एनआरएनए युएईको पहलमा दुई महिलाको उद्दार
युएई ।युएईमा लामो समय देखि दलालले बन्धक बनाइ राखेका दुई नेपाली महिलालाई एनआरएनए युएईले उद्दार गरी बुधबार स्वदेश फिर्ता गरेको छ।
युएईको अलऐन स्थित एउटा घरमा बिगत एक बर्ष देखि बन्धक बनाइ राखेको अबस्थामा पीडित मध्ये एक महिलाले सामाजिक संजाल मार्फत आफ्नो उद्दारको लागि पहल गरिदिन अपील सहितको भिडियो हाले पछी एनआरएनए युएईले प्रहरीको सहयोगमा ठेगाना पत्ता लगाई पीडितको उद्दार गर्न सफल भएको एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिएका छन्।
यसरी अलपत्र पर्नेहरुमा बर्दिया घर भएकी रेनुका र उनकी साथी भुप कुमारी रहेकी छिन भने अर्कि एक महिलालाई दलालले भगाउन सफल भएको भए पनि नेपाली दूतावास युएईले सम्पर्क गरी हाल दूतावासको सेल्टरमा राखेको दूतावासले बताएको छ।
अलपत्र मध्ये रेनुका र भुप कुमारीलाई एनआरएनए युएईले आवश्यक प्रकृया पुरा गरी बुधबार हवाई टिकटको ब्यबस्था मिलाई स्वदेश फिर्ता गरेको छ भने अर्की एक महिलालाई दूतावासले केही दिनमा नेपाल फर्काउने तयारी गरेको दूतावास स्रोतले जानकारी दिएको छ।
पछिल्लो समय युएईमा रहेका सँघसस्थाहरु खासगरि
एनआरएनए युएईले मजदुर हितमा उल्लेखनीय काम गर्दै पीडितलाई न्याय दिलाउन महत्त्वपूर्ण भुमिका खेलेको भन्दै नेपाली दूतावास युएईका कार्यबाहक राजदूत सागर फुयाँलले सहयोगी सबैलाई धन्यवाद दिएका छन् ।
टेबल टेनिस प्रतियोगिता शुरु
पोखरा, वैशाख २७ । कास्की जिल्ला टेबुल टेनिस संघको आयोजनामा आजदेखि यहाँ दोस्रो आमन्त्रित टेबल टेनिस प्रतियोगिता २०७५ शुरु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पोखरामा टेबल टेनिस खेलका लागि व्यवस्थित इन्डोर कोर्ट निर्मांण गर्ने वा ब्याडमिन्टन कोर्ट बनेपछि हालको ब्याडमिन्टन कोर्टलाई नै प्रयोग गर्ने गरी व्यवस्था मिलाउने तयारी भइरहेको जानकारी दिँंदैे १३ औंँ दक्षिण एशियाली खेलकुद (साग)मा टेबल टेनिसबाट पदकको आशा लिइएको जानकारी दिनुभयो । कास्की जिल्ला टेबल टेनिस संघका सल्लाहकार बाबुराम पन्तले यस्ता प्रतियोगिताले टेबुल टेनिस खेलका नयाँ पुस्ताका खेलाडी उत्पादनमा सहयोग पुग्ने बताउनुभयो । प्रतियोगितामा आठ जिल्लाका कनिष्ठ तथा वरिष्ठ महिला २५ र पुरुष २२ खेलाडीको सहभागिता छ । तीन दिनसम्म चल्ने प्रतियोगितामा विजेता खेलाडीलाई ट्रफी, पदक र प्रमाणपत्र दिइने कास्की जिल्ला टेबुल टेनिस संघका अध्यक्ष उत्तम जोशीले जानकारी दिनुभयो ।
एउटा बोकाको मूल्य ३ लाख!
गाउँघरमा एउटा बोकाको मूल्य कति पर्ला? नवलपरासीको एक ब्यवसायिक बाख्रापालन फर्ममा एउटा बोकाको मूल्य ३ लाख छ। नवलपरासीको हर्कपुरमा रहेको बगैंचा फर्म हाउसमा अष्ट्रेलियाबाट ल्याइएको अष्ट्रेलियन बोयर जातका बाख्रा छन्। फर्ममा सबै यूरोपमा काम गरेर फर्किएकाहरु खटेका छन् । उनीहरूले पालेको एउटै बोकाको मूल्य यति धेरै रहेको हो। पूर्वप्रधानमन्त्री टंकप्रसाद आचार्यका कान्छा छोरा वीरभद्र आचार्यलगायत १० जनाको लगानीमा सञ्चालित फर्ममा आबद्ध सबै यूरोपमा बसेर कमाएकाहरू छन्। कृषिमा कुनै अनुभव नभएकाहरु आबद्ध भएपनि बाख्रापालन ब्यबसायमा सफल भएका छन्। उनीहरुको बाख्रापालनको सञ्जाल फैलँदो रहेको छ। ‘आठ वर्ष अष्ट्रेलिया बस्दा महिनाको तीन लाख बच्थ्यो,’ सञ्चालकमध्येका सन्तोष धिताल भन्छन्, ‘त्यसले चित्त बुझेन र नेपालमा केही गरौं भन्ने इच्छा जाग्यो।’ कृषि, पर्यटन र हाइड्रोमा लगानी गर्ने सोचाइ बनाएर फर्किँदा कृषिका अनौठा तथ्य बुझ्न पाएको उनले बताए। ‘कृषि मन्त्रालयमा तथ्यांक बुझन जादा भारतबाट नेपालमा वर्षेनी १७ अर्ब बराबरको खसीबोका आयात हुँदो रैछ, त्यसैले हामीलाई तान्यो,’ उनले भने, ‘त्यसपछि बाख्रापालन गर्ने निधो गरियो तर, अनुभव थिएन।’ इन्टरनेटमा संसारकै उत्कृष्ट बाख्रापालन खोज्दै जादा अष्ट्रेलिया भेटियो। २०७२ सालमा त्यहाँबाट १२ पाठी र ७ वटा बोका ल्याएको उनले बताए। वीरभद्र आचार्य अमेरिका बसेका, अशोक शर्मा पौडेल ६ वर्ष डेनमार्क बसेका र धिताल अष्ट्रेलिया बसेपनि बाख्रापालनको योजना बनाउञ्जेल पशु र कृषि सम्बन्धि कुनै अनुभव थिएन। ‘एउटै बोकाको २ लाख ६० हजार मूल्य तिर्यौं,’ धिताल भन्छन्, ‘अहिले वार्षिक ४० लाख आम्दानी छ।’ उनीहरुको फर्महाउसमा यतिबेला १ सय ६० वटा बाख्रा छन्। ४ बिघामा उन्नत जातको घाँसखेती छ। बोयर जातको बिशेषता जन्मेको ३ महिनामा कम्तिमा २६ किलो र वर्षदिनमा १३० देखि १५० किलोसम्म वजन हुने उनले बताए। बोयर जातको बाख्रा दैनिक २ सय ग्रामका दरले बढछ। बोका र पाठी बढा लम्बाइ बढ्छ। अग्लो हुँदैन, खँदिलो हुन्छ। मासुको स्वाद रैथाने जस्तो तिख्खर हुँदैन। बोसो नहुने र कोलेस्ट्रोल कम हुने हुँदा जुनसुकै रोगका लागेकाले पनि खान उत्तम मानिने भएकाले बजारमा माग बढ्दो छ। तर, फर्म सञ्चालकहरूको उद्देश्य मासु बेच्नु भने होइन। उन्नत जातका बोका र रैथाने बाख्रा क्रस गराएर उन्नत नश्लका पाठापाठीको उत्पादन बढाउनु हो। त्यसका लागि उनीहरुले ओखलढुंगा, झापा, रामेछाप, तनहुँ, बुटवल, बैतडी र नवलपरासीका दुई ठाउँमा बाख्रापालन सुरु गरेका छन्। रैथाने जातका खसीबोका एक वर्षसम्म पाल्दा ३० देखि ४० किलो तौलका मात्र हुन्छन्। खुवाइएको तुलनामा मासु कम हुन्छ। तनहुँको बन्दिपुरमा सरकारले ४० वर्षअघि खोलेको बाख्रा अनुसन्धान केन्द्रमा त्यस्तै जातका बाख्रापालन गरिएपनि ब्यापकता पाउन सकेको छैन। यही परिबेशमा उनीहरुको फर्म हाउसमा हुर्काइएका खसीबोकाको माग भने बढी छ। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।
ट्याङकर व्यवसायीले सरकारविरुद्धको आन्दोलन फिर्ता
काठमाडौं । नेपाल आयल निगमले इन्धन ढुवानी नगर्ने व्यवसायीको सम्झौता खारेज गर्ने चेतावनी दिएसँगै ट्याङकर व्यवसायीले सरकारविरुद्धको आन्दोलन फिर्ता लिएका छन् । यसअघि यातायात व्यवसायीको आन्दोलनमा साथ दिँदै ट्यांकर व्यवसायीले बैशाख २१ गते एकदिन र २७ गतेबाट अनिश्चितकालसम्म तेल नबोक्ने बताएका थिए। ट्याङ्कर व्यवसायीहरुको छाता संगठन नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले यातायात व्यवसायीहरुले उठाएको संघ संस्था खारेजीको विरोधको मुद्दालाई मात्र समर्थन गरिएको भन्दै इन्धन ढुवानी ठप्प नपारिने स्पष्ट पारेको छ। महासंघका अध्यक्ष खगेश्वर बोहोराले यातायात व्यवसायीसँग मिलेर इन्धन ढुवानी रोक्ने कुनै निर्णय नभएको दावी गरे। सबै ट्याङ्करले नियमितरुपमा तेल बोक्ने उनले स्पष्ट पारे। ‘ट्याङकर व्यवसायीले इन्धन नबोक्ने भन्ने कुरा बाहिर आएको छ। त्यो साँचो होइन’ उनले भने ‘हामी सरकारी काम गर्ने संस्था भएकाले सरकारी निर्णयको विरोधमा तेल नै नबोक्ने भन्ने कुरै आउँदैन ।’ बोहोराले यातायात राष्ट्रिय व्यवसायी महासंघ र ट्याङकर व्यवसायी कामको प्रकृति छुट्टै भएकाले महासंघले उठाएको एउटा बाहेक अन्य कुनै मागहरुप्रति आफूहरुको समर्थन नभएको बताए। ‘यातायात महासंघले यात्रु बोकेर नाफा कमाउँछ। हामी आफ्ना गाडीमार्फत सरकारले भनेको स्थानबाट तेल ल्याएर भनेको ठाउँमा पुर्याइदिन्छौँ, बोहोराले भने, ‘यसबापत सरकारले हामीलाई भाडा दिन्छ, त्यसबापत नै हामी चलेका हुन्छौँ ।’ यातायात संघसंगठनहरुको नवीकरण नगर्ने भन्ने सरकारी निर्णय विरुद्ध यातायात व्यवसायीको मागमा मात्र आफूहरुको समर्थन रहेको उनले बताए। ‘संघसंगठन खोल्न पाउनुपर्छ भन्ने यातायात व्यवसायीको मागमा मात्र हाम्रो समर्थन हो’ उनले भने । त्यसकै लागि आन्दोलन घोषणा गर्ने दिन आफूहरुले प्रतिनिधी पठाएको उनले बताए । यसबाहेक अन्य अन्य कुनै पनि मागप्रति आफूहरुको समर्थन नभएको उनले बताए। यातायात समितिहरुको एकाधिकारविरुद्ध सरकार कडारुपमा प्रस्तुत भएपछि सिन्डिकेट कायम राख्न पाउनुपर्ने माग राख्दै आएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गत बुधबार आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। सरकारले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संशोधन गर्दै हालका सवारी साधनले रुट नवीकरण र हेरफेर गर्दा अनिवार्य पञ्जीकरण गर्नुपर्ने व्यवस्था गरेको छ। यस व्यवस्थाले मुलुकभर रुट परमिट लिन चाहने नयाँ व्यवसायीलाई बाटो खुल्ला गरिदिएको छ। सवारी साधन एनजिनओमा नभई कम्पनीमा दर्ता हुनुपर्ने, असारदेखि विभिन्न नाममा खडा गरिएका यातायात समिति नवीकरण नहुने लगायतका व्यवस्था सरकारले लागू गरेको छ। नयाँ व्यवस्थाले आफूहरुको एकाधिकार तोडिने भएपछि यातायात व्यवसायीले आन्दोलनको कार्यक्रम ल्याएका हुन्। यसअन्तर्गत महासंघले २१ गते एक दिन र २७ गतेबाट अनिश्चितकालसम्म यातायात नगुडाउने धम्की दिएका छन्। यातायात व्यवसायीको सो मागप्रति इन्धनसम्बन्धी दुई प्रमूख संस्थामध्येको पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले नैतिक समर्थन गरेको थियो भने पेट्रोलियम ढुवानी महासंघले इन्धन ढुवानी ठप्प पारिने बताएको थियो। दुबै संस्थाका महासिचव विश्वप्रसाद अर्यालले संगठित भएर व्यवसाय गर्न पाउनुपर्ने यातायात व्यवसायीको एजेण्डा साझा भएको भन्दै आन्दोलनमा सहभागी हुन लागिएको सेतोपाटीसँग बताएका थिए। अर्यालले यसक्रममा यातायात व्यवसायीकोझैं २१ गते एकदिन र २७ गतेबाट अनिश्चितकालसम्म इन्धनको ढुवानी ठप्प पारिने बताएका थिए। तर ट्याङकर व्यवसायीहरुबाट सो कुरा बाहिर आएपछि नेपाल आयाल निगमले इन्धनको नियमित आपूर्ति नगर्ने ट्याङ्करलाई कडा कारबाही गर्ने चेतावनी दिएको थियो। निगमले कसैको उक्साहटमा लागेर इन्धनजस्तो संवेशनशील बस्तुको आपूर्ति तथा वितरण रोकी हड्तालमा उत्रिए त्यस्ता ट्यांकरको सम्झौता खारेज गरिने र आइन्दा कहिल्यै नवीकरण नगर्ने चेतावनी दिएको थियो। सो चेतावनीसँगै व्यवसायी आन्दोलनबाट पछि हटेका हुन्। हाल देशभर १८ सय ट्यांकरले इन्धन ढुवानी गर्दै आएका छन्। यी सबै ट्यांकर व्यवसायीका भएपनि सरकारले ढुवानीबापतको भाडा, बिमा र सुरक्षा प्रदान गर्दै आएको छ। भाडा बापत काठमाडौंसम्म इन्धन ढुवानी गर्दा सरकारले ट्यांकरलाई दुरी हेरेर प्रतिलिटर १ रुपैयाँ ५० पैसादेखि २ रुपैयाँ २० पैसासम्म दिँदै आएको छ। सेतोपाटीबाट
कम्युनिष्ट पार्टीको खिलापमा एकजुट भएर लाग्नुपर्छ : सभापति देउवा
काठमाडौं, वैशाख ८ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा अधिनायकवादी शासन व्यवस्थाको शुरुवात हुनलागेको बताउनुभएको छ । नेपाली काँग्रेस काठमाडौँ जिल्ला कार्यसमितिले नयाँ वर्षका अवसरमा आज यहाँ आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै उहाँले सरकारले राजश्व विभाग, राष्ट्रिय अनुसन्धान विभागलगायतलाई प्रधानमन्त्री कार्यालयमा राखेर मुलुकमा अधिनायकवादी शासन व्यवस्थाको शुरुवात गर्न खोजेको आरोप लगाउनुभएको हो । “अधिनायकवादी र सर्वसत्तावादी कम्युनिष्ट पार्टीको खिलापमा काँग्रेस एकजुट भएर लाग्नुपर्छ,”– उहाँले भन्नुभयो । उहाँले प्रदेशसभा र प्रतिनिधि सभामा पार्टीले भोग्नुपरेको पराजयलाई अवसरका रुपमा बदलेर संगठन निर्माणमा लाग्नुपर्ने बताउनुभयो । पार्टीभित्र देखिएको छाडातन्त्रबाट काँग्रेस चल्न नसक्ने उहाँको भनाइ थियो । सभापति देउवाले पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य र विभागले चाँडो पूर्णता पाउने बताउनुभयो । उहाँले पार्टीभित्रको अन्र्तघातका कारण २० भन्दा धेरै नेताले निर्वाचनमा पराजय भोगेको भन्दै अब पार्टीलाई विवादरहित तवरले एकढिक्का बनाएर अगाडि लैजाने स्पष्ट पार्नुभयो । दुई ठूला कम्युनिष्ट पार्टी एक भएको र काँग्रेसभित्रको अन्र्तघातले पार्टी पराजय भएको उहाँको भनाइ थियो । पार्टीका महामन्त्री डा सशांक कोइरालाले पार्टीलाई एकढिक्का बनाएर लैजान सभापतिलाई आग्रह गर्नुभयो । “इतिहास, विचार र कार्यकर्ता भएको पार्टीले यी तीनै कुरालाई जनतामाझ लैजान सकेमात्र काँग्रेसको भलो हुन्छ,”– उहाँले भन्नुभयो । महामन्त्री डा कोइरालाले काँग्रेसले अहिलेसम्म गरेको राम्रो कामलाई कार्यक्रम बनाएर जनतामाझ लैजानुपर्ने बताउनुभयो । पार्टीका पूर्व महामन्त्री प्रकाशमान सिंहले प्रजातान्त्रिक पार्टी विधिसम्मत ढंगले चल्न नसक्दा निर्वाचनमा पराजय भोगेको बताउनुभयो । दुई पार्टी मिलेर काँग्रेस हारेको भन्नु तर्कमात्र भएको उहाँको भनाइ थियो । नेता सिंहले निर्वाचन भएको दुई महिनामा पदाधिकारी, केन्द्रीय समिति र विभाग गठन गर्नुपर्ने भए पनि पार्टी नेतृत्वबाट उक्त काम हुन नसक्दा धेरै कार्यकर्ताले काम नपाएको बताउनुभयो । केन्द्रीय सदस्य डा प्रकाशशरण महतले काँग्रेसभित्र वृहद एकता आवश्यक रहेको बताउनुभयो । केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले एउटै व्यक्तिलाई बारम्बार अवसर दिने र पार्टी र संगठनमा काम गरेका व्यक्तिलाई अवसरबाट वञ्चित गर्दा पार्टी कमजोर बन्दै गएको बताउनुभयो । केन्द्रीय सदस्य अम्बिका बस्नेतले इकाइदेखि केन्द्रसम्मका व्यक्तिले आफ्नो भूमिका निर्वाह गर्न लागेमात्र पार्टीलाई बलियो बनाउन सकिने बताउनुभयो । केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टी हारको जिम्मा पार्टी सभापतिले लिनुपर्ने भन्दै काँग्रेस अब संगठन बलियो बनाउने र भोट बढाउने बाटोमा लाग्नुपर्ने बताउनुभयो । पूर्वमन्त्री भीमसेनदास प्रधान, राजेन्द्रकुमार केसी, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, काठमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायतले पार्टीभित्र झगडाभन्दा बहस गरेर अगाडि बढेमात्र पार्टी सफल हुने बताउनुभयो । एकदिने भेलामा पार्टी जिल्लाका नेता तथा कार्यकर्ताबाट आएको सुझावलाई समावेश गरी केन्द्रीय समितिमा पठाइने काठमाडौँ काँग्रेसका सभापति सवुज बानियाँले जानकारी दिनुभयो ।
ओली सरकारको श्वेतपत्र नभर्इ लाल पत्र हो : कांग्रेस (पूर्णपाठसहित)
काठमाडौं, चैत्र २६ । केही समय अगाडि ओली सरकारले सार्वजनिक गरेको श्वेतपत्रबार सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले अहिलेको संचार, बैंकिङ, स्वास्थ्य, शिक्षा उद्योगधन्दा, यातायातलगायतमा भएको कांग्रेस नेतृत्वको सरकारले लिएको अर्थनीति र उदारीकरणको जवरजस्त उदाहरण भए पनि सरकारले श्वेतपत्रमा ती सबै कुरालाई नकरात्मक रुपमा मात्रै व्याख्या गरेको आरोप लगाउदै लालपत्रको संज्ञा दिए । पूर्णपाठ हेर्नुहोस् नेपाली कांग्रेस पार्टीका तर्फबाट संक्षिप्त धारणा प्रस्तुत गर्न निम्त्याइएको यो पत्रकार सम्मेलनमा यहाँहरुलाई हार्दिक स्वागत गर्दछु । केही दिन अगाडि नेपाल सकारका तर्फबाट जारी गरिएको श्वेतपत्रका सम्वन्धमा नेपाली कांग्रेस पार्टीका तर्फबाट संक्षिप्त धारणा प्रस्तुत गर्न निम्त्याइएको यो पत्रकार सम्मेलनमा यहाँहरुलाई हार्दिक स्वागत गर्दछु । १. तुलनात्मक रुपले सहज राजनीतिक वातावरण नयाँ सरकारलाई प्राप्त हुनु समृद्धिको दिशामा अत्यन्तै सुनौलो अवसर हो, यो तथ्यमा कसैको पनि विमति नरहला । नयाँ नेतृत्वले निकट विगतका प्रति आलोचनात्मक चेत प्रस्तुत गर्नु अलग कुरा तर नैतिक इमान्दारिता भन्दा पर गएर संगतीरहित सन्दर्भहरु गाँसेर असन्तुलित रुपमा तथ्यांकहरु श्वेतपत्रमा जो प्रस्तुत भएको छ, त्यसलाई “अबौद्धीक र अव्यवसायिक मुचुल्का” हठर गर्नु पर्ने प्रारम्भिक स्थिती वन्दछ । २. मुलुकको समृद्धिका लागि नागरिकमा नविन आशा र जाँगरिलो विश्वास भर्नु राज्यको कर्तव्य हुन्छ । तर अर्थतन्त्रको सकारात्मक पाटोहरु सबै नजर अन्दाज गरेर कतिपय कमजोरीको अतिरञ्जनापूर्ण प्रस्तुतिबाट चरम निराशाको राज्य विस्तार मात्रै हुन सक्दछ । अतः श्वेतपत्रले सिर्जना गरेको भ्रम चिर्नु हाम्रो कर्तव्य हुन पुगेको छ । ३. राज्यले हालसम्म गरेका समस्त आर्थिक उपलव्धिलाई नकार्ने र हामीले शुन्यबाट समृद्धिको शुरुवात गर्न लागेका हौ भन्ने भ्रम स्थापित गर्ने प्रयत्नका क्रममा यो श्वेतपत्र कोरिएको महशुस हुन्छ । विरासतमा धरासायी अर्थतन्त्र नेपाली कांग्रेसले छोडेको थियो र हामीले सम्हाल्यौं भन्ने भोलीको चुनावी ऐजेण्डा स्थापित गर्ने मनोविज्ञानको जगमा यो उभिएको प्रष्ट छ । त्यसैले वितेको २५ वर्षमा ६२ गुणाले राजश्व वृद्धि भएको तथ्य श्वेत पत्रमा कतै उल्लेख छैन । पञ्चायती व्यवस्थाले जादै गर्दा हाम्रो हातमा १२ अर्वको राजश्व छोडेको थियो, आज ७ सय अर्व माथीको आकार वढेको तथ्यलाई भुल्न मिल्दैन । ४. राजनीतिक रुपमा हाम्रा भिन्न दार्शनिक या मुद्दागत द्वन्द्व हुन सक्दछन र छन् । तर, आजका राजनीतिक उपलव्धि हामी सबैको साझा प्रयासको प्रतिफल हो । यसलाई संस्थागत तुल्याएर समृद्धिको दिशामा अघि वढ्नु हाम्रो साझा कर्तव्य हो । तर, श्वेतपत्रको नियत आर्थिक परिसूचक र सन्दर्भहरुको संगतीपूर्ण प्रस्टताले होइनराजनीतिक पूर्वाग्रहको श्रेष्टताले उत्पादित देखिन्छ । ५. मुलुकले अढाई दशक यता अपनाएको अर्थनीति अबको पनि बाटो हो । यो दावा हामी के पृष्ठभूमिका साथ गर्न सक्दछौ भने “कांग्रेसको अर्थनीति गलत छ” शब्दमा भन्ने तर केही “पपुलिष्ट” कार्यक्रम गाँसेर अन्ततः कांग्रेसले रोजेकै अर्थनीति पछ्याउने कर्म विगतमा कम्युनिष्ट नेतृत्वको सरकार र कम्युनिष्ट अर्थमन्त्रीहरुले गर्दै आउनु भएको छ । अतः “हिड्न नचाहेको तर छोड्न पनि नसक्ने” अर्थनीतिको गम्भीर मनोवैज्ञानिक विरोधाभाषको मनोवैज्ञानिक जमिनमा यो श्वेतपत्र उभिएको प्रष्ट छ । ६. श्वेतपत्र निश्चित कालखण्डको छायाँ चित्रका रुपमा इमान्दार ढंगले प्रस्तुत भएको छैन । कुन निश्चित कालखण्डको तथ्याकं र चित्र प्रस्तुत गर्दा बढी नकारात्मक सम्प्रेषण गर्न सकिन्छ भन्ने मनशायले प्रेरित देखिन्छ श्वेतपत्रको प्रस्तुति । कहींदुई वर्षको चित्र छ त कतै अढाई दशकको, कुनै सन्दर्भमा दश वर्षको मुल्याकंन छ त कहीं पाँच वर्षको टिपोट गाँसिएको छ । यसरी भिन्न भिन्न समय खण्डको चित्र गाँसेर श्वेतपत्र निर्माण गर्नु श्वेतपत्र निर्माण गर्ने शास्त्र यस्तै नै हुन्छ भन्ने नैतिक ठहर कुनै पनि अर्थशास्त्रीले गर्न सक्छन् जस्तो लाग्दैन । ७. विगत १० वर्षमा मुलुकको अर्थतन्त्र बढी विग्रिएको चर्चा श्वेतपत्रमा गरिरहदा के स्मरण गरिनै पर्दछ भने यो दशकमा अधिकांश समय मुलुकको सत्तामा कम्युनिष्ट प्रधानमन्त्रीले वा अर्थमन्त्रालयमा कम्युनिष्ट अर्थमन्त्रीले नेतृत्व सम्हालेका थिए । ७६ प्रतिशत बढी समय गैरकांग्रेसी नेतृत्वले यो १० वर्षमा मुलुकको नेतृत्व गर्दा जे जति वेथिती भएका छन्, हाम्रो भागको दोषको अंश हामी लिन तयार छौ, तर दुई तिहाइ अंश भने कम्युनिष्ट दलहरुकै भागमा पर्ने तथ्य हामी यहाँ प्रष्ट्याउन चाहन्छौ । ८. दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्ने मुलुकको आंकाक्षालाई सम्भव तुल्याउन तुलनात्मक रुपले अनुकुल वातावरण नयाँ सरकार र नयाँ अर्थमन्त्रीलाई प्राप्त रहेको तथ्य श्वेतपत्रले शब्दमा स्वीकार्नु सायद आवश्यक ठानेन । लामो समयपछि लगालग ६ प्रतिशतको आर्थिक वृद्धि हुन लागेको यो पहिलो अवसर हो । अनेक प्रतिकुलताका बिच यो वृद्धिदरलाई निराशाजनक भन्न किमार्थ मिल्दैन । २०४६ सालको परिवर्तन पश्चात कांग्रेसको नेतृत्वमा प्राप्त उच्च आर्थिक दर पछि यताका कुनै पनि अर्थमन्त्रीले विराशतमा यस्तो वृद्धिदर प्राप्त गरेका थिएनन् भन्ने सत्यतथ्यलाई उत्साहपूर्वक आत्मसात गरेर अबको लक्ष्य र कार्यक्रम दुई अंकको वृद्धिदरतर्फ केन्द्रीत गर्न तर्फ लाग्नु चाहि जिम्मेवार कदम हुन्थ्यो । त्यसो नगरेर “निराशापत्र” को निर्माण र प्रस्तुतिले “अमुल्य समयको व्यर्थको व्यय” हुन पुगेको हाम्रो ठहर छ । ९. के मुलुकको ढुकुटी रित्तो छ ? श्वेतपत्र जारी भएपछि यस्तो सन्देश गएको छ र त्यही सन्देश दिने प्रयत्न सत्तापक्षले गर्न खोजेको देखिन्छ । तर “पुँजीगत बजेट खर्च हुन नसकेको” अर्थमन्त्रीकै वाक्याशंले ढुकुटीमा रकम मौज्जात रहेको पुष्टि एकातर्फ गर्दछ भने यो सरकार बन्दै गर्दा ३ खर्व भन्दा वढी र हाल त्यो भन्दा केही कम अर्व रुपैया राष्ट्रको ढुकुटीमा मौज्जात रहेको विवरण सार्वजनिक भइसकेको छ । स्थानीय तहका लागि छुट्याइएको रकम पनि राज्य कोषकै हो । १० अर्व डलर बराबरको विदेशी मुद्रा संचिती रहेको विवरण पनि यसबिचमा सार्वजनीक भएको छ । कांग्रेसले हामीलाई रित्तो ढुकुटी सुम्पिएको थियो भन्ने छवी स्थापना गर्न चाहेको प्रोपोगण्डा केही दिन भित्रैमा झुठ प्रमाणीत भइसकेको छ । १०. मुलुकको बजेटमा वाह्य निर्भरता घट्दै गएको सकारात्मक पाटोलाई श्वेतपत्रमा स्मृति गरिएको छैन । पच्चीस वर्ष अघि ३५ प्रतिशत भन्दा माथी विदेशी सहायतामा निर्भर रहेर बजेट बनाइन्थ्यो । तर अहिले त्यो निर्भरता १५ प्रतिशत भन्दा तल आइपुगेको छ । बजेटमा वैदेशीक निर्भरता घटाउँदै लगिएकोतथ्य नेपाल देशका लागि के उत्साहवर्धक तथ्यांक होइन र ? ११. अतिकम विकसित राष्ट्रको सुचिबाट विकाशोन्मुख राष्ट्रमा नेपाल देशको स्तरोन्नती हुने अवस्थाको पूर्वाधार वितेको केही वर्षमा तयार भइसकेको छ । तीन वटा निश्चित मापदण्ड मध्ये आवश्यक दुईवटा पुरा भइसकेको र प्रतिव्यक्ति आयको मापदण्ड प्रगति उन्मुख रहेको विषय “नेपाल एक कदम अघि बढ्दैछ” भन्ने मनोवैज्ञानिक सन्देशका लागि मात्रै होइन, व्यवहारिक सन्दर्भमा पनि महत्वपूर्ण पाटो हो । परिवर्तित राजनीतिक र आर्थिक परिदृष्यमा राष्ट्रको स्तरोन्नतीको यो अध्यायलाई गौरव र गम्भीरता दुबै ढंगले धैर्यसंग सम्पादन गर्न जरुरी थियो र छ । १२. सिंगो विश्वले अंगीकार गरेको सन् २०१५ सम्म पुरा गर्ने सहश्राव्दी विकास लक्ष्य निश्चय नै सम्पूर्ण रुपले हासिल भइसकेको छैन, तर त्यसतर्फ केन्द्रीत नेपाल राष्ट्रको प्रयत्नले जे जति प्रगति हासिल गरेको छ, श्वेतपत्रमा त्यसको स्मृतिसम्म नगरिनु राज्यको प्रगतिप्रतिकै अन्याय हो । १३ तीनवटा तहको निर्वाचन सम्पन्न भई मुलुकले स्थीर राजनैतिक गति समाएका बेला शेयर बजार भने किन ओह्रालो लाग्यो ? बजारमा नयाँ सरकारकाप्रति विश्वासको ग्राफ अग्लिनु पर्नेमा किन त्यस्तो हुन सकेन ? कम्युनिष्ट दर्शनले विश्वास गर्ने राज्य नियन्त्रित अर्थव्यवस्था तर्फ होइन कांग्रेसले विश्वास गर्ने उद्धार अर्र्थतन्त्रकै बाटोमा नयाँ सरकार हिड्नेछ भनेर बजारलाई समयमै आस्वस्त तुल्याउन नसक्नु र जिम्मेवार तहबाट निरुत्साहित अभिव्यक्ति सार्वजनिक हुँदा बजारमा त्यसले नकारात्मक परिणाम ल्याउनु स्वभाविक थियो । अनुत्पादक क्षेत्र करार गरिरहदा सहरिया मध्यम वर्ग मात्रै होइन, ग्रामीण क्षेत्रका निम्न वर्गीय नागरिक पनि त्यसको मारमा पर्न पुगे र परेका छन् भन्ने पीडाको प्रतिध्वनी संगीतमय ढंगले अर्थमन्त्रालय या सिंहदरवारमा सायद गुञ्जिएन । त्यसैले हुनुपर्छ श्वेतपत्र तयार गरिरहदा शेयर मार्केटका सम्वन्धमा सकारात्मक दृष्टिकोण प्रवाह गर्ने कुनै गम्भीरता प्रस्तुत भएन । १४. नकारात्मक सन्देशले शेयर मार्केटमा असर गरेझै मुलुकको पर्यटन क्षेत्रमा पर्न सक्ने असरका बारेमा श्वेतपत्रका निर्माताहरुले हेक्का राखेको देखिएन । यो वर्ष ९ लाख ४० हजार भन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । जुन अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले भएको वृद्धि हो । समृद्धिको हाम्रो यात्रामा पर्यटन क्षेत्रको यो सुधार र सकारात्मक संकेतले आगामी दिनमा महत्वपूर्ण योगदान गर्ने देखिन्छ । तर श्वेतपत्रले यो सुखद तथ्याकंलाई समेटेको छैन । १५. श्वेतपत्रले हाम्रो अर्थतन्त्रको सकारात्मक पाटोका बारे आँखा चिम्लिएको भएपनि यस बारेमा टिप्पणी गरिरहँदा यसले उठाएको वस्तुगत तथ्यप्रति हाम्रो विमति छैन । अर्थतन्त्रको आकार सानो रहेको वास्तविकता, निजी होस वा सरकारी दुबै क्षेत्रमा पूँजी निर्माण गतिको सुस्तता, रोजगारीको अवसर पर्याप्त मात्रामा श्रृजना गर्न नसकेको स्थिति, कतिपय समयमा गैह्र बजेटरी खर्च वढेको–वढाइएको सन्दर्भ, राजश्व चुहावट अनुसन्धान र नियन्त्रण गर्ने कार्य प्रभावकारी हुन नसकेको सत्यता, वैदेशिक सहायताको प्रभावकारी उपयोग गर्न नसकेको स्थिती, भन्सार प्रणालीको पर्याप्त सुधार हुन नसकेको यथार्थ, अनि विकास बजेट सम्पूर्ण प्रयोग हुन नसकी फ्रिज हुँदै आएको तथ्य । श्वेतपत्रले औल्याएको यी नकारात्मक सूचकहरुको पृष्ठभूमिमा निम्न चार तथ्य स्मरण गर्न जरुरी हुन्छ । क) लामो समयदेखिको राजनैतिक अस्थिरता । ख) दशक लामो हिंशात्मक द्वन्द्व र त्यसले छोडेको दुस्परिणाम । ग) “भविष्यको नेपाल केन्द्रीत” दुरगामी होइन “चुनाव केन्द्रीत” बजेट निर्माणको शिलान्यास गर्ने कम्युनिष्ट प्रवृत्ति । घ) कम्युनिष्टहरुलाई लोकतान्त्रिक रुपान्तारण गराउन समर्थ रहदा पनि बजेट निर्माणमा सस्तो लोकप्रियताको शैलीबाट कतिपय सन्दर्भमा हामी स्वयं निरपेक्ष रहन नसकेको स्थिती । अर्थतन्त्रका नकारात्मक सन्दर्भहरुलाई न्यून गर्दै लगेर समुन्नतीको दिशामा अघि वढ्न गहिरो छलफल र ऐक्यवद्ध साझा प्रयत्नबाट मात्रै संभव छ । श्वेतपत्रले जिम्मेवार ढंगले त्यो दिशामा सकारात्मक पहल गर्न खोजेको देखिएन । १६. सरसर्ति एक झलकमा हेरौं कांग्रेस नेतृत्वमा विगत २५ वर्षमा भएका केही उपलव्धिहरुको तुलनात्मक चित्र २५ वर्षको प्रस्तुत प्रगति हाम्रो कुनै निजात्मक निबन्ध होइन । राष्ट्रिय योजना आयोग लगायत नेपाल सरकारको अन्य दस्तावेजबाट लिइएका यी विवरणले संसदीय प्रजातन्त्र मार्फत नेपाली कांग्रेसको नीति र नेतृत्वमा भएका केही उपलव्धिहरुको पुष्टि गर्दछ । निराश मनोविज्ञान श्वेतपत्रमा भर्नेहरुलाई प्रस्तुत तथ्याकंले केही आशावादी पक्कै बनाउनेछ भन्ने आशा हामीले लिएका छौं । १७. आर्थिक प्रगति र अर्थतन्त्रको कमजोरीको समिक्षा आर्थिक वर्ष ०४९÷०५० यताको गरिरहदा त्यही सेरोफेरोमा ०५२ मा मुलुकमा हिंशात्मक विद्रोह प्रारम्भ भएको सत्य विर्सन मिल्दैन । हिंशाको त्यो कालखण्डमा पनि नेपाली कांग्रेसले निराशाको श्वेतपत्र जारी गरेन बरु आशाको दियो वालिरह्यो । वुँदा नं. १६ मा प्रस्तुत भएको एक हदसम्मको उपलव्धि कस्तो विसम परिस्थितिमा मुलुकले प्राप्त गरेको हो भन्ने पृष्ठभूमिको स्मरण आजको दिनमा गर्न जरुरी छ । २३ वर्ष अघि माओवादी हिंशा शुरु भएको थियो । एमाले पार्टीले त्यही कालखण्डमा सदनदेखि सडकसम्मको नीति अनुरुप अनेक अवरोध सिर्जना गरेकै थियो । केहीपछि राजाको प्रत्यक्ष शासन र त्यस विरुद्धको सडक संघर्षमा व्यतित भएको समय, शान्ति प्रक्रियाको कालखण्ड, संविधान निर्माणमा लागेको समय अनि निर्वाचनमा लगानी भएका दिनहरु । यस्तो स्थितिमा मुलुकले हासिल गर्न सक्ने प्रगतिको आकार सम्भवत यो भन्दा वढी हुन सक्दैनथ्यो । १८. वर्तमान प्रधानमन्त्रीले भारत भ्रमण क्रममा “नेपालमा लगानीको वातावरण राम्रो छ, ढुक्कले लगानी गर्न आउनुस” भनेर भारतीय उद्योग व्यवसायीहरुलाई संवोधन गर्नु भन्दा ठिक सात दिन अघि जारी श्वेतपत्रमा अन्तर्राष्ट्रिय परिदृष्यमा नेपालको लगानी वातावरण उत्साहजनक छैन भन्ने उल्लेख गरियो । “अन्तर्राष्ट्रिय परिदृष्य” को हवाला दिदै त्यस्तो विवरण प्रस्तुत गरिरहदा विश्व बैंकबाट प्रकाशित म्यष्लन द्यगकष्लभकक ष्लमभह मा नेपाल १०५ औं स्थानमा रहेको आधार प्रस्तुत गरियो । तर विश्व बैंककै अघिल्लो वर्षको रिपोर्ट भन्दा हाम्रो स्थितीमा सुधार भएको (१०७ औं बाट १०५ औं मा पुगेको अवस्था) नत श्वेतपत्रमा स्मरण गरिएको छ, नत गएको वर्ष आएको वैदेशिक लगानी भन्दा यो वर्षको पहिलो छ महिनामा आएको लगानी वढी छ भन्ने उल्लेख गरिएको छ । विदेशी लगानी भित्र्याउन स्थितिको अतिरञ्जित व्याख्याले किमार्थ सघाउदैन । त्यस्तै ट्रान्फरेन्सी इन्टरनेशनलको ऋयचचगउतष्यल एभचअभउतष्यल क्ष्लमभह मा १२२ औं स्थानमा रहेको उल्लेख गर्दा गत वर्ष १३१ औं मा भएको तथ्य कही उल्लेख छैन । पुरै श्वेतपत्रभरी यस्ता भएका प्रगतिलाई पुरै आखाँ चिम्लिएर इतिहास आजबाट शुरु हुन्छ भन्ने भ्रममा कोरिएका आँकडा निकै छन् चाहे कुल ग्राहस्र्थ उत्पादन वृद्धिदरमा होस या मुद्रा स्थितिमा होस् । १९. हाम्रो आजको अर्थतन्त्र आयातमुखि बनेको तथ्यसंग विमति राख्नु पर्ने ठाउँ छैन । लाखौ युवाको वैदेशिक रोजगारीमा गमन र रेमिन्ट्यान्सले वढाएको उपभोक्तावादी संस्कृति पनि तथ्य संगत छ । रेमिन्ट्यान्सलाई उत्पादनमुलक क्षेत्रमा प्रयोग गर्न प्रोत्साहित गरिनु पर्छ भनेर केही वर्ष यता चल्दै आएको छलफल महत्वपूर्ण छ । एकिकृति पुँजीका रुपमा त्यसलाई विकास गरेर उत्पादन वढाउन सक्दा मुलुकमा आयात घट्ने र निर्यात वढाउन सकिने सम्भावनाहरुले व्यापार घाटा घट्न योगदान पु¥याउनेछन् । अढाई दशकदेखि निरन्तर व्यापार घाटा रहेको र त्यसले ४० प्रतिशतको उचाई टेकेको तथ्य श्वेतपत्रमा अर्थमन्त्रीले प्रस्तुत गर्नु भएकै साता सम्माननीय प्रधानमन्त्रीको भारत भ्रमण भयो । तर भ्रमणमा यो विषयलाई उठाइएन । हाम्रो कुल व्यापार घाटाको झण्डै ६५ प्रतिशत घाटा भारतसंगको व्यापारमा छ । श्वेतपत्रमा त्यसले स्थान पाइरहदा प्रधानमन्त्रीको भ्रमणमा त्यसले स्थान नपाउनु र परिस्थितिमा सुधारका लागि कुनै पहलकदमी नहनु दुखद छ । २०. नीजिकरण र नीजि क्षेत्रका सन्दर्भमा कम्युनिष्ट दर्शनले के मान्यता राख्दछ सवै विज्ञ छन् तर संसदीय लोकतन्त्र एवं उद्धार अर्थव्यवस्थालाई अंगीकार गरेको नेपालको कम्युनिष्ट पार्टीलाई यस सन्दर्भमा शास्त्रीय दृष्टिकोणबाट प्रभावित रहने छुट विलकुलै छैन । नेपालमा नीजिकरण लहडका भरमा शुरु गरिएको होइन, आवश्यक ऐन निर्माण गरेर, तत्कालिन प्रमुख प्रतिपक्ष दल एमालेका प्रतिनिधि समेतलाई समितिलाई संलग्न गरेर यसलाई अघि वढाइएको थियो । अतः नैतिक जवाफदेहिताबाट कसैले पनि भाग्न मिल्दैन । बाँसवारीको छालाजुत्ता कारखाना किन वेचियो ? पच्चीस वर्षपछि पनि उही प्रश्न गर्नेहरु बाँसवारीको त्यही जमिनमा गंगालाल अस्पताल खडा छ भन्ने ज्ञान राख्दैनन् । जुत्ता उत्पादनका लागि अढाई दर्जन नीजि कम्पनी यसबिचमा खुले र तीनले वार्षिक अरवौं रुपैयाको निर्यात गर्दछन् भन्ने थाहा पनि तीनलाई छैन । उदारिकरणको नीतिका कारण अनेकौं बैंक, अस्पताल, संचारगृह, ऐयरलाइन्स लगायतले हजारौंको रोजगारीको अवस्था सिर्जना गरेका छन्, अर्वौको राजश्व राष्ट्रलाई वुझाएका छन् र मुलुकको अर्थतन्त्रलाई महत्वपूर्ण योगदान पु¥याएका छन्् । अनेकौ प्रतिकुल समयमा पनि मुलुकको अर्थतन्त्रलाई भरथेग गर्दै आएको नीजि क्षेत्रलाई हतोत्साहित गर्ने प्रवृत्ति हाम्रा लागि स्वीकार्य हुन सक्दैन । २१. अरुण तेस्रो जलबिद्युत परियोजनाले सांघातिक कम्युनिष्ट हमला त्यो समयमा व्यहोर्नु नपरेको भए मुलुकको अर्थतन्त्रको गति आज प्रगतिको कुन उचाईमा पुग्न सक्दथ्यो हामी यस बारेमा सार्वजनीक वहसको आवश्यकता पनि देख्दछौं । सो तितो अध्याय मंचन नभएको भए शायद आजको मितिमा जारी गरिएको श्वेतपत्रमा समृद्धिको लामो फेहरिस्तले स्थान पाउने थियो । २२. लामो राजनैतिक अस्थीरता, दशक लामो हिंशा र त्यसले छाडेको दुस्प्रभाव, लगानी मैत्री वातावरण अझै चित्तवुझ्दो बन्न नसकेको स्थिती, महत्वपूर्ण जलविद्युत परियोजनाहरु अनेक कारणवश अघि नबढेको अवस्था, भूकम्प एवं नाकावन्दी जस्ता प्रकरणका बाबजुद मुलुकले कैयौं क्षेत्रमा आर्थिक प्रगति गर्नु र विद्यमान समयमा ७ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धिदर रहनु सामान्य कुरा होइन । २३. अनेक प्रतिकुलता र निराशाका बिच पनि आशा र विश्वासको बलियो आधार जीवित छ भनेर दावा गर्न सक्ने अवस्था छ । अझ स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न भई समृद्धिको दिशामा अघि वढ्न तुलानात्मक रुपले सहज राजनीतिक वातावरण मुलुकमा निर्माण भएको छ । यस्तो बेला तथ्यलाई तोडमोड गरेर श्वेतपत्रको नाममा निराशाको “लालपत्र” वाहिर ल्याउनु भन्दा नयाँ भिजन भरिएको दृढ संकल्प पत्र अगाडि सारिएको भए त्यो विवेकपूर्ण र जिम्मेवार कदम हुने थियो । २४. समृद्ध मुलुकहरुको अर्थतन्त्रमा पनि कयौं बेला अनेक चुनौती उत्पन्न हुन्छन भने गरिबीबाट माथि उठ्दै गरेको हाम्रो अर्थतन्त्र समस्या र चुनौति रहित विलकुलै हुन सक्दैन । तर जिम्मेवार र आशावादी नेतृत्व त्यसलाई नै भनिन्छ जसले चुनौतीको व्याख्यामा भन्दा वढी समाधानको प्रस्तुतीमा वढी ध्यान केन्द्रीत गर्दछ । जटिल प्रश्नको उठान मात्रै होइन सरल जवाफको निर्माणमा जसले कुशलता प्रस्तुत गर्दछ । हामी अपेक्षा राख्दछौं नेतृत्वको यो परिभाषालाई उत्साहपूर्वक आत्मसात गरिनेछ । नेपाली कांग्रेस पार्टी श्वेतपत्र उपर आफ्नो फरक मत दर्ज गरिरहदा पनि मुलुकको समृद्धिका लागि खुला हृदय, सिर्जनात्मक सोच र सहयोगी हातका साथ प्रमुख प्रतिपक्षको भुमिकामा प्रखर ढंगले उभिने व्यहोरा पनि सार्वजनिक गर्दछौं । चैत्र २६, २०७४ विश्वप्रकाश शर्मा प्रवक्ता नेपाली कांग्रेस
आगलागीबाट पन्ध्र लाखको क्षति
झापा । कनकाई नगरपालिका–३ स्थित सुरुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यालयमा आगलागी हुँदा रु १५ लाख बराबरको क्षति भएको छ । आइतबार राति शुरु भएको आगलागी आज बिहान मात्रै सो संस्थाका सञ्चालक समितिका पदाधिकारी, कर्मचारी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगलागीबाट सभाकक्षका झ्याल, ढोका र सभाकक्षमा रहेका सम्पूर्ण फर्निचर नष्ट भएको संस्थाका अध्यक्ष प्रेमप्रसाद दाहालले जानकारी दिनुभयो । आगलागीको कारण भने खुल्न सकेको छैन । रासस
नेपाली मुस्लिमहरुको अन्तर्राष्ट्रिय समाज गठन
दोहा, चैत्र ३ । कतारको राजधानी दोहामा भएको मुस्लिम बुद्दिजिवीहरुको एक भेलाले अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजको गठन गरेको छ। वैदेसिक रोजगार लगायत विभिन्न कारणले विदेसमा रहेका नेपाली मुस्लिमहरुलाई एउटै थलोमा ल्याई संगठितरुपमा समुदाय तथा राष्ट्र सम्वृद्दिको अभियानमा सकृय रहन समाजको गठन प्रक्रिया बढाईएको अन्तर्राष्ट्रिय संयोजकमा चयन भएका प्रोफेसर रमजान अली मियाँले बताए। समाज गठनको प्रारम्भिक पक्षलाई पुरा गरी आगामी शुक्रबार विशेष पत्रकार सम्मेलन मार्फत समाज गठन तथा उद्देश्यबारे प्रकाश पारिने नवगठित समितिका अध्यक्ष मुक्तदा मुसलमानले जानकारी दिएका छन्। नेपाली मुस्लिम समुदाय विशेषगरि भाषा, भूगोल र रितिस्थितिका हिसाबले तीन फरक सभ्यतामा परापुर्व कालदेखी बसोबास रहँदै आएको यथार्थलाई मध्यनजर गरि समाजको ढाँचा निर्माण गरिने महासचिव मोहम्मद मजीद मियाँले बताए। उनले भने “भाषाको हिसाबले नेपाली मुस्लिम समुदाय मिथिला, अवध र मियाँ भाषी छन्, यसैलाई मध्यनजर गरि हामीले तीन उपाध्यक्षको अवधारणा सहित संगठन निर्माण गर्नेछौं।” उक्त भेलाले प्रोफेसर रमजान अली मियाँलाई अन्तर्राष्ट्रिय संयोजक तोकेको छ। कार्यसमितिमा मोहम्मद मुक्तदा मुसलमानको अध्यक्षतामा एक्काईस सदस्सीय प्रारम्भिक समिति चयन गरेको छ। जसमा उपाध्यक्षहरु अब्दुल करीम मियाँ, अख्तर हुसैन गद्दी, मौलाना अब्दुल खालीक रहेका छन्। महासचिवमा मोहम्मद मजीद मियाँ- सचिवमा अलिबाबु पौडेल र मोहम्मद तनवीर आलम, महिला संयोजकमा अमीना खान, अन्तर्राष्ट्रिय कोषाध्यक्षमा सोहैल अख्तर अन्सारी र सहकोषाध्यक्षमा रहमत हुसैन रहेका छन् । त्यसैगरी भेलाले करिम बक्स मियाँको संयोजकत्वमा सात सदस्सीय सल्लाहकार समिति चयन गरेको छ। सल्लाहकार समितिमा वरिष्ठ सल्लाहकार मोहम्मद हुसैन खान, सल्लाहकारहरुमा मोहम्मद अजीज अली, मोहम्मद याकुव राईन, मौलाना अयुब अली, र अब्दुल बासीद चयन भएका छन्।
गणतन्त्रमा तान्त्रिकलार्इ छुट ! किन राेकिएन बलात्कार र बोक्सी आरोपमा कुटार्इ
संझना पौडेल/ हे सरकार, अनि मानव अधिकारवादी संस्था हो ! यदि सक्छौं बोक्सिको आरोपमा एक किशोरीलाई जसरी लातै-लातले कोखामा र पेटमा हिर्काएको छ, त्यो भन्दा निर्मम सजाय तिनिहरुलाई दिलाउ, अब नेपालमा धरौटिमा र मिलेमतोमा छुटने परिपार्टि अन्त्य गर सरकार, अनि यस्ता पापीहरुको लागि जन्मकैदको फैसला सुना । नत्र हजारौं आमा दिदी बहिनिहरुले धिक्कार्ने छन् तिमिहरुलाई ! दुःखी एक गरीब परिवारकै युवति माथि यस्तो अन्याय र अत्याचार हुदाँ समेत स्मार्ट फोनबाट भिडियो खिच्नेहरुले के हेरेर बसेको होलान् ? अनि एनजिओ र आइएनजीओहरुले समाजमा परिवर्तन गर्ने भन्दै चर्का नारा दिनेहरु कहाँ गए ? भिडियो हेर्दा हरेक मानवको आँखाबाट आशु दर्कन्छ । त्यहाँ हेरेर बस्नेले के हेरे होलान् ? त्यो बिजोक हेरेर बस्नुको साट्टो घरमा गएको भएपनि हुन्थ्यो । पीडितको मनोवल उच्च राख्न राज्य तयार हुनुपर्दछ । हैन, यसलाई कडाई नगरी अब आउँने दिनमा यस्तै घटना दोहोरी रहने हो भने घर–घरबाट आक्रोशको ज्वाला निस्कने छ । त्यो ज्वालाले क-कसलाई भष्म गर्नेछ पत्तो छैन । मानिस सर्वाधिकार होइन, किनभने उ भन्दा माथी कानुन छ । कानुन सवैले पालना गर्नु पर्दछ । कोही कसैले कानुनलाई हातमा लिन खोज्यो भने त्यो अपराध हो । देशमा जसले जे गल्ति गर्दछ, त्यसले सोही अनुसारको सजाय भोग्नु पर्दछ । अब पनि अपराधीलाई राज्यले कानूनी कठघरामा उभ्याउन कडाईका साथ तत्परा नदेखाउने हो भने राज्यनै अपराधीको नियन्त्रणमा पुगेको ठानिनेछ । संझना पौडेल बोक्सिको आरोपमा निर्घात कुटपिट गर्ने जस्तो जघन्य अपराधका दोषीलाई किन सजायको अन्तिम बिन्दुसम्मै पुर्र्याउन सकिंदैन भन्ने प्रश्न उठेको छ । नारी सृष्टिकर्ता हुनु । तर त्यही नारीमाथि किन यस्तो अमानविय ब्यवहार गरिन्छ ? हजारौंको बलिदान र लाखौंको जीवन अङ्गभङ्ग गरी देशमा प्रजातन्त्र, लोकतन्त्र आयो । हुदाँहुदाँ जनताले चुनेका जनप्रतिनिधिको हातले लेखेको विश्वको सर्वोकृष्ट संघीय लोकतान्त्रिक गणतन्त्र संविधान आयो । के यो संविधानमा नारीको जीवनमा पुरुषले मोजमस्ती गर्न पाउने मौलिक अधिकारको प्रत्यभूति गरेको छ र ? देशमा शासन फेरिए, शासक फेरिएका छैनन् । त्यसैले एक्काईसौं शताब्दीमा आएर पनि नारीहरु पुरुषको दास बन्नु परेको छ । जसको एउटा ज्वलन्त उदाहरण हो, कैलालिको घटना । गरेको छैन भने, यो संविधानमा नारीको रगतमा होली खेल्नेलाई किन आजीवन जेल सजाए हुनेछ, भनेर लेखिएन । देशमा शासन फेरिए, शासक फेरिएका छैनन् । त्यसैले एक्काईसौं शताब्दीमा आएर पनि नारीहरु पुरुषको दास बन्नु परेको छ । जसको एउटा ज्वलन्त उदाहरण हो, कैलालिको घटना । एउटा अध्याँरो कुनामा बसोवास गरेको एक अनपढ पुरुषले यस्तो काम गरे पनि सहजै स्वीकार गर्न सकिन्थ्यो । तर त्यो पनि रहेन । नागरिकहरुको जीउधनको रक्षा गरी शान्ति सुरक्षाको प्रत्याभूति दिने । अपराधीलाई कानुनको भागेदारी बनाई सभ्य समाज निर्माणगरी राष्ट्र, राष्ट्रियता कायम राख्ने निकायका भनौदाहरुले समेत मिलोमतो गरेको भनेको सुन्दा पनि अब निमुखा र अशक्तले बाँच्न नपाउने होकि भन्ने डर भो । यो समाचारले सबैलाई आश्चर्य चकित बनाएको छ । यो एउटा घटना प्रतिनिधिमुलक घटना मात्र हो । हाम्रो समाजमा यस्ता घटनाहरु अनगिन्ती छन् । जो मनभरी गुम्सिएर रहेका छन् । ती सवै घटनाहरु एकदिन अवश्य बाहिर आउने छन् । कुरा यतिमात्र हो । हामीले समयलाई पर्खनु पर्दछ । तत्कालै बाहिर आएका घटनाले एउटा नारीले गरिवको कोखमा जन्मलिनु नै दोष हो र ? मानिस सचेत र सामाजिक प्राणी हो । पशुजस्तो गरी किन मोलमोलाई गरिन्छ ? यता–यस्तै अनेक घटना घटिरहेका छन् र घटिरहन्छन् हाम्रो समाजमा । अब यो रोकिनुपर्छ । देशमा परिवर्तन आएको छ । देशमा जनताले बनाएको संविधान छ । बोक्सिको आरोपमा निर्घात कुटपिट गर्ने जस्तो जघन्य अपराधका दोषीलाई किन सजायको अन्तिम बिन्दुसम्मै पुर्र्याउन सकिंदैन भन्ने प्रश्न उठेको छ । नारी सृष्टिकर्ता हुनु । तर त्यही नारीमाथि किन यस्तो अमानविय ब्यवहार गरिन्छ ? हिंसा गर्नेहरुलाई कानून अनुसार कारबाही गरी पीडितहरुको घाउँमा मलहमपट्टी लगाई उनीहरुलाई राज्यले दीर्घकालीन आधारभूत आवश्यताको ब्यवस्था गर्नुपर्दछ । पीडितको मनोवल उच्च राख्न राज्य तयार हुनुपर्दछ । हैन, यसलाई कडाई नगरी अब आउँने दिनमा यस्तै घटना दोहोरी रहने हो भने घर–घरबाट आक्रोशको ज्वाला निस्कने छ । त्यो ज्वालाले क-कसलाई भष्म गर्नेछ पत्तो छैन । त्यो ज्वाला मुलुकको वास्तविक क्रान्ति हुनेछ ।कमजोर कानुन र राजनीतिक आड भरोसामा अपराधबाट उन्मुक्ति पाइने गलत राजनीतिक परिपाटीले नै अपराध बढिरहेको छ । यसको अन्त्यका लागि उपयुक्त कानुन र त्यसको कडा कार्यान्वयन अपरिहार्य छ । आज हाम्रो देश कहाँ जादैछ ? यसको प्रमुख दोेषी को त सरकार ? कानुनी व्यबस्था वा समाज ? हाम्रो समाजले जघन्य अपराधमा संलग्न अपराधीहरुलाई किन सामाजिक बहिस्कार गर्न सकिरहेको छैन ? सरकार यति सच्चा कानुन बनाउनुछ भने अब बोक्सिको आरोपमा कुटपिट गर्ने बलत्कार गर्ने र हत्या गर्ने यी ३ वटा अपराधमा कोही अर्बौं डलर तिरेपनि नछुटने बनाउनु पर्छ । यस्तालाई निर्मम यातनाको बदला यातना दिई आजीवन कारावासको सजाय सुनाउ अनि मात्रै पीडितको घाउमा मलम लागेको आभाष हुनेछ । 84 पटक पढिएको
फागुन १५ गतेदेखि आरम्भ माइक्रोको आइपिओ बिक्रीमा आउने
काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाले फागुन १५ गतेदेखि आइपिओ बिक्री गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ दरको दुई करोड ९४ लाख रुपैयाँ बराबरको २ लाख ९४ हजार कित्ता आइपिओ निष्कासन गर्ने भएको हो । कम्पनीले निष्कासन गर्न लागेको २ लाख ९४ हजार कित्ता सेयरमध्ये ८ हजार ८२० कित्ता शेयर कर्मचारी र १४ हजार ७०० कित्ता म्युचुअल फन्डलाई छुट्याएर बाँकी २ लाख ७० हजार ४८० कित्ता सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो । उक्त आइपिओमा यही फागुन १५ गतेदेखि फागुन २१ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जनाएको छ । लगानीकर्ताले आस्वा सेवा प्रदायक बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् । कम्पनीले जारी पुँजीको ४९ प्रतिशत आइपिओ बिक्री गर्न लागेको हो । आइपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था छ । तर १० कित्ता सेयर नै गोलाप्रथाबाट वितरण हुने भएकाले ५० कित्ताभन्दा बढी आवेदन गर्नुपर्ने औचित्य देखिन्न । आइपिओ बिक्रीपछि आरम्भको चुक्ता पुँजी ६ करोड रुपैयाँ पुग्नेछ । आरम्भको केन्द्रीय कार्यालय सिन्धुपाल्चोक जिल्लामा रहेको छ। । नेपाल राष्ट्र बैंकबाट “घ“ वर्गको इजाजत प्राप्त संस्थाले नेपालका १५ पहाडी जिल्लामा वित्तीय सेवा प्रदान गर्दे आइरहेको छ। लघुवित्तका कम्पनीको गत कात्तिक १८ गते सम्पन्न तेस्रो बार्षिक साधारणसभाले साधारण सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो । मेरोलगानीबाट साभार
बिहीबार पनि सुनचाँदीको मूल्य घट्यो
काठमाडौं । बिहीबार सुनको मूल्यमा पाँच सय रुपैयाँले घटेको छ । बुधबार प्रतितोला ५७ हजार १ सय रुपैयाँमा कारोबार भएकोमा बिहीबार ५६ हजार ६ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै, बिहीबार चाँदीको मूल्य दश रुपैयाँले घटेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला ७ सय ४५ रुपैयाँ कारोबार भएको थियो भने बिहीबार ७ सय ३५ रुपैयाँमै कारोबार भएको छ ।
सुनचाँदीको मूल्यमा स्थिर
काठमाडौं । आइतबार सुनचाँदीको मूल्य स्थिर नै रहेको छ । आइतबार प्रतितोला ५७ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज सोमबार पनि यही मूल्यमै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै, चाँदीको मूल्य पनि स्थिर नै रहेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला ७ सय ४५ रुपैयाँ कारोबार भएको थियो भने आज सोमबार यही ७ सय ४५ रुपैयाँमा कारोबार भएको छ।
प्रदेश नम्बर १ मा प्रदेशसभा बैठकको भब्य तयारी: हतारमा हुँदैछ पूर्वाधार निर्माण
विराटनगर, माघ २१ । प्रदेश नम्बर १ को प्रदेशसभा बैठक माघ २२ गते बस्दैछ । प्रदेशसभाको पहिलो बैठक बस्ने सभा भवनको मर्मत गर्न चटारो छ । विराटनगरस्थित जिल्ला समन्वय कार्यालयको सभाभवनमा बैठक बस्ने भएकाले तीव्र गतिमा भवन तयार गरिँदैछ । भवनको रंगरोगनदेखि पूर्वाधार निर्माणका काम अन्तिम चरणमा पुगेको छ । विराटनगरस्थित जिल्ला समन्वय कार्यालयको सभा भवनमा प्रदेश नं. १ को प्रदेशसभाको पहिलो बैठक बस्ने भएकाले तीव्र गतिमा त्यसको मर्मतकार्य भइरहेको छ । रंगरोगनलगायतका काम सम्पन्न भएपछि कार्पेट बिछ्याउनुका साथै कुर्सी राख्ने लगायतका आवश्यक काम गरिने शहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरका इन्जिनियर विनोद सिंहले जानकारी दिए । सभा भवनको मञ्चमा सभामुख, संसद् सचिव र कार्य व्यवस्थाको कुर्सी राखिने निर्देशनअनुरुप व्यवस्था मिलाइएको उनले बताए । मञ्चको मुनी अघिल्लो पंक्तिमा उपसभामुख, उच्चपदाधिकारीका कुर्सी राखिनेछ । मञ्चबाहेक एकसय ४० वटा कुर्सीको व्यवस्था गरिएको छ । एकतर्फ सतापक्ष र अर्कोतर्फ प्रतिपक्षको कुर्सी राखिनेछ । प्रतिपक्षको पछाडिको भागमा सञ्चारकर्मीलगायतको कुर्सी राख्ने व्यवस्था मिलाइएको छ । ती कुर्सीमा सेतो रंगको भर र पिठँयूमा राख्ने क्याप आकासे रंगको हुनेछ । सभा भवनको मर्मतलगायत सम्पूर्ण कार्य अन्तिम चरणमा पुगेको मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य बताउँछन् । प्रदेश नं १ को अस्थायी मुकाम विराटनगर भएपछि प्रदेश प्रमुख, मुख्यमन्त्रीको कार्यालय, आवास, मन्त्रालय, सभा भवनलगायत मर्मतका साथै सम्पूर्ण व्यवस्थापनका लागि सात करोड ५० रुपैँया विनियोजन भएको शहरी विकास तथा भवन निर्माण कार्यालयका प्रमुख श्यामकिशोर सिंहले जानकारी गराए । उक्त रकमबाट सभाभवनको मर्मतका साथै यतिखेर मुख्यमन्त्रीको कार्यालय स्थापना हुने क्षेत्रीय कृषि निर्देशनालय र प्रदेश प्रमुखको कार्यालय स्थापना हुने क्षेत्रीय सिँचाइ निर्देशनालमा पनि मर्मत तथा रंगरोगनको काम शुरु भइसकेको छ । मन्त्रालय स्थापना हुने भनिएको खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयको भवन, सुनसरी-मोरङ सिँचाइ आयोजनाको भवन, जल उत्पन्न तथा प्रकोप नियन्त्रण कार्यालयको भवनमा पनि मर्मत कार्य तीव्र गतिमा भइरहेको छ । – इमेजखबरबाट
‘झरिसकेको जीवनलाई मैले थोपा थोपा गरी बटुलेँ’ – मनीषा कोइराला
पाँच वर्ष बितिसके । क्यान्सरपछिका यी वर्षहरूलाई फर्केर हेर्दा धेरै कुरा मनमा खेल्न थाल्छन् । क्यान्सरअघि जीवनप्रति मेरो दृष्टिकोण खासै उत्साहजनक थिएन । उदास फिक्का खैरो रंग जस्तो । म आफ्नो फिल्मी करिअरसँग विरक्त भइसकेकी थिएँ । आफ्ना सफलता, चमकधमक र पैसाले पनि मनको उत्साह बढाउन नसक्ने अवस्था थियो मेरो । निजी जीवनमा पनि केही सम्बन्धबाट गुज्रिसकेकी थिएँ । यो अर्थ नलागोस् कि म आफ्ना सफलता र सम्बन्धहरूलाई महत्वहीन ठान्थें । तर, बाहिरी सफलता र चमकधमकका माझ मेरो मनको एउटा कुना उदास रहन्थ्यो । मेरो छटपटाहटको कारण यही नै थियो भनेर ठ्याक्कै भन्न त सकिन्न । तर, सजिलै भन्न सकिन्छ- भित्र खुसी थिइनँ म । म एउटा खराब जीवनशैली बाँच्दै थिएँ । र, यस्तो बेलामा क्यान्सरले मलार्ई हान्यो, जब म मानसिक तवरले सबैभन्दा कमजोर थिएँ । म बाच्न चाहन्थेँ । म बाँच्नलाइ संघर्ष गर्न थालेँ । प्रार्थना गर्न थालेँ । सबैभन्दा राम्रो उपचार पाउने ठाउँमा पुर्याइए पनि अकल्पनीय पीडा भोगेँ मैले । त्यो पीडाको समुद्रमै डुब्छु कि जस्तो पनि नलागेको होइन । बाँच्छु भन्ने आशा नजागेको पनि होइन । मर्नु र बाँच्नुको दोसाँधमा समय बिताएँ । एक समय यस्तो आयो, जब म पूरै भत्किसकेकी थिएँ, भित्रबाटै । तर, बिस्तारै, स्थितिमा थोपाजत्रो परिवर्तन हँुदै गयो । मैले थोपा थोपा गरी आफ्नो झरिसकेको जीवनलाई बटुलेँ । अप्रेसनपछि म एकैपल्ट दौडेर पहिलाजस्तो हुन चाहन्थेँ । नसकिने रहेछ । त्यसपछि मैले दौडने बाटो छोडेँ । बिस्तारै घस्रने बाटो रोजेँ । सुरुमा म १० पाइला हिडेँ । त्यसपछि सय पाइला । यस्तै गरी गरी म दिनको दुई माइल हिँड्न सक्ने भएँ । समय लाग्यो । तर, मैले हार मानिनँ । बिस्तारै म सपना देख्न थाले । जीवनले दोस्रो मौका दियो भने कसरी बाँच्ने ? यस्तो सपना देख्न थालेँ । उपचारको सुरुवाती अवस्थामा छँदा मसँग खाना खाने शक्ति पनि थिएन । त्यति कमजोर थिएँ । भाइले मलार्ई एउटा उसिनेको अन्डा खुवाउन गर्नुपर्ने मिहिनेत म अझै झलझली सम्झन्छु । आफ्नो जवान छोरीलाई यो अवस्थामा देख्दा मेरा पिता र मातालाई परेको पीडा मेरो अनुमानभन्दा बाहिरको कुरा हो । मलार्ई लाग्छ, त्यसबखत मेरो अवस्थाले उहाँहरूलाई भित्रैबाट भत्काइसकेको होला । तर, यसबारे उहाँहरूले कहिलै कुरा गर्नुभएन । आमा मेरा लागि पोसिलो खाना बनाउनुहुन्थ्यो । चिनेका नचिनेका सबैलाई सोधेर उहाँले मलार्ई चाहिने पोसिलो खाना खुवाउनुभयो । मेरो उपचारले मभित्र रहेको क्यान्सरलाई मार्यो । तर, उपचारले क्यान्सरलाई मात्र मारेन । मेरो शरीरको प्रतिरोधात्मक शक्तिलाई समेत मार्यो । त्यो मेरो लागि भयकारी थियो । क्यान्सरको उपचारले रोगलाई मात्र मार्दैन, कुनै पनि कुरा जो छिटो बढ्छ, त्यसलाई पनि नष्ट गरिदिन्छ । मेरो कपाल, मेरा आँखीभौँ सबै नष्ट भए । अन्ततः एक लामो संघर्षपछि जब म क्यान्सरबाट पूर्णतः मुक्त भएँ, मैले आफूलाई सकारात्मक दृष्टिकोणबाट बाँधेर राखेँ । म जीवनलाई सकारात्मक आँखाबाट हेर्न थालें । दुई कुरामा म आफूलाइ धेरै भाग्यमानी मान्छु । मैले मद्दत माग्न सिकेँ । लिसा रेले भनिन्, ‘मनीषा, मद्दत माग । मान्छे छन् । मद्दत गर्छन् ।’ जब मैले मद्दत मागे, दयालु मानिस आए । कुनै दिन म ती मानिसहरूको नाम भन्नेछु, जसले आ-आफ्नो तरिकाबाट मलार्ई मद्दत गरे । मान्छेभित्र दयाको यो भावना देख्ने मौका मलाई क्यान्सरले दियो । मैले लुइस हेको ‘यु क्यान हिल योर लाइफ’ पढेको थिए । त्यसमा उनी लेख्छिन्, ‘पाठेघरले सिर्जनात्मकतालाई प्रतिनिधित्व गर्छ । यदि पाठेघरमा कुनै रोग छ भने जीवनमा सिर्जनात्मकताका अन्य गतिविधि अपनाऊ’ । म एउटा कलाकार हुँ । मलाई थाहा थियो सिर्जनात्मक हुनु मेरो जीवन तत्व हो । तर, पाठेघरको क्यान्सर भएपछि थाहा पाएँ, अब मेरो जीवन नै त्यसैमा निर्भर हुनेछ । त्यसपछि मैले जे सक्छु, त्यही गर्न थालेँ । मैले पेन्टिङ गर्न थालेँ । घर सजाउन थालेँ । बगैंचा गोड्न थालेँ । यी कामले मेरो निको हुने प्रक्रिया छिटो भयो। नियमित व्यायामबाट शरीर र मनलाई स्वस्थ राख्न जरुरी छ । क्यान्सर बिरामीका लागि त झनै । म हिँड्न थाले । खानपान, व्यायाम, योग, प्राणायाम अपनाएँ । आठ घन्टा नियमित सुत्नु राम्रो हुन्छ । आफूलाई भावनात्मक रूपमा सही राख्न पनि ज्यादै जरुरी छ । मैले त्यो सबै अभ्यास गरेँ । आज कुनै पनि कुराले म धेरैबेर डिस्टर्ब हुन्नँ । तिनको प्रभाव आफ्नो सोचाइमा पर्न दिन्नँ । आखिर म पनि मानिसै हुँ । कहिलेकाहीँ उदास हुन्छु । रिसाउँछु । रुन्छु । वा नकारात्मक प्रतिक्रिया देखाउँछु । तर यी सब भावनालाई आफूसित धेरैबेर बाँधेर राख्दिनँ । यी आउँछन्, अनि जान्छन् । मसित बस्दैनन् । यो मेरो आध्यात्मिक साधना पनि हो । उदासीलाई आफूसँग टाँसिइरहन नदिने साधना । कुनै पनि पीडादायक सोचलाई आफूसँग झुन्डिन नदिने साधना । पीडा आउँछ । म त्यसप्रति सचेत हुन्छु । जब म सचेत हुन्छु, त्यो धेरैबेर टिक्नै सक्दैन । अध्यात्मको शक्ति मैले अनुमान गरेभन्दा धेरै रहेछ । क्यान्सर कति दुःखदायी छ, मैले भोगेको कुरा हो । यसको उपचार गर्न सकिन्छ, त्यो पनि मैले भोगेको कुरा हो । क्यान्सरमुक्त भइसकेपछि त्यसका केही असर बाँकी रहन्छन्, मलाई थाह छ । तर, कुरा त्यतिमा सीमित छैन । क्यान्सरले मेरो जीवनमा कतिपय सकारात्मक बद्लाव पनि ल्याएको छ, जो सायद कहिल्यै आउने थिएनन् मेरो जीवनमा । म जीवनको महत्व धेरै बढ्ता महसुस गर्न थालेकी छु । क्यान्सर लाग्नुअघि, म जीवनलाई बाँचिरहेकी मात्र हुन्थे, आजभोलि मैले जिउन सिकेकी छु । बाँच्नु र जिउनुबीच ठूलो अन्तर छ । क्यान्सरले मलाई सिकाएको छ, हाम्रो वरिपरिका घटना र वातावरणले हामीलाई जतिसुकै असर गरिरहेको भएता पनि, सुरुवातचाहिँ क्यान्सर बिरामीले आफैंबाट गर्नुपर्छ । आफ्नै प्राथमिकताबाट गर्नुपर्छ । सबैभन्दा पहिला मैले आफ्नो हेरचार आफैं गर्नुपर्छ । मैले आफूलाइ आफैं माया गर्नुपर्छ । आफ्ना निम्ति म आफैं जिम्मेवार हुनुपर्छ । आफूलाई पहिला राख्नुपर्छ भनिरहँदा यो नठानियोस् कि यो एक्लै आफ्नो निम्ति मात्र बाँच्ने सोचाइ हो । आफ्नो निम्ति आफैं जिम्मेवार हुनुपर्छ । तर, साथै यो बोध पनि अनिवार्य छ, हामी सबै संसारमा कुनै न कुनै प्रकारले एकआपसमा जोडिएका छौं । एक्लै कोही छैनौं । एकअर्कामा पारस्परिक निर्भरता छ । जब म कुनै उदास मुहार देख्छु, उसको पीडा महसुस गर्ने कोसिस गर्छु । उसको निम्ति कुनै तरिकाले सहयोगी हुन सके मलाई खुसी लाग्छ । कुनै दिन मलाई कसैले सहयोग गरेका थिए, आज म कसैलाई सहयोग गर्न सके आफूलाई सार्थक महसुस गर्छु । आजभोलि म कुनै पनि कुराप्रति झ्वाट्टै प्रतिक्रिया व्यक्त गर्दिनँ, जसरी क्यान्सर लाग्नुअघि गर्थें । यो रोगले मलाई दुःख मात्र दिएको छैन, धेरै कुरा सिकाएको पनि छ । क्यान्सरको उपचार गराइरहेका मेरा साथीहरू वा भर्खरै आफ्नो शरीरमा क्यान्सर छ भन्ने सूचना पाएका साथीहरूलाई भन्न चाहन्छु, हाम्रो निम्ति जीवन सकिएको छैन । हामीले जीवनलाई अलि फरक दृष्टि राखेर हेर्नुपर्ने नयाँ स्थिति उत्पन्न भएको छ । हरेक मान्छेका निम्ति जीवन एक ठूलो अवसर हो । तर, जीवन जस्तोसुकै भए पनि एक दिन यो समाप्त हुनेछ । ढिलो वा चाँडो । क्यान्सर लागेर वा नलागेर । समाप्त अवश्य हुनेछ । त्यसैले मृत्युको भयलाई सकेसम्म टाढा राख्नुपर्छ । मलाई थाहा छ, यो लेख्न सजिलो छ, भन्न सजिलो तर गर्न गाह्रो छ । तर, मलाई यो पनि थाहा छ, हामीले कोसिस गरे, मनोभावलाई सकारात्मक राखे भयलाई टाढा राखेर पनि बाँच्न सकिन्छ । कोसिस गर्न त पक्कै सकिन्छ । हमेसा नसकिएला, तर सकिन्छ । रोग हाम्रो हातमा छैन तर रोगप्रति हामीले कसरी आफ्नो प्रतिक्रिया जनाउने भन्ने कुराचाहिँ हाम्रै हातमा छ । हामी आफ्नो ध्यान र कर्म सकारात्मक कुराहरूपट्टि लगाउन सक्छौं । मैले त्यसै गरें । सकारात्मक सोचमा हामीले अनुमान गरेभन्दा धेरै शक्ति छ । मैले जीवनका स-साना कुराहरूबाट खुसी लिन सिकेँ । मेरो जीवनमा त्यस्ता उपलब्धिको कमी छैन, जसलाई मान्छेहरू ठूला उपलब्धि भन्छन् । आज जोखेर हेर्ने हो भने, म भन्न सक्दिनँ, तराजु कतापट्टि भारी हुनेछ भनेर । क्यान्सर मेरो यस्तो शिक्षक बन्यो, जसबाट मैले जीवनका पाठहरू सिकें । मेरो भौतिक शरीर, मेरो मानसिक शरीर र मेरो भावनात्मक शरीर, तीनै थरीको मद्दतले म क्यान्सर रोगबाट मुक्त भएँ । आजकाल म क्यान्सर रोगबारे सचेतना अभियानहरूमा संलग्न छु । सबैलाई भन्न चाहन्छु कि उपचारभन्दा रोकथाम निको हो । बेलैमा परीक्षण गराए क्यान्सरबाट बच्न सजिलो हुन्छ । पाठेघरको क्यान्सर विषयमा सचेतना मात्र भए, धेरै कुरा नियन्त्रण हुन सक्छ । म आफ्नो जीवनप्रति धेरै अनुग्रहित छु । मेरो जीवनले मलाई आकाश छुने शिखर र अध्यारा खाडलहरू, दलदलहरू देखायो । मलाई सम्मान र अपमान दुवै यथेष्ठ दियो । म आफ्नो जीवनलाई समग्रमा अँगालो मार्न चाहन्छु । म मेरा सफलता र असफलता दुवैलाई अँगालो मार्न चाहन्छु । दुवैप्रति म कृतज्ञ छु । मलाई लाग्छ मैले जीवनमा शिखरमा हुँदा जति सिकें, खाल्डोमा भासिँदा त्योभन्दा धेरै सिकें । म आफ्नो परिवार, साथीहरू, शुभेच्छुकहरूप्रति कृतज्ञ छु, जो मैले जीवन गुमाउन लाग्दा मेरो साथ खडा रहे, जसले मेरो जीवन फर्काउन मलाई साथ दिए । क्यान्सरपछिको, मेरो जीवन तपाईंहरूको उदारताको परिणाम हो । क्यान्सर रोगबारे सचेतना जगाउने अभियानहरूमा मेरो साथ रहने छ । म सबैप्रति आभारी छु । क्यान्सरप्रति पनि, जो मेरो जीवनमा एक कठोर शिक्षक भएर आयो । केही पाठ सिकायो । र, गयो । आखिर जीवन पनि त्यही होइन र ? त्यो आउँछ अनि जान्छ । तर, त्यसलाई सकारात्मक आँखा राखेर हेर्न सके धेरै फरक पर्छ । अन्नपूर्णमा खबर छ ।
नेतृत्वमा कुरा मिल्यो, प्रचण्ड कार्यकारी अधिकार सहित कार्यवाहक अध्यक्ष बन्ने
काठमाडौं, माघ ७ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत पार्टीको नीति, नेतृत्व र दुवै पार्टीका नेताहरूको व्यवस्थापनमा केन्द्रित ‘निर्णायक छलफल’ गरेका छन् । ओलीनिवास बालकोटमा शनिबार भएको छलफलका आधारमा आइतबार बस्ने एकता संयोजन समिति बैठकबाट पार्टी एकतालाई पूर्णता दिन दुई छुट्टाछुट्टै कार्यदल गठन गर्ने समझदारी भएको छ । एकीकृत पार्टीको समाजवादउन्मुख कार्यदिशा हुने समझदारीअनुसार एकता संयोजन समिति बैठकबाट दुवै पार्टीका नेताहरू रहेको कार्यदल बन्नेछ । सैद्धान्तिक–वैचारिक पक्ष मिलाएर भावी कार्यदिशा बनाउने कार्यदल र केन्द्रीय नेतृत्वसहित तल्लो तहसम्मको एकताका लागि संगठनात्मक ढाँचा मिलाउन सुझाब दिने कार्यदल बनाउने तयारी छ । ओलीका प्रेस संयोजक चेतन अधिकारीले दुई अध्यक्षबीच एकतालाई पूर्णता दिने गरी एकता संयोजन समितिमा एजेन्डा प्रस्ताव गर्ने समझदारी भएको बताए । गत २५ पुसमा बसेको संयोजन समितिको बैठकमा ओली थाइल्यान्डबाट फर्किएलगत्तै कार्यदल बनाएर एकता प्रक्रियालाई तीव्रता दिने निर्णय भएको थियो । कार्यदलअघि दुवै पार्टीका अध्यक्षलाई निर्णायक छलफल गर्ने ‘म्यान्डेट’ बैठकले दिएको थियो । नेतृत्वको दुई मोडालिटीमा निर्णायक छलफल नेतृत्वबारे तीनभन्दा बढी मोडालिटीमा छलफल हुँदै आए पनि शुक्रबार र शनिबार ओली र प्रचण्डबीच दुवै अध्यक्ष रहने कि एक अध्यक्ष र अर्को सहअध्यक्ष रहेर एकीकृत पार्टीको मूल नेतृत्व टुंग्याउने विषयमा केन्द्रित रहेर छलफल भएको छ । दुवै अध्यक्ष रहँदा सरकारको नेतृत्व गर्ने भएकाले एउटा सेरेमोनियल भूमिकामा रहने र अर्कोले पार्टी सञ्चालन गर्नेबारे छलफल भएको छ । अर्को मोडालिटीअनुसार कार्यकारी अधिकारसहित प्रचण्ड कार्यवाहक अध्यक्ष बन्ने भन्नेमै केन्द्रित रहेर छलफल चलेको उच्च स्रोतले जनाएको छ । तर, प्रचण्डनिकट स्रोतले भने दुई नेताबीच एउटाले सरकारको नेतृत्व गरे अर्कोले पार्टीको नेतृत्व गर्ने गरी करिब–करिब समझदारी भइसकेको दाबी गरेको छ । दुवै मोडालिटीमध्ये जुनसुकैमा सहमति भए पनि अहिलेका एमालेका पदाधिकारीहरू कायम रहने र माओवादीका केही नेतालाई उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवको जिम्मेवारी दिने गरी छलफल केन्द्रित भएको छ । यसो गर्दा माओवादी केन्द्रका पाँचदेखि सातजना नेता पदाधिकारी बन्नेछन् । यो मोडालिटीमा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल अहिलेकै मर्यादाक्रममा रहनेछन् भने माओवादी केन्द्रबाट एकजना वरिष्ठ नेता थपिन सक्नेछ । त्यस्तै, एमालेको २०६ सदस्यीय केन्द्रीय कमिटीमा माओवादी केन्द्रबाट ८२ तथा पार्टी एकतामा संलग्न विभिन्न नेता र आवश्यक अन्य नेताहरूसमेत थपेर तीन सयदेखि बढीमा ३२५ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने गरी गृहकार्य भइरहेको स्रोतले जनाएको छ । सैद्धान्तिक र सांगठनिक कार्यदल बन्ने दुई नेताबीच पार्टी एकता संयोजन समितिको बैठकबाट एकताको साझा दस्ताबेज तयार गर्ने सैद्धान्तिक–वैचारिक कार्यदललाई तोकेरै कार्यादेश दिने समझदारी भएको छ । ‘यो कार्यदलले कम्युनिस्ट आन्दोलनबारे दुवै धारले हेर्ने दृष्टिकोणको अहिलेसम्मको समीक्षा, जबज र एक्काइसौँ शताब्दीको जनवादका समानता र उपलब्धि तथा भावी कार्यदिशाका विषयमा एकता संयोजन समितिलाई सुझाब दिनेछ,’ प्रचण्डनिकट स्रोतले भन्यो । त्यस्तै, संगठनात्मक एकतासम्बन्धी कार्यदललाई दुवै पार्टीको संगठनात्मक प्रणाली, अन्तरिम विधान, तलसम्मका पार्टी कमिटी र जनसंगठनहरूबीचको एकता कसरी गर्ने विषयमा नीतिगत सुझाब दिन पाउने कार्यादेश दिने तयारी छ । दुवै कार्यदलले दिएको सुझाबलाई एकता संयोजन समितिले पारित गरेपछि एकताको मिति टुंगो लाग्ने नेताहरूको भनाइ छ । -नयाँ पत्रिकाबाट पार्टी एकता सम्बन्धमा सैद्धान्तिक र वैचारिक र संगठनात्मक ढाँचाका बारेमा पनि उनीहरुबीच छलफल भएको हो । दुई नेता सहित अाज दिउँसो ३ बजे एकता संयोजन समितिको बैठक बस्ने निधो भएको छ ।
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु
सल्यान । सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा एकजना कर्मचारीको मृत्यु भएको छ । मंगलबार राति रा ४ प २०१२ नंको मोटरसाइकल बागचौर नजिकै दुर्घटना हुँदा पशु सेवा कार्यालय बागचौरमा कार्यरत ५४ वर्षीय पूर्णबहादुर डाँगीको घटनास्थलमै मृत्यु भएको हो । मंगलबार बेलुकी कार्यालय समय सकेर घर फर्कने क्रममा बागचौर पातीहाल्न सडकखण्डको शारदा नदीनजिकै मोटरसाइकल दुर्घटना हुँदा डाँगीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय थारमारेले जनाएको छ । हिजो राति घर नपुगेपछि बिहान खोजी गर्दा डाँगीको शव फेला परेको प्रहरीले जनाएको छ । डाँगी सवार मोटरसाइकल सडकदेखि २० मिटर तल खोल्सोमा खसेको थियो ।