विधिपूर्वक लगाइयो भाइटीका, सकियो तिहार

काठमाडौं। प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज (बुधबार) दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् । यससँगै नेपालीको दोस्रो महत्त्वपूर्ण पर्व आजैदेखि सकिएको छ ।

यमपञ्चक समेत भनिने तिहारको पाँचौं एवं अन्तिम दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको हो ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् तोयराज नेपालले जानकारी दिए ।

भाइटीका लगाउन आज दिनभर बाधा नभएपनि साइत खोज्नेका लागि समितिले बिहान १०ः५१ बजेको अभिजित् मुहूर्तको समय उत्तम भनी सार्वजनिक गरेको थियो । लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदी बहिनीले दाजुभाईलाई तेलको धाराले छेकेर परम्परा अनुसार आज सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरी लगायतका फूलका माला लगाइदिएका छन् ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिएपनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद्हरुको भनाइ छ । टीका लगाइदिएपछि दिदी बहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छे अनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइएको थियो । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदी बहिनी नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा आजा एवं दर्शन गरी टीका लगाउने गर्दछन् ।

यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी नहुने दाजुभाइले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको छ । रासस

सिरियाको पुनर्निर्माणका लागि इरानी विदेशमन्त्रीद्वारा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

एजेन्सी । इरानका विदेश मन्त्री होसेन अमिर–अब्दुल्लाहियानले सिरियाको पुनः निर्माणका निम्ति अन्तर्राष्ट्रिय सहयोगको आवश्यकतामा जोड दिएका छन् । उनले सिरियाका विस्थापित मानिसहरूलाई आफ्नो घर फर्कन मद्दत गर्न आवश्यक रहेको उल्लेख गरेका छन् । उनले तेहरानमा सिरियाका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूत गेइर पेडर्सनसँगको भेटमा सो टिप्पणी गरेको इरानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सिरियाको समस्या समाधानका लागि हालै मस्कोमा भएको चौध पक्षीय बैठक लगायत सिरियाका सम्बन्धमा पछिल्लो समय भएका क्षेत्रीय र अन्तर्राष्ट्रिय घटनाक्रमका बारेमा पनि छलफल भएको थियो । अमिर-अब्दुल्लाहियानले इरानी राष्ट्रपति इब्राहिम राइसीको हालैको दमास्कस भ्रमण बारे टिप्पणी गर्दै यो भ्रमणले सिरिया दिगो सुरक्षाको चरणमा पुगेको सङ्केत भएको बताएका छन् । मन्त्रीले पेडरसनलाई सिरियामा शान्ति र स्थायित्व प्रवर्द्धन गर्ने कार्यका लागि कृतज्ञता पनि व्यक्त गरेका छन्। उनले सिरियाको सुरक्षा र क्षेत्रीय स्थिरतामा इरानको आतङ्कवाद विरोधी प्रयास र योगदानको लागि प्रशंसा समेत गरेका छन् । सन् २०११ मा सिरियाली युद्धको प्रकोपपछि सिरिया भ्रमण गर्ने पहिलो इरानी राष्ट्रपति रायसीले मेको सुरुमा दमास्कसको भ्रमण गरेका हुन् । सो अवसरमा उनले आफ्ना सिरियाली समकक्षी बसर अल-असदसँग राजनीतिक र आर्थिक वार्ता गरेका थिए।

अमेरिकाको टेक्सासको एक सपिङ मलमा गोली चल्दा ९ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको टेक्सासको एक सपिङ मलमा गोली चल्दा ९ जनाको मृत्यु भएको छ । संयुक्त राज्य अमेरिकाको डलास सहरको उत्तरमा रहेको एउटा व्यस्त सपिङ मलमा शनिबार बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको हो । घटनामा अन्य सातजना घाइते भएका छन् । अमेरिकी अधिकारीहरूका अनुसार आक्रमणकारी एलेनले टेक्सासको एलेन प्रिमियम आउटलेट मलमा गोली चलाउन सुरु गरेको थियो । प्रहरीको जवाफी कारबाहीमा गोली चलाउने सन्दिग्ध ऐलन पनि मारिएका छन् । घटनाका केही तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । जसमा रगतले लतपतिएका मानिसहरू भुईँमा लडिरहेको देख्न सकिन्छ । भिडियोमा मारिएका आक्रमणकारी पनि देखिन्छन् । आक्रमणमा प्रयोग गरिएको बन्दुक पनि उनको शरीर नजिकै देखिन्छ । पुलिस विभागले आधिकारिक ट्विटर ह्यान्डलमार्फत मानिसहरूलाई उक्त क्षेत्रमा नजान सल्लाह दिएको छ। शेरिफको कार्यालयका प्रवक्ताले भने कि केही पीडितहरू मल भित्र फसेका छन्, हाल उनीहरूको अवस्थाबारे कुनै जानकारी आएको छैन । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियो अनुसार मलमा उपस्थित धेरै कर्मचारीले भवनभित्र शरण लिएका छन् ।

स्पेनिस कोपा डेल रे को उपाधि रियल मड्रिडलाई

काठमाडौं । ला लिगा प्रतिद्धन्द्धी ओसासुनालाई पराजित गर्दै रियल मड्रिड ९ वर्षपछि स्पेनिस कोपा डेल रेको च्याम्पियन बनेको छ । सेभियामा शनिबार राति भएको खेलमा ओसासुनालाई २–१ गोल अन्तरले पराजित गर्दै रियल सन् २०१४ पछि कोपा डेल रे च्याम्पियन बनेको हो । कोपा डेल रेमा रियल समग्रमा २०औं पटक च्याम्पियन बनेको हो । रियलका लागि दुबै गोल रोड्रिगोले गरे । ओसासुनाका लुकास टोरोले एक गोल फर्काए । खेलको दोस्रो मिनेटमा रोड्रिगोले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ५८ औं मिनेटमा लुकासले गोल गर्दै ओसासुनालाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ७० औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई २–१ को जित दिलाए । रियलसँगको हारसँगै ओसासुना क्लबको १०३ वर्षको इतिहासमा पहिलो उपाधिबाट वञ्चित बन्यो ।

संवैधानिक परिषद्को बैठक आगामी सोमबार बस्ने

काठमाडौं । संवैधानिक परिषद्को बैठक आगामी सोमबार बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज भएको छलफलपछि संवैधानिक परिषद्को बैठक बोलाइएको हो । वैठक सोमबार साँझ ६ बजे सिंहदरबारमा बस्ने तय भएको छ । प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि यसअघि बसेको बैठकमा कुनै निचोड निस्किएको थिएन । यसअघिको बैठकमा ओलीले संसदीय सुनुवाइ विशेष समिति गठन नभएसम्म प्रधानन्यायाधीश नियुक्ति नहुने भएकाले पहिले संसदीय समिति टुङ्गो लगाउनुपर्ने अडान लिएका थिए । संवैधानिक परिषद्को सिफारिस गरेको व्यक्ति संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्ति हुने व्यवस्था छ । सर्वोच्च अदालत लामो समयदेखि कामुको भरमा चलिरहेको छ ।

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ ५ पैसा र बिक्री दर १३१ रुपैयाँ ६५ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ १ पैसा र बिक्री दर १४४ रुपैयाँ ६७ पैसा रहेको छ । यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ९२ पैसा र बिक्री दर १६३ रुपैयाँ ६७ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४६ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४६ पैसा रहेको छ । आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८६ पैसा र बिक्री दर ३६ रुपैयाँ २ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।  

सरकारको नीतिगत प्राथमिकता र न्यूनतम् कार्यक्रम सार्वजनिक

काठमाडौं । सरकारले नीतिगत प्राथमिकता र न्यूनतम् कार्यक्रम सार्वजनिक गरेको छ । गठबन्धनका १० दलहरूबीचमा सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमबारे सैद्धान्तिक र नीतिगत विषयमा सहमति जुटेपछी सरकारले आफ्ना नीतिगत प्राथमिकता र न्यूनतम् कार्यक्रम सार्वजनीक गरेको हो । सरकाले सार्वजनि गरेको नीतिगत प्राथमिकता र न्यूनतम् कार्यक्रमा लोकतन्त्र, राष्ट्रियता, जनजीविकाबारे, सुशासन जस्ता मूलभूत विषय समेटिएको छ ।

नाबालिकलाई खाजाघरमा यौनधन्दा गर्न लगाउने महिला पक्राउ

काठमाडौं, साउन १ गते । काठमाडौंको एक खाजाघरमा नाबालिकालाई वेश्यावृती गर्न लगाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको माई नगरपालिका–७ घर भई हाल काठमाडौं–९ टोखा बस्ने २८ वर्षीया चिनिमाया लिम्बु छन् । लिम्बुलाई मानव बेचविखन अनुसन्धान ब्यूरोले असार ३० गते पक्राउ गरेको हो । ब्यूरोका सूचना अधिकारी एसपी दानबहादुर मल्लका अनुसार लिम्बुले काठमाडौंको टोखा नगरपालिका–९ मा खाजा घर सञ्चालन गरी खाजा घरमै कोठा भाडामा लिएर नाबालिकालाई वेश्यावृती गर्न बाध्य पारेकी थिईन् । लिम्बुले प्रति ग्राहक एक हजार लिने गरेको एसपी मल्लले बताए । आफू रकम राखेर नाबालिकालाई खान मात्रै दिने र जबर्जस्ती यौन सम्पर्क गर्न बाध्य पारेको अनुसन्धानमा खुलेको छ। बाहिर कसैलाई बताएमा ज्यान लिने डरत्राशमा पारी बन्धक बनाइ राखेको अवस्था प्रहरीले फेला पारेर जेठ १३ गते ती नाबालिकाहरुको प्रहरीले उद्धार गरेको थियो । लिम्बुमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार पाँच दिनको म्याद थप लिई कारबाही भइरहेको एसपी मल्लले जनाए । photo: Symbolic Only

निर्वाचन आचारसंहितामा चुनाव प्रचारसम्बन्धी के छ व्यवस्था ? (हेर्नुस् पूर्ण पाठ)

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसार सम्बन्धि विभिन्न व्यवस्था बनाएको छ । रातको समयमा चुनाव प्रचार गर्न पाईने छैन। बिहान ८ देखि साँझ ७ बजेसम्म मात्रै चुनावी कार्यक्रम सञ्चालन गर्न पाइने गरी आयोगले आचारसंहिता जारी गरेको छ। आचारसंहिता राजपत्रमा बिहीबार प्रकाशित भएपछि मात्रै लागू हुने छ। स्थानीय प्रशासनको अनुमति लिएर मात्र राजनीतिक दल र तिनका भ्रातृसंगठनले सार्वजनिक स्थलमा जुलुस, आमसभा, कोणसभा वा बैठक गर्न पाउने छन्। राजनीतिक दल वा उम्मेदवारले निर्वाचन चिह्न अंकित ज्याकेट, टोपी, गम्छा, टिसर्ट, कमिज, माक्स लकेट उत्पादन र प्रयोग गर्न आचारसंहिताले बन्देज गरेको छ । घरधनीको स्वीकृति नलिई कसैको घरमा पनि राजनीतिक गतिविधि वा प्रचार–प्रसार गर्न पनि बन्देज गरिएको छ । हेर्नुस् पूर्ण निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको पाठ

शिक्षकले दलगत पक्षधरता लिन र मत माग्न नपाउँने, बालबालिकालाई निर्वाचनमा प्रयोग गर्न निषेध

काठमाडौं । निर्वाचन आयोगले आज निर्वाचन आचार संहिता २०७८ जारी गरेको छ । आचार संहिता अनुसार सामुदायिक विद्यालयका शिक्षकहरुले कुनै पार्टीको प्रचार प्रसार गर्न पाउँने छैनन् । तेस्तै १८ वर्ष मुनिका बालबालिकालाई कुनैपनि राजनीतिक दलले निर्वाचन अभियानमा परिचान वा प्रयोग गर्न आचार संहिताले निषेध गरेको छ । यस्ता छन् बालबालिकासँग सम्बन्धित निर्वाचन आचार संहिता १. परिच्छेद २ को (ग) अनुसार कुनै सरकारी कार्यालय वा सामुदायिक विश्वविद्यालय वा सामुदायिक विद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचन सम्बन्धि भेला वा प्रचार प्रसार गर्न वा गराउन नहुँने । २. परिच्छेद २ को (छ) अनुसार १८ वर्ष पुरा नभएका बालबालिकालाई निर्वाचन प्रचार प्रसारमा प्रयोग गर्न वा गराउन नहुँने । ३. परिच्छेद ३ को ९ अनुसार सामुदायिक विद्यालयका शिक्षकहरुले कुनै पार्टीको प्रचार प्रसार गर्न नपाउँने, विद्यालयको भवन दलगत प्रयोग गर्न दिन नहुँने ।   ४. शिक्षकहरुले सामाजिक सञ्जाल प्रयोग गरेर पनि दलगत पक्षधरता लिन नपाइँने, मत माग्न नपाउँने । ५. परिच्छेद ३ को ११ अनुसार गैरसरकारी संस्थाका पदाधिकारी, कार्यरत कर्मचारीहरुले दलगत पक्षधरता लिन नपाइँने, सामाजिक सञ्जाल प्रयोग गरेर समेत मत माग्न, दलगत पक्षधरता लिन नपाउँने । ६. परिच्छेद ४ को (ट)अनुसार राजनीतिक दल, उम्मेदवार, वा दलका भातृसंगठनले १८ वर्ष पुरा नभएका बालबालिकालाई चुनावी प्रचार प्रसार धर्ना जुलुस आम सभामा प्रयोग गर्न नपाउँने ।  

न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज

काठमाडौं । श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज भएको छ । मुख्यसचिव शंकरदाश वैरागीको संयोजकत्वमा रहेको कार्यदलले समिति खारेज गर्ने निर्णय गरेको हो । मन्त्रिरिषदले मुख्यसचिव वैरागीको संयोजकत्वमा सरोकारवाला मन्त्रालयका सचिवहरु सम्मिलित कार्यदललाई समिति खारेज गर्ने वा नगर्ने बारे निर्णय गर्न अधिकार प्रत्यायोजन गरेको थियो । सो कार्यदलले गत मंसिर १९ गतेकै बैठकबाट न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज गर्ने निर्णय गरेको जनाएको हो । समितिका अध्यक्ष राजेन्द्र अर्याललाई पत्र पठाउदै समिति खारेज गर्ने निर्णय भएकोले समिति बुझबुझारथ गर्न निर्देशन दिईसकिएको मुख्यसचिव सचिवालय स्रोतले जनाएको छ । श्रमजीवी पत्रकार ऐनको प्रबन्ध अनुसार गठन हुँदै आएको समितिले श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक निर्धारण गरी सरकारलाई सिफारिस गर्दै आएपनि पछिल्लो समय यसको आवश्यकता, औचित्यता र प्रभावकारिताबारे सोच्नुपर्ने बताईदै आइएको थियो ।

सौर्य परियोजनाको पीपीए अब प्रतिस्पर्धाबाट

काठमाडौं । यसअघि सामान्य प्रक्रियाबाट हुँदै आएको सौर्य परियोजनाबाट उत्पादित बिजुलीको विद्युत खरिद सम्झौता अब भने प्रतिस्पर्धाबाट मात्रै हुने भएको छ। अन्तर्राष्ट्रिय बजारमा सौर्य परियोजनामा प्रयोग हुने उपकरणको मूल्य घटेको तथा लागत क्रमशः कम हुँदै गएको सन्दर्भलाई ध्यान दिँदै नेपाल विद्युत प्राधिकरणले सोलार प्लान्टबाट उत्पादित ऊर्जाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) अब प्रतिस्र्धाबाट गर्ने भएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालको अध्यक्षतामा आइतबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले सोलारको पीपीए गर्दा प्रतिस्पर्धाबाट गर्ने निर्णय गरेको छ। सोलारबाट उत्पादित ऊर्जालाई सर्वसुलभ, प्रतिस्पर्धी र पारदर्शी बनाउन पीपीए प्रतिस्पर्धाबाट गर्ने निर्णय लिइएको मन्त्री भुसालले बताउनुभयो। उहाँले भन्नुभयो, “जनतालाई सहुलियत दरमा विद्युत् उपलब्ध गराउन, विद्युत् खरिदलाई प्रतिस्पर्धी तथा पारदर्शी बताउँदै लैजानुपर्छ। सोलारमार्फत हामीले यसको सुरुआत गरेका छौँ।” पछिल्लो विकसित प्रविधिअनुसार सोलारबाट विद्युत् उत्पादन लागत कम हुँदै गएको उल्लेख गर्दै भुसालले भन्नुभयो, “यस अघिको निर्णयअनुसार पनि तीन वर्षमा सोलारको पीपीए दर पुनरावलोकन गर्नुपर्ने थियो।” प्राधिकरणले विद्युत महसुललाई सर्वसुलभ बनाउन, अन्तर्राष्ट्रिय प्रचलन, जनअपेक्षा, विद्युत् माग र आपूर्तिको सन्तुलन एवं प्रचलित ऐन कानुनको मर्मलाई मध्यनजर गर्दै पीपीए गर्दा प्रतिस्पर्धाबाट गर्ने निर्णय गरिएको हो। अबदेखि सोलार आयोजनाबाट उत्पादित विद्युत्को पीपीए गर्दा विद्युत आयोजनाको उत्पादन सम्मिश्रणको अवधारणाअनुसार राष्ट्रिय ग्रिडमा कूल जडित क्षमताको १० प्रतिशतको परिधिभित्र रहेर प्राधिकरणलाई आवश्यक भएको क्षेत्रमा ‘आधार दर’ तोकी सो दरमा नबढ्ने गरी प्रतिस्पर्धामार्फत पीपीएका लागि आह्वान गरिने छ। यसअघि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयबाट वि.सं. २०७४ माघ २५ मा स्वीकृत ग्रिड कनेक्टेड वैकल्पिक विद्युत ऊर्जा विकाससम्बन्धी कार्यविधि, २०७४ मा उल्लेखित वैकल्पिक सौर्य र वायु ऊर्जाको विद्युत खरिददर प्रतियुनिट ७ रुपियाँ ३० तोकिएको थियो। उक्त दर अधिकतम तीन वर्षभित्र विद्युत खरिद सम्झौता सम्पन्न हुने आयोजनाका लागि कायम हुने निर्णय भएको थियो। मन्त्रालयको सो निर्णयलाई नेविप्रा सञ्चालक समितिले २०७५ असार २६ को ७७३औँ बैठकबाट निर्णय गरी कार्यान्वयमा ल्याएको थियो। तीन वर्षका लागि तोकिएको उक्त दर हालसम्म पनि परिमार्जन हुन सकेको थिएन। हाल अन्तर्राष्ट्रिय बजारमा पछिल्लो विकसित प्रविधिका कारण सोलार आयोजनाबाट उत्पादन गरिने विद्युत्को मूल्य निरन्तर घट्दो क्रममा रहेको छ। प्राधिकरणले अहिलेसम्म २१ सोलार आयोजनासँग ११० मेगावाटको पीपीए गरेको छ। यसमध्ये ६ आयोजनाको निर्माण सम्पन्न भई २९ मेगावाट राष्ट्रिय ग्रिडमा जोडिएको छ। विद्युत विकास विभागका अनुसार कूल २५ आयोजनाको कूल ६०९ मेगावाट क्षमताका आयोजनाले सर्वेक्षण अनुमति लिएका छन्। १९ आयोजनाको कूल ११७ मेगावाट क्षमताका सौर्य परियोजनाले विद्युत उत्पादनको अनुमति लिएका छन्। कूल ३५ आयोजनाले ९१२ मेगावाट बराबरको सौर्य बिजुली उत्पादनको सर्वेक्षणका लागि अनुमतिका लागि आवेदन दिएका छन्।

दि वर्ल्ड कल्चर एण्ड आर्टिष्ट एसोसिएसनले पोखरामा अन्तराष्ट्रिय स्तरको सांस्कृतिक महोत्सव गर्ने

काठमाडौं – दि वर्ल्ड कल्चर एण्ड आर्टिष्ट एसोसिएसनले सन् २०२३ मा पोखरामा अन्तराष्ट्रिय स्तरको सांस्कृतिक महोत्सव अर्थात नेपाल फेस्टिबल गर्ने तयारी सुरु गरेको छ । पोखरामा दुई हप्ता आयोजना हुने उक्त महोत्सवमा विश्वका ८० देशका गायक गायिका, ब्याण्ड, मोडल तथा सर्कसहरुका साथमा स्टलहरु सहित प्रस्तुत गरिने दि वर्ल्ड कल्चर एण्ड आर्टिष्ट एसोसिएसन कोरियाका अध्यक्ष  वाङ्ग जिमीनले बताए । दि वर्ल्ड कल्चर एण्ड आर्टिष्ट एसोसिएसन नेपाल च्याप्टरका अध्यक्ष डम्बर बरुवाल सलिनले यस कार्यक्रमका लागि नेपालमा २ वटा अडिसन सम्पन्न भइसकेको र अन्य तयारी तीब्र गतिमा अगाडी बढीरहेको बताए । उक्त कार्यक्रमका लागी पोखरामा ३४ रोपनी जग्गाको लागी पर्यटन तथा नागरिक उड़डयन मन्त्रालयसँग एक चरणको सहमती भएको बरुवालले बताए । गण्डकी  प्रदेशका पर्यटन तथा नागरिक उड़डयन मन्त्री मणिभद्र शर्माले उक्त कार्यक्रम आयोजना गर्न लागेकोमा आयोजक दि वर्ल्ड कल्चर एण्ड आर्टिष्ट एसोसिएसन कोरिया र नेपाल च्याप्टरलाई बिशेष धन्यवाद ब्यक्त गरेका छन । मन्त्री शर्माले पर्यटकिय नगरी पोखरामा आयोजना हुन लागेको यो कार्यक्रमले पर्यटनको बिकास हुनुका साथै कोरोनापछि बिश्वमा नेपालको पर्यटकिय क्षेत्रको प्रचार प्रसार हुने बताएका छन । नेपाल र विश्वका ८० भन्दा बढी देशबीचको संस्कृती एक आपसमा आदान प्रदान गरि आपसी सदभाव साँस्कृतिक प्रबर्द्धन गर्दै विश्वभरका पर्यटकहरु नेपाल भित्र्याई नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको आयोजक टिमको दाबी छ । यो कार्यक्रमका लागि विभागिय मन्त्रालय, नेपाल पर्यटन बोर्ड लगायतका निकायहरुबाट कानूनी मान्यता लिने प्रकृया भइरहेको नेपालका आयोजक बरुवालले बताए ।  कार्यक्रम गर्नको लागी धेरै ठुलो बजेट आवश्यक पर्ने भएकोले आर्थिक व्यवस्थापन, राष्ट्रिय, अन्तराष्ट्रिय कलाकारहरुको सुरक्षा तथा लजिस्टीकका लागि समेत आयोजकले बिभिन्न क्षेत्रमा पहल गरिरहेका छन । दि वर्ल्ड कल्चर एण्ड आर्टिष्ट एसोसिएसन कोरियाका अध्यक्ष  वाङ्ग जिमीनका हजुरबुबा, बुबा देखि तिन पुस्ताले निरन्तर यस्ता ईभेन्टहरु आयोजना गर्दै आईरहेका छन । पहिला पनि यो समुहले रसिया,टर्की,फिलीपीन्स,ब्राजील लगाएतका देशमा भब्य तवरले यस्ता कार्यक्रम सम्पन्न गरिसकेको छ । उक्त कार्यक्रममार्फत हजारौ पर्यटक भित्रने दि वर्ल्ड कल्चर एण्ड आर्टिष्ट एसोसिएसन कोरियाका अध्यक्ष  वाङ्ग जिमीनले बताए । उनले अबको आफ्नो कार्यक्रम सुन्दर देश नेपालको पोखरामा हुन लागेकाले सबैलाई सहयोग गरि कार्यक्रम सभ्य र भब्य बनाई सम्पन्न गर्न आग्रह गरे । जिमीनले उक्त कार्यक्रमले नेपाल र कोरियाबिचको सम्बन्ध अझै बढ़दै जाने र नेपालमा पर्यटक संख्या  बढने बताए ।

क्रिसमसका अवसरमा प्रधानमन्त्रीले दिए शुभकामना

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले क्रिसमस पर्वका अवसरमा सम्पूर्ण इसाई धर्मालम्बीहरुमा सुख, शान्ति, सुस्वाथ्य र दीर्घायुको कामना व्यक्त गर्नु भएको छ। प्रधानमन्त्री देउवाले जिसस क्राइष्टको जन्मदिनको उपलक्ष्यमा इसाई धर्मालम्बीहरुमा शुभकामना दिदै इसाई धर्मका अनुयायीहरुले डिसेम्बर २५ तारिखमा विभिन्न कार्यक्रम गरी मनाइने क्रिसमस पर्वका अवसरमा शुभकामना व्यक्त गर्नु भएको हो । उहाँको शुभकामना सन्देशमा भनिएको छ ‘हाम्रा चाडपर्व र संस्कृति राष्ट्रिय एकता, पारस्परिक सद्भाव र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणका लागि महत्वपूर्ण रहँदै आएको उल्लेख गर्दै क्रिसमसले सबै नेपालीबीच एक आपसमा विश्वास र बन्धुत्वको भावना कायम राख्न प्रेरणा प्रदान गरोस् ।’ नेपाल बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिएको मुलुक भएको र जातिय, भाषिक, सांस्कृतिक तथा धार्मिक विविधता नेपालका लागि मात्र नभई विश्व समुदायकै लागि एक महत्वपूर्ण पूँजी रहँदै आएको शुभकामना सन्देशमा उल्लेख छ। प्रधामन्त्री देउवाले कोभिड–१९ को नियन्त्रण र व्यवस्थापनका प्रयास प्रभावकारी देखिए पनि यसको नयाँ स्वरूप ओमिक्रोन सङ्क्रमणका सम्बन्धमा विश्व स्वास्थ्य सङ्गठन र विज्ञहरूले चिन्ता व्यक्त गरिरहेकाले स्वास्थ्यका मापदण्डहरू पालना गर्दै सुरक्षितरूपमा हर्षोल्लासपूर्वक यो पर्व मनाउन सबैमा अनुरोध गर्नु भएकाे छ ।

भोली नेकपा (माओवादी केन्द्र) र नेकपा (मसाल सम्पर्क केन्द्र)बीच एकता हुँदै

काठमाडौं । क्रान्तिकारी ध्रुवीकरणको अभियानअन्तर्गत नेकपा माओवादी केन्द्र र नेकपा मसालबाट विद्रोह गरेर बनेको सम्पर्क केन्द्रबीच एकता हुने भएको छ । भोली एक समारोहबीच दुबै पार्टीबीच एकता हुने नेकपा केन्द्रीय सदस्य डिलाराम आचार्यले बताए । राजनीतिक एजेण्डाहरुलाई हेर्ने दृष्टिकोण तथा नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्दै वित्तिय साम्राज्यविरुद्धको निर्मम संघर्षमार्फत समाजवादी क्रान्तिको तयारी गर्ने लगायतका विषयमा दुबै पार्टीबीच समान बुझाई रहेकोले एकतामा पुगिएको आचार्यले बताए । विगत लामो समयदेखिको संवाद तथा छलफलपछि भोली अपरान्ह १२ बजे अध्यक्ष प्रचण्ड र सम्पर्क केन्द्रका संयोजक लोकेन्द्र लम्सालले संयुक्त विज्ञप्ती जारी गर्ने कार्यक्रम रहेको छ । एकता कार्यक्रम त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरको हलमा एक समारोहबीच हुने छ । नेकपा मसालले जडसुत्रवादी नीति अख्तियार गरेको र मालेमाविचारधारालाई यान्त्रिकरुपमा ग्रहण गर्दा संगठनात्मक निरंकुशतालाई प्रश्रय दिएको भन्दै लम्साललगायत ३९ जिल्लाको मसाल संगठनले विद्रोह गरी नेकपा मसाल सम्पर्क केन्द्रको स्थापना गरेको थियो । पछिल्लो समयमा नेकपा मसालका महामन्त्री मोहनबिक्रम सिंह तथा उनी निकट नेताहरुसँग असन्तुष्टि राख्दै ठूलो संख्यामा नेता तथा कार्यकर्ता असन्तुष्ट बनेका छन् । यीमध्ये नेता सन्तबहादुर नेपालीले हालैमात्र मोहनबिक्रमसँग सम्बन्धविच्द्धेद गरेको बताएका थिए । भोली एकता हुन गइरहेको सम्पर्क केन्द्रको सुदूरपश्चिम, कर्णाली, बाग्मती, लुम्बिनी, लगायतका प्रदेशका कतिपय जिल्लामा संगठन रहेको छ । यसका साथै यो केन्द्र निकट रहेका जनवर्गीय संगठनहरुको एकता समेत निकट भविष्यमा हुने लम्सालले बताए । माओवादी शान्ति प्रक्रियामा आएपछि मोहनबिक्रमसिंहसँग विद्रोह गर्दै डिलाराम आचार्य, नवराज सुवेदीलगायत कैयनले माओवादीसँग एकता गरेका थिए । लम्साल भने त्यो एकता प्रक्रियामा सहभागी नभई मसालभित्रै अन्तसंघर्ष गरिरहेका थिए । कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका निवासी लम्साल भने लामो समयसम्म मोहनबिक्रम सिंहले नेतृत्व गरेको मसालको राजनीति गर्दै आएपनि त्यसभित्रको यथास्थितिवादी प्रवृत्तिसँग संघर्षरत् थिए । पार्टी एकतापछि लम्सालको पार्टी हैसियत के हुने भन्ने विषयमा भने खुल्न सकेको छैन । माओवादीको आसन्न राष्ट्रिय सम्मेलनपछि एकता प्रक्रियामा आएकाहरुका बारेमा निर्णय हुन सक्ने देखिन्छ । हालका लागि भने एकता प्रक्रियाहरुबाट आएका लम्साललगायत अन्यका हकमा सम्मेलन प्रतिनिधि बनाउने गरी माओवादीले मनोनित कोटा राखेको बुझिएको छ ।

कुटाकुटपछि हिजाे राेकपएकाे कांग्रेस प्रदेश २ काे मतदान जारि,

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशन अन्तर्गत हिजो रोकिएको मतदान सुरु गरिएको छ । संस्थापन र ईतर पक्षबीचको विवादले उग्र रुप लिएर कुटाकुट भएपछि हिजो स्थगित गरिएको थियाे । दिउँसो १ बजेदेखि मतदान गराउने तय गरिएकोमा मतपत्र छाप्ने काम छिटो सकिएपछि साढे ९ बजेदेखि नै मतदान सुरु गराइएको हो । जनकपुरस्थित गोपाल धर्मशालामा कडा सुरक्षाबीच मतदान सुरु भएको छ । पदाधिकारीसहित ७२ सदस्यीय प्रदेश समितिका लागि १ सय ७४ जनाले उम्मेदवारी दिनु भएको छ । प्रदेश २ कांग्रेस सभापतिमा कांग्रेस सभापति शेरबहादुर देउवा पक्षबाट कृष्ण यादव र नेता विमलेन्द्र निधि तथा शेखर कोइराला पक्षबाट रामसरोज यादव चुनावी मैदानमा छन् । दुई पक्षबीच कडा टक्कर हुने अनुमान गरिएको छ । हिजो मतदान गर्ने कार्यक्रम रहे पनि दुई पक्षबीच विवाद हुँदा आजका लागि मतदान गर्ने कार्यतालिका बनाइएको हो ।