दोलखा भिमेश्वरमा पहिरो खस्दा ४ वेपत्ता
दोलखाको भीमेश्वर नगरपालिका—९ लाँकुरीडाँडास्थित डाडाँगाउँमा गएराती पहिरो खस्दा चारजना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा डाडाँगाउस्थित कुतकुतेका मंगले थामीकी श्रीमती शान्ती, छोरीहरु १२ बर्षिया सन्तोषी, १० बर्षिया रोशनी र सोही स्थानकी ७९ बर्षकी लाटी थामी रहेको प्रहरीलाई उद्धृत गर्दै हाम्रा सहकर्मी राजेन्द्र मानन्धरले जनाएका छन् ।
लगातारको वर्षाले वडा— ९ का विभिन्न स्थानमा दोलखा जिल्ला जोड्ने लामोसाँघु जिरी सडक अवरुद्ध भएको छ । पहिरोले पतले वन क्षेत्रसमेत बगाएको छ । विभिन्न स्थानको पहिरोले एकदर्जन बढी घरका वासिन्दाहरुले बसाई छाडेर सरेका छन् ।
भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले राती नै सुरक्षार्मीलाई परिचालन गर्न प्रहरी र सम्बन्धित सबैलाई जानकारी गराएको बताउनुभयो ।
कान्तिपुर दैनिकबाट
सत्ता समिकरण विरुद्ध दायाँबाया गर्दैनौं : नेकपा(एस)
काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले अहिले नै सत्ता सहकार्यबाट दायाँबायाँ हुने कुनै योजना नरहेको र सत्ता सहकार्यविरुद्ध नलाग्ने स्पष्टीकरण दिएको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले अहिले विकसित राजनीतिक घटनाक्रमलाई गम्भीरतापूर्वक लिएको जानकारी गराउँदै प्रचार विभाग प्रमुख एवम् उपमहासचिव जगन्नाथ खतिवडा सो जानकारी दिएका हुन् । उनका अनुसार बैठकमा सांसदहरूलाई आगामी नीति तथा कार्यक्रम र बजेटबारे प्रभावकारी भूमिका खेल्न निर्देशन दिने निर्णय समेत भएको छ ।
आजको मौसम : यी स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। भोलि मंगलबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज सूर्योदय बिहान ५ बजेर २० मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४१ मिनेटमा हुनेछ ।
प्रहरी महानिरीक्षक कुँवर फ्रान्स प्रस्थान
काठमाडौँ । नेसनल सेन्ट्रल ब्युरो (एनसीबी)काठमाडौं नेपालका प्रमुख प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर फ्रान्स प्रस्थान गरेका छन् । उनी इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा संचालन हुने १९औं ‘हेड अफ एनसिबी कन्फरेन्स’मा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् । महानिरीक्षक कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकाल लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका छन् । हेड अफ एनसिबी कन्फरेन्समा इन्टरपोलका सम्पूर्ण १९६ सदस्य राष्ट्रहरूका एनसीबी प्रमुखहरू, इन्टरपोल महासचिव तथा पदाधिकारी बिच समन्वय एवम् सहकार्यको विषयहरूमा छलफल हुनेछ। साथै सहभागिताको क्रममा समसामयिक घटना, अपराध अनुसन्धानको विषय तथा सम्बद्ध प्रहरी कर्मचारीको क्षमता अभिवृद्धिका विषयहरूमा छलफलको लागि मित्रराष्ट्रहरू भारत, चीन, जापान र मलेसियाका प्रतिनिधिहरूसँग द्विपक्षीय बैठक गर्ने कार्यक्रम समेत रहेको छ। हरेक वर्ष हुने हेड अफ एनसिबी कन्फरेन्स यस वर्ष वैशाख ११ देखि १३ गते सम्म फ्रान्सको लियोनमा सम्पन्न हुनेछ। कन्फरेन्समा प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंह समेत सहभागी हुनेछन्। प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन्।
विकल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दर्ता
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । विकलविरुद्ध यसअघि नै सुरक्षण मुद्रण केन्द्रमा अनियमितता गरेको आरोपमा दायर भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन छ । उनले आफ्नो ओहोदा ढाँटेर सार्वजनिक पद लिएको आरोपमा उनीविरुद्ध अर्को मुद्दा दायर भएको हो । अमेरिकाको पीआर लिइसकेपछि नेपालको सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक बनेको उनीमाथि आरोप छ । गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा पक्राउ परेका पौडेललाई विशेष अदालतको अनुमतिमा म्याद थप गरेर अख्तियारले अनुसन्धान गरिरहेको छ ।
कांग्रेस संसदीय दलको बैठक मंगलबार बस्ने
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठक मंगलबार बिहान बस्ने भएको छ । संसदीय दलको बैठक बस्नुअघि मंगलबार बिहान कांग्रेस संसदीय दल कार्यसमितिको बैठक मंगलबार बिहान साढे ७ बजे बस्ने काङ्ग्रेसले जनाएको छ। संसदीय दल कार्यसमितिको बैठकले एजेन्डा तय गरेपछि दलको बैठक बिहान ८ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने बताइएको छ ।
यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । आज २०८० साल चैत २१ गते बुधबार सन् २०२४ अप्रिल ३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १२ पैसा र बिक्री दर १३३ रुपैयाँ ७२ पैसा पुगेको छ।युरो एकको खरिद दर १४३ रुपैयाँ ०४ पैसा र बिक्री दर १४३ रुपैयाँ ६८ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २७ पैसा र बिक्री दर १६८ रुपैयाँ ०२ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर
नेविसंघले गृहमन्त्री लामिछानेको पुत्ला जलायो
काठमाडौं । नेपाली काङ्ग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले गृहमन्त्री रवि लामिछानेको पुत्ला जलाएको छ । नेविसंघ पशुपति क्याम्पस इकाइ समितिको अगुवाईमा सरकारलाई सुन तस्कर र सहकारी ठगहरूको गठबन्धन भन्दै नाराबाजी समेत गरिएको छ । उनीहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग पनि गरेका छन् । प्रदर्शनकारीले ‘सहकारी पीडितहरूलाई न्याय दे’ भन्दै नाराबाजी पनि गरेका छन् ।
विश्वासको मतको पक्ष र विपक्षमा भएको बहस सदनको सम्पत्ती : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतका विषयमा पक्ष र विपक्षमा भएको बहस सदनको सम्पत्ती भएको बताएका छन्। विश्वासको मत लिने क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सदनमा भएको बहसले लोकतन्त्रलाई सजीव तुल्याउने विश्वास व्यक्त गरेका हुन्। “सबै राजनीतिक दललाई गठबन्धन गर्न छुट छ, जनताको पक्षमा जे फाइदा हुन्छ, त्यही गर्ने हो,” प्रधानमन्त्री प्रचण्डले भने, “सबै दललाई जनताको पक्षमा उभिन आग्रह गर्दछु, राजनीतिक बुझाइअनुसार जनताको पक्षमा गठबन्धन बनाउने हो, त्यो सबैलाई स्वतन्त्र छ ।” राष्ट्र र जनताको पक्षमा आफूले गठबन्धन गरेको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले सोचेविचार गरेर जनताको आशा र अपेक्षालाई सम्बोधन गर्नका लागि नयाँ समीकरण बनाएको बताए । सबै मिलेर देश र जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले ठूलो सङ्घर्षपछि स्थापना भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि आँच आउला कि भन्ने आफूले नठानेको बताउनुभयो । उहाँले ‘सबै पक्षबाट व्यक्त विचार र भावनालाई सम्मान गर्छु’ प्रधानमन्त्री प्रचण्डले भने । प्रधानमन्त्री प्रचण्डले कांग्रेस एमाले मिल्दैमा आफ्नो दल नडराउने र स्वभाविक रुपमा प्रतिपक्ष दलमा बस्ने बताए । उनले भने,‘हामी ठुला दल मिलियो भने तेरो हालत के हुन्छ ? हिजोपनि आजपनि भनियो, मेरो त कामना छ तपाईँहरू मिल्नुस् । सबै मिल्नुस् । तपाईँहरू सबै मिल्नुभयो भने नेकपा माओवादी केन्द्र प्रमुख प्रतिपक्षीमा बसेर फेरि देश र जनताको पक्षमा लडिरहन्छ । तपाईँहरूलाई लाग्या छ त्यसो भनेर प्रचण्ड डराउँछ ? नेपाली कांग्रेसको नेता साथीहरुलाई यदि त्यस्तो लागेको छ भने हिजो तपाईँहरू सबै मिलेर मेरो टाउकै काट्न खोज्या हो नि त । डराउँछ माओवादी केन्द्र भन्ठान्नुभाछ ? त्यस्तो हुँदैन ।’ उनले को राजनीतिक दल कोसँग मिल्ने भन्नका लागि स्वतन्त्र रहेको बताउँदै समर्थन विरोध गरी गरी समर्थन नगर्न आग्रह गरे । समर्थन गर्ने भए पुरै समर्थन र विरोध गर्ने भए पुरै विरोध गर्न उनको आग्रह थियो ।
सत्ता गठबन्धनको बैठक सुरु‚ टुंग्गिएला मन्त्रालयको भागबन्डा !
काठमाडौं । नयाँ गठबन्धन बनेपछि मन्त्रालय भागबन्डा गर्न दलहरू छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धन दलहरूको बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री प्रचण्ड‚ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली‚ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव छन् । उनीहरूबाहेक दोस्रो तहका नेताहरू पनि बैठकमा सहभागी छन् ।
माओवादी केन्द्रको सचिवालय बैठक जारी
काठमाडौं । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक बसिरहेको छ । समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गर्न माओवादीले सचिवालय बैठक बोलाएको हो । बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले शीर्ष नेताहरुबीच भइरहेको छलफल र नयाँ राजनीतिक घटनाक्रमका विषयमा नेताहरुलाई जानकारी गराउने छन् ।
प्रधानमन्त्री कप : आज नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदै
काठमाडौँ । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुने फाइनल खेलमा दुवै टोली उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छन् । जारी प्रतियोगितामा नेपाल पुलिस क्लब अपराजित रहँदै शीर्ष स्थानमा रहेर फाइनलमा खेल्न लागेको हो भने ९ खेलबाट ७ खेलमा जित निकाल्दै आर्मी दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको हो । प्रतियोगिता विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
विदेशी शैक्षिक संस्थाको मनपरीविरुद्ध आन्दोलन गर्ने नेकपा बहुमत अखिल क्रान्तिकारीको घोषणा
काठमाडौँ । अनेरास्ववियू (क्रान्तिकारी)ले नेपालमा खुलेका विदेशी शैक्षिक संस्थाको मनपरीविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । हालै काठमाडौँमा सम्पन्न संगठनको विशेष राष्ट्रिय भेलाले नेपाली शैक्षिक संस्थालाई धरासायी बनाउने गरी विदेश शैक्षिक संस्था अघि बढेको निष्कर्ष निकाल्दै त्यसविरुद्ध संघर्ष गर्ने निर्णय गरेको हो । संवाद डबलीमा नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीले पत्रकार सम्मेलन गरी विदेशी शैक्षिक संस्थासँगै मेडिकल शिक्षामा भइरहेको माफियाको दादागिरी अन्त्य गरी सरकारको लगानीमा मेडिकल कलेजहरुको विस्तारको लागि संगठनले संघर्ष गर्ने बताएको छ । भेलाबाट नवनिर्वाचित अध्यक्ष मिलन राईले विदेशी शैक्षिक संस्थाहरुले सम्बन्धनको हवाला दिँदै कमिसन खुवाएर वर्षमा दुई पटक भर्ना लिने गरेको तर शिक्षा गुणस्तर, भौतिक संरचनाको अनुगमन नहुने गरेको बताए । उनले विदेशी शैक्षिक संस्थाहरुले नेपाली विद्यार्थीहरुलाई लुटिरहेको समेत आरोप लगाए । उनले विदेशी शैक्षिक संस्ठाहरुले पुँजी पलायन समेत गरेको बताउँदै स्वदेशी शैक्षिक संस्थाहरुलाई सम्बन्धन दिनुपर्ने बताए । “विशेष राष्ट्रिय भेलाबाट संघर्षका निसाना ठोस गरेका छौं, आवश्यकतामा हामी सार्वजनिक गर्दै जानेछौं । सरकारीमा जागिर खाएर निजी शैक्षिक संस्था विज्ञापन गर्ने दलाल शिक्षक हाम्रो निसानामा पर्नेवाला छन् । सम्बन्धको हवाला दिएर विदेशी शैक्षिक संस्थाहरुले कमिसन खुवाएर बर्षमै दुईतिन पटकसम्म भर्ना लिएका छन्, विद्यार्थीलाई लुटिरहेका छन्, हाम्रो निसाना त्यस्ता शैक्षिक संस्थाहरु पनि हाम्रो संघर्षको निसामा छन्” अध्यक्ष राईले भने । उनले त्रिविले पनि कमिसन खाएर जग्गा भाडा दिएको तर कहिलै नतिरेको बताउँदै त्यसविरुद्ध पनि आफूहरुले संघर्षको एजेण्डा बनाउने बताए । भेलाले बढ्दो छात्रा हिंसा नियन्त्रण गर्न, सुन्दरी प्रतियोगिता खारेज गर्न र छात्रा सशक्तिकरण कार्यक्रम हरेक शिक्षालयमा संचालन गर्न माग समेत गरेको छ । त्यस्तै, एमसीसी र एसपीपी समझौता अमेरिकी सैन्य रणनीति इण्डोप्यासिफिक रणनीति अन्तरगत भएको भन्दै भेलाले खारेजीको माग गरेको छ । पत्रकार सम्मेलनमा वितवरण गरिएको प्रेस विज्ञप्तिमा भेलाले विप्लव नेतृत्वको नेकपासँग सम्बन्ध विच्छेद गरी निरन्तर क्रान्तिको मार्गमा अघि बढ्ने पार्टी नेतृत्वको कदमको भेलाले स्वागत गरेको उल्लेख छ । “विप्लव नेतृत्वको नेकपाभित्र देखापरेको दार्शिनिक रुपमा सारसंग्रहवाद, राजनीतिक रुपमले संसदीय संशोधनवाद, संगठनात्मक रुपले निषेधात्मक अधिभूतवाद तथा विसर्जनवाद, संघर्षमा आत्मसुरक्षावाद र आर्थिक हिसाबले जुझारु अर्थवादका विरु निर्णयक सम्बन्ध विच्छेद गरी निरन्तर क्रान्तिको मार्गमा अघि बढिरहेको कार्यप्रति यो विशेष राष्ट्रिय भेला हार्दिक स्वागत गर्दछ” विज्ञप्तिमा उल्लेख छ । पत्रकार सम्मेलनमा उपाध्यक्ष विरेन्द्र शाह, महासचिव रुपा बुढामगर, सचिव नवराज भट्ट र कोषाध्यक्ष दिपक विष्टले आफूहरुले विगतको नेतृत्वले जस्तो पैसामा विद्यार्थीका एजेण्डा नसाट्ने र शैक्षिक क्षेमा भइरहेको दलाली र माफियाकरणविरुद्ध संघर्षमा उत्रिने प्रतिवद्धता समेत जाहेर गरे । भेलाले राईको अध्यक्षतामा ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । त्यस्तै, सम्मेलनले वैज्ञानिक व्यवस्थामा मात्रै वैज्ञानिक शिक्षा प्राप्त हुने भन्दै त्यसको लागि समाजवादी क्रान्तिमा लामबद्ध हुने निर्णय गरेको छ ।
पालिकालाइ मिडियाकर्मीको निगरानीमा राखेर भ्रष्टाचार अन्त्य गरिन्छ : राजन पौडेल
के के छन् जितपुर सिमरामा राजन पौडेलका जीतका आधारहरु ? नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट जीतपुरसिमरा उपमहानगरपालिकाको मेयरका लागि राजन पौडेल उम्मेदवार हुनुभएको छ । जीतपुरसिमरा उपमहानगरपालिका– ३ सिमरा, वजिनीका स्थानीय वासिन्दा पौडेल जनयुद्धकालदेखि माओवादीमा सक्रिय हुनुहुन्छ । स्कुले जीवनबाट राजनीतिमा चासो राख्नुहुने उहाँ पहिला एमाले निकट विद्यार्थी संगठनमा आवद्ध भए पनि २०५५ सालदेखि काठमाडौंमा माओवादीनिकट विद्यार्थी संगठनमा आवद्ध हुनुभएको हो । २०५७ सालमा माओवादीको पूर्णकालीन सदस्य तथा सोही वर्ष काठमाडौं क्याम्पस स्ववियू सदस्यमा पनि निर्वाचित बन्नुभएको थियो । स्नातकसम्म अध्ययन गर्नुभएका उहाँ २०५८ सालमा संकटकालका बेला गिरफ्तार भई एक वर्षपछि छुट्नुभयो । त्यसको एक वर्षपछि पुनः पक्राउ परी २८ महिनासम्म विभिन्न हिरासतमा रहनुभएको थियो । दोस्रो जनआन्दोलनपश्चात् जेठ १० गते उहाँ रिहा हुनुभयो । त्यसपश्चात् पार्टीमा सक्रिय बारा जिल्लालाई कार्य क्षेत्र बनाएर निरन्तर क्रियाशील हुनुुहुन्छ । मधेस–प्रदेश कमिटी सदस्यसमेत रहनुभएका पौडेल २०७४ सालको स्थानीय निर्वाचनमा पनि सोही क्षेत्रमा माओवादी केन्द्रबाट मेयर पदमा उम्मेदवारी दिनुभएको थियो । कडा प्रतिष्पर्धाका बीच पराजित हुनुभएका उहाँ जीतपुरसिमरा क्षेत्रमा हारेको प्रतिनिधिका रुपमा नभईं जित हासिल गरेको प्रतिनिधिका रुपमा काम गर्दै आउनु भएको छ । जनताप्रति उहाँको लगनशील र उत्तरदायित्वका कारण यसपटक जीत सुनिश्चित भएको विश्वास व्यक्त गर्नुहुन्छ । जितपुरसिमराकोे विशेषता राष्ट्रिय जनगणना २०६८ अनुसार नवघोषित जितपुर–सिमरा उपमहानगरको जनसंख्या ११४,१८५ रहेको छ । त्यस्तै क्षेत्रफल ३०९.६७ वर्ग किमि रहेको छ । यो क्षेत्र औद्योगिक करिडोरको क्षेत्र हो । वीरगन्ज–पथलैया करिडोरका अधिकांक्ष क्षेत्र यस उपमहानगरपालिकाभित्र पर्छ । साना–ठूला उद्योगहरु, मुलुकको जेठो विमानस्थल, पर्सा राष्ट्रिय निकुञ्ज लगायत यहाँ छन् । मुख्य पेशा कृषि भएकाले यो क्षेत्रका ठूलो भूभागहरु यो क्षेत्रमा रहेको छ । पछिल्लो एक दसकमा सिमराले विकासमा परिचय फेरेको छ । राजनीतिक, आर्थिक, सामाजिक र बहुआयामिक रूपमै सिमराको विकास तीव्रगतिमा अघि बढेको छ । निर्वाचनमा एजेण्डा अघिल्लो स्थानीय निर्वाचनमा नेकपा एमालेले नेतृत्व गरेको यस उपमहानगरपालिका सुशासनमा पछाडिबाट दोस्रोमा र भ्रष्टाचारमा पहिलो नम्बरमा परेको चर्चा परिचर्चाहरु छन्। यसले गर्दा नगरवासीको मनोबल गिरेको छ । त्यो मनोबललाई उच्च मनोबलमा अगाडि बढाउने आफ्नो प्रमुख एजेण्डा भएको उहाँ बताउनु हुन्छ । जीतपुरसिमरा उपमहानगरपालिका ठूला १७ वटा संरचनाभित्र परे पनि यहाँ अहिलेसम्म गतिलो अस्पताल छैन । त्यसैले गतिलो अस्पताल निर्माणका लागि श्रम मन्त्रालयमार्फत् पक्रिया अघि बढाइएको उहाँले बताउनु भयो । त्यस्तै, स्वास्थ्य क्षेत्रको सुधार, सार्वजनिक शिक्षाको सुधार, कृषि क्षेत्रको सुधारका लागि किसानको गोठ र खेतमा पुग्ने कार्यक्रम बनाएर अघि बढ्ने बताउनु भयो । खास गरी पर्सा निकुञ्जलाई केन्द्रित गरेर पर्यटन क्षेत्रको विकासका लागि क्रियाशील हुने, भारतीय पर्यटकहरु यहाँ अत्यधिक आउने हुनाले महानगरवासीमा रोजगारीको सिर्जना गर्न सकिने हुनाले त्यस क्षेत्रमा पनि काम अघि बढाउने सोच रहेको बताउनु भयो । कलकारखाना सञ्चालनका कारण वातावरण प्रदुषणले स्थानीयहरुबीच द्वन्द्वको स्थिति सिर्जना भएकाले त्यसको नियन्त्रणका लागि वातावरणीय प्रदुषण नियन्त्रणका लागि उद्योगधन्दाहरुलाई सरकारले तोकेको मापदण्डभित्र ल्याएर औद्योगिक वातावरण सिर्जना गर्ने सोच रहेको छ । सार्वजनिक शिक्षा सुधारका लागि आवश्यक काम गर्ने । शैक्षिक योजनाहरुसँगै तल्लो तहदेखि नै आधारभूत तथा माध्यमिक तहबाट नै मानवीय संवेदनाबारे सिकाउने, महिला हिंसामुक्त गर्ने, संस्कार र संस्कृतिको नाउमा गरिने रुढीवादी परम्परालाई निर्मूल पार्ने, वैज्ञानिक तथ्यसहितका कुराहरुलाई अनुसरण गर्ने हिसावको वातावरण निर्माण गर्नेलगायतका शिक्षा नियमहरु अघि सार्ने । वातावरणमैत्री विकासलाई अघि बढाउने । कृषि, औद्योगिक, घरेलु तथा साना उद्योगहरुसँग जोडिएर स्वरोजगारका विषयलाई अघि बढाउने । खेलकुद क्षेत्र नेकपा माओवादी केन्द्रकै पहलमा रंगशाला निर्माण कार्य अघि बढाइएको छ, थप काम गर्र्दै जाने । साथै, कला साहित्य संस्कृति तथा नाटकको क्षेत्रमा पनि विकास गरिन्छ । भाषिकको हिसावले भोजपुरी भाषालाई प्रोत्साहित गर्ने उद्देश्यले काम गर्दै जाने तयारी छ । जितको आधार अघिल्लो पटक पनि उम्मेदवार हुँदा प्रतिष्पर्धात्मक हिसावले पराजित हुनुभएका पौडेल यस पटक जीत सुनिश्चित भएको दावी गर्नुहुन्छ । अघिल्लो निर्वाचनमा हार व्यहोरेपनि त्यहाँका जनताबाट आफू कहिल्यै टाढा नभएको, जनताको घर दैलोमा जाने, उहाँहरुको दुःख सुखमा सहभागी हुने, जनताको समस्याहरु समाधानतर्फ निरन्तर लाग्ने गरेका कारण पछिल्लो ३ वर्षयता उहाँलाई हारेको राजन पौडेल नभई जनताले मेयरकै रुपमा स्वीकार गरिसकेका छन् । जनताप्रतिको उत्तरदायी र इमान्दारिताले अबको मेयर उहाँलाई नै पक्का छ । त्यस्तै पहिलेको तुलनामा माओवादी संगठन पनि सुदृढीकरणतर्फ लागेको छ । पार्टीको भेला, सम्मेलन महाधिवेशनसम्म हुँदा माओवादीको संगठन मजबुत भएको देख्न सकिन्छ । यसले पनि जित सुनिश्चिततातर्फ बढेको हो । त्यस्तै नेपाली कांग्रेससँगको गठबन्धनका कारण पनि भारी मतान्तरले विजयी हुने निश्चित छ । कांग्रेसले पनि नेवि संघको अध्यक्षको दावेदार मिरा शाहीलाई उपाध्यक्षका लागि प्रस्तावित गरेको छ । यसले गर्दा गठबन्धनले भारी मतान्तरले चुनाव जित्ने निश्चित छ । भ्रष्टाचार निवारण माओवादी केन्द्रले जित हासिल गरेमा भ्रष्टाचारलाई निर्मुल पार्न सकिन्छ । भ्रष्टाचार देशकै पहिलो स्थानमा परेको यस क्षेत्रको चौतर्फी आलोचना भइरहेकामा हामी त्यसलाई सुधार गर्न सक्छौं । सुशासन कायम गरी व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामाजिक काममा लाग्नेछौं । सामुहिक हिसावले नगरपालिकाको हित, आम जनसमुदायको हितमा केन्द्रित रहेर कार्ययोजनाहरु निर्माण गर्नेछौं । अघिल्लो कार्यकालमा नगरसभा पंगु तरिकाले संचालित भएको देख्न सकिन्छ । हामी त्यसलाई अत्यन्त शक्तिशाली र नगरसभाको भाव मर्म अनुसार संचालन गर्नेछौं, र सोही अनुसार कार्ययोजनाहरु बनाएर कार्यपालिकाबाट अन्तिम निर्णय गराएर हामी अगाडि बढ्छौं । मिडियाकर्मी सामु सम्पूर्ण सूचनाहरु पारदर्शी तरिकाले राख्नेछौं, नगरपालिकालाई मिडियाकर्मीहरुको निगरानीमा राखेर भ्रष्टाचार अन्त्य गर्न सक्छौं।
उच्च गुणस्तरको एफएफपीथ्री मास्कले शत प्रतिशतसम्म कोरोनाबाट जोगाउन सक्ने खुलासा
स्वास्थ्यकर्मीले प्रयोग गर्ने मास्कले कोरोनाभाइरस सङ्क्रमण रोक्न महत्त्वपूर्ण भूमिका खेल्ने एक अध्ययनले देखाएको छ। ‘कोभिड सङ्क्रमण खतरा घटाउँछ केम्ब्रिज विश्वविद्यालय अस्पताल एनएचएस फाउन्डेशन ट्रस्टको अध्ययनले एफएफपीथ्री भनिने उच्च गुणस्तरको मास्कले शत प्रतिशतसम्म सुरक्षा दिने बताएको छ। तर साधारण सर्जिकल मास्क लगाउने स्वास्थ्यकर्मीमा भने तुलनात्मक रूपमा भाइरस सङ्क्रमण हुने जोखिम उच्च हुन्छ। कोभिडको नियमित परीक्षणमा सहभागीको तथ्याङ्कको आधारमा सो निष्कर्ष निकालिएको हो। यूकेको राष्ट्रिय निर्देशिकामा स्वास्थ्यरकर्मीले केही निश्चित परिस्थितिबाहेक अरूबेला सर्जिकल मास्क लगाउनुपर्ने उल्लेख छ। सर्जिकल मास्कहरूबाट पानी नछिर्ने भए पनि खुकुलो हुने भएका कारण हावामा हुने सूक्ष्म भाइरसका कणहरू स्वास्थ्यकर्मीमा प्रवेश पाउन सक्ने बताइन्छ। अध्ययनले रेड वार्डमा रहेका कोभिड बिरामीको रेखदेख गर्नेहरूमा ग्रीन वार्ड वा ननकोभिड वार्डमा काम गर्नेको तुलनामा ४७ प्रतिशतले जोखिम बढी हुने देखाएको छ। प्रमुख अनुसन्धानकर्ता डा. मार्क फेरिसले कोभिड नलागोस् भनेर अनेक उपाय गर्दा पनि अस्पतालका कर्मचारी सङ्क्रमित बन्दै आएको बताए। त्यसैले गत डिसेम्बरमा कोभिडको दोस्रो लहर सुरु हुँदा केम्ब्रिजका व्यवस्थापकहरूले रेड वार्डमा काम गर्नेहरूका लागि मास्कको गुणस्तर बढाउने निर्णय गरेका थिए। डा. फेरिसले भने, “एफएफपीथ्री प्रयोग गरे के होला भनेर हेर्न बाँकी थियो, त्यही गरियो।” एफएफपीथ्री लगाउँदा खुकुलो हुँदैन र एरोसोल फिल्टर गर्ने गरी विशेष डिजाइन गरिएको छ। यो मास्क लगाउन थालेपछि रेड वार्डमा काम गर्ने स्वास्थ्यकर्मीमा सङ्क्रमण दर ह्वात्तै घट्यो र त्यो ग्रीन वार्ड वा कोभिड बिरामी नभएका वार्डको काम गर्ने स्वास्थ्यकर्मीकै हाराहारीमा हुन पुग्यो। अध्ययनमा एफएफपीथ्री मास्कले कोभिड १९ बिरामीबाट स्वास्थ्यकर्मीमा रोग सर्ने कुरा ३१ देखि सम्भवतः १०० प्रतिशतसम्म झर्यो। जसलाई सङ्क्रमण भयो त्यो पनि अस्पतालका कारण भन्दा पनि समुदायमा रहेको सङ्क्रमणका कारण भएको हुन सक्ने देखियो। अध्ययनले तरल पदार्थ नछिर्ने सर्जिकल मास्कहरू स्वास्थ्यकर्मीलाई जोगाउन ‘अपर्याप्त’ रहेको बताएको छ। “वास्तविक प्रयोगमा आधारित अध्ययनले सर्जिकल मास्कभन्दा एफएफपीथ्री मास्क वास्तवमा प्रभावकारी भएको प्रमाण मिलेको छ,” अध्ययन समूहका सदस्य डा. माइक वीक्सले भने। उनले भने, “निश्चित रूपमा यो सानो तहमा गरिएको अध्ययन हो हामीले अन्यत्र पनि यस्तै गरेर हेर्नुपर्ने हुन्छ।” “तर परिणामका आधारमा भन्नुपर्दा सावधानी अपनाउन कोरोनाभाइरसका बिरामी हेर्ने स्वास्थ्यकर्मीलाई एफएफपीथ्री मास्क दिनु उचित हुन्छ।” केम्ब्रिज ट्रस्ट लगायत यूकेका १७ अन्य निकायले राष्ट्रिय निर्देशिका जे भए पनि पीपीईको गुणस्तर बढाउने निर्णय गरिसकेका छन्। कोभिडसम्बन्धी काम गर्ने स्वास्थ्यकर्मीलाई एफएफपीथ्री मास्क उपलब्ध गराउन ब्रिटिश मेडिकल असोशियशन, द रोयल कलेज अफ नर्सिङ र अन्य व्यावसायिक निकायले लामो समयदेखि माग गर्दै आएका छन्। यो महिनाको सुरुमा उच्च अधिकारीहरूसँग भएको बैठकमा पनि हावाले सर्ने यो रोग फैलिन रोक्न उच्च गुणस्तरका पीपीई उपलब्ध गराउन ती व्यावसायिक निकायले अनुरोध गरेका थिए। द फ्रेस एअर एनएचएस परामर्श दाता र चिकित्सकहरूले नयाँ स्वास्थ्यमन्त्री साजिद जावेदलाई खुला पत्र लेख्दै केम्ब्रिजको नयाँ अध्ययन सरकारको अहिलेको नीति परिवर्तन गर्नुपर्ने प्रमाण भएको बताएका छन्। एफएफपीथ्री मास्क सर्जिकल मास्कभन्दा अलि असजिलो लाग्ने भए पनि सर्भेहरूले कर्मचारीहरूले उच्च तहको सुरक्षा नै चाहने गरेको देखाएका छन्। स्वास्थ्य तथा सामाजिक सुरक्षा विभागका प्रवक्ताले पीपीई मापदण्ड उपलब्ध वैज्ञानिक तथ्याङ्कका आधारमा नियमित रूपमा अद्यावधिक गर्ने गरिएको बताए। -बिबिसीबाट साभार गरिएको
ज्योतिषीका कुराः कुन राशीले जित्छन् जुवा, राशी अनुसार के मा गर्ने लगानी ?
विगत २३ वर्षदेखि ज्योतिष विधामा सक्रिय छन् डा. सुनिल सिटौला । २०५८ सालमा ग्लोबल एस्ट्रोलोजी रिसर्च सेन्टरको अध्यक्ष भएका डा. सिटौलाले विश्व ज्योतिष विद्यापीठबाट ज्योतिष विद्यामा स्नातकोत्तरसम्म अध्ययन गरेका छन् । अल्टरनेटिभ मेडिसिनका स्नातक सिटौलालाई इन्डियन इन्स्टिच्युट अफ ओरियन्टल हेरिटेजले डाक्टरको उपाधि दिएको हो । राशि तथा नक्षत्रसम्बन्धी जानकारी दिने जोखना एपका निर्माता डा. सिटौलाले ०६२ सालदेखि रेडियो तथा टेलिभिजनमा ज्योतिष विधाका कार्यक्रमसमेत सञ्चालन गरिरहेका छन् । उनका ज्योतिष विज्ञान र हस्तरेखा सम्बन्धी ५ वटा पुस्तक प्रकाशित छन् । ज्योतिष विज्ञानसम्बन्धी पत्रिका सम्पादनमा समेत क्रियाशील सिटौलासँग धन– सम्पत्ति, लक्ष्मीपूजा आदि विषयमा साप्ताहिकले गरेको कुराकानी : ग्रह र सम्पत्तिबीच के सम्बन्ध हुन्छ ? यो सम्पूर्ण चराचर जगत ग्रहको अधीनमा छ । सबै कुरा ग्रहबाटै निर्देशित छन् । प्राचीन समयमा ग्रहको प्रयोग बढी थियो । यसमा राजनैतिक एवं संस्कृतिक क्रान्ति एवं विचलनहरूले गर्दा केही तलमाथि परेको मात्र हो । अहिले ग्रहका बारेमा अझ बढी खोजीनीति गर्न थालिएको छ । गुगलमा सबैभन्दा बढी खोजिने शब्द नै यौन र ग्रह हो । पूर्वीय दर्शनको समष्टिगत अवधारणा वेदमा उल्लेख गरिएको छ । वेदलाई चार भागमा बाँडिएको छ, पहिले त्यो एउटै थियो । वेदले पुरुषार्थको कुरा गरेको छ । वेदमा क्रमश: धर्म, अर्थ, काम तथा मोक्षको वर्णन गरिएको छ । धर्मपछि अर्थ छ, अर्थ नभै काम र मोक्ष हुन सक्दैन । ज्योतिषशास्त्रमा पनि चारवटा पुरुषार्थकै कुरा आउँछ । हाम्रो भाषामा ग्रहसँग सम्बन्धित रहेर गरिने हिसाबलाई सिद्धान्त ज्योतिष भनिन्छ । यो अध्ययन चारवटा भौगोलिक बिन्दुलाई आधार मानेर गरिन्छ । केही दिन लामो तथा रात छोटो हुने, केही दिन छोटो तथा रात लामो हुने हुन्छ । दुई दिनचाहिँ रात–दिन बराबर हुन्छन् । त्यही बिन्दुलाई आधार मानेर ग्रहहरूको गणना गरिन्छ । अर्को रमाइलो कुरा हामीले पढाउने एस्ट्रोनोमी भनेको हेलियो सेन्ट्रिक हो, जसमा सूर्यलाई केन्द्र मानिन्छ, हामीले चाहिँ पृथ्वीलाई केन्द्र मान्ने हो । पृथ्वीको वरपर घुमिरहने ग्रहपथलाई विभाजन गरेर १२ वटा राशिमण्डल नापिन्छ । त्यसभित्र अन्य सूक्ष्म भाग छन् त्यसलाई नक्षत्रमण्डल भनिन्छ । ग्रहहरू राशिमण्डल हँुदै हिँड्छन् । जुन काल्पनिक बाटो हो, जसरी हामी भूमध्य रेखा भन्छौ त्यस्तै हो । त्यही बाटो भएर ग्रहहरू घुम्ने हुन् । मानिस जन्मदा कुन ग्रह कहाँ कसरी बसेको थियो भन्ने गणना गरेर एउटा कोठा बनाइन्छ । त्यो कोठालाई हाम्रो भाषामा जन्म कुण्डली भनिन्छ । जतिबेला मानिसले पृथ्वीमा पहिलो पटक श्वास लियो, त्यसकै आधारमा जन्मकुण्डली बन्छ र त्यही कुण्डलीका आधारमा धनसम्पत्ति, विद्या, बुद्धि, विवाहलगायत हाम्रो जीवन पद्धतिको कुरा गरिन्छ । कस्तो ग्रह लिएर आएको मान्छे बढी धनी हुन्छ ? धनसम्बन्धी दुईवटा तथ्य छन् । एउटा ग्रहको कुरा हुन्छ अर्को राशिमण्डलको कुरा आउँछ । ज्योतिष शास्त्रको कुण्डलीमा १२ वटा कोठा छन्, जसमा २, ६, १० र ११ औं कोठा धनसम्बन्धी हुन्छ । ग्रहमा बृहस्पति, चन्द्र तथा शुक्रलाई धनसँग जोडिन्छ । चन्द्रमा र शुक्रलाई लक्ष्मी मानिन्छ भने बृहस्पति ज्ञानसँग सम्बन्धित छ । पैसा त दुवैले कमाउँछन् । एउटा ज्ञान भएकाले, अर्को पुरुषार्थ भएकाले । जसको जन्मकालमा बृहस्पति बलियो छ त्यसले ज्ञानी भएर धन कमाउँछ । जसको चन्द्रमा र शुक्र बलियो छ, उसले पुरुषार्थी भएर धन कमाउँछ । हाम्रो धर्मशास्त्रमा संसारलाई तीन प्रकारका मानिसले मात्र भोग्न सक्छन् भनेर लेखिएको छ । जो ज्ञानी छ, त्यसले भोग्न सक्छ, जो पुरुषार्थी छ त्यसले भोग्न सक्छ र तेस्रो चाकडीबाजले पनि भोग्न सक्छ । चाकडी गर्ने ग्रह भनेका राहु र केतु हुन् । हाम्रो शास्त्रअनुसार चाकडी गर्नेहरूले पनि पैसा कमाउँछन् । जन्मका आधारमा कस्ता मानिससँग सम्पत्ति कमाउने योग हुन्छ ? जन्मदा पूर्णिमाको आसपास जन्मियो भने चन्द्रमा बलियो हुन्छ, त्यस्तो मानिसले पैसा कमाउँछ । त्यस्तो मानिस स्वाभाविक रूपमा धनी हुन्छ । औंसीको आसपास जन्मनेहरूको आर्थिक अवस्था कमजोर हुन्छ । जन्मदा वृहस्पति ग्रह उचो भयो, कर्म, धन, लाभ र बुद्धि स्थानमा बस्यो भने मानिस धनी हुन्छ । धन पनि दुई खालको हुन्छ, एउटा पैतृक सम्पत्ति र अर्को आफैंले कमाउने सम्पत्ति । दसौं स्थानको स्वामी शुभ पर्यो भने आफैं सम्पत्ति कमाउने योग हुन्छ । द्वितीय स्थानको स्वामी शुभ परे पैतृक सम्पत्ति प्राप्त गर्ने योग रहन्छ । दुवै स्वामी शुभ हुने व्यक्ति मालामाल हुन्छ । अर्को तिथिको पनि नियम छ । जुन व्यक्ति पञ्चमी, दशमी, पूर्णिमा (यी तीन तिथिलाई पूर्ण तिथि भनिन्छ ।) मा जन्मिएका छन्, उनीहरूले पूर्ण रूपमा सम्पत्ति कमाउँछन् । जो चतुर्थी, नवमी, चतुर्दशी वा औंसीमा जन्मन्छन् त्यस्ता व्यक्ति स्वभाविक रूपमा दु:खी हुन्छन् । यी तिथिलाई रित्तो तिथि भनिन्छ । जति गरे पनि केही नहुने हुन्छ । गरेको लगानी पनि नउक्सिने सम्भावना हुन्छ । कुन ग्रह भएकाले केमा लगानी गर्दा लाभ प्राप्त गर्छन् ? संस्कृत सिलोकमा लेखिएको छ– उद्योगधन्दा गर्यो भने दरिद्रता नास हुन्छ । उद्योगधन्दा गर्नेहरूको मंगल तथा शनि ग्रह बलियो हुनुपर्छ । यदि लाभ स्थानको स्वामी मंगल वा शनि भए उद्योग गर भन्ने हो । चन्द्रमाको दायाँ–बायाँ यी ग्रह बसेका छन भने त्यसलाई दुरधरा भनिन्छ । यस्ता मानिसले प्रसस्त धन कमाउने सम्भावना हुन्छ । कुन महिनामा जन्मिएका मानिसलाई लक्ष्मीले पत्याउँछिन् ? सूर्यका आधारमा पनि जन्मकुण्डली हेर्न सकिन्छ । सूर्य एउटा महिना एउटा राशिमा बस्छ । यदि सूर्यको दायाँ–बायाँ अनुकूल ग्रह बसेका छन भने जातकले सम्पत्ति कमाउने योग रहन्छ । जुन व्यक्ति सूर्य बलियो भएको महिनामा जन्मन्छ उ सामान्यतया धनी नै हुन्छ । वैशाख, असार, भदौ र मंसिर महिनामा सूर्य बलियो हुन्छ । जेठ, माघ र कात्तिकमा सूर्य कमजोर हुन्छ । यी महिनामा जन्मिएकाहरूको सम्पत्ति कमाउने योग राम्रो हुँदैन । अन्य महिना जन्मिएकाहरू सामान्य हुन्छन् । भदौ महिनामा सूर्य आफ्नै घरमा हुन्छ । यो महिनामा जन्मिएकाहरूलाई स्त्री र धनले छोड्दैनन् । समयका हिसाबले कुन समय राम्रो मानिन्छ ? ज्योतिषशास्त्रमा राजयोग भन्ने हुन्छ, सामान्य रूपमा हेर्दा राज भनेको राजा । एक किसिमले राजा भनेको धनी, सम्पन्न एवं विद्वान् हुन्छन् भन्ने सोच छ भने अर्को किसिमले लुटेरा भएर पनि सबै सम्पत्ति आफैं मात्र कुम्ल्याउँछन् भन्ने मान्यता पनि छ, तर ज्योतिषशास्त्र अनुसार जसले न्याय गर्न र दण्ड दिन सक्छ त्यसैलाई राजा भनिन्छ । राजयोगमा जन्मिएका व्यक्ति पनि धनी हुन्छन् । ज्योतिषमा मध्यान्ह तथा मध्यरातमा जन्मिएकाहरूलाई राजयोग भएको भनिन्छ । मध्यान्हमा एक घडी (२४ मिनेट) र रात्रीमा एक घडी (२४ मिनेट) लाई राजयोग मानिन्छ । बिहानको शुक्र तारा उदाउने आसपासको समयमा जन्मिएकाहरू पनि निकै धनी हुन्छन् भन्ने मान्यता छ । धन कमाउने मामिलामा बारको पनि कुनै भूमिका हुन्छ ? बारको हिसाबमा बिहीबार, शुक्रबार, सोमबार र बुधबार जन्मिएकाहरू धनी, बाठा अनि फुर्तिला हुन्छन् । आइतबार र मंगलबार जन्मिएकाहरू रोगी हुन्छन् । शनिबार जन्मिएकाहरू अलि दु:खी हुन्छन्, श्रमिक हुन्छन् भन्ने छ । त्यस्तै राशिका आधारमा शुक्र, सूर्य, बृहस्पति राशिमा जन्मिएकाहरू स्वभाविक रूपमा धनी हुन्छन् । धनु, मिन, सिंह तथा तुला राशिका मानिसले धन कमाउँछन् । शनिको राशिमा जन्मिएका मकर र कुम्भ राशि भएकाहरूले धन कमाउन सक्दैनन । अन्य राशि सामान्य हुन्छन् । कस्ता मानिसलाई जुवा फाप्छ ? यो जुवा–तासको कुरा वैदिकभन्दा पनि तान्त्रिक मतअनुसार हुन्छ ।तन्त्रमा जुवा जित्न कालो बिरालोको साल बोक्नुपर्छ भन्ने मान्यता छ । जुवालाई क्रुर कर्म मानिन्छ । जब मानिसमा पिंगला (दायाँ नाकबाट श्वास चलिरहेका अवस्था) चलेको हुन्छ, त्यतिबेला जुवा खेल्नु राम्रो मानिन्छ । काल राहु, योगिनी भन्ने चलन पनि छ । कसै–कसैले जति नै मेहनत गर्दा पनि पैसा कमाउन सक्दैनन्, किन होला ? ज्योतिषशास्त्रमा एउटा दरिद्र योग भन्ने अप्ठ्यारो योग छ । नामै दरिद्र योग, केही गर्दा पनि नहुने । यो केन्द्र खाली भयो भने मानिस दरिद्र हुन्छ । चन्द्रमाको दायाँ–बायाँ कुनै ग्रह छैन वा देखेको छैन भने पनि दरिद्र योग हुन्छ । अर्को दिवालीया योग हुन्छ । यो भएको सबै सम्पत्ति सकिने योग हो । कसै–कसैसँग एक समय पैसा हुन्छ । केही समयमै तिनीहरू गरिबको कोटीमा पुग्छन्, किन होला ? हाम्रो ज्योतिषशास्त्रले समय परिवर्तनशील छ भन्छ । जसरी ऋतु परिवर्तन हुन्छ, त्यसरी नै समय पनि परिवर्तन हुन्छ । समय परिवर्तन हुने कुरालाई दशा वर्षअनुसार गणना गरिन्छ । दशा वर्ष राम्रो भएका बेला राम्रो हुन्छ । जुन बेला जसको धन र बुद्धिको स्वामी ग्रह चलिरहेको हुन्छ उसले कमाउँछ । यदि दशा वर्ष नराम्रो चलेको समय छ भने भएको पनि सकिँदै जान्छ । अस्तग्रह, वक्री दशा ग्रह, नीच ग्रह चलेका बेला त्यस्तो हुन्छ । त्यतिबेला स्वभाविक रूपमा धन घट्दै जान्छ । कतिपय अवस्थामा पछि गएर फेरि राम्रो पनि हुन्छ । खराब समयको दशा वर्ष सकिएपछि मानिस पहिलेको भन्दा राम्रो स्थानमा समेत पुग्न सक्छ । यस्तो समयलाई कसरी पार गर्न सकिन्छ ? एउटा पुरुषार्थले काम गर्छ भने अर्को प्रेरणाले पनि काम गर्छ । ग्रह दशा बिग्रिएका मानिसलाई धातु वा रत्न लगाउने, पूजा–पाठ गर्ने सल्लाह पनि त्यसैले दिइन्छ । यसले मनोवैज्ञानिक प्रेरणा मिल्छ । रत्न लगाउँदा ग्रहहरूले रत्नलाई प्रभाव पार्छन् र त्यो रत्नले मानिसलाई प्रभाव पार्छ । रत्न ग्रहलाई खुसी तुल्याउन लगाउने हो । मन्दिर जान सल्लाह दिनुका दुई कारण छन् । एउटा धार्मिक आस्थाका कारण त्यहाँ पुगेपछि फ्रेस भइन्छ, अर्को त्यहाँको बनौट विशेष वास्तु मिलाएर बनाइएको हुँदा शक्ति प्राप्त हुन्छ । सबैभन्दा ठूलो कुरा त्यहाँ धेरै मान्छे देखिन्छन्, जसले गर्दा म मात्र होइन, म जस्तो समस्यामा परेका धेरै रहेछन् भनेर बाँच्ने प्रेरणा मिल्छ । राशिअनुसार लगानीको कुरा पनि गरिन्छ नि ? राशिको नियम त सामान्य हो । ज्योतिषमा कर्मस्थानको एउटा नियम छ । कर्मस्थानमा बसेको ग्रहअनुसार उसलाई कर्म वा आजीविका प्राप्त हुन्छ भनिन्छ । कर्मस्थानमा राम्रो ग्रह बस्यो भने एकदम राम्रो खालको काम पाइन्छ, कर्मस्थानमा कमजोर ग्रह बस्यो भने कमसल काम पाइन्छ । मेष र वृश्चिक राशिका मानिसले धातु तथा औजारमा लगानी गर्नु उपयुक्त हुन्छ । वृष, तुला, कर्कट र मकर राशिहरूलाई बन्द व्यापार तथा आयात निर्यातमा लगानी गर्दा फलिफाप हुन्छ । शनिको राशि भनेका मकर र कुम्भ हुन्, शनिको सम्बन्ध फलाम र जमिनसँग हुन्छ । नेपाली पण्डितहरूले फलामलाई मात्र जोड दिन्छन् तर पश्चिमाहरूले खानीमा पनि जोड दिन्छन् । त्योभन्दा सूक्ष्म कुरा जन्मकुण्डलीमा कर्मको स्वामी कहाँ बसेको छ, कसरी बसेको छ त्यसअनुरूप लगानी गर्दा फलिफाप हुन्छ । जागिर गर्दा राम्रो कि व्यापार गर्दा राम्रो भन्ने कुरा कसरी छुट्याइन्छ ? त्यसको सामान्य नियम के छ भने जो आफूप्रति वफादार हुन्छ उसले व्यापार गर्छ, जो अरूप्रति वफादार हुन्छ उसले जागिर गर्छ । परम्परागत भाषामा मालिक र सेवक भनिन्छ । मालिक हुनलाई लग्न बलियो हुनुपर्यो, सेवक हुन कमजोर । लग्न बलियो भएपछि आफूप्रति वफादार हुन्छ, लग्न कमजोर भएपछि अरूप्रति वफादार हुन्छ । लक्ष्मीपूजा किन गरिन्छ ? हाम्रो मान्यताअनुसार लक्ष्मी भनेकी धनकी देवी हुन् । लक्ष्मीलाई खुसी तुल्याउन कात्तिक महिनाभरि नै आकाशदीप बालिन्छ । कात्तिक महिनामा विष्णु भगवान्को ठूलो उत्सव हुन्छ । यो महिना दामोदर नाम गरेका विष्णुको पूजा हुन्छ । औंसीका दिन जुन लक्ष्मीपूजा हुन्छ, त्यतिबेला लक्ष्मी भित्र्याउने भनिन्छ । यसमा दुईवटा नियम छ । एउटा प्रदोषकाल हुन्छ, लक्ष्मीपूजाको दिन प्रदोषकाल भनेको घाम अस्ताएदेखि २४ मिनेटअघि र २४ मिनेटपछिको, जुन ४८ मिनेट समय हुन्छ, त्यो समयलाई राम्रो मानिन्छ । त्यो समयमा लक्ष्मी भित्र्याउन मिल्छ । व्यवसायीहरूले आफ्ना व्यवसायिक प्रतिष्ठानहरूमा यही बेला लक्ष्मी भित्र्याउँछन् । त्यसपछि गृहस्थीहरूले लक्ष्मी भित्र्याउन स्थिर लग्न पार्नुपर्छ । व्यापार–व्यवसायको सुरुवात पनि स्थिर लग्नमा गर्नुपर्छ । चरमा सामान पठाउनुपर्छ । यस पटक २१ गते बुधबार लक्ष्मी पूजा छ । काठमाडौंमा गृहस्थीले लक्ष्मी भित्र्याउने स्थिर लग्न वा वृष लग्न ५:४३ देखि ७:३५ सम्म छ । गृहस्थीहरूका लागि यो लग्न अत्यन्तै शुभ मानिन्छ । मध्यराति अर्को लग्न आउँछ सिंह लग्न । भारतीयहरूले मध्यरातिको सिंह लग्न पार्छन् । स्थिर लग्नमा लक्ष्मी भित्र्याउँदा उनी स्थिर भएर बस्छिन् भन्ने मान्यता छ । हाम्रो मन, धन र स्त्री जहिले पनि चञ्चल हुन्छन्, त्यसलाई बाँध्न हामीकहाँ विभिन्न धार्मिक नियम बनाइएका छन् । धनलाई कसरी आफैंसँग बाँधेर राख्न सकिन्छ ? तन्त्र र पुराणले पनि भन्छ लक्ष्मीको उत्पत्ति समुद्रमा भएको थियो । अहिलेको अर्थराजनीति हेर्दा पनि जुन देश समुद्रसँग जोडिएका छन्, ती देशहरू धनी छन् । समुद्रबाट लक्ष्मीसँगै उत्पत्ति भएका धेरै कुरा छन्, मोती, कौडा, बाबियो, शंख आदि । बाबियोलाई लक्ष्मीको कपाल भनिन्छ, लक्ष्मी पूजाको दिन बाबियो, कौडा, शंख तथा सिपी भित्र्याएर राख्यो भने लक्ष्मी पनि भित्रिन्छिन् भनिन्छ । कार्यस्थलमा ९ वटा सेतो कौडालाई पोको पारेर राख्नुपर्छ, यसो गर्दा लक्ष्मी स्थिर हुन्छिन् । पारद वा स्फटिकको श्रीयन्त्रलाई विधिपूर्वक पूजा गरेर जगाउँदा पनि लक्ष्मी स्थित हुन्छिन् । कुन–कुन राशिका मानिसले बढी पैसा जम्मा गर्छन् ? ज्योतिषमा चर, स्थिर, द्विस्वभाव भन्ने राशि हुन्छ । चर भनेको मेष, कर्कट, तुला, मकर, यी राशिमा आएको धन पनि जान्छ । स्थिर भनेको वृष, सिंह, वृश्चिक तथा कुम्भ, यी राशिमा आएको धन जोगिन्छ । कान्तिपुर साप्ताहिकबाट साभार