उत्तरी चीनमा कोइलाखानीमा विस्फोट, सत्र जनाको मृत्यु

 

यस्तो रहनेछ आजको मौसम

काठमाडौं ।आज पनि नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । लुम्बिनी  प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको थोरै र बाँकी पहाडी भू–भागको एक–दुई स्थानहरूमा  हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ विभागले जनाएको छ । आज सूर्योदय बिहान ५ बजेर ४० मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर २८ मिनेटमा हुनेछ ।

अनलाइन क्यासिनो गेम खेलाउने ४ जना पक्राउ

काठमाडौं । क्यास एप लगायतका एप्लिकेसन मार्फत हारजीत हुनेगरी अनलाइन क्यासिनो गेम खेलाएको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका ७ चावहिल मनमैजु बस्ने काभ्रे मण्डनदेउपुर नगरपालिका १० घर भएकी २६ वर्षीया सरिता लामा, सिन्धुपाल्चोक थाङपाल गाउँपालिका ८ घर भएकी २५ वर्षीया सारङ्गा गुरुङ, काठमाडौं गोकर्णेश्वर नगरपालिका ८ वेशीगाउँ बस्ने खोटाङ बाहुनीडाँडा गाउँपालिका ६ घर भएकी २३ वर्षीया पुर्णीमा राई र काठमाडौं गोकर्णेश्वर नगरपालिका ४ नामगेल बस्ने नुवाकोट शिवपुर गाउँपालिका १ घर भएका २८ वर्षीय तेम्बा लामा रहेका छन् ।  विभिन्न खेलहरूमा अनलाईन मार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजीत हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको बाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन समेतबाट खटिएका प्रहरीले उनीहरूलाई अनलाइन गेम खेलाउन प्रयोग भएका ल्यापटप  ५ थान र मोबाइल ११ थानसहित उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ । 

कांग्रेसले सुशासनको कुरा गर्न सुहाउँदैन : गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कांग्रेसले नैतिकता र सुशासनको कुरा गर्न नसुहाउने बताएका छन् । मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले देशमा अनियमितता गर्नेमाथि अनुसन्धान गर्दा प्रभावित पार्ने र अनुसन्धान गर्ने व्यक्तिलाई कुर्सीबाट हटाएर पठाउने कांग्रेसले नैतिकता र सुशासनको कुरा गर्न नसुहाउने बताएका हुन् ।  एउटा पुरक वा ठाडो उजुरीमा संसद अवरुद्ध गर्ने कांग्रेस दुधले नुहाएको पार्टी हो की होइन भन्ने जनताले मूल्याङ्कन गरेको लामिछानेले बताए । लामिछानले कांग्रेसलाई चार बर्ष नै संसद अवरुद्ध गर्न सुझाव दिदै सो अवधिमा आफुहरुको संयन्त्रले नेपालमा भ्रष्टाचार अन्त्यका लागि काम गर्ने बताए ।  उनले संसदमा विरोध गर्नु प्रतिपक्षीको अधिकार भएको र त्यसलाइ सम्मान गर्ने भन्दै छानविन आयोगको बिषय संसदको अधिकारको कुरा भएको जिकिर गरे ।  

२७ किलो गाँजासहित ७ जना पक्राउ

काठमाडौं । करिब २७ किलो गाँजा सहित विभिन्न स्थानबाट सात जना पक्राउ परेका छन् । छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।  मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ सरस्वती चोकबाट अवैध लागूऔषध गाँजा २३ किलोसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलास गाउँपालिका १० नामटार घर भई हेटौंडा उपमहानगरपालिका १९ बस्ने २५ वर्षीय मदन तामाङ र ३८ वर्षीया सर्मिला भोलन रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले नवलपुरबाट हेटौंडातर्फ आउँदै गरेको बा प्र ०३ ००३ प ७७७७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।  यस्तै, कास्कीको पोखरा महानगरपालिका १२ संगमटोल बस्ने २६ वर्षीय दिपेश नेपाली र स्याङजा घर भई पोखरा महानगरपालिका ९ नागढुङ्गा बस्ने २० वर्षीय सागर नेपालीलाई अवैध लागूऔषध गाँजा करिब ३ किलोसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा खटिएको प्रहरीले दिपेशको घरमा लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।  यसैगरी,    रूपन्देहीको बुटवल उपमहानगरपालिका १३ बदेलपोखरीबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ५ सय ग्रामसहित पाल्पा रिब्दिकोट गाउँपालिका ५ बस्ने मोहन रेग्मी समेत ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु २ च ६१८४ नम्बरको पिकअप जिपलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी जिपमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौं । कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दै छ।  बैठक बिहान १० बजे शंकर हल, बानेश्वरमा बस्नेछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदै छन्। यसको कार्यसूचीबारे  बैठकमा छलफल हुने बताइएको छ। साथै, समितिको बैठकले आगामी १५ दिनको क्यालेन्डर तय गर्नेछ।

चोरेको आरोपपछि न्युजिल्याण्डकी सांसदले दिइन् राजीनामा

काठमाडौं । न्यूजील्याण्डकी एक सांसदले चोरी गरेको आरोप लागेपछि पदबाट राजीनामा दिएकी छन् । ग्रिन पार्टीकी ४२ वर्षीया सांसद गोलरिज घाहरमनले पसलबाट तीन पटक चोरी गरेको आरोपपछि राजीनामा दिएकी हुन् । उनले एक पटक अकल्याण्डमा र दुई पटक बेलिङ्गटनको पसलबाट चोरी गरेको आरोप छ । पछिल्लोपटक उनले अकल्याण्डको एक बुटिकबाट ब्याग उठाएर हिँडेको सीसीटीभी फुटेज सार्वजनिक भएको थियो । अहिले उनीमाथि लागेको आरोपमा प्रहरीले अनुसन्धान जारी राखेको बिबिसिले जनाएको छ । उनले विज्ञप्ति जारी गर्दै जनताले आफ्ना जनप्रतिनिधिहरुबाट गर्ने अपेक्षा विपरीत व्यवहार भएको भन्दै माफी मागेकी छन् । उनले भनेकी छन्, ‘मैले धेरै जनालाई लाजमर्दो बनाएको छु र त्यसको लागि माफी चाहन्छु ।’ मेडिकल जाँचबाट आफ्नो स्वास्थ्य ठिक छैन भन्ने पनि आफूले बुझेको उनले उल्लेख गरेकी छन् । ‘मेरो व्यवहार यस्तो भयो कि मसँग भन्ने केही शब्द छैन किनकी यो कुनै हिसाबले पनि ठिक छैन । र, मेडिकल जाँचबाट मलाई थाहा भयो कि मेरो स्वास्थ्य ठीक छैन ।’ उनले आफूमा कामको कारण तनाव सिर्जना भएको उल्लेख गरेकी छन्

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले माग्यो कार्यकारी निर्देशकका लागि दरखास्त

काठमाडौं । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समितिले कार्यकारी निर्देशक पदका लागि आवेदन माग गरेको छ । प्रतिष्ठानको निर्देशक पद रिक्त रहेको भन्दै समितिले पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । न्यूनतम योग्यता र अनुभव भएका इच्छुक नेपाली नागरिकले २१ दिनभित्र तोकिएको ढाँचामा दरखास्त दिन सक्ने समितिले जनाएको छ ।

यी २३ पालिकाले बुझाएनन् बजेट विवरण

काठमाडौं। चालु आर्थिक वर्ष २०८०/८१ को चार महिना बितिसक्दा पनि २३ पालिकाले वार्षिक बजेट ल्याएको विवरण पेस गर्न सकेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार गाउँसभा तथा नगरसभामा पेस भएको बजेट असार मसान्तसभित्रमा पारित गरिसक्नुपर्ने भएपनि नबुझाएका हुन् । यसरी गाउँसभा तथा नगरसभामा पेस भएको तथा पारित भएको विवरण सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा अद्यावधिक गराउनुपर्ने हुन्छ । तर हालसम्म मधेश प्रदेशका २१ सहित २३ पालिकाले वार्षिक बजेट ल्याएको विवरण मन्त्रालयलाई बुझाएका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको ‘स्थानीय तहको आर्थिक वर्ष २०८०/८१ को बजेट अपडेट’ विवरणअनुसार हालसम्म सात सय ३० पालिकाले मात्रै आफ्नो वार्षिक बजेट ल्याएको विवरण बुझाएका छन् । मन्त्रालयको विवरणअनुसार सबैभन्दा धेरै मधेश प्रदेशमा २१ पालिकाले बजेट ल्याएको विवरण बुझाएका छैनन् । त्यस्तै, कोशी प्रदेशको एउटा र बागमती प्रदेशको एउटा पालिकाले यस्तो जानकारी मन्त्रालयलाई गराएका छैनन् । बजेटको विवरण प्रविष्ट नगरेका पालिकालाई त्यस्तो विवरण बुझाउन मन्त्रालयले पटक–पटक परिपत्रसमेत गरेको छ । सङ्घीय मामिला मन्त्रालयले पहिलो पटक गत असार ३० गतै सबै पालिका तथा जिल्ला समन्वय समितिलाई पत्र पठाउँदै चालु आर्थिक वर्ष २०८०/८१ को बजेट पेस भई सम्बन्धित नगरसभा तथा गाउँसभाबाट स्वीकृत भएको विवरण अद्यावधिक गर्न भनेको थियो । केही पालिकाले बजेट पारित गरिसकेर पनि विवरण बुझाउन बाँकी रहेको, केही पालिकामा बजेट पेस भएको तर गाउँसभा तथा नगरसभाबाट पारित हुन नसकेकोलगायत कारण हालसम्म सबै पालिकाको विवरण अद्यावधिक हुन सकेको छैन । मन्त्रालयको विवरणअनुसार हालसम्म सप्तरीको कञ्चनरुप नगरपालिका, छिन्नमस्ता गाउँपालिका, महादेवा गाउँपालिका, रुपनी गाउँपालिका, औरही गाउँपालिका र भगवानपुर गाउँपालिकाले आफ्नो वार्षिक बजेट पेस गरेको विवरण बुझाएका छैनन् । धनुषाको औरही गाउँपालिका, कमला नगरपालिका, सर्लाहीको बलरा नगरपालिका, हरिपुर्वा नगरपालिका, चन्द्रनगर गाउँपालिका, रौतहटको गरुडा नगरपालिका, कटहरिया नगरपालिका, गढीमाई नगरपालिका, फतुवा विजयपुर नगरपालिका, माधवनारायण नगरपालिका र मौलापुर नगरपालिका, यमुनामाई गाउँपालिकाको बजेट पेस गरेको विवरण मन्त्रालयको पोर्टलमा देखिँदैन । बाराको सिम्रौनगढ नगरपालिका, आदर्श कोतवाल गाउँपालिका र पर्साको सखुवा प्रसौनी गाउँपालिले पनि बजेट पेस गरेको विवरण बुझाउन सकेका छैनन् ।

नेपालबाट जर्मनीले दक्ष कामदार लाने, द्धिपक्षिय श्रम सम्झौतामा के छ ?

काठमाडौं । नेपाल र जर्मनीले दक्ष श्रम आप्रवासन र ज्ञान आदानप्रदान सम्बन्धी संयुक्त घोषणापत्र (जेडीओएल) मा हस्ताक्षर गरेका छन् । श्रममन्त्री शरतसिंह भण्डारी र जर्मनीको संघीय श्रम तथा सामाजिक मामिला राज्य सचिव (उपमन्त्री) लियोनी गेबर्सको उपस्थितिमा हस्ताक्षर गरिएको हो । उक्त घोषणापत्रमा नेपालको तर्फबाट नेपाली राजदूत रामकाजी खड्का र जर्मन संघीय रोजगार निकायका अन्तर्राष्ट्रिय मामिलाका निर्देशक माइकल भान डेर क्यामेनले हस्ताक्षर गरेका हुन् । हस्ताक्षर गर्नुअघि मन्त्री भण्डारी नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र राज्य सचिव नेतृत्वका जर्मनीको प्रतिनिधिमण्डलबीच द्विपक्षीय भेटवार्ता भएको थियो । सो अवसरमा नेपाल–जर्मनी द्विपक्षीय सम्बन्ध, दक्ष श्रम आप्रवासन, कानुनी आप्रवासनप्रति नेपालको प्रतिबद्धता, श्रमिकको हित तथा सामाजिक सुरक्षा, जर्मन भाषा तथा व्यावसायिक तालिम र सर्कुलर माइग्रेसनलगायत विषयमा विचार आदान प्रदान गरेका थिए । दुवै देशका अधिकारीहरुले दुई देशबीचको सम्बन्ध बढ्दै गएकोमा खुसी व्यक्त गरेका थिए । उक्त घोषणापत्रमा गरिएको हस्ताक्षरलाई दुवै देशले रोडम्यापको पहिलो चरणको रुपमा लिएका छन् । मन्त्री भण्डारीले जर्मनीसँग सबै क्षेत्रमा सहकार्य गर्न नेपाल इच्छुक रहेको बताएका थिए । उपमन्त्री गेबर्सले उक्त हस्ताक्षरपछि जर्मन रोजगारी बजारको आवश्यकता अनुसार नेपाली दक्ष कामदारलाई ल्याउन अघि बढ्ने बताएका थिए । जर्मनीले विदेशी दक्ष कामदारहरु ल्याउन आप्रवासन ऐनलाई सहज बनाइएको बताएकी थिइन् । यसअघि ०९ अक्टोबरमा बर्लिनस्थित नेपाली राजदूतावासमा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) बर्लिन ब्यूरो निर्देशक डा. एनेट निडरफ्राङ्कसँग भेटवार्ता भएको थियो । भेटवार्ताको क्रममा श्रमिकको हकहित, श्रमिकको शोषण तथा ओसारपसार विरुद्धको उपाय, समावेशी वैदेशिक रोजगारी, आप्रवासी कामदारलाई उत्पत्तिको जिल्लामा पुर्न एकीकरण गर्नेलगायतका विभिन्न श्रम सम्बन्धी विषयमा छलफल भएको थियो । उक्त घोषणापत्रमा हस्ताक्षर गर्न जर्मनी पुगेका मन्त्री भण्डारीको टोलीले भोली जर्मनीका निजी क्षेत्रका प्रतिनिधिहरुसँग भेटघाट गर्ने कार्यक्रम छ । यसअघि नेपालले रोमानियासँग श्रम समझादारी गरेको थियो ।

सुडानमा टर्कीका राजदूतको गाडीमा गोली प्रहार

एजेन्सी । द्वन्द्वग्रस्त अफ्रिकी मुलुक सुडानमा टर्कीका राजदूत इस्माइल कोबानोग्लुको गाडीमा गोली प्रहार भएको छ । घटनालाई लिएर सुडानी सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) ले एकापसविरुद्ध दोषारोपणमा उत्रेका छन् । आरएसएफले राजधानी खार्तुममा टर्कीका राजदूतको कारमा गोली चलाउने सेना नै भएको दाबी गरेको छ र सो कार्यलाई ‘कूटनीतिक नियोगको सुरक्षाका लागि सबै अन्तरराष्ट्रिय मान्यता र सम्झौताहरूको स्पष्ट उल्लङ्घन गर्ने कायरतापूर्ण कदम’ को संज्ञा दिएको छ । यसैबीच आरएसएफले राजधानी खार्तूममा टर्कीका राजदूतको कारमा गोली चलाउने सेना नै भएको दाबी गरेको छ र उक्त कार्यलाई ‘कूटनीतिक नियोगको सुरक्षाका लागि सबै अन्तरराष्ट्रिय मान्यता र सम्झौताहरूको स्पष्ट उल्लङ्घन गर्ने कायरतापूर्ण कदम’ भनेको छ। विज्ञप्ति अनुसार आरएसएफले भनेको छ, ‘राजदूत र उनको प्रतिनिधिमण्डललाई सुरक्षित स्थानमा निकाल्न सफल भएको छ।’ अप्रिल १५ मा सेना र आरएसएफबीच खार्तुम र अन्य क्षेत्रमा भएको घातक झडपको विष्फोटपछि सुडानले विदेशी नागरिक र कूटनीतिज्ञहरूलाई ठूलो मात्रामा बाहिरिएका छन्। सुडानको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म घातक झडपमा कम्तीमा ५५० जनाको मृत्यु भएको छ भने ४,९२६ जना घाइते भएका छन्।

विद्यार्थीलाई माघ २० सम्म खोप लगाइसक्न शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको आग्रह

काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खोप लगाउन छुटेका १२ देखि १७ वर्ष उमेरका विद्यार्थीलाई १५ माघदेखि २० सम्म विद्यालयमै खोपको व्यवस्था गर्न भनेको छ । शैक्षिक गतिविधि नियमित सञ्चालन गर्न विद्यार्थीहरु जोखिम मुक्त हुनु जरुरी भएकाले अनिवार्य खोपको व्यवस्था गर्न लागिएको हो । सोही अनुसार स्थानीय तहले सूचना जारी गर्दै खोप लगाउन आह्वान गरेका छन् । त्यसैले आजदेखि पाँच दिनसम्म विद्यार्थीलाई विद्यालयमै कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ । देशभरका विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन बन्द रहेपनि खोप लगाउने प्रयोजनका लागि खुल्ने भएका छन् । काठमाडौं महानगरपालिकाले विद्यालय खोप अभियान सञ्चालन भइरहेकाले खोप लगाउन छुटेका विद्यार्थीको विवरण अद्यावधि गरेर विद्यालय वा नजिकैको खोप केन्द्रमा खोप लगाउन निर्देशन दिएको छ । त्यसका लागि महानगरका वडामा रहेका सामुदायिक सहरी स्वास्थ्य क्लिनिकसँग समन्वय गर्न विद्यालयलाई भनिएको छ । १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई मोडर्ना खोप दिइँदै आइएको छ । यसअघि २७ पुसदेखि १५ माघसम्म सबै विद्यालय बन्दको निर्णय भएकामा लम्ब्याएर माघ मसान्तसम्म कायम गरिएको छ ।

नारायणहिटी दरबार सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनोमानी गर्नेलाई कारबाही हुन्छः मन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनपरि ढङ्गबाट प्रयोग गर्ने कसैलाई पनि नछाड्ने बताउनुभएको छ। आज मन्त्री आलेले नारायणहिटी दरबार सङ्ग्रहालयमा बतास समूहले निर्माण गरेका भौतिक संरचनाको निरीक्षण अवलोकन गर्दै सङ्ग्रहालयभित्र रेष्टुरेन्टलगायतका व्यवसाय गर्न दिइएको अनुमतिमा गलत देखिएका विषयमा कानूनबमोजिम कारबाही हुने बताउनुभयो। उहाँले भन्नुभयो, “रेष्टुरेन्टलगायतका व्यवसाय गर्न दिइएको अनुमतिमा थुप्रै कमी–कमजोरी, गल्ती गरेको र आफूखुशी भवन निर्माण गरेको पाइएको छ, नियमविपरीत काम गर्न दिने र काम गर्नेलाई कारबाही हुन्छ।” दरबार सङ्ग्रहालयमा कमी–कमजोरी गर्ने जिम्मेवार व्यक्ति वा संस्थालाई कानूनबमोजिम कारबाही हुनेसमेत उहाँले जानकारी दिनुभयो। “कफीसपका नाममा सङ्ग्रहालयको नाम–निसाना मेटिने गरी भवन निर्माण गर्न पाइन्छ?”, उहाँले थप भन्नुभयो, “सङ्ग्रहालयभित्र नाचघर तथा वाइन सपका लागि पनि भवन बनाउँदै गरेको पाइयो, दोषी ठहरिएका जति सबैलाई कानूनबमोजिम कारबाही हुन्छ।” नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्टलगायतका व्यवसाय गर्न बतास समूहलाई दिने निर्णयपछि उक्त समूहले आधिकारिक निकायबाट नक्सा पास नगरी एवं निर्माण स्वीकृति नलिई र मन्त्रालय एवं विकास समितिको पूर्वस्वीकृति नलिई अनुमानित १४ रोपनी क्षेत्रफल रहेको जग्गामा थप नयाँ संरचना निर्माण गरिरहेको थियो। दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्टलगायतका व्यवसाय गर्न बतास समूहलाई दिने निर्णयका बारेमा गठन गरिएको छानबिन समितिले क्यान्टिन–क्याफ्टेरिया सञ्चालन गर्नका लागि प्रयोग गर्न पाउने क्षेत्रफल र स्थानको स्पष्ट सीमाङ्कन नभएको, बढी क्षेत्र ओगटी थप निर्माण कार्य गर्न प्रोत्साहन भएको उल्लेख गरी आफ्नो प्रतिवेदन पेश गरेपछि दोषी ठहरिएकालाई कारबाहीका लागि मन्त्रालयलले अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा प्रहरी प्रधान कार्यालयमा समेत पत्रचार गरेको छ। मन्त्री आलेले नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भइरहेको रेस्टुरेन्टको काम रोक्न नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिलाई गत पुस २० गते निर्देशन दिनुभएको थियो। समितिले सङ्ग्रहालयको १० रोपनी जमिनमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्न बतास कम्पनीसँग सम्झौता गरेको थियो। पुरातात्विक क्षेत्र मानिएको नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्ट बन्दै गरेको समाचार बाहिरिएपछि चौतर्फी आलोचना हुँदै आएको थियो। रासस

माओवादी केन्द्रकाे स्थायी समिति बैठक ३ बजेसम्मका लागि स्थगित

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज दिउँसो फेरि बस्ने भएको छ। आज बिहान बसेको बैठकले दुई एजेन्डामा छलफल गरेको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। आज बिहानकाे बैठकमा अध्यक्ष प्रचण्डले राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन पेश गरेका थिए । दिउँसाे ३ बजे पुन: बस्ने बैठकले राजनीतिक प्रतिवेदन, सम्मेलन प्रतिनिधि र सम्मेलनकाे अन्य तयारिबारे छलफल गर्नेछ ।

कालीमाटी तरकारी बजार बन्द

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकासहित देशभर कोरोना सङ्क्रमतिको सङ्ख्यामा वृद्धि भएको भन्दै कालीमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ । तरकारी बजार विकास समितिले आज एक सूचना जारी गर्दै आजदेखि कृषक बजार बन्दको निर्णय भएको जनाएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्णयअनुसार बजार बन्दको निर्णय भएको समितिका कार्यकारी निर्देशक विनोदकुमार भट्टराईले जानकारी दिए । उनका अनुसार आजदेखि कृषक बजार, बुधबारदेखि थोक बजारमा हुने खुद्रा कारोबार र बिहीबारदेखि खुद्रा बजार बन्दको निर्णय भएको हो । समितिले थोक बजारमा प्याकेजिङ मात्र गरेर तरकारीको बिक्री वितरण गर्न सक्ने जनाएको छ । जसमा एकवटा थोक पसलमा अधिकतम दुईजना बसी सामाजिक दूरी कायम गर्दै नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गरी पसल सञ्चालन गर्न निर्देशन दिएको छ । समितिले बजार परिसरभित्र मोटरसाइकल, साइकल तथा ठेला प्रवेशमा पूर्ण रुपमा बन्देज लगाइएको जनाएको छ भने ठूला कृषकले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर अक्सन र्यार्क÷होल्डिङ र्यार्कमा कारोबार गर्न निर्देशन दिइसकेको छ । गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लागू भएसँगै बिहान ३ देखि ९ बजेसम्म तरकारी बजार खुला हुँदै आएको थियो ।

स्रोत नखुलेको सात लाग रुपैयाँसहित दुई जना भारतीय पक्राउ

काठमाडौंः हुण्डी कारोबार गर्ने २ जना भारतीय पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले बुधबार २ जनालाई स्रोत नखुलेको ७ लाख रुपैयाँसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालले जानकारी दिए। पक्राउ पर्नेमा भारतको बिहारका ४० वर्षीय संजयकुमार गुप्ता र ३७ वर्षीय विनोदकुमार छन्। उनीहरूलाई प्रहरीले भारतको रक्सौलबाट भारतीय नम्बरको मोटरसाइकलमा वीरगन्ज महानगरपालिका-१६ रजतजयन्ती चोकमा रोकेको थियो। रोकेर प्रहरीले चेक गर्दा उनीहरूबाट प्रहरीले ७ लाख स्रोत नखुलेको रकम बरामद गरेको छ। उनीहरूमाथि प्रहरीले बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ विपरीतको कसूरमा अनुसन्धान अघि बढाएको छ। उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट ५ दिन हिरासतमा राख्न अनुमति लिएको छ।