सर्वदलीय बैठकमा दलका आआफ्नै अडान

काठमाडौँ, मङ्सिर २० । राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो राजनीतिक अवस्थाकाबारेमा छलफल गर्न बोलाउनुभएको सर्वदलीय बैठकमा राजनीतिक दलहरुले आआफ्नै अडान दोहो¥याएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज भएको चार घन्टा लामो छलफलमा सत्ता पक्ष, प्रतिपक्ष र आन्दोलनरत पक्षका दलले आफ्नै अडान दोहो¥याएको बैठकमा सहभागी नेताले बताएका छन् ।

संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका–संसद्मा दर्ता भएपछिको पछिल्लो राजनीतिक अवस्थाका बारेमा बुझ्न र अवगत हुन राष्ट्रपति भण्डारीले छलफलका लागि दलका शीर्ष नेतालाई बोलाउनुभएको थियो ।

बैठकमा मधेसकेन्द्रित दलका नेताले संशोधनको विधेयक अपुग भएको भन्दै थप परिमार्जनको माग गरेका थिए । संविधान संशोधन र परिमार्जन नभएसम्म वर्तमान समस्या समाधान नहुने भएकाले संशोधन विधेयकमा परिमार्जनको माग गरेको सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो ।

संविधान परिमार्जन नगरी जबर्जस्ती अघिबढे थप सङ्कट र द्वन्द्व निम्तने धारणा राख्दै अध्यक्ष यादवले भन्नुभयो, “संशोधन विधेयकको यथास्थितिमा कुनै पनि निर्वाचन सम्भव छैन । विधेयक परिमार्जन भएर आओस् भन्ने हामीले धारणा राख्याँै ।”

मधेसकेन्द्रित दलको मागपछि प्रधानमन्त्री पुष्पकमल दाहालले पनि संशोधनको प्रस्तावलाई सहमतिमा परिमार्जन गर्न सकिने आश्वासन दिनुभएको उहाँले बताउनुभयो । प्रधानमन्त्रीको आश्वासनले संवाद र सहमतिको बाटो खोलेको उहाँको धारणा थियो ।

बैठकमा राष्ट्रपति भण्डारीले सबै दल मिलेर वर्तमान समस्या समाधान गर्नुपर्छ भन्ने शुभेच्छा व्यक्त गर्नुभएको थियो । नेकपा (माले)का महासचिव सिपी मैनालीका अनुसार मधेसकेन्द्रित दलका एक नेताले बैठकमा “तत्काल समस्या समाधान गरिएन भने आज त मधेसी गुमाउनु होला तर एकदिन यस्तो पनि आउला मधेस नै गुमाउनुपर्ने हुनसक्छ” भन्नुभयो ।

बैठकमा नेकपा (एमाले) लगायत प्रतिपक्ष दलका नेताले प्रतिपक्षलाई अलग्याएर एकलौटी रुपमा ल्याइएको संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने माग गरेका थिए । “सीमाङ्कनको हेरफेर गर्ने अधिकार हालको संसद्लाई छैन, त्यसैले संशोधन फिर्ता लिनुपर्छ”– नेता मैनालीले भन्नुभयो ।

संशोधनका कतिपय कुरा वर्तमान संविधानमा नै भएकाले संशोधन आवश्यक नभएको प्रतिपक्ष दलको धारणा थियो । बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा दर्ता भएको विधेयक समस्या समाधानका लागि आवश्यक रहेकाले पारित गर्न आग्रह गर्नुभएको थियो । रासस

संशोधन प्रस्तावको भारतद्धारा स्वागत

काठमाडौँ , मंसिर १६ ।  भारतीय सरकारले मधेसवादी दलहरूको मागलाई सम्बोधन गर्न दर्ता भएको संविधान संशोधनको प्रस्तावलाई ‘सकारात्मक’ रूपमा लिएको छ । सरकारले मंगलबार संसदमा दोस्रो संशोधन प्रस्ताव दर्ता गराएपछि भारतीय विदेश मन्त्रालयका अधिकारीहरूले नेपाली राजदूत दीपकुमार उपाध्यायसँगको कुराकानीमा त्यस्तो धारणा व्यक्त गरेका हुन् । ’नेपालमा विकसित राजनीतिक घटनाक्रमबारे हामीलाई जानकारी छ, संविधान संशोधन प्रस्ताव दर्ता हुनु सकारात्मक हो,’ विदेश मन्त्रालयका अधिकारीहरूलाई उद्धृत गर्दै उपाध्यायले भने । उपाध्यायका अनुसार भारतीय अधिकारीहरूले संविधान संशोधनको विषय नेपालको आन्तरिक मामिला भएको र नेपालको संसद्ले टुंगो लगाउने विषय भएको समेत बताएका छन् । यस अगाडि मधेसवादी दलहरूको मागलाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले गरेको ढिलाइप्रति भारतले असन्तुष्टि व्यक्त गर्दै आइरहेको थियो । संशोधन प्रस्तावले मधेसवादी दलहरूले उठाइरहेका महत्त्वपूर्ण मागहरू सम्बोधन गर्ने भारतको बुझाइ छ । यस अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावले संविधान संशोधन ओझेलमा पर्ने भन्दै भारतले सरोकार व्यक्त गरेको थियो । प्रधानमन्त्री भएपछि दाहालले गरेको दुई पटकको भारत भ्रमण तथा कांग्रेस सभापति शेरबहादुर देउवाको भ्रमणको समयमा भारतले संविधान संशोधन प्रक्रियालाई गति दिन आग्रह गरेको थियो । भारतका राजनीतिक दलका नेताहरूले पनि संशोधन प्रस्तावको समर्थन गरेका छन् । दाहाल र देउवा दुवैले भारतीय पक्षलाई मधेस तथा जनजातिको मागलाई सम्बोधन गरेर अगाडि जाने भनी आश्वस्त पारेका थिए । नेसनलिस्ट कंग्रेस पार्टी अफ इन्डियाका महासचिव डीपी त्रिपाठीले संशोधन प्रस्ताव दाहालले मधेसवादी दलहरूलाई दिएको प्रतिबद्धताअनुसार नै दर्ता भएको बताए । ’म यसलाई स्वागत गर्छु। यसले नेपाललाई शान्ति तथा स्थिरतातर्फ लैजाने छ,’ उनले भने । आजको कान्तिपुर दैनिकमा खबर छ ।

एकै मन्त्रालयमा दुई राज्यमन्त्री पुगेपछि…

काठमाडौं , मंसिर १६ ।  सत्तारूढ दल नेपाली कांग्रेसबाट सरकारमा सिफारिस गरिएका १० राज्यमन्त्रीले बुधबार दिउँसो ३ बजे प्रधानमन्त्री पुष्पकमल दाहालबाट शपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सिफारिसमा परेका राज्यमन्त्रीहरूको शपथग्रहण भएको हो । त्यसलगत्तै नवनियुक्त राज्यमन्त्रीहरू आफ्ना सम्पर्कमा रहेका पत्रकारहरूलाई सम्पर्क गर्दै पदभार ग्रहण गर्न तोकिएका मन्त्रालयतिर लागे । त्यसपछि सहरी विकास मन्त्रालयमा भने फरक माहोल बन्यो । त्यहाँ नवनियुक्त राज्यमन्त्री सुवर्ण ज्वारचन र मिठु मल्ल आफू नै सम्बन्धित मन्त्रालयको राज्यमन्त्री भएको भन्दै केहीबेर भनाभन गर्दै बसे । त्यसबेला सुवर्ण ज्वारचनको नाम राज्यमन्त्रीको नेम प्लेटमा लेखिएको थियो । तर, मिठु मल्लले आफूले नै सहरी विकास राज्यमन्त्रीको शपथ लिएको भन्दै मन्त्रालयका कर्मचारीलाई नाम टाँस्न लगाइन् । हतारहतार त्यहाँका कर्मचारीले कागजमा नाम प्रिन्ट गरेर मिठु मल्लको नाम टाँसे । वास्तविकता के रहेछ भने मंगलबार पार्टीले सिफारिस गरेको राज्यमन्त्रीको सूचीमा सुवर्ण ज्वारचनको नाम सहरी विकास राज्यमन्त्रीमा रहेको सञ्चार माध्यममा खबर आयो । तर, शपथग्रहणमा भने सम्बन्धित मन्त्रालयमा मिठु मल्लको नाम रहेछ । नवनियुक्त राज्यमन्त्री मल्लले कुराकानीमा भनिन्, ‘मैले शपथग्रहण गर्दा सहरी विकास राज्यमन्त्रीको नै गरेकी हुँ ।’ उनले नाम परिवर्तन भएको बारे आफूलाई जानकारी नभएको बताइन् । भनिन्, ‘मलाई गाडी तथा पीएसओ तोकिँदा पनि सहरी विकास राज्यमन्त्री भनेर तोकेर नै पठाइएको छ, त्यसअनुसार नै गएको हुँ ।’ सहरी विकास मन्त्रालयका निमित्त सचिव शम्भु केसीले सरकारले मिठु मल्ललाई सहरी विकास मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त गरेर पठाएको र आफूले स्वागत गरेर ल्याएको बताए । उनले नेम प्लेट अर्कैको नाममा टासिएको बारे आफूलाई जानकारी नभएको बताए । कागजमा प्रिन्ट गरेर नाम टाँसिएको थियो नि भन्ने जिज्ञासामा निमित्त सचिव केसीले ढिला गरी शपथ भएकाले नेम प्लेट बनाउन नभ्याएर कागजमा नै प्रिन्ट गरेर टाँसिएको बताए । नवनियुक्त राज्यमन्त्री सुवर्ण ज्वारचनले भने वाणिज्य राज्यमन्त्रीमा शपथ लिएको बुझियो । यस घटनामा मन्त्रालयका बीचमा नै आवश्यक सहकार्य तथा परिपक्वता नभएको देखियो । आजको राजधानी दैनिकमा खबर छ ।

लागूऔषधसहित ७ जना पक्राउ

काठमाडौं । अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ परेका छन् । प्रहरीले खानतलासी गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।  भक्तपुर, मध्यपुर ठिमी नगरपालिका ४ नयाँठिमी चोकबाट अवैध लागूऔषध गाँजा २ किलोसहित सोही ठाउँ बस्ने सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका ९ घर भएका २२ वर्षीय बालकृष्ण श्रेष्ठ भन्ने रोशन श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।  कञ्चनपुर, पुनर्वास नगरपालिका ११ डोके बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ४० मिलिग्रामसहित कैलाली कैलारी गाउँपालिका १ हसुलिया बस्ने १८ वर्षीय किशोरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको  छ । प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  बाँके, बैजनाथ गाउँपालिका ४ नौलापुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय २० मिलिग्रामसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने माने भन्ने २१ वर्षीय मिलन थापा र १९ वर्षीय बिमल वली रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले मिलन थापाको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।  काठमाडौं, बुढानिलकण्ठ नगरपालिका ११ कपन त्रिवेणी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४८ मिलिग्रामसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका १३ घर भएका २३ वर्षीय राम बिकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका १२ नहरचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम र नगद १३ हजार रूपैयाँसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका १० अस्पताल चोक बस्ने ४९ वर्षीय नारायण बहादुर खत्री र स्याङजा घर भएका ५३ वर्षीय लोक बहादुर सेन ठकुरी रहेका छन् । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले ग १० प ५०६० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन चट्टयाङ्गसहित हल्का वर्षा

काठमाडौं । देशका विभिन्न ठाउँमा बिहानैबाट वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहँदा कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षा भइरहेको हो ।  जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानका साथै बाँकी प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना छ ।  देशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । विभागका अनुसार राति कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।  

कोशीमा सरकार र पहिचान पक्षधरबीच पाँचबुँदे सहमति(सहमति पत्रसहित)

काठमाडौं । कोशीमा पहिचान पक्षधर र सरकारबीच पाँचबुँदे सहमति भएको छ। बिहीबारदेखि जारी सरकारी वार्ता टोली र पहिचान पक्षधरबीचको वार्ताले शुक्रबार पाँचबुँदे सहमति गरेको हो। प्रदेशको पुनः नामांकन सम्बन्धमा सहमति हुने राजनीतिक वातावरण बनाउन सरकार र आन्दोलनरत पक्षबाट संविधानसम्मत राजनीतिक पहल एवं छलफल अगाडि बढाउने सहमति भएको छ। हेर्नुहोस् सहमति

सिन्धुपाल्चोकको हेलम्बुमा जीप दुर्घटना, दुई भुटानी नागरिकको मृत्यु

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा जीप दुर्घटना भएको छ । बा२च ४४५० नम्बरको जीप बुधबार दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु भएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी बालनरसिंह राणाले जानकारी दिए । दुर्घटनामा अन्य पाँचजना घाइते भएका छन् । मृत्यु हुनेमा ३३ वर्षीय अब्गे र ७१ वर्षीया वाङमो छन् । जीप चालक सिन्धुपाल्चोककै चन्द्र भण्डारी थिए । उनको अवस्था सामान्य छ । प्रहरीका अनुसार जीप हेलम्बु गाँउपालिका–१, दोरिमबाट खारपाङ जाने क्रममा दुर्घटना भएको हो । घाइते पाँचमध्ये तीनजनालाई फिस्टेल हेलिकोप्टरबाट काठमाडौंस्थित केएमसी अस्पताल ल्याइएको छ । दुईजनाको भने जिल्ला अस्पताल सिन्धुपाल्चोकमा उपचार भइरहेको जनाइएको छ ।

अर्थसँग प्रधानमन्त्री प्रचण्डले भने -‘सहकारीका लाखौं निक्षेपकर्ता घर न घाट भए, समाधानको ठोस प्रस्ताव चाहियो’

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सहकारीको समस्या सम्बोधन हुँदा लाखौं निक्षेपकर्ताहरू प्रताडित भएकोमा जोड दिँदै उक्त समस्याको व्यवस्थित समाधानको प्रस्ताव ल्याउन अर्थ मन्त्रालयलाई निर्देशन दिएका छन् । सोमबार दिउँसो सिंहदरबारमा आयोजित छलफलमा प्रधानमन्त्रीले सो समस्या तत्कास समाधान गर्ने गरी प्रस्ताव ल्याउन निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले भने, “सहकारीको समस्या छिटो समस्या नगर्दा लाखौं निक्षेपकर्ता प्रताडित भएका छन्, उनीहरू घर न घाट भएका छन्। उनीहरूको समस्या कसरी सम्बोधन गर्ने ? त्यसबारे ठोस प्रस्ताव बनाएर ल्याउनुस्।” बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सहकारीको निश्चित सिलिङभन्दा माथिको नियमन नेपाल राष्ट्र बैंकले गर्नेगरि निर्णय गरेर जानुपर्ने बताए। बैठकमा मुख्यसचिव डा. बैकुण्ठ अर्यालले सहकारीको समस्या सम्बोधन गर्न सहकारीको नियमन गर्न निक्षेप कोषको कानुनी प्रबन्धलाई व्यवहारिक रूप दिन आवश्यक रहेको बताए ।

अख्तियारद्वारा सर्वोच्चमा मुद्दा पुनरावेदन

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा दीपक बम र नीरक शाहीविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगका प्रवक्ता नरहरि घिमेरेका अनुसार विशेष अदालत काठमाडौंबाट भएको फैसला चित्त नबुझेका कारण मेकानिकल इन्जिनियर बमले तीन हजार रुपियाँ र विचौलिया शाहीले १० हजार ३६० रुपियाँ घुस लिएकोसम्बन्धी मुद्दा सर्वोच्चमा पुनरावेदन गरिएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनीहरुमथि कैद र जरिवाना हुन मागदाबी लिइएको आयोगले जनाएको छ ।

रुसमा मृत्यु भएका नेपालीको शव फिर्ता ल्याउन कठिन, रुसको जवाफ पर्खिदै सरकार

काठमाडौं । रुस–युक्रेन युद्धमा रुसका तर्फबाट लड्ने क्रममा ज्यान गुमाएका ६ जना नेपाली नागरिकको शव स्वदेश फिर्ता ल्याउन चुनौतीपूर्ण बनेको बीबीसीले जनाएको छ । नेपालका लागि रुसका राजदूत मिलन तुलाधरलाई उधृत गर्दै बीबीसीले लेखेको छ,‘यसबारे अहिलेसम्म कुनै प्रगति भएको छैन ।’ परराष्ट्र मन्त्रालय स्रोतले पनि अहिलेसम्म रुसको जवाफ पर्खिरहेको प्रतिक्रिया दिएको छ । दुई देशबीच कुराकानी भइरहे पनि रुसका तर्फबाट कुनै जवाफ नआएको परराष्ट्रका अधिकारीले जनाएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार रुसका तर्फबाट लड्ने क्रममा युक्रेनी सेनाको आक्रमणमा परी ६ जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखराका देवान राई, गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रुपक कार्की, स्याङजाका पितक कार्की, दोलखाका राजकुमार रोक्का र इलामका गंगाराज मोक्तान छन् । बीबीसीले मृतकका परिवारको हवाला दिँदै जनाए अनुसार शवहरु जमीनमा गाडिसकिएको हुन सक्ने भएकाले तत्काल उत्खनन गरेर फिर्ता पठाउन सहज छैन । मृतक देवान राईका पिता धनराज राईलाई उधृत गर्दै सरकारले चाँडो पहल गरिदिन आग्रह गरेको बीबीसीले जनाएको छ । ‘मेरो छोराको अनुहार हेर्न चाहन्छु, छोरो फिर्ता आएन भने सरकारसँग के आश गर्ने ?’ देवानका पिताको भनाइ छ । सरकारले रुसी सेनामा भर्ती गरिएका नेपालीहरुको तथ्यांक मागेको छ । साथै अबैध रुपमा भर्ना गरिएका नेपालीलाई तत्काल फिर्ता गर्न नेपालले रुसी सरकारलाई पत्राचार गर्ने निर्णयसमेत गरेको छ ।

नेपाल आयल निगमद्वारा स्थायी कर्मचारी माग

काठमाडौं । नेपाल आयल निगमले विभिन्न पदमा कर्मचारी माग गरेको छ । खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नेगरी निगमले शुक्रबार दरखास्त आह्वान गरेको हो । जसअनुसार प्रबन्धक (मेकानिकल), उपप्रबन्धक (सीए), सहायक प्रबन्धक (प्रशासन), सहायक, टेक्नेसियनलगायतका पदमा दरखास्त आह्वान भएको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले २१ दिनभित्र आवेदन दिन सक्नेछन् । सो समयमा पनि आवेदन दिन नभ्याएकाले त्यसको थप ७ दिनभित्र दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

युद्ध विरामको दोस्रो दिन आज हमासको कब्जाबाट १७ जना बन्दी रिहा

काठमाडौं । हमासले बन्धक बनाएका मध्ये थप १३ इजरायली र ४ थाई गरी दोस्रो दिन १७ जनालाई रिहा भएका छन् । अघिल्लो दिन हमासले २४ जनालाई मुक्त गरेको थियो । इजराइल र हमासबीच जारी अस्थायी युद्ध विरामको दोस्रो दिनसम्म हमासले कुल ४१ जनालाई आफ्नो नियन्त्रणबाट मुक्त गरी रेडक्रसको जिम्मा लगाएको छ । चार दिने युद्ध विराम गरेका इजराइल र हमास दुबै पक्षले बन्दी साटफेर गरिरहेका छन् । इजराइलका तर्फबाट जेलमा रहेका ३९ जना प्यालेस्टाइनी बन्दीलाई मुक्त गरिएको इजराइलको कारागार सेवाले पुष्टि गरेको छ । हमासले रिहा गरेका बन्धक इजरायलले पठाएको सूची आधारमा मुक्त गरिएका हुन् । मुक्त हुनेमा बालबालिका, महिला र वृद्धवृद्धा बढी रहेका छन् । साथै एकै परिवारका दाजु बहिनी, आमा छोरी पनि परेका छन् । हमासको कब्जाबाट मुक्त भएकाहरुलाई रेडक्रसको सहायतामा इजराइल पुर्‍याइ सकिएको छ । साथै इजराइलले मुक्त गरेका प्यालेस्टाइनी बन्दीलाई पनि वेस्ट बैंकबाट परिवारको जिम्मा लगाइएको बताइएको छ ।

अम्बे कोसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित पाँचजना पक्राउ

सुनसरी । सुनसरीको इटहरीमा रहेको अम्बे कोसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । बचतकर्ताको रकम अपचलन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सहकारीका अध्यक्ष फणीन्द्र मगर, सञ्चालकहरू सिला गजमेर, राहुल अग्रवाल र कुमार आले रहेका छन् । एकजनाको नाम भने गोप्य राखिएको छ । उनीमाथि भने अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए । ‘जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ,’ डीएसपी कार्कीले भने, ‘सहकारी संस्थाको रकमबारे थप अनुसन्धान भइरहेको छ ।’ बचतकर्ताहरूको करिब ४० करोड बचत रकम फिर्ता गर्न नसकेपछि पीडितहरूले जिल्ला प्रशासन कार्यालय सुनसरीमा पैसा फिर्ता माग गर्दै दबाब सिर्जना गर्दै आएका थिए । प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले सहकारीका अध्यक्षसहित सञ्चालकका विरुद्धमा ठगी मुद्दा दायर गरेपछि उनीहरूलाई इटहरीका विभिन्न ठाउँहरूबाट प्रहरीले पक्राउ गरेको हो ।

नेपाली सेनामा खुल्यो ठूलो संख्यामा जागिर (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको हो । खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सैन्य पदको हकमा नेपाली सेनाको आधिकारिक वैबसाइटबाट अनलाइन दरखास्त दिन सक्नेछन् । ट्रेडका फलोअर्स पदहरूको हकमा उमेदवार स्वयं भर्ना केन्द्रमा उपस्थित भई दरखास्त फाराम भरी दरखास्त पेस गर्नुपर्नेछ । दरखास्त आजदेखि पुस ७ गतेसम्म दिन पाइनेछ । दोब्बर दस्तुर तिरेर थप एक हप्ता आवेदन दिन सकिने भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले जनाएको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

ध्काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक सम्पन्न भएको छ । बैठक आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा बसेको हो । यस्ता छन् संवत २०८० मंसिर ७ गते बिहीवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू १.विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने । २.प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रेंक ४.४६५ मिलियन (करिव ६५ करोड) अनुदान स्वीकृत गर्ने । ३.सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी गठन भएको जाँचबुझ आयोगमा चार जना जनशक्ति थप गर्ने– रा.प.द्धितीय श्रेणी, सरकारी वकिल, रा.प.द्धितीय श्रेणी उपसचिव (राजश्व), प्रहरी नायव उपरीक्षक र रा।प। तृतीय डाटा एनाइलाइटिस्ट । ४.नेपाली सेनाका उपरथि ताराध्वज पाण्डेले व्यक्तिगत कारण दर्शाइ आफ्नो पदबाट दिएको राजीनामा २०८०र०७र२४ गतेबाट लागु हुने गरी स्वीकृत गर्ने । ५.उर्जा सचिव दिनेशकुमार घिमिरेले दिएको राजीनामा स्वीकृत गर्ने ।

विधिपूर्वक लगाइयो भाइटीका, सकियो तिहार

काठमाडौं। प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज (बुधबार) दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् । यससँगै नेपालीको दोस्रो महत्त्वपूर्ण पर्व आजैदेखि सकिएको छ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं एवं अन्तिम दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको हो । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् तोयराज नेपालले जानकारी दिए । भाइटीका लगाउन आज दिनभर बाधा नभएपनि साइत खोज्नेका लागि समितिले बिहान १०ः५१ बजेको अभिजित् मुहूर्तको समय उत्तम भनी सार्वजनिक गरेको थियो । लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदी बहिनीले दाजुभाईलाई तेलको धाराले छेकेर परम्परा अनुसार आज सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरी लगायतका फूलका माला लगाइदिएका छन् । तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिएपनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद्हरुको भनाइ छ । टीका लगाइदिएपछि दिदी बहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छे अनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ । दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइएको थियो । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदी बहिनी नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा आजा एवं दर्शन गरी टीका लगाउने गर्दछन् । यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी नहुने दाजुभाइले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको छ । रासस