मधेसमा नयाँ स्वरुपको द्वन्द्ध बढ्ने खतरा

रघुनाथ बजगाँर्इ

काठमाडौं । चासोका साथ हेरिएको स्थानीय तहको दोस्रो चरणको मधेसको चुनावमा सहभागिताको बिषयलाई लिएर मधेस केन्द्रित दलहरु नै विभाजित भएका छन् । एउटै मोर्चामा रहेका दलहरुमध्य एउटा पक्ष चुनावी प्रचारमा र अर्को पक्ष कसरी रोक्ने भन्नेमा ब्यस्त देखिन्छन् ।  अहिलेसम्म काठमाडौं र मधेसको विवाद भन्ने गरिएकोमा यसलाई चिर्ने गरि तराई-मधेसमा निर्वाचन पक्षधर र निर्वाचन विरोधी दुईथरी धार देखा परेको छ ।

संघीय समाजवादी फोरम नेपाल र लोकतान्त्रिक फोरम चुनावको प्रचारमा छन् । दुबै दल राजपा अहिलेको चुनावमा सहभागी नभए आफ्नो उपस्थिति बलियो हुने गरि लविङ्मा छन् । यो आरोप स्वमं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव संयोजक रहेको मधेसी मोर्चाका अन्य घटकहरुले लगाईरहेका छन् । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महत्तोले भने ‘मोर्चाकै नेतृत्वबाट धोका भयो । हामीलाई चुनावमा नजाने भन्दै आफूहरु चाहीँ पहिलो चरणको चुनावमा सहभागी भए, अहिले हाम्रा विरुद्ध भ्रम फैलाईँदैछ । ’
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नयाँ शक्तिसंग मिलेर पहिलो चरणको चुनावमा सहभागी भएको थियो । दोस्रो चरणको चुनावमा मधेसमा ठुला दलहरुलाई टक्कर दिनेगरी उसको तयारी तिव्र छ । अध्यक्ष यादवको तर्क छ ‘ प्रधानमन्त्रीको निर्वाचन हुँदा लर्को लागेर भोट हाल्न आउने, ति त मधेसी अनुहार थिएनन । स्थानीय चुनावमा मधेसकै अनुहार हुन्छ अनि किँन भोट नहाल भन्ने ? ’ विजय कुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम पनि अधिकांस तहमा उम्मेदवार छनौट गरि चुनावी प्रचारमै छ । उ पहिले देखि नै चुनावकै पक्षमा छ ।

अब ‘राजपा निर्वाचनमा सहभागी नहुँदा मधेसभित्रको धु्रवीकरण नयाँ ढङ्गले अघि बढ्ने आंकलन हुन थालेका छन । चुनावमा नजाने भनेको स्थानीय तहको नेतृत्वबाट पाँच वर्षसम्म पूर्ण रुपमा अलग्गिनु हो । स्थानीय तहमा भूमिकाविहीन भएको दल प्रादेशिक र संघीय निर्वाचनमा सहभागी हुने सम्भावना पनि कम हुन्छ । यसैले राजनीतिमा आफ्नो सान्दर्भिकता बचाइराख्न राजपाले तनाव चर्काउन सक्छ । यहि ओकलीरहेका छन् राजपाका नेताहरु पनि, सत्तागठबन्धन संगको छलफलपछि  राजपाका अध्यक्ष मण्डलका सदस्य शरदशिंह भण्डारी भन्दै थिए ‘चुनावमा जाने वातावरण भएन भने हामी भजन गाएर त बस्दैनौँ । स्वभाविक रुपमा जनतालाई आफ्ना बिषय राख्नुपर्छ । त्यसबेला अर्को मोड नलेला भन्न सकिन्न । ’  यहि रणनितिले राजपालाई दिर्घकालिन बेफाईदा हुने विश्लेषण पनि गरिएका छन् । जनप्रतिनिधिका रूपमा निर्वाचित भएर आफ्नो भूमिका बढाउन चाहने नेताहरु अन्य दलमा प्रवेश गर्दा राजपाको शक्तिमा क्षय हुनेछ । त्यो दृष्य मधेसमा अहिले देखिएकै छ ।

मधेसी जनताको चाहना शान्ति र स्थिरता हो । मधेसमा देखिएको दुबै धार मतदाता आफ्नो पक्षमा भएको दावी गरिरहँदा अन्य दलले फाईदा उठाउने मौका पनि पाउँछन् । ‘ जनताको कसको पक्ष वा विपक्षमा छन् काठमाडोँ बसेर थाहा हुन्छ ?  राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महत्तोले भने सरकारले चाह्यो भने सहज रुपमै चुनावी वातावरण बन्छ । हामी चुनाव विरोधी होईनौँ । ’

चुनावबारे कैलालीका राजनीतिक दलहरुको मिश्रीत प्रतिक्रिया

लोकेश धामी ,कैलाली, वैशाख १३ । प्रदेश नम्बर सात सहित ४ वटा प्रदेशमा स्थानीय तहको चुनाव सार्ने सत्तारुढ दल र मधेसी दलहरुबीच भएको सहमतिप्रति केही दलले विरोध जनाए पनि केहिले भने चुनावी गतिविधि बढाउन समय पाएको प्रतिक्रिया दिएका छन् । चुनाव सार्ने निर्णयले मधेसी मोर्चा पनि चुनावमा आएको र यसले स्थानीय तहको चुनावमा सबैको सहभागिता हुने र शान्तिपूर्ण हुने देखिएको यहाँका कतिपय नेताहरुले बताएका छन् । सबैलाई मिलाएर चुनाव दुई चरणमा गर्नु सकारात्मक भएको नेपाली काँग्रेस कैलालीका सचिव पुर्ण कँवुरले बताए । उनले सबैलाई मिलाएर लैजाने गरि भएको निर्णय स्वागतयोग्य रहेको उल्लेख गर्दै चुनाव केही दिन पर सरेपछि प्रचारप्रसारका लागि दलहरुलाई प्रर्याप्त समय मिलेको प्रतिकृया दिए । उनले राजनैतिक दलले जनताको घरदैलोसम्म जाने समय पाएको भए पनि जनतामा भने चुनाव नहुने हो की होईन भन्ने आशंका छाएको बताए । सरकारले चुनावको मिति सारेपछि जनताहरुमा चुनाव हुने÷नहुने भन्ने आशंका पैदा गराएको नेकपा एमालेका जिल्ला सचिव रणबहादुर चन्दले बताए । सत्ताको खेलका कारण चुनाव सारिएको भन्दै उनले चुनाव हुन नदिने खेल हो की भन्ने आशंका पैदा भएको उनको भनाई छ । उनले उम्मेदवारहरुलाई चाँही जनताको घरदैलोसम्म पुग्न प्रर्याप्त समय मिलेको बताए । नेकपा मोओवादी केन्द्रका केन्दिय सम्मेलन आयोजक समिति सदस्य रमेश धामीले सरकारले चुनावको मिति सारेर दलहरुलाई फाईदा नै भएको बताउँदै समय प्रशस्त मिलेका कारण चुनाव गतिविधि बढी भन्दा बढी गर्न समय मिलेको प्रतिकृया दिए । स्थानिय तहको पहिलो चरणको निर्वाचन बैशाख ३१ गते क्षेत्र नम्बर ३, ४, ६ तथा दोस्रो चरणमा जेठ ३१ गते १, २, ५ र ७ नम्बर प्रदेशमा गर्ने निर्णय सरकारले गरेको छ । दोस्रो चरणमा निर्वाचन गर्ने प्रदेशहरु जेष्ठ ५ गतेसम्मका लागि निर्वाचन गतिविधि रोकिएको क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका प्रमुख मोहन प्रसाद अर्यालले बताए । उनले सबै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय रहने भए पनि निर्वाचन गतिविधि जेठ ५ गतेपछि मात्रै सुचारु गरिने जानकारी दिए ।  

आफ्नै प्रेमकथामा अभिनय गर्दै उमेश र कविता

वैशाख १ । निर्देशक मिलन चाम्सले चलचित्र ‘बोबी’ घोषणा गरेका छन् । वास्तविक कथामा आधारित भइ बन्न लागेको यस चलचित्रका बारेमा पत्रकार सम्मेलन गरी निर्माण पक्षले जनाएको छ । हालै मात्र दुई चलचित्र ‘ह्याप्पी डेज’ र ‘ब्लाइन्ड रक्स’को छायांकन सकेका चाम्सले ‘वीर बिक्रम २’को पनि घोषणा गरेका थिए । ‘वीर बिक्रम २’ घोषणाको केहि दिनमा नर्वे लगायतका देशहरु तथा नेपालमा छायांकन हुने चलचित्र ‘बोबी’ घोषणा गरेका हुन् । यो चलचित्रलाई चाम्स इन्टरटेन्मेन्ट र लण्डन सिने आईले निर्माण गर्नेछ । यि दुवै संस्था निर्देशक चाम्सका नै हुन् । हालै उनले बेलायतको सेरोफेरोमा काम गर्नेगरी लण्डन सिने आई प्रोडक्शन शुरु गरेका हुन् । ‘बोबी’ नर्वेमा बस्दै आएको जोडीको वास्तविक कथामा बन्न लागेको हो । उमेश थापा र कविता गुरुङलाई निर्देशक चाम्सले भेटेर उनीहरुको वास्तविक कथा सुनेपछी त्यसैमा अाधारित भइ फिल्म बनाउने लागेकाे उनले बताए । चलचित्रमा उमेश र कविता नै प्रमूख कलाकार रहनेछन् । उमेश नर्वेका एक सफल इन्जिनियर हुन् । फिल्ममा उमेश र कविताको साथमा पाइलट विजय लामाको पनी अभिनय रहनेछ । नर्वे र नेपालको विभिन्न ठाउँहरुमा चलचित्रको छायांकन गरिने बताइएको छ । आगामी जुनबाट चलचित्रको छायांकन सुरु हुनेछ ।

कृषकलाई नि:शुल्क मोवाइल र सिमकार्ड वितरण

काभ्रे – कृषि तथा पशुपालनसम्बन्धी सूचना किसानको हात हातमा पुर्याउन ४३ कृषकलाई नि:शुल्क मोवाइल र सिमकार्ड वितरण गरिएको छ । खबर आजको कान्तिपुरमा  प्रकाशित समाचार अनुसार,  कृषि विकास मन्त्रालयको जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाअन्तर्गत २६ कृषक र १७ पशुपालक किसानलाई सिमसहितको मोबाइल वितरण गरिएको हो । कृषि व्यवस्थापन सूचना प्रणाली अन्तर्गत एन्रोएड फोनमा रहने हाम्रो कृषि एपमार्फत विभिन्न बाली, मौसम, रोग किरा, प्रविधिबारे जानकारी दिइन्छ । कृषकले राखेको जिज्ञासाको समधान पनि एपमार्फत गरिने व्यवस्था मिलाईएको बाली विकास अधिकृत थर्कबहादुर जीसीले जानकारी दिए ।

४४ लाखकाे लागतमा खानेपानीको ट्याङ्की निर्माण

गौशाला, चैत १९ । खानेपानी समस्या न्यूनिकरणका लागि बर्दिवास नगरपालिका–९ स्थित पशुपतिनगरमा रु. ४४ लाखको लागतमा खानीपानी ट्याङ्की निर्माण भइरहेको छ । जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय महोत्तरीको रु ४४ लाखको लागतमा स्थानीयलाई वर्षैभरी खान पुग्ने गरी खानेपानी ट्याङ्की बन्न लागेको सो कार्यालयका प्रमुख इन्जिनियर देवेन्द्र झाले बताउनुभयो । यसअघि त्यहाँ खानेपानीका लागि रु १७ लाखको लागतमा डिप बोर्डिंग जडान गरिसकेको र अब ओभर ट्याङ्की निर्माण कार्यको पनि शुभारम्भ भएको उहाँले जानकारी दिनुभयो । अबको एक डेढ वर्षभित्रमा यहाँ बसोबास गर्ने सबैको घर घरमा धारा जडान गराएर सहजरुपमा खानेपानीको आपूर्ति गर्ने योजना रहेको र सोहीअनुरुप ओभर ट्याङ्की निर्माण कार्य तीव्रगतिमा भइरहेको प्रमुख इन्जिनियर झाले बताउनुभयो । उहाँले खानेपानीको चर्को अभाव देखिएपछि अहिले डिप बोर्डिंगबाट सोझै मोटर जडान गरेर सबैलाई पानी खाने व्यवस्था मिलाएको पनि बताउनुभयो ।

सहिद गौतमको स्मृतिमा आनन्द बजारमा सालिक निर्माण हुने

कञ्चनपुर,  चैत  १६। राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरले पुनर्वास नगरपालिकाको आनन्द बजारमा नेपाली भूमि रक्षामा लागिपर्दा भारतीय एसएसबीको गोली लागी ज्यान गुमाएका सहीद गोविन्द गौतमको सालिक निर्माण गर्ने भएको छ । राप्रपा पुनर्वास नगर कमिटीको पहलमा सहीद गौतमको उच्चसम्मान गर्दै सालिक बनाउने निर्णय गरेको हो । राप्रपाले पुनर्वास नगरपालिकाले उपलब्ध गराएको स्थानमा सालिक निर्माण गर्ने छ । राप्रपाका जिल्ला अध्यक्ष पूर्णबहादुर चन्दले सहिद गौतमको सम्मानका साथ सालिक निर्माण गरिने बताउनुभयो । “राष्ट्रियतालाई पार्टीले मुख्य आदर्शका रुपमा लिएकाले सहादत प्राप्त गर्ने गौतमको स्मृतिमा पार्टीले आफ्नै लगानीमा सालिक निर्माण गर्ने निर्णय गरेको छ”, उहाँले भन्नुभयो । रासस

एकैसाथ पाँचवटा गैँडा शुक्लाफाँटामा स्थानान्तरण

चितवन, चैत १४ । चितवन राष्ट्रिय निकुञ्जबाट दुर्लभ एकसिङ्गे गैँडा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा लैजाने र शुक्लाफाँटाबाट बाह्रसिङ्गे चितवन राष्ट्रिय निकुञ्जमा ल्याउने कार्य एकैसाथ गरिने भएको छ । यही चैत २१ गतेबाट गैँडा स्थानान्तरण थालिने छ । एक भाले र चारवटा पोथी गरी पाँचवटा गैँडा शुक्लाफाँटामा स्थानान्तरण गर्न लागिएको हो । त्यस सँगसँगै सोही प्राविधिक टोलीले पाँचवटाकै हाराहारीमा शुक्लाफाँटाबाट बाह्रसिङ्गे यहाँ ल्याउन लागिएको छ । चितवनबाट शुक्लाफाँटामा गैँडा स्थानान्तरण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार गैँडा लिएर जाने टोलीले बाह्रसिङ्गे लिएर फर्कने तयारी गरिएको छ । गैँडालाई शुक्लाफाँटा पु¥याउन प्राविधिक, सेनालगायतको एक सयजनाको टास्क फोर्स टिम बनाइएको छ । गैँडाको राम्रो वासस्थान रहेको सुकिभार, बुढी राप्ती र नमुना सामुदायिक वन क्षेत्रबाट शुक्लाफाँटाका लागि गैँडा लगिने प्रमुख संरक्षण अधिकृत कँडेलले जानकारी दिनुभयो । शुक्लाफाँटामा हाल नौवटा गैँडा रहेका छन् । यसअघि सन् २००० मा चारवटा गैँडा चितवन राष्ट्रिय निकुञ्जबाट शुक्लाफाँटा लगिएको थियो । चितवनबाट लगिएपछि शुक्लाफाँटामा गैँडाको सङ्ख्या १४ पुग्नेछ । शुक्लाफाँटामा गैँडाका लागि चाहिने वासस्थान राम्रो रहेकाले स्थानान्तरण गर्न लागिएको निकुञ्जले जनाएको छ । सरकारले शुक्लाफाँटामा पाँच र बर्दिया राष्ट्रिय निकुञ्जमा २५ गरी ३० वटा गैँडा चितवनबाट स्थानान्तरण गर्ने निर्णय गरेको थियो । यही निर्णयअनुरुप गतवर्षको फागुन १८ गते चितवनबाट बर्दिया राष्ट्रिय निकुञ्जमा पाँचवटा गैँडा लगिएको थियो । बाह्रसिङ्गे हाल शुक्लाफाँटा र बर्दियामा मात्र रहेका छन् । केही वर्षअघि शुक्लाफाँटाबाटै बर्दियामा बाह्रसिङ्गे लगिएको थियो । संरक्षणकर्मीले चितवन राष्ट्रिय निकुञ्जबाट गैँडा स्थानान्तरण गर्न नहुने जनाइरहँदा निकुञ्जले बाह्रसिङ्गे पनि ल्याइने भन्दै विरोधलाई साम्य पार्दै आएको छ । दुई महिनाअघि मात्र चितवन राष्ट्रिय निकुञ्जमा कोसीटप्पुबाट १२ वटा र सदरचिडियाखानाबाट तीनवटा अर्ना ल्याइएको थियो ।

एसएसबीले हत्या गरेका मोरङका वासुदेब शाहको परिवारलाई सरकारले १० लाख दिने

काठमाडौं, चैत १३ । ६ वर्षअघि भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागेर मारिएका मोरङ जिल्लाको अमाही बरियातीका वासुदेब शाहको परिवारलाई सरकारले १० लाख क्षतिपूर्ति दिने भएको छ । सोमबारदेखि सुरु हुने पूर्वाञ्चल क्षेत्रीय सुरक्षा बैठकपछि उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले शाहका परिवारलाई बिराटनगरमा क्षतिपूर्ति बापतको चेक हस्तान्तरण गर्ने भएका हुन् । २०६७ जेठ ११ गते एसएसबीको गोली प्रहारबाट शाहको हत्या भएपछि जिल्ला सुरक्षा समितिको २०६७ जेठ १३ गते बसेको बैठकले क्षतिपूर्तिका लागि गृहमन्त्रालयमा सिफारिस गरेको थियो । सोमबारदेखि स्थानीय तहको चुनावको लागि सुरक्षा व्यवस्था बारेमा रणनीति बनाउन पूर्वाञ्चल सुरक्षा गोष्ठी गर्ने भएको छ । सोमबार विराटनगरमा पूर्वाञ्चल क्षेत्रीय सुरक्षा बैठक गोष्ठी हुन लागेको हो । उपप्रधान तथा गृहमन्त्री निधिले क्षेत्रीय सुरक्षा निकायका प्रमुखहरुलाई निर्वाचन सुरक्षाका सम्बन्धमा निर्देशन दिने बताइएको छ । सरकारले बैशाख ३१ गतेलाई स्थानीय तहको चुनाव गर्ने घोषणा गरेको छ । ७४४ तहमा एक चरणमा हुने चुनावमा पूर्वाञ्चल क्षेत्रको सुरक्षा स्थिति, सुरक्षा योजना र त्यसको कार्यान्वयनको लागि रणनीति बनाइन गोष्ठी हुन लागेको हो । यसैबीच, गृहमन्त्री निधिले सप्तरी घटनाको स्थलगत निरीक्षणका लागि सप्तरी जाने भएका छन् । सप्तरी जाने व्यवस्था मिलाउन गृहसचिब लोकदर्शन रेग्मीलाई निर्देशन दिएका छन् । केही दिनभित्रै सप्तरीको मलेठ पुगेर गृहमन्त्री निधिले सप्तरी घटनामा मारिएका पाँच जनाका परिवारलाई रु. १० लाखका दरले राहत बितरण गर्ने तयारी थालेका छन् ।

राष्ट्रकवि घिमिरेद्वारा सम्मान प्रदान

काठमाडौँ, चैत १३ । राष्ट्रकवि माधव घिमिरेले समाजसेवा, प्रशासनसेवा र न्यायसेवामा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तिलाई शनिबार एक कार्यक्रमबीच सम्मान गर्नुभयो । मैनाली सेवा समाजले आयोजना गरेको कार्यक्रममा राष्ट्रकवि घिमिरेले संस्कृतिविद् सत्यमोहन जोशी, निर्वाचन आयोगका सचिव गोपीनाथ मैनाली, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र डा लक्ष्मीप्रसाद मैनालीलाई सम्मान गर्नुभएको हो ।

उज्यालो नेपाल अभियानबाट प्रवासी नेपालीहरुले देखेको सपना

 नेपाल सरकारले मुलुकभर लोडशेडिङ अन्त्य भएको घोषणा गरेको छ । उच्च माध्यमिक बिद्यालयको परिक्षालाई ध्यानमा राख्दै १५ दिनको लागि गरिएको यो घोषणाले देश बिदेश सबैतिर एउटा उत्साह थपेको छ । सरकारले छिट्टै नै अधिराज्यभर सदाको लागि लोडशेडिङ अन्त्य गर्दै उज्यालो नेपाल निर्माणको घोषणा गर्नुले अब मुलुकले बिकासको गती लिन्छ भन्ने विश्वाश र उत्साह जनतामा छाएको छ । कतिपयले यस् कार्यको लागि खुलेर सरकारको प्रशँसा गरे भने कतिपयले राजनैतीक संकिर्णताका कारणले बिरोधका आवाज पनि निकाले । कतिपयले यसको जस सरकारलाई नदिएर बिद्दुत प्राधिकरणका प्रमुख निर्देशक कुलमान घिसिङलाई मात्र दिएको पनि देखियो । समग्रमा यसको जस नेपाल सरकार र उर्जामन्त्री जनार्दन शर्मा जसले कुलमानको बिद्दुत लोड ब्यवस्थापकिय क्षतमालाई चिनेका थिए उनिहरुलाई जानेनै छ । कुलमान घिसिङ आँफैको ज्ञान र क्षमताको प्रयोग, लोड ब्यवस्थापनमा उनले देखाएको कार्यकुशलतालाई झन धेरै जस दिनु पर्दछ । देश बाहिर र देश भित्र रहेका सारा नेपाली जनता कुलमान प्रती नतमस्तक छन । वार्षिक १३ अर्बसम्म बिद्दुत चुहावाट हुने गरेकोमा अबको बर्ष त्यो पनि कम हुने संकेत देखिएको छ । उर्जामन्त्री जनार्दन शर्माका अनुसार हाल सम्म राज्यले बिजुलीबाट मात्रै ६० अर्ब पैसा बचत गरेको छ । २० लाख भन्दा बढी नेपालीहरु गल्फ र मलेसियामा रहेको तथ्याँक छ । यी नेपालीहरु प्रत्येकका घर परिवारहरु अब उज्यालोमा रमाउने कुरामा उनिहरु खुशी नहुने कुरै भएन । बिद्दुत प्राधिकरणकै कर्मचारीहरुको मिलेमतोमा हुनेगरेको लोडशेडिङको अन्त्यले देशले बिकासको गती लिनेमा प्रबासमा रहेका जनताहरु ढुक्क छन । यसले उनिहरुलाई अब आफ्नै देशमा लगानीका आधारहरु खडा हुनेछन र आफ्नै देशमा फर्कन पाइनेछ भन्ने आशाको उज्यालो किरण उनिहरुको मुहारमा छचल्किन थालेको छ । लोडसेडिङ मुक्त देश बर्तमान सरकारले गरेको एउटा राम्रो काम हो भने र देशको प्रगती र उन्नतीमा एउटा सकारात्मक संकेत पनि हो । बिदेशमा रहेर देश बिकासमा के के कुराहरु आवश्यक रहेछन भन्ने कुरा धेरै नेपालीहरुले देखेका छन । विश्वमा तीब्र आर्थिक उन्नती गरिरहेका दुबई, कतार, बहराइन, मलेसिया आदि देशहरु देखे पछी हामी प्रबासी नेपालीहरुले सपनामा देख्ने गरेको नेपाल कस्तो होला ? हामी नेपाललाई कसरी बिकाशित देश बनाउन सकौला ? भनेर हरेक नेपालीहरु सपना देख्छन । ती सपना कस्ता होलान ? उज्यालो नेपाल, चिल्ला र सफा बाटो, स्वास्थ्य र शिक्षामा सरकारको लगानी, भ्रस्टाचारमुक्त समाज, कलकारखाना र रोजगार ।  यिनै हुन हामीले बिदेशमा बसेर देख्ने गरेको सपना । राजनैतीक स्थिरता: नेपालीहरुका प्रत्येक् पुष्ताले आन्दोलन गरे । लामो आन्दोलन पस्चात गणतन्त्रको स्थापना भएको छ । विश्व राजनीतिमा प्रयोग भएको सबैभन्दा उन्नत लोकतान्त्रिक ब्यवस्था हामीले उपभोग गर्न पाएका छौ । अब यसको संस्थागत बिकास भएको हेर्न प्रबासी नेपालीहरु आतुर छन । सँगसङै पुरानै शैलीमा शुरु भएको सत्ता प्राप्तीको राजनैतीक खिचातानीको खेल देखी उनिहरु दिक्क पनि बन्दैछन । उनिहरु स्थाई सरकारको आशामा छन । जसको लागि बर्तमानमा देखिएको मधेशको मुद्दालाई छिटो भन्दा छिटो सम्बोधन गरी चुनाव होस् र सो चुनावले एक स्थाई सरकार बनोस भन्ने अपेक्षा गरेका छन । स्थाई सरकारले स्थाई बिकासको ढोका खोलिदिनेछ भन्ने विश्वाश उनिहरुले गरेका छन । उनिहरुको यो विश्वाशमा तुषरापात हुन नदिन सबै राजनैतीक दलहरु जिम्मेवार ढंगले अघी बढ्न जरुरी छ ।  भबिस्वमा जुनसुकै दलको सरकार आए पनि उज्यालो नेपाल अभियान रोकिनु हुन्न । राजनैतीक परिवर्तनले बिकासलाई छेकिनु हुन्न । बिजुलीबत्ती र पानी: नेपाल लोडशेडिङ मुक्त घोषणा भईसकेको छ । वार्षिक १३ अर्बको चुहावाट रोक्न बिजुली चोरहरुलाई कठाघरामा उभ्याइसकिएको छ । अर्को एक बर्षमा ५०० देखी १००० मेगावट सम्म बिजुली थपिने भएकोले लोडशेडिङ नहुने कुरामा ढुक्क हुनसकिन्छ । सिमित श्रोत र साधनको सही ब्यवस्थापन गरेर बर्तमान सरकार र बिद्दुत प्राधिकरणका प्रमुख निर्देशक कुलमान घिसिङले देशलाई ठुलो गुण लगाएका छन । इन्भर्टर र सोलारका राजनैतीक ब्यापारीहरुको ब्यापार चौपट भएको खबरले हामी खुशी छौ । छिट्टै नै मेलन्चीको पानी काठमाडौ आउनेछ । यसले केही बर्ष सम्म काठमाडौको काकाकुल अवस्था शान्त हुनेछ । स्वस्थ र सफा खानेपानीमा गाउँगाउँका गरीब जनताको पहुँच पुर्याउन आवश्यक छ । अहिले पनि पहाडी धेरै गाउँहरुमा घण्टौ हिंडेर पिउने पानी बोक्नु पर्ने अवस्थाको अन्त्यको लागि बिशेष कार्यक्रम घोषणा गरियोस । हामीले अब पानीको दुख भएको सपना देख्न छोडिसकेका छौ । सम्रिद्द नेपालको सपनामा स्वस्थ पानीको सपना पनि देखेका छौ । बाटोघाटो: फराकिला चिल्ला सडक, ट्राफिक नियमको पालना र अनुशासन । नेपालको सन्दर्भमा यातायातको पहुँच गाउँगाउँ सम्म पुग्न जरुरी छ । बिगत १० बर्षमा धेरै गाउँगाउँमा बाटो पुगेको छ, पुग्ने क्रम जारी छ । अब यसलाई अन्तरराष्ट्रिय स्तरको निर्माण गर्न बजेट बिनियोजन गरियोस । हामीले बिदेशको जस्तै चिल्ला सडकहरु नेपालमा पनि हुनसक्छन भनेर सपना देख्ने गरेका छौ । सरकारले लगानीको सुरक्षाको प्रत्याभुती गर्ने हो भने धेरै नेपालीहरु आँफै पनि लगानी गर्न तयार हुनेछन । मात्र चाहियो अब सरकारको ईच्छाशक्ती । शिक्षा र स्वास्थ्यः शिक्षा देश बिकासको मेरुदण्ड हो । एउटा उदाहरण हेरौ । सन १९७० मा पाकिस्तानको कुल ग्राहास्थ उत्पादन १३.१ बिलियन डलर थियो । सोही समयमा बिशाल देश भारतको कुल ग्राहास्थ उत्पादन  ५९.६ बिलियन डलर थियो । १९७० मा पाकिस्तानको भन्दा मात्र ४५ गुणा ठुलो कुल ग्राहास्थ उत्पादन भएको भारतको २०१५ मा आईपुग्दा २,११६.२ बिलियन पुगेको छ भने पाकिस्तानको जम्मा २७१.५ बिलियन रहेको छ । (२०१५ मा नेपालको कुल ग्राहास्थ उत्पादन २०.८८ रहेको छ भने १९७० मा १ बिलियन डलर थियो) यो अवधीमा भारतले सबैभन्दा बढी लगानी गरेको क्षेत्र शिक्षा हो । विश्वका ठुला ठुला कम्पनीहरुमा आज भारतीयहरु हाकिम भएर बसेका छन । नासाका आधा भन्दा बढी बैज्ञानीकहरु भारतीय छन । एप्पल कम्पनीमा सबैभन्दा बढी कामदारहरु (आईटी बिशेषज्ञ) भारतीय छन । विश्वमा धेरै इन्टेरनेट टेक्नोलोजी निर्यात गर्ने देश भारत बनेको छ । पाकिस्तानको हालत देखेकै हो । भारतले २०१६ मा आफ्नो बजेटमा २.२५ प्रतिशत सुरक्षा तथा मिलिटरी खर्चमा छुट्याएको छ भने पाकिस्तानले २.३० प्रतिशत । आर्थिक बृदिदरको हिसाबले पाकिस्तानको लागि यो खर्च धेरै हो । २०१६ मा भारतको आर्थिक बृदिदर ७ प्रतिशत रहेको थियो भने पाकिस्तानको जम्मा ४ प्रतिशत छ । नेपालको भने जम्मा २.५ प्रतिशत । यसरी भारतले यो अवधीमा गरेको शिक्षाको लगानीले भारतलाई आज विश्वको सातौ ठुलो कुल ग्राहास्थ उत्पादन भएको मुलुकको रुपमा उभ्याएको छ । तर भारत सरकार आँफैले भने बजेटको जम्मा साढे ३ प्रतिशत मात्र शिक्षामा खर्च गरेको छ । बाँकी सबै प्राइभेट सेक्टरबाट लगानी भएका हुन । ताकी नेपालले वार्षिक १३।१४ सम्म शिक्षालाई बजेट छुट्याउने गरेको छ । पाकिस्तानमा पनि १३ प्रतिशत हाराहारीमा शिक्षामा खर्च गर्ने गरेको भए पनि बालुवामा पानी हाले सरह नै भएको छ । हामीले सोच्नु र खोज्नु पर्ने कुरा यहीँ छ । कयौ बालबालिकाहरु अहिले पनि कुपोषणको सिकार भएका छन । नाजुक स्वास्थ्य स्थिती छ । सरकारले श्वास्थ्यमा धेरै लगानी गरे पनि कुनै प्रतिफल प्राप्त हुन सकेको छैन । शिक्षा र स्वास्थ्य एक आपसमा जोडीएका बिषय हुन । शिक्षाको लगानी सही ढंगले भए स्वास्थ्यको फजुल खर्च कम हुनेछ । प्रत्येक् ब्यक्ति शिक्षित भए देश बन्ने छ । हामी यस्तै देशको सपना बुनेर प्रबासमा रात कटाउँछौ । भ्रस्टाचारमुक्त देश:  सन २०१६ ट्रान्स्पेरेन्सी इन्टर्नेसनलले जारी गरेको सुचीमा नेपाल १३१ औ भ्रस्ट देशमा सुचिकृत छ । विश्वमा कुनै पनि मुलुक भ्रस्टाचारमुक्त छ भनेर कल्पना गरिन्न । तर कती कम हुन्छ भनेर खोजिन्छ । भरखरै नयाँशक्ती छोडेका रामेश्वर खनालले भनेको एउटा कुरा निकै नै सोचनीय र गम्भीर छ । हामी नेपालमा नेता भ्रस्ट भए भन्छौ । त्यो भन्दा भ्रस्ट त जनता छन । उनले जसरी भने पनि आशय चाँही यही हो । जनताहरु भोट् बेच्छन । गाउँ गाउँमा कार्यकर्ताहरु छन, उनिहरु चुनावको बेला भोटको ब्यापार गर्छन् । कसलाई बेच्छन ? भ्रस्ट पार्टी र भ्रस्ट नेतालाई । अनी देश कसरी बन्छ ? जबसम्म जनताको बुद्दीको बिर्को उघ्रिदैन तबसम्म नेपालमा हुनेवाला केही रहेनछ भनेर रामेश्वर खनालले बुझेछन । उनी जुनसुकै पार्टीमा आस्था राखुन तर रामेश्वर जस्ता ब्यक्तिहरु निराश हुनु देशको लागि निकै दुस्खद हो ।  जनताको बुद्दी उघार्न त शिक्षामा लगानी गर्नु र्पयो । जनतालाई शिक्षित पार्नु र्पयो । अहिले नेपालमा बिद्यालय बिद्यालयमा भ्रस्टचार छ । सरस्वती मन्दिरमा भ्रस्टाचार छ । एक बोरा सिमेन्ट किन्ने देखी बिद्यालयमा चाहिने चक र डस्टर किन्ने पैसामा भ्रस्टाचार छ । स्कुलको हेडमास्टर र संचालक समितीका जिम्मेवार ब्यक्तिहरु मिलेर भ्रस्टाचार गर्छन् । अनी नेपाल कहिले बन्छ ? कलकारखाना र रोजगारी: देशमा बिजुली भएपछी धेरै बिदेशी लगानी भित्रिनेछ । कलकारखाना खुल्नेछन । ती कलकारखनाहरुमा नेपालीहरुले रोजगारी पाउनेछन । बैदेशिक रोजगारीले जोगाइदिएको ईज्जत अब आफ्नै देश भित्र खुलेका कलकारखानले जोगाइदिनेछन । नेपालको परम्परागत कृषि पेशा र बैदेशिक रोजगारीकै कारणले अहिले नेपालमा बेरोजगारी बृदिदर ३ प्रतिशतको हाराहारीमा छ । अब यो झरेर शुन्यमा पुग्ने आशा प्रबासी नेपालीहरुले लिएका छन । आफ्नै देशमा आफ्नै घरपरिवारसङै बसेर काम गर्न पाइने आशा बिजुलीले पलाइदिएको छ । यी सबैको सम्भावनाका आधार भनेको उज्यालो नेपाल नै हो । प्रबासी नेपालीहरुले कुलमान घिसिङ नेपाल र नेपालीको लागि बरदान साबित हुने छन भन्ने विश्वाश गरेका छन ।

धौलागिरि पदमार्गको नक्सा तयार

म्याग्दी,  चैत ६ । हिमाली क्षेत्रमा पर्यटक भित्र्याउनका लागि म्याग्दी हुँदै रुकुम र डोल्पा जोड्ने गरी पहिचान गरिएको पश्चिम धौलागिरि’ पदमार्गको नक्सा तयार गरिएको छ । रुकुमका युवा पर्वतारोही मनबहादुर खत्रीको प्रयासमा हिमाली क्षेत्रलाई समेटेर विभिन्न रुट पहिचान गरिएको उक्त पदमार्गको हालै विभिन्न निकाय र सङ्घसंस्थाको आर्थिक सहयोगमा नक्सा तयार गरिएको हो । म्याग्दीमा हालै सञ्चालनमा आएको धौलागिरि सेन्चुरी पदमार्ग अन्तर्गत कुइनेमङ्गलेबाट सुरु भई मल्कबाङ, मुदी, गुर्जा र रुकुमको सिस्ने तथा डोल्पा जोड्ने गरी तयार गरिएको हो । पदमार्गका अनुसन्धानकर्तासमेत रहनुभएका पर्वतारोही खत्रीले कालीगण्डकीदेखि पश्चिममा भेरी नदीसम्मको धौलागिरि रेञ्जमा रहेका हिमशृङ्खलालाई समेटेर विभिन्न पर्यटकीय पदमार्ग पहिचान गरिएको बताउनुभयो । उहाँका अनुसार, उक्त पदमार्गको नक्सा जिल्ला विकास समिति रुकुम, नेपाल पर्वतारोहण सङ्घ, म्याग्दीको धौलागिरि गाउँपालिकामा समावेश भएको साविकको गुर्जा गाविसको आर्थिक सहयोगमा हिमालय म्याप हाउसले तयार गरेको हो । खत्रीले तयार गरेको पदमार्गको नक्साङ्कनअनुसार पश्चिम धौलागिरि पदमार्गको केन्द्रबिन्दु म्याग्दीको गुर्जालाई मानिएको छ भने ट्रान्स धौलागिरि पदमार्गको सुरुवात विन्दु म्याग्दी सदरमुकाम बेनीलाई मानिएको गाउँ पर्यटन विकास समिति गुर्जाका संयोजक झकबहादुर छन्त्यालले बताउनुभयो । पदमार्गको नक्साङ्कनअनुसार तल्लो ट्रान्स धौलागिरि पदमार्गमा भ्रमणमा जाने पर्यटक मुस्ताङको लेतेबाट सुरु गरी फेदी–म्याग्दीको कुइनेमङ्गले हुँदै मुदीको खिबाङमा पुगेर माथिल्लो पश्चिम धौलागिरि पदमार्गमा जोडिन्छन् । यस पदमार्गमा हालै म्याग्दी उद्योग वाणिज्य सङ्घले सञ्चालनमा ल्याएको धौलागिरि सेन्चुरी पदमार्ग हुँदै भ्रमणमा पुगेका पर्यटकलाई समेत कुइनेमङ्गले हुँदै पश्चिम धौलागिरि पदमार्गको भ्रमणमा लैजान सकिने सम्भावना रहेको छ । धेरै पहिले म्याग्दीको गुर्जाका सर्वसाधारण रुकुम र डोल्पा आवतजावत गर्ने गरेको आधारमा त्यसै रुटमा थप अनुसन्धान र स्थलगत अवलोकन गरी उक्त पदमार्गको पहिचान गरिएको हो । चार वर्षको अध्ययन अनुसन्धानबाट पहिचान गरिएको यस पश्चिम धौलागिरि पदमार्गलाई मुख्यतः उचाइका आधारमा तीन चरणमा विभाजन गरिएको छ । माथिल्लो भेगलाई समावेश गरिएको टे«कले उच्च हिमाली क्षेत्र र हिमालका आधार शिविरहरुलाई छोइएको छ भने तल्लो भेगलाई समावेश गरिएको ट्रेकलाई पहाडि भूगोल र हिमालको दृश्यावलोकन गर्न सकिने गरी नक्साङ्कन गरिएको छ । पुथा र चुरेन हिमाललाई समेटिएको पदमार्गलाई माथिल्लो पश्चिम धौलागिरि नामाकरण गरिएको छ । यो पदमार्गको सुरुवात विन्दु म्याग्दीको गुर्जा पुगेर त्यहाँबाट चुरेन र पुथा हिमालको बेस क्याम्प पुगेर त्यहाँबाट इच्छाअनुसार डोल्पा, रुकुम र ढोरपाटन आरक्ष क्षेत्रमा पुगेर पदयात्रा अन्त्य गर्न सकिने पर्वतारोही खत्रीले बताउनुभयो । त्यसैगरी तल्लो धौलागिरि ट्रेकमा दरबाङ, मुना, लुलाङ हुँदै गुर्जा पुगेर एकराते, फलियाघर, रुकुमको वारमीपारमी, दोगाडी खोला, मैकोट अथवा सिस्ने बस्ती हँुदै स्यार्पू तालमा पुगेर यात्रा टुङ्गिने गरी नक्साङ्कन गरिएको छ । चौथो विकल्पका रुपमा पहिचान गरिएको ढोरपाटन कल्चरल ट्रेकअन्तर्गत गुर्जा हँुदै गुर्जाघाट, रुघाचौर, मैकोट, रन्मा, अर्जल हुँदै सिस्नेको चारगाउँ निस्कने गरी पदमार्गको पहिचान गरिएको छ । ‘‘धेरै वर्ष पहिले गुर्जाका स्थानीय बासिन्दाले नुन लिनका लागि प्रयोग गरेको गुर्जा–डोल्पा पैदल मार्गलाई नै आधार बनाएर दुवैतर्फका हिमाली भूगोललाई समोश गरी पश्चिम धौलागिरि पदमार्ग पहिचान गरिएको हो” – खत्रीले भन्नुभयो । पदमार्गमा मनोरम हिमशृङ्खला, थरिथरिका जङ्गली फूल, जडीबुटी, चराचुरुङ्गी, हिमाली र जङ्गली जनावर, प्राकृतिक भू–बनोट प्रमुख आकर्षण रहेका छन् भने क्षेत्री, दलित, मगर र छन्त्याल समुदायको मौलिक कला संस्कृतिसमेत थप आकर्षण हुनेछन् । सडक सञ्जालले नछोएको र भविष्यमा समेत प्रत्यक्ष प्रभाव पार्न नसक्ने गरी पहिचान गरिएको पदमार्ग भएकाले प्राकृतिक सौन्दर्यतामा रमाउन खोज्ने पर्यटकका लागि यो पदमार्ग उत्तम मानिने छन्त्यालको दाबी छ । कालीगण्डकीदेखि पश्चिम भेगमा रहेका हिमाललाई एकीकृत रुपमा प्रचारप्रसार गर्ने लक्ष्यसहित एकीकृत रुपमै पदमार्गको पहिचान गरिएको उहाँले बताउनुभयो । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलका साथै उत्तरगङ्गा करिडोर बन्न सक्योे भने यस क्षेत्रको पर्यटन विकास हुने उहाँको विश्वास छ ।

निरोगी बन्न निम्न खानेकुरा खानुपर्छ

चैत ५ । निरोगी बन्नु सबैको चाहना हुन्छ । तैपनि अत्याधुनिक जीवनशैलीको सबैभन्दा ठूलो असर मानिसको स्वास्थ्यमा पर्ने गरेको छ । लामो समयसम्म कार्यालयमा काम गर्नुपर्ने बाध्यता, तनाव र घरपरिबारको जिम्मेवारीलगायतका कारण हामी चाहेर पनि स्वस्थ बन्न सकेका हुँदैंनौं । व्यस्तताका कारण धेरैले आफ्नो स्वास्थयमा हेचक्राइ गरेको पाइन्छ । खानपिन र आहारमा राम्रो बिचार पुर्‍याएमा मानिस पूर्ण रुपमा स्वस्थ बन्न सक्ने विज्ञहरु बताउछन् । नियमित रुपमा यी खानेकुरा खाँदा मानिसको समग्र स्वास्थ्यमा सुधार आउने विज्ञहरुको भनाई छ । निम्न उल्लेखित खानेकुराहरु नियमित सेवन गरेमा उमेर नपुग्दै बुढ्यौली हुने समस्याबाट बच्ने, कोलस्ट्रोल र रक्तचापको नियन्त्रण हुने तथा शरीरलाई डायबिटिजलगायतबाट मुक्त हुन सकिने विज्ञहरु बताउँछन् । स्याउ : दिनहुँ एउटा स्याउ खाँदा रोग भाग्छ भन्ने अंग्रेजी उखान अहिले व्यवहारिक रुपमा नै सत्य सावित हुँदैछ । स्याउमा शरीरलाई आवश्यक पर्ने फाइबर हुन्छ, जसले शरीरको पाचन प्रणालीलाई सहयोग गर्छ । स्याउमा भिटामिन ए, सी, इ, फस्फोरस, म्याग्नेसियम,पोटासियम लगायत शरीरलाई आवश्यक पर्ने तत्व हुन्छ, जसले शरीरलाई स्वस्थ बनाउछ । देशी बदाम र ओखर : नियमित आल्मोन्डको सेबनले स्मरण क्षमता बृद्धि गर्छ । सबैभन्दा महत्वपूर्ण त यसले आँखाको दृष्टिमा सुधार ल्याउछ भनेर विभिन्न अध्ययनहरुले प्रमाणित गरेका छन् । गर्भवती महिलाले बदाम खाँदा बच्चाको दृष्टि बलियो हुने विज्ञहरुको भनाई छ । आल्मोन्डले छालामा चमक ल्याउछ । अंगुरः तौल घटाउन चाहनेका लागि अंगुर अचुक उपाय हुन सक्छ । नियमित अंगुरको सेबनले ब्लड सुगरको तह पनि घटाइदिन्छ । अंगुरमा हुने पेक्टिन नामक तत्वले रक्त प्रबाहमा हुने कार्बोहाईड्रेटको तह घटाइदिन्छ र शरीरलाई मोटो हुनबाट बचाउछ । गेडागुडीः प्राय सबै मौसमी गेडागुडीले हाम्रो शरीरलाई आवश्यक पर्ने भिटामिन प्रोटिन लगायतका खानेकुरा प्रदान गर्छन् । गेडागुडीमा पर्याप्त मात्रामा फाइबर, म्याग्नेसियम, आइरन, जींक र भिटामिन बी हुन्छ, जसले रक्तचाप घटाउने र डायबिटिज नियन्त्रण गर्छ । केराः पोटास र आइरनको मुख्य स्रोत केराले हेमोग्लोबिनको तहलाई नियन्त्रण गर्छ । केरा पाचन प्रणालीमा पनि उत्तिकै प्रभावकारी भएकोले नियमित दुईओटा केरा खाँदा कब्जियतको समस्या हुँदैन । ग्रीन टिः तौल घटाउन ग्रीन टि निकै प्रभावकारी मानिन्छ । यसले शरीरको मेटाबोलिजमलाई बृद्धि गर्छ । यो एन्टिअक्सिडेन्टको महत्वपूर्ण स्रोत समेत हो । यसमा मानिसलाई बृद्ध हुनबाट बच्ने गुण समेत हुन्छ । यसले कोलेस्ट्रोलको तहलाई पनि सुधार गर्छ । दहीः दही क्याल्सियमको महत्वपूर्ण स्रोत हो । दहीले हड्डी बलियो बनाउन पनि उत्तिकै सहयोग पुर्याउछ । माछा, मासु र अन्डा नखाने मानिसले दहीबाट प्रोटिन लिन सक्छ । यसले पाचन प्रक्रियालाई सशक्त बनाउछ । दहीमा हुने यही गुणका कारण खाना खाईसकेपछि डेर्जटको रुपमा समेत प्रयोग गर्ने गरिन्छ ।

चैत २५ देखि व्याकुल माइला गोल्डकप फुटबल हुने

ओखलढुंगा, चैत ३ । ओलखढुंगामा यही चैत २५ गतेदेखि व्याकुल माइला गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । राष्ट्रियगानका रचनाकार व्याकुल माइलाको नाममा आयोजना हुने गोल्डकप प्रतियोगिता उनको जन्मथलो ओखलढुंगाको हिलेपानीस्थित दूधकोसी किनारमा हुँदै आएको छ । विगतका वर्षहरुमा कोजाग्रत पूर्णिमादेखि सुरु हुँदै आएको प्रतियोगिता यस वर्ष भने बाढीले मैदानमा क्षति पुर्‍याएका कारण चैतमा गर्न लागिएको हो । प्रतियोगिताको छैटौं संस्करणको रुपमा हुने यस प्रतियोगितामा ओखलढुंगा, खोटाङ, उदयपुर, सिन्धुली, काठमाडौं, ललितपुर, सोलुखुम्बुलगायतका जिल्लाबाट १७ ओटा टिमको सहभागिता रहने आयोजकले बताएको छ ।

चिडियाघरमा बर्डफ्लु भेटियाे

इटहरी, फागुन २५ । पर्यटकीय क्षेत्र तालतलैयाको बाल उद्यान क्षेत्रभित्र रहेको चिडियाघरमा राखिएका पक्षीमा बर्डफ्लुको सङ्क्रमण भेटिएको छ । क्षेत्रीय प्रयोगशाला विराटनगर र केन्द्रीय प्रयोगशालामा मरेका पक्षीको परीक्षणबाट बर्डफ्लुको सङ्क्रमण पुष्टि भएको जिल्ला पशु कार्यालय सुनसरीले जनाएको छ । कार्यालयका प्रमुख शिवनारायण महतोले यही फागुन २३ केन्द्रीय प्रयोगशालाले बर्डफ्लु भएको प्रमाणित गरेपछि सतर्कता अपनाइएको बताए । सङ्क्रमण मानिसमा सर्नबाट रोक्न कम्तिमा एक महिनाका लागि चिडियाघर बन्द गरिएको छ । मरेका पक्षीलाई सुरक्षित रुपमा गाड्ने काम पनि भइरहेको उनले जानकारी दिएका छन् । एक सातादेखि लगातार चरा मर्न थालेपछि बर्डफ्लुको आशङ्कामा बालउद्यान बन्द गरिएको थियो । संरक्षण समितिले चरा मर्न थालेपछि जिल्ला पशुसेवा कार्यालयमार्फत मरेका पक्षी परीक्षणका लागि यही फागुन १९ गते क्षेत्रीय र केन्द्रीय प्रयोगशाला पठाएको थियो । तालतलैया विकास तथा संरक्षण समितिका महासचिव रमेश अधिकारीका अनुसार एक साताभित्र संरक्षित टर्की, मयुर, हुँचिल, राजहाँस, चरी बाघ, वन बिरालो र गिनी पिङ मरेका छन् । उक्त चिडियाघरमा दुर्लभ पक्षीसहित २२ प्रजातिका पक्षी संरक्षण गरेर राखिएको छ । तालतलैया संरक्षण समितिका अध्यक्ष वीरबहादुर लिम्बूले भने आफूहरुलाई पशु कार्यालयले बर्डफ्लु प्रमाणित भएको जानकारी नदिएको बताएका छन् ।

तौल घटाउँदै सलमान

फाल्गुन २१ । चलचित्रका कलाकारहरुले तौल घटाउनु र बढाउनु भनेको उनीहरूको आगामी चलचित्रमा हुने भूमिका तथा चरित्रको आधारमा हुने गर्दछ । त्यस्तै बलिउड खान सलमान खानले पनि आफ्नो बढाएको तौल घटाउन लागेका छन् । चलचित्र ‘सुल्तान’ का लागि बढाएको तौललाई सलमानले व्यवस्थापन गर्न लागेका हुन् । सलमाले चलचित्र ‘सुल्तान’का लागि तौल बढाउनुका साथै कपाल समेत छोट्याएका थिए । यतिबेला सलमान खान ‘टाइगर जिन्दा है’ का लागि आफ्नो शरीरबाट करिब १८ केजी तौल घटाउँदैछन् । बलिउड चलचित्र ‘दंगल’ मा आमिरले तौल बढाएको तथा घटाएको देखेका सलमानले निर्देशकको आग्रहअनुसार अहिले चरित्रअनुरूप आफूलाई ढाल्न तौल घटाउन थालेका हुन् ।

पारिवारिक घटना दर्तासम्बन्धी जनचेतनामुलका प्रदर्शनी

ललितपुर, फागुन २१ । जनचेतनाका अभावमा परिवारिक घटनाको दर्ता नगराउँदा सर्वसाधारणहरु राज्यले दिने सेवा सुविधाबाट वञ्जित हुनुपरेका घटनाहरु गाँउघरमा धेरै भेटिन्छ । यही पारिवारिक घटनाको दर्ताका बारेमा जनचेतना जगाउने उद्देश्यले मानव अधिकारका लागि महिला एकल महिला (डब्लुएचआर)ले जिल्लाको चौघरे गाविसमा जनचेतनामुलक एक दिने प्रदर्शनी सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै चौघरे गाविसका सचिव चित्रध्वज खड्काले सर्वसाधरणमा जनचेतनाको कमी हुँदा पारिवारिक घटना दर्ता नहुने गरेको बताए । उनका अनुसार मानिसहरु आवश्यक पर्दा मात्र घटना दर्ता गर्न आउने गरेको बताए । स्थानीय समुदायमा बालविवाह हुँदा समयमै विवाह दर्ता गर्न कानुनी जटिलता हुने र यसले दीर्घकालिन असर पर्ने उनले बताए ‘सानैमा विवाह दर्ता हुन्छ । कानुनले बालविवाहलाई मान्यता दिएको छैन्’, उनले भने, ‘विवाह दर्ता नहुँदा नागरिकता बन्दैन्, नागरिकता नबन्दा उनीहरुबाट जन्मिने सन्तानको जन्मदर्तामा समेत समस्या उत्पन्न हुने गरेको छ ।’ कानुनी प्रक्रिया नबुझ्दा समेत समस्या थप जटिल बन्ने गरेको उनले बताए । ‘हामीकहाँ विवाह दर्ता गर्न बच्चा जन्मिएपछि आउँछन्, त्यो पनि महिला एक्लै’, उनले भने, ‘श्रीमान विदेशमा हुन्छन्, महिला एक्लै विवाह दर्ता गर्न आँउदा कानुनले हामीलाई रोक लगाउँछ, त्यसपति बच्चाको पनि जन्मदर्ता हुँदैन् ।’ यो समस्याले बालबालिका विद्यालयमा भर्ना हुन समेत नपाउने गरेको उनको भनाई छ । कार्यक्रममा बोल्दै महिला बालबालिका कार्यालय ललितपुरकी अधिकृत शारदा विजुक्छेले समयमै पारिवारिक घटना दर्ता गराएर राज्यले दिने सुविधाको उपयोग गर्न आग्रह गरिन् । कार्यालयले एकल महिलाहरुका लागि रकम विनियोजित गरे पनि पारिवारिक घटना दर्ता तथा स्थानीय स्तरमा जनचेतना नहुँदा रकम खर्च हुन नसकेको बताइन् । कार्यक्रममा बोल्दै डब्लुएचआरकी कार्यक्रम प्रवन्धक उपाश्ना राणाले पारिवारिक घटना दर्ताको महत्त्व बुझाउनकै लागि डब्लुएचआरले गाँउ गाउँमा जनचेतनामुलक प्रदर्शनी गर्दै आएको जानकारी दिइन् । अक्सफार्मको सहयोगमा साझेदार संस्थाहरु डिप्रोक्स नेपाल, एनफो ‘वातावरण र स्वास्थ्य’को सहकार्यमा डब्लुएचआरले चौघरे गाविसमा एक दिने जनचेतना मुलक प्रदर्शनी गरेको हो । प्रदर्शनीमा स्थानीय महिला तथा विद्यालयका बालबालिकाहरुले प्रदर्शनीको अवलोकन गरेका थिए । प्रदर्शनीमा जनचेतना मुलक नाटक अनागरिक समेत देखाइएको थियो ।