नेपालगन्ज गोल्ड कपको उपाधी रुपन्देहीलाई

काठमाडौं, चैत ३ । दोस्रो नेपालगन्ज गोल्डकपको उपाधी रुपन्देही ११ ले जितेको छ । बिहीबार भएको फाइनलमा संकटा क्लबलाई टाइब्रेकरमा हराउँदै रुपन्देहीले उपाधी जितेको हो ।

निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । ६५ मिनेटमा पेनाल्टिबाट संकटाले अग्रता लिएपनि ८८ औँ मिनेटमा रुपन्देहीले बराबरी गोल गरेपछि खेल टाइब्रेकरमा धकेलिएको हो ।

प्रतियोगिताको विजेता रुपन्देहीले पाँच लाख र उपविजेता संकटाले साढे दुई लाख रुपैयाँ पुरस्कार पाएका छन् ।

नियमित च्याउ खानुहुन्छ ? यी राेगहरूबाट बच्न सक्नुहुन्छ

फागुन ७ । च्याउ हामी धेरैलाई मन पर्ने परिकारमध्येमा पर्दछ । यो जति स्वादिलो हुन्छ स्वास्थ्यका दृष्टिले पनि यसको महत्व उत्तिकै बढी हुन्छ । च्याउको प्रयोगले शरीरमा कोलेस्ट्रोलको मात्रालाई सन्तुलित गर्नेदेखि विभिन्न रोगसँग लड्ने प्रतिरोधी क्षमता बढाउने काम पनि गर्छ । च्याउको नियमित प्रयोगले स्तन क्यान्सर तथा मधुमेह जस्ता रोगहरुको जोखिमबाट बचाउने एक अध्ययले देखाएको छ । अध्ययनअनुसार अनुसार विश्वमा १ लाख ४० हजार प्रकारका च्याउ पाइनेमा १ सय प्रकारका च्याउ खानका लागि उपयुक्त मानिन्छि । यस्ता छन् च्याउनका फाइदाहरु : – रोगप्रतिरोधी क्षमता बढाउँछ च्याउले सरीरको रोगप्रतिरोधी क्षमता बढाउँछ । यसमा एर्गोथियोनाइन नामक एन्टी अक्सिडेन्ट पाइन्छ । यसले छालालाई फ्री रेडिकल्सबाट बचाउनुका साथै इम्युनिटी पावर पनि बढाउँछ । – मोटोपना घटाउँदछ मोटोपना घटाउँदछ । प्रोटिनयुक्त भोजन भएकाले च्याउको सेवनले सरीरलाई हृष्टपुष्ट बनाउनुका साथै वजन समेत नियन्त्रण गर्दछ । यसमा पर्याप्त फाइबर पाइन्छ । –  हड्डीराेगबाट मुक्ती च्याउ क्याल्सियमको निकै राम्रो श्रोत हो जुन हड्डीको विकाश तथा मजबुतीका लागि जरुरी हुन्छ । च्याउको नियमित सेवनले उमेर बढेसँगै लाग्ने ओस्टियोपोरोसिस, जोर्नी दुख्ने जस्ता समस्या कम हुन्छन् । – रोग जाखिम कम गर्छ च्याउमा प्रोटिनसँगै भिटामिन इ तथा सेलेनियम लगायतका सुक्ष्म पोषक तत्व पनि पाइन्छन् । यसले छाला तथा कपालको स्वास्थ्य सँगै मुटुरोगको जोखिम पनि कम गर्छ । –मधुमेह नियन्त्रणमा सहयोग गर्छ मधुमेह नियन्त्रणका लागि पनि च्याउ सहायक सिद्ध हुन्छ । च्याउ बोसो, कोलेस्ट्रोल तथा उच्च प्रोटिनको नियन्त्रणका लागि उपयोगी हुन्छ । यसले प्राकृतिक इन्सुलिन तथा इन्जाइमको रुपमा काम गर्दछ । – रक्तअल्पताबाट बच्न सकिन्छ रक्तअल्पताको समस्या कम गर्न पनि च्याउ फाइदाजनक हुन्छ । च्याउमा आइरन तत्व पर्याप्त मात्रामा पाइन्छ जसको ९० प्रतिशत सरीरले लिन सक्दछ । यसले सरीरमा रक्तअल्पताको समस्या समाधानमा सहयोग गर्दछ । एजेन्सीको सहयोगमा

सिधैं बाजुरा–काठमाडौं डिलक्स चल्ने

कैलाली, ५ फागुन । सुदूरपश्चिम यातायात व्यवसायी संघले बिहीबारबाट बाजुरा–काठमाडौं सिधैं डिलक्स बससेवा सुरु गरेको छ । बस सेवाको सुभारम्भ गर्दै बाणिज्य संघका अध्यक्ष देबबहादुर रोकायाले सुदूरपश्चिम यातायात व्यवसायी संघले दुर्गम र विकट स्थानहरुबाट स्तरीय सेवा दिँदै आएकोमा धन्यवाद व्यक्त गर्दै सेवाको निरन्तराको लागि यातायात संघको ध्यानाकर्षण गराएका थिए । बाजुराको मार्तडीबाट दैनिक बिहान ६ बजे र काठमाण्डौ नयाँ बसपार्कबाट विहान ११ बजे खप्तड डिलक्स बस छुट्ने संघका बरिष्ठ उपाध्यक्ष सापकोटाले जानकारी दिए । प्रति यात्रु २ हजार ८ सय १० रुपैयाँ भाडादर तोकिएको डिलक्स सेवाले यात्रुहरुलाई काठमाडौं सम्मको दूरी अब आरामदायी हुने संघले जनाएको छ ।

केटी बेच्ने दुई दलाल पक्राउ, तीन किशोरीको उद्धार

बर्दिया, ५ फागुन । भारत हुँदै खाडी मुलुक विदेश लैजान लागिएका तीनजना किशोरीहरुसहित दुई जना केटी बेच्ने दलाललाई बर्दिया प्रहरीले पक्राउ गरेको छ । कुबेत र दुबई पठाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले ती दुईजनालाई पक्राउ गरेको हो । निःशुल्क भिसाको बहानामा भारत हुँदै कुबेत र दुबई लैजान लागिएका तीनजना नेपाली किशोरीलाई बर्दियाको कालिका र जमुनी नाकाबाट उद्धार गरेलगत्तै प्रहरीले दुईजनालाई पक्राउ गरेको हो । मानव बेचबिखनको अभियोगमा बर्दिया मैनापोखर गाविस–९ की २८ वर्षीय शान्तिकुमारी थारु र सुर्खेत वीरेन्द्रनगर नगरपालिका घर भई हाल मैनापोखर–९ बस्ने डम्मर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । मानव बेचबिखनका प्रमुख नाइके जमुनी–१ का ४४ वर्षीय दुर्गा विक भनिने दुर्गाबहादुर सुनार फरार रहेको जिप्रका, बर्दियाका प्रहरी उपरीक्षक भरतबहादुर बोहोराले जानकारी दिए । इप्रका, मैनापोखरका प्रहरी निरीक्षक देवेन्द्रकुमार मल्लको कमाण्डमा रहेको टोलीले कालिका र जमुनीबाट गोरखाका तीनजना युवतीलाई उद्धार गरेको हो । गोर्खाका २५ वर्षमुनिका किशोरीलाई नेपाल–भारत सीमा पार गराएर दिल्ली हुँदै वैदेशिक रोजगारमा खाडी मुलुक लैजान लागेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । फरार विकले २० देखि २५ वर्ष उमेर समूहका युवतीलाई विभिन्न आश्वासन काठमाडौँ हुँदै बर्दिया पु¥याएको र पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत बर्दियाको बाँसगढी नगरपालिकाको मामा होटलमा तीन दिन राखिएको युवतीले बताएका छन् । पक्राउ परेकालाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गत मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

कतार पुगेर विप्लव माओवादीका नेताले भने -‘अबको क्रान्ति सबै दलालविरुद्ध’

कतार, फागुन २ । विप्लव नेतृत्वको माओवादीका एक नेताले अबको क्रान्ति सबै दलालविरुद्ध केन्द्रीत हुने बताएका छन् । कतारको ग्रीड रेष्टुरेण्ट सलवारोडमा माघ २९ गते भएको अन्तक्रिया कार्यक्रममा उनले आफ्नो पार्टी हतियार बोकेर जंगल नजाने स्पष्ट पारे । जनयुद्धको पूर्वसन्ध्यामा २२अौं जनयुद्ध दिवसको अवसरमा आयोजित ‘शान्ति प्रक्रियाको दश वर्षे उपलब्धि र एकीकृत जनक्रान्तिको अपरिहार्यता’ विषयक कार्यक्रममा बोल्दै नेकपा (माओवादी)का मध्यपूर्व इन्चार्ज टेकबहादुर खत्री ‘आजाद’ले आफ्नो पार्टीले नेपालका दलालहरूका विरुद्ध आन्दोलन गर्ने बताएका हुन । उनले आफ्नो पार्टीको आन्दोलन जंगलबाट नभई शहरबाटै नै हुने खुलासा गरे । कार्यक्रमका प्रमुख वक्ता रहेका खत्रीले भने–‘हाम्रो पार्टी जंगल जान्छ भनेर केही दलालहरुले हल्ला फिजाएका छन, जुन सत्य होइन नेपाली जनतालाई न्याय दिनको लागि नयाँ समाजवादी क्रान्ति शहर बसेरै सुरु गर्छौ ।’ उनले आफ्नो पार्टीले देशमै लगानीको वातावरण बनाएर नेपालीलाई स्वदेशमै रोजगारी दिनुपर्ने नीति अवलम्बन गर्ने दाबी गरे । ‘देशका कलकारखाना, उद्योगधन्दाहरु चलाउनुपर्छ, यसको लागि हाम्रो पार्टीले औद्योगिक नीति नै बनाएको छ,’ खत्रीले भने । उनले नेकपा (माओवादी)ले वैज्ञानिक समाजवादी क्रान्तिको बाटो पूरा गर्न लागेको भन्दै सबै तह र तप्काका नेपालीले साथ दिनुपर्ने बताए । आफ्नो पार्टीलाई हतियार उठाउन लागेको भनेर अनावश्यक हल्ला फैलाइएको भन्दै इन्चार्ज खत्रीले भने–‘हामी त्यस्तो गर्दैनौ नेपाली जनतालाई हात लिएर शहर बसेर नै जनताको सत्ता स्थापित गराइ छाड्छौं ।’ उनले देशका जनताको समृद्धिका लागि र मुलुकको समृद्धिका लागि पनि जनताले चाहेको संघीयता हुनुपर्ने आफ्नो पार्टीको अडान रहेको बताए । ‘हामीले सबै खालका वर्गीय उत्पीडन र शोषणको अन्त्य हुनुपर्छ भनेका छौं ।’ कार्यक्रममा कतार नेपाली एकता समाजका कोषाध्यक्ष धनबहादुर परियारले देश अहिले संकटको धडीमा रहेको संघीयताका नाममा देश टुक्रायउन खोजिएको गृहयुद्धको चपेटामा पर्नसक्ने सम्भावना भएकोले समयमानै होसियार हुन आग्रह गरे । अन्तराष्ट्रिय नेपाली समाज कतारका संयोजक विवी खरेलले देशलाई समृद्ध बनाउन आर्थिक क्रान्तिको आवश्यकता रहेको वैदेशिक रोजगारीलाई न्यूनिकरण गर्दै स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता औल्याए । जनप्रगतिशील मञ्चका प्रमुख सल्लाहाकार होमनाथ शर्माले दश वर्षे जनयुद्धको उपलब्धिको संरक्षण र रक्षा गर्दै जनताका वाँकी कुुरा पूरा गराउन डटेर लाग्नुपर्ने धारणा राखे । जनप्रगतिशील मोर्चा सल्लाहाकार श्रीकृष्ण भट्टराईले नेपालको देशको सार्वभौमसत्ता तथा सीमाना  अतिक्रमण रोक्न नेकपा माओवादीले धेरै कार्यक्रम गरेको दावी गरे । प्रवासमा रहेका नेपाली जनताले पैसाको चिन्ता नगरेर देशको चिन्ता गरेका छन् । कार्यक्रमको सभापतित्व जनप्रगतिशील मोर्चाका अध्यक्ष रेशम पौडेलले गरेका थिए ।

पादरीहरुले नै गर्नथाले बालयौन शोषण

माघ २४ । अष्ट्रेलियामा धर्मका पुजारी पादरीहरुले नै बालयौन शोषण गर्ने गरेको खुलासा भएको छ । सन् १९५० देखि २०१० यसबारे अध्ययन गरिएको र यो दोस्रो पटक गरिएको अध्ययनअनुसार अष्ट्रेलियाका झण्डै ४० प्रतिशत चर्चहरुमा बाल यौनशोषण हुने गरेको छ । बाल यौनशोषणसँग जोडिएका मामिला हेर्ने रायल कमिशनमा १९८० देखि २०१५ सम्ममा झण्डै ४५ सय मानिसहरुले यौनशोषणको मुद्धा दायर गरिका थिए । यस रायल कमिशन अष्ट्रेलियाको धार्मिक तथा गैरधार्मिक स्थानहरुमा हुने गरेको यौन शोषणको बारेमा जाँच तथा अनुसन्धान गर्नेसंस्थाको सबैभन्दा उच्च स्थानमा रहेको छ । यस संस्थामै आवद्ध सिड्नीमा गेल फरनेस वलिकका अनुसार यौन शोषणका पीडितहरु धेरैले न्याय पाएका छैनन् । गेलका अनुसार बच्चालाई उपेक्षा गरियो, उनीहरुलाई सजाय पनि दिइयो, आपको जाँच भएन, पादरी तथा धार्मिक गुरुहरु सजिलै उम्किन सफल भए । ती चर्चाहरुका बारेमा पादरीहरुको केही थाहा हुन सकेन । गेलले भने, ‘१९८० देखि २०१५ सम्ममा अष्ट्रेलियाका १००० कै कैथोलिक इंस्टीट्यूशनमा ४००० बच्चाहरु यौन पीडित भए ।’ बलात्कृत ती वालिकाहरुको औषत आयु १०.५ वर्ष रह्यो । त्यही बालकहरुका लागि ११.६ वर्ष रह्यो । तर उनीहरुका विषयमा उजुरी फैसला हुन भने ३३ वर्ष लाग्यो । जब अष्ट्रेलियामा रॉयल कमीशनको २०१३ सालमा स्थापना भयाे, स्कुल, स्पोर्ट्स क्लब तथा धार्मिक संस्थाहरुमा हुने यौन उत्पीडनका बारेमा जाँच तथा अनुसन्धान थालेकाे छ ।

सेक्सको चक्करमा सुन्दर युवतीको जालमा पाइलट फसेपछि…

काठमाडौं, भारतको एक प्रतिष्ठित एयरलाइन्समा कार्यरत पाइलट अनिल शर्माको जिन्दगी नैराश्यताले भरिएको थियो । सधैँ निराश देखेपछि उनलाई एक दिन को–पाइलटले त्यसको कारण सोधे । अफिस, घर अनि फेरि अफिसको पट्यारलाग्दो दैनिकी नै आफ्नो निराशाको कारण भएको उनले बताए । जीवनमा खुसी भर्नका लागि युवतीहरूसँग च्याट गर्न र घुम्न ती को– पाइलटले शर्मालाई सुझाए । दुई बच्चाको बाबुसमेत रहेका शर्मालाई सुरुमा त्यो सुझाब मन परेन । तर, पछि ट्राई गरौँ भन्ने लाग्यो । च्याटसाइड एडल्टफाइन्डर डटकममार्फत उनको सिया नाम गरेकी युवतीसँग अनलाइनमा च्याट हुन थाल्यो । पहिलो दिनदेखि नै खुलेर कुरा गर्ने सिया बोल्ड युवती थिइन् । उनीसँगको च्याटले अनिलको जीवनमा नैराश्यता हट्दै गयो । केही दिनमै सियासँग फोनमै कुराकानी हुन थाल्यो । सियाले फकाउँदै भनिन्, ‘अनिल तिमी झन् पुरस्कार पाउँदैछौ, एउटा किन्दा अर्को सित्तैमा ।’ सियाका मीठा कुराले च्याट सुरु भएको दुई हप्तामै उनीहरूबीच भेटघाटको वातावरण बन्यो । अनिलले फिल्म हेर्न जाने प्रस्ताव राखे । युवतीले आफ्नै फ्ल्याटमा बसेर मीठा कुरा गर्ने प्रस्ताव राखिन् । युवतीलाई भेट्न अनिल दिल्लीको एमटुके सिनेमाघरअगाडि गत २४ अक्टोबरमा कार लिएर पुगे । सिया उनको प्रतीक्षामा थिइन् । च्याटमा जस्तै युवती बोल्ड र कामुक थिइन् । अनिल रेस्टुरेन्टमा बसेर खाजा खान चाहन्थे । तर, युवतीले रेस्टुरेन्टबाट प्याक गरी आफ्नै फ्ल्याटमा जाने प्रस्ताव राखिन् । फ्ल्याटमा जाने क्रममा आफ्नो साथी सलोनीको डेरामा जाने प्रस्ताव ती युवतीबाट आयो । अनिल झस्किए । सियाले फकाउँदै भनिन्, ‘अनिल तिमी झन् पुरस्कार पाउँदैछौ, एउटा किन्दा अर्को सित्तैमा ।’ दुईजना युवतीसँग रमाउने सपनासाथ उनी राजी भए । सियालाई समेत कारमा राखेर उनीहरू सलोनीको फ्ल्याटमा पुगे । सियाले ताल्चा खोलेर अनिललाई आफ्नो फ्ल्याटमा स्वागत गरिन् । बरन्डामा कपडा रहेको भन्दै उनी तत्कालै त्यहाँबाट निस्किइन् । सलोनी उनीसँग जिस्किन थालिन् । आफूसँग सम्बन्ध राख्न उस्काइन् । तर, अनिल सुरुमा सियासँग सम्बन्ध राख्न चाहन्थे । सलोनीले कर करेपछि उनले आफूलाई रोक्न सकेनन् । सलोनीले नै उनको कपडा खोलिदिइन् । सम्बन्ध राखिसकेपछि उनी आराम गरिरहेका थिए । तीनजना युवा ढोकामा देखिए । ‘धेरै पहिलेदेखि यहाँ वेश्यावृत्ति हुन्छ भन्ने सूचना पाएका थियौँ, आज प्रमाण भेट्यौँ,’ तीनमध्ये आफू सइ भएको बताउने युवकले भने । एक हवल्दार र सिपाही पनि उनीसँगै थिए । उनीहरूले अनिल र सलोनी दुवैलाई पक्राउ गरेर गाडीमा राखे । पट्यारलाग्दो जिन्दगीमा खुसी भर्न जाँदा शर्मा झन् ठूलो तनावमा परे । हिरासतमा राख्नुअघि अस्पतालमा स्वास्थ्य जाँच गर्नुपर्ने भन्दै उनीहरू अस्पतालतर्फ गए । अस्पतालमा सुरुमा सलोनीको स्वास्थ्य जाँचका लागि भनेर लिएर गए । अनिललाई गाडीमै राखे । केही समयपछि अब प्रहरी चौकी जाने भन्दै अनिललाई लिएर गए । उनीहरू सादा पोसाकमा थिए । युवती नलिई हवल्दार र सिपाही अस्पतालबाट बाहिरिए । युवती नलिई आएको सोध्दा जुन उत्तर आयो त्यसले शर्मा छाँगाबाट खसेजस्तो भए । ‘युवतीले तिमीविरुद्ध बलात्कार गरेको भन्दै जाहेरी दिन लागेकी छे, अब त सात वर्षसम्म जेलमा कोचिनुपर्छ, मिडियामा यो सबै जान्छ ।’ घटनालाई गोप्य राखी मुद्दा नचलाउन आग्रह गर्दै उनी रुन थाले । त्यसका लागि केही पैसा खर्च गर्ने उनले बताए । त्यसका लागि प्रहरीले २० लाख भारु मागे । त्यत्रो पैसा नभएको उनले बताए । बार्गेनिङको क्रममा १० लाख भारुमा कुरा मिल्यो । भोलिपल्ट उनले बैंकबाट पैसा निकालेर दिए । त्यसपछि ठूलो महासंकटबाट उन्मुक्ति पाएको ठाने । चार महिनापछि ९ मार्च २०१६ मा फेरि उनलाई फोन आयो । ‘एसपीसाबले फेरि त्यो घटना अनुसन्धान गर्र्नुभएको छ, के गर्ने रु’ तिनै व्यक्तिले फोन गरे । फेरि उनी तनावमा परे । दुई लाख दिए उक्त अनुसन्धान बन्द गर्ने प्रस्ताव सइले राखे । त्यो घटनाबारे अनिलले कसैलाई बताएका थिएनन् । फेरि पैसा मागेपछि उनले एक निकट साथीलाई सेयर गरे । ती साथीले त्यस्ता ठग गिरोहहरू दिल्लीमा सक्रिय रहेकाले प्रहरी नभई उनीहरू ठग भएको हुन सक्ने बताए । त्यसपछि अनिल १४ मार्च २०१६ मा मौर्य प्रहरी चौकीमा पुगेर एफआइआर दर्ता गराए । प्रहरीले अनुसन्धान अघि बढायो । अनुसन्धानको क्रममा ती सबै नक्कली प्रहरीको खुल्यो । सेक्स र्योकेट खडा गरेर उनीहरूले धनाढ्य व्यक्तिहरूलाई त्यही शैलीबाट ठगी गर्दै आएको रहस्यको पर्दाफास भयो । अनुसन्धानपछि घटनामा संलग्न जितेन्द्र सिंह, सुरेन्द्रलाल र प्रिन्सलाई प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । वेश्यावृत्तिमा संलग्नलाई प्रयोग गरी उनीहरूले त्यसरी धेरै व्यक्तिलाई ब्ल्याकमेलिङ गरिसकेको खुल्यो । युवतीहरू भने फरार भए । दिल्लीमा पटक–पटक यस्ता समूह पक्राउ पर्दै आएका छन् । त्यही घटनाको नक्कल गरी काठमाडौंमा समेत ठगी धन्दा सुरु भएको प्रहरीको अनुमान छ । नयाँ पत्रिकादैनिकबाट तस्वीरः सांकेतिक

दाङमा मोटरसाइकल जुध्यो, एक जनाको मृत्यु चार घाइते

दाङ, माघ २१ । दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किदा दाङमा एक जनाको ज्यान गएको छ । चार जना घाइते भएका छन् । घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा. १ प ६७४४ नम्बरको मोटरसाइकल र घोराहीतर्फ आउँदै गरेको रा. ३ प ४८०१ नम्बरको मोटरसाइकल नारायणपुरमा गएराति ठोक्किदा त्रिपुर नगरपालिका- ६ हापुर रमनाका १८ वर्षे मनोज सुनारको ज्यान गएको प्रहरीले जनाएको छ । उनीसँगै सवार दुईजना हापुरकै १८ वर्षे कमल बुढाथोकी र १९ वर्षे जुनकुमार बुढा मगर गम्भीर घाइते भएका छन् । त्यस्तै तुलसीपुरतर्फ जाँदै गरेको मोटर साइकलमा सवार कोइलाबास–१ का ४३ वर्षे रमेशकुमार गुरुङ र उहाँकी छोरी नाता पर्ने १२ वर्षे सुस्मिता गुरुङ सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेहरुको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको छ ।

बिहानै त्रिशूलीमा ट्रक खस्यो, एक बेपत्ता

रत्ननगर (चितवन),  माघ १६ । चितवनको दारेचोक गाविस–४ स्थित नाग्दी खोला नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खस्दा एकजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिब ५ बजेको समयमा चामल बोकेर वीरगन्जबाट काठमाडौँ जाँदै गरेको ना५ख ५६५४ नंको ट्रक अनियन्त्रित भई त्रिशूली नदीमा खसेर सो दुर्घटना भएको हो । ट्रक सडकबाट करिब ७० मिटर तल त्रिशूली नदीमा पुगेको प्रहरीले जनाएको छ । चालक धादिङ खयरघारीका २० वर्षीय रामशरण वाग्लेको घाइते अवस्थामा उद्धार गरिएको र ट्रकमा सवार एकजना बेपत्ता भएको खुल्न आएको प्रहरीले जनाएको छ । बेपत्ता हुनेको पहिचान नभएको जनाइएको छ । ट्रकमा अन्य मानिस कति थिए भन्ने नखुलेको र अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । यसैबीच कुरिनटारमा आज बिहान अर्को ट्रक पल्टिँदा दुईजना घाइते भएका छन् । ट्रक पानीमा डुबेको अवस्थामा रहेको छ । बिहान करिब १ः३० बजेको समयमा चितवनको दारेचोक गाविस–३ कुरिनटारमा आफैँ अनियन्त्रित भई ट्रक पल्टिएर २० फिट तल पुग्दा दुर्घटना भएको छ । वीरगन्जबाट काठमाडौँ जाँदै गरेको ना६ख ४७२९ नंको मच्छड धुप बोकेको ट्रक अनियन्त्रित भई पल्टिएको चितवन प्रहरीले जनाएको छ । सो दुर्घटनामा परी चालक सिन्धुपाल्चोकका २६ वर्षीय हरि बस्नेत र सहचालक सोही ठाउँका १८ वर्षीय नीरज भुजेल घाइते भएको प्रहरीले जनाएको छ । दुवै घाइतेको अहिले भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । रासस

‘अमेरिकामा ट्रम्प आए, अब रूससँगको सम्बन्ध सुध्रियो’

एजेन्सी । मस्को, माघ १३ । रुसी विदेश मन्त्री सर्गेइ लाभरोभले डोनाल्ड ट्रम्पको कार्यकालमा अमेरिकासँग चिसिएको सम्बन्धमा सुधार हुने बताएका छन् । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्प विजयी हुनासाथ उच्चस्तरीय रुसी नेता, अधिकारी तथा आम जनताहरुले अपार हर्ष प्रकट गरेकामा अमेरिकासँगको सम्बन्धमा अपेक्षित सुधार आई सो हर्ष अब यथार्थमा परिणत हुने पनि रुसी विदेश मन्त्री सर्गेइले बताए । बुधबार रुसी संसदलाई दिनु भएको एक सम्बोधनको क्रममा उहाँले रुस र अमेरिकाबीच रहिआएको पुरानो र ऐतिहासिक सम्बन्ध पुनः नयाँ शिरा (न्यु रिसेट) बाट नवीकरण हुनेमा कुनै भ्रम, चिन्ता नरहेको, यस विषयमा कुनै पनि नकारात्मक सोच वा शङ्का राख्नै नपर्ने बताए । विदेश मन्त्री सर्गेइको विशेष शब्द न्यु रिसेटले रुस तथा अमेरिकाबीच रहँदै आएको सम्बन्धलाई एक नयाँ शिराबाट जीवन्तता प्रदान गर्न मार्ग प्रशस्त गर्ने विषयमा सन् २००९ मा तत्कालीन रुसी राष्ट्रपति डिमित्री मेद्भेदेभ तथा निवर्तमान अमेरिकी राष्ट्रपति बाराक ओबामाबीच भएको छलफलले पहिल्याएका तथ्यहरुलाई औँल्याएको छ । तर, उक्त छलफलले निष्कर्ष निकालेका तथ्यहरु विभिन्न कारणबस छोटो समय मै बिलिन भएर गई कार्यान्वयन हुन पाएनन् । रुसी विदेश मन्त्रीको भनाइमा रुसले अमेरिकासँगको सम्बन्ध सुधारको आधार सन् २००९ मा भएको सो छलफल तथा समझदारीलाई बनाउन खोजेको छ । तर, यस विषयमा राष्ट्रपति ट्रम्पले भने मुख खोल्नु भएको छैन । यसअघि, अमेरिका–रुस अन्तर्देशीय सम्बन्धमा व्यापक सुधार ल्याउने तथा रुसलाई अमेरिकाको निकटको मित्र मान्ने आफ्नो अभिलाषा रहेको भनी राष्ट्रपति ट्रम्प विजयी घोषित हुनु भएको केही दिन मै अभिव्यक्ति दिनु हुँदा मस्कोमा यस अभिव्यक्तिको ठूलो स्वागत गरिएको थियो ।

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. पन्त

काठमाडौं, माघ ७ । स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. राजेन्द्र पन्त नियुक्त भएका छन् । बालस्वास्थ्य महाशाखाका निर्देशक डा. पन्तलाई मन्त्रीस्तरीय निर्णय गरी विहीबार स्वास्थ्यमन्त्री गगन थापाले महानिर्देशकमा नियुक्त गरेको मन्त्रीका सल्लाहकार प्रताप पौडेलले जानकारी दिए । नवनियुक्त महानिर्देशक पन्तले शुक्रबार नियुक्तिपत्र बुझेका छन् । विभागका महानिर्देशक डा. पुष्पा चौधरीलाई प्रसूतिगृहमै काजफिर्ता गरिएको सल्लाहकार पौडेलले बताए । यसैगरी, सरकारले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने प्रक्रियाअघि बढाएको छ । राप्ती उपक्षेत्रीय अस्पताललाई प्रतिष्ठान बनाउने सरकारले तयारी गरेको हो । विहीबारको मन्त्रिपरिषद बैठकले प्रतिष्ठान निमार्णका लागि प्रक्रिया अघि बढाउन स्वास्थ्य मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेले बताए । सल्लाहकार पौडेलकाअनुसार प्रतिष्ठानको विधेयक तयार भइसकेकाले चाँडै संसदमा दर्ता हुनेछ । सरकारले यो प्रतिष्ठाने प्रदेश नम्बर–५ का लागि स्थापना गर्न लागेको हो । सरकारले डा. गोविन्द केसीले प्रत्येक प्रदेशमा कम्तीमा एउटा मेडिकल कलेज हुनुपर्ने मागमा सहमति गरेसँगै यो प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।

मन्त्रीपरिषद्को निर्णयः जेठको दोस्रो साताभित्रमा चुनाव गर्न तयारी थाल्ने

काठमाडौं, ६ माघ । सरकारले वैशाखको अन्त्यमा वा जेठ दोस्रो साता भित्रमा निर्वाचन गर्ने गरि तयारी थाल्ने गरी तयारी गर्ने भएको छ । बिहिबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले जेठको दोस्रो साताभित्रमा चुनाव गर्नेगरी दलहरुबीचमा सहमति गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद् बैठकले रेडियो नेपालको कार्यकारी प्रमुखमा सुरेशकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए । यसअघि पनि उनी रेडियो नेपालको कार्यकारी निर्देशक थिए । उनको कार्यकाल मंसिर महिनामा सकिएको थियो । विश्व बैंकले दिने १६ अर्ब ३८ करोड रुपैयाँ ऋण सहायता स्वीकृत गर्ने निर्णय गरेको छ । सो रकम जन्म दर्ता, मृत्यु दर्ता लगायतका सामाजिक तथा व्यक्तिगत घटना दर्ता प्रक्रियालाई अझै समृद्ध पार्न विश्व बैंकले दिएको हो । मन्त्रीपरिषद् बैठकले किसान आयोग गठन गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले नेपाल टेलिकम प्राधिकरणमा रिक्त रहेका २ सदस्य पदपूर्तिका लागि सञ्चार सचिवको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ बैठकले न्याय सेवाका पाँचजना सह–सचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । न्यायसेवा आयोगको सिफारिसमा सर्वोच्चका सह रजिष्ट्रार नहकुल सुवेदी र नृपध्वज निरौला, महान्यायाधीवक्ता कार्यालयका किरण पौडेल र कृष्णजीवी घिमिरे तथा कानुनसेवाको राजीव गौतम लाई सचिवमा बढुवा गरेको हो । डाक्टर गोविन्द केसीसँग सरकारले सम्झौताहरुलाई कार्यान्वयन गर्न समिति बनाउने निर्णय गरेको  छ । हत्या गरिएका काभ्रेका अजित मिजार र लक्ष्मी परियारका परिवारलाई के कस्तो सहयोग गर्न सकिन्छ भनेर सरकारलाई सुझाव दिन युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाइलीको नेतृत्वमा समिति पनि गठन गरेको छ । अन्तरजातीय विवाह गरेका अजितको शव धादिङमा फेला परेको थियो भने लक्ष्मी परियारको बोक्सी आरोपमा कुटपीट पछि मृत्यु भएको थियो । यसैबीच, स्वास्थ्यमन्त्री गगनकुमार थापाले बिहीबारको बैठकमा सुर्तिजन्य पदार्थको सम्बन्धि ऐन निर्माणार्थ प्रस्तुत गर्ने राजपत्रमा प्रकाशित गरी फागुन मसान्तसम्म कार्यान्वयनमा ल्याइने तयारी गरेका थिए । तर, सो विषयमा केही हुन सकेन । स्वास्थ्यकर्मी र अन्य कर्मचारीले पालना गर्नु पर्ने सेवा, शर्त र सुविधा सम्बन्धि कार्यविधि–२०७३ स्वीकृतिको लागि बैठकमा पेश गर्ने बताएका थिए । त्यस्तै प्राविधिक प्रमूख सेनानी खुमबहादुर कुंवरलाई प्राविधिक महासेनानीमा बढुवा गर्ने निर्णय गरेको छ । साथै २०७१ सालको बाढी पहिरोबाट क्षतिग्रस्त बाँके, बर्दिया, दाङ्, सुर्खेत लगायतका जिल्लामा नीजि आवास पूनर्निर्माणका लागि अनुदान वितरण कार्यविधि, २०७३ लाई स्वीकृत गरेको छ ।

रोल्पा काँग्रेसको पार्टी कार्यालय बनाउन शान्ति मन्त्रालयको बजेट !

रोल्पा, माघ ४ । नेपाली काँग्रेस रोल्पाले पाटी कार्यालय भवन बनाउन शान्ति मन्त्रालयको बजेट निकासा तयारी गरेको छ । करिब रु तीन करोड ५० लाख लगानीमा आधुनिक पार्टी कार्यालय निर्माण थालनी गरेको उक्त पार्टीले पचास लाख भन्दा बढी रकम शान्ति मन्त्रालयबाट निकासा गर्न निर्णय गराइसकेको छ । शान्ति मन्त्रालयले द्वन्द्वको क्रममा क्षति भएका भवनहरुको पूननिर्माण र द्वन्द्वमा ज्यान गुमाएका शहीद परिवारलाई राहत दिने, पीडित परिवारलाई राहत तथा तालिम दिनको लागि बिनियोजन गर्नुपर्ने व्यवस्था रहेको छ । सांसद विकास कोषबाट रु ५० लाख, पार्टी गाउँ कमिटीबाट रु एक/एक लाखका दरले रु ५० लाख, विदेशमा रहेका रोल्पालीबाट रु ५० लाख तथा सहरी विकास मन्त्रालय एवम् शान्ति मन्त्रालयबाट समेत सहयोग प्राप्त हुने गरी भवन निर्माण गर्न लागिएको नेपाली काँग्रेस रोल्पाका सभापति अमरसिं पुनमगरले जानकारी दिए । अपाङ्गमैत्री एवम् लिफ्ट प्रणालीको रहने सो भवन साढे तीन तलाको हुने बताइएको छ जसको पहिलो तलामा पार्टी कार्यालय, दोस्रो तलामा हल, तेस्रो तलामा सुशील कोइराला स्मृति गेस्ट रुम र अन्तिम तलामा पार्टी सभापतिको निजी आवास रहने भएको छ । दिवङ्गत पूर्व पार्टीसभापति सुशील कोइराला जिल्ला भ्रमणका दौरान कहिल्यै होटल तथा लजमा नबसी कार्यकर्ताको घरमा बस्ने गरेको हुँदा उहाँको स्मरणमा पार्टीले गेस्ट रुम वनाउन लागेको सभापति पुनले बताए । पार्टीले जिल्लामा रहेका भ्रातृ सङ्गठनका लागि छुट्टै भवन निर्माण गरिरहेको नेपाली काँग्रेस रोल्पाका कोषाध्यक्ष खटकबहादुर खत्री ‘तोरावोरा’ले जानकारी दिए । निर्माणाधीन सो कार्यालय तीन वर्षभित्र सम्पन्न गरिने नेपाली काँग्रेस रोल्पाले जनाएको छ । फाइल तस्वीर नेपाली कांग्रेसको केन्द्रीय कार्यालय

देशभर ४५ हजार सौर्य सडक बत्ती जडान गरिँदै, एघार सय किमी सडक उज्यालो हुँने

काठमाडौँ, पुस २१ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नेपालभर रहेका सडकमा सौर्य सडक बत्ती जडान गर्न रकम विनियोजन गरेको छ । मन्त्रालयले लागत जनसहभागितामा आधारित रहेर हरेक नगरपालिकामा सडक सौर्य बत्ती जडान गर्न आवश्यक बजेट विनियोजन गरेको हो । मन्त्रालयले मुलुकभरका २१७ नगरपालिकामध्ये १४३ नगरपालिकालाई सौर्य सडक बत्ती जडान गर्न रु ५० करोड विनियोजन गरेको हो । मन्त्रालयले जनहसभागितामा आधारित रहेर सौर्य सडक बत्ती जडान गर्न २१७ नगरपालिकासँग प्रस्ताव आह्वान गरेको थियो । ती मध्ये १४३ नगरपालिकाले मात्र आफ्ना नगर क्षेत्रमा सौर्य सडक बत्ती जडान गर्न प्रस्ताव पेस गरेका थिए । सौर्य सडक बत्ती जडानका लागि मन्त्रालयले विनियोजन गरेको कुल रु ५० करोड बजेटमध्ये पहिलो चरणमा विभिन्न नगरपालिकालाई रु ४७ करोड ७२ लाख ५३ हजार अनुदानस्वरुपको रकम उपलब्ध गराई सकिएको मन्त्रालयले जनाएको छ । त्यस्तै दोस्रो चरणमा सौर्य सडक बत्ती जडान गर्न विभिन्न २१ वटा नगरपालिकाले प्रस्ताव पेस गरेका र तीन नगरपालिकालाई रु दुई करोड अनुदान निकासा गरिएको छ । मन्त्रालयअन्तर्गको नगरपालिका शाखाका उपसचिव नरहरि शर्मा भण्डारीले १४३ नगरपालिकालाई कुल ४५ हजार ३०८ वटा सडक बत्ती जडान गर्न अनुदान उपलब्ध गराइएको बताए । नगर क्षेत्रमा सौर्य सडक बत्ती जडान गर्न मन्त्रलालयले ६५ प्रतिशत अनुदान दिनेछ । त्यस्तै प्रत्येक नगरपालिकाले २० प्रतिशत र उपभोक्ता समितिले १५ प्रतिशत रकम व्यहोर्नुपर्ने हुन्छ । एघार सय किमी सडक उज्यालो हुँदै चालु आवमा करिब ४५ हजार ३०८ थान सौर्य सडक बत्ती जडान भएपछि नगर क्षेत्रका करिब एक हजार १०० किलोमिटर सडक उज्याला हुनेछन् । सरकार, स्थानीय निकाय र जनसहभागिताबाट सञ्चालन गरिने यस कार्यक्रममार्फत् चालु आवमा देशभरका करिब ५० हजार सडक बत्ती विस्थापन गरिने मन्त्रालयको योजना छ । सौर्य सडक बत्ती जडान गरिएपछि सडक बत्ती बालेबापत नेपाल विद्युत् प्राधिकरणलाई तिर्दै आएको महसुलमा कमी आई नगरपालिकालाई आर्थिक व्ययभार कम पर्नेछ । यसअघि सडक बत्ती बालेबापत महा÷उपमहा÷नगरपालिकाले अर्बौ रकम विद्युत् प्राधिकरणलाई तिर्दै आएका थिए । त्यस्तै सौर्य सडक बत्ती जडानसँगै राष्ट्रिय रुपमा विद्युत् खपतमा कमी आउने र सरकारको विद्युत्भार कटौती अभियानलाई पनि महत्वपूर्ण सहयोग पुग्ने उपसचिव भण्डारीको भनाइ छ । सौर्य सडक बत्ती जडान भएपछि नगर क्षेत्रमा हुने आपराधिक घटनामा कमी आउने र सुरक्षा व्यवस्था चुस्त राख्न पनि सहयोग पुग्नुका साथै सडकमा रातिको समयमा पनि हिँडडुल गर्न सहज हुने उहाँले बताउनुभयो । उपत्यकामा १९ हजार सौर्य सडक बत्ती मन्त्रालयले उपत्यकाका २२ वटा नगरपालिकामध्ये १८ वटा नगरपालिकालाई सौर्य सडक बत्ती जडान गर्न अनुदान निकासा गरिसकेको छ । काठमाडौँ महानगरपालिकालाई चालु आवमा २५२ आयोजनाअन्तर्गत आठ हजार ५४१ वटा सौर्य सडक बत्ती जडान गर्न रु पाँच करोड ९६ लाख ८६ हजार अनुदान उपलब्ध गराइएको छ । त्यस्तै ललितपुर उपमहानगरपालिकालाई दुई हजार १८८, गोकर्णेश्वर नगरपालिकालाई एक हजार ५३२, मध्यपुर ठिमी नगरपालिकालाई एक हजार २६३, कागेश्वरी नगरपालिकालाई ७६९, भक्तपुर नगरपालिकालाई ७५९ र कार्यविनायक नगरपालिकालाई ६६० वटा सौर्य सडक बत्ती जडान गर्न अनुदान उपलब्ध गराइएको छ । त्यस्तै तारकेश्वर नगरपालिकालाई ६४४, बूढानीलकण्ठ नगरपालिकालाई ५५६, नागर्जुन नगरपालिकालाई ४४६, चन्द्रागिरि नगरपालिकालाई ३९४, अनन्तलिङ्गेश्वर नगरपालिकालाई २७५, महालक्ष्मी नगरपालिकालाई २७०, कीर्तिपुर नगरपालिकालाई २०७, दक्षिणकाली नगरपालिकालाई १५५, नगरकोट नगरपालिकालाई ५०, शङ्खरापुर नगरपालिकालाई ३५ र सूर्यविनायक नगरपालिकालाई आठ वटा सौर्य सडक बत्ती जडान गर्न अनुदान उपलब्ध गराइएको छ । यस्तै विराटनगर उपमहानगरपालिकाले दुई हजार ६४६, वीरगन्ज उपमहानगरपालिकाले एक हजार ५५०, भरतपुर उपमहानगरपालिकाले ५१५, बुटवल उपमहानगरपालिकाले ४६८, हेटौँडा उपमहानगरपालिकाले ३९४, इटहरी उपमहानगरपालिकाले ३३७, धरान उपमहानगरपालिकाले ३३६, धनगढी उपमहानगरपालिकाले २९९ र नेपालगन्ज उपमहानगरपालिकालाई २०० वटा सौर्य सडक बत्ती जडान गर्न मन्त्रालयबाट अनुदान पाएका छन् । मन्त्रालयले बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले तोकेको मापदण्डअनुसार स्वीकृति प्राप्त सोलार कम्पनीबाट सौर्य सडक बत्ती जडान सकिने जनाएको छ । केन्द्रको मापदण्डमा सोलार प्यानलमा २० वर्ष, ब्याट्रीमा पाँच वर्ष र सौर्य बत्तीमा दुई वर्षको ग्यारेन्टी हुनुपर्ने व्यवस्था गरिएको छ । मन्त्रालयले यही पुस २५ गतेभित्र सबै नगरपालिकालाई टेन्डर प्रक्रिया सकेर काम सुरु गर्न दिर्नेशन दिएको छ ।

इस्तानबुल रात्रिक्लब आक्रमणका आठ जना आरोपित पक्राउ

इस्तानबुल (टर्की),पुस १९। इस्तानबुल आतङ्वादविरोधी प्रहरी बलले विदेशीसहित ३९ जनाको ज्यान जाने गरी एउटा रात्रिक्लबमा आक्रमण गर्ने आठ जना आरोपित व्यक्तिलाई सोमबार पक्राउ गरेको जनाएको छ । इस्लामिक स्टेट (आईएस) समूहले जिम्मेवारी लिएको उक्त घटनामा ३९ जनाको मृत्यु भएको थियो भने ६५ जना घाइते भएका थिए । इस्तानबुल प्रहरीले रात्रिकालीन रैना क्लब आक्रमणमा संलग्न रहेको आशङ्कामा आठ जनालाई पहिलो पटक सुरक्षा नियन्त्रणमा लिएपछि थप कारबाही अघि बढाएको बताएको टर्कीको डोगान नयुज एजेन्सीले जनाएको छ । यसैबीच इस्तानबुल आक्रमणमा परी मृत्यु हुने अधिकांश विदेशी नागरिक भएको बताइएको छ । मृतकमध्ये २७ जना विदेशी घटनामा मृत्यु भएकामध्ये ११ जना टर्कीका नागरिक रहेको पुष्टि भएको छ भने बाँकी २७ जना विभिन्न देशबाट टर्की पुगेका विदेशी पर्यटक रहेको थाहा भएको छ । एक जनाको अझै परिचय खुल्न नसकेको बताइएको छ । पछिल्लो जानकारीअनुसार घटनामा दुई महिलासहित पाँच जना साउदी नागरिकको मृत्यु भएको र ११ जना घाइते भएको इस्तानुबलस्थित साउदी अरबका वाणिज्यदूतलाई उद्धृत गर्दै एक साउदी पत्रिका असरत अल असलले जनाएको छ । घटनामा जोर्डनका दुई, इराकका तीन, लेबनानका तीन, ट्युनिसियाका दुई, भारतका दुई, मोरक्कोका दुई र एक जर्मन नागरिकको मृत्यु भएको बताइएको छ । उक्त घटनामा क्यानाडा, रसिया, कुवेत, बेल्जियम र लिबियाका पनि एक÷एक जनाको मृत्यु भएको सूचना सम्बन्धित देशका कूटनीतिक अधिकारीले जनाएका छन् । रासस÷एएफपी

रुकुममा जिप दुुर्घटना, चार घाइते, दुईको अवस्था गम्भिर

रुकुम, पुस १८ । रुकुममा जिप दुुर्घटना हुुँदा चार जना घाइते भएका छन् । रुकुमकोटको धाउन्ने बजारबाट सोलाबाङतर्फ आइरहेको लु १ अ १०५६ नम्बरको जिप स्यालापाखाको गिलबाङमा आइतबार राती दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामापरी बाँफीकोट–७ का ३३ वर्षीय तिलवीर केसी, बाँफीकोट–५ का २३ वर्षीय देवराज शाही, स्यालापाखा–३ का २५ वर्षीय अविषेक शाही र मुसिकोट नगरपालिका–५ का २० वर्षीय डायमण्ड शाही घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षक थमनबहादुर रजालीले जानकारी दिए। घाइते सबैलाई जिल्ला अस्पताल सल्लेमा उपचार हुन नसकेपछि थप उपचारका लागि आज बिहान नेपालगन्ज रिफर गरिएको जिल्ला स्वास्थ्य कार्यालय रुकुमका प्रमुख डा राजेन्द्र जिसीले बताए । घाइतेमध्ये अविषेक र तिलविरको अवस्था गम्भीर रहेको बताइएको छ । जिप सडकबाट करिब ५०० मिटर तल सानोभेरी नदीमा पुगेको भए पनि मानिस बीचमै खसेपछि बाँचेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रजालीले बताए । रासस