बढुवा समितिले अनिवार्य भर्न लगाउनुपर्ने फाराम

काठमाडौं, चैत ८ । राजपत्र अनंकित द्वितीय श्रेणी खरिदार (अप्राविधिक) पदमा बढुवा सिफारिश गर्दा बढुवा समितिले उम्मेदवारलाई भर्न लगाउनुपर्ने कार्यालय रोजाईको प्राथमिकता फाराम यस प्रकार छन्–

 

कला र संगीतलाई पर्यटनसँग जोडेर लैजानु आवश्यक छ : मन्त्री तामाङ

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हित बहादुर तामाङले कला र संगीतलाई पर्यटनसँग जोडेर लैजानुपर्नेमा जोड दिएका छन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा (प्रतिष्ठानको सङ्गीत विभागद्वारा आयोजित 'नौमतिमा नौ राग' वादन  प्रस्तुति कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले नेपाली समाजमा नौमती, पञ्चै बाजाको भूमिका जनजीवनमा महत्त्वपूर्ण रहेकोले यो संगीत र यसको महत्त्व संसार सामु चिनाउनु पर्ने बताए।  उनले नेपाली समाजमा व्यापक र प्रचलित संगीत ऐतिहासिक र मौलिक पञ्चैबाजा (नौमती बाजा)को विशिष्ट योगदान प्रभाव स्थापित भएको पनि बताए।नौमती बाजाको संरक्षण, विकास र प्रवर्द्धनलाई पनि राज्य तथा सबै पक्षले ध्यान दिनु पर्नेमा मन्त्री तामाङले जोड दिए। नेपालमा अहिले सम्म १३५५ भन्दा बढी बाजाहरूको प्रयोग हुँदै आएकोमा कतिपय बाजाहरू लोपोन्मुख अवस्थामा र जीर्ण अवस्थामा रहेको भन्दै उनले ती सबै बाजाहरू र धुनलाई आफ्नो ठाउँबाट संरक्षण, विकास र प्रवर्द्धनको खाँचो देखिएको बताए। नेपाली पञ्चेबाजा, नौमती बाजा र यसबाट निस्कने धुन, संगीत मुलुकको पहिचान रहेको भन्दै उनले यसको संरक्षण र प्रवर्द्धनले विश्वसामु परिचित बनाउनुका साथै पर्यटन विकासमा पनि टेवा पुग्ने बताए। यस्ता मौलिक तथा परम्परागत बाजाहरूको संरक्षणमा सरकार र मन्त्रालयले महत्त्वपूर्ण भूमिका खेल्ने मन्त्री तामाङले प्रतिबद्धता पनि जनाए।आर्थिक समृद्धि ल्याउनका लागि पनि यस्ता बाजागाजाको विशेष महत्त्व रहनेमा पनि उनको धारणा थियो।  

पत्रकार महासंघको मनोनयन मिति सर्यो

काठमाडौं। नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको निर्वाचनका लागि तोकिएको मनोनयन मिति २ दिन पर धकेलिएको छ। २२ गते हुने मतदानका लागि आज १३ गते मनोनयनको मिति तोकिएको थियो। केही आन्तरिक तयारी नपुगेको भन्दै निर्वाचन समितिले मनोनयन मिति पर सारेको छ। निर्वाचन समितिका अनुसार अब १५ गते मनोनयन हुनेछ। प्रदेश समितिका लागि भने १७ गते मनोनयन मिति राखिएको छ। मतदान भने जिल्ला, प्रदेश र केन्द्रको एकैदिन २२ गते गर्ने महासंघको तयारी रहेको छ।

कोशी सरकारविरुद्धको रिट तीन न्यायाधीशको इजलासमा सुनुवाइ हुँदै

काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्धको रिटमा आज पनि बहस भइरहेको छ ।सर्वोच्चका न्यायाधीशहरु कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको पूर्ण इजलासमा भइरहेको बहस हिजो नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । आज मुख्यमन्त्री हिक्मत कार्कीका तर्फबाट बहस भइरहेको छ । पूर्वमुख्यमन्त्री केदार कार्कीका तर्फको बहस हिजो नै सकिएको छ । आज बहस सकिएमा भोलिसम्ममा फैसला आउन सक्ने बताइएको छ । कोशी प्रदेशमा संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री बनेका केदार कार्कीविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्तावसमेत नराखी एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाइएको थियो। पूर्वमुख्यमन्त्री कार्कीले आफू नेतृत्वको सरकार हुँदाहुँदै अर्को सरकार गठनका लागि आह्वान गर्नु संविधान विपरित रहेको भन्दै यसलाई रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए । उनले वर्तमान मुख्यमन्त्री हिक्मत कार्कीलाई पदमुक्त गरी मुख्यमन्त्रीमा आफूलाई निरन्तरता दिन माग गरेका छन् । कार्कीले रिटमा प्रदेश प्रमुखको कार्यालय, कोशी प्रदेश प्रमुख परशुराम खापुङ, कोशी प्रदेशका सभामुख अमरबहादुर विष्टलगायतलाई विपक्षी बनाएका छन्।

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । संघीय संसद् अन्तर्गत् राष्ट्रिय सभाको बैठक आइतबार बस्दैछ। दिउँसो सवा एक बजे बस्ने बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यसपछि आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने संसद् सचिवालयले जनाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दामोदार भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मिडिया काउन्सिल विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची रहेको छ।

नेपालमा १० महिनामा दुई हजार विदेशीलाई श्रम स्वीकृति

काठमाडौं । रोजगारीको खोजीमा दैनिक औसतमा दुई हजार नेपाली युवा विदेशिइरहेका वेला नेपालमा विदेशी उच्च दक्ष जनशक्ति आएर काम गरिरहेका छन्। नेपालमा उच्च दक्ष जनशक्ति नपाएको अवस्थामा विदेशी राख्न पाउने कानुनी व्यवस्था छ।  शुक्रबारको गोरखापत्र दैनिकमा समाचार छ, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा सरकारले एक हजार ९८८ विदेशी नागरिकलाई काम गर्ने अनुमति ९श्रम स्वीकृति० दिएको छ। नेपालमा खास गरी विदेशी लगानीमा निर्माण भइरहेका ठुला आयोजना तथा परियोजनामा काम गर्न विदेशी आउने गरेका छन्।                                                                                                                            विभागका निर्देशक मणिनाथ गोपले आवको १० महिनाको अवधिमा नयाँ श्रम स्वीकृति लिने विदेशी श्रमिक घटेको देखिए पनि पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या भने अघिल्लो वर्षभन्दा बढेको बताए। विकास साझेदारको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यावसायिक कम्पनीमा काम गर्न आउने विदेशीको सङ्ख्या क्रमशः घटेको छ।  गत आवको वैशाखसम्म नवीकरण र नयाँ गरी दुई हजार ४६ विदेशी श्रमिकले श्रम स्वीकृति लिएका थिए। चालु आवमा नयाँ श्रम स्वीकृति र नवीकरण गर्नेको सङ्ख्या एक हजार ९८८ रहेको छ । यो हेर्दा गत वर्षको तुलनामा यो वर्ष ५८ जनाले घटेको छ।  विदेशी नागरिकको श्रम इजाजत व्यवस्थासम्बन्धी निर्देशिका, २०७५ ले नेपालमा उपलब्ध हुन नसकेका दक्ष जनशक्ति आयात गरी काममा लगाउन सकिने व्यवस्था गरेको छ तर नेपाल सरकारका विभिन्न निकायसँग भएका सम्झौताबमोजिमको सङ्ख्यामा विदेशी श्रमिकलाई काममा लगाउन पाउने व्यवस्थाले अदक्ष श्रमिकसमेत नेपालमा आउने गरेका छन्।

हैदरावादलाई हराउँदै कोलकाता आइपिएल क्रिकेटको फाइनलमा

काठमाडौं । सनराइजर्स हैदरावादलाई हराउँदै कोलकाता नाइट राइडर्स इण्डीयन प्रिमियर लिग (आइपिएल) टि–ट्वेन्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। गुजरातको अहमदाबादमा गएराति भएको पहिलो क्वालिफायर खेलमा कोलकाता ८ विकेटले विजयी भयो। खेलमा टस जितेर पहिले व्याटिङ गरेको हैदरावाद १९ ओभर ३ बलमा १ सय ५९ रनमा मसेटियो। उसका लागि राहुल त्रिपाठीले सर्वाधिक ५५ रन जोडे। कोलकाताका मिचेल स्टार्कले ३ विकेट लिए। जवाफमा १ सय ६० रनको लक्ष्य कोलकाताले १३ ओभर ४ बलमा २ विकेट गुमाएर पुरा ग¥यो। कोलकाताको जितमा कप्तान श्रेयर ऐयरको अविजित ५८ रन तथा भेङ्कटेस ऐयरको अविजित ५१ रन महत्वपूर्ण रह्यो। जितसँगै कोलकाता फाइनलमा पुग्दा हैदरावादले भने फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्ने अवसर पाएको छ। आइपिएल क्रिकेटमा आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलुरु भिड्नेछन्। यो खेलको विजेता टोलीले हैदरावादसँग दोस्रो क्वालिफायर खेल्नेछ।

फेरि बढ्यो काठमाडौंमा प्रदूषण

काठमाडौं । गएको साता घटेको काठमाडौं उपत्यकाको वायु प्रदूषणको मात्रा शनिबारदेखि फेरि बढेको छ। आइतबार काठमाडौंका तीन स्थानको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) आइतबार १०० भन्दा माथि छ। वातावरण विभागको रेकर्डमा बिहान ११ः३० बजे ललितपुरको भैँसेपाटीको एक्यूआई सबैभन्दा धेरै १६७ मापन भएको छ। यस्तै, शंखपार्कको एक्यूआई १५१, खुमलटारको एक्यूआई १०३ र भक्तपुरको एक्यूआई ८७ मापन भएको छ। पछिल्लो २४ घण्टामा काठमाडौंका विभिन्न स्थानको एक्यूआई १०२ देखि १९७ सम्म मापन भएको छ। गएको साता काठमाडौंका अधिकांस स्थानमा एक्यूआई ५० भन्दा तल झरेको थियो। विश्व स्वास्थ्य संगठनका अनुसार वायु स्वस्थकर हुन एक्यूआई ५० भन्दा कम हुनुपर्दछ। १५० देखि २०० सम्म रहेको वायु ‘अस्वस्थकर’ र २०१ देखि ३०० सम्म भएमा ‘अति अस्वस्थकर’ हुन्छ। वायुमा खराब ग्यास तथा कणहरूको मात्रा (पीएम २.५, पीएम १०) लगायतका आधारमा एक्यूआई मापन गरिन्छ।

आजको मौसम : पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहनुका साथै बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी प्रदेशका थोरै तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज सूर्योदय बिहान ५ बजेर १५ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४६ मिनेटमा हुनेछ ।

जसपा स्थिरताको कारक बन्छ : अध्यक्ष राई

काठमाडौं ।जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले आफ्नो पार्टी स्थिरताको कारक बन्ने बताएका छन्।काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै उनले सरकारलाई अस्थिरतातर्फ लैजान नहुने बताए। अध्यक्ष राईले गैरकानूनी ढंगले नवगठित जसपा दर्ता भएको भन्ने लागेमा अदालत जाने बाटो सबैलाई खुला रहेको बताए।सैद्धान्तिक, राजनीतिक, शैलीगत, नीतिगत कुरामा मत भिन्नताले जसपा नेपाल विभाजन भएको उनको धारणा थियो । ‘मुलुक अस्थिरताको सिकार बनेको छ। त्यो अवस्था रहनु हुँदैन, हामी त्यसैकारण अस्थिरताको कारक बन्दैनौं भनेका छौं,’ उनले भने।जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवमा स्वेच्छाचारिता हाबी भएको आरोप लगाए ।

स्वाथ्यको कारण देखाउँदै रञ्जिताद्धारा नाउपाको बैठक स्थगित

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले स्वास्थ्यको कारण देखाउँदै आफैले बोलाएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरेकी छिन् । पार्टीका संस्थापक आफ्नै पति रेशम चौधरीसँग सुदुरपश्चिम सरकारमा सहभागिताको विषयलाई लिएर विवाद बढ्दै जाँदा उनले केन्द्रीय कार्यसमितिको बैठक बोलाएकी थिइन् । आफ्नो सहमति विना काङ्ग्रेस नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश सरकारमा सहभागिताको विषयमा असन्तुष्टि जनाएकी श्रेष्ठले सोमबार दिउँसो १ बजे कैलालीको टीकापुरमा केन्द्रीय कार्यसमिति बैठक बोलाएकी थिइन् । तर स्वास्थ्यमा समस्यामा आएको भन्दै उनले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेकी हुन् ।  पार्टीका संस्थापक रेशम चौधरीको जोडबलमा शुक्रबार नाउपाले कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा थप मन्त्री पठाएको थियो । त्यसमा असन्तुष्ट श्रेष्ठले सरकारबाट फिर्ता हुन निर्देशन दिएकी थिइन् । तर संसदीय दलले सुनुवाइ नगरेपछि केन्द्रीय समिति बैठक बोलाएर सरकारबाट फिर्ता नआएमा पार्टीको विधानअनुसार कारवाही गर्ने उनले चेतावनी दिएकी थिइन् । स्रोतका अनुसार श्रेष्ठले स्वास्थ्य समस्याको कारण देखाए पनि कारवाही तर्फजाँदा पार्टीमा थप समस्या आउने भएपछि आफ्नो पक्षका सांसदलाई पनि सरकारमा पठाएर पार्टी फुट जोगाउने तिर उनी लागेको स्रोतको दावी छ ।  पार्टीबाट धेरै मन्त्री पाएपछि सुदूरपश्चिममा कांग्रेस नेतृत्वकै सरकारलाई समर्थन गर्नुपर्ने मत बलियो देखिएका कारण श्रेष्ठले बैठक स्थगित गरेको स्रोतको दावी छ । श्रेष्ठ निकट सांसदहरुले नराम्रो सन्देश जाने भन्दै तत्काल फरक निर्णय नदिन सुझाव दिएका छिन् । नाउपाको बैठक स्थगित भएसँगै मुख्यमन्त्री कमलबहादुर शाहले राप्रपा र स्वतन्त्र सांसदको समर्थन जुटाएर बहुमत पुर्‍याउने प्रयासलाई निरन्तरता दिएका छन् । ५३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीको दल कांग्रेसका १८ र नााउपाका ७ सांसद छन् । राप्रपा र स्वतन्त्र १/१ सांसदको समर्थन जुटाउन सके शाह नेतृत्वको सरकारको पक्षमा २७ सांसद सहित टुप्लुक्क बहुमत पुग्छ ।  सरकारमा सहभागी हुने र नहुने विषयमा पार्टीका संस्थापक आफ्नै पति रेशम चौधरीसँग चर्को विवाद कायम रहेको नागरिक उन्मुक्ति पार्टीमा फुटको संकट टरिनसकेको जानकारहरु बताउँछन् ।

भरतपुरमा उद्यमशिलता विकास गर्न केन्द्रित छु : प्रमुख रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको उद्यमशिलताको विकास गर्न आफु केन्द्रित रहेको बताएकी छिन् । भरतपुर २२ को नवनिर्मित भवन, १६ शैयाको अस्पताल र प्रदर्शनी केन्द्रको संयुक्त रुपमा उद्घाटन गर्दै प्रमुख दाहालले भरतपुरमा पूर्वाधार विकास प्रयाप्त भएकाले आगामी कार्यभार धेरैभन्दा धेरै रोजगारी सिर्जना गर्नेतर्फ केन्द्रित रहेको बताइन्। महानगरपालिकामा विगत ७ वर्षमा पूर्वाधार विकासमा उल्लेखिय काम भइसकेकाले अब भने भरतपुरवासीलाई उद्यमशिलतामा लाग्ने उनको भनाई छ । ‘भरतपुरमा एकै वडामा ५० किमीभन्दा बढी कालोपत्रे सडक निर्माण भइसेका छन्,उनले भनिन्,‘शिक्षा, स्वास्थ्य, पर्यटयन र कृषिमा पनि धेरै काम भएका छन् । अब भरतपुरमा रोजगारी सिर्जना गर्ने प्रमुख एजेण्डा हाम्रो छ ।’ वडा नम्बर २२ को वडा कार्यालय निर्माण भएपछि व्यवस्थित ढङ्गबाट सेवा प्रवाह हुने अपेक्षा लिएको प्रमुख दाहालले बताइन् । वडा कार्यालयसँगै निर्माण भएको १६ शैयाको अस्पताललाई विषेशज्ञ सेवासहित नगरस्तरीय वा वडास्तरीय अस्पतालको रुपमा विकास गर्न सकिने प्रमुख दाहालको भनाइ थियो । २ तल वडा कार्यालय निर्माण गर्न रु १ करोड ३२ लाख खर्च भएको वडा अध्यक्ष विष्णुराज महतोले जानकारी दिए। यस्तै वागमती प्रदेश सरकारको रु १ करोड ५५ लाख सहयोगमा घरेलु प्रदर्शनी केन्द्र निर्माण भएको हो । केन्द्र सञ्चालनमा आएसँगै स्थानीय उत्पादनको प्रदर्शनी गर्न सहज हुने अपेक्षा लिइएको छ । एशियाली विकास बैंक/जेएएफपिआरको अनुदान सहयोगमा नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत कोभिड–१९ रेस्पोन्स आयोजनामार्फत रु १ करोड ६६ लाखको लागतमा १६ शैयाको अस्पताल निर्माण भएको हो । यसको स्वमित्व सोमबार नै भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर २२ का अध्यक्ष विष्णुराज महतोले पटिहानी क्षेत्रमा विगत ७ वर्षको अवधिमा धेरै विकास निर्माणको काम भइसकेको उल्लेख गरे । भरतपुर वडा नम्बर २२ ले पर्यटन, खेलकुद, कृषिलगायतका क्षेत्रमा प्राथामिकताका साथ काम गरिरहेको बताए । भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन पटिहानी क्षेत्रले विषेश कामहरु अगाडि बढाइरहेको उनको भनाई थियो । कार्यक्रममा महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेललयागतले मन्तव्य व्यक्त गरेका थिए ।

बालकुमारी घटनाका दोषिलाई  प्रतिवेदन अध्ययन गरेर कारबाही गर्छौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनामा छानबिन समितिले दिएको रिपोर्ट अध्ययन गरी आवश्यक कारबाही गरिने बताएका छन्।  आईतबार प्रतिनीधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले छानबिन समितिले प्रतिवेदन गृह मन्त्रालयमा बुझाएको र आजमात्रै आफूले सो प्रतिवेदन बुझ्ने बताए । उनले अहिलेसम्म आफूले प्रतिवेदन नहेरेको भन्दै आजै हेर्ने र आजै बस्ने मन्त्रिपरिषद्को बैठकले प्रतिवेदन अध्ययन गरी आवश्यक कारबाही गरिने बताए । उनले भने, छानबिन समितिले जो प्रतिवेदन ल्याएको छ । गृह मन्त्रालयमा छानबिन समितिले बुझाएको छ । आज मैले बुझ्दै छु प्रधानमन्त्रीको हैसियतले । अहिलेसम्म मैले हेरेको छैन । मैले हेर्दैछु। आजै मन्त्रिपरिषद् छ त्यसलाई सरकारले बनाएको छानबिन समितिले छानबिन गरेर ल्याएको प्रतिवेदनको अध्ययन गरेपछि आवश्यक कारबाही गरिन्छ । उनले यस घटनालाई सरकारले गम्भिरतापूर्वक लिएर तत्काल १०/१० लाख रुपियाँ परिवारलाई दिने निर्णय गरिनुका साथै श्रम मन्त्रालयबाट सम्बन्धित कार्यालयबाट पनि रकम उपलब्ध गराउन निर्देशन भएको बताए । परिवारका एक/एक जनालाई रोजगारीको व्यवस्था गरिने पनि उनको भनाइ छ । 

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसद्वारा स्वतन्त्र प्यानल गठन गर्ने घोषणा

न्यूर्योक । संयुक्त राष्ट्र्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय राहत तथा कार्य एजेन्सी (यूएनआरडब्लूए) को मूल्यांकन गर्न स्वतन्त्र प्यानल गठन गर्ने घोषणा गरेका छन् । गत अक्टोबर ७ मा इजरायलमा भएको हमासको आक्रमणमा उक्त एजेन्सीका १२ कर्मचारी संलग्न रहेको इजरायली दाबीका कारण मानवीय संगठनले आलोचनाको सामना गर्नुपरेको छ । एजेन्सीको कोष अमेरिका, जर्मनी, बेलायत, स्विडेनलगायत एक दर्जनभन्दा बढी राष्ट्र्रहरूले निलम्बन गरेका छन् । फ्रान्सका पूर्वविदेशमन्त्री क्याथरिन कोलोनाले स्वतन्त्र प्यानलको अध्यक्षता गर्ने र तीन युरोपेली अनुसन्धान संस्थाहरूसँग सहकार्य गर्ने संयुक्त राष्ट्रसंघले विज्ञप्तिमार्फत घोषणा गरेको अलजजिराले जनाएको छ । एजेन्सीले तटस्थता सुनिश्चित गरी आरोपहरूको जवाफ दिन आवाश्यक कार्य गरिरहेको छ कि छैन भन्ने मूल्यांकन गर्नु अनुसन्धानको घोषित उद्देश्य रहने बताइएको छ । अलजजिराका अनुसार प्यानलको प्रतिवेदनमा एजेन्सीको प्रणालीको सम्भावित सुधार र सुदृढीकरणका लागि अन्तरिम प्रतिवेदनका लागि मार्चको अन्त्यमा र अन्तिम प्रतिवेदनका लागि अप्रिलको अन्त्यमा सिफारिसहरू समावेश गरिने गुटेरेसले बताए । यो मूल्यांकन संयुक्त राष्ट्र्रसंघको आन्तरिक अनुसन्धानसँग सम्बन्धित छैन । जुन गत महिना १२ जना यूएनआरडब्लूए कर्मचारीहरूविरुद्धको प्रारम्भिक आरोपपछि सुरु गरिएको थियो । अक्टोबर ७ मा पहिलो आक्रमणपछि सुरु भएको इजरायल र हमासबीचको युद्धमा करिब एक हजार २०० इजरायली मारिएका र करिब २५० जना बन्धक बनाइएका थिए । रासस/एएनआई

बजेट अधिवेशन आजदेखि सुरु हुँदै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा संसद्का दुवै सदनको बैठक आज दिउँसो ४ बजे सुरु हुने छ । राष्ट्रियसभाको १४ औं अधिवेशनको पहिलो बैठक बस्न लागेको हो भने प्रतिनिधिसभाको यो दोस्रो अधिवेशनको पहिलो बैठक हो । संसद्को यो अधिवेशनबाट सरकारका नीति तथा कार्यक्रम र नयाँ बजेट पारितलगायत कार्य गरिनेछ । आजको बैठकका लागि विभिन्न कार्यसूची तय गरिएको छ । प्रतिनिधिसभा बैठकको सुरुवातमा सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । सभामुखले नै राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री पदमा नियुक्तिसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन् । त्यसपछि सभामुखले सभामुखको अनुपस्थितमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची छ । यस्तै, कानुन, न्याय संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ पेस गर्नेछन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आ. व. २०८०/०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

मंगलबार तपाईंका लागि कति शुभ ? राशिफलमा के छ ?

आज १८ चैत्र २०७६ मंगलवार । यस्तो छ राशिफलः मेष: ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) जोश जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला । साथीभाइबाट बढी फाइदा लिने समय छ । नयाँ कामको योजना बन्न सक्छ । वृष: ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । प्रेम सम्बन्ध कसिलो होला । रचनात्मक काममा जुट्ने समय छ । तर वैदेशिक क्षेत्र कमजोर रहनेछ । मिथुन: ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) सन्तानपक्षको मायामा कमी आउनेछ । सहकर्मीबाट विरोध आउला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउने छ । कार्यमा अवरोध आउला । कर्कट: ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । रमाइलो यात्रा रहला । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । सन्तान सुख मिल्नेछ । सिंह: ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) समाजसेवामा मन लाग्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । कन्या: ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्ति संग भेटघाट हुने छ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । भूमिबाट लाभ नै रहला । तुला: ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) गरेका काममा ढिलासुस्ती हुनेछ । दबाब र तनाव बढेको महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । मनमा भय उत्पन्न हुनेछ । वृश्चिक: ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) श्रमको उचित मुल्याङ्कन हुनेछ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । धनु: ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) सामाजिक काम अघी बढ्नेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । आफन्तसंग भेटघाट होला । मकर: ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) रोकिएको धन हात पर्ला । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । शुभकार्यको चर्चापनि चल्नेछ । कुम्भ: ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । चोटपटकको भयछ सचेत रहनुहोला । मनमा दुविधा उत्पन्न हुनेछ । मीन: ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) विद्या र बुद्धिको विकास हुनेछ । प्रयत्न गरे फाइदा लिन सकिनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । परिवारसंग समय बित्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल