यो हो विश्वकै सबैभन्दा ठूलो क्रिकेट स्टेडियम, कति छ दर्शक क्षमता ?

काठमाडौंः  भारतको अहमदाबाद भन्ने शहरमा विश्वकै सर्वाधिक ठूलो क्रिकेट स्टेडियम तयार भएको छ। जम्मा ६३ एकड मा विस्तारित यो स्टेडियममा एकलाख १० हजार जनाले एकै साथ क्रिकेट हेर्न सक्ने बताइएको छ।

हालसम्म सबैभन्दा बढी दर्शक क्षमता भएको क्रिकेट मैदान अस्ट्रेलियाको ‘मेलबर्न क्रिकेट ग्राउण्ड ‘ हो। यसको दर्शक क्षमता एकलाख २४ जना बताइन्छ। त्यस्तै भारतको सबै भन्दा ठुलो मैदान भनेर चिनिने कोलकाताको इडेन गार्डन को दर्शक क्षमता ६६ हजार रहेको छ। यो विश्वकोदोस्रो ठुलो स्टेडियम मानिन्छ।

तीन वर्षमा पूरा हुँदै काम

हाल तयार भएको स्टेडियमको नाम सरदार पटेल गुजरात स्टेडियम रहेको छ। यो अहमदाबादको मोटेरा भन्ने स्थानमा रहेकाले यसलाई मोटेरा स्टेडियम पनि भन्ने गरिएको छ।

यस स्टेडियमको निर्माण कार्य तीन वर्षमै पुरा हुँदै छ। यस मैदानको भूमि पूजन जन्युअरी २०१६ मा सम्पन्न भएको थियो। हाल यसको अधिकांश काम सम्पन्न भैसकेको र डिसेम्बर २०१९ सम्म यो मैदान पूर्ण रूपमा तयार हुने भारतीय संचार मध्यमहरूमा रहेको छ। यस मैदानमा २०२० मा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलाइने र यो विश्वकै सर्वाधिक दर्शकहरूलाई बसाल्न सक्ने स्टेडियमको रूपमा रहने बताइन्छ।

कति भयाे खर्च ?

यस स्टेडियमको कुल लागत सात अर्ब भारतीय रुपियाँ रहेको बताइन्छ। यसको निर्माण गुजरात क्रिकेट संघ ले गर्न लागेको बताइएको छ।
यस मैदानको निर्माण पक्षले यसलाई पूर्ण रूपमा अन्तर्राष्ट्रिय स्तरको स्टेडियम बनाउने बताएको छ। यसमा मुख्य मैदानका अतिरिक्त तीन अभ्यास मैदान, क्लब हाउस, ओलम्पिक साइज स्विमिङ पुल र एउटा इन्डोर क्रिकेट एकेडेमी समेत रहने बताएको छ।

यसका अतिरिक्त स्टेडियमलाई कुनै खेलाडीले चौका या छक्का प्रहार गर्दा त्यहाँ उपस्थित प्रत्येक दर्शकले त्यसलाई सजिलै हेर्न सक्ने किसिमले डिजाइन गरिएको छ। साथै स्टेडियममा चार हजार कार र १० हजार दुइ पाङ्ग्रे सवारी पार्किङको सुविधा रहेको छ।

यस स्टेडियममा रातिको खेलका लागि एलइडी लाइट प्रयोग गरिनेछ। कुनै खेल मैदानमा एलइडी प्रयोग गरिएको यो पहिलो पटक हुनेछ।

त्यसका अतिरिक्त स्टेडियममा ७५ ‘कर्पोरेट बक्स’ बनाइनेछन् . मैदानभित्र प्रवेश र निकासका लागि अलग अलग व्यवस्था गर्न लागिएको छ। साथै स्टेडियमसम्म मेट्रो लाइन समेत विस्तार गरिने भएको छ।

भारतका लागि निकै फिलफाप

तर यो स्टेडियम नयाँ भने होइन। यहाँ नेर पहिले पनि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम थियो। त्यस बेला यस मैदानको दर्शक क्षमता ५४ हजार थियो। त्यसमा थुप्रै टेस्ट र एकदिवसीय खेलहरू खेलिएका छन्।

यस स्टेडियमलाइ यस अघि पनि सरदार पटेल गुजरात स्टेडियम नै थियो र यसमा विभिन्न खेलाडीहरूले थुप्रै विश्व कीर्तिमान बनाइसकेका छन्। विशेषगरि भारतका लागि त याे स्टेडियम निकै फिलफाप रह्याे ।

यसै स्टेडियममा १९८२ मा भारतीय ब्याट्सम्यान सुनिल गावस्करले टेस्ट क्रिकेटमा १० हजार रन पूरा गरेका थिए।  त्यस्तै भारतका पूर्व कप्तान कपिल देवले न्युजिल्याण्डका रिचर्ड हेडलीको रेकर्ड तोड्दै सबैभन्दा बढी टेस्ट विकेट लिने रेकर्ड बनाएका थिए।

यसै स्टेडियममा सचिन तेन्दुलकर ले पहिलो दोहोरो टेस्ट शतक प्रहर गरेका थिए। र, २०११ को विश्वकपमा भारतले यसै मैदानमा विश्व विजेता अस्ट्रेलियालाई हराएर आफ्नो विश्वकप विजयको अभियान सुनिश्चित गरेको थियो।

जेष्ठ नागरिकलाई सम्मान

सुनसरी, जेठ ७ । सुनसरी हरिनगर गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । हरिनगर गाउँपालिका कार्यालयको सहयोगमा हरिनगर गाउँपालिका वडा नं.१ देखि वाड नं.७ ओटै वडाका ६० जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । जेष्ठ नागरिकहरुलाई जिउँदो इतिहास भएकाले कार्यालयको सहयोगमा सम्मान कार्यक्रमको आयोजना गरी सम्मान गरेको महिला तथा वालवालिका शाखाका इन्चार्ज अम्विका खतिवडाले जानकारी दिए । मंगलवार हरिनगरा उच्च माध्यमिक विद्यालयमा कार्यक्रम आयोजना गरी ६० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । कार्यक्रममा जेष्ठ नागरिकहरुलाई फलफूल तथा होरलिस, साडी, छाता, धोती, गमछा, कुर्तासहित लगाएर सम्मान गरिएको हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीले जानकारी गराएको छन् । ९२ वर्षीय कनवा देवी भागड सहित ७० वर्षभन्दा माथि उमेरसमूहका ६० जनालाई पानी र घामबाट जोगिन छाता, साडी, कुर्ता र जाडोबाट जोगिन दोसल्ला र गमछा ओढाएर सम्मान गरिएको हो । हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीका अध्यक्षता र कार्यलाय प्रसाशकीय प्रमुख कृष्णाबहादुर कार्कीको प्रमुख अथितिमा र हरिनगर वडा नं. १ देखि ७ ओटै वडा अध्यक्षका आथित्यमा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको थियो ।

सडक अवरुद्ध भए अब १० मिनेटमै खुलाइने

काठमाडौं, जेठ ४ । सरकारले राजमार्ग वा सडक अवरुद्ध हुनै नदिने र यदि कुनै कारणले अवरुद्ध भए दश मिनेटभित्र नै अवरोध खुलाउन ‘राजमार्ग (सडक) मा हुने अवरोध हटाउन गर्नुपर्ने सुरक्षा कारबाहीको कार्यविधि, २०७५’ ल्याएको छ । गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामकृष्ण सुवेदीले राजमार्ग र सडक सकभर कुनै पनि कारणले अवरुद्ध हुनै नदिने र यदि कुनै कारणले अवरुद्ध भए दश मिनेटभित्र खुलाउने योजना सरकारले ल्याएको जानकारी दिए ।  उनले भने, ‘समग्र मुलुक र आम नागरिकको ‘लाइफ लाइन’ का रुपमा रहेका राजमार्ग र सडक कुनै पनि हालतमा एकछिन पनि अवरुद्ध हुनुहुुँदैन भन्ने राज्यको मान्यता छ, तै पनि यदि कुनै कारणले अवरुद्ध भएको अवस्थामा दश मिनेटभित्र खुलाउने योजना सरकारले कार्यान्वयनमा ल्याएको छ ।’  उनले ‘राजमार्ग (सडक) मा हुने अवरोध हटाउन गर्नुपर्ने सुरक्षा कारबाहीको कार्यविधि, २०७५’ कार्यान्वयनमा ल्याएको जानकारी समेत दिए ।  आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न तथा विभिन्न बहानामा राजमार्ग र सडक अवरुद्ध गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न तथा आमनागरिकलाई विनाअवरोध सहज रुपमा मुलुकभर यात्रा गर्न सहज होस् भन्ने उद्देश्यसहित सो कार्यविधि ल्याइएको प्रवक्ता सुवेदीले जानकारी दिए ।  निहित स्वार्थका लागि गरिने बन्द–हडतालका साथै प्राकृतिक विपद्का कारण समेत सडक अवरुद्ध भएको अवस्थामा पनि दश मिनेटभित्र अवरोध खुलाउने गरी उक्त कार्यविधि ल्याइएको प्रवक्ता सुवेदीले बताए । सो कार्यविधि मुलुकभरिका जिल्ला प्रशासन कार्यालयमा पठाइसकिएको जानकारी समेत उनले दिए ।  कार्यविधि कार्यान्वयनमा आएसँगै अवरुद्ध राजमार्ग र सडक खुलाउन सम्बन्धित क्षेत्रका प्रशासनले एकीकृत बल प्रयोग गर्न सक्ने प्रस्ट पार्दै प्रवक्ता सुवेदीले कार्यविधिमा अवरुद्ध हटाउने प्रक्रियाका साथै राजमार्ग र सडकलाई थप सुरक्षित बनाउने, कुनै दुर्घटना भएको अवस्थामा शीघ्र उद्धार गर्नसक्ने लगायतका व्यवस्था गरिएको जानकारी दिए । यो समाचार गोरखापत्र दैनिकबाट लिइएको हो ।

भारतमा सावित्राको निरन्तर गोल, टिम ९–० ले विजयी

काठमाडौं, वैशाख २७ । भारतमा जारी महिला फुटबल लिगमा नेपाली फुटबल सावित्रा भण्डारीआवद्ध सेथु फुटबल क्लबले लगातार तेस्रो खेलमा पनि जीत निकाल्न सफल भएको छ । शुक्रबार बिहान भएको खेलमा सेथुले साई एसटीसी काटेक फुटबल क्लबमाथि ९–० गोलको फराकिलो अन्तरले पराजित गर्न सफल भयो ।  पहिलो दुई खेलमा टिममा परेकी सावित्रा शुक्रबार सुरुवातमा बेन्चमा बसेकी थिइन् । उनको स्थानमा अनिता बस्नेतलाई मौका दिइएको थियो । दोस्रो हाफमा वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेकी सावित्राले प्रवेश गरेको केही मिनेटमा नै गोल गरिन् । शुक्रबारको खेलमा भारतीय खेलाडी रतनबालाले व्यक्तिगत ४ गोल गरिन् । उनले खेलको तेस्रो, २८ औं, ७४ औं र ८९ औं मिनेटमा गोल गरिन् । यस्तै खेलको ८ औं र ८७ औं मिनेटमा सन्ध्याले गोल गरिन् । ८२ औ मिनेटमा सब्सिच्युट खेलाडी सावित्राले ग्रसीको क्रसलाई सदुपयोग गर्दै गोल गरिन् । उनले लिगमा गोल संख्या ६ पुर्‍याइन् । त्यसपछि सेतुले अर्को एक गोल थपेपछि नौ शून्यको भारी जित निकाल्यो । जारी प्रतियोगितामा लगातार तीन खेलमा जित हात पारेको सेतुले सेमिफाइनलको यात्रा बलियो बनाएको छ । 

डिथ्री अनलाईनको पहिलो वार्षिकोत्सब सम्पन्न, ५ जना सम्मानित

ईटहरी, वैशाख १५ । मोफसल ईटहरीबाट संचालित पूर्वको कला र मनोरञ्जनको एकमात्र डिजिटल मिडियाको रुपमा परिचित डिथ्री अनलाइनले औपचारिकताको पहिलो वर्ष पूरा गरेको छ । गतवर्षको गत वैशाख १३ गते ईटहरीस्थित धरानलाईनमा प्रधान कार्यालय स्थापना गरेर औपचारिक रुपमा सुरु भएको डिथ्री अनलाइनले एक भव्य कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।  वार्षिकोत्सव कार्यक्रमबाट ५ जना कला क्षेत्रका व्यक्तित्वहरु सम्मानित समेत भएका छन् । १६ वर्षको उमेरदेखि नेपाली चलचित्र क्षेत्रमा अनवरतरुपमा लागिरहेका नायिका संचिता लुइँटेल, मोफसलबाट कलाकारितालाई काफ्नो कर्मथलो बनाउँदै ठूलो पर्दाको स्थानीय र राष्ट्रिय चलचित्रहरुमा आफ्नो अभिनय प्रस्तुत गरेका नायक तथा कलाकार माधवब केसी सम्मानित भएका हुन् । यस्तै इन्डियाको टेलिभिजन जिटिभीबाट प्रसारण हुने चर्चित गायन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प्स’मा पुगेर आफ्नो कला र गलालाई प्रस्तुत गर्दै सबैको प्रिय बनेका ईटहरी स्थायी घर भएका प्रीतम आचार्य, इटहरीबाट कला ब्यवसायको रुपमा ‘मार्टिना मेकअप स्टुडियो’ स्थापना गरी छोटो समयमा सफलता हासिल गरेकी उर्वि श्रेष्ठ र रङ्ग पत्रकारितामा बिगत लामो समयदेखि खटिरहेका दन्तकाली एफएम धरानका कृष्ण भुजेल सम्मानित भएका हुन् । ईटहरीमा अवस्थित संगीत साधना प्रतिष्ठानका महासचिव राजु केसीको प्रमुख आतिथ्य, परिकला मिडिया प्राली तथा डिथ्री अनलाइनका संचालक सुवास संकल्पको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम २ बजेदेखि सुरु भएको थियो । ईटहरीको त्रियुगा होटलमा भएको कार्यक्रममा सम्मानसँगै परिकलाको आयोजनामा भएको ‘मिडिया तथा प्रस्तुतीकरण’ तालिमको सहभागीहरुलाई प्रमाणपत्र वितरण समेत गरिएको थियो । कार्यक्रममा डिथ्रीका संचालक संकल्पको जन्मदिन पनि परेकोले पहिलो वार्षिकोत्सब संगै जन्मदिनको गरी २ ओटा केक काटिएको थियो ।  

भक्तपुरको बिस्केट जात्राः रथ तान्ने क्रममा ढुंगा हानाहान हुँदा ९ जना घाइते

भक्तपुर, बैशाख ०६ । भक्तपुरमा मनाइने बिस्केट जात्राको अन्तिम दिन बिहीबार राति भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा ९ जना घाइते भएका छन् । घाइते हुनेमा भक्तपुर नगरपालिका १३ का ३८ वर्षीय माइला दुवाल, भक्तपुर नगरपालिका–४ गपलीका २३ वर्षीय रोजेश शिलाकार, भक्तपुर नगरपालिका – १ का २२ वर्षीय अशिष शिलाकार, रौतहट चन्द्रपुर घर भई भक्तपुर चोछे बस्ने १७ वर्षीय उमेश कुमार, काभ्रे मण्डन देउपुर नपा–२ देउपुर घर भई भक्तपुर व्यासी बस्ने २३ वर्षीय विकास तामाङ्ग, भक्तपुर नगरपालिका–६ इताछे बस्ने १८ वर्षीय मनिष कासुला, भक्तपुर नगरपालिका – २ इताछे बस्ने १८ वर्षीय रिमेश शाही घाइते भएका छन् । त्यस्तै, रथबाट खसेर भक्तपुर नगरपालिका ५ चोछेका ३० वर्षीय पूण्यराम सितिखु घाइते भएका छन् । रथलाई सुकुलढोका पुर्‍याएपछि सामान्य ढुङ्गाहानाहान भएको र स्थिति आफैँ नियन्त्रणमा आएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए। केही ढुङ्गाहानाहान, केही रथबाट खसेर र केही रथको डोरी तान्ने क्रममा घाइते भएको उनले जानकारी दिए । बिहीबार साँझ ५ बजे गःहिटीबाट तान्न सुरु गरिएको रथ घरमा ठोक्किए पछि ढुङ्गा हानाहान भएको हो । स्थिति नियन्त्रणमा आएपछि मध्यराति पुनस् रथ तान्न सुरु गरिएको थियो । रथलाई टौमढी, गःहिटी हुँदै वंशगोपालसम्म पुर्याइएको थियो । बिहान ४ बजे वंंशगोपाल मै रथलाई छाडेर रथबाट देवतालाई झिकेर भैरव मन्दिर लगिएपछि जात्रा सम्पन्न भएको थियो । रथ तान्ने क्रममा घाइते भएकाहरुको भक्तपुर अस्पतालमा उपचार भैरहेको प्रहरी नायव उपरीक्षक पोखरेलले जानकारी दिए । समाचार उज्यालोबाट लिइएको हो ।

बिदाई हुँदै फेल भएका १० हजार अस्थायी शिक्षक

काठमाडौं, चैत १३ । स्थायी शिक्षकका लागि लिइएको लिखित परीक्षामा असफल भएका करिब १० हजार अस्थायी शिक्षकलाई उपदानसहित बिदाइ गरिने भएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्र (साविकको शिक्षा विभाग) ले ती शिक्षकलाई उपदान दिन ५ अर्ब २५ करोड रुपियाँ राखेको छ। केन्द्रले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रका महानिर्देशक बाबुराम पौडेलले त्यस्ता शिक्षकहरू तत्कालै कक्षाकोठाबाट बाहिरिँदा समस्या पर्ने भएकाले आगामी असार मसान्तसम्म काममा लगाउन सकिने गरी व्यवस्था गर्न शिक्षा मन्त्रालयसँग आग्रह गरिएको जानकारी दिए। सरकारले केही समयअघि गठन गरेको कार्यदलले देशभरिका सामुदायिक विद्यालयमा ४७ हजार १०२ शिक्षक अपुग भएको तथ्याङ्कसहितको प्रतिवेदन मन्त्रिपरिषद्मा बुझाएको थियो। शिक्षा नियमावलीले कायम गरेको शिक्षक अनुपातअनुसार अझै ३४ हजार ४०८ शिक्षक अपुग छन्। उनले मन्त्रिपरिषद्ले निर्णय गरिदिए आफूहरूले शिक्षक पदस्थापन र दरबन्दी मिलान तत्काल अगाडि बढाउने बताए । यो समाचार गोरखापत्र दैनिकमा छापिएको छ।

आज ७ जिल्लाको प्रावि तहको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं, चैत ५ । शिक्षक सेवा आयोगले मंगलबार कार्यरत अस्थायी शिक्षकको ७ जिल्लाको प्राथमिक तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै कास्की, नवलपरासी, पाल्पा, स्याङ्जा, पर्सा, बारा र रौतहट जिल्लाको नतिजा सार्वजनिक गरेको हो । हेर्नुस् नतिजा– स्याङ्जाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रौतहटको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् पर्साको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बाराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् नवलपरासीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कास्कीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् पाल्पाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

डिप्रेसनबाट बच्नको लागि यस्तो छ उपाय

– अस्वस्थ जीवनशैलीका कारण अधिकांश मानिसमा तनाव हुने गर्छ । यसको व्यवस्थापन गर्न नसक्दा उनीहरू डिप्रेसनको शिकार हुने गरेका छन् । यसर्थ, स्वस्थ जीवनशैली अपनाउनुपर्छ । समयमा सुत्ने–उठ्ने, सन्तुलित आहारसँगै पर्याप्त आराम गर्न आवश्यक छ । – दैनिक काम गर्दा हुने तनावलाई सकारात्मक रूपमा लिनुपर्छ । आइपर्ने समस्याको चिन्ता लिएर बस्नुभन्दा समाधानको उपाय खोज्ने गर्नुपर्छ । – लामो समयसम्म एउटै काम गरिहनुहुँदैन । बीच–बीचमा घुम्न जानेजस्ता क्रियाकलाप गर्नाले फ्रेस भइन्छ । – फास्टफुड, जंकफुड, धूम्रपान र मध्यपानबाट टाढा रहनुपर्छ । अत्यधिक मात्रामा चिया–कफी पनि सेवन गर्नुहुँदैन । यसले निद्रा गडबडीको समस्या निम्त्याउँछ । – निष्क्रिय जीवनशैली त्याग्नुपर्छ । सामाजिक कार्यमा सक्रिय हुनुपर्छ । – मनोरोगलाई भयानक रूपमालिनुहँदैन  । यदि, मानसिक समस्या भएको संकेत भएमा तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ ।

समायाेजन फाराम नभर्ने कर्मचारीलाई ठाडाे कारवाहीकाे चेतावनी दिए मन्त्री पण्डितले

काठमाडौंँ, पुस १९ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन प्रक्रिया सुरु भएकाले सो अभियानमा असहयोग गर्ने कर्मचारीलाई कानुनअनुसार कारबाही हुने बताउनुभएको छ ।  गोरखापत्र दैनिकमा प्रकाशित समाचारमा मन्त्री पण्डितले सङ्घीय प्रणालीको स्थायी कार्यान्वयनको सुरुवात कर्मचारी समायोजनबाटै हुने विश्वास व्यक्त गर्नुभयो । जनताको सेवालाई घरदैलोमा पु¥याउन सङ्घीय प्रणालीको आवश्यकता परेकाले जनताको सेवामा असहयोग गर्ने कर्मचारीलाई सरकारले छुट नदिने चेतावनीसमेत उहाँले दिनुभयो । कर्मचारी समायोजन गर्दा निजामती कर्मचारीलाई आवश्यक रुपमा सरकारले प्रोत्साहन सुविधा प्रदान गर्ने भएकाले नकारात्मक विषयको पछाडि नलाग्न उहाँले आम कर्मचारीलाई आव्हान गर्नुभयो । “समायोजन कर्मचारीका निम्ति अवसरको पुलिन्दा हो । समायोजनबाट तर्सिनुपर्ने, मुख अमिलो बनाउनुपर्ने कुनै कारण छैन” मन्त्री पण्डितले भन्नुभयो–‘आन्दोलनको नाममा मुलुकमा अराजकता सिर्जना गर्न खोज्नेलाई कानुनअनुसार कारवाही हुन्छ ।’ कर्मचारी मनचिन्ते रोगबाट ग्रसित भएको टिप्पणी गर्दै उहाँले भन्नुभयो, “कर्मचारी ‘मन चिन्ते’ रोगबाट बाहिर आउनुपर्छ । समायोजनले कर्मचारीको मनोबल घटाउने आरोप, विरोध मनगढन्ते कुरा मात्र हो । केही नपाएपछि कनिका केलाउनु जस्तै हो ।” समायोजन प्रक्रियामा सरकारले कर्मचारीलाई आवश्यक प्रोत्साहन सुविधा प्रदान गर्न लागेको बताउँदै उहाँले दुर्गम ठाउँमा समायोजन हुने कर्मचारीलाई थप सेवा सुविधा प्राप्त हुने प्रष्ट पार्नुभयो । कर्मचारी समायोजनका लागि २१ दिने सूचना जारी गरी कर्मचारीको इच्छा जाहेरको काम भइरहेको बताउनुहुँदै मन्त्री पण्डितले आवेदन नभर्ने कर्मचारीलाई नछाड्ने चेतावनी दिनुभयो । “आवेदन नभर्ने कर्मचारी पनि सरकारका कर्मचारी हुनेछन्, जागीर खाँदा बुझाएको नागरिकताको ठेगानालाई आधार बनाएर समायोजनको काम गर्छौं” मन्त्री पण्डितले भन्नुभयो । सरकारी जागीर खाइसकेपछि सरकारले खटाएको ठाउँमा जाँदैनौ भन्ने कर्मचारीलाई छुट छैन भन्दै मन्त्री पण्डितले भन्नुभयो, “अटेर गर्ने, जिम्मेवारी निर्वाह नगर्ने कर्मचारीलाई घर पठाउनुबाहेक सरकारसँग अर्को विकल्प रहँदैन ।” सरकार समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थक पार्न अगाडि बढेकाले सो अभियानमा साथ दिन उहाँले सबै कर्मचारीलाई आव्हान गर्नुभयो ।

तपाईको कुनै शैक्षिक सुझाव छन्, राष्ट्रिय शिक्षा आयोगको अपिल (पूर्णपाठ)

काठमाडौं, पुस १८ । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले शिक्षा सम्बन्धी नयाँ व्यवस्थाका लागि प्रतिवेदन तयार पारी मन्त्रिपरिषदमा पेश गर्न लागेको जानकारी गराउँदै त्यसका लागि नागरिकलाई सुझावको अपील गरेको छ । आयोगले आफ्नो मस्यौदा प्रतिवेदन र वेबसाइटमार्फत् सुझावका लागि सर्वसाधारणलाई अपील गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गीरिराजमणि पोखरेलको अध्यक्षतामा २४ सदस्यीय आयोग गठन भएपछि सर्वसाधारणलाई सुझावका लागि आग्रह गरेको हो । यस्तो छ आयोगको अपील नेपालको संवैधानिक व्यवस्था र समाजवाद उन्मूख आर्थिक सामाजिक रुपान्तरणका लागि संघीय संरचनामा आधारित लोकतान्त्रिक, समावेशी एवं समानतामूलक समाज निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहसमेतलाई समेट्ने गरी शिक्षाको दूरदृष्टि, नीति, रणनीति र संरचना, समसामयिक सुझावहरु सहितको विस्तृत प्रतिवेदन तयार गरी नेपाल सरकारसमक्ष प्रस्तुत गने उद्देश्यसहित नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७५।३।३२ को निर्णयबाट माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीज्यूको अध्यक्षतामा २४ सदस्यीय राष्ट्रिय शिक्षा आयोगको गठन भएको छ । आयोगबाट सम्पादन गर्ने कामलाई व्यवस्थित गरी आठवटा विषयगत समूहहरु (प्रारम्भिक वालविकास तथा आधारभूत शिक्षा, माध्यमिक शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा, उच्च शिक्षा, आजीवन सिकाइ र अनौपचारिक शिक्षा, सुशासन, शिक्षामा गुणस्तर र वित्त र साझेदारी, समावेशीकरण० गठन भई आ–आफ्नो कार्यादेशबमोजिम सरोकारवालाहरुसँग विभिन्न विधि र माध्यमहरुमार्फत् छलफल, अन्तर्राष्ट्रिय, स्थलगत अध्ययन भ्रमणसमेत गरी राय सुझावहरु संकलन गने कार्य निरन्तर रुपमा चलिरहेको छ । उक्त आठ विषय–क्षेत्रमा आधारित रही मूल प्रतिवेदनको ढाँचा तय भएको र सोबमोजिम प्रारम्भिक मस्यौदा तयार भएको छ । आयोगले शिक्षाको २५ वर्षे दूरदृष्टि र शिक्षाको सिद्घान्त तयार गरिसकेको छ । राय सुझाव संकलनको खाका तयार गरेको छ । आयोगको प्रतिवेदनमा अधिकतम सरोकारवालाहरुका राय र सुझावहरु समावेश गरी यसको अपनत्व, गरिमा र सर्वस्वीकार्यतालाई अभिवृद्धि गर्ने कार्यको निरन्तरताकै रुपमा राष्ट्रिय स्तरमा राय सुझाव संकलन कार्यक्रमहरु सञ्चालन गर्न लागिएको छ । हालसम्मका छलफलका क्रममा उठाइएका मुद्दाहरु, समस्याहरु तथा प्राप्त सुझावहरुलाई एकत्रित गर्दै संक्षेपीकरण गरी तपाईहरुसमक्ष प्रस्तुत गररएको छ । कतिपय विषयहरु छुट पनि भएका हुन सक्छन् । प्रस्तुत मुद्दा एवं समस्याहरुमा केन्द्रित रहेर यहाँहरुका अमूल्य राय सुझावहरुको यस आयोग खुला हृदयले स्वागत गर्दछ । यो प्रारम्भिक मस्यौदा भएकाले भाषा र विषयवस्तुको सम्पादनमा समुचित ध्यान पुग्न नसकेको हुनसक्छ, यस पक्षमा समेत सुझावको अपेक्षा गरिएको छ । साथै आयोगको इमेल र वेवसाइटमार्फत् समेत सुझाव प्रश्तुत गर्न सक्ने व्यवस्था जानकारीको लागि अनुरोध छ । सुझाव इमेल ठेगानाः [email protected], वेभसाइटः www.moe.gov.np/aayog मा पठाउन सकिने छ ।

आजदेखि डा. केसी १६औंअनसनमा, यस्ता छन् ३ वटा मागहरु

चिकित्सा शिक्षा र सेवाका अभियन्ता डा.गोविन्द केसी सरकारलाइ १६ औं सत्याग्रह सुरु गर्ने दुइ साते अल्टिमेटमको अन्तिम दिन मंगलवार इलाम पुगेका छन । यस अघिको १५ औँ सत्याग्रह जुमलाबाट सुरु गरेका डा.केसीले पुस १७ गतेसम्म आफनो माग पुरा नभए अनसन गर्ने चेतावनी दिदै आएका थिए । १. १५ औं सत्याग्रहमा सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गरियोस् (क) सम्झौताबमोजिम अक्षरश: संशोधन गरेर संसदबाट अविलम्ब चिकित्सा शिक्षा ऐन पारित गरियोस् (ख) गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनले दोषी ठहर गरेका त्रिवि पदाधिकारी लगायतका व्यक्तिहरुलाई तत्काल सिफारिस बमोजिम बर्खास्ती लगायतका कारबाही गरियोस् । त्रिवि पदाधिकारीहरुद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुन: सो संस्थान मै फिर्ता गरियोस् । (ग) सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रूत गतिमा अघी बढाइयोस् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस भर्ना सुरु गर्ने व्यवस्था गरियोस् । २. निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाइयोस् । साथै, प्रमाण लोप गर्ने, झूठा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्तिमाथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरु माथि तत्काल फौजदारी मुद्दा चलाइयोस् । ३. सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारी माथि कारबाही गरियोस् ।

द्वन्द्वपीडितलाई पुनःस्थापना गर्छौँ : मुख्यमन्त्री

सुर्खेत, पुस १३ । बाँफिकोट गाउँपालिका–२ रुुकम पश्चिमका ६५ वर्षीय मङ्गली खत्रीलगायत दर्जन बढी द्वन्द्वपीडित महिला बिहीबार पहिलोपटक कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगे । महिला पुनःस्थापन केन्द्र (ओरेक) संस्थाद्वारा आयोजित ‘द्वन्द्व प्रभावित महिलाहरुको सामाजिक न्याय र परिपूरणका लागि प्रदेशस्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम’ मा सहभागी हुन मङ्गलीसहित १९ जना महिला त्यहाँ पुगेका थिए । कार्यक्रममा उनीहरुले आफ्ना पीडा, आक्रोश र गुनासा प्रकट गरे । त्रिवेणी गाउँपालिका–३ रुकुम पश्चिमका ६४ वर्षीया कृष्णा ओलीले आफ्नो जेठो छोरो लालबहादुर ओलीलाई गुमाएको १९ वर्षसम्म कुनै न्याय नपाएको दुखेसो गरे । “सँगै युद्ध गरेकाहरु सरकारमा छन् तर हामी सन्तान नहुनाको पीडाले छट्पटाइरहन्छौँ”, उनले भने, “शहीद परिवारलाई न्याय गर्छौँ भन्नेहरुले आफ्नै लागि मात्र गरे ।” रुकुम बाँफिकोट–८की मनिषा केसीले भने अर्धशहीद जस्तो भएर बाँच्नुपर्नाको पीडा पोख्दै भने, “पहुँचवाला द्वन्द्वपीडितले मात्र राहत र अन्य सेवासुविधा लिएका छन् । हामी त घर न घाटका भएका छौँ ।” सामाजिक विकासमन्त्री दल रावल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी, राष्ट्रिय मानवअधिकार आयोगका निर्देशक मुरारी खरेल, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा पुण्य रेग्मीको सहभागितामा भएको उक्त कार्यक्रममा गुनासो गर्नेहरू सबैले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग पनि उहाँकै कार्यकक्षमा भेटेर आफ्ना गुनासा सुनाए । मुख्यमन्त्री शाहीले द्वन्द्वका क्रममा घाइते भई हाल अर्कैको सहयोगमा बाँचेकालाई सुर्खेतमै पुनःस्थापन गरिने बताउँदै तिनको व्यवस्थापनका लागि सरकारको ध्यान गएको छ भने । “हिजोको घटनाले अहिलेसम्म पनि द्वन्द्वपीडित प्रभावित छन्”, उनले भने, “सबै समस्या एकैचोटी सम्बोधन हुन सक्दैन तर पनि राज्यले समाधानको उपाय खोज्नैपर्छ ।” मुख्यमन्त्री शाहीले अरुको सहयोगमा बाँच्न बाध्य द्वन्द्वपीडितका लागि पुनःस्थापन केन्द्र निर्माण गर्ने, घाइते तथा अपाङ्गता भएका व्यक्तिको क्षमताका आधारमा काम दिलाउने, सबै तथ्याङ्क सङ्कलन गर्ने र तिनको सहज जीवन यापनका लागि मनोविमर्शकर्ताको समेत व्यवस्था गर्ने सोच रहेको बताए । आयोजक संस्थाका अध्यक्ष डा रेणु अधिकारीले रुकुम पश्चिम पिपलबोटका ४२० महिलामा ८० प्रतिशत महिलामा लैङ्गिक हिंसा भएको र महिलाका पीडामा विगतका सरकार संवेदनशील नभएकामा यस प्रदेश सरकारले महिलालाई पीडाबाट मुक्त तुल्याउन विशेष संयन्त्र निर्माण गर्नुपर्दछ भने । “समस्या बुझेर आएकासँग आशा र विश्वास दुवै हुन्छ”, द्वन्द्वपीडित महिलाको नेतृत्व गर्दै आउनुभएकी मङ्गलीले भने, “तर तिनैले बगाएको रगतको अपमान गर्दा रिस पनि उठ्छ ।” द्वन्द्वपीडित महिलाले आफ्ना समस्या समधानका लागि मुख्यमन्त्री शाहीसमक्ष ११ बुँदे मागपत्र पनि बुझाएका थिए । उनीहरुले प्राणको आहुति दिएर नेता बनाउँदा र सरकारमा पुर्याउँदा पनि पीडितको पीडा नबुझेको भन्दै अबको सरकारले आफ्नो अभिभावक बनिदिन आग्रह गरेका थिए । रासस

सोलारको ब्याट्री पड्किएर आगलागी हुँदा ३ बालबालिकाको मृत्यु

दाङ — बंगलाचुली गाउँपालिका–८ गुराँशेमा बिहीबार राति आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ । नवराज पुनको घरमा आगलागी हुँदा उनका ७ वर्षीय छोरा कृष्णबहादुर पुन, ५ वर्षीया छोरी अस्मिता पुन र २ वर्ष ६ महिनाकी छोरी अन्जु पुनको मृत्यु भएको छ । एक वर्ष चार महिनाको छोरा बिरामी भएका कारण तीन छोराछोरीलाई घरमै सुताएर श्रीमती जीवना पुन र नवराज झारफुक गराउन गाउँमा गएको बेला सोलारको ब्याट्री पड्किएर आगलागी भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले बताएका छन् । आगोले जलेर ७ वटा बाख्रा ४ वटा गाईसमेत मरेको उनले जानकारी दिए । यसैगरी तुलसीपुर उपमहानगरपालिका–५ बिरेन्द्रचौकस्थित एक जुता पसलमा शुक्रबार बिहान आगलागी भएको छ । बिहान ६ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । भीमप्रसाद घिमिरेको घरमा रहेको जुताको होलसेल पसलमा बिहान एक्कासी आगोको मुस्लो निस्किएको थियो । मानिसहरु बाहिर निस्कन सफल भएकाले मानवीय क्षति नभएको र अन्य क्षतिको विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए । विद्युत सर्ट भएर आगलागि भएको हुनसक्ने प्रहरीको भनाइ छ । आगो नियन्त्रणका लागि तुलसीपुर उपमहानगरपालिकाका साथै घोराही उमहानगरपालिका र लमही नगरपालिकाको दमकल समेत पठाइएको छ । आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी खटिएका छन् । तीन तलाको घरभित्र रहेका सम्पूर्ण समाना जलेर नष्ट भएको प्रहरीले जनाएको छ । कान्तिपुरबाट

नेपाली मजदुरका समस्या समाधान गर्न कतारमा संयुक्त अभियान सुरु

दोहा,असोज २६।कतारमा नेपाली मजदुरका समस्या प्रति दूतावासले चासो देखाउन छोडेको भन्दै मजदुर समस्या समाधानका लागि संयुक्त अभियान सुरु गरिएको छ। विशेषगरि मानव तस्करी,ठगी र आजाद भिषाको नाममा नेपाली लाई कतार पुर्याइ अलपत्र पार्न गिरोहका विरुद्ध एक भएर लाग्न कतारमा रहेका ५ राजनीतिक दलका भातृ संगठनका प्रतिनिधि हरुले संयुक्त कार्यदल बनाइ काम सुरु गरेको कतार बाट बिबि खरालले जानकारी दिएका छन्। रोजगारीका लागि कतार पुगेका धेरै नेपालीहरु दलाल बाट ठगिदा समेत दूतावासले ठोस कदम नचाले पछी आफुहरुले संयुक्त अभियान संचालन गरि दलाल विरुद्ध लड्न लागेको खरालको भनाइ छ। बिहिवार कतारको राजधानी दोहा स्थित तरबारगेट नजिक रहेको बम्बे चौपाटी रेस्टुरेन्टमा विभिन्न संगठनका प्रतिनिधि सहितको भेलाले ७ जनाको कार्यदल गठन गरेको छ । उक्त भेलामा मजदुरहरुको आवाज उठाइरहने मजदुर नेता बि बि खराल नेकपाका प्रतिनिधि रामहरि गैरे,पुर्ब एमाले प्रबासी मंचका अध्यक्ष ,उपाध्यक्ष अब्दुल मिया ,संघीय समाजबादी फोरमका नेता हिराधन राई ,नयाँ शक्ती पार्टीका अध्यक्ष देब परियार ,बिबेकशिल साझाका कतार अध्यक्ष सुरेश आश्रति भट्ट ,नेकपा बिप्लब जनप्रगतिशिल मोर्चाका माहसचिब जेपि किशोर यादब,जिफन्ड कतारका मजदुर संगठनका अध्यक्ष बसन्त बिक , जनप्रगतिशिल मोर्चाका सल्लाहकार संयोजक रमेश गिरि ,नयाँ शक्ति कतारका सल्लाहकार दोय शिशिर सुवेदी ,ध्रुब क्षेत्री सहित२१ जनाको उपस्थिती रहेकोे थियो। भेलाले एक कमिटी गठन गरि उक्त कमिटीलाई मजदुर समस्या पहिचान त समाधान अभियानको रूपमा संचालन गर्न जानकारी दिएको छ। कमिटीले नेपाल सरकार ,नेपाली दूतावास र सरोकारवाला निकाए लाई कतारमा कार्यरत मजदुरको अवस्था र समस्या बारे जानकारी गराउदै समस्या समाधानको लागि तत्काल पहल गराउने जनाएको छ।

दसैंका लागि १६ हजार भेडा-च्याङ्ग्रा खरिद

मुस्ताङ, असोज २३ । दशैंका लागि मुस्ताङबाट १६ हजार भेडाच्याङ्ग्रा बिक्री गरिएको छ । म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन, तनहुँ, लमजुङ, स्याङजा, काठमाडौं लगायतका व्यापारीले मुस्ताङबाट भेडाच्याङ्ग्रा खरिद गरेका हुन् ।   भेडाच्याङ्ग्रा खरिद गर्न देशका विभिन्न ठाउँका व्यापारी जोमसोम आइपुगेका छन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जोमसोमस्थित सेवा केन्द्रले हालसम्म १६ हजार भेडाच्याङ्ग्रा बिक्री भइसकेको जनाएको छ ।     सोरबारसम्म १० हजार भेडा र ६ हजार च्याङ्ग्रा बिक्रीका लागि स्वास्थ्य परीक्षण गरिएको केन्द्रका पशु चिकित्सक डा शिव भुसालले जानकारी दिए।     दशैंका लागि जिल्लाबाट करीब २० हजार भेडाच्याङ्ग्रा बिक्री हुने अनुमान गरिएको छ । नेपाल खाद्य संस्थानले यस वर्ष मुस्ताङबाट एक हजार च्याङ्ग्रा काठमाडौं लैजाने भएको छ । पाँच सय ५० च्याङ्ग्रा मुस्ताङबाट पठाइसकेको संस्थानको जोमसोमस्थित कार्यालयका प्रमुख गङ्गाप्रसाद शाहले बताए । थप ४५० च्याङग्रा खरिद गरेर पठाउने तयारी भइरहेको छ ।     मुस्ताङमा एउटा च्याङग्रा रु १७ हजारदेखि २२ हजार तथा भेडा १४ हजारदेखि १७ हजार रुपैयाँका दरले खरिद बिक्री भइरहेको छ । प्रतिकिलो ५३० का दरले च्याङ्ग्रा खरिद गरेको संस्थानले काठमाडौंमा जिउँदो च्याङ्ग्रा प्रतिकिलो ६५० का दरले बिक्री गर्ने जनाएको छ । -रासस