उपलब्धीमाथि प्रश्न उठाउने दुश्साहस भइरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धीमाथि प्रश्न उठाउने दुश्साहस भइरहेको बताएका छन्। मानवअधिकारवादी नेता तथा वाम बुद्धिजीवि पद्मरत्न तुलाधरको पाँचौं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीले भने ‘अहिले विभिन्न कोणबाट माथि नै प्रश्न उठाउने दुश्साहस भएको छ ।यसलाई नयाँ पुस्तामा कसरी हामी यहाँ आइपुगेको हो भन्ने बुझाउनु आवश्यक भएको छ । यसका लागि संघर्ष गर्नुहुने पद्मरत्नको योगदान उहाँको स्मृति दिवसका सन्दर्भमा झनै आवश्यक बनेर गएको छ ।’

उनले जनयुद्धका समयमा रोल्पामा गएको स्मरण गर्दै पद्मरत्न तुलाधर र दमननाथ ढुंगाना दुबैले जनयुद्धलाई राजनैतिक आन्दोलनको रुपमा व्याख्या गर्नुभएको बताए । प्रधानमन्त्री प्रचण्डले भूमिगतरुपमा अन्य दलहरुसँग सहमति र शान्तिको वातावरण बनाउन पद्मरत्न तुलाधर र दमननाथ ढुंगाना दुबैको भूमिका रहेको उल्लेख गर्दै सांस्कृतिक र भाषिक सम्मान आन्दोलन तथा जातीय पहिचान र वर्गीय उन्मुक्तिका निम्ति निरन्तर आवाज उठाएको बताए ।

यौन दुर्व्यवहारको आरोप लागेका राई धरौटीमा रिहा

काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेका मदन राई धरौटीमा रिहा भएका छन्। आज जिल्ला अदालत खोटाङका न्यायाधीश सुवासबाबु पुरीको इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। उनीसँग चार लाख धरौटी मागिएको थियो। अहिले धरौटी बुझाएर छुटिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खोटाङको दिक्तेलस्थित शुभद्रा मदन फाउन्डेसन (शुभम्) का संस्थापक मदन राईले बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोग लगाउँदै सरकारी वकिल कार्यालयले आइतबारमात्रै अदालतमा मुद्दा दायर गरेको थियो। खोटाङ जिल्ला सरकारी वकिल कार्यालयकी प्रमुख सङ्गीता न्यौपानेका अनुसार राईले बालबालिका ऐनको दफा ६६ को उपदफा ३ बमोजिमका विभिन्न कसुर गरेको भन्दै मुद्दा दर्ता गरिएको थियो।

भारतमा रेल दुर्घटना भएको ५१ घण्टापछि सेवा पुनः सञ्चालनमा

एजेन्सी । शुक्रबार राति २७५ जनाको मृत्यु हुनेगरी भएको रेल दुर्घटनापछि बालासोरबाट आजदेखि यात्रु र मालवाहक रेलहरू पुनः सेवामा फर्किएको अधिकारीहरूले बताएका छन् । अधिकारीहरूले भारतमा दशकौँपछि भएको घातक रेल दुर्घटनाको कारण सिग्नल प्रणालीसँग जोडिएको समस्याका कारण भएको बताएका छन् । भारतको पूर्वी राज्य उडिसाको बालासोर नजिकै भएको दुर्घटनामा २७५ जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भएका छन् । अधिकारीहरूले सुरुमा मृत्यु हुनेको सङ्ख्या २८८ रहेको बताएका थिए, तर उडिसा राज्य सरकारले केही शवहरू गलत तरिकाले दुई पटक गणना गरिएको भन्दै मृतकको संशोधित सङ्ख्या २७५ भएको पुष्टि गरेको छ । एक हजार १७५ घाइतेमध्ये अधिकांश उपचारपछि घर फर्किसकेका छन् भने ३८२ जनाको अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले आइतबार जानकारी दिएका छन् । यद्यपि, घाइतेमध्ये केहीको अवस्था अझै पनि गम्भीर रहेको भन्दै मृतकको सङ्ख्या अझै बढ्न सक्ने स्वास्थ्यकर्मीले बताएका छन् । रेल दुर्घटना भएको ५१ घण्टापछि कोइला लोड गरिएको मालवाहक रेल लिकमा गुडेसँगै सेवा पुनः सञ्चालनमा आएको हो । यद्यपि,सबै लिकहरू पूर्ण रूपमा मर्मत गरिएको छ कि छैन भन्नेबारे तत्काल स्पष्ट भएको छैन । आज  रेलहरूले एउटा छेउमा लाइनहरू मात्र प्रयोग गरेको देखिएको छ ।

पत्रकारिता क्षेत्रका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भएका कानुनको प्रभावकारी कार्यान्वयन, असान्दर्भिक कानुनको पुनरावलोकन, आवश्यक कानुन निर्माण र सोहीअनुरुप कार्यक्रम तर्जुमा गरी पत्रकारिता क्षेत्रका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्। आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री शर्माले आमसञ्चारका माध्यमहरुलाई राष्ट्रिय उद्योग सरह मान्यता दिने, विज्ञापन नियमन गर्ने ऐनले निर्दिष्ट गरेका एकद्वार र समानुपातिक प्रणालीलाई व्यवस्थित गर्न नियमावली बनाउनेलगायत काम भइरहेको र अन्य केही महत्वपूर्ण कानुन निर्माणको चरणमा रहेको जानकारीसमेत दिइन् । सरकारका प्रवक्ता शर्माले भनिन्, “पत्रकारिता क्षेत्रको विकासका लागि सरकारले धेरै काम गर्नु पर्नेछ, भूकम्प, कोरोनाजस्ता शृङ्खलाबद्ध प्रकोपका कारण सिर्जित आर्थिक समस्याले मिडिया क्षेत्र प्रभावित छ, सञ्चार संस्थाको सवलीकरण र श्रमजीवी पत्रकारको भौतिक तथा पेशागत सुरक्षाप्रति सरकार गम्भीर छ । नेपाली पत्रकारिता क्षेत्रले ठूलो फड्को मारेको छ ।” संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गरिएपछि पत्रकारिताको विकास र प्रेस स्वतन्त्रता हक कसैले खोस्न नसक्ने गरी स्थापित भइसकेको बताउँदै मन्त्री शर्माले कानुन निर्माण वा अन्य कुनै पनि सवालमा प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने गतिविधि हुन नदिन सरकार प्रतिबद्ध रहेको प्रष्ट पारिन्। उनले भनिन्, “यो हाम्रा लागि गौरवको दिन हो । झण्डै सवा सय वर्ष लामो नेपाली पत्रकारिताको समीक्षा गर्दै आजको दायित्वबारे छलफल गर्ने यो महत्वपूर्ण अवसर पनि हो ।” राजनीतिक उपलब्धिलाई संस्थागत गर्ने र यसमार्फत जनताको जीवनस्तरमा रुपान्तरण ल्याउनु राजनीति र पत्रकारिता दुवै क्षेत्रको साझा दायित्व बन्न पुगेको उनको भनाइ छ । मन्त्री शर्माले समाजमा बढ्दै गएको नकारात्मकताको प्रवृत्तिलाई न्यून गर्न सहीलाई सही र गलतलाई गलत भन्ने समाचालोचनात्मक चेतको विकास गर्दै विभिन्न क्षेत्रमा भइरहेका सकारात्मक प्रयासलाई रोडमोडलका रुपमा प्रस्तुत गरी नकारात्मक पक्षलाई सुधार्ने र सकारात्मक पक्षलाई समाजको मूल धार बनाउने प्रवृत्तिको विकास गर्न पत्रकारिता क्षेत्रले थप योगदान गर्ने अपेक्षासमेत गरिन्। उनले भनिन्, “पत्रकारिताका माध्यमबाट समाज रुपान्तरणको अभियानमा लाग्दै गर्दा आफ्नो अमूल्य जीवन बलिदान गर्नुभएका सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइते, अपाङ्गलगायत पत्रकारिता क्षेत्रको विकासमा योगदान गर्नेप्रति उच्च सम्मान प्रकट गर्दछु, आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा पत्रकारिता क्षेत्रलगायत सबैमा पुनःशुभकामना दिन चाहन्छु ।”

नेपाल पूर्व प्रहरी संगठन दाङको दशै तिहार छठ बिशेष कार्यक्रम सम्पन्न

अनुशा महरा ,दाङ्ग। पूर्व प्रहरी संगठन दाङले एक कार्यक्रमका बिच दशै तिहार तथा बिशेष कार्यक्रम मनाएको छ । शनिबार घोराहीमा सम्पन्न दशै तिहार छठ विशेष कार्यक्रममा सुभकामना व्यक्त गर्दै जिल्ला प्रहरी कार्यलय दाङ्गका प्रहरी उपरीक्षक एबम कार्यक्रमका प्रमुख अतिथि वीर बहादुर ओलिले पूर्व प्रहरी संगठनले स्थापना देखी नै रार्ष्ट्रिय चाड पर्बहरु मनाउदै गरेको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए । जिल्ला प्रहरी प्रमुख समेत रहेका ओलिले कठिन परिस्थितिमा स्थापना गरेको संगठनले निरन्तर पूर्व प्रहरी र बर्तमान प्रहरीको सम्बन्धमा समन्वय भुमिका सक्रिय भएको बताए।कार्यक्रममा घोराही उपमहानगरपालिका -१३ का वडा अध्यक्ष डुल्लुराम पोख्रेल नेपाल पूर्व प्रहरी संगठनका केन्द्रिय सदस्य भुपेन्द्र सुवेदी नरेश डागी चिरञ्जीवी रिजाल निर्मला थापा खुशल बहादुर आले लगाएतले शुभकामना मन्तव्य राखेका थिए । नेपाल पूर्व प्रहरी संगठन दाङ्गका कार्यबाहक अध्यक्ष रेशम बहादुर खडकाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागतमन्तव्य पूर्व प्रहरी संगठन दाङका पूर्व अध्यक्ष कुल बहादुर रावतले व्यक्त गरेका थिए। कार्यक्रम सहजीकरण होम बहादुर शेरचनले गरेका थिए ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन अल्पमतमा

पेरिस । राष्ट्रपतिमा पुनः निर्वाचित भएको दुई महिनाभन्दा कम समयपछि फ्रान्सेली संसद नेसनल एसेम्ब्लीमा इमानुएल म्याक्रोन अल्पमतमा परेका छन् । निर्वाचनमा वाम गठबन्धन र अति दक्षिणपन्थीहरूको दमदार प्रस्तुतिपछि राष्ट्रपति म्याक्रोनले फ्रान्सको तल्लो सदन नेसनल एसेम्ब्लीमा बहुमत गुमाउन पुगेका हुन् । उनले बलियो बहुमत ल्याउन मतदातालाई आह्वान गरेका थिए । तर, म्याक्रोनले नेतृत्व गरेको गठबन्धनले चुनावमा दर्जनौं सिट गुमाएको छ, जसले फ्रान्सेली राजनीतिलाई ध्रवीकरणतर्फ लैजाने देखिएको छ । अब राष्ट्रपतिलाई सुधारका योजना पारित गर्न समस्या पर्नेछ । निर्वाचनमा वामपन्थी, अति वामपन्थी र ग्रीन पार्टीहरूको नवगठित गठबन्धन दोस्रो र मारिन ल पेनले नेतृत्व गरेको अति दक्षिणपन्थी पार्टी तेस्रो बन्ने देखिएका छन् । म्याक्रोँले हालै नियुक्त गरेका प्रधानमन्त्री एलिजाबेथ बोर्नले यो अवस्था अप्रत्यासित भएको बताइन् । ‘ हामीले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा सामना गरिरहेका जोखिमहरूलाई ध्यानमा राख्दा पछिल्लो अवस्थाले हाम्रो देशका जोखिमको प्रतिनिधत्व गर्छ’, उनले भनिन् । आधुनिक फ्रान्सले यस्तो संसद कहिल्यै नदेखेको पनि उनले बताइन् । उनले अगाडि थपिन, ‘हामीले भोलिदेखि नै बहुमत ल्याउनका लागि काम गर्नेछौं ।’

सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार १ लाख १ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार ८ सय रुपैयाँले बढेर १ लाख ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि मंगलबार १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।    

१५ सय शिक्षकका लागि ३६ हजारको आवेदन

काठमाडौं । माध्यमिक तहको शिक्षक पदमा साढे ३६ हजारभन्दा बढी आवेदन परेको शिक्षक सेवा आयोगले जनाएको छ। एक हजार ५४२ रिक्त शिक्षक पदपूर्तिका लागि खुला गरेको विज्ञापनमा ३६ हजार ५८२ जनाले आवेदन दिएको आयोगले जनाएको छ। माघ ८ गतेसम्म मावि तहको शिक्षक पदको लागि आवेदन समयावधि तोकेको थियो। आयोगको अनुसार मावि तहका शिक्षण सेवाका लागि एक लाख ४४ हजार ३८१ जनाले लाइसेन्स लिएका छन्। निमावि तहको पुस ७ गते खुलाएको दरबन्दीमा ८७ हजारभन्दा बढी र प्रावि तहमा आयोगले ९८ हजार बढीले आवेदन दिएका छन्। निमावि तहमा दोब्बर दस्तुरसहित १५ गतेसम्म आवेदन भर्न सकिने छ। प्राविको लागि यही १३ गतेसम्म नियमित र १४ गतेदेखि २० गतेसम्म दोब्बर शुल्क तिरेर फारम भर्न सकिनेछ। निमाविमा तहको शिक्षण सेवाका लागि तीन लाख ७० हजार १२ जनाले र प्रावि तहको शिक्षण सेवाका लागि दुई लाख दुई हजार ७१२ जनाले लाइसेन्स लिएको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिनुभयो। आयोगले मावितर्फको शिक्षक पदको चैत १५ गते, निमावि तहको चैत १७ गते र प्रावि तहको चैत १९ गते परीक्षा लिने मिति तोकेको छ।

वालुवाटारमा शुरु भयो कानूनविद्हरुसँग सत्ता गठबन्धनको छलफल

काठमाडौं । सरकार सञ्चालन समन्वय समितिले बोलाएको कानूनविद्हरुसँगको छलफल कार्यक्रम अहिले वालुवाटारमा जारी रहेको छ। स्थानीय, संघ तथा प्रदेशको निर्वाचन लगायतका सन्दर्भमा भइरहेको विवादका बारेमा कानूनविद्हरुसँग सत्ता गठबन्धनले परामर्शका लागि कार्यक्रम आयोजना गरेको हो। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बेलुकी ५ बजेदेखि शुरु भएको छलफलमा सत्ता गठबन्धनका शीर्ष नेताहरु सहभागी भएका छन्।

युएईको आबुधाबी एयरपोर्ट नजिक ड्रोन आक्रमण

आबुधाबी । यूनाइटेड अरब इमिरातको आबुधाबी एयरपोर्ट नजिक ड्रोन आक्रमण भएको छ । यमनको हुती विद्रोही समूहले हमलाको जिम्मेवारी लिएको छ । ड्रो विष्फोटपछि सबै उडान रद्द गरिएका छन् । अबुधाबी प्रहरीका अनुसार मुसाफा इण्डस्ट्रियल क्षेत्रमा ३ वटा तेलका ट्यांकरमा विष्फोट भएको थियो । त्यसलगत्तै आबुधाबी अन्तर्राष्ट्रिय एयरपोर्टको निर्माण साइटमा पनि आगो लागेको छ । यसअघि ती क्षेत्रमा केही ड्रोन देखिएका थिए । साउदी अरब र युइएले हुती विद्रोहीहरुविरुद्ध सैन्य गठबन्धनमार्फत हस्तक्षेप गरेको बिरोधमा हुती विद्रोहीहरुले आक्रमण गरेको बताइन्छ । यमन  

नवनिर्वाचित कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक बस्दै

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नवनिर्वाचित उपसभापति र महामन्त्रीहरूसँग छलफल गर्नुभएको छ । सभापति देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार पार्टी पदाधिकारीसँग छलफल गर्नुभएको हो । काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापासँग छलफल गर्नुभएको हो । मुख्यसचिव पौडेलले भन्नुभयो, “सभापति र पदाधिकारीहरूको छलफलमा शनिबार हुने प्रमाणपत्र वितरण कार्यक्रम र त्यसपछि बस्ने केन्द्रीय कार्यसमिति बैठकबारे विमर्श भएको छ ।” उहाँका अनुसार काँग्रेसले शनिबार नै निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिने तयारीबारे पनि छलफल भएको छ । शनिबार पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरेपछि काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक केहीबेर बस्ने तयारी भइरहेको छ । केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले काँग्रेस केन्द्रीय कार्यालयमा ‘निर्वाचित भएको प्रमाणपत्र’ वितरण गर्ने कार्यक्रम शनिबार बिहान ११ बजे रहेको बताउनुभयो । मङ्सिर २४ देखि २८ गतेसम्म चलेको १४औँ महाधिवेशनबाट काँग्रेस सभापतिमा दोस्रो कार्यकालका लागि प्रधानमन्त्री देउवा निर्वाचित हुनुभएको छ । उपसभापतिमा खड्का र गुरुङ, महामन्त्रीमा थापा र शर्मा निर्वाचन हुनुभएको छ । सहमहामन्त्रीमा डिना (महालक्ष्मी) उपाध्याय, जीवन परियार, फरमुल्लाह मन्सुर, भीष्मराज आङदेम्बे, बद्री पाण्डे, महेन्द्र यादव, किशोरसिंह राठौर र उमाकान्त चौधरी निर्वाचित हुनुभएको छ । साथै विभिन्न क्षेत्रबाट दुई निर्विरोधसहित १२१ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

नेकपा माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) प्रदेश १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी हुनु भएको छ । अर्का प्रत्याशी मुक्सामहाङ सुब्बा लिम्बु (मुकेश) लाई पराजित गर्दै उहाँ विजयी हुनु भएको हो । नेम्वाङले १६९ मत पाउनु भएको थियो भने मेन्याङ्बोले ६४ मत पाउनु भयो । निर्वाचन समितिका अनुसार तीनजना उपाध्यक्षका लागि ८ जनाले उम्मेदवारी दिएका थिए । जसमा देवान चाम्लिङ (१२०), शिवकुमार डाँगी (११३) र मणिकुमार साम्पाङ (१११) विजयी हुनु भएको छ । यस्तै, सचिवमा गणेश उप्रेती (सुशील) विजयी हुनु भएको छ । उहाँले १४८ मत ल्याएर विजयी हुनु भएको हो भने उहाँका प्रतिद्वन्द्वी सिपी कडरियाले ८३ मत मात्र पाउनु भयो । ३ जना सहसचिवमा कुमारी राई (११४), ऋषिराम ढुंगाना (९५) र सागर किराँती (७३) विजयी हुनु भएका छन् । सहसचिवका लागि १३ जनाले उम्मेद्वारी दिएका थिए । कोषाध्यक्षमा भने ९३ मतका साथ रेवतराज पुरी (गगन) विजयी हुनु भएको छ । कोषाध्यक्षका लागि ४ जनाले उम्मेदवारी दिएका थिए । ९ जना पदाधिकारीका २९ जनाले उम्मेदवारी दिनु भएको थियो । निर्वाचनमा २४० जनाले मतदान गरेका थिए ।

घरमाथि पहिरो खस्दा रोल्पामा दुई जनाको मृत्यु

रोल्पा — घरमाथि पहिरो खस्दा रोल्पा नगरपालिका–१० धबाङको बाम्दा गाउँमा सोमबार दुई जनाको मृत्यु भएको छ । पहिरोले स्थानीय पूर्णबहादुर थापाको घर भत्कँदा सोमबार बिहान उनकी आमा ७० वर्षीया गौरी थापा र ५ वर्षीय भान्जाको मृत्यु भएको हो । प्रहरीका अनुसार निरन्तर वर्षाकै बीच सोमबार बिहान २ बजेतिर पहिरो खसेको हो । करिब २ सय मिटर माथिबाट खसेको पहिरोले घर भत्कँदा चार जना भित्रै च्यापिएका थिए । घटनामा गौरीका छोरी र ज्वाइँ घाइते भएका छन् । उनीहरू पाहुना आएका थिए । पहिरोबारे खबर पाएपछि राति नै टोली खटाइएको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए । स्थानीयको सहयोगमा मृतकको शव निकालिएको र राति नै घाइतेको उद्धार गरिएको उनले जानकारी दिए । वडा कार्यालयनजिकैको उक्त गाउँमा अरू १० घरजति छन् । तत्काल खबर पाए पनि वर्षाका कारण सडक र गोरेटो बाटोसमेत अवरुद्ध भएकाले सदरमुकामबाट प्रहरी बिहान मात्रै पुग्न सकेको थियो । धबाङमा प्रहरी चौकी छैन । धबाङको पहिरोस्थल सदरमुकाम लिबाङदेखि करिब २० किलोमिटर उत्तरमा पर्छन् । वडाध्यक्ष मानबहादुर खत्रीका अनुसार घटनाबारे जानकारी पाएपछि गाउँलेले उद्धार गरेका थिए । गौरीका छोरा–बुहारी रोजगारीको सिलसिलामा काठमाडौंमा छन् । यसैबीच पूर्वी रोल्पाको सुलीचौर र रुइनीबाङको बीचमा पर्ने फगाम खोलामा बाढी आउँदा निजी विद्यालयको एउटा बस बगाएको छ । प्रहरीका अनुसार बाढीले मर्मतका लागि ग्यारेजमा राखिएको रा१ख २०६८ नम्बरको बस बगाएको हो । दुई दिनदेखिको वर्षाका कारण सदरमुकाम जोड्ने अधिकांश सडक अवरुद्ध छन् । लिबाङदेखि रोल्पा अस्पताल हुँदै माडीचौर पुग्ने सडकसमेत पहिरोले थुनिएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा एमालेका थप ३ सांसदले रोजे एकीकृत समाजवादी

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका थप ३ सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् । यससँगै प्रदेशसभामा एकीकृत समाजवादीको सांसद संख्य १३ पुगेको छ । आइतबार दीर्घबहादुर सोडारी, प्रकाश रावल र तारालाल तामाङले प्रदेश निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् । यसअघि १० जनाले एकीकृत समाजवादी रोजेको थिए ।

डेढ वर्षदेखि रोकिएको कोरियामा रोजगारी सुरु हुन अझै केही समय लाग्ने

करिब डेढ वर्षदेखि रोकिएको दक्षिण कोरिया रोजगारी सुरु हुन अझै केही समय लाग्ने भएको छ । कोरियाले राखेको सर्त अनुसार प्रत्यक्ष हवाई उडानको व्यवस्थापन हुन नसक्दा बन्द रोजगार विभागले जनाएको छ । विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले नेपालमा कोरोना महामारी बढेको कारण देखाउँदै कोरिया सरकारले काठमाडौँबाट सिधा हवाई उडान हुनुपर्ने सर्त राखेको तर सिधा उडानका लागि भाडा दरको टुंगो नलागेको बताए । यसअघि काठमाडौँबाट ट्रान्जिट हुँदै कोरिया जानेले प्रतिव्यक्ति तीन सय ९२ अमेरिकी डलर हवाई भाडा तिर्ने गरेकोमा सिधा उडान गर्दा हवाई कम्पनीले त्यसभन्दा बढी भाडा मागेको बताइएको छ । सिधा उडानका लागि हवाई कम्पनीले बढी भाडा मागेको बेला राष्ट्रियसभाको सरकारी आश्वासन समितिले कोरिया जाने कामदारलाई थप आर्थिक भार नपर्ने गरी उड्ने व्यवस्था मिलाउन निर्देशन दिएको दवाडीले बताए । १० हजारभन्दा बढी कामदार भाषा परीक्षा उर्तीण गरेर लामो समय भइसक्दा पनि कोरिया जान पाएका छैनन् । पहिलो लहरको कोरोना महामारीका बेला नेपालले बन्द गरेको कोरिया रोजगारी अहिले कोरिया सरकारले बन्द गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारी बताउँछन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

राष्ट्रिय जनमोर्चा सरकारमा नजाने

काठमाडौं । कांग्रेस–माओवादी गठबन्धनमा सहभागी दल राष्ट्रिय जनमोर्चा सरकारमा नजाने भएको छ । बुधबार बसेको राष्ट्रिय जनमोर्चाको केन्द्रीय कमिटी बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताइन् । पौडेलले भनिन्, ‘हाम्रो पार्टीले सरकारमा सहभागी नहुने निर्णय गरेको छ । तर, बाहिरैबाट देउवा सरकारलाई हाम्रो समर्थन रहनेछ ।’ प्रतिनिधिसभामा राष्ट्रिय जनमोर्चाको एक सिट छ । एकमात्र सांसद दुर्गा पौडेलले गठबन्धनमा सहभागी हुँदै आएकी थिइन् ।