो भन्दैमा यातायात क्षेत्रमा भएको भद्रगोलको सम्पुर्ण दोषी नै यातायात व्यवसायी हुन भन्न खोजीएको पनि होईन। मात्र यती होकि उनिहरु आफ्नो उत्तरदायित्व र कतव्यबाट विमुख भएकै हुन्। यातायात व्यवासयाी आफ्नो जिम्मेवारी लाई ईमान्दारीता पुर्वक निर्वाह गरुन् सडकको स्तर उन्नती तथा अन्य पुर्वाधार तथा नितिगत कुरा विकासको लागि सरकारलाई स्वतः दवाव सृजना हुनेछ। आफु दादागीरी देखाउने, मनपरी तन्त्र लाद्ने, कानुनी राज्यको धज्जी उडाउने अनि सम्पूर्ण दोष सरकारको टाउकोमा थोपर्ने व्यवसायीको कार्य अनैतीक तथा अपाच्य हुनेछ। भक्तपुरमा साझालाई व्यवसायीहरुले अवरोध गरिरहेका छन्। आफुले पनि उत्कृष्ट सुविधा दिएर साझासँग प्रतिस्पर्धा गर्न किन डराईरहेका छन् व्यवासायीहरु? भोली व्यवसायीहरुले साझाले भन्दा उत्कृष्ट सेवा दिन सके भने एक दिन सर्वसाधारण साझा छोडेर उनिहरुकै सवारीमा यात्रा गर्नेछन्। आजको यस विकिसित समयमा हाम्रो सडक सभ्यता उत्कृष्ट हुनु जरुरी छ। यसमा व्यवसायीले ध्यान दिनै पर्छ। यहाँ केही साझाका बस चल्दैमा अब व्यवसायीहरुको कुनै काम छैन भन्न खोजिएको होईन। साझाका सिमित बसहरुले सबैतिरको माग धान्न पनि सक्ने होईन्। सवाल मात्र यो हो कि यातायात क्षेत्रमा यति ठुलो लगानि गरेर राज्यलाई ठुलो योगदान गरेका व्यवसायीहरुले आफ्नो सेवामा सुधार नगर्दा उनिहरुको योगदानको उचित कदर हुन सकेको छैन्। सवारी साधनमा यात्रा गर्ने यात्रुसँग उनिहरुको भावना पनि यात्रा गरिरहेको हुन्छ। त्यसकारण सवारीका सहचालक र चालकले रुखो र छुद्र बोल्दा उनिहरुको आत्मसम्मान र भावनामा ठेस पुग्ने कुरालाई ध्यान दिनु आवश्यक छ ।
पुंगी खोलाको अवैध संरचना भत्काउने कार्य जारी, सौन्दर्यकरण र सीमांकन एक साथ हुँदै
भरतपुर । भरतपुरको मध्य भागबाट बग्ने पुङ्गी खोलालाई सौन्दर्यकरण गर्ने अभियानलाई तीब्रता दिइएको छ । सोमबार अभियान अन्तरगत भरतपुर वडा नम्बर ३ र ४ को सिमाना क्षेत्रबाट अतिक्रमित घर टहरा भत्काउन सुरु गरिएको हो । पुङ्गी खोलाको सौन्दर्यकरण र सीमांकनको कार्य एक साथ भइरहेको छ । महानगरपालिकाले खोलाको संरक्षण, प्रर्वधन र सौन्दर्यकरणको कार्यका लागि रु १० करोड ८० लाखको ठेक्का लगाइएको ईन्जिनियर साकार लामाले जानकारी दिनुभयो । यस अन्र्तगत १.५ किलोमिटरमा सौन्दर्यकरणको काम हुनेछ । यसअघि वडा नम्बर ४ मा पुंगी खोलाको दोभानबाट करिब ५ सय मिटरको काम सम्पन्न भइसकेको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले पुंगी खोला मिचेर बनाइएका सबै अवैध संरचना हटाउने अभियान जारी रहेको उल्लेख गर्नुभयो । पुंगी खोला विकास तथा सौन्दर्यकरण करिडोर निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजनाबाट ६ करोड ६५ लाख रुपैयाँ बजेट छुट्याएको छ । वर्षातको समयमा काम गर्न असहज हुने भएकाले हिँउदको समयमै दुबै कार्यलाई तीब्रता दिइएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिनुभयो । प्रमुख दाहालले अबको ३ वर्षभित्र पुंगी खोलाको मुहानसम्म नै सौन्दर्यकरण काम हुने बताउनुभयो । भरतपुरको गौरवको आयोजनामा रहेको पुंगी खोला सौन्दर्यकरण गर्ने कार्यमा सक्रिय सहयोग गर्न प्रमुख दाहालले अनुरोध पनि गर्नुभयो । भरतपुर वडा नं ११, २, ३ र ४ भई बग्ने खोलाको लम्बाई ६.६५ किमि रहेको छ । जसमा वृक्षरोपण, फुटरेल, रिटेनिङ्गवाला, रेलङिसहितको मर्निङ र इभिनिङवाक गर्न मिल्ने गरी संरचना निर्माण हुनेछन् । गरुयोजना अनुसार खोला किनारलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने छ। यहाँ पर्यटकले चिया, खाजा खाने स्टेशन, विश्रामस्थल, खुला व्यामशाला पनि रहने छ । पुंगी खोला र केरुङ् खोलाको सौन्दर्यकरण गर्ने कार्य महानगरको ढल व्यवस्थापनका लागि महत्त्वपूर्ण आयोजना हो। बढ्दो सहरीकरणले भरतपुरमा वर्षातको समयमा आकाशे पनि व्यवस्थापनमा समस्या देखिएपछि पुंगी र केरुङ्गा खोलाको सौन्दर्यकरण र व्यवस्थापनमा महानगर निरन्तर अघि बढेको छ ।
प्रधानमन्त्रीलाई विश्वासको मत नदिन रास्वपाको ह्विप
काठमाडौँ । प्रधानमन्त्रीलाई विश्वासको मत नदिन राष्ट्रिय स्वतन्त्र पार्टीले ह्विप जारी गरेको छ । आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिन ह्विप जारी गरेको हो । नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका ओलीले प्रतिनिधिसभामा आज विश्वासको मतसम्बन्धी प्रस्ताव राख्ने कार्यसूची रहेको छ । प्रधानमन्त्रीको सो प्रस्तावको विपक्षमा मतदान गर्न रास्वपाले आफ्ना सांसदहरुलाई निर्देशन दिएको हो । संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको जानकारी दिएका हुन् ।
संविधानमा माओवादीको सबैभन्दा ठूलो लगानी छ, यसलाई कमजोर बनाउन दिइन्न : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा नेकपा (माओवादी केन्द्र)को सबैभन्दा ठूलो लगानी भएको उल्लेख गर्दै यसलाई माओवादीले कमजोर नबनाउने र बनाउन पनि नदिने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतका लागि संविधानले प्रधानमन्त्रीलाई एक महिनाको समय दिएको उल्लेख गर्दै आउने दिनमा पनि संविधानको रक्षाका लागि आफू नेतृत्वको पार्टी निरन्तर लागिपर्ने बताए । “यो संविधानमा माओवादी केन्द्रको सबैभन्दा ठूलो लगानी छ । त्यसैले यसलाई माओवादीले कमजोर बनाउँदैन र बनाउन पनि दिँदैन,” प्रधानमन्त्री प्रचण्डले भने, “उत्पीडित वर्ग, क्षेत्र, लिङ्ग, समुदायको दशक लामो विद्रोह र त्यसपछिका आन्दोलनहरूको जगमा बनेको यो संविधानलाई मध्यरातमा झम्टीझम्टी च्यात्न खोज्दा पनि सडकमा पलेटी कसेर जनताको साथ लिएर बचाइएको हो र आउने दिनमा पनि त्यसरी नै बचाइनेछ ।”