दक्षिण कोरियाका गुप्तचर प्रमुख किम क्यु–ह्युनद्धारा राजीनामा
सोल । छिमेकी उत्तर कोरियाको आणविक हतियार र मिसाइल कार्यक्रमलाई लिएर तनाव बढ्न थालेपछि दक्षिण कोरियाको गुप्तचर एजेन्सीका प्रमुखले आइतबार पदबाट राजीनामा दिएको योन्हाप समाचार एजेन्सीले जनाएको छ ।
राष्ट्रपति युन सुक येओलले राष्ट्रिय गुप्तचर सेवा (एनआईएस) का निर्देशक किम क्यु–ह्युनको राजीनामा स्वीकृत गरेको योन्हापले कुनै विवरण उल्लेख नगरी जनाएको छ । एनआईएसका अरू दुई वरिष्ठ अधिकारीले पनि राजीनामा दिएका छन् ।
उत्तर कोरियाले उसको हतियार कार्यक्रमको विकासमा तीव्रता दिइरहेको र यसै साताको सुरुमा उसले आफ्नो पहिलो सैन्य उपग्रह सफलतापूर्वक अन्तरिक्षकक्षमा स्थापना गरेपछि यो परिवर्तन आएको हो ।
पूर्वउपराष्ट्रिय सुरक्षा सल्लाहकार तथा करियर कूटनीतिज्ञ किम क्यु–ह्युनलाई युनको चुनावी विजयपछि सन् २०२२ मेमा गुप्तचर प्रमुखमा नियुक्त गरिएको थियो ।
योन्हापका अनुसार किमले युनको प्रशासन सम्हालेपछिको अवधिमा ‘मुलुकको शीर्ष सुरक्षा तथा गुप्तचर एजेन्सीका रूपमा एनआईएसको प्रतिष्ठालाई पुनः स्थापित गर्न’ काम गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । रासस/ एएफपी
युग सुहाउँदो प्रशासनिक मोडलमा सहकार्य गर्न नेपाल सरकार तत्पर छ : मन्त्री मोदी
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले युग सुहाउँदो प्रशासनिक मोडल निर्माणका लागि विश्व समुदायसँग सहकार्यका लागि नेपाल तयार रहेको बताएका छन् । कोरियाली ग्रामीण विकास केन्द्र (सेमाउल) ले कोरियाको बुसानमा आयोजना गरेको ग्रामीण विकाससम्बन्धी विश्वका मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् । सिंगो विश्व अहिले रुपान्तरणको चरणमा रहेकाले मन्त्री मोदीले युग सुहाउँदो प्रशासनिक मोडलको अनिवार्यतामा जोड दिएका छन् । आफूलाई गौतमबुद्ध र सगरमाथाको देशको मन्त्रीको रुपमा परिचित गराउँदै मन्त्री मोदीले भने, “विश्व नै अहिले रुपान्तरणको चरणमा छ, आर्थिक भौतिक र मानव पुँजीको बीचमा खाडल छ, सबैतिरका प्रशासन र सम्बन्धहरु थप जटिल हुँदै गएको अवस्था छ, यस्तो युग सुहाउँदो प्रशासनिक मोडलमा निर्माण अनिवार्य बनेको छ, यसका लागि सहकार्य गर्न नेपाल सरकार तत्पर छ ।” मन्त्री मोदीले नेपालमा संघीय प्रणाली कार्यान्वयनको चरणमा रहेकाले संघीयताको सुदृढीकरण र सबलीकरणका लागि आफूहरु विश्व समुदायसँग हातेमालो गर्न तयार रहेको समेत बताए । “नेपालमा अहिले संघीयता कार्यान्वयनको चरणमा छ, तपाईहरुको अनुभव हाम्रा लागि पाठ हुन सक्छ, हामी संघीयताको सबलीकरण र सुदृढीकरणका लागि हातेमालो गर्न तयार छौँ” मन्त्री मोदीले भने, “हाम्रो जस्तो देशका लागि सेमाउल एउटा प्रेरणाको स्रोत हो, हामी सेमाउलको विधिलाई पछ्याउँदै संघीयतालाई बलियो बनाउने यात्रामा लाग्नेछौँ ।” सम्बोधनका क्रममा मन्त्री मोदीले नेपालका प्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नेपालले समावेशी, सहभागितामुलक लोकतान्त्रिक गणतन्त्रलाई स्थापित गर्दै अभ्यासमा ल्याएको समेत स्मरण गराए । सम्मेलनमा ३३ देशका मन्त्रीसहित ४६ देशका प्रतिनिधि सहभागी छन् ।
आजको मौसम : गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी भू-भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ । रातीस् देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
सिन्धुपाल्चोकको गोल्चे केन्द्रबिन्दु भएर भूकम्प
काठमाडौं । सिन्धुपाल्चोकको गोल्चे केन्द्रबिन्दु भएर ३.९ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो १ बजेर १९ मिनेट जाँदा ३.९ रेक्टर स्केलको भूकम्प गएको हो। यसअघि जेठ १० गते बझाङको दौलीचौर वरपर केन्द्रबिन्दु भएर ४.५ रेक्टर स्केलको भूकम्प गएको थियो। पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ। नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रूपमा लिने गरिन्छ।
सिरियाको पुनर्निर्माणका लागि इरानी विदेशमन्त्रीद्वारा अन्तर्राष्ट्रिय सहयोगको आग्रह
एजेन्सी । इरानका विदेश मन्त्री होसेन अमिर–अब्दुल्लाहियानले सिरियाको पुनः निर्माणका निम्ति अन्तर्राष्ट्रिय सहयोगको आवश्यकतामा जोड दिएका छन् । उनले सिरियाका विस्थापित मानिसहरूलाई आफ्नो घर फर्कन मद्दत गर्न आवश्यक रहेको उल्लेख गरेका छन् । उनले तेहरानमा सिरियाका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूत गेइर पेडर्सनसँगको भेटमा सो टिप्पणी गरेको इरानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सिरियाको समस्या समाधानका लागि हालै मस्कोमा भएको चौध पक्षीय बैठक लगायत सिरियाका सम्बन्धमा पछिल्लो समय भएका क्षेत्रीय र अन्तर्राष्ट्रिय घटनाक्रमका बारेमा पनि छलफल भएको थियो । अमिर-अब्दुल्लाहियानले इरानी राष्ट्रपति इब्राहिम राइसीको हालैको दमास्कस भ्रमण बारे टिप्पणी गर्दै यो भ्रमणले सिरिया दिगो सुरक्षाको चरणमा पुगेको सङ्केत भएको बताएका छन् । मन्त्रीले पेडरसनलाई सिरियामा शान्ति र स्थायित्व प्रवर्द्धन गर्ने कार्यका लागि कृतज्ञता पनि व्यक्त गरेका छन्। उनले सिरियाको सुरक्षा र क्षेत्रीय स्थिरतामा इरानको आतङ्कवाद विरोधी प्रयास र योगदानको लागि प्रशंसा समेत गरेका छन् । सन् २०११ मा सिरियाली युद्धको प्रकोपपछि सिरिया भ्रमण गर्ने पहिलो इरानी राष्ट्रपति रायसीले मेको सुरुमा दमास्कसको भ्रमण गरेका हुन् । सो अवसरमा उनले आफ्ना सिरियाली समकक्षी बसर अल-असदसँग राजनीतिक र आर्थिक वार्ता गरेका थिए।
अमेरिकाको टेक्सासको एक सपिङ मलमा गोली चल्दा ९ जनाको मृत्यु
एजेन्सी । अमेरिकाको टेक्सासको एक सपिङ मलमा गोली चल्दा ९ जनाको मृत्यु भएको छ । संयुक्त राज्य अमेरिकाको डलास सहरको उत्तरमा रहेको एउटा व्यस्त सपिङ मलमा शनिबार बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको हो । घटनामा अन्य सातजना घाइते भएका छन् । अमेरिकी अधिकारीहरूका अनुसार आक्रमणकारी एलेनले टेक्सासको एलेन प्रिमियम आउटलेट मलमा गोली चलाउन सुरु गरेको थियो । प्रहरीको जवाफी कारबाहीमा गोली चलाउने सन्दिग्ध ऐलन पनि मारिएका छन् । घटनाका केही तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । जसमा रगतले लतपतिएका मानिसहरू भुईँमा लडिरहेको देख्न सकिन्छ । भिडियोमा मारिएका आक्रमणकारी पनि देखिन्छन् । आक्रमणमा प्रयोग गरिएको बन्दुक पनि उनको शरीर नजिकै देखिन्छ । पुलिस विभागले आधिकारिक ट्विटर ह्यान्डलमार्फत मानिसहरूलाई उक्त क्षेत्रमा नजान सल्लाह दिएको छ। शेरिफको कार्यालयका प्रवक्ताले भने कि केही पीडितहरू मल भित्र फसेका छन्, हाल उनीहरूको अवस्थाबारे कुनै जानकारी आएको छैन । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियो अनुसार मलमा उपस्थित धेरै कर्मचारीले भवनभित्र शरण लिएका छन् ।
स्पेनिस कोपा डेल रे को उपाधि रियल मड्रिडलाई
काठमाडौं । ला लिगा प्रतिद्धन्द्धी ओसासुनालाई पराजित गर्दै रियल मड्रिड ९ वर्षपछि स्पेनिस कोपा डेल रेको च्याम्पियन बनेको छ । सेभियामा शनिबार राति भएको खेलमा ओसासुनालाई २–१ गोल अन्तरले पराजित गर्दै रियल सन् २०१४ पछि कोपा डेल रे च्याम्पियन बनेको हो । कोपा डेल रेमा रियल समग्रमा २०औं पटक च्याम्पियन बनेको हो । रियलका लागि दुबै गोल रोड्रिगोले गरे । ओसासुनाका लुकास टोरोले एक गोल फर्काए । खेलको दोस्रो मिनेटमा रोड्रिगोले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ५८ औं मिनेटमा लुकासले गोल गर्दै ओसासुनालाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ७० औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई २–१ को जित दिलाए । रियलसँगको हारसँगै ओसासुना क्लबको १०३ वर्षको इतिहासमा पहिलो उपाधिबाट वञ्चित बन्यो ।
संवैधानिक परिषद्को बैठक आगामी सोमबार बस्ने
काठमाडौं । संवैधानिक परिषद्को बैठक आगामी सोमबार बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज भएको छलफलपछि संवैधानिक परिषद्को बैठक बोलाइएको हो । वैठक सोमबार साँझ ६ बजे सिंहदरबारमा बस्ने तय भएको छ । प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि यसअघि बसेको बैठकमा कुनै निचोड निस्किएको थिएन । यसअघिको बैठकमा ओलीले संसदीय सुनुवाइ विशेष समिति गठन नभएसम्म प्रधानन्यायाधीश नियुक्ति नहुने भएकाले पहिले संसदीय समिति टुङ्गो लगाउनुपर्ने अडान लिएका थिए । संवैधानिक परिषद्को सिफारिस गरेको व्यक्ति संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्ति हुने व्यवस्था छ । सर्वोच्च अदालत लामो समयदेखि कामुको भरमा चलिरहेको छ ।
आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ ५ पैसा र बिक्री दर १३१ रुपैयाँ ६५ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ १ पैसा र बिक्री दर १४४ रुपैयाँ ६७ पैसा रहेको छ । यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ९२ पैसा र बिक्री दर १६३ रुपैयाँ ६७ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४६ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४६ पैसा रहेको छ । आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८६ पैसा र बिक्री दर ३६ रुपैयाँ २ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
सरकारको नीतिगत प्राथमिकता र न्यूनतम् कार्यक्रम सार्वजनिक
काठमाडौं । सरकारले नीतिगत प्राथमिकता र न्यूनतम् कार्यक्रम सार्वजनिक गरेको छ । गठबन्धनका १० दलहरूबीचमा सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमबारे सैद्धान्तिक र नीतिगत विषयमा सहमति जुटेपछी सरकारले आफ्ना नीतिगत प्राथमिकता र न्यूनतम् कार्यक्रम सार्वजनीक गरेको हो । सरकाले सार्वजनि गरेको नीतिगत प्राथमिकता र न्यूनतम् कार्यक्रमा लोकतन्त्र, राष्ट्रियता, जनजीविकाबारे, सुशासन जस्ता मूलभूत विषय समेटिएको छ ।
नाबालिकलाई खाजाघरमा यौनधन्दा गर्न लगाउने महिला पक्राउ
काठमाडौं, साउन १ गते । काठमाडौंको एक खाजाघरमा नाबालिकालाई वेश्यावृती गर्न लगाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको माई नगरपालिका–७ घर भई हाल काठमाडौं–९ टोखा बस्ने २८ वर्षीया चिनिमाया लिम्बु छन् । लिम्बुलाई मानव बेचविखन अनुसन्धान ब्यूरोले असार ३० गते पक्राउ गरेको हो । ब्यूरोका सूचना अधिकारी एसपी दानबहादुर मल्लका अनुसार लिम्बुले काठमाडौंको टोखा नगरपालिका–९ मा खाजा घर सञ्चालन गरी खाजा घरमै कोठा भाडामा लिएर नाबालिकालाई वेश्यावृती गर्न बाध्य पारेकी थिईन् । लिम्बुले प्रति ग्राहक एक हजार लिने गरेको एसपी मल्लले बताए । आफू रकम राखेर नाबालिकालाई खान मात्रै दिने र जबर्जस्ती यौन सम्पर्क गर्न बाध्य पारेको अनुसन्धानमा खुलेको छ। बाहिर कसैलाई बताएमा ज्यान लिने डरत्राशमा पारी बन्धक बनाइ राखेको अवस्था प्रहरीले फेला पारेर जेठ १३ गते ती नाबालिकाहरुको प्रहरीले उद्धार गरेको थियो । लिम्बुमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार पाँच दिनको म्याद थप लिई कारबाही भइरहेको एसपी मल्लले जनाए । photo: Symbolic Only
आज राष्ट्रपति भण्डारी चितवन जाँदै
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज चितवन जाने भएकी छन् । नेपाल फर्मा एक्स्पो, २०२२ को उद्घाटनका लागि उनी चितवन जान लागेकी हुन् । नेपाल औषधि उत्पादक सङ्घले चितवन प्रदर्शनी केन्द्रमा एक्स्पो गर्न लागेको हो । सङ्घका उपाध्यक्ष एवं मिडिया संयोजक सन्तोष बरालले राष्ट्रपति भण्डारीले दिउँसो १ बजे एक्सपोको उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए । राष्ट्रपति चितवन आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । उक्त एक्स्पो यही वैशाख ११ गतेसम्म सञ्चालन हुनेछ । सङ्घका महासचिव विप्लव अधिकारीले यसपटकको एक्स्पोले नेपालमा औषधि उत्पादनको क्षेत्रले अँगाल्दै आएको ज्ञान तथा प्रविधिको विस्तार गर्ने बताए । उनले भने, “एक्स्पोले औषधि उत्पादनको प्रविधि र यसमा अपनाइएका संवेदनशीलताका बारेमा जनमानसमा चेतना दिने छ ।” एक्स्पोले नेपालको औषधि उत्पादनलाई अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउने, अझै प्रविधिमैत्री र दक्षता प्रदान गर्ने उनको भनाइ छ । औषधि प्राविधिक र फर्मासिस्टलाई अन्तर्राष्ट्रियस्तरको नवीन प्राविधिक ज्ञान दिने उद्देश्यले एक्स्पो आयोजना गरिएको सङ्घका निवर्तमान अध्यक्ष एवं एक्स्पो संयोजक जी नारायणबहादुर क्षेत्रीले बताए । उनले नेपालमा उत्पादन हुँदै आएका औषधि र औषधि उत्पादनमा प्रयोग हुने प्रविधि, ल्याब ९प्रयोगशाला०, मेसिन, कच्चा पदार्थ, प्याकेजिङलगायतमा भएका विकासबारे जानकारी दिन प्रत्येक दुई वर्षमा एक्स्पो आयोजना गर्दै आएको जानकारी दिए । सन् २०२१ मा एक्स्पो कोभिड–१९ का कारण हुन सकेको थिएन । यसपटकको आठौँ संस्करणको एक्स्पोमा १६० कक्ष रहने छन् । औषधि क्षेत्रमा नयाँ प्रविधिको खोजी गरिरहेका विभिन्न १२३ बहुराष्ट्रिय कम्पनी र ३७ स्वदेशी औषधि उद्योगका कक्ष एक्स्पोमा रहने छन् । एक्स्पोका अवसरमा विभिन्न प्राविधिक गोष्ठी हुनेछन् । एक्स्पोमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, औषधि व्यवस्था विभाग, नेपाल फार्मेसी काउन्सिल, नेपाल औषधि व्यवसायी सङ्घ, नेपाल औषधि थोक व्यवसायी सङ्घ, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल फर्मास्युटिकल एशोसिएशन र नेपाल फार्मेसी सङ्घको आवद्धता छ । रासस
निर्वाचन आचारसंहितामा चुनाव प्रचारसम्बन्धी के छ व्यवस्था ? (हेर्नुस् पूर्ण पाठ)
काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसार सम्बन्धि विभिन्न व्यवस्था बनाएको छ । रातको समयमा चुनाव प्रचार गर्न पाईने छैन। बिहान ८ देखि साँझ ७ बजेसम्म मात्रै चुनावी कार्यक्रम सञ्चालन गर्न पाइने गरी आयोगले आचारसंहिता जारी गरेको छ। आचारसंहिता राजपत्रमा बिहीबार प्रकाशित भएपछि मात्रै लागू हुने छ। स्थानीय प्रशासनको अनुमति लिएर मात्र राजनीतिक दल र तिनका भ्रातृसंगठनले सार्वजनिक स्थलमा जुलुस, आमसभा, कोणसभा वा बैठक गर्न पाउने छन्। राजनीतिक दल वा उम्मेदवारले निर्वाचन चिह्न अंकित ज्याकेट, टोपी, गम्छा, टिसर्ट, कमिज, माक्स लकेट उत्पादन र प्रयोग गर्न आचारसंहिताले बन्देज गरेको छ । घरधनीको स्वीकृति नलिई कसैको घरमा पनि राजनीतिक गतिविधि वा प्रचार–प्रसार गर्न पनि बन्देज गरिएको छ । हेर्नुस् पूर्ण निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको पाठ
शिक्षकले दलगत पक्षधरता लिन र मत माग्न नपाउँने, बालबालिकालाई निर्वाचनमा प्रयोग गर्न निषेध
काठमाडौं । निर्वाचन आयोगले आज निर्वाचन आचार संहिता २०७८ जारी गरेको छ । आचार संहिता अनुसार सामुदायिक विद्यालयका शिक्षकहरुले कुनै पार्टीको प्रचार प्रसार गर्न पाउँने छैनन् । तेस्तै १८ वर्ष मुनिका बालबालिकालाई कुनैपनि राजनीतिक दलले निर्वाचन अभियानमा परिचान वा प्रयोग गर्न आचार संहिताले निषेध गरेको छ । यस्ता छन् बालबालिकासँग सम्बन्धित निर्वाचन आचार संहिता १. परिच्छेद २ को (ग) अनुसार कुनै सरकारी कार्यालय वा सामुदायिक विश्वविद्यालय वा सामुदायिक विद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचन सम्बन्धि भेला वा प्रचार प्रसार गर्न वा गराउन नहुँने । २. परिच्छेद २ को (छ) अनुसार १८ वर्ष पुरा नभएका बालबालिकालाई निर्वाचन प्रचार प्रसारमा प्रयोग गर्न वा गराउन नहुँने । ३. परिच्छेद ३ को ९ अनुसार सामुदायिक विद्यालयका शिक्षकहरुले कुनै पार्टीको प्रचार प्रसार गर्न नपाउँने, विद्यालयको भवन दलगत प्रयोग गर्न दिन नहुँने । ४. शिक्षकहरुले सामाजिक सञ्जाल प्रयोग गरेर पनि दलगत पक्षधरता लिन नपाइँने, मत माग्न नपाउँने । ५. परिच्छेद ३ को ११ अनुसार गैरसरकारी संस्थाका पदाधिकारी, कार्यरत कर्मचारीहरुले दलगत पक्षधरता लिन नपाइँने, सामाजिक सञ्जाल प्रयोग गरेर समेत मत माग्न, दलगत पक्षधरता लिन नपाउँने । ६. परिच्छेद ४ को (ट)अनुसार राजनीतिक दल, उम्मेदवार, वा दलका भातृसंगठनले १८ वर्ष पुरा नभएका बालबालिकालाई चुनावी प्रचार प्रसार धर्ना जुलुस आम सभामा प्रयोग गर्न नपाउँने ।
न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज
काठमाडौं । श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज भएको छ । मुख्यसचिव शंकरदाश वैरागीको संयोजकत्वमा रहेको कार्यदलले समिति खारेज गर्ने निर्णय गरेको हो । मन्त्रिरिषदले मुख्यसचिव वैरागीको संयोजकत्वमा सरोकारवाला मन्त्रालयका सचिवहरु सम्मिलित कार्यदललाई समिति खारेज गर्ने वा नगर्ने बारे निर्णय गर्न अधिकार प्रत्यायोजन गरेको थियो । सो कार्यदलले गत मंसिर १९ गतेकै बैठकबाट न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज गर्ने निर्णय गरेको जनाएको हो । समितिका अध्यक्ष राजेन्द्र अर्याललाई पत्र पठाउदै समिति खारेज गर्ने निर्णय भएकोले समिति बुझबुझारथ गर्न निर्देशन दिईसकिएको मुख्यसचिव सचिवालय स्रोतले जनाएको छ । श्रमजीवी पत्रकार ऐनको प्रबन्ध अनुसार गठन हुँदै आएको समितिले श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक निर्धारण गरी सरकारलाई सिफारिस गर्दै आएपनि पछिल्लो समय यसको आवश्यकता, औचित्यता र प्रभावकारिताबारे सोच्नुपर्ने बताईदै आइएको थियो ।
सौर्य परियोजनाको पीपीए अब प्रतिस्पर्धाबाट
काठमाडौं । यसअघि सामान्य प्रक्रियाबाट हुँदै आएको सौर्य परियोजनाबाट उत्पादित बिजुलीको विद्युत खरिद सम्झौता अब भने प्रतिस्पर्धाबाट मात्रै हुने भएको छ। अन्तर्राष्ट्रिय बजारमा सौर्य परियोजनामा प्रयोग हुने उपकरणको मूल्य घटेको तथा लागत क्रमशः कम हुँदै गएको सन्दर्भलाई ध्यान दिँदै नेपाल विद्युत प्राधिकरणले सोलार प्लान्टबाट उत्पादित ऊर्जाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) अब प्रतिस्र्धाबाट गर्ने भएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालको अध्यक्षतामा आइतबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले सोलारको पीपीए गर्दा प्रतिस्पर्धाबाट गर्ने निर्णय गरेको छ। सोलारबाट उत्पादित ऊर्जालाई सर्वसुलभ, प्रतिस्पर्धी र पारदर्शी बनाउन पीपीए प्रतिस्पर्धाबाट गर्ने निर्णय लिइएको मन्त्री भुसालले बताउनुभयो। उहाँले भन्नुभयो, “जनतालाई सहुलियत दरमा विद्युत् उपलब्ध गराउन, विद्युत् खरिदलाई प्रतिस्पर्धी तथा पारदर्शी बताउँदै लैजानुपर्छ। सोलारमार्फत हामीले यसको सुरुआत गरेका छौँ।” पछिल्लो विकसित प्रविधिअनुसार सोलारबाट विद्युत् उत्पादन लागत कम हुँदै गएको उल्लेख गर्दै भुसालले भन्नुभयो, “यस अघिको निर्णयअनुसार पनि तीन वर्षमा सोलारको पीपीए दर पुनरावलोकन गर्नुपर्ने थियो।” प्राधिकरणले विद्युत महसुललाई सर्वसुलभ बनाउन, अन्तर्राष्ट्रिय प्रचलन, जनअपेक्षा, विद्युत् माग र आपूर्तिको सन्तुलन एवं प्रचलित ऐन कानुनको मर्मलाई मध्यनजर गर्दै पीपीए गर्दा प्रतिस्पर्धाबाट गर्ने निर्णय गरिएको हो। अबदेखि सोलार आयोजनाबाट उत्पादित विद्युत्को पीपीए गर्दा विद्युत आयोजनाको उत्पादन सम्मिश्रणको अवधारणाअनुसार राष्ट्रिय ग्रिडमा कूल जडित क्षमताको १० प्रतिशतको परिधिभित्र रहेर प्राधिकरणलाई आवश्यक भएको क्षेत्रमा ‘आधार दर’ तोकी सो दरमा नबढ्ने गरी प्रतिस्पर्धामार्फत पीपीएका लागि आह्वान गरिने छ। यसअघि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयबाट वि.सं. २०७४ माघ २५ मा स्वीकृत ग्रिड कनेक्टेड वैकल्पिक विद्युत ऊर्जा विकाससम्बन्धी कार्यविधि, २०७४ मा उल्लेखित वैकल्पिक सौर्य र वायु ऊर्जाको विद्युत खरिददर प्रतियुनिट ७ रुपियाँ ३० तोकिएको थियो। उक्त दर अधिकतम तीन वर्षभित्र विद्युत खरिद सम्झौता सम्पन्न हुने आयोजनाका लागि कायम हुने निर्णय भएको थियो। मन्त्रालयको सो निर्णयलाई नेविप्रा सञ्चालक समितिले २०७५ असार २६ को ७७३औँ बैठकबाट निर्णय गरी कार्यान्वयमा ल्याएको थियो। तीन वर्षका लागि तोकिएको उक्त दर हालसम्म पनि परिमार्जन हुन सकेको थिएन। हाल अन्तर्राष्ट्रिय बजारमा पछिल्लो विकसित प्रविधिका कारण सोलार आयोजनाबाट उत्पादन गरिने विद्युत्को मूल्य निरन्तर घट्दो क्रममा रहेको छ। प्राधिकरणले अहिलेसम्म २१ सोलार आयोजनासँग ११० मेगावाटको पीपीए गरेको छ। यसमध्ये ६ आयोजनाको निर्माण सम्पन्न भई २९ मेगावाट राष्ट्रिय ग्रिडमा जोडिएको छ। विद्युत विकास विभागका अनुसार कूल २५ आयोजनाको कूल ६०९ मेगावाट क्षमताका आयोजनाले सर्वेक्षण अनुमति लिएका छन्। १९ आयोजनाको कूल ११७ मेगावाट क्षमताका सौर्य परियोजनाले विद्युत उत्पादनको अनुमति लिएका छन्। कूल ३५ आयोजनाले ९१२ मेगावाट बराबरको सौर्य बिजुली उत्पादनको सर्वेक्षणका लागि अनुमतिका लागि आवेदन दिएका छन्।