ओलम्पिक दिवसका अवसरमा पुरस्कार तथा सम्मान

 

काठमाडौँ, असार ९ । नेपाल ओलम्पिक कमिटीले अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा आज पत्रकारद्वय राजु सिलवाल र श्याम चित्रकारलाई पुरस्कार प्रदान गरेको छ ।

खेलकुद क्षेत्रको विकासका लागि सञ्चार क्षेत्रका माध्यमबाट सहयोग गरेकाले उहाँहरुलाई यहाँ आज आयोजित कार्यक्रममा नगद रु २५÷२५ हजारसहित सम्मानपत्र दिइएको छ । आधुनिक आोलम्पिक खेलको सुरुआत सन् १८९४ जुन २३ मा भएको हो । त्यसैको सम्झनामा प्रत्येक वर्ष आजको दिन विश्वभर सो दिवस मनाइँदै आएको छ । नेपालसहित विश्वका २०७ राष्ट्र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको सदस्य मुलुकका रुपमा छन् । नेपालले सन् १९६३ मा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको सदस्यता प्राप्त गरेको थियो ।
सोही कार्यक्रममा ओलम्पिकको साताव्यापी कार्यक्रम सञ्चालन गर्न सहयोग पु¥याएका विभिन्न सङ्घसंस्थाका प्रतिनिधि तथा साताव्यापी खेलकुद प्रतियोगितामा सहभागिता जनाएका विद्यालय र खेलाडीलाई समेत सम्मान गरिएको थियो ।
सो अवसरमा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले विश्व परिवेशमा मानिसको आक्रोशलाई न्यूनीकरण गर्न खेलकुदको विकास गरिएको बताउँदै विभिन्न समयमा आएका अनेक उतारचढावले ओलम्पिक खेललाई अहिले स्वस्थ्य जीवन तथा बौद्धिक विकास निर्माणसँग जोडेको उल्लेख गर्नुभयो ।
साताव्यापी कार्यक्रमअन्तर्गत टेनिस, बास्केटबल, कबड्डी, तेक्वान्दो, गल्फ, बक्सिङ, साम्बो, पौडी, चेस, सुटिङ, धनुकाँडलगायत खेल सञ्चालन गरिएको थियो । त्यस्तै जुडोका खेलाडीले सडकमा ट्राफिक व्यवस्थापनमा सहयोग गरेका थिए । रासस

सहकारी ठगीविरुद्ध काँग्रेसको विरोध प्रदर्शन आज

काठमाडौँ । सहकारी ठगीविरुद्ध विपक्षी दल नेपाली काँग्रेसले आज विरोध प्रदर्शन गर्दै छ।सहकारी ठगीमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई आरोप लगाएर कारबाही र सर्वसाधारणको बचत फिर्ताको माग गर्दै संघीय संसद्मा निरन्तर अवरोध गर्दै आएको काँग्रेस अब त्यही मुद्दा लिएर विरोध प्रदर्शनका लागि सडकमा उत्रिएको हो ।  पहिलो चरणमा काठमाडौँ उपत्यकामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको काँग्रेसले यहाँका १५ वटै निर्वाचन क्षेत्रमा केन्द्रीय समितिबाट प्रतिनिधि खटिएका छन् ।उपत्यकाका तीन वटै जिल्ला कार्यसमितिको अगुवाइमा आइतबार काठमाडौंमा गृहमन्त्री लामिछानेको रवैयाविरुद्ध विरोध प्रदर्शन गरिने काँग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिए ।  काठमाडौँको प्रदर्शनी मार्गमा दिउँसो १ बजे हुने विरोध कार्यक्रमलाई भव्य बनाउन काठमाडौं, ललितपुर र भक्तपुरका १५ वटै निर्वाचन क्षेत्रका क्षेत्रीय समिति, भ्रातृ संस्था र शुभेच्छुक संस्थाहरूले तयारी गरेका छन् । प्रदेश सभापति बानियाँका अनुसार सरकारद्वारा सहकारी ठगीलाई संरक्षण, संसद्भित्र सत्तापक्षका नेताहरूको धम्कीपूर्ण अभिव्यक्ति, संसदीय चरित्र र अभ्यासको विरुद्ध कांंग्रेसले प्रदर्शन गर्न लागेको हो ।  सहकारीको बचत अपचलन गरेको आरोप लागेका गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको काँग्रेसले बजेट अधिवेशन सुरु भएयता संघीय संसद्का सबै बैठकमा अवरोध गर्दै आएको छ ।

मालपोत र नापीसम्बन्धी सेवा अनलाइनमार्फत स्थानीय तहबाटै दिइने

काठमाडौँ । सरकारले मालपोत र नापीसम्बन्धी सेवाहरू स्थानीय तहबाटै अनलाइनमार्फत दिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मालपोत र नापीसम्बन्धी आधारभूत सेवाहरू स्थानीय तहबाटै एकीकृत रूपमा अनलाइनमार्फत प्राप्त हुने व्यवस्था मिलाइने बताएका हुन् । उनले भने, ‘घरजग्गा कारोबारलाई व्यवस्थित गर्न तथा मूल्याङ्कन प्रणालीलाई वैज्ञानिक बनाउन कानूनी तथा संरचनात्मक सुधार गरिनेछ । मालपोत र नापीसम्बन्धी आधारभूत सेवाहरू स्थानीय तहबाटै एकीकृत रूपमा अनलाइनमार्फत प्राप्त हुने व्यवस्था मिलाइनेछ । नापीनक्सासम्बन्धी कार्यलाई थप प्रविधियुक्त तथा व्यवस्थित बनाइनेछ । डाइनामिक डाटअप भरिभाषित गरी नापीनक्सा कार्यलाई यथार्थपरक बनाइनेछ । सेटलाइट प्रविधिमा आधारित नियन्त्रण आधार विन्दुहरूको सञ्जाल विस्तार गरिनेछ । आधुनिक प्रविधिबाट भूमिको पुनर्नापी गरी अभिलेख अद्यावधिक गरिनेछ । भूमिको प्रकृति र सम्भावनाअनुरूप तीन तहको वर्गीकरण गरी प्रदेश र स्थानीय तहको कार्यान्वयन क्षमता बढाइनेछ ।’

जोशी र ढकाल एआईजीमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ दुईजनालाई डीआईजीबाट एआईजीमा बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा समिति सचिवालयले उमेर हदका कारण अवकाश भई रिक्त हुने दुई प्रहरी अतिरिक्त महानिरीक्षक पदका लागि बढुवा गर्न सिफारिस गरेको हो।  बढुवाका लागि सिफारिस हुनेमा उमेशराज जोशी र भिमप्रसाद ढकाल छन्।  यही वैशाख ५ गतेबाट एआईजी सन्दीप भण्डारी र ७ गते मिरा चौधरी उमेर हदका कारण अवकाशमा जाने भएकाले रिक्त दरबन्दीमा बढुवाका लागि सिफारिस गरिएको हो । 

‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन गर्ने

काठमाडौं । विद्यालय छनोटमा ढिलाइ भएका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन गर्ने निर्णय गरेको छ । चालु आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि रु एक अर्ब विनियोजन भएको थियो । कार्यक्रमअन्तर्गत विद्यालय छनोटमा ढिलाइ भएको र स्रोतको वितरण तथा उपयोगमा विभिन्न गुनासा आएका सन्दर्भमा शिक्षामन्त्री सुमना श्रेष्ठको उपस्थितिमा भएको बैठकले उक्त कार्यक्रम स्थगन गरी त्यसबारे अर्थ मन्त्रालयलाई जानकारी दिने निर्णय गरेको हो । जाजरकोट भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन पुनःनिर्माणका लागि आवश्यक बजेट व्यवस्थापन हुन नसकेको तथा मुसहर, चेपाङलगायत सीमान्तकृत समुदाय रहेको स्थानमा नमुना सामुदायिक विद्यालय सञ्चालन गर्न रकम नभएको अवस्थामा अन्यत्रका विद्यालयलाई पूर्वाधार विकासका निम्ति बजेटको व्यवस्था गर्न सान्दर्भिक नहुने अभिमत प्रकट हुँदै आएको थियो।मन्त्रालयले आगामी आर्थिक वर्षमा ती क्षेत्रको शैक्षिक विकासमा ध्यान दिने शिक्षामन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ । 

अरुण चौधरीले बयानमा भने –‘नियमविपरीत भए जग्गा फिर्ता गर्छु’

काठमाडौँ, २० माघ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसँग बयान लिन थालिएको छ । जिल्ला सरकारी वकील कार्यालयका प्रमुख सन्देश श्रेष्ठको अगुवाइमा अनुसन्धान अधिकृतहरुले बयान लिन थालेका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले कानुनी प्रक्रिया अन्तरगत नै बयान लिन थालिएको जानकारी दिए । उनले चार दिन म्याद थप भएकाले त्यही म्याद भित्र रहेर अनुसन्धान भइरहेको पनि स्पष्ट पारे । बयानका क्रममा चौधरीले कानुन विपरीत भएको पाइएमा आफू जग्गा फिर्ता गर्न तयार रहेको बताएका एक अनुसन्धान अधिकृतले जानकारी दिएका छन् । अनुसन्धान अधिकृतका अनुसार चौधरीले कानून विपरित भएमा हडपेको जग्गा फिर्ता गर्ने बताएका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबीले) तीन महिनाको अनुसन्धान पछि बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा चौधरी लगायत तीन जनालाई यही माघ १८ गते पक्राउ गरी अदालतबाट म्याद थपेर अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा काठमाडौँ महानगरपालिका २६ का तत्कालीन च्याम्पियन फुटवयेर लिमिटेडका शेयर धनी तथा सञ्चालक ६० वर्षका अरुणकुमार चौधरी सहित काठमाडौँ महानगरपालिका ९ बस्ने तत्कालीन बाँसवारी छाला जुत्ता कारखानाका कार्यकारी अध्यक्ष ८० वर्षका अजितनारायण सिंह थापा, महोत्तरी घर भएका च्याम्पियन फुटवेयर प्रालि तथा सिजी चाँदवाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुरलाई पक्राउ गरी म्याद थपेर आवश्यक अनुसन्धान अघि बढाइएको छ । उनीहरुलाई अनुसन्धान अधिकृतले क्रमैसँग बयान लिने छन् । सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज आचार्यले भने, ‘पछिल््लो अबस्थामा प्रहरीले अनुसन्धान नगरिकन व्यवसायिक घरानालाई पक्राउ गरियो भन्ने कुराहरु आएको छ, यो लामो समयको अनुसन्धान पछि नै पक्राउ गरिएको हो ।’

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल माघ १० गते बुधबार तदनुसार सन् २०२४ जनवरी २४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७५ पैसा र बिक्री दर १३३ रुपैयाँ ३५ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ २१ पैसा र बिक्री दर १४४ रुपैयाँ ८६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६५ पैसा र बिक्री दर १६९ रुपैयाँ ४१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा अध्यक्ष तिमिल्सिनाले आफूले केही दिनअघि गरेको चीन भ्रमण र त्यहाँ भएका कुराकानीबारे प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ ।

मुलुकलाई पुनःद्वन्दमा लैजाने स्वार्थको खेतिमा सर्वोच्च दुरुपयोग नहोस् : जनप्रगतिशील मञ्च कतार

काठमाडौं । बृहत शान्ति सम्झौता विपरित गएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’विरुद्ध रिट दर्ता गर्ने काम भएको भन्दै नेपाली जनप्रगतिशील मञ्च रास्ट्रिय समिति कतारले आफ्नो भम्भिर ध्यानाकर्षण भएको जनाएको छ । पछिल्ला घटनाक्रममा मुलुकलाई पुनः द्वन्दमा फसाएर आफ्नो अपराधिक स्वार्थको खेति गरिरहेका तत्वहरु सक्रिय भएको भन्दै त्यसप्रति अदालत सचेत हुनुपर्ने मञ्चले जनाएको छ । मञ्चले प्रचण्डको कुनै फरक प्रसंगमा दिईएको राजनीतिक अभिव्यक्तिलाई आधार बनाएर मुद्धा दर्ता गर्नुले आशंका जन्माएको भन्दै उक्त कदमको विरोध जनाएको हो । तत्कालिन नेकपा माओवादी र सात राजनीतिक दलका बिचमा बृहत शान्ती सम्झौता सम्पन्न भई मुलुक उक्त प्रकृयामा प्रवेश गरेको र बृस्तित शान्ति सम्झौता नेपालको अन्तरिम संबिधान २०६३ को अभिन्न अङ्ग बनिसकेको अवस्थामा पछिल्ला घटनाक्रमले गलत उदेश्यका साथ सम्मानित सर्वोच्व अदालत दुरुपयोग हुने त हैन भन्ने आशंका जन्मेको मञ्चका अध्यक्ष बुद्धि प्रसाद भण्डारीद्धारा जारी विज्ञप्तिमा भनिएको छ । साथै, नेपाली जनताको चाहना र हाम्रो संविधानको भावना विपरित हुने घटनाहरु अगाडी बढेमा जुनसुकै संस्था वा शक्ति भएपनि त्यसको कडा प्रतिवाद गर्ने मञ्चले चेतावनी दिएको छ । यस्तो छ विज्ञप्ति हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपर दायर भएको रिट निवेदनमा सम्मानित सर्वोच्व अदालतका माननीय न्यायाधिश ईश्वर खतिवडा र माननीय न्यायाधिश हरि फ्युयाल को संयुक्त इजलासबाट रिट दर्ता गर्ने मिति २०७९–११–१९ को आदेश प्रति नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को प्रवास संगठन नेपाली जनप्रगतिशील मन्च रास्ट्रिय समिति कतारको गम्भीर ध्यानाकर्षण भएको छ। हाम्रो मुलुकले प्राप्त गरेको गणतन्त्र, संघीयता, समावेशी, समानुपातिक, धर्म निरपेक्षता लगायतका उपलब्धिको जग १० बर्षे महान जनयुद्द र २०६२–२०६३ को जनआन्दोलन हो भन्ने कुरा सर्वविदितै छ। तत्कालिन नेकपा माओवादी र सात राजनीतिक दलका बिचमा बृहत शान्ती सम्झौता सम्पन्न भई मुलुक उक्त प्रकृयामा प्रवेश गरेको र बृस्तित शान्ति सम्झौता नेपालको अन्तरिम संबिधान २०६३ को अभिन्न अङ्ग बनिसकेको कुरा पनि स्पष्ट नै छ। द्वन्दकालिन अवस्थामा भएका घटनाहरुको छानबिन र निरुपणको लागी नेपालको संबिधान बमोजिम सत्यनिरुपण तथा बेपत्ता छानबिन आयोग गठन भई काम कारबाही अगाडी बढेको कुरा पनि सार्वजनिक नै छ। यसका बाबजुद हालैको सर्वोच्वको उक्त आदेशले हाम्रो पार्टीका अध्यक्ष कमरेड प्रचण्डको कुनै फरक प्रसंगमा दिईएको राजनीतिक अभिव्यक्तिलाई आधार बनाउदै गलत उदेश्यका साथ सम्मानित सर्वोच्व अदालत दुरुपयोग हुने त हैन भन्ने आशंका जन्मेको छ। मुलुकमा शान्ती बहाल हुन नदिन, जनयुद्द र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई नष्ट गर्न यसको शुरुयात देखिनै बिभिन्न व्यक्ति र शक्ति केन्द्रहरु लागि परेको कुरा न्यायप्रेमी नेपाली जनताबाट लुकेको छैन। मुलुकलाई पुनः द्वन्दमा फसाएर आफ्नो अपराधिक स्वार्थको खेति गरिरहेका तत्वहरुसंग सम्मानित सर्वोच्व अदालत सचेत नै छ भन्नेमा हामी विश्वस्त छौं। कदाचित नेपाली जनताको चाहना र हाम्रो संबिधानको भावना बिपरित यस्ता घटनाहरु अगाडी बढेमा हाम्रो पार्टी र नेपाली जनताले जुनसुकै संस्था वा शक्ति भएपनि त्यसको कडा प्रतिवाद गर्ने र त्यस्ता अपराधिक तत्वको कुटिल चाल एवं दुषित मनसाय कुनै हालतमा पुरा हुन नदिने नेपाली जनतामा हामी प्रतिबद्दता व्यक्त गर्दछौं। अन्त्यमा मुलुकको स्थायी शान्ति र अग्रगमनका लागि बिगतका १२ बुँदे पक्षधर सम्पूर्ण गणतन्त्रवादी राजनीतिक दल नागरिक समाज, र न्यायप्रेमी जनसमुदाय लाई यस्ता शान्ति र संबिधान बिरोधी गतिबिधिहरुप्रती सचेत रहन र आवस्यकता अनुसार प्रतिबाद गर्न अपिल गर्दछौं। क्रान्तिकारी अभिवादन सहित !! बुद्धि प्रसाद भण्डारी अध्यक्ष तथा नेपाली जनप्रगतिशील मंच कतार परिवार।

मलाई अन्याय भएमा जनताको अदालत जान्छुँः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि अन्याय भएमा सर्वोच्च अदालत नगई जनताको अदालत जाने बताएका छन् । नेपाली जनताको न्याय नै सही न्याय भएको उनले चर्चा गरे । पूर्वाञ्चल क्यान्सर अस्पतालको मंगलबार विर्तामोडको झापामा उदघाटन गर्दै ओलीले भने, ‘अरु मानिस मुद्दा हाल्न अदालत धाइरहेका छन्, तर म मुद्दा हाल्न अदालत जान्न, जनतामाझ जान्छुँ ।’ सरकारको उद्देश्य नै ‘समृद्ध नेपाल र सुखी नेपाली’ भएकाले गलत बाटोमा नहिड्ने प्रधानमन्त्री ओलीले प्रष्ट पारे । देशमा उद्योग कलकारखानाको स्थापना गरी युवाका लागि स्वदेशमै रोजगारीको व्यवस्था सरकारले गरिरहेको उनले बताए । ओलीले आफूलाई कसैले हटाए अर्को चुनावमा दुई तिहाइ बहुमत ल्याउने दाबी गरे ।

यी हुन् भुँडी घटाउने अचूक उपाय

काठमाडौंः प्रविधि तथा अन्य सुविधाका कारण मानिसहरुमा मोटोपनको समस्याले खुबै सताउन थालेको छ । भर्खरका युवाहरुको पनि अन्य सबै भाग फिट भएतापनि पेट भने पुत्लुक्क बाहिर निस्किएको हुन्छ । हुन त घरमा आमाबाबा छोरो या छोरी मोटाए भनेर खुशि हुँदाहुन् तर यसले बिभिन्न प्रकारका रोगलाई समेत निम्तो दिन्छ । त्यसैले पेट घटाउन धेरै मानिसहरु लागिपर्न थालेका छन् । बिहानै मर्निङ वाक गर्न होस् वा योग गर्न मानिसहरु दौडिहाल्छन् । युवापुस्तामाझ त जिम जाने चलन पनि ह्वात्तै बढेको छ । त्यसो त हामीले सामान्य कुरामा ध्यान दिने हो भने पनि पुत्लुक्क निस्कने पेटलाई नियन्त्रण गर्नसक्छौं । हामीले खाने खानामा केहि परिवर्तन गर्दा हामी फिट हुनसक्छौं । कागती पानीबाट गर्नुहोस् दिनको सुरुवात– दिनको सुरुवात कागती पानीबाट गर्नुहोस् । पेटमा जम्मा भएको अतिरिक्त बोसो कम गर्न यो घरेलु उपाय प्रभावकारी हुन्छ । तातो पानीमा कागतीको थोरै रस र नुन मिसाएर हरेक दिन बिहान सेवन गर्नुहोस् । यसबाट तपाईंको मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्नमा पनि मद्दत मिल्छ । खैरो चामलको भात खानुहोस्– यदि तपाईं भात खानमा सोखिन हुनुहुन्छ भने सेतो चामलबाट टाढा रहनुहोस् र त्यसको स्थानमा खैरो चामलको भात खानुहोस् । यसका अलावा आफ्नो खानामा ब्राउन ब्रेड, ओट्सजस्ता खाद्य पदार्थ सामेल गर्नुहोस् । खैरो चामलको भात भने नेपालको सन्दर्भमा त्यति सम्भव नहुन पनि सक्छ । गुलियोबाट टाढा रहनुहोस् यदि तपाईं पेटको बोसो कम होस् भन्ने चाहनुहुन्छ भने मिठाईबाट टाढा रहनुहोस् । मिठाई तथा तैलीय पदार्थबाट टाढा रहनुहोस्– यस्ता खाद्य पदार्थले शरीरमा अतिरिक्त बोसो जम्मा गर्छ । यस्तो बोसो पेट, तिघ्राजस्ता शरीरका विभिन्न भागमा जम्मा हुने गर्छन् । पानी धेरै पिउनुहोस्– पेटको बोसो काम गर्न धेरै पानी पिउनुहोस् । यो निकै लाभदायी हुनेछ । नियमित अन्तरालमा पानी पिउनाले मेटाबोलिजम बढ्छ र शरीरबाट विषालु पदार्थ बाहिर निस्कनमा मद्दत गर्छ । यसबाट शरीर स्वस्थ रहन्छ । काँचो लसुन खानुहोस्– बिहान काँचो लसुन खाने बानी गर्नुहोस् । यसले शरीरलाई निकै फाइदा पनि गर्छ । बिहान लसुनको दुई या तीन पोटी चपाएपछि तातोपानीमा कागती हालेर पिउनाले बोसो घटाउन मद्दत गर्छ । यसबाट मोटोपना घट्ने प्रक्रिया दुइ गुनाले हुन्छ । यसबाट शरीरको रक्तप्रवाह पनि सुचारु हुन्छ । मांसाहारबाट टाढै रहनुहोस्– मांसाहारी भोजनमा बोसोको मात्रा निकै हुन्छ । यो बोसो शरीरमा जम्मा हुन्छ, जसबाट स्वास्थ्यसम्बन्धी समस्याहरु उत्पन्न हुन्छन् । यदि वास्तवमै तपाईं तौल कम गर्न चाहनुहुन्छ भने मांसाहार छाडेर शाकाहारी भोजन गर्नुहोस् । धेरै सागसब्जी खानुहोस् खानामा फल र सागसब्जी सामेल गर्नुहोस् । बिहान बेलुकी एक कचौरा फल र सागसब्जी खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसबाट तपाईंको पेट भरिन्छ र एन्टीअक्सिडेन्ट, मिनरल्स र भिटामिन पनि प्राप्त हुन्छ । खाना पकाउने तरिका परिवर्तन गर्नुहोस्– खाना पकाउँदा तौल बढाउने खालका मसला पनि प्रयोग नगर्नुहोस् । दाल चीनी, अदुवा तथा मरिचको प्रयोग खानामा अनिवार्य रुपमा गर्नुहोस् । यी मसाला स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसले तपाईंको इन्सुलिन क्षमता बढाउँछ र चिनीको मात्रा पनि कम गर्छ । बदामको प्रयोग गर्नुहोस्– बदाममा भिटामिन इ तथा प्रोटिनका अलावा फाइबरको मात्रा अधिक मात्रामा हुन्छ । यसको सेवनले पेट लामोसमयसम्म भरिएको अनुभूति हुन्छ । यसमा क्यालोरीको मात्रा बढी भएपनि मोटाई भने बढाउँदैंन । यदि माथिका कुरालाई तपाइले प्रतिबद्ध भएर पालना गर्नुभयो भने, महिना दिनमै पेट घट्ने सहिद शुक्रराज तथा सरुवा रोग अस्पतालका जनरल फिजिसियन शेरवहादुर पुन बताउँछन् ।  

यी नेपाली महिला हुन्, जो उद्यममा चम्किएका छन्

देशभरका उद्योगी–व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा भवानी राणा छिन् । महासंघको नेतृत्वमा पुग्ने उनी नै पहिलो महिला हुन् । राणाजस्तै उद्यममा चम्केका महिला भने अरू पनि छन् । कसैले पाँचतारे होटेल चलाएका छन्, कोही विश्वका प्रिमियम ब्रान्ड हाँकिरहेका छन् । युवा महिलादेखि वृद्धासम्म उद्यममा चम्केका छन् । स्थापित हुन आफ्नै पौरख केही दशकअघिसम्म नेपाली सोच थियो– महिलाहरू व्यवसाय गर्न सक्दैनन्, घरधन्दामै ठीक छन् । तर, अहिले केही महिलाले समाजको त्यो सोच भत्काइदिएका छन् । चुलोचौकामा अल्झिएका आममहिलाका लागि एकाध महिलाको पौरख उदाहरण बन्यो । एकपछि अर्को गर्दै महिला सानो–ठूलो व्यवसायमा होमिए । कोही त देशमै नयाँ व्यवसायको ‘ट्रेन्ड सेटर’समेत बने । महिलासँग सम्बन्धित व्यवसायमा धेरै महिला उद्यमी रहे पनि निर्माणदेखि वित्तीय संस्थासम्म महिला नेतृत्व फैलिएको छ । ट्राभल एजेन्सीको सानो व्यवसायबाट काम थालेकी अम्बिका श्रेष्ठले द्वारिकाज होटेल स्थापित गरिन् । उनी नयाँ पुस्ताका महिलाका लागि पनि रोल मोडेल हुन् । शारदा रिजाल, श्वेता खड्का, छाया शर्मा, नीरा श्रेष्ठ, रीता भण्डारी, कमला श्रेष्ठ पनि आफ्नै पौरखले चम्केका उद्यमी हुन् । छोरी–बुहारीले सम्हाल्दै पारिवारिक बिरासत ठूला व्यावसायिक घरानामा पनि बाबुछोरा व्यवसाय सम्हाल्थे । छोरी–बुहारी घरधन्दामै हुन्थे । तर, अब यहाँ पनि परिस्थिति बदलिएको छ । ठूला घरानाका अर्बौँ लगानीका कम्पनी पनि छोरी–बुहारीले हाँक्न थालेका छन् । छोरीलाई विदेश पढ्न पठाएर दक्ष बनाउने, अनि स्वदेशमै फर्काएर कम्पनी जिम्मा लगाउने व्यावसायिक घराना धेरै छन् । गोल्छा अर्गनाइजेसनकी बुहारी सीमा र छोरी एकताले परिवारको बिरासत धानिरहेका छन् । चौधरी ग्रुपकी छोरी मेघा पनि बुबा वसन्तको उत्तराधिकारी भएर काम गरिरहेकी छिन् । भवानी राणा पारिवारिक व्यवसाय अँगाल्ने एक अग्रणी महिला हुन् । भवानी राणा, अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ राणा परिवारमा बिहे गरेर भित्रिएपछि भवानी राणा औपचारिक रूपमा बिजनेसमा जोडिइन् । होटेल, कृषि, ट्राभल, व्यापारलगायतमा सक्रिय छिन् । नेपाल उद्योग वाणिज्य महासंघको पहिलो अध्यक्ष महिलाको स्थान लिन सफल भइन् । श्रीमान् असितको व्यवसायमा भवानीले साथ दिइरहेकी छिन् । कतिपय व्यवसाय आफ्नै पहलमा सुरु गरेकी छिन् । नेपालगन्जमा ६० कोठाको तीनतारे होटेल छ । उनी भन्छिन्, ‘हामी हेल्थ प्रोडक्ट उत्पादनमा पनि गइरहेका छौँ ।’ उनी ट्याक्टरको व्यापारमा संलग्न छिन् । यस्तै, बर्दियाको ठाकुरद्वारमा होटेल खोल्ने तयारी भइरहेको बताइन् । रितुसिंह वैद्य, प्रबन्ध निर्देशक, युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि रितुसिंह वैद्य, सन् १९९१ की मिस इन्डिया । नयाँदिल्लीमा जन्मिएकी रितु नेपालको प्रतिष्ठित व्यावसायिक घराना ‘वैद्यज अर्गनाइजेसन’को बिरासत थामेर बसिरहेकी छिन् । सन् १९९४ डिसेम्बरमा सुरज वैद्यकी श्रीमती बनेर भित्रिएकी रितु जापानिज टोयोटा ब्रान्डको प्रबर्द्धनमा खटिन्छिन् । नेपालमा प्रिमियम टोयोटा गाडी भित्रिएको ५० वर्ष पुगिसकेको छ । सुरज वैद्य लामो समय व्यवसायीको राजनीतिमा व्यस्त रहे । नेपाल उद्योग वाणिज्य महासंघ, सार्क चेम्बर अफ कमर्सको नेतृत्वमा रहे । दर्जनौं सामाजिक संस्थाको बोर्डमा छन् । अहिले उनलाई सरकारले भिजिट नेपाल २०२० को संयोजकको जिम्मेवारी सुम्पिएको छ । व्यवसायमा त्यति समय दिन भ्याउँदैनन् । परिवारको व्यवसाय सबै रितुले सम्हालिरहेकी छिन् । उनले सनवड ब्रान्डको निर्माण औजार (हेभी मेसिन) को बिक्री पनि सुरु गरेकी छिन् । दरबारमार्गमा ‘स्पा प्राना’ पनि चलाइरहेकी छिन् । यो व्यवसायमा छोरी सभानाले पनि सघाइरहेकी छिन् । सीमा गोल्छा निर्देशक, हिम इलेक्ट्रोनिक्स गोल्छा अर्गनाइजेसनकी बुहारी सीमा गोल्छा बिजनेसमा सक्रिय छिन् । उनले हिम इलेक्ट्रोनिक्स हेर्छिन् । हिम इलेक्ट्रोनिक्सअन्तर्गत सामसुङ, हिमस्टार, बजाजको मिक्सर ग्राइन्डरलगायत ब्रान्डहरू छन् । उनको माइती पक्ष व्यवसायमा थिएन, जागिरमा थियो । विवाहअघि उनले भने भारतको एड एजेन्सीमा काम गरेकी थिइन् । शेखर गोल्छासँग विवाह गरेर व्यावसायिक घरानाको बुहारी बनेपछि जिम्मेवारीअनुसार व्यवसाय राम्रोसँग हाँकिरहेकी छिन् । परिवारको सहमति लिएरै इलेक्ट्रोनिक्स व्यापार थालेको उनी बताउँछिन् । सामसुङ प्लाजामा झन्डै ९५ प्रतिशत कर्मचारी पनि महिला नै छन् । सिर्जना राणा कार्यकारी निर्देशक, होटेल अन्नपूर्ण नेपालको पहिलो पाँचतारे होटेल अन्नपूर्णको कार्यकारी निर्देशक हुन् सिर्जना राणा । १० वर्षदेखि श्रीमान् कपिल राणालाई सघाउँदै होटेल व्यवस्थापनमा सक्रिय छिन् । श्रीमान्ले योजना बनाउने र आफूले कार्यान्वयन गर्ने उनले सुनाइन् । सिर्जनाले पोखराको फेवाताल किनारमा ‘फिस्टेल लज’ र चितवनमा ‘जगतपुर लज’समेत सञ्चालन गरिरहेकी छिन् । उनी होटेल संघ नेपाल (हान) को वरिष्ठ उपाध्यक्ष पनि हुन् । कमला श्रेष्ठ अध्यक्ष, सौन्दर्य कला व्यवसायी संघ नेपालमा ब्युटिपार्लर (सौन्दर्यकला) भन्नेबित्तिकै नराम्रो नजरले हेरिन्थ्यो । छोरी–बुहारीलाई पार्लर खोल्न दिइँदैनथ्यो । तर, पछिल्लो समय समाजले पार्लर व्यवसायलाई हेर्ने नजर फेरिएको छ । पार्लर व्यवसायमा लाग्ने छोरी–बुहारीको संख्या बढ्दै छ । यो व्यवसायलाई अहिलेको अवस्थामा ल्याइपुर्‍याउने श्रेय जान्छ, कमला श्रेष्ठलाई । थाइल्यान्डमा दुई वर्ष तालिम लिएर ०३६ मा कुपन्डोलमा सयाम इन्स्टिच्युट खोलिन् । सुरुमा सैलुन मात्र थियो । उनले २६ वर्षदेखि ब्युटिपार्लर ट्रेनिङ दिँदै आइरहेकी छिन् । ब्युटिपार्लर व्यवसायको ट्रेन्डसेटर श्रेष्ठ भन्छिन्, ‘अहिले देशभर ३ लाख हाराहारी पार्लर व्यवसायी पुगिसकेका छन् ।’ उनी नेपाल सौन्दर्य कला व्यवसायी संघको अध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पनि हुन् । छाया शर्मा कलेज सञ्चालक नेपाल कलेज अफ ट्राभल, टुरिजम एन्ड म्यानेजमेन्टकी संस्थापक छाया शर्मा शैक्षिक क्षेत्रमा आबद्ध छिन् । नेपालमा निजी क्षेत्रबाट पर्यटनसम्बन्धी पहिलो कलेज नै आफूले स्थापना गरेको उनी बताउँछिन् । सन् १९९५ मा एनसिसिटिएम सुरु गर्दा ५ जना मात्रै विद्यार्थी थिए, अहिले ५ सय पुगेका छन् । उनको अरू केही विद्यालय र कलेजमा पनि लगानी छ । आफ्नो लगानी रहेको कलेज र विद्यालयमा कुल दुई सयजनाले प्रत्यक्ष रोजगारी पाइरहेका छाया बताउँछिन् । अहिले हस्तकला उत्पादनको व्यवसाय पनि सुरु गरेकी छिन् । ज्योत्सना श्रेष्ठ मेरिगोल्ड ज्वेलर्स मेरिगोल्ड सयपत्री ज्वेलर्सकी प्रोपाइटर ज्योत्सना श्रेष्ठ रत्न, आभूषण तथा सुनचाँदी व्यवसायमा आवद्ध छिन् । उनी सञ्चालक रहेको गरगहना सोरूम काठमाडौंको न्युरोड र दरबारमार्गमा छन् । रत्न, आभूषण तथा गरगहना उनको पुख्र्यौली व्यवसाय हो । तर, उनी आबद्ध भएको करिब अढाई दशक भएको छ । ज्योत्सना पर्यटन व्यवसायमा पनि प्रवेश गर्दै छिन् । झापामा पाँचतारे होटेल सञ्चालन गर्दै छिन् । सलुजा आचार्य सिइओ, एभिओन्ते प्रालि करिब १९ वर्ष अमेरिका बसेर फर्किएकी सलुजा आचार्य आइटी कम्पनी एभिओन्तेको प्रमुख कार्यकारी अधिकृत छिन् । सन् २०१३ मा नेपाल फर्किनेबित्तिकै एभिओन्तेको व्यवस्थापनमा रहेर काम सुरु गरिन् । उनले कम्पनीमा ६० जनाभन्दा बढी आइटी इन्जिनियरलाई जागिर दिइरहेकी छिन् । उनको कम्पनीले वल्र्ड क्लास’ सफ्टवेयर उत्पादन गर्छ । अमेरिकामा रहँदा उनी हेल्थ इन्स्योरेन्स कम्पनी ब्लुक्रस ब्लुसिल्डको अफिसरका रूपमा काम गर्थिन् । एप्लिकेसन डेभलपरका रूपमा कम्पनीमा छिरेकी उनले १५ वर्षजति काम गरिन्, विभिन्न ओहोदामा रहेर । प्रमिला आचार्य रिजाल निर्माण र लघुवित्त साउथ एसियन वुमन डेभलपमेन्ट फोरमकी संस्थापक अध्यक्ष प्रमिला आचार्य रिजाल अढाई दशकदेखि व्यवसायमा आबद्ध छिन् । २२ वर्षअघि बुटिक व्यवसाय सुरु गरेकी उनले निर्माण, वित्तलगायत विभिन्न व्यवसायमा हात हालिन् । सफलतासँगै उनी अहिले निर्माण कम्पनी ‘प्रतिष्ठा कन्स्ट्रक्सन’की अध्यक्ष छिन् । दक्षिण एसियाका महिलाले उत्पादन गरेका वस्तुको बजार व्यवस्थापन तथा प्रबर्द्धन गर्ने संस्था ‘सार्क चेम्बर क्राफ्ट भिलेज मार्केटिङ सेन्टर’की संस्थापक सदस्य तथा सञ्चालक पनि हुन् । उनको मनुषी माइक्रो क्रेडिट बैंक पनि छ । मेघा चौधरी प्रबन्ध निर्देशक, नर्भिक हस्पिटल उद्यमी वसन्त चौधरीकी एक मात्र छोरी हुन्, मेघा चौधरी । अहिले नर्भिक इन्टरनेसनल हस्पिटल मेघाकै काँधमा छ । अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा दिइरहेको नर्भिकमा नेपालका हाइप्रोफाइल बिरामी पुग्छन् । नर्भिकलाई मुलुककै पहिलो नम्बरको हस्पिटल बनाइराख्न मेघा खटिइरहेकी छिन् । विदुषी राणा निर्देशक, गोल्डस्टार जुत्ता नूरप्रताप राणाले स्थापित गरेको गोल्डस्टारको बिजनेसमा बुहारी विदुषी राणा सक्रिय छिन् । ६ वर्षजति कुमारी बैंकको मार्केटिङ म्यानेजर बनेकी उनले पछिल्लो दुई वर्षदेखि गोल्डस्टारको ब्रान्डिङ र मार्केटिङ हेर्दै आएकी छिन् । गोल्डस्टार नेपालको लोकप्रिय ब्रान्ड हो । नेपालमा उत्पादित गोल्डस्टार जुत्ता सबैभन्दा बढी निर्यात हुन्छ । भारतमा पनि गोल्डस्टार लोकप्रिय छ । छिटै भैरहवास्थित सेजबाट पनि गोल्डस्टारले उत्पादन सुरु गर्दै छ । गोल्डस्टारलाई उचाइमा पुर्याउने अमिर राणाको अभियानमा श्रीमती विदुषीले साथ दिइरहेकी छिन् । उनीहरूको युनिभर्सल ग्रुप अफ कम्पनीभित्र कुमारी बैंक, गोल्डस्टार, हात्तीछाप चप्पल, त्रिशूल ग्यास, युनिभर्सल फर्मास्युटिकल्स छन् । शोभा गुरुङ गलैँचा उद्योग शोभा गुरुङले अढाई दशकदेखि गलैँचा उद्योग सञ्चालन गर्दै आएकी छिन् । उनको हिमालयन डेकोर रक्स प्रालि उद्योगले गलैँचा उत्पादन तथा निर्यात गर्दै आएको छ । यो उद्योगमा करिब ३ सयले रोजगारी पाएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघकी उपाध्यक्षसमेत रहेकी उनी गलैँचाबाहेक हस्तकला र प्राकृतिक धागोको व्यवसाय गर्ने तयारीमा समेत छिन् । सिर्जना ज्योति, चिफ ब्रान्डिङ अफिसर, स्याकार ट्रेडिङ प्रालि ज्योति समूहकी बुहारी सिर्जना ज्योति पनि बिजनेसमै संलग्न छिन् । उनी चिफ ब्रान्डिङ अफिसर भएर काम गरिरहेकी छिन् । होन्डा कार र बाइकको बजार प्रवद्र्धनको जिम्मेवारी उनकै काँधमा छ । उनले विज्ञापन र प्रमोसनल योजना बनाउनुपर्छ । बिहानदेखि बेलुकासम्म उनी बिजनेसमै सक्रिय रहन्छिन् । श्वेता खड्का, उद्यमी आममान्छे श्वेता खड्का भन्नेबित्तिकै अभिनेत्री सम्झन्छन् । उनले ‘कहाँ भेटिएला’, ‘कोहिनूर’जस्ता हिट फिल्म दिइन् । तर, उनको व्यावसायिक जीवनबारे धेरै कमलाई थाहा होला । कफीको अम्मली श्वेताले कफीसप नै चलाएकी छिन् । उनले हिमालयन जाभाको फ्रेन्चाइज लिएकी छिन् । उनको इन्जिनियरिङ कम्पनी पनि छ, जसले भवन निर्माण, इन्टेरियर, एक्स्टेरियर डिजाइनको काम गर्छ । उनी इन्द्रेणी हिमालय होटेलमा पनि पार्टनर छिन् । उनी फिल्मबाट हिट भइन् । तैपनि व्यवसाय पहिलो प्राथमिकता हो । शारदा रिजाल, हस्तकला उद्यमी महिला उद्यमी महासंघको अध्यक्ष शारदा रिजाल करिब तीन दशकदेखि व्यवसायमा आबद्ध छिन् । ०४६ मा मिलन गार्मेन्ट सुरु गरेकी उनी हस्तकला र फेल्टमा फड्किइन् । अहिले उनले ‘लिमन नेपाल’ नामक निर्यात गर्ने कम्पनी र ‘युनाइटेड नेपाल फेल्ट इन्डस्ट्रिज’ नामक उत्पादक कम्पनी सञ्चालन गरिरहेकी छिन् । ३० महिलालाई प्रत्यक्ष रोजगारी दिएकी छिन् भने ५० जनाबाट आउटसोर्सिङ गर्छिन् । नीरा श्रेष्ठ सञ्चालक, भिक्ट्री लङ एन्ड बार युवा उद्यमी नीरा श्रेष्ठ उमेरले २६ मात्रै लागिन् । तर, उनको व्यावसायिक सफलता कुनै पुरानो उद्यमीको भन्दा कम छैन । बुबा आसामका कोइला व्यापारी, नीरा पनि उतै जन्मे–हुर्केकी । स्कुले पढाइ सकाएर नेपाल छिरेकी उनले दरबारमार्गमा ‘भिक्ट्री लङ एन्ड बार’ र ‘ब्रान्डेड कस्मेटिक सप’ सञ्चालन गरिरहेकी छिन् । दरबार रेस्टुरेन्टमा पनि लगानी थियो, हात झिकिन् । क्लब डेजाभुमा पनि लगानी छ । भिक्ट्री सुरु गर्दा २२ वर्ष मात्रै भएकी थिइन् । अन्य साथीहरू समेटेर भिक्ट्री सञ्चालनमा ल्याइन् । अहिले क्लब व्यवसायमा नीरा परिचित नाम हो । ‘भर्खर व्यवसाय सुरु गर्दा त बिहान ६ बजेसम्म पनि क्लबमै हुन्थेँ,’ नीराले संघर्षको कथा सुनाइन् । अब लक्जरी रिसोर्ट खोल्ने तयारीमा छिन् । अञ्जना ताम्राकार नेपाली कागज हाते कागज र सहकारी व्यवसायमा आबद्ध अञ्जना ताम्राकार लामो समयदेखि महिला उद्यमशीलता विकासमा सक्रिय छिन् । आफू मात्रै उद्यम गर्दिनन्, महिला उद्यमशीलता विकासका लागि तालिमसमेत प्रदान गर्छिन् । उनले इजरायल, क्यानडालगयात मुलुकबाट महिला उद्यमशीलता विकास प्रशिक्षण तालिम लिएकी छिन् । ०५४ तिर नेपाल कागज कारखाना खोलिकी हुन् । हाल उनी वुमन क्रिएसन र क्रिएटिभ वुमन क्राफ्टकी सञ्चालक पनि हुन् । रिता भण्डारी, नेपाली कागज करिब ३० वर्षअघि नर्सरी उद्यम सुरु गरेकी रिता भण्डारी अहिले हाते कागज, मौलिक परिकार उत्पादन तथा बिक्री–वितरणलगायत व्यवसायमा आबद्ध छिन् । उनले सञ्चालन गरेको नेपाल पेपर क्राफ्टस् प्रालिले लोक्ताबाट कपडासमेत उत्पादन गर्छ । ४ वर्षअघि रिताले सुरु गरेको माही इन्टरप्राइजेजले अर्डरअनुसारका मौलिक परिकार तयार गरी बिक्री–वितरण गर्छ । उनले अहिले हुम्ला, जुम्ला, बाजुरालगायत दुर्गम क्षेत्रबाट लप्सी, कागतीलगायत विभिन्न प्रकारका फल ल्याएर अचार बनाई बिक्री–वितरण गरिरहेकी छिन् । आस्था र आरजु बस्नेत बुद्ध एयर बुद्ध एयर प्रालिका उत्तराधिकारी हुन्, आरजु र अस्था बस्नेत । आरजुको सानैदेखि बुटिकमा सोख थियो, त्यसैले बुटिक पनि चलाइरहेकी छिन् । जावलाखेलस्थित बुद्ध एयरको मुख्यालयमा रहेको बुटिक राम्रोसँग चलिरहेको छ । सुरुमा आरजु र आस्था मिलेर बुटिक सुरु गरेका थिए । आस्था एयरलाइन्समै आकर्षित थिइन् । त्यसैले स्नातक सिध्याउनेबित्तिकै बुटिक दिदीलाई जिम्मा लगाएर जनवरी २०१७ देखि बुद्ध एयर छिरिन् । उनकै अगुवाइमा बुद्ध एयरले बनारसमा नियमित उडान सुरु गर्‍यो । बनारसको बजार अध्ययन र मार्केटिङमा उनी मजाले खटिइन् । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि तत्कालै अन्तर्राष्ट्रिय उडान भर्ने योजनामा छ, बुद्ध एयर । यो जिम्मेवारी सम्हाल्दै छिन् आस्था । ‘बनारस अन्तर्राष्ट्रिय उडानको पहिलो खुड्किलो हो,’ उनी सुनाउँछिन् । एकता गोल्छा गोल्छा अर्गनाइजेसन गोल्छा अर्गनाइजेसनकी चेली एकता गोल्छाले बुबा राजकुमार गोल्छालाई बिजनेसमा सघाउन थालिसकेकी छिन् । राजकुमारको भागमा अरिहन्त मल्टिफाइबर र रघुपति जुट मिललगायत परेको छ । अक्सफोर्ड विश्वविद्यालय पढेर फर्किएकी एकता आइटी बिजनेस हेर्छिन् । व्यावसायिक घरानाकी चेली एकता परिवारको व्यवसायलाई निरन्तरता दिन नेपाल फर्किएकी हुन् । सुरुचि ज्योति ज्योति समूह रूप ज्योतिकी छोरी सुरुचि हिरो बाइक र फिलिप्स इलेक्ट्रोनिक्स हेर्छिन् । उनी हिरोको नेपाली विक्रेता कम्पनी नेपाल जेनेरल मार्केटिङ (एनजिएम) को उपाध्यक्ष हुन् । उनले हिरो र फिलिप्सको मार्केटिङ र सेल्स हेर्छिन् । सुरुचिले पारिवारिक व्यवसायलाई निरन्तरता दिइरहेकी छिन् । लतिका गोल्यान निर्देशक, गोल्यान ग्रुप गोल्यान ग्रुपले कलंकीमा ‘हायात प्यालेस’ नामको भव्य पाँचतारे होटेल बनाउँदै छ । नेतृत्व गरिरहेकी छिन् लतिका गोल्यानले । ‘१५६ कोठा हुने १३ तले होटेलमा दुई अर्ब ८० करोड रुपैयाँ लगानी हुनेछ,’ लतिकाले भनिन् । होटेलको छेवैमा लक्जरी रेसिडेन्सियल अपार्टमेन्ट पनि बन्दै छ । सहरका उच्च वर्गलाई लक्षित गरिएको अपार्टमेन्ट निर्माण र बजार प्रवद्र्धनमा पनि लतिका सक्रिय छिन् । उनको एयरपोर्टनजिकै अर्को लक्जरी होटेल खोल्ने योजना छ । अम्बिका श्रेष्ठ सञ्चालक, द्वारिकाज होटेल नेपालका लक्जरी बुटिक होटेलमा द्वारिकाज पहिलो नम्बरमा पर्छ । विदेशी पर्यटकको पहिलो रोजाइ द्वारिकाज होटेल नै हुन्छ । यो होटेलले काठमाडौंमै सबैभन्दा महँगो मूल्यमा कोठा बिक्री गर्छ । काभ्रेको धुलिखेलस्थित द्वारिकाजको रिसोर्ट पनि मुलुककै महँगोमा पर्छ । द्वारिकादास श्रेष्ठले इतिहास बोकेका पुराना कलात्मक झ्याल, ढोका र काठका टुक्रा प्रयोग गरेर बत्तिसपुतलीमा हेरिटेज बुटिक होटेल खोलेका थिए । उनको निधन भइसक्यो । श्रीमती अम्बिकाले होटेलको व्यवस्थापन सम्हाल्दै आएकी छिन्, कुशलतापूर्वक । अम्बिका सिक्किममा जन्मे–हुर्केकी । विवाहपछि सन् १९६९ मा द्वारिका र अम्बिकाले काठमाडौंमा ‘ट्राभल एन्ड टुर्स’ कम्पनी खोले । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को संस्थापक अध्यक्षसमेत हुन्, अम्बिका । सन् १९७६ मा व्यापार विस्तार गर्दै २६ कोठाको द्वारिकाज होटेल सञ्चालनमा ल्याए । अम्बिका उमेरले ८६ पुगिन् । अझै पनि उत्तिकै सक्रिय देखिन्छिन् । उनले हाँकिरहेको द्वारिकाज बुटिक होटेलको प्रेरक बनिरहेको छ । नयाँ पत्रिका दैनिकबाट साभार

संस्कृत विश्वविद्यालयमा संयुक्त विद्यार्थी अान्दाेलन

काठमाडौं, चैत्र १९ । नेपाल संस्कृत विश्वविद्यालयको खस्किदो शैक्षिकस्तर र विश्वविद्यालयको गैरजिम्मेवारीपूर्ण व्यवहारप्रति प्रमुख तीन विद्यार्थी संगठनले गम्भीर ध्यानाकर्षण भएको बातएका छन् । अनेरास्ववियू, नेविसंघ र अखिल क्रानितकारीसम्बद्ध विद्यार्थीहरुले सोमबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन । पढ्नुहोस् विज्ञप्ति  

रानीपोखरी भूकम्पअघि जस्तै बनाइने

काठमाडौं, फागुन २५ । पुरातत्व विभागले रानीपोखरी भूकम्पअघिको जस्तै संरचनामा निर्माण गर्ने भएको छ । पुनःनिर्माणका लागि गत पुस १३ गते गठन गरिएको विज्ञ समूहले माघ ७ गते प्रतिवेदन पेश गर्दै पोखरीभित्रको बालगोपालेश्वर मन्दिर ग्रन्थकुट शैलीमा निर्माण गर्न सल्लाह दिएको थियो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको रानीपोखरी भूकम्पले भत्कनुअघि जस्तै गरी निर्माण गरिने विभागका प्रवक्ता रामबहादुर कँुवरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बालगोपालेश्र मन्दिर र समग्र रानीपोखरी नै भूकम्प पहिले जस्तै थियो सोहीअनुरुप निर्माण गरिन्छ, न त काठमाडौँ महानगरपलिकाले भने जस्तो हुन्छ ।” अबको चार महिनामा बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको काम सम्पन्न हुने बताइएको छ । शुरुमा रानीपोखरीसँगै मन्दिर महानगरपालिकाले बनाउने जिम्मा पाएको थियो तर कंक्रिट प्रयोग भएको भन्दै विरोध भएपछि मन्दिर विभाग आफैँले बनाउँदैछ । मन्दिर भूकम्पअघिको जस्तै ‘गुम्बज शैली’ मा निर्माण भइरहेको छ । कामपाले भने पोखरी निर्माण गर्ने जिम्मा आफ्नो भए पनि विभागले अहिलेसम्म डिजाइन नदिएकाले काम अघि बढ्न नसकेको गुनासो गरेको छ । विज्ञ समूहको सुझावअनुसार पोखरी निर्माण गर्न भन्दै कामपाले विभागसँग डिजाइन मागेको छ । कामपाले बालगोपालेश्वर विभागले निर्माण गरे पनि पोखरीको बाहिरी भाग साजसज्जासहित आकर्षक तरिकाले आफूले निर्माण गर्ने जनाउँदै आएको छ । विभागले पोखरी निर्माणको जिम्मा कामपाकै भए पनि डिजाइनका बारेमा तीव्र छलफल भइरहेको बताएको छ । डिजाइन भूकम्पअघि जस्तै हुने पनि विभागले स्पष्ट पारेको छ । विभागले विज्ञ समूहको प्रतिवेदन कार्यान्वयन गर्न नसकिने बताएको छ । बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण पुरातात्विक मर्मविपरीत भइरहेको भन्दै चौतर्फी विरोध भएपछि भूकम्पअघि जस्तै निर्माण गर्ने तयारी भएको हो । रानीपोखरी पुनःनिर्माणमा कंक्रिट प्रयोग भएको भन्दै विरोध भएपछि काठमाडौँ महानगरपालिकाले विज्ञ समूह बनाएको थियो । समूहले मन्दिर समग्र पोखरी नै मल्लकालीन शैलीमा निर्माण गर्न सिफारिश गरेको थियो । विभागकै पूर्वमहानिर्देशक विष्णुराज कार्की नेतृत्वको विज्ञ समूहले मन्दिरलाई ग्रन्थकूट शैलीमा निर्माण गर्न सिफारिश गरेको थियो । मन्दिर पुनःनिर्माणका लागि विभागले रु एक करोड ५० लाखमा ठेक्का लगाएर काम गरिरहेको छ । करीव चार सय वर्ष पुरानो ऐतिहासिक महत्व बोकेको रानीपोखरी विसं १७२५ देखि १७२७ सम्म दुई वर्ष लगाएर प्रताप मल्लका कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन निर्माण गराइएको इतिहासमा उल्लेख छ । पोखरीमा स्वदेश र विदेशका विभिन्न नदी, ताल र कुण्डबाट ल्याइएको पानी राखिएको थियो । पोखरीको दक्षिण कुनामा हात्तीमाथि चढेका प्रताप मल्ल र उनका छोराहरुसहितको हात्तीको सेतो मूर्ति छ । पोखरीको चार कुनामा सोह्रहाते गणेश, सरस्वती, महालक्ष्मी र भैरव गरी चार मन्दिर छन् ऐतिहासिक महत्वको ‘विष्णुतीर्थ’को पुनःनिर्माण अब छिट्टै हुने विभागले जनाएको छ ।

बीस प्रजातिका जडीबुटी निर्यात

बागलुङ, भदौ २९ । जिल्लाबाट आर्थिक वर्ष २०७३-७४ मा बीस प्रजातिका जडीबुटीको कारोबार भएको छ । साधारण च्याउ, सतुवा, वन लसुन, चिराइतो, नागबेली, पाखनवेद, अतिसलगायत जडीबुटीको कारोबार भएको हो । पच्चीस हजार ४९० किलो जडीबुटीबाट रु दुई लाख ७५ हजार राजश्व संकलन भएको छ । सबैभन्दा बढी ६७ हजार ३९० किलो सल्लाको खोटोको कारोबार भएको सहायक वन अधिकृत रामबहादुर विकले जानकारी दिनुभयो । सातवटा सामुदायिक वनमा भएको खोटो संकलनबाट उपभोक्ता समूहले रु आठ लाख ९० हजार आम्दानी गरेका छन् । खोटो संकलन र त्यसको कारोबारबाट रु एक लाख २७ हजार राजश्व संकलन भएको विकले बताउनुभयो । यस्तै जिल्ला समन्वय समिति करबापत रु ३६ हजार प्राप्त भएको छ । जिविसले खोटोमा प्रतिकिलो ५० पैसाका दरले कर लगाउने गरेको छ । खोटोको कारोबारको लागि रुपन्देहीको माउन्ट रोजिन, कपिलवस्तुको कपिलवस्तु रोजिन र सुनसरीको हिमाली रोजिन एण्ड टर्पेण्टाइन कम्पनीसँग सम्झौता गरिएको छ । ती कम्पनीले आव २०६७÷६८ देखि जिल्लामा खोटो संकलन गर्दै आएका छन् । जिल्लामा ९० प्रजातिका जडीबुटी तथा गैरकाष्ठ वन पैदावर सूचीकृत छन् । “संकलन र प्रशोधन अभावमा बहुमूल्य जडीबुटी त्यसै खेर गइरहेका छन्,,” विकले भन्नुभयो– “यहाँको जंगलमा जडीबुटी प्रशस्त छ, अनुसन्धान, पहिचान र संकलन हुन सकेको छैन ।” उपयुक्त सीप, उपकरण र प्रशोधन केन्द्रको अभावमा जडीबुटीको बजारीकरण हुन सकेको छैन । आव २०७२÷७३ मा बाह्र प्रजातिका ११ हजार ८७९ किलो जडीबुटीको कारोबार हुँदा रु एक लाख २८ हजार राजश्व संकलन भएको थियो । इजाजत पत्र लिएपछि वन कार्यालयले संकलनका लागि एक महिनाको अवधि दिने गरेको छ । जडीबुटी खेती कार्यक्रमअन्तर्गत वन कार्यालयले टिमुर, सुगन्धवाल, अमृसो, लौठसल्ला रोपण गर्दै आएको छ ।