प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै छ । बैठक संसद् भवन नयाँबानेश्वरमा आज बिहान ११ बजे बस्ने छ ।
बैठकमा सभामुख देवराज घिमिरेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै, सो बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन( विधेयक, २०८० प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
आज हरितालिका तीज : यसरी मनाउँदै हिन्दु नारीहरूले यो पर्व
काठमाडौं । हिन्दु नारीहरुले आज हरितालिका तीज पर्व मनाउँदैछन् । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाइन्छ । हिजो आइतबार दर खाएर बसेका महिलाहरु आज सोमबार दिनभर निराहार ब्रत बसेर भगवान महादेवको पूजा आराधना गर्ने गर्दछन् । तीजमा पशुपतिनाथसहित देशभरका शिवालयहरुमा पूजाआजा गर्ने महिलाहरुको बिहानैदेखि भीड लागेको छ । यस पर्वमा ब्रत बसेर शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले पशुपतिनाथ, गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरू भएको पौराणिक मान्यता छ । विवाहिता महिलाहरूले अटल सौभाग्य तथा सन्तान प्राप्ति र अविवाहित युवतीहरूले योग्य बरको कामना गर्दै तीजमा ब्रत बस्ने गर्दछन् ।
पेशी असार महिनाका लागि सरेपछि क्रिकेटर लामिछाने दक्षिण अफ्रीका प्रस्थान
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने दक्षिण अफ्रीका प्रस्थान गरेका छन्। सन्दीप सोमबार राति दक्षिण अफ्रीका प्रस्थान गरेका हुन्। सन्दीप दक्षिण अफ्रीका पुगेर नेपाली टोलीसँग सामेल हुने छन्। आइसीसी विश्वकप एकदिवसीय छनोटको अन्तिम तयारी गर्न नेपाली टोलीका अन्य खेलाडी दक्षिण अफ्रीका पुगिसकेका छन्। बलात्कार आरोपका कारण सर्वोच्च अदालतमा पेशी रहेकोले उनी गत मंगलबार टोलीका अन्य सदस्यसँग दक्षिण अफ्रीका गएका थिएनन्। तर, सन्दीपको पेशी असार २९ सम्मलाई सरेपछि उनी सोमबार दक्षिण अफ्रिका गएका हुन्। दक्षिण अफ्रीकामा नेपाली टोलीले दुई अभ्यास खेल खेल्ने तालिका रहेको छ। नेपालले जेठ २५ मा स्कटल्यान्डसँग र जेठ २७ मा नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्नेछ। अभ्यास खेलपछि नेपाल जिम्बावे जानेछ।
सुराकी खर्च कटौती सहित यस्ता छन् मन्त्रिपरिषद् बैठकका विभिन्न निर्णय
काठमाडौं । २०७९ चैत २० गते सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा मन्त्रिपरिषद् बस्यो । बैठकमा प्रधानमन्त्री प्रचण्डले १०० दिनमा भएका कामबारे चर्चा गर्नुका साथै मन्त्रीहरुलाई निर्देशन समेत दिएका थिए । साथै, बैठकले विभिन्न निर्णय गरेको छ ।हिजो बसेको सो बैठको निर्णय सरकारका प्रवक्ता एंव संचार मन्त्री रेखा शर्माले आज संचार मन्त्रालय सिंहदरबारमा पत्रकार सम्मेल आयोजना गरी सार्वजनिक गरेकी हुन् । यस्ता छन् बैठकका महत्वपूर्ण निर्णय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय १. विदेशी लगानी तथा प्रविधि हस्तान्तरण (पहिलो संशोधन) नियमावली, २०७९स्वीकृत गर्ने। गृह मन्त्रालय १. मिटरब्याजी समस्या सम्बन्धमा सिफारिस गर्न विशेष अदालतका पूर्व अध्यक्ष श्री गौरीबहादुर कार्कीको अध्यक्षतामा पूर्व नायब महान्यायाधिवक्ता श्री गणेशबावु अर्याल र पूर्व प्रहरी नायब महानिरीक्षक श्री उत्तमबावु सुवेदी रहेको जाँचबुझ आयोग गठन गर्ने। २. शान्ति सुरक्षासम्बन्धी कार्यमा हुने खर्चको मापदण्ड, २०७८ खारेज गर्ने। परराष्ट्र मन्त्रालय १.नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १५औँ बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिव नेतृत्वको नेपाली प्रतिनिधिमण्डल गठन गर्ने। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय १.सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची–२ मा हेरफेर गर्न स्वीकृति दिने। रक्षा मन्त्रालय १.नेपाल–भारत सुरक्षा सम्बन्धी द्विपक्षीय परामर्श समूह (Bilateral Consultative Group on Security Issues)को १५ औँ बैठक नेपालमा आयोजना गर्ने सैद्धान्तिक स्वीकृति दिने। वन तथा वातावरण मन्त्रालय १.पूर्व–पश्चिम लोकमार्गअन्तर्गत नारायणघाट–बुटवल सडक खण्डमा पर्ने राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने। २.जोगमाई क्यासकेड जलविद्युत आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने। ३. मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेत जिल्लास्थित बोटेचौर–भेडाबारी–धुलियाविट सडक खण्डको स्तरोन्नतिको लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने।
मुलुकलाई पुनःद्वन्दमा लैजाने स्वार्थको खेतिमा सर्वोच्च दुरुपयोग नहोस् : जनप्रगतिशील मञ्च कतार
काठमाडौं । बृहत शान्ति सम्झौता विपरित गएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’विरुद्ध रिट दर्ता गर्ने काम भएको भन्दै नेपाली जनप्रगतिशील मञ्च रास्ट्रिय समिति कतारले आफ्नो भम्भिर ध्यानाकर्षण भएको जनाएको छ । पछिल्ला घटनाक्रममा मुलुकलाई पुनः द्वन्दमा फसाएर आफ्नो अपराधिक स्वार्थको खेति गरिरहेका तत्वहरु सक्रिय भएको भन्दै त्यसप्रति अदालत सचेत हुनुपर्ने मञ्चले जनाएको छ । मञ्चले प्रचण्डको कुनै फरक प्रसंगमा दिईएको राजनीतिक अभिव्यक्तिलाई आधार बनाएर मुद्धा दर्ता गर्नुले आशंका जन्माएको भन्दै उक्त कदमको विरोध जनाएको हो । तत्कालिन नेकपा माओवादी र सात राजनीतिक दलका बिचमा बृहत शान्ती सम्झौता सम्पन्न भई मुलुक उक्त प्रकृयामा प्रवेश गरेको र बृस्तित शान्ति सम्झौता नेपालको अन्तरिम संबिधान २०६३ को अभिन्न अङ्ग बनिसकेको अवस्थामा पछिल्ला घटनाक्रमले गलत उदेश्यका साथ सम्मानित सर्वोच्व अदालत दुरुपयोग हुने त हैन भन्ने आशंका जन्मेको मञ्चका अध्यक्ष बुद्धि प्रसाद भण्डारीद्धारा जारी विज्ञप्तिमा भनिएको छ । साथै, नेपाली जनताको चाहना र हाम्रो संविधानको भावना विपरित हुने घटनाहरु अगाडी बढेमा जुनसुकै संस्था वा शक्ति भएपनि त्यसको कडा प्रतिवाद गर्ने मञ्चले चेतावनी दिएको छ । यस्तो छ विज्ञप्ति हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपर दायर भएको रिट निवेदनमा सम्मानित सर्वोच्व अदालतका माननीय न्यायाधिश ईश्वर खतिवडा र माननीय न्यायाधिश हरि फ्युयाल को संयुक्त इजलासबाट रिट दर्ता गर्ने मिति २०७९–११–१९ को आदेश प्रति नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को प्रवास संगठन नेपाली जनप्रगतिशील मन्च रास्ट्रिय समिति कतारको गम्भीर ध्यानाकर्षण भएको छ। हाम्रो मुलुकले प्राप्त गरेको गणतन्त्र, संघीयता, समावेशी, समानुपातिक, धर्म निरपेक्षता लगायतका उपलब्धिको जग १० बर्षे महान जनयुद्द र २०६२–२०६३ को जनआन्दोलन हो भन्ने कुरा सर्वविदितै छ। तत्कालिन नेकपा माओवादी र सात राजनीतिक दलका बिचमा बृहत शान्ती सम्झौता सम्पन्न भई मुलुक उक्त प्रकृयामा प्रवेश गरेको र बृस्तित शान्ति सम्झौता नेपालको अन्तरिम संबिधान २०६३ को अभिन्न अङ्ग बनिसकेको कुरा पनि स्पष्ट नै छ। द्वन्दकालिन अवस्थामा भएका घटनाहरुको छानबिन र निरुपणको लागी नेपालको संबिधान बमोजिम सत्यनिरुपण तथा बेपत्ता छानबिन आयोग गठन भई काम कारबाही अगाडी बढेको कुरा पनि सार्वजनिक नै छ। यसका बाबजुद हालैको सर्वोच्वको उक्त आदेशले हाम्रो पार्टीका अध्यक्ष कमरेड प्रचण्डको कुनै फरक प्रसंगमा दिईएको राजनीतिक अभिव्यक्तिलाई आधार बनाउदै गलत उदेश्यका साथ सम्मानित सर्वोच्व अदालत दुरुपयोग हुने त हैन भन्ने आशंका जन्मेको छ। मुलुकमा शान्ती बहाल हुन नदिन, जनयुद्द र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई नष्ट गर्न यसको शुरुयात देखिनै बिभिन्न व्यक्ति र शक्ति केन्द्रहरु लागि परेको कुरा न्यायप्रेमी नेपाली जनताबाट लुकेको छैन। मुलुकलाई पुनः द्वन्दमा फसाएर आफ्नो अपराधिक स्वार्थको खेति गरिरहेका तत्वहरुसंग सम्मानित सर्वोच्व अदालत सचेत नै छ भन्नेमा हामी विश्वस्त छौं। कदाचित नेपाली जनताको चाहना र हाम्रो संबिधानको भावना बिपरित यस्ता घटनाहरु अगाडी बढेमा हाम्रो पार्टी र नेपाली जनताले जुनसुकै संस्था वा शक्ति भएपनि त्यसको कडा प्रतिवाद गर्ने र त्यस्ता अपराधिक तत्वको कुटिल चाल एवं दुषित मनसाय कुनै हालतमा पुरा हुन नदिने नेपाली जनतामा हामी प्रतिबद्दता व्यक्त गर्दछौं। अन्त्यमा मुलुकको स्थायी शान्ति र अग्रगमनका लागि बिगतका १२ बुँदे पक्षधर सम्पूर्ण गणतन्त्रवादी राजनीतिक दल नागरिक समाज, र न्यायप्रेमी जनसमुदाय लाई यस्ता शान्ति र संबिधान बिरोधी गतिबिधिहरुप्रती सचेत रहन र आवस्यकता अनुसार प्रतिबाद गर्न अपिल गर्दछौं। क्रान्तिकारी अभिवादन सहित !! बुद्धि प्रसाद भण्डारी अध्यक्ष तथा नेपाली जनप्रगतिशील मंच कतार परिवार।
२० औं सताब्दीका महान् खेलाडी पेलेको निधन
काठमाडौँ । २० औं सताब्दीका महान् खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । मृगौला र प्रोटेस्ट क्यान्सरबाट पीडित पेलेको बिहीबार अस्पतालमा निधन भएको हो । अल्बर्ट आइन्स्टाइन अस्पतालले उनको सबै अंगले काम गर्न नसकेको जनाएको अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन् । उनले ब्राजिललाई तीनपटक विश्वकप जिताएका थिए । चारपटक विश्वकप खेलेका उनले ६ दशकभन्दा बढी फुटबल खेलाडीको रुपमा बिताए । उनले आफ्नो २१ वर्ष लामो खेल जीवनमा विश्व कीर्तिमान १ हजार २ सय ८१ गोल गरे । ब्राजिलका लागि ९२ खेल खेल्दै उनले ७७ गोल गरेका छन् । उनी तीनपल्ट विश्वकप जित्ने एक्लो खेलाडी हुन् । पेलेले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जितेका थिए । सन् २००० मा फिफाले उनलाई दशकको खेलाडी घोषणा गरेको थियो । पेले पछिल्लो समय किड्नी र प्रोस्टेटको समस्याबाट गुज्रिरहेका थिए । सन् २०२१ को सेप्टेम्बरमा शल्यक्रियाबाट क्यान्सरको ट्युमर हटाइएको थियो । सन् २०२२ को नोभेम्बरयता उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उनकी छोरी केली न्यासीमेन्टोले आफ्ना बुबाको स्वास्थ स्थितिबारे सामाजिक सञ्जालबाट जानकारी दिइरहेकी थिइन् ।उनले आफ्नो इन्स्टाग्राम मार्फत प्लेको निधन भएको पुष्टी गरेकी हुन् । उनी आफूलाई फुटबलकै लागि जन्मिएको बताउने गर्थे । उनको निधनमा संसारभरका फुटबलप्रेमीहरुले शोक व्यक्त गरेका छन् ।
बैंककमा प्रतिनिधित्व जनाउने ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल-२०२२’ को घोषणा
भक्तपुर– मिस्टर मोडल अफ द वर्ल्ड नेपाल-२०२२ का लागि आवेदन खुला गरिएको छ । आयोजक संस्था प्याजेन्ट नेपाल इन्टरनेशनल र ब्राइट इभेन्ट म्यानेजमेन्टलेले शनिवार भक्तपुरमा पत्रकार सम्मेलन आयोजना गर्दै उक्त प्रतियोगिताका लागि पुरुष मोडलहरुलाई सहभागिताका लागि आह्वान गरेको हो । यो प्रतियोगितामा सहभागिता जनाउनका लागि मिस्टर मोडल अफ द वर्ल्डको आधिकारिक फेसबुक पेजमा गएर सम्पर्क गर्न सकिने छ । यो प्रतियोगिताा विजेताले थाइल्याण्डको बैंककमा यही नोभेम्बर महिनामा आयोजना हुने मिस्टर मोडल अफ द वर्ल्ड २०२२ मा नेपालको प्रतिनिधित्व गर्नेछन्, जसमा विश्वका विभिन्न देशका मोडलहरु सहभागी हुनेछन् । यसअघि सन् २०१८ मा सम्पन्न उक्त प्रतियोगितामा नेपालको प्रतिनिधत्व गरेका अभिनेता मोडल दिक्पाल कार्कीले मिस्टर ‘मोडल अफ द वर्ल्ड- २०१८’ को उपाधि जित्न सफल भएका थिए । सन् २०१९ मा भने मनोज गुरुङले उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका थिए । विगतमा अन्य प्रतियोगितामा छनौट भएका मोडलहरु पनि मिस्टर मोडल अफ द वर्ल्डमा प्रतियोगी हुने गरेकोमा अबदेखि मिस्टर मोडल अफ द वर्ल्ड नेपालका विजेतामात्र नेपालको तर्फबाट मिस्टर मोडल अफ द वर्ल्डमा सहभागि हुन पाउनेछन् । मिस्टर मोडल अफ द वर्ल्ड नेपालको अन्तिम प्रतियोगिता आगामी सेप्टेम्बर ३ मा हुनेछ भने त्यसका लागि शनिवारदेखि नै आवेदन खुला गरिएको छ । प्रतियोगिताबाट छनौट भएका विजेताले आगामी नोभेम्बर ३ देखि ७ मा थाइल्याण्डको बैंककमा हुने मिस्टर मोडल अफ द वर्ल्डमा भाग लिनेछन्, जसमा विश्वका विभिन्न देशका मोडलहरु सहभागी हुनेछन् । हेरिटेज प्यालेस, भक्तपुरमा आयोजना गरिने प्रतियोगिताका लागि आवेदन दिन इमेल ठेगाना [email protected] वा मिस्टर मोडल अफ द वर्ल्ड नेपालको फेसबुक पेजमार्फत सम्पर्क गर्न सकिनेछ । त्यसपछि आयोजकले पठाएको आवेदन फर्म भरेर प्रतियोगितामा सहभागी हुन सकिनेछ । मिस्टर मोडल अफ द वर्ल्डकै योग्यताको मापदण्ड अनुसार मिस्टर मोडल अफ द वर्ल्ड नेपालका लागि पनि योग्यताको मापदण्ड तोकिएको आयोजक संस्थाले जानकारी दिएको छ । १८ देखि ३२ वर्ष उमेर समुहका नेपाली नागरिकले यो प्रतियोगितामा भाग लिन पाउनेछन् । विदेशमा रहेका नेपाली नागरिकले समेत प्रतियोगितामा भाग लिन पाउनेछन् भने उचाई र शिक्षाको मापदण्ड तोकिएको छैन । विजेतालाई बैंककमा हुने मिस्टर मोडल अफ द वर्ल्ड प्रतियोगितामा सहभागी हुनका लागि सबै खर्च मिस्टर मोडल अफ द वर्ल्ड नेपालका आयोजकले नै व्यहोर्ने शनिवार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । मिस कस्मोपोलिटल वर्ल्ड २०१९ प्रिया रानी लामाद्वारा सञ्चालित शनिवारको घोषणा कार्यक्रममा आयोजक संस्थाका प्रतिनिधि तथा एन प्लस प्रोफेसनलकी ब्राण्ड एम्बासडर बीना श्रेष्ठ तथा मिस्टर मोडल अफ द वर्ल्डको आयोजक संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर समेत गरिएको थियो । एन प्लस प्रोफेसनलले मिस्टर मोडल अफ द वर्ल्ड नेपाल २०२२ को टाइटल प्रायोजन गरेको छ । मिस्टर मोडल अफ द वर्ल्ड नेपालका इभेन्ट डाइरेक्टर मोडल दिक्पाक कार्की रहेका छन् भने क्रियटिभ डाइरेक्टर मोडल अक्षय जंग रायमाझी रहेका छन् । म्यानेजिङ डाइरेक्टर आशिष नापित रहेका छन् भने इभेन्ट म्यानेजर राजन बुढाथोकी रहेका छन् । मार्केटिङ प्रमुख जोर्डन रहेका छन् । यसपटक बैंककमा मिस्टर मोडल अफ द वर्ल्डको तेश्रो संस्करण हुन लागेको हो । कोरोना महामारीका कारण २०२० र २०२१ मा भने प्रतियोगिता हुन पाएको थिएन ।
ओमान र टिमोरसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल
काठमाडौं । नेपालले एएफसी एसियन कप छनोट अघि कतारमा दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपालले कतारको दोहामा दुई मैत्रीपूर्ण खेल खेल्ने भएको हो । कतार फुटबल एसोसियनले बुधबार दुई मैत्रीपूर्ण खेल्ने तालिका सार्वजनिक गरेको छ । कतार एफएको अनुसार नेपालले जेठ १४ गते टिमोर लिस्टे र जेठ २० गते ओमानसँग खेल्ने जनाएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा० का महासचिव इन्द्रमान तुलाधरले भने मैत्रीपूर्ण पक्का भइनसकेको बताए । ‘हामीले मैत्रीपूर्णको तयारी गरिरहेका छौँ । तर, दुबै टिमसँग खेल्ने पक्का भईसकेको छैन,’ उनले भने ।
फर्जि मत विवादका कारण बाजुरा बूढीगङगाको मतगणना अझै अन्योल
बाजुरा। बाजुराको बूढीगङगा नगरपालिकाको मतगणना अझै पनि अन्यौलनै भएको छ । निर्वाचन आयोगले मतगणना गर्ने या पुनःमतदान गर्ने भन्ने निर्णय गर्न नसक्दा १० दिनपछि पनि मतगणना अझै अन्यौलमै रहेको हो । बूढीगङगा नगरपालिकाको २,३,४,५ र ९ मा एकलौटी मतदान गरेको भन्दै निर्वाचन आयोगमा उजुरी आएपछि मतगणना कार्य रोकिएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । निर्वाचन आयोगका सुगन सम्शेरजंग राणाको नेतृत्वमा प्रमखु जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल ,मुख्य निर्वाचन कार्यालय बाजुराका माधव प्रसाद घिमिरे, निर्वाचन कार्यालय प्रमुख वनराज अवस्थी जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख चतुर्भज ओझा लगायतको टोलीले बाजुराको बूढीगङगा नगरपालिकाका ती मतदान स्थलको प्रत्यक्ष अनुगमन गरेका थिए । बूढीगङगा नगरपालिका वडा नम्बर २,३,४,५,९ र १० मा फर्जि मत हालेको विवादमा धाँधली भएको आरोप छ । वडा २,३,५,९ मा एमाले र वडा ४ र ७ मा काँग्रेसका कार्यकर्ताले एकलौटी मतदाना गरेको स्थानीयको आरोप छ । बूढीगङगा नगरपालिको ३० गतेका दिनमा गरेको मतदानको मतगणना गर्ने की पुनः चुनाव गर्ने भन्ने विषयमा आयोगबाट पनि अहिलेसम्म कुनै निर्णय नआएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । निर्वाचन आयोग नेपालको २०७९ साल जेष्ठ ५ गतेको विज्ञप्ती मार्फत बूढीगङगा नगरपालिकामा चुनाव गर्ने या मतगणना गर्ने विषयमा कुनै निर्णय नभएको जनाएको छ । बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा बाजुराको हिमाली, जगनाथ, स्वामिकार्तिक, बूढीनन्दा, बडिमालिका,गोमुल, छेडेदह र त्रिवेणी लगायतका स्थानीय तहमा मतगणना सम्पन्न भएपनि बूढीगङगा नगरपालिकाको भने अँझै गणना हुन सकेको छैन् । बाजुराका नौ वटै स्थानीय तह मध्ये सात वटा स्थानीय तहमा अनुशासित् तरिकाले चुनाव सम्पन्न भएको थियो । बाजुराको बूढिनन्दा र बूढीगङगा नगरपालिकामा भने मतदान गर्ने क्रममै धाँधली भएको आरोपमा यहाँको मतगणना रोकिएको हो । बूढीगङगा नगरपालिका १० मा भने विवाद भएपनि एमाले र काँग्रेसका कार्यकर्ता विच दुवैको सहमतिमा धाँधली भएको केही समय पछि मतदान सुरु भएको थियो । त्यसै गरी बूढीनन्दा नगरपालिकाको वडा नं ९ मा मतदान गर्ने क्रममा धाँधली भएपछि चुनाव स्थगित भएको थियो । बूढीनन्दा नगरपालिका वडा नं ९ को चुनाव स्थगित भएपछि अन्य वडाको मत मतगणना भने रोकिएको थियो । बूढीनन्दा नगरपालिका वडा न। ९ मा जेष्ठ ३ गते पुन चुनाव भएपछि मात्र अन्य वडाको मतगणना भएको हो । चुनाव सम्पन्न भएका बाजुराका हिमाली, स्वामिकार्तिक, त्रिवेणी, नेपाली काँग्रेस र जगनाथ, बूढीनन्दा, गौमुल छेडेदह, बडिमालिका एमालेले जितेको निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।
किन सुन्दैन राज्यले उपल्लो डोल्पाको दुःख
उपल्लो डोल्पा एक भूगोलमात्र होइन, सीमारक्षा गर्ने बिनाबर्दीका सिपाहीहरूको खास ठाउँ पनि हो। वर्ष दिनमा आधा वर्ष हिउँले ढाक्ने र आधा वर्ष मात्र चलायमान हुने उपल्लो डोल्पामा जोखिमकै बीचमा पनि जीवन चलाउनुपर्ने बाध्यता छ। काठमाडौँबाट विभिन्न मुलुकमा जान छिटो र सुलभ हुनसक्छ तर उपल्लो डोल्पा पुग्न ठूलो खर्च लाग्छ। दूरीका हिसाबले टाढा नभए पनि राज्यको आँखा नपर्दा उपल्लो डोल्पा जानका लागि फलामको चिउरा चपाउनुसरह हुन्छ। ठूलो जिल्लाका रूपमा नाम परिचित भए पनि यहाँका दुःखको भाग झन ठूलो रहेको शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टसीतुण्डुप गुरुङले बताउनुभयो। उहाँले भन्नुभयो, “चामलकै लागि हामीले राज्यलाई ज्ञापनपत्र बुझाउनुपर्छ, उपल्लो डोल्पामा औषधि नपाएर मानिस मर्दा सामान्यझैँ लाग्छ राज्यलाई तर काठमाडौँमा कुकुर मर्दा बजारभरि थर्किन्छ।” राज्यको स्रोत परिचालन र वितरण प्रणाली पक्षपाती भएको समेत उहाँले बताउनुभयो। चौरी लड्ने भिरमा हाम्रा दैनिकी चल्छन्, उता काठमाडौँमा गगनचुम्बी महलमा बस्नेलाई हाम्रा दुःखले कहिले पनि छोएन अध्यक्ष गुरुङले भन्नुभयो। उपल्लो डोल्पाका तीन पालिकाको हावा, पानी र भूगोल सबै मिलेकाले स्वायत्त क्षेत्र घोषणा गरेर छुट्टै प्याकेज बनाई विकास गर्नुपर्ने ग्याल्वो भोटेले बताउनुभयो। उहाँले भन्नुभयो, “राज्यको नीति निर्माण तहमा हाम्रो सहभागिता नहुनु नै हाम्रो कुरा सबैले नसुन्नु रहेछ।” जनजाति समुदायको बसोबास रहेको उपल्लो डोल्पाको एक खण्ड शे–फोक्सुण्डो गाउँपालिका हो। यो ऐतिहासिक, धार्मिक तथा पर्यटकीय पृष्ठभूमिसँग जोडिएको छ। साल्दाङस्थित ऐतिहासिक तथा धार्मिकस्थल शे–गुम्बा र फोक्सुण्डो रिग्मोगाउँ र पर्यटकीयस्थल फोक्सुण्डो ताल यहाँ रहेको छ। यस ठाउँमा जानका लागि स्थलमार्ग हुँदै सदरमुकामबाट कम्तीमा दुई दिन लाग्छ। घोडेटो बाटो हुँदै पैदल हिँडेर त्यहाँ जानु पर्दछ। सडक सञ्जालसँग नजिएका कारण धेरै पर्यटकले जान खोजे पनि त्यहाँ पुग्न मुस्किल हुँदै गएको छ। हिउँ चितुवा, कस्तुरी र जडीबुटीको भण्डारका रूपमा रहेको यहाँ माल पाएर पनि चाल नपाउने अवस्था सिर्जना हुँदै आएको छ। व्यवस्था बदलीए पनि उपल्लो डोल्पाको अवस्था नबदलिएसम्म खास राज्य भएको अनुभूति गर्न नसक्ने सर्वसाधारण बताउँछन्। उपल्लो डोल्पामा सधैँझै चिसो भए पनि यो समयमा भारी हिमपातले झनै चिसो खपिनसक्नु छ। तापक्रम माइनसमा झरे पनि यहाँका मानिस आफ्नो दिनचर्या चलाउन बाध्य छन्। केही हुनेखानेहरू ओलतिर झरे पनि अधिकांश सर्वसाधारण उपल्लो डोल्पामै छन्। मुसी, निजाल, फोत, कु, साल्दाङ, कराङ, कोमा, नाम्दो, भिजेरलगायतका गाउँका मानिस चिसोमा मुकाविला गर्दै थाकथलो छोकेका छैनन्। हिउँमा चौँरी, याक र घोडामा सामल बोकाएर जीउज्यानको प्रवाह नगरी उपल्लो डोल्पामा भारी हिमपातका बीचमा बस्नु कम्तीको चुनौतीपूर्ण छैन। तल्लो डोल्पा झर्नेहरू हिउँदका करिब छ महिना काइगाउँ, कागेनी, सुलिगाड, पहाडमा टेन्टमा हिउँद गुजार्छन्। केहीको अस्थायी घर छ भने केही कोठा भाडामा लिएर बस्छन्। उपल्लो डोल्पालीले औल झर्नुअघि उवा, फापर, आलु, गहुँलगायतका बाली थन्क्याइसक्छन्। उनीहरूलाई आफ्नो उत्पादनले तीनदेखि चार महिनासम्म मात्र खान पुग्छ भने बाँकी समयका लागि तिब्बत र दुनैबाट खाद्यान्न किनी घोडा र खच्चडलाई बोकाएर ल्याउनुपर्छ। उपल्लो डोल्पामा नेपाल सरकारले खाद्यान्न पु¥याउँदैन। उपल्लो डोल्पालीका लागि हिउँदमा बेँसी झर्नु संस्कृति नै बनेको छ। पहिले आर्थिक हिसाबले मजबुत डोल्पालीहरू चिसो छल्न काठमाडौँसम्मै पुग्थे। त्यही मौकामा जडीबुटी व्यापार गर्थे। कोभिड–१९ सङ्क्रमणका कारण यो वर्ष काठमाडौँसम्म जानेहरू घटे। वैशाख लागेपछि उपल्लो डोल्पा जानेको फेरि अर्को लाग्छ। फर्कनासाथ बाली लगाउने र यार्सागुम्बु सङ्कलन गर्ने समय हुन्छ। यार्सागुम्बु उपल्लो डोल्पालीको मुख्य आयस्रोत हो भने पशुपालन र व्यापार वैकल्पिक आयस्रोत हुन्। शे–फोक्सुन्डो, छार्का ताङसोङ र डोल्पोबुद्ध तिब्बतसँग जोडिएका छन्। सदरमुकाम दुनै सडक सञ्जालले जोडिए पनि त्यसमाथि सडक छैन। उपल्लो डोल्पाका बस्तीसम्म पुग्न दुनैबाट एक सातासम्म हिँड्नुपर्छ भने सवारीको मुख्य साधन घोडा हो। खच्चडबाट दुनै र त्रिपुराकोटबाट सामान ढुवानी गरिन्छ। साल्दाङ शे–फोक्सुन्डो गाउँपालिकाको केन्द्र र सबैभन्दा ठूलो गाउँ हो। फोक्सुन्डो ताल र करिब एक हजार वर्ष पुरानो शे र सामलिङ गुम्बा यही छन्। उपल्लो डोल्पा पदयात्राका लागि प्रख्यात ठाउँ हो। शे–फोक्सुन्डो गाउँपालिकासँग तिब्बतको क्याटो नाका जोडिएको छ। सबै स्थानीयवासीको मुख्य बजार नै क्याटो हो। कोभिड सङ्क्रमणका कारण उक्त नाका खुलेन। छिमेकी डोल्पोबुद्ध गाउँपालिकासँग तिब्बतकै मरिम–लानाका जोडिएको छ। धो तराप, ताक्सी, सिमेनका बासिन्दा उक्त बजारमा किनमेल गर्छन्। तर ती सबै अहिले हिमपातले गर्दा जान आउन सक्ने अवस्था छैन। सङ्घीय सरकारले दुवै नाकालाई खुला गर्ने प्रक्रिया अघि बढाएको भने पनि त्यो परिणाममा उपल्लो डोल्पालीले देखेका छैनन्। उपल्लो डोल्पाका बालबालिकाले हिमपातका समयमा नियमित पाउने खोपसमेत पाउँदैनन्। अहिले देशैभरि चलेको कोभिडको खोपसमेत उपल्लो डोल्पाका सर्वसाधारणले पाउन सकेका छैनन्। सामान्य टाउको दुखे अस्पताल दौडिने सहरभन्दा अस्पतालको अनुहार नै देख्न नपाई मृत्युलाई स्वीकार गर्ने उपल्लो डोल्पाको पीडा कति होला? विकास निर्माणको सवालमा समेत अन्य जिल्लामा छुट्याउन बजेट बराबरकै उपल्लो डोल्पामा छुट्याउँदा त्यो बजेट हात्तीको मुखमा जिराझै हुन्छ। सामग्रीको मूल्यभन्दा ढुवानीको मूल्य बढी रहेको उपल्लो डोल्पामा राज्यले भारी बजेट छुट्याएर खास क्षेत्र घोषणा गरी हिमालको छुट्टै स्वायत्तता बनाउन सके न्याय हुने छ।
नेपालमा सौर्य ऊर्जा उत्पादनको प्रचुर सम्भावना छ– ऊर्जामन्त्री भुसाल
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले नेपालमा नवीकरणीय ऊर्जामा लगानी गर्न आह्वान गर्नुभएको छ। नेपालमा सौर्य ऊर्जा उत्पादनको प्रचूर सम्भावना भएकाले नवीकरणीय ऊर्जा क्षेत्रमा सहकार्य गरेर लाभान्वित हुन विश्व समुदायलाई आग्रह गर्नुभएको हो। युनाइटेड अरब इमिरेट्सको अबुधावीमा जारी अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जासम्बन्धी संस्था (आइरिना)को १२औँ सम्मेलनलाई आज भर्चुअल सम्बोधन गर्दै मन्त्री भुसालले कम लागतमा उन्नत, स्वच्छ ऊर्जा उत्पादन बढाउन नेपाललाई वित्तीय तथा प्राविधिक सहयोग आवश्यक भएको बताउनुभयो। उहाँले जलवायु परिवर्तनका असर घटाउन तथा अनुकूलता र समावेशीरूपमा ऊर्जा सुनिश्चिताका लागि पनि नवीकरणीय ऊर्जाको विकास अपरिहार्य भएको बताउनुभयो। भौगोलिक बनावटका कारण नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको, जलवायु परिवर्तनले जनजीवनमा उच्च प्रभाव पारेको बताउँदै मन्त्री भुसालले अतिकम विकसित मुलुक नेपालले विगत र वर्तमानमा विश्वव्यापी कार्वन खपतमा महत्वपूर्ण योगादन गरेको यथार्थ सुनाउनुभयो। नवीकरणीय ऊर्जाका क्षेत्रमा विश्वसामु नेपालले सुदृढ प्रतिबद्धता व्यक्त गर्दै आएको, सन् १९९६ देखि यस क्षेत्रमा राज्यले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एइपिसी) स्थापना गरेर नवीकरणीय ऊर्जाको प्रवद्र्धनलाई विशेष प्राथमिकतामा राखेर तदनुरूप काम गरिरहेको उहाँले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “हरित जलवायु कोषबाट आधुनिक, प्रभावकारी एवं जलवायुमैत्री ऊर्जा प्रवद्र्धनका लागि रु. दुई अर्ब १० करोडभन्दा बढी अनुदान स्वीकृत भएको छ।” सन् २०४५ सम्ममा शून्य कार्वन उत्सर्जन गर्ने दीर्घकालीन लक्ष्यका अघि बढिरहेको बताउँदै मन्त्री भुसालले अन्तर्राष्टियस्तरमा पनि स्वच्छ ऊर्जा व्यापार गरेर कार्वन उत्सर्जन घटाउन योगदान गरेको जानकारी गराउनुभयो। नेपालको अथाह जलसम्पदा स्वच्छ ऊर्जाको खानी भएको यथार्थ प्रस्तुत गर्दै मन्त्री भुसालले भन्नुभयो, “आर्थिक एवं प्राविधिकरूपमा नेपालमा ४२ हजार मेगावाट जलविद्युत् उत्पादनको सम्भावना छ। वर्षैभरि घाम लाग्ने भएकाले सौर्य ऊर्जा उत्पादनको प्रचुर सम्भावना छ।” विद्युतीय सवारी साधनको प्रयोगलाई नेपालले विशेष प्राथमिकता राखेको जानकारी दिँदै मन्त्री भुसालले भन्नुभयो, “सन् २०२५ सम्ममा २५ प्रतिशत निजी सवारीसाधन र २० प्रतिशत चारपाङ्ग्रो सार्वजनिक सवारीसाधन स्वच्छ ऊर्जाबाट सञ्चालन हुनेछन् भने सन् २०३० सम्ममा त्यसलाई बढाएर ९० प्रतिशत पु¥याउने लक्ष्य छ।” उहाँले सन् २०३० सम्ममा २५ प्रतिशत घरपरिवारमा स्वच्छ ऊर्जाको प्रयोग गर्ने लक्ष्य रहेको बताउनुभयो। कुनै पनि देशको आर्थिक विकासका लागि ऊर्जाको महत्वपूर्ण भूमिका हुने बताउँदै मन्त्री भुसालले भन्नुभयो, “कृषि, यातायात, उद्योग र व्यापारिक तथा घरायसी क्षेत्रमा ऊर्जा महत्वपूर्ण छ। यद्यपि नेपालमा परम्परागत ऊर्जाको आयात र प्रयोग भइरहेको छ जसले देशको व्यापार घाटालाई मात्र बढाएको छैन, वातावरण तथा ऊर्जा सुरक्षामा पनि चुनौती थपेको छ।” सम्मेलनबारे जानकारी दिँदै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एइपिसी)का कार्यकारी निर्देशक डा मधुसुधन अधिकारीले आइरिनाका लागि एइपिसी नेपालको फोकल संस्था भएको बताउनुभयो। उहाँले नेपालमा आइरिनाले ‘अबुधाबी फण्ड फर डेभलपमेन्ट’ मार्फत् नेपालका नगरपालिका तथा व्यावसायिक प्रतिष्ठानबाट निस्कने जैविक फोहरबाट ऊर्जा (बायोग्यास) परियोजनाहरू निर्माणको लागि १० मिलियन अमेरिकी डलर स्वीकृत गरेको बताउनुभयो। त्यसैगरी नेपालका औधोगिक करिडोरमा सोलार सिटी सिमुलेटर तयार गर्नका लागि पनि सो संस्थाले सहयोग गरिरहेको डा अधिकारीले जानकारी दिनुभयो। ‘अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा संस्था (आइरिना) एक अन्तरसरकारी सङ्गठन हो। विभिन्न देशहरूका लागि नवीकरणीय ऊर्जा क्षेत्रसँग सम्बन्धित दिगो ऊर्जाको भविष्य, विशिष्टता केन्द्र, नीतिगत परामर्श, प्रविधि, वित्तीय ज्ञान, क्षमता अभिवृद्धिजस्ता विषयमा सहयोग गर्दछ। युनाइटेड अरब इमिरेट्स् (युएई)को अबुधाबीमा प्रधान कार्यालय रहेको यस संस्थामा विश्वका १८० राष्ट्र आबद्ध रहेका छन्। सन् २००९ को जनवरीमा स्थापना भएको यस संस्थाले प्रमुखरूपमा नवीकरणीय ऊर्जाको स्रोत तथा प्रविधि प्रवद्र्धनमा सहयोग गर्दछ भने आबद्ध सदस्य राष्ट्रको नवीकरणीय ऊर्जाको लक्ष्य हासिलमा सघाउँछ। – रासस
भुवन केसीमाथि साम्राज्ञीले लगाइन् गम्भीर आरोप
काठमाडौं : यतिबेला नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक भुवन केसीको लफडाले समाजिक सञ्जाल तातेको छ। विवाद तब सुरुभयो जब साम्राज्ञीले भुवनले आफूलाई छोरी भनेपनि पटकपटक यौन दुर्व्यवहार गरेको आरोप लगाएर भिडियो पोष्ट गरिन। शुक्रवार साम्राज्ञीले इन्स्टाग्राममा पोष्ट गरेको भिडियोमा ५ वर्षको अवधिमा आफूले ८ फिल्ममा काम गर्दा धेरै नराम्रो अनुभव भोगेको बताएकी थिइन। केसीले आफूलाई पटकपटक गलत नियतले छोएको साम्राज्ञीको आरोप छ। ‘ड्रिम्स’ को सुटिङदेखि नै आफूमाथि भुवनले गलत दृष्टिकोण राख्दै आएको साम्राज्ञीले जनाएकी छन्। जापानमा भएको एक अवार्डमा समेत भुवनले आफूलाई दुर्व्यवहार गरेको साम्राज्ञीले खुलाएकी छन्। साम्राज्ञीले भनेकि छन्-’सुटिङ सेटमा खाना र पानी माग्दा कति निर्माता/निर्देशकहरु आक्रमण शैलीमा आउँथे। उनीहरुको व्यवहारबाट धेरै बेर रुन्थेँ अनि केही नभएजस्तो गरेर फेरि सुटिङ गर्थेँ। किनकि, मलाई कामसँग प्रेम छ। कामको सम्मान गर्नुपर्छ भन्ने बुझेको छु।’ उता भुवनले उक्त आरोपहरु निराधार रहेको बताउँदै आएका छन्। चर्चा कमाउन साम्राज्ञीले यस्तो आरोप लगाएको बताउँदै उनले आफ्नो परिवार भनेकै चलचित्र उद्योग भएकाले सबैलाई समान ब्यवहार गरेको बताएका छन्। भुवनले फेसबुकमा लेखेका छन्, ‘खान नपाएको भन्दै सामाजिक सन्जालमा रोई कराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने।’ भुवनले नै आफ्नो डेब्यू निर्देशित फिल्म ‘ड्रिम्स’ बाट साम्राज्ञीलाई अभिनेत्रीको रुपमा भित्राएका थिए। डेब्यू फिल्म नै सफल हुँदा साम्राज्ञीले आफूलाई स्टार अभिनेत्रीको रुपमा उभ्याएकी थिइन्। केही समय अघि साम्राज्ञी र अनमोलबीच प्रेम सम्बन्ध रहेको पनि चर्चामा आएको थियो। तर अहिले भने उनीहरुबीच सम्बन्ध टुटीसकेको बताइन्छ।
२ फीटका चिस्तीले गरे ६ फीट अग्ली युवतीसँग विवाह
काठमाडौंः पाकिस्तानका बुरहान चिस्ती मात्र दुई फीट उचाई भएका होचा-पुड्का हुन्। तर उनको प्रेम कहानीले भने प्रेमको अद्भुत उदाहरण नै प्रस्तुत गरेको छ । विभिन्न समयमा आफ्नो सामाजिक सक्रियताका कारण उसै पनि चर्चामा रहने चिस्तीले छ फीट अग्ली सुन्दरीसँग विवाह गरेपछि उनको चर्चा एकाएक चुलिएको छ । यस बेला पाकिस्तानमा उनको बिहेको भिडियो सामाजिक संजालमा ट्रेन्डिङ् भैरहेको छ । उनकी दुलही फौजिया निकै सुन्दर छिन् र उनको उचाई छ फीट छ । सबैभन्दा महत्त्वपूर्ण कुरा त के भने यो मागी विवाह नभएर प्रेम विवाह हो। उनको विवाह नर्वेको राजधानी ओस्लोमा भएको हो । उक्त विवाहमा १३ देशका मानिस बताइन्छ । चिस्तीलाई प्रेमले मानिसहरूले ‘बोबो’ भन्ने गरेको बताइएको छ । उनी नर्वेमा बस्छन् र बलिउड अभिनेता सलमान खानको बिइङ् ह्युमन अभियानका प्रतिनिधि रहेका छन् । तर बुरहान चिस्ती सामान्य होचा-पुड्का भने होइनन् । उनले २०१७ को ‘मोस्ट इन्स्पिरेसनल म्यान’ भन्ने पुरस्कार पाएका छन् । चिस्तीलाई सानैमा पोलियॊ भएको र उनि व्हील चेयरमा हिँड्ने गर्छन् । यस्काबब्जुद उनी साह्रै हिम्मतिला रहेको समचारहरूमा अएको छ । उनकी पत्नी फौजिया पाकिस्तानको पन्जाब प्रान्तकी हुन् । उनी निकै सुन्दर छिन् । सामाजिक संजालमा चिस्तीका प्रशंसक र मित्रहरूले उनीहरूकोजोदी निकै राम्रो भएको टिप्पणी गरेका छन् । अहिले चिस्तीले आफ्नो बिहेमा गरेको डान्स निकै भाइरल भैरहेको छ ।
अदालतकै कर्मचारी घुससहित रङ्गेहात पक्राउ !
काठमाडौंः जिल्ला अदालत सिराहामा करार सेवामा कार्यरत हलुका सवारी चालक बृज मोहन यादव घुससहित रङ्गेहात पक्राउ परेका छन् । लागुऔषध सम्बन्धी मुद्दा मिलाईदिन्छु भन्दै घुस लिएरहेका यादवलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले १ लाख १० हजार घुससहित रङ्गेहात पक्राउ गरेको हो । सिराहा नगरपालिका वडा–७ हस्पिटल चोकस्थित खडग होटलबाट घसुसहित रङ्गेहात नियन्त्रणमा लिइएका यादवमाथि अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
विराट कोहली–रोहित शर्मा विवाद: कोचको अन्तर्वार्तामा समेत उठ्यो कुरा
काठमाडौंः भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली र ओपनिङ ब्याट्सम्यान एवं उपकप्तान रोहित शर्माबीच विवाद रहेको भन्ने समाचारलाई कोहली र प्रमुख प्रशिक्षक रवि शास्त्रीले खण्डन गरेपनि दुवै खेलाडीबीच केही न केही अवश्य रहेको भन्ने आशंका जन्माउने समाचार बाहिरिएको छ । भारतीय क्रिकेट टीमका प्रमुख प्रशिक्षकको लागि भएको अन्तर्वार्तामा एक जना उम्मेदवारलाई दुई खेलाडीबीचको विवादबारे प्रश्न सोधिए पछि यस्तो आशंका उब्जिएको हो । पाँच जना आवेदकलाई उछिन्दै प्रमुख प्रशिक्षकको जिम्मेवारी एकपल्ट फेरी रवि शास्त्रीलाई दिइएको छ । भारतले विश्वकप क्रिकेटको सेमीफाइनलमा न्युजिल्याण्डसँग नराम्रोसँग हार बेहोरेपछि उनको अनुबन्ध नवीकरण हुने या नहुने कुरामा अनिश्चितता छाएको थियो । पीटीआईका अनुसार उक्त पदका लागि आवेदन दिने पाँचै आवेदकहरूको अन्तर्वार्ता कपिलदेव नेतृत्वको टोलीले गरेको थियो । सूत्रहरूलाई उद्धृत गर्दै समाचार एजेन्सीले एक जना आवेदकलाई अन्तर्वार्ताको क्रममा भारतीय कप्तान विराट कोहली र उपकप्तान रोहित शर्माबिच्को द्वन्दको समाधान के होला भनेर पनि सोधिएको थियो । प्रकाशित समाचारमा यस्तो प्रश्न पाउने उम्मेदवार अन्तर्वार्तामा भने सफल हुन सकेनन् । ती उम्मेदवारले कोहली र शर्माबीच कुनै प्रकारको पनि द्वन्द नरहेको र स्वयम् विराट कोहलीले यस कुराको पुष्टि गरेको बताएका थिए । उनले दुवैबीच कुनै झगडा नै नरहेकोले यस प्रश्नको उत्तर दिन गाह्रो भएको बताएका थिए । उनले यदि त्यसो भएको खण्डमा आफूले यसमा हस्क्षेप गरेर सम्बन्ध अझ बिग्रिन नदिन प्रयास गर्ने बताएका थिए । उनले यस मामिलामा बिसिसिआईलाई पनि जानकारी गराउने बताएका थिए । साथै ती उम्मेवारले वर्तमान प्रशिक्षकले उक्त विवाद किन सुल्झाउन नसकेको होला भन्ने प्रश्न समेत गरेका थिए । उक्त पदका लागि आवेदन दिनेमा रवि शास्त्रीसँगै माइक हेसन, टम मुडी, रोबिन सिंह र लालचन्द राजपुत रहेका थिए । यसका अतिरिक्त वेस्ट इन्डिजका प्रशिक्षक फिल सिमंसले पनि यस पदका लागि आवेदन दिने इच्छा जाहेर गरेका थिए तर पछि उनले व्यक्तिगत कारण भन्दै नाम फिर्ता लिएका थिए । भारतले विश्वकपको सेमिफाइनलमा हार बेहोरेपछि विराट कोहली र रोहित शर्माबीच विवादबारे पहिलो पल्ट समाचार आएको थियो । तर कोहली र टीमका प्रमुख प्रशिक्षक रवि शास्त्रीले भने यी समाचारहरूको खण्डन गर्दै त्यस्तो केही नभएको प्रतिक्रिया दिएका थिए । एजेन्सी
सेक्स, स्क्याण्डल र चिन्तन
काठमाडौं । अमेरिकन अभिनेता स्टिभ मार्टिनले भनेका थिए, ‘सेक्स त्यो चिज हो जुन किनेर उपभोग गर्न सकिन्छ ।’ पूर्वीय संस्कृतिमा सेक्सको महत्वका बारेमा बुझ्नेहरूले ‘कामसूत्र’ का अनेक अध्यायहरूको बृहत्तर अध्ययन पनि गरेका होलान् । ठूला युद्धहरू र त्यसले देखाएका परिणामका कारण खोतल्दै जाँदा ‘सेक्स’ नै देखा पर्दछ । यसमा घटनाक्रम र पात्रहरूका चरित्र चित्रण हुनसक्छन् तर संकेत निर्विकल्प सेक्स नै हो । मुलुक अमेरिकी विचारको तहमा पुग्न सकेको छैन । शैक्षिक, सामाजिक, वैज्ञानिकलगायतका अनेक कमजोरीमा हामी रहेका छौं । विनोद ढकाल त्यसकारण पनि तेस्रो विश्व भनिएको हो, तेस्रो विश्व र पहिलो विश्वका मानिसको विचार र व्यवहारको तह समान हुन सक्दैन । यद्यपि, पहिलो विश्वको अहिलेको वैचारिक तहभन्दा पूर्वीय संस्कृति निकै माथि थियो भन्ने केही उदाहरण पनि छन् । त्यसकारण मार्टिनको विचार र नेपाली बजारमा व्याप्त सेक्सका परिभाषालाई कतिसम्म सहजीकरण गरेर व्याख्या गर्न सकिन्छ त्यसको मापदण्ड मैले पनि पहिल्याउन सकेको छैन । तर, रामायण, महाभारत तथा पूर्वीय संस्कृतिका अनेक महाकाव्यहरू, नेपाली साहित्यका भयंकर खेलाडीहरूले बजारमा ल्याएका कृति, उपन्यासकारहरूका सिर्जना सेक्ससँग अन्तरंग नभएका पाइँदैनन् । नेपाली बजारमा सेक्सको बिक्री जुन मात्रामा बढेको छ त्यो मात्रमा सिर्जनाहरूको व्याख्या पनि सहज हुन सकेको छैन । ओशोले भनेजस्तो सेक्स नै सिर्जनाको आकार बन्ने लहडमा नेपाली साहित्य दौडिरहेको छ । कल्पनाको संसारमा भिजाउने विषयवस्तुका लागि सेक्स नरमगरम चिजका रूपमा व्याख्या गरिएको छ । यसलाई नेपाली समुदायले स्वाभाविक मानेको छ । एकाध मानिसको पश्चगामी चिन्तन र आडम्बरलाई मूल्यांकन नगर्ने हो भने नेपाली जनजिव्रोमा सेक्स सरल र स्वाभाविक विषय बनिसकेको छ । तर, यसैसँग अन्तर्सम्बन्धित बनाएर ल्याउने हरेक प्रकारका चर्चाले नेपाली बजार तताएको हुन्छ । प्रत्यक्ष वा परोक्ष रूपमा मानिसका हरेक सार्वजनिक जीवन र उसको व्यक्तिगत जीवनको भिन्न चाहना हुन्छन् । व्यक्तिगत जीवनमा केही अनिवार्यताले मानिसको सार्वजनिक जीवन नै धुमिल बन्न थाल्दछ । सायद, यसका नेपाली उदाहरणका पात्र प्रकाश दाहाल र पारस शाह हुन सक्छन् । सार्वजनिक जीवनका उचाइसँग व्यक्तिगत जीवन हावी हुँदा नेपाली राजनीतिबाट यी पात्र गुमनाम हुने अवस्था आइपरेको छ । मानिस व्यक्तिगत जीवन बाँच्न पाउँदछ भलै उसले सार्वजनिक जीवनबाट टाढा किन हुन नपरोस् भन्ने उदाहरण पनि यिनै पात्र हुन् । तर, यी पात्रका कारणमा टेकेर हुने राजनीति र टिप्पणीले चाहिँ समाज, यसभित्र शब्द, चित्र र बयानबाजीमा खेलिरहेका खेलाडीको तह चाहिँ पुष्ट्याइँ गरिरहेको छ, सार्वजनिक रूपमा टिप्पणीहरूमाथि विश्लेषण गर्ने हो भने । एक व्यक्तिको निजी जीवनको कथाले नेपाली राष्ट्रिय राजनीतिका मूर्धन्य खेलाडीहरू, इतिहासका पहरेदारहरूको जीवनलाई नै तहसनहस बनाउने प्रयत्न गरिएको छ । यी प्रयत्नहरू ज्यादातर नेपाली राजनीतिमा देखिएका छन् । खासगरी पुरानो दरबारमा हुर्किएका पूर्वयुवराज पारस र नयाँ दरबारको भित्तामा रहेका प्रकाशका चरित्रमाथि टिप्पणी गरी पूर्वराजा ज्ञानेन्द्र शाह र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको राजनीतिमाथि फोहोरी टिप्पणीका असरदार चर्चाहरू विगतका केही महिनासम्म व्यापक भए । हुन त नेपाली राजनीतिमा यस्ता टिप्पणी भइ नै रहन्छन् । अस्वाभाविक टिप्पणीले राजनीतिका खेलाडीको योगदानको हुर्मत लिनका लागि यस्ता बयानबाजीलाई प्रचारका मुख्य साधन बनाइन्छन् । सम्भवतः नेपाली समाज यस्तै सुन्न चाहन्छ, रुचाउँछ र पचाउने हिम्मत पनि राख्दो हो । तर, यो विचारप्रवाहको कुनै पनि वर्गसँग सामञ्जस्य हुन्छ भन्ने लाग्दैन । लामो समयसम्म मुलुक परिवर्तनका लागि राजनीतिक भविष्य निर्माताका रूपमा उदाएका व्यक्तिको आन्तरिक कथा बेग्लै हुन्छ । उनीहरूले राजनीतिक उचाइका लागि जति संघर्षको मैदानमा पेलिनुप¥यो त्यो कदाचित नराम्रोपनका लागि होइन । यात्राका क्रममा उतारचढाव हुनु स्वाभाविकै पनि हो । राजनीतिमा असामान्य अवस्थाबाट सामान्यको यात्रा थाल्नका लागि अनेक अस्त्रहरूको प्रयोग हुन्छ । सम्भवतः शान्तिप्रक्रियाका जिउँदा हस्ताक्षरकर्ता प्रचण्डका केही कमजोरी भएहोला तर उनका कमजोरीलाई कृष्ण हत्याका लागि कंशले पुतनाको प्रयोग गरेजसरी प्रकाशकाण्डबाट राजनीतिमा केही धक्का लगाउने प्रयत्न नभएका होइनन् । तर, अन्ततः कुनै पनि बाटोबाट पुतनाहरू विलिन हुने र कृष्णहरूले नै सृष्टिको निरन्तरता दिन सक्छन् भन्ने कुरालाई बिर्सनु हुँदैन । हिन्दू धर्मग्रन्थमा कृष्णको शक्तिलाई ध्वस्त बनाउनका लागि मृत्युका डरले कंशले आफ्नी बहिनी पुतनाको विष भरिएको स्तन कृष्णलाई चुसाउने प्रवृत्तिलाई अहिलेको नेपाली राजनीतिमा हावी बनाइएको हुनुपर्छ । यद्यपि, राजनीतिमा लामो समयसम्म जीवन बिताएका र राजसी जीवनभित्र यस्ता कपटपूर्ण तर्क र प्रचारबाजीहरू पुतनाको मृत्युसरह हुन सक्छन् । किनभने राजनीति जीवनको सुरुआत पारस–प्रकाश काण्डहरूले पतन बनाउने शिराबाट चाहिँ भएको हुँदैन । नेपाली राजनीतिक इतिहासमा परोक्ष रूपमा चर्चा गरिएको सेक्सकै कारणबाट कोही राजनीतिज्ञ पनि उन्मुक्त हुन सकेका थिएनन् । उनका चिन्तन, सिर्जना र शैलीले पनि स्वाभाविक प्रस्तुतीकरण गरेकै थियो । नेपाली प्रजातन्त्रका असली योद्धा विश्वेश्वरप्रसाद कोइरालाका चिन्तनमा पनि ‘सेक्स’ को महŒव झल्किएको थियो । उनले जेलबाट दिएका सिर्जनाका कतिपय परिकारमै सेक्सका गहन विषय थिए । पात्रहरूबाटै सेक्सप्रतिका भावना बगिरहेका थिए । एउटा राजनीतिज्ञ जेलभित्र बस्दा ऊ राजनीतिक परिवर्तनका लागिमात्र अभ्यस्त हुँदैन, त्यसबाहेक समाजमा संगिन बनेर बसेको सोचलाई कसरी परिमार्जन गरी शिक्षाको मार्गमा ल्याउन सकिन्छ भन्ने चिन्तनप्रति पनि संवेदनशील हुँदो रहेछ । त्यसकारण बीपी निकै संवेदनशील भएर सेक्सका विषयमा लेखकीय ढंगबाट खुलेका थिए । तर, ती कहिल्यै पनि राजनीतिक रूपमा स्क्याण्डल भएनन् । नेपाली राजनीतिमा ‘सेक्स’ लाई सरल व्याख्या गरिदिने अर्का पात्र स्व। कृष्णप्रसाद भट्टराई थिए । उनी जीवनभर अविवाहित रहे तर सेक्सलाई सरल ढंगबाट आफ्ना निकटतम् माझ व्याख्या गर्न उनलाई कुनै असहज हुन्थेन । अझ उनका अनुयायीले भनेकै छन्, ‘उहाँ ननभेज ९सेक्सुअल० जोक्सका पारखी पनि हुनुहुन्थ्यो ।’ अहिले पनि राजनीतिक क्षेत्रमा यस्ता व्यक्ति जीवित छन् । तर, परिवर्तनको नाममा राजनीतिक जति गहिरो हुँदै गएको छ अब सेक्स एउटा स्क्याण्डलका रूपमा व्याप्त हुन थालेको छ । एक व्यक्तिको चरित्रका कारणले समाजमा प्रजातन्त्र, गणतन्त्र स्थापना गराउने शक्ति पुरुषहरूमाथिको राजनीतिक जीवनमा हमला पनि हुन थालेको छ । नेपाली समाजले सुक्ष्म भएर बुझ्न सकोस्, यो एक्काईसौं शताब्दीमा मानिसको निजी जीवन स्वतन्त्र छ, निजी जीवनमाथिको टिप्पणी र बयानबाजी नै लोकतान्त्रिक पद्धती होइन र समाजलाई सकारात्मक टिप्पणीतिर डोर्याउनका लागि हर क्षेत्रबाट प्रभावकारी शिक्षाप्रदान गर्न आवश्यक छ । (प्यासनबाट)