विद्युत् चोरी रोक्न सरकार आक्रमक

काठमाडौं, मंसीर २८ । विद्युतमा हुने गरेको चुहावट रोक्न सरकारले गम्भीर कदम चाल्ने निर्णय गरेको छ । सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आब्हानमा सिंहदरबारमा बसेको बैठकले विद्युत् चोरी र चुहावट रोक्न कठोर हुने निर्णय गरेको हो ।

प्रधानमन्त्रीसहित उर्जा मन्त्री जनार्दन शर्मा प्रभाकर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, मूख्य सचिव डा. सोमलाल सुवेदी, गृह सचिव, अर्थसचिव, उर्जा सचिव, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सुरक्षा निकायका प्रमूख एवं प्रतिनिधिहरुको उपस्थितिमा भएको बैठकमा विद्युत् चुहावट रोक्न कठोर कदम चाल्ने निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्रीले विद्युत चोरी गर्नेहरुमाथि कठोर रुपमा प्रस्तुत हुन र कानुनको दायरामा ल्याउन निर्देशन दिए । प्रधानमन्त्रीले भने – ‘विद्युत् चुहावट र यसको चोरीले राज्यलाई अरबौंको भार पारेको छ । जनता अन्धकारमा बस्न बाध्य छन् । ठूलो मात्रामा विद्युत् चोरी गर्नेहरुमाथि अब कठोर कदम चाल्नुपर्छ, विद्युत् चोरीमा मिलेमतो गर्ने कर्मचारीलाई सामान्य रुपमा लिनु हुँदैन । त्यस्ता कर्मचारी र विद्युतको चारी गर्नेहरुलाई कार्वाही गर्न कानूनको समस्या छ भने भन्नुस्, सरकार कानून संशोधन र नयाँ व्यवस्थाका लागि तयार छ । तर, विद्युत् चोरी र चुहावट गम्भीरतापूर्वक रोकौं ।’
जलविद्युतको विकासले मात्रै आर्थिक समृद्धि सम्भव हुनेमा जोड दिँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘जलविद्युतको विकास राज्यको समृद्धिको सूचक हो । हामीले यसको महत्वलाई कहिल्यै पनि कम आँक्नु हुँदैन । तत्कालका लागि विद्युत चोरी, कमिसनको अन्त्य गर्न कदम चालौं । भविष्यमा विद्युतको विकासका लागि ठूला जलासययुक्त आयोजना अगाडि बढाउनेतिर सोचौं ।’
बैठकमा उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले मन्त्रालयले ३७ बूंदे प्रतिवद्धतासहित उर्जा संकट समाधानमा क्रियाशील भएको जानकारी दिए । मन्त्री शर्माले भने– ‘म मन्त्रीमा नियुक्त भएपछि उर्जा मन्त्रालयले ३७ बूंदे कार्ययोजना बनाएर अघि बढाएको छ । तत्कालका लागि विद्युत् चोरी रोक्ने र लोडसेडिङ अन्त्य गर्ने योजना कार्यान्वयन गर्दैछौं । तर, उर्जा संकटका लागि यति मात्रै पर्याप्त छैन, प्रशारण लाइन बिस्तार र ठूला जलासययुक्त आयोजनातिर गम्भीरतापूर्वक लागेर मात्र उर्जा संकट समाधान गर्न सकिन्छ ।

बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा २६ प्रतिशत विद्युत् चोरी हुने समस्या रहेको भन्दै प्राधिकरणले चोरीमाथि कठोर बन्दै लोडसेडिङ घटाउने र ठूला आयोजना समयमै सम्पन्न गर्नेतिर आफ्नो ध्यान केन्द्रित गरेको जानकारी गराए। बैठकमा प्रधानमन्त्रीले विद्युत् चोरी गर्नेहरुलाई निगरानीमा राखेर कार्वाही अगाडि बढाउन सुरक्षा निकायका अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

मेलम्चीको पानी काठमाडौँ पथान्तरण गर्न बन्द

काठमाडौं। मेलम्चीको पानी काठमाडौँमा पथान्तरण गर्न बन्द गरिएको छ। मनसुन सक्रिय भएसँगै अत्यधिक वर्षा भएपछि पानी पथान्तरण बन्द गरिएको हो।  वर्षासँगै बाढीले पुर्याउनसक्ने क्षति कम गर्न पानी पथान्तरण बन्द गरिएको हो। साथै मेलम्ची नदीमा बाढी आएपछि स्थानीयहरू समेत त्रसित बनेका छन् । गत आइतबार रातिदेखि आएको अविरल वर्षापछि मेलम्ची नदीमा बाढी आएको थियो। बाढी आएसँगै त्यहाँका स्थानीयहरू बाढीको त्रासमा रात कटाइरहेका छन् । साथै आइतबार राति आएको पानी र त्यसपछि पनि निरन्तर वर्षा भइरहेको छ।आइतबार राति वर्षापछिको बाढीले मेलम्ची नगरपालिका ११ स्थित फट्टेमा अस्थायी पुल समेत बगाएको थियो।  पुल बगाएसँगै स्थानीयहरूलाई आवतजावतमा समस्या भएको छ। विसं २०७८ को बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो । मेलम्ची बजार र मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८ तथा पाँच पोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर १ र २ तथा हेलम्बुको केही वडालाई सो अस्थायी पुल जोडेको थियो।  पुल बगाएसँगै एक वडाबाट अर्को वडामा जान असहज भएको छ ।

दोहा उडेको नेपाल एयरलाइन्समा समस्यापछि काठमाडौं फिर्ता

काठमाडौं । काठमाडौंबाट दोहा उडेको नेपाल एयरलाइन्सको जहाज काठमाडौं फिर्ता भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले नेपाल एयरलाइन्सको वाइडबडी ए– ३३० को हाइड्रोलिकमा समस्या देखिएपछि जहाज बिहीबार राति काठमाडौं फिर्ता ल्याइएको बताए । उनका अनुसार नाइनएन–एएलवाई जहाज काठमाडौंमा नर्मल अवतरण गरेको छ । जहाज ७० नटिकल माइल उडेपछि काठमाडौं आएको रेकर्ड रहेको उनले बताए जहाज रातको करिब ३ बजे काठमाडौंमा फिर्ता भई अवतरण गरेको थियो । त्यसपछि निगमको काठमाडौं रात्री बिसान गरेको अर्को जहाज नाइनएन–एएलजेडले सो जहाजका यात्रु लिएर उडेको थियो ।  नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले हाइड्रोलिकमा समस्या आएको जहाज बनिसकेको जानकारी दिए । उनले यसलाई आजै दिल्ली उडानमा पठाउने तयारी बताए । 

चाडपर्वमा हुने गलत प्रवृत्तिहरूलाई निरुत्साहित गरौं : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले परम्परागत तथा मौलिक चाडबाडलाई थप समृद्ध बनाउँदै भावी पुस्तासम्म जीवित राख्ने दायित्व आफ्नो भएकाले चाडबाडका नाममा हुने गलत प्रवृत्तिहरूलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिएका छन् । फागु पूर्णिमा (होलीपर्व)का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले भने, “पछिल्लो समय होलीमा विभिन्न खालका सामाजिक विकृति र विसंगति भित्र्याएको सार्वजनिक टिप्पणी हुने गरेको सन्दर्भमा म सबैलाई एकापसमा साथीहरू र परिवारसँग मात्र अनुशासित भएर रमाइलोसँग होली खेल्न प्रेरित गर्दछु ।” उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दै होलीपर्वले सबै नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता एवं राष्ट्रिय एकता अक्षुण्ण राख्न सघाउ पुगोस् भन्ने कामना गरेका छन् । । “होलीपर्वले आपसी वैमनस्य, असमझदारी बिर्सेर सुखी र समृद्ध समाज निर्माणको मार्गमा सबैलाई प्रेरणा प्रदान गरोस्”, शुभकामना सन्देशमा भनिएको छ । सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो समाजमा होलीपर्वले खराब प्रवृत्तिमाथि असल र सत्यको विजय हुने सन्देश प्रवाह गर्नुका साथै हिमाल, पहाड र तराईमा फरक–फरक दिनमा मनाइने यस पर्वले नेपाली समाजलाई अन्तरघुलन गर्दै आपसी सद्भाव र एकता अभिवृद्धि गर्न सहयोग गरेको सन्देशमा उल्लेख छ । यस पर्वले विभिन्न जातजाति, भाषा र क्षेत्रका नेपाली नागरिकलाई एकसूत्रमा बाँध्दै आपसी सद्भाव, प्रेम र भाइचारा सम्बन्ध अभिवृद्धि गर्दै आएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होलीपर्वलाई रङहरूको पर्वका रूपमा मनाइन्छ । होलीमा असत्यमाथि सत्यको विजयको खुसीयालीमा हर्ष र उल्लासका साथ एकापसमा अबिर, रङ लगाउने चलन छ ।

उपप्रधानमन्त्री श्रेष्ठ चीनको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाने भएका छन् । उनी चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा जान लागेका हुन् । उनले यही चैत ११ देखि १९ गतेसम्म चीनको भ्रमण गर्ने मन्त्रालयले जनाएको छ ।भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङसँग चैत १३ गते द्विपक्षीय भेटवार्ता गर्नेछन् । साथै,भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले बेइजिङ र अन्य प्रान्तहरूमा जनवादी गणतन्त्र चीनका उच्च स्तरका विशिष्ट व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । उपप्रधानमन्त्री श्रेष्ठ भ्रमण सम्पन्न गरी चैत १९ गते स्वदेश फर्कर्नेछन् ।

अनलाइन क्यासिनो गेम खेलाउने ४ जना पक्राउ

काठमाडौं । क्यास एप लगायतका एप्लिकेसन मार्फत हारजीत हुनेगरी अनलाइन क्यासिनो गेम खेलाएको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका ७ चावहिल मनमैजु बस्ने काभ्रे मण्डनदेउपुर नगरपालिका १० घर भएकी २६ वर्षीया सरिता लामा, सिन्धुपाल्चोक थाङपाल गाउँपालिका ८ घर भएकी २५ वर्षीया सारङ्गा गुरुङ, काठमाडौं गोकर्णेश्वर नगरपालिका ८ वेशीगाउँ बस्ने खोटाङ बाहुनीडाँडा गाउँपालिका ६ घर भएकी २३ वर्षीया पुर्णीमा राई र काठमाडौं गोकर्णेश्वर नगरपालिका ४ नामगेल बस्ने नुवाकोट शिवपुर गाउँपालिका १ घर भएका २८ वर्षीय तेम्बा लामा रहेका छन् ।  विभिन्न खेलहरूमा अनलाईन मार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजीत हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको बाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन समेतबाट खटिएका प्रहरीले उनीहरूलाई अनलाइन गेम खेलाउन प्रयोग भएका ल्यापटप  ५ थान र मोबाइल ११ थानसहित उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ । 

कांग्रेसले सुशासनको कुरा गर्न सुहाउँदैन : गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कांग्रेसले नैतिकता र सुशासनको कुरा गर्न नसुहाउने बताएका छन् । मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले देशमा अनियमितता गर्नेमाथि अनुसन्धान गर्दा प्रभावित पार्ने र अनुसन्धान गर्ने व्यक्तिलाई कुर्सीबाट हटाएर पठाउने कांग्रेसले नैतिकता र सुशासनको कुरा गर्न नसुहाउने बताएका हुन् ।  एउटा पुरक वा ठाडो उजुरीमा संसद अवरुद्ध गर्ने कांग्रेस दुधले नुहाएको पार्टी हो की होइन भन्ने जनताले मूल्याङ्कन गरेको लामिछानेले बताए । लामिछानले कांग्रेसलाई चार बर्ष नै संसद अवरुद्ध गर्न सुझाव दिदै सो अवधिमा आफुहरुको संयन्त्रले नेपालमा भ्रष्टाचार अन्त्यका लागि काम गर्ने बताए ।  उनले संसदमा विरोध गर्नु प्रतिपक्षीको अधिकार भएको र त्यसलाइ सम्मान गर्ने भन्दै छानविन आयोगको बिषय संसदको अधिकारको कुरा भएको जिकिर गरे ।  

निसीखोला दुर्घटनामा अस्ताए पत्रकार परियार

काठमाडौं । मंगलबार साँझ बागलुङको निसीखोला गाउँपालिकामा भएको बस दुर्घटनामा रुकुमपूर्वका पत्रकार विक्रम परियारको पनि निधन भएको छ। बस दुर्घटनामा अहिलेसम्म ज्यान गुमाउने ९ जनामध्ये एकजना पत्रकार परियार हुन्। पूर्वीरुकुमबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश०१–००६ख३८७९ नम्बरको बस मंगलबार साँझ बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो।  अन्नपूर्ण पोष्ट र रेडियो पूर्वी रुकुममा कार्यरत पत्रकार परियार राष्ट्रिय दलित पत्रकार संघको राष्ट्रिय महाधिवेशनमा सहभागि हुन काठमाडौँ जाँदै गर्दा दुर्घटनामा परेका हुन्। २५ वर्षीय पत्रकार परियार रुकुमपूर्वको नेपाल पत्रकार महासंघ जिल्ला शाखाको सहसचिव र प्रेस सेन्टरको जिल्ला उपाध्यक्षसमेत थिए।

राष्ट्रिय सभा निर्वाचन सत्ता गठबन्धन १८ र १ सिटमा एमाले विजयी

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले एक सिटमा विजयी भएको छ । बिहीबार बिहान ९ बजेदेखि शुरु भएको निर्वाचनमा सात प्रदेशमध्ये कोशी प्रदेशको एक सिटमा कांग्रेसले माओवादी केन्द्रलाई घात गरेका कारण एमालले माओवादी केन्द्रबाट एक सिट खोस्न सफल भएको छ । राष्ट्रिय सभा सदस्यका लागि कोशीमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा एमालेकी रुक्मणि कोईराला, मधेस प्रदेशबाट गठबन्धबाट नेपाली काँग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टी, नेपालकी पूजा चौधरी, बागमती प्रदेशबाट गठबन्धनबाट नेपाली कांग्रेसका विष्णुकुमारी पुडासैनी, नेपाली कांग्रेसकै जितजंग बस्नेत, नेकपा (माओवादी केन्द्र) का श्रीकृष्ण अधिकारी, नेकपा (एकीकृत समाजवादी) का घनश्याम रिजाल निर्वाचित भए । त्यस्तै, गण्डकी प्रदेशबाट सत्ता गठबन्धनकै कांग्रेसका पदमबहादुर परियार, कांग्रेसका किरणबाबु श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का मनरुपा शर्मा निर्वाचित भए। लुम्बिनी प्रदेशबाट गठबन्धनकै नेपाली कांग्रेसका विष्णुकुमारी सापकोटा र नेकपा (माओवादी केन्द्र) का झक्कु सुवेदी निर्वाचित भए । कर्णाली प्रदेशमा गठबन्धनबाट नेपाली कंँग्रेसका कृष्णबहादुर रोकाया, नेकपा (एकीकृत समावादी) का सावित्री मल्ल, नेकपा (माओवादी केन्द्र) का विष्णुबहादुर विश्वकर्मा निर्वाचित भए। सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका बलदेव बोहरा र नरायणदत्त भट्ट तथा नेकपा (माओवादी केन्द्र)का रेणु चन्द निर्वाचित भए । राष्ट्रिय सभामा १९ सिटका लागि बिहीबार मतदान भएको हो । जसमा नेपाली कांग्रेस १० सिटमा विजयी भएको छ भने सत्ता गठबन्धनबाटै नेकपा (माओवादी केन्द्र) ५ सिट र नेकपा (एकीकृत समाजवादी) ले दुई सिट जितेको छ । त्यस्तै, जनता समाजवादी पार्टीले एक सिट जितेको छ भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले १ सिट जितेको छ ।

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले माग्यो कार्यकारी निर्देशकका लागि दरखास्त

काठमाडौं । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समितिले कार्यकारी निर्देशक पदका लागि आवेदन माग गरेको छ । प्रतिष्ठानको निर्देशक पद रिक्त रहेको भन्दै समितिले पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । न्यूनतम योग्यता र अनुभव भएका इच्छुक नेपाली नागरिकले २१ दिनभित्र तोकिएको ढाँचामा दरखास्त दिन सक्ने समितिले जनाएको छ ।

दक्षिण कोरियाका विपक्षी नेता ली अस्पतालबाट डिस्चार्ज

काठमाडौं । दक्षिण कोरियाको प्रमुख विपक्षी डेमोर्क्याटिक पार्टीका नेता ली जे म्युङ अस्पतालबाट डिस्चार्ज भएका छन् । उनलाई गत हप्ता घाँटीमा छुरा प्रहारपछि अस्पताल भर्ना गरिएको थियो । लीले सियोलको अस्पतालअगाडि पत्रकार सम्मेलनमा विपक्षीलाई मार्ने र हटाउनेजस्तो राजनीतिको अन्त्य हुनुपर्ने बताए । आफ्नो घटनाले घृणाको राजनीति अन्त्य गर्ने र त्यसको पुनःस्थापना गर्ने अवसर बन्ने उनले विश्वास व्यक्त गरे । जनवरी २ मा दक्षिणपूर्वी बन्दरगाह सहर बुसानको भ्रमणका क्रममा ६० वर्षीय एक व्यक्तिले उनको देब्रे घाँटीमा छुरा प्रहार गरेका थिए । बुसानमा आकस्मिक उपचारपछि उनलाई शल्यक्रियाका निम्ति हेलिकोप्टरबाट सियोलको अस्पतालमा सारिएको थियो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रधानमन्त्री कार्यालयको ६८ दरबन्दी कटौती गर्ने मन्त्रिपरिषद्को निर्णय(भिडियो)

काठमाडौं । सरकारले प्रधानमन्त्री कार्यालयका ६८ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले त्यस्तो निर्णय भएको जानकारी दिइन् । “प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा कार्यालयको पुनर्संरचनासहितको संगठन तथा सर्वेक्षण स्वीकृत गर्ने भन्ने निर्णय भएको छ । यस अनुसार प्रधानमन्त्री कार्यालयको हालको दरबन्दीमा ६८ वटा दरबन्दी कम हुने भन्ने छ,” उनले भनिन् । शर्माले प्रधानमन्त्री कार्यालयको ६८ दरबन्दी कटौती भएको बताइन् । प्रधानमन्त्रीले एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री कार्यालयको पुनर्संरचनाबाट सुरु गर्ने भनेको र सोही अनुसार भएको उनले बताइन । 

यी २३ पालिकाले बुझाएनन् बजेट विवरण

काठमाडौं। चालु आर्थिक वर्ष २०८०/८१ को चार महिना बितिसक्दा पनि २३ पालिकाले वार्षिक बजेट ल्याएको विवरण पेस गर्न सकेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार गाउँसभा तथा नगरसभामा पेस भएको बजेट असार मसान्तसभित्रमा पारित गरिसक्नुपर्ने भएपनि नबुझाएका हुन् । यसरी गाउँसभा तथा नगरसभामा पेस भएको तथा पारित भएको विवरण सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा अद्यावधिक गराउनुपर्ने हुन्छ । तर हालसम्म मधेश प्रदेशका २१ सहित २३ पालिकाले वार्षिक बजेट ल्याएको विवरण मन्त्रालयलाई बुझाएका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको ‘स्थानीय तहको आर्थिक वर्ष २०८०/८१ को बजेट अपडेट’ विवरणअनुसार हालसम्म सात सय ३० पालिकाले मात्रै आफ्नो वार्षिक बजेट ल्याएको विवरण बुझाएका छन् । मन्त्रालयको विवरणअनुसार सबैभन्दा धेरै मधेश प्रदेशमा २१ पालिकाले बजेट ल्याएको विवरण बुझाएका छैनन् । त्यस्तै, कोशी प्रदेशको एउटा र बागमती प्रदेशको एउटा पालिकाले यस्तो जानकारी मन्त्रालयलाई गराएका छैनन् । बजेटको विवरण प्रविष्ट नगरेका पालिकालाई त्यस्तो विवरण बुझाउन मन्त्रालयले पटक–पटक परिपत्रसमेत गरेको छ । सङ्घीय मामिला मन्त्रालयले पहिलो पटक गत असार ३० गतै सबै पालिका तथा जिल्ला समन्वय समितिलाई पत्र पठाउँदै चालु आर्थिक वर्ष २०८०/८१ को बजेट पेस भई सम्बन्धित नगरसभा तथा गाउँसभाबाट स्वीकृत भएको विवरण अद्यावधिक गर्न भनेको थियो । केही पालिकाले बजेट पारित गरिसकेर पनि विवरण बुझाउन बाँकी रहेको, केही पालिकामा बजेट पेस भएको तर गाउँसभा तथा नगरसभाबाट पारित हुन नसकेकोलगायत कारण हालसम्म सबै पालिकाको विवरण अद्यावधिक हुन सकेको छैन । मन्त्रालयको विवरणअनुसार हालसम्म सप्तरीको कञ्चनरुप नगरपालिका, छिन्नमस्ता गाउँपालिका, महादेवा गाउँपालिका, रुपनी गाउँपालिका, औरही गाउँपालिका र भगवानपुर गाउँपालिकाले आफ्नो वार्षिक बजेट पेस गरेको विवरण बुझाएका छैनन् । धनुषाको औरही गाउँपालिका, कमला नगरपालिका, सर्लाहीको बलरा नगरपालिका, हरिपुर्वा नगरपालिका, चन्द्रनगर गाउँपालिका, रौतहटको गरुडा नगरपालिका, कटहरिया नगरपालिका, गढीमाई नगरपालिका, फतुवा विजयपुर नगरपालिका, माधवनारायण नगरपालिका र मौलापुर नगरपालिका, यमुनामाई गाउँपालिकाको बजेट पेस गरेको विवरण मन्त्रालयको पोर्टलमा देखिँदैन । बाराको सिम्रौनगढ नगरपालिका, आदर्श कोतवाल गाउँपालिका र पर्साको सखुवा प्रसौनी गाउँपालिले पनि बजेट पेस गरेको विवरण बुझाउन सकेका छैनन् ।

नेपालबाट जर्मनीले दक्ष कामदार लाने, द्धिपक्षिय श्रम सम्झौतामा के छ ?

काठमाडौं । नेपाल र जर्मनीले दक्ष श्रम आप्रवासन र ज्ञान आदानप्रदान सम्बन्धी संयुक्त घोषणापत्र (जेडीओएल) मा हस्ताक्षर गरेका छन् । श्रममन्त्री शरतसिंह भण्डारी र जर्मनीको संघीय श्रम तथा सामाजिक मामिला राज्य सचिव (उपमन्त्री) लियोनी गेबर्सको उपस्थितिमा हस्ताक्षर गरिएको हो । उक्त घोषणापत्रमा नेपालको तर्फबाट नेपाली राजदूत रामकाजी खड्का र जर्मन संघीय रोजगार निकायका अन्तर्राष्ट्रिय मामिलाका निर्देशक माइकल भान डेर क्यामेनले हस्ताक्षर गरेका हुन् । हस्ताक्षर गर्नुअघि मन्त्री भण्डारी नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र राज्य सचिव नेतृत्वका जर्मनीको प्रतिनिधिमण्डलबीच द्विपक्षीय भेटवार्ता भएको थियो । सो अवसरमा नेपाल–जर्मनी द्विपक्षीय सम्बन्ध, दक्ष श्रम आप्रवासन, कानुनी आप्रवासनप्रति नेपालको प्रतिबद्धता, श्रमिकको हित तथा सामाजिक सुरक्षा, जर्मन भाषा तथा व्यावसायिक तालिम र सर्कुलर माइग्रेसनलगायत विषयमा विचार आदान प्रदान गरेका थिए । दुवै देशका अधिकारीहरुले दुई देशबीचको सम्बन्ध बढ्दै गएकोमा खुसी व्यक्त गरेका थिए । उक्त घोषणापत्रमा गरिएको हस्ताक्षरलाई दुवै देशले रोडम्यापको पहिलो चरणको रुपमा लिएका छन् । मन्त्री भण्डारीले जर्मनीसँग सबै क्षेत्रमा सहकार्य गर्न नेपाल इच्छुक रहेको बताएका थिए । उपमन्त्री गेबर्सले उक्त हस्ताक्षरपछि जर्मन रोजगारी बजारको आवश्यकता अनुसार नेपाली दक्ष कामदारलाई ल्याउन अघि बढ्ने बताएका थिए । जर्मनीले विदेशी दक्ष कामदारहरु ल्याउन आप्रवासन ऐनलाई सहज बनाइएको बताएकी थिइन् । यसअघि ०९ अक्टोबरमा बर्लिनस्थित नेपाली राजदूतावासमा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) बर्लिन ब्यूरो निर्देशक डा. एनेट निडरफ्राङ्कसँग भेटवार्ता भएको थियो । भेटवार्ताको क्रममा श्रमिकको हकहित, श्रमिकको शोषण तथा ओसारपसार विरुद्धको उपाय, समावेशी वैदेशिक रोजगारी, आप्रवासी कामदारलाई उत्पत्तिको जिल्लामा पुर्न एकीकरण गर्नेलगायतका विभिन्न श्रम सम्बन्धी विषयमा छलफल भएको थियो । उक्त घोषणापत्रमा हस्ताक्षर गर्न जर्मनी पुगेका मन्त्री भण्डारीको टोलीले भोली जर्मनीका निजी क्षेत्रका प्रतिनिधिहरुसँग भेटघाट गर्ने कार्यक्रम छ । यसअघि नेपालले रोमानियासँग श्रम समझादारी गरेको थियो ।

बेल्जियमका पूर्व स्ट्राइकर रुसेलको ४५ वर्षको उमेरमा निधन

काठमाडौं । बेल्जियमका पूर्व स्ट्राइकर सेड्रिक रुसेलको ४५ वर्षको उमेरमा निधन भएको छ । उल्भ्सका पूर्व स्ट्राइकरको शनिबार निधन भएको हो । सेड्रिकले बेल्जियमका लागि ३ खेल खेलेका थिए । कोभेन्ट्रीका पूर्व स्ट्राइकर समेत रहेका उनले उल्भ्समा १८ महिना बिताएका थिए । त्यसबाहेक उनले बेल्जियम, रुस, नेदरल्यान्ड्स, इटाली र साइप्रसका क्लबबाट व्यवसायिक खेल खेलेका थिए।

न्युजिल्याण्डमा एक होस्टेलमा आगलागी ६ जनाको मृत्यु

एजेन्सी । न्युजिल्याण्डमा एक होस्टेलमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ। वेलिंग्टनको चार तले भवनमा मध्यराति १२ः३० बजे भएको आगलागिमा परेका केही मानिसको उद्धार गरिएको छ भने कैयौँ बेपत्ता भएका छन्। आगो २० वटा आपतकालीन दमकलको सहायताले नियन्त्रणमा लिइएको थियो। प्रहरी अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने बताएका छन्। न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिपकिन्सले घटनाप्रति दुख व्यक्त गर्दै ज्यान गुमाउनेका परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। प्रहरीले आगलागीको कारणबारे अनुसन्धान गरिरहेको जनाएको छ।