भौगोलिक नक्सा डिजिटलाइज हुने

काठमाडौं,मंसिर ३० । नेपालको भौगोलिक नक्सा डिजिटलाइज हुने भएको छ।  डिजिटलाइज भएपछि नेपालका सिमानामा हुने गतिविधि र अतिक्रमणबारे मुलुकको कुनै पनि स्थानबाट सजिलै थाहा पाउन सकिन्छ।

गोरखा भूकम्पले क्षति पुर्‍याएका नापी मापन केन्द्रहरूलाई पुनःस्थापित गर्दा यस्तो प्रविधिका उपकरण जडान हुने नापी विभागले जानकारी दिएको छ।  अति आधुनिक प्रविधिका ती उपकरण देशभर १५० वटा राखिनेछ।  ती केन्द्र स्थापनाका लागि करिब दुई अर्ब ६६ करोड रुपियाँ आवश्यक पर्नेछ।

ती उपकरण कन्टिन्युस अपजरभिङ रिफरेन्स सिस्टम (सीओआरएस) प्रविधिमा आधारित हुनेछन्।  नेपालको पूर्वदेखि पश्चिम र हिमालदेखि तराईसम्म ती उपकरण भूउपग्रहीय दिशानिर्देशीय प्रणाली

(ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टम)का आधारमा सञ्चालन हुनेछन्।

यो प्रविधिको आधारमा ससाना ‘इलेक्ट्रोनिक रिसिभर’ले आफ्नो स्थान कहाँ हो भनेर जानकारी दिन्छन्।  समयको सिग्नलसँगै देशान्तर, अक्षांश र उचाइलाई निश्चित रूपमा उक्त रिसिभरले मापन गरिरहेको हुन्छ।  उक्त रिसिभरले समयको सिग्नलका आधारमा स्थानीय समयलाई मापन गर्नसक्छ। दसगजामा रहेका स्तम्भलाई आधार लिएर ती उपकरण देशका विभिन्न स्थानमा राखिने नापी विभागका महानिर्देशक कृष्ण बीसीले बताए।

उनले भने, “भूकम्पपश्चात् पुनःनिर्माण कार्य र कन्टिन्युस अपजरभिङ रिफरेन्स सिस्टम स्थापना तथा भूउपग्रहीय प्रणालीको प्रभावकारी उपयोगिताले नेपालको सिमानालाई केन्द्रबाटै व्यवस्थित गर्न सकिन्छ। ” भूउपग्रहीय दिशानिर्देशीय प्रणालीका कारण नेपालमा नापीनक्सा बनाउने र सर्भे गर्ने काम अझ व्यवस्थित हुनेछ।

भूउपग्रहीय दिशानिर्देशीय प्रणालीमा रहेर कन्टिन्युस अपजरभिङ रिफरेन्स सिस्टमले काम गर्ने भएकाले नेपाली सिमाना मात्र होइन, नापीनक्सा एक इन्च पनि तलमाथि नहुने बताइएको छ।

अमेरिकाको जीपीएस प्रविधि, रुसको ग्लोनास, युरोपको ग्यालिलियो, चीनको बीडीएस, जापानको क्युजेडएसएस, भारतको गगनलगायतका भूउपग्रहलाई समेटेर भूउपग्रहीय दिशानिर्देशीय प्रणाली विकसित पारिएको थियो।

नापी विभागस्थित खगोल तथा भूमापन महाशाखा प्रमुख नीरज मानन्धरका अनुसार यसै प्रणालीका आधारमा गोरखा महाभूकम्पले काठमाडौं उपत्यका एक मिटर माथि उठेको र एक दशमलव आठ सेन्टिमिटर दक्षिणपूर्व सरेको पत्ता लागेको हो।

यो प्रविधिका आधारमा भारतीय उपमहाद्वीपमा रहेको नेपाली भूमि तिब्बती चिनियाँ उपमहाद्वीपभित्र कति सरेको छ भनेर पत्ता लगाउन सकिन्छ।  जमिनका सतह हलचल भइरहने भएकाले यो प्रविधिले भूकम्पको पूर्वानुमानमा पनि सहयोग गर्नसक्छ।

यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

दि एक्सेल्सिएर कपमा २८ विद्यालय सहभागी हुने

काठमाडौँ, मंसिर १९ । काठमाडौँ उपत्यकाव्यापी अन्तरविद्यालय ‘दि एक्सेल्सिएर कप २०७३’ मा जम्मा २८ विद्यालयकाे सहभागिता हुने भएकाे छ । अाजबाट सुरु भएको साे खेल स्वयम्भूस्थित एक्सेल्सिएर स्कुलमा एक कार्यक्रमबीच उद्घाटन गरियाे । कार्यक्रममा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनालले विद्यार्थीको शारीरिक, मानसिक र चौतर्फी विकासका लागि खेलकुद अपरिहार्य भएको बताए । नेपाली फुटबलका पूर्वकप्तान राजु खड्का, स्कुलका प्रबन्ध निर्देशक राम बस्नेत, प्रिन्सिपल शीतल राणा लगायतले प्रतियोगीले सफलताको कामना व्यक्त गरे । आगामी मंसिर २६ गतेसम्म चल्ने सो प्रतियोगितामा २८ विद्यालयका विद्यार्थीको सहभागिता छ । सोअन्तर्गत फाइभ ए साइड फुटबल र सिनियर तथा जुनियर बास्केटबल प्रतियोगिता हुनेछ ।

२२० केभी क्षमताको विद्युत् सवस्टेसन निर्माण कार्य सुरु

बाबियाचौर (म्याग्दी),  मङ्सिर १९। म्याग्दीको दानामा २२० केभी क्षमताको विद्युत् सवस्टेसन निर्माण कार्य सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी प्रसारण करिडोर आयोजनाअन्तर्गत दानामा सवस्टेसन निर्माण सुरु गरेको हो । म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्ने उद्देश्यले सवस्टेसन निर्माण सुरु गरिएको आयोजनाले जनाएको छ । सवस्टेसन निर्माणका लागि ठेकेदार कार्यक्षेत्रमा परिचालित भएर प्रारम्भिक चरणको काम सुरु गरेको आयोजनाका इञ्जिनियर यादव न्यौपानेले जानकारी दिए । सवस्टेसनले दानामा स्थानीयवासीको एक सय रोपनी जग्गा अधिग्रहण गरेको छ । थप ५० रोपनी सरकारी जग्गा प्रयोग हुनेछ । आयोजना र ठेकेदार कम्पनी टाटा प्रोजेक्ट एन्ड चिन्ट इलेक्ट्रिक जेभीले दाना र पर्वतको खुर्कोटमा सवस्टेसन तथा ३८ किलोमिटर दूरीको प्रसारण लाइन निर्माणका लागि ३० मे २०१६ मा रु दुई अर्ब ९० करोडमा ठेक्का सम्झौता भएको थियो । विसं २०७५ को साउनमा सवस्टेसन र प्रसारण लाइन निर्माण गर्ने लक्ष्य रहेको छ । प्रसारण लाइनको टावर राख्ने ठाउँका लागि सर्वेक्षणको काम अन्तिम चरणमा पुगेको छ । दानादेखि खुर्कोटसम्म ११० वटा टावर रहनेछन् । यो लाइनको क्षमता एक हजार २०० मेगावाट रहेको छ । आयोजनाबाट म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने छन् । १४ मेगावाट क्षमताको थापाखोला, पाँच मेगावाटको घलेम्दीखोला, ४२ मेगावाटको मिस्त्रीखोला निर्माणाधीन अवस्थामा छन् भने ४० मेगावाटको राहुघाटलगायत दर्जनौँ आयोजना निर्माणको चरणमा छन् । नवलपरासीको बर्दघाटदेखि म्याग्दीको दानासम्मको १४२ किलोमिटर प्रसारण लाइन निर्माण गर्ने लक्ष्यअनुसार कुश्मादेखि बर्दघाटतर्फ पनि सर्वेक्षणको काम भइरहेको छ । कालीगण्डकी प्रसारण करिडोर आयोजनाले कालीगण्डकी र सहायक नदीमा जलविद्युत् विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । रासस  

अनसनरत डा. केसीका समर्थकले मागे उपकुलपति खनियाँको राजीनामा !

सागर न्यौपाने/ काठमाडौं तस्वीर : पुष्पा महरा/एभरेष्टदैनिक काठमाडौं, मंसिर १८ । २१ दिनदेखि आमरण अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसीको जीवन रक्षाका लागि शनिबार प्रदर्शन गरिएको छ । डा केसीको जीवन रक्षाका लागि दवाव दिन उनका समर्थकले शनिबार विहान राजधानीको माइतीघरमा बृहत प्रदर्शन गरेका हुन् । चिकित्सा शिक्षा र सेवा सधुारको माग गर्दै दशौं पटक अनसन बसेका डा. केसी अघि सारेका दश बुँदे माग सरकारले पूरा नगर्दा उनको स्वास्थ्य अबस्था नाजुक बन्दै गएको भन्दै व्यापक प्रदर्शन भएको हो । आमरण अनशनरत डा. केसी र सरकारबीच बिहिबार र शुक्रबार राती अबेरसम्म वार्ता भएपनि निष्कर्षमा नपुेको कारण उनले अनसन लम्बिदै गएको छ । अनसन लम्बिदै जाँदा उनको स्वास्थ्यमा कुनैपनि बेला दुर्घटना हुनसक्ने भएकोले जीवन रक्षाको माग गर्दै प्रदर्शन गरिएको उनका समर्थकले बताए । डा.केसीको माग बमाेजिम शुक्रबार चिकित्साशास्त्र अध्ययन संस्थान (अाइअोएम)का डीन डा. केशब प्रसाद(केपी) सिंहले राजिनामा दिएका छन् । सिंहको राजीनामापछि आइओएममा वरिष्ठताका आधारमा डीन नियुक्त गर्ने वातावरण बनेको छ । तर, गएराती झण्डै ७ घण्टा भएको वार्ता भने डीन नियुक्तीको बिषयमा सहमति हुन नसकेपछि निश्कर्षमा पुग्न  नसकेको बताइएको छ । निरन्तरको छलफलपछि सरकार र अनसनरत केसीका प्रतिनिधिले तयार पारेको सहमतिको मस्यौदामा त्रिविका उपकुलपतिको राजीनामालाई लिएर डा‍. केसीले आफ्नो अडान नछाडेपछि वार्ता निष्कर्षमा पुग्न नसकेको हो ।उनले उठाएका वरिष्ठताका आधारमा डीन नियुक्त गर्ने मुख्य मागलाई तत्काल सम्बोधन गर्न प्राविधिक कठिनाइ भएको भन्दै सरकारी पक्षले ठोस निर्णय लिन सकेको छैन । केसीले अघि सारेका त्रिविका उपकुलपतिको राजीनामा सम्बन्धि माग बाहेक अन्यमा सहमतिको १० बुँदे ड्राफ्ट तयार पारेर केसीलाई देखाउन उनका सहयोगीको एउटा टोली राति अबेर शिक्षण अस्पताल पुगेको बताइएको छ । सरकारले त्रिविका उपकुलपतिको निर्णय गर्न उच्चस्तरिय समिति बनाउने र बांकी माग पुरा गर्दै जाने प्रस्ताव गरेको छ । तर अामरण अनसनरत डा. केसीले उपकुलपतिको बर्खास्तगी वा राजीनामा नभइ अनसन नतोड्ने अडान जारी राखेपछि शनिबार पनि वार्ता हुने भएका हो ।  

प्रधानमन्त्री प्रचण्डद्धारा रमजान पर्वको शुभकामना व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इस्लाम धर्मावलम्बीहरू रमजान रोजा पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्वी लगायत सो पर्व मनाउने सम्पूर्ण समुदायलाई शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डद्धारा जारी शुभकामना सन्देशमा रमदान पर्व व्रत अर्थात् रोजामात्र नभई मानवता, सहयोगी भावना र सद्भाव जस्ता पवित्रताका अभ्यासहरूको संयोजन पनि भएको उल्लेख छ । रमदानमा महिनाभर दान दिने, गरिब र असहायलाई सेवा गर्ने समेत गरिन्छ। यस पर्वले मानिसलाई सत्मार्गमा डो¥याउन, विनम्र, संयम, सहनशील, परोपकारी, दयालु र सदाचारी बनाउन प्रेरितसमेत गर्दै आएको छ उनले भनेका छन् । मंगलबारदेखि सुरू भएको रमजान रोजा पर्व इस्लाम धर्मावलम्बीहरूले सूर्यको उदय र अस्तको बीचमा निराहार व्रत बसी एक महिनासम्म मनाउने गर्दछन् महिनाभरिमा आत्म सन्तुलन, आत्मविश्वास तथा मानवीय तृष्णालाई सीमित गरेर भक्तिभावतर्फ केन्द्रित हुने गर्दछन्। प्रधानमन्त्री प्रचण्डले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक रूपले विविधतायुक्त राष्ट्र भएकाले यस्ता चाडपर्व, धर्म र संस्कारले आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता प्रवर्धन गर्दै राष्ट्रिय एकता र राष्ट्र हितलाई मजबुत बनाउन महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताएका छन्।  वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य साकार पार्न र मौलिक पहिचानको संरक्षणमार्फत आन्तरिक एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिवद्ध रहेको शुभकामना सन्देशमा उनले भनेका छन्। प्रधानमन्त्री प्रचण्डले रमजान पर्वले मुलुकको आन्तरिक राष्ट्रियता सुदृढ गर्दै आपसी सद्भाव, सहिष्णुता, सहकार्य र राष्ट्रिय एकतालाई थप मजबुत पार्दै राष्ट्रको समृद्धि र विकासमा एकताबद्ध हुन थप प्रेरणा मिलोस् भन्ने कामना समेत गरेका छन् ।

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

भक्तपुर। भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका ५ चुनदेवी आकासे पुल नजिक भएको दुर्घटनामा मृत्यु हुनेमा काभ्रेको बनेपा नगरपालिका–७ का मणिराज घिमिरे रहेका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका मणिराजको मध्यपुर थिमि अस्पतालमा उपचारका क्रममा राति पौने २ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । सल्लाघारी जाँदै गरेको बागमती प्रदेश ०२(०३२ प ३३१३ नम्बरको मोटरसाइकल शनिबार राति १२ः४३ बजे सूर्यविनायक नगरपालिका ५ चुनदेवी आकासे पुल नजिक दुर्घटना भएको थियो । मोटरसाइकल चालक रामेछाप मन्थली नगरपालिका(४ घर भई काभ्रेपलान्चोक जोरपाटी बस्ने ३७ वर्षीय विनोदप्रसाद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेप्से बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक ०.२७ प्रतिशतले बढेको छ । नेप्से ५.७४ अंकले बढेर २०९६.३८ को विन्दुमा पुगेको छ । यस दिन ३१७ धितोपत्रका ९१ लाख ७१ हजार ७१० कित्ता सेयर तीन अर्ब २१ करोड २२ लाख ८३ हजार ४५३ रुपैयाँमा किनबेच भएको छ । १३ उपसमूहमध्ये नौवटाको समूहगत सूचक बढेको छ । चारवटाको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किमको सेयर मूल्य सर्वाधिक ९।०७ प्रतिशतले घटेको छ ।

७७ वर्षका माओवादी नेता दिनानाथ शर्मा टियुमा पढ्दै

काठमाडौं, २२ माघ । माओवादी केन्द्रका पाका नेता दिनानाथ शर्मा आज देखि स्नोकोत्तर तह प्रथम वर्षको विद्यार्थीको रुपमा त्रिभुवन विश्वविद्यालयमा अध्ययन सुरु गरेका छन् । तीस वर्ष शिक्षण पेशामा र झण्डै आधा शताब्दी राजनीतिमा विताइसकेका शर्मा त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत बौद्ध अध्ययन केन्द्रीय विभागका विद्यार्थीका रुपमा अध्ययन सुरु गरेका हुन् । बौद्ध अध्ययन केन्द्र केन्द्रीय विभागकी विभागीय प्रमुख डा. चन्द्रकला घिमिरेका अनुसार सोमबार बिहान सात बजे देखि सुरु भएको स्नातकोत्तर तह प्रथम सेमेस्टरको अभिमुखिकरण कार्यक्रममा माओवादीका पाका नेता दिनानाथ शर्मा आफ्ना करिब दुई दर्जन सहपाठी सँगै कक्षा कोठामा सहभागी भएका छन् । आफ्नो सामाजिक सञ्जाल फेसबुकमा पाका नेता शर्माले आफु आज देखि औपचारिक विद्यार्थी भएको खुशी बाँढेका छन् । वि.स. २०५७ अगाडी मोहन विक्रम सिंहको नेकपा मसालका प्रबक्ता रहेका शर्मा तत्कालिन नेकपा माओवादीको दोश्रो राष्ट्रिय सम्मेलन देखि उक्त पार्टीमा सहभागी भएका थिए । सो सम्मेलनमा सबैभन्दा पाका केन्द्रीय सदस्यका रुपमा क. अशोकका नामले सम्मेलनको अध्यक्षता पनि गरेका थिए । माक्र्सवादी दर्शन, साहित्य र राजनीतिमा लामो समय लगानी गरेका शर्माले आफ्नो जीवनको उत्तरार्धतिर बौद्ध दर्शनको औपचारिक विश्वविद्यालय शिक्षा सुरु गरेका छन् । उनको सामाजिक संजालमा दर्जनौंले बधाई दिएका छन् । २००३ साउन ०४ गते जन्मिएका नेता शर्मा २०२३ देखि वाम राजनीतिमा लागेका थिए । ०४२ बैशाख २ देखि भूमिगत राजनीतिमा होमिएका शर्माले ०४६ चैत २७ सम्म भूमिगत राजनीति जीवन बिताएका थिए । शर्मा २०६३ को अन्तरिम व्यवस्थापिका संसदमा माओवादी दलको प्रमुख सचेतक समेत भएका थिए । १८ वर्षसम्म शिक्षण पेशा गरेका शर्मा प्रधानमन्त्री डा बाबुराम भट्टराईको मन्त्रिमण्डलमा शिक्षामन्त्री पनि थिए । बाग्लुङ जिल्लाको अमलाचौर –७, गहतेरा भन्ने गाउँमा निम्न मध्यम वर्गीय परिवारमा जन्मिएका शर्माले औपचारिक रूपमा कला र शिक्षाशास्त्रबाट स्नातक गरेका छन् । पछिल्लो समय माओवादीका नेता कार्यकर्तामा औपचारिक अध्ययन गर्ने मोह बढ्दै गएको देखिएको छ ।

शहिद दिवस क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्न सङ्कल्प गर्ने दिन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको दिन शहिदहरूले देखेका सपना र उहाँहरूले गर्नुभएको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्न सङ्कल्प गर्ने दिन भएको बताएका छन् । शहिद स्मारक लैनचौरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भने, “नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र समावेशी लोकतन्त्र स्थापनाका निम्ति महान् शहिदहरूले उच्च बलिदान गर्नुभएको छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहिदहरू विगत, वर्तमान र भविष्यका निम्ति हामी सबैका लागि प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहनेछन् ।” शहिदका सपना पूरा गर्नका निम्ति मन, वचन र कर्मले सबै क्रियाशील रहनुपर्ने बताउँदै प्रधानमन्त्रीले शहिदहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गरे। उनले जहानीया राणाशासनको अन्त्य र प्रजातन्त्रको स्थापनाका निम्ति विसं १९९७ सालमा आफ्नो जीवनको बलिदान गर्नुहुने महान् शहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ लगायतका शहिदको स्मरण र सम्मान गरे। सम्पूर्ण बेपत्ता योद्धाहरूको उच्च सम्मानपूर्वक स्मरण गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “घाइते योद्धाहरूको शीघ्र स्वास्थ्यलाभसहित दीर्घजीवनको कामना गर्दछु ।” प्रत्येक वर्ष माघ १६ गतेलाई शहिद दिवसको रूपमा मनाउँदै आएको छ ।

एमालेले राष्ट्रियसभाका १९ पदमै उमेदवारी दिने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा १९ वटा पदमा नै उमेदवारी दिने बताएका छन् । आजको सचिवालय बैठकले १९ वटै पदका उमेदवारका विषयमा छलफल भएको महासचिव शंकर पोखरेलले जानकारी दिए । उनका अनुसार विभिन्न क्लष्टरबारे निर्क्यौल गर्नुपर्ने भएकाले आज टुंगो लागेको छैन । माघ ११ गते हुने निर्वाचनका लागि मंसिर २३ गते उमेदवारी मनोनय हुँदैछ । एमाले र सत्ता गठबन्धनबीच राष्ट्रियसभामा भागबण्डा हुने चर्चा भएको थियो । स्रोतका अनुसार आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बाहिर चर्चा भएजस्तो प्रस्ताव नआएको ब्रिफिङ गरेका छन् ।

गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा बिहीबार रिट दायर भएको छ । गभर्नर अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता दीपकराज जोशीसहित ४ जनाले सर्वोच्चमा रिट दायर गरेका हुन् । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० अनुसार गभर्नर पदमा नियुक्त हुन आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यताबिनै अधिकारीलाई गभर्नर नियुक्त गरिएको भन्दै अधिवक्ता दीपकराज जोशी, प्रताप सिंह ठकुरी, दामोदर तिम्सिना र यमप्रसाद भट्टराईले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, अर्थ मन्त्रालय तथा नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका हुन् । योग्यता विपरीत गभर्नर अधिकारीको नियुक्ति तत्काल बदर गर्नुपर्ने रिट निवेदक चार अधिवक्ताको माग छ । गभर्नर अधिकारी विरुद्धको रिटमा सर्वोच्च अदालतले बिहीबार रिट दर्ता गर्दै शुक्रबारका लागि पेशी तोकेको छ । राष्ट्र बैंक ऐन २०५८ को दफा २० मा गभर्नर पदमा नियुक्त हुने व्यक्ति नेपालको नागरिक हुनु पर्ने, उच्च नैतिक चरित्र भएको हुनु पर्ने तथा आर्थिक मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेमा व्यवस्था छ । तर, चाटर्ड एकाउन्टेन्टलाई स्नातकोत्तर मान्न नसकिने निवेदकहरुले जिकिर गरेका छन् । गभर्नर अधिकारी २०७६ चैत २४ गतेको नेपाल सरकारको निर्णयबाट गभर्नर बनेका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा। युवराज खतिवडाको जोडबलमा गभर्नर बनेका अधिकारी एमालेको आर्थिक विभागमा समेत एम।अधिकारीको रूपमा रहेको भन्दै उनको चर्को आलोचना भएको थियो । तर, उक्त आरोपलाई गभर्नर अधिकारीले अस्वीकार गर्दै आएका छन् ।

गृहजिल्लामै योगेश भट्टराईको गाडी तोडफोड

काठमाडौं । नेकपा (एमाले) सांसद योगेश भट्टराईको गाडी तोडफोड भएको छ । कार्यक्रमका लाागि गृह जिल्ला ताप्लेजुङ पुगेका भट्टराई जिल्लाको सदरमुकाम फुङलिङमा कार्यक्रम सकेर फर्किने बेला उनको गाडीमाथि ढुङ्गा प्रहार भएको हो । ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी कमल कुमार मगरका अनुसार फुङलिङ बजारनजिकै फर्किने बेला भट्टराईको गाडीमाथि ढुङ्गा प्रहार भएको हो । उनी सवार गाडीको सिसा फुटेको छ । ढुङ्गा प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसन्धानले कोसी प्रदेश पहिचानवादी समूहले ढुङ्गा प्रहार गरेको देखाएको छ ।

नेपाली सेनामा खुल्यो ठूलो संख्यामा जागिर (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको हो । खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सैन्य पदको हकमा नेपाली सेनाको आधिकारिक वैबसाइटबाट अनलाइन दरखास्त दिन सक्नेछन् । ट्रेडका फलोअर्स पदहरूको हकमा उमेदवार स्वयं भर्ना केन्द्रमा उपस्थित भई दरखास्त फाराम भरी दरखास्त पेस गर्नुपर्नेछ । दरखास्त आजदेखि पुस ७ गतेसम्म दिन पाइनेछ । दोब्बर दस्तुर तिरेर थप एक हप्ता आवेदन दिन सकिने भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले जनाएको छ ।

छठको दोस्रो दिन आज खरना गरिँदै

काठमाडौं । छठको दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीअन्तर्गत शनिबार खरना गरिँदै छ । यस दिन पनि बिहानै घर आँगनको सफाइ गरी व्रत गरी बेलुकी सखरमा पकाएको खीर खाइन्छ । आजको दिन ठेकुवा, भुसुवाजस्ता परिकार पनि बनाइन्छ । चार दिने छठ पर्वका पहिलो दिन हिजो वर्तालुले बिहानै घर आँगनको सरसफाइ गरी स्नान गरेर चोखो खानेकुरा खाएका छन् । यसलाई छठ वर्तालुको भाषामा नहाय खाय भन्ने गरिएको छ । छठका वर्तालुले कोजाग्रत पूर्णिमा अर्थात् आश्विन शुक्ल पूर्णिमादेखि नै लसुन, प्याजलगायत तामसी खानेकुरा नखाई चोखो खाएर बस्ने व्रतविधि रहेको छ । छठमा बाँसका सामग्री, उखु, केरा, सुन्तला, स्याउआदिको बढी प्रयोग गरिन्छ । छठ पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीमा आइतबार नीराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ । कार्तिक शुक्ल सप्तमीका दिन बिहान सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चार दिन लामो सूर्य आराधनाको पर्व छठ समापन हुन्छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्य एवं छठी माताको पूजा आराधनासहित अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दान गरेमा मनले चिताएको पूरा हुने कुरा सूर्यपुराणलगायत ग्रन्थमा उल्लेख छ । महाभारतकालमा द्रोपदीसहित पञ्चपाण्डवले सूर्यको पूजा आराधना गरी एक वर्षे अज्ञातवास सफल भएको महाभारतलगायत विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ । सूर्यका दुई श्रीमती छाया र संज्ञा कार्तिक शुक्ल षष्ठी र सप्तमीका दिनमा अस्ताउँदो र उदाउँदो सूर्यसँगै आउने भएकाले छठी माताका रुपमा पूजा आराधना गर्ने परम्परा बसेको धार्मिक विश्वाससमेत छ । यस अवसरमा सूर्यलाई विधिपूर्वक पूजा, आराधना गरेर अर्घ्य दिएमा मनोकामना पूरा हुनाका साथै छालाजन्य रोग पनि निको हुने विश्वास गरिन्छ ।

उपलब्धीमाथि प्रश्न उठाउने दुश्साहस भइरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धीमाथि प्रश्न उठाउने दुश्साहस भइरहेको बताएका छन्। मानवअधिकारवादी नेता तथा वाम बुद्धिजीवि पद्मरत्न तुलाधरको पाँचौं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्रीले भने ‘अहिले विभिन्न कोणबाट माथि नै प्रश्न उठाउने दुश्साहस भएको छ ।यसलाई नयाँ पुस्तामा कसरी हामी यहाँ आइपुगेको हो भन्ने बुझाउनु आवश्यक भएको छ । यसका लागि संघर्ष गर्नुहुने पद्मरत्नको योगदान उहाँको स्मृति दिवसका सन्दर्भमा झनै आवश्यक बनेर गएको छ ।’ उनले जनयुद्धका समयमा रोल्पामा गएको स्मरण गर्दै पद्मरत्न तुलाधर र दमननाथ ढुंगाना दुबैले जनयुद्धलाई राजनैतिक आन्दोलनको रुपमा व्याख्या गर्नुभएको बताए । प्रधानमन्त्री प्रचण्डले भूमिगतरुपमा अन्य दलहरुसँग सहमति र शान्तिको वातावरण बनाउन पद्मरत्न तुलाधर र दमननाथ ढुंगाना दुबैको भूमिका रहेको उल्लेख गर्दै सांस्कृतिक र भाषिक सम्मान आन्दोलन तथा जातीय पहिचान र वर्गीय उन्मुक्तिका निम्ति निरन्तर आवाज उठाएको बताए ।

रिगल नेपालगन्जबाट पक्राउ

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि योगराज ढकाल रिगल डन पक्राउ परेका छन् । उनी नेपालगञ्जबाट पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । बाँकेका एसपी सुवास बोहोराले दिएको जानकारीअनुसार उनी भर्खरै नेपालगन्जबाट पक्राउ परेका हुन् । सर्वोच्च अदालतले बिहीबार नै माफी मिनाहाको निर्णय खारेज गर्दै तत्काल पक्राउ गर्न परमादेश जारी गरेको थियो । पूर्ण इजलासको आदेशलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो ।