रामेछापको फर्पुमा पहिरोले पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु
रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा बिहीबार साँझ गएको पहिरोमा परी तीनजनाको मृत्यु भएको छ ।
अविरल वर्षापछि खसेको पहिरोले स्थानीय विमान तामाङको घरको आधा भाग पुरिँदा १८ वर्षीया छोरी सीता तामाङ, नातिनी क्रमशः १४ वर्षीया आशिका तामाङ र १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रदीपकुमार सिंहले जानकारी दिए ।
बिहीबार साँझ रोपाइँ सकेर घरमा आगो तापेर एकै ठाउँमा बसिरहेका उनीहरूलाई वर्षासँगै घरमाथिको ढिस्काले पुरेको थियो ।
तर, सोही घरको अर्को कोठामा रहेका विमान र उनकी श्रीमतीलाई भने केही नभएको गोकुलगंगा–६ का वडाध्यक्ष चन्द्र सुनुवारले बताए ।
प्रतिनिधिसभा बैठक, नीति कार्यक्रम पारित गर्ने तयारी (प्रत्यक्ष प्रसारण)
काठमाडौं। प्रतिनिधिसभा बैठक एक घण्टा ढिलोगरी सुरुभएको छ। आजको बैठकमा नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरिए पनि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्नो विरोध जारी राखेको छ।
नेपालमा १० महिनामा दुई हजार विदेशीलाई श्रम स्वीकृति
काठमाडौं । रोजगारीको खोजीमा दैनिक औसतमा दुई हजार नेपाली युवा विदेशिइरहेका वेला नेपालमा विदेशी उच्च दक्ष जनशक्ति आएर काम गरिरहेका छन्। नेपालमा उच्च दक्ष जनशक्ति नपाएको अवस्थामा विदेशी राख्न पाउने कानुनी व्यवस्था छ। शुक्रबारको गोरखापत्र दैनिकमा समाचार छ, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा सरकारले एक हजार ९८८ विदेशी नागरिकलाई काम गर्ने अनुमति ९श्रम स्वीकृति० दिएको छ। नेपालमा खास गरी विदेशी लगानीमा निर्माण भइरहेका ठुला आयोजना तथा परियोजनामा काम गर्न विदेशी आउने गरेका छन्। विभागका निर्देशक मणिनाथ गोपले आवको १० महिनाको अवधिमा नयाँ श्रम स्वीकृति लिने विदेशी श्रमिक घटेको देखिए पनि पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या भने अघिल्लो वर्षभन्दा बढेको बताए। विकास साझेदारको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यावसायिक कम्पनीमा काम गर्न आउने विदेशीको सङ्ख्या क्रमशः घटेको छ। गत आवको वैशाखसम्म नवीकरण र नयाँ गरी दुई हजार ४६ विदेशी श्रमिकले श्रम स्वीकृति लिएका थिए। चालु आवमा नयाँ श्रम स्वीकृति र नवीकरण गर्नेको सङ्ख्या एक हजार ९८८ रहेको छ । यो हेर्दा गत वर्षको तुलनामा यो वर्ष ५८ जनाले घटेको छ। विदेशी नागरिकको श्रम इजाजत व्यवस्थासम्बन्धी निर्देशिका, २०७५ ले नेपालमा उपलब्ध हुन नसकेका दक्ष जनशक्ति आयात गरी काममा लगाउन सकिने व्यवस्था गरेको छ तर नेपाल सरकारका विभिन्न निकायसँग भएका सम्झौताबमोजिमको सङ्ख्यामा विदेशी श्रमिकलाई काममा लगाउन पाउने व्यवस्थाले अदक्ष श्रमिकसमेत नेपालमा आउने गरेका छन्।
आइपिडिएफ र सिल्क रोड बीच सम्झौता पत्रमा हस्ताक्षर
काठमाडौं । नेपालमा स्थापना भएर अन्तर्राष्ट्रिय परियोजनाको विकासका लागि कार्यक्रम गर्दै आएको संस्था इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम (आइपिडिएफ) र सिल्क रोड अन्तर्राष्ट्रिय सहयोग संगठन, डुनहुवाङ क्षेत्रीय आर्थिक र औद्योगिक विकासका लागि अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाबीच ९ वटा मुख्य परियोजनाको अनुसन्धान तथा विकास गर्नेनिर्माण गर्ने सम्झौता सप्पन्न भएको छ । दुई संस्था विच ९ वटा महत्वपूर्ण परियोजनाको खोज, अनुसन्धान, लगानी सम्मेलन तथा परियोजना विकास गर्ने उद्देश्यले सम्झौता गरिएको हो । नयाँ सम्झौतापत्र अनुसार आपसी समझदारी तथा सहयोगमा दुई संस्था बीच शैक्षिक अनुसन्धान, नवप्रवर्तन, औद्योगिकीकरण, पर्यटन पुर्वाधार विकास, यातायात पुर्वाधार विकास, लगानी र ब्यापारको प्रवर्धन, सांस्कृतिक आदानप्रदान, चुनौती र संभावनामा सहकार्य, आर्थिक सहायता तथा साजेदारीका लागि परियोजना हरुको विकास गरिनेछ । कार्यक्रमलाई सम्वोधन गर्दै बुढानिलकण्ठ नगरपालिका नगरप्रमुख मिठाराम अधिकारीले इतिहास देखि चल्दै आएको नेपाल र चीन बीचको दौत्य सम्वन्धलाई नयाँ स्वरुपबाट परिभाषित गरी सहकार्यको यात्रा अगाडि बढाउनु पर्ने बिचार व्यक्त गरेका थिए। बागमती प्रदेश सांसद जयराम थापाले समग्रतामा नेपाल र चीनबीचको सांस्कृतिक सहकार्य र विकासमा सहकार्य गर्न आफु इच्छुक रहेको विचार ब्यक्त गरे। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्यालले मुख्यत उद्यमशीलता विकास, फोहोरमैला ब्यवस्थापन र पर्यटन विकासमा सहकार्य गरेर कार्य गर्ने बिषयमा जोड दिए । चिनियाँ प्रतिनिधिले आईपिडिएफका प्रतिनिधिहरुसंग सल्लाह तथा बुढानिलकण्ठ नगरपालिका र चिनको १० वटा नगरपालिका संग भगेनी सम्बन्ध कायम गरि अध्यन अबलोकन सहित एक बिज्ञ टोलि छिट्टै चिनको निमन्त्रणामा भ्रमण गर्ने गरि तय गरिएको आइपिडिएफका केन्द्रीय अध्यक्ष मुकुन्द ढुंगानाले जानकारी गराए । बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, बागमती प्रदेश सांसद जयराम थापा, बुनपा प्रमुख प्रशाशकीय अधिकृत तुल्सीराम अर्यालको सहजीकरणमा आइपिडिएफ र सिल्क रोड अन्तर्राष्ट्रिय सहयोग संगठन, डुनहुवाङ क्षेत्रीय आर्थिक र औद्योगिक विकासका लागि अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाबीच सम्झौता सम्पन्न गरिएको हो । परियोजनाको विकास र विस्तारमा बुढानिलकण्ठ नगरपालिकाले सहजीकरण र सहयोग गर्ने प्रतिवद्धता जनाइएको थियो । आइपिडिएफका केन्द्रीय अध्यक्ष् मुकुन्द ढुंगाना , महासचिव कमल कार्की, सदस्य सचिव द्रोण पराजुली र सिल्क रोड अन्तर्राष्ट्रिय सहयोग संगठन, डुनहुवाङ क्षेत्रीय आर्थिक र औद्योगिक विकासका लागि अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाका तर्फबाट महासचिव होङ होङले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
वायु प्रदूषण नियन्त्रणको माग गर्दै भट्टराई सडकमा
काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले देशभर बढेको वायु प्रदर्शन नियन्त्रणका लागि पहल गर्न माग गर्दै काठमाडौंको सडकमा प्रदर्शन गरेको छ। केही दिनयता संघीय राजधानी काठमाडौंसँगै देशभर वायु प्रदर्शन बढेको र जनताको स्वास्थ्यमा प्रत्यक्ष असर परेको भन्दै यसलाई नियन्त्रणका लागि पहल गर्न माग गर्दै नेसपाले शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो । बढ्दो वायु प्रदूषण र यसले आमनागरिकमा ल्याएको स्वास्थ्य जटिलता देशव्यापी डढेलो नियन्त्रणमा सरकारको उदासीनता देखिएको भन्दै बाबुराम भट्टराईले प्रर्दशनको आह्वान गरेका थिए ।प्रर्दशनमा बाबुराम भट्टराई की छोरी मानुषी यामी भट्टराई लगायत सो पार्टीका नेता कार्यकर्ता सहभागी थिए ।
मुलुकका यी स्थानमा ठूलो हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौं । केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेशको पहाडी भू–भागका थोरै स्थान तथा वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हो। उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ । लुम्बिनी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशको थोरै स्थानमा हावाहुरीको सम्भावना रहेकाले यसबाट बच्न सतर्क रहन विभागले अनुरोध गरेको छ । आज बिहान पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । विभागले दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोसी प्रदेशको पहाडी भू–भागका थोरै स्थान तथा वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा वर्षा र हिमपातको सम्भावना छ । काठमाडौंमा भने आइतबारसम्म वर्षाको सम्भावना रहेको छैन् । शनिबार र आइतबार दिउँसो पनि बदली हुने भएपनि वर्षाको सम्भावना भने छैन् । विभागका अनुसार राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।
यस्तो रहनेछ आजको मौसम
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। अहिले कोशी बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थान र बाँकी भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ। राती भने देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। आज सूर्योदय बिहान ५ बजेर ३७ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ३० मिनेटमा हुनेछ।
पूर्व सांसद साहमाथि मध्यराति सांघातिक आक्रमण
काठमाडौं । जनता समाजवादी पार्टीका नेता तथा पूर्व सांसद पूर्व प्रमोद साहमाथि सर्लाहीमा सांघातिक आक्रमण भएको छ। आइतबार मध्यराति सर्लाहीको हरिपुर नगरपालिका ६ मा मादक पदार्थ खाएका युवाहरुको समूहले साहमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एसपी रविन्द्र बहादुर सिंहले बताए। साहको टाउकोमा लाठी प्रहार भएको गहिरो चोट भएपनि उनी खतरामुक्त भएको प्रहरीले जानकारी दिएको छ । पूर्व सांसद साह जनता समाजवादी पार्टीका नेता हुन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठले थप उपचारका लागि साह आजै काठमाडौं आउन लागेको जानकारी दिए । ‘कुटपिटमा संलग्न रहेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । चार जना फरार रहेको र उनीहरुको खोजी जारी रहेको डीएसपी श्रेष्ठले बताए । कुटपिटमा संलग्न भएको आरोपमा पक्राउ परेका हरिपुर ६ का आर्यन चौधरी, सिद्धान्त चौधरी र सरोज माझीलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
देशमा राजतन्त्र फर्काउने कुरा सम्भव छैन् : सभापति देउवा
काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशमा राजतन्त्र फर्काउने कुरा सम्भव नरहेको बताएका छन् । आइतबार काठमाडौंमा स्व.सूर्यबहादुर थापाको नवौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। सभापति देउवाले अहिलेकै व्यवस्थालाई सुदृढीकरण गरेर जानुपर्ने बताउँदै विगतमा बन्दुक उठाएकाहरुले पनि अहिले बहुदलीय व्यवस्था मानेर आएको उल्लेख गर्दै बहुदलीय व्यवस्थाको सुदृढीकरण आवश्यक रहेको बताए। सभापति देउवाले भने, ‘बहुदलीय व्यवस्था मात्रै होइन, हुँदाहुँदा राजा नै गए । अब ती राजा पनि मरे । उनका छोराछोरीहरु सबै मरे । अर्को राजा आएपछि त झन उ चाहीँ आफैँ गए । उनी पनि अहिले टिक्न नसकेर हट्नुप¥यो । त्यसैले यस्तो यो अहिलेको यो नेपालमा गणतन्त्र आएको छ, यद्यपि राजा फर्काउनुप¥यो भनेर मान्छेहरु हिँड्दैछन् । राजा फर्किन्छ भन्ने होइन । यही व्यवस्थालाई अझ समयको स्वीकार्य बनाएर लैजाऔँ । धेरै कुराहरु सुधार गर्न पनि सहमति हुनुपर्छ, दुई तिहाई चाहिन्छ । केही समस्या र कमी कमजोरी रहन्छन् भनेपनि सुधार गरेर जाऔँ । तर अब राजा फर्काउने कुरा असम्भव कुरा देख्छु मैले । यो व्यवस्थालाई सुदृढीकरण गर्दै जानुपर्छ । हिजो बन्दुक उठाएकाहरु पनि अहिले बहुदलीय व्यवस्थालाई मानेर आएको छ । युद्धलाई सबैले छोडेको छ । त्यसकारण को सरकारमा छ, को छैन भन्दा पनि महत्वपूर्ण कुरा बहुदलीय व्यवस्थाको सुदृढीकरण आवश्यकता छ । बलियो बनाउन आवश्यकता छ ।’ कार्यक्रममा सभापति देउवाले बहुदलीय व्यवस्था ल्याउनका लागि स्व।थापाको महत्वपूर्ण भुमिका रहेको बताए।
यस्तो रहनेछ आज २४ घण्टाको मौसम
काठमाडौं । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहेको छ । आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ। देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।राती भने देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज ६ संसदीय समितिको बैठक बस्दै, मन्त्रीहरूसँग छलफल हुने
काठमाडौँ । आज एकैपटक ६ वटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा आ.व. २०८१/८२ का लागि विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त (कर प्रस्ताव बाहेक) सम्बन्धमा अर्थ मन्त्रीसँग छलफल हुनेछ। त्यस्तै साढे ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उदयपुर र हेटौँडा सिमेन्ट उद्योगका सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट समितिमा प्राप्त प्रतिवेदन माथि छलफल हुनेछ। बिहान १० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपालको बाल सुधार गृहमा रहेका बालबालिकाहरू र नेपालका कारागारहरूमा रहेका कैदी एवं थुनुवाहरूको मानव अधिकारको अवस्थाको स्थलगत अध्ययन भ्रमण सम्बन्धमा, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुनेछ। त्यस्तै, साढे १० बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा मञ्जु शर्मा अन्सारीको निधनप्रति शोक प्रस्ताव पास हुनेछ। बिहान ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा समितिको समितिको कार्यक्षेत्र र कार्य योजनाको बारेमा छलफल हुनेछ। बिहान ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एवं अनुदानमा आधारित कृषि तथा पशुपालन व्यवसाय सम्बन्धी विषयमा रहेका कार्यक्रमहरुको सम्बन्धमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका मन्त्री/सचिव एवं परियोजना प्रमुखसँग छलफल गर्ने र योजनाको बारेमा छलफल हुनेछ।
राष्ट्रियसभाका विषयगत समितिका सभापतिको निर्वाचन चैत ४ गते
काठमाडौं । राष्ट्रियसभाका विषयगत समितिका सभापतिहरूको निर्वाचन चैत ४ गते हुने भएको छ । बुधबार राष्ट्रियसभा बैठकमा समिति सभापतिको निर्वाचनको मिति तोकिएको हो । बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विषयगत समितिका सभापतिहरूको निर्वाचन आगामी आइतबारका लागि तय गरिएको जानकारी गराए । उनले समिति सभापतिहरूको निर्वाचनसम्बन्धी कार्यक्रमको सूचना प्रकाशित गर्न राष्ट्रियसभाका सचिव डा। सुरेन्द्र अर्याललाई निर्देशन पनि दिए । राष्ट्रियसभाको अर्को बैठक शुक्रबार बिहान ११ बजेर १५ मिनेटमा बस्नेछ ।
स्वाथ्यको कारण देखाउँदै रञ्जिताद्धारा नाउपाको बैठक स्थगित
धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले स्वास्थ्यको कारण देखाउँदै आफैले बोलाएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरेकी छिन् । पार्टीका संस्थापक आफ्नै पति रेशम चौधरीसँग सुदुरपश्चिम सरकारमा सहभागिताको विषयलाई लिएर विवाद बढ्दै जाँदा उनले केन्द्रीय कार्यसमितिको बैठक बोलाएकी थिइन् । आफ्नो सहमति विना काङ्ग्रेस नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश सरकारमा सहभागिताको विषयमा असन्तुष्टि जनाएकी श्रेष्ठले सोमबार दिउँसो १ बजे कैलालीको टीकापुरमा केन्द्रीय कार्यसमिति बैठक बोलाएकी थिइन् । तर स्वास्थ्यमा समस्यामा आएको भन्दै उनले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेकी हुन् । पार्टीका संस्थापक रेशम चौधरीको जोडबलमा शुक्रबार नाउपाले कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा थप मन्त्री पठाएको थियो । त्यसमा असन्तुष्ट श्रेष्ठले सरकारबाट फिर्ता हुन निर्देशन दिएकी थिइन् । तर संसदीय दलले सुनुवाइ नगरेपछि केन्द्रीय समिति बैठक बोलाएर सरकारबाट फिर्ता नआएमा पार्टीको विधानअनुसार कारवाही गर्ने उनले चेतावनी दिएकी थिइन् । स्रोतका अनुसार श्रेष्ठले स्वास्थ्य समस्याको कारण देखाए पनि कारवाही तर्फजाँदा पार्टीमा थप समस्या आउने भएपछि आफ्नो पक्षका सांसदलाई पनि सरकारमा पठाएर पार्टी फुट जोगाउने तिर उनी लागेको स्रोतको दावी छ । पार्टीबाट धेरै मन्त्री पाएपछि सुदूरपश्चिममा कांग्रेस नेतृत्वकै सरकारलाई समर्थन गर्नुपर्ने मत बलियो देखिएका कारण श्रेष्ठले बैठक स्थगित गरेको स्रोतको दावी छ । श्रेष्ठ निकट सांसदहरुले नराम्रो सन्देश जाने भन्दै तत्काल फरक निर्णय नदिन सुझाव दिएका छिन् । नाउपाको बैठक स्थगित भएसँगै मुख्यमन्त्री कमलबहादुर शाहले राप्रपा र स्वतन्त्र सांसदको समर्थन जुटाएर बहुमत पुर्याउने प्रयासलाई निरन्तरता दिएका छन् । ५३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीको दल कांग्रेसका १८ र नााउपाका ७ सांसद छन् । राप्रपा र स्वतन्त्र १/१ सांसदको समर्थन जुटाउन सके शाह नेतृत्वको सरकारको पक्षमा २७ सांसद सहित टुप्लुक्क बहुमत पुग्छ । सरकारमा सहभागी हुने र नहुने विषयमा पार्टीका संस्थापक आफ्नै पति रेशम चौधरीसँग चर्को विवाद कायम रहेको नागरिक उन्मुक्ति पार्टीमा फुटको संकट टरिनसकेको जानकारहरु बताउँछन् ।
पाँचबुँदे प्रतिबद्धतासहित सरकारलाई टिकटकको पत्र : फुकुवाका लागि आग्रह
काठमाडौं । टिकटकले प्रतिबन्ध फुकुवाका लागि पाँचबुँदे प्रतिबद्धतासहित नेपाल सरकारलाई पत्राचार गरेको छ । टिकटकको दक्षिण एसियाको सार्वजनिक नीति तथा सरकार सम्बन्ध हेर्ने प्रमुखले प्रतिबन्ध फुकुवा गर्न आग्रह गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई लेखेको पत्र आइतबार दर्ता भएको छ । पत्र सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई सम्बोधन गरेर पत्र लेखिएको छ । नेपालीले टिकटकलाई देशभित्र र बाहिर अत्यधिक रुचाएको पनि उल्लेख गर्दै टिकटकले प्रतिबन्ध फुकुवाको आग्रह गरेको हो । सामाजिक सद्भाव बिगारेको भन्दै गत २७ कात्तिकमा बसेको मन्त्रिपरिषद्ले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । यस्ता छन् टिकटकका प्रतिबद्धता नेपालको कानुनी प्रक्रियाप्रति प्रतिबद्धता जनाउँछौँ सामग्रीको विषयमा व्यक्त चिन्ताहरूलाई सम्बोधन गर्न डेडिकेटेड फोकलप्वाइट प्रदान गर्ने, जसमा ती सामग्रीका बारेमा सीधै रिपोर्ट गर्न सकिनेछ सामग्रीको ‘फिल्टरिङ’ र ‘मोडरेसन’अभिवृद्धिका लागि थप नेपालीभाषी स्रोत उपयोग गर्ने देशव्यापी रूपमा इन्टरनेट सुरक्षा र डिजिटल साक्षरता अभियान चलाउनेछौँ हाई स्कुल र कलेज विद्यार्थीको प्राज्ञिक अवस्था सुधारका लागि शैक्षिक सामग्रीको डिजिटाइजेसनलाई जोड दिनेछौँ
सिटिइभिटीका कर्मचारीको धर्ना जारी
काठमाडौं, १७ माघ । आङ्गिक प्राविधिक शिक्षालयहरुमा प्रमाणपत्र तह नर्सिङ कार्यक्रम सञ्चालन गर्न दिनुपर्ने, पदपूर्तिको विज्ञापन गर्नुपर्नेलगायतका माग राख्दै प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् सिटिईभिटिका कर्मचारीहरु आन्दोलित भएका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठनको अगुवाईमा उनीहरु माघ १० गतेदेखि धर्नामा बस्दै आएका छन् । विभिन्न पाँच बुँदे माग राख्दै माघ १० गतेदेखि आन्दोलित कर्मचारीहरुले धर्ना जारी राखेका हुन् । आन्दोलनरत कर्मचारीहरुले नर्सिङ् कार्यक्रम सञ्चालन गर्न दिनु पर्ने सहित संगठनले पदपूर्तिको विज्ञापन गर्नुपर्ने, लामो समयसम्म परीक्षा शाखामा कार्यरत कर्मचारीलाई सरुवा गर्नुपर्ने, सेवा करार तथा ज्यालादारी कर्मचारीहरुलाई आर्थिक श्रोतको व्यवस्थापन गरी हालसम्मको महँगी भत्ता वापतको रकम उपलब्ध गराउनु पर्ने, संगठनसँग गएको जेठ १८ गते भएको सहमती कार्यान्वयन गर्नु पर्ने माग अघि सारेको छ । नेपाल राष्ट्रिय कर्मचारी संगठन सिटिइभिटीले यसअघि व्यवस्थापन समितिसँग भएका सहमति र सम्झौता तथा उच्च अदालत पाटनले गएकोे भदौ २७ गते जारी गरेको आदेश अनुसार माघ १० गते भित्र पदपूर्ति नभएपछि आन्दोलन गर्नु परेको स्पष्ट पारेको छ । नेपाल राष्ट्रिय कर्मचारी संगठनका उपाध्यक्ष कमल ढकालले सिटिइभिटीले जिम्मेवारी हेरफेर तथा सेवा करार तथा ज्यालादारी कर्मचारीको महँगी भत्ता उपलब्ध नगराएसम्म आन्दोलन नरोकिने बताए । साथै, कर्मचारीलाई प्रधानमन्त्रीले घोषणा गरेको सामाजिक सुरक्षाको व्यवस्था हुनुपर्ने तथा आगामी शैक्षिक सत्रबाट सञ्चालन गर्नेगरी सिटिइभिटी अन्तर्गतका सम्भाव्य आंगिक शिक्षालयहरूमा प्रमाणपत्र तह नर्सिङ कार्यक्रम संचालन गर्न आवश्यक प्रक्रिया सुरू गर्नुपर्ने संगठनको माग रहेको उपाध्यक्ष ढकालले बताए । त्यस्तै उच्च अदालत पाटनबाट जारी भएको आदेश हालसम्म पनि कार्यान्वयन नभएको हुँदा अदालतको अवहेलना मुद्दामासमेत अघि बढ्ने तयारी भइरहेको ढकालले स्पष्ट पारे । गत पुस ८ गते पोखरा प्राविधिक शिक्षालय, पोखरामा बसेको नेपाल राष्ट्रिय कर्मचारी संगठनको केन्द्रीय समितिको चौथो पूर्ण बैठकका निर्णय अनुसार पाँच बुँदे मागपत्र पेश गर्दा बेवास्ता भएको भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन् । सिटिइभिटीको प्राङ्गणमा पाँच बुँदे मागहरू उल्लेख गरिएको ब्यानरसहित संघर्षको अर्को स्वरूप निर्धारण नभएसम्मको लागि अध्यक्ष, एक जना उपाध्यक्ष र महासचिव गरि तीनजना कार्यालय समयभर धर्नामा बसिरहेको संगठनका अध्यक्ष तेज खत्रीले बताए । अध्यक्ष खत्रीले सिटिईभिटीका अन्य सम्पूर्ण कर्मचारीहरूलाई यी मागहरूमा ऐक्यबद्धताका जनाउनका लागि समेत आह्वान गरेका छन् ।
मंगलबार तपाईंका लागि कति शुभ ? राशिफलमा के छ ?
आज १८ चैत्र २०७६ मंगलवार । यस्तो छ राशिफलः मेष: ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) जोश जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला । साथीभाइबाट बढी फाइदा लिने समय छ । नयाँ कामको योजना बन्न सक्छ । वृष: ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । प्रेम सम्बन्ध कसिलो होला । रचनात्मक काममा जुट्ने समय छ । तर वैदेशिक क्षेत्र कमजोर रहनेछ । मिथुन: ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) सन्तानपक्षको मायामा कमी आउनेछ । सहकर्मीबाट विरोध आउला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउने छ । कार्यमा अवरोध आउला । कर्कट: ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । रमाइलो यात्रा रहला । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । सन्तान सुख मिल्नेछ । सिंह: ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) समाजसेवामा मन लाग्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । कन्या: ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्ति संग भेटघाट हुने छ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । भूमिबाट लाभ नै रहला । तुला: ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) गरेका काममा ढिलासुस्ती हुनेछ । दबाब र तनाव बढेको महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । मनमा भय उत्पन्न हुनेछ । वृश्चिक: ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) श्रमको उचित मुल्याङ्कन हुनेछ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । धनु: ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) सामाजिक काम अघी बढ्नेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । आफन्तसंग भेटघाट होला । मकर: ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) रोकिएको धन हात पर्ला । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । शुभकार्यको चर्चापनि चल्नेछ । कुम्भ: ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । चोटपटकको भयछ सचेत रहनुहोला । मनमा दुविधा उत्पन्न हुनेछ । मीन: ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) विद्या र बुद्धिको विकास हुनेछ । प्रयत्न गरे फाइदा लिन सकिनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । परिवारसंग समय बित्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल