पत्रकारमाथि किन हुन्छ आक्रमण ?
गत वर्ष कैलालीका पत्रकार लक्ष्मी जैशीमाथि घरमै सुतिरहेको बेला खुकुरी प्रहार भयो । उनीसहित एकजना परिवारका सदस्य पनि खुकुरी प्रहारबाट घाइते भए । यो घटनाले पत्रकार कति असुरक्षित छन् भन्ने पुष्टि गर्छ ।
नेताहरु पनि पत्रकार कुनै पार्टी विशेषको हुँदैन भन्ने हेक्का राख्दैनन् । नेताहरु सगर्ब ऊ मेरो पार्टीको पत्रकार हो भन्छन् । यसरी पत्रकार पार्टीको सूचना प्रवत्ता बनेपछि जनताले कसरी निष्पक्ष समाचार हेर्न तथा सुन्न पाउने ?
यस्ता घटना बेला–बेला भइरहेका छन् । प्रजातन्त्र, राजतन्त्र र जनयुद्ध समाप्त हुँदा पनि त्यसको अनुभूति दिने घटना अहिले पनि भइरहेका छन् । नेपालको प्रेसलाई सुरक्षा दिन राज्यले बेवास्ता गर्दा यस्ता घटनाले प्रश्रय पाइरहेका छन् ।
पत्रकारमाथि आक्रमण हुनु सामान्य घटनाका रुपमा लिन खोजिन्छ । पत्रकारको सुरक्षाको ग्यारेन्टीका लागि राज्य उदासिन बनेको छ । अहिले पनि ढुक्कका साथ समाचार सम्प्रेषण गर्ने वातावरण बन्न सकेको छैन । समाचारको विषयलाई निहुँ बनाएर समय–समयमा संचारकर्मी कुटिरहेका छन् । तर, राज्य भने लाचार बनेर कानमा तेल हालेर बसेको छ ।
समाजको ऐनाको नाम दिदैंमा मात्र पत्रकारले काम गर्न सक्छ भन्ने राज्यको नकारात्मक सोचले गर्दा पत्रकार असुरक्षित बन्दै गएका छन् । समाचार संकलन गरेकै निहुँमा संचारकर्मी माथि आक्रमण हुन्छ भने कसरी नेपालको पत्रकारिताको विकास हुन्छ ? पत्रकारिताको धर्म पालना गर्दा गर्दै कुटिनु दुःखलाग्दो कुरा हो ।
लोकतन्त्रसम्म आइपुग्दा पनि संचारकर्मीमाथि हुने दुव्र्यवहार र आक्रमणका घटना नरोकिनु राज्यको गैर जिम्मेवारीपन हो भन्दा फरक नपर्ला । संचार गृहमाथि नै आक्रमण तथा मिडियामा चाहिने आवश्यक उपकरणमा क्षति पुर्याउँदा पनि दोषी माथि कारबाहि नभएका घटना पनि प्रशस्तै छन् । समाचार संकलन गरेकै आधारमा धम्की खेपेको घटना त पत्रकारसंग असंख्य नै छन् । राज्यले प्रदान गर्ने सुरक्षा नहुँदा कैयौं पत्रकारले पत्रकारिताको धर्म विपरित कार्य गर्नु पर्ने बाध्यता छ । मन हुँदाहुँदै पनि असुरक्षाका कारण गलत गरेका कार्यबारे जनतामाझ सूचना दिन पत्रकारलाई गाह्रो छ । राज्यको उदाशिनताका कारण जनता सहि सूचना प्राप्तबाट चुकि रहेका छन् । अहिलेसम्म पनि पत्रकारले निर्भीकताका साथ कलम चलाउने समय आएको छैन ।
समाचार संकलन गरेकै निहुँमा संचारकर्मी माथि आक्रमण हुन्छ भने कसरी नेपालको पत्रकारिताको विकास हुन्छ ? पत्रकारिताको धर्म पालना गर्दा गर्दै कुटिनु दुःखलाग्दो कुरा हो ।
कुकर्मबारे जनतालाई सूचना प्रवाह गर्दा ज्यानको असुरक्षा महसुस गर्दै मै हुँ भन्ने संचारकर्मी पनि पत्रकारिताको धर्म निभाउन सक्ने वातावरणमा छैन । निकै जोखिम मोलेर पत्रकारिता गर्दा पनि राज्य गम्भीर बन्न सकेको छैन । पत्रकारहरुको पेशागत हकहित र सुरक्षाको बारेमा संविधानमा नै स्पष्ट व्यवस्था गरिदिएको छ । तर, त्यसको कार्यान्वयन पाटो फितलो छ । जसले गर्दा, पत्रकारमाथि हुने आक्रमण रोकिएका छैनन् । पत्रकारहरुमाथि गरिने सबै खाले ज्यादती र दुव्र्यवहार बन्द र दोषीमाथि कडा कारवाही नहुँदासम्म यस्ता घटनामा कमी आउन सक्दैनन् ।
सुरक्षाको कमी मात्रै नभएर पत्रकारको लापरबाहिले गर्दा पनि यो पेसा जोखिममा परेको छ । पत्रकारबाट पनि जानीजानी ठूला गल्ती भइरहेका छन् । उनीहरु पनि पत्रकारिताको धर्म विपरित कार्य गरिरहेका छन् । जसले गर्दा, बेलाबेला विभिन्न आक्रमण तथा दुव्र्यवहार खेपिरहेका छन् । आफ्नो धर्ममा अडिग रहेर काम गर्ने पत्रकारको जमात बिरलै छ । अधिकांश पत्रकार यथार्थ भन्दा पनि कल्पनामा बढी डुबेर पत्रकारिता गर्दा आक्रमणका घटना भोग्न बाध्य भएका छन् । वास्तविकताको चुरो कुरो नबुझेर हावाका भरमा समाचार संकलन गर्दा कतिपय पत्रकार कुटाई खाइरहेका छन् ।
पत्रकारिता भन्दा पनि पाटिकारिता गर्ने संचारकर्मी दुव्र्यवहारको सिकार परेका दृष्य बढी देखिन्छन् । कुनै पाटिको भक्तिगान गाएर समाचार प्रकाशन–प्रसारण गर्ने व्यक्ति नै सबैभन्दा बढी आक्रमणमा परेका उदाहरण छन् । कुनै व्यक्ति विशेषभन्दा पनि समग्रतालाई उल्लेख गरेर समाचार प्रकाशन–प्रसारण गर्ने पत्रकारको अभावले पनि पत्रकारिता पेसा सुरक्षाका दृष्टिकोणले असुरक्षित बन्दै गएको छ । यतिमात्रै होइन चुनावका बेला त पत्रकार हुन् कि पाटिका कार्यक्रता छुट्याउनै मुस्किल हुने गर्दछ । अहिले पनि त्यस्तै देखिन्छ । आसन्न मसिरमा हुने प्रदेश र प्रतिनिधि सभा चुनावका लागि उम्मेद्वार र तिनका दल प्रचार–प्रसारमा व्यस्त छन् । पत्रकार पनि आफूले आस्था राखेको पार्टीको भक्तिगान गाउन निकै सक्रिय छन् ।
यस्तै, अचेल अधिकांश पत्रकार समाचार लेखे वाफत पैसाको माग गर्ने होडबाजी पनि चलेको छ । पत्रकारको पेशा समाचार खोज्ने हो । तर, पनि पैसा मागेर लेख्ने परिपाटी बढ्दै गएको छ । जसले गर्दा, यो पत्रकारिता पेशा झनै असुरक्षित हुँदै गएको धेरैको आंकलन छ । चुनावका बेला कुन पत्रकार कुन पार्टी भन्ने आंकलन गर्न धेरै प्रयास गर्नुपर्दैन । नेताहरु पनि पत्रकार कुनै पार्टी विशेषको हुँदैन भन्ने हेक्का राख्दैनन् । नेताहरु सगर्ब ऊ मेरो पार्टीको पत्रकार हो भन्छन् । यसरी पत्रकार पार्टीको सूचना प्रवत्ता बनेपछि जनताले कसरी निष्पक्ष समाचार हेर्न तथा सुन्न पाउने ?
समाचारको कखरा नजानेका व्यक्ति पत्रकारिता पेसा अंगालिरहेका छन् । समाजमा पत्रकारिता पेसामा आउन कुनै योग्यताको जरुरत पर्दैन भन्ने धारणा विकसित हुँदै गएको छ । नेपाली अक्षर लेख्न जान्ने भयो भैगो पत्रकार हुनलाई भन्ने मानसिकता बन्दै गएको छ । हुन पनि वास्तविकता यही छ । पत्रकारिता पेशामा जो कोहीले आउन सक्छ भन्ने गलत मान्यता विकसित हुँदै गएको छ । अपराध गरेर जेल सजाय काटेको नै किन नहोस् उसले निर्धक्क पत्रकारिता गरिरहेको छ । यसरी विकृतिको बाटोमा अगाडी बढेपछि कसरी पत्रकार र पशाको सुरक्षा हुन्छ त ?
अचेल अधिकांश पत्रकार समाचार लेखे वाफत पैसाको माग गर्ने होडबाजी पनि चलेको छ । पत्रकारको पेशा समाचार खोज्ने हो । तर, पनि पैसा मागेर लेख्ने परिपाटी बढ्दै गएको छ । जसले गर्दा, यो पत्रकारिता पेशा झनै असुरक्षित हुँदै गएको धेरैको आंकलन छ । चुनावका बेला कुन पत्रकार कुन पार्टी भन्ने आंकलन गर्न धेरै प्रयास गर्नुपर्दैन ।
अन्त्यमा, पत्रकारमाथि हुने घटनालाई न्यूनिकरण गर्न स्वच्छ पत्रकारिता गर्नुपर्छ । कुनै पाटिको सूचना प्रवत्ता नभएर जनतामुखी भएर पत्रकारिता गर्यो भने पेशाको धर्म पनि निर्वाह हुन्छ।
साथै, नैतिकता पनि जोगिन्छ । अहिले अधिकांश पत्रकारमाथि यी कुराको अभाव हुँदा नै आक्रमण भइरहेको छ । निष्पक्ष पत्रकारिता गर्न लागि दक्षता, धैर्यता र निरन्तरतालाई भन आत्मसाथ गर्न जरुरी छ ।
एएफसी यू–१९ फुटबल: नेपालले आज युएईसँग खेल्दै
काठमाडौं, कात्तिक १८ । कीर्गिस्तानमा जारी एएफसी अन्डर नाइन्टिन छनोट च्याम्पियनसिप फुटबलको तेस्रो खेलमा नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ । समूह ए मा रहेको नेपाल यसअघि खेलेका दुवै खेलमा पराजय बहोर्दै फाइनल चरण प्रवेश गर्ने सम्भावनाबाट बाहिरिएको छ । तर, आजको खेलमा प्रतिष्ठाका लागि पनि नेपाललाई जित्नै पर्ने दबाब छ । नेपालले बलियो प्रतिद्वन्द्वी युएईलाई रोक्न सक्यो भने ठूलै सफलता हुनेछ । खेल आज साँझ पौने ५ बजे सुरु हुनेछ । नेपालले यसअघि कीर्गिस्तानसँग २-० को तथा बहराइनसँग ४-० को हार बेहोरेको थियो । समूहको अन्तिम खेलमा नेपालले बुधबार ओमानसँग खेल्नेछ । समूहको शीर्ष स्थानमा रहने टोली तथा उपविजेतामध्येका उत्कृष्ट पाँच टिमले फाइनल चरणमा प्रवेश पाउने छन् ।
जनता बैंकको ८५ हजार कित्ता सेयर लिलामी खुला
काठमाडौं, कार्तिक १५ । जनता बैंकको सर्वसाधारण समूहको ८५ हजार १ कित्ता सेयर बुधबार (कात्तिक १५ गते) देखि बिक्री खुला भएको छ । बैंकले गुरुप्रसाद न्यौपानबाट जफत गरेको ८५ हजार १ कित्ता सेयर लिलामीमा ल्याएको हो । केही समयअघि बैंक सञ्चालक भएका बेला गैरकानुनी हिसाबले श्रीमतीको नाममा सेयर किनेको ठहर गर्दै उक्त सेयर जफत गर्न राष्ट्र बैंकले निर्देशन दिएको थियो। सोही निर्देशन अनुसार जफत भएको सेयर बैंकले यतिबेला लिलामीमा ल्याएको हो । यो शेयरमा सर्वसाधारण लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर निवेदन दिनुपर्ने छ । हाल बैंकको बजार मूल्य भने प्रतिकित्ता २५३ रुपैयाँ छ । यसमा आवेदन दिने अन्तिम म्याद भने कात्तिक २१ गते तोकिएको छ । न्यूनतम १०० कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने छ । आवेदकले बिक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केट, काठमाडौं प्लाजा कमलादीमा पुग्नेगरी आवेदन फारम बुझाउनुपर्ने छ । बोलपत्र कात्तिक २२ गते बिहान १२ बजे काठमाडौं प्लाजा, कमलादीमा खोलिने छ । यो लिलामीमा सर्वसाधारण व्यक्ति, कम्पनी तथा संगठित संस्थाले समेत आवेदन दिन पाउने छन् । नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउने अभियानमा रहेको जनताले सिद्धार्थ डेभलपमेन्ट बैंकलाई एक्वायर गरी असार ३० देखि एकीकृत कारोबार समेत सुरु गरिसकेको छ । यसअघि जनताले त्रिवेणी विकास बैंकलाई पनि मर्ज गरेको थियो । हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ९९ करोड ३६ लाख ९४ हजार रुपैयाँ छ । चालु आवको पहिलो त्रैमासमा बैंकले ६ करोड ४८ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जनतााको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७१ पैसा र प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ६ पैसा रहेको छ । एजेन्सी
झोल चाउमिन र भौजी
ग्राहकः भौजी एक हाफ झोल चाउमिन बनाइ डिना ? साउनीः ठिक बा ! एक घच्ची बैठिना । ग्राहकः ठिक बा भौजी ! भौजी.. चाउमिन त बहुत मजा बनाइलबटी । यो संवाद हरेक दिन सुन्न पाइने ठाउँ हो कर्भड हल अगाडी । झोल चाउमिन धेरैको रोजाई । अमिलो, अजिना, बन्दा, हरियो खुर्सानी, मसला इत्यादि मिश्रण झोल चाउमिन । तयार भयो माग गरेको एक हाफ झोल चाउमिन । हरेक दिउँसो भीड नै लाग्छ भौजीको ठेलामा । झोल चाउमिनका पारखी धेरै छन् । भौजीका चाउमिनका नियमित ग्राहकको संख्या थपिदै छ । ठेला राख्नु अघि भौजीले एक सहकारीबाट २० हजार ऋण काढ्नुभयो । अनि खरिद गर्नुभयो एउटा ठेला, ग्यास र अन्य आवश्यक सामान । एल. बुङ्ली गत वैशाख २ गते देखि भौजीले ठेला व्यवसाय सुरु गर्नुभयो । शुरुको दिनमा पाच जना ग्राहकले मात्रै झोल चाउमिन खानुभयो । पाक्न त अरु नि पाछ । तर, ग्राहकको अरुमा रुचि जान्न । भौजीले ठेला राखेको दिन एक हाफ झोल चाउमिनको १५ रुपैया लिनुहुन्थ्यो । अरुले २० । तर, भौजीको ठेलाको झोल चाउमिन खान कमै ग्राहक आउथे । विस्तारै भौजीको ठेलामा नि ग्राहक आउन थाले । अहिले त उहाको ठेलामा थेगि नसक्नु भीड हुन्छ । प्रायः झोल छाउमिनमा रुचि राख्ने महिला आउछन् । भौजी अगाडी थप्छीन्– अझ भनौं सबैभन्दा बढि तपाई जस्तै युवा युवती आउछन् । भौजीको पृष्ठभूमि टिठ लाग्दो छ । ११ वर्षसम्म उहा कमैया बस्नुभयो । भौजीको विवाह पनि मालिकले नै गरिदिएका । विवाह हुदा उहाको उमेर १७ वर्षको थियो । विहे भएको पछिल्लो वर्ष छोरा पाउनुभयो । अहिले भौजीको छोरा पाच कक्षामा पढ्नुहुन्छ । भौजी विगतका क्षण निकै तिता छन् । उहाले ११ वर्षसम्म बन्दी जस्तै जीवन विताउनुभयो । कयौं चोटि मालिकको हिंसा खेप्नुभयो । अनि खेप्नुभयो पारिवारीक हण्डर र ठक्कर । तर, पनि भौजीले अचानो जस्तै सहनुभयो । यी कुरा गर्दै विगत सम्झीनुभयो । बाबु एक चोटी त सहनै नसक्ने गरि पीडा पाए । त्यो, बेला त झुण्डीएर मरौं भन्ने सोच पलायो । तर, मन दह्रो बनाए र सोचे मैले मेरा साना नानीहरुको लागि भए पनि बाच्नु पर्छ । अहिले त्यो विगत सम्झीए भने कथा जस्तै लाग्छ भौजीलाई । उहा भन्नुहुन्छ– मैले जति दुःख पाए अहिले ति सबै हराएर त्यति नै खुसी पाएको छु । अहिले ठेलाबाट पनि रामै्र आम्दानी भइरहेको छ । दिनमा त्यहि चानचुन ६ सयसम्म बचत हुन्छ । त्यहि रुपैयाबाट दुइ जना छोरा–छोरीलाई स्कूल पढाएको छु । पहिले जस्तो घर व्यवहार चलाउन मुस्कील छैन । बरु १५ हजार एक जनालाई व्याजमा ऋण दिएकी छु । श्रीमान् रक्सी बढि खान्छन् । बुढाले पनि अलिकति बचत गर्नुहुन्थ्यो भने राम्रै कमाई हुन्थ्यो । तर, के गर्ने श्रीमान मदिरा प्रेमी हुनुभयो । हरेक साझ कचकच हुन्छ रक्सीकै कारण । रक्सी खाए पनि अरुले देख्ने गरि झगडा चाहि भएको छैन । भौजीले सुनाउनुभयो– विहान ७ बजे ठेला लगाउछु । पानी ल्याउछु । चट्नी बनाउछु । चाउमिन उमाल्छु इत्यादि काम सबै सकाउछु । अनि सुरु हुन्छ बिक्री गर्ने कार्य । साझ ७ बजे मात्रै घर पुगिन्छ । अनि गनिन्छ दिनभर कमाएको पैशा । केहिले २ हजार हुन्छ । कहिले १ हजार । जेहोस् खर्च कटाएर मेहनत गरे अनुसार बचत हुन्छ । त्यहिमा सन्तुष्ट छु । यो सबै सन्तुष्ट केवल झोल चाउमिनकै कारण मिलेको छ । उहा खिस्स हास्नुभयो ।
पेट्रोल पम्पमा छापा
बारा, कात्तिक ८ । जिल्ला प्रशासनको कार्यालय बाराको टोलीले आज जितपुरस्थित बिन्दा स्टोर्समा छापामारेको छ । जितपुरसिमरा उपमहानगरपालिका–७ जितपुरमा रहेको पेट्रोलपम्पमा प्रशासनको टोलीले छापामारी तेलको नमुनाहरु सङकलन गरेको छ । इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक गोविन्दकुमार कार्कीले जिल्ला प्रशासन कार्यालयमा मिसावटयुक्त तेलहरु बिक्री भइरहेको उजुरीको आधारमा छापा मारिएको बताए ।
सीपी मैनाली नेतृत्वको मालेबाट पोलिटव्यूरो सदस्यसहित चारजना निष्काशित
काठमाडौं, कार्तिक ३१ । नेकपा माले स्थायी कमिटीको बैठकले पार्टीका तीनजना पोलिटब्युरो सदस्यसहित चारजनालाई निष्कासन गरेको छ । निष्कासित हुनेमा पोलिटब्युरो सदस्य हिक्मतबहादुर देउवा, गंगाप्रसाद चौधरी र वीरेन्द्र थपलिया तथा केन्द्रीय सदस्य सीता महत देउवा रहेका छन् । उनीहरुलाई पार्टीको एकताविपरीत गुटबन्दी र फुटपरस्त गतिविधिमा सक्रिय रहेको भन्दै पार्टी सदस्यसमेतबाट निष्कासन गरिएको सो पार्टीले जनाएको छ । पार्टीका महासचिव सीपी मैनालीको अध्यक्षमा मंगलबार बसेको बैठकले उनस्हरुलाई पार्टी विधानको धारा १, २, ३, ४ र ५ बमोजिम कारबाही गर्दै पार्टीका सबै जिम्मेवारीबाट पदच्यूत गरी पार्टी सदस्यबाटसमेत निष्कासित गरेको हो । ‘पार्टी अस्तित्व नरुचाउने परचक्रीले चलाएको निराधार र कपोलकल्पित हल्लामा नलाग्न समस्त पार्टी पंक्तिलाई आह्वान गर्दछ’–सो पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । महासचिव मैनालीले आशन्न निर्वाचनमा हाल अन्य कुनै दलसँग सहकार्य र एकीकरणसम्बन्धी निर्णय भइनसकेको सन्दर्भमा आफखुसी अन्य पार्टीसँग वार्ता गरी पार्टी फुटाउने गतिविधि गरेको आशंकामा उनीहरुलाई निष्कासन गरिएको जानकारी दिए ।
आम सर्वसाधारण जनता बाहेक कुनै अचल सम्पती छैन : स्वास्थ्यमन्त्री
काठमाडौ, भदौ २३ । स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलले आफ्नो नाममा केही बैंक मौजाद, सञ्चार सामाग्री र केही अत्यावश्यक फर्निचरहरु बाहेक कुनैपनि अचल सम्पत्ती नरहेको बताएका छन । शुक्रबार मन्त्री पोखरेलले आफ्नो सम्पती विवरण प्रधानमन्त्री कार्यालयमा बुझाउदा आफ्नो नाममा आम सर्वसाधारण नेपाली जनता बाहेक कुनैपनि अचल सम्पती नरहेको उल्लेख गरेका छन । स्वास्थ्य मन्त्री पोखरेलले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार आफ्नो नाममा एभरेष्ट बैङ्क लिमिटेड पुल्चोक शाखामा आठ लाख १५ हजार दुइसय ६७ रुपैया ७१ पैसा र नेपाल बंगलादेश बैङ्क कमलादी शाखामा १३ हजार नौ सय ९३ रुपैया ८० पैसा बैंक मौज्दात रहेको उल्लेख गरिएको छ । उक्त रकमको प्राप्तीको श्रोत संविधानसभा सदस्य, मन्त्री तथा व्यववस्थापिकाको प्रमुख सचेतकको रुपमा रहँदा प्राप्त पारिश्रमिक हो । मन्त्री पोखरेलको बुबाको नाममा खोटाङ्ग जिल्ला लामीडाँडा गाउँपालिका–२ मा २३ रोपनी जग्गा रहेको छ । जुन सम्पत्ति पैत्रिक सम्पत्तिको रुपमा रहेको छ । उक्त जग्गा मध्ये मन्त्री पोखरेलको अंशमा पर्ने जग्गा कनककुमारी स्मृति प्रतिष्ठानलाई प्रदान गरिएको छ । यस्तै स्वास्थ्य मन्त्री पोखरेलले खोटाङ्गस्थित रुपाकोट सामुदायीक रेडियोमा पाँचहजार रुपैया शेयर रहेको सम्पती विवरणमा उल्लेख छ । मन्त्री पोखरेलसंग दुईवटा ल्यापटप, डिजिटल क्यामरा, कम्युटर प्रिन्टर, डेस्कअप कम्युटर, भिडियो क्यामरा र केही फर्निचरका समानहरु रहेका छन् । उक्त सामाग्री संविधानसभाको सदस्य रहँदा र मन्त्री हुदाँ प्राप्त पारिश्रामिकबाट खरिद गरिएको मन्त्री पोखरेलले उल्लेख गरेका छन ।
‘इर्मा’ आँधीले क्यारेवियन क्षेत्रको जनजीवन अस्तव्यस्त
काठमाडौं, भदौ २२ । क्यारेवियन क्षेत्रमा आएको समुद्री आँधी इर्माले ठूलो क्षति पुर्याएको छ । क्यारेवियन क्षेत्रमा रहेको फ्रान्सको भूमिमा आँधीले बढी क्षति पुर्याएको हो । फ्रान्सेली टापु सेन्ट मार्टिन र सेन्ट बार्टसमा बढी भौतिक क्षति भएको छ । प्रतिघण्टा २ सय ९५ किलोमिटरको रफ्तारमा आएको यो आँधी हालसम्म रेकर्ड गरिएको मध्येकै शक्तिशाली भएको बताइएको छ । आँधीका कारण क्यारेवियन क्षेत्रको जनजीवन अस्तव्यस्त भएको छ । समुद्री आँधीमा परेर कम्तिमा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोनले आँधीले भौतिक क्षति बढी भएको र जनजीवन अस्तव्यस्त बनाएको बताएका छन् । इर्मा आँधीको प्रभाव क्यारेबियन टापुहरु बर्बुडा र एन्टिगुवामा समेत परेको छ । बर्बुडाका ९० प्रतिशत भवनमा आँधीले क्षति पुर्याएको छ । अहिले यो आँधी नर्दन भर्जिन आइल्यान्डतर्फ गएको छ । आँधीका कारण पोर्टओ रिको, डोमेनिकल रिपब्लिक, ब्रिटिस भर्जिन आइल्यान्डसहितका क्षेत्र पनि प्रभावित हुने चेतावनी दिइएको छ ।
२५६ वर्ष उमेरसम्म बाँच्ने रहस्यमयी व्यक्ति को हुन् ? (भिडियो सहित)
इजिङ, भदौ १५ । चीनका एक ब्यक्ति पृथ्वीमा सबैभन्दा बढी उमेर बाँचेका ब्यक्तिका रुपमा चिनिन्छन् । आयुर्वेदिक चिकित्सक तथा मार्सल आर्टका खेलाडी लिचिङ युन सबैभन्दा लामो उमेर बाँच्ने मानिसका रुपमा परिचित छन् । उनले दाबी गरेअनुसार उनको जन्म सन् १७३६ मा भएको थियो भने उनीसँग सम्बन्धित तथ्यकाअनुसार उनको जन्म सन् १६७७ मा भएको हुनसक्ने अनुमान गरिएको छ । तर उनको दाबी र तथ्यका आधारमा अनुमानित उमेर पनि अन्य सामान्य मानिसको भन्दा वर्षौं धेरै पाइएको छ । उनी आफैले दाबी गरेको जन्म मितिअनुसार उनको उमेर १९७वर्ष हुन आउँछ भने तथ्यमा आधारित अनुमानका अनुसार २५६ वर्ष थियो ।उनको जन्म मितिका बारेमा ठ्याक्कै अभिलेख नभएका कारण वैज्ञानिकहरुले पनि उनको दाबीलाई खारेज गरिदिएका थिए । -साझा पाेष्टबाट भिडियो हेराैँ
तस्वीरमा कसैले खोज्न सकेनन् सर्प, अब तपाईँको पालो
यो तस्वीरमा सर्प कहाँनेर छ ? यतिखेर एउटा तस्वीर सामाजिक सञ्जालमा निकै चर्चामा छ । तस्वीर पजल खेल्न सिपालुहरुमा झनै लोकप्रिय बनेको छ । यो पजलको एउटा विशेषता के छ भने अहिलेसम्म अधिकांश व्यक्तिहरुले यो पजलमा सोधिएको प्रश्नको उत्तर दिन सकेका छैनन् । यो पजलमा घरको एउटा भाग र बगैंचा देखाइएको छ । र, हामीले भने यसमा सर्प खोज्नु पर्ने छ । ल, भन्नुस् त सर्प कहाँनेर छ ? यदि देख्नुभयो भने तपाईले यो कुन प्रजातिको सर्प हो भनेर पनि भन्नुपर्ने हुन्छ । यो तस्वीरमा सर्प देखेको दावी धेरैले गरेका छन् । तस्वीर हेर्दै जाँदा कतिपयले भने त्यत्तिकै उल्लु बनाउन तस्वीर राखेको पनि भने । तर यो तस्वीरमा सर्प भने छ । त्यसका लागि तपाईले यो लिंक खोल्नुपर्ने हुन्छ । यो लिंकमा रहेको तस्वीरमा तपाईले साँच्चिकै सर्प कहाँ रहेछ त भन्ने थाहा पाउनु हुन्छ । तस्वीरमा यहाँ छ सर्प
जोन्सन एन्ड जोन्सन पाउडर प्रयोग गर्दा क्यान्सर
काठमाडौं, भदौ ७ । अमेरिकाको एक अदालतले क्यान्सरपीडित एक महिलालाई जोन्सन एन्ड जोन्सन कम्पनीले ४१ करोड ७ लाख अमेरिकी डलर अर्थात् करिब ४२ अर्ब ७५ करोड ९६ लाख ४७ हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने आदेश दिएको छ । लस एन्जेलसस्थित अदालतका न्यायाधीशको इजलासले क्यालिफोर्नियाली एक महिलाले कम्पनीको बेबी पाउडर प्रयोग गर्दा डिम्बाशयको क्यान्सर भएको दाबी गर्दै दायर गरेको मुद्दाको फैसलामा उक्त आदेश दिएको हो । जोन्सन एन्ड जोन्सन कम्पनीको टेलकम पाउडर प्रयोगका कारण महिलाको गर्भाशयमा क्यान्सर भएपछि क्षतिपूर्ति दिन अदालतले आदेश दिएको हो । अदालतले ६३ वर्षीया इभा इचेभर्रियालाई उक्त रकम उपलब्ध गराउन आदेश दिएको बताइएको छ । ती महिलाले ११ वर्षको उमेरदेखि जोन्सन एन्ड जोन्सन कम्पनीको पाउडर प्रयोग गर्दै आएको बताएकी छन् । तिघ्राको काछ वरपर उनी नियमित रुपमा कम्पनीको बेबी पाउडर प्रयोग गर्थिन् । अमेरिकाका विभिन्न अदालतमा कम्पनीविरुद्ध शृङ्खलाबद्ध सुनुवाई हुँदै आएको छ । तर हालसम्मकै सबैभन्दा ठूलो रकम क्षतिपूर्ति पाउन पाउने इचेभर्रिया पहिलो बनेकी छन् । पाउडर प्रयोग गरेकै कारण आफूलाई डिम्बासयको क्यान्सर भएको भन्दै अन्य महिलालाई जोन्सन एन्ड जोन्सनको टेलकम पाउडर प्रयोग नगर्न सल्लाह दिएकी छन् । तर कम्पनीका प्रवक्ता कैरोल गुडरिचले भने अमेरिकी अदालतको यो फैसला गलत भन्दै अपील गर्ने बताएका छन् । वैज्ञानिक हिसाबले पनि सो पाउडरमा खराबी नहुने भन्दै उनले अमेरिकी अदालतको फैसला गलत भएको बताएका छन् ।(एजेन्सी)
नारायणगढ-मुग्लिन सडक निर्माण काम छिटो सक्न प्रधानमन्त्रीको ठाडाे निर्देशन
काठमाडौँ, साउन १८ । प्रधानमन्त्री शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडक निर्माण चाँडो सक्न निर्देशन दिएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डको स्थलगत अनुगमनमा निस्किएका प्रधानमन्त्री देउवाले निर्माण चाँडोभन्दा चाँडो सक्न सडक आयोजनाका कर्मचारी र निर्माणमा संलग्न ठेकेदारलाई निर्देशन दिएका हुन् । ‘यो लाइफ लाइनको बाटो हो, जनताले धेरै दुःख पाएका छन्। निर्माण चाँडो सक्नुपर्छ,’ उनले भने, ‘सडक निर्माण गर्न सरकारले गर्नुपर्ने सहयोग गर्छ।’ प्रधानमन्त्री देउवा बिहान १० बजे काठमाडौँदेखि हेलिकप्टरमा भरतपुरको आँपटारी आएका थिए। उनले आँपटारीदेखि दासढुंगासम्मको करिब २० किलोमिटर सडकखण्डको स्थलमार्ग हुँदै निरीक्षण तथा अनुगमन गरेका थिए। दासढुंगामा प्रधानमन्त्री देउवाले सडक आयोजना र निर्माणमा संलग्न ठेकदारसँग छलफल गरेका थिए। सो अवसरमा दुवै पक्षले अहिलेसम्म भएको प्रगतिबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। प्रधानमन्त्रीका साथमा सडक अनुगमन तथा निरीक्षणका लागि पुगेका भौतिक योजना तथा पूर्वाधारमन्त्री वीरबहादुर बलायरले सडक निर्माण सक्न सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी बहन गर्नुपर्ने बताए। ‘अहिलेसम्म किन प्रगति भएन, सक्ने ठाउँमा चाँडो काम गर्नुप¥यो,’ उनले भने। निर्माण चाँडो सक्न मन्त्रालय सहजीकरण गर्न तयार रहेको मन्त्री बलायरको भनाइ थियो । रासस
कथा : लोग्नेमान्छेको संगत
‘कहिलेकाहीँ त्यता साँघुरो भए सुत्न मेरोतिर आए पनि हुन्छ नि भाइ । कुनै अप्ठेरो मान्नुपर्दैन, आफ्नै सम्झे हुन्छ,’ म डेरा सरेको तीन दिनपछि डेरावाल दिदीले भनेकी थिइन् । दिदीको त्यो भनाइ वास्तवमै सहज थिएन, उनले मलाई किन त्यसो भनिन् ? तीन-चार दिनसम्म मलाई सोचमग्न बनाएको थियो । रको तल-माथि गर्दा देखादेख हुन्थ्यो । उनी मलाई देख्ने बित्तिकै मसक्क मस्केर केही न केही सोधिहाल्थिन् – ‘चिया पिउनुभो ? खाना खानुभो ? नुहाउनुभो … ?’म बस्ने माथिल्लो तलामा दिदीको कोठा थियो । उनी को हुन्, यो शहरमा के गर्छिन् र उनको परिवारमा को कति छन् भन्ने केही जानकारी थिएन मलाई । एउटै घरमा बस्ने भएकोले उनीसाग मेरो हाइ-हेल्लोको मात्र सम्बन्ध थियो । यस्तै-यस्तै सवाल रहन्थे उनका । उनले सोधेका सवालहरुको सीधा जवाफ दिनु नै उचित ठान्थेँ म, साथमा फिस्स मुस्कान छोडेर बाटो लाग्थेँ । हुन पनि घरमा बसेकै हकमा सबै डेरावालसँग सम्पर्क बढाउने र दोस्ती गर्ने मेरो बानी कहिल्यै बसेन । म शहरमा बस्न थालेको पनि अठार वर्ष भयो होला । एउटै छानामुनि बसे पनि कति जनासाग त एकपटक समेत चिनजान नभई डेरा बदलिएको पनि हुँला । यो मेरो अनौठो बानी छ । पेशाले म एक कलमजीवी हुँ । पेशाभित्र मेरो औकात के कति छ, त्यो मलाई थाहा छैन । तर, शहरमा मेरो सम्पर्क हरेक मान्छेसाग बेग्लाबेग्लै किसिमको छ । मेरोमा दिनहुँ साथीहरु आइरहन्छन् । उनीहरुसँगको भेटघाट र कुराकानी मलाई बडो महत्वपूर्ण लाग्छ । त्यसैले पनि हामी कहिले कता कहिले कता समूहमै रात काट्छौं । डेरावाली दिदीलाई मेरोमा आउने साथीहरु देख्दा कोठामा साँघुरो होला भन्ने लागेर पनि मलाई आफूकहाँ बोलाएकी हुन सक्छ । नत्र अरु कारण के होला र ! उमेरले दिदी मभन्दा ५/६ वर्ष पाकै लाग्थिन् । त्यसैले पनि मैले उनलाई दिदी भन्न कुनै आपत्ति थिएन । हप्ता दिनपछि मात्र मैले दिदीको नाम सोध्ने साहस गरेँ । नाम शकुन्तला रहेछ । तर, उनको घरपरिवार, पेशा मलाई अझै थाहा थिएन । शकुन्तला दिदी मलाई देख्नेबित्तिकै आँखा गाडेर नियाल्थिन् । मायाको भाव झल्काउँथिन् । कोठामा बोलाउँथिन् र अवसर मिल्नेबित्तिकै खाजा र खानाका लागि समेत हार्दिकताका साथ आग्रह गर्थिन् । दिदीका ती सबै व्यवहारले मलाई निकै असहज लाग्थ्यो । तर पनि दिदीको कुरा टार्न नसकेर उनको कोठामा पुग्थेँ । दिदीले कोठाभरि यौन उत्तेजनाका अर्धनग्न तस्बिरहरु सजाएको देख्दा म खग्रङ्ग हुन्थेँ । मुटु जोडले फुल्थ्यो र हातगोडा काँप्थे । म दिदीले दिएको खानेकुरा छिटो-छिटो कपाकप खान्थेँ र तल ओर्लिहाल्थेँ । म काँतर मान्छे पटक्कै होइन । ठूल्ठूला मान्छेसग अन्तर्क्रिया गर्दा होस् वा जोखिमपूर्ण समाचार सम्प्रेषणमा प्रहरी प्रशासनसँग सामना गर्दा होस्, मलाई रत्तिभर डर लाग्दैनथ्यो । तर, दिदीको अगाडि किन म गरुडको छायामा परेको सर्प जस्तो भयभीत भइरहन्छु, आफैंलाई पत्तो हुँदैनथ्यो । शकुन्तला दिदीको कोठामा सधैंजसो लोग्नेमान्छेहरुको आउजाउ चलिरहन्थ्यो । आउने-जाने सबैसँग दिदीको आफ्नै प्रकारको नाता-सम्बन्ध कायम रहन्थ्यो । त्यस कुरामा पनि म निकै आश्चर्यमा पर्थेँ, किन दिदीको संगत लोग्नेमान्छेसँग मात्र हुन्छ ? केही दिन अरु बितेपछि मैले साथीहरुलाई शकुन्तला दिदीको बारेमा हल्काफुल्का कुरा गर्छु । साथीहरुले पनि उनको क्रियाकलापबारे शंका लागिसकेको बताउँछन्, ‘यो धन्दावाली आइमाई हो । यो सँग जोगिएर हिँडनू । नत्र फसाउली । बाहिर पनि यसको कुरा निकै सुन्न थालेका छौं । हामीले यसको बारेमा सायद समाचार रिपोर्ट बनाउनुपर्छ होला ।’ साथीहरुको त्यस्तो विचारलाई मैले ठाडै अस्वीकार गरेँ । उनीहरुलाई त्यसो नगर्न दबाब दिएको थिएा । जसका कारण उनीहरु हच्किएका थिए । दिदी हरेक बिहान उठ्नेबित्तिकै नुहाउँथिन् । सोह्र शृंगार गरेर चिटिक्क पर्थिन् । उनको शरीर चौबीसै घण्टा मगमगाइरहन्थ्यो । तर, उनको दिनचर्या कोठाभन्दा बाहिर बित्दैनथ्यो । त्यसमा अचम्म लाग्थ्यो मलाई । एकदिन मैले उनलाई उनको श्रीमानका विषयमा सोधेको थिएँ । त्यसको कुनै जवाफ दिइनन् उनले । म पनि त्यसै चुप लागेको थिएँ । दिदीकोमा किन थरीथरीका लोग्नेमान्छे मात्र आइरहन्छन् ? किन आजसम्म उनको कोठामा एउटा मात्र पनि स्वास्नीमानिसको आगमन हुँदैन ? पक्कै पनि यी दिदी धन्दावाली हुन सक्छिन् । मैले अड्कल काटेको थिएँ । शकुन्तला दिदीको कोठामा आउने लोग्नेमान्छेहरुसँग घण्टौं उनले के वार्तालाप गर्छिन्, त्यो थाहा हुँदैनथ्यो । तर, भित्र पस्दा चम्किलो अनुहारमा पस्ने लोग्नेमान्छेहरु बाहिर निस्किँदा निस्तेज भएर बाटो लाग्थे । दिदी धन्दावाली भन्ने निश्चित भएपछि उनको रुप र उनको कोठा समेत मलाई एचआईभी संक्रमणको अखडा भएको महसुस हुन थाल्यो । त्यसपछि उनले जति धेरै हार्दिकता देखाए पनि मैले उनको कोठामा जाने साहस गरिनँ । उनीसँग टाढिनुमै आफ्नो भलाइ देखेँ मैले । तर, दिदीको आत्मीयता अलि बेग्लै प्रकारको थियो । ज्यादै ममतामयी लाग्थिन् उनी । त्यस्ती आइमाई के प्राप्तिको लागि दिनहुँ आफ्नो शरीर बेचिरहेकी छन् ? उनको त्यो विवशता हो वा स्वेच्छा हो, थाहा पाउनुपर्ने विषय थियो मेरो लागि । यसैले पनि म दिदीको इतिवृत्तान्त थाहा पाउन निकै प्रयास गर्थें । फलस्वरूप महिनौंपछि उनको सम्पूर्ण कहानी मलाई प्रष्ट भएको थियो । विवाह गरेको दुई वर्ष पनि पुग्दानपुग्दै शकुन्तला दिदीको लोग्नेले सौता हालेछ । घरमा सौता आएपछि र लोग्नेबाट पनि बेवास्ता भएपछि उनी माइतीमा बस्न थालिन् । एउटी चेलीका लागि माइती भनेको त बाबु-आमा जिउँदो छउन्जेल मात्र न हो ! बाबु-आमा दुवैलाई दैवले लगेपछि माइती उनको लागि विरानो भयो । दाजु-भाउजूको अप्रिय वचन खप्न नसकेपछि दिदी माइत पनि छोडेर शहर पसिन् । शहर आएपछि केही समयसम्म उनले सानो चिया पसल खोलेर जीवनयापन गरिरहेकी थिइन् । यसै समयमा उनीसँग दोस्रो लोग्नेमान्छेको संगत भयो । एउटा लोग्नेमान्छेबाट सधैंका लागि लत्यालिएकी शकुन्तला दिदीलाई विवाह गर्ने मीठो आश्वासन दिएर अर्को लोग्नेमान्छेले पनि लुट्यो मात्रै । त्यसपछि ऊ आाधी जस्तै बिलायो । दोस्रो लोग्नेमान्छेसँगको बिछोड उनको जीवनमा अझ घातक सिद्ध भयो । निकै दिनसम्म दिदी आहत् भइन्, किनकि उनको पेटमा उसको गर्भ थियो । सबैतिरबाट एक्लिएकी दिदीले पेटको बच्चालाई सकुशल जन्म दिन उचित सम्झिनन् । गर्भपतन गराइन् । त्यसपछि उनको जिन्दगीले अर्कै मोड लियो । होटल पनि छोडेर दिदीले आफैं बजारमा निस्किँदै स्वतन्त्र पेशा थालिन् । एउटी आइमाईमान्छे २०/२२ वर्षको फक्रँदो यौवनमा जब लोग्नेमान्छेबाट विस्थापित गराइन्छे, त्यसपछि उसभित्रको दमित यौन चाहना एकैपटक विष्फोट भएर समाजमा पोखिन्छ । ऊ गलत क्रियाकलापमा संलग्न हुन्छे । शकुन्तला दिदीको जीवन त्यही घटनाचक्रको प्रतिविम्ब थियो । शकुन्तला दिदीको मोलमोलाइ आज हरेक यौन पुरुषहरुले आ-आफ्नै शैलीले गरिरहेका छन् । जसरी मन लाग्छ, पैसामा उपभोग गरिरहेका छन् । शकुन्तला दिदी हिजोआज आफूलाई लुटाउनमै खुशी छन् । परिबन्दको खेलमा उनी बडो नमज्जाले हारेकी छन् । उनीकहाँ आज पनि कामोत्तेजक लोग्नेमान्छेहरु उनको पराजित नारी अस्तित्वसँग खेल्न आउँछन् र देहसँग खेलेर जान्छन् । देख्दादेख्दै शकुन्तला दिदीको अनुहार बेग्लै प्रकारको देखिन थालेको छ । पहिले जस्तो सौन्दर्य छैन । मसाग पनि पहिले जस्तो दिल खोलेर बोल्दिनन् उनी । हुन त मैले उनलाई पटकपटक यो पेशा छोड्न दबाब दिएको थिएँ । एउटी नारीको लागि सबैभन्दा मूल्यवान् वस्तु उसको अस्मिता हो । जुन उसले आफ्नो जीवनमा एकजना लोग्नेमान्छेका लागि मात्र सुम्पिन्छे । मैले दिदीलाई उपदेश दिएको थिएा, पैसा शरीरका लागि हो, शरीर पैसाका लागि होइन । मेरो कुरा दिदीले कति बुझिन् वा बुझिनन् पत्तो भएन । तर, उनले आफ्नो पेशा छाडिनन् । शरीर बेच्ने बाटोमा निरन्तर लागिरहिन् । केही गर्दा पनि उनी नमानेपछि मैले उनीबारे पत्रिकामा छापिदिने धम्की समेत दिएँ । सायद मेरो त्यही कुरा उनलाई चित्त बुझेको थिएन । शहरमा अरु पनि केही धन्दावाली आइमाईहरु मैले पत्ता लगाएको थिएा । कतिपयले आफ्ना किशोरी छोरीहरु समेतलाई बलजफ्ती पेशामा सहभागी गराएर जिन्दगीको अँध्यारो सुरुङतिर धकेलिरहेका थिए । तर, त्यसो गर्नुको पछाडि सबैको आ-आफ्नै विवशता पनि थिए । समय बगिरहेछ । दिन, हप्ता र महिनाहरु क्रमशः समयको पछाडि परिरहेका छन् आज । शहरमा म आफ्नो परिवारसहित छु । पहिलेको डेरा बदलिइसकेको छ । शकुन्तला दिदीको बारेमा पनि केही थाहा छैन मलाई । एकपटक उनको डेरामै गएर भेटूँ भन्ने पहिलेदेखि नै लागेको थियो । सायद उनी यतिखेर एचआईभीले पूर्ण ग्रस्त भएर पो बाँचिरहेकी छिन् कि ? त्यसैले उनलाई भेट्न जाने हिम्मत पनि आएको थिएन । एकदिन मैले शकुन्तला दिदीको दुःखद् समाचार पाएँ मेरै साथीहरुबाट । उनीहरुले तयार पारेको रिपोर्टमा जिल्लाभरका एचआईभी एड्स पीडितहरु र यौन व्यवसायीहरुको सूची तयार थियो । शकुन्तला दिदीलाई एचआईभी पोजेटिभ भएको खबरले मलाई भित्रैदेखि दुःखी बनायो । मैले थाहा पाए अनुसार उनीकहाँ अहिले कुनै पुरुषहरु धाउादैनन् । लोग्नेमान्छेलाई दिनका लागि दिदीसँग कुनै त्यस्तो चिज बाँकी छैन । खबर सुन्दा मलाई किन हा, तुरुन्त गएर दिदीलाई भेटूँ जस्तो लागेको थियो । तर, म त्यहाँ जाँदा बित्तिकै लामो समयदेखि देखभेट नभएकी दिदी अति दुःखी भएर मेरो उपस्थितिमा आफ्नो पीडा देखाउँलिन् र मलाई झन् अप्ठेरोमा पार्न सक्छिन् । त्यसैले त्यहाँ जान उपयुक्त ठानिनँ । किनकि आफ्नो सबथोक सकेर बसेकी दिदीसँग अहिले आर्थिक समस्या होला, घरबेटीले पैसा मागेको समस्या तेर्साउलिन् अनि म… । हुनसक्छ आज उनी सडकमा माग्दै पो छिन् कि ? दिदीलाई भेट्ने मेरो चाहना दोस्रोपटक पनि आफूभित्रै मर्यो । केही दिनपछिको कुरा हो, शकुन्तला दिदीले सडकमा हात फैलाएर माग्दै हिँडेको मैले आफ्नै आाखाले देखेँ । भित्र पसेका आँखा, कलेटी परेका ओठ, दुब्ली, निःसहाय अवस्थामा रहेकी भए पनि मैले उनलाई चिनेँ । गहिरो दुःख लाग्यो । यतिबेला उनीसँग कुनै लोग्नेमान्छे थिएन । किनकि लोग्नेमान्छेलाई दिनको लागि अब दिदीसँग केही बचेको थिएन । त्यसैले आज एक्लै छिन् उनी । मृत्युले गाँज्दै लगेको छ । शकुन्तला दिदी आज पीडादायी अवस्थामा छिन् । बाटोमा दयनीय जीवन बाँचिरहेकी छिन् । तर, यस्तो बेला म आफ्नो परिचय र कुनै सहानुभूति नदिईकनै रुमालले मुख छोपेर उनीबाट टाढा भाग्छु । सायद दिदीसँग अब कहिल्यै नभेट्ने गरी… ! ( ओमप्रसाद घायलकाे कथा अनलार्इनखबरबाट साभार गरिएकाे हाे । )
किन भयाे माअाेवादी कमजोर ?
केदारनाथ नेपाल (निश्चल) संविधान सभाबाट संविधान जारी भएपश्चात् भर्खरै मात्र स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन सम्पन्न भएको छ । जुन निर्वाचन नेपाली राजनीतिको महत्वपूर्ण र संघर्षमय इतिहास बोकेको नेकपा माओवादी केन्द्रको आफ्नै नेतृत्वमा पहिलो र उसैको सहयोगमा काङ्ग्रेसको नेतृत्वमा दोश्रो चरणको निर्वाचन सम्पन्न भएको छ । सबै एजेण्डा माओबादीको हो तर, स्थानीय निर्वाचनमा भने नेकपा माओबादी केन्द्रलाई अत्यन्तै कमजोर स्थितिमा देख्नुपर्यो । कुनै समय संसदीय ब्यबस्थामा तेश्रो शक्तिको अवस्थामा रहेको सो पार्टी आज पुनः तेश्रो शक्तिको हैसियतमा झरेको छ । केदारनाथ नेपाल (निश्चल) नेतृत्वले तरवारको धारमाथीको यात्रा गरेकै कारण सात दशकअघिदेखिको आफ्नै जनप्रतिनिधिद्वारा संविधान लेख्ने जनताको चाहाना माओबादीले दुई दशकमै पूरा गरिदियो । यसबाट पनि प्रस्ट हुन्छ कि माओबादी पार्टी र त्यसमा रहेका नेताहरु चुनौतिहरुलाई सजिलै पार लगाउन सक्छन् । तर, देशको लागि तरवारको धारमाथीको यात्रा गरेका माओवादीको एजेण्डा देश र जनताले स्विकार गरिसक्दा पनि उहीहरुले सञ्चालन गरेको संगठन आज किन कमजोर अवस्थामा आईपुग्यो, किन पत्याएनन् जनताले उनीहरुलाई ? यसमा नेतृत्व र कार्यकर्ताको के कस्ता कमजोरी देखिए ? यस लेखमा पङ्क्तिकारले कसरी माओबादीलाई शक्तिशाली बनाउन सकिन्छ, पार्टी कमजोर हुनुमा आन्तरिक र बाह्य रुपमा के–कस्ता कमजोरी छन् भन्ने बिषयमा आफ्नो बिचार पस्कने प्रयास गरेको छ । किन जनताबाट एक्लियो माओवादी ? युद्धरत अवस्थाबाट शान्ति प्रक्रियामा आउँदासम्म माओबादीसँग एजेण्डाको भारी थियो । तर, बिस्तारै माओबादीले आफ्नो झोलाबाट एजेण्डा चुहिएको पत्तै पाएन । त्यसैकारण पनि माओबादी क्रमशः जनताबाट एक्लिदै गयो । परिवर्तनको दौरानमा गल्ती सबैको हुन्छ । माओबादीका पनि केहि गल्ती भएहोलान् अझ भनौ जसले समाजलाई परिवर्तनको बाटोमा सबैभन्दा बढि गल्ती उसबाट हुन्छ । माओवादी बाट देशलाई घाटा हुने त्यस्ता कुनै गल्ति भएनन् । तर, अरुले गरेको नराम्रो कामको बिरोध त परै जाओस् , आफुले गरेको राम्रो कामको प्रचार समेत गर्न सकेन माओबादीले । अन्य दलहरुले अपराधीक गतिबिधिमा संलग्न ब्यक्तिहरुलाई संरक्षण गरिरहँदा, माओबादीले भने नेतृत्वको एक आदेशमा देशको लागि बलिदान दिन तयार आफ्ना सोझा साझा कार्यकर्ताको समेत सुरक्षा गर्न सकेको देखिएन र पछिल्लो समय पार्टीलाई ठूलो बनाउने नाममा अन्य पार्टीमा रहँदा बद्नाम भएर कुहिएकाहरुलाई पार्टीमा भित्र्याउने काम समेत नेतृत्वले गर्यो जुन पार्टीको लागि घातक थियो । जनयुद्ध सुरुवात गर्दा सानो टिमले गरेको थियो । तर, अहिले आएर गतिशिल ब्यक्तिहरुको सानो टिमले पनि सजिलै लक्ष्य हाँसिल गर्न सक्छ भन्नेकुराको हेक्का नेतृत्वले राख्न सकेन । गुणात्मक भन्दा सङ्ख्यात्मक रुपमा पार्टीलाई ठूलो बनाउन लागियो त्यसैकारण आज माओबादीमा ४,००० केन्द्रिय सदस्य छन् । केन्द्रीय नेताहरुले कार्यकर्ताको कुरै सुन्दैनन् । नेताहरु सबै केन्द्रमै सिमीत रहनु र गाँउमा संगठन निर्माण नगर्नुले पनि माओबादीले निर्वाचनमा पराजय बेहोर्नुपर्यो । पटकपटक गल्ली गरिरहने तर गल्ति भएको स्वीकार नगर्ने प्रबृत्ति अहिले माओबादी भित्र हाबी छ । अब पनि नेतृत्वले त्यस्ता ब्यक्तिहरुलाई कारबाही गर्न ढिलाई गरेमा त्यसले पार्टीलाई धराशायी बनाउने निश्चित छ । पटकपटक गल्ली गरिरहने तर गल्ति भएको स्वीकार नगर्ने प्रबृत्ति अहिले माओबादी भित्र हाबी छ । अब पनि नेतृत्वले त्यस्ता ब्यक्तिहरुलाई कारबाही गर्न ढिलाई गरेमा त्यसले पार्टीलाई धराशायी बनाउने निश्चित छ । गल्ति गर्नेहरुले पनि आफ्नो गल्ती स्वीकार गर्दै आ–आफ्नो जिम्मेवारीबाट राजिनामा दिएर सक्षम ब्यक्तिहरुको नयाँ गतिशील गाँउ, नगर प्रदेश र केन्द्रिय समिति निर्माण गरेर अघि नबढे माओबादी केन्द्रको अवसान हुन समय लाग्दैन । शान्तिप्रकृयामा आउँदै गर्दा नेतृत्वले गल्ती गरेकै हो । २०६३ मंसीर ३ गते सरकारसँग बृहत शान्ति सम्झौता गर्ने नाममा “दश वर्ष देखि चल्दै आएको सशस्त्र संघर्ष आजैका मितिदेखि अन्त्य गरियो” भन्ने प्रस्तावमा प्रचण्डले सहीछाप गरे । संसदिय ब्यबस्थालाई प्रधान शत्रु मानेर सुरुवात गरिएको जनयुद्धको अन्त्य संसदिय ब्यबस्थालाई नै स्वीकार गरेर अन्त्य गर्नुले नै माओबादी आत्मसमर्पणबादको बाटोमा लागेको पुष्टि हुन्थ्यो । त्यसै क्रममा जनमुक्ति सेनाको विघटन गराइयो । हतियारहरु प्रतिक्रियावादी सत्तालाई बुझाइयो । र २०५७ सालमै दोस्रो राष्ट्रिय सम्मेलनबाट निर्णय गरिएको संविधान सभाको कार्य दिशालाई कार्यान्वयन गर्ने क्रममा पहिलो संविधान सभामा भाग लिएर संविधानसभा मार्फत महान् नेपाली क्रान्ति सम्पन्न गर्ने उद्देश्यसाथ गठन गरिएको र माओवादीकै बढि संख्या रहेको संविधानसभालाई माओबादीकै सरकार रहेको बेलामा बिगठन गराईयो । त्यतिमात्र होइन पार्टीभित्र रहेका क्रान्तिकारी धारलाई पाखा लगाएर आत्मसमर्पणवादी समूहलाई बलियो बनाउने काम नेतृत्वले गर्यो । यसले पनि जनतामा माओबादी प्रतिको मोह क्रमशः घट्दै गएको थियो । पछिल्लो समय माओबादीहरु व्यक्तिवादी, पदवादी, गुटवादी, पदलोलुप भए । जनयुद्धमा जस्तो जनतासँग नजीकिन सकेनन् । अझ केन्द्रमा बसेर गुट बनाएर नेतृत्वसँग बार्गेनिङ गर्ने प्रवृति पार्टीमा झांगिदै गयो । संगठन सुदृढ गर्न सयौ पटक बैठक बसेपनि सुधार हुनसकेन । केन्द्रदेखि जिल्लासम्म सबै संगठन अहिले पनि भद्रगोल अवस्थामा छन् । अर्कोतर्फ संगठन निर्माणको लागि खट्ने कार्यकर्ता गाउँमा छैनन् । साँच्चै भन्ने हो भने स्थानीय निर्वाचनमा कतिपय स्थानमा माओबादीले योग्य उम्मेदवार नै पाउन सकेन । सबै कार्यकर्ता सहरमुखी बने, जनयुद्वमा जिउज्यान फ्यालेर पार्टीको लागि खटेका कार्यकर्ताको व्यवस्थापन शान्ति प्रकृयामा आएपश्चात् नेतृत्वले गर्न सकेन । पुँजिपति बर्गले पार्टीमा प्रसस्त ठाउँ पाए । त्यसैकारण युद्धमा साथ दिएकाहरु विस्थापित हुन पुगे आफ्नै कार्यकर्ता र जनयोद्वाहरुको समेत बिश्वास गुमाउँदै गएको स्थितिमा जनताको मन जित्नसक्ने कुरै थिएन । माओबादी जनताबाट एक्लिनुमा सबैभन्दा ठूलो कमजोरी नेतृत्वकै रहेको छ । पार्टीलाई ठूलो बनाउने नाममा ४००० केन्द्रीय सदस्य बनाउनु र दर्जनौ ब्यक्ति केन्द्रिय सदस्य रहेको जिल्लामै एउटा वडा समेत माओबादीले नजित्नुले पनि नेताहरु पार्टीको लागि होईन आफ्ना लागि गर्छन् भन्ने प्रस्ट हुन्छ । पछिल्लो समय पार्टीभित्र कसरी जनतामा जाने भन्दापनि कसरी पार्टीमा आफूलाई स्थापित गराएर फाईदा लुट्ने भन्नेमा नै नेताहरु बढी केन्द्रित हुन पुगेको देखिन्छ । अर्कोतर्फ नेतृत्वको चाकरी गर्ने र आफ्नालाई प्राथमिकतामा राख्ने प्रवृत्ति मौलाउँदै गएको छ । नेतृत्वको नजिक भएपछि संगठन निर्माण गर्नुनपर्छ भन्ने मानसिकता उपल्लो स्तरका नेतामा रहेको पाईदैन । यस्ता प्रबृत्तिलाई जरैदेखी उखेलेर नफ्याकेसम्म पार्टी सुध्रनेवाला छैन । अहिले माओबादी आन्दोलन कमजोर हुनुमा नेतृत्वकर्ताको हिसावले प्रचण्ड मात्र होइनन् स्वयम् बाबुराम र वैद्य समेत दोषी छन् । क्रान्तिको नाममा साउनमा आँखा फुटेको गोरुले सधै हरियो देखेजस्तै, जुनै बेला पनि युद्ध गर्न सकिन्छ भन्ने, सोचराखी पार्टी विभाजित गरि अलग हुने र मुलुकको समस्या समाधानको लागि युद्ध नै विकल्प देख्ने ,जडसुत्रवादी चिन्तन राख्नु वैद्यको पनि कमजोरी थियो । भने, आर्थिक क्रान्तिको लागि नयाँ पार्टी नै गठन गर्नुपर्छ भन्ने सोच राख्नु बाबुरामको पनि महाभुल थियो । अन्त्यमा, हेडक्वाटरमा निर्वाचन समिक्षा गर्दै गर्दा कतिपय ब्यक्तिले नेतृत्वलाई गलत रिपोर्टिङ गरेको समाचार बाहिरियो । ८५ स्थानमा माओबादी दोश्रो स्थानमा रहेको रिपोर्ट आयो त्यसमध्ये करिब २५ स्थानमा चुनाव चिन्हको कारण निर्वाचन हारेको मनगणन्ते रिपोर्टिङ गरेको कुरा समेत बाहिरिन आयो । बास्तवमा माओबादीले बाह्य रुपमा कुनै पनि कारणले चुनाब हारेको थिएन । पार्टी नै आन्तरिक रुपमा कमजोर हुँदा निर्वाचन हारेको स्वीकार सबैले गर्नैपर्छ । र, आगामी निर्वाचनको लागि संगठन निर्माणमा जुट्नुपर्छ । आजको पराजयले भोलिको विजयको लागि शिक्षा दिएको छ । नयाँ ढंगबाट पार्टी निर्माण गरेर अघि बढ्नेहो भने आगामी दिनमा पक्कै पनि केहि ठाउँको नतिजा बद्लिएर माओबादीतर्फ आउने निश्चित छ । अहिले माओबादी आन्दोलन कमजोर हुनुमा नेतृत्वकर्ताको हिसावले प्रचण्ड मात्र होइनन् स्वयम् बाबुराम र वैद्य समेत दोषी छन् । क्रान्तिको नाममा साउनमा आँखा फुटेको गोरुले सधै हरियो देखेजस्तै, जुनै बेला पनि युद्ध गर्न सकिन्छ भन्ने, सोचराखी पार्टी विभाजित गरि अलग हुने र मुलुकको समस्या समाधानको लागि युद्ध नै विकल्प देख्ने ,जडसुत्रवादी चिन्तन राख्नु वैद्यको पनि कमजोरी थियो । भने, आर्थिक क्रान्तिको लागि नयाँ पार्टी नै गठन गर्नुपर्छ भन्ने सोच राख्नु बाबुरामको पनि महाभुल थियो । अहिले युद्ध गरेर ल्याईएको उपलब्धी लगभग संस्थागत भैसकेको अवस्था छ । माओबादीहरुले घुमाउरो पाराले आफ्नो हार स्वीकार गरिसकेका छन् र भन्दैछन् अंकगणितिय रुपमा निर्वाचनमा पराजित भएपनि हामिले एजेण्डामा जितेका छौ । हो माओबादीको एजेण्डामा देश र जनताले जितेका छन् । तर, स्वयम् माओबादी पार्टी भने आज किन कमजोर बन्यो त्यो अबको समिक्षाको बिषय बन्नुपर्छ र शक्तिशाली माओबादी पार्टी गठन गर्नुपर्छ । त्यसो नगरी प्रचण्ड, बाबुराम, विप्लव र वैद्यले उन्मुक्ति पाउदैनन् । जनयुद्धमा बगेको शहिदको रगतको उच्च सम्मान गर्दै तत्कालिन समयमा आम नेपालीलाई देखाएको सपनाहरु पूरा गर्न अब प्रचण्डले सबै सबै विकल्पहरु खुला राखी पुर्व माओबादी नेताहरुलाई मिलाएर शक्तिशाली माओबादी पार्टी निर्माण गर्नुको विकल्प छैन ।
‘अग्रगमनका लागि बलि नचढाई हुन्न प्रचण्ड कमरेड’
राजु ढुङ्गाना ‘प्रनिल’ यतिबेला टुटेको माओवादी भाँडो बेस्सरी तातेको छ पेरिसडाँडामा । २०५२ देखि २०६८ सम्मको भाँडोमा राजनीतिक मकै मजैले फुल्थ्यो । दाँत नभए पनि गिजाले बोटै चपाउँछु भन्दै साहित्यिक गोष्ठीमा काल्पनिक रचना सुनाएर भाराभुरी रुवाउँदै मोहन बैद्यध्य किरणुले २०६८ मै भाँडो फुटाइदिए । उनले न अरुलाइ मकै भुट्न दिए न त आफै भुट्न सके । भाँडो मात्रै तहसनहस बनाए । उतिबेला फुटेको भाँडोका टुक्रा जताततै छरिए । एउटा मोहन बैध्यले लगे, अर्को विप्लवले । गाला बिनाको पीँध प्रचण्ड सङ्गै रहेपनि बाबुराम उफ्रिए त्यसपछि । अब राजनीतिक मकै हाँडिमा होइन, कसौंडी चाहिन्छ भनेर कसौंडी लिन मुग्लान छिरे बाबुराम । धरातल र बिरासतको नागरिकता नै च्यातेर उतै गयाबाट नयाँ शक्तिको तावा बनाएर फर्किए बाबुराम । अगेनुमा कुन बेला भष्म हुने हो भन्ने हेक्का उनीहरुमा छैन । बरु हरेकको धम्कीको भाषा छ । यसो गरेन भने्, उसो भएन भने भएको खाप्टो पनि चर्काईदिन्छु । अहिले यो अवस्थामा पुगेको भाँडोमा माओवादीका महोदयहरुले राजनीतिक मकै भुट्न सकिरहेका छैनन । टुक्रा जोड्नुको साटो उनीहरुले पनि एउटा एउटा टुक्रा समातेर बसेका छटन् । एउटै हाँडिको अलग अलग खाप्टो समाउँदै अगेनुनेर बसेर आफुले राम्रोसङ्ग मकै भुट्ने ।र केहीले कालो धान भुट्ने एक्सन, रोम्यान्स, र ड्रामा एक अर्कामा गरिरहेका छन् । अगेनुमा कुन बेला भष्म हुने हो भन्ने हेक्का उनीहरुमा छैन । बरु हरेकको धम्कीको भाषा छ । यसो गरेन भने्, उसो भएन भने भएको खाप्टो पनि चर्काईदिन्छु । त्यसो त पार्टीमा निर्माण भन्दा ध्वंश र धम्कीको यो श्रृंखला नयाँ होइन । कहिले कुन रुपमा, त कहिले कुन कुरुपमा यसो हुँदै आएको हो । पछिल्लो समय खासगरी गोरखाको पालुङ्गटार भेला, वा धोबिघाट भेला यता भने श्राद्ध र पाठ गर्दापनि भड्केका भुत, प्रेत, पिचास मन्छाउन सकिएन । प्रचण्ड झाँक्री बन्न पुग्छन् बारम्बार तर बैध्य भुत, बाबुराम प्रेत, बिप्लब पिचास बनेर तर्साइरहन्छन् बारम्बार र यही कुरा पार्टीभित्र पनि गुटकारुपमा देखिन्छ । माओवादी आन्दोलनको हिजोको संरचना, कार्यशैली र संगठन अबको शान्तिकालमा प्रासंगिक नभएको कुरा बुझ्न छोडेर त्यही हाँडीका पछाडि दौडिरहेका छन् पेरिसडाँडामा । जबकि परिवर्तनको निमित्त माओवादी आन्दोलनको महान अभियान जनयुद्धको समापन सङ्गै परिवर्तनको राजनीतिक व्यवस्थाको पाँच वटा खम्बा गणतन्त्र, सङ्घियता, समानुपातिक–समाबेशिता, धर्म निरपेक्ष र प्रत्यक्ष निर्वाचित कार्यकारी माओवादीद्वारा निर्मित भएपनि काङ्ग्रेसको प्रजातन्त्र , एमालेको बहुदल भन्दा खासै फरक नदेखिनुको कारण पनि यही हो । स्वामित्व ग्रहण गर्न नजान्ने र यथार्थको परिधिभन्दा टाढा अझै पनि सपनाका कुरा गर्ने अवस्थाले जति प्रतिष्ठान गरेपनि माओवादी उँभो लाग्दैन । नातावाद , कृपावाद, परिवारवाद, नेतृत्वको विलासी जीवन, शहरमुखी, प्रवृत्ति, गाउँमा भन्दा सिंहदरबार मन्त्रीको वरिपरि धाउने अवस्था जस्ता बिकृती बिसङ्गतिहरु झन चुलिएका छन् । अवस्था के छ भने चेतनास्तरको कुरा गर्दा, राजा सहितको प्रजातन्त्र र रास्ट्रपति सहितको गणतन्त्रमा फरक छुट्याउ भनेर परिक्षा पेपरमा आउने प्रश्नको उत्तर दिन विद्यार्थीलाई हम्मे हम्मे नै पर्छ । विद्यार्थीले दिएका उत्तर पेपरहरु जाच गर्दा नम्बर दिने मास्टरपनि चकित हुन्छ भन्नेमा सायद हामी सहमत नै छौँ । अराजकता, भ्रस्टाचार, बेथिती झन मौलाएको छ । निष्ठा र इमानका राजनीति सकिएको छ । बिलाशी पार्टी कार्यालयहरु नातावाद , कृपावाद, परिवारवाद, नेतृत्वको विलासी जीवन, शहरमुखी, प्रवृत्ति, गाउँमा भन्दा सिंहदरबार मन्त्रीको वरिपरि धाउने अवस्था जस्ता बिकृती बिसङ्गतिहरु झन चुलिएका छन् । र, यो आहालमा माओवादीका क्रान्तिकारी भनिएका नेताहरु समेत एकपछि अर्को गर्दै चुर्लुम्म डुब्न थाले । चुनावमा त्यसै हार भएको होर माओवादीको ? अनि यी कुरा हेर्ने कि नहेर्ने ? कि त्यही भाँडाको पछि लागिरहने ? बूढो भएको पार्टी, बूढो भएको सिद्धान्त, सुस्त नेता कार्यकर्ता, उर्जा सकिएको पुर्जा जस्ता भइसकेका छन् । यही अवस्थामा फेबिकोल लगाएर नयाँ रंग दिएर यसमा उर्जा आउन सक्दैन । माओवादी आन्दोलन , अग्रगामि पक्षधर, पहिचानवादी शक्ति , प्रगतिशील एवं देशभक्त शक्तिहरुको नयाँ फ्रेम नयाँ मेक्यानिजम जरैबाट आविष्कार हुनको निमित्त प्रचण्डले पार्टीभित्रका कतिपय प्रवृत्तिको बलि चढाउनै पर्छ । अब चुनाव चिन्ह फेर्ने ,केन्द्रिय समिति घटाउने सहर बाट गाउँ पस्ने बासी इमोस्नल साहित्यले जनता लालायित हुने अवस्था छैन । जनयुद्धलाई इतिहासमा सम्मानजनक राख्नुपर्दछ तर अब जनयुद्धकै गाथालाइ साहित्यिक रुपमा भजाएर अबको राजनीति अगाडि बढ्न सक्दैन। माओवादी भित्रको वैचारिक बिवाद , नेतृत्व हस्तान्तरण, पद, पावर, पैसा नै माओवादी आन्दोलनमा सबैभन्दा पेचिलो हानिकारक सावित देखियो । अहिले माओवादी मुल टाउको संसदिए पसलमै कुकुरको मासु बेचेर जिवनयापन गर्दै राजनीतिकै मध्यमार्गी बनेको छ । खासगरी सत्ता भोगबिलाशकै मोहमा आज माओवादी र माओवादको औचित्य अझ कम्युनिस्टहरुको औचित्य नै धरापमा उभिएको छ भन्दा फरक नपर्ला । अर्कोतर्फ माओवादी आन्दोलनका ला डाइरेक्टरहरुले एक्ला एक्लै सम्मुनत समाजवादको कम्पनी खोल्छु भनेर कम्मर कसेपनी निर्माण सामाग्री तितरबितर छ भन्ने हेक्का राखेका छैनन । देशमा अहिले संसदिय धार, अग्रगमन धार र मध्यमार्गी धार स्पष्टरुपमा देखिएका छन् । १संसदिय धारमा मध्यमार्गी बनेर काङ्ग्रेस एमाले सङ्गै कबड्डि खेल्दै बस्ने वा साँच्चैको गणतान्त्रिक व्यवस्था स्थापितको निमित्त अग्रगामी बाटो रोज्ने ? विकल्प माओवादीका अगाडि छ । दोस्रो विकल्पमा जाँदा फेरि एकपटक प्रचण्डले इतिहास कायम गर्न जरुरी छ । आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन स्वयंम माओवादी र माओवादी इतरका अग्रगामिहरुले आफ्नो पक्षमा पार्न जनतामा नयाँ आयाम दिन सक्नुपर्छ । जस्को लागि प्रचण्डले पेरिसडाँडाबाट माओवाद र माओवादीको नाममा भित्रिएका र विकास भएका सबै गलत प्रवृत्तिहरुको बलि दिन सक्नुपर्छ । परिवर्तन बचाउने, सस्थागत गर्ने थप उपलब्धि लिने र माओवादी आन्दोलनको मर्म र भावना पूरा हुने अबको यो नै सहि कदम, कार्यनीति र कार्यदिशा को लागि फरक ढंगले सोच्नुपर्छ । प्रचण्ड माओवादी , बाबुराम नयाँ शक्ति , उपेन्द्र समाजवादी, बैध्य माओवादी , नेकपा बिप्लब , साझा र बिबेकशिल नामक अग्रगामी तप्काहरुको नयाँ एउटा एकै फ्रेम बनाउन यो आवश्यक छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध अविश्वास प्रस्ताव
काठमाडौं, असार ३० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध उक सांसदले अविश्वासको प्रस्ताव पेस गरेका छन् । क्यालिफोर्नियाका डेमोक्रेट सांसद ब्राड सेरम्यानले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसको संलग्नताबारे भइरहेको छानबिनलाई प्रभावित पारेको भन्दै ट्रम्पविरुद्ध अविश्वसाको प्रस्ताव पेस गरेका हुन् । ट्रम्पले रुसी संलग्नताबारे छानबिन गरिरहेका एफबीआई निर्देशकलाई बर्खास्त गरेका थिए । ब्राडका अनुसार ट्रम्पलाई राष्ट्रपतिबाट हटाउने लामो बाटोको यो पहिलो खुड्किलो हो । उनको यो प्रसतावलार्य डेमोक्रेटिक सांसदहरुकै समर्थन नभएकाले राष्ट्रपतिलाई महाभियोग लाग्ने सम्भावना न्यून छ ।