प्रधानमन्त्री प्रचण्ड विराटनगरमा : यस्ता छन् कार्यक्रम
विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो विराटनगर आइपुगेका छन् । प्रधानमन्त्रीले आज विराट एक्स्पोको उद्घाटन गर्दैछन् । प्रधानमन्त्री प्रचण्डले आजबाट विराटनगरमा सुरु हुने ‘विराट एक्स्पो’को उद्घाटन गर्न लागेका हुन् ।
यसअघि बिहान १० बजे प्रधानमन्त्रीले प्रचण्डले सुनसरीको इनरुवामा विद्युत् प्रसारण लाइनको उद्घाटन गर्ने र दिउँसो मोरङको मिक्लाजुङमा माओवादी पार्टीको रूपान्तरण अभियान अन्तर्गत आयोजना गरिएको सभालाई सम्बोधन गर्नेछन् ।
भोक्राहा नरसिंह गाउँपालिका इनरुवामा प्रधानमन्त्री प्रचण्डले सबस्टेसन ४००, २२०, १३२, ३३ केभी सबस्टेसनको समुद्घाटन गर्ने छन्।
कार्यक्रममा उर्जा जलश्रोत तथा सिँचाई मन्त्री तथा नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिका अध्यक्ष शक्ति बहादुर बस्नेत, कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्की, सुनसरी क्षेत्र नम्बर ४ का सङ्घीय सांसद ज्ञानेद्र बहादुर कार्की र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लागयत सहभागी हुने छन् ।
मुलुकको आर्थिक मन्दीबाट बाहिर ल्याउन उल्लेख्य भूमिका खेलेको औद्योगिक नगरी विराटनगरलाई थप आर्थिक रुपमा बलियो बनाउन र आर्थिक क्रियाकलाप चलायमान बनाउने उद्देश्यका साथ विराटनगरमा व्यापार मेलाको आयोजना गरिएको आयोजकले जनाएका छन् ।
विराटनगर–२ स्थित शंकरपुर मार्गमा सुरु हुने ‘विराट ट्रेड एक्स्पो–२०२३’ मेला आगामी पुस १६ गतेसम्म जारी रहनेछ ।
आयोजकका अनुसार एक्स्पोमा स्वदेशी तथा विदेशी गरी कुल २४० वटा स्टल रहने छन् ।
पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा
काठमाडौं । साबिकको विजेता श्रीलंकाले एसीसी एसिया कप क्रिकेटको सुपर फोरको खेलमा पाकिस्तानलाई हराउँदै फाइनलमा स्थान बनाएको छ । श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा शुक्रबार बिहान सम्पन्न खेलमा श्रीलंका डकवर्थ लुईस पद्दती अनुसार २ विकेटले विजयी भएको हो । पाकिस्तानले दिएको २ सय ५२ रनको लक्ष्य श्रीलंकाले निर्धारित ४२ ओभरको अन्तिम बलमा पुरा गर्यो। श्रीलंकाका लागि कुसल मेन्डिसले ८७ बलमा ८ चौका र १ छक्काको सहयोगमा ९१ रन बनाए । सदिरा समराविक्रमाले ५१ बलमा ४ चौकाको सहयोगमा ४८ रन बनाए । मेन्डिस र सदिराले तेस्रो विकेटका लागि ९८ बलमा १ सय रनको महत्वपूर्ण साझेदारी गरेका थिए । चरिथ असलंका ४७ बलमा ३ छक्का र १ चौकाको सहयोगमा ४९ रनमा अविजित रहे । डेब्यु खेल खेलिरहेका जमान खान बलिङमा आए । खानले सुरुआती चार बलमा दुई रन मात्रै दिएर पाकिस्तानको जितको आधार बनाउँदै थिए । त्यसपछिको दुई बलमा जितको लागि ६ रन चाहिएको थियो । चरिथले पाँचौं बलमा चौका र अन्तिम बलमा दुई रन बटुल्दै श्रीलंकालाई फाइनल पुर्याएका हुन् । साबिकको विजेता श्रीलंकाले आइतबार भारतसँग उपाधिको लागि खेल्ने छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै, आज डलरको खरिद दर १३१ रुपैयाँ २४ पैसा र बिक्री दर १३१ रुपैयाँ ८४ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ९५ पैसा र बिक्री दर १४३ रुपैयाँ ४१ पैसा रहेको छ। यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ५३ पैसा र बिक्री दर १६५ रुपैयाँ २८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०० पैसा र बिक्री दर ३६ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
एमाले सचिव तथा पूर्वमन्त्री रायमाझीलाई आज अदालतमा उपस्थित गराइँदै
काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई आज अदालतमा उपस्थित गराइँदैछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भए पछि फरार रहेका रायमाझी हिजो बुढानीलकण्ठस्थित निवासबाट पक्राउ परेका थिए । उनलाई आज अदालतमा उपस्थित गराउन लागिएको प्रहरीले जनाएको छ। पक्राउ परे लगत्तै मेडिकल जाँच गरी उनलाई लैनचौरस्थित प्रहरी हिरासतमा लगिएको थियो। थप अनुसन्धानका लागि रायमाझीलाई म्याद थप्न जिल्ला अदालत काठमाडौँमा लैजान लागिएको हो ।
इन्डियन प्रिमियर लिग : चेन्नाईमाथि कोलकत्ताको रोमाञ्चक जित
काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकत्ता नाईट राईडर्सले चेन्नाई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ । चेन्नाईको घरेलु मैदान एमए चेन्नास्वामीमा आईतबार भएको खेलमा कोलकत्ता ६ विकेटले विजयी भएको हो । चेन्नाईले दिएको १ सय ४५ रनको लक्ष्य कोलकत्ताले १८ दशमलब ३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । कोलकत्ताको जितमा कप्तान नितिश राणा र रिंकु सिंहले अर्धशतकीय ईनिङ्स खेले । राणाले ४४ बलमा ६ चौका र १ छक्काको सहयोगमा अविजित ५७ रन बनाए । सिंह ४३ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ५४ रन बनाए । पहिलो ओभरमा नै ओपनर रहमानउल्लाह गुर्वाजलाई व्यक्तिगत १ रनमा गुमाएको कोलकत्ताले दोस्रो विकेटका रुपमा वेंकटेस अय्यरलाई व्यक्तिगत ९ रनमा गुमाएको थियो । चौथो विकेटका लागि रिंकु सिंह र कप्तान नितिश राणाले ९९ रनको साझेदारी गरेर टोलीलाई जितसम्म पर्याउन योगदान गरे । चेन्नाईका लागि दीपक चहरले ३ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो । चेन्नाईका लागि शिबम दुवेले ३४ बलमा १ चौका तथा ३ छक्काको सहयोगमा अविजित ४८ रन बनाए । डेभोन कन्वेले २८ बलमा ३ चौका ३० रन बनाए । रविन्द्र जडेजाले २४ बलमा २० रन बनाए । ऋतुराज गायकवाडले १३ बलमा २ चौकाको सहयोगमा १७ रन बनाए । कोलकत्ताका लागि वरुण चक्रवर्ती र सुनिल नारेनले समान २र२ तथा बैभब अरोरा र शार्दुल ठाकुरले समान १÷१ विकेट लिए । जितसँगै तेह्र खेलमा ६ जित र ७ हारका साथ १२ अंक सहित कोलकत्ता सातौं स्थानमा रहेको छ । तेह्र खेलमा ७ जित र ५ हारका साथ १५ अंकका साथ चेन्नाई दोस्रो स्थानमा कायमै रहेको छ ।
यी हुन् एमाले बैठकका निर्णय (पूर्णपाठ)
काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ ।सूचना पाएर पनि लगातार तीनवटा पार्टी बैठकमा उपस्थित नहुने सदस्यलाई कमिटीबाटै हटाउने निर्णय गरेको छ । पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटीको बैठकले लगातार तीन बैठकमा उपस्थित नहुने सदस्यलाई हटाउने निर्णय गरेको प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बताए । ठूलो कमिटीलाई छरितो बनाउनका लागि पदाधिकारीबाहेकको नयाँ सदस्य नथप्ने निर्णय पनि भएको उनले जानकारी दिए ।
कर्नाटकामा कांग्रेसको बहुमत पुग्ने सम्भावना : १३६ क्षेत्रमा अग्रता
एजेन्सी । भारतको प्रान्त कर्नाटकामा कंग्रेसको बहुमत ल्याउने सम्भावना क्रमशः बढ्दै गएको छ। मध्याह्नसम्म ११४ स्थानमा अग्रता लिइरहेको अवस्था सुधार गर्दै अपराह्नसम्म कंग्रेसले झन्डै १३६ क्षेत्रमा अग्रता कायम गरेको छ। त्यसमध्ये ८३ क्षेत्रबाट कंग्रेसका उम्मेदवारहरू निर्वाचित भैसकेका छन् भने ३५ सिटमा अग्रता कायम गरेका छन् । कंग्रेसका नेताहरूले कम्तिमा पनि १३३ सिट जित्ने दाबी गरेका छन्। प्रारम्भिक चरणको मतगणनामा ७९ क्षेत्रमा अग्रता लिएको सत्तारूढ भारतीय जनता पार्टी अपराह्नसम्म केबल ६४ स्थानमा मात्रै अगाडि छ। अर्को दल जनता दल सेक्युलर (जेडिएस) २० क्षेत्रमा अगाडि देखिँदा चार स्थानमा अन्य दलका उम्मेदवारले अग्रता लिएका छन्। अघिल्लो निर्वाचनमा १०४ सिट जितेको भाजपा यसपटक नमिठो हार ब्यहोर्ने र कंग्रेसको ऐतिहासिक पुनरागमन हुने भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। कर्नाटकामा २२४ सिटका लागि निर्वाचन भएको हो ।
आज आठौँ राष्ट्रिय पत्रकारिता दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै
काठमाडौं । आज आठौँ राष्ट्रिय पत्रकारिता दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै छ । मुलुककै जेठो समाचारमूलक पत्रिका गोरखापत्रको प्रकाशन आरम्भ भएको दिन १९५८ वैशाख २४ गतेको अवसरमा हरेक वर्ष वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिएको छ । ‘पत्रकारितामा खोज र नवीनताः लोकतान्त्रिक गणतन्त्रको सफलता’ भन्ने मूल नाराका साथ पत्रकारिता दिवस मनाउन थालिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा वैशाख २४ गते दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा विशेष समारोह आयोजना गरिने भएको छ । सो समारोहमा नेपालको पत्रकारिताको क्षेत्रमा विशिष्ट योगदान पु¥याउने दुई जना वरिष्ठ पत्रकारलाई सम्मान र छ जनालाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिने सञ्चार तथा सूचना प्रविधिमन्त्रीका सञ्चारविज्ञ नरेन्द्र केसीले जानकारी दिए । समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सम्बोधन गर्ने कार्यक्रम छ ।
इंग्लिस प्रिमियर लिग फुटबल : टोटेनहममाथि न्युकासलको फराकिलो जित
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा न्युकासल युनाईटेडले टोटेनहमलाई ६–१ गोल अन्तरले पराजित गरेको छ । आज राती भएको खेलमा न्युकासलले टोटेनहमलाई ६–१ गोल अन्तरले पराजित गरेको हो । खेलको दोस्रो मिनेटमा जाकोब मुर्फेले गोल गर्दै न्युकासललाई सुरुआती अग्रता दिलाएका थिए । छैटौं मिनेटमा जोइलिनटनले गोल गर्दा न्युकासल २–० ले अघि रह्यो । नवौं मिनेटमा जाकोबले व्यक्तिगत दोस्रो गोल गर्दा न्युकासल ३–० ले अघि रह्यो । १९ औं मिनेटमा एलेक्जान्डर इसाकले गोल गर्दै न्युकासललाई ४–० को अग्रता दिलाए । खेलको २१ औं मिनेटमा इसाकले व्यक्तिगत दोस्रो गोल गर्दै न्युकासललाई ५–० को अग्रता दिलाए । खेलको ४९ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई ५–१ को स्थितिमा ल्याए । त्यसपछि खेलको ६७ औं मिनेटमा कलुम विल्सनले गोल गर्दै न्युकासललाई ६–१ को जित दिलाए । जितसँगै न्युकासलले ३१ खेलमा ५९ अंक जोडेको छ । न्युकासल तेस्रो स्थानमा उक्लिएको छ ।
कोरोना संक्रमितको संख्यामा वृद्धि : १५ जनाको मृत्यु
एजेन्सी । भारतमा कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ । संक्रमण तीव्र गतिमा बढ्नुका साथै संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा संक्रमणकै कारण १५ जनाको मृत्यु भएको छ भने ४ हजार ४ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ । यो संख्या एक वर्ष यताकै उच्च हो । संक्रमितको हिसाबले विश्वमा पहिलेनै १० मुलुकभित्र रहेको भारत अहिले कोरोनाबाट बढी ज्यान गुमाउने मुलुकमा पनि १० मुलुकभित्र परेको छ । अहिले सक्रिय संक्रमित २३ हजार भन्दा बढी रहेको छ । भारतमा कोरोना सुरु भए यता साढे चार करोड बढी कोरोनाबाट संक्रमित भइसकेका छन् भने ५ लाख ३० हजार ९ सय १६ जनाले ज्यान गुमाएका छन् । आईआईटी कानपुरका वरिष्ठ वैज्ञानिक प्रा मनिन्द्र अग्रवालले देशमा बढ्दै गएको कोरोना संक्रमणबाट आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । यो सामान्य रुघाखोकी र चिसो जस्तै हुनेछ । मुलुकमा बढ्दो कोरोना संक्रमितबीच बुधबार सरकार अधिकार प्राप्त समूह एकको बैठक बसेको थियो । बैठकमा कोभिड व्यवस्थापनबारे छलफल भएको थियो ।
एकल महिलाको माग र मुद्धा सम्बोधन गर्न सामाजिक चेतना र जागरण जरूरी छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले एकल महिलाका माग र मुद्धाहरू सम्वोधन गर्ने बताउँदै सामाजिक चेतना र जागरण जरूरी भएको बताएका छन्। आइतबार दिउँसो मानव अधिकारका लागि महिला एकल महिला समूहद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने, “तपाईहरूको यो कार्यक्रम अरु कार्यभन्दा पृथक र मौलिक लाग्यो। यहाँ तपाईहरूले एकल महिलाका हकअधिकारका पक्षमा जे–जति मुद्दा उठाउनुभएको छ। त्यसलाई सम्वोधन गर्ने मेरो प्रयास हुनेछ।” प्रधानमन्त्रीले थपे, “संविधानमा नै व्यवस्था गरेर एकल महिलाका लागि कोटा छुट्टाउनुपर्ने माग तपाईहरूले राख्नुभएको छ। यो न्यायोचित माग नै हो। यसका लागि हामी छलफल गर्नेछौँ। एकल महिलाको सामाजिक सुरक्षाबारे तपाईहरूले जे–जति प्रश्न उठाउनुभएको छ, ती गम्भीर प्रकृतिका छन्। तिनीहरू सम्वोधन गरिनेछ।” २७ वर्षको अवधिमा एकल महिला समूहले प्राप्त गरेको उपलब्धि र ख्यातिको प्रधानमन्त्रीले प्रशंसा गरे। प्रधानमन्त्री प्रचण्डले भने, “२७ वर्षको अवधिमा तपाईहरूले प्राप्त गरेको उपलब्धि, एकल महिलाहरूको एकता र सहकार्यका निम्ति गरेको प्रयास र अन्तर्राष्ट्रियस्तरबाट प्राप्त गरेको ख्याति र सम्मानको म उच्च प्रशंसा गर्दछु।” “महिला अधिकारका लागि नेपालमा ठूलो बलिदानी भयो। हजारौं महिलाहरूले मुक्ति र परिवर्तनका निम्ति संघर्ष गर्नुभयो” प्रधानमन्त्रीले भने, “गरीब, पिछडिएका महिलाहरूले आफ्नो पहिचान, अधिकार र मुक्तिका निम्ति गरेको संघर्षकै कारण समाज र राजनीति यहाँसम्म आएको छ। उनीहरूले संघर्ष नगरेको भए, बलिदानीको उच्च कीर्तिमानी नराखेको भए, रगत नबगाएको भए हामी यहाँसम्म आउने थिएनौँ।” “महिलाहरूको सहभागीता र भूमिकाबिना संसारमा कहिँ पनि परिवर्तन भएको छैन” उनले भने, “महिलाहरूकै संघर्षका कारण आज राज्यका सबै अंगमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको छ। स्थानीय तहदेखि केन्द्रसम्म प्रतिनिधित्व छ। अझै यो पर्याप्त छैन। पुरूषसरह महिलाका हकअधिकार स्थापित गर्न थप प्रयत्न आवश्यक छ।” प्रधानमन्त्रीले भने “कानुनमा हामीले प्रगतिशील व्यवस्था गरेका छौँ। तर, त्यसको प्रभावकारी कार्यान्वयनमा अहिले पनि चुनौती छ। हाम्रो समाज र संस्कृतिमा रूपान्तरण ल्याएर मात्र यसको प्रभावकारी कार्यान्वयन गर्न सकिन्छ। त्यसका लागि सामाजिक जागरणको अभियान जरुरी छ।”
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अब तीन सय शैयाको बन्ने
काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अब तीन सय शैयामा विस्तार हुने भएको छ । अस्पतालको नयाँ भवन बनाउन गत बिहीबार टेण्डर आह्वान गरिएको छ । करिब तीन अर्ब लगानीमा बन्ने नयाँ भवन निर्माणको जिम्मा शहरी विकास तथा भवन निर्माण विभागले लिएको छ । अहिले भएका पुराना भवनहरूलाई पालैपालो भत्काइने र अहिले भएका एक सय शैयालाई विस्तारगरी तीन सय पुर्याइने छ । विभागले नयाँ बन्ने ६ तले भवनको डिजाइन तयार पारिसकेको र अबको तीन महिनाभित्र निर्माण कार्य सुरु गरिने छ । अस्पतालले अहिले रहेको आफ्नै जग्गामा ६ तले नयाँ भवन बनाउन लागेको हो ।
जसपाका १३ नेता तथा कार्यकर्ता माओवादी प्रवेश
खोटाङ। जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष टंकबहादुर थापासहित १३ जना नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन्। गत ३० साउनमा जसपा परित्यागको घोषणा गरेका थापासहितका नेता तथा कार्यकर्ता बुधबार नेकपा माओवादी केन्द्र प्रवेश गरेका हुन्। जसपा छाडेका उपाध्यक्ष नविनकिशोर राई, सचिव देवकुमार राई, सचिवालय सदस्य दीपकुमार तामा, प्रवचन राई, मनोज राई, जुलन राईलगायत माओवादी केन्द्र प्रवेश गरेका हुन्। माओवादी केन्द्र प्रवेश गर्नेमा सविन राई, किरण राई, सन्तोष तामाङ, भुवन राई, कर्ण तामाङ र मेखबहादुर तामाङ छन्। थापा लगायतका नेताको जिम्मेवारीका विषयमा भने छलफल भइरहेको छ। सशस्त्र विद्रोह, शान्तिपूर्ण आन्दोलनको नेतृत्व गर्दै वर्तमान राजनीतिक उपलब्धि, समानुपातिक समावेशी राज्यको नीति स्थापना गर्ने वैचारिक तथा सैद्धान्तिक हिसाबले माओवादी केन्द्रमा प्रवेश गरेको विज्ञप्तिमा उल्लेख छ। समृद्ध समाज निर्माण गर्दै आमूल परिवर्तनको दिशामा अगाडि बढ्ने आन्दोलनमा समाहित भएको थापाले प्रतिक्रिया दिएका छन्। केन्द्रमा उपेन्द्र यादव र डा. बाबुराम भट्टराई अलग भएपछि थापासहित ३९ जनाले जसपाबाट अलग भएको घोषणा गरेका थिए। यद्यपि, जसपाले सबै ३९ जनाले पार्टी नछाडेको दाबी गरेको छ।
प्रतिनिधि सभाबाट दुई विधेयक पारित, सांसद बिचैमा बाहिरिदा कोरम नपुगेर बैठक स्थगित
काठमाडौं । प्रतिनिधि सभाको आइतबारको बैठक कोरम नपुगेर स्थगित भएको छ । सार्वजनिक ऋण विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव भए पनि कोरम नपुगेसँगै बैठक स्थगित भएको हो । कोरम पुग्न ६९ जना सांसद चाहिनेमा बैठकमा ६७ जना मात्रै सांसद उपस्थित भएपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । तर पुनः बैठक सञ्चालन गरे पनि कोरम नपुगेपछि बैठक आगामी साउन ३१ गतेसम्मका लागि स्थगित गरिएको सभामुख सापकोटाले जानकारी गराए । यस अघि, बैठकबाट बीमा सम्बन्धी र शहरी क्षेत्र यातायात प्राधिकरण सम्बन्धी गरी दुई बिधेयक पारित भएका थिए । दुई विधेयक पारित हुँदासम्म कोरम पुगेको र त्यसपछि सांसदहरू बाहिरिएकाले कोरम नपुगेको हो ।
गैरआवासीय नेपाली संघ र राष्ट्रिय प्रकृती संरक्षण कोषबीच भेटघाट कार्यक्रम
काठमाडौं। गैरआवासीय संघका अध्यक्ष डा.बद्रि केसि र राष्ट्रिय प्रकृती संरक्षणकोषका सदस्य सचिव शरद चन्द्र अधिकारी लगायतका प्रतिनिधिहरुबीच खुमलटारमा रहेको कोषको कार्यलयमा भएको थियो। कोषका सदस्य सचिवले स्वागत गर्दै कोषले स्थापनाकाल देखी गर्दै आएको गतिविधिहरुबारे जानकारी गराए । साथै कोषले गरेका क्रियाकलापहरुबारे प्रस्तुतीकरणा समेत गरिएको थियो । मुख्यतया प्रस्तुतीकरणमा कोषले झापा, चितवन, बर्दिया शुक्लाफाट लगायतका विभिन्न तराईका जिल्लाहरुमा समुदायमा आधारीत वन जन्तु संरक्षण, वातावरण संरक्षण लगायतका कार्यक्रमहरुको हाइलाईट गरिएको थियो । आजको भेटघाटको मुख्य उद्देश्य संरक्षणकोषले विविध क्षेत्रमा संचालन गरिरहेका कार्यक्रमहरु मध्ये कुन क्षेत्रमा सहकार्य गर्न सकिन्छ बारेमा केन्द्रित रहेको थियो । कार्यक्रमको अन्त्यमा संघका अध्यक्ष डा.केसिले संघले स्थापनाकाल देखी नै संचालन गरेका गतिविधिहरुबारे अवगत गराए। उनले संघले हरेक २ वर्षमा नेपालमा विज्ञ सम्मेलनको आयोजना गर्दै आएको छ भने विश्वका विभिन्न क्षेत्रहरुमा क्षेत्रीय ज्ञान सिप सम्मेलनको पनि आयोजना हुदै आएको बारे जानकारी गराए। उनले विभिन्न मुलुकहरुमा गैरआवासीय नेपालीहरुले ज्ञान सीप तथा प्रविधिको क्षेत्रमा विद्वता हासिल गरेको समेत जानकारी गराए। अन्त्यमा उनले कोषले आज प्रस्तु गरेको क्षेत्रमा मार्फत सहकार्य गरी अघि बढ्नु पर्ने बताए। साथै उनले विदेशमा रहेका गैरआवासीय नेपालीका दोश्रो पुस्तालाई यहाँको वन्यजन्तु संरक्षणमा अध्ययन गर्न र विदेशमा रहेर यस विषयमा विज्ञता हासिल गरेका विज्ञहरुलाई समेत समेटर लान सुझाव दिए।
सबै पार्टी र नेताहरु उस्तै हुन भन्ने न्यारेटिभ बनाउँन खोज्नु गलत छ : प्रचण्ड (भिडियो सहित )
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सबै राजनीतिक दलका नेताहरु सबै पार्टी र नेताहरु उस्तै हुन भन्ने न्यारेटिभ बनाउँन खोज्नु गलत भएको बताएका छन्।परिर्वतन चाहाने र नचाहनेबीचको संर्घष भैरहने बताउँदै आफुहरु परिर्वतन र विज्ञानको पक्षधर रहेको बताए । अहिले पनि गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता परिवर्तनका संवाहकहरुलाई मन नपराउने शक्ति समाजमा रहेको बताए । जनतालाई अधिकार दिन खोज्दा भाउतो ल्याएको भनेर केहि नेताले भनेको स्मरण समेत गरे । अध्यक्ष ओलीले आवश्यकता परेमा संघीयताबारे समेत पुनर्विचार गर्न सकिने धारणा राखेका थिए । त्यसको जवाफमा अध्यक्ष प्रचण्डले ओलीको उक्त धारणा अन्ततः निरंकुश राजतन्त्रमा फर्कन चाहना सोचबाट आएको बताएका हुन् । बिहीबार ललितपुरमा आयोजित विज्ञान प्रविधिसँग सम्बन्धीत एक कार्यक्रममा बोल्दै प्रचण्डले त्यस्तो शक्तिलाई परिवर्तनकारी शक्तिले परास्त गर्ने दावी गरे । उनले लेनिले सोभियत सत्ताकै विरोध किन गर्नुपर्यौ होला भन्ने कुरा निकै मार्मिक भएको बताए । उनले आफुलाई कहिलेकाही लेनिनले आफै लडेर ल्याएको व्यवस्थाको विरोध किन गरे भन्ने महशुस भएको बताए । उनले माओवादी केन्द्रको महाधिवेसनले विज्ञान र प्रविधि र वैज्ञानिक चेतनालाई आधार बनाएर बैज्ञानिक नीति तय गरेका बताए । विज्ञान र प्रविधिको दृष्टिकोणबाट हेर्दा स्वतन्त्र भन्ने कोही पनि नहुने टिप्पणी गरेका अध्यक्ष प्रचण्डले समाजमा एउटा शक्ति अघि जाने र अर्को शक्ति पछि फर्कने हुने विश्लेषण गरे । व्यक्ति भने पनि दलहरु भने पनि यीनै दुई प्रबृतिबाट निर्देशित हुने उनको भनाई थियो । समाजमा जबरजस्ती सबै नेता उस्तै हुन् भन्ने भाष्य बनाउन खोजिएकोमा असन्तुष्टि जनाउँदै उनले भने, ‘जो जनतालाई वास्तविक रुपमा मालिक बनाउनु पर्छ भन्ने एउटा विचार र कार्यशैली भएको नेतृत्व छ, अर्को भएका परिवर्तन उल्ट्याएर अहिले पनि राजतन्त्रको पक्षमा फर्काउन खोज्ने प्रबृति छ । जो तत्व जसले जनताको अधिकार खोस्ने कुरा गर्ने तत्व छ त्यसलाई परास्त गर्न विज्ञान प्रविधिको क्षेत्रमा काम गर्नेहरुले समेत मिलेर एउटा आन्दोलन सृष्टी गर्नु जरुरी छ ।’ अध्यक्ष प्रचण्डले स्वतन्त्र भन्ने कोहि नहुँने हुँदा अगाडि बढ्ने हो कि पछाडि जाने हो भन्ने छुट्टयाउनुपर्ने बताए । समाज परिर्वतनका लागि प्रगतिशिल बिचार राख्नेहरु एक हुनुपर्नेमा जोड दिए ।