नवलपुरको खहरे जंगलमा सासू–बुहारी मृत फेला

काठमाडौं । नवलपरासी पूर्व (नवलपुर)को विनयी त्रिवेणी गाउँपालिका १ मा सासु–बुहारीको शव फेला परेको छ ।

खहरे जंगलमा ओम शान्ती टोलका ६० वर्षीया मनादेवी पौडेल र उनकी बुहारी २८ वर्षीया विष्णु पौडेल मृत फेला परेका जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व (नवलपुर)का डीएसपी बेदबहादुर पौडेलले जानकारी दिए ।

आइतबार दिउँसो घाँस काट्न जंगलमा गएका उनीहरू अबेरसम्म नफर्किएपछि प्रहरीले खोजी गरेको थियो ।

काठमाडौं युनेस्कोको ‘फिल्मको रचनात्मक शहर’को सूचीमा

काठमाडौं । राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)ले काठमाडौंलाई ‘फिल्मको रचनात्मक शहर’ को रुपमा सूचिकृत गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं महानगरपालिकाले यसबारेमा जानकारी गराएको हो । महानगरले अब चलचित्र क्षेत्रको विकास र बिस्तारका लागि काठमाडौं क्रिएट द काउन्सिल (केसीएसी) केएमसी स्थापना गर्ने पनि पत्रकार सम्मेलनमार्फत जनाएको छ । चलचित्र क्षेत्रको विकास र बिस्तार तथा चलचित्रसँग सम्बन्धित उद्योग सञ्चालन, संरक्षण र प्रवद्र्धनका लागि आवश्यक पर्ने नीति अनुसन्धान र विकासमा जोड दिने बताएको छ । यसले सांस्कृतिक र रचनात्मक कलाअन्तर्गतका सबै कार्यक्रमहरू गतिविधिहरू कार्यान्वयन गर्ने महानगरपालिकाको विश्वास छ । नेपालको राजधानी शहर काठमाडौंलाई ‘फिल्मको रचनात्मक शहर’को रुपमा सूचिकृत गरेको थियो । विश्व शहर दिवसको अवसरमा काठमाडौंसहितका संसारका ५५ सहरलाई क्रिएटिभ सिटिज नेटवर्कमा समावेश गरिएको युनेस्कोले जनाएको छ । युनेस्कोले सातवटा रचनात्मक क्षेत्रअन्तर्गत रहेर ५५ नयाँ शहर सूचिकृत गरेको हो । यी रचनात्मक क्षेत्रमा शिल्प र लोककला, डिजाइन, फिल्म, ग्यास्ट्रोनोमी, साहित्य, मिडिया कला र संगीत समावेश छन् । चलचित्र उद्योगमा आवद्ध क्षेत्रगत जनशक्तिको शैक्षिक क्षमता सुधार, प्रशिक्षण, चलचित्र विषय अध्ययन हुने विद्यालय तथा विश्वविद्यालयबीच समन्वय सहकार्य गरेर स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र निर्माण गर्न प्रतिभाहरुलाई प्रोत्साहन नीति रहेको छ । चलचित्र उद्योगको विकासका लागि आवश्यक नीति तर्जुमा वकालत गर्ने, शहरका लागि सांस्कृतिक र रचनात्मक रणनीति विकास गर्ने, अनुसन्धानकर्ताहरूका लागि वार्षिक रुपमा अनुसन्धान फेलोसिप प्रदान गर्ने, सीमान्तकृत र कमजोर समुदायसहित लक्षित वर्गलाई यसमा सहमति प्रदान गरिने बताएको छ । चलचित्र र अन्य रचनात्मक उद्योगहरूका लागि विद्यमान पूर्वाधारलाई सुधार स्तरोन्नति गरिने जनाएको छ । पारम्परिक वास्तुकला झल्काउने, सुन्दरता अभिवृद्धि हुने संरचना निर्माण गरेर लागत प्रभावी चलचित्र निर्माणको वातावरण बनाइने लक्ष्य छ । महानगरले ल्याण्डस्केप डिजाइन, विश्व सम्पदाहरुको सुधार, पूर्वाधार स्तरवृद्धि, वास्तुकला संवद्र्धनहरु चलचित्र निर्माणको कथा कथन र सौन्दर्यशास्त्रमा योगदान पु¥याउने दृश्यात्मक मनमोहक स्थानहरू उपलब्ध गराइने जनाएको छ । चलचित्र स्टुडियो, पोस्ट उत्पादन सुविधाहरू चलचित्र विद्यालयहरु, उद्योगका विधागत सिप र सिकाइहरुलाई सज्जालमा आवद्ध गरेर प्रवद्र्धन गरिने, अभिलेख, पुस्तकालय र हालको विकास हुने, स्थानीय सांस्कृतिक र रचनात्मक उद्यमीलाई र साना र मध्यम आकारका उद्यम सञ्चालन गर्न सहयोग गरिने, तथ्य तथ्यांक निर्माण गरिने, व्यञ्जन कला र शिल्प, हस्तकला उद्योगको प्रवद्र्धन मूर्त र अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण गर्न महोत्सव र प्रदर्शनीहरूको आयोजना गरिने महानगरले जनाएको छ । महानगरले अन्तर्राष्ट्रिय स्तरका उद्यमीलाई सञ्जालमा जोड्न अन्तर्राष्ट्रिय चित्र महोत्सव, फिल्म एक्स्पो फिल्म सोमट जस्ता सञ्चालन गर्ने भएको छ । युनेस्को क्रियटिभ सिटीज नेटवर्क (युसीसीएन) कार्यक्रम सञ्चालनका लागि महानगरपालिकाले ५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

बेपत्ता रहेका विपिन जोशीको सुरक्षा गर्न सरकारको आग्रह

काठमाडौँ । नेपाल सरकारले चरमपन्थी समूह हमासले बन्धक बनाएको आशङ्का गरिएका विपिन जोशी र अन्य निर्दोष वेपत्ता नागरिकहरूको सुरक्षाको लागि आह्वान गरेको छ । जोशी गत अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमला भएको दिनदेखि बेपत्ता छन् र उनको ठेगाना अझै अज्ञात छ। परराष्ट्र मन्त्रालयले गाजामा दुईजना बन्धकको रिहाइलाई नेपाल सरकारले सकारात्मक घटनाका रूपमा लिएको जनाएको छ । मन्त्रालयले उनीहरुको रिहाइको लागि कतार राज्य र संलग्न अन्यको कूटनीतिक प्रयासको प्रशंसा समेत गरेको छ ।

अन्तर्राष्ट्रिय गरिवी निवारण दिवस आज

काठमाडौं । आज मंगलबार अक्टोबर १७ अर्थात् अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस नेपालमा पनि बिविध कार्यक्रम गरी मनाइँदैछ । चरम गरिबीविरुद्ध एकजुट भएर लड्न तथा गरिबीसम्बन्धी जानकारी विश्वभर आदानप्रदान गर्ने उद्देश्यकासाथ संसारभर यो दिवस मनाइन्छ ।यो वर्ष अर्थात सन् २०२३ को गरिवी निवारण दिवसको नारा ‘सबै जनासँगै मिलेर गरिबी निवारण गर्ने र पृथ्वीका हरेक मानिसलाई स–सम्मान बाँच्ने वातावरण निर्माण गर्ने’ भन्ने रहेको छ । सन् १९९३ देखि हरेक वर्ष अक्टोबर १७ का दिनलाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको रुपमा मनाइँदै आएको छ । गरिबीको व्याख्या गर्दा संयुक्त राष्ट्रसंघले खाना, नाना र छानाको अभावमा रहेका नागरिक गरिब हुन् भनि व्याख्या गरेको छ । विश्वका गरिबहरु मध्ये झण्डै ९० प्रतिशत गरिबहरु एसिया र अफ्रिकामा बसोवास गर्छन । नेपालमा कुल जनसंख्याको १७.५ प्रतिशत अर्थात करिव ५० लाख मानिसहरु गरिबीको रेखामुनी रहेका छन् । सामान्य अर्थमा बाँच्नका लागि आवश्यक पर्ने वस्तुहरूको अभाव हुने अवस्थालाई गरिबी भनिन्छ । विश्व बैङ्कको प्रतिवेदन हेर्ने हो भने पछिलला वर्षमा लगभग ९ करोडदेखि १२ करोड मानिस गरिबीको चपेटामा परेका छन् । परमाणु शक्ति र हतियारमा अरबौँ डलर खर्च गर्न सक्ने देशहरू आम मानिसका भोक, रोग, बासका समस्या सम्बोधन गर्न चुकेका छन् ।नेपालमा दिगो विकासको लक्ष्यले पनि सबै ठाउँबाट सबै प्रकारका गरिबीको अन्त्य गर्ने लक्ष्य निर्धारण गरेको छ । नेपाल सरकारले पनि यसका लागि थुप्रै कार्यक्रमहरू संचालन गरेको छ । तर ती कार्यक्रमहरु प्रभावकारी कार्यान्वयन हुन सकेका छैनन् । नेपालमा गरिबी निवारणको लागि संघ, प्रदेश तथा स्थानीय तहमा अबौं रुपैयाँका फरक–फरक कार्यक्रमहरू संचालन भइरहेका छन् । तर, अपेक्षाकृत रुपमा भने नेपालमा गरिबी घट्न सकेको छैन ।

यौन दुर्व्यवहारको आरोप लागेका राई धरौटीमा रिहा

काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेका मदन राई धरौटीमा रिहा भएका छन्। आज जिल्ला अदालत खोटाङका न्यायाधीश सुवासबाबु पुरीको इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। उनीसँग चार लाख धरौटी मागिएको थियो। अहिले धरौटी बुझाएर छुटिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खोटाङको दिक्तेलस्थित शुभद्रा मदन फाउन्डेसन (शुभम्) का संस्थापक मदन राईले बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोग लगाउँदै सरकारी वकिल कार्यालयले आइतबारमात्रै अदालतमा मुद्दा दायर गरेको थियो। खोटाङ जिल्ला सरकारी वकिल कार्यालयकी प्रमुख सङ्गीता न्यौपानेका अनुसार राईले बालबालिका ऐनको दफा ६६ को उपदफा ३ बमोजिमका विभिन्न कसुर गरेको भन्दै मुद्दा दर्ता गरिएको थियो।

भारतमा रेल दुर्घटना भएको ५१ घण्टापछि सेवा पुनः सञ्चालनमा

एजेन्सी । शुक्रबार राति २७५ जनाको मृत्यु हुनेगरी भएको रेल दुर्घटनापछि बालासोरबाट आजदेखि यात्रु र मालवाहक रेलहरू पुनः सेवामा फर्किएको अधिकारीहरूले बताएका छन् । अधिकारीहरूले भारतमा दशकौँपछि भएको घातक रेल दुर्घटनाको कारण सिग्नल प्रणालीसँग जोडिएको समस्याका कारण भएको बताएका छन् । भारतको पूर्वी राज्य उडिसाको बालासोर नजिकै भएको दुर्घटनामा २७५ जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भएका छन् । अधिकारीहरूले सुरुमा मृत्यु हुनेको सङ्ख्या २८८ रहेको बताएका थिए, तर उडिसा राज्य सरकारले केही शवहरू गलत तरिकाले दुई पटक गणना गरिएको भन्दै मृतकको संशोधित सङ्ख्या २७५ भएको पुष्टि गरेको छ । एक हजार १७५ घाइतेमध्ये अधिकांश उपचारपछि घर फर्किसकेका छन् भने ३८२ जनाको अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले आइतबार जानकारी दिएका छन् । यद्यपि, घाइतेमध्ये केहीको अवस्था अझै पनि गम्भीर रहेको भन्दै मृतकको सङ्ख्या अझै बढ्न सक्ने स्वास्थ्यकर्मीले बताएका छन् । रेल दुर्घटना भएको ५१ घण्टापछि कोइला लोड गरिएको मालवाहक रेल लिकमा गुडेसँगै सेवा पुनः सञ्चालनमा आएको हो । यद्यपि,सबै लिकहरू पूर्ण रूपमा मर्मत गरिएको छ कि छैन भन्नेबारे तत्काल स्पष्ट भएको छैन । आज  रेलहरूले एउटा छेउमा लाइनहरू मात्र प्रयोग गरेको देखिएको छ ।

पत्रकारिता क्षेत्रका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भएका कानुनको प्रभावकारी कार्यान्वयन, असान्दर्भिक कानुनको पुनरावलोकन, आवश्यक कानुन निर्माण र सोहीअनुरुप कार्यक्रम तर्जुमा गरी पत्रकारिता क्षेत्रका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्। आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री शर्माले आमसञ्चारका माध्यमहरुलाई राष्ट्रिय उद्योग सरह मान्यता दिने, विज्ञापन नियमन गर्ने ऐनले निर्दिष्ट गरेका एकद्वार र समानुपातिक प्रणालीलाई व्यवस्थित गर्न नियमावली बनाउनेलगायत काम भइरहेको र अन्य केही महत्वपूर्ण कानुन निर्माणको चरणमा रहेको जानकारीसमेत दिइन् । सरकारका प्रवक्ता शर्माले भनिन्, “पत्रकारिता क्षेत्रको विकासका लागि सरकारले धेरै काम गर्नु पर्नेछ, भूकम्प, कोरोनाजस्ता शृङ्खलाबद्ध प्रकोपका कारण सिर्जित आर्थिक समस्याले मिडिया क्षेत्र प्रभावित छ, सञ्चार संस्थाको सवलीकरण र श्रमजीवी पत्रकारको भौतिक तथा पेशागत सुरक्षाप्रति सरकार गम्भीर छ । नेपाली पत्रकारिता क्षेत्रले ठूलो फड्को मारेको छ ।” संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गरिएपछि पत्रकारिताको विकास र प्रेस स्वतन्त्रता हक कसैले खोस्न नसक्ने गरी स्थापित भइसकेको बताउँदै मन्त्री शर्माले कानुन निर्माण वा अन्य कुनै पनि सवालमा प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने गतिविधि हुन नदिन सरकार प्रतिबद्ध रहेको प्रष्ट पारिन्। उनले भनिन्, “यो हाम्रा लागि गौरवको दिन हो । झण्डै सवा सय वर्ष लामो नेपाली पत्रकारिताको समीक्षा गर्दै आजको दायित्वबारे छलफल गर्ने यो महत्वपूर्ण अवसर पनि हो ।” राजनीतिक उपलब्धिलाई संस्थागत गर्ने र यसमार्फत जनताको जीवनस्तरमा रुपान्तरण ल्याउनु राजनीति र पत्रकारिता दुवै क्षेत्रको साझा दायित्व बन्न पुगेको उनको भनाइ छ । मन्त्री शर्माले समाजमा बढ्दै गएको नकारात्मकताको प्रवृत्तिलाई न्यून गर्न सहीलाई सही र गलतलाई गलत भन्ने समाचालोचनात्मक चेतको विकास गर्दै विभिन्न क्षेत्रमा भइरहेका सकारात्मक प्रयासलाई रोडमोडलका रुपमा प्रस्तुत गरी नकारात्मक पक्षलाई सुधार्ने र सकारात्मक पक्षलाई समाजको मूल धार बनाउने प्रवृत्तिको विकास गर्न पत्रकारिता क्षेत्रले थप योगदान गर्ने अपेक्षासमेत गरिन्। उनले भनिन्, “पत्रकारिताका माध्यमबाट समाज रुपान्तरणको अभियानमा लाग्दै गर्दा आफ्नो अमूल्य जीवन बलिदान गर्नुभएका सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइते, अपाङ्गलगायत पत्रकारिता क्षेत्रको विकासमा योगदान गर्नेप्रति उच्च सम्मान प्रकट गर्दछु, आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा पत्रकारिता क्षेत्रलगायत सबैमा पुनःशुभकामना दिन चाहन्छु ।”

नेपाल पूर्व प्रहरी संगठन दाङको दशै तिहार छठ बिशेष कार्यक्रम सम्पन्न

अनुशा महरा ,दाङ्ग। पूर्व प्रहरी संगठन दाङले एक कार्यक्रमका बिच दशै तिहार तथा बिशेष कार्यक्रम मनाएको छ । शनिबार घोराहीमा सम्पन्न दशै तिहार छठ विशेष कार्यक्रममा सुभकामना व्यक्त गर्दै जिल्ला प्रहरी कार्यलय दाङ्गका प्रहरी उपरीक्षक एबम कार्यक्रमका प्रमुख अतिथि वीर बहादुर ओलिले पूर्व प्रहरी संगठनले स्थापना देखी नै रार्ष्ट्रिय चाड पर्बहरु मनाउदै गरेको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए । जिल्ला प्रहरी प्रमुख समेत रहेका ओलिले कठिन परिस्थितिमा स्थापना गरेको संगठनले निरन्तर पूर्व प्रहरी र बर्तमान प्रहरीको सम्बन्धमा समन्वय भुमिका सक्रिय भएको बताए।कार्यक्रममा घोराही उपमहानगरपालिका -१३ का वडा अध्यक्ष डुल्लुराम पोख्रेल नेपाल पूर्व प्रहरी संगठनका केन्द्रिय सदस्य भुपेन्द्र सुवेदी नरेश डागी चिरञ्जीवी रिजाल निर्मला थापा खुशल बहादुर आले लगाएतले शुभकामना मन्तव्य राखेका थिए । नेपाल पूर्व प्रहरी संगठन दाङ्गका कार्यबाहक अध्यक्ष रेशम बहादुर खडकाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागतमन्तव्य पूर्व प्रहरी संगठन दाङका पूर्व अध्यक्ष कुल बहादुर रावतले व्यक्त गरेका थिए। कार्यक्रम सहजीकरण होम बहादुर शेरचनले गरेका थिए ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन अल्पमतमा

पेरिस । राष्ट्रपतिमा पुनः निर्वाचित भएको दुई महिनाभन्दा कम समयपछि फ्रान्सेली संसद नेसनल एसेम्ब्लीमा इमानुएल म्याक्रोन अल्पमतमा परेका छन् । निर्वाचनमा वाम गठबन्धन र अति दक्षिणपन्थीहरूको दमदार प्रस्तुतिपछि राष्ट्रपति म्याक्रोनले फ्रान्सको तल्लो सदन नेसनल एसेम्ब्लीमा बहुमत गुमाउन पुगेका हुन् । उनले बलियो बहुमत ल्याउन मतदातालाई आह्वान गरेका थिए । तर, म्याक्रोनले नेतृत्व गरेको गठबन्धनले चुनावमा दर्जनौं सिट गुमाएको छ, जसले फ्रान्सेली राजनीतिलाई ध्रवीकरणतर्फ लैजाने देखिएको छ । अब राष्ट्रपतिलाई सुधारका योजना पारित गर्न समस्या पर्नेछ । निर्वाचनमा वामपन्थी, अति वामपन्थी र ग्रीन पार्टीहरूको नवगठित गठबन्धन दोस्रो र मारिन ल पेनले नेतृत्व गरेको अति दक्षिणपन्थी पार्टी तेस्रो बन्ने देखिएका छन् । म्याक्रोँले हालै नियुक्त गरेका प्रधानमन्त्री एलिजाबेथ बोर्नले यो अवस्था अप्रत्यासित भएको बताइन् । ‘ हामीले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा सामना गरिरहेका जोखिमहरूलाई ध्यानमा राख्दा पछिल्लो अवस्थाले हाम्रो देशका जोखिमको प्रतिनिधत्व गर्छ’, उनले भनिन् । आधुनिक फ्रान्सले यस्तो संसद कहिल्यै नदेखेको पनि उनले बताइन् । उनले अगाडि थपिन, ‘हामीले भोलिदेखि नै बहुमत ल्याउनका लागि काम गर्नेछौं ।’

सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार १ लाख १ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार ८ सय रुपैयाँले बढेर १ लाख ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि मंगलबार १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।    

१५ सय शिक्षकका लागि ३६ हजारको आवेदन

काठमाडौं । माध्यमिक तहको शिक्षक पदमा साढे ३६ हजारभन्दा बढी आवेदन परेको शिक्षक सेवा आयोगले जनाएको छ। एक हजार ५४२ रिक्त शिक्षक पदपूर्तिका लागि खुला गरेको विज्ञापनमा ३६ हजार ५८२ जनाले आवेदन दिएको आयोगले जनाएको छ। माघ ८ गतेसम्म मावि तहको शिक्षक पदको लागि आवेदन समयावधि तोकेको थियो। आयोगको अनुसार मावि तहका शिक्षण सेवाका लागि एक लाख ४४ हजार ३८१ जनाले लाइसेन्स लिएका छन्। निमावि तहको पुस ७ गते खुलाएको दरबन्दीमा ८७ हजारभन्दा बढी र प्रावि तहमा आयोगले ९८ हजार बढीले आवेदन दिएका छन्। निमावि तहमा दोब्बर दस्तुरसहित १५ गतेसम्म आवेदन भर्न सकिने छ। प्राविको लागि यही १३ गतेसम्म नियमित र १४ गतेदेखि २० गतेसम्म दोब्बर शुल्क तिरेर फारम भर्न सकिनेछ। निमाविमा तहको शिक्षण सेवाका लागि तीन लाख ७० हजार १२ जनाले र प्रावि तहको शिक्षण सेवाका लागि दुई लाख दुई हजार ७१२ जनाले लाइसेन्स लिएको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिनुभयो। आयोगले मावितर्फको शिक्षक पदको चैत १५ गते, निमावि तहको चैत १७ गते र प्रावि तहको चैत १९ गते परीक्षा लिने मिति तोकेको छ।

वालुवाटारमा शुरु भयो कानूनविद्हरुसँग सत्ता गठबन्धनको छलफल

काठमाडौं । सरकार सञ्चालन समन्वय समितिले बोलाएको कानूनविद्हरुसँगको छलफल कार्यक्रम अहिले वालुवाटारमा जारी रहेको छ। स्थानीय, संघ तथा प्रदेशको निर्वाचन लगायतका सन्दर्भमा भइरहेको विवादका बारेमा कानूनविद्हरुसँग सत्ता गठबन्धनले परामर्शका लागि कार्यक्रम आयोजना गरेको हो। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बेलुकी ५ बजेदेखि शुरु भएको छलफलमा सत्ता गठबन्धनका शीर्ष नेताहरु सहभागी भएका छन्।

युएईको आबुधाबी एयरपोर्ट नजिक ड्रोन आक्रमण

आबुधाबी । यूनाइटेड अरब इमिरातको आबुधाबी एयरपोर्ट नजिक ड्रोन आक्रमण भएको छ । यमनको हुती विद्रोही समूहले हमलाको जिम्मेवारी लिएको छ । ड्रो विष्फोटपछि सबै उडान रद्द गरिएका छन् । अबुधाबी प्रहरीका अनुसार मुसाफा इण्डस्ट्रियल क्षेत्रमा ३ वटा तेलका ट्यांकरमा विष्फोट भएको थियो । त्यसलगत्तै आबुधाबी अन्तर्राष्ट्रिय एयरपोर्टको निर्माण साइटमा पनि आगो लागेको छ । यसअघि ती क्षेत्रमा केही ड्रोन देखिएका थिए । साउदी अरब र युइएले हुती विद्रोहीहरुविरुद्ध सैन्य गठबन्धनमार्फत हस्तक्षेप गरेको बिरोधमा हुती विद्रोहीहरुले आक्रमण गरेको बताइन्छ । यमन  

नवनिर्वाचित कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक बस्दै

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नवनिर्वाचित उपसभापति र महामन्त्रीहरूसँग छलफल गर्नुभएको छ । सभापति देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार पार्टी पदाधिकारीसँग छलफल गर्नुभएको हो । काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापासँग छलफल गर्नुभएको हो । मुख्यसचिव पौडेलले भन्नुभयो, “सभापति र पदाधिकारीहरूको छलफलमा शनिबार हुने प्रमाणपत्र वितरण कार्यक्रम र त्यसपछि बस्ने केन्द्रीय कार्यसमिति बैठकबारे विमर्श भएको छ ।” उहाँका अनुसार काँग्रेसले शनिबार नै निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिने तयारीबारे पनि छलफल भएको छ । शनिबार पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरेपछि काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक केहीबेर बस्ने तयारी भइरहेको छ । केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले काँग्रेस केन्द्रीय कार्यालयमा ‘निर्वाचित भएको प्रमाणपत्र’ वितरण गर्ने कार्यक्रम शनिबार बिहान ११ बजे रहेको बताउनुभयो । मङ्सिर २४ देखि २८ गतेसम्म चलेको १४औँ महाधिवेशनबाट काँग्रेस सभापतिमा दोस्रो कार्यकालका लागि प्रधानमन्त्री देउवा निर्वाचित हुनुभएको छ । उपसभापतिमा खड्का र गुरुङ, महामन्त्रीमा थापा र शर्मा निर्वाचन हुनुभएको छ । सहमहामन्त्रीमा डिना (महालक्ष्मी) उपाध्याय, जीवन परियार, फरमुल्लाह मन्सुर, भीष्मराज आङदेम्बे, बद्री पाण्डे, महेन्द्र यादव, किशोरसिंह राठौर र उमाकान्त चौधरी निर्वाचित हुनुभएको छ । साथै विभिन्न क्षेत्रबाट दुई निर्विरोधसहित १२१ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

नेकपा माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) प्रदेश १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी हुनु भएको छ । अर्का प्रत्याशी मुक्सामहाङ सुब्बा लिम्बु (मुकेश) लाई पराजित गर्दै उहाँ विजयी हुनु भएको हो । नेम्वाङले १६९ मत पाउनु भएको थियो भने मेन्याङ्बोले ६४ मत पाउनु भयो । निर्वाचन समितिका अनुसार तीनजना उपाध्यक्षका लागि ८ जनाले उम्मेदवारी दिएका थिए । जसमा देवान चाम्लिङ (१२०), शिवकुमार डाँगी (११३) र मणिकुमार साम्पाङ (१११) विजयी हुनु भएको छ । यस्तै, सचिवमा गणेश उप्रेती (सुशील) विजयी हुनु भएको छ । उहाँले १४८ मत ल्याएर विजयी हुनु भएको हो भने उहाँका प्रतिद्वन्द्वी सिपी कडरियाले ८३ मत मात्र पाउनु भयो । ३ जना सहसचिवमा कुमारी राई (११४), ऋषिराम ढुंगाना (९५) र सागर किराँती (७३) विजयी हुनु भएका छन् । सहसचिवका लागि १३ जनाले उम्मेद्वारी दिएका थिए । कोषाध्यक्षमा भने ९३ मतका साथ रेवतराज पुरी (गगन) विजयी हुनु भएको छ । कोषाध्यक्षका लागि ४ जनाले उम्मेदवारी दिएका थिए । ९ जना पदाधिकारीका २९ जनाले उम्मेदवारी दिनु भएको थियो । निर्वाचनमा २४० जनाले मतदान गरेका थिए ।

घरमाथि पहिरो खस्दा रोल्पामा दुई जनाको मृत्यु

रोल्पा — घरमाथि पहिरो खस्दा रोल्पा नगरपालिका–१० धबाङको बाम्दा गाउँमा सोमबार दुई जनाको मृत्यु भएको छ । पहिरोले स्थानीय पूर्णबहादुर थापाको घर भत्कँदा सोमबार बिहान उनकी आमा ७० वर्षीया गौरी थापा र ५ वर्षीय भान्जाको मृत्यु भएको हो । प्रहरीका अनुसार निरन्तर वर्षाकै बीच सोमबार बिहान २ बजेतिर पहिरो खसेको हो । करिब २ सय मिटर माथिबाट खसेको पहिरोले घर भत्कँदा चार जना भित्रै च्यापिएका थिए । घटनामा गौरीका छोरी र ज्वाइँ घाइते भएका छन् । उनीहरू पाहुना आएका थिए । पहिरोबारे खबर पाएपछि राति नै टोली खटाइएको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए । स्थानीयको सहयोगमा मृतकको शव निकालिएको र राति नै घाइतेको उद्धार गरिएको उनले जानकारी दिए । वडा कार्यालयनजिकैको उक्त गाउँमा अरू १० घरजति छन् । तत्काल खबर पाए पनि वर्षाका कारण सडक र गोरेटो बाटोसमेत अवरुद्ध भएकाले सदरमुकामबाट प्रहरी बिहान मात्रै पुग्न सकेको थियो । धबाङमा प्रहरी चौकी छैन । धबाङको पहिरोस्थल सदरमुकाम लिबाङदेखि करिब २० किलोमिटर उत्तरमा पर्छन् । वडाध्यक्ष मानबहादुर खत्रीका अनुसार घटनाबारे जानकारी पाएपछि गाउँलेले उद्धार गरेका थिए । गौरीका छोरा–बुहारी रोजगारीको सिलसिलामा काठमाडौंमा छन् । यसैबीच पूर्वी रोल्पाको सुलीचौर र रुइनीबाङको बीचमा पर्ने फगाम खोलामा बाढी आउँदा निजी विद्यालयको एउटा बस बगाएको छ । प्रहरीका अनुसार बाढीले मर्मतका लागि ग्यारेजमा राखिएको रा१ख २०६८ नम्बरको बस बगाएको हो । दुई दिनदेखिको वर्षाका कारण सदरमुकाम जोड्ने अधिकांश सडक अवरुद्ध छन् । लिबाङदेखि रोल्पा अस्पताल हुँदै माडीचौर पुग्ने सडकसमेत पहिरोले थुनिएको प्रहरीले जनाएको छ ।