यो हो विश्वकै सबैभन्दा ठूलो क्रिकेट स्टेडियम, कति छ दर्शक क्षमता ?

काठमाडौंः  भारतको अहमदाबाद भन्ने शहरमा विश्वकै सर्वाधिक ठूलो क्रिकेट स्टेडियम तयार भएको छ। जम्मा ६३ एकड मा विस्तारित यो स्टेडियममा एकलाख १० हजार जनाले एकै साथ क्रिकेट हेर्न सक्ने बताइएको छ।

हालसम्म सबैभन्दा बढी दर्शक क्षमता भएको क्रिकेट मैदान अस्ट्रेलियाको ‘मेलबर्न क्रिकेट ग्राउण्ड ‘ हो। यसको दर्शक क्षमता एकलाख २४ जना बताइन्छ। त्यस्तै भारतको सबै भन्दा ठुलो मैदान भनेर चिनिने कोलकाताको इडेन गार्डन को दर्शक क्षमता ६६ हजार रहेको छ। यो विश्वकोदोस्रो ठुलो स्टेडियम मानिन्छ।

तीन वर्षमा पूरा हुँदै काम

हाल तयार भएको स्टेडियमको नाम सरदार पटेल गुजरात स्टेडियम रहेको छ। यो अहमदाबादको मोटेरा भन्ने स्थानमा रहेकाले यसलाई मोटेरा स्टेडियम पनि भन्ने गरिएको छ।

यस स्टेडियमको निर्माण कार्य तीन वर्षमै पुरा हुँदै छ। यस मैदानको भूमि पूजन जन्युअरी २०१६ मा सम्पन्न भएको थियो। हाल यसको अधिकांश काम सम्पन्न भैसकेको र डिसेम्बर २०१९ सम्म यो मैदान पूर्ण रूपमा तयार हुने भारतीय संचार मध्यमहरूमा रहेको छ। यस मैदानमा २०२० मा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलाइने र यो विश्वकै सर्वाधिक दर्शकहरूलाई बसाल्न सक्ने स्टेडियमको रूपमा रहने बताइन्छ।

कति भयाे खर्च ?

यस स्टेडियमको कुल लागत सात अर्ब भारतीय रुपियाँ रहेको बताइन्छ। यसको निर्माण गुजरात क्रिकेट संघ ले गर्न लागेको बताइएको छ।
यस मैदानको निर्माण पक्षले यसलाई पूर्ण रूपमा अन्तर्राष्ट्रिय स्तरको स्टेडियम बनाउने बताएको छ। यसमा मुख्य मैदानका अतिरिक्त तीन अभ्यास मैदान, क्लब हाउस, ओलम्पिक साइज स्विमिङ पुल र एउटा इन्डोर क्रिकेट एकेडेमी समेत रहने बताएको छ।

यसका अतिरिक्त स्टेडियमलाई कुनै खेलाडीले चौका या छक्का प्रहार गर्दा त्यहाँ उपस्थित प्रत्येक दर्शकले त्यसलाई सजिलै हेर्न सक्ने किसिमले डिजाइन गरिएको छ। साथै स्टेडियममा चार हजार कार र १० हजार दुइ पाङ्ग्रे सवारी पार्किङको सुविधा रहेको छ।

यस स्टेडियममा रातिको खेलका लागि एलइडी लाइट प्रयोग गरिनेछ। कुनै खेल मैदानमा एलइडी प्रयोग गरिएको यो पहिलो पटक हुनेछ।

त्यसका अतिरिक्त स्टेडियममा ७५ ‘कर्पोरेट बक्स’ बनाइनेछन् . मैदानभित्र प्रवेश र निकासका लागि अलग अलग व्यवस्था गर्न लागिएको छ। साथै स्टेडियमसम्म मेट्रो लाइन समेत विस्तार गरिने भएको छ।

भारतका लागि निकै फिलफाप

तर यो स्टेडियम नयाँ भने होइन। यहाँ नेर पहिले पनि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम थियो। त्यस बेला यस मैदानको दर्शक क्षमता ५४ हजार थियो। त्यसमा थुप्रै टेस्ट र एकदिवसीय खेलहरू खेलिएका छन्।

यस स्टेडियमलाइ यस अघि पनि सरदार पटेल गुजरात स्टेडियम नै थियो र यसमा विभिन्न खेलाडीहरूले थुप्रै विश्व कीर्तिमान बनाइसकेका छन्। विशेषगरि भारतका लागि त याे स्टेडियम निकै फिलफाप रह्याे ।

यसै स्टेडियममा १९८२ मा भारतीय ब्याट्सम्यान सुनिल गावस्करले टेस्ट क्रिकेटमा १० हजार रन पूरा गरेका थिए।  त्यस्तै भारतका पूर्व कप्तान कपिल देवले न्युजिल्याण्डका रिचर्ड हेडलीको रेकर्ड तोड्दै सबैभन्दा बढी टेस्ट विकेट लिने रेकर्ड बनाएका थिए।

यसै स्टेडियममा सचिन तेन्दुलकर ले पहिलो दोहोरो टेस्ट शतक प्रहर गरेका थिए। र, २०११ को विश्वकपमा भारतले यसै मैदानमा विश्व विजेता अस्ट्रेलियालाई हराएर आफ्नो विश्वकप विजयको अभियान सुनिश्चित गरेको थियो।

शहिद गोविन्द गौतमको परिवारलाई झापामा सम्मान

कञ्चनपुर, जेठ ५ । कञ्चनपुरको आनन्द बजार घटनामा देशको सीमारक्षार्थ प्राण आहुती दिने सहीद गोविन्द गौतमको परिवारलाई पुरस्कार राशीसहित झापामा अभिनन्दन गरिएको छ । झापामा स्थापना गरिएको यस वर्षको भवानीपद्म पुरस्कारबाट शहिद गौतमका पिता खेमलाल गौतम तथा धर्मपत्नी लक्ष्मी गौतमलाई शनिबार सम्मानित गरिएको गौतम कुलवंश प्रतिष्ठानका संयोजक तोया गौतमले जानकारी दिए । आयोजकले शहिद परिवारलाई झापा आउन आग्रह गरेपछि पिता खेमलाल गौतम शुक्रबार झापा पुगेका हुन्, भने काठमाडौं बस्दै आएका शहिद गौतमकी धर्मपत्नी लक्ष्मी गौतम पनि झापा पुगेकी थिइन् । दमक नगरपालिका वडा न १० नलबारी स्थित गौतम कुलवंश प्रतिष्ठानमा आयोजना गरिएको समारोहमा पुरस्कार शहिद गौतमका पिता तथा पत्नीलाई संयुक्त रूपमा प्रदान गरिएको थियो । कार्यक्रममा दस हजार रुपैया पुरस्कार सहित राखिएको सम्मान प्रदान गरिएको हो । सो पुरस्कार तथा सम्मानपत्र पत्रकार तथा ८७ वर्षीय अनुसन्धाता भवानीप्रसाद गौतम तथा उनकी धर्मपत्नी पद्मकुमारी गौतमका हातबाट शहीद गोविन्द गौतमका पिता खेमलाल गौतम तथा धर्मपत्नी लक्ष्मी गौतमलाई हस्तान्तरण गरिएको थियो ।

सडक अवरुद्ध भए अब १० मिनेटमै खुलाइने

काठमाडौं, जेठ ४ । सरकारले राजमार्ग वा सडक अवरुद्ध हुनै नदिने र यदि कुनै कारणले अवरुद्ध भए दश मिनेटभित्र नै अवरोध खुलाउन ‘राजमार्ग (सडक) मा हुने अवरोध हटाउन गर्नुपर्ने सुरक्षा कारबाहीको कार्यविधि, २०७५’ ल्याएको छ । गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामकृष्ण सुवेदीले राजमार्ग र सडक सकभर कुनै पनि कारणले अवरुद्ध हुनै नदिने र यदि कुनै कारणले अवरुद्ध भए दश मिनेटभित्र खुलाउने योजना सरकारले ल्याएको जानकारी दिए ।  उनले भने, ‘समग्र मुलुक र आम नागरिकको ‘लाइफ लाइन’ का रुपमा रहेका राजमार्ग र सडक कुनै पनि हालतमा एकछिन पनि अवरुद्ध हुनुहुुँदैन भन्ने राज्यको मान्यता छ, तै पनि यदि कुनै कारणले अवरुद्ध भएको अवस्थामा दश मिनेटभित्र खुलाउने योजना सरकारले कार्यान्वयनमा ल्याएको छ ।’  उनले ‘राजमार्ग (सडक) मा हुने अवरोध हटाउन गर्नुपर्ने सुरक्षा कारबाहीको कार्यविधि, २०७५’ कार्यान्वयनमा ल्याएको जानकारी समेत दिए ।  आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न तथा विभिन्न बहानामा राजमार्ग र सडक अवरुद्ध गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न तथा आमनागरिकलाई विनाअवरोध सहज रुपमा मुलुकभर यात्रा गर्न सहज होस् भन्ने उद्देश्यसहित सो कार्यविधि ल्याइएको प्रवक्ता सुवेदीले जानकारी दिए ।  निहित स्वार्थका लागि गरिने बन्द–हडतालका साथै प्राकृतिक विपद्का कारण समेत सडक अवरुद्ध भएको अवस्थामा पनि दश मिनेटभित्र अवरोध खुलाउने गरी उक्त कार्यविधि ल्याइएको प्रवक्ता सुवेदीले बताए । सो कार्यविधि मुलुकभरिका जिल्ला प्रशासन कार्यालयमा पठाइसकिएको जानकारी समेत उनले दिए ।  कार्यविधि कार्यान्वयनमा आएसँगै अवरुद्ध राजमार्ग र सडक खुलाउन सम्बन्धित क्षेत्रका प्रशासनले एकीकृत बल प्रयोग गर्न सक्ने प्रस्ट पार्दै प्रवक्ता सुवेदीले कार्यविधिमा अवरुद्ध हटाउने प्रक्रियाका साथै राजमार्ग र सडकलाई थप सुरक्षित बनाउने, कुनै दुर्घटना भएको अवस्थामा शीघ्र उद्धार गर्नसक्ने लगायतका व्यवस्था गरिएको जानकारी दिए । यो समाचार गोरखापत्र दैनिकबाट लिइएको हो ।

भाषण गर्दागर्दै नेताको पाइन्ट खुस्किएपछि….. (भिडियोसहित)

एजेन्सी । केही दिनदेखि सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल भइरहेको छ । एक जना भीड माझ भाषण गरिरहेका हुन्छन् । बोल्दाबोल्दै उनको पाइन्ट खुस्किन्छ, सबै मानिस गलल हाँस्छन् । फेसबुक ट्वीटरमा भाइरल भइरहेको यो भिडियोलाई लिएर विभिन्न किसिमका अफवाह फैलिरहेको छ । भाजपा र काँग्रेस समर्थक भारतीयले एकअर्को पार्टीलाई व्यंग्य गर्न यो भिडियो प्रयोग गरिरहेका छन् । भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुस् कतिपयले व्यक्ति भाजपा नेता तथा राजस्थानको अजमेरका उम्मेद्वार राकेश परिख भएको दाबी धेरैले गरेका छन् भने भाजपा समर्थकले काँग्रेस उम्मेद्वार राकेश पारिखको भिडियो भन्दै शेयर वा पोष्ट गरिरहेका छन् । तर, यो भिडियोको वास्तविकता भने अर्कै छ । खासमा यो पुरानो भिडियो हो । भिडियोमा भएका व्यक्ति हुन् उत्तराखण्डको जसपुरका नगर परिषद अध्यक्ष मोहम्मद उमर सिद्धकी । नगरपालिका निर्वाचनका दौरान भएको एक कार्यक्रममा उनको पाइन्ट खुस्किएको थियो । उनी न काँग्रेसका नेता हुन्, न भाजपा । आफू त्यसबेला बहुजन समाजवादी पार्टीमा भएको र चुनावी अभियानका दौरान आफ्नो पाइन्ट खस्किएको उनको भनाई छ ।  पारिख र उनको अनुहार करिब मिल्छ । र, वास्तवमा पारिख भाजपा उम्मेद्वार नभएर काँग्रेसका उम्मेद्वार हुन् ।

लिविया युद्द : वार्ता असफल भएलगत्तै विद्राेहीकाे आक्रमकमा २१ जनाकाे मृत्यु, नेपाली शान्ति सेना सुरक्षित

लिवियाको राजधानीमा चर्किएको संघर्षमा शान्ति स्थापनार्थ रहेका नेपाली सेना सुरक्षित रहेको नेपाली सेनाले जनाएकाे छ । सोमबार अपरान्ह सैनिक जनसम्पर्क निर्देशनालयले एक विज्ञप्ति जारी गरी त्यहाँ कार्यरत २ सय ३१ जना नेपाली शान्ति सेना सुरक्षित रहेको जानकारी दिएको हो। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँग २२ चैत्रमा भएको वार्ता असफल भएलगत्तै राजधानी त्रिपोली कब्जा गर्न विद्रोही समूहका नेता खलिफा हप्तरले आफ्ना लडाकूलाई निर्देशन दिएका थिए। त्यस यता भएको संघर्षमा सोमबार अपरान्हसम्म २१ जनाको मृत्यु भइसकेको छ भने २७ जना घाइते भएका छन्। सेनाका अनुसार, विद्रोही समूह लिवियन नेसनल आर्मीले ‘नो फ्लाई जोन’ घोषणा गरेको छ। यसको अर्थ विमानस्थल विद्रोहीको कब्जामा छ। ‘तर, त्रिपोलीबाट ट्युनिसिया जाने सडकमार्ग चालु अवस्थामा नै छ’ सेनाको विज्ञप्तीमा भनिएको छ, त्यहाँ त्यहा तैनाथ युनाइटेड नेसन्स सपोर्ट मिसन इन लिविया मिसनमा कार्यरत केही स्टाफहरुलाई उक्त मिसनले सडकमार्ग प्रयोग गरी छिमेकी राष्ट्र ट्युनिसिया पठाउने कार्य सुरु गरेको छ।’ नेपाली सेनाका अनुसार, संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि तथा उक्त मिशनका प्रमुख घासन सलामे लगायत मिशनका उच्च पदस्थ पदाधिकारीहरु हालसम्म पनि राजधानी त्रिपोलीस्थित मिशन हेडक्वार्टरमा नै रहेका छन्। यद्यपी, विद्रोही समूह एलएनएले आक्रामक गतिविधि तीब्र पार्दै लगेपनि त्यहाँको सुरक्षास्थिति तनावपूर्ण बन्दै गइरहेको नेपाली सेनाले जनाएको छ।

सुनौलो हजार दिनका आमालाई निःशुल्क सिमकार्ड वितरण

बेझाड, चैत ४ । पाल्पाको निस्दी गाउँपालिका–६ अर्चलेमा सुनौलो हजार दिनका ५० आमालाई निःशुल्क सिमकार्ड वितरण गरिएको छ । स्वास्थ्य पोषण कार्यक्रमअन्तर्गत यहाँका सुनौलो हजार दिनका ५० आमालाई स्मार्ट सिमकार्ड वितरण गरिएको वडाध्यक्ष मेखबहादुर सुनारीले जानकारी दिए । स्वास्थ्य, पोषणसम्बन्धी सन्देशमूलक सूचना एकापसमा आदानप्रदान गरी सिमकार्डको सही सदुपयोग गर्न उनले आग्रह गरे । पछौटेपन उन्मूलन समाज (बेस) नेपालअन्तर्गत सञ्चालित सुआहाराको सहयोगमा सीम कार्ड वितरण गरिएको हो । बच्चा गर्भमा रहेको दिनदेखि एक हजार दिन अर्थात जन्मिएको दुई वर्षसम्मका आमाहरुबीच निःशुल्क मोबाइलमा कुरा गरी स्वास्थ्य र पोषणसम्बन्धी सूचनामूलक सन्देश पनि पाउन सकिने सहजकर्ता भगीसरा सुनारीले बताए । सीम कार्डमा रु २० को बोनस र एक सय मेगाबाइट डाटा रहेको छ । यसैगरी पूर्वखोला गाउँपालिका–२ जल्पामा पनि २४ जना सुनौलौ हजार दिनका आमाहरुलाई स्मार्ट सीमकार्ड वितरण गरिएको छ ।

तीन महिनापछि खुल्ला विज्ञापनको कापी परीक्षण, नतिजा कहिले आउने ?

भक्तपुर, पुष २३ । परीक्षा लिएको तीन महिनापछि बल्ल शिक्षक सेवा आयोगले सोमबारबाट खुल्ला विज्ञापनको कापी परीक्षणको काम शुरु गरेको छ । काठमाडौं उपत्यकाका छुट्टा छुट्टै तीन स्थानमा कापी परीक्षण शुरु गरेको आयोगका अध्यक्ष ताना गौतमले जानकारी दिए । काठमाडौंको विश्व निकेतन र रत्नराज्य विद्यालय तथा भक्तपुर स्थित आयोगकै कार्यालयमा सोमबारबाट कापी परीक्षणको काम शुरु भएको उनले बताए । नतिजा प्रकाशनको काम चाँडै सक्ने गरी आवश्यक परेमा अन्य स्थानमा पनि परीक्षणको ब्यवस्था गर्न सकिने उनको भनाई छ । यस अघि ताहाचल स्थित जनप्रभात माविमा परीक्षण गरिएको थियो । गत असारमा भएको खुल्ला विज्ञापनको परीक्षा असोजमा भएको थियो । माविको असोज ११ गते, निमाविको १२ र प्राविको १३ गते परीक्षा भएको थियो । यही बीचमा अस्थायी शिक्षकको परीक्षाको प्रकृयागत काम सक्नु पर्दा खुल्लाको काममा केही प्रभाव परेको आयोगका पदाधिकारीले बताउँदै आएका छन् । आईतबार काठमाडौं उपत्यकाको लिखित नतिजा प्रकाशन गरे सँगै अस्थायीको लिखितको नतिजा सार्वजनिक गर्ने काम सकिएको छ । त्यस पछि आयोगले खुल्लाको कापी परीक्षण शुरु गरेको हो । कूल १२ हजार ७ सय ३९ पदका लागि भएको विज्ञापनमा २ लाख ८२ हजारले आवेदन गरेका आयोगले जनाएको छ । प्राथमिक तहमा ९ हजार ९ सय ९६, निमावि तहमा १६ सय ३५ र मावि तहमा ११ सय ८ पदमा आयोगले विज्ञापन गरेको हो । इडियूखबरबाट

समायाेजन फाराम नभर्ने कर्मचारीलाई ठाडाे कारवाहीकाे चेतावनी दिए मन्त्री पण्डितले

काठमाडौंँ, पुस १९ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन प्रक्रिया सुरु भएकाले सो अभियानमा असहयोग गर्ने कर्मचारीलाई कानुनअनुसार कारबाही हुने बताउनुभएको छ ।  गोरखापत्र दैनिकमा प्रकाशित समाचारमा मन्त्री पण्डितले सङ्घीय प्रणालीको स्थायी कार्यान्वयनको सुरुवात कर्मचारी समायोजनबाटै हुने विश्वास व्यक्त गर्नुभयो । जनताको सेवालाई घरदैलोमा पु¥याउन सङ्घीय प्रणालीको आवश्यकता परेकाले जनताको सेवामा असहयोग गर्ने कर्मचारीलाई सरकारले छुट नदिने चेतावनीसमेत उहाँले दिनुभयो । कर्मचारी समायोजन गर्दा निजामती कर्मचारीलाई आवश्यक रुपमा सरकारले प्रोत्साहन सुविधा प्रदान गर्ने भएकाले नकारात्मक विषयको पछाडि नलाग्न उहाँले आम कर्मचारीलाई आव्हान गर्नुभयो । “समायोजन कर्मचारीका निम्ति अवसरको पुलिन्दा हो । समायोजनबाट तर्सिनुपर्ने, मुख अमिलो बनाउनुपर्ने कुनै कारण छैन” मन्त्री पण्डितले भन्नुभयो–‘आन्दोलनको नाममा मुलुकमा अराजकता सिर्जना गर्न खोज्नेलाई कानुनअनुसार कारवाही हुन्छ ।’ कर्मचारी मनचिन्ते रोगबाट ग्रसित भएको टिप्पणी गर्दै उहाँले भन्नुभयो, “कर्मचारी ‘मन चिन्ते’ रोगबाट बाहिर आउनुपर्छ । समायोजनले कर्मचारीको मनोबल घटाउने आरोप, विरोध मनगढन्ते कुरा मात्र हो । केही नपाएपछि कनिका केलाउनु जस्तै हो ।” समायोजन प्रक्रियामा सरकारले कर्मचारीलाई आवश्यक प्रोत्साहन सुविधा प्रदान गर्न लागेको बताउँदै उहाँले दुर्गम ठाउँमा समायोजन हुने कर्मचारीलाई थप सेवा सुविधा प्राप्त हुने प्रष्ट पार्नुभयो । कर्मचारी समायोजनका लागि २१ दिने सूचना जारी गरी कर्मचारीको इच्छा जाहेरको काम भइरहेको बताउनुहुँदै मन्त्री पण्डितले आवेदन नभर्ने कर्मचारीलाई नछाड्ने चेतावनी दिनुभयो । “आवेदन नभर्ने कर्मचारी पनि सरकारका कर्मचारी हुनेछन्, जागीर खाँदा बुझाएको नागरिकताको ठेगानालाई आधार बनाएर समायोजनको काम गर्छौं” मन्त्री पण्डितले भन्नुभयो । सरकारी जागीर खाइसकेपछि सरकारले खटाएको ठाउँमा जाँदैनौ भन्ने कर्मचारीलाई छुट छैन भन्दै मन्त्री पण्डितले भन्नुभयो, “अटेर गर्ने, जिम्मेवारी निर्वाह नगर्ने कर्मचारीलाई घर पठाउनुबाहेक सरकारसँग अर्को विकल्प रहँदैन ।” सरकार समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थक पार्न अगाडि बढेकाले सो अभियानमा साथ दिन उहाँले सबै कर्मचारीलाई आव्हान गर्नुभयो ।

तपाईको कुनै शैक्षिक सुझाव छन्, राष्ट्रिय शिक्षा आयोगको अपिल (पूर्णपाठ)

काठमाडौं, पुस १८ । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले शिक्षा सम्बन्धी नयाँ व्यवस्थाका लागि प्रतिवेदन तयार पारी मन्त्रिपरिषदमा पेश गर्न लागेको जानकारी गराउँदै त्यसका लागि नागरिकलाई सुझावको अपील गरेको छ । आयोगले आफ्नो मस्यौदा प्रतिवेदन र वेबसाइटमार्फत् सुझावका लागि सर्वसाधारणलाई अपील गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गीरिराजमणि पोखरेलको अध्यक्षतामा २४ सदस्यीय आयोग गठन भएपछि सर्वसाधारणलाई सुझावका लागि आग्रह गरेको हो । यस्तो छ आयोगको अपील नेपालको संवैधानिक व्यवस्था र समाजवाद उन्मूख आर्थिक सामाजिक रुपान्तरणका लागि संघीय संरचनामा आधारित लोकतान्त्रिक, समावेशी एवं समानतामूलक समाज निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहसमेतलाई समेट्ने गरी शिक्षाको दूरदृष्टि, नीति, रणनीति र संरचना, समसामयिक सुझावहरु सहितको विस्तृत प्रतिवेदन तयार गरी नेपाल सरकारसमक्ष प्रस्तुत गने उद्देश्यसहित नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७५।३।३२ को निर्णयबाट माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीज्यूको अध्यक्षतामा २४ सदस्यीय राष्ट्रिय शिक्षा आयोगको गठन भएको छ । आयोगबाट सम्पादन गर्ने कामलाई व्यवस्थित गरी आठवटा विषयगत समूहहरु (प्रारम्भिक वालविकास तथा आधारभूत शिक्षा, माध्यमिक शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा, उच्च शिक्षा, आजीवन सिकाइ र अनौपचारिक शिक्षा, सुशासन, शिक्षामा गुणस्तर र वित्त र साझेदारी, समावेशीकरण० गठन भई आ–आफ्नो कार्यादेशबमोजिम सरोकारवालाहरुसँग विभिन्न विधि र माध्यमहरुमार्फत् छलफल, अन्तर्राष्ट्रिय, स्थलगत अध्ययन भ्रमणसमेत गरी राय सुझावहरु संकलन गने कार्य निरन्तर रुपमा चलिरहेको छ । उक्त आठ विषय–क्षेत्रमा आधारित रही मूल प्रतिवेदनको ढाँचा तय भएको र सोबमोजिम प्रारम्भिक मस्यौदा तयार भएको छ । आयोगले शिक्षाको २५ वर्षे दूरदृष्टि र शिक्षाको सिद्घान्त तयार गरिसकेको छ । राय सुझाव संकलनको खाका तयार गरेको छ । आयोगको प्रतिवेदनमा अधिकतम सरोकारवालाहरुका राय र सुझावहरु समावेश गरी यसको अपनत्व, गरिमा र सर्वस्वीकार्यतालाई अभिवृद्धि गर्ने कार्यको निरन्तरताकै रुपमा राष्ट्रिय स्तरमा राय सुझाव संकलन कार्यक्रमहरु सञ्चालन गर्न लागिएको छ । हालसम्मका छलफलका क्रममा उठाइएका मुद्दाहरु, समस्याहरु तथा प्राप्त सुझावहरुलाई एकत्रित गर्दै संक्षेपीकरण गरी तपाईहरुसमक्ष प्रस्तुत गररएको छ । कतिपय विषयहरु छुट पनि भएका हुन सक्छन् । प्रस्तुत मुद्दा एवं समस्याहरुमा केन्द्रित रहेर यहाँहरुका अमूल्य राय सुझावहरुको यस आयोग खुला हृदयले स्वागत गर्दछ । यो प्रारम्भिक मस्यौदा भएकाले भाषा र विषयवस्तुको सम्पादनमा समुचित ध्यान पुग्न नसकेको हुनसक्छ, यस पक्षमा समेत सुझावको अपेक्षा गरिएको छ । साथै आयोगको इमेल र वेवसाइटमार्फत् समेत सुझाव प्रश्तुत गर्न सक्ने व्यवस्था जानकारीको लागि अनुरोध छ । सुझाव इमेल ठेगानाः [email protected], वेभसाइटः www.moe.gov.np/aayog मा पठाउन सकिने छ ।

द्वन्द्वपीडितलाई पुनःस्थापना गर्छौँ : मुख्यमन्त्री

सुर्खेत, पुस १३ । बाँफिकोट गाउँपालिका–२ रुुकम पश्चिमका ६५ वर्षीय मङ्गली खत्रीलगायत दर्जन बढी द्वन्द्वपीडित महिला बिहीबार पहिलोपटक कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगे । महिला पुनःस्थापन केन्द्र (ओरेक) संस्थाद्वारा आयोजित ‘द्वन्द्व प्रभावित महिलाहरुको सामाजिक न्याय र परिपूरणका लागि प्रदेशस्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम’ मा सहभागी हुन मङ्गलीसहित १९ जना महिला त्यहाँ पुगेका थिए । कार्यक्रममा उनीहरुले आफ्ना पीडा, आक्रोश र गुनासा प्रकट गरे । त्रिवेणी गाउँपालिका–३ रुकुम पश्चिमका ६४ वर्षीया कृष्णा ओलीले आफ्नो जेठो छोरो लालबहादुर ओलीलाई गुमाएको १९ वर्षसम्म कुनै न्याय नपाएको दुखेसो गरे । “सँगै युद्ध गरेकाहरु सरकारमा छन् तर हामी सन्तान नहुनाको पीडाले छट्पटाइरहन्छौँ”, उनले भने, “शहीद परिवारलाई न्याय गर्छौँ भन्नेहरुले आफ्नै लागि मात्र गरे ।” रुकुम बाँफिकोट–८की मनिषा केसीले भने अर्धशहीद जस्तो भएर बाँच्नुपर्नाको पीडा पोख्दै भने, “पहुँचवाला द्वन्द्वपीडितले मात्र राहत र अन्य सेवासुविधा लिएका छन् । हामी त घर न घाटका भएका छौँ ।” सामाजिक विकासमन्त्री दल रावल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी, राष्ट्रिय मानवअधिकार आयोगका निर्देशक मुरारी खरेल, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा पुण्य रेग्मीको सहभागितामा भएको उक्त कार्यक्रममा गुनासो गर्नेहरू सबैले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग पनि उहाँकै कार्यकक्षमा भेटेर आफ्ना गुनासा सुनाए । मुख्यमन्त्री शाहीले द्वन्द्वका क्रममा घाइते भई हाल अर्कैको सहयोगमा बाँचेकालाई सुर्खेतमै पुनःस्थापन गरिने बताउँदै तिनको व्यवस्थापनका लागि सरकारको ध्यान गएको छ भने । “हिजोको घटनाले अहिलेसम्म पनि द्वन्द्वपीडित प्रभावित छन्”, उनले भने, “सबै समस्या एकैचोटी सम्बोधन हुन सक्दैन तर पनि राज्यले समाधानको उपाय खोज्नैपर्छ ।” मुख्यमन्त्री शाहीले अरुको सहयोगमा बाँच्न बाध्य द्वन्द्वपीडितका लागि पुनःस्थापन केन्द्र निर्माण गर्ने, घाइते तथा अपाङ्गता भएका व्यक्तिको क्षमताका आधारमा काम दिलाउने, सबै तथ्याङ्क सङ्कलन गर्ने र तिनको सहज जीवन यापनका लागि मनोविमर्शकर्ताको समेत व्यवस्था गर्ने सोच रहेको बताए । आयोजक संस्थाका अध्यक्ष डा रेणु अधिकारीले रुकुम पश्चिम पिपलबोटका ४२० महिलामा ८० प्रतिशत महिलामा लैङ्गिक हिंसा भएको र महिलाका पीडामा विगतका सरकार संवेदनशील नभएकामा यस प्रदेश सरकारले महिलालाई पीडाबाट मुक्त तुल्याउन विशेष संयन्त्र निर्माण गर्नुपर्दछ भने । “समस्या बुझेर आएकासँग आशा र विश्वास दुवै हुन्छ”, द्वन्द्वपीडित महिलाको नेतृत्व गर्दै आउनुभएकी मङ्गलीले भने, “तर तिनैले बगाएको रगतको अपमान गर्दा रिस पनि उठ्छ ।” द्वन्द्वपीडित महिलाले आफ्ना समस्या समधानका लागि मुख्यमन्त्री शाहीसमक्ष ११ बुँदे मागपत्र पनि बुझाएका थिए । उनीहरुले प्राणको आहुति दिएर नेता बनाउँदा र सरकारमा पुर्याउँदा पनि पीडितको पीडा नबुझेको भन्दै अबको सरकारले आफ्नो अभिभावक बनिदिन आग्रह गरेका थिए । रासस

दश वर्षमा ६० हजार नेपाली युवा कोरियाको श्रम बजारमा

काठमाडौ‌, पुष १२ । नेपाली श्रमिकका लागि आकर्षक गन्तव्यका रुपमा ठहरिएको दक्षिण कोरियामा एक दशकको अवधिमा झण्डै ६० हजार नेपालीले रोजगारीको अवसर प्राप्त गरेका छन् । सन् २००८ देखि दक्षिण कोरियाले रोजगारी अनुमति प्रणाली (इपिएस) मार्फत नेपाली कामदारलाई कोरियाको श्रम बजारमा रोजगार अनुमति प्रदान गर्दै आएको थियो । एक दशकको अवधिमा तीन हजार ४८७ महिलासहित ५८ हजार ७०९ नेपाली युवाले कोरियामा रोजगारीको अवसर प्राप्त गरेका वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले जनाएको छ । सन् २००८ देखि २०१८ सम्म सञ्चालित भाषा परीक्षामा झण्डै पाँच लाख युवाले सहभागिता जनाएका थिए । विभिन्न चरणमा सम्पन्न कोरिया भाषा परीक्षामा चार लाख ८३ हजार ४९ युवाले सहभागिता जनाएको शाखाको तथ्याङ्कमा उल्लेख छ । भाषा परीक्षामा सहभागी हुने युवाको उल्लेख्य सहभागिताले दक्षिण कोरिया नेपालीको आकर्षक श्रम गन्तव्य ठहरिएको पुष्टि हुन्छ । एक दशकका अवधिमा ७० हजार ४६९ जनाले भाषा परीक्षा उतीर्ण गरेपनि ६९ हजार ९८ जनाले मात्र रोजगार आवेदन फारम भरेका थिए । सन् २००८ देखि नै कोरियाले कोटा छुट्ट्याएर नेपाली कामदार लैजाँदै आएको छ । सन् २००८ मा ८१ महिलासहित दुई हजार ७३३ पुरुष रोजगारीका लागि कोरिया गएका थिए । उक्त वर्ष ३१ हजार ५२५ जना भाषा परीक्षामा सहभागी भएका थिए भने ३०८ महिलासहित छ हजार ४०६ जनाले भाषा परीक्षा उत्तीर्ण गरेका थिए । सन् २००९ भाषा परीक्षा सञ्चालन नभए पनि अघिल्लो वर्ष भाषा परीक्षा उत्तीर्ण गरेका ६४ महिलासहित एक हजार ९११ युवाले कोरियाको श्रम बजारमा रोजगारीको अवसर प्राप्त गरेको शाखाले जनाएको छ । सन् २०१० मा दुई हजार ३३९, २०११ मा तीन हजार ९८३, २०१२ मा छ हजार ३३२, २०१३ मा पाँच हजार ४६, २०१४ मा छ हजार २८, २०१५ मा पाँच हजार ८६६, २०१६ मा आठ हजार ७९, २०१७ मा सात हजार ८०० र सन् २०१८ मा आठ हजार ५११ ले दक्षिण कोरियामा रोजगारीको अवसर प्राप्त गरेका थिए । निकै इमान्दार र मेहनती श्रमिकको मान्यता पाएका नेपाली श्रमिकलाई कोरियाका रोजगारदाताले समेत विश्वास गर्दै आएका छन् । अन्य देशका तुलनामा नेपाली करार अवधि सकिएसँगै स्वदेश फर्कने, अवैधानिक बसोबास नगर्ने पाइएका कारण पनि नेपाली कामदार कोरियाली रोजगारदाताको रोजाइमा पर्दै आएका हुन् । सोहीअनुरुप कोरिया सरकारले वर्षेनी नेपाली कामदार लैजाने कोटा बढाउँदै आएको छ । कोरिया सरकारले इपिएसमार्फत सन् २०१९ मा नेपालबाट यसअघिको भन्दा निकै ठूलो सङ्ख्यामा नेपाली कामदार लैजाने सङ्केत गरेको छ । कोरियाले सन् २०१९ मा विभिन्न देशबाट ५६ हजार आप्रवासी कामदार भित्र्याउने घोषणा गरिसकेको छ । सन् २०१९ मा कोरिया सरकरले यसअघिभन्दा बढी आप्रवासी कामदार भित्र्याउने घोषणा गरेसँगै नेपाली कामदारको माग पनि बढ्न सक्ने वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले बताउनुभयो । अन्य मुलुकको तुलनामा आकर्षक सेवा सुविधाका कारण पनि दक्षिण कोरिया नेपाली युवाको आकर्षक श्रम गन्तव्यमा परेको उनले बताए । आकर्षक सुविधा दक्षिण कोरियाले भाषा परीक्षा उत्तीर्ण नेपाली श्रमिकलाई कृषि र औद्योगिक क्षेत्रमा रोजगारीका लागि लैजाने गरेको छ । खाडी मुलुकमा जस्तो कामदारले अनावश्यक झण्झट व्यहोर्नु नपर्ने र आकर्षक तलब सुविधाका कारण पनि कोरिया नेपाली कामदारको रोजाइमा पर्दै आएको छ । कोरिया सरकारले विभिन्न दुर्घटनामा परेका श्रमिकका लागि बीमाबापतको क्षतिपूर्ति दिने गरे पनि कुनै कामदारको असामयिक मृत्यु भएमा उनीहरुले कुनै राहत पाउँदैनथे । अब भने अनायासमै मृत्युवरण गरेका श्रमिकका परिवारले रु तीन लाख आर्थिक सहायता प्राप्त गर्ने कोरिया सरकारले निर्णय गरेको छ । अहिले नेपाली कामदारले मासिक रु एक लाख ५० हजारदेखि दुई लाखसम्म पारिश्रमिक पाउँदै आएका छन् । त्यस्तै सुरक्षित गन्तव्य, कामको सुनिश्चितता कामदार र रोजगारदाताको कार्यसम्झौता, वैधानिकता र अधिकार स्थापित हुने, काम गर्ने अवधिको निश्चितता (चार वर्ष १० महीना), पुनःकोरिया जान सकिने, तेस्रो पक्ष र दलालको गुञ्जायस नहुनेलगायत कारणबाट कोरिया जान इच्छुक नेपालीको सङ्ख्या बढ्दै गएको निर्देशक खनालले बताए । यस्तै नेपाल र कोरिया सरकारबीच कोरियामा काम गरिरहेका कामदारले आफ्नो करार अवधिमा कम्तीमा पनि एकपटक परिवारलाई कोरिया लैजान सक्ने सहमति भइसकेको छ । जसअनुसार अहिलेसम्म केही श्रमिकका परिवार कोरिया गइसकेका छन् । १६० नेपालीको मृत्यु आकर्षक गन्तव्यका रुपमा रहेको कोरियामा पछिल्लो समय विभिन्न कारणबाट मृत्यु हुने नेपालीको सङ्ख्या बढ्दै गएको छ । सन् २००७ देखि हालसम्म विभिन्न कारणबाट १६० नेपालीको मृत्यु भइसकेको छ । डिप्रेशनका कारण आत्महत्या, औद्योगिक तथा सडक दुर्घटना र सुतेकै अवस्थामा नेपालीले ज्यान गुमाउँदै आएका पनि छन् । सियोलस्थित नेपाली दूतावासका श्रम काउन्सिलर डिल्लीराम बास्तोलाले करार अवधिमा एक पटक कामदारले परिवार लैजान सक्ने व्यवस्थापछि आत्महत्याको घटनामा कमी आउने विश्वास व्यक्त गरे । मानसिक तनाव, कामको चाप, खानपिन, हावापानीलगायत कारणबाट कोरियामा मृत्यु हुने नेपालीको सङ्ख्या बढ्दै गएको छ, उनले भने, “कोरियामा काम गर्ने नेपालीमा डिप्रेसनको अवस्था भयावह छ, कडा काम, रोजगारदाताको कामप्रतिको कडाई, परिवारको चाहनालगायत कारणबाट नेपालीमा मानसिक रोग देखापरेको छ । यसबाट आत्महत्याको घटनामा समेत वृद्धि भएको हुनसक्छ ।” रासस

बैंकिङ्ग तयारी गर्नेले जान्नैपर्ने : देशको पछिल्लो आर्थिक तथा वित्तीय स्थिति

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो चार महिना अर्थात कात्तिक मसान्तसम्मको तथ्यांकमा आधारित रहेर देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गरेको छ । जसअनुसार, वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.२ प्रतिशत रहेको छ । आयातको वृद्धिदर ३५.८ प्रतिशत र निर्यातको वृद्धिदर ११.० प्रतिशत रहेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३६.४ प्रतिशत र अमेरिकी डलरमा २३.१ प्रतिशतले बढेको छ भने शोधनान्तर स्थिति रु.५७ अर्ब ३३ करोडले घाटामा रहेको छ । सरकारको नगद प्रवाहमा आधारित कुल खर्च १७.५ प्रतिशतले र राजस्व संकलन ३०.५ प्रतिशतले बढेको छ । विस्तृत मुद्राप्रदाय ३.५ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा विस्तृत मुद्राप्रदाय १८.६ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन ३.६ प्रतिशतले र निजी क्षेत्रतर्फको कर्जा ८.५ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १७.९ प्रतिशत र कर्जाको वृद्धिदर २४.५ प्रतिशत रहेको छ । मुद्रास्फीति उपभोक्ता मुद्रास्फीति १. २०७५ कात्तिक महिनामा वार्षिक बिन्दगत उपभोक्ता मुद्रास्फीति ४.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ३.९ प्रतिशत रहेको थियो । खासगरी खाद्य तथा खाद्यजन्य पदार्थ, यातायात, घरायसी सेवा तथा उपयोगिता र लत्ताकपडा आदिको मूल्य बढेका कारण समीक्षा अवधिमा समग्र मुद्रास्फीति केही बढ्न गएको हो । खाद्य तथा पेय पदार्थ मुद्रास्फीति २. २०७५ कात्तिक महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त समूहको मुद्रास्फीति २.३ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा दाल तथा गेडागुडी, चिनी तथा चिनीजन्य पदार्थ, तरकारी उप–समूहका वस्तुहरुको मूल्य घटेका कारण समग्र खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति न्यून रहेको हो । गैर–खाद्य तथा सेवा मुद्रास्फीति ३. समीक्षा अवधिमा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति ५.१ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गत यातायात, फर्निसिङ तथा घरायसी उपकरण, घरायसी सेवा तथा उपयोगिता लगायतका उप–समूहका वस्तु तथा सेवाहरुको मूल्यमा वृद्धि भएकोले समग्र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति बढ्न गएको हो । क्षेत्रगत उपभोक्ता मुद्रास्फीति ४. २०७५ कात्तिक महिनामा उपभोक्ता मुद्रास्फीति हिमालमा ४.६ प्रतिशत, काठमाडौं उपत्यकामा ४.५ प्रतिशत, पहाडमा ४.३ प्रतिशत र तराईमा ३.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ५.४ प्रतिशत, ३.२ प्रतिशत, ४.७ प्रतिशत र ३.७ प्रतिशत रहेको थियो । नेपाल र भारतको उपभोक्ता मुद्रास्फीति ५. २०७५ कात्तिक महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२ प्रतिशत र भारतको २.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति ३.९ प्रतिशत र भारतको ४.९ प्रतिशत रहेको थियो । थोक मुद्रास्फीति ६. २०७५ कात्तिक महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ८.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति ०.८ प्रतिशत रहेको थियो । गैर–खाद्य पदार्थ, पेट्रोलियम पदार्थ, तयारी पोशाक, आधारभूत धातु लगायतका वस्तुहरुको मूल्यमा वृद्धि भएकोलेसमग्र थोक मुद्रास्फीति बढ्न गएको हो । राष्ट्रिय तलव तथा ज्यालादर सूचकाङ्क ७. समीक्षा अवधिमा वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क ८.९ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकाङ्क ६.१ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा तलब सूचकाङ्क ६.६ प्रतिशत र ज्यालादर सूचकाङ्क ९.५ प्रतिशतले वृद्धि भएको छ । बाह्य क्षेत्र वैदेशिक व्यापार ८. आर्थिक वर्ष २०७५/७६ को चार महिनामा कुल वस्तु निर्यात ११ प्रतिशतले वृद्धि भई रु.२९ अर्ब २८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ७.६ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ १८.३ प्रतिशत, चीनतर्फ ८.९ प्रतिशत र अन्य मुलुकतर्फ २.२ प्रतिशतले निर्यात वृद्धि भएको छ । वस्तुगत आधारमा पोलिष्टर यार्न, जस्तापाता, कपडा, दन्त मञ्जन, जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने अलैची, रोजिन, छाला, जुत्ता, जी. आइ. पाइप लगायतका वस्तुहरुको निर्यात घटेको छ । ९. आर्थिक वर्ष २०७५/७६ को चार महिनामा कुल वस्तु आयात ३५.८ प्रतिशतले बढेर रु.४८३ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १८.१ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ३३.५ प्रतिशत, चीनबाट भएको आयात ४५.१ प्रतिशत र अन्य मुलुकबाट भएको आयात ३६.८ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, हवाइजहाज, एम.एस. बिलेट, अन्य मेशिनरी उपकरण तथा पार्टपुर्जा, सवारी साधन तथा पार्टपुर्जा, धान चामल लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, कच्चा भटमासको तेल, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, स्वास्थ उपकरण तथा औजार लगायतका वस्तुहरुको आयात घटेको छ । १०. भन्सार नाकाका आधारमा कन्चनपुर भन्सार कार्यालय, कैलाली भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय, सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट गरिएको निर्यातमा ह्रास आएको छ भने अन्य भन्सार नाकाहरुबाट गरिएको निर्यातमा वृद्धि आएको छ । त्यसैगरी, कन्चनपुर भन्सार कार्यालय बाहेक अन्य सबै नाकाबाट भएको आयातमा वृद्धि भएको छ । ११. आर्थिक वर्ष २०७५/७६ को चार महिनामा कुल वस्तु व्यापार घाटा ३७.८ प्रतिशतले विस्तार भई रु.४५४ अर्ब ४८ करोड पुगेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६.१ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ७.४ प्रतिशत रहेको थियो । सेवा १२. समीक्षा अवधिमा खुद सेवा आय रु.१३ अर्ब १६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.३ अर्ब १ करोडले घाटामा रहेको थियो । १३. सेवा खाता अन्र्तगत पर्यटन आय समीक्षा अवधिमा १०.३ प्रतिशतले वृद्धि भई रु.२५ अर्ब १ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय रु.२२ अर्ब ७२ करोड रहेको थियो । विप्रेषण आप्रवाह १४. समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३६.४ प्रतिशतले वृद्धि भई रु.३१२ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.४ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३.१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको थियो । १५. समीक्षा अवधिमा खुद ट्रान्सफर आय ३३.६ प्रतिशतले वृद्धि भई रु.३५२ अर्ब ९७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.५ प्रतिशतले घटेको थियो । १६. अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा २७.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा मलेसिया जाने नेपालीहरुको संख्या उल्लेख्य मात्रामा घटेको छ । चालु खाता एवम् शोधनान्तर स्थिति १७. समीक्षा अवधिमा चालु खाता घाटा रु.८८ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु. ४८ अर्ब ९८ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको चार महिनामा २५ करोड ७ लाख रहेको चालु खाता घाटा समीक्षा अवधिमा ७७ करोड ४१ लाख पुगेको छ । १८. समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.५७ अर्ब ३३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२ अर्ब ४० करोडले बचतमा रहेको थियो । १९. समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर रु.४ अर्ब २२ करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रु.४ अर्ब ९५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर रु.६ अर्ब ४२ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु.१० अर्ब १७ करोड रहेको थियो । विदेशी विनिमय सञ्चिति २०. कुल विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तको रु.११०२ अर्ब ५९ करोडबाट १.८ प्रतिशतले कमी आई २०७५ कात्तिक मसान्तमा रु.१०८२ अर्ब ९१ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७५ असार मसान्तको १० अर्ब ८ करोडबाट ६.५ प्रतिशतले कमी आई २०७५ कात्तिक मसान्तमा ९ अर्ब ४३ करोड पुगेको छ । २१. कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७५ असार मसान्तको रु.९८९ अर्ब ४० करोडको तुलनामा २०७५ कात्तिक मसान्तमा रु.४४ अर्ब ८६ करोडले कमी आई रु.९४४ अर्ब ५४ करोड पुगेकोछ । अर्कोतर्फ, बैंक तथा वित्तीय संस्थाहरु (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा रु.११३ अर्ब १९ करोड रहेकोमा २०७५ कात्तिक मसान्तमा २२.२ प्रतिशतले वृद्धि भई रु.१३८ अर्ब ३७ करोड पुगेको छ । २०७५ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ प्रतिशत रहेको छ । सञ्चिति पर्याप्तता सूचकहरु २२. आर्थिक वर्ष २०७५/७६ को चार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९.२ महिनाको वस्तु आयात र ७.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३६ प्रतिशत, ६५.८ प्रतिशत र ३३.८ प्रतिशत रहेका छन् । २०७५ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३६.७ प्रतिशत, ७८.६ प्रतिशत र ३५.६ प्रतिशत रहेका थिए । कच्चा पेट्रोलियम एवम् सुनको मूल्य २३. अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य २०७४ कात्तिक मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ६१.१८ रहेकोमा २०७५ कात्तिक मसान्तमा ६.७ प्रतिशतले वृद्धि भई प्रति ब्यारल अमेरिकी डलर ६५.२९ पुगेको छ । त्यसैगरी, सुनको मूल्य २०७४ कात्तिक मसान्तमा प्रति आउन्स अमेरिकी डलर १२८० रहेकोमा २०७५ कात्तिक मसान्तमा ४.५ प्रतिशतले कमी आई प्रति आउन्स अमेरिकी डलर १२२२.४० कायम भएको छ । विनिमय दर २४. २०७५ असार मसान्तको तुलनामा २०७५ कात्तिक मसान्तमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग ४.८ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ १.१ प्रतिशतले अवमूल्यन भएको थियो । ट २०७५ कात्तिक मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु.११४.८८ पुगेको छ । २०७५ असार मसान्तमा उक्त विनिमय दर रु.१०९.३४ रहेको थियो । सरकारी वित्त स्थिति वित्त घाटा/बचत २५. आर्थिक वर्ष २०७५/७६ को चार महिनामा नगद प्रवाहमा आधारित नेपाल सरकारको वित्त स्थिति रु.५१ अर्ब १ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत रु.३२ अर्ब १५ करोड रहेको थियो । सरकारी खर्च २६. समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च रु.२०७ अर्ब ६८ करोड (वार्षिक बजेट अनुमानको १५.८ प्रतिशत) पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु.१७६ अर्ब ७० करोड रहेकोथियो । २७. समीक्षा अवधिमा चालू खर्च रु.१७३ अर्ब ७८ करोड (वार्षिक बजेट अनुमानको २०.६ प्रतिशत) पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु.१५२ अर्ब १२ करोड रहेको थियो । समीक्षा अवधिमा रु.२६ अर्ब १ करोड (वार्षिक बजेट अनुमानको ८.३ प्रतिशत) पूँजीगत खर्च भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु.१७ अर्ब ८६ करोड भएको थियो । सरकारी राजस्व २८. समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व सङ्कलन ३०.५ प्रतिशतको वृद्धिसँगै रु.२५५ अर्ब २ करोड (वार्षिक लक्ष्यको २७ प्रतिशत) पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व १६.३ प्रतिशतले वृद्धि भई रु.१९५ अर्ब ४३ करोड पुगेको थियो । सरकारको नगद मौज्दात २९. २०७५ कात्तिक मसान्तमा सरकारी ढुकुटीमा रु.२०६ अर्ब २५ करोड (स्थानीय तहको खातामा रहेको रु.७५ अर्ब ७७ करोड समेत) नगद मौज्दात कायम रहेको छ । मौद्रिक स्थिति मुद्राप्रदाय ३०. आर्थिक वर्ष २०७५/७६ को चार महिनामा विस्तृत मुद्राप्रदाय ३.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ४.२ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ कात्तिक मसान्तमा विस्तृत मुद्राप्रदाय १८.६ प्रतिशतले बढेको छ । ३१. समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा÷नोक्सान समायोजित) रु. ५७ अर्ब ३३ करोड (५.४ प्रतिशत) ले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रु. २ अर्ब ४० करोड (०.२ प्रतिशत) ले बढेको थियो । ३२. समीक्षा अवधिमा सञ्चित मुद्रा १५.० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा १४.३ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ कात्तिक मसान्तमा सञ्चित मुद्रा ७.२ प्रतिशतले बढेको छ । कुल आन्तरिक कर्जा ३३. समीक्षा अवधिमा कुल आन्तरिक कर्जा ५.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा २.० प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ कात्तिक मसान्तमा यस्तो कर्जा २८.७ प्रतिशतले बढेको छ । ३४. समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ९.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी ७.४ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ कात्तिक मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी २४.३ प्रतिशतले बढेको छ । निक्षेप संकलन ३५. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ४.८ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १७.९ प्रतिशतले बढेको छ । ३६. २०७५ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ७.७ प्रतिशत, ३४.७ प्रतिशत र ४६.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ७.९ प्रतिशत, ३६.२ प्रतिशत र ४२.३ प्रतिशत रहेको थियो । ३७. २०७५ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो निक्षेपको अंश ४४.८ प्रतिशत रहेको थियो । कर्जा प्रवाह ३८. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ८.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ६.७ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा ८.३ प्रतिशतले, विकास बैंकहरुको ११.२ प्रतिशतले र वित्त कम्पनीहरुको ५.१ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७५ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा २४.५ प्रतिशतले बढेको छ । ३९. २०७५ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६३.२ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.७ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७४ कात्तिक मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६१.२ प्रतिशत र १४.५ प्रतिशत रहेको थियो । ४०. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा ११.१ प्रतिशतले, ओभरड्राफ्ट कर्जा ४.० प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा १४.५ प्रतिशतले, डिमान्ड तथा चालु पँुजी कर्जा १३.७ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ५.२ प्रतिशतले तथा हायर पर्चेज कर्जा ३.१ प्रतिशतले बढेको छ । तरलता व्यवस्थापन ४१. आर्थिक वर्ष २०७५/७६ को चार महिनामा खुलाबजार कारोबारका विभिन्न उपकरणहरुमार्पmत् पटक–पटक गरी रु.१०० अर्ब ३५ करोड तरलता प्रशोचन गरिएको छ । यस अनुसार निक्षेप संकलन बोलकबोलमार्फत्रु. ७९ अर्ब ६५ करोड र रिभर्स रिपोमार्पmत् रु. २० अर्ब ७० करोड प्रशोचन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रु.१३५ अर्ब ७५ करोड तरलता प्रशोचन भएको थियो । ४२. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले रु. ५ अर्ब ४२ करोड स्थायी तरलता सुविधा उपयोग गरेका छन्। अघिल्लो वर्षको सोही अवधिमा रु. ५ अर्ब ५० करोड यस्तो सुविधा उपयोग गरेका थिए । ४३. समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ८७ करोड ९५ लाख खूद खरिद गरी रु.१०१ अर्ब ८६ करोड खूद तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब २७ करोड खूद खरिद गरी रु.१३० अर्ब ७४ करोड खूद तरलता प्रवाह गरिएको थियो । ४४. समीक्षा अवधिमा अमेरिकी डलर १ अर्ब ३८ करोड, यूरो १ करोड ६० लाख, पाउण्ड स्टर्लिङ्ग २ करोड र जापानी येन १६ अर्ब बिक्री गरी रु.१६३ अर्ब ३ करोड बराबरको भारतीय रुपैँया खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर १ अर्ब ३६ करोड र यूरो ४ करोड बिक्री गरी रु.१४५ अर्ब ३७ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो । पुनरकर्जा ४५. उत्पादनशील क्षेत्रतर्पm कर्जा लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पुर्याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । २०७५ कात्तिक मसान्तसम्ममा यस बैंकको रु.१५ अर्ब ६३ करोड पुनरकर्जा लगानीमा रहेको छ । ४६. भूकम्प पीडितहरुलाई बढीमा २.० प्रतिशत ब्याजदरमा आवासीय घर निर्माण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई शून्य ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्था अन्तर्गत २०७५ कात्तिक मसान्तसम्ममा रु.२ अर्ब २३ करोड पुनरकर्जा प्रदान गरिएको छ । यस्तो कर्जा १४०१ जना ऋणीले उपयोग गरेका छन् । ४७. २०७५ कात्तिक मसान्तसम्ममा नेपाल सरकारबाट ५ प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा ९७४९ जना ऋणीले उपयोग गरेका छन् । यस अन्तर्गत रु.१४ अर्ब ३८ करोड कर्जा बक्यौता रहेको छ भने रु.७५ करोड ८२ लाख ब्याज अनुदान प्रदान गरिएको छ । अन्तर–बैंक कारोबार ४८. आर्थिक वर्ष २०७५/७६ को चार महिनामा वाणिज्य बैंकहरुले रु.४२१ अर्ब ९१ करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरु बीच बाहेक) ले रु.४८ अर्ब ६९ करोडको अन्तर–बैंक कारोबार गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरु र अन्य वित्तीय संस्थाहरुले क्रमशः रु.३२१ अर्ब १० करोड र रु.७ अर्ब १८ करोड कारोबार गरेका थिए । ब्याजदर ४९. २०७४ कात्तिकमा ९१–दिने ट्रेजरी विल्सको भारित औसत ब्याजदर २.५५ प्रतिशत रहेकोमा २०७५ कात्तिकमा २.२० प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७४ कात्तिकको २.६८ प्रतिशतको तुलनामा २०७५ कात्तिकमा १.६८ प्रतिशत कायम भएको छ । त्यसैगरी, वाणिज्य बैंकहरुको औसत आधार ब्याजदर २०७४ कात्तिकको १०.११ प्रतिशतको तुलनामा २०७५ कात्तिकमा १०.२१ प्रतिशत कायम भएको छ । मर्जर/प्राप्ति ५०. यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् २०७५ कात्तिक मसान्तसम्म कुल १६४ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १२२ वटा संस्थाहरुको इजाजत खारेज हुन गई कुल ४२ संस्था कायम भएका छन् । वित्तीय पहुँच ५१. ७५३ स्थानीय तहमध्ये २०७५ कात्तिक मसान्तसम्म ६८२ स्थानीय तहहरुमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । प्रदेशगत रुपमा वाणिज्य बैंकको उपस्थिति तालिका ६ मा प्रस्तुत गरिएको छ । ५२. यस बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७५ असार मसान्तमा १५१ रहेकोमा २०७५ कात्तिक मसान्तमा १५४ पुगेको छ । यस अनुसार २०७५ कात्तिक मसान्तमा २८ वाणिज्य बैंक, ३३ विकास बैंक, २४ वित्त कम्पनी र ६९ लघुवित्त वित्तीय संस्थाहरु संचालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा सञ्जाल २०७५ असार मसान्तमा ६६५१ रहेकोमा २०७५ कात्तिक मसान्तमा ७२१८ पुगेको छ । पूँजी बजार ५३. नेप्से सूचकाङ्क वार्षिक बिन्दुगत आधारमा १९.१ प्रतिशतले ह्रास भई २०७५ कात्तिक मसान्तमा १२०५ बिन्दुमा सीमित भएको छ । २०७४ कात्तिक मसान्तमा उक्त सूचकाङ्क १२.५ प्रतिशतले ह्रास भई १४८९.१ बिन्दु कायम भएको थियो । २०७५ असार मसान्तमा भने नेप्से सूचकाङ्क १२१२.४ बिन्दु कायम भएको थियो । ५४. धितोपत्र बजार पूँंजीकरण वार्षिक बिन्दुगत आधारमा १५.७ प्रतिशतले ह्रास भई २०७५ कात्तिक मसान्तमा रु. १४५६ अर्ब ९५ करोड कायम भएको छ । बजार पूँजीकरण २०७४ कात्तिक मसान्तमा ८.६ प्रतिशतले ह्रास भएको थियो । समीक्षा अवधिको बजार पूँजीकरणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४७.८ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यस्तो अनुपात ६५.४ प्रतिशत रहेको थियो । ५५. नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०७५ कात्तिक मसान्तमा १९८ रहेको छ । एकतान्यूजबाट

त्रिसठ्ठी जनालाई न्यानो कपडा वितरण

बाजुरा, पुस ११ । जिल्लामा मौसम परिवर्तन भएसँगै चिसो बढ्दै गएको छ । चिसोबाट बच्नका लागि बाजुराको बडीमालिका नगरपालिका–७ मा मङ्गलबार एक कार्यक्रमका बीच न्यानो कपडा वितरण गरिएको बडीमालिका नगरपालिका–७ का वडाध्यक्ष धर्मराज पाध्यायले बताएका छन् । नगरपालिकाको उक्तमा रहेका आठ टोलका ४० वृद्धवृद्धालाई कम्मल, वितरण गरिएको छ भने यसैगरी सोही वडाका २३ बालबालिकालाई ज्याकेट र सुरुवालसमेत वितरण गरिएको वडा सदस्य धनलाल पाध्यायले जानकारी दिएका छन् । उनले दिएको जानकारी अनुसार वडामा रहेका जिल्ली, माउलेख, सिराडी, पोखरा, रजातोली, ढम्कने गरी आठ टोलका ज्येष्ठ नागरिक वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरिएको वडा सदस्य पाध्यायले बताए । बडीमालिका नगरपालिका–७ को सहयोग र समाजसेवी दयाराम अग्रवालको समन्वयमा ६३ जनालाई न्यानो कपडा वितरण गरिएको वडाध्यक्ष पाध्यायको भनाइ रहेको छ । न्यानो कपडा वितरण कार्यक्रममा अध्यक्ष पाध्यायले वडापालिकाकोे सक्रियता, समाजसेवी दयाराम अग्रवाल र विभिन्न सहयोगी संस्थाको सहयोगबाट न्यानो कपडा वितरण गरिएको बताए । वडाध्यक्ष पाध्यायका अनुसार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा वडाका दलित, पिछडिएका र जनजाति गरी १३५ परिवारलाई धुवाँरहित चुलो वितरण गरिने छ । उहाँले हरेक वर्ष वडामा रहेका वृद्धवृद्धा र बालबालिकालाई वडा कार्यालयले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । रासस

हेर्नुस्, स्याङ्जाकाे प्रावि तहको नतिजा (नामसहित)

काठमाडौं, मंसिर २८ । शिक्षक सेवा आयोगले शुक्रबार ५ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले आज तनहुँ, कास्की, अर्घाखाँची, स्याङ्जा र पाल्पा जिल्लाको नतिजा सार्वजनिक गरेको हो । –तनहुँको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –अर्घाखाँचीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –पाल्पाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् –कास्कीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् स्याङ्जाको नतिजा हेर्नुस्-  

नेपाल आइडलः पाठकको नजरमा बिक्रमभन्दा रवि अगाडि

काठमाडौं, मंसिर २३ । रवि ओड सुदूरपश्चिमेलीको मात्र होइन सबै नेपालीको मनमा बसेका छन् । यसको प्रमाणहरु सामाजिक सञ्जालमा पर्याप्त छन् । यति मात्र होइन विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारहरुले पनि रवि धेरैको मनमा बसेको जनाउँ दिन्छ । यसैबीच, काठमाडौंबाट प्रकाशित हुने अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित समाचारमा पनि रविलाई धेरैले पढेका छन् । अर्थात् उनको समाचारलाई धेरैले पढेका र सेयर गरेका छन् । यसको मापन सहजै गर्न सकिन्छ । सेयर गरेको प्रत्यक्ष अंक नै देखिन्छ । अन्नपूर्णले रविकोभन्दा अगाडि बिक्रमको समाचार प्रकाशित गरेको थियो । तर, ‘पोखरामा माया बटुल्दै बिक्रम’ शिर्षकको समाचार आइतबार साँझ ६ बजेसम्म १०७१ जनाले मात्रै सेयर गरेका छन् । तर, ‘कैलालीमा रविलाई पञ्चेबाजाले स्वागत’ शिर्षकको समाचार बिक्रमको भन्दा केही समयपछि प्रकाशित गर्दा पनि आइतबार साँझसम्म ३७७४ जनाले सेयर गरिसकेका थिए । यसरी आंकलन गर्ने हो भने बिक्रमभन्दा रवि पाठकको आँखामा धेरै अगाडि छन् । अन्य मिडियामा रविबारे प्रकाशित समाचार पनि अत्यधिक सेयर भएको देखिन्छ । सेयर गरेको मापन गर्नुको मूल कारण पाठकमाझ को प्रतिस्पर्धी अगाडि छन् भन्ने केलाउन खोजिएको हो । अन्नपूर्ण पोस्ट् दैनिक र ‘नेपाल आइडल’ आयोजना गर्ने एपी वान टेलिभिजन एकै ग्रुपको संञ्चार माध्यम भएकाले पनि अन्नपूर्णमा प्रकाशित समाचारलाई मापनको आधार बनाइएको हो । अन्नपूर्णले रवि र बिक्रमबाहेक अस्मिता अधिकारी र सुमित पाठकको बारेमा भने समाचार प्रकाशित गरेको थिएन । यसकारण सुमित र अस्मिताबारे पाठकको साथ प्रकाशित गरेनौं । अहिले चारै प्रतिस्पर्धी गृह जिल्लामा व्यस्त छन् । रवि सुदूरपश्चिममा, बिक्रम पोखरा, सुमित र अस्मिता झापामा रहेका छन् । पत्रिकामा पाठकले साथ दिए पनि यात्रा भोटिङको भएकाले उपाधि भने यसले नै जित्न सक्छ भनेर ठोकुवा गर्न कठिन छ । अब हेरौं दोस्रो नेपाल आइडलको उपाधि कसले जित्छ ।

ब्राजिलका डाक्टरहरूल गरे चमत्कार; वर्ष दिन अघि मरिसकेकी महिलाको पाठेघरबाट जन्मियो स्वस्थ शिशु

चिकित्सा क्षेत्रले मानव अङ्ग प्रत्यारोपणको क्षेत्रमा क्रान्तिकारी उपलब्धि हासिल गरेको छ । हाल मात्रै एउटी मृत महिलाको पाठेघर प्रत्यारोपण गरेकी अर्की महिलाले कुशलता पूर्वक एउटा बच्चा जन्माएकी छिन् । यसलाई चिकित्सा क्षेत्रकै महान उपलब्धिको रूपमा लिइएको छ । तर यस उपलब्धिबारे खुलासा भने निकै पछि गरिएको छ । हालै गरिएको एक अध्ययन अनुसार ब्राजिलको साओ पाउलोमा सेप्टेम्बर २०१६ मा ३२ वर्षीय एक महिलामा ४५ वर्षीय मृत महिलाको पाठेघर प्रत्यारोपित गरिएको थियो । ‘द लासेंट’ भन्ने संस्थाको अध्ययनबाट यस कुराको खुलासा भएको हो । जस अनुसार प्रत्यारोपण गरिएकी ती महिलाले डिसेम्बर २०१७ मा बच्चा जन्माएकी थिइन् । यस सफलताले पाठेघरको समस्याले बाँझोपनको समस्या झेलिरहेका महिलाहरूलाई ठुलो सफलता मिल्ने आकलन गरिएको छ । उनीहरूलाई कुनै जीवित पाठेघरदाताको आवश्यकता नरहने जनाइएको छ । साओ पाउलोको एउटा अस्पतालमा २०१६ को नोभेम्बर महिनामा  १० घण्टा लगाएर गरिएको शल्यक्रियामा उक्त प्रत्यारोपण सफल भएको थियो । यस प्रत्यारोपणमा दानकर्ताको पाठेघर लगायत यससँग सम्बद्ध नसा, रक्तनली साथै शरीरको तल्लो भागका सबै अवयवहरूमा जोडिएको थियो । साओ पाउलो विश्वविद्यालयका डाक्टर र प्रसिद्ध लेखक डेनी एजेनबर्गले यसबारे बोल्दै भनेका छन्, “मृत दानकर्ताहरूका अङ्गहरू प्रत्यारोपण गर्ने प्रविधि विकास हुनु भनेको बढी भन्दा बढी व्यक्तिहरूको पहुँच उपचारसम्म पुऱ्याउनु हो ।” यसरी उपचार गरिएकी महिलालाई एमआरकेएच सिंड्रोम भन्ने समस्या रहेको थियो । यस समस्याबाट ग्रसित महिलाहरूमा पाठेघर पूर्ण रूपले विकसित भएको हुँदैन । चिकित्सकीय तथ्यांक अनुसार प्रत्येक ४ हजार ५ सय महिलामा एक जनामा यस्तो समस्या देखा पर्ने गर्दछ । पाठेघर दान गर्ने महिलाको भने स्ट्रोकका कारण मृत्यु भएको जनाइएको छ । उनको प्रतिरोधात्मक क्षमताले प्रत्यारोपित अङ्गलाई हानि नपुऱ्याओस् भनेर प्रत्यारोपण पछि ती महिलालाई रोग प्रतिरोधक क्षमता कमजोर बनाउने औषधि दिइएको थियो । पाँच महिना पछि प्रत्यारोपित पाठेघरलाई शरीरले स्वीकार नगरेको कुनै संकेत मिलेन र उनको महिनावारी नियमित हुन थाल्यो । प्रत्यारोपणको सात महिना पछि उक्त पाठेघर भित्र निशेचित अण्ड राखिएको थियो । जसको १० दिन पछि डाक्टरहरूले ती महिला गर्भवती भएको घोषणा गरेका थिए । अध्ययनले जनाए अनुसार यसरी गर्भाधान गरिएको ३५ हप्ता ३ दिनमा सिजेरियन विधिबाट ती महिलाले अढाई किलोग्राम तौल भएकी बालिका जन्माएकी थिइन् । सिजेरियनको क्रममा प्रत्यारोपित गर्भ झिकिएको थियो र त्यसमा कुनै पनि प्रकारको अनियमितता देखिको थिएन ।