कर्लाली प्रदशेमा एकिकृत कर्णाली सिचाई कार्यक्रम सुरु गरिने

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले कर्लाली प्रदशेमा एकिकृत कर्णली सिचाई कार्यक्रम सुरु गरिने बताएका छन्।

मङ्गलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति पौडेलले कर्णालीको कृषि विकासका लागि सिँचाई कार्यक्रम सुरु गरिने बताएका हुन्। 

चितवनको रामनगरमा बिहानै दुर्घटना :  आठ जना घाइते

चितवन । नारायणगढ मुग्लिन सडकको रामनगरमा बिहीबार बिहान दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।  बिहान  ५ बजे  भरतपुर मनपा १ नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर अगाडी चेकिङको लागि रोकी राखेको झापाबाट काठमाडौँ तर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ४८८८ नं. को यात्रु बसको पहाडी   ग २ ख २२५ नं को हायस अनियन्त्रित भई ठक्कर खादा सो दुर्घटना भएको हो ।   दुर्घटनामा स्थानीय कमलबहादुर  न्यौपानेको घरमा सञ्चालित मोटरसाइकल ग्यारेज समेत क्षति पुगेको छ । दुर्घटनामा परी  चितवन भरतपुर मनपा ११ बस्ने वर्ष ४४ की मिना सापकोटा,  भरतपुर ५ बस्ने वर्ष ४० को केशर साह,  भरतपुर २१ बस्ने वर्ष ४४ को मेकना तामाङ , भरतपुर १४ बस्ने वर्ष ५३ को हरिराम ढकाल, वर्ष ५१ की धनुमाया ढकाल,  भरतपुर २ बस्ने बर्ष ३० को काशी उपरकोटी,  भरतपुर, २० बस्ने वर्ष ४७ को तुल बहादुर घले र  गोर्खा सिरान चोक गापा १ बस्ने वर्ष २६ की प्रीति रम्तेल घाइते भएका छन् ।  उनीहरूको भरतपुरका विभिन्न अस्पतालमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घाइते मध्ये केहीको अवस्था गम्भीर छ । 

जलवायु परिवर्तनबाट खाद्य सुरक्षामा पर्ने असरबारे सचेत हुन प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खाद्य प्रणाली रूपान्तरणका कार्यक्रम प्राथमिकताका साथ कार्यान्वयनमा लैजान दिर्नेशन दिएका छन् । प्रधानमन्त्री कार्यालयमा आज बसेको खाद्य प्रणाली प्रतिबद्धता समीक्षासम्बन्धी उच्चस्तरीय बैठकमा प्रधानमन्त्री प्रचण्डले खाद्य संयुक्त राष्ट्रसङ्घलगायत विकास साझेदार निकायहरूलाई पनि खाद्य रूपान्तरणका कार्यक्रमलाई प्रभावकारी तुल्याउन आग्रह गरे।  बैठकमा नेपालले अन्तर्राष्ट्रिय सम्मेलन तथा संवादहरूमा जनाएका प्रतिबद्धताहरूको प्रगति समीक्षा गरिएको छ ।  “कार्यप्रणाली रूपान्तरणका कार्यक्रमहरू कार्यान्वयनमा लैजानुपर्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “साथै राष्ट्रसङ्घलगायत विकास साझेदार निकायले पनि खाद्य प्रणाली रूपान्तरणका योजना तथा कार्यक्रम मूलप्रवाहीकरण गर्न आग्रह गर्दछ ।”  खाद्य प्रणाली रुपान्तरणका पक्षमा नेपालले गरेका प्रयासहरू विभिन्न मञ्च तथा सम्मेलनमा सराहना भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले १६ औँ योजनाको पहिलो वर्षका रूपमा रहने आगामी आर्थिक वर्ष २०८१/८२ को योजना तथा बजेटमा खाद्य प्रणाली रूपान्तरण राजनीतिक योजनालाई प्राथमिकतासाथ समावेश गर्न दिर्नेशन दिए। खाद्य सुरक्षा तथा पोषणका क्षेत्रमा नेपालले प्राप्त गरेको प्रगति र सिकाइलाई आत्मसात गर्दै अझ सुधारका लागि सबै पक्षले सहकार्य गर्न जरुरी रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले खाद्यमा नागरिकको हक तथा पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिए। जलवायु परिवर्तनबाट खाद्य प्रणालीमा पर्नसक्ने असरहरूलाई न्यूनीकरण गर्दै किसानहरूका उत्थानमा बढाउन ध्यान दिनु जरूरी रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले उत्पादन र उत्पादकत्व बृद्धिका साथै प्रतिस्पर्धात्मक क्षमता सुदृढ गर्दै  समृद्धितर्फ अघि बढ्नुपर्नेमा जोड दिए।   “सामाजिक न्याय, सुशासन र समृद्धि हाम्रो उच्च प्राथमिकताको विषय हो,” प्रधानमन्त्रीले भने, “यसलाई खाद्य प्रणाली रूपान्तरणसँग सम्बन्धित नीति, योजना, कार्यक्रम र रणनीतिहरू यसै दिशामा कार्यान्वयन गर्न निर्देशन दिन्छु ।” दिगो विकास लक्ष्य प्राप्त गर्न ७ वर्षभन्दा कम अवधि रहेको र खाद्य प्रणाली रूपान्तरणलाई उच्च प्राथमिकताका र तिव्रताका साथ कार्यान्वयन गर्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले २०२६ सम्ममा हामी अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने क्रममा रहेको सन्दर्भमा खाद्य प्रणाली रूपान्तरणको एजेण्डा अझ बढी सान्दर्भिक भएको उल्लेख गरे। प्रधानमन्त्री प्रचण्डले खाद्य प्रणाली रूपान्तरण एक बहुआयामिक, बहु–तहगत र बहुपक्षीय विषय भएकाले आगामी दिनमा सम्पादन गर्नुपर्ने क्रियाकलापहरूलाई आ–आफ्नो निकायको तर्फबाट उच्च प्राथमिकता दिई समन्वयात्मक रूपमा कार्यान्वयन गर्न ध्यानाकर्षण गराए। समीक्षासम्बन्धी उच्चस्तरीय बैठकमा संयुक्त राष्ट्रसंघका प्रतिनिधि रोबर्ट कास्का र विश्व खाद्य संगठनका नेपाल प्रतिनिधि केन शिमिजु, कृषि मन्त्री ज्वालाकुमारी शाह लगायतको सहभागीता थियो ।  

मोरङको पथरीमा आगलागी, डेढ करोडको क्षति

पथरी । मोरङको पथरी शनिश्चरे वडा नं.१ बुद्ध चोकमा रहेको कोसी चिउरा मिलमा गएराति आगलागी भएको छ । आगलागीबाट एक करोड ५० लाखको क्षति भएको छ। राति १२ बजे मिलमा आगलागी मिलका मेसिनरीसहित त्यहाँ राखिएको अन्न खरानी भएको स्थानीयले बताए ।  मिलमा आगो सल्केको दुई घण्टापछि मात्र स्थानीयले थाहा पाएका थिए। स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा आगो निभाइएको थियो। मिलमा कोही नबस्ने भएकाले मानवीय क्षति भने भएन । आगो निभाउन पथरीशनिश्चरे, उर्लाबारी, कानेपोखरी र बेलबारी नगरपालिकाका दमकल प्रयोग गरिएको थियो ।  आगलागीको कारणबारे यकिन जानकारी प्राप्त नभएको प्रहरी कार्यलय पथरीले जनाएको छ ।

प्रधानमन्त्रीद्धारा ग्याल्बो ल्होसारको शुभकामना व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वी हिमाली क्षेत्र लगायत देशका विभिन्न भू-भागमा बसोबास गर्ने शेर्पा समुदाय लगायतले नयाँ वर्षको रूपमा मनाउने ग्याल्बो ल्होसारको शुभकामना व्यक्त गरेका छन् ।  आज एक शुभकामना वक्तव्य जारी गर्दै प्रधानमन्त्री प्रचण्डले ग्याल्बो ल्होसार प्राचीन उत्पादन पद्धतिमा आधारित मौलिक एवं ऐतिहासिक पर्व भएको बताएका छन् ।  सो अवसरमा प्रधानमन्त्रीले ग्याल्बो ल्होसारले आन्तरिक राष्ट्रियता, आपसी सद्‍भाव, सहिष्णुता, सहकार्य र एकता थप सुदृढ गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।

लागूऔषध सहित १५ जना पक्राउ

काठमाडौं, १७ फागुन । अबैध लागूऔषध सहित १५ जना पक्राउ परेका छन् । प्रहरीले विभिन्न प्रकारका लागू औषध ओसारपसारमा संलग्न रहेको अभियोग सहित छुट्टाछुट्टै स्थानबाट १५ जनालाई पक्राउ गरेको हो ।  काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ५ थलिबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ६८ मिलिग्रामसहित बुढानिलकण्ठ नगरपालिका १० कपन बस्ने ४४ वर्षीय प्रदिप कुमार सिंहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  कैलालीको धनगढी उपमहानगरपालिका –३ भन्सारबाट अवैध लागूऔषध ब्राउनसुगर ४० मिलिग्रामसहित सोही उपमहानगरपालिका १ शिवनगर बस्ने २२ वर्षीय भरत राज जोशीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।  यस्तै, झापाको बिर्तामोड नगरपालिका ६ बुट्टाबारी स्टाफ चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्रामसहित भद्रपुर नगरपालिका(५ घर भई अर्जुनधारा नगरपालिका(११ बस्ने २५ वर्षीय सुरज बिश्चकर्मालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  यसैगरी झापा, अर्जुनधारा नगरपालिका ११ गिरी बन्दु टिस्टेट चिया बगानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ९० मिलिग्रामसहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय बिनम उराउ र ३० वर्षीय कुमार सुब्बा रहेका छन् । अस्थायी प्रहरी पोष्ट बर्सपार्कबाट खटिएको प्रहरीले सुब्बालाई १ ग्राम १ सय ९० मिलिग्राम र उराउलाई ४ सय मिलिग्राम उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी झापा, मेचिनगर नगरपालिका ६ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४७ ग्रामसहित ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका १० कालिस्थान घर भई मेचिनगर नगरपालिका ६ सुनगाभा टोल डेरा गरी बस्ने २६ वर्षीय प्रकाश पौडेल, काठमाडौं महानगरपालिका १६ ढुङगे अड्डा बस्ने ३० वर्षीय ईश्वर अधिकारी र झापा अर्जुनधारा नगरपालिका १० कालिस्थान बस्ने २२ वर्षीय पुजन तामाङ रहेका छन् । ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका २ नारायणी पुलबाट अवैध लागूऔषध गाँजा करिब १ किलोसहित सोही नगरपालिका २ बस्ने २१ वर्षीय अभिशेक गुरूङ समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कर्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।  विराटनगर महानगरपालिका १७ स्लामपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २४ मिलिग्रामसहित सोही महानगरपालिका १२ बस्ने ४० वर्षीय प्रभात कटुवाललाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मटेरूवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ग.५ प ३७२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित चालक कटुवाललाई पक्राउ गरेको हो ।  लमजुङको सुन्दरबजार नगरपालिका ६ खत्रीठाटीबाट अवैध लागूऔषध गाँजा करिब ४ किलोसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका(१६ बस्ने ५१ वर्षीय प्रेम पराजुली र सोही महानगरपालिका(१९ बस्ने ४० वर्षीय जिवन पौडेल रहेका छन् । ईलाका प्रहरी कार्यालय सुन्दरबजारबाट खटिएको प्रहरीले ग ११ प ९४४० नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।  बाँके, खजुरा गाउँपालिका ६ सिमलघारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्रामसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय प्रकाश बहादुर धामी र १९ वर्षीय बिजय घिमिरे रहेका छन् । ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।  

मनी लाउन्डरिङ विधेयक राष्ट्रियसभाबाट स्वीकृत

काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) तथा व्यावसायिक वातावरण प्रवर्धन विधेयक राष्ट्रियसभाबाट स्वीकृत भएको छ । प्रतिनिधिसभाले संशोधनसहित पारित गरेर पठाएको विधेयक राष्ट्रियसभामा सर्वसम्मतिबाट स्वीकृत भएको हो । राष्ट्रियसभाका सदस्यहरूले विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा स्रोत नखुलेको सम्पत्ति गैरकानुनी ठहर नभएमा वैध हुने दफा २८ को प्रावधानमा गम्भीर चासोसहित सरकारको ध्यानाकर्षण गराएका थिए । जवाफमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आपराधिक कर्मबाट नकमाएको सम्पत्ति वैधानिकता दिने प्रक्रिया नपुगेमा मात्र वैध हुने बताए । तर, त्यस्तो सम्पत्तिमा ५० प्रतिशत कर लाग्ने व्यवस्था सरकारले गरेको मन्त्री गुरुङको भनाइ छ । मन्त्रीको जवाफपछि विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको हो ।

प्रधानमन्त्री कप : आज दुई खेल हुँदै

काठमाडौँ । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् । जस अन्तर्गत एपीएफ क्लब र कर्णाली प्रदेश तथा नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र कर्णालीबीचको खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ ।जारी प्रतियोगितामा एपीएफ क्लब ८ खेलबाट १० अंकसहित पाँचौं स्थानमा रहेको छ भने कर्णाली प्रदेश ८ खेलबाट ६ अंकसहित सातौँ स्थानमा रहेको छ । यस्तै आजै नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशबीचको खेल मूलपानी क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ ।अहिलेसम्मका खेलमा नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ । नेपाल पुलिस क्लबले आफ्ना ७ खेलमा सबै खेल जितेर १४ अंकसहित शीर्षस्थानमा रहेको छ । पुलिसले फाइनलमा आफ्नो स्थान सुनिश्चित गरिसकेको छ । यस्तै, लुम्बिनी प्रदेश आफ्ना ८ खेलमा एक जित र ७ हार बेहोरेर २ अंकका साथ नवौँ स्थानमा छ ।

हङकङले नेपाललाई दियो ९५ रनको लक्ष्य

काठमाडौं । करण केसीको घातक बलिङमा यूएई सम्मिलित त्रिकोणात्मक टी २० आई सिरिजमा हङकङले नेपालसामु ९५ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ। माथिल्लो मूलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको हङकङले निर्धारित १९.३ ओभरमा ९४ रनमा अलआउट भयो। नेपालका करण केसी एक्लैले चार विकेट लिए। किफायती बलिङ गरेका करणले आफ्नो स्पेलमा मात्र १५ रन दिए। करण केसीले ओभरको पहिलो बलमा नै ओपनर तथा कप्तान निजाकात खानलाई बोल्ड आउट गरे। अर्का ओपनर अशुं रथलाई ७ रन बनाउँदा करणले आशिफ शेखको हातबाट क्याच आउट गराए। इजाज खानलाई ७ रनमा क्याच आउट गराएका करणले हरोन हर्सदलाई बोल्ड आउट गरे। अभिनास बोहोरा र सोमपाल कामीले समान दुईरदुई विकेट आफ्नो नाममा गरे। कुशल मल्ल, मौसम ढकालले समान एक एक विकेट लिए। हङकङका लागि याशिम मुर्ताजाले सर्वाधिक ३६ रन बनाए। ३६ बलको सामना गरेका उनले २ चौका र १ छक्का हाने। जिसान अलीले १७ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्

नेकपाभित्रको बहसः के चाहन्छन् अध्यक्ष प्रचण्ड ?

सभामुख चयनका लागि नेकपाभित्र चलिरहेको संघर्ष कुनै व्यक्ति विशेष भन्दा पनि प्रवृत्तिको रहेको छ । बाहिर हेर्दा अमूक व्यक्तिका लागि भन्ने देखिएपनि यसको अन्तर्यमा भने अग्रगामी या यथास्थिति पक्षधरको संघर्ष नै मुख्य हो । यति मात्रै नभएर यो संघर्षले दुई फरक वैचारिक धारको समेत प्रतिनिधित्व गर्दछ । एउटा धारले सारमा बिसर्जनवादको पक्ष लिन्छ । यथास्थितिमा नै रुमल्लिने अवसरवादको पक्ष लिन्छ । संसदवादलाई प्रधानता ठान्ने र वर्ग संघर्षको ठाउँमा वर्ग समन्वय, राष्टियताको स्थानमा समर्पणवादको वकालत गर्दछ । अर्को पक्षले नेपाली समाजलाई फेरी एउटा धक्का दिन चाहन्छ । संसदवाद भन्दा माथि, नेपाली राजनीतिक क्रान्तिका पुरा हुन नसकेका कार्यभार पुरा गर्दै अझ उन्नत राजनीतिक प्रणाली स्थापनाको पक्षधरता लिन्छ । र, स्पष्ट नै छ, यो दोश्रो धारको प्रतिनिधित्व पूर्व माओवादी वैचारिक धारले गर्दछ । पूर्व एमाले समूहले धक्का या अग्रगामी परिवर्तनलाई त्यति पचाउँदैन । उसका लागि सुधारवाद नै माक्र्सवाद हो । उसको समाजवाद बढीमा यूरोपियन मोडेलको लोक कल्याणकारी मान्यतामा आधारित राज्यव्यवस्था हो । ढुलमुले संशोधनवाद उसको वैचारिक पक्ष हो । र, यसकै वरिपरि सभामुखको रस्साकस्सी चलिरहेको छ । सभामुखको बहसमा यो वा त्यो समूहको बहस सतहमा देखिएको मात्रै हो । मुख्य कुरा दुई फरक वैचारिक धारबीच एक अर्कालाई समन्याय गर्ने कि नगर्ने भन्ने विषय हो । व्यक्ति या गुट भन्दा पार्टी र पार्टीको भविष्य प्रधान हुन्छ कि हुन्न भन्ने हो । सहमति पालना गर्ने राजनीतिक इमान्दारिता या गतिरोध उत्पन्न गर्दै शक्तिको जुँगे लडाई बढाउने भन्ने हो । पूर्व एमाले वैचारिक धारका लागि यो प्रवृत्ति नयाँ भने होइन । पार्टी एकतापछिका उसका अडानहरु हेर्दा समेत कतिपय विषयमा उसले अनावश्यक अडान राखेर पार्टीलाई गतिशीलताबाट पर राखेका कैयन् घटनाहरु छन् । अप्ठ्यारोमा पर्दा सहमति गर्ने तर सहजतामा त्यसमा इमान्दार नरहने प्रत्यक्ष उदाहरण दुई अध्यक्षबीचको कार्यविभाजनको थियो । पार्टी एकताका क्रममा जे जसरी एकता भएपनि व्यवहारमा एकल अध्यक्षको अभ्यास भएपछि यसले लामो समय पार्टीका काम कारवाही अघि बढन सकेनन् । न त पार्टी एकताले नै पूर्णता पाउन सक्यो । अहिले सभामुखमा करिब करिब त्यही अवस्था सिर्जना हुन खोजेको छ । वैचारिक धारको नेतृत्वकर्ताका हिसाबले प्रचण्डले लिने अडानहरु उनको व्यक्तिगत नाफा हानीभन्दा पनि समग्र संगठन र आन्दोलनसँग जोडिदै आएको उनका बिरोधीहरु पनि स्वीकार गर्न सक्छन् । स्वयम् प्रचण्डकै शब्दमा पनि उनलाई यथास्थितिमा कुँजिएर बस्न मन पर्दैन । उनी गतिवान हुन चाहन्छन् । र यो गति व्यक्तिगत गति नभएर पार्टी र संगठन, आन्दोलन र जनतालाई एक कदम अगाडि लैजाने गति हुन्छ । नेकपा एमालेसँग पार्टी एकतादेखि आलोपालो सरकार र पार्टीको नेतृत्व गर्ने सहमतिलाई समेत प्रचण्डले यही गतिशीलतामा लिएको देखिन्छ । यदि उनले पनि पूर्व एमाले वैचारिक समूहको प्रवृत्तिजस्तै व्यवहार देखाएको भए यसले न पार्टी एकता हुन्थ्यो, न नेपालमा वामपन्थीहरुको स्थिर सरकार बन्थ्यो न त अहिलेको परिस्थिति सिर्जना हुन्थ्यो । पार्टी एकतापछि समेत आलोपालो सहमतिको सहमतिमा नै उनले अडान लिइ नै राखेको भए यसले सरकारको नेतृत्व र पार्टीभित्र गतिशील परिस्थिति सिर्जना हुनसक्थ्यो । तर उनले जडतामा देशलाई बन्धक बनाइराख्नु भन्दा आलो पालोको सहमतिको साटो आफूले पार्टी र संगठनमा ध्यान दिने निर्णय गरे । किनभने यसो नगर्नुको अर्थ संगठन छिन्नभिन्न हुनु हुन्थ्यो । यसको अर्थ सरकार वामपन्थीको भएपनि जनतासँग पार्टी नजोडिंदा त्यसको अन्ततः असर सरकारकै प्रभावकारितामा पथ्र्यो । यो विषयलाई खाली पदसँग जोडेर हेर्नेहरुले कति बुझ्लान, तर उक्त निर्णय ठूलो वैचारिक र सैद्धान्तिक अर्थको रहेको छ । अहिले सभामुख चयनमा समेत त्यही प्रकृतिको प्रवृत्ति देखाएको छ । सदनलाई बन्धक राखेर, जनतासँग जोडिने थलोलाई प्रभावहीन पारेर उनीहरुले व्यक्तिलाई अघि सार्दै अनावश्यक बखेडा झिकेका छन् । पार्टी एकताका क्रममा भएको राजनीतिक सहमतिलाई यो वा त्यो रुपमा बाधित गर्न खोजेका छन् । प्रचण्डका अगाडि सिँगो पार्टी र आन्दोलनले उब्जाएका यक्ष प्रश्न हल गर्ने चुनौती बाँकी छ । अहिले पनि सपना देखेका हजारौं जनताले आफ्ना सपनाको मूल्य खोजिरहेका छन् । यी सपनाको मूल्य स्थिर र जनपक्षीय सरकार, प्रभावकारी सदन र बलियो जनसंगठनबाट मात्रै पुरा हुन सक्छन् । यो पक्षलाई ध्यानमा नदिएर प्राविधिक झिना मसिना कुरामा अल्झिने र अन्ततः सारसंग्रहवादमा फसेर संसदवादलाई नै निरन्तरता दिने काम भइरहेको छ । यसतर्फ गम्भीर ध्यान दिनु जरुरी छ । अग्रगमन र पश्चमगमन, यथास्थिति र प्रगतिशीलता, संसदवाद र जनपक्षधरता, वर्ग संघर्ष र वर्ग समन्वयको यो लडाईमा प्रचण्ड अघि बढेका छन् । सभामुखलाई व्यक्तिका अर्थमा हेरिएपनि या अन्ततः यो एउटा वैचारिक विषय बन्न पुगेको छ । पार्टीका निर्णय, निर्णयहरुको पालना, सहमति र इमान्दारिताको अन्र्तसम्बन्ध जस्ता विषयहरुमा कस्तो प्रवृत्तिको विकास गर्ने भन्ने विषय सोझो रुपमा आन्दोलनको रुप र भविष्यसँग जोडिएको हुन्छ । यसलाई बुझ्न हल गर्न यसको यही अन्तर्य बुझ्नु जरुरी छ ।

अस्तित्व संकटमा ऐतिहासिक पाल्पा, यस्तो हुँदैछ अहिले

–श्रीराम स्वरुप प्राकृतिक सौन्दर्यले भरिपूर्ण पाल्पा जिल्लामा १० वटा स्थानीय निकाय रहेका छन। जसमा ८ वटा गाउँपालिका पर्छन भने बाँकी दुईमा रामपुर नगरपालिका र तानसेन नगरपालिका हुन्। पाल्पामा रामपुर नगरपालिका पछि थपिन आएको हो भने सदरमुकाम तानसेन नगरपालिकाको रुपमा जनसंख्या, भुगोल एवं आर्थिक अवस्थाको आधारमा पहिलेदेखि नै कायम रहेको थियो। यस जिल्लाको सदरमुकाम बुटवल देखि उत्तर दिशातर्फ करिब ४२ किलोमिटर दुरीमा रहेको छ भने समुद्री सतहबाट १३५० मिटर उचाइमा रहेको छ। तानसेन नगरपालिका भित्रमा प्रति वर्ग किलोमिटर ४५९.१ जना मानिस बसोबास गर्ने गरेको तथा यसको कुल क्षेत्रफल १०९.८ किलोमिटर रहेको र जनसंख्या ५०,४०५ जना रहेको वि.सं. २०६८ को जनगणना अनुसार उल्लेख छ। समग्रतामा नगरपालिका वरिपरि हरेक कुराले सुविधा सम्पन्न मान्ने प्रवित्ति रहेतापनि नगरपालिका भित्रकै कतिपय क्षेत्रहरु अझै पनि विकासका दृष्टिले निकै विमुख भएको पाउँछौँ। स्थानीय चुनावको सन्दर्भलाई जोड दिएर गराईएको स्थानिय सिमाङ्कन कत्तिको वैज्ञानिक एवं जनपक्षीय थियो त्यो अर्को विषय वस्तु बन्न सक्ला तर सिमाङ्कन भित्रका हाम्रा भुगोल एवं सामाजिक रहनसहन हामीले नगरपालिकाको रुपमा गर्व गर्न सक्ने अवस्थामा छन कि छैनन, सोच्नुपर्ने बेला आएको छ। पाल्पा भनेर समग्र जिल्लालाई बुझिने गरिए तापनि बाहिरी जिल्ला हुनेहरुले भने सदरमुकाम क्षेत्रलाई मात्र पाल्पा भनेर बुझ्ने गरेको पाइन्छ। तानसेन बजारलाई मोटामोटी रुपमा सिमांकन गरेर हेर्ने हो भने बसपार्क भाग, बतासे भाग सरकारी अस्पताल र मिसन अस्पताल भाग बिचको भूभाग लाई लिन सक्छौं। यहि भूभाग भित्र करिब द्दण् वटाको हाराहारीमा शैक्षिक संस्था तथा चारवटा उच्चशिक्षाका विद्यालय छन्। त्यसबाहेक झण्डै दर्जनको हाराहारीमा विभिन्न कोचिङ सेन्टरहरु सन्चालनमा छन भने केही उच्च सुविधा युक्तका होटल, लज हरु समेत सन्चालन नभएका होइनन् । यस्तै किराना पसल, कपडा पसल, हार्डवेयर सामाग्री, स्टेसनरी पसल, जुत्ता पसल, मदिरा पसल इलेक्ट्रोनिक तथा साइवर क्षेत्रका पसलहरु, मेडिकलहरु छरिएर सन्चालित छन। सहारा कला केन्द्र, छमछम कला केन्द्र, सारेगम कला केन्द्र लगायतका केही साँस्कृतिक संघ संस्थाहरु सन्चालित छन भने साहित्य क्षेत्रमा पाल्पा साहित्य समाजको उपस्थिती छ। सिनेमाको रुपमा एकमात्र चलचित्र हल भनेको सन्तोष चलचित्र मन्दिर विशाल बजारमा सन्चालित रहिआएको छ। स्वास्थ क्षेत्रमा जिल्लामा खास गरेर युनाइटेड मिसन अस्पताल र सरकारी अस्पताल हुन त्यसबाहेकको हेर्ने हो भने प्रभासमा रहेको लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पताल हो यी बाहेक आफ्नो तरिकाले नियम कानुनको परिधिभित्र रहेर सन्चालनमा रहेका मेडिकल कलेजहरु त हुने भई नै हाले। त्यस्तै मिडिया क्षेत्रमा श्रीनगर टेलिभिजन, सुर्योदय टेलिभिजन, झण्डै आधा दर्जन एफ एम स्टेसन र आधा दर्जनकै सेरोफेरोमा पत्रपत्रिका सन्चालित छन्। यसरी पाल्पा जिल्लाको सदरमुकाम तानसेन बजारलाई हेर्ने हो भने आज भन्दा बर्षौँ अघि र अहिलेमा हामीले खासै फरक भेट्न सक्दैनौं । केही गल्ली भित्रका मोटरबाटो पिच भए होलान, केही घरहरु निर्माण भए होलान, घरको भित्ताका रङहरु बदलिए होलान तर पछिल्लो समय तानसेन बजारभित्र निर्माण भएको गर्व गर्न सक्ने कुनै चिज छ ? श्रीनगरमा भ्यु टावरको निर्माण, टुँडिखेलमा होटेल ताजको स्थापना, नगरपालिकाले तोकेको पार्किङ शुल्क, केही महँगीएको कोठाभाडा यो बाहेक नि ? एक घण्टा पैदल लगाएर पुर्वको धर्मशाला बाट मिसन अस्पताल हुँदै गैरागाउँ, नारायण स्थान, लहरे पिपल हुँदै पेट्रोल पम्पबाट तेस्रो सडक, ठाडो गल्ली, शितलपाटिबाट भगवती टोल, बिशाल बजार हुँदै कैलाश नगर तथा यता सितलपार्टी बाट होटेल अन्नपूर्ण गार्डेन आइपुग्दा लगभग तानसेन बजार सकिन्छ। तानसेन बजार यति सानो एवं फुर्सदिलो छ कि मानौँ एउटा सानो घटना भयो,घट्यो भनेपनि पूरा टोल,बजार भरि फैलिन्छ। हरेक गल्लीमा, हरेक टोलमा जतिसुकै बेला पनि आफुले नचिनेको मान्छे हुँदैन यसले पनि तानसेन बजारको आकारलाई सजिलै प्रमाणित गर्छ। तानसेनमा मात्र नभई पाल्पामै त्यस्तो धेरै क्रियासिल संघ संगठनहरु छैनन। पाल्पामा सबैभन्दा क्रियासिल संगठन भनेको ‘एन बि आर’ जसमा युवा पुरुष वर्गको उपस्थित रहने हिसाबले कार्यक्रम हुँदै आएका छ भने कतिपय सन्दर्भमा डब्लू आर आर संग संयुक्त प्रयासमा समेत सामाजिक कार्यक्रम गर्दै आएको छ। एन बि आरले सामाजिक संस्था फेसबुक मार्फत आफ्नो सन्जाल बिस्तार गरेर विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छ। उक्त संगठन देशभित्र मात्र नभएर बिदेशमा समेत नेपाली युवाहरु उत्तिकै क्रियासिल रहि आएका छन्। यस बाहेक श्रीनगर लायन्स क्लबले पनि विभिन्न सन्दर्भमा विभिन्न कार्य गर्दै आएको छ। यी बाहेक आम जनमानसमा प्रभाव पार्न सक्ने गरि अन्य संघ संगठनले कार्य गरेको पाइँदैन। राजनीतिक सन्दर्भमा हुने एउटा पाटो भयो नत्रभने पाल्पामा आन्दोलनको मोर्चा उठाउने गरि कुनै किसिमको जुलुस, सभा सम्मेलन भएको कमै देख्न पाइन्छ। पहिले पहिले तानसेनमा स्थायित्व तरिकाले डेरामा बसेर पढ्ने विद्यार्थीहरु प्रशस्त मात्रामा देखिए तापनि अहिले भने त्यसमा समेत कमि देखिन्छ। कतिपय ग्रामीण क्षेत्रबाटै आउने जाने गर्छन भने कतिपय रोजगार र विभिन्न अवसर समेत पाइने भन्दै तानसेन भन्दा बुटवल आसपासका क्षेत्रतिरै झर्नेको सङ्ख्या बढि देखिन्छ। त्रिभुवन बहुमुखी क्याम्पसमा पुग्ने हो भने दुई तिहाइ छात्रा देख्दा एक तिहाइ छात्र पनि मुस्किलले देख्न सकिन्छ। केही व्यापार व्यवसाय गर्ने र जागिरे बाहेक अरुमा चलायमान शैली भएको सहजै अनुमान लगाउन सकिन्छ। एक त भौगोलिक हिसाबले पनि यहाँ यो भन्दा बढी निर्माण संरचना निर्माण गर्न कठिन छ। यो भन्दा बजार बिस्तार हुने अवस्था पनि कम देखिन्छ भने स्थानीय निकायहरुको उपस्थित, गाउँ गाउँमा सहजै मोटरको पहुँचले पनि तानसेन बजारको क्षेत्र साँघुरिएको हुन सक्छ। तानसेन बजारको रौनकतामा कमि आउनुका केही कारणहरु निम्न हुन सक्छन। १. तानसेनमा रोजगारीको अभाव, २. अवसरहरुको कमि, ३. भौगोलिक जटिलता, ४. स्थानीय निकायको अधिकार सम्पन्नता, ५. गाउँगाउँमा मोटरको पहुँच, ६. बुटवल आसपास क्षेत्रमा बढ्दो आकर्षण, ७. सिमित ब्यक्तिहरुको प्रभाव एंव उपस्थिति, ८. पानीको अभाव, ९. सिमित बिकल्पहरु, १०. गाउँ घरमा समेत सुचना प्रविधिको बिकास एवं प्रचारप्रसार, ११. बजार विस्तारिकरण हुन नसक्नु, १२. प्रतिस्पर्धात्मक क्रियाकलापहरुको कमि, १३. प्रशस्त उद्योग कलकारखाना सन्चालनमा आउन नसक्नु, यिनै विविध कारणहरुले तानसेन बजार साँघुरिदै गएको अनुमान लगाउन सकिन्छ। पछिल्लो सन्दर्भमा बजार आसपास भित्रै समेत घरघडेरी बिक्रीबितरण कारोबार ठप्प भएको छ। आज भन्दा पाँच–दश बर्ष अघि किनेको घडेरी अहिले उत्तिकै भाउमा बेच्न खोज्दा समेत बिक्री हुन नसकेको गुनासो सुनिनुले भविष्यमा तानसेन बजारको भविष्य कता जाला ? अनि सदरमुकाम बजार भित्रै विकास विस्तारको यो हैसियतले नगरपालिकाका कुना काप्चामा बिकासको आसा के ? गाउँपालिकाका क्षेत्रहरु नगरपालिकाको रुपमा घोषित हुन सक्ने बनाउन सरकारी स्तरबाटै पहल हुन्छ या त गाउँ अझै मधेसतिरै ओरालो लाग्छ भविष्यले बताउला अनि यहाँको नेतृत्वले कत्तिको काँध थाप्न सक्ला ? या त गाउँमा राजनीति सहरतिर दरबार ठड्याउन तल्लीन रहला, खबरदारी जरुरत भइसकेको छ ।

माओवादीले घोषणा गर्यो माडीको विशेष बिकास प्याकेज

नयाँ माडीको निर्माण को बाम सपना नेकपा माअाेवादी केन्द्रका अध्यक्षले चितवन माडीका लागि ४८ बुँदे विशेष बिकास प्याकेज घोषणा गरेका छन् ।  माडी उपत्यकाभित्र भित्री र बाहिरी गरी दुईवटा चक्रपथ निर्माण गरिने छ, जसअन्तरगत सेरुवाबाट गोद्धक, बसन्तपुरबाट सोमेश्वर, कीर्तनपुरबाट हरिनगर, गोपालनगर र गौरीनगर (माछापोखरी) र खरकट्टाबाट बैकुण्ठ तालसम्मको करीब २५ किलोमिटर बाटो तत्काल पिच गरिनेछ । मौजुदा दुईवटै कृषि सडकहरु दुबै कृषि सडकहरु ‘क’ (सेरुवा-शिखारीपुर-अम्वाबास-सिम्रहनी-शितलपुर-खैरहनी-बेलुवा-लक्ष्मीबास हुँदै देवेन्द्रपुर-कान्तिपुर-गणेशकुञ्ज हुँदै बगहीँ) र ‘ख’ (गर्दी-भैरवपुर-बैराठ-इनारबरुवा-हरिनगर-गोपालनगर-घाँघर-शिवद्वार हुँदै कृष्णनगर हुँदै बगहीँ)को स्तर उन्नती गरी कालोपत्रे गरिनेछ । माडीभित्रका अन्य भित्री सडकहरुको स्तरोन्नती गरिनेछ । चितवन राष्ट्रिय निकुञ्ज भित्रको राप्ती पुलदेखि रेवा पुलसम्म बाटो चौडा गरी स्तरीय ग्राभेलिङ (पिच) गरिने छ । राष्ट्रिय महत्वको बिषय बनाई चितवन राष्ट्रिय निकुञ्जमा हवाई ब्रिज (आकाशे पुल)को निर्माण पहल गरिने छ । हुलाकी सडकको स्तरोन्नती गरी मगुई, बाँदरमुडे, रिमाल खोला, चन्द्रे खोला, जीवनपुर खोला, खरकट्टा खोला, वैकुण्ठ खोला, टम्टा खोला, घाँघर खोला, बगई खोला आदि खोलाहरुमा पक्की पुल निर्माणको प्रक्रिया सुरुवात गरिने छ । माडीका सम्पूर्ण ठाडा खोलाहरुमा तटबन्धन गरिने छ । बहुउद्देश्यीय रीउ परियोजना निर्माण गरी बगहीँदेखि पाँचपाण्डवसम्म नदी एवं बन्यजन्तुको बस्तीप्रवेश नियन्त्रणका लागि ड्याम निर्माण गरी चार लेनको वाइपास रोड बनाइने छ । स्वीकृत मगोइ सिंचाई परियोजना निर्माण कार्य अन्तरगत दुई बर्षभित्र नहर बनाई सञ्चालनमा ल्याइनेछ र रीउ एवं परुई सिंचाई परियोजना सुरुवात गरिनेछ । बाल्मीकि आश्रम, पाँचपाण्डव (गोद्धक), सोमेश्वर गढी र बैकुण्ठे क्षेत्रलाई देशकै मुख्य धार्मिक एवं पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने छ । एक वर्षभित्रमा माडीका हरेक घरमा बिजुली पु-याइनेछ । विजुली नपुगेका बस्तीमा बैकल्पीक उर्जाको व्यवस्था गरी उज्यालो माडीको घोषणा गरिने छ । आगामी दुई बर्षभित्र डिप बोरिङ गरी हरेक घरमा स्वस्थ सफा र शुद्घ पिउने पानी पु-याइने छ । तत्काल माडी क्याम्पसको स्तरोन्नती गरी स्नातकोत्तर (मास्टर्स) तहका साथै विज्ञान र प्राविधिक शिक्षा सञ्चालन गरिने छ । माडीका सबै मा.वि. मा ९-१२ मा प्राविधिक शिक्षा पठनपाठन गराइनेछ । सबै आधारभुत विद्यालयलाई अनिवार्य अङ्ग्रेजी र गुणस्तरीय शिक्षा एवं प्राथमिक तहमा अत्याधुनिक बालमैत्री (मन्टेश्वरी) कक्षा सञ्चालन गरिने छ । दराई, बोट, चेपाङ, तामाङ, दलित र परिचयपत्रका आधारमा विपन्न र सुकुम्वासी समुदायका वालबालिकाहरुलाई उच्च शिक्षा निःशुल्क व्यवस्था गरिनुका साथै समग्र विकासको प्याकेज कार्यक्रम सञ्चालन गरिने छ । दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय निर्माण गरी सञ्चालनमा ल्याइने छ । २४सै घण्टा डक्टरको उपस्थितिमा माइनर अप्रेसन समेत गर्न मिल्नेगरी बसन्तपुरमा ५१ सैयाको हस्पिटल निर्माण गरी नौवटै वडाहरुमा प्राथमिक स्वास्थ्य केन्द्रको स्थापना गरिने छ । दाँत, आखा र प्रसुती सेवाका निम्ति छुट्टै उपचार केन्द्रहरु निर्माण गरिने छ । सुविधा सम्पन्न ५ थान एम्वुलेन्स सहित एक ब्लड बैंकको व्यवस्था गरिने छ । परिचय पत्रका आधारमा विपन्न वर्गका जनताको सवै खाले उपचार निःशुल्क गरिने छ । वर्गका आधारमा मालपोतको व्यवस्था गरिने छ । बाँदरझुला, कुसुमखोला, पौहारी, छरछरे, कान्तिपुर, मजुवा, ढिकुरबारी, बनकट्टा आदि ठाउँका जनताको वास्तविकता अध्ययन गरी सुकुम्वासी र बाढीपीडितहरुलाई उचित बसोबासको व्यवस्था मिलाई लालपुर्जा वितरण गरिने छ । सिमरा र अमेलिया गाउँलाई रीउ नदी वारी व्यवस्थित एवं नमुना गाउँ बनाई सारिने छ । पाँचपाँण्डव द्रौपतीनगर सितलपुर छरछरे ढुकुरबारी मझुवा स्याउलीवास घोसरी लक्ष्मीनिवास लगायतका वस्ती साथै अन्य क्षेत्रका ऐलानी पर्ती जमिनमा बसोवास गर्नेलाई लालपुर्जा वितरण गरिने छ । मोही आन्दोलनवाट स्थापित मोही अधिकारको संरक्षण गरिने छ । मोही किसानलाई लालपुर्जाको व्वस्था गरिने छ । आदिवासी (थारु) जातीको संङ्ग्रहालय निर्माण गरिने छ । थारु जातीको भाषा, साहित्य र सँस्कृतिको जगेर्नाका गर्नका लागि विशेष कार्यक्रम ल्याइने छ । अपाङ्गहरुको पहिचान गरी ह्वील चेयर लगायतका साधन वितरण गरी जीवनयापन भत्ता दिइने छ । आगामी विकास निर्माणका पुर्वाधारहरुलाई अपाङ्ग मैत्री बनाइने छ । बसन्तपुरमा अन्तराष्ट्रिय स्तरको खेलकुद स्टुडियम निर्माण गर्ने तथा बरुवा, बगहीँ, कल्याणपुर र बनकट्टामा उच्च स्तरीय खेल मैदान निर्माण गरिने छ । नौ वटै वार्डमा कवर्ड हलको निर्माण गरिने छ । माडीको छरछरेमा अत्याधुनिक एवं सुविधासम्पन्न बृद्धाश्रम बनाइने छ । ठोरी केरुङ अन्तरदेशिय लोकमार्गलाई माडीबाट लैजाने व्यवस्था गरिने छ । ठोरी नाकालाई स्तरोन्ती गर्न स्थानिय तहहरुका बिच समन्वय गरी अन्र्तदेशीय आर्थिक कारोवारको ट्रान्जिट पोइन्टको रुपमा स्थापना गरिने छ । आयमुलक र शीपमुलक कार्यक्रम तथा घरेलु र साना उद्योगहरुलाई अगाडि बढाइने छ । राष्ट्रिय निकुञ्जबाट हुने जंगली जनावरको बस्तीप्रवेश रोकथामका लागि विद्युतीय तारवार गरी भए गरेका क्षतीप्रति दुई हप्ताभित्र सतप्रतिशत क्षतीपुर्तिको व्यवस्था गरिने छ । बन्यजन्तु आक्रमणबाट जीउज्यान क्षती हुँदा न्यूनतम् दश लाख क्षतीपुर्तीको व्यवस्था गरिनेछ । राष्ट्रिय निकुञ्जका ऐनहरुले जनमैत्री हुनेगरी शंसोधन गर्न पहल गरिनेछ । जैविक विविधता संरक्षण र जलवायु परिवर्तनका असरहरुलाई कम गर्न अनुकूलन कार्यक्रमहरु सञ्चालन गरिनेछ । दिवाकर बाटिका, एकता स्तम्भ, छरछरे मितेरी पार्क र सहिद स्मृति पार्कको निर्माण कार्य पुरा गरिने छ । एक वडा एक विशेष कृषि उत्पादन इकाई स्थापनाको नीति अनुरुप प्राङ्गारिक कृषि उत्पादन कार्यक्रम सञ्चालन गरि कृषकहरुको आयस्तर विकास गरिनेछ । मत्स्य, फलफुल, पशुपालन, तरकारी खेतीलाई पकेट क्षेत्रका रुपमा विकास गरी अनुदानको व्यवस्था गरी किसानहरुलाई व्यवसायप्रति उत्साहित गरिने छ नदीकिनारका बगर क्षेत्रमा एकल एवं कृषि सहकारीहरुमार्फत बगर खेती कार्यक्रम सञ्चालन गरिनेछ । खेतीयोग्य जमीनहरुमा डिप बोरिङ्, थोपा सिंचाई लगायतका सिंचाइको व्यवस्था मिलाइनेछ । रेवा नदी किनारमा पाण्डवनगर, अमिलिया, धोवाहा, सिमरा र बगहीँलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गरिने छ । राष्ट्रिय निकुञ्ज र त्यहाँका जनावरको अवलोकनका लागि भ्युटावरहरु निर्माण गरिनेछ भने भ्युटावरको वरपर ‘वाल्ड लाइफ क्याम्प’ मोडलका होमस्टे र होटल सञ्चालन गरिनेछ । माडीका ठाडा खोलाहरु जमिनभन्दा माथि उठ्दैछन् । त्यसलाई हल गर्न माडी नगरपालिकाको मातहतमा रहनेगरी स्थानीय जनताको समेत सेयरमा ठूला क्रसर उद्योग सञ्चालन गरिनेछ । सहकारीमार्फत चिरानी (स-मिल) उद्योग सञ्चालन गरिनेछ । फोहोरमैला व्यवस्थापन गर्न आधुनिक डम्पिङ्ग साइडको निर्माण गरिनेछ । सहिद तथा योद्धाहरुको स्मृतिमा पार्क, हरेक वार्डमा पिकनिक स्पट र बाल उद्यानको निर्माण गरिनेछ । माडीलाई नगर विकासको मापदण्ड अन्तरगत सुन्दर र समृद्ध माडी बनाइने छ । बृद्धभत्ता लगायत अन्य सामाजिक सुरक्षा भत्ताहरु थप गरी वितरणको व्यवस्था सहज र सर्वसुलभ बनाइने छ ।

यस्ताे बनायाे राजपाले निर्वाचन घोषणा–पत्र

काठमाडौं, भदौ २० । राष्ट्रिय जनता पार्टीले चुरे क्षेत्र र नदीको व्यवस्थापनसहित डुबान क्षेत्रको विकासका लागि डुबानपीडित राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गर्ने नारासहित निर्वाचन घोषणा–पत्र तयार गरेको छ । राजपाको निर्वाचन घोषणा–पत्र तयारी समितिको मस्यौदामा चुरे क्षेत्रको व्यवस्थापन, स्थानीय कला, संस्कृति, पर्यटनलाई जोड दिएको छ । घोषणा–पत्र राजपाको पदाधिकारी बैठकमा छलफल भए पनि औपचारिक रूपमा सार्वजनिक भने भएको छैन । घोषणा–पत्रका कांग्रेस, एमाले, माओवादी केन्द्र र मधेसकेन्द्रित दललाई हेर्ने दृष्टिकोणबारे पनि व्याख्या गरिएको छ । दाइजो प्रथाको विरोध राजपाको निर्वाचन घोषणा–पत्रको मस्यौदामा ‘दाइजो प्रथालाई फौजदारी अपराधको दायरामा ल्याउने’ प्रतिबद्धता व्यक्त गरिएको छ । साथै, उसले लैंगिक आधारमा हुने भ्रूण पहिचान तथा भ्रूण हत्याका लागि कठोर कानुनको निर्माण तथा कार्यान्वयन गर्ने प्रतिबद्धता पनि उल्लेख गरेको छ । सेनामा सामूहिक प्रवेश  राजपाको निर्वाचन घोषणा–पत्रमा नेपाली सेना र प्रहरीमा मधेसीको जनसंख्याका आधारमा सामूहिक प्रवेशका साथै समानुपातिक समावेशी गराइने उल्लेख गरेको छ । साथै, उसले भनेको छ, ‘नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र प्रादेशिक प्रहरीको संरचना प्रदेशको जनसंख्या प्रतिनिधित्वसरहको हुनेछ ।’ भ्रष्टाचारको नेतृत्वकर्ता माओवादी राजपाको निर्वाचन घोषणा–पत्रमा माओवादी केन्द्र लोकतान्त्रिक प्रणालीमाथि विश्वास नराख्ने पार्टी भनेर व्याख्या गरेको छ । उसले माओवादी केन्द्र अधिनायकवाद र सर्वसत्तावादमा विश्वास राख्ने हुनाले संघीयता विरोधी भनेर निष्कर्ष निकालेको छ । माओवादीबारे मस्यौदामा भनिएको छ, ‘मुलुकमा व्याप्त दण्डहीनता, भ्रष्टाचार, असुरक्षा, अशान्ति एवं अराजकता मुख्य रूपले नेकपा माओवादी केन्द्रकै कारण हावी भएको हो ।’ दुई फोरम कस्ता ? राजपाले मधेसकेन्द्रित पार्टीहरूमा संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिकलगायत पार्टीहरू व्यक्तिगत स्वार्थमा केन्द्रित दलको रूपमा व्याख्या गरेको छ । उनीहरूले मधेस र मधेसीको बेइजती गरेको गम्भीर आरोप पनि लगाइएको छ । जम्माजम्मी तीन वाक्य लेखेर राजपाले ती दलबारे ‘थप उल्लेख गरिरहनु हामी आवश्यक ठान्दैनौँ’ भनेर टुंग्याएको छ । राजपाका संकल्प -बाढीबाट हुने क्षतिलाई दीर्घकालीन समाधान गर्न चुरे क्षेत्रमा वृक्षरोपण गर्ने, वन कटानीलाई रोक्ने, चुरे वनदेखि सीमासम्म खोलाहरूमा दुवैतर्फ तटबन्ध गर्ने, प्रत्येक दुई वर्षमा सबै खोलाहरूलाई खन्ने र यस वर्ष बाढीबाट भएको क्षतिको यकीन गरी तत्काल बाढीपीडित पुनर्निर्माण प्राधिकरण गठन गरी मधेसमा आधुनिक भवनहरू निर्माण गर्ने । – मधेसको भूमि कृषिजन्य भएको हुनाले प्रत्येक गाउँपालिका÷नगरपालिकामा मलखाद, बिउविजन सेन्टर, बाली पशु चिकित्सक र चिकित्सकको निम्ति भेटनरी सेवा उपलब्ध गराउने । – प्रत्येक गाउँपालिका, नगरपालिकाको प्रत्येक वडा कार्यालयमा लाइब्रेरी, इन्टरनेट र वाइफाईको सेवा उपलब्ध गराउने । -सिँचाइका लागि नहर, डिपबेल र स्यालो ट्युबबेलको व्यवस्था गर्ने । -सबै सरकारी विद्यालयमा छात्रछात्राका लागि पौस्टिक आहारको व्यवस्था गर्ने । -गरिबीको रेखामुनि रहेका र दलित परिवारहरूलाई सहिद आवास योजनाअन्तर्गत आवासको व्यवस्था गर्ने । – बिदेसिएका युवालाई स्वदेशमै फर्काउन घर–घर रोजगारअन्तर्गत आफ्नो कुशलताअनुसार रोजगार गर्न केही अनुदान र ब्याजरहित ऋण उपलब्ध गर्ने । – आमा र शिशु मृत्युदर घटाउन प्रत्येक गाउँपालिका नगरपालिकाका प्रत्येक वडाहरूमा बर्थिङ सेन्टरको स्थापना गर्ने । – दहेजविरुद्ध अभियान चलाउन विनालेनदेन आदर्श विवाह गर्ने जोडीलाई २५ हजार सहायता प्रदान गर्ने । – कल, ह्यान्ड पम्पबाट आउने पानीलाई आर्सेनिक, आइरन र म्यागनिजमुक्त गर्न उपायहरू अवलम्बन गर्ने । – शारीरिक व्यायाम र स्वास्थ्यको निम्ति खेलकुद आवश्यक भएको हुनाले प्रत्येक गाउँपालिका र नगरपालिकाहरू को वडामा खेलकुद -लामखुटेबाट विभिन्न रोगहरू लाग्ने हुनाले त्यसको न्यूनीकरणको निम्ति स्प्रेको व्यवस्था गर्ने । – लोडसेडिङमुक्त मधेस हाम्रो संकल्प हो । -प्रत्येक वडास्तरमा पोलहरूमा सोलार लाइटको व्यवस्था गर्ने । मधेसमैत्री नभएको पार्टी कांग्रेस घोषणा–पत्रमा कांग्रेसप्रति राजपा सकारात्मक देखिएको छ । अरू पार्टीबारे लामो व्याख्या गरेको राजपाले कांग्रेसबारे भने जम्मा एक वाक्य लेखेको छ । ‘कांग्रेस लोकतान्त्रिक पार्टी भएर पनि संघीयता र समावेशी लोकतन्त्रका लागि प्रतिबद्ध छैन र मधेसमैत्रीसमेत होइन,’ घोषणा–पत्रमा लेखिएको छ । संघीयता विरोधी एमाले राजपाको विश्लेषणमा एमाले संघीयता र समावेशीकरणका विरोधमा रहेको ढुलमुले चरित्र बोकेको मधेसप्रति अनुदार पार्टी हो । उसले एमालेलाई संघीयता विरोधी भनेर टिप्पणी गर्दै शासक वर्गहरूकोे वर्चस्व भएको मधेस विरोधी पार्टी भनेर लेखेको छ । मदरसा शिक्षालाई मान्यता राजपाले आफ्नो घोषणा–पत्रमा उच्चस्तरीय स्थायी मदरसा शिक्षा समिति गठन गराउन प्रयत्न गर्ने उल्लेख गरेको छ । राजपाले भनेको छ, ‘मदरसाबाट प्राप्त प्रमाण–पत्रलाई समकक्षी स्कुल, कलेज र विश्वविद्यालयहरूको प्रमाण–पत्रसरह मान्यता प्रदान गराइनेछ । साथै राजपाले हजरत मोहम्मदको जन्मदिन, सबै बारात तथा मोहर्रमका अवसरमा सार्वजनिक बिदा घोषणा गराइने पनि उल्लेख गरेको छ ।

प्रेमकथाः अधुरो प्रेम

केशव सिंह धामी कुरा केही महिना अगाडिको मात्र हो, जतिखेर म आफ्नो यौवनतामा साउने भेल सरी बगेकी थिए । केबल कसैसँग माया प्रेममा लिप्त भई भौतारिँदै दिनरात साझ बिहान प्रत्येक क्षण केबल हामीबीचको सम्बन्ध अनि ती बितेका कहाली लाग्ला रातलाई सँम्झिरहेकी छु अनि त्यही प्रतिबिम्बलाई अँगाल्दै बसेकी छु । म एक साधारण लेखपढ गरेकी गाउँमा बस्दै गरिएकी केटी थिए, जतिखेर मेरो उमेर १९ वसन्त पार गरी २० औं वर्षे जवानीमा हिँडिरहेकी थिए । म एसएलसी सकी पल्स टु पढ्न भनि शहर छिरेकी थिए । शहरमा डेरा लिई बस्न पुगे । मेरा ति दिन बिहान कलेज गई फर्कने अनि कोठामा नै एकान्तमा बस्ने मेरा नित्य कर्मका दिनहरू कलेज गएर नै बित्दै गए । कुनै दिन मसँग पढ्ने साथी जो जवान केटाले मलाई प्रेम प्रस्ताव राख्यो त्यो मान्छे को कसरी बयान गरु हरबखत उस्कै याद आउँछ, जवानीले मातेको त्यो केटा सलक्क परेको जिउडाल, नम्र एव् मिठो बोली, सुन्दर चेहराले पहिलो भेटमा नै उस्को एक शब्द बोलीले नै म प्रभावित भए । तर त्यती खेर नै मैले त्यो प्रस्ताव लाई हुन्छ भनिन । दिन बित्दै गए उसँगको भेट दिननुदिन हुदै गए, हामी कलेजमा पढ्दाको क्षणमा पनि सरले बिषय बस्तुमा लेखी रहदा मेरो कपी मागी मेरो कपीमा मायाका कुरा को चिठ्ठी मेरो कापीमा लेखी छोड्थ्यो । त्यो पल त अहिले पनि झल झल्ती याद आईरहन्छ । हामीबीचको सम्बन्ध बिस्तार बिस्तारै माया पनि बिस्तारिदै गयो, आपसमा नजिकिदै गयो आपसमा धेरै नजिकिँदा माया पनि बढ्दै गयो, आपसमा माया बसेछ पत्तै भएन । दिन, हप्ता अनि महिना बित्दै गए, उस्ले पनि मलाई ओधीनै माया गर्दै गयो, हामीबीचको सम्बन्ध बारे अरु सहपाठी साथीहरूलाई पनि अलिक थाहा भएजस्तो लाग्यो, हामी शनिबारको बिदाको दिन कहिले पार्क त कहिले फिलिम हेर्न सिनेमा घरसम्म जान पछि परेनोँ । दिनदिनै भेट नहुँदा कतै केही बिर्सेको जस्तो भान हुन थाल्यो । ऊ पनि सधै जिन्दगीभर साथ दिनुपर्छ भनी कयौँ दिन सधैको भेटमा त्यही शब्दले आखाँ गाडेको थियो । म केबल तिमीलाई नै चाहन्छु भनिरहन्थ्यो । मैलै पनि उस्को प्रेम प्रस्तावलाई स्वीकार्न विवश थिए । किनकि म पनि ऊबिना पलभर पनि बाच्न नसक्ने अवस्थामा पुगिसकेकी थिए। मैले पनि हरेक पल उस्कै ना लिईरहन्थे, ऊप्रतिको मेरो माया शिवजीलाई पार्वतीले माया गरेजस्तै हुन पुगेछ । हामी कहिले कतै टाढै जान्थ्यो त कहिले नजिकै रहेको मन्दिरमा सँगै बाच्ने सँगै मर्ने कसम खान पछि परेनोँ । मेरो निधारमा उस्कै कहिले न मेटिने टिका थापिदियो । म त्यही दिनको पर्खाईमा थिए जुन दिन मेरो सिउँदो भरी मेरो माया गर्ने मान्छे को नै होस भन्ने चाहन्थे र मन मनै सोचिरहेकी थिए । माया भन्ने चिज यस्तो हुँदो रहेछ, जस्लाई अँगाली सकेपछि कहिलै न रित्तिएला झै माया लाग्न थाल्यो । मनमा अनेकन थरीका कुराहरू खेल्न पुगे । उस्ले पनि आज डेरामा न बसी कतै टाढा गएर बसोँ भन्न थाल्यो मैले पनि मुखले त नाई भनेकी थिए तर मनले हुन्छ भने जस्तै थियो त्यो पल । हरेक दिन भन्थ्यो सँगै जादा होस की फोनमा घण्टोँ सम्मको कुरामा सधै मलाई टाढा बसोँ न भनि रहन्थ्यो त्यो दिन मैले पनि हुन्छ भनि दिए, र हामी कुनै नयाँ ठाउँको होटेलमा बस्न पुगेम । अनि हामी बिचको माया अनि त्यो बैसालो जवानीले मातेका दिनले अरु केही पनि देखेन केबल आपसी माया अनि मन मुटुको मायालाई अँगालो मा बाधीएर सुमसुम्याउदै बाकी के क भयो त्यो सबै भनि राख्नु पर्दैन होला । हामी बिचको त्यो टाढाको होटेलको त्यो रात जिन्दगी भरको लागि भुल्न नसकिने क्षण बन्न पुग्यो । हामी बिचमा माया साटासाट भयो । हामीमा सधै सधैका लागि एक हुने बाचा कसम देखीलिएर सारा सँसार अँगालोला बाधीएर आपसी मायामा मात्र सिमित देख्न पुगे । यो दुनियामा मेरो प्रियतम र म बाहेक अरु कोही छैन जस्तो लग्यो, र हामी बिचको त्यो योनिक सम्बन्धले पनि साताब्यापी रुपमा अगाडि बढ्दै गयो । माया लाई सधै सधै सम्मलाई पनि हामी यसरी नै मन देखीनै नजिकिई दुई न भई एक मुटुनै चलिरहेको छ भन्ने भान हुन पुग्यो । हामी बिचको सम्बन्धले पल्स टु पढ्दाको दिन सम्म हासी खुसी नै भई रहेको थियो । हाम्रा दिन हरू अगाडि बढ्दै रहे, हाम्रो मायाले पनि शिखरको चुली टेक्न पुग्यो । मायामा नै हाम्रा दिन रात साझँ बिहान बितेको थाहा भएन, मन मस्तिस्कमा उहि बिताएका दिन रात को मत्र याद आईरहेको छ । के माया यही नै हो तभन्ने कुरा आफै माथि प्रश्न गर्न पुगे । एक मनले त कतै म उल्टो बाटोमा त छैन भन्छु अर्को मनले यो कुरा त जिन्दगीमा एक चोटी हुनेनै कुरा हो पनि भनेर मनमा अनेक थरीका कुरा हरू खेलाउदै रहन्थे । के माया गर्नु गल्ती हो र भन्ने प्रश्न आफै माथि उभ्याउन पुग्थे तर जे भए पनि हामी बीचको माया गङ र मासु झै टासिएको थियो । पहिलो वर्ष सकिएको पत्तै भएन अनि दोस्रो वर्षको परीक्षा दिई घर तिर फर्कनु पर्ने थियो, रो प्रेमी त्यही शहरमानै बस्ने हुनाले म उस्लाई छिट्टै फर्केर आउछु भनि छुट्टिन अनुमति माग्दै थिए । ऊ त भन्दै थियो घरमा म पनि जान्छु अनि बुवा सँग तिम्रो हात मागी छिट्टै विहे गरुला भनि भन्दै थियो, तर मैले आफै घरमा भनुला भनि एक्लै जाने निधो गरे । बसपार्कमा आई बसको टिकेट काटिसकेकी थिए, गाडीले पनि आफ्नो टाईममा हर्न बजाउन पुग्यो, म बसमा चढ्नु भन्दा पहिला मलाई त्यही नेर अँगालो हाली आखाबाट बर्लीन धाराहरू बर्षीन पुगे उस्लेनी आफ्ना आखा माड्दै बिदाई का हात हल्लाउन पुग्यो । मेरो चढेको गाडी पनि आफ्ना पाङ्ग्राहरू अगाडि जान पुग्यो, हामी बिचमा केबल दुरी टाढिदै गयो, टाढिदै हातहरू आफ्नो ठाउँबाट हात हल्लाउन बाहेक अरु के नै हुन सम्भव छ र । मैले चढेको गाडी आफ्नै गतिमा हुईकिरहेको थियो । बरिखामास को समय मा दिननु दिन पानी बर्षीनै रहेको थियो । बाहिर तिर पानी झिम झिम्ती बर्षिरहेको थियो । बाटो अलिक चिप्लो थियो, अचानक म चढेको गाडी पल्टन पुगेछ, मलाई त्यसपछि केही थाहा भएन म बेहोस भएकिरहेछु थाहा नै भएन त्यही दिनको घटनामा ४ जनाले त्यही भिरमा नै शाहादत गर्न पुगेछन, म लगायत ६ जना घाईते अबस्थामा त्यही शहरको अस्पतालको बेडमा रहेछु । त्यो भन्दा अगाडि त थाहा नै थिएन म काहाँ छु भन्ने ।।। आज त्यही ह्वील चियरको साहेताले दिन रात काट्न पुगेकी छु । उता मेरो बारे केही थाहाँ नहोस भनी मैले मेरो फोनमा आएका हजार बार गरेका फोनका घन्टीहरू एव् एसएमएस को केही पनि रिप्लाई गर्न मन लागेन । उस्ले प्रतेक पल फोनबाट सम्झी रहन्थ्यो तर मैले फोन रिसिब नै गरिन मेरो विवसता लाई उस्ले केही थाहाँ नपावस उँस्ले पहिलेकै जस्तै जिन्दगीभर सम्झी रहोस भन्ने चाहान्थे, सपना बाट विउझीएको जस्तो भान नहोस भन्ने चाहन्थे र उस्को बेवास्ता गर्न पुगे ।मेरो प्रेमीलाई मेरो अपाङ्गता बारे थाहाँ नहोस उहाँको पहिले को प्रेमका छैन भन्ने भान होस उहाँको त्यो तन्दुरुस्त जीउजानको लागि आफूले नै सहि छैन भनी ठाने, तेसैले उहाँलाई फोन पनि गर्न पनि मन लागेन । मनले त नेको थिएन तर उहाँको लागि भए पनि टाढिनु पर्छ भन्ने लाग्यो र मेरो विवसता किन अरुको खुसी जिन्दगीमा दुःख थप्ने भन्ने भान भयो । एक दिन उहाँ मोटरसाईकलमा आईरहेको थियो, म लगायत मेरा साथीहरू ह्वील चियरमा त्यही शहरको मोडमा अगाडि हिन्दै गरेको अवस्थामा भेटायो र टाढाबाटै मेरो शरिरमा चियाउन पुग्यो मैले न देखेझै गरी आफ्नो बाटो हिन्दै थिए, उस्ले हतार हतार बाईक रोकी मेरो अगाडि आएर मेरो अँगालो हाल्न पुग्यो र मैले पनि विगतका कुराहरूलाई जुन दिन बसपार्कबाट टाढिएका थियौ त्यही दिनदेखि भेट नभएको महिनौ भएको थियो, त्यसपछि मलाई आफ्नो घर जानको लागि मरिहत्ते गर्यो, मैले पहिलेको मायालाई केही कमी राखेको छैन भन्दै सबै कुरा भन्दै थियो । मैले पनि भन्दै गरे मैले हजुरलाई भुलिसके भनि दिए रत उहाँलेले जे जति बिर्सेपनि मानिरहेका थिएनन् । म सोच्थे की मेरो साहारा मेरो माया गरेको मान्छे न बनोस, मेरो मायालु मेरो कारणले दुःखमा नपरिस भन्ने भान भयो तर उस्ले मान्दै मानेन अन्तत् मैले हारे उहाँको म प्रतिको माया रत्तिभर पनि कमी भएको रहेनछ भन्ने ठाने र विवश भए उहाँसँग नै जीवन बिताउन । उहाँले आजकल पनि पहिलेको माया प्रिती लगाउँदाको क्षणहरूको याद दिलाईरहन्छन् । आजकल पनि हामीबीचको सम्बन्धले पनि आउ समाजको सामु उदारणिय बन्न पुगेका छौ । माया भन्ने कुरा धनि गरिब कालो गोरो राम्रो नराम्रो न भएर मन मुटुदेखी माया हुदो रहेछ भन्ने आभास आज मैले मेरो जिन्दगीमाथि भोगिरहेकी छु ।।। ।

यी दुई व्यक्ति रातारात अर्बपति बने

फाल्गुन २१ । प्रयोगकर्ताले हेरेपछि म्यासेज डिलिट हुने सुविधाको मोबाइल एप्लिकेसन स्न्यापच्याट युवापुस्तामाझ लोकप्रिय भयो र यसका संस्थापक इभान स्पेगल र बोबी मर्फीलाई विश्कै कान्छो अर्बपतिको रुपमा उभ्यायो । स्न्यापच्याटले पब्लिक आइपीओ खोलेलगत्तै यसको कम्पनी भ्यालू २८ बिलियन डलर पुगेको छ । १७ डलर प्रति सेयरबाट खोलिएको सेयर ४१ प्रतिशत बढेर २४ डलर प्रतिसेयर पुगेको थियो । अमेरिकाको टेक्नोलोजी राजधानी मानिने सिलिकन भ्यालीबाट टाढा रहेको भेनिस सहरमा रहेका यो कम्पनी भर्खरै पब्लिक कम्पनीमा गएको छ । कम्पनी पब्लिकमा गएलगत्तै यसका संस्थापकद्वय अर्बपति बनेका छन् र उनीहरुको चर्चा जताजतै छ । डिभोर्सी अभिभाभकबाट हुर्किएका स्पाइगेलको जीवन अहिले एकाएक चर्चाको शिखरमा छ । उनको अभिभाभावकले दर्ता गरेको डिभोर्स फाइलका अनुसार १७ वर्षीय स्पाइगेलले अभिभावकसँग मासिक २ हजार डलर भत्ता मागेका थिए । स्ट्याण्डफोर्ड विश्वविद्यालयमा सन् २०१३ मा भएको एक सम्मेलनमा स्पाइगेलले परिवारको कारण आफू स्ट्याण्डफोर्डमा भर्ना हुन पाएको र लगत्तै सफ्टवेयर कम्पनी इन्ट्युटमा कामको अवसर पाएको बताएका थिए । उनले इनर्जी ड्रिक्स कम्पनी रेडबुलमा इन्टरसिप गरेका थिए । उनले प्रडक्ट डिजाइनमा डिग्री लिनुअघि नै स्न्यापच्याटको लागि पढाई छाडेका थिए । यदि स्पाइगल स्न्यापच्याटको देखाउने मुहार हुन् भने अर्का संस्थापक बोबी यसको मस्तिष्क हुन् । स्न्यापका २८ वर्षीय टेक्निकल डाइरेक्टरलाई स्न्यापच्याटलाई हिट बनाउने सफ्टवेयर डिजाइनको जस जान्छ । बोबीको बारेमा फोब्र्सले प्रकाशित गरेको जानकारीअनुसार उनका अभिभाभवक सान फ्रन्सिस्कोमा सरकारी कर्मचारी थिए । र, बताइएअनुसार बोबीकी आमा फिलिपिनी मूलकी हुन् । स्पाइगेल र बोबी स्ट्याण्डफोर्डमा भेटिएका थिए र संयुक्तरुपमा स्न्यापच्याटको स्थापना गरेका थिए । ‘हामीले सोच्यौं कि हेरेपछि डिलिट हुने फोटो बनाउनु राम्रो हुनेछ’, स्ट्याण्डफोर्डमा सन् २०१३ मा भएको सम्मेलनमा स्पाइगेलले भनेका थिए । तर, कम्पनीको स्थापनाको क्रममा के भयो भने अर्का एक जना रेगी ब्राउनले आइडिया सेयर गरेपछि स्न्यापच्याट कम्पनीबाट अलग्याइएको भन्दै मुद्दा दाय गरे । उनले स्न्यापच्याटको लोगो र सुरुमा राखिएको पिकाबो नाम आफ्नो आइडिया भएको दाबी गरेका थिए । यो मुद्दाको निश्कर्ष बाहिर सार्वजनिक भएको छैन् तर सन् २०१४ मा स्न्यापच्याटले एक नाम सार्वजनिक नगरिएको व्यक्तिलाई १ सय ५७ दशमलब ४ मिलियन डलर पैसा तिरेर बौद्धिक सम्पतिको मुद्दा मिलाएको दाबी गरिएको छ । सन् २०१३ मा फेसबुकले ३ बिलियन डलर तिरेर स्न्यापच्याट किन्न खोजेको प्रस्ताव अस्वीकार गरेलगत्तै स्न्यापच्याटले ति नाम नखुलाइएको व्यक्तिलाई त्यति धेरै रकम तिरेका थिए । फोब्र्सको अनुमानअनुसार स्पाइगेल र बोबी ४–४ बिलियन डलरका मालिक हुन् । सिलिकल भ्यालीको ट्रेण्डअनुसार पब्लिक सेयरमा जाने निर्णयले यी दुवैको कम्पनीमा अधिकार कम हुने छैन् यसले स्वामित्व बाँडफाड मात्रै हुनेछ किनकी सेयर किन्नेहरुलाई भोटिङ राइट हुनेछैन् । सन् २०११ मा लञ्च गरिएको पिकाबो नामक मोबाइल एप्लिकेसन्सलाई लगत्तै स्न्यापच्याट नामाकरण गरिएको थियो र लगत्तै यसले किशोर प्रयोगकर्ताको माझ लोकप्रियता कमायो किनभने अर्को प्रयोगकर्तालाई पठाएको फोटो हेर्नेवित्तिकै डिलिट हुने भएपछि उनीहरुलाई भविष्यमा त्यसले कुनै समस्या निम्त्याउला भन्ने डर हुने थिएन् । तर, यो सुविधाको साइड इफेक्ट के भयो भने यो यो ‘सेक्सटिङ’ एपको रुपमा लोकप्रिय भयो जसमा किशोर प्रयोगकर्ताहरु आफ्नो संवेदनशील फोटोहरु पठाउन सहज मान्न थाले । गत वर्षको अन्त्यतिरको तथ्यांकअनुसार दैनिक एकसय ६१ मिलियन मानिसले दैनिक स्न्यापच्याट चलाउँछन् । केही समयअघि मात्रै स्न्यापच्याटले क्यामेरासहितको चश्मा सार्वजनिक गरेको छ । जसले भिडियो क्लिप खिचेर सोझैं स्मार्टफोनको सहयोगमा सोसल मिडियामा सेयर गर्न सक्छ । साथै, कम्पनीले क्यामेरा स्मार्टफोन बनाउने तयारीमा समेत छ । स्न्यापच्याटका अधिकांश प्रयोगकर्ता १८ देखि ३४ वर्ष उमेर समूहका छन् ।  

एकीकृत समाजवादीको दशौँ महाधिवेशन आजदेखि

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को दशौँ महाधिवेशन आज (आइतबार) देखि सुरु हुँदै छ । महाधिवेशन काठमाडौंको प्रज्ञा भवनमा हुने छ। महाधिवेशनको उद्घाटनमा बिहान ११ बजे भृकुटीमण्डपमा भेला भई र्‍याली निकाल्ने कार्यक्रम रहेको छ । नेकपा (एमाले)बाट विभाजन भएको तीन वर्ष नपुग्दै महाधिवेशन गर्न लागेको हो । महाधिवेशन तयारीका सन्दर्भमा गत बिहीबार बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष पद थप गर्ने निर्णय गरेको छ। त्यस्तै, यो महाधिवेशनबाट केन्द्रीय कमिटी २९९ बनाइने निर्णय गरेको हो। महाधिवेशन यही असार २० गतेसम्म चल्नेछ।