क्रिसमसका अवसरमा प्रधानमन्त्रीले दिए शुभकामना

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले क्रिसमस पर्वका अवसरमा सम्पूर्ण इसाई धर्मालम्बीहरुमा सुख, शान्ति, सुस्वाथ्य र दीर्घायुको कामना व्यक्त गर्नु भएको छ।

प्रधानमन्त्री देउवाले जिसस क्राइष्टको जन्मदिनको उपलक्ष्यमा इसाई धर्मालम्बीहरुमा शुभकामना दिदै इसाई धर्मका अनुयायीहरुले डिसेम्बर २५ तारिखमा विभिन्न कार्यक्रम गरी मनाइने क्रिसमस पर्वका अवसरमा शुभकामना व्यक्त गर्नु भएको हो ।

उहाँको शुभकामना सन्देशमा भनिएको छ ‘हाम्रा चाडपर्व र संस्कृति राष्ट्रिय एकता, पारस्परिक सद्भाव र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणका लागि महत्वपूर्ण रहँदै आएको उल्लेख गर्दै क्रिसमसले सबै नेपालीबीच एक आपसमा विश्वास र बन्धुत्वको भावना कायम राख्न प्रेरणा प्रदान गरोस् ।’

नेपाल बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिएको मुलुक भएको र जातिय, भाषिक, सांस्कृतिक तथा धार्मिक विविधता नेपालका लागि मात्र नभई विश्व समुदायकै लागि एक महत्वपूर्ण पूँजी रहँदै आएको शुभकामना सन्देशमा उल्लेख छ।

प्रधामन्त्री देउवाले कोभिड–१९ को नियन्त्रण र व्यवस्थापनका प्रयास प्रभावकारी देखिए पनि यसको नयाँ स्वरूप ओमिक्रोन सङ्क्रमणका सम्बन्धमा विश्व स्वास्थ्य सङ्गठन र विज्ञहरूले चिन्ता व्यक्त गरिरहेकाले स्वास्थ्यका मापदण्डहरू पालना गर्दै सुरक्षितरूपमा हर्षोल्लासपूर्वक यो पर्व मनाउन सबैमा अनुरोध गर्नु भएकाे छ ।

एमसिसीका लागि अधिग्रहण गरिएको ४ सय रोपनी स्थानीयद्वारा कब्जामा

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. ७ रातमाटेमा एमसीसी परियोजनाका लागि अधिग्रहण गरिएको करिब ४ सय रोपनी जग्गामा स्थानीयले. राष्ट्रिय झण्डा गाडेर कब्जामा लिएका छन् । अधिग्रहणस्थलमा प्रदर्शन गर्दै राष्ट्रिय झण्डा गाडेर कब्जा गरेको घोषणा गरिएको स्थानीयको भनाई छ । ४०० केभी प्रशारण लाईन निर्माणका लागी सरकारले जग्गा अधिग्रहण गरेको हो । सडक योजना र विद्युत प्रसारण लाइन निर्माणका लागि अमेरिकी सहयोग सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग ५१ अर्ब ३८ करोड रुपैयाँ सहायता स्वीकार गर्ने निर्णय यसअघि सरकारले गरेको थियो । साथै उक्त परियोजनाबाट नेपालमा पहिलोपटक ४ सय केभी क्षमताको ३ सय किलोमिटर लामो प्रसारण लाइन बनाइने तयारी छ । यस योजनाबाट लप्सीफेदी–गल्छी, गल्छी–दमौली, गल्छी–हेटौंडा, दमौली–सुनवल गरी चार खण्डमा प्रसारणलाइन निर्माणको योजना अघि सारिएको छ ।

राष्ट्रिय सम्मेलन र संगठनसम्बन्धी माओवादीले यस्ताे गर्याे निर्णय

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को जारी केन्द्रिय समितिको बैठकले राष्ट्रिय सम्मेलनकाे तयारिका लागि अध्यक्ष प्रचण्डले पेश गरेकाे संगठनात्मक प्रस्तावलाई अन्तिम रुप दिएकाे छ । अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि ८ वटा समूहमार्फत छलफल गरिएको थियो । आज बिहान स्थायी समिति बैठकपछि सबै समूहहरुले आफ्नो निश्कर्ष र रिपोर्ट प्रस्तुत गरेका थिए । अध्यक्ष प्रचण्डले क्रान्तिकारी विचार र क्रान्तिकारी कम्युनिष्ट पार्टीको आवश्यकतामा जोड दिँदै एक्काइसौं शताब्दीको समाजवादको रणनीति अवलम्बन गर्नुपर्ने कुरामा जोड दिएका थिए । यसैगरी बैठकले केन्द्रीय समितिमा २२ जना नयाँ सदस्य थप्ने निर्णय गरेको छ । नयाँ सदस्य थप्दा समावेशी सिद्धान्त र युवाहरुलाई प्राथमिकता दिने निर्णय समेत माओवादीले गरेको छ । योसँगै माओवादीको केन्द्रीय समिति दुई सदस्यी हुनेछ । यससम्बन्धी आवश्यक निर्णय स्थायी कमिटी बैठकले गर्ने छ । अध्यक्षले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि आएका छलफललाई समेटेर आगामी राष्ट्रिय सम्मेलनमा दस्तावेज तयारी गर्ने निर्णय समेत बैठकले गरेको छ । केन्द्रीय सदस्यहरुको राय सुझाव र प्रतिक्रियापछि बसेको स्थायी कमिटी बैठकले संगठनसम्बन्धी आवश्यक निर्णय गर्दै बैठक समक्ष प्रस्तुत गरेको थियो । आज सम्पन्न केन्द्रीय समिति बैठककाे संगठनात्मक प्रस्तावकाे सारसंक्षेप यसप्रकार छ । १. २०७८ भदौ मसान्तसम्म देशैभर पार्टी सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्ने । २. २०७८ असोज १० गते–देशैभर एकै दिन सेल र टोल भेला । ३. २०७८ असोज २० गते वडा सम्मेलन ४. २०७८ असोज ३० गते गाउँपालिका र नगरपालिका सम्मेलन । ५. २०७८ मङ्सिर १५ गते प्रदेश सम्मेलन ६. २०७८ पौष ११ देखि १३ सम्म पार्टीको ऐतिहासिक राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने । ७. संघियताको मर्मअनुसार जिल्ला समिति माओवादीमा नरहने, संयोजन समितिमात्रै रहने । ८. जनवर्गिय एवं विभिन्न जातिय/क्षेत्रिय मोर्चाहरूको सम्मेलन, भेला, बैठकहरू अशोज मसान्तासम्म सम्पन्न गर्ने । ९. जनयुद्दका घाईते, अपांग तथा छापामारलाई परिचयपत्र दिईने । १०. विधान संशोधन सहित पारित गरिएको छ । ११. उत्पादनका निम्ति संघर्ष र जनपरिचालन गर्ने । १२. सबै रिक्त कमिटिमा पदपुर्ति गर्ने । जसका लागि केन्द्रीय समितिले ७ दिनको समयसिमा दिएर स्थायी समितिलाई जिम्मा ।

अफगानिस्तानमा रहेका १४ हजार नेपालीलाई तत्काल स्वदेश ल्याउन बाबुराम भट्टराईकाे माग

काठमाडौं । जनता समाजवादी नेपाल (जसपा) का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराइले अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई तत्काल स्वदेश फर्काउन सरकारसँग माग गर्नुभएको छ । उहाँले अफगानिस्तानमा सुरक्षा संकटमा रहेका १४ हजार बढी नेपाली कामदारलाई स्वदेश फर्काउन माग गर्नुभएको हो । सामाजिक सञ्जालमा लेख्दै भट्टराइले कामदार फर्काउन सरकारले आलटाल वा वहानावाजी गर्न नहुने तर्क गर्नुभयो । ‘पहिलो त त्यस्ता द्वन्दग्रस्त ठाउॅमा आफ्ना नागरिकलाई पठाउन र जाने वातावरण बनाउनै हुॅदैनथ्यो।गैसकेपछि तिनको जीवनरक्षा गर्नु राज्यको दायित्व हो। किन्तुपरन्तु नहोस्’, भट्टराइले लेख्नुभएको छ ।

बालुवाटार जग्गा प्रकरण : १० लाख धरौटी बुझाएर रिहा भए गच्छदार

काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा खेपेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार धरौटी बुझाएर रिहा भएका छन् । उनी विशेष अदालतमा बुधबार १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए । ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोग लागेका गच्छदार लामो समय फरार रहेर बुधबार विशेष अदालतमा हाजिर भएका थिए । गच्छदारमाथि २०६६ सालमा भौतिक योजना तथा निर्माण मन्त्री हुँदा भ्रष्टाचार गरेको आरोप लागेको हो । उनीमाथि ९ करोड ६५ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ । गच्छदारमाथि नक्कली मोहीको विवरण समावेश गरेको अनि क्षेत्राधिकार अनुसार पनि नमिल्ने प्रस्ताव मन्त्रिपरिषद पठाएको भन्ने आरोप थियो । अख्तियारले ‘क्षेत्राधिकार नभएको’ विषयलाई किन मन्त्रिपरिषदमा लगेको भनी गच्छादारमाथि प्रश्न उठाएको छ ।

माओवादी केन्द्रले सहिद ईन्द्र कोइरालाको परिवारलाई घर निर्माण गर्ने

सर्लाही। नेकपा माओवादी केन्द्र सर्लाही जिल्ला कार्यालयले जिल्लाको पहिलो सहिद ईन्द्र कोइरालाको परिवारलाई एक घर निर्माण गरेर हस्तान्तरण गर्ने भएको छ। शनिबार बसेको माओवादी केन्द्र सर्लाही जिल्ला कार्यालयको विस्तारित बैठकले यस्तो निर्णय गरेको हो। बागमती नगरपालिकाले उपलब्ध गरायको घडेरीमा आर्थिक अवस्था कमजोर रहेकोले चार कोठे पक्की भवन बनाएर सहिद कोइराला सहादत भएकै दिन पारेर उनको परिवारलाइ घर हस्तान्तरण गर्ने निर्णय गरेको माझी राष्ट्रिय मुक्ति मोर्चा, पूर्वनेपालका बाग्मती प्रदेश अध्यक्ष घनश्याम माझीले जानकारी दिए। सहिद इन्द्र कोइरालाको २०५५ कार्तिक १० गते निधन भएको थियो।घरको शिलान्यास यही असार २१ गते गरिने भएको छ। साथै माओवादी नेतृ माया बल घाटीको क्यान्सरले लडिरहेकी छन्। उनलाई उपचारमा सहयोग होस् भन्ने उद्देश्यले मासिक रु.५०,००० (पचास हजार रुपैयाँ) का दरले १ वर्षसम्म सहयोग गर्ने निर्णय पनि गरेको छ। पहिलो किस्ता स्वरुप शनिबार नै उक्त रकम हस्तान्तरण गरिएको सर्लाही जिल्ला पार्टी सचिव कमल बुढाथोकीले बताए।

राष्ट्रपति सी जिनपिङद्वारा चीनलाई दमन गर्न खोज्नेको टाउको ग्रेट वाल अफ स्टिलमा ठोक्किने चेतावनी

चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनलाई दमन गर्न खोज्नेको ‘टाउको ग्रेट वाल अफ स्टिलमा ठोक्किने’ चेतावनी दिएका छन् । चीनले कसैलाई थिचोमिचो नगर्ने बताउँदै उनले अमेरिकाप्रति लक्षित गर्दै कसैसँग चीन नदब्ने पनि बताए । सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको १ सयौं वर्षगाँठ मनाउने क्रममा उनले झन्डै एक घण्टासम्म सम्बोधन राखेका हुन् । उनले चीनको विकासमा कम्युनिष्ट पार्टीको मुख्य भूमिका रहेको भन्दै यसलाई जनताबाट अलग गर्न खोज्ने प्रयास असफल हुने बताए । उनले कसैलाई पनि चीनविरुद्ध दमन गर्ने मौका नदिने बताए । बेइजिङको तियानान्मेन स्क्वायरमा झन्डै ७० हजारजना वर्षगाँठ मनाउनका लागि भेला भएका छन्, उनीहरुमध्ये धेरैजनाले मास्क लगाएका छैनन् । चीनमा कोरोना भाइरसको प्रभाव खासै नरहेकाले उनीहरु स्वतन्त्र हिडिंरहेका छन् । बिहीबार बिहानको समारोहमा सैनिक जेट उडाइएको, तोप पड्काइएको र राष्ट्रवादी गीतहरु बजाइएको थियो । १९२१ मा चिनियाँ कम्युनिष्ट पार्टी (सिसिपी) गठन भएको थियो । लामो गृहयुद्धपछि १९४९ मा चिनियाँ कम्युनिष्ट पार्टी सत्तामा पुगेको थियो । त्यसयता देशमा ठूलो परिवर्तन भइसकेको छ । सोमबार बेइजिङस्थित बर्ड नेस्ट रंगशालामा ‘ग्रेट जर्नी’ नामक नृत्य प्रस्तुती पेश गरिएको थियो, यस प्रस्तुतीले चिनियाँ इतिहास झल्काउथ्यों ।

अखिल क्रान्तिकारीले बाँड्यो हेलम्बुमा राहत सामग्री

हेलम्बु गाउँपालिकामा अखिल क्रान्तिकारीले राहत हस्तान्तरण कार्यक्रम गरेको छ। सिन्धुपाल्चोकको वाढी पहिरोग्रस्त क्षेत्रमा अध्यक्ष रञ्जित तामाङ नेतृत्वमा गएको टोलीले शुक्रबार सांझ हेलम्बु गाउँपालिका वडा नं २ का अध्यक्ष छिरिङ ग्याल्वु लामा र स्थानीय नेता भरत थापा सहितको टोलीलाई राहत हस्तान्तरण गरेको हाे । बाढी पीडितको निम्ति १३५ बोरा चामल, १०० केजी दाल , १०० थान ब्ल्यांकेट, १५० वटा सोलार लाइट, २ रोल म्याट्रेस, ७० थान टेन्ट र विभिन्न आधारभूत स्वास्थ्य सामग्री सहितको राहत हस्तान्तरण गरिएको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जनाए। राहत वितरण टोलीमा अध्यक्ष तामाङ , उपाध्यक्ष बस्नेत , अर्का उपाध्यक्ष तिलकराज भण्डारी , सचिव पवन कार्की , विद्यार्थी स्वयंसेवकका संयोजक संजय काल्धन सहितको केन्द्रीय टोली हेलम्बु पुगेको थियोे । यसैगरी अनेरास्ववियू (क्रान्तिकारी ) ले वाढिग्रस्त क्षेत्रमा संगठनका सम्पुर्ण नेता कार्यकर्तालाई राहत तथा उद्धार कार्यमा अहोरात्र खट्न निर्देशन गरिएको उपाध्यक्ष बस्नेतले वताए।

बैतडीमा मकैमा फौजी किराको प्रकोप

बैतडी : मुख्य खाद्य बालीका रुपमा रहेको मकैमा अमेरिकी फौजी किराको प्रकोप देखिएपछि बैतडीका किसान चिन्तित भएका छन् । फौजी किराको प्रकोप देखिएपछि भर्खरै उम्रेका बोटहरु सखाप भएका छन् । जिल्लाको दशरथचन्द नगरपालिका, पञ्चेश्वर गाउँपालिका, सुर्नया गाउँपालिका, मेलौली नगरपालिकालगायतका किसानले लगाएको मकैमा उक्त प्रकोप देखिएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । मकैको पकेट क्षेत्रमै किराले मकैबाली नोक्सान गर्न थालेपछि किसानहरु हैरान भएका छन् । गत वर्ष पनि मकैबालीमा फौजी किराको प्रकोप देखिएको थियो । फौजी किराले मकै सखाप पारेपछि दोस्रोपटक छरेको सुर्नया गाउँपालिका-५ का किसान अजवबहादुर चन्दले बर्ताए । उनले भने, ‘एकपटक उम्रेको मकै किराले सखाप पार्‍यो अहिले दोस्रोपटक छरेका छौं, यहाँका सबैजसो किसानले त्यस्तै गरेका छन् ।’ दशरथचन्द नगरपालिका-१ गुरुखोलाका किसानले खेतमा लगाएको मकैमा पनि यस्तै प्रकोप देखिएको छ । स्थानीय किसान अम्बादत्त बडुका अनुसार किराले भर्खरै हुर्कन लागेको मकैका बोटहरु नष्ट गरेको छ । खेतमा लगाएको मकैमा फौजी किराको प्रकोपले मकैबाली नष्ट हुन थालेपछि यहाँका किसान समस्यामा परेका छन् । मकैबालीमा अमेरिकी फौजी किराको प्रकोप देखिएपछि किसानहरु चिन्तित बनेका पञ्चेश्वर गाउँपालिका-२ का देवबहादुर चन्दले बताए । मकैबालीमा फौजी किराको प्रकोप देखा परेकोले यो वर्ष मकै उत्पादनमा हस आउने देखिएको छ । जिल्लाका विभिन्न ठाउँका किसानले मकैबालीमा फौजी किराको प्रकोप देखिएको भन्ने गुनासो आएको ज्ञान केन्द्रका प्रमुख दिलबहादुर सिंहले जानकारी दिए। उनले भने, ‘फौजी किरा रातिको समयमा बढी सक्रिय हुने गरेको छ, फौजी किराको प्रकोप देखिएको ठाउँमा विषादीको प्रयोग गर्नुपर्छ ।’ बैतडीमा १३ हजार हेक्टर क्षेत्रफल जमीनमा मकै खेती गरिँदै आएको छ ।

विश्वकप फुटबल छनोट खेल स्थगित

काठमाडौंः फिफा विश्वकप फुटबल २०२२ र एशियाली फुटबल प्रतियोगिता २०२३ को छनोट खेल स्थगित भएको छ । नेपालले छनोटको दोस्रो चरण अन्तगर्त दशरथ रङ्गशालामा चैत्त १७ गते अष्ट्रेलियाको सामना गर्ने तय भएको थियो । खेल तालिका अनुसार दोस्रो चरणमा नेपालले चाइनिज ताइपेई र अष्ट्रेलिया र जोर्डनको सामना गर्ने तय भएको थियो । तर एशियाली फुटबल संघले अद्यावधिक गरेको खेल तालिकामा खेल ‘भेन्यु’ दशरथ रङ्गशाला नै रहेपनि खेल स्थगित भएको उल्लेख गरिएको छ । त्यसअघि नेपालले १२ चैत्तमा चाइनिज ताइपेईको सामना गर्नेछ । उक्त खेल समेत स्थगित हुन पुगेको एएफसीको खेल तालिकामा उल्लेख गरिएको छ । नेपाल छनोट प्रतियोगिताको समूह बी मा रहेको छ । दोस्रो चरणको अन्तिम खेलमा नेपालले जोर्डनको सामना जुन ७ मा गर्ने तय गरिएको छ । तर उक्त खेल यथावत मितिमै हुने उल्लेख गरिएको छ । दोस्रो चरणकै खेलमा अष्ट्रेलियाले कुवेतको र कुवेतले जोर्डनको सामना गर्नेछ । उक्त खेल समेत स्थगित भएको छ । अष्ट्रेलिया र चाइनिज ताइपेईबीचको खेल यथावत तालिकामै हुने जनाइएको छ । नेपालले छनोट चरणमा ५ खेलमध्ये एकमा जित र चारमा हार बेहोरेर अङ्कतालिकाको चौथो स्थानमा छ । नेपाललको ३ अङ्क छ । शीर्ष स्थानमा रहेको अष्ट्रेलियाले चारमध्ये चारै खेलमा जित हात पार्दै १६ अङ्क बटुलेको छ । कुवेतले ५ खेलबाट १४ अङ्कसहित दोस्रो र जोर्डन ५ खेलबाट दश अङ्कसहित तेस्रो स्थानमा छ । कुवेतले पाँचमध्ये तीनमा जित र एउटा बराबरी खेलेको छ भने एउटामा हार बेहोरेको छ । जोर्डनले पाँचमध्ये तीनमा जित र एउटा बराबरी तथा अर्कोमा हार बेहोरेको छ । चाइनिज ताइपेईले भने ५ खेलमध्ये ५ वटैमा हार बेहोरेर अङ्कविहीन हुँदै पूछारमा छ । नेपालले छनोट अन्तगर्तको पहिलो खेलमा कुवेतसँग ७-० ले हार बेहोरेको थियो । दोस्रो खेलमा चाइनिज ताइपेईलाई २-० ले हराएको नेपालले तेस्रो खेलमा अष्ट्रेलियासँग ५-० को हार बेहोरेको थियो । जोर्डनसँग ३-० को हार बेहोरेको नेपालले आफ्नो पछिल्लो खेलमा कुवेत विरुद्ध भुटानको थिम्पुमा ०-१ को हार बेहोरेको थियो ।

अञ्जु पन्तले थीर कोइरालासँग बिहे गर्दै

काठमाडौं । चर्चित गायिका अञ्जु पन्तले दोस्रो विवाह गर्ने भएकीछिन् । पन्तले इलाम स्थायी घर भएका थिर कोइरालासँग बिवाह गर्ने भएकी हुन् । बिवाहबारे दुवैको परिवारमा कुराकानी भैरहेपनि मिति भने तय भएको छैन । गायककार मनोजसँग पहिलो विवाह गरेकी अन्जुको दाम्पत्य जीवन सफल भएको थिएन । क्रिश्चियन चर्चका पाष्टर समेत रहेको कोइराला सामाजिक क्षेत्रमा सक्रिय रहेका छन् । दुबै केही समय देखि प्रेम सम्बन्धमा थिए । थिर र अञ्जु दुबैले क्रिश्चियन धर्ममा आस्था राख्छन् । थिरसँगको एक अन्तरवार्ताको क्रममा अञ्जुको भेट भएको थियो ।यसपछि, भने उनीहरु नजिक भएका थिए । थिरले अञ्जुको आवाजमा समावेश केही गीतमा शब्द समेत कोरेका छन् । एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग सम्बन्ध विच्छेद गरेर एकल जीवन बिताइरहेकी थिइन् । मनोजराजले सोही वर्ष विवाह गरेपनि अन्जु भने छोरीसँग बस्दै आएकी थिइन् । अञ्जुकी छोरी परितोशिका पन्तले केही समयदेखि मिडियामा आमाले बिहे गर्नुपर्ने बताउँदै आएकी थिइन् । अञ्जुले पनि छोरीको दबाबका कारण बिहे गर्ने विषयमा सोचिरहेको बताएकी थिइन् ।

विप्लव नेकपाका नेता अनिल विरही रिहा

काठमाडौं : नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेता अनिल शर्मा विरही रिहा भएका छन् । जिल्ला अदालत मोरङले उनलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । शर्मा २३ वैशाखमा भरतपुर अस्पताल, चितवनमा उपचारकै क्रममा पक्राउ परेका थिए । त्यसयता उनलाई अदालतले छाड्ने र प्रहरीले पक्राउ गर्ने क्रम १३ पटकसम्म चलेको थियो । शुक्रबार काभ्रे जिल्ला अदालतबाट साधारण तारेखमा रिहा गरेपछि उनलाई दोस्रोपटक मोरङ पुर्‍याइएको थियो ।

संघर्षका कार्यक्रम थप प्रभावकारी बनाउने नेकपाको निर्णय, कार्यालय सचिवमा तुलाधर नियुक्त

काठमाडौं : नेकपा प्रचण्ड-नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त सङ्घर्षका कार्यक्रमलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटीको बैठकले संविधान विपरीत प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि सबै राजनीतिक दल, नागरिक समाजलगायत सरोकार वर्ग तथा क्षेत्र आन्दोलित भएको तथा पार्टीका तर्फबाट यसअघि सञ्चालित सङ्घर्षका कार्यक्रम र विशेष गरी यही माघ ९ गते काठमाडौंमा आयोजित जनसभा सफल भएको निष्कर्ष निकालेको छ । बैठकमा संयुक्त आन्दोलनका लागि अन्य राजनीतिक दल तथा नागरिक समाजसँग भएको छलफलका बारेमा पार्टी अध्यक्ष एवम् सो कामका लागि जिम्मेवारी पाउनुभएका नेताले जानकारी गराउनुभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । स्थायी कमिटीको बैठकमा सम्बन्धित प्रदेशका प्रमुख एवम् स्थायी कमिटी सदस्यले आ-आफ्ना प्रदेशको समग्र पार्टी, जनवर्गीय सङ्गठन एवम् पछिल्ला जनसङ्घर्षका कार्यक्रमका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए । बैठकले केन्द्रीय कार्यालय सचिवमा नेता गङ्गालाल तुलाधार र उपसचिवमा मोहन गौतमलाई नियुक्त गर्ने निर्णय गरेको छ । अर्का एक उपसचिवसमेत नियुक्त गरिने जनाइएको छ । बैठकले सोमबार नै थप सङ्घर्षका कार्यक्रम सार्वजनिक गर्ने अख्तियारी सङ्घर्ष समितिलाई दिएको छ । त्यस्तै, प्रदेश र जिल्ला कमिटीका पदाधिकारीसहित साङ्गठनिक एकीकरणका बाँकी काम एकाध दिनभित्रै सम्पन्न गर्ने र रिक्त पदमा तत्काल पदपूर्ति गरिने भएको छ । सो कार्यका लागि पार्टी स्थायी कमिटीका सदस्यहरुको परामर्शमा सचिवालयले आवश्यक निर्णय गर्ने अख्तियारीसमेत बैठकले दिएको छ । पार्टीको अनुशासन तथा विधिलाई समेत प्रभावकारीरुपमा कार्यान्वयन गर्ने बैठकले निर्णय गरेको छ । नेकपाले यही माघ ३ गते प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण सोधेको जानकारी दिँदै प्रवक्ता श्रेष्ठले भने, ‘पार्टी, देश र जनताविरुद्ध गतिविधि गरेको पाइएकाले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई साधारण सदस्यसमेत नरहने गरी आजको बैठकले कारवाही गरेको छ ।’

तलब नपाएको भन्दै निजी विद्यालयका शिक्षक आन्दोलित

काठमाडौं : आफूहरूले तलब र सुविधा प्राप्त नभएको जनाउँदै निजी (संस्थागत) विद्यालय शिक्षक युनियन (इस्टु) ले १० बुँदे माग राखी चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । सो सङ्गठनले यही असोज ९ गतेसम्म सबै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र सम्भव भएसम्म सबै गाउँपािलकामा पुनः ज्ञापनपत्र बुझाउने र प्याब्सन, एनप्याब्सनलाई स्मरणपत्र पनि बुझाउने इस्टुका अध्यक्ष होमकुमार थापाले बताए । निजी विद्यालयमा काम गर्ने शिक्षक/कर्मचारीलाई अहिलेसम्मको खाइपाई आएको तलबसुविधा यथाशक्य चाँडो प्रदान गर्नुपर्ने तथा निश्कासित शिक्षक तथा कर्मचारीलाई पुनःबहाली गरी काम गर्ने वातावरण सिर्जना गरिनुपर्ने सङ्गठनको माग छ । नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले शिक्षक÷कर्मचारीका अधिकार सुनिश्चित गरिनुपर्ने र ऐननियम र कानूनमा भएका प्रावधान अक्षरशः पालना गरिनुपर्ने बताए ।

नेपालमा रेल यातायाततर्फको अर्काे यात्रा शुरू

काठमाडौंः धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि रेल सेट नेपाल आइपुगेसँगै नेपालमा रेल यातायाततर्फको अर्काे यात्रा शुरू भएको छ । नेपाली समयानुसार अपराह्न १२ बजे सो रेल नेपाली भूमिमा आइपुगेको हो । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्गमा सञ्चालनका लागि दुई सेट डेमो ट्रेन आएको हो । सो रेलमा एक हजार २०० देखि एक हजार ३०० सम्म यात्रु बसेर र उभिएर गरी यात्रा गर्न सक्ने रेल विभागले जनाएको छ । यो यात्रुवाहक रेल भएकाले यात्रुको झोला र सामान्य सामान मात्रै राख्न सकिने विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । नेपालमा राणाकालमै विसं १९८४ तिर भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्ज तथा विसं १९९४ तिर जयनगरदेखि जनकपुरसम्म रेलसेवा थियो । अहिले कुर्थाबाट जयनगरसम्मको रेलमार्गको निर्माण गत वर्ष नै सकिएको थियो । हाल ३५ किमी लम्बाइमा रेल सञ्चालन हुनेछ । कुर्थादेखि बिजुलपुरासम्म थप १७ किमी रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । बिजलपुरासम्म गरी ५२ किमीमा छिट्टै रेल सञ्चालन हुने विभागले जनाएको छ । रेल सेट आइपुगे पनि अहिलेसम्म रेल सञ्चालनका लागि स्पष्ट कानून छैन । संसद्मा रेलसम्बन्धी विधेयक छलफका क्रममा रहेको विभागका महानिर्देशक मिश्रले जानकारी दिए । उनका अनुसार तत्काल सो विधेयक पारित नभएमा त्यसको विकल्प खोजेर पनि रेल सञ्चालन हुनेछ । उनले भने, ‘आवश्यक परेपछि अध्यादेशबाट सञ्चालन गरिने तयारी भएको छ ।’ सरकारले आगामी बडादशैँ–तिहारसम्म सो रेल सञ्चालनको योजना बनाएको छ । नेपाल आइपुगेपछि सबै परीक्षण गरी रेल सञ्चालनमा ल्याइनेछ । रेल पूर्णरुपमा सञ्चालन गर्नुभन्दा पहिले भारतीय निर्माण कम्पनीलाई बोलाएर एक पटक अन्तिम जाँच गराइने महानिर्देशक मिश्रले जानकारी दिए । सबै किसिमको तयारी पूरा भएपछि सकेसम्म चाँडो रेल सञ्चालन गर्ने तयारी छ । भारतको सरकारी कम्पनीमार्फत नै रेल सेट निर्माण भएको हो । दुई सरकारबीच सम्झौता भई (जिटुजी) रेल खरीद भएको हो । सो सेटमा एउटामा पाँच डिब्बा रहनेछ । दुई सेट खरीद गर्दा त्यसमा जम्मा १० डिब्बा रहन्छन् । लामो समयदेखि ठप्प रेल्वे कम्पनीलाई नै सरकारले रेल सञ्चालनका लागि ब्यँुताएको छ । सरकारले केही समय पहिले इञ्जिनीयर गुरु भट्टराईलाई कम्पनीको प्रमुखका रुपमा नियुक्त गरेको थियो । कम्पनीले रेल सञ्चालनका लागि दक्ष प्राविधिकसहित प्रशासनिकलगायत आवश्यक कर्मचारी भर्ना प्रक्रिया अघि बढाएको छ । रेलसम्बन्धी कानून नभइरहेका अवस्थामा रेल्वेसम्बन्धी विधेयक संसद्मा छलफलका क्रममा छ । विधेयकले रेल्वे बोर्ड र कार्यकारी समितिको समेत कल्पना गरेको छ । रेल र यात्रुको सुरक्षा, चालक र सहचालकको योग्यता, अन्तरदेशीय रेलमार्गलगायत विषय विधेयकमा समेटिएको छ । नेपालमा अहिलेसम्म रेलसम्बन्धी छुट्टै कानूनी व्यवस्था छैन । पहिले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अन्तर्गत नै सञ्चालन भएको थियो । देशभित्रै र अन्तरदेशीय रेल सञ्चालनका लागि कतिपयमा पूर्वाधार निर्माण त कतिमा अध्ययन भइरहे पनि त्यससम्बन्धी छुट्टै कानून थिएन । जनकपुर–कुर्था रेलमार्ग निर्माणका लागि सरकारले भारत सरकारसँग सन् २०१० मा सम्झौता गरेको थियो । त्यसको एक डेढ वर्ष पछिदेखि काम शुरु भएको थियो । भारत सरकारले सीमा क्षेत्रमा पाँच स्थानमा रेलमार्ग निर्माण गर्ने गरी सम्झौता भएको थियो । तीमध्ये जयनगर–कुर्था र विराटनगर–जोगबनीबाहेक अरु तीन स्थानमा निर्माणको काम शुरु हुनसकेको छैन । भारत सरकारसँगको सम्झौतानुसार नै विराटनगरबाट बथनाहासम्म १८ किलोमिटर रेलमार्गमा १० किलोमिटरको काम सम्पन्न भएको भौतिक योजना तथा यातायात मन्त्रालयले जनाएको छ । दश किलोमिटर रेलमार्ग सञ्चालनका लागि तयार भइसकेको छ । सीमा क्षेत्रमा निर्माण गर्ने भनिएको अरु तीन रेलमार्गमा जलपाइगुडी–काँकडभिट्टा, नौतनहवा–भैरहवा र नेपालगञ्जरोड–नेपालगञ्ज छन् । यी सबै रेलमार्ग भारत सरकारले नै निर्माण गर्ने गरी सम्झौता भएको थियो । भारतसँगको सहयोगमा निर्माण भएको रेल सञ्चालन हुन लाग्दा चीनले पनि रेलमार्ग निर्माणमा चासो देखाइरहेको छ । चीनको नेशनल रेल्वे अथोरिटीले केरुङ काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई दुई वर्ष पहिले नै बुझाएको थियो । त्यसयता पनि अध्ययन अघि बढाउने विषयमा विभिन्न तहका छलफल भइरहेको थियो । चिनियाँ राष्ट्रपति सी चिनफिङको गत वर्ष असोजमा भएको नेपाल भ्रमणका क्रममा सो रेलमार्गको अध्ययनका लागि सम्झौता भएको थियो । त्यस समयमा भएको राजनीतिक सम्झौताकै आधारमा मङ्सिरमा काम गर्ने तह (वर्किङ लेभल) मा सम्झौता भएको थियो । सोही भ्रमणमा चिनियाँ टोलीले काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको पूर्वसम्भाव्यता अध्ययनको प्रतिवेदन बुझाएको थियो । चीन सरकारले काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गमा चासो देखाएपछि पूर्वसम्भाव्यता अध्ययन गरेको थियो । चीन सरकारकै लगानीमा पूर्वसम्भाव्यता अध्ययन भएको थियो । सो अध्ययनमा काठमाडौँबाट पोखरा हुँदै लुम्बिनीसम्म रेलमार्ग सम्भव छ भन्ने देखिएको थियो । कोभिड–१९ का कारण काठमाडौँ–केरुङ रेलमार्गको अध्ययन अघि बढ्न नसके पनि चीन सरकारले आफ्नो देशभित्रको क्षेत्रमा अध्ययन अघि बढाएको छ । चीनले सिगात्सेबाट नेपालको सीमा नजीकैको केरुङसम्मको अध्ययन अघि बढाएको हो । रासस नेपाल आइपुग्यो रेल, हेर्नेको घुइँचो, यसरी गरियो स्वागत (भिडियो)

डायरीः यहाँ छैन कोरोना, निर्धक्क काममा लागेका छन् मानिसहरू

गोकर्ण भट्ट, सुर्नया बैतडी । कमल साउजीको सानो होटलमा भीड छ । गाउँमा साँझबिहान स–साना होटलमा मानिसहरू झुम्मिनु र तम्बाखु चुरोटसँगै देश दुनियाँका कुरा गर्नु सामान्य नै हो । राजनीति यहाँ पनि छ । देशका सबै घटनामा उनीहरू आ–आफ्ना तर्क राख्छन् । यी तर्कहरु बहसमा जित्नैपर्ने प्रकृतिका हुन्छन् । ‘ओलीले देश डुबायो’, एउटाले तर्क गर्याे । ‘डुबायो कि जोगायो, तिम्रा नेताले चैं के नापेका छन्,र ?’ अघि प्रश्न गर्नेको हातबाट हुक्का तान्दै अर्काेले भन्यो । अनि सुरु भयो बहस । यी बहसहरू अचम्मकै हुन्छन् । त्यहाँ किंवदन्तिहरू तर्कका रूपमा आउँछन् । दुइतीन चोटी हुम्का जोतिन्छ । साँझ पर्छ अनि सबै बाटो लाग्छन् । यो नियमित प्रक्रिया हो । एउटा रमाईलो पनि । र, आज भने साहुजिको होटलमा कोरोना छिरेको छ । ‘क्वारेन्टाइनमा मान्छे थपिए, के जाति छैन रे, जाँच गर्न पाएनन्’, एकजनाले भन्यो । ‘यो कोरोना सोरोना केही होइन । बजेट खाने मेलो हो’, लगत्तै प्रत्युत्तर सुनियो । अचम्म के भने उनीहरु कोरोनाको कुरा यसरी गर्छन् मानौं साँच्चिकै कोरोना एउटा ईतिहासको कथा हो । उनीहरूको कुरा चलेकै बेला आधा दर्जन महिला आउँछन् । सबैको हातमा नाम्लो छ । उनीहरूले एकएक कट्टा सिमेन्टको भारी बोक्छन् र लाग्छन गन्तव्यतिर । यो दैनिकी प्रतिदिन चलिरहन्छ । मानिसहरूको पुरानै डायरिले यो कालमा पनि निरन्तरता पाएको छ । …. यो बैतडी जिल्लाको पूर्वी क्षेत्र हो । काठमाडौंको कोरोना त्रासबीच म यहाँ आइपुगेको छु । खोडपे बजारबाट बझाङ जाने सडकमा केही किलोमिटर गाडीमा हिंडेपछि एउटा मोड आउँछ । म त्यहीँ ढोल्या मोडबाट तल पश्चिमतर्फ ओरालो झरेर कठमडा गाउँ आइपुगेको छु । हामी आधा दर्जनको संख्यामा छौं । डाक्टरदेखि पत्रकारसम्म । पत्रकार गोकर्ण भट्ट  शुरूमा गाउँ छिर्दा असहज लागेको थियो हामीलाई । तर अचम्म, गाउँ पुग्दा त्यहाँ हाम्रो उपस्थिति न त अस्वीकार्य भयो न विष्मयको विषय नै । उल्टो, हामी गाउँ पुग्दा स्वागत गरे उनीहरूले । काठमाडौंको मानसिक यातनाबाट टाढा प्रकृतिको काखमा न्यानो सत्कार पाउनु कोरोना समयको ठूलै उपलब्धि मान्नुपर्छ । चारदिन कठमडा बस्दा त्यहाँ कोरोना छिरेन । न कोरोनाको त्रास नै । यदाकदा टेलिभिजनमा समाचारबाट कोरोना सुनिन्छ, तर, मानिसहरुको जीवनमा त्यस्तो उल्लेख्य असर गरेको देखिन्न । मानिसहरु आफ्नै दैनिकीमा व्यस्त छन् । रोपाईं र मकै गोडने चटारो छ । सडकदेखि अन्य निर्माणका काममा ज्यालादारी गर्न व्यस्त छन् केही महिलाहरू । युवक पुरुषहरुको त्यति उपस्थिति देखिन्न । अचम्म, कोरोना कालमा शिक्षा व्यस्थापनबारे ठूल्ठूला बहस चलेको बेला यो क्षेत्रमा रहेको एकमात्र बोर्डिङ स्कुल हिजोदेखि सञ्चालनमा आएको छ । स्वास्थ्यचौकीमा कोरोनाका पोष्टर देखिन्छन् । तर त्यहाँ कोरोनाबारे सोध्ने या जाँचको कुरा गर्न कोहि आउँदैनन । कठमडा मात्रै होइन, सुरनया गाउँपालिकाका अधिकांश गाउँहरुमा जनताको दैनिकीमा कुनै असहजता देखिंदैन । पसल खुलेकै छन् । बाहिरबाट आउने सबैलाई गाउँपालिकाले क्वारेन्टाइनमा राखेको छ । कतिपय भने क्वारेन्टाइन अवधि काटेर घर फर्किसकेका छन् । …. त्यसो त बैतडी जिल्ला भारतबाट नेपाल फर्किने प्रवासी कामदारहरुको उल्लेख्य संख्या भएको जिल्ला हो । यहाँ हजारौ मानिसहरू भारतका विभिन्न भेगबाट गाउँ फर्केका छन् । अहिले पनि हजार बढी क्वारेन्टाइनमै होलान । तर जोखिमको अवस्था भने प्रचार गरेजस्तो छैन । केही गाउँहरुमा जोखिम अवश्य छ तर जिल्लाका कतिपय क्षेत्र सुरक्षित छन् । स्थानीय तहहरुले पर्याप्त कोशिस गरेका छन् । अहिले भने हामीले शुरूको गन्तव्य कठमडा छोडेर पश्चिमतर्फ यात्रा शुरू गरेका छौं । यो गाउँपालिकाका सबै वडाका प्रतिनिधि महिला तथा जनप्रतिनिधिहरुसँग हाम्रो साक्षात्कार हुनेछ । यो गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष र नेकपाले उपाध्यक्षमा जितेको थियो । गाउँपालिकामा दुबै सक्रिय भूमिकामा देखिन्छन् । गाउँपालिकामा कोरोनाबारे आवश्यक सतर्कता छ तर अनावश्यक त्रास सिर्जना हुन दिइएको छैन । यहाँ सबै गाउँमा नेटवर्कले साथ दिन्न । तर लाग्छ, कहिलेकतहि नेटवर्कको अभाव पनि वरदान हुँदो रहेछ । भागदौड, व्यस्तता भन्दा टाढाको संसार । त्यसैले काडमाडौंमा लक डाउनका ८० भन्दा बढी दिनमा भोग्नुपरेको न्यास्रोपना यहाँ ४ दिन बस्दा मेटिएको छ । कोरोना याममा पनि यहाँ जीवन भेटिन्छ । दुख छ, कष्ट छ तर त्रास छैन, भय छैन । संकट छ र, पनि मानिसहरु आत्मैदेखि मुस्कुराउन भने छोडेका छैनन् ।