ट्राफिक महाशाखा प्रमुखको जिम्मेवारी एसएसपी ढकाललाई
काठमाडौंः प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुखको जिम्मेवारी सम्हालेका छन्।
भदौ १४ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार एसएसपी ढकालले बुधबारदेखि महाशाखा प्रमुखको जिम्मेवारी सम्हालेका हुन्।
महानगरीय ट्राफिक प्रहरी महाशाखामा आयोजित एक कार्यक्रमबीच बरिष्ठ प्रहरी अधिकारीहरुले ढकाललाई स्वागत गरेका थिए।
यसअघि महाशाखा प्रमुखको जिम्मेवारी बरिष्ठ उपरिक्षक बसन्त कुमार पन्तले सम्हाल्दै आएका थिए।
पाँच जिल्लामा वितरण गर्न किनिएको पोषिलो पीठो गुणस्तरहीन
काठमाडौं, साउन ९ । सरकारले कर्णालीका पाँच जिल्लामा वितरण गर्न किनेको पोषिलो पिठो गुणस्तरहीन पाइएको छ । दुई वर्षसम्मका बालबालिका र गर्भवतीलाई वितरण गरिने पिठोमा भिटामिन ‘ए’ नभएको परीक्षणबाट पुष्टि भएको छ । पोषिलो पिठोमा अत्यावश्यक तत्व नै नभएपछि अहिले वितरणमा रोक लगाइएको परिवार कल्याण महाशाखाका पोषण प्रमुख केदार पराजुलीले बताए । विश्व खाद्य कार्यक्रमले गुणस्तर मापन गर्दा भिटामिन ‘ए’ नपाइएको उनले जानकारी दिए । यसैकारण केही महिनाका लागि पौष्टिक पिठो वितरण कार्यक्रम स्थगित हुनसक्ने अधिकारीहरूको भनाइ छ । सरकारले कुपोषण उच्च रहेको कर्णालीका पाँच जिल्ला हुम्ला, जुम्ला, मुगु, कालिकोट र डोल्पामा २० तथा सोलुखुम्बुमा १० वर्षदेखि पोसिलो पिठो वितरण गर्दै आएको छ । यसका लागि सरकारले गतवर्ष आठ करोड बजेट विनियोजन गरेको थियो । ६ जिल्लाका लागि विनियोजित बजेट अर्थ मन्त्रालयले ७७ वटै जिल्लामा पठाएको थियो । पछि त्यो रकम परिवार कल्याण महाशाखाले फिर्ता गराएको थियो । शारदा ग्रुपले बनाएको पिठो गुणस्तरहीन प्रदेश सरकारले पिठो किनिदिन आग्रह गरेपछि तत्कालीन आपूर्ति महाशाखा (हाल व्यवस्थापन महाशाखा)ले कर्णालीका लागि पिठो खरिद गरेको थियोे । उसले थापाथलीस्थित शारदा ग्रुपले बनाएको पिठो तीन करोड रुपैयाँमा खरिद गरेको थियो । त्यही पिठो परीक्षण गर्दा अत्यावश्यक भिटामिन ‘ए’ तत्व नभेटिएको हो । सोलुखुम्बुका लागि भने सरकारले एक करोड बजेट विनियोजन गरेको थियो । तर, बजेटभन्दा बढीको टेन्डर परेपछि खरिद पक्रिया अघि बढ्न सकेन । सरकारले खरिद गर्ने पोसिलो पिठोको वितरण र गुणस्तर मापनको काम भने विश्व खाद्य कार्यक्रमले गर्छ । कुपोषणबाट हुने बाल मृत्युदर कम गर्न सरकारले कर्णाली र सोलुखुम्बुमा दुई दशकदेखि दुई वर्षसम्मका बालबालिका र गर्भवती महिलालाई पौष्टिक तत्वयुक्त पिठो वितरण गर्ने कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर, यो कार्यक्रम प्रभावकारी देखिएको छैन । कर्णाली क्षेत्रमा कुपोषण अझै व्यापक छ । कुपोषणका कारण बाल मृत्युदर पनि उच्च छ । फापर, कोदो, जौ, मार्सी धान, रातो दाल उत्पादन हुने हिमाली र पहाडी जिल्लामा स्थानीय उत्पादनको विविधतायुक्त उपभोगलाई प्रोत्साहन गर्न नसक्दा कुपोषण बढेको विज्ञहरू बताउँछन् । किन खाने पोसिलो पिठो भिटामिन ए, पोलिक मिसिन, आइरन, आयोडिन, भिटामिन बी कम्प्लेक्स, क्याल्सियम मिसाएर पिठो तयार गरिन्छ । वितरण गर्नुअघि विश्व खाद्य कार्यक्रमले विदेशमा लगेर यसको परीक्षण गर्छ । पिठोको म्याद एक वर्षको हुन्छ । यसको सेवनबाट कुपोषण, एनिमिया, भिटामिन एको कमीबाट हुने समस्या, रतन्धोजस्ता समस्या कम हुँदै जान्छन् । पराजुलीका अनुसार ६ जिल्लाका २१ हजार जनाले यस्तो पिठो प्रयोग गर्ने गरेको तथ्यांक छ । पौष्टिक पिठो दिनको सय ग्राम अर्थात् महिनामा तीन किलो खान सुझाइएको छ । पानी, दूध वा जसरी खाए पनि हुन्छ । पोषिलो पिठो पाउन गर्भवती महिलाले स्वास्थ्य संस्थामा पुगेर जाँच गराउनुपर्छ । स्वास्थ्य जाँचकै क्रममा पिठोका लागि फारम पनि भराइन्छ । कार्यक्रम नै स्थगित हुने सम्भावना वितरणपूर्व गरिएको परीक्षणमा पिठो गुणस्तरहीन पाइएपछि कार्यक्रम स्थगित हुने सम्भावना बढेको छ । ‘गुणस्तरहीन पिठो खरिद गरिएकाले यस वर्ष कार्यक्रम रोकिने अवस्थामा पुगेको छ,’ परिवार कल्याण महाशाखाका पोषण प्रमुख केदार पराजुलीले भने, ‘अहिलेसम्म पुरानो स्टकले धानेको छ । अभाव हुन नदिने प्रयास गरिरहेका छौँ ।’ कार्यक्रम रोकिन नदिन तत्काल खरिद प्रक्रिया अगाडि बढाउने तयारी गरिएको उनले बताए । ‘आगामी चार महिनामा खरिद गरी सम्बन्धित स्थानमा पुर्याउने कोसिस गर्दैछौँ,’ उनले भने । नयाँपत्रिकादैनिकबाट
कथाः गैरी खेत
नविन काफ्ले अभि ए हरि, त्यो बिउ फाल् त, यता मेरो मेलो पछाडि परिसक्यो ठुल दिदी माथिल्ला गडाबाट कराइन्। जेठको २५ लागिसकेको थियो। वर्षाले त्यो वर्ष समयमै किसानहरुलाई उर्जा प्रदान गरिदिएको थियो। गाउँभरिको मुलघर प्रधान ठुला-बाको थियो त्यसपछि हाम्रै घर थियो। मेरा बा गाउका मुखिया थिए। मुखियाको रोपाइँ भएर होला सायद त्यो बेलामा गाउँभरिका प्रत्येक घरबाट एक जनाका दरले रोप्नेरी पठाई दिने चलन थियो। रोपाइँका गडाबाट म दौडिंदै विउ गडामा गएर बिउका आँठाहरू रोपाइँ गडातिर हुर्राए। हाम्रो त्यो जमानामा गैरी खेतका नामले प्रचलित बुढापाकाले तौलिने पाथीको २० पाथी बिउ लाग्ने खोला खेत थियो। खोलाबाट नजिकै र कुलोको मुखमा भएर होला हाम्रो गैरी खेत सधैं सधैं जेठ महिनामै रोपिन्थ्यो। परम्परागत रोपाइँको एउटा मान्यता छ पश्चिम नेपालका पहाडी जिल्लातिर। सबै रोपेपछि मात्रै अन्तिममा रोप्न पर्ने दाइँ हाल्ने गडा जुन गडाको आकार ठुलो हुन्छ फराकिलो हुन्छ। अन्तिममा पालो त्यही गडाको थियो। तल्ला गडामा आलीलाई थपथपाइरहको कमलदाइलाई साइँली भाउजूले आएर हिलोमा चुम्लुङै डुबाइदिन, कमल दाइ पनि उठेर साइँली भाउजूलाई हिलोले पोत्न थाले। त्यसपछि सबै साली भिनाजु, सोल्टी सोल्टीना देवर भाउजूको हिलो हाना हान चल्न थाल्यो। वेठीका बाजाहरू पनि मज्जैले घन्किन थाले। म भने अलि सानै भएकोले वेठीहरुको नजिकै गएर हिलो खेलेको हेरिरहेको थिए। पछाडिबाट हिलोले जब जिउ चिसो बनाएको भान भयो। तब पछाडि फर्किएँ त हातभरि हिलो समाएर मैतिर दौडिरहेकी मेरी बालसखा कल्पनालाई देखें। लौ म त कराउदै भाग्न थालें, “ए मुसी काँ मलाई हान्दै छेस्, हेर् नचल है तँ, मैले भन्देको छु नि फेरि, राम्रो हुन्न नि १” किन रोकीन्थी र मुसी, हानी हाली मेरा कपडाभरि हिलो भयो। म पनि के कम र मुसीका हात समाएर रोपाइँ गडातिर ताने हलीले भरखरै बनाएको रोपाइँ गडामा मुसीलाई हिलोमा चुम्लुम्मै पछारे, मुसी हिलोले नचिन्निने भई। सबै कराए, ए हेर त यो हरि र मुसीको हिलो कति रमाइलो १ भन्दै सबै हामीतिरमात्रै हेर्न थाले। मुसी पनि लाजले जुरुक्क उठी र मलाई हिलोमा पछार्न लागी परी। कसरी कसरी फेरि मुसी नै हिलोमा पछारिई, तर उसले मेरो हात समातिरहेकोले मलाई पनि सँगै तानीहाली। कस्तो अचम्म म उत्तानो परेको थिएँ, मेरो माथि मुसी थिई। सबैजना हाँस्दै हाँस्दै ताली बजाउन थाले। मुसी मलाई खाइस बल्ल खाइस हैन हर्यौ भन्दै मेरो अनुहार पढिरहेकी थिई। मेरो पालो मुसीलाई तल फालेर हाल समाउदै भन्न थालें, “ल खा त यै गडामा गाड्दिन्छु, यै बसेर धान खा मुसी।” गाउँका पाखाहरुबाट बिस्तारै निशृप्त भई झरेका खहरे खोलाहरुले रोपाइँका दृश्यहरू मजैले नियाली हरेका हुन्थे। रोपाइँका गडाहरुबाट एकै लयमा घन्कीले रोपाइँका गीतहरुले मनमा बेग्लै आनन्दको अनुभूति दिलाइरहेको हुन्थ्यो। मायामा जोडिएका ढुकुरका जोडीहरू पारि भीरमा टुक्कुर टुर टुर गर्दै कराइरहेका हुन्थे। गोठाला गएका गोठालाहरुले वनै थर्किने गरी शान्त स्वरमा बजाएको मुरलीको मिठो सुरीलो धुनले मनका कुनाहरू शान्त पारेका हुन्थे। रोपाइँ सकेपछि सबै जना उकालोमा जिस्किंदै गाउँदै रमाउँदै गाउँ पुगिन्थ्यो। जीवनका ५० वर्ष यसै गरी बिताएका मेरा बाजस्ता धेरै बाहरू यो उकालो हामीभन्दा रमाएरै सक्काउँथे। मेरा जेठा(बाले उकालोको बस्ने ढुङ्गामा पुगेर मलाई ईशारा गर्दै भने, ूहेर हरि, तेरा बाले तेरी आमालाई त्यही पारी न्याउलापुरबाट भगाएर यही उकालोमा दौडाएको थियो । बाबै, कम्तीका दुःख दिएको हैन तेरा बाले हामीलाई। म जेठा बातिर हेरेर मुसुक्क मुस्कुराएँ। लगभग लगभग खोला खेतका सबै रोपाइँहरू सकिइसकेका थिए। कुलोको पालो अनुसारको रोपाइँ र खेतमा पानी लगाउने चलन मेरा बाले गाउँका सबै मानिसलाई बोलाएर नियम बनाइदिएका थिए। त्यसै अनुसार सबैले खेतमा पानी लगाउँथे। हाम्रो खेत र कल्पनाको खेतमा पानी लगाउने पालो बुधबार बिहान साँझ थियो। पहिले पहिले त सधैं बा नै जानुहुन्थ्यो खेतमा पानी लगाउन तर पछि बाले नभ्याउने भए पछि म जान थालें। कल्पनाका घरमा भने उसका दाइ नै आउथे। समयले कस्तो सन्जोक मिलाइदिंदो रहेछ जीवनका पलेटीहरुमा। मेरा बाले जब खेत धाउने समय पाएनन् त्यही समयमा कल्पनाको दाइ पनि इन्डिएन लाहुरे भर्ना भयो। अब उसका घरबाट पनि ऊ मात्रै भई खेत धाउनेमा। उसका घरमा ऊ र उसको दाइ मात्रै थिए सन्तानमा। उसका बा ठकुरी भएर होला, ऊ जमानामा अङ्ग्रेजले सिधै आर्मीमा भर्ना गरेको थियो। अहिले पनि उसका बा पल्टनमै छन्। र अब दाइ पनि भयो। कल्पना र मेरो लगभग लगभग नियमित जस्तै भयो खेतमा पानी लगाउन जाने काम। हामी सुरु सरुमा त एक्लाएक्लै गयौं। एक दिन मैले कल्पनालाई सँगै जाने कुरा पस्किएँ, उसले पनि स्वीकार गरी। त्यस पछिका दिनहरुमा हामी गैरी खेत सँगसँगै धाउन थाल्यौ। प्रकृतिको हराभरा सौन्दर्यतालाई नियाल्दै नियाल्दै हामी उकाली र ओराली एक महिनासम्म गर्यौं। यस समयमा कल्पनाको मप्रतिको चाह सोह्रै आना बढेको थियो। एक दिन उसले मेरो हात समाएर सुस्केरा हाल्दै भनी, हुरि, तँ कति राम्रो छस् है। मलाई नि त मन पर्न थालिसक्यो। कल्पनाको यो कुरा मैले खासै चासो दिएर सुनिन। ऊ फेरि उकालीको बस्ने ढुङ्गामा थचक्क बसेर भन्न थाली, हरि, सुन न के मैले साँच्चै भनेको हो । तैँले यत्तिकै नसोच् न है । ऊ अलि सिरियस भएर भन्दै थिई। उसको यो सिरियसपनले गर्दा म पनि साँच्चिकै सिरियस भएछु। उकालीको चुच्चे पिपलमा पुगेर मैले भनें, हेर मुसी, मलाई पनि तँ मन नपरेको हैन मन पर्छ। तर हाम्रो जात मिल्दैन घरकाले मान्दैनन्। हामी मात्रै एक भएर के हुन्छ र भन् त । मेरो यो जवाफमा ऊ केही बोलिन, मात्रै मायाले जितौंला नि! शिवाय। खाना खाएर ओछ्यानमा पल्टिएँ। दिनमा मुसीले भनेका एक एक कुराहरू पालै पालो दोहोरिए र मानस पटलमा आइरहे। मान्छेले दैनिक गरेका कार्यहरुले उसको रात्रीकालीन स्वप्नील संसारमा पनि उत्तिकै प्रभाव पार्दो रहेछ। अनि फेरि माया भन्ने शब्द नि मलाई साह्रै अमूल्य लाग्छ, त्यही भएर त होला नि अमूल्य चिजको प्राप्तिमा मानिस जति खुसी हुन्छ त्यही अमूल्य चिज गुमाउनु पर्दा त्यसभन्दा बढी दुखी भएको हुन्छ। मुसी साँच्चिकै राम्री भएर आई। कागजका सेता टुक्राहरुमा वर्णन गरी नसक्नु कलिलो सुन्दरता थियो उसमा। हावामा लहराएका उसका काला केशहरू जब उसको मुख मण्डललाई पालै पालो छोप्न हतारिन्थे, तब लाग्थ्यो उसको सौन्दर्यता अतुलनीय छ। गोरो अनुहार माथिका उनका दुई वटा आँखी भौका बीचमा घरी दाँया घरी बाँया गर्ने ती नयनहरू जसको म पुरै फ्यान थिए। हाईटमा पनि अब्बल, बोलाइ त्यस्तै माधुर्यता, दाँत बिग्रिएर आएको जिमल दाह्रोले उसको मुस्कानको शोभालाई उच्च पारेको थियो। सुन्दरता, शहनशीलता, धैर्यता, साहस, बोली, हिडाइ सबै कुरामा मुसी युक्त र पोख्त लागी। रातभरि उसकै बारेमा सोचें। रातीको १ बजेसम्मको एउटै निष्कर्ष निकालें। उसलाई हुन्छ जीवनका हरेक गोरेटोहरुमा सँगै हिड्ने सँगै खाने बस्ने अनि सँगै गैरी खेतको उकालो र ओरालो धाइरहने। एक अर्काको सामिप्यताले जीवन चलाउने। भोलिपल्टनै उसलाई भन्ने निधो गरे। बिहानै बाले उठाएर मलाई लखनपुर फुपूको घरमा जाने उर्दी जारी गर्नुभयो। मैले बाको कुरा काट्नै सकिन। मान्छे हरेक पल हरेक क्षण दोधारमा हुन्छ भन्थे, हो रहेछ। म पनि दोधारमै परे बाको भनेको मान्ने कि, मुसीलाई भेटेर जीवनको निर्णय गर्ने। सोचें बाको कुरा आजसम्म नकारेको छैन, कसरी नकारुँ बरु मुसीलाई भोलि गैरी खेतमा भेटेर मजै भन्ने निधो गरेर फुपूको घरतिर लागे। बिचरी मुसी जीवनमा पहिलोपल्ट आएको मायाको उर्जावान तरङ्लाई त्यही रफ्तारमा हाक्ने सोचेर बसेकी हुँदी हो। सबै कुरा आफूले सोच जस्तै कसैको नहुने रहेछ। उसले मलाई चुच्चे पिपल चौतारीमा त्यति भनेर घर गएपछि उसको मामाको छोरा, दाइ, उसलाई शहर लिन भनी आएको थाहा पाइछ। उसले मलाई बोलाउन भनी आएकी पनि रहिछ, मेरा बाले घर छैन भन्देछन्। गाउँभरि साँझसम्म खोजिछे पनि। मेरा निष्ठुरी बाले घरमै भएको छोरालाई घरमा छैन भनेर उसको र मेरो जीवनकै विछोड गराइदिए। साँझ म घर आइपुगें। आमाले पानी दिदै भन्नुभयो, लाहुरेकी छोरी कल्पना आएकी थिई। भन्दै थिई, ुबजै हरि आएपछि भन्दिनु होला कल्पनाले जीवनभरि नै जवाफको प्रतिक्षा गरेकी छ भनेर। आँखाभरि आँशु टिलबिल बनाएकी थिई, बिचरी तँलाई माया गर्दी रहिछ कति गाह्रो मानी मानी गाउँ छोडी । आमाको यो कुराले मेरो घाँटीको आधासम्म पुगेको पानी थपक्क रोकियो । खोकेँ, पानी बाहिर आयो। हातहरू एकाएक लुला भए। शरिरमा भएको उर्जा सबै आँशुलाई बाहिर निकाल्न लागी परे। कल्पनासँग रमाएका हिजोसम्मका ती मिठा पलहरू आँखाभरि झझल्को बनेर झल्किन थाले। आँखाबाट आँशुका लहरहरू पालै पालो निस्कन थाले। आमाले आँशु पुछ्दै भन्नुभयो, नरो, किन रुन्छस् पोइलै गएको जस्तै गरीरु दशैंमा त आइहाल्छे। तँ किन पीर गर्छस् ररु बरु बालाई भनेर कुरा चलाउँला। जात नमिले पनि केही हुन्न, तँ खुसी भए भैगो बाबु हामीलाई। तेरा ७ दिदीहरू आफ्नै जातकोमा छन्, छोराले कुजातको ल्याए म केही भन्दिन। आमाको कुराले ममा केही उर्जा ल्यायो । साँझ खाना खान मन लागेन। बालाई देखेर झनै रिस उठ्यो, खानै नखाई ओछ्यानमा गएँ। आमाले दिउसोको सबै कुराहरू बालाई भन्नुभएछ। तर बाले जातकै केटीसँग कुरा चलाएको सुनाए। आमा चुपचाप लागेर मेरो कोठामा आउनु भयो। बाको कुरा सुनाउदै मेरो टाउको मुसार्दै हुनुहुन्थ्यो। दिनभरिको थकाले होला सबै पीरलाई निद्राले जितेछ क्यार, आमाकै काखमा निदाएछु। भोलिपल्ट मुसीको खुब याद आयो। एक्लै गैरी खेत झरे, साह्रै न्यास्रो लाग्यो। जीवनबाट कोही हराए जस्तो अनुभूति भइरह्यो। गैरीखेतमा एक छिन पनि टिक्न सकिन। उकालो झनै गाह्रो भयो। दुई दिन अगाडि त्यही उकालोमा हाँस्दै गरेकी मुसी आज शहरका गल्लीको एक कोठाभित्र मलाई नै सम्झिरहेकी होली। चुच्चे पिपल चौतारामा पुगेपछि सोचें, मुसीलाई जवाफ दिनै भए पनि म शहर जानु पर्छ। मुसीले बाध्यताले गाउँघर, गैरी खेत छाडी म मुसीको रहरले गैरी खेत गाउँ छाड्छु। निधो गरे। साँझ बालाई सबै भनें, बाले पनि मान्नुभयो। म पनि शहर जाने पक्का पक्की भयो । आमाले झोला प्याक गरिदिनुभएपछि टीका ल्याएर अँगेनोमा आउनु भयो। बा पनि मलाई पुर्याउन भनी तयार भई सक्नुभएको थियो। टीकाटालो गरेपछि आमाका आँखाबाट आँशु रोकिएर बस्न सकेनन्, बा भने आमालाई हप्काउदै हुनुहुन्थ्यो। मलाई भने गैरी खेतको खुप माया लाग्यो र दौडिदै चुच्चे पिपल चौतारोमा पुगें जहाँबाट मेरो गैरी खेतको सौन्दर्यता धित पुगुन्जेल लिन मिल्थ्यो। मनभरि गैरी खेतलाई राखें, गैरी खेतसँगै मुसीलाई राखें, ऊसँगका हरेर पल, हरेक क्षण राखें, बाल्यकाल राखें, मुसीलाई ओरालोमा धकेलेर लागेको त्यो चोटलाई राखें, जीवनका १९ वसन्तलाई यादमा परिणत गरेर राखें। जति हेर्यो त्यति हेर्न मन लाग्ने मेरो गैरी खेतलाई छोड्न मन नलागी नलागी छाडें। मनका कुनाहरुमा सबै यादहरू च्यापेर बाको पछाडि लागे। भनिन्छ नि जिन्दगीमा मान्छेले गुमाएको अमूल्य चिज गुमाएपछि त्यसको प्राप्तिमा आई पर्ने हरेक चुनौतीलाई सहजै झेल्न सक्छ, चाहे त्यो मृत्यु नै किन नहोस्। मलाई पनि कसरी मैले मेरी मुसीलाई मुसीको जवाफ फिर्ता गरेर जीवनका बाँकी वसन्तहरुलाई मुसीका साथ बितान सकु भन्ने सोच भएरै शहर पसेको थिएँ। शहरका कुनाहरुमा मैले मुसीलाई धेरै खोजे, गल्लीहरुमा उस्तै लाग्ने कति केटीहरुलाई त मैले कल्पना भन्दै कति पटक त बोलाएँ पनि तर ती सबै मेरी मुसी थिएन्। हरेक पार्क, गल्ली, बगैचाहरू तथा कलेज सबै धाएँ तर मैले मेरी मुसीलाई पाइन। म यस्तो भएको थिए नि काकाकुल जस्तै भौतारिएको थिए, बाघ जस्तै शिकार नपाएर भन्भनिएको थिएँ, मरुभूमि जस्तै पानीको प्यासी भएको थिएँ मेरी मुसीको लागि। कहीं कतै नभेटाए छि सबै आश मारेर स्नातक प्रथम वर्षमा भर्ना भएको थिएँ मन नलाई नलाई। एक दिन आमाको खुब आद आयो, नजिकैको आवामा गएर सम्पर्क गरे, प्रधान ठुला(बाको घरमा आवा थियो। आमा पनि त्यतै आउनु भएको रहेछ, आमासँग कुरा गर्न के थालेको थिए, आँखाहरुबाट अनायासै आँशुका डल्लाहरू बिस्तारै बिस्तारै ढल्किदै ढल्किदै खस्न थाले। आमाले झन् मुसीलाई भेटाइस् तरुू भनेपछि मन थाम्नै सकिन डाको छोडेरै रोइदिएँ, लाजै लागेन आमासँग रुनलाई, आमा सम्झाउदै हुनुहुन्थ्यो, नरो न अब के गर्ने त समय नै त्यस्तै भएर आयो त के गर्छस बा केही समयपछि आमा म २, ३ दिन पछि कुरा गर्छु नि हैू भनेर फोन राखिदिएँ। आमाको आस्वासनले म शहर आएर पनि मुसीको जवाफ फिर्ता गर्न पाइन। त्यसपछि आमालाई नै महान् ठाने त्यो जमानामा अन्तरजातिको कुरालाई सहजै स्वीकार्ने मेरी आमा मलाई महान् लाग्न थाल्नुभयो। त्यही अन्तरजातीयताको कुरालाई मेरा बाले पचाउन नसक्दा आज म यो गतिमा छु। निधो गरें, आमाको एउटै बचनलाई कार्यान्वयन गर्छु भनेर। पढेर सरकारी जागीर खाने । समयले मलाई बालापनबाट किशोर अवस्थामा ल्याएयो र किशोर अवस्था पार गरेको १५ वर्ष पछि युवा अवस्थाको पारिवारिक मुडमा ल्याएर जिम्मेवार बनाएको छ। समयसँगै मनलाई सान्त्वना दिदै यतिका वर्ष पार गरें। अहिले मसँग जागिर छ, साथमा प्रविधिसँगै हुर्किएकी मेरी जीवन साथी छ, तर मसँग एउटै कुरा छैन मेरी मुसी। जीवनका धेरै वसन्तमा आउने हर्ष उल्लासका पर्वहरुलाई मैले गाउमा रमाएर बिताएको थिइन। म शहरमा भए पनि मेरा यादहरू माया ममता गर्ने ती भीर पाखाहरु, भन्ञ्याङ चौतारी, उकाली ओराली अनि मेरो मुटुमा बस्ने मेरो गैरी खेत उतै थिए। दशै तिहार उतै मनाउने भनेर पारिवारिक सल्लाह भयो। द्धन्द्धकालले शिथिल बनाएको मेरो गाउँले शान्ति स्थापनापछि पहिलो पटक आफ्ना सन्तान पाएको थियो। गाउँका सबै घरका साथीभाइहरू गाउँ भित्रिसकेका थिए। म पनि मेरो परिवार लिएर गाउँ पुगिसकेको थिए। १५ वर्ष पछि आफ्नो जन्मभूमि देखेपछि मलाई स्वगै गए सरह भयो। मन उडेर पारि(पारि पाखामा लामा लहरा छोडेर पखेरामा बसेर मेरो गाउँलाई नियाल्ने मालुका लहरामासँगै पिङ खेल्न थाल्यो। कति जङ्गल भएछ मेरो स्वर्ग। त्यति रमाइलो ठाउँ कति उजाड र उदासिन देखिएको। अजम्बरी झाडले जताततै भरिएको। साइँला काका पनि फुलेर सेतै भएका, बिचरा काका आजभोलि त राम्रोसँग हिडडुल पनि गर्न नसक्ने भए छन्। काकीको निधनपछि विरामी पर्न लागेका हुन् रे। प्रधान ठुलाबालाई पनि द्धन्द्धरत पक्षले कता लगेर वेपत्ता बनाएछन्। सधैं सधैं हाम्रो खेत पाखामा काम गर्ने हर्के दाइको पनि ऊ जमानाको जस्तो मुडे बल बिलाएर गएछ। मेरो गैरी खेतलाई चुच्चे पिपल चौतारामा गएर नियालें। बिचरा मेरो गैरी खेत सहारा गुमाए छ सबैको। मेरा बाले रोप्न छाडेकै १० वर्ष भएको थियो। उजाड मरुभूमि जस्तै लाग्यो। गैरी खेतलाई हेरेर मन भक्कानियो। एक पटक त्यो बालापनको मेरो गैरी खेत सम्झिएँ। झन् बस्नै मन लागेन चुच्चे पिपल डाँडामा। दशैको दिन नजिकिदै थियो, गाउँमा पिङहाल्ने ठिटाहरुको रवाफ बढ्दो थियो। गाउँले पुरानै मुहार पाउदै थियो। जीवनका सबै पीडाहरुलाई बिर्सेर गाउँ फर्केका युवाहरुले रमाइलो गर्ने क्रम जारी थियो । सुनधारामा नुहाएर म घर तर्फ लाग्दै थिए। आँखा अगाडि शहरिया लाग्ने एक नवयुवती हातमा गाग्रो लिएर अगाडि देखा परी। सुरुमा त चिन्नै सकेन जब उसका आँखाहरुमा नयनले चहारे तब मैले मेरी मुसीलाई पाएँ। हातबाट सानो गाग्रो फुत्कियो। उसले उठाउन खोज्दै थिई, मैले नै पहिले हात पसारेँ। हे भगवान् यो कस्तो क्षणमा आएर मेरो मुसीलाई मसँग भेटायौ। शहरका त्यति धेरै गल्लीहरू चहार्दा पनि नभेटिएकी मेरी मुसी आज आएर यस्तो अवस्थामा भेटिंदै थिई। उसलाई देखेर म नाजवाफ भए केही बोल्ने होसै आएन। उसैले बोली पहिला, “के छ त हाकीम सापको खबर ?” मैले “ठिकै छ” मात्रैले टारेँ । फेरि बोली, कि उही पुरानै नामले बोलाउनुपर्ने हो र हर्यौ साप ? ऊ मुसुक्क मुस्कुराई। उसको यो जवाफले मलाई उही बालापनमै पुर्यायो। मैले पनि जवाफ फर्काएँ, “हो त क्यारे मुसी ।” ऊ त्यसै गरी ठुस्की मैले त्यसै गरी फकाएँ। मैले उसलाई चुच्चे पिपलको चौतारीमा भोलिपल्ट दिउसो बोलाएँ । मानौं कि नमानौं पुर्खाहरुले भनेको यो उखान “संसार गोलो छ कुनै न कुनै दिन फेरि भेट हुन्छ।“ म त्यो दिन त्यस्तै सोचिरहेको थिएँ। मुसीलाई देखेर पहिलेकाभन्दा कति राम्री भएकी मुसी। खाइलाग्दो ज्यान, लामो कपाललाई काटेर काँधसम्म आउने बनाएकी, आँखीभौ मिलाएकी, आँखामा मसिनो गाजल लगाएकी, हालमा सजाएर लगाएकी नङ पोलीस, भन्टा कलरको कुर्ता सुरुवालमा सजिएर चुच्चे पिपलमा मभन्दा अगाडि नै पुगेकी थिई ऊ। चुच्चे पिपलबाट तल खोलाका किनारमा रहेको हाम्रो गैरी खेतलाई नियाल्दै बस्यौं हामी। कुरा उसले नै सुरु गरी, ूहरि, हामीसँगै गैरी खेत पनि बुढो भएछ है। उसले भावुक हुँदै भनी, साँच्चिकै हरि, म यु।के।मा तिमी र यही गैरी खेतको मायाले बाँचेको थिएँ। हरेक दिन हरेक साँझ तिम्रो र गैरी खेतको फोटो टोलाएर हेरेपछि मात्रै मलाई निद्रा पर्थ्यो। जिन्दगीले हामीलाई यी उकाली आरालीबाट कता पुर्यायो पुर्यायो । तर मन भने यही गैरी खेत र यीनै उकाली र आरालीमा अल्झिरहेको छ । थाहा छ हरि, त्यो साँझ दाइले शहर जाने कुरा गरेपछि म तिम्रो गएको थिएँ। तिम्रो बुवाले हामी सँगै हिडेको चाल पाएर तिमीलाई घरमा छैन भनिदिनु भएको रहेछ। मैले त पछि दशैमा आएर मात्रै थाहा पाए नि। तर तिमी दशैमा पनि घर आएनौ। म पनि तिमी शहर गएको कुरा थाहा पाएपछि दशैंलगत्तै शहर गएँ। धेरैतिर तिमीलाई पाउने आशले भौतारिएँ तर पाइन। त्यसपछि बाबाले मलाई यु।के।मै बोलाउनु भयो। म उतै गएर पढें तर तिमी के गरिरहेका छौ सबै थाहा पाइराखेको हुन्थ्थे। तिमीलाई पाउने आशाले नै जीवन चलाएको थिएँ त्यहाँ। जब तिमीले बिहे गरेको कुरा सुनेँ, सबै आशाहरू एकै पटक ढले, कहिल्यै पनि नउठ्ने गरी। त्यसपछि त्यहाँ बस्नै सकिन, सधैं सधैं एक्लो महशुस भइरहन थाल्यो। त्यसपछि नेपाल फर्किएर काठमाडौँमा आमा र भाउजूसँगै बस्दै आएको छु। हरि जीवनमा तिमीलाई पाउने ठुलो आाशा राखेकी थिए तर त्यो सपना पुरा भएन। अब जीवनमा एउटै निर्णय लिएको छु, तिमीसँग बिताएका ती मीठा पलहरुलाई सँगालेर बस्ने। विवाह नगर्ने निर्णय गरेको छु। नेपाली जनताको स्वास्थ्य समस्याको समाधानमा रमाउने निर्णय गरेको छु, यति भन्दै ऊ आँखाका आँशुहरुलाई पन्छाउदै थिई। म ऊभन्दा पहिले नै रोइसकेको थिएँ। मलाई कसैको प्रवाह लागेन, मुसीलाई च्याप्प समातेर अगालो हालेँ, अगालोमा हामी धित मरुन्जेल रोयौं। एकछिनपछि उसका आँखाका आँशु पुछ्दै भनें, पीर नगर, अब हामी शारिरिक रुपले एक हुन नसके पनि मानसिक र हृदयले एक भएका छौ। घरको दबावमा आएर मैले बिहे गरें, अब उसलाई पनि छाड्न सक्दिन म। ऊ पनि एक तिमी जस्तै नारी हो, तिमी बुझ्छ्यौ नि मुसी यो कुरा। उसले बुझ्छु भन्ने कुरालाई टाउको हल्लाएर भनी। मैले थपें, थाहा छ मुसी त्यसको भोलिपल्ट म चुच्चे पिपल चौतारीमा तिमीलाई भेटेर तिमी र मेरो जीवनलाईसँगै अगाडि बढाउन सल्लाह गर्ने निर्णय गरेको थिएँ। तर त्यसो हुन दिएनन् हाम्रा अग्रज भनाउँदाहरुले । मुसी खुब रोई मलाई पनि रुवाई। उसले गैरी खेत जाऊँ भनेर हात तानेर उठाई। दुवै गैरी खेत गयौ, उही बालापनको हिलो, पानी घट्टको ढुङ्गामा बसेर सम्झियौं। त्यहाँ हामीले पाएनौ ती गोठालाहरु, पाएनौ कालिज र चाखुराहरू कराएको, पाएनौ मुरलीका ती सुरीला मन छुने भाकाहरू, पाएनौ गैरी खेत हरियो भएर हावाका झोकाहरुसँग लहराएको। गैरी खेत हाम्रो पहिलो मायाको उर्वरभूमि थियो, जसलाई हामीले जोगाएर सिँचाई गर्न सकेनौं । मझेरी डट कमबाट साभार तस्विर- स्कन्द गौतम
तामाकोसी–मिल्ती सडकमा फेरि कालोपत्रे
दोलखा, बैशाख २७ । तामाकोशी बजारदेखि मन्थली जोड्ने सडकखण्ड अन्तर्गत नयाँ पुलदेखि मिल्ती खोलासम्म फेरि कालोपत्रे गरिएको छ । गत कात्तिकमा गरिएको कालोपत्रे उप्किएपछि फेरि कालोपत्रे गरिएको डिभिजन सडक कार्यालयले जनाएको छ । तामाकोसीदेखि मिल्ती खोलासम्म १० किलोमिटर सडकमा कालोपेत्र गरिएको थियो । ठेकेदार कम्पनी ला निर्माण सेवाले कात्तिकमा कालोपत्रे गरेको भए पनि तापक्रम नमिलेर भरपर्दो नभएको सडक डिभिजन कार्यालयले जनाएको छ । त्यही कम्पनीलाई फेरि कालोपत्रे गर्न लगाएको हो । दोस्रोपटक कालोपत्रे गर्दा एक करोड लागेको ला निर्र्माण सेवाले जनाएको छ । ‘भूगोलअनुसारको प्रविधि नहुँदा काममा घाटा लाग्यो’, ला निर्माण सेवाका प्रमुख दावासांगे शेर्पाले भने । ठेक्का सम्झौता भएको भन्दा दोब्बर खर्च भएको उनको भनाइ छ । सडकमा डिभिएसटी प्रविधिको कालोपत्रे गरिएको हो । केही प्राविधिकहरूले यस किसिमको दोलोखाजस्तो भूगोलमा उपयुक्त नभएको बताएका छन् । सडक डिभिजन कार्यालयका प्रमुख धर्मेन्द्रकुमार झाले अहिले गरिएको डिभिएसटी प्रविधिको कालोपत्रे समयअनुकूल नै भएको र अब भरपर्दो हुने बताए । नयाँपत्रिकादैनिकबाट
फोहोरको डुँगुर बन्दै सगरमाथा, भेटिए मृत मानवदेखि फोहोरसम्म
काठमाडौं, वैशाख २० । संसारको सबैभन्दा सर्वोच्च शिखर फोहोर जम्मा हुने ‘कबाडखाना’ बनेको छ । दशकौंदेखि सगरमाथा आरोहणका क्रममा फ्याँकिने फोहोरका कारण सगरमाथामा निकै ठूलो मात्रामा फोहोर जम्मा भएको हो । बिभिन्न समयमा सगरमाथाको फोहोरको चर्चा भएपनि यसपटक भने स्वयम्सेवकहरुको एउटा टोलीले फोहोर संकलन शुरु गरेको छ । सिएनएनका अनुसार, पछिल्लो दुईहप्ताको अवधिमा तीन मेट्रिक टन (६ हजार ६ सय १३ किलो) फोहोर संकलन गरिएको छ । यो भनेको दुईवटा हिप्पोपोटामस (गैंडा जस्तै जनावर) बराबर भएको सिएनएनले जनाएको छ । सगरमाथा सफाई अभियान अन्तर्गत खाली बोतल, क्यान, प्लास्किट, आरोहणका अन्य सामानलगायतका कुरा संकलन गरिएका छन् । सेनाको हेरिलकोप्टरले माथिल्लो उचाईमा समेत फोहोर संकलन गर्न सघाउ पुर्याएको छ । समाचारमा जनाई अनुसार, फोहोर संकलनका क्रममा चारवटा मानव लास समेत भेटिएका छन् । यी मानव शरीर ८ हजार ८ सय मीटरको उचाईमा रहेको समाचारमा उल्लेख छ । सन् २०११ देखि यता सगरमाथाको सफाईका लागि निरन्तर अभियान सञ्चालन हुँदै आएको छ ।
उत्साहका साथ सकियो लगानी सम्मेलन
काठमाण्डौं, चैत १७ । आर्थिक समृद्धिको मार्ग चित्र पहिल्याउने लक्ष्यका साथ सरकारले आयोजना गरेको लगानी सम्मेलन उत्साहपूर्णरुपमा सम्पन्न भएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ सङ्कल्प पूरा गर्ने र त्यसका लागि स्वदेशी तथा विदेशी लगानीकर्ता समेत भित्र्याएर एकाध वर्षभित्रै आर्थिक उन्नतिको मार्गमा अगाडि बढ्ने लक्ष्य हासिल गर्न सम्मेलन फलदायी हुन पुगेको छ । सरकारले सम्मेलनका लागि ५० र निजी क्षेत्रका २५ गरी कूल ७७ परियोजनालाई शो केशमा राखेको थियो । सम्मेलनकै क्रममा विभिन्न १५ आयोजनाको समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस्तै १७ वटा परियोजनामा आवेदन परेको छ । त्यसमा यातायात पूर्वाधारतर्फ सात, ऊर्जातर्फ चार, कृषिका तीन, शिक्षा तथा स्वास्थ्यका दुई र ढुवानी पूर्वाधारका एक परियोजनामा लगानीका लागि लगानीकर्ताले इच्छा व्यक्त गरेका छन् । सम्मेलनमा ४० देशका ७३५ प्रतिनिधि सहभागी भएका थिए । यस्तै ३०० विदेशी कम्पनी, ६०० नेपाली सहभागी भएका थिए भने १०० वटा स्वदेशी कम्पनीले सहभागिता जनाएर सम्मेलनलाई एउटा उत्सवका रुपमा सम्पन्न गरेका छन् । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरे । उनले उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपालमा आउने लगानी र प्रतिफलको सुरक्षामा सरकार कटिबद्ध रहेको, कानूनी तथा नीतिगत सुधार गरिएको र खुला हृदयले लगानीकर्तालाई स्वागत गर्न तयार रहेको भन्दै विदेशी तथा स्वदेशी लगानीकर्ताको मन जित्ने प्रयास गरेका थिए । नेपाल लगानीका लागि ‘भर्जिन ल्याण्ड’ भन्दै सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिले लगानीका अवसरको सविस्तार वर्णन गरेका थिए । समापन समारोहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हरेक क्षेत्रमा लगानी जरुरी रहेको र त्यसका लागि सरकारले उपयुक्त वातावरण बनाएको बताउँदै ढुक्क भएर लगानी गर्न आग्रह गरेका थिए। राजनीतिक विषयमा फरकफरक अडान राख्दै आएका राजनीतिक दल, उद्योगी व्यवसायी तथा जानकारले एकै स्वरमा भनेका थिए– नेपालमा लगानी गर्न आउनुस्, हामी उच्च प्रतिफल हुने वातावरण बनाउँछौँ । नेपाली काङ्ग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा रामशरण महतले उदार अर्थतन्त्रको शुरुआतीसँगै नेपालको निजी क्षेत्रले गरेको प्रगतिको फेहरिस्त मात्रै प्रस्तुत गर्नुभएन, नाफा कमाउन र लगानीको सुरक्षाका लागिसमेत नेपाल आउन आग्रह गर्नुभयो । कोही सत्तापक्ष थिएन, कोही प्रतिपक्ष पनि भएन, सबै नेपाली भएर एकै स्वरमा संसारभरबाट नेपालमा आएका लगानीकर्तालाई सम्बोधन गर्दै भनेका थिए–विकसित देशमा समेत सानातिना समस्या रहन्छ, त्यस्ता समस्यासमेत नेपालमा छैन । भौतिक पूर्वाधार, ऊर्जा, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा ठूलोमात्रामा लगानी जरुरी रहेको भन्दै लगानी बोर्डले आयोजनाको विशेषतासहितको प्रस्तुतिसमेत गरेको थियो । निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसङ्घका प्रतिनिधिले सरकारको भनाइमा नै होस्टेमा हैसै गर्दै खुला हृदयका साथ लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह गरेका थिए । लामो राजनीतिक सङ्क्रमणपछि स्थायित्व प्राप्त गरेको नेपालले सहज लगानीका लागि पछिल्लोपटक कानूनमा गरेको सुधार, एकल सेवा केन्द्रमार्फत सेवा दिने प्रणालीको स्थापना, संस्थागत र संरचनागत सुधारले पनि लगानीमैत्री बनेको सन्देश सम्मेलनले दिएको छ । सम्मेलनमा भएका समझदारी शुरुआत मात्रै भएको भन्दै अर्थमन्त्री डा युवराज खतिवडाले केही समयभित्रै सकारात्मक प्रभाव देखिने बताए । नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको सन्देश दिएर नेपालले विश्व रङ्गमञ्चमा बेग्लै पहिचानको सञ्चारसमेत गरेको छ । सम्मेलनमा सहभागीलाई सरकारले प्रदान गरेको न्यानो आथित्वताले पनि उनीहरुलाई आकर्षित गरेको थियो । सर्वोच्च शिखर सगरमाथा र भगवान् गौतम बुद्धको जन्मस्थल नेपाल समृद्धिको यात्रामा रहेको र विश्वका लगानीकर्ताका लागि सुगमस्थल रहेको सन्देशसमेत सम्मेलनले दिएको छ । सम्मेलनकै क्रममा निर्माणमा गइसकेको अरुण तेस्रोमा वित्तीय व्यवस्थापन भएको छ । यस्तै लामो समयदेखि निर्माणमा जान इच्छुक रहेको माथिल्लो त्रिशूलीमा समेत लगानी जुट्ने सुनिश्चितता भएको छ । गैरआवासीय नेपालीसमेत मातृभूमिको विकासका लागि संस्थागतरुपमा लगानी जुटाउन प्रतिबद्ध देखिएका छन् । नेपालमा लामो समयदेखि लगानी गर्दै आएका एशियाली विकास बैंक, विश्व बैंकजस्ता संस्थाले थप लगानी गर्ने प्रतिबद्धता जनाएर सरकारको प्रयासमा सार्थक सहयोग गर्ने वचन दिएका छन् । यसले नेपालको छविसमेत उच्च बनाउन बल पुगेको छ । नेकपा नेतृत्वको वर्तमान सरकारले राजनीतिक विषयलाई भन्दा आर्थिक विकास र समृद्धिलाई केन्द्रमा राखेको, सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबैजसो दलको एउटै प्रतिबद्धता रहेको सन्दर्भमा सम्मेलनले नेपालको हित पहिल्याउने दिशामा सार्थक प्रयास गरेको छ । जस्तोसुकै ढाँचाबाट भए पनि नेपालमा लगानी गर्न आग्रह गर्ने नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्मा, नेपाल लगानीका लागि स्वर्ग जस्तै रहेको बताउने नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणादेखि छलफल शत्रमा सहभागी विज्ञलेसमेत लगानीकर्तालाई विश्वासमा लिन कुनै कसर बाँकी राखेका थिएनन् । सम्मेलनले नेपाल सुगम गन्तव्य हो, चीन र भारतजस्ता उदयमान अर्थतन्त्रको बीचमा रहनुको फाइदा सहजै लिन सक्छ भन्ने स्पष्ट र सोझो सन्देशसमेत प्रवाह गर्न सफल भएको छ । सम्मेलनका क्रममा प्रस्तुत गरिएको हुड्के, तामाङ सेलो, साकेलाले पनि नेपालको विधितालाई झल्काउने प्रयास गरेको थियो । रासस
नेपाल मेडिकल कलेजसहित विभिन्न संस्थाद्वारा कर्मचारी माग (सूचनासहित)
काठमाडौं, चैत १४ । नेपाल मेडिकल कलेजले विभिन्न पदमा कर्मचारी माग गरेको छ । उसले ६ महिनाको करार सेवामा रहने गरी दरखास्त आह्वान गर्दै कर्मचारी माग गरेको हो । यस्तै विभिन्न स्कूल, सहकारी लगायतमा पनि कर्मचारी माग गरिएको छ । हेर्नुस्, आजको कान्तिपुर दैनिकमा प्रकाशित रोजगारीसम्बन्धी सूचना–
इण्डोनेसियामा बाढी, कम्तिमा पनि ७३ जनाको मृत्यु
काठमाडौँ, चैत ४। इन्डोनेशियाको पूर्वी प्रान्त पपुआमा बाढीले ठूलो धनजनको क्षति भएको छ। अहिलेसम्म प्राप्त विवरणका अनुसार बाढीमा परेर कम्तीमा ७३ जनाको ज्यान गएको छ भने ६० भन्दा बढी मानिसहरू हराएका छन्। उद्धारकर्मीहरूले पपुआको दुर्गम क्षेत्रमा पुग्न सङ्घर्ष गर्नुपरेको छ। हताहत हुनेको सङ्ख्या बढ्न सक्ने बताइएको छ। बाढीपछि पहिरो गएको छ र रूखहरू ढलेका छन्। त्यसले गर्दा बाटो अवरुद्ध भएको छ। बाढीले दुईवटा पुल र सयभन्दा बढी घरहरूमा क्षति पुर्याइदिएको छ। कम्तीमा चार हजार मानिसहरू घर छोडेर अन्यत्र गएका छन्। तिनमध्ये केहीले सरकारी कार्यालयहरूमा आश्रय लिएका छन्। स्थानीय बासिन्दाहरूका अनुसार शनिवार साँझदेखि ठूलो वर्षा हुन थाल्यो र रातभरि पानी परिराख्यो। त्यसपछि कारण बाढी र पहिरोहरू गए। “हाम्रो घरमा बाक्लो लेदो भएको बाढी आयो… हामीले हतारहतार आफ्ना बहुमूल्य सामग्री बटुल्यौँ र छिमेकीको [दुईतले] घरमा शरण लिन गयौँ,” दुई बच्चाकी आमा लिली पुजी हास्टुटीले समाचारसंस्था एएफपीलाई बताइन्। “यो ठाउँबाट बाहिर निस्किन गाह्रो छ किनभने बाटाहरू थुनिएका छन्…। म चिन्तित, दु:खी र त्रसित छु।” बाढीले नराम्ररी प्रभावित भएको स्थानमध्ये सेन्तानी नगर पनि हो। त्यहाँ पीडितहरूको खोजी भइराखेको छ। सेन्तानीमा कम्तीमा ५१ जनाको मृत्यु भएको राष्ट्रिय विपद् निकायका प्रवक्ता सुतोपो पुर्वो नुग्रोहोले समाचारसंस्था रोएटर्सलाई बताएका छन्। नजिकै रहेको प्रान्तीय राजधानी जयपुरामा अरू सात जनाको मृत्यु भएको पुष्टि भएको छ। त्यहाँ सेनाले एउटा पाँचमहिने शिशुको सकुशल उद्धार गरिएको जनाएको छ। ती शिशु घण्टौँसम्म बाढीबाट प्रभावित स्थानमा फसेका थिए। उनलाई परिवारलाई जिम्मा लगाइएको छ। उनका बुवा जीवित छन्, तर आमाको भने अत्तोपत्तो छैन। चेतावनी इन्डोनेशियामा अक्टोबरदेखि एप्रिल महिनासम्म वर्षा याम हुन्छ। यस बेला बाढी आउनु सामान्य नै मानिन्छ। उता जेनुअरीमा सुलावेसी द्वीपमा बाढीले कम्तीमा ७० जनाको ज्यान लियो। मार्च महिनाको पूर्वार्धमा ठूलो पानी पर्दा पश्चिम जाभामा सयौँ जना विस्थापित भएका थिए। आपत्कालीन निकायमा रहेका अधिकारीहरूका अनुसार जयपुरावरिपरि रहेका पर्वतीय क्षेत्रमा भएको वनविनाशका कारण पपुआमा बाढीको खतरा रहेकोबारे त्यहाँको सम्बन्धित निकायलाई सतर्क गराइएको थियो। इन्डोनेशियाको पपुआ प्रान्तको सीमा स्वतन्त्र राष्ट्र पपुआ न्यू गिनीसँग जोडिएको छ।
हङकङमा एभेरेष्ट इन्टरनेशनल फिल्म अवार्ड’ हुने
काठमाडौं, माघ २४ । एभरेष्ट इन्टरटेनमेन्ट प्रा.लिको आयोजनामा ‘एभेरेष्ट इन्टरनेशनल फिल्म एवार्ड २०१९’ हुने भएको छ । उक्त अवार्ड आगामी जुनमा हुने आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ । अवार्डमा २० विधामा पपुलर अवार्ड प्रदान गरिने भएको छ। सन् २०१८ मा प्रदर्शन भएका नेपाली चलचित्र एवार्डमा सहभागी हुन पाउने छन् । त्यसमध्ये तीन विधामा आदिवासी चलचित्रलाई हवार्ड दिइने छ । एक चलचित्रकर्मीलाई लाइफ टाइम एचिभमेन्टद्वारा सम्मान पनि गरिने छ । हङकङको वानचाई स्थित ‘क्विन एलिजावेथ स्टेडियम हल’ मा हुने एवार्डका लागी नेपालवाट ८० जनाको टिम जाने तयारी छ । एभरेष्ट फिल्म एकेडेमीका चेयरम्यान सुनिल थापाले भने, ‘यो एवार्डले नेपाली चलचित्रलाई विदेशमा समेत प्रचार–प्रसार गर्ने अपेक्षा राखेका छौं ।’ उनले आगामी मार्चमा नोमिनेशन सार्वजनिक कार्यक्रममा अवार्ड हुने मिति पनि सार्वजनिक गरिने बताए । एभरेष्ट इन्टरटेनमेन्टले हङकङको सम्पूर्ण व्यवस्था हेर्नेछ भने नेपालमा संगीक्षा फिल्म्स प्रालिको तर्फबाट अध्यक्ष मनोज केसीले एवार्ड कार्यक्रम संयोजन गर्नेछन्। कार्यक्रमको सम्पुर्ण खर्च आयोजकले व्योहोर्ने समेत बताइएको छ ।
युएईको अलऐनमा रमाईलो ल्होसार साँझ कार्यक्रमको आयोजना
युएई,माघ ७। नेपालीका लागि नेपाली भन्ने मुल नाराका साथ स्थापना भएको एनआरएनए युएई, क्षेत्रीय समन्वय परिषद अलऐनले नेपालीहरूको बहु सॉस्कृतिक धरोहरलाई जीवन्त राख्ने सोचलाई अघि बढाउदै विभिन्न पर्वहरुको अवशरमा कार्यक्रमहरु सन्चालन गर्दै आईरहेको छ । सोही क्रमलाई निरन्तरता दिदै अलऐनले ल्होसारको अवशर पारी रमाईलो ल्होसार साँझ – २०७५ मनाउने भएको छ । फेब्रुवरी ८ तारिखका दिन उक्त कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा युएईमै रोजगारी गर्दै आईरहेका कलाकारहरुको बिशेष प्रस्तुती समेत रहनेछ। अलऐनको टप ५ रेस्टुरेन्टमा सम्पन्न हुने कार्यक्रममा गायक पारस लामाको साथमा गायिका सानू स्मिथ,सुरेन्द्र लामा,प्रशान्त ताजपुरिया र जनक रुचालको प्रस्तुती रहनेछ साथै नेपाली बाल मन्चका कलाकारहरुको बेजाेड प्रस्तुती रहने एनआरएनए युएई, क्षेत्रीय समन्वय परिषद अलऐनका सॉस्कृतिक तथा खेलकुद संयाेजक उज्वल दाहालले बताएका छन ।
भूकम्पपीडितको पूर्ण क्षतिको सूचीमा परेकाले पैसा फिर्ता गर्दै
पर्वत, पुस २७ । पर्वतको फलेवास नगरपालिका–३ का द्रोणराज भुसालको घर भूकम्पमा पूर्ण क्षतिको सूचीमा छ । पूर्ण क्षतिमा भए पनि उहाँले क्षतिग्रस्त घर भत्काउनुभन्दा पहिलो किस्तामा बुझेको अनुदान फिर्ता गर्न उचित ठाने । ‘घर नबनाई पहिलो किस्ताको अनुदान फिर्ता गरें’, भुसालले भने, ‘दुई कोठाको घर बनाउनुभन्दा फिर्ता गर्न उचित देखें ।’ भुसालमात्र होइन, कुश्मा नगरपालिका–९ का हरिचन्द्र पौडेलले पनि अनुदानको पहिलो किस्ता फिर्ता गरे । मर्मत गरेर बस्न मिल्ने घर भत्काउनुभन्दा पूर्ण क्षतिमा परेका परिवारले अनुदान नै फिर्ता गर्ने क्रम बढेको छ । पर्वतमा पूर्ण क्षतिमा परेको सङ्ख्या पाँच हजार २६९ छ । उनीहरुमध्ये पूर्ण क्षतिमा परेका ७ जनाले घर नबनाई अनुदान फिर्ता गरेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइको तथ्यांकअनुसार हालसम्म जम्मा ७०ले मात्रै घर सम्पन्न गरेर अनुदान बुझेका छन् । घर निर्माणको अनुदान पाउने लाभग्राहीमध्ये पहिलो किस्ता रकम सम्झौता गर्नेको सङ्ख्या चार हजार ८४६ छ । जसमध्ये एक हजार ६०६ ले मात्रै दोस्रो किस्ताको रकम लिएका छन् । अधिकांश घर केही चर्के पनि बस्न मिल्ने भएकाले घर बनाउनेतर्फ बढी चासो दिएका छैनन् । अर्कोतर्फ घर निर्माणमा दक्ष जनशक्तिको अभाव, गाउँमा प्राविधिक नपुग्नु र किस्ता लिन झन्झट भएका कारण पुनःनिर्माण अपेक्षित गतिमा नभएको पाइएको छ । ‘घर बनाउनेभन्दा पहिलो किस्ता बुझेर त्यसै बस्ने धेरै भए’, जिल्ला अनुदान व्यवस्थापन एकाइका प्रमुख जगदीश शर्माले भने, ‘अनुदान फिर्ता गर्न सञ्चारमाध्यम र सबै निकायलाई प्रयोग गरेर ताकेता गरेका छौं ।’ सानोतिनो राहतमा खाद्यान्न, आश्वासन र प्राविधिकको सल्लाह सुन्दासुन्दै हैरान परेका बिहादी–३ रानीपानीकी गङ्गा पराजुली आफैंले घर निर्माण सके । तर, प्राविधिक स्टिमेट नमिलेको भन्दै पाउनुपर्ने अनुदान रकम अझै पाउनुभएको छैन । फलेवास–३ का टीकाराम तिवारीले पनि भत्किएको घर बनाएर सकेको दुई वर्ष पुग्यो । तर, अहिलेसम्म सबै किस्ता रकम पाउनै सकेका छैनन् । ‘मैले घर सक्दा रु १० लाखभन्दा बढी खर्च भयो”, फलेवासका टीकारामले भने, ‘प्राविधिकले यो पुगेन र त्यो पुगेन भन्दै पुरै घर भत्काउने भन्छ । अब घर भत्काउनुभन्दा राहतै नलिन बेस भएन ?’ २०७४ कात्तिकमा शुरु गरेको रानीपानीकी विष्णु श्रेष्ठको घरको जग, पिल्लर र बिम बाँधेर छोडेपछि अहिलेसम्म काम अघि बढ्न सकेको छैन । मर्मत गरी बस्न सक्ने ४१७ परिवारले प्रवलीकरण लाभग्राहीका रुपमा रकम बुझिसकेको शर्माले बताए । कार्यालयले ११३ सँग प्रवलीकरण अनुदान सम्झौता गरिएकामा भने सबैले प्रवलीकरण किस्ता लिएका छन् । पर्वतका पीडितमध्ये लाभग्राहीको सूचीमा नपरेका दुई हजार ८७४ ले गुनासो फाराम भरेका छन् । गुनासो फाराम भर्नेमा सबैभन्दा धेरै बिहादी गाउँपालिकाका रहेका छन् । बिहादीका ७६५ परिवारले गुनासो फाराम भरेका एकाइ कार्यालयले जनाएको छ । फलेवास नगरपालिकाका ६६७ ले गुनासो फाराम भरेका छन् । घुम्ती शिविरबाट झण्डै दुई सय लाभान्वित जिल्ला प्रशासन कार्यालय पर्वतले सञ्चालन गरेको घुम्ती शिविरबाट यहाँको एक विकट गाउँका दुई सयभन्दा बढी लाभान्वित भएका छन् । जिल्लाको मोदी गाउँपालिका–७ राम्जादेउरालीमा बिहीबार सञ्चालन गरिएको शिविरबाट सदरमुकामसम्म आउन नसक्ने वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति तथा असहाय परिवारका २०० जना लाभान्वित भएका छन् । शिविरमा ७७ लाई नागरिकताको प्रमाणपत्र र ५४ को फोटोसहितको मतदाता नामवली सङ्कलन गरिएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो । जसमध्ये ३२ लाई प्रतिलिपि र ४५ जनालाई नयाँ नागरिकता प्रदान गरिएको हो । रासस
इन्धनको मूल्य १० रुपैयाँ घट्यो
काठमाडौं, पुष २६ । हवाई इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमको ४९औं वार्षिकोत्सव समारोहमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले मूल्य घटाउने सहमति भएको जानकारी दिए । निगमले बिहीबार राति बाह्र बजेदेखि लागू हुनेगरी हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ घटाएको निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए । साविकको बिक्री मूल्य १०४रुपैयाँ ५० पैसा प्रतिलिटरमा १० रुपैयाँ घटाएर ९४ रुपैयाँ ५० पैसा कायम गरिएको उनले बताए । हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिकतर्फको हवाई भाडा पनि केही कम हुने मन्त्री यादवले जानकारी दिए । पछिल्ला केही पटक डिजल,पेट्रोल, मट्टीतेललगायतको भाउ घटे पनि हवाई इन्धनको मूल्य घटेको थिएन ।
लोकसेवा पास गर्ने मात्र हैन, चरा पनि सबैभन्दा धेरै गुल्मीमा
गुल्मी, पुस १७ गते । लोकसेवा आयोगका बिभिन्न परीक्षामा धेरै परीक्षार्थी उत्तिर्ण हुने जिल्लाका रुपमा चिनिएको गुल्मीका बारेमा अको तथ्य पनि सार्वजनिक भएको छ । नेपालमा पाइने ८८६ प्रजातिका चरामध्ये गुल्मीमा मात्र २३ प्रतिशत विभिन्न प्रजातिका चरा भेटिएका छन् । गुल्मीको धार्मिक, ऐतिहासिक एवं पर्यटकीय क्षेत्र रेसुङ्गा जङ्गल र जिल्लाको अग्लो ठाउँमा रहेको मदाने जङ्गल क्षेत्रमा उक्त प्रजातिका चरा फेला परेको नेपाल पक्षी संरक्षण सङ्घ गुल्मीले जनाएको छ । रेसुङ्गा र मदाने वन क्षेत्रमा जैविक विविधता संरक्षणअन्तर्गत चरा सर्भेक्षणसम्बन्धी जानकारी आदानप्रदान कार्यक्रममा रेसुङ्गामा वन क्षेत्रमा, २०० आठ र मदाने क्षेत्रमा २०७ प्रजातिका चरा फेला परेको नेपाल पक्षी संरक्षण सङ्घ गुल्मीका सहायक परियोजना अधिकृत भरत पन्थीले बताउनुभयो विश्वमै दुर्लभ प्रजातिको रुपमा रहेका चरामध्ये रेसुङ्गामा गोमा, युमहा चिल, सुन गिद्ध, सेतो गिद्ध र डङ्गर गिद्धगरी चार प्रजाति र मदाने वन क्षेत्रमा लोभीपापी गरुड, गोमायु महाचिल, सुन गिद्ध, सेतो गिद्ध र कालीज प्रजातिको चील नामक पाँच प्रजातिका चरा रहेको बताइएको छ । नेपालमा मात्र पाइने काँडेभ्याकुर रेसुङ्गा र मदाने दुबै वन क्षेत्रमा पाइने भन्दै अति सङ्कटापूर्ण अवस्थामा रहेका चराको वासस्थानलाई जोगाइराख्नका लागि त्यस क्षेत्रको वन र जलाधार संरक्षणमा स्थानीय निकायको भूमिका थप महत्वपूर्ण रहने कार्यक्रमका सहभागीले बताएका थिए । नेपाल पक्षी संरक्षण सङ्घ, जीविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रम गुल्मीले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सहभागीले गुल्मीमा चराको सङ्ख्यामा अझै वृद्धि हुनसक्ने भन्दै त्यसका लागि सर्वप्रथम जैविक विविधताको संरक्षणमा सबै लाग्नु पर्नेमा जोड दिनुभएको थियो । जैविक विविधताको संरक्षणसँगै गुल्मीमा चरालाई पर्यटकीय क्षेत्रसँग जोडेरसँगै लैजान सकिनेमा सहभागीको सुझाव थियो । चरा संरक्षणका लागि गुल्मीमा मुख्य चुनौती र समस्याको रुपमा वासस्थान विनाश, वासस्थान परिवर्तन, विद्युतीय तार, खानेपानीको अभाव, वन डढेलो, अवैध शिकारजस्ता कारण रहेको भन्दै त्यसलाई रोक्नका लागि स्थानीय निकायसँग सहकार्य गर्दै जनचेतना अभिवृद्धि गर्नुपर्ने बताइएको थियो । सन् २०१५ देखि गुल्मीको रेसुङ्गा, वलिथुम, पराल्मी र जुभुङमा सम्भावित महत्वपूर्ण चरा तथा जैविक विविधता क्षेत्रमा काम गर्दै आइरहेको उक्त संस्थाले डिभिजन वन कार्यालय गुल्मीसँग सहकार्य गर्दै चरा र जैविक विविधता संरक्षण क्षेत्रमा काम गर्दै आइरहेको छ ।
प्रधानमन्त्रीले मन्त्री रविन्द्र अधिकारीकाे राजीनामा माग्न सक्ने !
काठमाडौं, नेपाल वायुसेवा निगमको जहाज खरिदमा इतिहासकै ठूलो भ्रष्टाचार भएको ठहर भएपछि मन्त्री अधिकारी सबैभन्दा बढी चर्चामा छन् । जहाज खरिदको शुरु निर्णय प्रक्रियामा मन्त्री अधिकारी नभएपनि विमानको दुईवटा भुक्तानी उनकै कार्यकालमा दिइएको थियो । महालेखाले बेरुजु भएको भन्दै स्पष्ट किटान गरेपनि भुक्तानी दिएकोमा उनी पनि सजायको भागिदार बन्ने समितिले स्पष्ट पारेको छ । यसका साथै उनले समितिलाई समेत गलत बयान दिएको आरोप छ । मन्त्री अधिकारी भने आफ्नो कुनै संलग्नता नभएको दावी गरिरहेका छन् । यो स्थितिमा आफू चोखो हो भने नैतिकताको आधारमा राजिनामा दिनुपर्ने मत समेत कतिपयले व्यक्त गरेका छन् । नेकपाभित्र मन्त्री अधिकारीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने मत बलियो देखिन्छ । उच्च श्रोतका अनुसार, मन्त्रीका निकटहरुले समेत यो विषय संसदीय समितिले नै उठान गरेको र मन्त्रीको नाम किटान नै गरेको अवस्थामा उनले पदमा बस्नुको साटो नैतिकताका आधारमा राजीनामा दिएर थप छानबीनका लागि बाटो खुलस्त पार्नुपर्ने बताएका छन् । प्रधानमन्त्रीले राजीनामा माग्न सक्ने । मन्त्री अधिकारीले राजीनामा नदिएको अवस्थामा चर्को हुँदै गएको आलोचना फेस गर्न पनि प्रधानमन्त्रीले अधिकारीसँग राजीनामा माग्छ सक्छन । प्रधानमन्त्री ओलीकै कार्यकालमा यसअघि कानुन मन्त्रीले भाषण गरेको विषयमा आलोचना भएपछि राजीनामा दिएको नजिर कायम छ । यस्तो अवस्थामा मन्त्री अधिकारीलाई पदमुक्त गर्नुपर्ने दबाब प्रधानमन्त्रीमाथि झन थपिएको छ । उच्च श्रोतका अनुसार, प्रधानमन्त्रीले अधिकारीसँग यसविषयमा छलफल गर्ने र राजीनामा माग्ने बताइन्छ । प्रधानमन्त्रीले राजीनामा मागेको अवस्थामा मन्त्रीका अगाडि पद छोडनु बाहेक अन्य विकल्प हुँदैन । मन्त्री अधिकारीले अहिलेसम्म औपचारिकरुपमा केही प्रतिक्रिया दिएका छैनन । उपयुक्त समय आएपछि संगठितरुपमा जवाफ दिने उनको प्रारम्भिक प्रतिक्रिया छ । तर श्रोतका अनुसार, मन्त्री अधिकारी राजीनामा दिने या फेस गर्ने भन्ने विषयमा छलफलमा जुटेका छन् । मन्त्रीले राजीनामा दिँदा आरोपको पुष्टि हुने भएकाले हस्ताक्षर गरेपनि भ्रष्टाचारमा नै संलग्न नभएको उनका कतिपय समर्थकले बताइरहेका छन भने अर्कोतर्फ समितिले बिना आधार मन्त्रीको नाम उल्लेख गर्न नसक्ने बताउँदै राजीनामा दिनुपर्ने मत समेत बाक्लो देखिन्छ । यता सामाजिक सञ्जालमा भने मन्त्री अधिकारीलाई पदमुक्त गर्नुपर्ने आवाज चौतर्फी उठेको छ । कतिपयले मन्त्री अधिकारीको तस्वीर नै राखेर मन्त्रीलाई कार्वाही गर्न प्रधानमन्त्रीसमक्ष माग समेत गरेका छन् । सम्भवतः राजीनामा नै दिएपनि मन्त्री अधिकारीले सार्वजनिक विज्ञप्ती या पत्रकार सम्मेलन गरेर दिन सक्ने सम्भावना पनि नभएको होइन । यद्यपी उनले यस विषयमा प्रधानमन्त्री र पार्टीका शीर्ष नेताहरुसँग छलफल गरेर निधो गर्ने श्रोतले बतायो ।
यौन सम्पर्क गर्दा पीडा हुन्छ ? कारण यस्ता छन्
काठमाडौं । केही यौन जोडीले यौन क्रीडा गर्दा पीडा हुने गुनासो गर्ने गर्छन् । यसको मुख्य कारण यौन जोडी बीचमा यौन शिक्षाको अभाव तथा कमी हुनसक्छ । यौन शिक्षाको ज्ञान भए स्वस्थ जोडीबीच यौन सम्पर्क गर्दा पीडा हुने सम्भावना भने कमै हुन्छ । उमेर नमिल्दा पीडा यौन सम्पर्क गर्ने जोडीको उमेर मिल्दो हुनु पर्छ । ३०÷३५ वर्षको उमेरमै यौन सम्पर्क गर्दा पीडा हुन्छ भने उमेर नमिलेको पनि हुन सक्छ । उमेरको बढी फरक भएका यौन जोडीबीचमा यौन क्रीडा, सम्पर्क तथा सम्बन्धमा गाँसिदा यौन अनुभव र अभ्यास फरक हुन्छ । भावना नमिल्न सक्छ । जसका कारण यौन सम्पर्क गर्दा पीडा हुनसक्छ । उमेरको धेरै अन्तर हुँदा यौन जोडीमध्ये एक अनुभवी तथा यौनक्रीडा गर्न जान्ने हुन्छ भने अर्को कम अुनभवी तथा अनभिज्ञ हुन सक्छ । यौन जोडी बीचको उमेरको बढी अन्तरका कारणले यौन क्रीडा तथा यौन सम्पर्क गर्दा एक आपसमा असन्तुष्टि पैदा हुन्छ । एकलाई पीडाको भाव र अर्कोलाई सोचेअनुरुप यौन इच्छा पूरा नहुँदा असन्तुष्टि पैदा हुन्छ । यौन जोडी बीचको उमेर अन्तरका कारणले वैकल्पिक जोडीसँग (अरुसँग) आकर्षण भई सहवास हुने सम्भावना बढी हुन्छ । त्यस कारणले यौन जोडीबीच एकअर्काको भावना बुझेर यौन सम्पर्क गर्न जरुरी हुन्छ । एक आपसका भावना अन्तरमनमा राख्नु आवश्यक हुन्छ । वैकल्पिक जोडीले पीडा वैकल्पिक यौन जोडी छ भने पनि स्थायी यौन जोडीसँग यौन सम्पर्क गर्न रुचाइँदैन । स्थायी जोडीसँग यौन सम्पर्क गर्न मन नलाग्न सक्छ । यौन सम्पर्क गर्दा पनि पीडा हुन्छ । व्यक्तिको स्वभाव र व्यवहार बडो परिवर्तनशील हुन्छ । स्वभाव र व्यवहार परिवर्तनशील हुने भएकाले एक व्यक्तिसँग मात्रै यौन सम्पर्क गर्न मन नलाग्न सक्छ । जुन व्यक्तिको नैसर्गिक स्वभाव पनि हो । धार्मिक प्रशिक्षण, सामाजिक तथा राजनीतिक बन्देजले भने यौन र यौन क्रीडालाई साँघु¥याएको छ । जति नै साँघुरो बनाए पनि सक्षम खेलाडीले वैकल्पिक यौन जोडीसँग यौन सम्पर्क राख्न सक्छन् । यौनलाई नाटकको पात्रको रुपमा नाटकीय रुपमा खेलेकै हुन्छन् । सकेसम्म परस्त्री वा परपुरुषसँग यौन सम्पर्क र सम्बन्ध नराख्नु नै उचित हुन्छ । परस्त्री वा परपुरुषसँग यौन सम्पर्क राख्दा सम्बन्ध विच्छेद हुने जोखिम हुन्छ । यौन सोच, अभ्यास, क्रियाकलाप र व्यक्ति अनुसार फरक—फरक हुन्छ । त्यसैले यौन बानी व्यवहारलाई गृहस्थ जीवनसँग जोडेर नकारात्म रुपमा लिनु हुँदैन । गृहस्थ जीवन पवित्र जीवन हो । यौनको विषयलाई लिएर पारिवारिक विच्छेदन पनि हुने भएकाले जोडीले बुद्धिमतापूर्वक व्यवस्थापन गर्नुपर्छ । यौन चाहना हुँदा र सम्पर्कमा सरिक भएपछि महिलामा यौन रसादी निस्किन्छ । यौन चाहना भएपछि ९९ प्रतिशत भन्दा बढी महिलामा योनिबाट रसादी निस्किन्छ । त्यसैले महिलाको योनिबाट रसादी निस्किएको छ भने यौन चाहना भएको मान्न सकिन्छ । योनिबाट रसादी निस्कँदा पनि यौन सम्पर्कको समयमा पीडा हुन्छ भने शारीरिक तथा मानसिक समस्या भएको हुन सक्छ । यौन चाहना हुँदैमा यौनाङ्गबाट रसादी निस्कन्छ भन्ने पनि हुँदैन । यौन रसादी ननिस्किए पनि यौन चाहना हुन सक्छ । यौन रसादी निस्कनका लागि केही मिनेट यौन क्रीडा गर्न जान्नु पर्छ । यौन क्रीडाबाट यौन जोडीको (दुवैको) यौनाङ्गबट यौन रसादी निस्कन्छ नै भन्ने पनि जरुरत हुँदैन । अधिकांश जोडीमा फरक–फरक समयमा यौन रसादी निस्कन्छ । जोडीले यौन रसादी निस्किएको वा ननिस्किएको स्वअध्ययन गर्न जरुरी छ । रसादी निस्के÷ननिस्के बारेमा थाहा पाउन पनि जरुरी छ । अभ्यास र अनुभवले रसादी निस्किएको वा ननिस्किएको बारेमा थाहा हुन्छ । १÷२ पटकको अनुभवले थाहा हुँदैन । थोरै अनुभवले धेरै ज्ञान छ भन्ठान्दा यौन जोडीका लागि जोखिम पनि हुन सक्छ । यौनाङ्गबाट रसादी निस्कने तर पुरुषलाई पीडा हुने परिस्थिति भयो भने पुरुषको व्यक्तित्वमा मानसिक ह्रास हुन्छ । जसका कारण पुरुषको असक्षमताको पीडा असह्य हुन्छ । पुरुषको असक्षमताको परिणामस्वरुप कतिपय पुरुष महिलाबाट टाढा हुने, मानसिक रुपमा विक्षिप्त हुने र आत्महत्या गर्न समेत पछि पर्दैनन् । रोगको खतरा यौन सम्पर्कमा समस्या र पीडा हुने धेरै कारण हुन्छन् । यौन सम्पर्क गर्दा पीडा हुने मुख्य कारण यौनाङ्गको संक्रमण हो । जोडीमध्ये एकलाई वा दुवैलाई यौनाङ्गको संक्रमण भएको छ भने यौन सम्पर्क गर्दा पीडा हुन्छ । पुरुषको लिंग सानो हुने, बाहिरी छाला नसुर्किने, पुरुषको लिंगमा संक्रमण हुने, अन्य घाउ खटिरा लगायतका कारणले यौन सम्पर्क गर्दा समस्या तथा पीडा हुुन्छ । पुरुषको लिंग पूर्ण रुपमा विकसित भएको छैन भने पनि यौन सम्पर्क गर्दा यौन जोडीमा मानसिक रुपमा पीडा हुन्छ । विशेष गरी महिलामा तल्लो पेट दुख्ने, यौनाङ्गको सर्भिक्समा सर्भिक्स सोथ (दुख्ने, पोल्ने, सुन्निने) भएको खण्डमा पनि यौन सम्पर्क गर्दा पीडा हुन्छ । लिंग वा योनिमा रातो, तातो, दुख्ने, सुन्निने र यौनाङ्गले काम नगर्ने अवस्था आए सम्बन्धित चिकित्सककहाँ यथासम्भव चाँडै गएर सल्लाह र उपचार गर्न जरुरी हुन्छ ।यौन सम्पर्कको समयमा पीडा भयो वा यौनाङ्गमा कुनै किसिमको समस्या छ भने हेलचेक्राईँ गरेर बस्नु उचित हुँदैन । यस्तो अवस्था आकस्मिक भने हैन । यौनाङ्गमा कुनै किसिमको समस्या तथा संक्रमण छ भने एकअर्कामा सर्ने सम्भावना बढी हुन्छ । संक्रमण तथा जन्मजात कारणले पनि यौनाङ्गमा समस्या हुन सक्छ । जन्मजात अवस्थाका अधिकांश यौन समस्या शल्यक्रिया गरेर समाधान गरिन्छ । यौन जोडीमध्ये कुनै एक वा दुुवैमा कुनै किसिमको रोग छ भने पनि यौन सम्पर्कको समयमा पीडा हुन सक्छ । यदि रोग छ भने कुन किसिमको, कस्तो अवस्थाको रोग छ सम्बन्धित चिकित्सककहाँ गएर परामर्श लिनुका साथै उपचार गर्नुपर्छ । उत्तेजना नमिल्दा पीडा विशेषगरी महिलाभन्दा पुरुष चाँडै उत्तेजित हुनु पनि पीडाको एउटा कारण हो । पुरुष चाँडै र महिला सुस्त उत्तेजित हुनाले पनि यौन सम्पर्क गर्दा पीडा हुन सक्छ । महिला भन्दा पुरुष चाँडै उत्तेजित हुनु स्वभाविक पनि हो । अधिकांश पुरुष यौन मामलामा सक्रिय हुन्छन् भने महिला निष्क्रिय हुन्छन् । हरेक पुरुष तथा महिलामा मौसमअनुसार शरीरका अङ्गको सक्रियता र निष्क्रियता हुन्छ । जसका कारण पनि यौन सम्पर्क गर्दा पीडा हुन सक्छ । त्यसको व्यावस्थापन एक आपसमा यौन जोडीले नै गर्नुपर्छ । हरेक असहज परिस्थितिलाई वातावरण अनुकूल गर्ने दायित्व जोडीको हो । मौसमका कारण यस्तो पीडा हुन्छ भन्ने पनि हुँदैन । गर्मीमा पीडा हुन् वा जाडोमा नहुने वा जाडोमा पीडा हुने र गर्मीमा नहुने भन्ने हुँदैन । नकारात्मक धारणा नराख्ने विगत केही वर्षयता शैक्षिक पाठ्यपुस्तक, पत्रपत्रिका र सामाजिक सञ्जालको प्रयोगले मानिसमा यौनसम्बन्धी वैज्ञानिक जिज्ञासा बढ्दै जान थालेको छ र यो स्वाभाविक पनि हो । त्यसैले नेपालका सामाजिक अगुवा, धार्मिक गुरु, राजनीतिक कार्यकर्ताले यौन र यौन शिक्षालाई ज्ञानको भण्डारको रुपमा लिँदा समाज अगाडि बढ्न सक्छ । यौनसम्बन्धी नकारात्मक धारणा र अफवाह न्यूनीकरण गर्दै जान जरुरी छ । हरेक व्यक्तिका आ–आफ्नै किसिमका मानवीय अधिकार हुन्छन् । अधिकारभित्र आफूलाई चहलपहल गर्न स्वतन्त्र हुन्छन् । व्यक्तिले व्यक्तिगत तथा सामजिक उत्तरदायित्व भने भुल्नु हुँदैन । पीडा तथा असन्तुष्टि भयो भन्दैमा वैकल्पिक यौन जोडी रोज्नु उचित हैन । व्यवस्थापन गर्नु उपयुक्त हुन्छ । शुक्रबार साप्ताहिकबाट
एन आरएन अफ्रिकाको तेस्रो क्षेत्रीय सम्मेलन १२ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न
युगान्डा,पुष १५।गैरआवासी नेपाली संघ अफ्रिकाको तेस्रो क्षेत्रीय सम्मेलन १२ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न गरेको छ। युगान्डाको कम्पालमा आयोजना गरिएको सम्मेलनले पूर्बी र पश्चिम अफ्रिकी मुलुकमा कम्तिमा एक एक वटा दूताबास खोल्नका लागि नेपाल सरकारसंग आग्रह गर्ने निर्णय समेत गरेको छ । सम्मेलनमा पछिल्लो समय अफ्रिकि मुलुकमा रोजगारीमात्र नभई लगानीकर्ता र बिज्ञका रुपमा नेपालीको उपस्थिति बढ्दो भएपनि हाल इजिप्ट र दक्षिण अफ्रिकामा मात्र नेपाली दूताबास रहेको हुँदा अन्य मुलुकमा कार्यरत नेपालीले समस्या भोग्नुपरेको बिषयलाइ समेत उठाइएको छ।समस्यालाइ ध्यानमा राखी पूर्बी र पश्चिम अफ्रिकी मुलुकमा कम्तिमा एक एक वटा दूताबास खोल्नका लागि नेपाल सरकारसंग आग्रह गर्ने र तत्काल ती र अन्य मुलुकमा समेत महाबाणिज्य दूत नियुक्त गर्नका लागि नेपाल सरकार समक्ष पहल गर्ने निर्णय गरेको छ। त्यस्तै बैठकले नेपालबाट अफ्रिकी मुलुक हुँदै अबैधानिक रुपमा युरोप र अमेरिकामा छिर्ने लोभले मानव बेचबिखनको समस्या बढ्दै गएको भन्दै सरकारलाई ध्यानर्कषण गराएको छ । सम्मेलनको उद्घाटन कायरो स्थित नेपाली दुतावासका राजदुत झबिन्द्र अर्यालले गरेका थिए। कार्यक्रममा एनआरएनका संरक्षक तथा पूर्व अध्यक्ष जीवा लामिछाने, आइसिसी अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुल आचार्य, सचिव डिवी क्षत्री, कोषाध्यक्ष हिक्मत थापा, मध्य पूर्वबाट आइसिसी सदस्य मनोज गोर्खाली लगायतको सहभागिता रहेको थियो । डिसेम्बर २९ र ३० तारीख चलेको सम्मेलनमा अफ्रिका क्षेत्रका एक दर्जनभन्दा बढी मुलुकमा कार्यरत १५० जनाभन्दा बढी नेपालीको सहभागिता रहेको थियो । बैठकलाई उच्च प्राथमिकता दिदैं उद्घाटन सत्रमा इजिप्टस्थित नेपाली राजदूत झबिन्द्र अर्याल तथा युगाण्डा सरकारका सम्माननीय राष्टपतिका प्रतिनिधि युगाण्डा रेसिडेण्ट डिस्टिक्ट कमिस्नार श्रीमति हाइट हावा नामुजेनीको समेत उपस्थिति रहेको थियोे भने कार्यक्रममा कम्पाला नगर प्राधिकरण सम्बन्धी मन्त्री बेटी काम्या नामिसाग्यो र युगाण्डा सरकारका पर्यटन राज्यमन्त्री किवाण्डा गोडीफ्रे स्सुवी लगायत युगाण्डा सरकारका बिभिन्न निकाय तथा संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति तथा प्रस्तुती रहेको थियोे । यस्तो छ घोषणापत्र १.नेपालको पर्यटन, पूर्बाधार लगायतका क्षेत्रको विकासमा अफ्रिकी मुलुकको अनुभवबाट सिक्न सकिने भएकोले नेपाल र अफ्रिकाबीचको सहकार्यका लागि पहल गरिदिन नेपाल सरकार र एनआरएनए अन्तर्राष्टिय समन्वय परिषद्लाई यो बैठक आग्रह गर्दछ। २. नेपालबाट अफ्रिकी मुलुक हुँदै अबैधानिक रुपमा युरोप र अमेरिकामा छिर्ने लोभले मानव बेचबिखनको समस्या बढ्दो छ । युरोप र अमेरिका जाने प्रलोभनमा अफ्रिकी मुलुकमा आएका त्यस्ता नेपालीले अनेक दुःखकष्ट भोग्नु परेको यथार्थ हाम्रा सामु छ । यो क्रम तत्काल रोक्नका लागि कडाई गर्दै सचेतना कार्यक्रम संचालन गर्न नेपाल सरकारलाई आग्रह गर्दछ । ३. बैधानिक रुपमा अफ्रिकी मुलुक आउने नेपालीहरुलाई समेत नेपाल र भारतका बिमानस्थलमा त्याँहाका कर्मचारीले अनाबश्यक दुःख दिने गरेका छन् । बैधानिक रुपमा आउनेहरुलाई यसरी अनाबश्यक दुःख दिने काम तत्काल बन्द गरी आवतजावत सहज बनाउन नेपाल सरकारसंग यो बैठक आग्रह गर्दछ । ४ पछिल्लो समय अफ्रिकाका बिभिन्न मुलुकमा रोजगारीमात्र नभई लगानीकर्ता र बिज्ञका रुपमा नेपालीको उपस्थिति बढ्दो छ । तर हाल इजिप्ट र दक्षिण अफ्रिकामा मात्र नेपाली दूताबास रहेको हुँदा अन्य मुलुकमा कार्यरत नेपालीले समस्या भोग्नुपर्र्ने बाध्यता छ । यो यथार्थतालाई ध्यानमा राखी पूर्बी र पश्चिम अफ्रिकी मुलुकमा कम्तिमा एक एक वटा दूताबास खोल्नका लागि नेपाल सरकारसंग आग्रह गर्ने र तत्काल ती र अन्य मुलुकमासमेत अबैतनिक महाबाणिज्यदूत नियुक्त गर्नका लागि नेपाल सरकारसमक्ष यो बैठक अनुरोध गर्दछ । त्यसमा महाबाणिज्यदूत छनौट गर्ने प्रकृयामा सघाउन संघ तयार रहेको छ । ५. नेपाल र अफ्रिकामा आपसी लगानीका पर्याप्त संभाबना रहेका छन् । ती संभाबनालाई ध्यानमा राखेर नेपाल र अफ्रिकाबीच लगानीका लागि समन्वय तथा सहजीकरण गर्न सम्बन्धित सबैलाई आग्रह गर्दछ । ६. एनआरएनएको पहलमा नेपालमा हुने एकीकृत लगानीका क्षेत्रमा अफ्रिकामा कार्यरत नेपालीहरु सहभागी हुने यो बैठक प्रतिबद्धता जनाउँछ । साथै, नेपालमा लगानीका लागि नेपाल सरकारसंग सहकार्य गर्न यो बैठक युगाण्डा तथा अन्य अफ्रिकी सरकारलाई आग्रह गर्दछ । ७. अफ्रिकाका बिभिन्न मुलुकमा कार्यरत नेपाली समुदायलाई आधिकारिक रुपमा मान्यता दिलाई उनीहरुको बसोबास सहज बनाउनका लागि त्याँहाका सरकारसंग पहल गरिदिन यो बैठक नेपाल सरकारलाई आग्रह गर्दछ । ८. पछिल्लो समय अफ्रिकाका कतिपय मुलुक नेपालीका लागि रोजगारीको आकर्षक गन्तव्य भएका छन् । ती मुलुकमा सरकारी स्तरबाटै सहमति गरी रोजगारीमा पठाउने र रोजगारीमा जानेहरुको अधिकार सुनिश्चितताका लागि नेपाल सरकारलाई आग्रह गर्दछ । ९. अफ्रिकी मुलुकसंग व्यापार प्रबद्र्धन गर्न सन्धीका लागि पहल गर्न नेपाल सरकारसंग अनुरोध गर्दछ । १०. गैरआवासीय नेपाली संघले बिगतदेखि नै जोड दिदैं आएको बैदेशिक रोजगारीमा आएकाहरुको सामाजिक सुरक्षा सुनिश्चित गर्ने हजारे अभियान संचालन सम्बन्धमा सरकारले कार्यदल बनाई काम अघि बढाएकोमा नेपाल सरकारलाई धन्यवाद दिदैं चाँडै यस्तो किसिमको सामाजिक सुरक्षा कार्यक्रम थालनी गर्न सरकार समक्ष यो बैठक अनुरोध गर्दछ । ११. एनआरएनए अफ्रिकाको तेस्रो सम्मेलनको सहआयोजक इजिप्टस्थित नेपाली दूताबासको कदर गर्दै सम्मेलनको प्रमुख आतिथ्यता ग्रहण गरिदिनु भएकोमा नेपाली राजदूत झबिन्द्र अर्याल र नेपाल सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गरियो । १२. एनआरएनए तेस्रो अफ्रिका सम्मेलन सफलतापूर्बक सम्पन्न गर्नका लागि युगाण्डा सरकार र त्याँहाका जनताको सहयोग र सद्भावका लागि हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको निरन्तताको अपेक्षा गर्दछ। साथै, सम्मेलनमा सहभागी कम्पाला नगर प्राधिकरण सम्बन्धी मन्त्री मदाम बेटी काम्या नामिसाग्यो, युगाण्डा सरकारका पर्यटन राज्यमन्त्री किवाण्डा गोडीफ्रे स्सुवी लगायत युगाण्डा सरकारलाई यो सम्मेलन धन्यवाद ज्ञापन गर्दछ ।