माओवादीले सरकार छोडेको भए चुनाव भाँडिनसक्थ्यो: केपी अाेली
चुनावी अभियानका क्रममा गृहजिल्ला झापा पुगेका एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले वाम गठवन्धन पछि नेपाली काँग्रेस हतास बनेको बताएका छन्।
उनले नेपाली कांग्रेसले साम्यवाद भनेको के बुझेको छ? भन्ने प्रश्न गर्दै, उनकै शब्दमा, कुतर्कहरुका पछाडि आफु नकुद्ने पनि बताए। अध्यक्ष ओलीसंग बिबिसिका संवाददाता उमाकान्त खनालले गरेको कुराकानीको संपादित अंश:
सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस यहाँहरुको वाम गठबन्धनले साम्यवाद ल्याउन अग्रसर भएको भन्दै झस्किएको देखिन्छ, कम्युनिष्ट अधिनायकवाद सहितको साम्यवादसम्म पुग्नकै लागि यो गठबन्धन भएको हो ?
नेपाली कांग्रेसको हतासा जुन छ अहिले त्यो अराजनीतिक हो। नेपाली कांग्रेसले साम्यवाद भनेको के बुझेको छ ? कुतर्कहरुका पछाडि हामीलाई कुद्नु छैन। ‘साम्य’ भनेको बराबर अनि ‘वाद’। समान अधिकार, समान अवसर, समान सुरक्षा, समान सम्मानको अवस्था समाजमा हुनुपर्छ। सबैको उन्नति, प्रगति हुनुपर्छ। यो भन्दा नराम्रो प्रणाली भयो? साम्यवादी प्रणाली अथवा कम्युनिष्ट अन्तर्गतको व्यवस्थामा चीनले गरेको उन्नति, प्रगति र त्यहाँका जनताको जीवनस्तरका बारेमा के भन्छ कांग्रेस?
यो चाहिं अन्य मुलुकहरु जस्तो निरङ्कुशता लाद्ने साम्यवाद होइन भन्न खोज्नुभएको हो ?
उत्तर कोरियाले आफूलाई साम्यवादी वा साम्यवादी पार्टी भनेको छैन । उत्तर कोरिया उत्तर कोरिया किन भन्ने? किन नभन्ने इदी अमिन? किन नभन्ने अर्को एउटा तानाशाह? सुहार्तोको कुरा किन नगर्ने? मार्कोसको कुरा किन नगर्ने? त्यसर्थ यस्ता खोक्रा बहसहरुमा देशलाई अल्झाउनु भनेको निरर्थक कुराको आश्रय लिनु हो। नेपाली कांग्रेस त्रासबाट ग्रस्त छ। नेप्से परिसूचक घट्छ कम्युनिष्टहरु आए भने जस्ता पिन्चे कुरा हुन्। चिनियाँ अर्थतन्त्रमा नेप्से परिसूचक के हुँदैछ? अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनको सदस्य छ कांग्रेस। तर समाजवादको विरुद्धमा छ।
तर कांग्रेसले वीपीको समाजवादी सिद्धान्त अनुसार हामी समाजवादी हौं भनेर हिँड्या छ त ?
त्यो परिवर्तित सन्दर्भ र समय कांग्रेसले बुझेन बुझ्दैन। वीपी बाबुले एक हल गोरु एउटा गाई भन्नुभएको थियो त्यो समाजवाद हो। केपी ओली पूर्व पश्चिम रेलका कुरा गर्छ, कसरी समाजवाद हुन्छ? राजमार्ग चौडा बनाउने कुरा गर्छ, कसरी समाजवाद हुन्छ ? हल गोरुको कुरा वीपी बाबुले गर्नु भएको थियो, ओली ट्रयाक्टर अथवा अन्य मेसिनिकरणको कुरा गर्छ। आज वीपी कोइराला भएको भए मैले भनेको कुरा भन्नुहुन्थ्यो होला। वीपीले त्यस जमानामा राणा शासनबाट भर्खर उम्किएको समाजको अवस्थामा त्यतिबेलाको समाजलाई अगाडि बढाउन किसानहरु माथिको चिन्ता, ८० प्रतिशतभन्दा माथि निरपेक्ष गरीबीको रेखामुनि भएको अवस्थामा, निरपेक्ष गरीबीको रेखामुनिका जनताको आर्थिक उन्नति र उत्थानको विषयमा बोल्दा त्यतिबेला जे बोल्यो त्यो भन्दा मास्तिर समय देख्दैन, यो विचरा कांग्रेस त्यस्तै हो ।
चुनावी तालमेल तथा गठबन्धनको कुरा जोडौं, एमालेले भन्ने गरेको जनताको बहुदलीय जनवाद र माओवादीले भन्ने गरेको एक्काइसौं शताब्दीको जनवाद, यो कहाँनेर आएर तालमेल भयो?
अलिकति भइसकेको छैन। उहाँहरुले जनताको बहुदलीय जनवाद मान्यौं भनिसक्नु भएको छैन । त्यति हो।
जनताको बहुदलीय जनवाद मानेको छैन भनेपछि पार्टी एकीकरण कसरी संभव होला?
अहिले त्यस विषयमा जानै पर्दैन। म तपाईं वा सञ्चार माध्यममार्फत उहाँहरुलाई कुनै सन्देश पठाउन चाहन्न । उहाँहरुसंग हाम्रो भेटघाट नहुने होइन, कुराकानी नहुने होइन, छलफल नहुने होइन। हामी उहाँहरुसंग संवाद गर्छौं । सही विषयमा, सही कुरामा सहमति हुन्छ ।
त्यसोभए माओवादीले माओवाद छाड्छ त?
तपाईंले अलि उत्तेजक खालको प्रश्न गर्न खोज्दै हुनुहुन्छ। चुनावी तालमेल गरिरहेका छौं, सहकार्य गरिरहेका छौं, हामी संवादमा छौं । के छोड्छ के छोड्दैन, या कुन विन्दुमा आएर मिलन हुन्छ केही समय तपाईंहरुले प्रतीक्षा गर्नुपर्छ।
माओवादीले सञ्चालन गरेको सशस्त्र संघर्ष जसलाई उसले ‘जनयुद्ध’ भन्छ। पहिला आलोचना गर्नु भयो, अहिले आएर एमालेले त्यो ‘जनयुद्ध’लाई स्वीकार गरेको हो? किनभने तपाईंहरुको घोषणापत्रमा त लेखेको छ ?
यो सैद्धान्तिक बहसमा गइरहनु पर्दैन। उहाँहरुले सञ्चालन गरेको जनयुद्धको एमालेले आलोचना गरेर ठिकै गरेको थियो। उहाँहरुले जनयुद्ध छोड्नु भयो, त्यो बाटो छोड्नु भयो, शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासमा आउनुभयो । एमालेका निम्ति खुशीको कुरा हो, देशका निम्ति खुशीको कुरा हो, जनताका निम्ति तथा लोकतान्त्रिक आन्दोलनका निम्ति खुशीको कुरा हो । जनयुद्ध भनिएको प्रसंग कतै उल्लेख होला । त्यो शब्द त्यति मान्नुपर्दैन जति त्यस बाटोलाई छोडेर उहाँहरु आउनु भएको छ। यो नै सकारात्मक कुरा हो।
पार्टी एकताको कुरा गर्दा चुनाव सरेको भए त्यो बीचमा तपाईसँग पार्टी एकता घोषणा गरेरै चुनावमा जाने सहमति भइसकेको थियो भनेर प्रचण्डले चितवनमा भनेका छन्। के त्यो सत्य हो?
हुन सक्थ्यो। यसपटक मेरो र प्रचण्डजीको बीचमा एउटै चुनाव चिन्हबाट लड्ने सहमति भइसकेको थियो। तर पछि उहाँहरुको पार्टीमा अलिकति समस्या पर्यो। हामीले त्यसलाई सहज रुपमा लियौं । कहिले कहिले त्यस्ता अप्ठ्याराहरु हुन्छन् । जुन विन्दुमा हामी सहमति गर्नुपर्छ, एकता गर्नुपर्छ भन्नेमा पुग्यौं, चुनाव आइसकेको थियो। त्यसैमा अल्झिएर धेरै बहस गर्न सक्दैनथ्यौं। पछि सर्यो भन्ने उहाँको कुरा ठिकै हो यो तालमेलका लागि, एकताका लागि, उहाँको योगदान असाधारण छ, महत्वपूर्ण छ। उहाँको योगदान हुँदैनथ्यो भने एक्लै गरेर हुँदैनथ्यो। एक हातले ताली बज्दैनथ्यो।
त्यसोभए चुनाव सरेको भए राम्रो हुन्थ्यो ?
चुनाव सर्ने भन्ने कुरा त कल्पना पनि गर्न सकिँदैन कुनै पनि अर्थमा। चुनाव सार्नै मिल्दैन। एकीकरण पछि गरे हुन्छ।
एकीकरणपछि पार्टी अध्यक्ष को भन्ने कुरा भएको छ ?
मेरो एजेन्डा पार्टी अध्यक्ष होइन। प्रधानमन्त्रीको पद होइन। को कुन कुर्सीमा बस्छ भन्ने होइन। म देश र जनताप्रति समर्पित छु। उद्देश्यहरुप्रति समर्पति छु। यो कुनै सहमति भएको पनि छैन। लेनदेन भएको पनि छैन।
पछि यही कुरा नमिलेर पार्टी एकीकरणसम्मको विषय बिथोलिने त होइन?
देश र लोकतन्त्रका निम्तिको आवश्यकता र संविधानको कार्यान्वयनको आवश्यकताका बारेमा हामीबीच कुरा भयो। एक्काइसौं शताब्दीको दोस्रो दशक बित्न लाग्दा पनि हामी विकासमा धेरै पछाडि पर्यौं। अब साना तिना कुरामा नअल्झी हामीले देशका निम्ति गर्नुपर्छ भनेर फराकिलो मन बनाएर हामीले यो काम गरेका हौं।
तपाईकै कतिपय नेता कार्यकर्ताले चुनावमा राम्रो प्रदर्शन गर्नसक्ने सामर्थ्य हुँदा हुँदै माओवादी सहकार्यमा ल्याएको भनि टिप्पणी पनि गरिरहेका छन् । तपाईलाई पनि कतै त्यस्तो लाग्दैन ?
एमाले चुनाव लड्न सक्दैन भनेर होइन। देश बनाउन ढिलो भइरहेको छ यहाँ। अब यस निर्वाचनबाट स्थायी सरकार दिने र देशलाई विकासको बाटोमा अगाडि लाने काम गर्नुपर्छ।
प्रचण्ड प्रधानमन्त्री हुँदा उहाँ भारतसंग लम्पसार पर्नु भयो भनेर खुब आलोचना गर्नु भयो। कसरी यति छिटै विश्वास गर्नुभयो प्रचण्डलाई ?
आकस्मिक रुपमा भयो, अचानक भयो भन्ने होइन। समय रोकिएको थिएन प्रक्रिया चालु थियो। तपाईं खोलामा पसेर अलिकित पौडेर पारी तरिसकें भन्ने ठान्नु हुँदैन। पारी तर्न बाँकी हुन्जेल अर्काले उछिन्ने संभावना हुन्छ।
त्यतिबेला पनि माओवादी केन्द्रसंग कुरा भइरहेकै थियो ?
त्यतिबेला भएको थिएन। तर समय रोकिएको थिएन। हामी त्यहीँ थियौं। यहीँ छौं फेरि।
माओवादी केन्द्र अहिले पनि सरकारमा छ । विनाविभागीय मन्त्री भएर बसिरहेका छन् । के तपाईंले नै सुझाव दिनुभएको हो सरकार नछोड्नु भनेर?
मैले पनि भनेको हो । चुनाव हुन नदिने, विभिन्न बहाना बनाउने, चुनाव पर सार्ने सोचहरु छन्, प्रयासहरु भइरहेका छन् । ती प्रयासहरु सफल हुन दिनु हुँदैन । त्यसकारण माओवादीले चुनावसम्म प्रधानमन्त्री शेरबहादुर देउवालाई साथ दिने र चुनाव गराउनका निम्ति सरकारलाई साथ दिने हो। मेरै सुझाव मानेको पनि होइन । मैले निस्किनुहोस भन्दा ननिस्केको पनि होइन।
माओवादी केन्द्रले सरकार छोडेको भए चुनाव भाँडिनसक्थ्यो ?
हुनसक्थ्यो, विभिन्न बहाना हुनसक्थे। निहुँ खोज्नु त हो नि।
भारत र चीनविचको समदूरी कायम रहनुपर्छ भनेर विगतदेखि नै भन्नुभयो तपाईंले। त्यो समदूरी भनेको के हो?
मैले समनिकटता कायम हुनुपर्छ भनेको छु। अत्यन्त समस्यारहित सम्बन्ध हुनुपर्छ पारस्परिक लाभ तथा हितको सम्बन्ध कायम हुनुपर्छ। एक अर्काका सार्वभौमसत्तालाई, स्वाधीनतालाई सम्मान गर्नुपर्दछ। एउटाले आफ्नो स्वाभिमानको कुरा गर्दा राम्रो लाग्ने तर अर्काको स्वाभिमानको कुरा नराम्रो लाग्ने हुनुहुँदैन। भारतसंगको हाम्रो सम्बन्ध कसैले बिगार्नै सक्दैन। यहाँ केही स्वार्थी तत्व छन् जसले आफ्नो स्वार्थका लागि भारतसंगको सम्बन्ध बिगार्न चाहन्छन् । म प्रधानमन्त्री हुँदा नाकाबन्दी लागिरहेको थियो सम्बन्ध बिगारिदिएर। मधेश बन्द थियो। ती सबै समस्या समाधान भए नाकाबन्दी खुलाइयो। म भारतको राजकीय भ्रमणमा गएँ अत्यन्त आत्मीय व्यवहार भयो। राष्ट्र हितमा नयाँ नयाँ विभिन्न समझदारीहरु भए। असमझदारी हटे। समझदारी माथिल्लो स्तरमा उठ्यो। बिग्रियो कहाँ भन्दा यहाँबाट कुदेर दिल्ली पुग्ने अनि ‘हजुर हामीलाई समान व्यवहार भएन’ भनेर जाने भएपछि सम्बन्ध बिग्रिएको हो। चीनसंगको सम्बन्ध पनि बिगार्न सकिँदैन। चीन हाम्रो असल मित्र हो। हाम्रो सम्बन्ध समनिकटताको हो।
भारतसंगको सम्बन्ध त अलि विशिष्ट किसिमको छ भनिन्छ, भौगोलिक निकटता र सामाजिक संरचनाको आधारमा । चीन र भारतसंगको सम्बन्ध एकनासमा जान सक्छ र?
केलाई एकनास भन्नुहुन्छ? केलाई विशेष भन्नुहुन्छ? तपाईं र म घर जोडिएका छिमेकी हुनसक्छौं, अर्को अलि पर्तिर हुनसक्छ । तर घर जोडिएको छिमेकी भन्दैमा उसको पारिवारिक मामिलामा हस्तक्षेप गर्न मिल्छ? उसको सम्पत्तिमा दावी गर्न मिल्छ? दुःख दिन मिल्छ ? त्यसर्थ राष्ट्र राष्ट्रबीचका सम्बन्धका कुरा, सार्वभौमसत्ता तथा समानताका कुरामा उँचनीच हुँदैनन्। यो कुरा बुझ्न गाह्रो छैन बुझ्न चाह्यो भने।
अमेरिका जाँदा ल्यापटब, क्यामेरा बोक्न नपाइने, के के छन् अरु प्रतिबन्धित सामान ?
वासिङटन – अमेरिकाले मध्यपूर्वका १० विमानस्थलबाट अमेरिका आउने हवाइजहाजमा मोबाइलभन्दा ठूला विद्युतीय उपकरण बोक्न प्रतिबन्ध लगाएको छ । सुरक्षा संवेदनशीलताको कारण देखाउँदै ल्यापटप, आइप्याड, ट्याब्लेट, क्यामेराजस्ता उपकरणमा रोक लगाएको खबर आजको कान्तिपुरले छापेको छ । विद्रोही समूहले विद्युतीय उपकरणमार्फत विस्फोटक पदार्थहरु ओसारपसार गर्ने भएकोले उक्त प्रतिबन्ध लगाएको अमेरिकी प्रशासनले बताएको छ । प्रतिबन्ध लागेका विमानस्थलहरुमा कायरो, इस्तानबुल, कुवेत सिटी, दोहा, अम्मान, रियाद, जेदा, दुबाइ र अबुधावी छन् । यो प्रतिबन्धबाट ९ एयरलाइन्स प्रभावित हुनेछन् । ती विमानहरु मध्यपूर्वबाट अमेरिका सिधा उडान भर्ने गर्छन् । अमेरिकी एयरलाइन्स भने उक्त प्रतिबन्धबाट प्रभावित हुने छैनन् ।
मुख्यमन्त्री आदित्यनाथः माओवादीका कट्टर बिरोधी, राजतन्त्रका प्रबल समर्थक
काठमाडौं, भारतीय चलचित्र उद्योगमा अमिताभ बच्चनको उदय भयो– एकजना क्रोधित युवाको रुपमा । अमिताभका शुरुका चलचित्रहरुमा उनलाई यही “एंग्री म्यान’को भूमिका देख्न सकिन्छ । उनी सुपरहिट भए किनभने उनले त्यतिखेरका युवाहरुको सेन्टिमेन्ट आफ्नो ‘रोल’ अनुसार कुशलतापूर्वक निर्वाह गरेका थिए। अमिताभ “एंग्री म्यान’को भूमिकामा देखिँदै गरेको बेला कुनै बेला नेपालको भूभाग रहेको भारतको गढवालको पौडी जिल्लामा एकजना बालकको जन्म भएको थियो । अजयसिंह विष्ट नाम गरेका ती बालक, २५ वर्ष नपुग्दै अमिताभको जस्तै “एंग्री म्यान’को भूमिकामा देखा परे । बाटो भने फरक थियो– अमिताभ कलाको संसारमा थिए, यी युवा गेरुवा बस्त्र लगाएर धार्मिक हुलदंगाको संसारबाट चर्चित भए । बिबिसीले उल्लेख गरे अनुसार, दुई दशक अघि गोरखपुरको मुख्य बजार गोलघरमा गोरखनाथ मन्दिरबाट सञ्चालित इन्टर कलेजमा पढ्ने केही छात्रहरुले पसलेसँग झगडा गरे । पसलेले पेस्तोल निकाले । यसको बिरोधमा एकजना युवा योगीको नेतृत्वमा सिंगो बजारमा उग्र प्रदर्शन गरियो । प्रहरीका एसपीको निवास समेत बाँकी रहेनन् युवाहले । सन् १९९४ को फेब्रुअरीमा नाथ सम्प्रदायको सबैभन्दा ठूलो मठ गोरखनाथ मन्दिरका उत्तराधिकारीका रुपमा देखिएका योगी आदित्यनाथ नै ती युवा थिए । यहीँबाट उनको परिचय देखिया “एंग्री युथ योगी म्यान’का रुपमा । त्यसपछि उनी पछि फर्केनन् । गोरखनाथ मन्दिरको राजनीतिक बिरासत छँदै थियो, आफ्नै बलबुतामा पनि उनले हिन्दु सेनाको कमाण्ड सम्हाले । यो हिन्दु बाहिनी उनको भाषामा हिन्दु सास्कृतिक संगठन भएपनि यो हिन्दु सेना नै थियो । नक्सलवादको कट्टर बिरोध कतिपयले यो हिन्दु बाहिनीको गठन गोरखपुरलगायतका क्षेत्रमा माओवादीहरुको प्रभाव रोक्न खोलिएको संगठनका रुपमा गरिएको बताउँछन् । त्यसैपनि योगी आदित्यनाथले कैयनपल्ट नक्सलवादीहरुको चर्को आलोचना गरेका छन् । यो हिन्दु बाहिनीलाई ग्राम रक्षा दलको नाम दिएर हिन्दु बिरोधी, राष्ट्र बिरोधी र माओवादी गतिविधिहरुलाई नियन्त्रित गर्ने योगी स्वयम्ले बताएका छन् । गुरु महन्त आबैद्य नाथ : यिनले नै योगी आदित्यनाथलाई गोरखनाथ मन्दिर र आफ्नो उत्तराधिकारी घोषित गरेका थिए । यो बाहिनीले गोरखपुर, देवरिया, महाराजगञ्ज, कुशीनगर, सिद्धार्थनगरदेखि मऊ आजमगढसम्म आफ्ना गतिविधि सक्रिय पारेको छ । कैयन् साम्प्रदायिक दंगामा यो बाहिनीको नाम जोडिएको छ । माओवादीहरुको हिट लिष्टमा समेत यो बाहिनी देखिएको छ । तर आदित्यनाथको कुशलता नै भनौं आफूमाथिका कैयन् आरोप प्रत्यारोपलाई बेवास्ता गर्दै उनी ४५ वर्षमैं मुख्यमन्त्रीसम्म पुगेका छन् । राजतन्त्रका समर्थक नेपाल र आदित्यनाथको सम्बन्ध नयाँ होइन, बिबिसीका अनुसार, गोरखनाथ मन्दिरको सम्पत्ति नेपालमा समेत रहेको छ । यतिमात्रै नभएर आदित्यनाथले विगतमा माओवादी आन्दोलन र त्यसपछि पनि कट्टर हिन्दुवादीहरुलाई सहयोग र समर्थन गर्दै आएका छन् । “सूर्य प्रणाम नगर्नेहरुलाइ समुन्द्रमा डुबाएर मार्नुपर्छ” जस्ता कट्टर अभिव्यक्ति दिने आदित्यनाथका लागि नेपालमा राजतन्त्रको अवसान ठूलो दुखद कुरा थियो । लगत्तै उनले नेपालको राजतन्त्रका पक्षमा खुलेरै आफ्नो मत राखे । नेपाल हिन्दू राजतन्त्रात्मक देश हुनुपर्ने उनको मत रहँदै आएको छ । उनले हिन्दु राष्ट्र नेपाल पुस्तक पनि लेखेका छन् । नेपालमा गम्भीर असर आम योगीको जस्तो मुहारमा सौम्यता देखिन्न आदित्यनाथको । त्यहाँ एउटा कठोरता झल्किन्छ । यो कठोरतालाई कतिपयले हिन्दू कट्टरतावाद झल्केको बताउँछन् । योगीको जीवन केलाएर हेर्ने हो भने उनी घोर मुस्लिम बिरोधी हुन, कट्टर हिन्दुवादी हुन । चरम साम्प्रदायिक हुन । हिन्दु धर्मका को सहिष्णु पक्षलाई उनले मान्दैनन् । योगीकै सानिध्यमा कुनै बेला रहेका कान्तिपुर दैनिकका पत्रकार डी आर पन्त लेख्छन्– गुरु आदित्यनाथ उत्तरप्रदेसका मुख्यमन्त्री भए , द्दण्द्धछ , द्दण्द्धट तिर उनको सानिध्यमा बस्ने मौका पायेको हु , उनको सोच र बिचार उनका गुरु महन्त आबैद्य नाथ जस्तो थिएन , नेपालको सिमा जोडिएको ठुलो प्रदेस्मा गुरुको आगमन धेरै राम्रो होला भन्न सकिदैन , उपेन्द्र यादब तप्काका नेताहरू गुरु कै मोहर हुन । यी समीकरणहरु हेर्दा नेपालको राजनीतिमा अबको पाँच या दश वर्षपछि नेपाली आदित्यनाथहरुको बलियो उपस्थिति नहोला भन्न सकिन्न । योगीको आगमनले नेपालमा कट्टर हिन्दुवादीहरुमा उत्साह छाएको छ । खासगरी विगतमा माओवादीबाट पीडित र माओवादीकै कारण धर्मनिरपेक्षता र राजतन्त्र समाप्त भएको ठान्ने ठूलो जमातलाई योगी मुख्यमन्त्री हुँदा थप बल मिल्न सक्छ । अहिलेसम्म नेपालमा शिव सेना, राष्ट्रिय स्वयम् सेवक संघ लगायतका संगठन जन्मेपनि त्यसबाट आन्दोलनकै स्वरुपमा गतिविधि भएका छैनन् । तर भारतमा भारतीय जनता पार्टीजस्तै नेपालमा राप्रपाले यी सबै एजेण्डाहरु बोकेको छ । योगी मुख्यमन्त्र हुन यसअर्थमा राप्रपाका लागि सुखद कुरा हो । यसबाट उसलाई चुनावमा ठूलो फाइदा हुन सक्छ । उत्तर प्रदेश भारतीय राजनीतिमा निर्णायक भूमिका राख्छ । नेपालको ठूलो सीमाना जोडिएको र उत्तराञ्चलमा समेत भारतीय जनता पार्टीकै सरकार बनेको अवस्थामा नेपालमाथि केन्द्र सरकारको दबदबा समेत थप बढ्न सक्छ । गैर राजनीतिक व्यक्तिका रुपमा योगी आदित्यनाथका पछाडि रामदेव छन । नेपालको बारेमा रामदेवको आफ्नै योजना छ । यी समीकरणहरु हेर्दा नेपालको राजनीतिमा अबको पाँच या दश वर्षपछि नेपाली आदित्यनाथहरुको बलियो उपस्थिति नहोला भन्न सकिन्न ।
नेपाली कला संस्कृतिकाे अध्ययनका लागि जापानी विद्यार्थी नेपालमा
काठमाडौं, फागुन १४ । नेपालको कला संस्कृतिको अध्ययनका लागि जापानी विद्यार्थीहरु नेपालमा आईपुगेका छन् । नेपाली कलासंस्कृतिको अध्ययनसँगै जापानी कला, संस्कृतिबारे नेपाली समुदायलाई जानकारी गराउने उद्देश्यले जापानका विभिन्न विश्वविद्यालयमा अध्ययनरत् १० जना विद्यार्थीहरुको एउटा टोलि नेपाल भ्रमणमा आएका हुन् । करिब दुई साता नेपाल बसाइको क्रममा उनीहरुले नेपालका ग्रामीण क्षेत्रमा पुगेर त्यहाँको कला, संस्कृति र रहनसहनको अध्ययन गर्ने र आफ्नो देशको संस्कृतिबारे स्थानीय वासिन्दासँग अन्तरक्रिया बताइएको छ । एसिएसन एसोसिएसन फर एजुकेसन एन्ड कल्चर एक्सचेन्ज नामक संस्थाको पहलमा भएको यो कार्यक्रममा सहभागी जापानी विद्यार्थीहरुले ग्रामीण क्षेत्रका जनताको जीवनस्तर उकास्नका लागि सीपमूलक तालिमसमेत दिने बताइएको छ । विगत पाँच वर्षयता यो कार्यक्रमअन्तर्गत् जापानी विद्यार्थी तथा जापानका विश्वविद्यालयमा अध्ययनरत् अन्य देशका विद्यार्थीहरु नेपाल आउन थालेको संस्थाका नेपाल प्रमुख क्षितिज भट्टराईले जानकारी दिए ।
धुर्मुस–सुन्तली फाउन्डेसनलाई १ लाख प्रदान
बर्दिवास, १ फागुन । महोत्तरीको बर्दिबासमा एकीकृत नमुना मुसहर बस्ती निर्माणमा जुटेको धुर्मुस–सुन्तली फाउन्डेसनलाई बस्ती निर्माणमा सहयोग पु¥याउन होटल व्यवसायी हिरा गौतमले शनिबार रु एक लाख रकम प्रदान गर्नुभएको छ । होटल व्यवसायी गौतमले इँटा टाउकामा बोकेका ‘धुर्मुस’लाई चेक हस्तान्तरण गर्दै भन्नुभयो – “म पनि यो पुण्य काममा थोरै सहभागिताले मिसिन आएको छु ।” बस्ती निर्माणका लागि अस्ट्रेलियाबाट रु ६५ लाख सहयोग प्राप्त भइसकेको छ । “सहयोगी मनहरुकै साथ र सहयोगले हामी निरन्तर राष्ट्र निर्माणको अभियानमा लागिरहेका हौँ” धुर्मुसले भन्नुभयो – “मुसहर बस्तीको निर्माण सम्पन्न गरी वैशाख १ गते वर्षौैंदेखि घरबारविहीन मुसहरलाई नयाँ घरमा प्रवेश गराउँदैछौँ ।” गत पुस २५ गते महजोडीले शिलान्यास गरेसँगै निर्माण सुरु भएको बस्तीको अहिलेसम्म ३५ प्रतिशत काम सकिएको छ । अब ६५ प्रतिशत कामका लागि आवश्यक आर्थिक भार पनि सहयोगी मनबाटै पूरा हुने कार्यस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै धुर्मुसले बताउनुभयो । रु चार करोड ७८ लाखको लागतमा ५० घर मुसहरका लागि शौचालय, खानेपानी धारा सुविधासहितको ५० घर, बालोद्यान, सामूहिक घर, मुसहरका कुलदेवता दिनभद्री मन्दिर र दुई सार्वजनिक शौचालय बन्ने काम अहिले धमाधम छ । सडक, बिजुली, खानेपानीसहितको सो निर्माणाधीन बस्ती अपाङ्गता र बालमैत्री हुने फाउन्डेसनका परियोजना प्रबन्धक अर्जुन न्यौपानेले बताउनुभयो । हालसम्म झन्डै रु दुई करोडभन्दा बढी रकम सङ्कलन भए पनि बस्ती निर्माणका लागि अझै रु दुई करोड ५० लाख रकम अपुग रहेकाले तराई मधेसका उद्योगी, व्यापारी, समाजसेवीसहितका समाजका सबै तहतप्काका सहयोगी मनसँग फाउन्डेसनले सहयोगका लागि अनुरोध गरेको छ । रासस
ओली कहिल्यै राष्ट्रवादी होइनन्, उनका लागि राष्ट्रवाद राजनीतिक खेल मात्र- मैनाली
राजा ज्ञानेन्द्रको पहिलो ‘कू’ (१८ असोज ०५९) हुनुमा राजनीतिक दलहरुलाई दोष लगाएपछि नेकपा एमाले स्थायी समितिबाट निकालिए, राधाकृष्ण मैनाली । त्यसपछि शाही सरकारमा मन्त्री हुँदै गणतन्त्र स्थापनापछि माओवादीमा प्रवेश गरे । पछि माओवादी पनि छाडे र एमाले प्रवेश गरे । स्थायी समितिमा पुनःस्थापना नगरिए पार्टीमा नफर्किने भनिरहेका मैनालीलाई अध्यक्ष केपी शर्मा ओलीले दुई वर्षअघि केन्द्रीय सदस्यका रुपमा पार्टी प्रवेश गराएका थिए । तिनै मैनालीसँगको संवाद : दुई वर्ष वितिसक्यो एमालेका अध्यक्ष केपी शर्मा ओलीले तपाईँलाईअझै स्थायी समिति सदस्य बनाएनन् है, अप्ठेरो लागेको छैन ? अध्यक्ष भइसकेपछि केपी ओली आफैँ मेरो घरमा आए । कर गरे, ‘ पार्टीको नेता तिमी, मेरै नेता पनि तिमी । तिमी बाहिर, मचाहिँ एमालेको अध्यक्ष भएर बस्दा त्यति राम्रो सन्देश जान्न ।’ त्यस दिन म केही बोलिनँ । केही दिनपछि आफ्नै घरमा बोलाए । त्यही कुरा दोहोर्याए । मैले त अलिक पछि निर्णय गर्छु भनेको हो । उनी कराए, ‘पछि के निर्णय गर्छौ ? अहिले केन्द्रीय समितिमा आऊ, पछि स्थायी समितिमा ल्याइहाल्छु नि ?’ उनको ‘बडिल्याङ्ग्वेज’ हेर्दा मलाई लाग्यो, पछि स्थायी समितिमा कसो नलैजालान् त तर, दुई वर्ष बितिसक्यो, लैजाँदैनन् । बीचमा एक–दुईपटक सम्झाएँ पनि । मेरै बारेमा बिहान–बेलुकी कुराकानी गर्न जाऊँ, त्यो पनि भएन । त्यसैले मैले अलिक असहज महसुस गरेको छु । ओलीजीसँगभेटघाटका बेला केही कुरा भएको छैन ? देखावटी कुरामा साह्रै सिपालु मान्छे हुन् उनी । आफूलाई बाहिर राम्रो देखाउन गर्नुपर्ने व्यवहारमा कुनै कञ्जुस्याइँ गर्दैनन् । मलाई पनि त्यसै गर्छन्, देख्नासाथ बोलाएर छेउमै राख्छन्, मीठो गफ गर्छन् । तर, दिलदेखि नै जिम्मेवारी दिने कुरामा चाहिँ त्यस्तो देखिएनन् । माधव नेपालले रोकेका त हैनन् ? हो कि त भनेर माधवसँग पनि कुरा गरेँ । उनले ‘हिजो पार्टीबाट हटाएको जिम्मेवारी लिने तर स्थायी समितिमा ल्याउन मैले रोकेको होइन’ भने । उनले यतिसम्मै भने कि ‘यदि ओलीले प्रस्ताव ल्याए र मैले रोकेँ भने, मेरो मुखमा थुकिदिए हुन्छ ।’ माधवजीका तर्फबाट स्थायी समितिमा मलाई लैजान रोकावट हुन्न भनेर ओलीसँग भनेको पनि हुँ । तैपनि, भएको छैन । कहिले राजाकहाँ, कहिले माओवादीमा गएको मान्छेलाई किन स्थायी समितिमा ल्याउने भनेर पनि त हुन सक्छ, होइन ? राजनीतिमा कहिले सही काम गरिन्छ, कहिले गलत । सबैको हुन्छ यस्तो । मैले के सही गरेँ, के गलत गरेँ भन्ने कुरा हजारचोटि भनिसकेँ हुँला । म एमाले खोज्दै गएको होइन । एमाले मलाई खोज्दै आएको हो । यदि राजा र माओवादीकहाँ गएको भनेर जिम्मेवारी नदिएका हुन् भने मलाई एमालेमा नबोलाएको भए हुन्थ्यो । त्यति वरिष्ठ नेता, किन पछि परियो भनेर सोच्नुभएको छ ? मनमा जे लागे पनि बाहिर ‘रिजर्व’ बस्ने, भित्रभित्रै चाहिँ टिम बनाएर दाउपेच खेल्ने कुरा रहेछ राजनीति । तर, मैले बुझेको राजनीति भनेको लागेको कुरा भन्ने हो, जानेको कुरा गरिहाल्ने हो । यस्तो स्वभावको मान्छेलाई राजनीति गर्न सजिलो हुँदो रहेनछ । सबैले झुक्याउँदा मात्र रहेछन्, छक्याउँदा मात्र रहेछन् । किन होला त ? अरूले राम्रो भनून् कि नराम्रो, लागेको कुरा भन्ने बानीका कारण धेरै मित्र मसँग चिढिए । नाफानोक्सान हेरेर बोल्ने बानीको विकास गर्न सकिनँ मैले । त्यस्तो हिसाबकिताब गर्ने मित्रहरू माथि पुगे । तपाईं दाजु–भाइ (सीपी मैनाली) बीचको फुटले गर्दा पनि हो कि ? एकले अर्कोलाई तानेर हामी नेता भएका होइनौँ । आ–आफ्नो सोचाइ र पृष्ठभूमिका साथ हामी राजनीतिमा अघि बढेका हौँ । त्यसैले दाजुभाइ फुटेकैले यस्तो भइयो भन्ने लाग्दैन । सीपीसँग किन तपाईंको कहिल्यै मतो मिल्दैन ? उनको र मेरो स्वभाव नै फरक छ । उनी राजनीतिमा हिसाबकिताव गर्न जान्दछन्, कमर्सियल स्वभावका छन् । मलाई त्यस्तो हिसाबकिताब गर्न आउँदैन । ओलीचाहिँ कत्तिको हिसाबकिताब गर्नुहुन्छ ? भन्न त उनलाई कतिपयले राजनेता पनि भनेका छन् । तर, मेरो दृष्टिमा उनी राजनीतिक नेता होइनन्, राजनीतिक खेलाडी हुन् । नाफा–नोक्सान हेर्छन् । कताबाट किक हान्दा गोल गर्न सकिन्छ, उनको ध्याउन्न यसैमा छ । अहिले ओलीको राष्ट्रवादको यत्रो चर्चा भएको छ, तपाईँ चै किन नी असन्तुष्ट ? कस्तो अप्ठ्यारो प्रश्न ! नबोलौँ, मनमा लाग्या कुरा पर्यो । भनौँ, पार्टीका अध्यक्षका बारेमा बोल्नुपर्ने भो ! राजनीतिक खेलाडीका रूपमा उनले राष्ट्रवादका कुरा गरिरहेका छन् । नत्र, महाकाली सन्धिमा पानीको बाँडफाँटमा नेपाल ठगिँदा उनको राष्ट्रवाद कहाँ गएको थियो ? त्यो सन्धिताका उनले राष्ट्रवादलाई कसरी बुझेका थिए ? अहिले कसरी बुझिरहेका छन् ? त्यसैले ओलीका लागि राष्ट्रवाद राजनीतिक खेल हो, आस्था वा आदर्शको विषय होइन । उसो भए, तपाईँले चिनेका ओली र अहिलेका ओली बदलिएका हुन् ? पहिले त यस्ता खेलाडी होइनन् उनी । दासढुंगा काण्डपछाडि र महाकाली सन्धिको आसपासदेखि हो, उनी खेलाडी बन्न थालेको । त्यसयता उनी कहिले राष्ट्रवाद बिर्सन्छन्, कहिले राष्ट्रवादी बनिदिन्छन् । के बोल्दा फाइदा हुन्छ, त्यही गर्दै छन् । अहिलेको राजनीतिक घटनाक्रम कसरी नियाल्दै हुनुहुन्छ ? राजनीतिले राष्ट्रलाई माथि उठाउनुपर्ने हो । तर, कांग्रेस, एमाले, माओवादी तीनै पार्टीको राजनीतिले राष्ट्रलाई संकटमा पारेको छ । हिजो पो दरबार हाउगुजी थियो । भित्र जतिसुकै खोक्रो भए पनि त्यही हाउगुजीले राष्ट्र टिकेको थियो । अहिले ‘पार्टीहरू अजङ्गका छन्’ भन्ने त्यस्तै हाउगुजी हुनुपर्ने तर छैन । पार्टीहरू कस्ता छन् भने बाहिर हेर्दा सुन्निएका, भित्रचाहिँ अन्तर्संघर्षले धोद्रिएका । सबै नेता पखालिएका । कुनै नेताको प्रशंसामा कसैले बोल्दैन । बोले पनि जनताले पत्याउँदैनन् । पार्टी र नेताहरू यो स्थितिमा पुग्नु भनेको देशमा संकट सिर्जना भइसकेको छ भन्ने संकेत हो । कतिपयले त एमाले लगायतका दलको कारण राजतन्त्र फर्केला भन्छन, त्यस्तो संभावना देख्नुहुन्न ? जादुगरी खेल नै चल्यो भने अर्कै कुरा । नत्र राजतन्त्र फर्किन सम्भव छैन । जतिसुकै जे भने पनि राजतन्त्र भनेको परम्परागत खालको व्यक्तिवादी संस्था हो । यदि राजा ज्ञानेन्द्र ‘पपुलर’ थिए भने राजतन्त्र हट्दै हट्दैन थियो । अहिले ज्ञानेन्द्र मात्र होइन, पूर्वराजपरिवारका अरू सदस्य पनि पपुलर छैनन् । त्यसैले राजतन्त्र फर्केलाजस्तो मलाई लाग्दैन । तपाईँको थुप्रै कुटनीतिक निकायका पूर्व कर्मचारीसँग पनि भेट हुन्छ होला के भन्छन उनीहरु ? हालै मात्र अवकाश पाएका सेनाका केही जनरलसँग मेरो भेटघाट भयो । उनीहरू पनि राजनीतिक अवस्थाबाट निराश देखिए । ओजनदार व्यक्तित्व राष्ट्रपतिको जिम्मेवारीमा आउन नसकेकामा पनि गुनासो रहेछ उनीहरूको । राजनीतिक आरोह–अवरोह नबेहोरेकाहरू राष्ट्रपति भएका छन् । ३०/३५ वर्षको अनुभव भएका सेनाका अधिकृतहरूले विश्वास र भर गर्न सक्ने मान्छे परमाधिपति पाउन सकेको छैन । साँच्चै भन्नु त राजतन्त्रको अन्त्य भएर गणतन्त्र ल्याएको दिन तपाईँले कस्तो महसुस भएको थियो ? त्यस्तो पनि होइन । म त खुसी नै थिएँ राजतन्त्र जाँदा । राजाहरूमा एउटा आदर्श होला भन्ने लाग्थ्यो । नजिकबाट हेर्दा त्यस्तो होइन रहेछ । राजाहरू पनि नेताजस्तै आफ्नै मात्र स्वार्थ हेर्ने प्राणी रहेछन् । त्यस्तो संस्था गयो, नेताहरू पनि अब फिर्छन् होला जस्तो लागेको थियो । तर, हाम्रो दुर्भाग्य १ संविधान संशोधनमा एमालेले हलो अड्काइरहने, मधेसी नेता संशोधनसहित चुनावमा जाने भन्ने हठले नेपाली राजनीतिलाई कहाँ लैजाला ? तीन ठूला दल मिले भने ठीकै ठाउँमा जान्छ । मधेसीसमेत मिले भने त झन् राम्रो हुन्छ । तर, उनीहरू किन मिल्दैनन् भने उनीहरूको साँचो उनीहरूको हातमा छैन । हुन त तीन ठूला दलको साँचो पनि उनीहरूको हातमा छैन । अर्कैको साँचो आफ्नो खल्तीमा लुकाएर हिँडिरहेका छन् उनीहरू । जे होस्, तीन ठूला दल मिले भने कम्तीमा संविधानचाहिँ कार्यान्वयन हुन्छ । तर, संविधान कार्यान्वयन नहुँदा पनि म खुसी नै हुन्छु । किनभने, संविधान कार्यान्वयन नहुँदा कम्तीमा संघीयता र धर्मनिरपेक्षताको क्यान्सरबाट मुलुकले मुक्ति पाउँछ । राजनीति त्यही दिशातिर गइरहेको छ । संविधान कार्यान्वयन नगर्ने भए राजतन्त्र फर्काउनु पर्ला ? कति ठाउँ चहारी हिँड्नु मैले यो उमेरमा १ त्यसैले विचार जोसँग मिले पनि बस्नचाहिँ एमालेमै बस्छु । नातागोता सबै एमालेमा छन्, हात मिलाउने साथीहरू पनि यहीँ छन् । म जहाँ पुगे पनि एक्लै जाने हो । अरूहरू मसँग जाँदैनन् । तर, एमालेमा बसिया’छ, केही काम गर्नु पनि पर्या’छैन । रमिता हेर्या’छु, बस्या’छु । यसभन्दा आनन्द अरू केमा हुन्छ ? अनि, समकक्षी राजनीतिक साथीहरूबीच कत्तिको चियापान हुन्छ ? उनीहरू बोलाउँदैनन् । नबोलाएपछि आफूले पनि किन बोलाउने भन्ने लाग्छ । मित्रहरूले के बुझेका छन् भने कुरा चियाको होइन, ‘पावर’को हो । मसँग ‘पावर’ हुँदो हो त उनीहरू चिया खाने निहुँमा आइरहेका हुन्थे । ‘हिजो राजाको सरकारमा गएको’ भनेर अहिले खिसी गर्ने साथीहरू राजाको मन्त्री छँदा मकहाँ धाउँथे । अहिलेको एमाले पोलिटब्युरोका आधाभन्दा बढी सदस्य आउँथे मकहाँ । मीठा कुरा गर्थे, काम पट्याएर जान्थे । स्थिति कस्तो छ भने उनीहरू मलाई भेट्न आउँथे भन्दा कसैले पनि पत्याउँदैन । यस्तो अवस्था छ, अहिले मेरो । हामीले यो सामग्री नेपाल साप्ताहिकबाट साभार गरेका हौं । सम्पादक
होटल हिल्टनले जमिनमुनी अत्याधिक खन्दा नक्सालको सडक भासियो
काठमाडौं, पुस २४ । जमिन मुनि अत्याधिक खनेका कारण काठमाडौंको नक्सालमा सडक भासिएको छ । नक्सालस्थित भगवती बहाल र प्रहरी प्रधान कार्यालय जाने बाटोमा साे जमिन खनिरहेको अवस्थामा आइतबार सडक भासिएपछि उक्त क्षेत्रमा सवारी आवागमन अवरुद्ध भएको हो । दुईतर्फी सवारी सञ्चालन हुने साे सडकको आधा भाग भासिएपछि सवारी आवागमन अवरुद्ध भएकाे छ भने सो क्षेत्र वरपरको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ। हिल्टन वर्ल्डवाइड र जगदम्बा हस्पिटालिटी समूहको लगानीमा निर्माणाधीन होटलले जमिनमुनि अत्याधिक खन्दा सडक भासिएको प्रहरीले बताएको छ । हिल्टनले नक्सालमा ११ तलाको पाँचतारे होटल निमार्ण गर्न लागेकाे हाे। होटल निर्माणका लागि जमिनमुनि अत्याधिक खन्दा नजिकैका घरहरु समेत धरापमा पर्ने गरेकाे भन्दै छिमेकीहरुले यसअघि नै ध्यानाकर्षण गराएपनि निर्माण कार्य भने रोकिएको थिएन ।
प्रचण्ड सरकार ! २ वर्ष बढी सरकार चलाऊ तर, ‘स्थानीय तह’कै चुनाव गराऊ
रूद्रप्रसाद भट्टराई/ संविधान जारी भएपछि दलहरु चुनाव गराउन केन्द्रित छन् । तर, चुनावको घोषणा गराउन सकिरहेका छैनन् । प्रमुख तीन दलहरुबीच र मधेसी मोर्चाबीचमा चुनावको लागि पटक–पटक वार्ता भएपनि कस्तो चुनाव गराउने भन्ने निश्चित भइसकेको छैन । प्रमुख प्रतिपक्षी एमाले पूरानै संरचनाको चुनाव गराउनुपर्ने अडानमा देखिन्छ । संविधान संशोधन नगरी सिधै चुनाव जाने उसको योजना रहेको बुझिन्छ तर मधेसी मोर्चाले संविधान संशोधन नगरी कुनैपनि चुनावमा भाग नलिने र पेलेर जान खोजे प्रतिकार गर्ने योजना सार्वजनिक गरेको छ । लेखक: रूद्रप्रसाद भट्टराई सत्ता साझेदार दलहरू माओवादी र काँग्रेससँगै प्रमुख प्रतिपक्षी दल एमालेपनि निर्वाचनको लागि करिब सहमत् देखिएका छन् । निर्वाचनभित्रका पूराना र नयाँ संरचनाको सवाल—जवाफ छुट्टै मुद्धा छ तर चुनाव कसले गराउने ? भन्ने कुरामा कुरा नमिलेको जस्तो देखिन्छ । देश संघात्मक भएको छ रे तर जनताले अनुभूति गर्न पाएका छैनन् । नागरिकताको विषयले केही मत्थर देखिएपनि सीमांकन र प्रदेशको मुद्धामा आजसम्म कुरा मिलेको छैन । स्थानीय पुनसंरचनाले धेरै जिल्ला, गाउँमा विवादका स्वरहरू निश्किए । यो अवस्थामा पुरानै संरचनामा निर्वाचनमा जाने कुरा हुन सक्छ । यदि पुरानै संरचनाको चुनावमा दलहरु जान सहमत भएभने त्यसले एकातिर संघीयताको खिल्ली उडाउँछ भने अर्काेतिर चुनाव नै नहुँने र स्थानीय निकाय झनै अनिनिर्णयको बन्दी हुने खतरा देखिन्छ । विगत २० वर्षदेखि स्थानीय निकायको चुनाव भएको छैन । समस्या दुबैतिर देखिएपनि पहिलो संरचनामा निर्वाचनमा जानुलाई आम जनसमुदायले शंकाको दायरामा राखेको देखिन्छ । पुरानै संरचनामा निर्वाचनमा जाने ठूला दलहरुले निर्णय गरेभने त्यो पश्चगमनको बाटो हुन्छ । त्यसलाई संविधानको पालनामा सरकार गम्भीर नरहेको भनेर भन्न सकिन्छ मलाई लाग्छ सरकारले पश्चगमनको बाटो लिने छैन । नेपाली जनताको २००७ सालदेखिको जनताले संविधान बनाउने चाहनालाई सरकारले पूरा गर्नेछ । यतिका वर्षदेखि स्थानीय निकायको चुनाव नभएर ध्वस्त भएको स्थानीय संरचनालाई अब हुने चुनावले ट्रयाकमा ल्याउन सक्छ जसरी अहिले कर्मचारीको मनलाग्दीमा स्थानीय निकाय चुर्लुम्म डुबेको छ, अनियमितता बढेको छ । त्यसकारण चुनावबाट आएका जनप्रतिनिधि हुनुपर्छ भन्ने कुरामा आम मानिस सहमत छन । केहिसमय अगाडिसम्म निर्वाचनमा गइहाल्नु पर्छ भन्ने एमालेले विभिन्न बहानामा त्यहि मुद्धालाई सारेको जस्तो देखिन थालेको छ । एमाले चाहन्छ संरचना नफेरी चुनावमा जाऊ । यदि पुरानो संरचनामा चुनावमा गएको खण्डमा ०५४ कै जस्तो सिट जितिने एमालेको आँकलन छ । बीस वर्ष अघिको सिट जित्नको लागि पनि एमाललेलाई स्थानीय ‘तह’ होइन ‘निकाय’को चुनाव उपयुक्त हुने उसको बुझाई छ । तर, सबै दललाई विश्वासमा लिएर चुनावको घोषणा गर्न सरकारलाई दबाब परेको देखिन्छ । ‘खाऊँ दिनभरिको शिकार, नखाऊँ कान्छा बाबुको अनुहार’को अवस्था छ, सरकारलाई पनि । प्रचण्ड नेतृत्वको सरकारलाई जसरीपनि सबैको सहमतिमा चुनाव गराउनैपर्ने बाध्यता छ, सरकार चाहन्छ जनताको कामहरु आफू सरकारमा रहेका बेला सम्पन्न गरौं । तर, त्यति सहजै त्यो अवसर दिने मुडमा प्रमुख प्रतिपक्षी लगायतका दलहरु छैनन् । सरकार निर्माणमै ९ महिनाको अवधीमा स्थानीय निकायको निर्वाचन गराउने प्रतिवद्धतासहित प्रचण्ड सरकार बनेको हो । सरकार बनेको चार पाँच महिनामा जनताले महसुस गर्नेगरी धेरै कुरा भएका पनि छन् । तर, प्रदेश सीमांकनको झमेलाका कारण स्थानीय पुर्नसंरचनागत विवादले समाधानको बाटो अझै लिन सकेको देखिदैन । त्यसैकारण सत्तासाझेदार कांग्रेस स्थानीय तहको चुनाव गराउन प्रचण्डसँगै लागिपरेको देखिन्छ । कांग्रेससँगको सम्झौतामा ९ महिनामा सरकार छाड्ने उल्लेख गरेपनि तत्काल कांग्रेस सरकारमा जाने मुडमा देखिदैन कारण हो स्थानीय निकायको निर्वाचन गरेरै मात्र नेतृत्वमा जाने । यो अवस्थामा सरकारको आयू छैन भन्नुलाई गलत हुन्छ । स्थानीयको जिम्मा माओवादीलाइ र क्षेत्र र केन्द्रको जिम्मा काँग्रेसलाई भन्ने सहमतीलाई दुईदलले राम्ररी हेक्का राखेको प्रष्ट देखिन्छ । दुई वर्ष नै लागेपनि प्रचण्ड नेतृत्वको सरकारबाट कांग्रेस हट्ने संभावना तत्काल देखिदैन, कांग्रेसको भित्री रणनीति कम्तीमा पाँच वर्ष बहुमतको सरकार चलाऊँ भन्ने रहेको देखिन्छ । हुन त सरकार भन्दा संरचना विवाद नै ठुलो विषय हो । संरचना नमिलाइकन कुनैपनि निर्वाचनले अर्थ राख्न सक्तैन । भूगोलको समस्यालाई समाधान नगरिकन अन्य कुराहरू निरर्थक देखिन्छ । संविधान निर्माणको बेला एक देखिएका दलहरू संविधान जारी गरेपछि मधेसी मोर्चाले गरेको आन्दोलनलाई के भन्ने ? मोर्चालाई पेलेर जाँदा राष्ट्रवादी देखिएको ठान्ने एमालेले विर्सेको कुरा के हो भने–‘कसैको अधिकार खोसेर राष्ट्रवादी भइदैन’ । ऋण र व्ययभारको जीवनलाई ओलीजीको राष्ट्रवादले कदापी पुरा गर्न सक्दैन । बुझ्नेले कुरा बुझेका छन् तर नबुझ्नेलाई ओलीजी प्यारो बनेका छन, राजा महेन्द्रसँग तुलना गर्छन । प्रचण्ड सरकारले पनि यहि अवस्थामा स्थानीय चुनाव गराउन सक्दैनन् । कायम रहेका विद्यमान समस्याको निराकरण नगरि चुनावमा जानुपनि हुन्न । १४ वर्ष वनवास बस्नेले अर्को एकवर्ष थप गर्न गाह्रो मान्दैन र हुँदैनपनि । चुनाव गर्न नसक्ने होइन, हुन्छ तर पुरानो संरचनामा भएको चुनावले वर्तमान माग सम्वोधन गर्न नसक्ने निश्चित छ । २० वर्ष अगाडिको समयमा अहिले देश छैन र फर्कनपनि सक्दैन । उसैपनि पुरानो संरचनागत् आधारले देशलाई विकास दिएन भने डुक्रिने यीनै बन्धुहरू अहिले पुरानै संरचनामा फर्कनुले यी कत्तीका लोकतान्त्रिक र संघीयताका पक्षधर रहेछन् स्पष्ट भइसकेको छ । यसकारण वैकल्पिकतामा पुरानो संरचनाको नाम लिएपनि व्यवहारिक रुपमा हामी पछाडि फर्कने माध्ययमको रुपमा स्थानीय निर्वाचनलाई ढाल बनाउनु हुँदैन । बरु सरकार लम्बिएर केही हुन्न तर संरचना पुरातन भयो भने विभिन्न वाधाहरू नजिर बनेर सताइरहनेछन् । यसकारण अबका दिनहरू झनै पीडादायी भएपनि गर्नसक्दा असम्भव छैन । नमिलेका सीमांकनलाई सबै बसेर मिलाऔँ, थप नमिले स्थानीय जनमतमा जाऔँ र समाधान निकालौँ । फलानोले यसो गर्यो त्यसलाइपनि त्यसै गर्ने हो भन्ने भावनालाई नलम्ब्याऊँ । प्रजातन्त्रको गलत् फाइदा नउठाऊँ । यसोगर्न सकेमात्र समाधान नकि बन्नेछ । वर्तमान नेतृत्वले यो जिम्मा लिन सकेनभने अर्कोले गर्दैन । पाएका उपलब्धीहरू स्वाहा बनाउने खेललाई अन्त्य गर्दै समस्यालाई थाँती नराख्दै नयाँ संरचनाको निर्वाचनमा जानु सबैभन्दा उत्तम हुने देखिन्छ । यो परिवेश निर्माण गर्नको लागि पनि सुम्पिएको काम पुरा गरुन भन्ने जनताको इच्छालाई वर्तमान सरकारले पूर्णता र विश्वासनियता बनाउनु जरुरी छ । यसको लागि बरु २ वर्ष बढी सरकार चलाऊ तर सीमांकनको मुद्धा बाँकी राखेर पुरानो संरचनामा निर्वाचनमा नजाऊ, नयाँ संरचनामा चुनाव गरेर देखाऊ । त्यसपछिमात्र जनताले भन्नेछन् प्रचण्ड सरकारले चुनाव गराउन सक्छ र सक्यो, कम्तीमा एउटा निकास दियो भनेर ।
शिक्षा मन्त्री र डिन अग्रबालबीच छलफल
काठमाडौं, पुष ७ । शिक्षा मन्त्री धनिराम पौडेलले चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) को डिन कार्यालयमा भैरहेको तालाबन्दीप्रति चासो व्यक्त गरेका छन् । मन्त्री पौडेलले आइओएमका नव नियुक्त डिन डाक्टर जगदिश अग्रबाललाई बुधबार राती आफ्नो निबासमा बोलाएर असन्तुष्ट पक्षको चित्त बुझाएर डिन कार्यालयमा भैरहेको तालाबन्दी खोल्ने बाताबरण सिर्जना गर्न निर्देशन दिएका हुन्। मन्त्री पौडेल र डिन अग्रबालबीच गए राती झण्डै दुई घण्टासम्म यस बिषयमा छलफल भएको थियो । छलफलमा डाक्टर अग्रबालले विहिबारदेखि नै असन्तुष्ट पक्षसँग संवाद शुरु गरी समस्या समाधानको लागि पहल गर्ने प्रतिवद्धता मन्त्री पौडेल समक्ष व्यक्त गरेका छन। उनले असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउन डाक्टर गोविन्द केसीको समेत सहयोग खोजिने बताए । डाक्टर गोविन्द केसीको माग अनुसार सरकारले डाक्टर केशवप्रसाद सिंहलाई राजिनामा दिन लगाएर डाक्टर जगदिश अग्रबाललाई आइओएमको नयाँ डिन बनाएपछि असन्तुष्ट पक्ष संघर्ष समिति नै गठन गरेर आन्दोलनमा उत्रिएको छ । असन्तुष्ट पक्षले गरेको तालाबन्दीको कारण डिन अग्रबाल अझै आफ्नो कार्यकक्षमा प्रवेश गर्न पाएका छैनन । डाक्टर सुरेश उप्रेती संयोजकत्वको संघर्ष समितिले डिन अग्रबालले राजिनामा नदिएसम्म तालाबन्दी नखोल्ने अडान लिएको छ । कानुन सम्मत रुपमा नियुक्त भएका डाक्टर सिंहलाई एउटा व्यक्तिको हठको कारण सरकारले जवर्जस्ती राजिनामा दिन बाध्य बनाएर गैर कानुनी ढंगले अग्रवालाई डिन नियुक्त गरेको असन्तुष्ट पक्षको आरोप छ ।
बाबु आमाको नाममा सोह्र लाखको जग्गा दान
महोत्तरी, मंसिर २० । महोत्तरीमा एक दम्पतीले आफ्ना स्वर्गीय बाबु आमाको नाममा करिव १६ लाख मूल्य बराबरको जग्गा दान गरेका छन् । राधाकृष्ण मन्दिर बनाउनका लागि सो जग्गा दान गरेका हुन् । बर्दिबास नगरपालिका–२ का योगेन्द्र र पत्नी समिता हमालले मन्दिर निर्माण गर्नका लागि सडक छेउमै रहेको चार धुर जग्गा दान निःशुल्क दान गरेका हुन् । योगेन्द्रले आफ्ना बुबा स्व नारायणबहादुर र आमा दुर्गा हमालका स्मृतिमा रु १६ लाख मूल्य बराबरको सो जग्गा प्रदान गरेको स्थानीय सामाजिक अभियानकर्मी राजकरण महतोले बताए ।
डा. केसीले आज अनसन तोड्ने, यसरी मिल्यो कुरा !
काठमाडौं १६ मंसिर । स्वास्थ्य क्षेत्रमा रहेको विकृति अन्त्यको माग गर्दै १९ दिनदेखि आमरण अनसनरत प्राध्यापक डा. गोविन्द केसीले विहिबार अनसन तोड्ने भएका छन् । आमरण अनसनरत डा. केसीको माग सम्बोधनमा सरकारले डिन नियुक्तीमा नयाँ मापदण्ड बनाउने र सोहीअनुसार आगामी निर्णयहरु हुनेभएपछि अनसन तोड्न सहमत भएका हुन् । तर डा. केसीको मुख्य माग त्रिभुवन विश्वविद्यालयका उपकुलपति तिर्थ खनियाँ र आईओएमका डीन डाक्टर केशब प्रसाद सिंहको बर्खास्ती माग गर्दै उनी कात्तिक २९ गतेदेखि आमरण अनसनमा छन् । उनको माग सम्बोधनमा सरकारले नयाँ मापदण्ड बनाउन सहमत भएपछि उनको अनसन तोडिन लागेको हो । सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले आमरण अनसनरत डाक्टर गोविन्द केसीले उठाएका माग २४ घण्टाभित्र सम्बोधन नभए देशभरका सेवा ठप्प पार्ने चेतावनी दिएको छ । अनसनको १८ औं दिनसम्म पनि समस्या समाधान नभएको भन्दै गोदानले हिजो बिज्ञप्ति जारी गरी २४ घण्टे अल्टिमेटम दिएको हो । तर सरकारले डा. खनियाँ र सिंहलाई तत्काल पदबाट भने नहटाउने भएको छ । त्रिवि उपकुलपति र डिन नियुक्तिको लागि नयाँ मापदण्ड बनाएर विवाद नआउनेगरि प्रतिस्पर्धामा नियुक्ती गर्नेमा सहमति बनेको शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले दाबी गरे । उनले भने– आज हुने वार्तामा डा. केसीसँग सहमति हुने र आजै केसीले आमरण अनसन तोड्नुहुनेछ,’ एक रेडियो अन्तर्वार्तामा श्रेष्ठले भने ।
भारतीय वायुसेवा बलको विमान दुर्घटना, तीनको मृत्यु
नयाँ दिल्ली, मङ्सिर १६ । पूर्वी भारतमा बुधबार वायुसेवा बलको एक विमान दुर्घटनाग्रस्त भएको छ । वायुसेवा बलको यस हेलिकोप्टर दुर्घटनामा कम्तीमा तीन सैनिक अधिकारीहरुको मृत्यु भएको रक्षा मन्त्रालयका वरिष्ठ अधिकारीले जानकारी दिनुभएको छ । यद्यपि यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् । रासस
पूर्वराष्ट्रपति भण्डारीद्धारा मदन भण्डारीको शालिकमा माल्यार्पण
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले स्व. मदन भण्डारीको शालिकमा माल्यार्पणसहित श्रद्धाञ्जली अर्पण गरेकी छिन्। ३१ औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा बल्खुस्थित मदननगर पुगी उनले श्रद्धाञ्जली अर्पण गरेकी हुन्। स्मृति सभामा पूर्वराष्ट्रपति भण्डारीसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङलगायत नेता उपस्थित थिए। सो अवसरमा नेता-कार्यकर्ताले पनि मदन भण्डारीको शालिकमा माल्यार्पण गरे। नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटनामा निधन भएको थियो। यही दिनको स्मरणमा नेकपा (एमाले)ले हरेक वर्ष जेठ ३ गते विविध कार्यक्रम गर्दै आएको छ। मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ‘जबज’ को सिद्धान्त नेपालको कम्युनिष्ट आन्दोलनमा पृथक मानिन्छ।
चितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर
चितवन । चितवनमा ५२ विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गरिएको छ । ‘सपना भिलेज सोसल इम्प्याक्ट’ले स्थानीय सरकारसँग सहकार्य गरी उनीहरुका लागि घर निर्माण गरिदिएको हो । ‘विपन्नलाई सपनाको घर’ कार्यक्रमअन्तर्गत घर बनाउनै नसक्ने आर्थिक अवस्था कमजोर भएका परिवारको पहिचान गरी सुरक्षित आवास निर्माण गरिएको सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले बताए । उनका अनुसार रत्ननगर, खैरहनी र राप्तीमा घर निर्माण गरिएको हो । रत्ननगर–७ राउत टोलमा चार घर निर्माण गरी आइतबार चार परिवारलाई हस्तान्तरण गरिएको अध्यक्ष गिरीले बताए । वडा कार्यालय र सपना भिलेजको संयुक्त लगानीमा घर निर्माण गरिएको हो । झुप्रोमा बस्दै आएका सुदमिया राउत, केसिया महतो, इतोरिया महतो र सुष्मा राउतलाई घर हस्तान्तरण गरिएको हो । वडाध्यक्ष सजना महतो र सपना भिलेजका अध्यक्ष गिरीले चार जनालाई घरको चाबी हस्तान्तरण गरेका हुन् । प्रतिघर निर्माण गर्न सात लाख ५० हजार खर्च भएको सपना भिलेजका कार्यक्रम निर्देशक सुजन बस्नेतले जानकारी दिए । भिलेजले प्रतिघर सात लाख र वडा कार्यालयले प्रतिघर रु ५० हजार लगानी गरेका छन् । सपना भिलेजका अध्यक्ष गिरीका अनुसार २०६९ सालदेखि विपन्नका लागि आवास निर्माण थालिएको हो । सीमान्तकृत मुसहर समुदायका लागि २१ घर पुनःनिर्माणसहित जिल्लाका विभिन्न पालिकाका अतिविपन्न परिवारको पहिचान गरी सुरक्षित आवास निर्माण गरिएको उनको भनाइ छ । सपना भिलेजले अहिले इच्छाकामना गाउँपालिका–१ का चेपाङ समुदायका लागि काम गरिरहेको छ । चेपाङ समुदायका लागि जीविकोपार्जनको आधार तयार गर्न, विद्यालय खाजा कार्यक्रम, विद्यालय भवन निर्माण, चेपाङ समुदायकै सहभागितामा कफी खेती, तरकारी खेतीलगायत काम भइरहेको छ । इच्छाकामना–१ स्थित राष्ट्रिय आधारभूत विद्यालय भाराङ्मा आवाससहितको पक्की भवन निर्माण भइरहेको अध्यक्ष गिरीले जानकारी दिए । रासस
आज सुशासन समितिको बैठक बस्दै
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्ने भएको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा नेपाली सेनाले बनाउँदै गरेको द्रुतमार्ग र अन्य सडक सम्बन्धमा छलफल हुने कार्यसूचीमा उल्लेख गरिएको छ ।
कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक टीआरसीबारे छलफल
काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक सिंहदरबारमा जारी छ । बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकमाथि छलफल भैरहेको छ । विधेयकमा सहमति जुटाउन आजै आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता केपी शर्मा ओली। सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए । उक्त भेटमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक अघि बढाउन प्रधानमन्त्रीले नेताहरूसँग सहमति मागेका थिए । त्यसक्रममा एमाले अध्यक्ष ओलीले विधेयक अघि बढाउने सहमति दिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । एमाले प्रमुख सचेतक पदम गिरीले पनि सहमतिबाटै विधेयक अघि बढाउने सहमति भएको जानकारी दिए ।