फोहोरको डुँगुर बन्दै सगरमाथा, भेटिए मृत मानवदेखि फोहोरसम्म
काठमाडौं, वैशाख २० । संसारको सबैभन्दा सर्वोच्च शिखर फोहोर जम्मा हुने ‘कबाडखाना’ बनेको छ । दशकौंदेखि सगरमाथा आरोहणका क्रममा फ्याँकिने फोहोरका कारण सगरमाथामा निकै ठूलो मात्रामा फोहोर जम्मा भएको हो ।
बिभिन्न समयमा सगरमाथाको फोहोरको चर्चा भएपनि यसपटक भने स्वयम्सेवकहरुको एउटा टोलीले फोहोर संकलन शुरु गरेको छ । सिएनएनका अनुसार, पछिल्लो दुईहप्ताको अवधिमा तीन मेट्रिक टन (६ हजार ६ सय १३ किलो) फोहोर संकलन गरिएको छ । यो भनेको दुईवटा हिप्पोपोटामस (गैंडा जस्तै जनावर) बराबर भएको सिएनएनले जनाएको छ ।
सगरमाथा सफाई अभियान अन्तर्गत खाली बोतल, क्यान, प्लास्किट, आरोहणका अन्य सामानलगायतका कुरा संकलन गरिएका छन् । सेनाको हेरिलकोप्टरले माथिल्लो उचाईमा समेत फोहोर संकलन गर्न सघाउ पुर्याएको छ ।
समाचारमा जनाई अनुसार, फोहोर संकलनका क्रममा चारवटा मानव लास समेत भेटिएका छन् । यी मानव शरीर ८ हजार ८ सय मीटरको उचाईमा रहेको समाचारमा उल्लेख छ । सन् २०११ देखि यता सगरमाथाको सफाईका लागि निरन्तर अभियान सञ्चालन हुँदै आएको छ ।
हङकङमा एभेरेष्ट इन्टरनेशनल फिल्म अवार्ड’ हुने
काठमाडौं, माघ २४ । एभरेष्ट इन्टरटेनमेन्ट प्रा.लिको आयोजनामा ‘एभेरेष्ट इन्टरनेशनल फिल्म एवार्ड २०१९’ हुने भएको छ । उक्त अवार्ड आगामी जुनमा हुने आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ । अवार्डमा २० विधामा पपुलर अवार्ड प्रदान गरिने भएको छ। सन् २०१८ मा प्रदर्शन भएका नेपाली चलचित्र एवार्डमा सहभागी हुन पाउने छन् । त्यसमध्ये तीन विधामा आदिवासी चलचित्रलाई हवार्ड दिइने छ । एक चलचित्रकर्मीलाई लाइफ टाइम एचिभमेन्टद्वारा सम्मान पनि गरिने छ । हङकङको वानचाई स्थित ‘क्विन एलिजावेथ स्टेडियम हल’ मा हुने एवार्डका लागी नेपालवाट ८० जनाको टिम जाने तयारी छ । एभरेष्ट फिल्म एकेडेमीका चेयरम्यान सुनिल थापाले भने, ‘यो एवार्डले नेपाली चलचित्रलाई विदेशमा समेत प्रचार–प्रसार गर्ने अपेक्षा राखेका छौं ।’ उनले आगामी मार्चमा नोमिनेशन सार्वजनिक कार्यक्रममा अवार्ड हुने मिति पनि सार्वजनिक गरिने बताए । एभरेष्ट इन्टरटेनमेन्टले हङकङको सम्पूर्ण व्यवस्था हेर्नेछ भने नेपालमा संगीक्षा फिल्म्स प्रालिको तर्फबाट अध्यक्ष मनोज केसीले एवार्ड कार्यक्रम संयोजन गर्नेछन्। कार्यक्रमको सम्पुर्ण खर्च आयोजकले व्योहोर्ने समेत बताइएको छ ।
युएईको अलऐनमा रमाईलो ल्होसार साँझ कार्यक्रमको आयोजना
युएई,माघ ७। नेपालीका लागि नेपाली भन्ने मुल नाराका साथ स्थापना भएको एनआरएनए युएई, क्षेत्रीय समन्वय परिषद अलऐनले नेपालीहरूको बहु सॉस्कृतिक धरोहरलाई जीवन्त राख्ने सोचलाई अघि बढाउदै विभिन्न पर्वहरुको अवशरमा कार्यक्रमहरु सन्चालन गर्दै आईरहेको छ । सोही क्रमलाई निरन्तरता दिदै अलऐनले ल्होसारको अवशर पारी रमाईलो ल्होसार साँझ – २०७५ मनाउने भएको छ । फेब्रुवरी ८ तारिखका दिन उक्त कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा युएईमै रोजगारी गर्दै आईरहेका कलाकारहरुको बिशेष प्रस्तुती समेत रहनेछ। अलऐनको टप ५ रेस्टुरेन्टमा सम्पन्न हुने कार्यक्रममा गायक पारस लामाको साथमा गायिका सानू स्मिथ,सुरेन्द्र लामा,प्रशान्त ताजपुरिया र जनक रुचालको प्रस्तुती रहनेछ साथै नेपाली बाल मन्चका कलाकारहरुको बेजाेड प्रस्तुती रहने एनआरएनए युएई, क्षेत्रीय समन्वय परिषद अलऐनका सॉस्कृतिक तथा खेलकुद संयाेजक उज्वल दाहालले बताएका छन ।
भूकम्पपीडितको पूर्ण क्षतिको सूचीमा परेकाले पैसा फिर्ता गर्दै
पर्वत, पुस २७ । पर्वतको फलेवास नगरपालिका–३ का द्रोणराज भुसालको घर भूकम्पमा पूर्ण क्षतिको सूचीमा छ । पूर्ण क्षतिमा भए पनि उहाँले क्षतिग्रस्त घर भत्काउनुभन्दा पहिलो किस्तामा बुझेको अनुदान फिर्ता गर्न उचित ठाने । ‘घर नबनाई पहिलो किस्ताको अनुदान फिर्ता गरें’, भुसालले भने, ‘दुई कोठाको घर बनाउनुभन्दा फिर्ता गर्न उचित देखें ।’ भुसालमात्र होइन, कुश्मा नगरपालिका–९ का हरिचन्द्र पौडेलले पनि अनुदानको पहिलो किस्ता फिर्ता गरे । मर्मत गरेर बस्न मिल्ने घर भत्काउनुभन्दा पूर्ण क्षतिमा परेका परिवारले अनुदान नै फिर्ता गर्ने क्रम बढेको छ । पर्वतमा पूर्ण क्षतिमा परेको सङ्ख्या पाँच हजार २६९ छ । उनीहरुमध्ये पूर्ण क्षतिमा परेका ७ जनाले घर नबनाई अनुदान फिर्ता गरेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइको तथ्यांकअनुसार हालसम्म जम्मा ७०ले मात्रै घर सम्पन्न गरेर अनुदान बुझेका छन् । घर निर्माणको अनुदान पाउने लाभग्राहीमध्ये पहिलो किस्ता रकम सम्झौता गर्नेको सङ्ख्या चार हजार ८४६ छ । जसमध्ये एक हजार ६०६ ले मात्रै दोस्रो किस्ताको रकम लिएका छन् । अधिकांश घर केही चर्के पनि बस्न मिल्ने भएकाले घर बनाउनेतर्फ बढी चासो दिएका छैनन् । अर्कोतर्फ घर निर्माणमा दक्ष जनशक्तिको अभाव, गाउँमा प्राविधिक नपुग्नु र किस्ता लिन झन्झट भएका कारण पुनःनिर्माण अपेक्षित गतिमा नभएको पाइएको छ । ‘घर बनाउनेभन्दा पहिलो किस्ता बुझेर त्यसै बस्ने धेरै भए’, जिल्ला अनुदान व्यवस्थापन एकाइका प्रमुख जगदीश शर्माले भने, ‘अनुदान फिर्ता गर्न सञ्चारमाध्यम र सबै निकायलाई प्रयोग गरेर ताकेता गरेका छौं ।’ सानोतिनो राहतमा खाद्यान्न, आश्वासन र प्राविधिकको सल्लाह सुन्दासुन्दै हैरान परेका बिहादी–३ रानीपानीकी गङ्गा पराजुली आफैंले घर निर्माण सके । तर, प्राविधिक स्टिमेट नमिलेको भन्दै पाउनुपर्ने अनुदान रकम अझै पाउनुभएको छैन । फलेवास–३ का टीकाराम तिवारीले पनि भत्किएको घर बनाएर सकेको दुई वर्ष पुग्यो । तर, अहिलेसम्म सबै किस्ता रकम पाउनै सकेका छैनन् । ‘मैले घर सक्दा रु १० लाखभन्दा बढी खर्च भयो”, फलेवासका टीकारामले भने, ‘प्राविधिकले यो पुगेन र त्यो पुगेन भन्दै पुरै घर भत्काउने भन्छ । अब घर भत्काउनुभन्दा राहतै नलिन बेस भएन ?’ २०७४ कात्तिकमा शुरु गरेको रानीपानीकी विष्णु श्रेष्ठको घरको जग, पिल्लर र बिम बाँधेर छोडेपछि अहिलेसम्म काम अघि बढ्न सकेको छैन । मर्मत गरी बस्न सक्ने ४१७ परिवारले प्रवलीकरण लाभग्राहीका रुपमा रकम बुझिसकेको शर्माले बताए । कार्यालयले ११३ सँग प्रवलीकरण अनुदान सम्झौता गरिएकामा भने सबैले प्रवलीकरण किस्ता लिएका छन् । पर्वतका पीडितमध्ये लाभग्राहीको सूचीमा नपरेका दुई हजार ८७४ ले गुनासो फाराम भरेका छन् । गुनासो फाराम भर्नेमा सबैभन्दा धेरै बिहादी गाउँपालिकाका रहेका छन् । बिहादीका ७६५ परिवारले गुनासो फाराम भरेका एकाइ कार्यालयले जनाएको छ । फलेवास नगरपालिकाका ६६७ ले गुनासो फाराम भरेका छन् । घुम्ती शिविरबाट झण्डै दुई सय लाभान्वित जिल्ला प्रशासन कार्यालय पर्वतले सञ्चालन गरेको घुम्ती शिविरबाट यहाँको एक विकट गाउँका दुई सयभन्दा बढी लाभान्वित भएका छन् । जिल्लाको मोदी गाउँपालिका–७ राम्जादेउरालीमा बिहीबार सञ्चालन गरिएको शिविरबाट सदरमुकामसम्म आउन नसक्ने वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति तथा असहाय परिवारका २०० जना लाभान्वित भएका छन् । शिविरमा ७७ लाई नागरिकताको प्रमाणपत्र र ५४ को फोटोसहितको मतदाता नामवली सङ्कलन गरिएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो । जसमध्ये ३२ लाई प्रतिलिपि र ४५ जनालाई नयाँ नागरिकता प्रदान गरिएको हो । रासस
इन्धनको मूल्य १० रुपैयाँ घट्यो
काठमाडौं, पुष २६ । हवाई इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमको ४९औं वार्षिकोत्सव समारोहमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले मूल्य घटाउने सहमति भएको जानकारी दिए । निगमले बिहीबार राति बाह्र बजेदेखि लागू हुनेगरी हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ घटाएको निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए । साविकको बिक्री मूल्य १०४रुपैयाँ ५० पैसा प्रतिलिटरमा १० रुपैयाँ घटाएर ९४ रुपैयाँ ५० पैसा कायम गरिएको उनले बताए । हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिकतर्फको हवाई भाडा पनि केही कम हुने मन्त्री यादवले जानकारी दिए । पछिल्ला केही पटक डिजल,पेट्रोल, मट्टीतेललगायतको भाउ घटे पनि हवाई इन्धनको मूल्य घटेको थिएन ।
लोकसेवा पास गर्ने मात्र हैन, चरा पनि सबैभन्दा धेरै गुल्मीमा
गुल्मी, पुस १७ गते । लोकसेवा आयोगका बिभिन्न परीक्षामा धेरै परीक्षार्थी उत्तिर्ण हुने जिल्लाका रुपमा चिनिएको गुल्मीका बारेमा अको तथ्य पनि सार्वजनिक भएको छ । नेपालमा पाइने ८८६ प्रजातिका चरामध्ये गुल्मीमा मात्र २३ प्रतिशत विभिन्न प्रजातिका चरा भेटिएका छन् । गुल्मीको धार्मिक, ऐतिहासिक एवं पर्यटकीय क्षेत्र रेसुङ्गा जङ्गल र जिल्लाको अग्लो ठाउँमा रहेको मदाने जङ्गल क्षेत्रमा उक्त प्रजातिका चरा फेला परेको नेपाल पक्षी संरक्षण सङ्घ गुल्मीले जनाएको छ । रेसुङ्गा र मदाने वन क्षेत्रमा जैविक विविधता संरक्षणअन्तर्गत चरा सर्भेक्षणसम्बन्धी जानकारी आदानप्रदान कार्यक्रममा रेसुङ्गामा वन क्षेत्रमा, २०० आठ र मदाने क्षेत्रमा २०७ प्रजातिका चरा फेला परेको नेपाल पक्षी संरक्षण सङ्घ गुल्मीका सहायक परियोजना अधिकृत भरत पन्थीले बताउनुभयो विश्वमै दुर्लभ प्रजातिको रुपमा रहेका चरामध्ये रेसुङ्गामा गोमा, युमहा चिल, सुन गिद्ध, सेतो गिद्ध र डङ्गर गिद्धगरी चार प्रजाति र मदाने वन क्षेत्रमा लोभीपापी गरुड, गोमायु महाचिल, सुन गिद्ध, सेतो गिद्ध र कालीज प्रजातिको चील नामक पाँच प्रजातिका चरा रहेको बताइएको छ । नेपालमा मात्र पाइने काँडेभ्याकुर रेसुङ्गा र मदाने दुबै वन क्षेत्रमा पाइने भन्दै अति सङ्कटापूर्ण अवस्थामा रहेका चराको वासस्थानलाई जोगाइराख्नका लागि त्यस क्षेत्रको वन र जलाधार संरक्षणमा स्थानीय निकायको भूमिका थप महत्वपूर्ण रहने कार्यक्रमका सहभागीले बताएका थिए । नेपाल पक्षी संरक्षण सङ्घ, जीविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रम गुल्मीले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सहभागीले गुल्मीमा चराको सङ्ख्यामा अझै वृद्धि हुनसक्ने भन्दै त्यसका लागि सर्वप्रथम जैविक विविधताको संरक्षणमा सबै लाग्नु पर्नेमा जोड दिनुभएको थियो । जैविक विविधताको संरक्षणसँगै गुल्मीमा चरालाई पर्यटकीय क्षेत्रसँग जोडेरसँगै लैजान सकिनेमा सहभागीको सुझाव थियो । चरा संरक्षणका लागि गुल्मीमा मुख्य चुनौती र समस्याको रुपमा वासस्थान विनाश, वासस्थान परिवर्तन, विद्युतीय तार, खानेपानीको अभाव, वन डढेलो, अवैध शिकारजस्ता कारण रहेको भन्दै त्यसलाई रोक्नका लागि स्थानीय निकायसँग सहकार्य गर्दै जनचेतना अभिवृद्धि गर्नुपर्ने बताइएको थियो । सन् २०१५ देखि गुल्मीको रेसुङ्गा, वलिथुम, पराल्मी र जुभुङमा सम्भावित महत्वपूर्ण चरा तथा जैविक विविधता क्षेत्रमा काम गर्दै आइरहेको उक्त संस्थाले डिभिजन वन कार्यालय गुल्मीसँग सहकार्य गर्दै चरा र जैविक विविधता संरक्षण क्षेत्रमा काम गर्दै आइरहेको छ ।
यौन सम्पर्क गर्दा पीडा हुन्छ ? कारण यस्ता छन्
काठमाडौं । केही यौन जोडीले यौन क्रीडा गर्दा पीडा हुने गुनासो गर्ने गर्छन् । यसको मुख्य कारण यौन जोडी बीचमा यौन शिक्षाको अभाव तथा कमी हुनसक्छ । यौन शिक्षाको ज्ञान भए स्वस्थ जोडीबीच यौन सम्पर्क गर्दा पीडा हुने सम्भावना भने कमै हुन्छ । उमेर नमिल्दा पीडा यौन सम्पर्क गर्ने जोडीको उमेर मिल्दो हुनु पर्छ । ३०÷३५ वर्षको उमेरमै यौन सम्पर्क गर्दा पीडा हुन्छ भने उमेर नमिलेको पनि हुन सक्छ । उमेरको बढी फरक भएका यौन जोडीबीचमा यौन क्रीडा, सम्पर्क तथा सम्बन्धमा गाँसिदा यौन अनुभव र अभ्यास फरक हुन्छ । भावना नमिल्न सक्छ । जसका कारण यौन सम्पर्क गर्दा पीडा हुनसक्छ । उमेरको धेरै अन्तर हुँदा यौन जोडीमध्ये एक अनुभवी तथा यौनक्रीडा गर्न जान्ने हुन्छ भने अर्को कम अुनभवी तथा अनभिज्ञ हुन सक्छ । यौन जोडी बीचको उमेरको बढी अन्तरका कारणले यौन क्रीडा तथा यौन सम्पर्क गर्दा एक आपसमा असन्तुष्टि पैदा हुन्छ । एकलाई पीडाको भाव र अर्कोलाई सोचेअनुरुप यौन इच्छा पूरा नहुँदा असन्तुष्टि पैदा हुन्छ । यौन जोडी बीचको उमेर अन्तरका कारणले वैकल्पिक जोडीसँग (अरुसँग) आकर्षण भई सहवास हुने सम्भावना बढी हुन्छ । त्यस कारणले यौन जोडीबीच एकअर्काको भावना बुझेर यौन सम्पर्क गर्न जरुरी हुन्छ । एक आपसका भावना अन्तरमनमा राख्नु आवश्यक हुन्छ । वैकल्पिक जोडीले पीडा वैकल्पिक यौन जोडी छ भने पनि स्थायी यौन जोडीसँग यौन सम्पर्क गर्न रुचाइँदैन । स्थायी जोडीसँग यौन सम्पर्क गर्न मन नलाग्न सक्छ । यौन सम्पर्क गर्दा पनि पीडा हुन्छ । व्यक्तिको स्वभाव र व्यवहार बडो परिवर्तनशील हुन्छ । स्वभाव र व्यवहार परिवर्तनशील हुने भएकाले एक व्यक्तिसँग मात्रै यौन सम्पर्क गर्न मन नलाग्न सक्छ । जुन व्यक्तिको नैसर्गिक स्वभाव पनि हो । धार्मिक प्रशिक्षण, सामाजिक तथा राजनीतिक बन्देजले भने यौन र यौन क्रीडालाई साँघु¥याएको छ । जति नै साँघुरो बनाए पनि सक्षम खेलाडीले वैकल्पिक यौन जोडीसँग यौन सम्पर्क राख्न सक्छन् । यौनलाई नाटकको पात्रको रुपमा नाटकीय रुपमा खेलेकै हुन्छन् । सकेसम्म परस्त्री वा परपुरुषसँग यौन सम्पर्क र सम्बन्ध नराख्नु नै उचित हुन्छ । परस्त्री वा परपुरुषसँग यौन सम्पर्क राख्दा सम्बन्ध विच्छेद हुने जोखिम हुन्छ । यौन सोच, अभ्यास, क्रियाकलाप र व्यक्ति अनुसार फरक—फरक हुन्छ । त्यसैले यौन बानी व्यवहारलाई गृहस्थ जीवनसँग जोडेर नकारात्म रुपमा लिनु हुँदैन । गृहस्थ जीवन पवित्र जीवन हो । यौनको विषयलाई लिएर पारिवारिक विच्छेदन पनि हुने भएकाले जोडीले बुद्धिमतापूर्वक व्यवस्थापन गर्नुपर्छ । यौन चाहना हुँदा र सम्पर्कमा सरिक भएपछि महिलामा यौन रसादी निस्किन्छ । यौन चाहना भएपछि ९९ प्रतिशत भन्दा बढी महिलामा योनिबाट रसादी निस्किन्छ । त्यसैले महिलाको योनिबाट रसादी निस्किएको छ भने यौन चाहना भएको मान्न सकिन्छ । योनिबाट रसादी निस्कँदा पनि यौन सम्पर्कको समयमा पीडा हुन्छ भने शारीरिक तथा मानसिक समस्या भएको हुन सक्छ । यौन चाहना हुँदैमा यौनाङ्गबाट रसादी निस्कन्छ भन्ने पनि हुँदैन । यौन रसादी ननिस्किए पनि यौन चाहना हुन सक्छ । यौन रसादी निस्कनका लागि केही मिनेट यौन क्रीडा गर्न जान्नु पर्छ । यौन क्रीडाबाट यौन जोडीको (दुवैको) यौनाङ्गबट यौन रसादी निस्कन्छ नै भन्ने पनि जरुरत हुँदैन । अधिकांश जोडीमा फरक–फरक समयमा यौन रसादी निस्कन्छ । जोडीले यौन रसादी निस्किएको वा ननिस्किएको स्वअध्ययन गर्न जरुरी छ । रसादी निस्के÷ननिस्के बारेमा थाहा पाउन पनि जरुरी छ । अभ्यास र अनुभवले रसादी निस्किएको वा ननिस्किएको बारेमा थाहा हुन्छ । १÷२ पटकको अनुभवले थाहा हुँदैन । थोरै अनुभवले धेरै ज्ञान छ भन्ठान्दा यौन जोडीका लागि जोखिम पनि हुन सक्छ । यौनाङ्गबाट रसादी निस्कने तर पुरुषलाई पीडा हुने परिस्थिति भयो भने पुरुषको व्यक्तित्वमा मानसिक ह्रास हुन्छ । जसका कारण पुरुषको असक्षमताको पीडा असह्य हुन्छ । पुरुषको असक्षमताको परिणामस्वरुप कतिपय पुरुष महिलाबाट टाढा हुने, मानसिक रुपमा विक्षिप्त हुने र आत्महत्या गर्न समेत पछि पर्दैनन् । रोगको खतरा यौन सम्पर्कमा समस्या र पीडा हुने धेरै कारण हुन्छन् । यौन सम्पर्क गर्दा पीडा हुने मुख्य कारण यौनाङ्गको संक्रमण हो । जोडीमध्ये एकलाई वा दुवैलाई यौनाङ्गको संक्रमण भएको छ भने यौन सम्पर्क गर्दा पीडा हुन्छ । पुरुषको लिंग सानो हुने, बाहिरी छाला नसुर्किने, पुरुषको लिंगमा संक्रमण हुने, अन्य घाउ खटिरा लगायतका कारणले यौन सम्पर्क गर्दा समस्या तथा पीडा हुुन्छ । पुरुषको लिंग पूर्ण रुपमा विकसित भएको छैन भने पनि यौन सम्पर्क गर्दा यौन जोडीमा मानसिक रुपमा पीडा हुन्छ । विशेष गरी महिलामा तल्लो पेट दुख्ने, यौनाङ्गको सर्भिक्समा सर्भिक्स सोथ (दुख्ने, पोल्ने, सुन्निने) भएको खण्डमा पनि यौन सम्पर्क गर्दा पीडा हुन्छ । लिंग वा योनिमा रातो, तातो, दुख्ने, सुन्निने र यौनाङ्गले काम नगर्ने अवस्था आए सम्बन्धित चिकित्सककहाँ यथासम्भव चाँडै गएर सल्लाह र उपचार गर्न जरुरी हुन्छ ।यौन सम्पर्कको समयमा पीडा भयो वा यौनाङ्गमा कुनै किसिमको समस्या छ भने हेलचेक्राईँ गरेर बस्नु उचित हुँदैन । यस्तो अवस्था आकस्मिक भने हैन । यौनाङ्गमा कुनै किसिमको समस्या तथा संक्रमण छ भने एकअर्कामा सर्ने सम्भावना बढी हुन्छ । संक्रमण तथा जन्मजात कारणले पनि यौनाङ्गमा समस्या हुन सक्छ । जन्मजात अवस्थाका अधिकांश यौन समस्या शल्यक्रिया गरेर समाधान गरिन्छ । यौन जोडीमध्ये कुनै एक वा दुुवैमा कुनै किसिमको रोग छ भने पनि यौन सम्पर्कको समयमा पीडा हुन सक्छ । यदि रोग छ भने कुन किसिमको, कस्तो अवस्थाको रोग छ सम्बन्धित चिकित्सककहाँ गएर परामर्श लिनुका साथै उपचार गर्नुपर्छ । उत्तेजना नमिल्दा पीडा विशेषगरी महिलाभन्दा पुरुष चाँडै उत्तेजित हुनु पनि पीडाको एउटा कारण हो । पुरुष चाँडै र महिला सुस्त उत्तेजित हुनाले पनि यौन सम्पर्क गर्दा पीडा हुन सक्छ । महिला भन्दा पुरुष चाँडै उत्तेजित हुनु स्वभाविक पनि हो । अधिकांश पुरुष यौन मामलामा सक्रिय हुन्छन् भने महिला निष्क्रिय हुन्छन् । हरेक पुरुष तथा महिलामा मौसमअनुसार शरीरका अङ्गको सक्रियता र निष्क्रियता हुन्छ । जसका कारण पनि यौन सम्पर्क गर्दा पीडा हुन सक्छ । त्यसको व्यावस्थापन एक आपसमा यौन जोडीले नै गर्नुपर्छ । हरेक असहज परिस्थितिलाई वातावरण अनुकूल गर्ने दायित्व जोडीको हो । मौसमका कारण यस्तो पीडा हुन्छ भन्ने पनि हुँदैन । गर्मीमा पीडा हुन् वा जाडोमा नहुने वा जाडोमा पीडा हुने र गर्मीमा नहुने भन्ने हुँदैन । नकारात्मक धारणा नराख्ने विगत केही वर्षयता शैक्षिक पाठ्यपुस्तक, पत्रपत्रिका र सामाजिक सञ्जालको प्रयोगले मानिसमा यौनसम्बन्धी वैज्ञानिक जिज्ञासा बढ्दै जान थालेको छ र यो स्वाभाविक पनि हो । त्यसैले नेपालका सामाजिक अगुवा, धार्मिक गुरु, राजनीतिक कार्यकर्ताले यौन र यौन शिक्षालाई ज्ञानको भण्डारको रुपमा लिँदा समाज अगाडि बढ्न सक्छ । यौनसम्बन्धी नकारात्मक धारणा र अफवाह न्यूनीकरण गर्दै जान जरुरी छ । हरेक व्यक्तिका आ–आफ्नै किसिमका मानवीय अधिकार हुन्छन् । अधिकारभित्र आफूलाई चहलपहल गर्न स्वतन्त्र हुन्छन् । व्यक्तिले व्यक्तिगत तथा सामजिक उत्तरदायित्व भने भुल्नु हुँदैन । पीडा तथा असन्तुष्टि भयो भन्दैमा वैकल्पिक यौन जोडी रोज्नु उचित हैन । व्यवस्थापन गर्नु उपयुक्त हुन्छ । शुक्रबार साप्ताहिकबाट
एन आरएन अफ्रिकाको तेस्रो क्षेत्रीय सम्मेलन १२ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न
युगान्डा,पुष १५।गैरआवासी नेपाली संघ अफ्रिकाको तेस्रो क्षेत्रीय सम्मेलन १२ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न गरेको छ। युगान्डाको कम्पालमा आयोजना गरिएको सम्मेलनले पूर्बी र पश्चिम अफ्रिकी मुलुकमा कम्तिमा एक एक वटा दूताबास खोल्नका लागि नेपाल सरकारसंग आग्रह गर्ने निर्णय समेत गरेको छ । सम्मेलनमा पछिल्लो समय अफ्रिकि मुलुकमा रोजगारीमात्र नभई लगानीकर्ता र बिज्ञका रुपमा नेपालीको उपस्थिति बढ्दो भएपनि हाल इजिप्ट र दक्षिण अफ्रिकामा मात्र नेपाली दूताबास रहेको हुँदा अन्य मुलुकमा कार्यरत नेपालीले समस्या भोग्नुपरेको बिषयलाइ समेत उठाइएको छ।समस्यालाइ ध्यानमा राखी पूर्बी र पश्चिम अफ्रिकी मुलुकमा कम्तिमा एक एक वटा दूताबास खोल्नका लागि नेपाल सरकारसंग आग्रह गर्ने र तत्काल ती र अन्य मुलुकमा समेत महाबाणिज्य दूत नियुक्त गर्नका लागि नेपाल सरकार समक्ष पहल गर्ने निर्णय गरेको छ। त्यस्तै बैठकले नेपालबाट अफ्रिकी मुलुक हुँदै अबैधानिक रुपमा युरोप र अमेरिकामा छिर्ने लोभले मानव बेचबिखनको समस्या बढ्दै गएको भन्दै सरकारलाई ध्यानर्कषण गराएको छ । सम्मेलनको उद्घाटन कायरो स्थित नेपाली दुतावासका राजदुत झबिन्द्र अर्यालले गरेका थिए। कार्यक्रममा एनआरएनका संरक्षक तथा पूर्व अध्यक्ष जीवा लामिछाने, आइसिसी अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुल आचार्य, सचिव डिवी क्षत्री, कोषाध्यक्ष हिक्मत थापा, मध्य पूर्वबाट आइसिसी सदस्य मनोज गोर्खाली लगायतको सहभागिता रहेको थियो । डिसेम्बर २९ र ३० तारीख चलेको सम्मेलनमा अफ्रिका क्षेत्रका एक दर्जनभन्दा बढी मुलुकमा कार्यरत १५० जनाभन्दा बढी नेपालीको सहभागिता रहेको थियो । बैठकलाई उच्च प्राथमिकता दिदैं उद्घाटन सत्रमा इजिप्टस्थित नेपाली राजदूत झबिन्द्र अर्याल तथा युगाण्डा सरकारका सम्माननीय राष्टपतिका प्रतिनिधि युगाण्डा रेसिडेण्ट डिस्टिक्ट कमिस्नार श्रीमति हाइट हावा नामुजेनीको समेत उपस्थिति रहेको थियोे भने कार्यक्रममा कम्पाला नगर प्राधिकरण सम्बन्धी मन्त्री बेटी काम्या नामिसाग्यो र युगाण्डा सरकारका पर्यटन राज्यमन्त्री किवाण्डा गोडीफ्रे स्सुवी लगायत युगाण्डा सरकारका बिभिन्न निकाय तथा संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति तथा प्रस्तुती रहेको थियोे । यस्तो छ घोषणापत्र १.नेपालको पर्यटन, पूर्बाधार लगायतका क्षेत्रको विकासमा अफ्रिकी मुलुकको अनुभवबाट सिक्न सकिने भएकोले नेपाल र अफ्रिकाबीचको सहकार्यका लागि पहल गरिदिन नेपाल सरकार र एनआरएनए अन्तर्राष्टिय समन्वय परिषद्लाई यो बैठक आग्रह गर्दछ। २. नेपालबाट अफ्रिकी मुलुक हुँदै अबैधानिक रुपमा युरोप र अमेरिकामा छिर्ने लोभले मानव बेचबिखनको समस्या बढ्दो छ । युरोप र अमेरिका जाने प्रलोभनमा अफ्रिकी मुलुकमा आएका त्यस्ता नेपालीले अनेक दुःखकष्ट भोग्नु परेको यथार्थ हाम्रा सामु छ । यो क्रम तत्काल रोक्नका लागि कडाई गर्दै सचेतना कार्यक्रम संचालन गर्न नेपाल सरकारलाई आग्रह गर्दछ । ३. बैधानिक रुपमा अफ्रिकी मुलुक आउने नेपालीहरुलाई समेत नेपाल र भारतका बिमानस्थलमा त्याँहाका कर्मचारीले अनाबश्यक दुःख दिने गरेका छन् । बैधानिक रुपमा आउनेहरुलाई यसरी अनाबश्यक दुःख दिने काम तत्काल बन्द गरी आवतजावत सहज बनाउन नेपाल सरकारसंग यो बैठक आग्रह गर्दछ । ४ पछिल्लो समय अफ्रिकाका बिभिन्न मुलुकमा रोजगारीमात्र नभई लगानीकर्ता र बिज्ञका रुपमा नेपालीको उपस्थिति बढ्दो छ । तर हाल इजिप्ट र दक्षिण अफ्रिकामा मात्र नेपाली दूताबास रहेको हुँदा अन्य मुलुकमा कार्यरत नेपालीले समस्या भोग्नुपर्र्ने बाध्यता छ । यो यथार्थतालाई ध्यानमा राखी पूर्बी र पश्चिम अफ्रिकी मुलुकमा कम्तिमा एक एक वटा दूताबास खोल्नका लागि नेपाल सरकारसंग आग्रह गर्ने र तत्काल ती र अन्य मुलुकमासमेत अबैतनिक महाबाणिज्यदूत नियुक्त गर्नका लागि नेपाल सरकारसमक्ष यो बैठक अनुरोध गर्दछ । त्यसमा महाबाणिज्यदूत छनौट गर्ने प्रकृयामा सघाउन संघ तयार रहेको छ । ५. नेपाल र अफ्रिकामा आपसी लगानीका पर्याप्त संभाबना रहेका छन् । ती संभाबनालाई ध्यानमा राखेर नेपाल र अफ्रिकाबीच लगानीका लागि समन्वय तथा सहजीकरण गर्न सम्बन्धित सबैलाई आग्रह गर्दछ । ६. एनआरएनएको पहलमा नेपालमा हुने एकीकृत लगानीका क्षेत्रमा अफ्रिकामा कार्यरत नेपालीहरु सहभागी हुने यो बैठक प्रतिबद्धता जनाउँछ । साथै, नेपालमा लगानीका लागि नेपाल सरकारसंग सहकार्य गर्न यो बैठक युगाण्डा तथा अन्य अफ्रिकी सरकारलाई आग्रह गर्दछ । ७. अफ्रिकाका बिभिन्न मुलुकमा कार्यरत नेपाली समुदायलाई आधिकारिक रुपमा मान्यता दिलाई उनीहरुको बसोबास सहज बनाउनका लागि त्याँहाका सरकारसंग पहल गरिदिन यो बैठक नेपाल सरकारलाई आग्रह गर्दछ । ८. पछिल्लो समय अफ्रिकाका कतिपय मुलुक नेपालीका लागि रोजगारीको आकर्षक गन्तव्य भएका छन् । ती मुलुकमा सरकारी स्तरबाटै सहमति गरी रोजगारीमा पठाउने र रोजगारीमा जानेहरुको अधिकार सुनिश्चितताका लागि नेपाल सरकारलाई आग्रह गर्दछ । ९. अफ्रिकी मुलुकसंग व्यापार प्रबद्र्धन गर्न सन्धीका लागि पहल गर्न नेपाल सरकारसंग अनुरोध गर्दछ । १०. गैरआवासीय नेपाली संघले बिगतदेखि नै जोड दिदैं आएको बैदेशिक रोजगारीमा आएकाहरुको सामाजिक सुरक्षा सुनिश्चित गर्ने हजारे अभियान संचालन सम्बन्धमा सरकारले कार्यदल बनाई काम अघि बढाएकोमा नेपाल सरकारलाई धन्यवाद दिदैं चाँडै यस्तो किसिमको सामाजिक सुरक्षा कार्यक्रम थालनी गर्न सरकार समक्ष यो बैठक अनुरोध गर्दछ । ११. एनआरएनए अफ्रिकाको तेस्रो सम्मेलनको सहआयोजक इजिप्टस्थित नेपाली दूताबासको कदर गर्दै सम्मेलनको प्रमुख आतिथ्यता ग्रहण गरिदिनु भएकोमा नेपाली राजदूत झबिन्द्र अर्याल र नेपाल सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गरियो । १२. एनआरएनए तेस्रो अफ्रिका सम्मेलन सफलतापूर्बक सम्पन्न गर्नका लागि युगाण्डा सरकार र त्याँहाका जनताको सहयोग र सद्भावका लागि हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको निरन्तताको अपेक्षा गर्दछ। साथै, सम्मेलनमा सहभागी कम्पाला नगर प्राधिकरण सम्बन्धी मन्त्री मदाम बेटी काम्या नामिसाग्यो, युगाण्डा सरकारका पर्यटन राज्यमन्त्री किवाण्डा गोडीफ्रे स्सुवी लगायत युगाण्डा सरकारलाई यो सम्मेलन धन्यवाद ज्ञापन गर्दछ ।
आगामी चैत्रमा लगानी सम्मेलन हुने, प्रविधि भित्र्याउन फलदायी हुने विश्वास
काठमाडौं, पुष १२ । नेपाललाई लगानीको आकर्षक गन्तव्यका रुपमा प्रवर्द्धन गर्ने उद्देश्यले आगामी चैत १५ र १६ गते काठमाडौंमा नेपाल लगानी सम्मेलन हुने भएको छ। नेपाल सरकारको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्ससँगको सहयोगमा हुने उक्त सम्मेलनमा ऊर्जा, सूचना तथा सञ्चार प्रविधि, उद्योग, पर्यटन, भौतिक पूर्वाधार, कृषि तथा वन पैदावरमा आधारित उद्योगमा लगानी जुटाउने प्रयास हुनेछ। अर्थ, परराष्ट्र, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र लगानी बोर्ड नेपालको सक्रियतामा हुने उक्त सम्मेलनमा नेपालमा लगानीका अवसरका साथै आर्थिक रुपान्तरणका लागि आगामी १० वर्षमा लगानी गरी प्रतिफल उठाउन सक्ने क्षेत्रमा बाह्य लगानी भित्र्याउने प्रयास हुनेछ। विद्युत् उत्पादन, सूचना तथा सञ्चार प्रविधिमार्फत ‘डिजिटल’ अर्थ व्यवस्था निर्माण, मनोरञ्जन तथा तीर्थाटनका लागि पर्यटकीय गन्तव्य निर्माण, दिगो यातायात पूर्वाधार निर्माण, कृषि तथा वनजन्य उत्पादनमा लगानीको अवसर र नेपालमा लगानीको अनुभवका साथै लगानीमा अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान सम्मेलनमा हुनेछ। सम्मेलनबारे जानकारी दिन विहिबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री युवराज खतिवडाले विसं २०७३ मा आयोजित लगानी सम्मेलनपछि देशमा भएको राजनीतिक परिवर्तन तथा लगानीको वातावरणमा आएको सुधार, लगानीका सम्भाव्य नयाँ क्षेत्र र बदलिँदो क्षेत्रीय तथा अन्तर्राष्ट्रिय परिवेशमा नेपालको तुलनात्मक लाभका क्षेत्रमा भएको परिवर्तनबारे लगानीकर्तालाई जानकारी गराइनेछ। समृद्ध नेपाल, सुखी नेपाली’को दीर्घकालीन उद्देश्यप्राप्तिका निम्ति उपलब्ध स्रोत साधनको उपयोग र विश्वमा प्रवर्धित नयाँ प्रविधिको प्रयोग गर्दै जानु अहिलेको अपरिहार्यतामा जोड दिँदै मन्त्री खतिवडाले नेपालका प्राकृतिक स्रोत र साधनको प्रभावकारी उपयोगमा स्वेदशी तथा विदेशी लगानी र प्रविधि भित्र्याउन सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरे। नेपालमा तीनवटै तहको निर्वाचनपछि गठन भएको राजनीतिक स्थायित्वयुक्त वर्तमान सरकारले लगानीकर्तालाई अभिप्रेरित गर्न तर्जुमा गरेका नीति र तिनको कार्यान्वयन एवं सरकारको सोच उनीहरुमाझ प्रवाह गर्न सम्मेलन आयोजना गरिएको खतिवडाले बताए। “करीब दुई खर्ब ७५ अर्बको लगानीका परियोजनामा समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ र तीमध्ये अधिकांश जलविद्युत् परियोजना छन्। करीब २३ वटा कम्पनीले विस्तृत सम्भाव्यता अध्ययनमा रुचि देखाएका छन् भने तीमध्ये केहीले परियोजना प्रस्तावसमेत पेश गरिसकेका छन्” २०७३ को लगानी सम्मेलनपछि प्राप्त बाह्य लगानीबारे जानकारी दिँदै अर्थमन्त्रीले भने। सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ भने सम्मेलन तयारीका सम्पूर्ण काम पूरा गर्न अर्थमन्त्रीको संयोजकत्वमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल सरकारका सचिव, निजी क्षेत्रका प्रतिनिधि रहेको निर्देशक समिति गठन भएको छ। नेपालले लिएको आर्थिक वृद्धिको दीर्घकालीन लक्ष्यलाई सहयोग पुर्याउन काठमाडौँस्थित विदेशी कूटनीतिक नियोग, नेपालको विकासका साझेदार, निजी क्षेत्र, गैरआवासीय नेपाली सङ्घलगायतको सहयोग सम्मेलनमा रहनेछ। अघिल्लो सम्मेलनपछि श्रम ऐन, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, औद्योगिक व्यवसाय ऐनको नियमावली, विदेशी विनिमय नियमन गर्ने ऐन, सार्वजनिक खरीद नियमावली संशोधन भएकाले लगानीकर्ताले झण्झट झेल्न नपर्नेलगायत नेपालमा लगानीमैत्री वातावरण सिर्जना भएको सन्देश प्रवाह गर्नु सम्मेलनको उद्देश्य हो। रासस
नेपाली दूतावास मलेशियाको आयोजनामा श्रमिक सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
मलेशिया पुष,९। मलेशिया स्थित नेपाली दूतावासको आयोजनामा आइतबार जोहोर र मेलाका राज्यमा श्रमिक सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जोहोरको बागु सिटि होटेल तथा मेलाका को होटेल आर्किडमा आयोजना गरिएको कार्यक्रममा दूतावासको तर्फबाट श्रमिक लाई उपलब्ध सेवा ,मलेसियामा श्रमिकले पालना गर्नैपर्ने नियम ,जेल तथा डिटेन्सनमा रहेका नेपालीहरुको अवस्था ,उद्दार प्रक्रिया तथा श्रमिक सुरक्षाका समग्र पक्षहरु बारे जानकारी गराउदै प्रशिक्षण समेत दिइएको थियोे। कार्यक्रममा मलेशियामा कार्यरत श्रमिक,अध्यनका लागि पुगेका बिध्यार्थीहरु,विभिन्न संघसंगठनका प्रतिनिधिहरु पत्रकार लगाएतको बाक्लो उपस्थिति रहेको थियोे । अन्तरक्रियाकै क्रममा श्रमिकहरुले कन्सुलर सेवा तथा वैदेशिक रोजगारी र नीति नियममा बारेमा राखेका विभिन्न बिसयमा गरिएका गुनासो बारे दूतावासको तर्फबाट कार्यक्रममा उपस्थित प्रतिनिधिहरुले जबाफ दिएका थिए। कार्यक्रमको अन्तिममा सहभागीहरुले यस्ता कार्यक्रम बाट नेपाली श्रमिकहरुले धेरै लाभ लिन सक्ने भन्दै कार्यक्रम लाई निरंतरता दिन र दूतावासको सेवालाई चुस्त बनाउन अनुरोध गरेका थिए ।
अनैतिक सम्बन्ध रहेको आशंकमा श्रीमती र छोरीको विभत्स हत्या
हेटौँडा, पुष १ । श्रीमती र छोरीको हत्या आरोपमा एक भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय हेटौँडाले पक्राउ गरी आइतबार सर्वजनिक गरेको छ । भारत विहार घर भई हेटौंडा–५ मा डेरा गरी बस्ने २५ वर्षीय महम्द रम्जान मियाँ दर्जीलाई सो हत्याको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले जानकारी दिए । सोही हत्यामा संलग्नको आरोप लागेका रम्जानका भाइ अरमान फरार रहेको र उनको खोजी भइरहेको बताइएको छ । हत्याका आरोपित रम्जानले पटकपटक श्रीमतीसँग झगडा भएको र श्रीमतीको अरुसँग सम्बन्ध रहेको शंका गर्दै हेटौंडा–१९ नेवारीपानीस्थित रातु खोलामा हत्या गरेको स्वीकार गरेको बताइएको छ । अभियुक्त रमजानमियाले आफ्नो श्रीमती २५ वर्षकी लालमुन खातुन र एक वर्षकी छोरी रोशन खातुनलाई हत्या गरेको छानविनका क्रममा पाइएको दावी गरिएको छ । घटना विवरणअनुसार मंसिर १८ गते हेटौँडा–१९ मा एक वर्षकी बालिका र २५ वर्षीय एक महिलाको शव फेला परेपछि प्रहरीले खोजतलास गर्दा निजको हत्या श्रीमान् रम्जानले गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । मृतक खातुनबाट फेला परेको मोबाइल र डायरीबाट घटनाको विवरण सार्वजनिक भएको र सोही मोबाइलबाट मृतकका पिता मोतिहारी आधापुरथाना वडा नं ६ बस्ने आरिक मियाँको छोरा ४० वर्षीय अलियर मियाँले शव सनाखत गरी लगेको प्रहरीले जनाएको छ । रासस
सहुलियतपूर्ण ऋण दिन राष्ट्र बैंकको आग्रह, कसले कति ऋण पाउँदै ? [रकमसहित]
काठमाडौं, कार्तिक २५ । नेपाल राष्ट्र बैंकले ‘सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ अनुसार सहुलियतपूर्ण ऋण उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ । बैंकले आइतबार सूचनामार्फत बैंक तथा वित्तीय संस्थालाई कार्यविधि बमोजिम योग्य र इच्छुक नागरिकले आफ्नो अनुकूल शीर्षकमा कर्जा दिन तथा व्यवसाय सञ्चालनका लागि सहजीकरण गर्न आग्रह गरेको छ । बैंकले सहुलियतपूर्ण कर्जा लिई व्यवसाय तथा उद्यम सञ्चालन गर्नसमेत आम नागरिकलाई आग्रह गरेको छ । सरकारले चालू आर्थिक वर्षको बजेटमा विभिन्न सात शीर्षकमा सहुलियत पूर्ण ऋण दिने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार सरकारले आवश्यक कार्यविधि समेत कार्यान्वयनमा ल्याएको छ । अर्थ मन्त्रालयले असोज ११ गते नै उक्त कार्यविधि स्वीकृत गरी कार्यान्यनमा ल्याउन केन्द्रीय बैंकलाई आग्रह गरेको थियो । व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा रु पाँच करोडसम्म दिने व्यवस्था कार्यविधिले गरेको छ । यस्तै शिक्षित युवा स्वरोजगार कर्जा सात लाख रुपैयाँसम्म, विदेशबाट फर्केका युवा परियोजना कर्जा रु दश लाखसम्म, महिला उद्यमशील कर्जा रु १५ लाख, दलित समुदाय व्यवसाय विकास कर्जा रु दश लाख, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा रु पाँच लाख र भूकम्प पीडितको निजी आवास निर्माण कर्जा रु तीन लाखसम्म दिने व्यवस्था गरिएको छ । कर्जाका प्रकार, सीमा, भुक्तानी, अवधि र व्याजदर तथा शर्त समेत कार्यान्वयनमा ल्याइएको छ । कार्यविधिअनुसार व्याज अनुदान दिइने कर्जाको भुक्तानी अवधि बढीमा पाँच वर्षको हुनेछ । कर्जाको अवधि व्यवसायको प्रकृतिअनुसार सम्बन्धित बैंक तथा वित्तीय संस्थाले तोक्ने व्यवस्था गरिएको छ । सरकारले तोकेको व्याज अनुदान उपलब्ध गराउने कर्जामा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा दुई प्रतिशत बिन्दुभन्दा बढी नहुने गरी व्याजदर कायम गर्नुपर्ने छ । कर्जाको व्याजभन्दा बाहेक अन्य कुनै पनि प्रकारको थप सेवा शुल्क लिन नपाइने व्यवस्था गरिएको छ । राष्ट्र बैंकले सरकारले तोकेको सात शीर्षकअनुसार अनुकूल हुनेगरी कर्जा दिने व्यवस्था गर्न र पायक पर्ने शाखामार्फत सेवा प्रदान गर्न बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन गरेको छ । कार्यविधिअनुसार बैङ्क तथा वित्तीय संस्थाले व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा प्रवाह गर्दा रु दश लाखसम्म सामूहिक जमानीका आधारमा र त्यस भन्दाबढी व्यावसायिक परियोजनामा ऋण दिन सक्नेछन् । त्यस्तो ऋण दिँदा परियोजनाको सम्भाव्यतालाई मुख्य आधारको रुपमा लिनुपर्नेछ । उच्च शिक्षा हासिल गरेका युवालाई प्रदान गरिने शिक्षित युवा स्वरोजगार कर्जाको लागि सम्बन्धित बैङ्क तथा वित्तीय संस्थाले कर्जाको लागि बैङ्क तथा वित्तीय संस्थाले निवेदकको सक्कल शैक्षिक प्रमाणपत्र धितो स्वरुप राख्नुपर्ने, विदेशबाट फर्केका युवाले सम्बन्धित व्यवसाय सञ्चालन गर्न परियोजना नै धितोमा लिई ऋण दिनुपर्नेछ । दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकीकरण एवं प्रवद्र्धन गर्न प्रदान गरिने दलित समुदाय व्यवसाय विकास कर्जा एकल वा सामूहिक जमानीमा उपलब्ध गराउनुपर्ने व्यवस्था छ । महिला उद्यमीले सञ्चालन गर्ने उद्यम, ऋणीको कर्जा सम्बन्धी कागजात, सामूहिक जमानीको हकमा सोही सम्बन्धी कागजात, भूकम्प पीडितले प्राप्त गर्नुपर्ने निजी आवास निर्माण कर्जा सामूहिक वा धितो जमानीमा प्रवाह गर्ने व्यवस्था छ । उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा लिन चाहनेले सरकारले तोकेको विषयको उच्च शिक्षा, एमबिबिएस, आयुर्वेद चिकित्सा, फार्मेसी, नर्सिङ, कम्प्युटर शिक्षा, पशु विज्ञानसँग सम्बन्धित स्नातक वा सोभन्दा माथिल्लो तहका विषय, कृषि विज्ञान तथा अन्य प्राविधिक विषय रहेका छन् । -रासस
अब सेञ्चुरी बैंकका ग्राहकले सुमेरु अस्पतालमा १० प्रतिशत छुट पाउने
काठमाडौं, असोज १९ । सेञ्चुरी कमर्सियल बैंक र धापाखेल, ललितपुरस्थित सुमेरु अस्पताल प्रालिबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा शयेरधनिहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका शयेरधनिहरुले अस्पतालको ओपीडी लगाएत सम्पूर्ण सेवामा १० प्रतिशतसम्म छुट साथै औषधीमा ८ प्रतिशतसम्म छुट पाउनेछन् । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र सुमेरु अस्पताल प्रालिका अस्पताल निर्देशक दिलीप डंगोलले हस्ताक्षर गरेका छन् ।
पाकिस्तानी प्रधानमन्त्री इमारन खानले भैंसी बेचेर कमाए १४ लाख !
एजेन्सी, असोज १२ । नयाँ प्रधानमन्त्री इमारान खान नेतृत्वमा आएसंगै पाकिस्तान सरकारले प्रधानमन्त्री निवासको आठवटा भैंसी लिलामी गरेको छ । र, करिब १४ लाख रुपैयाँ जुटाएको छ । गएको साता पनि प्रधानमन्त्री निवासमा रहेको कार बेचेर पाकिस्तान सरकारले पैसा जम्मा गरेको थियो । यी भैंसी पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफको समर्थकले किनेका थिए । यो मध्ये एउटा भैसी ३ लाख ८५ हजार रुपैयाँमा काल्ब अलीले खरिद गरेका छन् । अलीले भनेका छन् ‘भावनात्मक कारणले गर्दा १ लाख २० हजार पर्ने भैंसीलाई तीन गुणा पैसा तिरिएको हो ।’ उनले अगाडि थपे, ‘मैले यो भैंसी नवाज शरीफ प्रति आफ्नो लगाव भएकाले किनेको हुँ ।’ प्रधानमन्त्री इमरान खानले फजुल खर्च रोक्नका लागि लालामी गरेका हुन् । खान सरकारले अब केही समयमा चारओटा सरकारी हेलिकोप्टर पनि लिलामी गर्ने तयारी गरिरहेको छ ।
डा. धामीको ‘भीर मौरीको मह’ भिडियोसहित
काठमाडौं, साउन २५ । डा हिमाल धामीको पहिलो तीज कोसेली ‘भीर मौरीको मह’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गीतको भिडियो म्युजिक नेपालले शुक्रबार युट्युब मार्फत सार्वजनिक गरेको हो । करीव एक महिना अघि नै अडियो आइसकेको उक्त गीतको म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको हो । डा धामीको शब्द, संगीत र लय रहेको गीतमा सुरेश शाही र दिपा रोकायको स्वर रहेको छ । मीन रावलले सम्पादन गरेको भिडियोका छायांकन डीबी रौलेले गरेका हुन् । डीबीराज बिकले निर्देशन गरेको भिडियोमा करिश्मा, होरिज, लक्ष्मी र डम्बरको अभिनय गरेका छन् । हेर्नुहोस भिडियो
युएईमा सुपरभाइजरबाट कुटिएकी नेपाली महिलालाई दूतावासले दिलायो न्याय
युएई, असार २७ । युएईमा आफ्नै कम्पनीको सुपरभाइजरले कुटपिट गर्दा घाइते भएकी सोलुखुम्बुकी गङ्गा बास्तोलालाई नेपाली दूतावास युएईले न्याय दिलाएको छ । गत मंग्लवार कम्पनीमा काम गर्न जादा मादक पर्दाथ सेवन गरि गएकी गङ्गालाई कम्पनीका एक भारतीयन सुपरभाइजरले गाडीमा राखी कम्पनी होस्टेल फर्काउदै गर्दाबीचच बाटोमा गाडी रोकि कुटपिट गरेको भिडियो सामाजिक संजाल फेसबुक मार्फत भाइरल बनेपछि दूतावासले घटनाबारे चासो दिएको थियो । युएईको सोनापुरस्थित एक प्रतिष्ठित कम्पनीमा क्लिनिङ काम गर्दै आएकी बास्तोलाले मादक पदार्थ सेवन गरि सामान्य भनाभन गरेकै भरमा बिच बाटोमा घाइते हुने गरि कुटपिट गर्नु नितान्त कानुन बिपरित रहेको भन्दै दूतावासले घाइतेको उपचारसहित कम्पनीसँग क्षतिपूर्ती दाबी गरेको राजदूत सागर फुयालले बताए । ‘मादक पदार्थ सेवन गरि काममा जानू झगडा गर्नु नितान्त गलत हो तर त्यसो भन्दैमा महिलामाथी हातपात गर्ने लाई हामी त्यसै माफ दिन सक्दैनौं कम्पनीले सुपरभाइजरलाई कारबाही गरेको छ बास्तोला उपचार पछी नेपाल जादैछिन,’ राजदुत फुयालको भनाइ छ। पछिल्लो समय युएईमा मादक पदार्थ सेवन गरि होहल्ला गर्ने, झैझगडा गर्ने जस्ता काममा नेपाली महिला तथा पुरुषको सङ्ख्या बढेको देख्दा दुख लागेको बताउदै स्वाभिमानी नेपालीको शिर झुकाउने काम नगर्न समेत दूतावासले अनुरोध गरेको छ ।