कुलमानले बुझाए मन्त्रालयलाई स्पष्टीकरण

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा स्पष्टीकरण पेस गरेका छन् । 

हेर्नुस् उहाँले बुझाएको स्पष्टीकरण:

तपाईलाई नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८ ।०४ । २५ को निर्णयानुसार नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा १७ को उपदफा (१) बमोजिम ४ वर्षको कार्य अवधिका लागि कार्यसम्पादन सम्झौता बमोजिम सेवाको शर्त लगायतका व्यवस्था उल्लेख गर्ने गरी नियुक्त गरिएको थियो। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयबाट प्रदान गरिएको मिति २०७८ । ०४ । २७ प.सं.०७८/७९ प्रशासन च.नं. १५ को नियुक्ति पत्र अनुसार मन्त्रालय र तपाई बीचको कार्यसम्पादन सम्झौता नियुक्तिको अभिन्न अंग हुने र कार्यसम्पादन सम्झौतामा तोकिएका Key Performance Areas (KPAs), Key Performance Indicator (KPI) का आधारमा अनुगमन एवं मूल्याङ्कन यस मन्त्रालयबाट हुने स्पष्ट नै छ भन्ने सम्वन्धमाः

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८ ।०४।२५ को निर्णयानुसार नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा १७ को उपदफा (१) बमोजिम ४ वर्षको कार्य अवधिका लागि कार्यसम्पादन सम्झौता बमोजिम सेवाको शर्त लगायतका व्यवस्था उल्लेख गर्ने गरी तहाँ मन्त्रालयको च.नं. १५ मिति २०७८ । ०४ । २७ को पत्रमार्फत नियुक्त भएको र कार्यसम्पादन सम्झौतामा तोकिएका Key Performance Areas (KPAs), Key Performance Indicator (KPI ) का आधारमा वस्तुगत र निश्पक्ष रुपमा अनुगमन तथा मूल्याङ्कन गरी मूल्याङ्कित कार्यसम्पादन विवरण समेतका आधारमा कार्यकारी निर्देशकले प्रोत्साहन भत्ता लगायतका सुविधा प्राप्त गर्ने व्यवस्था बारे अवगत नै छ।

तपाईले मिति २०८१।०६ । २२ को पत्र मार्फत यस मन्त्रालयले माग गरेका ट्रान्सफर्मर खरिदमा व्यापक अनियमितता भएको गुनासो लगायतका १५ बुँदे विवरणहरु तोकिएको समयभित्र उपलब्ध गराउनु भएन र पछि मिति २०८१।०८।०४ को पत्र साथ सो मध्येका विवरणहरू उपलब्ध गराउँदा पनि अधिकांश विवरणहरु आफैमा अपुरो र वास्तवमा खोजे मागे भन्दा बाहिर गई गोलमटोल रूपमा जवाफ प्रस्तुत गर्नु भई यस मन्त्रालयको भूमिकालाई नजरअन्दाज गर्नुभयो भन्ने प्राधिकरणको प्रधान कार्यालय, विभिन्न निर्देशनालय तथा विभागीय प्रमुहहरुबाट आफ्नो क्षेत्राधिकारभित्र रहेर प्रचलित ऐन नियम विनियम वमोजिम विभिन्न खरीद तथा काम कारवाहीहरू भएकोमा सो सम्बन्धी प्राप्त हुन आएका विवरण र प्रधान कार्यालयबाट गरिएका काम कारवाहीको यथार्थ एवम् तथ्यगत विवरणहरु समेत एकिकृत गरी उपलब्ध गराईएको व्यहोरा निवेदन गर्दछु। उल्लेखित विवरणमा थप कुनै कागजात हालसम्म माग भई नआएको र तहाँबाट भाग भएको अवस्थामा सोही बमोजिमको थप कागजात तथा विवरण उपलब्ध गराउन सकिने व्यहोरा अनुरोध छ।

उपरोक्त बुँदा नं २ का अतिरिक्त तपाईलाई यस मन्त्रालयको च.नं. २९८ मिति २०८१।०७।१३ को पत्रमार्फत विभिन्न ६ बुँदाहरुको विषयमा स्पष्ट पार्न निर्देशन दिइएकोमा तपाईले सत्यतथ्य लुकाई वस्तुनिष्ठ, यथार्थपरक जवाफ नपठाई केवल औपचारिकता मात्र निर्वाह गर्ने ढंगको असन्तुलित जवाफ र असम्बन्धित कागजात / विवरण पठाउनु भयो भन्ने सम्बन्धमाः

तहाँ मन्त्रालयको च.नं. २९८ मिति २०८१।०७।१३ को पत्रमार्फत विभिन्न ६ बुँदाहरुको विषयमा स्पष्ट पार्न लेखिआएको सम्बन्धमा उपलब्ध गराईएको जानकारी यथार्थपरक नै रहेको व्यहोरा अनुरोध गर्दै तहाँ मन्त्रालयबाट कुनै विषयमा थप स्पष्ट पार्न लेखिआएमा सोही बमोजिम स्पष्ट गरी पठाइने व्यहोरा अनुरोध छ।

नेपाल विद्युत प्राधिकरण संचालक समितिको मिति २०८१।०९।०४ मा बसेको बैठकको माइन्युटमा तालुक मन्त्रालयले Dedicated Feeder / Trunk Line महसुल विवाद समाधान गर्न नेपाल सरकार, मन्त्रिपरिषदको निर्देशन बमोजिम यस मन्त्रालयले गठन गरेको प्राविधिक जाँच समितिलाई आवश्यक सहयोग उपलब्ध गराउने एजेन्डामा तपाई जस्तो नेपाल सरकारबाट नियुक्त कार्यकारी निर्देशक (जसको कार्यसम्पादन मूल्याङ्कन गर्ने प्रथम पक्ष पनि ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालय ने हो) ले नै Note of Dissent लेखी नेपाल बिद्युत प्राधिकरण ऐन, २०४९ को दफा २५ को उल्लंघन हुने गरी नेपाल सरकारको निर्देशनको अवज्ञा गर्नु भएको भन्ने सम्बन्धमाः

डेडिकेटेड तथा ट्रेड लाइनबाट विद्युत आपूर्ति लिएका ग्राहकहरुको बक्यौता महसुल असुल गर्नुपर्ने भनि महालेखा परिक्षकको कार्यालय, सार्वजनिक लेखा समिति, विद्युत नियमन आयोग तथा विभिन्न सम्मानित अदालतहरुबाट फैसला / आदेश भएको मन्त्रिपरिषदबाट समेत महसुल उठाउन निर्णय भएको एवम् उक्त जाँचबुझ समिति अवैध र गैह्र कानूनी छ भनी सार्वजनिक सरोकारको विषयको रुपमा प्रश्न उठाई प्राधिकरणसमेतलाई विपक्षी बनाई सम्मानीत सर्वोच्च अदालतमा दर्ता भएको मुद्दा हाल विचाराधिन रहेको अवस्थामा प्राधिकरणले छुट महसुल लिने भनी गरेको निर्णय तथा जारी गरेको बिल / बिजक उपर प्राधिकरण तथा विद्युत नियमन आयोगको नियमानुसार सेवा शुल्क / धरौटी राखी अधिकार प्राप्त निकायमा पुनरावलोकन गर्न सक्ने सुविधालाई समेत प्रभावित हुने गरी मन्त्रालयबाट उक्त जाँचवुझ कमिटी गठन हुनु निर्धारित विधि र प्रकृया सम्मत नहुनुको साथै क्षेत्राधिकार बिहिन भएको देखिएकोले विधिको शासन, संस्थागत हित एवम् पदिय दायित्व र कर्तव्य पालन गर्दै सो सम्बन्धमा आफ्नो मत दर्ज गरेको हुँ।

नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा १५ को उपदफा (४) मा "समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने सञ्चालकले निर्णयात्मक मत दिनेछ" भन्ने व्यवस्थाले सञ्चालक समितिका सबै पदाधिकारीहरु बीच कुनै निर्णयमा मतैक्य हुन नसकी सञ्चालकहरु बीच फरक फरक राय रहन सक्ने अवस्थाको कल्पना गरी त्यस्तो अवस्थामा बहुमतको राय मान्य हुनेछ भन्ने व्यवस्था गरेको देखिँदा कुनै प्रस्ताव वा सो सम्बन्धी निर्णयमा असहमत हुने सञ्चालकले फरक राय लेख्न सक्ने सुविधा उक्त कानूनले दिएकै र अभ्यासमा समेत रहेको तहाँलाई अवगतनै छ। सार्वजनिक पदमा रहेको कर्मचारीले आफ्नो विवेकमा उचित लागेको मत दिन र निर्णय गर्न सक्ने अधिकार हुने सार्वजनिक सेवाको विशेषता, अधिकार र कर्तव्य हुने व्यहोरा समेत अनुरोध छ।

उल्लिखित अभ्यासले कुनै पनि विषयको गाम्भिर्यतालाई फरक ढंगले मूल्याङ्कन गर्न, निर्णय भइसकेपछि कार्यान्वयन गर्दा आइपर्ने जटिलता आंकलन गर्न, भए गरेका निर्णयहरु विधि सम्मत छन् छैनन् भनि विचार र विश्लेषण गरी पुनरावलोकन गर्न एवम् विधिसम्मत (Justifiable) र परिपक्व (Mature) निर्णय गर्न समेत मद्दत पुग्ने नै देखिँदा सोलाई अन्यथा नलिईदिनु हुन अनुरोध छ।

माथि बुँदा न.१ मा उल्लेखित तपाईको नियुक्ति बमोजिम मिति २०७८ माघ ५ (तदनुसार १९ जनवरी २०२२) मा भएको कार्यसम्पादन सम्झौताको दफा ९.५ ले प्रत्येक वर्ष भाद्र महिनाभित्र अघिल्लो आर्थिक वर्षको कार्यसम्पादन पुनरावलोकन ( Review) गरिनुपर्ने स्पष्ट व्यवस्था गरेको छ । यस प्रयोजनको लागि तपाईले सोही सम्झौताको दफा ८.५ अनुसार नेपाल विद्युत प्राधिकरण बोर्ड समक्ष कार्यसम्पादन मूल्याकनको जम्मा अंक (Total score of performance evaluation) पेश गर्नुपर्ने र दफा ८.६ अनुसार Key Performance Areas (KPAs) अन्तर्गत सम्पन्न गरिएका कार्यहरुको Key Performance Indicator (KPI) अनुरूप मूल्याङ्कन हुनुपर्ने व्यवस्था भएकोमा सोको उल्लंघन हुने गरी भाद्र मसान्त समाप्त भएको आज मिति २०८१।०९।२२ सम्ममा ११२ दिन व्यतित भैसक्दा पनि आफूले उपलब्ध गराउनुपर्ने विवरण पेश नगरी सम्झौताको पालना गर्नुभएको देखिएन भन्ने सम्वन्धमाः

तहाँ मन्त्रालय र म बीच मिति २०७८ माघ ५ (तदनुसार १९ जनवरी २०२२ ) मा भएको कार्यसम्पादन सम्झौता बमोजिम मैले उपलब्ध गराउनुपर्ने आ.व.२०८०/८१ को कार्यसम्पादन विवरण तहाँ मन्त्रालयसँग समन्वय गरी वुझाउन पूर्व जानकारी गराएको व्यहोरा तहाँलाई अवगतनै छ। मुलुकमा गएको बाढी पैह्रोको कारण विभिन्न उत्पादन, प्रसारण तथा वितरण संरचना तथा लाइनहरु क्षतिग्रस्त भई विद्युत उत्पादन तथा आपूर्ति अबरुद्ध भएकोले सोको पुनर्निर्माण र सञ्चालन गर्न फिल्डमा समेत गई अहोरात्र खटिनुपरेको कारणले सो विवरण पेश गर्न केही समय लागेको र तत्कालिन परिस्थितिलाई मनन् गरी कार्यसम्पादन मूल्याङ्कन समितिबाट समेत माग भई नआएको अवस्था हुँदा हाल मिति २०८१।०९। २४ च.नं. ७४६ को पत्रमार्फत तहाँको द.नं ३७७९ मा दर्ता गरी पेश भैसकेको कार्यसम्पादन विवरणलाई विधिसम्मत मूल्याङ्कन गर्नुपर्ने व्यहोरा अनुरोध छ।

कार्यसम्पादन सम्झौताको दफा ९. १ मा तपाईले पेश गर्ने कार्यसम्पादन विवरण उपर मूल्याङ्कन गर्न यस मन्त्रालयमा एक समिति रहने र सो समितिले तपाईले पेश गर्नु पर्ने कार्यसम्पादन विवरण उपर मूल्याङ्कन गर्ने व्यवस्था रहेको छ भन्ने सम्वन्धमाः 

म र तहाँ मन्त्रालय बीच मिति २०७८ । १०।०५ भएको कार्य सम्पादन सम्झौता बमोजिम मैले प्राधिकरणको समुन्नती र हितका लागि गरेको विभिन्न कार्यहरुको वितरण तहाँ मन्त्रालयमा पेश गरिसकेको हुँदा सोही बमोजिम मूल्याङ्कन हुने अपेक्षा र विश्वास गर्दछु। 

कार्यसम्पादन सम्झौताको दफा १०.३ मा दोस्रो पक्ष अर्थात तपाईले तेस्रो वर्षको कार्यसम्पादन मूल्याङ्कनमा ५०% भन्दा कम अंक प्राप्त गरेको अवस्थामा उक्त सम्झौता रद्द गरी तपाईलाई सेवाबाट हटाउन सिफारिस गर्न सकिने स्पष्ट व्यवस्था गरिएको छ । तपाईसँग मिति २०८१ ।०७ । १३ को प.सं. ०८१/८२ च.नं. २९८ को पत्रको बुदा नं. ६ बमोजिम यस मन्त्रालयले माग गरेको कार्यसम्पादन विवरण हालसम्म तपाईले पेश नगरी गम्भीर लापरबाही गर्नुभएको छ भन्ने सम्वन्धमाः 

तहाँ मन्त्रालय र म बीच भएको कार्यसम्पादन सम्झौता बमोजिम अघिल्लो आर्थिक वर्षको कार्यसम्पादन मूल्याङ्कन गर्ने प्रयोजनको लागि मैले उपलब्ध गराउनुपर्ने विवरण मिति २०८१।०९।२४ च.नं. ७४६ को पत्रमार्फत तहाँ मन्त्रालयको द.नं ३७७९ मा दर्ता गरी उपलब्ध गराईसकेको ब्यहोरा अनुरोध छ । सो विवरणमा कार्यसम्पादन मूल्याङ्कनका लागि पूर्वनिर्धारित लक्ष, सोको लागि प्राप्त हुनुपर्ने नतिजा र अङ्कभार समेतलाई हेर्दा प्राय हरेक क्षेत्रमा निर्धारित लक्ष्य अनुरुपको उल्लेख्य नतिजा प्राप्त भएको र सोबाट ९ ८.९९ प्रतिशत अङ्क प्राप्त हुने अवस्था विद्यमान रहेकोले अन्यथा कारवाही गर्नुपर्ने विषय आकर्षित हुने व्यहोरा समेत अनुरोध गर्दछु।

नेपाल विद्युत प्राधिकरण संचालक समितिका बैठकहरुमा समेत सरकारी निकायको कार्यकारी प्रमुखको हैसियत भुलेर पटक पटक असहयोगी भूमिका खेल्ने गरेको, सामान्य विषयवस्तुमा समेत विवाद गर्ने गरेको र पदीय मर्यादा विपरितका कार्यहरु गर्ने गर्नुभएको साथै यस मन्त्रालयको निर्देशन समेतलाई अवज्ञा गर्दै आउनुभएको छ भन्ने सम्वन्धमाः

नेपाल विद्युत प्राधिकरण संचालक समितिका बैठकहरुमा प्रस्तुत प्रस्ताव एवम् विविध विषयहरु उपर मैले आफ्नो विज्ञता र अनुभव एवम् विद्यमान ऐन कानूनसमेतको आधारमा विचार प्रस्तुत गरेको मात्र हुँ, त्यस्तो कुनै असहयोगी भूमिका नखेलेको साथै विवाद नगरेको ब्यहोरा अनुरोध छ।

आफूले पेश गर्नुपर्ने कार्यसम्पादन सम्झौता अनुरूपको कार्यसम्पादन मूल्याङ्कन सम्बन्धी विवरणसमेत पेश नगरेको कारण तपाईको यथोचित कार्यसम्पादन मूल्याङ्कन हुने अवस्था नभएको र तपाई स्वयले मिति २०८१।०८।०४ प.सं. ०८१।०८२ च.नं. ५२४ को पत्र मार्फत उक्त विवरण पेश नगरेको विषय स्वीकार्दै ‘तहाँ मन्त्रालयसँग समन्वय गरी तोकिएको ढाँचामा यथाशिघ्र कार्यसम्पादन विवरण उपलब्ध गराइने लिखित जानकारी दिनुभएको हुँदा उक्त सम्झौताको दफा १०.३ बमोजिम तपाईको कार्यसम्पादन मूल्यांकन नै गर्न नसकिने अवस्था सिर्जना भएकाले सोहि दफा बमोजिम तपाईको नियुक्ति किन अन्त्य नगर्ने? यो पत्र प्राप्त गरेको ७ (सात) दिनभित्र चित्तबुझ्दो जवाफ प्राप्त हुन नआएमा कानून बमोजिम तपाई उपर थप प्रक्रिया अगाडि बढाइने व्यहोरा यस मन्त्रालयको मिति २०८१।०९।२२ को निर्णयानुसार जानकारी गराइन्छ भन्ने सम्बन्धमाः

मन्त्रालयसँग समन्वय गरी तोकिएको ढाँचामा कार्यसम्पादन विवरण यथाशिघ्र उपलब्ध गराइने ब्यहोराको पूर्व जानकारी गराईएको व्यहोरा तहाँलाई अवगतनै छ। मुलुकमा गएको बाढी पैह्रोको कारण विभिन्न उत्पादन, प्रसारण तथा वितरण संरचना तथा लाइनहरु क्षतिग्रस्त भई विद्युत उत्पादन तथा आपूर्ति अवरुद्ध भएकोले सोको पुनर्निर्माण र सञ्चालन गर्न फिल्डमा समेत गई अहोरात्र खटिनुपरेको कारणले सो प्रतिवेदन पेश गर्न केही समय लागेको र तत्कालिन परिस्थितिलाई मनन् गरी कार्यसम्पादन मूल्यांकन समितिबाट समेत माग भई  नआएको अवस्था हुँदा हाल मिति २०८१ ।०९ । २४ च.नं. ७४६ को पत्रमार्फत तहाँको द.नं ३७७९ मा दर्ता गरी पेश भैसकेको कार्यसम्पादन विवरणलाई विधिसम्मत मूल्याङ्कन गर्नुपर्ने व्यहोरा अनुरोध छ। उक्त कार्यसम्पादन विवरणमा तोकिएको लक्ष्य अनुरुप ९८.९९ प्रतिशत अङ्क प्राप्त हुने गरी नतिजा तथा कार्यप्रगति हाँसिल भएको अवस्थामा नियुक्तिपत्र रद्द गर्ने भन्ने विषय आफैमा विधिसम्मत नहुने व्यहोरा समेत निवेदन गर्दछु। सक्दैन।

कार्यसम्पादन विवरण मुलतः कार्यकारी निर्देशकको प्रोत्साहन भत्तासँग सम्बन्धित रहेको र सो विवरण बुझाउन नियमित तथा आकस्मिक कार्यभार एवम् संस्थाको अति जरुरी कार्यकोलागि खटिनु परेकोले केही समय लाग्न गई भाद्र मसान्त पश्चात पेश भएकै कारणले सो कार्यसम्पादन विवरण मूल्यांकन हुनै नसक्ने र सेवा अन्त्य गर्ने आधार हुन नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८ । ०४ । २५ को निर्णयबमोजिम नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षको कार्य अवधिका लागि मेरो नियुक्ति भएकोमा संस्थागत हित र उल्लेख्य कार्य प्रगति भैरहेको अवस्था एवम् माथि उल्लिखित तथ्य, आधार र विवेचना समेतका आधारमा तहाँको उक्त पत्रमा उल्लेख भएबमोजिम नियुक्ति अन्त्य गर्ने सम्बन्धी कुनै पनि कारवाही तथा निर्णय गर्ने अधिकार अन्यमा नरहेको ब्यहोरा समेत अनुरोध छ।

(कुलमान घिसिङ) कार्यकारी निर्देशक

७७ वर्षका माओवादी नेता दिनानाथ शर्मा टियुमा पढ्दै

काठमाडौं, २२ माघ । माओवादी केन्द्रका पाका नेता दिनानाथ शर्मा आज देखि स्नोकोत्तर तह प्रथम वर्षको विद्यार्थीको रुपमा त्रिभुवन विश्वविद्यालयमा अध्ययन सुरु गरेका छन् । तीस वर्ष शिक्षण पेशामा र झण्डै आधा शताब्दी राजनीतिमा विताइसकेका शर्मा त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत बौद्ध अध्ययन केन्द्रीय विभागका विद्यार्थीका रुपमा अध्ययन सुरु गरेका हुन् । बौद्ध अध्ययन केन्द्र केन्द्रीय विभागकी विभागीय प्रमुख डा. चन्द्रकला घिमिरेका अनुसार सोमबार बिहान सात बजे देखि सुरु भएको स्नातकोत्तर तह प्रथम सेमेस्टरको अभिमुखिकरण कार्यक्रममा माओवादीका पाका नेता दिनानाथ शर्मा आफ्ना करिब दुई दर्जन सहपाठी सँगै कक्षा कोठामा सहभागी भएका छन् । आफ्नो सामाजिक सञ्जाल फेसबुकमा पाका नेता शर्माले आफु आज देखि औपचारिक विद्यार्थी भएको खुशी बाँढेका छन् । वि.स. २०५७ अगाडी मोहन विक्रम सिंहको नेकपा मसालका प्रबक्ता रहेका शर्मा तत्कालिन नेकपा माओवादीको दोश्रो राष्ट्रिय सम्मेलन देखि उक्त पार्टीमा सहभागी भएका थिए । सो सम्मेलनमा सबैभन्दा पाका केन्द्रीय सदस्यका रुपमा क. अशोकका नामले सम्मेलनको अध्यक्षता पनि गरेका थिए । माक्र्सवादी दर्शन, साहित्य र राजनीतिमा लामो समय लगानी गरेका शर्माले आफ्नो जीवनको उत्तरार्धतिर बौद्ध दर्शनको औपचारिक विश्वविद्यालय शिक्षा सुरु गरेका छन् । उनको सामाजिक संजालमा दर्जनौंले बधाई दिएका छन् । २००३ साउन ०४ गते जन्मिएका नेता शर्मा २०२३ देखि वाम राजनीतिमा लागेका थिए । ०४२ बैशाख २ देखि भूमिगत राजनीतिमा होमिएका शर्माले ०४६ चैत २७ सम्म भूमिगत राजनीति जीवन बिताएका थिए । शर्मा २०६३ को अन्तरिम व्यवस्थापिका संसदमा माओवादी दलको प्रमुख सचेतक समेत भएका थिए । १८ वर्षसम्म शिक्षण पेशा गरेका शर्मा प्रधानमन्त्री डा बाबुराम भट्टराईको मन्त्रिमण्डलमा शिक्षामन्त्री पनि थिए । बाग्लुङ जिल्लाको अमलाचौर –७, गहतेरा भन्ने गाउँमा निम्न मध्यम वर्गीय परिवारमा जन्मिएका शर्माले औपचारिक रूपमा कला र शिक्षाशास्त्रबाट स्नातक गरेका छन् । पछिल्लो समय माओवादीका नेता कार्यकर्तामा औपचारिक अध्ययन गर्ने मोह बढ्दै गएको देखिएको छ ।

आज देशभरका विद्यालयहरूमा ज्येष्ठ नागरिकसम्बन्धी विषय पढाउन निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सामुदायिक विद्यालयमा ज्येष्ठ नागरिक सम्बन्धी पाठ पढाउन निर्देशन दिएको छ। मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई आज सम्पूर्ण विद्यालयमा सामाजिक अध्ययन विषयको एक पिरियड ज्येष्ठ नागरिक सम्बन्धी पढाउने व्यवस्था मिलाउन आदेश जारी गरेको हो। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गरिदिन अनुरोध गर्दै शिक्षा मन्त्रालयलाई पत्र पठाएको थियो। सोही आधारमा शिक्षा मन्त्रालयले सम्पूर्ण विद्यालयमा सामाजिक अध्ययन विषयको एक पिरियडमा ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गर्न आदेश जारी गरेको हो। आज देशभर राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदैछ। सोही अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ मन्त्रालयले विभिन्न कार्यक्रमहरू आयोजना गर्दैछ। बालबालिकाहरूमा ज्येष्ठ नागरिकका बारेमा जानकारी गराउने उद्देश्यले अध्यापन गराइदिन अनुरोध गर्दै शिक्षा मन्त्रालयलाई पत्र पठाएको थियो। मन्त्रालयको अनुरोधमा केन्द्रलाई त्यसको व्यवस्था मिलाउन भनिएको शिक्षा मन्त्रालयकी शाखा अधिकृत उषा लामिछाने जानकारी दिइन्।

अख्तियारद्वारा सर्वोच्चमा मुद्दा पुनरावेदन

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा दीपक बम र नीरक शाहीविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगका प्रवक्ता नरहरि घिमेरेका अनुसार विशेष अदालत काठमाडौंबाट भएको फैसला चित्त नबुझेका कारण मेकानिकल इन्जिनियर बमले तीन हजार रुपियाँ र विचौलिया शाहीले १० हजार ३६० रुपियाँ घुस लिएकोसम्बन्धी मुद्दा सर्वोच्चमा पुनरावेदन गरिएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनीहरुमथि कैद र जरिवाना हुन मागदाबी लिइएको आयोगले जनाएको छ ।

अस्थिरता निम्त्याउने चलखेल भइरहेको छ : महासचिव गुरुङ

दोधारा चाँदनी । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले पछिल्लो समय मुलुकमा अस्थिरता निम्त्याउने चलखेल भइरहेको बताएका छन् । प्रेस सेन्टरद्वारा आज महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “मुलुक अहिले अग्रगामी दिशातर्फ गइरहेकाले व्यवस्था उल्टिने अवस्था होइन ।” उनले जनताको समस्या बुझ्नका लागि आफ्नो पार्टीले विशेष रुपान्तरण अभियान सुरु गरेको बताए । “जनता र पार्टीको नङ र मासुको सम्बन्ध हुनुपर्छ”, उनले भने, “यसै अभियानअन्तर्गत पार्टीका नेता कार्यक्रता जनताको घरदैलोमा पुग्नेछन् ।” सरकारले जनतालाई सुशासनको प्रत्याभूति दिन परिणाममुखी काम गरिरहेको बताए ।रासस

दक्षिण कोरियाका गुप्तचर प्रमुख किम क्यु–ह्युनद्धारा राजीनामा

सोल । छिमेकी उत्तर कोरियाको आणविक हतियार र मिसाइल कार्यक्रमलाई लिएर तनाव बढ्न थालेपछि दक्षिण कोरियाको गुप्तचर एजेन्सीका प्रमुखले आइतबार पदबाट राजीनामा दिएको योन्हाप समाचार एजेन्सीले जनाएको छ । राष्ट्रपति युन सुक येओलले राष्ट्रिय गुप्तचर सेवा (एनआईएस) का निर्देशक किम क्यु–ह्युनको राजीनामा स्वीकृत गरेको योन्हापले कुनै विवरण उल्लेख नगरी जनाएको छ । एनआईएसका अरू दुई वरिष्ठ अधिकारीले पनि राजीनामा दिएका छन् । उत्तर कोरियाले उसको हतियार कार्यक्रमको विकासमा तीव्रता दिइरहेको र यसै साताको सुरुमा उसले आफ्नो पहिलो सैन्य उपग्रह सफलतापूर्वक अन्तरिक्षकक्षमा स्थापना गरेपछि यो परिवर्तन आएको हो । पूर्वउपराष्ट्रिय सुरक्षा सल्लाहकार तथा करियर कूटनीतिज्ञ किम क्यु–ह्युनलाई युनको चुनावी विजयपछि सन् २०२२ मेमा गुप्तचर प्रमुखमा नियुक्त गरिएको थियो । योन्हापका अनुसार किमले युनको प्रशासन सम्हालेपछिको अवधिमा ‘मुलुकको शीर्ष सुरक्षा तथा गुप्तचर एजेन्सीका रूपमा एनआईएसको प्रतिष्ठालाई पुनः स्थापित गर्न’ काम गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । रासस/ एएफपी

अम्बे कोसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित पाँचजना पक्राउ

सुनसरी । सुनसरीको इटहरीमा रहेको अम्बे कोसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । बचतकर्ताको रकम अपचलन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सहकारीका अध्यक्ष फणीन्द्र मगर, सञ्चालकहरू सिला गजमेर, राहुल अग्रवाल र कुमार आले रहेका छन् । एकजनाको नाम भने गोप्य राखिएको छ । उनीमाथि भने अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए । ‘जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ,’ डीएसपी कार्कीले भने, ‘सहकारी संस्थाको रकमबारे थप अनुसन्धान भइरहेको छ ।’ बचतकर्ताहरूको करिब ४० करोड बचत रकम फिर्ता गर्न नसकेपछि पीडितहरूले जिल्ला प्रशासन कार्यालय सुनसरीमा पैसा फिर्ता माग गर्दै दबाब सिर्जना गर्दै आएका थिए । प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले सहकारीका अध्यक्षसहित सञ्चालकका विरुद्धमा ठगी मुद्दा दायर गरेपछि उनीहरूलाई इटहरीका विभिन्न ठाउँहरूबाट प्रहरीले पक्राउ गरेको हो ।

नेपाली सेनामा खुल्यो ठूलो संख्यामा जागिर (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको हो । खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सैन्य पदको हकमा नेपाली सेनाको आधिकारिक वैबसाइटबाट अनलाइन दरखास्त दिन सक्नेछन् । ट्रेडका फलोअर्स पदहरूको हकमा उमेदवार स्वयं भर्ना केन्द्रमा उपस्थित भई दरखास्त फाराम भरी दरखास्त पेस गर्नुपर्नेछ । दरखास्त आजदेखि पुस ७ गतेसम्म दिन पाइनेछ । दोब्बर दस्तुर तिरेर थप एक हप्ता आवेदन दिन सकिने भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले जनाएको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

ध्काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक सम्पन्न भएको छ । बैठक आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा बसेको हो । यस्ता छन् संवत २०८० मंसिर ७ गते बिहीवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू १.विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने । २.प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रेंक ४.४६५ मिलियन (करिव ६५ करोड) अनुदान स्वीकृत गर्ने । ३.सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी गठन भएको जाँचबुझ आयोगमा चार जना जनशक्ति थप गर्ने– रा.प.द्धितीय श्रेणी, सरकारी वकिल, रा.प.द्धितीय श्रेणी उपसचिव (राजश्व), प्रहरी नायव उपरीक्षक र रा।प। तृतीय डाटा एनाइलाइटिस्ट । ४.नेपाली सेनाका उपरथि ताराध्वज पाण्डेले व्यक्तिगत कारण दर्शाइ आफ्नो पदबाट दिएको राजीनामा २०८०र०७र२४ गतेबाट लागु हुने गरी स्वीकृत गर्ने । ५.उर्जा सचिव दिनेशकुमार घिमिरेले दिएको राजीनामा स्वीकृत गर्ने ।

विधिपूर्वक लगाइयो भाइटीका, सकियो तिहार

काठमाडौं। प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज (बुधबार) दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् । यससँगै नेपालीको दोस्रो महत्त्वपूर्ण पर्व आजैदेखि सकिएको छ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं एवं अन्तिम दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको हो । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् तोयराज नेपालले जानकारी दिए । भाइटीका लगाउन आज दिनभर बाधा नभएपनि साइत खोज्नेका लागि समितिले बिहान १०ः५१ बजेको अभिजित् मुहूर्तको समय उत्तम भनी सार्वजनिक गरेको थियो । लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदी बहिनीले दाजुभाईलाई तेलको धाराले छेकेर परम्परा अनुसार आज सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरी लगायतका फूलका माला लगाइदिएका छन् । तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिएपनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद्हरुको भनाइ छ । टीका लगाइदिएपछि दिदी बहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छे अनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ । दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइएको थियो । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदी बहिनी नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा आजा एवं दर्शन गरी टीका लगाउने गर्दछन् । यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी नहुने दाजुभाइले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको छ । रासस

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

काठमाडौं । प्रतिनिधि सभाको शुक्रबारको बैठक शुरु भएको छ ।

प्रम प्रचण्डद्धारा एसियाली गेम्समा सहभागी खेलाडीलाई सम्मान, पुरस्कार एक हप्तामा निकासा हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसियाली गेम्सको १९ औं संस्करण सहभागी भई पदक हासिल गर्ने खेलाडिलाई सम्मान गरेका छन् । प्रधानमन्त्री प्रचण्डले एसियाली गेम्समा सहभागी भई नेपाल फर्किएका आज साँझ बालुवाटारमा स्वागत एंव सम्मान गरेका हुन् । वालुवाटारमा आयोजित खेलाडिसँगको भेटघाट कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफु खेलाडिलाई हौसला प्रदान गर्न होङजाओ पुगेर एसियाली गेम्स उद्घाटनमा सहभागी भएको स्मरण गर्दै खेलाडीलाई उचित पुरस्कार दिने काममा लागेको र केही कानुनी जटिलताले ढिलाइ हुन पुगेको बताए । खेल क्षेत्रको विकासका लागि सरकारको अंग म पनि हो भन्ने ठानेर अगि बढ्नुपर्ने प्रधानमन्त्रीले बताए । प्रधानमन्त्री प्रचण्डले भने -‘सरकारको अङ्ग म पनि हो भन्ने हामी सबैले ठान्यौं। हामीले केही अन्तर्राष्ट्रिय पदक हासिल गरेका छौं । केही मेडल ल्यायौं। सुधारको काममा मम भनेर काम गरौं ।’कृकेट रंगशाला बनाउन काममा तुरुन्तै लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सो क्रममा खेलाडिहरूले प्रधानमन्त्रीको खेलप्रतिको लगाव र मायाले आफुरूलाई उत्साहित बनाएको बताए । ‘कबड्डीलाई उदारतापूर्वक सरकारले सहभागी नगराको भए कहाँ अवसर हुन्थ्यो र ?’ खेलाडीले भने । प्रधानमन्त्री प्रचण्डले कबड्डी र करातेमा प्राप्त मेडलको लागि बधाई दिंदै आउने दिनमा अझै ठुलो सफलता प्राप्त गर्ने गरी लाग्न शुभकामना दिए । प्रोत्साहन रकम एक हप्तामा त्यो अर्थबाट आउने बताए । प्रधानमन्त्री प्रचण्डले भने -‘मैले जादा महिला सहभागिताको लागि बधाई दिएको थिए । अहिले महिलाले नै मेडल र रेकर्ड बनाउनु भयो तपाईंहरूलाई बधाई दिन चाहन्छु ।खेलाडीको प्रोत्साहनको लागि मैले रकम दिने घोषणा गरेको थिए। नियमावली पास गरेका थियौं आजको क्याबिनेटमा दिने निकासाका लागि निर्णय भयो र एक हप्तामा त्यो अर्थबाट आउनेछ।’ नेपालको खेल विश्वले हेरको बताउँदै क्रिकेटमा अन्तर्राष्ट्रिय रेकर्ड राखेको भन्दै प्रधानमन्त्रीले खुसी व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले भने -‘म संयुक्त राष्ट्रसंघ पुगेर आए। यसपाली नेपाललाई विश्वले देखेको छ, सुनेको छ। तपाईंहरूको विश्व रेकर्ड बनाएर नेपालको नाम स्थापित गर्नु भएको छ।सरकारको प्रमुखको हैसियतले आगामी बजेटमा खेल क्षेत्रमा विशेष बजेटको व्यवस्था गर्ने कार्यक्रम राख्नेछु।’ एसियाली गेम्सको १९ औं संस्करणमा नेपालले एक रजत र एक काँस्य पदक हात पार्न सफल भएको हो । आईतबार हान्जाओमा सम्पन्न प्रतियोगितामा नेपालबाट कराँतेकी एरिका गुरुङले ब्यक्तिगत स्पर्धामा रजत पदक हात पारिन् भने कबड्डीको महिला टोलीले टिम इभेन्ट्समा काँस्य पदक प्राप्त गरेका हुन् ।

आजको मौसम : मनसुनी वायुको प्रभाव, यी प्रदेशमा हुनेछ, मेघगर्जनसहित भारी वर्षा

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका थोरै र बांकी प्रदेशका एक(दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । दिउँसो भने देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी र मधेश प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ। राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। देशको तराई भू–भागका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

आजको मौसम : मनसुनी वायुको प्रभाव, यी प्रदेशमा हुनेछ मेघगर्जनसहित सहित भारी वर्षा

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आँशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । दिउँसो भने देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। कोशी, मधेश प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेश प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ। राती भने देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। कोशी, मधेश प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश लगायत गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

दर्ता नभएका मोबाइल असार महिनाभित्र राजस्व तिरेर दर्ता गर्न सकिने

काठमाडौं । दर्ता नभएका मोबाइल असार महिनाभित्र राजस्व तिरेर दर्ता गर्न सकिने भएको छ। दर्ता नभएका मोबाइलको राजस्व बुझाएर असार ३० गतेसम्म दर्ता गर्न सकिने विभागले जनाएको हो। नेपाल दूरसञ्चार प्राधिकरणले कार्यान्वयनमा ल्याएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा आवश्यक विवरण भरेर राजस्व बुझाएपछि मोबाइल दर्ता गर्न सकिने भन्सार विभागले जनाएको हो। २०७९ पुस १५ गतेदेखि एमडीएमएस प्रणाली कार्यान्वयन आएको घोषणा गरे पनि चर्को विरोधपछि सरकारले स्थगित गरेको थियो । त्यसअघि नै प्राधिकरणले असोज १ गते यसको परीक्षण शुरु गरेको थियो । त्यतिवेला २०७९ भदौ मसान्तसम्म प्रयोगमा रहेका सबै मोबाइललाई स्वतः सो प्रणालीमा दर्ता गरिएको थियो। त्यसयता दर्ता नभएका मोबाइल अनिवार्य दर्ता गर्नुपर्ने व्यवस्था प्राधिकरणले गरेको थियो। सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयकमार्फत दर्ता नभएका त्यस्ता मोबाइल राजस्व तिरेर दर्ता गर्न सकिने व्यवस्था गरेपछि विभागले त्यसको कार्यान्वयनका लागि असारसम्मको समय तोकेको हो। असारभित्र दर्ता नहुने मोबाइलमा ‘नेटवर्क लक’ हुने छ जसले गर्दा नेपालका दूरसञ्चार सेवा प्रदायकको सेवा लिन पाइने छैन । आर्थिक विधेयकमा विभिन्न कारणले दर्ता हुन नसकेमा मोबाइल फोन सेटको आइएमइआई नम्बर उल्लेख गरेर एकमुष्ट महशुलबापत आइफोन र एक लाख रुपैयाँभन्दा बढी मूल्यका लागि प्रतिफोन १० हजार रुपैयाँ बुझाउनुपर्ने उल्लेख छ। स्मार्ट फोन सेटका लागि प्रतिफोन सेट तीन हजार रुपियाँ र स्मार्ट मोबाइलबाहेकका अन्य साधारण मोबाइल फोनसेटका लागि प्रतिफोन सेट २०० रुपैयाँ बुझाएर एमडीएमस प्रणालीमा दर्ता गर्न चाहे प्राधिकरणले त्यस्ता फोन दर्ताको व्यवस्था गर्नुपर्ने छ।

आजको मौसम : गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी भू-भागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू–भागका ‍एक–दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ । रातीस् देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।